`

सहिद विजय चौधरीको परिवारलाई नगरद्वारा खाद्यान्न प्रदान

सिरहा । ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौँमा प्रहरीको गोली लागेर सहिद भएका लहान–१५ सिमलटोकीका विजय चौधरीको परिवारलाई लहान नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार घरमै पुगेर खाद्यान्न सामग्री प्रदान गरेका छन् ।

नगरप्रमुख चौधरीले लहान नगरपालिकाको तर्फबाट तत्काल राहतस्वरूप एक क्विन्टल चामल, पाँच किलो दाल, पाँच लिटर तेल र पाँच किलो नुन हस्तान्तरण गरेका हुन् । यसअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख चौधरीले सहिद विजयको परिवारलाई रु एक लाख नगद राहत उपलब्ध गराउने घोषणा गरेको थिए।

साथै, सहिद चौधरीकी चार वर्षीया छोरीको कक्षा १२ सम्मको शिक्षाको पूर्ण व्यवस्था गर्ने र श्रीमतीलाई योग्यताअनुसारको रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै लहान–१५ मै सहिद विजयको स्मृतिमा सहिद पार्क बनाउन पहल गरिने पनि उनले जानकारी दिए। सो अवसरमा, पीडितपरिवारप्रति सहानुभूति प्रकट गर्दै सामाजिक संस्था ‘होप फाउन्डेसन’ की अभियन्ता पार्वती सुब्बाले पनि पीडित परिवारलाई घरमै पुगेर रु १० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् ।

गत भदौ २३ गते काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि २७ वर्षीय विजय चौधरीको निधन भएको थियो । नौ दिनपछि यही मङ्गलबार उनको गाउँमा अन्तिम संस्कार गरिएको थियो । उनका आमाबुबा, एक दाजु र एक दिदी पनि छन् ।

यसअघि सरकारले आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गरिसकेको छ । साथै मृतकका परिवारलाई प्रतिव्यक्ति रु १५ लाख राहत उपलब्ध गराउने निर्णयसमेत गरिएको छ ।

गृह मन्त्रालययद्वारा सहायता कक्ष स्थापना

काठमाडौँ । गृह मन्त्रालयले ‘जेनजी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू सहजीकरण गर्नका लागि सहायता कक्षा स्थापना गरेको छ ।

आज मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रवीन्द्र आचार्यले ‘जेनजी’ युवाहरूको आन्दोलनपछिको अवस्थामा जनताको समस्या र सुझाव सुन्नका लागि मन्त्रालयले उक्त सहायता कक्षा स्थापना गरेको जानकारी दिए।

“जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाइल नम्बर ९८५१३६०६०३ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाइवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ”, मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

अन्तरिक्ष अनुसन्धानमा प्रविधिको नयाँ चरण : पुनःआपूर्ति यानले सामग्री पुर्‍यायो

अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी ‘नर्थरप ग्रुम्यान’को उन्नत पुनःआपूर्ति यान ‘सिग्नस एक्सएल’ बिहीबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन(आईएसएस)मा सफलतापूर्वक जोडिएको छ ।

यसले आईएसएसमा आवश्यक पर्ने महत्वपूर्ण वैज्ञानिक उपकरण र अन्य सामाग्रीहरू पुर्‍याएको छ, जसले अन्तरिक्ष अनुसन्धान र प्रयोगशालाका कार्यहरूलाई सहज बनाउन ठूलो सहयोग गर्नेछ ।

‘सिग्नस एक्सएल’ अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी नर्थरप ग्रुम्यानद्वारा विकसित उन्नत पुनःआपूर्ति यान हो, जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा वैज्ञानिक उपकरण, खाद्यान्न र अन्य आवश्यक सामग्री पुर्‍याउन प्रयोग गरिन्छ । यो यान विशेष गरी ठूलो क्षमताको कार्गो बोकेर अन्तरिक्ष स्टेशनमा आपूर्ति गर्ने उद्देश्यले तयार गरिएको हो र यसले अन्तरिक्ष अनुसन्धान र प्रयोगशालाका गतिविधिहरूलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्दछ । यसमा नवीनतम प्रविधिहरू समावेश छन्, जसले यसको विश्वसनीयता र कार्यक्षमता सुनिश्चित गर्दछ ।

सिग्नस एक्सएल यान आइतबार अमेरिकी फ्लोरिडास्थित केप क्यानाभरल स्पेस फोर्स स्टेशनबाट स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिएको थियो ।

यो मिशन नर्थरप ग्रुम्यानको कमर्शियल रिसप्लाइ सर्भिसेस २३ अन्तर्गत संचालन गरिएको हो, जसले करिब ११ हजार पाउन्ड(लगभग ५ हजार किलोग्राम) वैज्ञानिक उपकरण, अनुसन्धान सामग्री र दैनिक प्रयोगका वस्तुहरू आईएसएसमा पुर्‍याउने लक्ष्य राखेको थियो ।

