`

स्वास्थ्यमन्त्री बन्न लागेकी संगीताविरुद्ध बिचौलियाले निराधार आरोप लगाए : अमरेश सिंह

काठमाडौं । निवर्तमान सांसद अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री सिफारिस भएर पनि सूचीबाट हटाइएकी डा. संगीता मिश्रलाई स्वास्थ्य सेवा विभागका ‘बिचौलियाहरूले निराधार आरोप लगाएको’ टिप्प्णी गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस सूची पठाउँदा मिश्रको नाम पनि थियो । तर मिश्रविरुद्ध नागरिकता विवाद र अनियमितताको विषय गम्भीरतापूर्वक उठेपछि आज बिहानै उनको नाम काटेर पुनः चार जनाको मात्र सूची राष्ट्रपति कार्यालय पठाइएको छ ।

स्वास्थ्यमन्त्री पदको शपथ खाने दिन मिश्रको नाम काटिएको छ । जसले गर्दा आज दिउँसो २ बजे शीतल निवासमा मिश्रबाहेक अनिलकुमार सिन्हा (उद्योगमन्त्री), महावीर पुन (शिक्षामन्त्री), मदन परियार (कृषिमन्त्री) र जगदीश खरेल (सञ्चारमन्त्री) ले मात्र शपथ खाने भएका छन्र ।

‘स्वास्थ्यमन्त्री बन्न लागेकी डा. संगीता मिश्रमाथि स्वास्थ्य सेवा विभागमा वर्षौँदेखि रजगज चलाएका केही थान बिचौलियाहरूले निराधार आरोप लगाएका छन्’, निर्वतमान सांसद सिंहले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘विभागमा वर्षौँदेखि खरिद प्रक्रियामा आफ्नो रजगज चलाउने बिचौलियाहरूको निदहराम गरेबापत नै संगीता मिश्रलाइ सचिव बन्नबाट रोकेको थियो ।’

‘आज फेरि त्यही सलबलाएका छन् र डाक्टर संगीतालाइ बदनाम गर्न तथाकथित आरोपहरू लगाएका छन् । डा. संगीता एक कुशल नेतृत्वकर्ता हुन् । उनी भ्रष्ट भएको भए पहिले नै सचिव बन्न सक्थिन् । उनको नियुक्तिबाट कांग्रेसका केही नेताहरू पनि आफ्नो कुकृत्य उजागर हुने डरले अतालिएका छन्,’ सिंहले थप लेखेका छन् ।

मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन् । उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरेकी थिइन् । उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन् । गत वर्षको फागुनमा डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन् । मन्त्री बन्ने तारतम्य मिलाएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् ।

 

 

गोरखा दरबारको दशैंघरमा जमरा राखियो

गोरखा । गोरखा दरबारको दशैंघरमा आज विधिपूर्वक जमरा राखिएको छ । बडादशैं अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा मूलदरबारस्थित दशैंघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

परम्परा अनुसार आज बिहान कैलास कोठाबाट देवी भगवतीलाई मूलदरबारको गर्भगृह (पूजा कोठा)मा राखेपछि लगत्तै पानी घडा थापेर त्यसैको शुभसाइतमा जमरा राखिएको उनले बताए । ‘‘कैलास कोठामा देवीलाई राखेपछि बिहानको शुभसाइतमा विधिपूर्वक घटस्थापना अर्थात जमरा राखिएको हो’,’ उनले भने, ‘‘जमरा राख्ने तयारीका लागि त्यसअघि नै कालिका मन्दिरको पटाङगिनीमा देवीको पूजामा प्रयोग हुने भाँडावर्तन माझ्ने तथा शैलपुत्रीको पूजाका लागि आवश्यक सामाग्री तयार पार्ने काम गरिन्छ ।’

गोरखा दरबारको दशैंघर र कालिका मन्दिरमा एक–एक पाथीका दरले जौँको जमरा राखिएको उनले बताए । त्यस्तै, गोरखनाथ मन्दिरमा चार माना तथा उपल्लो कोट र तल्लो कोटमा एक–एक मानाका दरले जमरा राखिएको मूलपूजारी भट्टराईले बताए ।

घटस्थापनाका दिन गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीले घर–घरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै आजदेखि कालिका मन्दिरमा नियमित रुपमा बलि दिने प्रचलन समेत रहेको छ ।

त्यस्तै, गोरखाको अर्को प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज बिहानको शुभसाइतमा जमरा राखिएको मन्दिरका मूलपूजारी इन्सान थापाले जानकारी दिए । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

 

 

नारायणगढ–मुग्लिन सडक आज दिउँसो बन्द हुने

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड आज (सोमबार) दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

तुइन खोला पुल छेउमा खसेको पहिरोका कारण गत शुक्रबारदेखि करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए । आइतबार अपराह्न करिब साढे चार बजेतिर सडक एकतर्फी खुलाइएको थियो । राति यात्रा गर्दा जोखिम हुने भएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म पुनः सडक बन्द गरिएको थियो ।

आज बिहानसम्म पनि तुइन खोला पुल नजिकै मात्र सडक एकतर्फी सञ्चालनमा छ भने अन्य स्थानमा दुईतर्फी गाडी चलिरहेका छन् । दशैं मनाउन घर फर्किने क्रम अब बढ्ने भएकाले बाँकी पहिरो पनि हटाएर दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी गरिएको हो । लामो समयसम्म सडक बन्द हुँदा सवारीसाधनको चाप छ । लेन अनुशासन समेत पालना नहुँदा ठाउँठाउँमा जाम हुने गरेको छ । ट्राफिक प्रहरीले र सडक डिभिजन कार्यालय भरतपुरले लेन अनुशासनमा रहेर सवारी चलाउनु सबैलाई अनुरोध गरेका छन् ।

 

 

पदयात्राका लागि अन्नपूर्ण आधार शिविर पुग्न थाले पर्यटक

म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ। शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाले बताए ।

दसैँ तिहारको विदा सुरु भएपछि पदयात्रीहरुको चाप बढ्ने अपेक्षा गरिएको उनले बताए । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमश्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । सहरको कोलाहलबाट मुक्त भएर प्रकृतिसँग रमाउदै छोटो समयको पदयात्राका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर उपभोगी भएको गोरखाबाट आएका सन्दिप भट्टले बताए ।

७५ वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै विसं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा मौरिस हर्गोज नामाकरण गरी खुलाएको थियो ।
अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्रि सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को रु पाँच लाख सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को नीगिगत व्यवस्था अनुसारको प्रक्रिया पूरा गरेर गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाहरुले फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा क्यापीङ सञ्चालन गरेका छन् । पर्यटकलाई खान, बस्न सहज, बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । ती क्यापिङ क्षेत्रहरुमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्ने क्षमता रहेको छ । रासस

 

सुनचाँदीको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज (सोमबार) सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू सात सय बढेको हो ।

त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

हनुमानढोकाको दशैं घरमा राखियो जमरा (तस्वीरहरु)

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरुको महान् पर्व बडादशैं आजबाट सुरू भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा विधिपूपर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ । आजैदेखि दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ ।

जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । आजकै दिन हनुमानढोका दरवार स्क्वायरको दशैं घरमा पनि विधिवत् रुपमा जमरा राखिएको छ ।
परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैंघरमा घटस्थापनापछि नवरात्रभर दैनिक बलि दिई शक्तिस्वरुपा दुर्गा देवीको विधिपूर्वक पूजा आराधना सुरु हुने र मंगल धुन पनि बजाइने हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारीहरु बताउँछन् ।

बडादशैंको मुख्य दिन देवी दुर्गाको प्रसादको रुपमा दशमीको दिन त्यही जमरा र टीका लगाइन्छ । यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ । टीकाको शुभसाइत ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले मंगलबार बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहान ८ बजेका लागि बैठक तय भएको रास्वपाले जानकारी दिएको छ ।

बैठकमा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा प्रस्तुत गर्ने एजेन्डा छन् । पार्टी संगठन एवं विभाग सम्बन्धमा, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति र पार्टीको महाधिवेशन सम्बन्धमा पनि छलफल हुने रास्वपाले जनाएको छ।

रवीन्द्र मिश्रको प्रश्न : जलेका नोटका डंगुर ‘ब्यानर र हेडलाइन’ हो कि होइन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जेन–जी आन्दोलनका क्रममा नेताहरूका घरमा नोट जलेका विषयमा प्रमुख सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार नदिएको भन्दै असन्तुष्टि पोखेका छन्।पूर्व पत्रकार समेत रहेका मिश्रले नेताका घरमा नोटका खात जलेका भिडिओ हेर्न युट्युबरहरूमा भर पर्नु परेको बताएका छन् ।

‘जुन दिन नेताको घरमा कोठाभरिभरि नोटका खात जलेको भनिएको भिडिओ सार्वजनिक भयो, प्रमुख मिडियाले त्यसको समाचार सम्प्रेषण गर्नुपर्थ्याे कि पर्थेन ? त्यसको ‘फलोअप’ गर्नु पर्थ्याे कि पर्थेन ? जुन मिडियाले गरे, ती स्तुत्य छन् । आम सर्वसाधारण मूलतः युट्युबरहरूमा भर पर्नुपर्‍यो’, मिश्रले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘ती जलेका नोटका डङ्गुरहरू पत्रकारिताको दृष्टिकोणबाट ‘ब्यानर हेडलाइन’ को सामग्री हो कि होइन ? कति वटा प्रमुख अनलाइन, नअनलाइन मिडियाले त्यसलाई महत्वका साथ छापे, कसैले याद गरेको छ ?’

