`

फिलिपिन्समा बाढी नियन्त्रण भ्रष्टाचारकाण्डविरुद्ध ठूलो प्रदर्शन

सांसद, अधिकारी र व्यवसायीहरू संलग्न भएको भनिएको बाढी नियन्त्रण परियोजनाको ठूलो घुसघोरी प्रकरणले आक्रोश बढेपछि आइतबार हजारौँ प्रदर्शनकारीहरू फिलिपिन्सको राजधानी मनिलामा सडकमा उत्रिएका छन् ।

हिंसा रोक्न प्रहरी र सेनालाई सतर्क पारिएको थियो । ऐतिहासिक मनिला पार्क र राजधानी क्षेत्रको इड्सा राजमार्ग नजिक लोकतन्त्र स्मारक वरिपरि छुट्टै प्रदर्शनस्थलहरूमा सुरक्षाका लागि हजारौँ प्रहरी तैनाथ गरिएको थियो । आयोजकहरूले यसलाई हालका वर्षहरूमा भ्रष्टाचारविरोधी सबैभन्दा ठूलो प्रदर्शन बन्ने अपेक्षा राखेका छन् ।

संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाका दूतावासहरूले आफ्ना नागरिकलाई प्रदर्शन क्षेत्रबाट टाढा रहन सचेत गराएका छन् ।

प्रदर्शनकारीहरूले फिलिपिन्सको झण्डा बोके र ‘अब छैन, धेरै, तिनीहरूलाई जेलमा हाल’ भन्ने नारासहितका ब्यानर देखाउँदै दोषीहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

विद्यार्थी नेत्री अल्थिया ट्रिनिडाडले भने, “हामी गरिबीमा डुबिरहेका छौँ, तर उनीहरूले हाम्रो करबाट भाग्य कमाएर लक्जरी कार, विदेश यात्रामा खँर्च गर्छन् । हामी यस्तो प्रणाली अन्त्य चाहन्छौँ ।” उनले आफू बस्ने बाढीग्रस्त बुलाकान प्रान्तमा धेरै परियोजना खराब गुणस्तर वा अस्तित्वहीन भएको अनुसन्धान भइरहेको पनि बताए ।

फिलिपिन्स क्याथोलिक बिशप्स कन्फरेन्सका प्रमुख कार्डिनल पाब्लो भर्जिलियो डेभिडले शान्तिपूर्ण विरोधको आग्रह गर्दै ‘हाम्रो उद्देश्य अस्थिरता होइन, लोकतन्त्रलाई बलियो बनाउन हो’ भने।

आयोजकहरूले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई राजीनामा दिन माग नगरी भ्रष्ट सांसद, अधिकारी र ठेकेदारलाई मात्र निशाना बनाइने बताएका छन् ।

मार्कोसले यसै वर्षको वार्षिक राष्ट्र सम्बोधनमा काण्डको खुलासा गरेको थिए। उनले सन् २०२२ पछि सुरु भएका नौ हजार आठ सय ५५ बाढी नियन्त्रण परियोजनामध्ये धेरैमा पाँच खर्ब ४५ अर्ब पेसो (नौ अर्ब ५० करोड डलर) बराबरको अनियमितता भएको भन्दै स्वतन्त्र आयोग गठन गरेको थिए। उनले भ्रष्टाचारलाई ‘भयानक’ भन्दै निर्माण मन्त्रीको राजीनामा समेत स्वीकार गरेको थिए।

मिडियामा धनी दम्पती सारा र प्यासिफो डिस्कायाले आफ्ना दर्जनौँ लक्जरी कार र एसयुभी प्रदर्शन गरेपछि जनआक्रोश चर्किएको थियो । उनीहरूले चार करोड २० लाख पेसो(सात लाख ३७ हजार डलर) बराबरको ब्रिटिस लक्जरी कार किन्दा निःशुल्क छाता पाएको भन्दै देखाएका थिए ।

सिनेट सुनुवाइमा दम्पतीले कम्तीमा १७ सांसद र उच्च अधिकारीलाई ठेक्का दिलाउन ठूलो किकब्याक तिर्न बाध्य पारिएको खुलासा गरेका थिए । छुट्टै अनुसन्धानमा दुईजना प्रमुख सिनेटरलाई पनि एक पूर्व इन्जिनियरले फसाएका छन् । नाम लिइएकाले सबैले आरोप अस्वीकार गरे पनि धेरैजना अनुसन्धानको दायरामा परेका छन् ।

दुवै सदनमा सांसदहरू फस्दा सिनेट अध्यक्ष फ्रान्सिस एस्कुडेरो र सभामुख मार्टिन रोमाल्डेजले राजीनामा दिएका छन् ।

भ्रष्टाचारमा संलग्न कम्तीमा तीन इन्जिनियर बर्खास्त भएका छन् भने १५ जनामाथि थप अनुसन्धान भइरहेको छ । सबैले आपराधिक मुद्दा सामना गर्नेछन् र उनीहरूको सम्पत्ति, घर, कार र बैंक खाता फ्रिज गरिने जनाइएको छ ।

जलेश्वर कारागारबाट भागेका पाँच सय ७६ कैदीमध्ये २३३ फर्किए

जलेश्वर । गत भदौ २४ गते जेन-जीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागार जलेश्वरबाट भागेका कैदीमध्ये २३३ फर्किएका छन् । कारागारबाट भागेका पाँच सय ७६ कैदीबन्दीमध्ये तीन सय ४३ जना अझै फर्किएका छैनन् ।

सङ्घीय राजधानी काठमाडौँसहित देशभरि जेनजीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मङ्गलबार राति करिब ७ बजे जलेश्वर कारागारमा कैदीबन्दी भई बस्दै आएका ४० भारतीयसहित सबै पाँच सय ७६ जना कैदी फरार भएका कारागारका जेलर अशोक क्षेत्रीले जानकारी दिए । उनका अनुसार आज बिहानसम्म दुई सय ३३ जना कैदीबन्दी फर्केर आएका छन् ।

कैदीबन्दी फरार भएको भोलिपल्टै भदौ २५ गत कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि आज बिहानसम्म दुई सय ३३ जना आइसकेका जनाउँदै अझै आउने क्रम पनि जारी रहेको क्षेत्रीले बताए  । 

जलेश्वर कारागारबाट भागेकामध्ये १२ जना कैदीबन्दीलाई भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काउन मद्दत गरेका उनको भनाइ छ ।

बाँकी कैदीबन्दी आफैँ कारागारमा फर्किएका हुन् । जेन-जीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मङ्गलबार राति करिब ५०० को सङ्ख्यामा आएका प्रदर्शनकारीले आफूलाई जेन-जी भन्दै कारागार कार्यालयका तीन तहका ढोका फुटाएर सबै कैदीबन्दीलाई भगाएका जेलर क्षेत्रीले जानकारी दिए ।

जेन-जीको प्रदर्शनको आडमा जलेश्वर कारागारबाट भागेका र अझै पनि नआएका तीन सय ४३ कैदीबन्दीलाई जिल्लाको तीनै तहका सुरक्षाकर्मी परिचालन गरी खोजीकार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।

ईरानद्वारा आणविक निगरानी संस्थासँग सहकार्य स्थगित, सुरक्षा परिषद्को निर्णयको आलोचना

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले ईरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने प्रस्ताव अस्वीकृत गरेपछि, ईरानले राष्ट्रसङ्घीय आणविक निगरानी संस्थासँगको सहकार्य प्रभावकारी रूपमा रोक्ने घोषणा गरेको छ ।

यो निर्णय ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को शनिबार बसेको बैठकबाट गरिएको हो, जसको अध्यक्षता राष्ट्रपति मसउद पेसेश्कियानले गरेका थिए ।
परिषद्ले फ्रान्स, बेलायत र जर्मनी (ई–३ राष्ट्रहरू)ले लिएको कदमलाई ‘अविवेकी’ भन्दै कडा आलोचना ग¥यो । परिषद्ले स्पष्ट रूपमा यस्ता कदमहरू ईरानको राष्ट्रिय हितविपरीत रहेको उल्लेख गरेको छ ।

यद्यपि ईरानले अहिलेसम्म आफ्नो आणविक कार्यक्रमबारे समाधान खोज्न र पारदर्शिता देखाउन प्रयत्न गर्दै आएको दाबी गरेको छ । साथै, युरोपेली राष्ट्रहरूको एकपक्षीय व्यवहारका कारण सहकार्य निलम्बन गर्नुपरेको ईरानले जनाएको छ ।
बैठकले परराष्ट्र मन्त्रालयलाई आवश्यक कूटनीतिक पहल जारी राख्दै राष्ट्रिय स्वाधीनता र हितको रक्षा गर्न निर्देशन दिएको छ ।

शुक्रबार, सुरक्षा परिषद्मा सन् २०१५ मा भएको आणविक सम्झौता (जेसीपीएओ)अन्तर्गत ईरानमाथिको प्रतिबन्ध सहज गर्ने प्रस्ताव अस्वीकार गरिएको थियो । अघिल्लो महिनामा ई–३ राष्ट्रहरूले सो सम्झौतामा रहेको ‘पुनः प्रतिबन्ध लगाउने व्यवस्था’ सक्रिय गरेका थिए, जसअनुसार ३० दिनभित्र प्रतिबन्ध पुनः लागू हुने प्रावधान छ ।

यी प्रतिबन्धहरू यही महिनाको अन्त्यसम्म लागु हुने अपेक्षा गरिएको छ ।
सन् २०१८ मा संयुक्त राज्य राष्ट्रले एकपक्षीय रूपमा सम्झौताबाट बहिर्गमन गरेपछि ईरानले पनि क्रमशः सम्झौताको पालना गर्न छोडेको हो ।

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनको मौका छोपेर नख्खु कारागारबाट भागेका एक कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका–१२ गागलका वर्ष ३५–३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए । सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए ।

मनीषा तीन दिनदेखि बेपत्ता थिइन् । घर नजिकै बारीमा पुरेको अवस्थामा मनीषाको शव फेला परेको पनौती–१२ का वडाध्यक्ष जयराम केसीले बताए । ‘मनिषा तीन दिनदेखि हराइरहेकी थिइन् । घर नजिकै पुरेको अवस्थामा शव फेला परेको छ । बाहिर चप्पल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए’, वडाध्यक्ष केसीले भने । सन्तबहादुर र उनकी श्रीमतीबीच जेलबाट फर्किएपछि झगडा भएको स्थानीयले प्रहरीलाई बताएका छन् । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन् । हत्यापछि तामाङ फरार छन् । प्रहरी घटनास्थल पुगेपछि थप जानकारी हुने प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा देशभरका २७ बढी कारागारबाट हजारौंको संख्यामा कैदीबन्दी भागेका छन् । भागेकामध्ये थोरैलाई मात्र पुनः नियन्त्रणमा लिन सकिएको छ । ठूलो संख्यामा कैदीबन्दी भागेका कारण समाजमा डर–त्रासको वातावरण छाएको छ ।

को थिए जेनजी आन्दोलनमा देखिएका नकाबधारी ? के भन्छ प्रहरी ? (भिडियो सहित)

