`

रचनाले दिइन् अन्तर्राष्ट्रिय क्रिकेट ‘कमेन्टेटर’ ‘टक्लु दाइ’ लाई दौरा–सुरुवाल उपहार

काठमाडौं । नेपाली क्रिकेटप्रतिको निःस्वार्थ माया र निरन्तर समर्थनको सम्मान स्वरूप गायिका रचना रिमालले अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर एन्ड्रयू लियोनार्डलाई विशेष उपहार प्रदान गरेकी छन् । एनपीएल फाइनलका अवसरमा रचनाले एन्ड्रयूलाई नेपाली पहिचान झल्किने कोट तथा दौरा–सुरुवाल उपहार दिँदै नेपालप्रतिको उनको प्रेमप्रति धन्यवाद व्यक्त गरेकी हुन् ।

एन्ड्रयू लियोनार्ड, जसलाई नेपाली क्रिकेटप्रेमीहरूले ‘टक्लु दाइ’ भनेर स्नेहपूर्वक चिन्ने गर्छन्, लामो समयदेखि नेपाली क्रिकेटका खेलहरूमा अङ्ग्रेजी कमेन्ट्री गर्दै आएका छन् । उनको ऊर्जाशील प्रस्तुति, भावनात्मक शब्द चयन र नेपालप्रतिको आत्मीयताले उनलाई नेपाली दर्शकमाझ अत्यन्त लोकप्रिय बनाएको छ । एनपीएल सिजन २ मा पनि उनको कमेन्ट्रीले फ्यानहरूको मन जित्न सफल भएको देखिन्छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत रचना रिमालले एन्ड्रयू लियोनार्डसँगको भेटका तस्वीरहरू साझा गर्दै भावुक शब्दमा आफ्नो धारणा व्यक्त गरेकी छन् । उनले नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो रूपमा अघि बढिरहेको वर्तमान समयमा विश्व क्रिकेटकै नजर नेपालतर्फ केन्द्रित भइरहेको अनुभूति भएको उल्लेख गरेकी छन् । यस्तो महत्वपूर्ण घडीमा एन्ड्रयू जस्ता एक सशक्त समर्थक, कुशल कमेन्टेटर र बुलन्द आवाज नेपालका लागि अनुपम साथ भएको उनको भनाइ छ ।

रचनाले एन्ड्रयूका शब्दहरूले नेपाली क्रिकेटको आत्मा बोल्ने, उनको प्रशंसाले विश्वभर नेपाली क्रिकेटप्रति आकर्षण बढाउने र उनको ऊर्जाले खेलाडीदेखि समर्थक तथा आम जनमानससम्म नयाँ उत्साह जगाउने उल्लेख गरेकी छन् । विदेशी भए पनि नेपाललाई आफ्नै देश जस्तै माया गर्ने उनको स्वभाव सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको उनले बताएकी छन् ।

एन्ड्रयूलाई प्रत्यक्ष भेटेर धन्यवाद व्यक्त गर्न पाउनु आफ्नो जीवनको एक महत्वपूर्ण क्षण भएको उल्लेख गर्दै रचनाले नेपालले आज पाउँदै आएको सम्मान, पहिचान र अन्तर्राष्ट्रिय समर्थनमा उनको योगदान अतुलनीय रहेको बताएकी छन् । नेपाली क्रिकेटप्रतिको उनको प्रेम, ऊर्जा र सकारात्मक सोचले नेपालीहरूलाई अझ ठूलो सपना देख्न प्रेरित गरिरहेको भन्दै उनले आभार व्यक्त गरेकी छन् । नेपाली क्रिकेटको यात्रामा आवाज बनेर निरन्तर साथ दिँदै आएका एन्ड्रयू लियोनार्डप्रतिको यो सम्मानले नेपाली खेलकुद र संस्कृतिप्रतिको आपसी सद्भाव र कृतज्ञताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ ।

सिकार खेल्न हिँड्दा लडेर बन्दुक पड्किँदा आफ्नै साथीको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुई जनामध्ये अघिल्लो साथीलाई ठेस लागेर लड्दा पछाडिको साथीको गोली लागेर मृत्यु भएको छ । राक्सिराङ–८ राजराङका ४५ वर्षीय गोपाल ब्लोन जंगलमा हिँडिरहँदा लहरामा अल्झेर लड्दा पछाडि सँगै हिँडिरहेका मनहरी–६, बालुभञ्ज्याङका ५० वर्षीय सेते थिङको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, दुवैले भरुवा बन्दुक बोकेका थिए र ब्लोन लड्दा उनको बन्दुक पड्किएर पछाडि रहेका थिङको मृत्यु भएको हो । ब्लोनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय मनहरीमा ल्याएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दीपक थापाले बताए । घटना आइतबार दिँउसोको हो ।

ओलीको उम्मेदवार सूची ‘फाइनल’, पोखरेल पक्षकाे पनि सबै पदमा ‘टक्कर’ दिने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन निर्णायक मोडमा पुगेसँगै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह खुलेर आमने–सामने भएका छन् । पुस १ गते हुने निर्वाचनका लागि तालिका सार्वजनिक भएसँगै दुवै समूहले पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको सूची लगभग टुंग्याएका छन् ।

अध्यक्ष ओलीले आफ्नो प्यानलका उम्मेदवारको सूची तयार पारिसकेको एमाले नेताहरूको दाबी छ । आकांक्षी नेताहरूको विवरण संकलन गर्न विश्वासपात्र नेतालाई जिम्मा दिएका ओलीले आइतबार बेलुका अन्तिम सूचीमा सहमति जुटाएको बताइन्छ । समन्वय संयन्त्रले उम्मेदवारी दिन चाहने र नचाहने नेताहरूको नामावली बनाएर शनिबार राति नै ओलीलाई बुझाइसकेको थियो ।

आफ्नो समूहका नेताहरू व्यवस्थापन गर्न सहज बनाउन ओलीले विधान नै संशोधन गराएका छन् । विधान महाधिवेशनले घटाएर १५ बनाएको पदाधिकारी संख्या फेरि बढाएर १९ पु¥याइएको छ भने केन्द्रीय समिति २५१ बाट ३०१ सदस्यीय बनाइएको छ । सचिवालयमा विरोध भए पनि ओलीले केन्द्रीय कमिटी बैठकमार्फत बहुमत प्रयोग गरी यो प्रस्ताव पास गराएका थिए । यही निर्णयपछि उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका थिए भने वरिष्ठ उपाध्यक्ष पोखरेलले विधान संशोधन अस्वीकार गर्दै अध्यक्षमा उम्मेदवारी दिने संकेत दिएका थिए ।

ओली पक्षका अनुसार महत्वपूर्ण पदमा हालका पदाधिकारीहरूलाई दोहोर्‍याउने रणनीति लिइएको छ । तीन उपाध्यक्ष र महासचिव दोहोरिने लगभग निश्चित भएको बताइन्छ । महासचिवका आकांक्षी दुई नेतालाई उपाध्यक्षमा व्यवस्थापन गर्ने र सचिवमध्येबाट उपमहासचिव बनाउने योजना छ । भक्तपुरको गुन्डुस्थित ओली निवासमा जारी छलफलमा उपाध्यक्षमध्ये विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल र पृथ्वीसुब्बा गुरुङको नाम लगभग फाइनल भइसकेको स्रोतले जनाएको छ ।

बाँकी एक उपाध्यक्षमा प्रदीप ज्ञवाली वा शंकर पोखरेलमध्ये एकलाई अघि सार्ने तयारी छ । महासचिवमा ओलीको प्राथमिकता शंकर पोखरेल देखिएका छन् । उपमहासचिवमा रघुवीर महासेठ, विष्णु रिमाल र पद्मा अर्यालको नाम अगाडि आएको छ । सचिव संख्या ९ पुर्‍याइएपछि प्रदेशगत सन्तुलन मिलाउने प्रयास भएको छ । कोशीबाट शेरधन राई र भानुभक्त ढकाल, मधेसबाट ज्वालाकुमारी साह, बागमतीबाट महेश बस्नेत, गण्डकीबाट खगराज अधिकारी, लुम्बिनीबाट छविलाल विश्वकर्मा, कर्णालीबाट यमलाल कँडेल र सुदूरपश्चिमबाट लेखराज भट्ट सचिव बन्ने सम्भावना बलियो देखिएको छ ।

उता पोखरेल समूहले पनि अब सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । सुरुवातमा ओलीको सूची हेरेर रणनीति बनाउने सोचमा रहेको यो समूह अब एकै पटक मनोनयनमा जाने तयारीमा छ । थापागाउँस्थित कार्यालयमा छलफलमा जुटेको पोखरेल पक्षमा महासचिवका लागि सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ भने गोकर्ण विष्टलाई उपाध्यक्षमा अघि सार्ने लगभग तय भएको छ ।

योगेश भट्टराई उपमहासचिव उठ्ने पक्का भएको छ । सचिवतर्फ गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल र विन्दा पाण्डे आकांक्षी छन् । पदाधिकारी संख्या बढेपछि पोखरेल समूहलाई उम्मेदवार व्यवस्थापन सहज भएको बताइन्छ । यही अवसर प्रयोग गर्दै ओली पक्षका असन्तुष्ट नेतालाई आफूतिर तान्ने रणनीति पनि यो समूहले लिएको छ । केही नेताहरू चाँडै खुल्ने सम्भावना रहेको पोखरेल पक्षको दाबी छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगले सोमबार बिहान ९ बजेदेखि उम्मेदवारी फाराम वितरण र दिउँसो १ः३० बजेसम्म दर्ताको समय तोकेको छ । अन्तिम नामावली बेलुका ६ बजे सार्वजनिक हुनेछ । प्रक्रियागत रूपमा दुवै समूह उम्मेदवारी दर्तातर्फ अघि बढ्दै गर्दा एमाले महाधिवेशन अब स्पष्ट रूपमा ओली र पोखरेलबीचको प्रतिस्पर्धामा रूपान्तरण भएको छ ।

एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं राष्ट्रिय महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ । भक्तपुरको सल्लाघारीमा शनिबार भव्य उद्घाटनसँगै सुरु भएको महाधिवेशनको बन्द सत्र आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ ।

निर्वाचन प्रक्रियाअन्तर्गत आज (सोमबार) उम्मेदवारी दर्ता लगायतका मुख्य कार्यक्रमहरू हुँदैछन् । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले सार्वजनिक गरेको कार्यतालिका अनुसार, नेतृत्वका लागि आकांक्षी उम्मेदवारहरूले आज बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्म आफ्नो दरखास्त फाराम दर्ता गराउन सक्ने छन् ।

यस्तो छ आजको चुनावी कार्यतालिका
निर्वाचन आयोगले आजको दिनलाई उम्मेदवारी मनोनयन र अन्तिम नामावली प्रकाशनका लागि छुट्याएको छ । बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन भएसँगै चुनावी प्रक्रियाले गति लिनेछ । दिउँसो साढे १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ ।

आयोगका अनुसार, उम्मेदवारको विरोधमा उजुरी दिन चाहनेका लागि दिउँसो २ः३० देखि ३ः०० बजेसम्मको समय निर्धारण गरिएको छ । दाबी विरोध र फिर्ताको प्रक्रिया सकिएपछि आजै साँझ ६ः०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

भोलि मतदान
महाधिवेशनको मुख्य आकर्षण मानिएको नेतृत्व चयनको मतदान प्रक्रिया भने भोलि (मंगलबार) हुनेछ । निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूले भोलि बन्ने नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

युट्युबमा आयो बालेनको र्‍याप ‘आम नेपाली बुवा’को भिडियो

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका र्‍यापर बालेन शाहको र्‍याप ‘आम नेपाली बुवा’को नयाँ भिडियोसहित सार्वजनिक भएको छ। चलचित्र झरीपछिको इन्द्रेणीका लागि तयार पारिएको भिडियो आज युट्युबमा सार्वजनिक भएको हो ।

यो र्‍यापमा एक जना इमान्दार सरकारी कर्मचारीले परिवारमा भोग्ने समस्या देखाइएको छ ।