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी हुँदा ठूलो मात्रामा भण्डारण गरेर राखिएको रकम जलेको भन्दै भिडिओ सार्वजनिक भएका थिए । तर देउवाको सचिवालयले निवासमा जलेको नोट भेटिएको भन्ने कुरा झुटो भएको दाबी गरेको छ ।

त्यसो त यस विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ । घटना भएको १३ दिनपछि आइतबार (असोज ५ गते) विभागको टोलीले देउवा र खड्काको घरमा पुगेर जलेका नोटका केही टुक्रा र खरानी संकलन गर्दै अनुसन्धान अघि बढाएको हो ।

हेर्नुस मिश्रको स्टाटसः

आज बिहानै मनमा मिडियाबारे आएका कुरा :

१– जुन दिन नेताको घरमा कोठाभरिभरि नोटका खात जलेको भनिएको भिडिओ सार्वजनिक भयो, प्रमुख मिडियाले त्यसको समाचार सम्प्रेषण गर्नु पर्थ्याे कि पर्थेन ? त्यसको ‘फलोअप’ गर्नु पर्थ्याे कि पर्थेन ? जुन मिडियाले गरे, ती स्तुत्य छन् । आम सर्वसाधारण मूलतः युट्युबरहरूमा भर पर्नुपर्‍यो ।

२– ती जलेका नोटका डङ्गुरहरू पत्रकारिताको दृष्टिकोणबाट ’ब्यानर हेडलाइन’ को सामग्री हो कि होइन ? कतिवटा प्रमुख अनलाइन, नअनलाइन मिडियाले त्यसलाई महत्त्वका साथ छापे, कसैले याद गरेको छ ?

३– एक–दुई जनाले प्रमाणबिना भनेको भरमा ’राजाले गैँडा बेचेर खाए’ भन्ने मिडियाहरू स्पष्टै रूपमा देखिएको त्यति ठूलो समाचारबारे किन मौन बसे होलान् ?

४– मेरो निष्कर्षः गत २० वर्षमा यो देश राज्य र समाजलाई जेजति क्षति पुगेको भए पनि उनीहरूलाई ‘महान् गणतन्त्र’ जोगाउनु छ । त्यत्ति हाे । देश बरु पतन भए होस्, गणतन्त्र चाहिँ चाहियो ।
गणतन्त्र जोगाउन खोज्दा देश बर्बाद भएर लोकतन्त्र(प्रजातन्त्र समेत जाने स्थिति नआओस्–त्यति चाहिँ ख्याल गरिदिनुहोला । त्यो बेलामा पनि मलाई नै गाली गरेर नबसिदिनु होला । तपाईहरू सबैको जय होस्– नेपालको जय होस् । धन्यवाद !

दशैंमा घर फर्किदै हुनुहुन्छ ? आज यी सडकहरू छन् अवरुद्ध (सूचीसहित)

काठमाडौं । दशैंका लागि घर फर्किदै हुनुहुन्छ ? त्यसो हो भनेर आफूले यात्रा गर्ने सडकको अवस्थाबारे जानकारी लिनु भयो भने तपाईलाई सहज हुनेछ । दशैँ पर्व सुरु भइसक्दा पनि वर्षा नरोकिंदा सडक यात्रा प्रभावित भएको छ । पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रुहरु अप्ठेरोमा परेका छन् ।

आज बिहान ९ बजेसम्मको जानकारी अनुसार देशका ५ सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएका छन् । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा सडक पूर्णरुपमा अवरुद्ध छ ।

बाढीका कारण रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ स्थित नेपाल चीन नाका जोड्ने पुल पूर्णरुपमा बन्द भएको छ । पहिरोले पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुन्ड–२ कै बालुवाखानीस्थित सडक पूर्णरुपमा अवरुद् भएको छ ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित सडक पूर्णरुपमा बन्द भएको छ । अवरुद्ध भएका सडकहरू सुरक्षाकर्मीसहितको टोलीले खुलाउने प्रयास गरिरहेको छ । मुग्लिन–नारायणगढ सडक पनि लामो समयको प्रयासपछि एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएको छ । रातिको समयमा भने जोखिम हुने भन्दै बन्द गरिएको थियो ।

मन्त्री बन्ने सूचीबाट हटाइयो संगीता मिश्राको नाम

काठमाडौं । मन्त्री बन्नेको सूचीबाट डा. संगीता कौशल मिश्राको नाम हटाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रालाई स्वास्थ्यमन्त्रीमा राखेर पाँच जनाको नाम राष्ट्रपतिको कार्यालयमा पठाएकी थिइन् । तर मिश्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेकाले आज उनको नाम काटेर चार जनाको नाम मात्र पठाइएको हो । ‘आज सूची सच्याएर पुन चार मन्त्रीको नाम मात्र पठाइएको छ’, मन्त्रिपरिषद् स्रोतले भन्यो ‘मिश्राको नाम हटाइएको छ ।’

नयाँ मन्त्रीहरुको शपथ २ बजे

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन् । तर मिश्राको विषयमा प्रश्न उठेपछि उनको भने आज शपथ हुने नहुने निश्चित भइनसकेको शीतल निवास स्रोतले बतायो ।

दशैँ सुरु भएसँगै काठमाडौं छाड्नेको भीड (तस्बिरहरू)

काठमाडौं। हिन्दूहरूको महान पर्व बडादशैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ ।

बडा दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

दशैँ सुरु भएसँगै कर्मथलो छोडेर घर फर्किने क्रम सुरु भएको छ । काठमाडौंका नाकामा सवारीको चाप बढेको छ । काठमाडौंको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर, जडीबुटी क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको हो ।

पुनको आग्रह: मलाई मन्त्री नभन्नुहोला, भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि उनले आज (सोमबार) बिहान सामाजिक सञ्जालमार्फत  बधाई छ भनेर फोन नगर्न र खादामाला लिएर नआउन अनुरोध गरेका हुन्। साथै उनले आफूलाई मन्त्री नभन्न पनि आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्,  कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा-माला लिएर नआउनुहोला’, , ‘बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नैपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नुहोला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला।’

प्रधानमन्त्री कार्कीसँग अख्तियार प्रमुख राईको भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भेटवार्ता गरेका छन् । आयोगका प्रमुख आयुक्त राईले सबै किसिमका भ्रष्टाटाचारको छानबिन गर्न आफू तयार रहेको जानकारी प्रधानमन्त्री सुशीला कार्कीलाई दिएका छन् ।

जेनजी आन्दोलनपछि परिवर्तित अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीलाई हटाउनु पर्ने आवाज उठिरहेका बेला शनिबार राईले कार्कीलाई भेटेर भ्रष्टाचार छानबिनमा आयोगलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका हुन् ।

जेनजीको मागअनुसार नेताहरुले गरेको भ्रष्टाचारको छानबिनका लागि न्यायिक आयोग बनाउँदा संवैधानिक आयोगको क्षेत्राधिकारमा प्रवेश गर्ने भएकाले राईसहितका विवादित पदाधिकारीलाई बिदाइ गर्ने मनस्थितिमा सरकार छ ।

यस्तो अवस्थामा राईले प्रधानमन्त्री कार्कीलाई भेटेर स्वतन्त्रपूर्वक भ्रष्टाचारमाथि छानबिन अघि बढाउन आफू तयार रहेको बताएको स्रोतले जानकारी दिएको छ । वाइडबढी खरिदमा भएको भ्रष्टाचारमा आफै मुछिएका राईले अरुलाई मुद्दा चलाएर आफूलाई जोगाएका थिए । त्यसमा विशेष अदालतले टिप्पणी गर्दै आयोगको छानबिनको निष्पक्षतामाथि प्रश्न उठाएको थियो । राईले राजनीतिक प्रतिशोधका आधारमा छानबिन र मुद्दा चलाएको आरोप छ।

जेनजी आन्दोलनमा दमन : जाँचबुझ आयोगको अध्यक्षमा गौरीबहादुर कार्की

काठमाडौं । सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।

आज (आइतबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि मन्त्रिपरिषद्का निर्णय सुनाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेका जानकारी दिए । आयोगको कार्यावधि तीन महिना रहेको उनले जानकारी दिएका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद्ले नै आन्दोलनमा भएको दमनको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो । पदभार सम्हालेकै दिन प्रधानमन्त्री सुशीला कार्कीले सरकारी-सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएकी थिइन् ।

यसअघि बसेको मन्त्रिपरिषद्ले नै आन्दोलनमा भएको दमनको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो । तर, कसको नेतृत्वमा कसरी आयोग गठन गर्ने भन्नेबारे यकिन भएको थिएन । पदभार सम्हालेकै दिन कार्कीले सरकारी÷सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएकी थिइन् । सो प्रदर्शनका क्रममा ७४ जनाको मृत्यु भएको छ ।