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा देखिएका कालो नकाबधारी युवाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल मात्र भएको चासो उनी को थिए भनेर खोजी समेत भइरहेको छ । अहिले सामाजिक सञ्जालहरुमा जेनजी आन्दोलनमा घुसपैठ भएको चर्चा र आशंका गर्दै नकावधारी युवाको तस्वीर र भिडिओ क्लिप निकै भाइरल छ । कमब्याट पोशाक र अनुहारमा मास्क लगाएका एक युवक आन्दोलनकारीको बीचमा देखिएका छन् ।

वाकिटकी समेत बोकेका यी युवक को हुन् भन्ने अहिले सर्वत्र चासो देखिएको छ । युवकको छेवैमा ‘हामी नेपाल’ टीमको ज्याकेट लगाएका युवक पनि देखिएका छन् । त्यसैले कतिपयले ‘हामी नेपाल’ को प्रतिनिधि हुन सक्ने भनिरहेका छन् त कसैले उक्त संस्थाका संस्थापक सुदन गुरुङ नै पो हुन् कि भनेर पनि लख काटेका छन् ।

सुदन गुरुङले भने यी सबै हल्ला र अफवाह मात्रै भएको बताएका छन् । उनले ती युवक आफ्नो संस्था स्वयंमसेवक जेनिस महर्जन भएको बताए । ‘जेनिस महर्जन भाइ १३ वर्षदेखि हामी नेपालसँग जोडिएको थियो । ऊ जाजरकोट भूकम्पको बेलादेखि यो संस्थामा छ,’ सुधनले भने, ‘त्यो भाइले भूकम्पकै बेला आर्मीबाट कमब्याट गिफ्ट पाएको थियो । उसले कमब्याट धेरै मन पराएपछि आर्मीले ‘ल लैजाऊ’ भनेर गिफ्ट दिएको हो ।’

सुधनका अनुसार अहिले जेनिसले लगाएको त्यही कमब्याट हो । वाकिटकी चाहिँ भिडमा राम्रोसँग सञ्चार गर्नका लागि बोकेको सुधनले बताएका छन् । उनले भने, ‘त्यस्तो भिडमा जोसुकैलाई जे पनि हुन सक्थ्यो । हामीले छेवैमा मेडिकल टीम राखेका थियौं । घाइतेहरूलाई मेडिकल टीमसम्म पुर्‍याउनलाई वाकीटकी प्रयोग गरेका थियौं ।’

हामी नेपाल र आफूहरूलाई जताततैबाट सुरक्षा थ्रेट आइरहेकाले जेनिसले मास्क लगाएको सुदनले दाबी गरे । अरुले नचिनुन् भनेर उनले त्यस्तो मास्क लगाएको उनको भनाइ छ । हामी नेपालको तर्फबाट त्यसरी कमब्याट लगाउने र वाकीटकी बोक्ने व्यक्ति जेनिसमात्रै भएको सुधनले बताए ।

उनले भने, ‘पार्टीका झोलेहरूले हामीलाई बदनाम गराउनलाई अनेक गरिरहेका छन् !’ वाकीटकी बोकेको, कमब्याट लगाएको भिडिओ व्यापक भएपछि अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आईटी टीम र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको एक टोलीले अनुसन्धान गरिरहेका छन् । सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार पनि ती व्यक्ति आन्दोलनकारी पक्षकै हुन् भन्नेमा कुनै सन्देह छैन ।

उपत्यका प्रहरीबाट अनुसन्धानरत एक अधिकृतले ती व्यक्ति सुधन गुरुङसँग निकट रहेको र सञ्चार सेट बोकेको कुरासम्म गुरुङ पक्षले स्वीकार गरेको बताए । तर, सञ्चार सेट सञ्चालनका लागि उनीहरूले अनुमति नलिएको उनले उल्लेख गरे । कानूनतः सञ्चार सेट सञ्चालनका लागि नजिकैको प्रहरी कार्यालयबाट मुचुल्का उठाएर सञ्चार मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ । अनुमतिबेगर सञ्चार सेट बोक्न नपाइने उपत्यका प्रहरीका ती अधिकृतले बताएका छन् ।

सिरियाको उत्तरी क्षेत्रमा आक्रमण : ७ सर्वसाधारणको मृत्यु

सिरियाको उत्तरी क्षेत्रमा सरकारी सेनाको आक्रमणमा परी पाँच महिला र दुई बालबालिकासहित सात जना सर्वसाधारणको मृत्यु भएको छ ।
मानवअधिकार अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार, घटना अलेप्पो प्रान्तको देइर हाफेर क्षेत्रमा पर्ने उम्म तिना गाउँमा भएको हो । यो क्षेत्र सिरियन प्रजातान्त्रिक फौज (एसडिएफ) र सरकारी सेनाबीचको सिमा रेखामा पर्छ, जहाँ बेला–बेला झडप भइरहन्छ ।

संस्थाका प्रमुख रामी अब्देल रहमानले यो घटना केही महिनायता उत्तरी सिरियामा सबैभन्दा बढी मानवीय क्षति भएको बताएका छन् ।
अनुगमन संस्थाले शनिबार बिहानै उक्त क्षेत्रमा ड्रोन र भारी हतियार प्रयोगसहितको सशस्त्र झडप भएको जानकारी दिएको थियो ।

कुर्द नेतृत्वमा रहेको एसडिएफले वक्तव्य जारी गर्दै दमास्कस सरकारसँग आवद्ध टर्की समर्थित समूहहरूले सर्वसाधारणका घरहरूलाई लक्षित गर्दै तोपगोलाबारी र ड्रोन आक्रमण गरेको आरोप लगाएको छ । एसडिएफले पनि मृत्यु हुनेको सङ्ख्या सात जना नै रहेको जनाएको छ ।

सिरियाको उत्तर र उत्तरपूर्वी भूभागमा कुर्दहरूको अर्ध–स्वायत्त प्रशासनले नियन्त्रण जमाएको छ । यो क्षेत्रमा रहेका तेल तथा ग्यास क्षेत्रहरू पनि उनीहरूकै नियन्त्रणमा छन् । एसडिएफ सोही प्रशासनको अस्थायी सेना हो, जसले इस्लामिक लडाकुहरूविरुद्ध सन् २०१९ मा भएको संघर्षमा अमेरिकी नेतृत्वको गठबन्धनसँग सहकार्य गर्दै निर्णायक भूमिका खेलेको थियो ।

गएको वर्ष इस्लामिक शक्तिहरूले पूर्व–राष्ट्रपति बशर अल–असदलाई हटाएपछि, हालका अन्तरिम राष्ट्रपति अहमद अल–शराअ र एसडिएफबीच प्रशासनिक र सैन्य संयोजनको सहमति भएको थियो । तर, विकेन्द्रीकरण सम्बन्धी विवादका कारण उक्त सहमति कार्यान्वयनमा ढिलाइ भएको छ ।

राष्ट्रपति शराअले यसै महिनाको सुरुवातमा भने,“एसडिएफसँगको वार्ता राम्रोसँग अघि बढिरहेको थियो, तर हाल केही अवरोध देखिएको छ । हामी उत्तरपूर्वी सिरियामा युद्ध नहोस् भन्ने चाहन्छौँ र त्यसका लागि सबै प्रयास गरिरहेका छौँ ।”

मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम मन्त्रीका लागि राष्ट्रपति कार्यालयमा

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री नियुक्त गर्न थप तीन जनाको नाम राष्ट्रपति कार्यालय पठाइएको छ । मन्त्री नियुक्तिका लागि मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम राष्ट्रपति कार्यालय पुगेको स्रोतले जनाएको छ ।

मानवअधिकारकर्मी रहेकी अन्सारीले लिने मन्त्रालयको नाम खुलेको छैन । पत्रकार खरेलले सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने छन् । उनीहरूको नियुक्ति र शपथ आजै गर्ने शीतल निवासको तयारी छ । यसअघि प्रधानमन्त्री कार्कीले डा. सन्दुक रुइत, संविधानविद भीमार्जुन आचार्य र डा. भगवान कोइरालालाई मन्त्रीको प्रस्ताव गरे पनि उनीहरुले अस्वीकार गरिसकेका छन् । यस्तै पर्यटन मन्त्रीका लागि विजय लामाको नाम पनि चर्चामा छ ।

शरीरभित्र निगरानी र औषधि नियमन गर्न रोबोर्टको विकास

चिनियाँ वैज्ञानिकहरूको एक टोलीले शरीरभित्र संवेदनशील कार्यहरू गर्न सक्ने अत्यन्तै सानो र अत्याधुनिक यन्त्र (रोबोर्ट) विकास गर्न सफल भएका छन् । यसले औषधिको सही मात्रा पु¥याउने र शरीरभित्रका विभिन्न शारीरिक अवस्थाहरूलाई निगरानी गर्न सक्ने क्षमता राख्दछ ।

यो यन्त्र चीनको ह्वाजोङ विज्ञान तथा प्रविधि विश्वविद्यालय र हङकङस्थित चिनियाँ विश्वविद्यालयका विज्ञहरूको सहकार्यमा तयार पारिएको हो ।
यस यन्त्रको चौडाइ करिब १.३ मिलिमिटर र तौल लगभग ४.६ मिलिग्राम रहेको छ ।

यो यन्त्रले बल, कम्पन, चिप्लोपन र तापक्रम जस्ता महत्वपूर्ण सूचकहरूलाई ताररहित रूपमा मापन गर्न सक्षम रहेको देखिएको छ ।
परीक्षणका क्रममा यसले सानो र संवेदनशील वस्तुहरूलाई पनि सजिलै सम्हाल्न सक्ने क्षमता प्रदर्शन गरेको छ ।

यसले सुँगुरमा गरिएको परीक्षणमा तापक्रमका सूक्ष्म परिवर्तनहरू पहिचान गर्न सफल भएको छ भने, अर्को संस्करणले खसीको पेटभित्र औषधिको सटीक मात्रा पु¥याउन र त्यसको मात्रा समयक्रममा मापन गर्न सक्ने प्रमाणित गरेको छ ।

अनुसन्धानकर्ताहरूले बताएअनुसार, यी सफल परीक्षणहरूले यस सानो यन्त्रको व्यावहारिक प्रयोग सम्भव बनाएको छ र आगामी दिनमा स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्रमा यसले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का सम्झौता भएका तर लामो समयदेखि काम नभई जीर्ण अवस्थामा रहेका आयोजना राख्न नहुने धारणा राखेका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आज भएको भेटवार्तामा उनले काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रष्ट पारे। उनले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्राही भएर ठेक्का नतोड्ने भन्दै अलपत्र परेका र लापरवाही वा विविध कारणले जीर्ण बनेका विकास आयोजनाका ठेक्का भने तोड्ने बताए।

“अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृत्ति बढ्दो छ, कम रकम कबोल गरेर ठेक्का लिएमा मेरो घरबार जान्छ, बैंक जमानत जफत हुन्छ, जरिवाना (पेनाल्टी) हुन्छ भन्ने डर नभएसम्म काम हुँदैन । ठेक्का सम्झौता गर्ने तर लामो समेयदेखि काम नभई जीर्ण भएका आयोजना राख्न हुँदैन”, मन्त्री घिसिङले भने, “बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै व्यवस्था हुँदा पनि किन काम हुँदैन रु म आफैँ पनि इञ्जिनियर भएकाले सम्पूर्ण ठेक्का प्रक्रियाको पूर्ण जानकार छु, आयोजनातर्फबाट पनि गर्नुपर्ने काम नगरेको पनि त्यो पनि हेर्छौं, अन्यायपूर्वक कसैलाई कारबाही गर्दैनौँ । पेनाल्टी हुँदैन जे गर्दा पनि हुन्छ भन्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ ।” उहाँले बजेट नै भएका आयोजना पनि निर्माण व्यवसायीले काम नगर्ने अवस्था देखिएको बताए।

विदेशमा गुणस्तरीय र प्रभावकारी काम गरिरहेका निर्माण व्यवसायी नेपालमा काम गर्दा भने असफल नदेखिएका उल्लेख गर्दै मन्त्री घिसिङले आफूले लिएका आयोजना तोकिएको समय र गुणस्तरमा निर्माण सम्पन्न गरी नेपालका निर्माण व्यवसायी पनि सक्षम छन् भन्ने सन्देश दिन सबैलाई आग्रह गरे ।

“निर्माण क्षेत्रमा अनियमिता र भ्रष्टाचार रहेको आमबुझाइ छ, जेनजी प्रदर्शनपछि गठन भएको अहिलेको सरकारको मुख्य उद्देश्य भ्रष्टाचार नियन्त्रण रहेकाले निर्माण व्यवसायी पनि भ्रष्टाचार निर्मूल गर्नेतर्फ लाग्नुहोस्”, उनले भने । महासङ्घकातर्फबाट मन्त्री घिसिङसमक्ष निर्माण क्षेत्रका विद्यमान समस्यासम्बन्धी ज्ञापनपत्र पेस गरिएको थियो ।

प्रचण्डको प्रस्ताव : सबै कमिटी भङ्ग गरेर मंसिरमा विशेष महाधिवेशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । आज (आइतबार) जारी पार्टी पदाधिकारी बैठकमा एक घण्टा सम्बोधन गरेका उनले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

‘विशेष परिस्थिति हो, विशेष महाधिवेशन गरौं र नयाँ नेतृत्व चयन गरौँ,’ उनले बैठकमा भने । पदाधिकारी बैठकले प्रचण्डको प्रस्तावअनुसार निर्णय गरेर केन्द्रीय समितिमा पठाउने छ । केन्द्रीय समितिले तलदेखि माथिसम्मका सबै तहका पदाधिकारी तथा समिति भङ्ग भएपछि महाधिवेशन आयोजक समिति बन्नेछ । महाधिवेशन आयोजक समितिले नै मंसिरको महाधिवेशन गर्ने अख्तियारी पाउने छ । उक्त प्रस्ताव पदाधिकारी बैठकबाट पारित भएर केन्द्रीय कमिटीमा जानेछ।

केन्द्रीय कमिटी बैठकले यससम्बन्धी औपचारिक निर्णय गर्ने एक पदाधिकारीले बताए । ‘अध्यक्ष प्रचण्डले सबै कमिटी भङ्ग गरेर आयोजक समितिमा रुपान्तरण गर्ने र मंसिरमा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्ने प्रस्ताव राख्नु भएको छ,’ ती पदाधिकारीले भने । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठक पनि एक हप्ताभित्रै बोलाउने बताएका छन् ।

आगजनीबाट ध्वस्त भएको नेपाली कांग्रेसको कार्यालयमा धमाधम सरसफाई (तस्बिरहरु)

काठमाडौँ । गत भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका समयमा गरिएको निजी एवं सार्वजनिक सम्पतिको तोडफोड, लुटपाट र आगजनीबाट हाम्रो विचार र आस्थाको धरोहर पार्टी केन्द्रीय कार्यालय “बी.पी. समृति भवनू पनि जलाएर ध्वस्त बनाए ।

यस प्रदर्शनका क्रममा मुलुकका करिव एक सय व्यक्तिको ज्यान गएको, सयौं घाइते भएका र सरकारी तथा निजी गरेर खौँको सम्पति क्षति भएको र सिंगो राष्ट्र शोकमा डुवेको अवस्था भएकोले हामीले पनि पार्टीका साथीहरुले आफ्‌नो पसिनाले बनाएको भवन जलेर खरानी भएको भग्नावेस एक पटक हेर्न पाउँन भन्ने मनसायले केही दिन शोक मनाउँदै पार्टी केन्द्रीय कार्यालय असोज ४ गते सम्म जस्ताको तस्तै राख्ने विचार गन्यौ ।

असोज ५ गते सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गर्दै सोही दिनको १:०० बजे देखि सरसफाई गर्ने पुनः शोकलाई शक्तिमा बदलेर उस्तै जोस जाँगर र उत्साहका साथ देश र जनताका लागि क्रियाशील हुने प्रण गरिएको छ ।

तसर्थ, त्यो दिन गरिने सामुहिक सरसफाई कार्यमा सहभागि हुनका लागि पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका पदाधिकारी सदस्यहरु, कार्यालयका कर्मचारी साथीहरु एवं नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण आमाबुवा, बाजुभाई तथा बिबीबहिनीहरुलाई सरसफाइका लागि आवश्यक गर्ने सामग्रीहरु (झाडु, कुचो, खालीबोरा, फोल्हो उठाउने, वाल्टी, मास्क, पञ्जा) सहित सहभागि भई दिन हन सादर आमन्त्रण गरिन्छ ।

 

भारत–पाकिस्तान द्वन्द्व अन्त्य गरेको दाबी गर्दै ट्रम्प, ‘सात युद्ध रोकिदिँदा नोबेल पुरस्कारको हकदार’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको सुरुमा भारत–पाकिस्तानबीच व्यापारमार्फत शान्ति कायम गरेको दाबी दोहोर्‍याउँदै आफूले ‘सात युद्ध अन्त्य’ गराएको र त्यसका लागि नोबेल पुरस्कार पाउनुपर्ने बताएका छन् ।

“हामीले शान्ति सम्झौता गरिरहेका छौँ, युद्धहरू रोकिरहेका छौँ । भारत र पाकिस्तान, थाइल्यान्ड र कम्बोडियाबीचका युद्धहरू पनि रोकेका छौँ”, शनिबार अमेरिकन कर्नरस्टोन इन्स्टिच्युटको संस्थापकहरूको रात्रिभोजमा बोल्दै ट्रम्पले भने, “भारत र पाकिस्तानलाई व्यापारमार्फत रोकेँ । उनीहरू व्यापार गर्न चाहन्थे । दुवै नेतालाई म सम्मान गर्छु । तर हामीले रोकिएका युद्धहरूको सूची हेर्नुस् ।”

ट्रम्पले आर्मेनिया–अजरबैजान, कोसोभो–सर्बिया, इजरायल–इरान, इजिप्ट–इथियोपिया, रुवान्डा–कङ्गोबीचका द्वन्द्व पनि आफूले रोकाएको दाबी गरे । उनले भने, “यी सबै युद्ध, ६० प्रतिशत व्यापारकै कारण रोकिएका हुन् ।”

भारतबारे उनले भने, “मैले भनेँ, ‘यदि तपाईं आणविक हतियारसहित युद्ध गर्न चाहनुहुन्छ भने, कुनै व्यापार हुँदैन ।’ उनीहरू रोकिए ।”

रुस–युक्रेन युद्धबारे पनि उनले आफूलाई नोबेल पुरस्कार दिलाउने दाबी गरे । “मैले सात युद्ध रोकेको छु । अब बाँकी एक ठूलो युद्ध छ । यदि मैले यो पनि रोकेँ भने नोबेल पाउनैपर्छ”, उनले भने ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको व्यक्तिगत सम्बन्धका कारण रुस–युक्रेन द्वन्द्व समाधान सजिलो हुने सोचे पनि अपेक्षा विपरीत भएको बताए । उनले भने, “पुटिनसँग मेरो राम्रो सम्बन्ध छ । सुरुमा सजिलो लाग्यो तर निराश भएँ । तर हामी कुनै न कुनै तरिकाले यसलाई पूरा गर्छौं ।”

ऊर्जा नीतिलाई युद्धसँग जोड्दै उनले भने, “तेल उत्खननले मूल्य घटाउँछ र यसले युद्ध रोक्छ । म पुटिनबाट निकै निराश छु । हरेक हप्ता पाँच हजारदेखि सात हजार मानिस मर्दैछन् ।”

बेलायत भ्रमणका क्रममा पत्रकार सम्मेलनमा पनि उनले पुटिनप्रति असन्तुष्टि दोहोर्‍याए । “पुटिनले धेरै मानिस मारिरहेको छ । रुसी सैनिकहरू युक्रेनीभन्दा बढी सङ्ख्यामा मारिएका छन्”, उनले भने ।

रूस–युक्रेन युद्ध समाधान गर्न ‘सबैभन्दा सजिलो’ हुने ठाने पनि त्यो गलत साबित भएको उनले स्वीकार गरे । तर उनले जोड दिए, “यदि म राष्ट्रपति भएको भए यो युद्ध सुरु नै हुने थिएन । मेरो चार वर्षमा यो कहिल्यै भएन ।”

ट्रम्पले अलास्कामा भएको शिखर सम्मेलनमा पुटिनलाई युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग वार्ता गर्न आग्रह गरेको स्मरण गरे । तर शान्ति सम्झौता सफल हुन सकेन ।

रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनलाई ‘असैन्यीकरण र विमुद्रीकरण’ गर्ने भन्दै ठूलो आक्रमण थालेपछि द्वन्द्व अझ चर्किएको हो । सन् २०१४ मा क्रिमियाको विलयपछि सुरु भएको यो युद्ध अहिले पनि डोनेट्स्क, लुहान्स्क र कुर्स्क क्षेत्रमा लडाइँसहित जारी छ ।

राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानबमोजिम अध्यक्ष रेग्मीले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस विधेयकमा आमाका नामबाट नागरिकता लिन सकिने, नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे पाइने व्यवस्था रहेको छ ।

प्रतिनिधिसभाले गत असार १४ गते राष्ट्रिय सभाले भदौ ६ गते उक्त विधेयक पारित गरेको थियो । राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाएर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।

कुलमानसँग मिलेर काम गर्न हितेन्द्र तयार

काठमाडौं । अर्बौं बाँकी विद्युत वक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी भएको छ । कुलमान घिसिङले ऊर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत बक्यौता उठाउनेसम्बन्धी पहिलो निर्णय गरेका थिए । सोही निर्णयलाई कार्यान्वयनमा लैजान चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिएका छन् ।