लक्ष्मीप्रसाद देवकोटाको कविता ‘यात्री’ कविताको केही हरफ गीतका र्‍यापको कोरसको रुपमा प्रयोग गरिएको छ । देवकोटाको यात्री कविता रविन शर्माको स्वरमा रेकर्ड भएको थियो । यो र्यापको कोरसका लागि भने दिक्षा उप्रेतीले स्वर दिएकी छिन् ।

सिंहदरबार वैद्यखानाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका बालेनका बुवा डा.रामनारायण शाहको निधन भएको दुई सातापछि ‘आम नेपाली बुवा’को भिडियो दर्शकहरूमाझ आएको हो । यो र्यापको रेकर्डिङ र छायांकन भने केही समय पहिले नै भइसकेको थियो ।

चलचित्र झरीपछिको इन्द्रेणीको प्रदर्शन पुष ४ गतेबाट सुरू हुनेछ ।

काठमाडौं महानगरले गर्‍यो २३५ बाजागुरूलाई नगदसहित सम्मान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुहरुलाई जनही नगद ३० हजार रुपियाँसहित सम्मान गरेको छ । ३१ औँ महानगर दिवस २०८२ का अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, समितिका सदस्यहरु, कार्यपालिकाअन्तर्गतका समितिका संयोजक लगायतको उपस्थितिमा सम्मान गरिएको हो।

सम्मानित हुने गृरुहरुमा ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस भएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरु र ५२ जना दाफा खिं गुरु रहेका छन् । यस्तै,  गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस भएका २६ टोलका एकएक जना गुरु, नेपाल खड्गी सेवा समितिबाट सिफारिस भएका ६९ टोलका एक एक जना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट १४ टोलबाट शिफारिस भएका १४ जना गुरु रहेका छन् । केन्द्रीय मानन्धर संघबाट सिफारिस भएका ४ टोलका ४ जना र विभिन्न संघसंस्थाहरुबाट सिफारिस भएका ७ जना बाजा गुरुलाई पनि सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले स्वःस्फूर्त परम्परागत बादन संस्कृति जोगाउन योगदान गर्ने बाजा गुरुहरुले प्रदान गरेको जीवन्तता कायम राख्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन् । ‘परम्पराको संरक्षण र प्रवर्धन अहिले नै आँखाले देखेजस्तो दृश्यात्मक हुँदैन तर अमूल्य हुन्छ,’ उपप्रमुख डंगोलले भनिन्, ‘पछिल्लो समयका प्रशिक्षण र सांस्कृतिक क्रियाकलापहरुमा युवाहरुको आकर्षण बढ्नुले संस्कार पुस्तान्तरण हुने वातावरण बनेको छ ।’

कार्यक्रममा बोल्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले बाजा गुरुहरुको सम्मानबाट अमूर्त सम्पदाको संरक्षणमा योगदान हुने अपेक्षा रहेको बताए । ‘बादन संस्कारले मूर्त सम्पदा क्षेत्रलाई जीवन्तता दिएका छन्, बाजा गुरुहरुकै कारण बादन संस्कार जोगिएको हो,’ संगतको भनाई छ, ‘यो परम्परा बचाइ राख्न महानगरपालिका र समुदायका बिच दिगो सम्बन्ध रहने हामीले अपेक्षा गरेका छौँ ।’  बाजा गुरुहरुको यो त्यागमाथि चर्चा गर्दै समितिका सदस्य तथा वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, ‘सम्मान कार्यक्रम एक दिन हुन्छ तर महानगरपालिका गुरुहरुप्रति हरेक दिन अनुग्रहित छ ।’

कार्यक्रममा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन, नेपाल खड्गी सेवा समितिका अध्यक्ष रञ्जिता खड्गी, गुंलाबाजं व्यवस्थापन व संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्यसहित वक्ताले, महानगरपालिकाले गुरुहरुलाई सम्मान गरेपछि सरकारबाट संरक्षण पाएको अनुभूति भएको धारणा राखेका थिए । बाजागाजा उपलब्ध गराउने, बजाउने तरिका सिक्ने तथा धार्मिक सामाजिक कार्यमा बादन गर्ने कामका लागि महानगरपालिकाको अझ सशक्त अभिभावकत्वको अपेक्षा गर्दै उनीहरुले अहिले थालिएका कार्यक्रमको प्रशंशा गरेका छन्।

१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ । दिवसका अवसरमा आज प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । यसैगरी नारायण चौरमा रैथाने मौलिक खाद्य स्वच्छता मेला आयोजना गरिएको छ ।

सन्दीप लामिछाने बीपीएलमा राजशाही वारियर्ससँग अनुबन्धित

काठमाडौँ। नेपालका स्टार लेग–स्पिनर सन्दीप लामिछाने सन् २०२६ को सिजनका लागि बंगलादेश प्रिमियर लिग (बीपीएल) टोली राजशाही वारियर्ससँग अनुबन्धित भएका छन्।

राजशाही वारियर्सले आइतबार सामाजिक सञ्जालमार्फत नयाँ सिजनका लागि लामिछानेलाई अनुबन्ध गरेको पुष्टि गरेको हो।

टोलीले आफ्नो पोस्टमा लेखेको छ,‘हिमालयन म्याजिक सन्दीप लामिछाने, नेपाल-स्वागत छ। तपाईं खेल हेरिरहनु मात्र होइन, यो लडाइँको हिस्सा हुनुहुन्छ। राजशाही वारियर्सलाई पछ्याउनुहोस् र सँगै गौरवको खोजी गरौँ।’

लामिछाने बीपीएल ड्राफ्टका लागि दर्ता भएका पाँच नेपाली खेलाडीमध्ये एक थिए। उनीसँगै दीपेन्द्र सिंह ऐरीलगायतले नाम दर्ता गरेका थिए। अक्सनमा लामिछाने नबिके पनि राजशाही वारियर्सले पछि ड्राफ्टबाहिरबाट उनलाई अनुबन्ध गरेको हो। यसअघि सन् २०१९ मा लामिछानेले बीपीएलकै सिलेट टाइटन्सबाट खेलेका थिए ।

लामिछाने नेपालका सबैभन्दा धेरै अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने क्रिकेटरमध्ये एक हुन्। उनले इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स, अष्ट्रेलियाको बिग ब्यास लिगमा मेलबर्न स्टार्स र होबार्ट हरिकेन्स, क्यारेबियन प्रिमियर लिगमा जमैका टालावाह्स, सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्स, ग्लोबल टी-२० क्यानडामा मोन्ट्रियल टाइगर्स र भ्यानकुभर नाइट्स, तथा पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सका लागि खेलिसकेका छन्।

उनले आईपीएलसहित क्यारिबियन प्रिमियर लिग सीपीएल, बिग ब्यास लिग बीबीएल र क्यानडाको ग्लोबल टी–२० लिग जस्ता प्रमुख प्रतियोगिताहरूमा सहभागिता जनाइसकेका छन् ।

बंगलादेशका प्रशंसकहरूले लामिछानेलाई पछिल्लो पटक २०२४ को आईसीसी टी–२० विश्वकपमा नजिकबाट हेरेका थिए, जहाँ नेपालले समूह चरणमा बंगलादेशको सामना गरेको थियो । त्यस खेलपछि लामिछाने बंगलादेशी कप्तान नजमुल हुसेन शान्तोसँग लामो कुराकानीमा देखिएका थिए । उनै शान्तोले आगामी बीपीएल सिजनमा राजशाही वारियर्सको नेतृत्व गर्नेछन् र अब यी दुई टोली साथी बन्नेछन् ।

बंगलादेश प्रिमियर लिगको नयाँ सिजन डिसेम्बर २६ मा सुरु हुँदै छ ।

सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनको मिति फागुन २१ बाट दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएका हुन् । आगामी चुनावलाई प्रभावित नहुने गरी काम गर्न पनि उनले सुझाए ।

राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सुशील कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरिन् ।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरूसमेत आँकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास जनाए ।

बन्द सत्रमा ईश्वर पोखरेलको फरक धारणा : पार्टी विधि र सामूहिक नेतृत्वतर्फ फर्किनु पर्छ

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको भावी दिशा र कार्यशैलीबारे स्पष्ट र फरक धारणा प्रस्तुत गरेका छन् । अपराह्न ३ बजेपछि सुरु भएको बन्द सत्रमा प्रारम्भमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि पोखरेलले अध्यक्षको अनुमति लिएर आफ्नो विचार राखेका हुन् ।

पोखरेलले बन्द सत्रमा छुट्टै अवधारणा पत्र प्रस्तुत गर्दै पार्टीभित्र अहिले विचार र नेतृत्वभन्दा पनि कार्यशैली नै मुख्य समस्या बनेको टिप्पणी गरे । यही अवस्था निरन्तर रहेमा पार्टी कुनै पनि बेला दुर्घटनाग्रस्त हुन सक्ने चिन्ता सबैमा रहेको भन्दै उनले समयमै आत्मसमीक्षा र सुधार आवश्यक रहेको बताए । पार्टीलाई विधि, पद्धति र सामूहिक नेतृत्वको प्रणालीमा सञ्चालन गर्नुपर्ने आफ्नो मान्यता रहेको पोखरेलको जोड थियो । उनले देश र पार्टी दुवै भूराजनीतिक दबाबको बोझमा परेको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा पार्टीभित्र लोकतान्त्रिक अभ्यास सुदृढ गर्नु अपरिहार्य भएको बताए।

यसै क्रममा उनले अध्यक्ष ओलीले विगतमा अघि सारेको ‘पार्टी जीवनको लोकतान्त्रिकरण’ सम्बन्धी प्रस्ताव र प्रयासलाई स्मरण गराउँदै आफू त्यही मान्यतामा उभिएको र त्यसको प्रशंसक रहेको बताए । ओलीले अघि सारेका ती अवधारणालाई व्यवहारमा उतार्न अझै ठाउँ रहेको संकेत गर्दै नेतृत्वले त्यसका लागि उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा उनले राखे । पोखरेलले विगतमा माओवादीसँग गरिएको पार्टी एकताको प्रक्रिया विधिसम्मत र सन्तुलित नभएकै कारण असफल भएको अनुभव पनि सुनाए । त्यस्तै, नेकपा एमालेको स्थापनादेखि हालसम्म भएका महाधिवेशनहरूको आयोजना प्रक्रियासँग आफू संयोगवश निरन्तर जोडिँदै आएको उल्लेख गर्दै उनले पार्टीको संगठनात्मक यात्रा र उतारचढावलाई नजिकबाट देख्ने अवसर पाएको बताए ।

गत शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई बन्द सत्रमा आफ्नो पालोमा अवधारणा पत्र प्रस्तुत गर्न दिने सहमति गरेको थियो । सोही अनुसार उनले केही दिनअघि नै पार्टी केन्द्रीय कार्यालय पुगेर महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाएका थिए । आफूले उठाएका विषयहरू बन्द सत्रमा प्रस्तुत गरिने पार्टीका आधिकारिक दस्तावेजमा समावेश हुनुपर्ने उनको आग्रह रहेको बुझिएको छ ।पोखरेलको सम्बोधनलाई महाधिवेशनमा नेतृत्व, कार्यशैली र आन्तरिक लोकतन्त्रबारे गम्भीर बहसतर्फ लैजाने प्रयासका रूपमा हेरिएको छ । बन्द सत्रमा उनका विचारहरूले कस्तो प्रभाव पार्छन् र पार्टीको आगामी निर्णयमा कति समेटिन्छन् भन्ने चासोका साथ प्रतिनिधिहरूले हेरिरहेका छन् ।

‘विद्या भण्डारीलाई आफ्नो घरमा आउन नदिनु गलत’
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति एवं पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई आउन नदिनु गलत भएको बताएका छन् । जारी बन्द सत्रमा आफ्नो धारणा राख्दै पोखरेलले भने, ‘केन्द्रीय उपाध्यक्ष भइसकेको व्यक्ति र आउँछु भनेपछि आउन पाउँदैनौं भन्नु कति विवेक सम्वत् ? विल्कुल त्यो गलत हो त्यसरी भनिनु हुँदैन । नआउनुस् भन्न सकिन्छ, आउन उचित हुँदैन भन्न सकिन्छ । तर, आउँछु मेरो घर हो । म जहाँ जन्मिएँ, हुर्किएँ त्यही ठाउँमा मेरो अन्तिम जीवन बिताउँछु भन्दा इस्यू थिएन नन् इस्यूलाई इस्यू बनाइयो । यो गरिनु उचित थिएन ।’

एमालेले कसरी चुन्छ ३०१ सदस्यीय केन्द्रीय समिति ?