 

टेकेन्द्र कार्की राष्ट्रिय अनुसन्धान विभागको प्रमुख नियुक्त

काठमाडौं । देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।

हुतराज थापा बिदा भएसँगै रिक्त उक्त पदमा कार्कीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । नयाँ नेतृत्वका लागि अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशी र कार्की प्रतिस्पर्धामा थिए ।

कार्की र जोशी यसअघि बिदा भएका थापासँगै ०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका हुन् । जुम्लाका कार्की डेढ महिनाअघि मात्रै अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएका थिए ।

यसअघि जोशीका लागि भानु देउवा (कांग्रेस सभापति शेरबहादुर देउवाका सहयोगी) र कार्कीका लागि कांग्रेसकै उपसभापति पूर्णबहादुर खड्का गुप्तचर प्रमुख बनाउने जोड लगाएका थिए । अन्तमा कार्कीले बाजी मारेका छन् । अनुसन्धान विभाग हाल प्रधानमन्त्रीको प्रत्यक्ष मातहत राखिएको छ ।

प्रधानमन्त्री कार्कीले शीतलनिवास पठाइन् पाँच नयाँ मन्त्रीको नाम

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकी छन् । जसमा उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, स्वास्थ्यमन्त्रीमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र सिफारिस भएका छन् ।

यस्तै कृषिमन्त्रीमा मदन परियार, पत्रकार जगदीश खरेललाई सञ्चारमन्त्री नियुक्तिका लागि सिफारिस भएका छन् । महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरेका एआइजी केसी बने सीआईबी प्रमुख

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई सरुवा गरिएको छ ।

हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका केसीलाई सीआईबीको जिम्मेवारी दिने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यसअघिका सीआईबी प्रमुख समेत रहेका चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक नियुक्त भएपछि रिक्त भएको पदमा यसअघिको सरकारले कुनै निर्णय नगरी राखेको थियो ।

तर भूमिकाविहीन जस्तै मानिने प्रदेश समन्वय विभागमा रहेका केसीलाई महत्वपूर्ण जिम्मेवारी दिने निर्णय भएको हो । यसअघिको कांग्रेस एमाले सत्ता गठबन्धनले केसीलाई महत्वपूर्ण जिम्मेवारीबाट अलग राखेको थियो । केसीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका कारण उनलाई निवर्तमान सत्ताले रिसिइवी साँधेको चर्चा भएको थियो ।

यसअघि एआईजी बढुवामा पनि उनलाई पछि पार्दै राजन अधिकारीलाई बढुवामा अगाडि ल्याइएको थियो । प्रहरीमा चार एआईजी रहेकामा केहीदिन अघि मात्रै मानव स्रोत विकास विभागका प्रमुख समेत रहेका एआईजी दानबहादुर कार्कीलाई काठमाडौँ उपत्यका प्रमुखमा सरुवा गरिएको थियो । आधाभन्दा बढी एआईजी रिक्त हुँदा प्रहरीका महत्वपूर्ण विभागहरु रिक्त छन् । हाल एआईजीहरू केसी, अधिकारी र कार्कीसँगै सिद्धिविक्रम शाह कार्यरत छन् ।

उनी नेतृत्वको टोलीले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई समेत पक्राउ गरेको थियो । केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । दुलाल र भण्डारीको बयानबाट भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयका उच्च पदस्थहरु अधिकारीहरु नै यो प्रकरणमा संलग्न रहेको खुलेको थियो ।

विद्युत प्राधिकरणमा सिलवाल नियुक्त, हितेन्द्र ऊर्जा आयोगमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज (आइतबार) को बैठकले यस्तो निर्णय गरेको हो । सिलवाल प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक हुन् । सिलवालको कार्यावधि ४ वर्षको रहने छ ।

हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ । शाक्यलाई यसअघि पनि ऊर्जा आयोगमै पठाइएको थियो ।

तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत ११ गते शाक्यलाई नियुक्त गरेको थियो । विद्युत महसुल तिर्न बाँकी रहेका कम्पनीबाट बक्यौता पठाउनुपर्ने घिसिङको माग थियो भने तत्कालीन सरकारले आनाकानी गरिरहेको थियो ।

विवाद बढ्दै जाँदा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले घिसिङलाई पटक–पटक स्पष्टीकरण सोधेका थिए । अन्तिममा सरकारले उनलाई हटाउने निर्णय गरेको थियो । तर, जेनजी आन्दोलनले ओली सरकार ढल्यो भने अन्तरिम सरकारमा घिसिङ ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालन आइपुगेका हुन् । उनकै प्रस्तावमा शाक्यलाई हटाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

भोलिको घटस्थापनाका लागि जमरा राख्ने सर्दाम बिक्री सुरु (तस्बिरहरू)

काठमाडौं ।  हिन्दुहरूको महान् चाड दशैँ भोलिबाट सुरु हुँदै छ ।  दशैंको पहिलो दिन घटस्थापना जमरा राख्नका लागि काठमाडौंको मारु गणेश क्षेत्रमा माटो, मकै, जौ लगायतका सर्दाम बिक्री सुरु भएको छ ।

दशैँमा दुर्गा भवानीको प्रसाद स्वरूप ठूलाको हातबाट टीका जमरा ग्रहण गर्ने प्रचलन रहेको छ ।

पहिरो पन्छाउन समय लाग्दा यात्रीलाई सास्ती

चितवन । नेपाल प्रहरीले तत्काल हाजिर हुन भनेपछि कृष्ण महता बैतडीबाट काठमाडौँ फर्कंदै थिए। आमाको काजकिरिया सकेर काममा फर्कंदा उनी गत शुक्रबार साँझदेखि झरेको पहिरोमा परेर बाटोमै थन्किएका छन् । महता हाल डिल्लीबजार कारागारमा कार्यरत छन् ।

“छिटो आउन भनिएको छ, यहाँ जाममा परियो”, श्रीमतीसमेत काठमाडौँ फर्कंदै गरेका महताले भने, “सडक कहिले खुल्ला र कहिले गन्तव्यमा पुगिन्छ थाहै छैन ।”

यस्तै गुनासो सुनाउँदै थिए जितपुरबाट आएका मुन्ना अन्सारी । बजार नजिक नहुँदा खानेपानीसमेत किनेर खान पाउने अवस्था भएको उनले बताए । शुक्रबार साँझदेखि सडकमा बसेको कहिले खुल्छ भन्ने नै टुङ्गो नहुँदा समस्या भएको अन्सारीले बताए । व्यवसायका लागि काठमाडौँ जान आउँदै गर्दा नारायणगढ मुग्लिन सडक खण्डमा पहिरोमा परेपछि बास नै सडकमा भएको छ ।

बझाङबाट काठमाडौँ जाँदै गरेकी लिसाकुमारी सिंह पहिरोले जाममा परिन् । सादा खानाकोसमेत रु ४०० तिरेर खान बाध्य भएको उनले गुनासो गरिन् । उनी बझाङदेखि यही असोज २ गते काठामाडौँका लागि हिँड्ेकी हुन्। सिंह दाउन्नेमा ११ घण्टाको जाम छिचोलेर आउँदा यहाँ फेरि पहिरोमा परेकी हुन्। आफूसँग भएको पैसा सकिएकाले के खाने भन्ने समस्या भएको उनले बताएकी
हुन् ।

चिउरा, बिस्कुट खाएर सडक पेटीमा दिन बिताउन बाध्य भएको सिंहले बताएकी हुन् । बझाङबाट काठमाडौँका लागि ३८ देखि ३० घण्टा लाग्ने भए पनि नारायणगढ मुग्लिन सडक खण्डको पहिरोमा नै ३६ घण्टाभन्दा बढी बिताउनु परेको उनले बताएकी छिन् ।

सवारीसाधनको लामो लाइन भएपछि कतिपय यात्रुहरु बजार र बस्ती नभएको ठाउँमा परेका छन् । उनीहरुलाई किनेर खान समेत समस्या छ । पहिरोका कारण सवारीसाधन रोकिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले अलपत्र परेका यात्रुलाई चाउचाउ, पानी, भुजालगायत खाद्यान्न सहयोग गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको हो ।

यस्तै सडकमा बस्दा यात्रुहरु बिरामी पर्छन् भनेर स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । शिविरमा प्राथमिक उपचारका सामानहरु, आवश्यकताअनुसारका औषधि सर्वसाधारणलाई दिइएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा खसेको पहिरोमा परी हजारौँ यात्रु अलपत्र परेका छन् । सडक खुलाउनका लागि डिभिजन सडक कार्यालय र ट्राफिक प्रहरी लागिरहेको भए पनि पहिरो झर्नेक्रम नरोकिएकाले पन्छाउन समय लागेको हो । करिब ७० मिटर माथिबाट खसेको पहिरोका कारण १६० मिटर सडक ढाकेको छ भने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो । अहिले पनि पहिरो पन्छाउनेक्रम जारी छ ।