उनका अनुसार सोमबार-मंगलबार नै बैठक बसेर बिजुली बक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । सोहीअनुसार कार्यान्वयनमा लगिनेछ । शाक्यले सरकारको निर्णय मानेरै वक्यौता उठाउन लाग्ने बताए । प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘बक्यौतासम्बन्धी जुन मन्त्री ज्यूको निर्णय छ । यसलाई हामीले कार्यान्वयन गर्छौं । विद्युत् प्राधिकरणको मन्त्री ज्यू नै अध्यक्ष हुने व्यवस्था छ । बोर्डले निर्णय गर्नासाथ बक्यौता उठाउन लाग्छौँ । बक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छौैं । बोर्डमा मन्त्री ज्यू नै अध्यक्ष भएकाले निर्णय भएर कार्यान्वयन अघि बढ्नेछ । भोलि अथवा पर्सि बोर्ड बैठक बस्छ ।’

बोर्ड बैठकबाट निर्णय भएपछि बक्यौता उठाउन कुनै समस्या नभएको समेत बताएका छन् । कुलनमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएको बेला पटक–पटक विद्युत वक्यौता उठाउन भनेर बक्यौता तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आएका थिए । तर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली भएका बेला पनि बिजुलीको लाइन काट्दा जोड्न निर्देशन दिएका थिए ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन धेरै पटक उद्योगी तथा व्यवसायीलाई दबाब दिँदै आएको छ । प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिएको विद्युतको जरिवानासहित करिव २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताइरहेको छ । उद्योगीलाई लोडसेडिङको समयमा २४ घण्टा नै विद्युत प्रयोग दिइएको थियो । तर उद्योगीले प्रयोग नगरेको बिजुलीको समेत बिल आएको भनेर उद्योगीले नतिर्ने बताउँदै आएका छन् ।

लोकतन्त्रका लागि १६० माइल पदयात्रा वासिङ्टनमा सम्पन्न

करिब दुई सय जनाले १४ दिनको अवधिमा फिलाडेल्फियाबाट सुरु गरेको लोकतन्त्रको समर्थनमा गरिएको एक सय ६० माइल लामो पदयात्रा शुक्रबार वासिङ्टन डिसीमा सम्पन्न भएको छ ।

बालबालिकादेखि वृद्धसम्म सहभागी ‘वि आर अमेरिका’ का सदस्यहरू राजधानीमा आइपुग्दा समर्थक र काङ्ग्रेस सदस्यहरूले आलिङ्गन र जयजयकारसहित स्वागत गरे । उनीहरू थकित भए पनि उत्साहित देखिन्थे ।

पदयात्राको उद्देश्य सरकारी निकायहरूमा हुने सामूहिक गोलीबारी, डिस्ट्रिक्ट अफ कोलम्बियाको कानून प्रवर्तनमाथि सङ्घीय नियन्त्रण र ट्रम्प प्रशासनसहित नेताहरूका विवादास्पद गतिविधिबारे जवाफदेही बनाउन सशक्त आन्दोलन निर्माण गर्नु थियो ।

फिलाडेल्फियाबाट सुरु भएको यात्रा नेवार्क, विल्मिङ्टन र बाल्टिमोर हुँदै वासिङ्टन पुगेको हो । बाटोमा सहभागीहरूलाई चर्च र स्थानीय घरहरूमा बस्ने व्यवस्था मिलाइएको थियो । एक रात भने सहभागीहरू बाहिरै शिविर लगाएर बास बसेका थिए ।

संस्थापक म्यागी बोहाराले यात्राका क्रममा भेटिएका समुदायहरूले दिएको सहयोगबारे भने, “हामी जुन कुरामा विश्वास गर्छौं, त्यसमा अरू पनि हामीसँग छन्, हामी एक्ला छैनौँ भन्ने यसले देखाउँछ ।”

असी वर्षीया डायने शॉ–कमिन्स आफ्ना छोरा टेड रेग्नडसँगै पदयात्रामा सहभागी भए। उनले भने, “म मेरा नातिनातिनाहरू, मेरा बच्चाहरू र अमेरिकामा बस्ने सबैका लागि अझ राम्रो चाहन्छु ।”

पदयात्रामा सहभागीहरूलाई सम्बोधन गर्दै टेक्सासका प्रतिनिधि अल ग्रीनले यस पदयात्रालाई सन् १९६५ को ‘ब्लडी सन्डे’ मार्चसँग तुलना गरे। उनले भने, “तपाईँहरूले एक सय ६० माइल पदयात्रा गर्नुभयो र आज वासिङ्टन, डिसीमा एडमन्ड पेटस ब्रिजको क्षण पुनः जिवन्त बनाउनुभयो ।”

पदयात्रामा सहभागीहरूले बालबालिकाले तयार पारेको अमेरिकी संविधानको प्रतिलिपि बोकेका थिए, जुन उनीहरूले वासिङ्टनमा आइपुगेर सिनेटर क्रिस भ्यान होलेनलाई उपहार दिए ।

संस्थापक एमजे ट्युनका अनुसार संविधान बोकेर निर्वाचित प्रतिनिधिहरूलाई विदेशी वा घरेलु दुश्मनबाट देशलाई रक्षा गर्ने शपथ सम्झाउनु नै उद्देश्य थियो । उनले भने, “हामीले यो पदयात्रामार्फत समुदायको भावना जगाउने कोसिस गरेका हौँ । अहिंसात्मक दीर्घकालीन आन्दोलन टिकाउन समुदाय अत्यावश्यक छ, यही हाम्रो अन्तिम लक्ष्य हो ।”

भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध आन्दोलन , लिमा शहरमा झडप

पेरु(लिमा) । पेरुको राजधानी लिमा शहरमा शनिबार सरकारविरोधी प्रदर्शनमा सहभागी सयौं प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ ।
प्रदर्शनकारीहरूले ढुङ्गा र लठ्ठी प्रहार गर्दा प्रहरीले अश्रुग्यास प्रयोग गरेर भीड नियन्त्रणमा लिएको थियो ।

‘जेनेरेसन जेड’ नामक युवाहरुको समुहले आयोजना गरेको यो प्रदर्शन हाल देशमा फैलिँदो सङ्गठित अपराध, सार्वजनिक पदमा देखिएको भ्रष्टाचार र हालै पारित गरिएको पेन्सन सुधारसम्बन्धी कानुनको विरोधमा गरिएको हो ।

प्रदर्शनमा सहभागी ५४ वर्षीया ग्लाडिसले भने, “आजभन्दा पहिले देशमा बढी लोकतन्त्र थियो । अब स्थिति झन् बिग्रँदै गएको छ ।”
प्रदर्शनका क्रममा झण्डै पाँच सयजना मानिस लिमा शहरको केन्द्रमा भेला भएका थिए । प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि कार्यपालिका र संसद भवनतर्फ अगाडि बढ्ने प्रयास गर्दा स्थिति तनावपूर्ण बन्यो । त्यसपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको हो ।

प्रदर्शनमा सहभागी एक युवा सेलेन अमासिफुएनले भने,“संसदसँग जनताको कुनै विश्वास बाँकी छैन । अहिलेको संसदले देशमा अव्यवस्था मात्र फैलाएको छ ।”
स्थानीय रेडियो एक्सितोसाका अनुसार, झडपका क्रममा संस्थाका पत्रकार र क्यामेराम्यान पनि सुरक्षाकर्मीको छर्राबाट घाइते भएका छन् । प्रहरी प्रशासनका अनुसार, कम्तीमा तीन जना प्रहरी जवान पनि घाइते भएका छन् ।

हाल राष्ट्रपति पदमा रहेकी डिना बोलुआर्टेको लोकप्रियता घट्दो क्रममा छ । देशमा जबर्जस्ती असुली र अपराधका घटना बढ्दो रहँदा जनतामा सरकारप्रति असन्तुष्टि बढेको देखिएको छ । सर्वेक्षणहरूमा जनताको सरकार र संसदप्रति विश्वास कमजोर हुँदै गएको देखिएको छ ।

यसै साता संसदले पारित गरेको नयाँ कानुन अनुसार युवा वर्गलाई निजी पेन्सन कोषमा अनिवार्य रूपमा आबद्ध गराइने व्यवस्था गरिएको छ । तर, अस्थिर रोजगारीको वातावरणमा यस्तो व्यवस्था अन्यायपूर्ण भएको भन्दै आलोचना भइरहेको छ ।

‘हरित अर्थतन्त्र’ यात्रा सुरु, तेलमा निर्भरता घटाउने लक्ष्य

इराक ।  इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले शनिबार देशको दीर्घकालीन आर्थिक समृद्धिका लागि तयार पारिएको ‘इराक विकास तथा भविष्यको दृष्टिकोण २०५०’ सार्वजनिक गरेका छन् ।

उक्त अवसरमा प्रधानमन्त्री सुदानीले वर्तमान विश्व परिवेशमा इन्धनमा मात्र निर्भर रहँदा दीगो प्रगति सम्भव नभएको उल्लेख गर्दै, इराकले अब आर्थिक विविधीकरणतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, उक्त कार्यक्रममा सरकारी उच्च पदस्थ व्यक्तित्व, कूटनीतिक प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि, विश्वविद्यालय, नागरिक समाजका सदस्य र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विकास दृष्टिकोणले इराकको अर्थतन्त्रलाई विविधीकरण गर्दै तेलमा निर्भरता क्रमशः घटाउने र संरचनागत सुधारमार्फत निजी क्षेत्रको सहभागिता वृद्धि गर्ने लक्ष्य लिएको छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, ‘अल–फाउ बन्दरगाह’ र ‘विकास मार्ग आयोजना’ जस्ता रणनीतिक योजनाहरूबाट इराकलाई एसिया र युरोपबीचको २० प्रतिशत व्यापारिक आवागमनको केन्द्र बनाउने लक्ष्य छ । यसमार्फत करिब १५ लाख रोजगारीको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

योजनाले खाद्यान्न, पानी र ऊर्जामा ७० प्रतिशत आत्मनिर्भरता हासिल गर्न हरित र दीगो उपायहरूलाई प्राथमिकता दिनेछ । साथै, यस योजनाका लागि विस्तृत कार्यान्वयन खाका चाँडै मन्त्रिपरिषद्मा प्रस्तुत गरिने जनाइएको छ ।

प्रधानमन्त्री सुदानीले भने, “विश्वभर तीव्र रूपमा परिवर्तन भइरहेका प्रविधि र कृत्रिम बौद्धिकता ९एआई० का कारण नयाँ यथार्थहरू सिर्जना भइरहेका छन् । यस्तो परिस्थितिमा इराकले अब तेलमुक्त, स्थिर र समावेशी अर्थतन्त्र निर्माण गर्ने दिशामा स्पष्ट कदम चाल्नेछ ।”

उनले थप भने, “इराक दृष्टिकोण सन् २०५० एक साझा राष्ट्रिय योजना हो, जसमा राज्यका सबै निकाय, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज र विशेषगरी युवाको सक्रिय सहभागिता रहनेछ ।”

जेन–जी आन्दोलन पुराना खेलाडीहरूले नै हाइज्याक गर्ने खतरा बढ्यो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशित पूर्व महामन्त्री मुकुल ढकालले जेन–जी आन्दोलनलाई घुसपैठिया र सरकारले हाइज्याक गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै नेपालमा भएका हरेक आन्दोलन हाइज्याक हुने गरेको टिप्पणी गरेका छन् । जेन–जी आन्दोलन हाइज्याक भयो भनेर बजारमा हल्ला छ तर सोच्नुपर्ने कुरा के हो भने नेपालमा कुन आन्दोलन हाइज्याक भएन भन्दै उनले प्रश्न गरेका छन् ।