काठमाडौं । नेकपा (एमाले) ले एघारौं महाधिवेशनमार्फत ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्ने स्पष्ट खाका तय गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी बन्द सत्रले केन्द्रीय समिति गठनका लागि क्लस्टरगत संरचना पारित गरेसँगै नेतृत्व चयनको आधार औपचारिक रूपमा टुंगिएको हो ।

बन्द सत्रमा प्रस्तुत प्रस्तावअनुसार एमालेले समावेशिता र पुस्तान्तरणलाई मुख्य प्राथमिकतामा राखेको देखिन्छ । पार्टीले सबै क्लस्टरमा ४० वर्षमुनिका युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ । भौगोलिक आधारमा राजधानी उपत्यकासहित सात प्रदेश गरी आठ प्रदेशबाट कम्तीमा एक–एक जना ४० वर्षमुनिका युवा केन्द्रीय सदस्य चयन गरिनेछ ।

क्लस्टर संरचनाअनुसार खुला प्रतिष्पर्धाबाट ६ जना र महिलाबाट ३ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ । महिलाको प्रतिनिधित्वलाई बलियो बनाउँदै कुल ७३ जना महिला केन्द्रीय सदस्य रहने प्रस्ताव पारित भएको छ । तीमध्ये ५२ जना खुला प्रतिस्पर्धाबाट, जनजाति महिलाबाट २ जना र ४० वर्षमुनिका युवतीबाट १७ जना केन्द्रीय समितिमा आउने छन् । मधेश क्लस्टरअन्तर्गत युवाबाट २ जना, खुलाबाट ८ जना र महिलाबाट ४ जना केन्द्रीय सदस्य चयन गरिनेछ । दलित क्लस्टरमा पनि समावेशितालाई ध्यान दिँदै युवाबाट १ जना, खुलाबाट ८ जना र महिलाबाट ४ जना चयन गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, प्रवासमा रहेका पार्टी कार्यकर्तालाई पनि केन्द्रीय समितिमा प्रतिनिधित्व दिइनेछ । भारतबाट १ जना र अन्य देशबाट १ जना केन्द्रीय सदस्य आउने व्यवस्था प्रस्तावमा समेटिएको छ । अपाङ्गता भएका व्यक्तिबाट समेत १ जना केन्द्रीय सदस्य चयन गरिनेछ । महाधिवेशनको बन्द सत्रमा महासचिव शंकर पोखरेलले पेश गरेको प्रस्तावले एमालेभित्र युवा सहभागिता, महिला प्रतिनिधित्व र विविध समुदायको समावेशितालाई संस्थागत गर्ने लक्ष्य राखेको नेताहरूको भनाइ छ । पारित संरचनाअनुसार अब केन्द्रीय समिति चयनको प्रक्रिया अघि बढ्ने छ, जसले आगामी दिनमा पार्टीको नेतृत्व संरचना कस्तो हुने भन्ने संकेत गरेको छ ।

 

सिंहदरबारको पश्चिम गेटमा जेन-जी घाइतेको धर्ना (तस्बिरहरू)

काठमाडौं। विभिन्न माग राखी अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार जाँदा, प्रवेश पास नपाएपछि जेन-जी घाइतेहरू धर्ना बसेका छन् ।

आइतबार ९ बजेबाट कुरी बसेका जेन-जी घाइते सिंहदरबारमा प्रवेश गर्न नपाएपछि पश्चिम गेटमा धर्ना बसेका हुन् ।

उनीहरूले रिलायन्स स्पीनिग मिल्सको वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्कासित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड रोक्का गरी, नेपाल धितो पत्र बोर्डमा व्याप्त भ्रष्टाचारलाई छानबिन गर्न माग गर्दै धर्ना बसिरहेका छन् ।

यस्तो छ उनीहरूको माग पत्र : 

विषय : रिलायन्स स्पीनिग मिल्सको वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्कासित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड रोक्का गरी, नेपाल धितो पत्र बोर्डमा व्याप्त भ्रष्टाचारलाई छानबिन गरी पाउँ भन्ने मागहरू राखेर धर्ना बसिरहेका छन् । 

महोदय,
उपयुक्त सम्बन्धमा पुँजी बजार क्षेत्र देशको आर्थिक विकासमा अहम् भूमिका निर्वाह गर्ने क्षेत्र रहेको तर यस क्षेत्रको विकास, विस्तार, आधुनिकीकरण र सुधारमा सरकारको उचित ध्यान नपुगेको कारणले, समय समयमा यस क्षेत्रमा व्याप्त अनियमितता र भ्रष्टाचार लगायतका घटनाहरूको भिडियो तथा लिखित सामाग्री नेपालका राष्ट्रिय दैनिक अनलाइन तथा पत्रिकाहरूमा सार्वजनिक भइरहेको र यसै क्रममा हाल चर्चामा रहेको रिलायन्स स्पीनिङ्ग मिल्सको प्रारम्भिक सार्वजनिक निष्कासन पनि अनियमितताको उच्च उदाहरणको रूपमा चर्चामा रहेको र यस घोटालामा नेपाल धितो पत्र बोर्ड, अर्थ मन्त्रालयका कर्मचारीहरू कम्पनी, नेप्से, क्रेडिट रेटिङ एजेंसी, लेखापरीक्षक, कम्पनी रजिष्ट्रारको कार्यालय, योग्य संस्थागत लगानीकर्ता, नेपाल धितो पत्र बोर्डका सञ्चालकहरूको मिलेमतो देखिएकी र नेपाल धितो पत्र बोर्डका पूर्व अध्यक्षहरू भीष्मराज ढुङ्गाना र रमेशकुमार हमाल, कार्यवाहक अध्यक्षहरू नरेन्द्र राजा र महेश बरालका कामकारबाही विवादास्पद रहेकी र हालका अध्यक्ष पनि विवादমা रहेकोले, यस क्षेत्रमा संलग्न ७३ लाख लगानीकर्ता, भ्रष्टाचार विरुद्धको लडाइँमा सहिद भएका ७८ जना Gen-Z युवाहरू, Gen-Z घाइते युवाहरू, नेपाली नागरिकहरूको हितको रक्षाको लागि देशको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा उन्नत बनाउन उपयुक्त कदम चल्न र उक्त क्षेत्रमा व्याप्त भ्रष्टाचार निर्मूल गर्नका लागि आवश्यक कदम चाल्न संयुक्त Gen-Z सायम् बाध्य पारिएको छ । त्यस कारण नेपाल धितो पत्र बोर्डका अध्यक्षको तत्काल राजीनामाको माग गर्दै यस्तो प्रकारका क्रियाकलापहरूमा लगाम नलगाइएमा, नेपालको आर्थिक क्षेत्र खैरो सूचीबाट कालो सूचीमा जान सक्ने ब्यहोरा पनि जानकारी गराउँछौँ ।

मागहरू :

१) रिलायन्स स्पीनिङ्गन् मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरुको लागि निष्कासित आईपीऔ बाडफाँड प्रक्रियालाई तत्काल रोक्नुपर्ने ।

२) निष्पक्ष छानबिन आयोग गठनमा गरी तत्काल धितो पत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निलम्बन गर्नु पर्ने ।

३) बोर्ड अध्यक्ष दोषी ठहरिए तत्काल बर्खास्त गर्नु पर्ने ।

४) भ्रष्टाचारमा संलग्न दोषीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने।

अष्ट्रेलियाको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु, दर्जन बढी घाइते

काठमाडौं । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ को मृत्यु भएको र घटनामा संलग्नता रहेको आशङ्कामा दुई जनालाई हिरासतमा लिइएको mजनाएको छ।

यहूदी समुदायका धेरै सदस्यहरू साँझमा दीप प्रज्वलन गरी मनाइने आठ दिन लामो यहूदी पर्व हनुक्का मनाउने क्रममा छुट्टीमा समुद्र तटमा भेला भएका थिए।

‘अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’का अनुसार कम्तीमा १६ जनालाई अस्पताल लगिएको छ र धेरैको घटनास्थलमै उपचार भइरहेको छ।

अस्ट्रेलियाको यहुदी सङ्घका प्रमुख रोबर्ट ग्रेगरीले सिड्नीको बोन्डी समुद्री तटमा हनुक्का कार्यक्रमका क्रममा आइतबार भएको गोलीकाण्ड ‘त्रासदीपूर्ण तर पूर्ण रूपमा पूर्वानुमानित’ भएको बताउनुभएको छ।

“अल्बानिज सरकारलाई धेरै पटक चेतावनी दिइयो तर सरकार यहुदी समुदायको रक्षाका लागि पर्याप्त कदम चाल्न असफल भएको छ,” फ्रान्सको प्रसिद्ध समाचार संस्था एएफपीले ग्रेगरीलेलाई उद्धृत गरी लेखेको छ ।

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा कायम भएको हो ।

आज ३३० कम्पनीको एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ६० हजार ६९९ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७४ लाख ५५ हजार ७७ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा बैंकिङ र म्युचुअल फण्ड उपसमूह सामान्य अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिटी होटल लिमिटेडको शेयर मूल्य छ दशमलव २६ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेड (प्रमोटर) को रु २६ करोड १८ लाख ५५ हजार ९३० बराबरको २४ लाख ९३ हजार ८६६ कित्ता शेयर किनबेच भएको छ ।

एनपिएल क्रिकेट : महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित

काठमाडौँ। एनपिएल क्रिकेटको दोस्रो संस्करणको समापनसँगै यसले नेपाली फ्रेन्चाइज क्रिकेटलाई मुलुककै महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित गरेको छ । नेपाल क्रिकेट सङ्घ क्यानद्वारा आयोजित करिब एक महिना लामो प्रतिस्पर्धाले नेपाली क्रिकेट मनोरञ्जनको माध्यम मात्र नभई व्यावसायिकतातर्फ उन्मुख भएको सन्देश दिन सफल भएको छ ।

मुलुकमा राजनीतिक परिवर्तनपछि अन्योलपूर्ण अवस्थामा पनि बिना कुनै व्यवधान सफलतापूर्वक प्रतियोगिता सम्पन्न हुनु उल्लेखनीय उपलब्धि मान्न सकिन्छ । सरकारको प्राथमिकतामा रहेर वर्षामा पनि निरन्तर निर्माण कार्य जारी राख्दै फ्लडलाइट जडान गरी पहिलोपटक रातिको समयमा खेल सञ्चालन गर्नु, दशौँ हजार दर्शकहरुलाई बस्ने सिटको व्यवस्था हुनु एनपिएल सफलताका उदाहरण हुन् ।

यस्तै, निजी क्षेत्रले करोडौँ रुपैयाँ लगानी गर्दै अन्तरराष्ट्रिय ख्यातिप्राप्त खेलाडीलाई आ–आफ्ना टिममा समावेश गरेकाले नै नेपाल तथा विश्वकै क्रिकेटप्रेमीले रोमाञ्चकारी प्रतिस्पर्धाबाट लाभान्वित हुने अवसर पाएका छन् । प्रत्यक्ष रुपमै लाखौँ दर्शकको आकर्षण देखिएपछि भर्खरै निर्माण तथा मर्मतसम्भार गरिएको कीर्तिपुर रङ्गशाला नै अब सानो भएको महसुस गराउन सफल एनपिएलले अब दीर्घकालीन रुपमा नेपाली खेलकुदकै ठूलो ब्राण्डका रुपमा स्थापित हुने स्पष्ट सङ्केत गरेको छ ।