कांग्रेसको केन्द्रीयसहित ४८ जिल्ला कार्यालयमा क्षति

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसको केन्द्रीयसहित ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत भदौ २४ गते कांग्रेसका देशभरका पार्टी कार्यालय तथा नेताहरुको निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनी जस्ता हिंसात्मक घटनाका बारेमा प्रारम्भिक विवरण कांग्रेसले सार्वजनिक गरेको हो । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रदर्शनकारीले केन्द्रीय कार्यालय जलाएर ध्वस्त पारेको र कुनै पनि सामान नबचेको तथा करिब रु १० करोड बराबरको क्षति भएको छ ।

यस्तै कांग्रेसले आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै पार्टीले उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ । कांग्रेसले यस्तो जटिल मोडमा आवेग र उत्तेजना होइन विवेक, संयम र धैर्यताले काम गर्न सबै नेता तथा कार्यकर्तामा अनुरोध गरेको छ ।

 

मन्त्री घिसिङसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नव नियुक्त मन्त्री घिसिङलाई भारतीय राजदूत श्रीवास्तवले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, भारतीय सहायतामा निर्माणाधीन आयोजनाको प्रगतिका विषयमा छलफल भएको थियो ।

ऊर्जा तथा जलस्रोत क्षेत्रका द्धिपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ (तेस्रो चरण)को नहरबाट नेपालतर्फ पानी पठाउने, भारतीय सहायतामा निर्माणाधीन राहुघाट जलविद्युत आयोजनाको प्रगति, इनरुवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको निर्माण, नेपालबाट भारततर्फ थप विद्युत् निर्यातको स्वीकृतिलगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री घिसिङलेले दशैं तिहारमा उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक रुपमा विद्युत् खपत घट्ने भएकाले थप विद्युत् निर्यातका लागि स्वीकृति दिन आग्रह गरिएको बताए । अहिले नेपालले बंगलादेशसहित भारततर्फ ११६५ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । थप ४ आयोजनाको १३८ मेगावाट निर्यातका स्वीकृतिका लागि भारत समक्ष प्रस्ताव पेश गरिएको छ ।

इनरुवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको अध्ययन सम्पन्न भएको भेटमा जानकारी गराइएको थियो । जेनजीको आन्दोलनका कारण क्षति पुगेका संरचना पुनर्निर्माणमा आवश्यक परेमा सहयोग गर्न भारत तयार रहेको राजदूत श्रीवास्तवबाट जानकारी थियो । भेटमा मन्त्रालयका सचिव सरिता दवाडी, मन्त्रालयका सहसचिवहरु चिरञ्जीवी चटौत, सन्दीप कुमार देव, परराष्ट्र मन्त्रालय दक्षिण एशिया महाशाखाका शाखा अधिकृत प्रतिक कार्कीको उपस्थिति थियो ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौँ । मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बैठक बसेको हो । मन्त्रिपरिषद्का काम कारबाही, जेनजी आन्दोलनमा भएको दमन र आगजनीका घटनाबारे जाँचबुझ आयोग गठनलगायत छलफलका विषय छन् । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग फिर्ता हुने भएका छन् ।

बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दियो । हाल चार सदस्यीय मन्त्रिमण्डलमा अर्थमा रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमा कुलमान घिसिङ र गृह तथा कानुनमा ओमप्रकाश अर्याल छन् ।

कार्की मन्त्रिपरिषद् ११ सदस्यीय बनाउने तयारी छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री नियुक्त गर्न थप तीन जनाको नाम राष्ट्रपति कार्यालय पठाइएको बताइएको छ । मन्त्री नियुक्तिका लागि मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम राष्ट्रपति कार्यालय पुगेको स्रोतले जनाएको छ । मानवअधिकारकर्मी रहेकी अन्सारीले लिने मन्त्रालयको नाम खुलेको छैन । पत्रकार खरेलले सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने छन् । उनीहरूको नियुक्ति र शपथ आजै गर्ने शीतल निवासको तयारी छ ।

कानुन मन्त्री बन्दै सर्वोच्चका पूर्वन्यायाधीश सिन्हा

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने पक्का भएको छ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई कानुन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन् । यसअघि कानुन मन्त्रालय गृहमन्त्री ओमप्रकाश अर्यालले नै हेरिरहेका थिए ।

सिन्हा २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएर ६५ वर्षे उमेर हदले २०८० १४ कात्तिकमा अवकाशमा गएका थिए ।

२०३९ सालमा नेपाल ल क्याम्पसबाट स्नातक उत्तीर्ण गरेपछि उनले वकालत पेशा थालेका थिए । सिन्हा सर्वोच्च अदालतमा न्यायाधीश हुनुअघि वरिष्ठ अधिवक्ता थिए । उनी कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ कानुन व्यवसायीका रुपमा परिचित छन् ।

प्रधानमन्त्री कार्कीलाई भेटेपछि विपिनकी बहिनी र आमा : आमाको पीडा बुझ्नु होला नि !

काठमाडौं । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटका छन् । आइतबार सिंहदरबार पुगेर बिपिनका आमा र बहिनीले रिहाईका लागि निरन्तर पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि बिपिनका आमा पद्मा जोशीले यसअघिको सरकारले पहल गर्ने आश्वासन दिदा पनि केहि नजिता नआएकाले अबको सरकारप्रति आशा राखेको बताइन् ।

त्यस्तै विपिनका बहिनी पुष्पा जोशीले अहिले प्रधानमन्त्री पदमा आमा नै रहेकाले आमाको पीडा बुझ्ने बताइन् । भेटमा प्रधानमन्त्रीले विपिन जोशीको रिहाइका लागि पहल गर्ने बताएको पुष्पाले जानकारी दिइन् । विपिन जोशी नेपालको नागरिक भएकाले नेपालमा सकुशल फिर्ता ल्याउन कुनै एकले मात्रै नभइ सवै मिलेर पहल गर्नुपर्ने उनले बताइन् । जवाफमा प्रधानमनत्री कार्कीले विपिनको रिहाइको लागि कुनै कसर बाँकी नछोड्ने प्रतिबद्धता दिएको उनले जानकारी दिइन्।

उनले हमाससँग नजिक रहेका राष्ट्रहरुसँग कुरा गरेर विपिनको रिहाईको लागि हरसम्भव प्रयास गर्ने वचन दिएको उनको भनाइ छ । प्रधानमन्त्री कार्कीको पहलमा दाइ घर फर्किनेमा आफू विश्वस्त रहेको बहिनी पुष्पाले बताएकी छन् । जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजराइल पुगेका थिए । यसअघि शनिबार हमासको सशस्त्र समूह कासम ब्रिगेडले विपिन जोशीसहित ४८ इजरायली बन्धकहरुको तस्वीर सार्वजनिक गरेको थियो ।

अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्री खनालले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा महेश आचार्यलाई ल्याएका छन् । सो महाशाखा प्रमुख रहेको सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनाइएको छ ।

त्यस्तै, वित्तीय संघीयता महाशाखा प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख बनाएका छन् । यसअघि सहसचिव आचार्यले तालिम केन्द्रको प्रमुखको रुपमा काम गरिरहेका थिए । तीन सहसचिवको जिम्मेवारी आइतबारबाट हेरफेर गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।

निजी क्षेत्रसँग प्रधानमन्त्रीः ‘खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई कठिन परिस्थितिबाट दृढताका साथ उठ्न आह्वान गर्दै सरकार पूर्ण साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज निजी क्षेत्रका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले हालैको जेनजी प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठान तथा उद्योगमा ठूलो क्षति पुगेको भन्दै राज्य र निजी क्षेत्र दुवैलाई साझा चुनौती आएको बताए ।

“त्यत्रो ध्वङ्स भएको छ । यो विपत्ति निजी क्षेत्रलाई मात्र आएको होइन, राज्यकै लागि आएको हो”, प्रधानमन्त्री कार्कीले भने, “निजी क्षेत्रले रोजगारी दिएको छ, त्यसमा प्रहार हुनु दुःखद् हो ।”

प्रधानमन्त्री कार्कीले विधिको शासनलाई मजबुत बनाउन सरकार दृढ रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई निराश नहुन आग्रह गरे । उनले भने, “यो बेलामा दुःखी नहुनुहोस्, हामी साथमा छौँ । खरानी भएको बेला पनि राज्यलाई सहयोग गर्न निजी क्षेत्र तयार हुनु सकारात्मक पक्ष हो ।”

छलफलमा प्रधानमन्त्री कार्कीले सरकार आफ्नो कानुनी अधिकारभित्र बसेर काम गर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन् । “हामीलाई जे अधिकार छ, त्यसैभित्र बसेर काम गर्छौं । कानुनभन्दा बाहिर गएर काम गर्दैनौँ । क्षति पुगेका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका लागि सहुलियत दिने विषयमा राज्यले पहल कदमी लिन्छ”, उनले भने । निजी क्षेत्रलाई आह्वान गर्दै प्रधानमन्त्री कार्कीले भने, “खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ । सुरक्षाकर्मीको मनोबल बढाउन पनि निजी क्षेत्रले सहयोग गर्नुपर्छ ।”