ढकालका अनुसार सुरुमा घुसपैठियाले आन्दोलनलाई आफ्नो नियन्त्रणमा लिए, त्यसपछि अहिलेको सरकारले त्यसलाई हाइज्याक गर्‍यो । उनले यदि सरकारले हाइज्याक नगरेको भए आन्दोलन आफूहरूले गरेको भन्न सक्नुपर्ने तर्क गरे ।उनले यही शिलशिला जारी रहेमा जेन–जी आन्दोलन पनि पुराना खेलाडीहरूले नै हाइज्याक गर्ने खतरा रहेको औंल्याएका छन् ।

देशका लागि जनताले पटक–पटक आन्दोलन गरे, तर अन्तिममा सबै आन्दोलन हाइज्याक हुने र ब्याकफायर जनतालाई हुने गरेको भनाइ राखे । ढकालले नेपालमा सधैं हाइज्याकरले जित्ने र जनताले हार्ने गरेको दुःखेसो गर्दै यो अवस्थालाई व्यङ्ग्यात्मक शैलीमा काम गर्ने कालु, मकै खाने….को पनि उल्लेख गरेका छन् ।

सुशासन कायम गर्न कुनै सम्झौता हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका छन् । आज (आइतबार) सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वसँगको छलफलका क्रममा मन्त्री घिसिङले मुलुकमा परिवर्तनका लागि ठूलो आन्दोलन भएकाले अब सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका हुन ।

उनले देशमा देखिएको निराशालाई निर्मूल पार्न सवै लाग्नुपर्ने उल्लेख गरेका थिए । सबै मन्त्रालय र सचिवहरुलाई कुनै पनि कुरामा तलमाथि नगर्न र सरकारको निर्देशन पूर्ण रुपमा कार्यान्वयन गर्न भनिएको उनले बताए । मन्त्री घिसिङले जिम्मा लिएर समयमा आयोजना पुरा नगर्नेसँग सम्झौता तोड्ने स्पष्ट पारेका छन् । मन्त्री घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने बताएका छन् । मन्त्री घिसिङ काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रष्ट पारे ।

‘अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ, कम रकम कबोल गरेर ठेक्का लिएमा मेरो घरवार जान्छ, बैंक जमानत जफत हुन्छ, जरिवाना (पेनाल्टी) हुन्छ भन्ने डर नभएसम्म काम हुँदैन, ठेक्का सम्झौता गर्ने तर लामो समेयदेखि काम नभई जीर्ण भएका आयोजना अब राख्न हुँदैन’, मन्त्री घिसिङले भने, ‘बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै चिज छ तर किन काम हुँदैन ? म आफैं पनि इन्जिनियर भएकाले सम्पूर्ण ठेक्का प्रक्रियाको पूर्ण जानकार छु, आयोजनातर्फबाट पनि गर्नु पर्ने काम नगरेको पनि त्यो पनि हेर्छौ, अन्यायपूर्वक कसैलाई कारबाही गर्दैनौं,पेनाल्टी हुँदैन जे गर्दा पनि हुन्छ भन्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ ।’

छलफलपछि महासंघका अध्यक्ष रवि सिंहले जेनजी पुस्ताको आन्दोलनपछिको निर्माण क्षेत्रको परिस्थितिका बारेमा कुराकानी भएको बताए । उनले रुग्ण योजना खारेज गर्दा त्यसबाट पर्ने असर पहिचान गर्न सुझाव दिइएको जानकारी दिए । त्यस्तै भ्रष्टाचार व्याप्त हुने क्षेत्र उपभोक्ता समिति भएकाले त्यसलाई खारेज गर्न समेत सुझाव दिएको उनको भनाइ छ । उनले निर्माण उद्योग लगायत मुलुकको अर्थतन्त्रलाई चलाउनमान बनाउनका लागि देखिएका व्यवधान वर्तमान सरकारले अन्त्य गर्ने विश्वास व्यक्त गरेका थिए ।

 

 

बहसअघि बेलायत र पोर्चुगलद्वारा प्यालेस्टाइनलाई मान्यता

संयुक्त राष्ट्रसङ्घको महासभामा इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे हुने प्रमुख बहसको एक हप्ताअघि बेलायत र पोर्चुगलले आइतबार प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गर्ने भएका छन् ।

सन् २०२३ मा हमासद्वारा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले गाजामाथि तीव्र आक्रमण चलाएको थियो । यसका कारण लामो समयदेखि इजरायलका सहयोगी रहँदै आएका धेरै राष्ट्रहरू हालै आफ्ना नीतिमा परिवर्तन गर्न बाध्य भएका छन् । घेराबन्दीमा परेको गाजाले ठूलो विनाश, मृत्यु र खानाको अभावका कारण गम्भीर मानवीय सङ्कट भोगिरहेको छ ।

यसैबीच, विश्व नेताहरू यो हप्ता न्युयोर्कमा संयुक्त राष्ट्र महासभाको बहसमा सहभागी हुनेछन् । बहसमा दुई–राज्य समाधान मुख्य एजेन्डा हुनेछ । करिब १० राष्ट्रले निकट भविष्यमा प्यालेस्टाइनलाई मान्यता दिने अपेक्षा गरिएको छ । बेलायती मिडियाले प्रधानमन्त्री किर स्टार्मरले आइतबार नीति परिवर्तनको घोषणा गर्ने जनाएको छ । यद्यपि यसबारे इजरायलले कडा आपत्ति जनाएको छ ।

स्टार्मरले जुलाईमै यदि संयुक्त राष्ट्र महासभा सुरु हुनुअघि इजरायलले हमाससँग युद्धविरामतर्फ ठोस कदम नचाले बेलायतले प्यालेस्टाइनलाई मान्यता दिनेछ भन्दै चेतावनी दिएको थिए । उनले यो कदमले ‘दुई–राज्य समाधानका लागि अधिकतम प्रभाव पार्ने उचित क्षणमा शान्ति प्रक्रियामा योगदान पु¥याउने’ बताएको थिए। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उनलाई ‘राक्षसी आतङ्कवादलाई पुरस्कृत गर्ने’ आरोप लगाएको थिए।

पोर्चुगलको विदेश मन्त्रालयले पनि आइतबारै मान्यता दिने घोषणा गर्ने जनाएको छ । लिस्बनले यसअघि नै गाजाको मानवीय सङ्कट र इजरायलको कब्जा गर्ने धम्कीलाई कारण देखाउँदै आफ्नो अभिप्राय सार्वजनिक गरेको थियो ।

यसबीच, इजरायलले गाजामा बमबारी जारी राखेको छ । संयुक्त राष्ट्रसङ्घ समर्थित भोक निगरानीकर्ताले क्षेत्रका केही भागमा अनिकाल घोषणा गरेका छन् । इजरायली सेनाले गाजा सहर कब्जा गर्न ‘अभूतपूर्व बल’ प्रयोग गर्ने चेतावनी दिएको छ ।

फ्रान्स र क्यानाडा पनि आगामी संयुक्त राष्ट्र बैठकमा प्यालेस्टाइनलाई मान्यता दिने तयारीमा रहेका छन् । तर इजरायलले यस कदमको कडा विरोध गर्दै पश्चिम किनारलाई विलय गर्ने धम्की दिएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने, “विश्वले इजरायलको प्रतिशोधको जोखिमबाट डराउनुपर्ने छैन ।”

आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय १९ जना मारिएका थिए ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी आक्रमणमा हालसम्म कम्तीमा ६५ हजार दुई सय आठ जनाको मृत्यु भएको छ, जसमा अधिकांश सर्वसाधारण रहेका छन् ।

अन्ततः युएईले दियो क्रिकेट खेलाडीलाई भिसा

काठमाडौं । नेपाली क्रिकेट टोलीले अन्ततः युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ । नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो । खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन दिएका थिए ।

नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको थियो । वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरेर टिकट बिक्री गर्न थालिसकेको छ । अस्तिबाट अनलाइनमार्फत टिकट बुकिङ खुला गरिएको हो । नेपालले २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी २० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ । प्रतियोगिताको सबै खर्च र व्यवस्थापन नेपाल क्रिकेट संघको हुनेछ ।

टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने

चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार संयुक्त राज्य अमेरिकामा एप सञ्चालन गर्ने सात सदस्यीय बोर्डमा छ जना अमेरिकी हुनेछन् । उनले ‘आगामी दिनमा’ सम्झौतामा हस्ताक्षर हुनसक्ने बताएकी छिन् ।

संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाका कारण टिकटकको अमेरिकी सञ्चालन बाइटडान्सबाट अलग गर्न दबाब दिँदै आएको थियो । पूर्वराष्ट्रपति जो बाइडेनको नेतृत्वमा कङ्ग्रेसले बाइटडान्सलाई आफ्नो अमेरिकी कारोबार बेच्न वा प्रतिबन्ध भोग्नुपर्ने कानून पास गरेको थियो ।

अमेरिकी नीतिनिर्माताहरूले चीनले टिकटकमार्फत अमेरिकी प्रयोगकर्ताको डाटा सङ्कलन गर्न सक्ने वा तिनको सामाजिक सञ्जालमा देख्ने सामग्रीलाई प्रभाव पार्न सक्ने चेतावनी दिएका थिए । तर ट्रम्पले आफ्नो सन् २०२४ को चुनावी अभियानमा युवाबीच लोकप्रिय टिकटकलाई सक्रिय रूपमा प्रयोग भएको थियो ।

ट्रम्पले प्रतिबन्ध कार्यान्वयनमा ढिलाइ गर्दै सम्झौता खोजिरहेका बेला ओरेकललगायतका लगानीकर्ताले टिकटक खरिद गर्न रुचि देखाएका छन् । ओरेकल ट्रम्पका प्रमुख समर्थक तथा विश्वकै धनी मध्ये एक ल्यारी एलिसनको स्वामित्वमा रहेको टेक कम्पनी हो ।

लेभिटका अनुसार टिकटकको डाटा र गोपनीयता व्यवस्थापन ओरेकलले गर्नेछ, एल्गोरिदम पनि अमेरिकाको नियन्त्रणमै रहनेछ । उनले भने, “यी सबै विवरणमा सहमति भइसकेको छ, अब सम्झौतामा हस्ताक्षर मात्र गर्न बाँकी छ ।”

ह्वाइट हाउसमा पत्रकारहरूले सोध्दा ट्रम्पले भने, “हामीसँग महान् अमेरिकी देशभक्तहरू छन् जसले टिकटक किनिरहेका छन् । धेरै महत्त्वपूर्ण व्यक्तिहरू संलग्न छन् ।” सातौँ बोर्ड सदस्य भने पछि घोषणा हुने उनले बताए।

शुक्रबार ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको फोन वार्तामा टिकटक सम्झौताबारे छलफल भएको थियो । ट्रम्पले सीले सम्झौतामा समर्थन गरेको दाबी गरे पनि चीनले औपचारिक पुष्टि गरेको छैन ।

“हामीसँग कडा नियन्त्रण हुनेछ”, ट्रम्पले भने, “टिकटकको ठूलो मूल्य छ, र म अलिकति पूर्वाग्रही छु किनभने मैले यसमा राम्रो गरेको छु ।”

वाल स्ट्रिट जर्नलका अनुसार सम्झौतामा अमेरिकी सरकारले लगानीकर्ताबाट अर्बौं डलर शुल्क पनि प्राप्त गर्न सक्ने सम्भावना छ ।

मुग्लिन–नारायणगढको पहिरो पन्छाउने काम कति बेला सकिएला ?