एकपक्षीय फाइनल

गत वर्ष एनपिएल क्रिकेटको पहिलो संस्करणका बेला लुम्बिनी टिम सहभागी टिमहरुमध्ये सबैभन्दा पुछारमा पुगेपछि कप्तान रोहित पौडेलको आलोचना हुँदै आइरहेको थियो । कतिपयले उनलाई राष्ट्रिय टिमको कप्तानको जिम्मेवारीबाटसमेत हटाउनुपर्नेजस्ता आवाज उठाउने गरेका थिए तर एनपिएल क्रिकेटको दोस्रो प्रतियोगितामा उनले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेर मोटरकार, मोटरसाइकल पाउनुका साथै विजेता ट्रफी उचालेर सशक्त कप्तानका रुपमा इतिहास रच्न सफलता प्राप्त गरेका छन् । शनिबार भएको फाइनलमा एकपक्षीय खेल बनाउन कप्तान रोहित नेतृत्वको लुम्बिनी लायन्स टिमले सफलता पाएको थियो ।

यसपाली संयोगले फाइनलमा नेपाली राष्ट्रिय टिमका कप्तान र उपकप्तानबीचको भिडन्त थियो । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स टिमले उपकप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्सको टिमलाई ६६ बल बाँकी रहँदै ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

गत वर्षको उपविजेता सुदूरपश्चिमाञ्चलले यसपाली लिग चरणमा सशक्त खेल प्रदर्शन गर्दै लगातार छ खेल जितेपछि उच्च मनोबलमा देखिएको थियो ।

गत वर्षको विजेता जनकपुर बोल्डस टिम लिग चरणै बाहिरिएपछि नयाँ उपाधि जित्ने होडमा सुदूरपश्चिम रहेको थियो । लुम्बिनी प्रदेशलाई समेत ७ विकेटले पराजित गरिसकेकाले आत्तिनुपर्ने स्थिति थिएन तर एनपिएलको फाइनलमा दुई पटक पुग्न सफल सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्नु नै घातकसिद्ध हुन पुग्यो । उक्त टिमलाई जित्नैपर्ने दबाब थियो तर ब्याटिङमा संयमता हुन सकेन । लगातार नौ विकेट गुम्नु पीडादायी थियो तर लुम्बिनी भने कुनै दबाबबिना फाइनलमा उत्रेको थियो । लुम्बिनीले प्रत्येक खेलमा सुधार गर्दै विजयीको भागिदार बन्न पुगेको मान्न सकिन्छ ।

फाइनल खेललाई प्रतिस्पर्धात्मक भएको दर्शकले देख्न पाएनन् । सुदूरपश्चिमले १०० रन पनि बनाउन नसकी लुम्बिनीलाई ८६ रनको चुनौती दिनु भनेको अत्यन्त कमजोर प्रदर्शन मान्नुपर्छ तर लुम्बिनीले भने ३६ बल बाँकी रहँदै सहजै ६ विकेटले उपाधि हात पार्न पुग्यो । अन्य खेलमा झैँ हिजो पनि छक्काको वर्षा भएको थियो तर एकपक्षीय रुपमा । लुम्बिनीका लागि विष्फोटक ब्याट्सम्यान दिनेश अधिकारीले गरेको ४ वटा छक्कासहित बनाएको ४२ रनले टिमलाई छिटो विजय नजिक लगेको थियो । खेलको अवस्था हेर्दा लुम्बिनीलाई छिटो खेल समाप्त गरी ट्रफी उचाल्ने हतार भैरहेको महसुस हुन्थ्यो ।

करोडौँको पुरस्कार

एनपिएल क्रिकेटका सहभागी खेलाडीहरुका लागि ठूलो लागतको पुरस्कार पनि प्रमुख आकर्षण बन्दै आइरहेको छ । विभिन्न विधाका खेलाडीको प्रोत्साहनका लागि धेरै पुरस्कारका लागि निजी क्षेत्रले प्रायोजन जुटाएर आयोजकलाई सहयोग गरिरहेको छ । यसपटक पनि एपिएलमा विजेता टिम र उत्कृष्ट खेलाडीलाई करोडौँ रुपैयाँ पुरस्कार प्रदान गरियो । विजेता टिम लुम्बिनीले रु एक करोड १० लाख पुरस्कार प्राप्त गरेको थियो । दोस्रो भएको सुदूरपश्चिम टिमले रु ५१ लाख, तेस्रो टोली विराटनगर किङ्ग्सले रु २५ लाख तथा चौथो टोली काठमाडौँ गोर्खाजले रु १५ लाख पुरस्कार प्राप्त गरेको थियो ।

यसबाहेक खेलाडीले पनि व्यक्तिगत रुपमा पचासौँ लाख पुरस्कार पाएका थिए । लुम्बिनीका कप्तान रोहित पौडेलले प्राप्त गरेको मोटरकार, मोटरसाइकलका साथै विराटनगरका सन्दिप लामिछाने, लुम्बिनीका शेर मल्लले मोटरसाइकल पुरस्कार पाएका थिए । अन्य स्वदेशी तथा विदेशी खेलाडीहरुले विभिन्न विधामा नगद पुरस्कार प्राप्त गरेका थिए । खेलाडीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।

प्रतिस्पर्धात्मक स्तर

यस सिजनको एनपिएलले प्रभाव पारेको महत्वपूर्ण विषय हो प्रतिस्पर्धात्मक स्तर । यसपालि अधिकांश खेल अन्तिम ओभरसम्म रोचक बनेका थिए । सहभागी टिमले अन्तिम समयसम्म गरेको प्रयासले खेलको स्तरलाई प्रतिस्पर्धात्मक बनाएको थियो । स्वदेशी तथा विदेशी खेलाडीको सम्मिश्रण भएको टिमहरुबीच भएको प्रतिस्पर्धाबाट दर्शकहरुले स्तरीय खेल हेर्ने अवसर पाएका थिए । विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय खेलाडीहरुको खेलमा प्रभाव देखिनुका साथै घरेलु खेलाडीहरुको प्रयासले प्रतियोगिताको गुणस्तरलाई केही हदसम्म उठाउन सहयोगीको भूमिका खेलेको थियो । यसबाट नेपाली खेलाडीहरुको स्तर तथा आत्मविश्वास विगतको तुलना बढेको महसुस गरिएको छ ।

दर्शकहरुको उत्साह

एनपिएलको प्रमुख विशेषता भनेकै दर्शकको उपस्थिति हुन पुग्यो । विगतका वर्षहरुदेखि नै विभिन्न मुलुकमा नेपाली राष्ट्रिय टिमको खेल भएका बेला नेपाली दर्शकहरुको ठूलो सङ्ख्यामा उपस्थितिलाई विश्व किक्रेट जगतले प्रशंसा गर्दै आइरहको छ । नेपालका विभिन्न जिल्लाबाट दर्शकहरु एनपिएल क्रिकेट हेर्न काठमाडौँ आएका थिए । हरेक म्याचमा दर्शकको भब्य उपस्थितिले खेलमा विशेष रौनक ल्याउन सफल भएको थियो । बालबालिकादेखि पाका उमेरका दर्शक खेलमा उपस्थिति हुने गरेको, सहभागी टिमको जर्सी, राष्ट्रिय झण्डा तथा क्लबका झण्डाहरुसहित दर्शकहरुको आगमनले राष्ट्रिय एकताको भावनालाई अझ सुदृढ बनाएको पाइएको छ । टेलिभिजनको प्रत्यक्ष प्रसारण तथा डिजिटल फम्र्याटमार्फत संसारको विभिन्न कुनामा बसेका नेपालीका साथै क्रिकेटप्रेमी विश्वमाझ जोडिन पुग्दा क्रिकेटको प्रभाव अझ विस्तार हुन पुगेको छ ।

टिकटको उच्च माग

एनपिएल क्रिकेटका टिकट खेल अगाडि नै सकिनु यो प्रतियोगिताप्रति खेलप्रेमीहरुको अत्यधिक आकर्षण भएको मान्न सकिन्छ । क्रिकेटका खेल हेर्न दर्शकहरु निक्कै आतुर रहेका थिए । कीर्तिपुर रङ्गशालामा दिनहुँजसो भिड देखिन्थ्यो । विभिन्न खेलका बेला अनलाइनमा सम्पूर्ण टिकट बिक्री भई ‘सोल्ड आउट’ भइसकेको जानकारी आयोजकहरुले दिए पनि खेलका बेला प्याराफिटका रङ्गीन सिटहरु खाली भएको देखिन्थ्यो । यसरी टिकट बिक्री भए पनि सिट खाली भएको स्थिति कसरी उत्पन्न भएको थियो तथा टिकटको कालोबजारी भएको भन्ने जनगुनासोबारे क्यानले छानबिन गर्न जरुरी मानिएको छ । प्रतियोगिताको अन्तिम घडीमा क्यानले एक्कासी टिकटको मूल्य बढाउनु पनि उचित थिएन ।

हेलिकप्टर यात्रा

एनपिएलका क्रममा नेपाल आएका विभिन्न अन्तरराष्ट्रिय खेलाडीले नेपालमा गरेको विभिन्न भ्रमणले नेपालको पर्यटन प्रव्रद्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । विराटनगर किङ्ग्स टिमका तर्फबाट खेलेका अन्तरराष्ट्रिय खेलाडीहरुले सेमिफाइनलबाट टिम बाहिरिएपछि हेलिकप्टरबाट सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । अतिथि खेलाडी मार्टिन गुप्टिल, फाफ डु प्लेसिस र मर्चेण्ट डे लाङ्गेले नेपालको क्रिकेटका साथै नेपालको प्राकृतिक सौन्दर्यको पनि प्रत्यक्ष अनुभव गरेका छन् । उनीहरुले हिमाली क्षेत्रमा खिचेको फोटोकामाध्यमबाट नेपालको विश्वमा प्रचार भएको छ । अन्य टिमका खेलाडी, अफिसियल तथा अन्य अतिथिहरुले पनि नेपालको प्राकृतिक सौन्दर्यबाट प्रभावित भएको धारणा व्यक्त गरेका छन् ।

क्रिकेटप्रेमीका प्रिय

एनपिएल क्रिकेटको फाइनलको दिन क्रिकेट कमेन्टेटर एण्ड्रयु लियोनार्ड नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा सजिएर कीर्तिपुर रङ्गशालामा बोलिरहेका थिए । अन्य कमेन्टेटरले भने ढाका टोपी लगाएका थिए । केही वर्षदेखि कमेन्टेटर एण्ड्रयुको लोकप्रियता नेपाली क्रिकेटप्रेमीमाझ बढ्दो छ । नेपालको मित्रका रुपमा परिचय बनाएका आयरल्याण्डका पूर्वक्रिकेटर एण्ड्रयु सन् २०१८ मा एभरेष्ट प्रिमियर लिगमा टेलिभिजन कमेण्ट्रीका लागि पहिलोपटक नेपाल आएका थिए । त्यसपछि विभिन्न पटक नेपाल आएका उनले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा उद्घोषण गर्दा नेपालको क्रिकेटका साथै समग्र नेपालको खुलेर प्रशंसा गर्दै विश्वमा नेपालको प्रचारप्रसारका लागि योगदान गर्दै आएका छन् ।

यसपाली कीर्तिपुर रङ्गशालामा खेल हेर्न गएका दर्शकहरुमध्ये केहीले उनकै मुखाकृति झल्कने मुखुण्डोसमेत लगाएर आएको देखिएको थियो । उनी प्रत्यक्ष प्रसारणका क्रममा बोलिरहँदा उनको ठूलो आकारको तस्बिर तथा ब्यानर देखेपछि भावुक हुन पुगेका थिए ।

पहिलोपटक क्रिकेट एकेडेमी

गत वर्षको विजेता जनकपुर बोल्टस टिमले यसपाली उचित नतिजा हासिल गर्न नसके पनि क्रिकेट प्रशिक्षणको निरन्तरताका लागि सक्रिय रहने भएको छ । एनपिएल क्रिकेटमा सहभागी आठ टिममध्ये पहिलोपटक जनकपुर बोल्ट्स टिमले जेबी क्रिकेट एकेडेमीको घोषणा गरी क्रिकेट प्रशिक्षण सञ्चालन गर्ने भएको छ । एकेडेमीले मधेस–प्रदेशका स्थानीय खेलाडीलाई प्रशिक्षण दिने लक्ष्य राखेको छ । यसबाट आगामी दिनमा नयाँ प्रतिभाका लागि अवसरको ढोका खुल्न जाने अपेक्षा गरिएको छ ।