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आयातमा नियन्त्रण गर्ने र आवश्यक परे कर बढाउने सम्भावना पनि प्रधानमन्त्री कार्कीले औँल्याए। तर तत्काल कर वृद्धिको नीति नलिइने स्पष्ट गर्दै उनले भने, “अहिलेको बेला भनेको कर कस्ने होइन । क्षति भएकाको मूल्याङ्कन गरेर सहुलियत दिने प्रयास हुन्छ ।”

आगामी दिनका प्राथमिकताबारे प्रधानमन्त्री कार्कीले निर्वाचनलाई पहिलो कार्यसूचीका रूपमा लिएको बताए। उनले भने, “निर्वाचन हाम्रो पहिलो प्राथमिकता हो । भ्रष्टाचार नियन्त्रण र सुशासन पनि सँगसँगै कायम गर्नुपर्ने बेला छ ।”

छलफलमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सक्रिय सुझावलाई आधार बनाएर छिट्टै सुधारात्मक प्याकेज घोषणा गरिने जानकारी दिए । वित्तीय तथा मौद्रिक नीतिबीच समन्वय गरी व्यावहारिक र कार्यान्वयनयोग्य योजना ल्याइने उनको भनाइ थियो । “निजी क्षेत्रबाट प्राप्त सम्पूर्ण सुझावलाई समेटेर प्याकेज घोषणा हुन्छ । यसको प्रस्ताव मन्त्रिपरिषद्मा गइसकेको छ”, अर्थमन्त्री खनालले भने ।

असामान्य परिस्थितिमा विशेष कदम आवश्यक हुने उल्लेख गर्दै उनले अहिलेको सङ्कट समाधानका लागि निजी क्षेत्रले पनि आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए। अहिलेको सरकारको छ महिनाको कार्यकाललाई निर्वाचनमा मात्र सीमित नगरी आर्थिक क्षेत्रमा आशा जगाउने प्रयत्न गर्ने सरकारको योजना रहेको उनले स्पष्ट पारे ।

“यो सरकारले दीर्घकालीन प्रकृतिका कानुन ल्याउँदैन । निर्वाचनसम्मका लागि मात्र अध्यादेश ल्याउन उपयुक्त हुन्छ । सामान्य समस्या र प्रक्रियागत जटिलता फुकाउनका लागि आवश्यक परे संशोधन गर्न सकिन्छ”, अर्थमन्त्री खनालले भने । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु पनि अहिलेको सरकारको म्याण्डेट रहेको उल्लेख गर्दै उनले सरकारी कार्यालयबाट हुने सेवाप्रवाहमा कुनै समस्या देखिए कारबाही गरिने चेतावनी दिए ।

गृहमन्त्री ओमप्रकाश अर्यालले हालको असामान्य अवस्थालाई सामान्यीकरण गर्ने कार्यलाई गृह मन्त्रालयको पहिलो प्राथमिकताका रूपमा लिइएको बताए । निजी क्षेत्रसँगको छलफलका क्रममा उनले द्वन्द्व थप नबढ्ने गरी सन्तुलन कायम गर्ने जिम्मेवारी गृह प्रशासनले सम्हाल्ने स्पष्ट पारे।

“अहिलेको फरक परिस्थितिलाई सामान्यीकरण गर्नु नै पहिलो प्राथमिकता हो । थप द्वन्द्व नबढोस् भन्ने बनाएर गृह मन्त्रालयले काम गर्छ, सन्तुलन कायम हुनुपर्छ”, उनले भने । गृहमन्त्री अर्यालले मन्त्रालय मातहतका सम्पूर्ण निकायलाई त्यस्तो निर्देशन दिइसकिएको जानकारी दिए ।

जेनजी प्रदर्शनको उद्देश्य सुशासन नै भएको जिकिर गर्दै गृहमन्त्री अर्याललले भने, “सुशासन ल्याउन सकेनौँ भने छ महिनाको हाम्रो म्यान्डेटबीचमै तुहिन सक्छ । असुरक्षित हुनेगरी कदम चाल्न हुँदैन । यसोगर्दा हामीबीचमै दुर्घटनामा पनि पर्न सक्छौँ ।”

आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका घटनाबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने गृह मन्त्रालयको तयारी रहेको उनले बताए। “जेनजी प्रदर्शनका क्रममा भएका घटनाको अध्ययनका लागि न्यायिक जाँचबुझ आयोग बन्छ । त्यसले तथ्यसहित अध्ययन गर्छ”, उनले स्पष्ट पारे । गृहमन्त्री अर्यालका अनुसार हालैको घटनाक्रमले सुरक्षा संयन्त्रको मनोबल कमजोर देखिएको भए पनि नागरिक, निजी क्षेत्र र सुरक्षा निकायबीच आपसी सम्बन्ध सुधारिएको छ ।

आगामी निर्वाचनलाई स्वतन्त्र तथा निष्पक्ष बनाउन गृह मन्त्रालयले सुशासन र शान्तिसुरक्षाका आधारभूत पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता गृहमन्त्री अर्यालले व्यक्त गरे । “फ्री र फेयर निर्वाचनका लागि हामी सुशासन र शान्तिसुरक्षाका पूर्वाधार तयार गर्छौं”, उनले भने ।

मुख्यसचिव एकनारायण अर्यालले विगत केही वर्षयता मुलुकले भोगेका असामान्य परिस्थिति कोभिड–१९, भूकम्प र नाकाबन्दीजस्ता कारणले अर्थतन्त्रलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै अब निजी क्षेत्रलाई प्रोत्साहन गर्न सबै मन्त्रालय सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे। आन्दोलनपछि सुरक्षा निकायको मनोबल कमजोर हुनु मुलुकको हितमा नभएको उल्लेख गर्दै उनले भने, “सुरक्षा निकाय हतोत्साही भएको छ, यो मुलुकका लागि राम्रो होइन । व्यवसायमैत्री वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति दिन गृह मन्त्रालय सक्रिय छ ।”

अर्थतन्त्रलाई पुनरुत्थान गर्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै मुख्यसचिव अर्यालले हरेक मन्त्रालयले निजी क्षेत्रलाई प्रोत्साहन हुनेगरी काम गर्ने बताए । निजी क्षेत्रलाई राहतका उपायबारे बोल्दै उनले भन्सार छुट, सहुलियत ब्याजसहितको कर्जा सुविधा र साँवाब्याज भुक्तानी अवधिलाई लम्ब्याउने विषयमा मन्त्रिपरिषद्ले चाँडै निर्णय लिनसक्ने सङ्केत गरे ।

संविधान खारेजी र गणतन्त्र समाप्त पार्ने तत्वहरू क्रियाशील छन् : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा निर्वाचन हुन नदिने खेलमा केही शक्तिहरु लागि परेको बताएका छन् । प्रगतिशील लेखक संघ, नेपालले आज (आइतबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकमा व्यवस्था विरोधी तत्वहरूले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्नका लागि चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको टिप्पणी गरे ।

तोकिएको समयमा नै निर्वाचन भए संविधान र गणतन्त्र दुवै मास्ने लक्ष्य पूरा नहुने भएकाले पनि उनीहरुले मुलुकलाई रिक्ततातर्फ धकेल्न पनि निर्वाचन हुने नदिने उपमहासचिव ज्ञवालीको तर्क थियो । उनले राष्ट्रपति रामचन्द्र पौडेलको अडानको कारण मात्रै मुलुक दुर्घटना हुनबाट बचेको पनि बताए । उपमहासचिव ज्ञवालीले जेनजी अभियन्ताहरु रनभुल्लमा परेको उल्लेख गर्दै मुलुकमा अरु शक्तिहरूले चलखेल गरिरहेको दाबी गरे ।

उनले भने, ‘यी सबै कुराको अन्तर्यमा संविधान खारेजी, गणतन्त्रको समाप्तीको कुरा छ । म यस मानेमा धन्यवाद दिन चाहन्छु कि सम्माननीय राष्ट्रपति ज्यूलाई कि उहाँले केही केही अडान लिनु भएको हुनाले त्यसै दिन हुने कतिपय दुर्घटनाहरु बचेको पनि छ । तर अगाडिका दिनहरु कसरी जान्छन ? भन्न सकिँदैन ।’

उनले भने, ‘मेरो विचारमा यस्तो स्थिति सिर्जना गर्ने कोशिस हुनेछ, जहाँ चुनाव हुन नसकोस । एउटा रिक्तता सिर्जना होस् । वर्तमान प्रधानमन्त्रीले चुनाव गराउन सकिन भनेर हटन बाध्य बनाइयोस् । एउटा भ्याकुम खडा गरेर त्यही भित्र खेल्न सकियोस् । यो दिशामा लैजाने प्रयत्नहरु आगामी दिनहरुमा हुने नै छन ।’ उपमहासचिव ज्ञवालीले राजनीतिक दलहरूलाई पेलेर निर्वाचन गराउन प्रयास भए पनि त्यो भने सम्भव नहुने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि नागरिकतासहित अत्यावश्यक सेवा सञ्चालन गरेको गरेको छ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनीका हुँदा क्षति भई बन्द गरिएका सेवाहरू आजदेखि सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आजदेखि नयाँ नागरिकता, प्रतिलिपि, नाबालक परिचयपत्र निर्माणलगायत सेवा सुरु गरिएको हो । भरतपुर महानगरपालिकाका हार्दिक न्यौपाने र सविन महतोलाई प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकता प्रदान गरी सेवा प्रारम्भ गरेको हो ।