चितवन । शुक्रबार बेलुकीदेखि अवरुद्ध मुग्लिन–नारायणगढको पहिरो पन्छाउने क्रम अन्तिम चरणमा पुगेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला पुल नजिकै निरन्तर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ ।

सडक डिभिजन कार्यालयका अनुसार पहिरोका कारण वारपार नदेखिएको स्थान अहिले पन्छाउँदै जाँदा वारपार देख्न सकिने भएको छ । दुवैतर्फबाट पहिरो फाल्दै आइरहेको र आइतबार दिउँसोसम्म सडक आवागमन सञ्चालनमा ल्याउनका लागि निरन्तर प्रयास भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

बाटो अवरुद्ध भएर अलपत्र परेका यात्रुलाई चितवन जिल्ला सुरक्षा समिति तथा स्थानीय व्यवसायीको सहयोगमा खाजा र पानी वितरण गरिएको छ । खाजा र पानी वितरणका लागि नेपाल प्रहरी र अन्य सुरक्षा निकायका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए ।

 

जलेको पार्टी कार्यालयमै माओवादीको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । जेनजी आन्दोलनका बेला आगजनी र तोडफोड भएको माओवादी कार्यालयमा सफाइ र रङरोगनपछि पहिलो पकट बैठक बसेको हो ।

आजको बैठकमा जेनजी आन्दोलनपछि बिकास भएको राजनीतिक परिस्थिति, उपमहासचिव जनार्दन शर्माले लगातार जनाइरहेको असन्तुष्टि लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

 

नवरात्र नजिकिएसँगै सिँगारिँदै काठमाडौँका शक्तिपीठहरु

काठमाडौँ । नवरात्र नजिकिएसँगै काठमाडौँ उपत्यकाका शक्तिपीठ सिँगार्न थालिएको छ । काठमाडौँ उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, चामुण्डामाईलगायत शक्तिपीठहरू झिलीमिली बत्तीसहित सिँगारिएका छन् । एक साताअघिदेखि यी मन्दिर क्षेत्रमा सिँगारिएका हुन् ।

आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल नवमीसम्मका नौ रातलाई ‘नवरात्र’ भनिन्छ । नवरात्रमा काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । मैतीदेवी मन्दिर क्षेत्रमा नवरात्रको सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका काठमाडौँ महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए ।

नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । यस अवसरमा घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गाको पूजा आराधना एवं दुर्गासप्तशती(चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ । यस वर्षको नवरात्र असोज ६ गते सोमबारदेखि सुरु हुँदैछ । असोज १५ गते बुधबारसम्म नवरात्र रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

नवरात्रभर पूजा, आराधना गरिएको देवीको प्रसाद असोज १६ गते विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमाका दिनसम्म ग्रहण गरिन्छ । विजयादशमीका दिनदेखि मान्यजनकहाँ टीका, प्रसाद एवं आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।

पालमुनि यसरी हुँदैछ सर्वोच्चमा बहस (तस्बिरहरु)

काठमाडौँ । जेनजी आन्दोलनका नाममा भदौ २४ गते सर्वोच्च अदालतको भवन जलाइए पछि अहिले पाल टाँगेर इजलास सञ्चालन भइरहेको छ । गत बिहीबार (२ असोजदेखि) इजलास बस्न सुरु भएको हो ।

पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्कोतर्फ कानुन व्यवसायी, अनि बिचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको छ ।

आन्दोलनको भावना बुझेर राजीनामा दिनुपर्ने कुलमानको सन्देश, नछाड्ने मनस्थितिमा हितेन्द्र

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग आज ‘ब्रिफिङ’ मागेका छन् । कुलमानले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जेनजीको आन्दोलनको भावना बुझेर छाड्नु पर्ने भनिरहेको बेला भेट भएको बेला केही भनेनन् । आज ऊर्जा मन्त्री कुलामान, मन्त्रालयका सचिव र सहसचिवलाई शाक्यले ब्रिफिङ गरेका थिए ।

उनले भने, ‘आज मन्त्रालयमा गएर ऊर्जामन्त्री, सचिव र सहसचिवहरूलाई प्राधिकरणको विषयमा ब्रिफिङ गरेको छु । मलाई अहिलेसम्म कसैले पनि राजीनामा दिनु भएको छैन । मैले राजीनामा किन दिने हो र ? अहिलेसम्म कसैले राजीनामा दिन भनेको पनि छैन । म सरकारको निर्णय कुर्छु ।’

बाहिर चर्चा भए जस्तो प्राधिकरणबाट राजीनामा दिनु आवश्यक नरहेको शाक्यले बताएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला प्राधिकरणको कार्यकारी निर्देशक कुनामान बनेका थिए । भने, केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला हितेन्द्रले प्राधिकरणमा कार्यकारीको जिम्मेवारी पाएका थिए । प्राधिकरणको तत्कालीन कार्यकारी निर्देशक नै ऊर्जामन्त्री भएर आएपछि दुबै जनाले विषयवस्तु बुझेकाले काम गर्न सहज हुने भन्ने चर्चा भइरहेको छ । भने अर्को तिर मन्त्री कुलामानले नयाँ कार्यकारी निर्देशक बनाउन लागेको पनि चर्चा रहेको छ ।

उपल्लो डोल्पामा खाद्यान्न अभाव

काँक्रेविहार (सुर्खेत) । उपल्लो डोल्पास्थित तीन वटा बिक्री केन्द्रमा खाद्यान्न नहुँदा समस्या भएको छ । तीन पालिकास्थित धो, सालदाङ र तिन्जेमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री केन्द्रमा खाद्यान्न अभाव भएको हो ।

गत आर्थिक वर्षमा बाँडिएको चामल सकिएपछि नयाँ चामलका लागि ठेक्का नलागेकाले खाद्यान्न अभाव भएको डोल्पाका शाखाका प्रमुख विष्णु घिमिरेले जानकारी दिए ।

व्यापार कम्पनीले प्रति २५ किलो चामललाई रु दुई हजार २१९ मा बिक्री गर्ने जनाउँदै बाहिरबाट खरिद गर्दा रु चार हजार ५०० सम्म पर्ने गरेको शेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए । उनले वर्षमा एक पटक चामल ल्याएर बिक्री वितरण गर्न कम्पनीलाई आग्रह गरे । दसँै, तिहार जस्ता पर्वमा चामल अभाव हुँदा समस्या भएको उनको भनाइ छ ।

मङ्सिरभित्र खाद्यान्न ढुवानी नभए उपल्लो डोल्पामा ठूलो खाद्यान्न सङ्कट निम्तिने अध्यक्ष गुरुङले बताए । हिँउदयाममा हिमपात हुने भएकाले असोजको अन्तिम सातासम्ममा चामल ढुवानी हुनुपर्नेमा उनले जोड दिए।

उपल्लो डोल्पामा शेफोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिका पर्दछन् । चीनसँग सिमाना जोडिएका यी पालिकामा खाद्यान्न ढुवानी गर्न समस्या हुँदै आएको छ ।

यसैबीच, कर्णाली प्रदेशका सबै जिल्लामा रहेका खाद्य डिपो, बिक्री केन्द्रमा प्रयाप्त खाद्यान्न उपलब्ध रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेशिक कार्यालय सुर्खेतले जनाएको छ । स्थानीय तह तथा डिपोमा कोटा अनुसार खाद्यान्न रहेको प्रदेशिक प्रमुख केशवराज बुढाले बताए।

उनका अनुसार ५१ ठाउँमा खाद्यान्न बिक्री वितरण हुने भए पनि हाल ४२ ठाउँबाट मात्र बिक्रीको काम भइरहेको छ भने कर्णालीमा हाल १५ डिपो र २८ वटा बिक्री केन्द्र रहेका प्रमुख बुढाले जानकारी दिए । उनका अनुसार प्रदेशमा आठ वटा शाखा र एक प्रदेशिक कार्यालय छन् ।

सिंहदरबार गेटमा जेन्जी आन्दोलनका घाइतेहरूको धर्ना (तस्वीरहरु)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइत भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् । उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर, सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका हुन् ।
हेर्नुस् तस्वीरहरू

हेटौँडा औद्योगिक क्षेत्रमा दुई उद्योग थपिए

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योग थपिने क्रम बढ्दै गएको छ । यसैक्रममा औद्योगिक क्षेत्रभित्र थप दुई उद्योग सञ्चालनको तयारीमा छन् ।

हिमालय एसीपी बोर्डस् प्रालि (एल्मुनियम बोर्ड बनाउने)र टीका इन्डष्ट्रिज प्रालि(चकलेट उद्योग)केही दिनभित्रै उत्पादन गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए । लामो समयदेखि बन्द रहेका दुईवटा उद्योगको सम्झौता रद्द गरी सोही स्थानमा यी दुईवटा उद्योग सञ्चालनका लागि सम्झौता गरिएको सूचना अधिकारी नेपालले बताए । “सम्झौता भएलगत्तैबाट उद्योग सञ्चालनको तयारीमा सञ्चालकहरू जुटेका छन्”, उनले भने, ‘‘एकदुई साताभित्रै यी उद्योग सञ्चालनमा आउँछ ।”

यसअघि गत वैशाखदेखि लक्की पोलि इन्डष्ट्रिजले प्लाष्टिकका सामान उत्पादन र टोटल प्याकेजिङ प्रालि प्लाष्टिकको बोरा उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको आएको थियो । गत २०८१ माघदेखि थ्रिस्टार ग्रुपले रङ्गीन तथा सादा कर्कटपाता तथा बाबा मेनिफ्याक्चर प्रालिले टिनका ससाना बाकस उत्पादन गर्ने उद्योगसमेत सञ्चालनमा आएको थियो ।

उनका अनुसार औद्योगिक क्षेत्रमा हाल विभिन्न प्रकारका १३ वटा उद्योग सञ्चालनका लागि निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन अवस्थामा रहेकामध्ये अधिकांश उद्योग निर्माणको अन्तिम चरणमा रहेको उनको भनाइ छ । यस्तै लामो समयदेखि बन्द रहेको सुप्रिम मेटल उद्योगले पनि फलामको काटी उत्पादन सुरु गरेको सूचना अधिकारी नेपालले बताए ।