अन्त्यमा, एनपिएल क्रिकेटको समाप्ति सँगसँगै यस सिजनमा देखिएका चुनौतीलाई भविष्यमा अझ व्यवस्थित बनाउँदै विश्वस्तरीय फ्रेन्चाइज क्रिकेटको बाटोतर्फ अघि बढ्नु जरुरी मानिएको छ । दर्शकहरुको व्यापक समर्थनले यो अब लिग अब नेपालमा मात्र नभई क्षेत्रीय बजारमै पनि प्रतिस्पर्धी हुनसक्ने सङ्केत मिलेको छ । क्यानको अबको महत्वपूर्ण जिम्मेवारी भनेको आर्थिक विश्वसनीयतालाई प्रमुख प्राथमिकता दिनु हो । एनपिएलका आम्दानी तथा खर्चको सम्पूर्ण विवरण सार्वजनिक गरेर पारदर्शिता कायम गर्नु जरुरी देखिएको छ ।

यसैगरी, यस प्रतियोगिताका क्रममा उत्कृष्ट खेल प्रदर्शन गरेका प्रतिभाहरुलाई आगामी विश्वकपका लागि छनोट गरिने नेपाली टिममा समावेश गरी राष्ट्रिय टिम अझ बलियो बनाउन अग्रसरता देखाउनुपर्ने आवश्यकता महसुस गरिएको छ । एनपिएलमा राम्रो प्रदर्शन गरेका विनोद भण्डारी, शेर मल्ल, बसिर अहमदलगायतका खेलाडीलाई राष्ट्रिय टिममा समेटन सकिएको खण्डमा आगामी टि–ट्वान्टी विश्वकपमा नेपाललाई फाइदा हुने देखिन्छ । नेपाललाई टेष्ट म्याच खेल्ने राष्ट्रको सूचीमा समावेश गर्न आगामी दिनमा सुधारका प्रयास जारी राख्नुपर्छ ।

यसैगरी, एनपिएलको दुई संस्करणको समाप्तिपछि अब आगामी वर्ष तेस्रो संस्करण राजधानी काठमाडौँ बाहिर पनि विस्तार गर्न क्यान व्यवस्थापनको सक्रियता अपेक्षित मानिएको छ ।

निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लिएर विशेष अदालत गएको अख्तियारले चालिसेविरुद्ध करिब ४ करोडको बिगो दावी समेत गरेको छ । चालिसे २०७४ देखि २०७९ सम्म काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर थिए ।

२०७९ को निर्वाचनमा उनी काठमाडौं ३ बाट सांसद निर्वाचित भएका हुन् । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा चालिसे पत्नी मन्दिरा, छोराहरू सागर र सन्दीपका साथै बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाइएको छ । मुद्दा दर्ताको क्रममा रहेकाले विस्तृत विवरण आउन बाँकी छ। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित सांसद चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा विजयी भएका थिए ।

सहसचिव गिरीलाई ‘सर्वोत्कृष्ट संसद्सेवा पुरस्कार’

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले उत्कृष्ट कार्यसम्पादन गरेका चार जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले १९ औँ संसद्सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई पुरस्कार प्रदान गरे ।

सचिवालयले सहसचिव मनोजकुमार गिरीलाई सर्वोत्कृष्ट ‘संसद्सेवा पुरस्कार’, शाखा अधिकृत जयराम खड्कालाई ‘उत्कृष्ट संसद्सेवा पुरस्कार’ तथा प्रविधिक नायब सुब्बा कृष्णकला पौडेल र कार्यालय सहायक गणेश महर्जनलाई ‘संसद्सेवा पुरस्कार’ प्रदान गरेको हो । पुरस्कारको राशि क्रमशः एक लाख, रु ७५ हजार र रु ५० हजार रहेको छ ।

त्यसअवसरमा संसद् सेवाका अन्य चार जना माली, कुचिकार, चालक र कार्यालय सहयोगीलाई पनि प्रोत्साहनस्वरुप नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसअघि कार्यक्रममा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले ‘संसद्सेवा’ स्मारिका विमोचन गरे । स्मारिकाको विज्ञका रुपमा सेवा गरेका राष्ट्रिय समाचार समिति (रासस)का आलेख शाखाप्रमुख कृष्ण अधिकारीलाई सम्मान गरे । विसं २०५८ मङ्सिर २८ गते संसद्सेवा ऐन जारी भएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।

एमाले महाधिवेशनको बन्द सत्र सुरु, निर्वाचनमा विद्युतीय मतदान मेशिन {तस्वीरहरु}

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्र सुरु भएको हो । जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रगानको पंक्ति लिँदै रोचक नारा लगाएका छन् । बन्द सत्रमा उपस्थित महिला, युवा, दलित र मधेशका प्रतिनिधिलाई उठ्न लगाएर ओलीले भने, ‘सयौँ थुगा फूलका हामी एउटै माला एमाले ।’

बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् । बन्द सत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन हुनेछ । ओलीले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्थाबारे भनाइ राख्ने छन् । अध्यक्षा मण्डलले निर्वाचन आयोगलाई प्रक्रिया अघि बढाउन निर्देशन दिनेछ । एमालेले नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मतदान मेशिन प्रयोग गर्ने भएको छ ।

निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय भएको जानकारी दिए । आइतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या हेरफेरको निर्णय गरेको थियो। अब पार्टीमा वरिष्ठ उपाध्यक्ष पद रहने छैन । बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ ।

पार्टीमा मनपरीतन्त्रविरूद्धको लडाइँ जारी छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा मनपरीतन्त्रका विरूद्ध लडाइँ जारी रहेको बताएका छन् । आजको केन्द्रीय कमिटी बैठकले पुरानै विधान ब्युँताउने निर्णय गरेको छ । सोही सन्दर्भमा बोल्दै उपाध्यक्ष पाण्डेले भने, ‘के हाम्रा विधानहरू अस्थायी हुन् ? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔं भन्ने ? यो सरासर मनपरी होइन भने के हो ?’

उनले अहिले आएर विधान अधिवेशनको निर्णयविपरीत पदाधिकारी र केन्द्रीय सदस्यको आधार बढाइएको बताए । ‘यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ। पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ,’ महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने ।

विधान संशोधन गर्ने भए अध्यक्ष र महासचिव मात्रै राखौं : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले विधान संशोधन गर्ने हो भने अध्यक्ष र महासचिव मात्रै राख्न आग्रह गरेका छन् । भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले पद बाँड्न विधान संशोधन गर्न नहुने बताएका छन् ।

‘विधान संशोधन गर्ने नै हो भने एक अध्यक्ष र एक महासचिव मात्रै रहने गरी संशोधन गरौं, हामी बारीको, कान्लाको पाटोमै बसौंला,’ उनका भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले सुनाए, ‘हामी दूरदर्शी पनि रहेनछौं, भदौको विधान महाधिवेशनको निर्णय यति छोटो समयमै उल्टायौं ।’

उनले पद बाँडेर पार्टीभित्र एकता नहुने भन्दै एकता कायम राख्न सबैलाई जोड्ने भावना चाहिने बताए । ‘अहिले एकता टुटेको अवस्था छ, सबैलाई समेट्ने भावना चाहिन्छ,’ उनले भने । केन्द्रीय कमिटीले पुरानै विधान ब्युँताउने निर्णय गरिसकेको छ भने बन्द सत्र पनि चलिरहेको छ ।

एमालेको बन्द सत्र सुरू : बनाइएन अध्यक्ष मण्डल, ओलीले नै चलाए

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत बन्द सत्र सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आज अपराह्न सवा ३ बजेदेखि बन्द सत्र सुरू भएको हो । अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि आफ्नो अवधारणा पत्र पेस गर्ने तयारी गरेका छन्। बन्द सत्रअघि भृकुटीमण्डपमै केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले पुरानै विधान ब्युँताउने निर्णय गरेको थियो ।

बन्द सत्र अध्यक्ष मण्डल नबनाई नै सुरु भएको हो। अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्र सञ्चालन गरेका छन्। केन्द्रीय कमिटीका पदाधिकारी मञ्चमा छन्। स्थायी कमिटी र पोलिटब्यूरोसहित प्रतिनिधि तल राखेर महाधिवेशनको बन्द सत्र सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्र अध्यक्षले सञ्चालन गर्ने र अध्यक्ष मण्डल नबनाउने बताउँदै बन्द सत्र सुरु गरेका हुन्। यसअघिको सचिवालय बैठकले पनि अध्यक्ष मण्डल नबनाउने निर्णय गरेको थियो।

मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनु पर्दछ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन् । आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरुले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुनेगरी काम गर्न आवश्यक रहेको बताएकी हुन् ।

उनले समावेशी विकास र समन्यायको आकांक्षा जेनजीहरुको अभिव्यक्ति भएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्नसके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने समेत बताइन् । प्रधानमन्त्री कार्कीले सबै जाति, भाषा र संस्कृतिका समुदायको हीत हुनेगरी अघि बढ्न पनि सम्बन्धित पक्षलाई सचेत पनि गराइन् ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भोलि (सोमबार) बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको कांग्रेसका मुख्य सविच कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।

मुख्य सचिव पौडेलले आइतबार जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०८२ मंसिर २९ गते सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

यसअघि झण्डै डेढ महिना चलेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई साताअघि मात्रै सकिएको थियो । गत असोज २८ गते सुरु भएको बैठक विभिन्न निर्णय गर्दै मंसिर १५ गते सम्पन्न भएको थियो । बैठक महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट भएको उम्मेदवार सिफारिसलगायतमा केन्द्रित हुने बताइएको छ ।

एमाले महाधिवेशन: कुन-कुन पदमा उठ्दैछन् यी चर्चित युवा?

काठमाडौँ ।  नेकपा एमालेको ११औं महाधिवेशनबाट पार्टीको पहिलो पुस्ताका नेताहरूले बिदा लिने क्रम चलिरहेको छ । १०औं महाधिवेशनबाट उपाध्यक्ष बनेका अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरिसकेका छन् । उनीहरूबाहेक अरू पनि पुरानो पुस्ताका नेताहरू बिदा हुनसक्छन् । अर्कातिर यही महाधिवेशनबाट केही चर्चित युवाहरूले पार्टीभित्र फरकफरक भूमिका खोजिरहेका छन् । सामाजिक सञ्जाल र युवापुस्ता माझ चर्चित केही युवा अनुहारहरु पार्टी पधादिकारी देखि केन्द्रीय सदस्यसम्म प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

सुहाङ नेम्वाङ

एमालेका पूर्वउपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ युवापुस्तामाझ चर्चित अनुहार हुन् । उनले जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । उम्मेद्वारी घोषणा गर्दै उनले फेसबुक पोष्टमा लेखेका छन्, ‘नेकपा एमालेको गौरवमय आन्दोलनलाई नयाँ पुस्तासँग जोड्नु आजको प्रमुख चुनौति र कार्यभार हो । यो ऐतिहासिक कार्यभारमा म पनि योगदान गर्न सक्छु भन्ने लागेर ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने निधो गरेँ । तपाईंहरूको माया, साथ र सहयोगका लागि हार्दिक अनुरोध छ।’

वकालत पेशामा रहेका सुहाङ आफ्ना पिताको निधन भएपछि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । ईलाम क्षेत्र नम्बर दुईका सांसद रहेका सुवास नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा उम्मेद्वार बन्दै विजयी भएका थिए ।

सुनिता ढंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सामाजिक सञ्जाल प्रयोगकर्ता र युवापुस्तमाझ चर्चित छिन् । पार्टी सदस्य नभए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७९ सालको स्थानिय निर्वाचनमा उनलाई उपमेयरको टिकट दिएका थिए । मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन शाह निर्वाचित भएका थिए भने सुनिता उपमेयरमा निर्वाचित भएकी थिइन् । उनी पार्टीभित्र केपी ओली निकट भनेर चिनिने सुनितालाई अध्यक्ष ओलीले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेका हुन् । उनले अहिलेसम्म कुनै पदमा उम्मेद्वारी दिने नदिने प्रष्ट पारेकी छैनन् ।