उनले भने, “प्रदर्शनपछि उठेर सेवामा लागेका छौँ । हामी उठ्याँै, उठेर सबै जुट्यौँ, जसका कारण सेवा प्रारम्भ अन्य जिल्लाको भन्दा चाँडो गर्न सक्यौँ ।” जेनजी प्रदर्शनका क्रममा आगलागी गरिएका भवनको सरसफाइ गरेर सीमित कोठाबाट सेवा प्रवाह गरिएको उनले जानकारी दिए । योसँगै केही दिनभित्र राष्ट्रिय परिचयपत्रको कामसमेत सञ्चालन गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

यसैबीच सघन सहरी तथा भवन निर्माण कार्यालय चितवनले आगलागीबाट जिल्लाका सरकारी कार्यालयमा भएको क्षतिको निरीक्षण गर्नुका साथै भवनहरूको अवस्थाबारे अध्ययन सुरु गरेको छ । जिल्लामा रहेका सरकारी कार्यालय कतिमा काम गर्न सक्ने अवस्था छ वा छैन भन्ने बारेमा जानकारी लिँदै यसको लागत सङ्कलन तयार पारिने कार्यालयका प्रमुख झपटबहादुर कार्कीले बताए ।

कार्यालयले अध्ययनसँगै प्रत्येक कार्यालयमा तीनवटा स्टिकर टाँस गर्नेछ । रातो, पहेँलो र हरियो रङका स्टिकर टाँस गरिने उनले बताए । रातो रङको स्टिकर टाँस गरिएको भवनमा काम गर्न नसकिने, पहेँलो टाँस गरिएका ठाउँमा मर्मत गरेर काम गर्नुपर्ने र हरियो टाँस गरिएका ठाउँमा काम गर्न सकिने भन्ने हुन्छ । उनले भने, “प्रदर्शनका क्रममा क्षति भएका भवनहरूको वास्तविक विवरण सङ्कलन गरेर विभागमा पठाइने छ ।”

४५ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोलामा आएको पहिरो हटाउने काम सकिएको छ । सडक डिभिजन भरतपुरले दुवैतर्फबाट मेशिनहरू निरन्तर काम लगाएर पहिरो हटाइसकिएको र ४५ घण्टापछि सडक एकतर्फी आवागमन सुचारु गरिएको जानकारी दिएको हो ।
शुक्रबार साँझदेखि ठूलो पहिरो गएपछि त्यो क्षेत्र हुँदै सञ्चालन हुने यातायात सेवा प्रभावित भएको थियो ।

शनिबार दिनभर पहिरो हटाउने प्रयास भएको भए पनि पहिरो आउन क्रम नरोकिएका कारण आइतबार बिहान ३ बजेसम्मलाई स्थगन गरिएको थियो । सडक डिभिजन कार्यालय, चितवनले नारायणगढतर्फ ३ वटा स्टाभेटर लोडर र मुग्लिङ तर्फ पनि ३ वटै स्काभेटर लोडर प्रयोग गरेर पहिरो पन्छ्याएको हो । माथिबाट पहिरो नखसेका कारण सडक सुचारु गर्न सकिएको सडक डिभिजन कार्यालय, चितवनका कार्यालय प्रमुख नारायणप्रसाद लामिछानेले बताए ।

नवीकरणीय ऊर्जालाई मूल प्रवाहीकरण गरिनेछ : मन्त्री घिसिङ

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हाल ऊर्जा सम्मिश्रणमा रहेको १० प्रतिशतको प्रावधान तत्कालै हटाउन सरकार तयार रहेको बताएको छ ।
लघुजलविद्युत्, बायोग्यास, बायोमास, सौर्य ऊर्जा, वायु ऊर्जा क्षेत्रमा क्रियाशील निजी क्षेत्रको छाता सङ्गठन नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ (रिकोन) का प्रतिनिधिसँगको भेटमा मन्त्री घिसिङले सो कुरा बताएको हो ।
मन्त्री घिसिङले दिगो, समावेशी र मजबुत नवीकरणीय ऊर्जा प्रणाली निर्माणमा आफू पूर्णतः प्रतिबद्ध रहेको उल्लेख गरे। नेपालले सन् २०४५ सम्म नेट–शून्य उत्सर्जनको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा प्रविधिबाट सहयोय पुग्ने भएकाले नवीकरणीय ऊर्जालाई मुलुकको ऊर्जा विकासमा मूल प्रवाहीकरण गरिनेछ भने ।
ऊर्जामन्त्री घिसिङलाई बुझाएको ज्ञापनपत्रमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता ऐन, २०८० को द्रुत कार्यान्वयन ऊर्जा नियामक आयोगमा निजी क्षेत्रको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ । नेट–मिटरिङ, विकेन्द्रित उत्पादन, लघु जलविद्युत् र रूफटप सौर्यलाई राष्ट्रिय ऊर्जा नीतिमा पूर्ण रुपमा संस्थागत गर्न, यी ऊर्जा परियोजनामा ‘एएए’ मोडेल विस्तार एवं स्थानीय तहमा जेनजी पुस्तालाई रोजगारी सिर्जना हुनेगरी कार्यान्वयन गर्न सुझाव दिइएको छ ।
हरित वित्त र लगानी, कार्बन बजारका संयन्त्र विस्तार गरी लगानी जोखिमको न्यूनीकरण, नवीकरणीय ऊर्जा प्रविधिमा कर छुट तथा भन्सार सहुलियत र सहुलियत व्याजदर सुनिश्चित, जैविक ऊर्जा उत्पादन गर्ने उद्योगलगायत नवीकरणीय ऊर्जासम्बन्धी उद्योगलाई सहुलियत दरमा विद्युत् उपलब्ध, लघु जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जडान तथा विश्वविद्यालय र अन्तरराष्ट्रिय साझेदारसँग सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।
ऊर्जा मिश्रणमा नवीकरणीयको हिस्सा २५ प्रतिशतसम्म पु¥याउने लक्ष्यसहित प्रोत्साहन व्यवस्था गर्न तथा ‘मेड इन नेपाल–मेक इन नेपाल’अन्तर्गत नवीकरणीय ऊर्जा प्रविधिका पाट्र्स-उपकरण-एसेम्बली उद्योग नेपालमै स्थापना गरी जेनजी पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न पनि माग गरिएको छ ।
महिला, युवा, जेनजी र सीमान्तकृत समुदायको रोजगार, स्वामित्व र उद्यमशीलतामा सार्थक सहभागिता गराउन, प्रदेश-स्थानीय तहमा ऊर्जा आवश्यकता आँकलन, व्यवस्थापन र वित्तीय क्षमता विकास कार्यक्रम सञ्चालन, उत्पादन–प्रसारण–वितरणमा जनसहभागिता सुनिश्चित गर्न, घरेलु-साना उद्योग र उद्यमशीलतासँग ऊर्जा पहुँचलाई जोड्न पनि मन्त्री घिसिङ सकारात्मक रहेको रिकोनका अध्यक्ष कुशल गुरुङले बताए ।
सो अवसरमा रिकोनका पूर्वअध्यक्ष गुणराज ढकाललगायत लघुजलविद्युत्, बायोग्यास, बायोमास, सौर्य ऊर्जा, वायु ऊर्जा प्रविधिसम्बन्धी निजी क्षेत्रसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

उच्च मनोबलका साथ काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले कार्यक्षेत्रमा थप उच्च मनोबल र हौसलाका साथ परिचालित हुन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापनाकालदेखि नै मुलुकमा देखापरेका विभिन्न अप्ठ्यारा परिस्थितिमा आइपरेका चुनौतीलाई परास्त गर्दै आएको स्मरण  गरे ।

उनले भने, “नेपाली जनताको जीवनरक्षा गर्नुभन्दा ठूलो कर्तव्य अरु केही हुन सक्दैन भन्ने कुरा सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायले राम्रोसँग बुझेका छन्, आगमी दिनमा कार्यक्षेत्रमा थप हौसलाका साथ परिचालित हुनुपर्छ ।”

सशस्त्र प्रहरी बल नेपालले प्राथमिकीकरण गरेका कार्यादेशअन्तर्गत सीमा सुरक्षा, राजस्व सङ्कलन, विपद् व्यवस्थापनमा सक्रिय भई सीमास्तम्भ मर्मतसम्भार, सीमापार अपराध नियन्त्रण, अवैध चोरीपैठारी, मानव बेचबिखन, हातहतियार तथा लागुऔषधको ओसारपसार नियन्त्रणमा ‘डेडिकेटेड’ रुपमा परिचालन हुन गृहमन्त्री अर्यालले आग्रह गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्य र नागरिकको सेवा तथा सुरक्षामा समर्पित सशस्त्र प्रहरी बल नेपाल जनअपेक्षाअनुरुप सुरक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै सङ्गठनले आर्जन गरेको प्रतिष्ठा र जनविश्वासलाई अक्षुण्ण राख्न अनुशासित, कर्तव्यपरायण र सेवाप्रति निष्ठावान् रही राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा परिचालित हुँदै आएको बताए।