विभिन्न कारणले बन्द रहेका अन्य पाँचवटा उद्योग सञ्चालनका लागि सञ्चालकसँग सम्पर्क समन्वय भइरहेको उनले बताए । उनका अनुसार बन्द रहेकामध्ये डाइनेष्टी डिष्टलरी, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि, साउथ एसियन पोलिपाइप प्रालि र बानियाँ मल्टि प्राडक्ट प्रालि पुनः सञ्चालनको तयारी भइरहेको सञ्चालकबाट जानकारी प्राप्त भएको छ ।

अमेरिका सरकारको आर्थिक सहयोगमा २०२० साल मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । कुल तीन हजार २२८ रोपनी क्षेत्रमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन् ।

यस्तै औद्योगिक क्षेत्र परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखालगायतका कम्पनी सञ्चालनमा रहँदै आएको सूचना अधिकारी नेपालले बताए ।

कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल पाँच सय ९७ रोपनी छ ।

चाक्सिबारीमा देउवा निकट पाँच पूर्व पदाधिकारीको छलफल, गच्छदार र श्रेष्ठ अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरू छलफलमा जुटेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आइतबार मध्याह्न उनीहरू छलफलमा जुटेका हुन् । छलफलमा पूर्व महामन्त्री सिंह, पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत छन् ।

बदलिँदो राजनीतिक घटनाका विषयमा उनीहरूबीच छलफल भएको छ । सात पूर्व पदाधिकारी समूहको बैठकमा आज विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित थिए । आजै बिहान पत्रकार सम्मेलन गरी प्रवक्ता महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पछिल्ला अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । महामन्त्रीद्वयले पार्टी रूपान्तरण गरिछाड्ने बताएका थिए ।

तर प्रवक्ता महतले सभापति देउवा भदौ २४ गते घरमै प्रदर्शनकारीको आक्रमणबाट घाइते भएर अस्पतालमा उपचार गराइरहेको बेला घाउमा चुनचुक छर्ने काम गर्न नहुने बताएका थिए । सिंहलगायत पूर्व पदाधिकारीहरू लामो समयदेखि छलफल गर्दै एजेण्डा तय गर्दै अघि बढ्दै आएका थिए । उनीहरू सबै सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । बैठकले अहिलेको विषम परिस्थितिमा कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिने निर्णय भएको छ । अहिलेको संकटबाट निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने ठहर बैठकले गरेको नेताहरुले बताएका छन् ।

 

फेरिएको जुगरानीको जीवन : कपडा उत्पादन

भजनी (कैलाली)। टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीको दुई महिना अगाडिको समय निकै सकसपूर्ण थियो । दिनभर घरायसी काममा व्यस्त देखिने उनको कामबाट परिवार पनि सन्तुष्ट थिएन । उनी घरमा जति काम गरे पनि त्यसबाट आम्दानी नहुने भएपछि मानसिक तनाव हुने गरेको बताँउछिन्। जुगरानीलाई सहकारी संस्थाले तालिमका लागि सिफारिस गरेर सिकेको २५ दिने तालिमले उनको जीवन फेरिएको छ । एक संस्थाले २५ दिनसम्म दिएको तालिमले उनी उद्यममा जोडिन सफल भएकी हुन्।

पच्चीस दिनको निःशुल्क तालिमसहित ५० प्रतिशत अनुदानमा कपडा बुन्ने उपकरण सहयोग गरेपछि जुगरानीसहितका महिला उद्यममा जोडिन सफल भएका छन् । जुगरानीले अहिले केराको रेसाबाट काँचो कपडा बुन्ने काम थालेकी छिन् । आजभोलिको दैनिकी कपडा बनाउने काममै बित्ने गरेको छ । “खेर जाने केराको बोट ९थाम० बाट कपडा हुन्छ भन्ने विश्वास गर्न नसकेकी म आफँै कपडा बनाउन थालेकी छु”, उनी भन्छिन्, “आजभोलि परिवारले पनि विश्वास गर्न थालेको छ । आफूलाई पनि आत्मनिर्भर भएको महसुस हुन्छ ।”

टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आठ जना सदस्यलाई तालिममा सहभागी गराएर कपडा उत्पादन गर्ने सुरु गरेपछि महिला आत्मनिर्भर बन्दै गएका छन् । तालिमबाट आत्मनिर्भर बनेका महिला काम पाएपछि निकै उत्साहित भएर काम गरिरहेका छन् । “सीप भएपछि पैसा कमाउन समस्या नहुँदोरहेछ । समाजले हेर्ने दृष्टिकोणमा फेरिँदोरहेछ ।” सोही ठाउँकी कमला साउदले भन्छिन्, “हिजो घरमा बसेर दिन बिताउन मुस्किल हुन्थ्यो भने आजभोलि समय नै पुग्दैन ।”

महिलाहरूले उत्पादन गरेको कपडा काठमाडौँ लगिन्छ । प्रतिमिटर तीन सयमा काठमाडौँको अल्लो बजारले कपडा खरिद गर्दै आएको छ । मागअनुसार पुर्याउन नसकिएको वडा नं ७ की सकुन्तला चौधरी बताउँछिन् । “बजारमा माग निकै छ । एउटै कम्पनीलाई पनि हामीले पुर्याउन सकेका छैनौँ, उनी भन्छिन्, “बुन्न झन्झटिलो हुँदा समय बढी लाग्ने गरेको छ ।” उनले आधुनिक मेसिन भएको भए धेरै उत्पादन गर्न सकिने विश्वास व्यक्त गरेकी छिन्।

उत्पादन भएको कपडा निर्यातका लागि सहकारीले सहजीकरण गर्दै आएको छ । दुई वर्ष अगाडिबाट केराको खेर गइरहेको थामबाट रेसा उत्पादन गर्दै आएको सहकारीले यसभन्दा पहिले रेसा तयार गरेर बिक्री गर्दै आएको थियो । बजारमा रेसाको माग निकै हुँदा पुर्याउन नसकिएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताए । “रेसाका लागि चाहिने कच्चा पदार्थ अर्थात् केराको थाममा हामीले अहिलेसम्म पैसा तिर्नुपरेको छैन । उत्पादन भएको रेसाले बजारको माग धान्न सकेका छैनौँ”, उनी भन्छन्, “अहिले त आफ्नै लागि रेसा पुर्याउन सकिएको छैन ।”

महिलाहरूले सरकारबाट सहयोगको अपेक्षा गरेका छन्। उत्पादन भएको कपडाबाट अन्य सामग्री उत्पादनका लागि आवश्यक सीप र आधुनिक मेसिनमा सहयोगको अपेक्षा महिलाहरूले गरेका छन् । “कपडा उत्पादनसँगै त्यसबाट आवश्यक सामग्री बनाउन सके अझै राम्रो आम्दानी गर्न सकिन्थ्यो ।” स्थानीय कमलाकुमारी चौधरी भन्छिन्, “हामीलाई थप सीप र आधुनिक मेसिनमा सहयोग चाहिएको छ । केही रकम हामी आफैँ पनि लगानी गर्न सक्छौँ ।”

उनले केराको कपडाबाट टोपी, झोला, चप्पल, जुत्ता, गुन्द्रीलगायत सामग्री उत्पादन गर्न सकिने बताएका छन् । स्थानीय महिलालाई सिलाइकटाइलगायत तालिममा लाखौँ खँर्च स्थानीय सरकारले बर्सेनि गर्दै आए पनि आफ्नो क्षेत्रमा खेर गइरहेको कच्चा पदार्थको उपयोग गर्दै आत्मनिर्भर बनाउने काममा लगानी आवश्यक रहेको चौधरी बताँउछन् । “टीकापुर केराको नामबाट परिचित छ । त्यहीँ केराबाट हरेक नागरिक आत्मनिर्भर बन्न सक्ने आधार छन्”, उनी भन्छन्, “लगानी आवश्यक छ । स्थानीय सरकारले अन्य महिलालाई पनि यस्तै तालिम दिनसक्यो भने रोजगारी आफैँ सृजना गर्न सकिन्छ ।” टीकापुरमा हाल एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा केराखेती हुँदै आएको छ । केरा उत्पादन भएपछि खेर गइरहेको केराको बोट(थाम)बाट रेसा उत्पादन गरेर कपडा उत्पादन भइरहेको छ ।

जेन–जीलाई सुमनाको दुई सुझाव : माग पूरा नभएसम्म कुनै वाचामा विश्वास नगर्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले जेन–जी आन्दोलनले राजनीतिक दलहरूलाई सुधारको बाटोमा ल्याउन दबाब दिएको भन्दै तत्काल कार्यान्वयन गर्न सकिने सुधारका सुझाव प्रस्तुत गरेकी छन् । आज (आइतबार) सामाजिक सञ्जालमार्फत उनले दलहरूलाई स्पष्ट कार्ययोजना प्रस्तुत गर्न चुनौती दिँदै तत्काल लागू गर्न सकिने सुधारका उपायहरू सुझाएकी छन् । उनले लेखेकी छन्, ‘फेरि भन्छु, कसरी सच्चिने ? यो अमूर्त कुरा भयो ! कसरी सच्चिने भन्ने खाका सुन्न पाए हुन्थ्यो !’ उनले दलहरूले तत्काल गर्न सक्ने दुई वटा प्रमुख कदम सुझाएकी छन् ।

पहिलो, दलीयकरण रोक्न उनले शिक्षक र कर्मचारी संगठन खारेज गर्न, विद्यार्थी संगठनलाई नियुक्ति र ठेक्काको सौदाबाजीमा प्रयोग नगर्न, शिक्षालय तोडफोड गर्ने र बन्द गराउनेमाथि कारबाही गर्न, साथै शिक्षक र प्राध्यापकमाथि कुटपिट गर्नेलाई संरक्षण बन्द गर्न सुझाव दिएकी छन् ।

दोस्रो, उनले दलीय नियुक्तिहरूको राजीनामा गराउनु पर्ने बताएकी छन् । राजदूत, विश्वविद्यालयका उपकुलपति, विभिन्न बोर्ड, बैंक निर्देशक, करारमा नियुक्त कार्यकर्ता र संवैधानिक निकायमा भएका दलीय नियुक्तिहरू हटाउनुपर्ने उनको जोड छ । उनले जेन–जीलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘माथिका कुराहरू दलहरूले तत्काल गर्न सक्छन् । यी सजिला र तत्काल सम्भव सुधार हुन्, जसका लागि संसद् वा सरकारको आवश्यकता पर्दैन । सुधारको वाचा केवल बोलीमा सीमित हुनु हुँदैन । यी माग पूरा नभएसम्म कुनै वाचामा विश्वास नगर्नुस् ।’

उनले भनेकी छन्, ‘यी कदमहरूले सार्वजनिक सेवामा निष्पक्षता कायम गर्नेछ, जुन जनताको सेवा गर्ने कर्मचारीतन्त्रको मूल आधार हो ।’ उनको यो बयान जेन–जी आन्दोलनपछि बनेको सरकारमा प्रत्यक्ष नभए पनि पर्दा पछाडि रहेर काम गर्ने चर्चाबीच आएको हो ।

हेर्नुस् सुमनाको स्टाटस

पोखराकी युवती काठमाडौंको गेस्ट हाउसमा मृत फेला

काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छिन् । काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् । मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।