महेश बर्तौला

२०७९सालको संसदीय निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २मा पूर्वमन्त्री विरोध खतिवडालाई पराजित गर्दै सांसद बनेपछि महेश बर्तौला चर्चामा आएका थिए । एमाले सत्तामा रहेकै बेला उनलाई अध्यक्ष ओलीले उनलाई पार्टीको प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । केपी ओली निकट बर्तौला यसपटक केन्द्रीय सदस्यमा दोहोरिन सक्नेछन्।

रचना खड्का

अनेरास्ववियुको महासचिव बनेकी दोलखाकी रचना खड्का बाग्मती प्रदेश सभाकी सांसद र पार्टीको केन्द्रीय सदस्य हुन् । उनी छोटो समयका लागि प्रदेश सरकारमा मन्त्री पनि भएकी थिइन् । ईश्वर पोखरेल समूहसँग नजिक रहेकी खड्काले सचिवमा उम्मेद्वारी दिने तयारी गरिरहेकी छिन् ।

सुनिता बराल

२०७९सालको निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेकी बराल ओलीनिकट नेताका रुपमा चिनिन्छिन् । अनेरास्ववियुको राजनीतिबाट उदाएकी बरालले यसपटक पनि केन्द्रीय सदस्य दोहोर्याउने सम्भावना छ ।

उषाकिरण तिमल्सिना

पार्टीभित्र अध्यक्ष ओलीको खरो आलोचनाका कारण निलम्बन समेत भोगेकी उषाकिरण तिम्सेना १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन् । अनेरास्वियुको राजनीतिबाट उदाएकी तिम्सेनाले यसपटक पनि केन्द्रीय सदस्य दोहोर्याउन चाहेकी छिन् ।

राधिका खतिवडा

विद्यार्थी राजनीतिबाटै उदाएकी राधिका खतिवडा पेशाले वकिल हुन् । गरीब तथा निमुखाका मुद्धा निशुल्क लडेर चर्चा कमाएकी खतिवडालाई एमालेवृत्तमा ‘गरीबकी वकिल’ भन्ने गरिन्छ । उनले जारी ११औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरिसकेकी छिन् । साथै, अध्यक्षमा केपी शर्मा ओलीलाई साथ दिने कुरामा पनि उनी खुलेरै लागेकी छिन् ।

क्षितिज थेवे

युवा संघका अध्यक्ष क्षितिज थेवे जेनजी आन्दोलनपछी चर्चामा आएका थिए । पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट गुण्डु आएपछी उनको सुरक्षामा थेवे खटिएका थिए । केन्द्रीय सदस्यमा डेब्यु गर्ने तयारी गरिरहेका थेवे स्वभाविक रुपमा केपी ओली पक्षधर हुन्।

मेनका पछाईं

विद्यार्थी राजनीतिबाट उदाएकी कर्णालीको नेतृ मेनका पछाईं पनि यसपटक केन्द्रीय सदस्यको दौडमा छिन् । १०औं महाधिवेशनबाटै केन्द्रीय सदस्य बन्ने प्रयास गरे पनि त्यतिबेला सफल नभएका कारण अहिले भने प्रतिस्पर्धामा उत्रिने उनले प्रष्ट पारेकी छिन् ।

श्रीमतीको हत्या गरी शव गाडेपछि जसले दिए बेपत्ता भन्दै प्रहरीमा निवेदन

संखुवासभा । संखुवासभामा श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । मादी नगरपालिका–६ बस्ने ४९ वर्षीय प्रेम दोर्ची शेर्पा पक्राउ परेका हुन् । उनीमाथि आफ्नी ३७ वर्षीया श्रीमती मिना शेर्पाको हत्या गरेको आरोप लागेको हो । मंसिर ९ गते आफ्नी श्रीमती मिना हराएको भनेर प्रेमले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । निवेदनपछि अनुसन्धानबाट प्रेम दोर्ची नै शंकास्पद पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो ।

सोधपुछको क्रममा उनले हत्या गरेको स्वीकारेका हुन् । ‘मंसिर ९ गते राति अन्दाजी साढे १० बजे ओखरेबोटे बजारबाट घर फर्किने क्रममा दुई जनाबीच विवाद भएको र बाटैमा कुटपिट गरी हत्या गरेको खुलेको छ,’ प्रहरी निरीक्षक राजवंशीले भने, ‘हत्या पछि आफ्नै अलैची बारीमा लाशलाई त्रिपालमा बेरेर खाल्डो खनेर गाडेको छु भनेका थिए ।’

त्यसपछि इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमाण्डमा अनुसन्धान टोली खटिएर शव निकालिएको थियो । प्रहरीले शव सडिसकेको अवस्थामा फेला पारेको थियो । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गर्न प्रेम दोर्चीमाथि कर्तव्य ज्यान कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छ : देवराज घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसदलाई बन्देज लगाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । संघीय संसद सचिवालयका दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभाको विघटन गर्ने कामको सान्दर्भिकता नभएको जिकिर समेत गरे । सभामुख घिमिरेले सरकारले संसद सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा र दरबन्दी घटाउने कामप्रति पनि असन्तुष्टि व्यक्त गरे । सरकारले संघीय संसदलाई आफू मातहतको कुनै एउटा शाखाको जस्तो व्यवहार गर्नु उचित नभएको सभामुख घिमिरेको भनाई थियो ।

उनले भने, ‘२७ भदौमा गएर संसदलाई नै विघटन गरिएको छ । यसको सोझो सान्दर्भिकता देखिँदैन र छैन । यो संसदीय व्यवस्थामाथिको प्रहार हो । पछिल्लो समय सरकारले संसद र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रुपमा अदृष्य बन्देज लगाउने प्रयास गरिरहेको छ । म सभामुखको हैसियतले स्पष्ट शब्दमा भन्न चाहन्छु–संसदको सरकारको अधिनमा रहने कुनै एउटा शाखा होइन र हुन सक्दैन । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार संसद आफैमा पूर्ण स्वायत्त निकाय हो ।’

उनले भने, ‘संसदको बजेटमा अर्थ मन्त्रालयले कैंची चलाउनु, कर्मचारीको सेवा, सुविधा र दरबन्दीमा प्रशासनिक बाधा पु¥याउनु भनेको अप्रत्यक्षरुपमा व्यवस्थापिकालाई कार्यकारीले नियन्त्रण गर्ने उल्टो प्रयास हो । संसदको आर्थिक र प्रशासनिक साँचो सरकारको हातमा मात्रै हुने हो भने यो संसदले कसरी सरकारमाथि निष्पक्ष निगरानी र सन्तुलित कामहरु गर्न सक्दछ ? यो अहिले तत्काल छलफल, बहस र तुरुन्त कार्यान्वयनमा सुधार गर्नुपर्ने विषय हो भन्नेकुरा म राख्न चाहन्छु ।’ सभामुख घिमिरेले सरकारले संघीय संसदको सेवा, सुविधा घटाउने निर्णय तत्काल सच्याउनु पर्ने समेत बताए ।

तीन महिनामै उल्टियो एमालेको विधान, अब वरिष्ठ उपाध्यक्ष नरहने

काठमाडौं । विधान महाधिवेशनको तीन महिना नबित्दै नेकपा (एमाले) ले विधान संशोधन गरेको छ । एघारौँ महाधिवेशनको बन्दसत्रअघि आज बिहान बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार विधान संशोधनगरी केन्द्रीय समितिको आकार र पदाधिकारीको संख्या बढाउने निर्णय गरेको हो ।

जसअनुसार अब केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने छ भने पदाधिकारी १९ जना कायम हुनेछ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, विधान संशोधनसहित १९ जना पदाधिकारी बनाउने प्रस्ताव बन्द सत्रको हलमा प्रस्तुत हुनेछ । गत भदौमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ जनाको बनाएको थियो ।

यसअघि दुई दिनअघि मात्रै बसेको सचिवालय बैठकले पनि विधान संशोधन नगर्ने र भदौमै पारित विधान अनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने निर्णय गरेको थियो । तर, अन्तिम समयमा आइतबार बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउँदै विधान संशोधन गरेको हो । जस अनुसार, अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने पदाधिकारी संख्या बन्द सत्रको हलमा प्रस्तुत गर्ने निर्णय भएको हो । त्यस्तै, पोलिटब्युरो सदस्यको एक तिहाइ स्थायी कमिटी बनाइने पनि उनले जानकारी दिए । उनका अनुसार, पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । केन्द्रीय कमिटी भने २ सय ५१ बाट बढाएर ३ सय १ जनाको बनाइएको छ ।

एमाले महाधिवेशनको बन्द सत्र फेरि ३ बजेलाई सारियो

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय कमिटीको बैठकका कारण सरेको बन्दसत्र १२ बजे, १ बजे हुँदै दिउँसो ३ बजेका लागि सरेको हो । एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार खानापछि बन्द सत्र सुरु हुनेछ । काठमाडौंस्थित भृकुटीमण्डपमा हुने बन्दसत्रमा २२६२ महाधिवेशन प्रतिनिधि छन् भने सयौं कार्यकर्ता भृकुटीमण्डपमा भेला भएका छन् ।

केन्द्रीय कमिटीको बैठकले पुरानै विधान कायम गरेर जाने निर्णय गरेको छ । पोलिटब्युरोको एक तिहाइ सङ्ख्याको स्थायी कमिटी, पोलिटब्युरो ९९ सदस्यीय बनाउने निर्णय भएको छ भने केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरिएको छ । बन्द सत्रमा विधान संशोधनका सन्दर्भमा संख्या र संरचना मात्र परिवर्तन हुने र अन्य यथावत् रहने बताइएको छ ।

 

 

ट्रान्सपरेन्सी इन्टरनेशनलले गर्‍यो महान्यायाधिवक्ता भण्डारीलाई निलम्बन

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले महान्याधिवक्ता सबिता भण्डारी बराललाई सदस्यबाट निलम्बन गरेको छ । भण्डारीलाई ट्रान्सपरेन्सी कार्यसमितिले साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको हो । उनी विवादमा जोडिएपछि उक्त निर्णय गरेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका एक सदस्यले जानकारी दिए । ‘सार्वजनिक पदमा बसेको र उहाँमाथि प्रश्न उठ्न थालेपछि निलम्बन गरिएको हो । उहाँको पदलाई तत्काल स्थगनमा राखिएको छ ।’ महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीमा साधारण सदस्य थिइन् ।

‘हाम्रो संस्थाका आफ्नै मूल्य मान्यता र विश्वास छन् । कतिपय अवस्थामा संस्था र त्यसका पदाधिकारीहरुमाथि सार्वजनिक रुपमा नै प्रश्न उठेपछि सम्बोधन हुनुपर्ने ठान्छौं’ कार्यसमितिका एक सदस्यले भने, ‘त्यसैले हामीले अहिलेलाई अस्थायी रुपमा उहाँका बारेमा त्यस्तो निर्णय लिएका हौं ।’ उनका अनुसार विवाद सुरू भएदेखि नै उनलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिएको थियो । तर उनले अस्वीकार गरेकी थिइन् । तर विषयवस्तु स्पष्ट पारेमा निलम्बनबारे विचार हुनसक्ने उनले बताएका छन् ।

उनका अनुसार, सविता भण्डारी बराल एक त सार्वजनिक पदमा पुगेकी थिइन् । अर्कोतर्फ उनले नै गर्नुपर्ने निर्णयका बारेमा समेत सार्वजनिक वृत्तमा प्रश्न उठेपछि निर्णय भएको उनले बताए । विश्वव्यापी रुपमा भ्रष्टाचारको अनुगमन गर्ने र भ्रष्टाचार विरुद्ध वकालत गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरको रुपमा टीआई नेपाल सक्रिय छ । वरिष्ठ अधिवक्ता समेत रहेकी सविता भण्डारी बराल उक्त संस्थामा साधारण सदस्य छन् भने यसअघि पटक पटक कार्यसमितिमा पनि निर्वाचित भएकी थिइन् ।

 

 

आइजीपी कार्कीको गुनासो : प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो गरेका छन् । जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन आज उदघाटन गर्दै कार्कीले यस्तो गुनासो गरेका हुन् ।