राजस्व चुहावट नियन्त्रण र वैध व्यापार प्रवद्र्धनमार्फत राज्यको अर्थतन्त्रमा योगदान पुर्याउन सशस्त्र प्रहरी बलले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै महानिरीक्षक अर्यालले सीमा क्षेत्रमा आवश्यक जनशक्ति र बिओपीको सङ्ख्या वृद्धि गर्नसके थप उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।

संगीता मिश्र स्वास्थ्य मन्त्री बन्दै

काठमाडौं । सचिवमा बढुवा नगरिएपछि बिदामा रहेकी स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्र सोही मन्त्रालयमा मन्त्री भएर आउने भएकी छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएर मन्त्री बनाउन लागिएको हो ।

मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन् । उनले थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरिसकेकी छन् ।

 

जेनजी आन्दोलनबाट निजी क्षेत्रमा ८० अर्बको क्षति

काठमाडौं । भर्खरै भएको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा ८० अर्ब बराबरको क्षति भएको छ । आज (आइतबार) निजी क्षेत्रका प्रतिनिधिहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै करिव ८० अर्ब बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आंकलन रहेको जानकारी गराएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको भेटमा आन्दोलनबाट ठूलो जनधनको क्षति भएको भन्दै घुसपैठ गर्नेलाई काराबाहीको माग गरे । महासंघका अध्यक्ष ढकालले महासंघले देशैभरको क्षति विवरण संकलन गरिरहेको बताए । अध्यक्ष ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकार बीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्नसक्ने वातावरणको सुनिश्चितता कायम गर्न पनि आग्रह गरे ।

युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति व्यहोरेको हुँदा दोषी माथि कारवाही हुनुपर्ने निजी क्षेत्रको माग छ । कारबाही हुन नसके दण्डहीनताको अवस्था सिर्जना भइ निजी लगानी थप निरुत्साहित हुनेतर्फ निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त छलफलमा सरकारको ध्यानाकर्षण गराए । छलफलमा अध्यक्ष ढकालले २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारीमा रहेको तर न्युन तयारीकै अवस्थामा भएको यस क्षतिले समस्या उत्पन्न हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

यस्तै समस्या भोगेको बंगलादेशले विशेष गरी व्यापार सुविधाबाट वञ्चित हुने हुँदा स्तरोन्नतिको निर्णय पर सार्न खोजिरहेको छ । नेपालले पनि अहिले नै स्तरोन्नतिको निर्णय स्थगत गर्न संयुक्त राष्ट्र संघ समक्ष आग्रह गर्नुपर्ने महासंघको सुझाव छ। कर छुट, साना तथा मझौला उद्यमका लागि उत्पादनमा आधारित राहत र सहुलियतपूर्ण कर्जाको आवश्यकताका साथै बजेट पुनरावलोकन गरी अनावश्यक शिर्षकको रकम पुनर्निर्माणमा उपयोग गर्न सकिने महासंघको सुझाव छ ।

छलफलका क्रममा चालु पुँजीकर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन पुनःकर्जा, ब्याज अनुदान लगायतका वित्तीय सहुलियत तत्काल दिन सकिने तर्फ व्यवसायीहरुले प्रधानमन्त्री कार्किको ध्यानाकर्षण गराएका थिए । अर्थतन्त्रको पुर्ननिर्माण नव निर्माण र पुनरोत्थानका लागि निजी क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । निजी क्षेत्रका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारले आर्थिक प्याकेज ल्याएर निजी क्षेत्रलाई अघि बढ्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

गाजामा इजरायली हमलामा ९१ को मृत्यु, तेल अभिवमा युद्धविरामको माग

इजरायली सेनाको तीव्र हवाई र स्थल आक्रमणले शनिबार गाजामा एकै दिन ९१ जना प्यालेस्टिनीको ज्यान लिएको अल जजिराले जनाएको छ । मृतकहरूमा एक प्रमुख चिकित्सकका आफन्त र उत्तरी गाजाबाट भागिरहेका नागरिकहरू पनि परेका छन् ।

आक्रमणले आवासीय घर, विस्थापितका शिविर र नागरिक बोकेको ट्रकलाई निशाना बनाएको थियो । यसै क्रममा गाजाको सबैभन्दा ठूलो अस्पताल अल–सिफाका निर्देशक मोहम्मद अबु साल्मियाको परिवार घरमै मारिएको थियो ।

हमासले यसलाई ‘चिकित्सकहरूलाई सहर छोड्न बाध्य पार्ने आतङ्कवादी सन्देश’ भन्दै निन्दा गरेको छ । अर्को आक्रमणले गाजाको नासर क्षेत्रमा ट्रकमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको थियो ।

अल जजिराकी संवाददाता हिन्द खोदारीका अनुसार हजारौँ विस्थापित निरन्तर बमबारी, तोप आक्रमण र ड्रोन आक्रमणबाट भागिरहेका छन् । इजरायली सेनाले विस्फोटक भरिएका रोबोट प्रयोग गरी क्षेत्र ध्वस्त पारिरहेको बताइएको छ । उद्धारकर्ताहरू फसेका घाइतेहरूसम्म पुग्न नसकेको पनि उनले बताए ।

अगस्टदेखि मात्रै गाजा सहरमा करिब चार लाख ५० हजार मानिस विस्थापित भइसकेका छन् । इजरायली सेनाले दुई हप्तामा २० वटा टावर भवन भत्काएको दाबी गरेको छ । धेरै विस्थापितहरूले सडक किनारमा त्रिपाल हालेर कठोर परिस्थितिमा बस्न बाध्य भएको जनाइएको छ ।

दक्षिणी अल–मवासीमा पनि अवस्था गम्भीर छ । “पानी, स्वास्थ्य सेवा र स्वच्छताको पहुँच अत्यन्तै कठिन छ, जसले स्वास्थ्य सङ्कट निम्त्याउन सक्छ”, डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) का मिचेल फोटिआडिसले भने ।

हमासले गाजामा बाँकी ४८ बन्दीहरू आक्रमणका कारण खतरा बढेको चेतावनी दिएको छ । यसको सशस्त्र शाखा कासम ब्रिगेडले बन्दीहरूको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ ।

यसैबीच, हजारौँ मानिसले तेल अभिवमा युद्ध रोक्न माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग सम्झौता गरी बन्दीहरू मुक्त गर्न दबाब दिए । प्रदर्शनकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि इजरायललाई सम्झौता गर्न दबाब दिन आग्रह गरे ।

अल जजिराका पत्रकार हमदाह सलहुतका अनुसार यी प्रदर्शनहरूले इजरायली सरकारलाई अझै असर पारेको छैन । बरु नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले प्रदर्शनलाई इजरायलको शत्रुको पक्षमा काम गरेको भन्दै आलोचना गरेको छ ।

बन्दीका परिवारहरूले भने निरन्तर सैन्य कारबाहीले आफ्ना प्रियजनहरूको जीवन जोखिममा परेको बताएका छन् । हप्तौँदेखि भइरहेका प्रदर्शनहरू ‘पर्याप्त नै पर्याप्त’ भन्ने सन्देश पठाउँदै हाल पश्चिम जेरुसेलममा नेतान्याहुको घरअगाडि समेत पुगेका छन् ।

सुदन गुरुङलाई घाइते जेनजीको चेतावनी : आन्दोलनको लिडर हुँ भन्दै नहिँड्नू

काठमाडौं । जेन–जी आन्दोलनका घाइतेले ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङलाई आन्दोलनको ‘लिडर हुँ’ भन्दै नहिँड्न चेतावनी दिएका छन् । आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर ज्ञापन पत्र बुझाउन गएका घाइतेहरूले आक्रोशित हुँदै सुदनलाई यस्तो चेतावनी दिएका हुन् ।

बिहानै गृहमन्त्री अर्याल भेट्न सिंहदरबारको गेटमा पुगेका घाइतेहरूले प्रवेश गर्न नदिएपछि धर्नामा बसेका थिए । त्यसपछि त्यहाँबाट उनलाई प्रहरीले गाडीमा राखेर गृह मन्त्रालय पुर्‍याएको थियो । गृह मन्त्रालय पुगिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै घाइतेहरूले सुदन, एमाले नेता महेश बस्नेत र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि आक्रोश पोखेका छन् ।

गृहमन्त्रीलाई ज्ञापनपत्र
जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूले पछि गएर गृहमन्त्री ज्ञापनपत्र बुझाएका हुन् । यसअघि उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।

फिलिपिन्समा बाढी नियन्त्रण भ्रष्टाचारकाण्डविरुद्ध ठूलो प्रदर्शन

सांसद, अधिकारी र व्यवसायीहरू संलग्न भएको भनिएको बाढी नियन्त्रण परियोजनाको ठूलो घुसघोरी प्रकरणले आक्रोश बढेपछि आइतबार हजारौँ प्रदर्शनकारीहरू फिलिपिन्सको राजधानी मनिलामा सडकमा उत्रिएका छन् ।