 

तालिम केन्द्र परिसरमै प्रहरी जवान मृत्त भेटिए

काठमाडौं । नेपाल प्रहरीका एक जना जवान तालिम केन्द्र परिसरमै मृत भेटिएका छन् । बुटवल राजमार्ग चौराहास्थित प्रहरी तालिम केन्द्रमा कार्यरत २४ वर्षीय श्याम चौधरी रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत चौधरी तालिम केन्द्रको उत्तर पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवनको पछाडिको भागमा रहेको रुखमा झुण्डिएको अवस्थामा शनिबार फेला परेका हुन् ।

शुक्रबार तालिम केन्द्रमै रात्रिकालीन ड्युटी गरेका चौधरी शनिबार बिहान तालिम केन्द्रकै खेलमैदानको छेवैमा रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ‘उनको रातिको ड्युटी थियो कति बेला आत्महत्या गरे भन्ने यकिन भएन तर, बिहानपख तन्नाको पासो बनाएर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए,’ प्रहरी स्रोतले भन्यो ।

मृतक चौधरीका परिवारका सदस्यहरू आएपछि शनिबार अपराह्न लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमर्टम गरी शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । चौधरी बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं ३ का बासिन्दा हुन्। उनी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । बुटवलकै प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका चौधरीको तालिम सकिएपछि प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम भएको थियो ।

यी हुन् वर्षमान पुनले देखेका जेनजी आन्दोलनका दुई कारण

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि जेनजी आन्दोलनको पृष्ठभूमि तयार भएको दावी गरेका छन् । दुई ठूला दल सम्मिलित केपी ओली नेतृत्वको सरकारले बिचौलिया र स्वार्थ समूहको सेवालाई बढी प्राथमिकतामा राखेका कारण जन्मिएको असन्तोष जेनजी विद्रोहमार्फत विस्फोट भएको उनको भनाइ छ ।

मुलुकको धरोहरका रुपमा रहेका राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहित देशभरका सरकारी कार्यालय आन्दोलनका क्रममा खरानी पारिएको भन्दै त्यसको नैतिक जिम्मेवारी कुुशासनका मतियारहरुले लिनुपर्ने तर्क गरे । ‘भ्रष्टाचार, अनियमितता, कशासन र बिचौलिया वर्गको स्वार्थमा नलागेर मुलुक र जनताको स्वार्थमा केन्द्रित हुन प्रमुख प्रतिपक्षका हैसियतमा हामीले संसदभित्र र बाहिरबाट एक वर्षसम्म पटकपटक सरकारको ध्यानाकर्षण गरायौं, दबाब दियौं’, पार्टी सम्वद्ध जनप्रगतिशील मञ्च जापानका पदाधिकारीसँगको भर्चुअल अन्तरक्रियाका क्रममा पुनले भने, ‘तर, सत्तामा बसेका कांग्रेस र एमालेले सुनेनन्। दुई तिहाईको शक्ति पुरै स्वार्थ समूहको सेवामा समर्पित भयो ।’

‘हामीले निकट विगतका बंगलादेश, श्रीलंका जस्ता मुलुकमा जस्तो खराब अवस्था आउन सक्नेबारे भनेकै हौं । हाम्रो जिम्मेवारीपूर्ण खबरदारीलाई अन्देखा गरियो र अर्कै अर्थमा प्रचार गर्ने काम पनि भयो । त्यही पृष्ठभूमिमा बढेको असन्तोष जेनजी आन्दोलनको रुपमा प्रकट भयो,’ पुनले थपे ।

जेनजी आन्दोलनको मौका छोपेर प्रतिगामी र प्रतिक्रियावादी शक्तिले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरुका निवास तथा पार्टी कार्यालयमा आगजनी र लुटपाट गरेको र उनीहरुले नै माओवादी र अरु दल उस्तै भन्ने स्थापित गराउने कोशिस गरिरहेको भन्दै आपत्ति जनाए ।

पुनले अमेरिका, रुस, चीन र भारतजस्ता शक्ति राष्ट्रबीच विद्यमान शक्ति संघर्षको बाछिटा पनि नेपालका परेको उल्लेख गरे। अत्यन्तै तरल अवस्थामा रहेको देशको विद्यमान अवस्थामा हुन सक्ने भूराजनीतिक चलखेललाई निरुत्साहित गर्न तथा राष्ट्रिय स्वाधीनता तलमाथि हुन नदिन मुलुकका सबै पक्षबीच सहकार्य र एकतामा पुनले जोड दिए । फरक प्रसंगमा पुनले जेनजी आन्दोलनले पार्टीहरुका विद्यमान नेतृत्व, संरचना तथा राज्यका निकायहरुमा आमुल रुपान्तरण जरुरी रहेको रहेको जबर्जस्त सन्देश दिएको औंल्याए ।

 

गाउँगाउँमा पुग्यो सिंहदरबार, तर खाली हुन थाले घर

रामेछाप । रामेछापको अधिकांश गाउँमा मानिस बस्न छाडेपछि यहाँका बस्ती उजाड हुन थालेका छन् । गाउँमा रोजगारीको अवसर, शिक्षा र स्वास्थ्यको सुविधासमेत राम्रो नहुने भएपछि बसाईँ सर्नेक्रम नरोकिएको हो । गाउँगाउँमा सिहंदरबार भने पनि गाउँमा भएको सिंहदरबारले प्रदान गर्ने सेवाले काम खासै केही गर्न सकेको छैन । दुई नगरपालिका र छवटा गाउँपालिकासहित आठवटा पालिका रहेको यस जिल्लाका सबै पालिकाका ग्रामीण बस्तीका घर खाली हुँदै गएका पाइएको छ । बस्ती खाली हुनेमध्ये मन्थली नगरपालिका–८ को चिसापानी पनि एक हो ।

चिसापानीका अधिकांश घरमध्ये धेरै खाली छन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य र गाउँमै रोजगारीको अवसर नभएपछि यहाँका मानिस सोको खोजीमा सुविधासम्पन्न ठाउँमा गएका स्थानीय बताउँछन् । चाडपर्व र अन्य विषेश खालका कार्यक्रममा मात्र जम्मा हुने यहाँका मानिस अहिले धेरैले आफ्ना घर छाडेर हिँडिसकेका छन् ।

सुरुसुरुमा चिसापानीमा खानेपानी अभावका कारण धेरैले गाउँ छाडेका भए पनि अहिले आएर शिक्षा, स्वास्थ्य र रोजगारीका कारण मानिस घर छाडेर परिवार नै अन्यत्र बसोबास गर्ने गरेको मन्थली –८ की केशरी श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पाखो बारीमा खासै उब्जनी हुँदैन। केही बालीनाली लगाए पनि त्यसको खर्च उठ्दैन । उब्जनी पाक्ने बेलाका बाली बाँदरले खाइदिन्छ। दैनिक बाँदर धपाउनुपर्ने समस्या छ ।’

त्यही समस्या र गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीका लागि यहाँका मानिस सहर गएकाले गाउँमा मलामी जाने र जन्ती जाने मान्छे पनि पाउन गाह्रो भएको मन्थली–८ का निवर्तमान वडाध्यक्ष राजकुमार श्रेष्ठ बताउँछन् । यहाँ सामुदायिक विद्यालयमा गाउँलेको आकर्षण नभएका र राम्रो स्वास्थ्य सेवा नभएकाले गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि मानिस सहर पसेका मन्थली –८ का वडाध्यक्ष गोपाल श्रेष्ठ बताउँछन् ।

उनले भने, ‘विषेश गरी नेवारी समुदायको बढी बस्ती रहेको यस गाउँमा गाउँमै स्वरोगारमूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ भनी यस वडामा आफ्नो पहलमा गाउँमा ‘होमस्ट’ सञ्चालन गरिएको, पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक चिसापानी गढीलाई व्यवस्थित गर्ने प्रयास भइरहेको छ । अन्य सीपमूलक तालिम पनि सञ्चालन गरिएको भए पनि गाउँमा कममानिस बसेका हुन् ।’

मन्थली नगरपालिका–८ की स्थानीय मोहनदेवी श्रेष्ठले रोजगारीका लागि घर छाडेर हिँडेकाले घर खाली भएको र मान्छे भएका घरमा पनि आफूजस्ता बूढाबूढीमात्र भएको बताउँछन् । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले मुलुक सङ्घीयतामा गएसँगै गाउँमै अब सबै सुविधा हुन्छ भनिए पनि गाउँमा हुनुपर्ने जति आधारभूत आवश्यकताका चिज पाउन मुस्किल भएकाले प्रायः गाउँका मानिसले घर छाड्नु परेको बताए।

उनले भने, ‘अहिले धेरै घरका मानिस वैदेशिक रोजगारीमा छन्। वैदेशिक रोजगारीमा भएका परिवार गाउँमा नबसी काठमाणडौँ वा जिल्ला सदरमुकाम मन्थलीमा छोराछोरी पढाउने नाममा बस्ने गरेकाले पनि गाउँबस्ती खाली हुँदै गएका हुन्।’ सरकारले गाउँमै रोजगारीको अवसर दिने वा स्वरोजगारमूलक कार्यक्रम ल्याई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रवाह गर्न सके यसरी गाउँ खाली नहुने मन्थली माविका पूर्व प्रधानाध्यापक एवं नागरिक अगुवा गुञ्जबहादुरर श्रेष्ठ सुझाव दिन्छन्। रासस

अन्तरिम सरकार बनाउँदा त्रुटि भएको छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अन्तरिम सरकार संवैधानिक व्यवस्थालाई पूर्णरूपमा टेकेर सरकार बन्न नसकेको टिप्पणी गरेका छन् । तोडफोड र आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले त्यसका बाबजुद पनि कांग्रेसले विरोध नगरेको बताए ।

‘संसद नभए पनि हामीले यसको विरोध गरेका छैनौं । तथापि यो संविधानसम्मत बाटोबाट अगाडि बढ्नु पर्छ,’ उनले भने, ‘संसद भएरै पनि यसलाई अझै संविधान सम्मत बनाउन सकिन्थ्यो । त्यसमा त्रुटी भएको छ ।’ उनले त्यसबारेमा पार्टीभित्र गम्भीर छलफल हुने पनि बताएका छन् । ‘आउने दिनमा पार्टीभित्र गम्भीर छलफल हुन्छ । अन्तरपार्टी, नागरिक समाज, नवयुवा सबैसँग छलफल हुन्छ । यसको आधारमा कसरी अगाडि बढ्ने भन्ने निष्कर्षमा पुग्छौं,’ उनले भने ।

प्रवक्ता महतले चाँडोभन्दा चाँडो लोकतान्त्रिक पद्धति र जननिर्वाचित सरकारको जरूरी रहेको बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा उनकी श्रीमती आरजु राणाको स्वास्थ्य सुधारोन्मुख रहेको पनि बताए । ‘उहाँहरूको स्वास्थ्य सुधारोन्मुख छ, ठीक भएपछि चाँडै सार्वजनिक हुनुहुन्छ,’ उनले भने ।