उनले भने, ‘नेपाल प्रहरीका थुप्रै संरचनाहरु आन्दोलनको क्रममा यसपाला पनि ध्वस्त भए । यसभन्दा पहिला पहिलाका आन्दोलनमा पनि नेपालको इतिहासमा थुप्रैचोटि भएका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोको रुपमा पर्छ । यसलाई चाहिँ चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो पनि बनाउने, त्यस्तो पनि हुन्छ ।’ विगतका राजनीतिक आन्दोलनमा जस्तै यस वर्ष पनि प्रहरीलाई नै तारो बनाइएको बताएका छन् ।२३ र २४ गतेको जेन जेड प्रदर्शनको क्रममा उक्त भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

हाँस्य कलाकार किरण केसी ‘रातामकै’ को अग्रसरतामा पुनर्निर्माण गरिएको प्रहरी वृत्त सातदोबाटोको नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरिएको थियो । आइतबार बिहान आयोजित समारोहमा प्रहरी महानिरीक्षक कार्की, हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्कीको आतिथ्यतामा कलाकार केसीले समितिका सदस्यहरूको उपस्थितिमा भवन हस्तान्तरण गरेका हुन् ।

कर वक्यौता चुलिँदै : ९४ अर्ब ९५ करोड उठेन

काठमाडौं । पछिल्ला वर्षहरुमा उठ्न बाँकी कर वक्यौता चुलिन थालेको छ । आन्तरिक राजश्व विभागकाअनुसार प्रत्येक वर्षजसो बढिरहेको वक्यौता आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा ब्याज, थप दस्तुर र विलम्व शुल्कसहित उठ्न बाँकी त्यस्तो रकम ९४ अर्ब ९५ करोड पुगेको हो । त्यसो त, पछिल्लो समय कर कार्यालयहरुले निर्धारण गरेको रकम करदाताले चित्त बुझाउन छाडेका छन् भने करदाताले चित्त नबुझाउँदा उठ्न बाँकी कर रकम पनि अर्बौं छ । विभागकाअनुसार कर कार्यालयबाट भएको कर निर्धारणप्रति करदाताले चित्त नबुझाई आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब ८० अर्ब १० करोड रहेको पुुगेको छ ।

अघिल्लो बर्षमा वक्यौता संकलनतर्फ आयकरमा २२ अर्ब ७६ करोड लक्ष्य तोकिएकोमा ८ अर्ब ७१ करोड असुली भएको छ । यो प्रगति लक्ष्यको ३८.२९ प्रतिशत हो भने मू.अ.करतर्फ १६ अर्ब ३३ करोड लक्ष्य रहेकोमा रु. १० अर्ब ३३ करोड असुली गरिएको छ । जुन लक्ष्यको ६३.२८ प्रतिशत हो । वक्यौता समायोजनतर्फ आयकरमा २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड उठेको छ ।

जुन प्रगती लक्ष्यको ७८.१ प्रतिशत हो भने मूल्य अभिवृद्धि करतर्फ भने रु. १८ अर्ब १७ करोड लक्ष्य रहेकोमा २२ अर्ब २९ करोड समायोजन भई १२२.६३ प्रतिशत प्रगति भएको आन्तरीक राजस्व विभागले जनाएको छ । कानूनी कारवाहीमार्फत असुल गर्ने लक्ष्य ४ अर्ब ३९ करोड तोकिएकोमा अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७९ करोड मात्र असुली भएको छ । जुन लक्ष्यको तुलनामा ४०.७७ प्रतिशत प्रगति हो । नेपालमा व्यवसाय, रोजगारी तथा लगानीबाट करयोग्य आय आर्जन गर्ने व्यक्तिले आयकर ऐन, २०५८ को दफा ९६ अनुसार स्वयं घोषणा गरी तोकिएको समयभित्र आय विवरण पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

विवरणअनुसारको कर समयमै दाखिला नभएमा, कर परीक्षण तथा अनुसन्धानबाट कर निर्धारण भएमा वा अन्य कुनै कारणले आन्तरिक राजस्व कार्यालयबाट निर्धारण भएका आयकर, मूल्य अभिवृद्धि कर (मू.अ.कर), अन्तःशुल्क तथा साविकका अन्य कर रकम तोकिएको समयभित्र बुझाउन नसक्दा ती रकम वक्यौता कायम हुने गर्दछ । यसरी कायम भएको वक्यौताको अभिलेख राख्ने, मासिक तथा वार्षिक कार्यालयगत बक्यौता संकलन लक्ष्य निर्धारण गर्ने, वक्यौता संकलन रणनीति तयार गर्ने, प्रगति अनुगमन गर्ने तथा कार्यालयहरूबाट उठेका बक्यौता सम्बन्धी जिज्ञासामा स्पष्टता दिने कार्य आन्तरिक राजश्व विभागको वक्यौता शाखा शाखाले गर्दै आएको छ ।

 

 

पुरानै संरचनामा फर्कियो एमाले, यी नेता उत्रिए विधान संशोधनको विपक्षमा

काठमाडौं । नेकपा एमालेको पार्टी कमिटी पुरानै संरचनामा फर्किने भएको छ । ११ औं महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष ओलीले विधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको हो । सो निर्णयप्रति वरिष्ठ उपाध्यक्ष पोखरेलले विमति जनाउँदै बैठकमा सम्बोधन गरेका छन् । सुरेन्द्र पाण्डेले पनि संशोधन गर्ने नै भए दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाउनुपर्ने बताएका थिए ।

अब बन्द सत्रबाट अध्यक्षसहित, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३, सचिव ७, स्थायी कमिटी ४५, पोलिटब्युरो ९९, समेत ३०१ सदस्यीय केन्द्रीय कमिटी बन्ने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए । भदौ अन्तिम साता गोदावरीमा भएको विधान सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो ।

नेकपा एमालेको विधान संशोधन गर्न नहुने पक्षमा उपाध्यक्ष युवराज ज्ञवाली, अस्टलक्ष्मी शाक्य लगायतका नेताहरू उभिएका छन् । केन्द्रीय कमिटी बैठकमा विधान संशोधन गर्न नहुने पक्षमा उनीहरू देखिएका हुन् । बैठकमा धारणा राख्दै उपाध्यक्षद्वय ज्ञवाली र शाक्य तथा स्थाथी कमिटी सदस्यहरू बिन्दा पाण्डे, कर्ण थापा र काशिनाथ अधिकारीले पनि विधान संशोधन गर्न नहुने धारणा राखेका छन् । शुक्रबार बसेको सचिवालय बैठकमै अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउनेगरि विधान संशोधन गर्ने प्रस्ताव ल्याउने तयारीमा थिए ।

तर, त्यहाँ सचिवालयका अधिकांश सदस्य विपक्षमा उभिएपछि गत भदौमा भएको दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान अनुसारै नेतृत्व निर्माण गर्ने निर्णय बैठकबाट भएको थियो । तर, ओली पक्षले फेरि केन्द्रीय कमिटीमा विधान संशोधनको प्रस्ताव ल्याएर त्यही पारित गर्न खोजेपछि केही नेताहरू त्यसको विपक्षमा उभिएका हुन् । आफ्नो खेमाका नेताहरुको व्यवस्थापनका लागि सहज होस् भन्दै ओलीले विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउन खोजेका हुन् ।

 

चुनाव नलड्ने अष्टलक्ष्मीको घोषणा : आफू विना पार्टी चल्दैन भन्ने भ्रम त्यागौं

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने घोषणा गरेकी छिन् । भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले भनिन्, ‘म अब चुनाव लड्दिनँ । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’ उनले भनिन्, ‘विधि र विधान सम्मत चलौं, नेताले फराकिलो मन बनानुस्, पार्टीलीई नीति प्रदान बनाऔं, मुख्य कुरा विधि हो । मैले अध्यक्ष कमरेडसँग भएको कुरा स्मरण गर्न चाहन्छु , ७० पुगेपछि मैले काम गर्दिन भनेको थिएँ, उहाँले सँगै बिदा लिऔँला भन्नु भएको थियो ।’

आफू नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । आम जनताको चासो र चाहनालाई ख्याल गर्दै विधान संसोधन तिर लाग्न नहुने उनको भनाइ छ । यसअघि एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पनि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । उनले आफू ७० वर्ष उमेर पुगिसकेकाले एमालेको ११औं महाधिवेशनको बन्द सत्रस्थल भृकुटीमण्डपबाट उनले सक्रिय राजनीति छोड्ने घोषणा गरेका हुन् । २०२६ सालबाट कम्युनिष्ट राजनीतिमा सक्रिय ज्ञवाली पार्टीमा शालिन व्यक्तित्व भएका वैचारिक नेताका रुपमा चिनिन्छन् ।

 

प्रभु साहको आरोप : संसद पुनर्स्थापनाको षड्यन्त्रमा सुशीला सरकार पनि सहयोगी बन्दैछ

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार चुनाव नगराउने र स्वार्थ समूहको चंगुलमा फस्न थालेको आरोप लगाएका छन् । सरकार बनेको तीन महिना बितेपछि पनि मन्त्रिपरिषद् विस्तारको नाटक मञ्चन गरेर प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन नगर्न प्रपञ्च रचेको साहको आरोप छ । वर्तमान सरकार जेन–जीहरुको भावनाविपरित चल्न थालेको र एकपछि अर्को गरेर गलत निर्णय लिन थालेको भन्दै साहले आलोचना गरेका हुन् ।

आज (आइतबार) काठमाडौंमा आजपाले ‘संसद् पुनर्स्थापनाको षड्यन्त्र रोक्न’ भन्दै काठमाडौंको गैरीगाउँमा आयोजना गरेको काठमाडौं क्षेत्र नं. १ र २ को संयुक्त विशेष क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले सरकारलाई सच्चिएर आफू मूल म्याण्डेटतर्फ ध्यान दिन सुझाव दिए । उनले २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गराउने मूल दायित्व नबिर्सिन प्रधानमन्त्री कार्कीको ध्यानाकार्षण गराए । उनले प्रतिनिधिसभा पुनस्र्थापनाको लागि भइरहेको षड्यन्त्रको पर्दाफास गर्न र देशव्यापी रुपमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन दबाब सिर्जना गरिनुपर्ने आवश्यकता औंल्याए ।

एमालेको केपी ओली समूह र कांग्रेसको शेरबहादुर देउवा समूहले प्रतिनिधिसभाको चुनाव नचाहेको र संसद् पुनर्स्थापनाको लागि षड्यन्त्रको तानाबाना बुनेको बेलामा प्रधानमन्त्री कार्की पनि उनीहरुकै सहयोगीको भूमिकामा देखिन थालेको आभाष भएको साहको टिप्पणी छ । ‘जेनजी आन्दोलनमा दमन गरेका केपी ओलीहरुले संसद् पुनर्स्थापनाको षड्यन्त्र गरिरहेका छन्, कांग्रेसमा देउवा ग्याङ् ओलीकै पुच्छर बनेर अदालत धाउन थालेको छ । अनि प्रधानमन्त्री पनि उनीहरुकै डिजाइनमा हिँड्न खोजेको संकेत देखियो, होईन भने कसको स्वार्थमा चार जना मन्त्रीहरु थप्नुभयो, के आधारमा नियुक्त गर्नुभयो ?’, आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘विषयविज्ञता एउटा भएको र नियुक्ती अर्कैमा दिइएको भन्दै अहिलेको पछिल्लो मन्त्रिपरिषद् विस्तारमा पनि प्रधानमन्त्री कार्की स्वार्थसमूहको प्रभावमा परेको देखिन्छ । यस्तै पाराले चुनाव हुन्छ त ? चुनाव गराउने अर्जुनदृष्टि राख्नुहोस, विचौलिया र स्वार्थसमूहको प्रभावमा नपर्नुहोस् ।’