हिंसा रोक्न प्रहरी र सेनालाई सतर्क पारिएको थियो । ऐतिहासिक मनिला पार्क र राजधानी क्षेत्रको इड्सा राजमार्ग नजिक लोकतन्त्र स्मारक वरिपरि छुट्टै प्रदर्शनस्थलहरूमा सुरक्षाका लागि हजारौँ प्रहरी तैनाथ गरिएको थियो । आयोजकहरूले यसलाई हालका वर्षहरूमा भ्रष्टाचारविरोधी सबैभन्दा ठूलो प्रदर्शन बन्ने अपेक्षा राखेका छन् ।

संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाका दूतावासहरूले आफ्ना नागरिकलाई प्रदर्शन क्षेत्रबाट टाढा रहन सचेत गराएका छन् ।

प्रदर्शनकारीहरूले फिलिपिन्सको झण्डा बोके र ‘अब छैन, धेरै, तिनीहरूलाई जेलमा हाल’ भन्ने नारासहितका ब्यानर देखाउँदै दोषीहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

विद्यार्थी नेत्री अल्थिया ट्रिनिडाडले भने, “हामी गरिबीमा डुबिरहेका छौँ, तर उनीहरूले हाम्रो करबाट भाग्य कमाएर लक्जरी कार, विदेश यात्रामा खँर्च गर्छन् । हामी यस्तो प्रणाली अन्त्य चाहन्छौँ ।” उनले आफू बस्ने बाढीग्रस्त बुलाकान प्रान्तमा धेरै परियोजना खराब गुणस्तर वा अस्तित्वहीन भएको अनुसन्धान भइरहेको पनि बताए ।

फिलिपिन्स क्याथोलिक बिशप्स कन्फरेन्सका प्रमुख कार्डिनल पाब्लो भर्जिलियो डेभिडले शान्तिपूर्ण विरोधको आग्रह गर्दै ‘हाम्रो उद्देश्य अस्थिरता होइन, लोकतन्त्रलाई बलियो बनाउन हो’ भने।

आयोजकहरूले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई राजीनामा दिन माग नगरी भ्रष्ट सांसद, अधिकारी र ठेकेदारलाई मात्र निशाना बनाइने बताएका छन् ।

मार्कोसले यसै वर्षको वार्षिक राष्ट्र सम्बोधनमा काण्डको खुलासा गरेको थिए। उनले सन् २०२२ पछि सुरु भएका नौ हजार आठ सय ५५ बाढी नियन्त्रण परियोजनामध्ये धेरैमा पाँच खर्ब ४५ अर्ब पेसो (नौ अर्ब ५० करोड डलर) बराबरको अनियमितता भएको भन्दै स्वतन्त्र आयोग गठन गरेको थिए। उनले भ्रष्टाचारलाई ‘भयानक’ भन्दै निर्माण मन्त्रीको राजीनामा समेत स्वीकार गरेको थिए।

मिडियामा धनी दम्पती सारा र प्यासिफो डिस्कायाले आफ्ना दर्जनौँ लक्जरी कार र एसयुभी प्रदर्शन गरेपछि जनआक्रोश चर्किएको थियो । उनीहरूले चार करोड २० लाख पेसो(सात लाख ३७ हजार डलर) बराबरको ब्रिटिस लक्जरी कार किन्दा निःशुल्क छाता पाएको भन्दै देखाएका थिए ।

सिनेट सुनुवाइमा दम्पतीले कम्तीमा १७ सांसद र उच्च अधिकारीलाई ठेक्का दिलाउन ठूलो किकब्याक तिर्न बाध्य पारिएको खुलासा गरेका थिए । छुट्टै अनुसन्धानमा दुईजना प्रमुख सिनेटरलाई पनि एक पूर्व इन्जिनियरले फसाएका छन् । नाम लिइएकाले सबैले आरोप अस्वीकार गरे पनि धेरैजना अनुसन्धानको दायरामा परेका छन् ।

दुवै सदनमा सांसदहरू फस्दा सिनेट अध्यक्ष फ्रान्सिस एस्कुडेरो र सभामुख मार्टिन रोमाल्डेजले राजीनामा दिएका छन् ।

भ्रष्टाचारमा संलग्न कम्तीमा तीन इन्जिनियर बर्खास्त भएका छन् भने १५ जनामाथि थप अनुसन्धान भइरहेको छ । सबैले आपराधिक मुद्दा सामना गर्नेछन् र उनीहरूको सम्पत्ति, घर, कार र बैंक खाता फ्रिज गरिने जनाइएको छ ।

जलेश्वर कारागारबाट भागेका पाँच सय ७६ कैदीमध्ये २३३ फर्किए

जलेश्वर । गत भदौ २४ गते जेन-जीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागार जलेश्वरबाट भागेका कैदीमध्ये २३३ फर्किएका छन् । कारागारबाट भागेका पाँच सय ७६ कैदीबन्दीमध्ये तीन सय ४३ जना अझै फर्किएका छैनन् ।

सङ्घीय राजधानी काठमाडौँसहित देशभरि जेनजीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मङ्गलबार राति करिब ७ बजे जलेश्वर कारागारमा कैदीबन्दी भई बस्दै आएका ४० भारतीयसहित सबै पाँच सय ७६ जना कैदी फरार भएका कारागारका जेलर अशोक क्षेत्रीले जानकारी दिए । उनका अनुसार आज बिहानसम्म दुई सय ३३ जना कैदीबन्दी फर्केर आएका छन् ।

कैदीबन्दी फरार भएको भोलिपल्टै भदौ २५ गत कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि आज बिहानसम्म दुई सय ३३ जना आइसकेका जनाउँदै अझै आउने क्रम पनि जारी रहेको क्षेत्रीले बताए  । 

जलेश्वर कारागारबाट भागेकामध्ये १२ जना कैदीबन्दीलाई भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काउन मद्दत गरेका उनको भनाइ छ ।

बाँकी कैदीबन्दी आफैँ कारागारमा फर्किएका हुन् । जेन-जीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मङ्गलबार राति करिब ५०० को सङ्ख्यामा आएका प्रदर्शनकारीले आफूलाई जेन-जी भन्दै कारागार कार्यालयका तीन तहका ढोका फुटाएर सबै कैदीबन्दीलाई भगाएका जेलर क्षेत्रीले जानकारी दिए ।

जेन-जीको प्रदर्शनको आडमा जलेश्वर कारागारबाट भागेका र अझै पनि नआएका तीन सय ४३ कैदीबन्दीलाई जिल्लाको तीनै तहका सुरक्षाकर्मी परिचालन गरी खोजीकार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।

ईरानद्वारा आणविक निगरानी संस्थासँग सहकार्य स्थगित, सुरक्षा परिषद्को निर्णयको आलोचना

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले ईरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने प्रस्ताव अस्वीकृत गरेपछि, ईरानले राष्ट्रसङ्घीय आणविक निगरानी संस्थासँगको सहकार्य प्रभावकारी रूपमा रोक्ने घोषणा गरेको छ ।

यो निर्णय ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को शनिबार बसेको बैठकबाट गरिएको हो, जसको अध्यक्षता राष्ट्रपति मसउद पेसेश्कियानले गरेका थिए ।
परिषद्ले फ्रान्स, बेलायत र जर्मनी (ई–३ राष्ट्रहरू)ले लिएको कदमलाई ‘अविवेकी’ भन्दै कडा आलोचना ग¥यो । परिषद्ले स्पष्ट रूपमा यस्ता कदमहरू ईरानको राष्ट्रिय हितविपरीत रहेको उल्लेख गरेको छ ।

यद्यपि ईरानले अहिलेसम्म आफ्नो आणविक कार्यक्रमबारे समाधान खोज्न र पारदर्शिता देखाउन प्रयत्न गर्दै आएको दाबी गरेको छ । साथै, युरोपेली राष्ट्रहरूको एकपक्षीय व्यवहारका कारण सहकार्य निलम्बन गर्नुपरेको ईरानले जनाएको छ ।
बैठकले परराष्ट्र मन्त्रालयलाई आवश्यक कूटनीतिक पहल जारी राख्दै राष्ट्रिय स्वाधीनता र हितको रक्षा गर्न निर्देशन दिएको छ ।

शुक्रबार, सुरक्षा परिषद्मा सन् २०१५ मा भएको आणविक सम्झौता (जेसीपीएओ)अन्तर्गत ईरानमाथिको प्रतिबन्ध सहज गर्ने प्रस्ताव अस्वीकार गरिएको थियो । अघिल्लो महिनामा ई–३ राष्ट्रहरूले सो सम्झौतामा रहेको ‘पुनः प्रतिबन्ध लगाउने व्यवस्था’ सक्रिय गरेका थिए, जसअनुसार ३० दिनभित्र प्रतिबन्ध पुनः लागू हुने प्रावधान छ ।

यी प्रतिबन्धहरू यही महिनाको अन्त्यसम्म लागु हुने अपेक्षा गरिएको छ ।
सन् २०१८ मा संयुक्त राज्य राष्ट्रले एकपक्षीय रूपमा सम्झौताबाट बहिर्गमन गरेपछि ईरानले पनि क्रमशः सम्झौताको पालना गर्न छोडेको हो ।