साहले सरकार र जेन–जीहरुबीच भएको पछिल्लो सम्झौता पनि धोकाको दस्तावेज भएको टिप्पणी गरे । उनले वर्तमान सरकारले जेन–जी आन्दोलनको मूल मर्म र भावनामाथि पटक पटक प्रहार गरेकोमा पछिल्लो पटक सम्झौताको नाटक देखाएर अर्को धोका दिएको आरोप लगाए । उनले जेनजीहरुले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना होस भन्ने चाहेको भएपनि सरकारले त्यसअनुसार हस्तक्षेपकारी भूमिका खेल्न नसकेको आक्रोश पोखे ।

उनले सरकारमा बसेर हाली मुहाली गर्ने अनि आफ्नो दुनो सोझ्याउने काममा तल्लिन कुलमान घिसिङलाई तुरुन्तै बर्खास्त गर्न समेत माग गरे । निर्दलीय सरकारमा बसेर दल खोल्ने अनि दलको प्रचारको लागि सरकारी साधन–स्रोतको चरम दुरूपयोग गरेर मन्त्री कुलमानले नेपाली जनतालाई झुक्याउने काम गरेको भन्दै प्रधानमन्त्रीले तत्काल उनलाई बर्खास्त गर्नुपर्ने पनि साहले सुझाव दिए । आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघका अध्यक्ष कालबहादुर विकको अध्यक्षमा भएको सो भेलामा आजपा सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, वरिष्ठ पत्रकार ऋषी धमला, संविधान सभाका अर्का सदस्य योगेन्द्र घिसिङ, सचिवालय सदस्य बालकृष्ण सापकोटा, कबाडव्यवसायीका नेता रामकेवल गुप्ता, सुकुम्बासी संघका महासचिव एमडी सतार लगायतको विशेष सहभागिता रहेको सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

 

पुस १५ भित्र उम्मेदवारको नाम सिफारिस गर्न जसपा नेपालको सर्कुलर

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।

संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले आउँदो पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारको नाम पठाइसक्नुपर्ने तथा पार्टी प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० गतेभित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनासम्म हुनेगरी अनिवार्य रुपले सम्भावित उम्मेदवारको नामावली पठाइसक्न मातहत समितिलाई सर्कुलर जारी गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको सङ्घीय संसदीय बोर्डमा उम्मेदवारको नामावली पठाउन सर्कुलर जारी गरिएको हो ।

समानुपातिकतर्फ प्रत्येक जिल्लाबाट जिल्ला समितिले कम्तीमा तीन जना पुरूष र तीन महिला जातीय कलस्टरअनुसार समावेशी हुनेगरी प्रदेश समितिमा आउँदो पुस १ गतेभित्र पठाउने र प्रदेश समितिले उक्त नामावली माथि छलफल गरी आफ्नो रायसहित उम्मेदवारको नाम सिफारिस गरी पुस ५ गतेभित्र केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा बुझाइसक्नुपर्ने जनाइएको छ ।

कुनै कारणबस तोकिएको निर्धारित समयभित्र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष/समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय कार्यालय वा सङ्घीय संसदीय बोर्डलाई प्राप्त नभएमा वा हुन नसकेमा संसदीय बोर्डले नै उम्मेदवारको मनोनयन गरी कार्यान्वयन गर्नसक्ने सर्कुलर जारी भएको बस्नेतले बताए ।

उनले भने, “पार्टी विधानको धारा–११७ उपधारा (३) बमोजिम योग्यता पूरा गरेका कुनै पनि सङ्गठित पार्टी सदस्यले प्रत्यक्षतर्फ वा समानुपातिकतर्फ उम्मेदवार हुन चाहेमा सोझै केन्द्रीय कार्यालय वा सङ्घीय संसदीय बोर्डमा उम्मेदवार हुन आवेदन दिन सक्नेछ । यसरी आएका आवेदनउपर सङ्घीय संसदीय बोर्डले सम्बन्धित जिल्ला र प्रदेश समितिसँग राय परामर्श गरी आवश्यक निर्णय लिन सक्नेछ ।”

सङ्घीय संसदीय बोर्डमा नाम पठाउँदा निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिले गरेका निर्णय बैठकको निर्णय पुस्तिकाको प्रतिलिपिसमेत संलग्न गरी पठाउनुपर्ने तथा उम्मेदवारको अन्तिम निर्णय सङ्घीय संसदीय बोर्डले नै गर्ने सो पार्टीले जनाएको छ ।

युवाको उपस्थिति अनिवार्य गर्न एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी : सुहाङ नेम्वाङ

काठमाडौं । प्रतिनिधि सभाका निवर्तमान सदस्य सुहाङ नेम्वाङले नेकपा (एमाले) को केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् । उनले नयाँ चुनौतीलाई सामना गर्न पनि पार्टीमा युवाको उपस्थिति अनिवार्य भएको बताएका छन् । ‘प्रविधिमा अभ्यस्त पुस्ताको भावना समेट्ने प्रतिनिधिको आवश्यकता छ,’ उनले भने, ‘यही भावनालाई समेट्ने गरी अग्रजहरूको आशीर्वाद र युवाहरूको साथलाई सार्थकता दिन पनि केन्द्रीय सदस्यको तयारी गरिरहेको छु ।’

उनले सभ्य समाज निर्माणका लागी हाल देखा परेका नयाँ चुनौतीलाई एकताबद्ध भएर सामना गर्नुपर्ने बताए । राजनीतिमा आफ्नो प्रवेश आकस्मिक जस्तो देखिए पनि पारिवारिक पृष्ठभूमिका कारण गहिरो बुझाइ रहेको तर्क गरे । ‘मरो इच्छा अलिक फरक थियो । बुबाबाट अझै १० वर्ष सिक्ने र उहाँले सिकाएको र देखाएको उज्याला बाटोलाई समाएर अग्रज एवं मित्रहरूको साथ र हार्दिकता साथ राजनीतिमा प्रवेश गर्ने इच्छा थियो,’ नेम्वाङले भने, ‘तर, अलिक अगाडि भए पनि इलामवासीले धेरै साथ दिनु भएको छ । म उहाँहरूकै भावना अनुसार अघि बढ्ने हो ।’

अहिलेको अवस्थामा सिङ्गो एमाले मात्रै नभई, मुलुक नै एक ढिक्का भएर समस्याको समाधान गर्नुपर्ने बेलामा युवालाई अघि लगाए हरेक नेतृत्वले समाधान खोज्न सक्ने बताए । त्यस्तै समयको गतिलाई बुझेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘हामी पुरानै कुरामा अल्झिएर होइन कि पुराना कुरालाई आत्मसमीक्षा गरेर सभ्य समाज कसरी बनाउन सकिन्छ भनेर लाग्नुपर्छ,’ उनले भने, ‘पुरानै कुरामा अल्झियौं भने उही घुमिफिरि रुम्जाटार हुन्छ ।’ इलाम निवासी उनी संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङका छोरा हुन् ।

सक्रिय राजनीतिबाट विश्राम लिने युवराज ज्ञवालीको घोषणा

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपबाट उनले सक्रिय राजनीति छोड्ने घोषणा गरेका हुन् । २०२६ सालबाट कम्युनिष्ट राजनीतिमा सक्रिय ज्ञवाली पार्टीमा शालिन व्यक्तित्व भएका वैचारिक नेताका रुपमा चिनिन्छन् ।

अन्तिम वैठकमा सुरेन्द्र पाण्डे प्रस्ताव : ७० वर्षे हद र दुई कार्यकालको सीमा ब्यूँताउँ

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने गरी अघि सारिएको विधान संशोधन प्रस्तावमा ईश्वर पोखरेल समूहले असहमति जनाएको छ । बैठकको सुरूमै पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले १०औँ महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने, आवश्यक परे अझ थपेर जान प्रस्ताव गरेका थिए । उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने संशोधन गर्नैपर्ने भए नेतृत्वमा ७० वर्षे उमेर हद र २ कार्यकालको सीमा पनि ब्यूँताएर जानुपर्ने अडान राखेका छन् ।

विधान ‘उल्ट्याउने’ प्रयासमा ओली, रोक्ने पक्षमा पोखरेल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनबाट पारित निर्णय तीन महिनामै संशोधन गर्ने तयारी गरेपछि पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव ल्याउने सूचना पाएसँगै केन्द्रीय सदस्यहरू पक्ष–विपक्षमा उभिँदै विरोध जनाउन थालेका छन्, यद्यपि प्रस्ताव औपचारिक रूपमा पेस भइसकेको छैन ।

यसअघि शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकमा पनि ओलीले विधान संशोधन गरी पदाधिकारी संख्या बढाउने प्रस्ताव राखेका थिए । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित आफ्नै समूहका नेताहरूको विरोधपछि उनी पछि हट्न बाध्य भएका थिए । त्यसपछि सचिवालयबाट असफल भएको प्रस्ताव ओलीले अब केन्द्रीय कमिटीको बहुमत प्रयोग गरी पास गराउने प्रयास गरेको बुझिएको छ ।

एमालेको दशौं महाधिवेशनबाट एक अध्यक्ष, वरिष्ठसहित सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएका थिए । तर गत भदौ २०–२२ मा ललितपुरमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो । त्यसअनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहने व्यवस्था गरिएको थियो ।

अब ओलीले विधानमा उल्लेखित संरचनालाई उल्ट्याउँदै दुई उपाध्यक्ष र दुई सचिव थप्ने, साथै केन्द्रीय कमिटीको आकार पनि ३०१ सदस्यीय नै कायम राख्ने प्रस्ताव ल्याउन लागेको नेताहरूले बताएका छन् । मौजुदा केन्द्रीय कमिटीमा दुई तिहाइभन्दा बढी सदस्य ओली पक्षका भएकाले बहुमतको बलमा विधान संशोधन गराउने रणनीति उनले लिएको बुझिन्छ ।

तर संस्थापन इतर मात्र होइन, ओली पक्षकै केही नेताहरू पनि यसका विपक्षमा देखिएका छन् । सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेल समूहले विधान संशोधन गर्नै परे ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा पनि यथावत् राख्नुपर्ने शर्त राखेपछि ओली तत्काल पछि हटेका थिए । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले तीन दिनसम्म छलफल गरेर पारित गरिएको विधानलाई तीन महिनामै संशोधन गर्दा पार्टीभित्र गलत सन्देश जाने भन्दै तत्काल संशोधन व्यावहारिक नहुने बताएका थिए ।
यद्यपि जारी महाधिवेशनको सन्दर्भमा ओलीलाई आफ्नै पक्षका नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

महासचिव र उपमहासचिवलगायत पदाधिकारीमा आकांक्षी धेरै भएपछि सहमति जुटाउन कठिन देखिएको छ । महासचिवमा शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको दाबी छ भने ओली स्वयं शंकर पोखरेलको पक्षमा देखिएका छन्। उपाध्यक्ष र सचिव पदमा पनि दर्जनौँ नेताहरू आकांक्षी बनेका छन् । यही कारण पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाएर यथास्थितिमा राख्दा भागबण्डा मिलाउन सजिलो हुने ठहर ओलीले गरेको नेताहरूको विश्लेषण छ । तर विधान महाधिवेशनको निर्णय छिट्टै उल्ट्याउने प्रयासले पार्टीको विधि, प्रक्रिया र विश्वसनीयतामाथि प्रश्न उठाएको भन्दै केन्द्रीय कमिटी बैठकमै विरोध चर्किदै गएको छ ।

एमालेको बन्द सत्र फेरि सर्‍यो

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र पुनः सारिएको छ । बिहानै सुरु गर्ने तयारी रहेको बन्दसत्र पहिला सवा १२ बजेसम्म र त्यसपछि दिउँसो १ बजेसम्मका लागि सारिएको हो । भक्तपुरको सल्लाघारीमा शनिबार भव्य उद्घाटन भएको महाधिवेशनको बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

बन्द सत्र सारिए पनि प्रतिनिधिहरू बिहानैदेखि भृकुटीमण्डपमा पुगिसकेका छन् । उनीहरूले राजनीतिक दस्तावेजहरूको अध्ययन र प्रचारप्रसारमा व्यस्त रहेका छन् । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी रणनीति र नीतिहरू निर्धारण गर्ने अपेक्षा गरिएको छ । बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा रु दुई हजार २ ०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५८ हजार ८०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८२५ निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५६ हजार ६००निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ९०५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिद–बिक्री भइरहेको छ ।