प्रारम्भमा सिग्नस एक्सएल यान बुधबार आईएसएसमा पुग्ने योजना बनाइएको थियो, तर मुख्य इन्जिनमा देखिएको प्राविधिक समस्याका कारण यो योजना एक दिन ढिलो हुँदै बिहीबार आईएसएसमा पुग्न सफल भयो । बिहान ७ बजेर २४ मिनेट(स्थानिय समय अनुसार)अन्तरिक्ष स्टेशनका अन्तरिक्षयात्रीहरूले रोबोटिक हातको मद्दतले यानलाई समाते । त्यसपछि केही घण्टाको प्रक्रियापछि, बिहान १० बजेर १० मिनेटमा यसलाई सफलतापूर्वक अन्तरिक्ष स्टेशनसँग जोडिएको नासाले पुष्टि गर्‍यो ।

यो यानले पुर्‍याएका सामग्रीहरू अन्तरिक्षमा भइरहेका विभिन्न वैज्ञानिक अनुसन्धानहरूका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन् । यसले अन्तरिक्ष स्टेशनमा रहेका वैज्ञानिकहरूलाई उनीहरूको अनुसन्धानलाई निरन्तरता दिन र अन्तरिक्षका थप रहस्यमय पक्षहरूबारे नयाँ ज्ञान हासिल गर्न सहयोग गर्नेछ ।

नर्थरप ग्रुम्यान र नासाबीचको यो साझेदारी अन्तरिक्ष अनुसन्धान र अन्तरिक्षयान आपूर्ति प्रणालीमा नयाँ सफलताको रूपमा लिइएको छ, जसले अन्तरिक्ष अन्वेषणलाई अझ प्रभावकारी र दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

 

राष्ट्रपति भवन शीतल निवासमा मनाइयो संविधान दिवस (तस्बिरहरु)

काठमाडौँ । संविधान दिवस राष्ट्रिय दिवसको अवसर शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ ।

उपराष्ट्रपति, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत पूर्वराष्ट्रपति डा. रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, लगायत विभिन्न कुटनीतिक निकायका विशिष्ठ व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो ।

 

 

 

 

 

युक्रेनलाई रूसी आक्रमणविरुद्ध सक्षम बनाउन पश्चिमी लगानी

नाटो सदस्यताको सम्भावना सीमित भएपछि युक्रेनका पश्चिमी सहयोगीहरूले वैकल्पिक रणनीतिमा ध्यान केन्द्रित गरेका छन् – युक्रेनको रक्षा उद्योगमा अर्बौं डलरको लगानी ।

उद्देश्य स्पष्ट छः युक्रेनलाई आफ्नै हतियार उत्पादन गर्न सक्षम बनाउने, रूसी आक्रमणविरुद्ध टिक्न मद्दत गर्ने र भविष्यमा स्वतन्त्र रूपमा रक्षा गर्न सक्ने बनाउन ।

यस रणनीति सफल भएमा युक्रेनको हतियार उद्योगले युद्धको बीचमै ड्रोन र अन्य आधुनिक प्रविधि विकास गर्दै अमेरिकी तथा युरोपेली सेनालाई समेत सुसज्जित गर्न सक्छ ।

हालै युक्रेनले विकास गरेको क्वाडकप्टर ड्रोनले रूसी जामिङ उपकरणलाई छल्न सक्छ, २० किलोमिटरभन्दा बढी उड्न सक्छ र छ किलोग्रामसम्मका निर्देशित विस्फोटक बोक्न सक्छ ।

“ड्रोन प्रविधिमा युक्रेन विश्वकै अग्रपङ्क्तिमा छ”, युक्रेनका लागि ट्रम्प प्रशासनका विशेष दूत किथ केलोगले गत हप्ताको किएभ सम्मेलनमा भने । विशेषगरी बेलारुसबाट प्रक्षेपण भएका रूसी ड्रोन पोल्यान्डमा खसेपछि युरोपमा पनि चिन्ता बढेको छ ।

युक्रेनले अहिले आफ्नै हतियार उत्पादनलाई तीन गुणा गर्दै सेनाका लागि ६० प्रतिशत आवश्यकताहरू पूरा गरिरहेको छ । यो जुन युद्ध सुरु हुनुअघि १० प्रतिशत मात्र थियो ।

तर यसको ६४ अर्ब डलरको वार्षिक रक्षा बजेट अझै पनि रूसको आधाभन्दा कम छ । यसैले देशले पश्चिमी लगानी र संयुक्त उद्यमलाई प्राथमिकता दिइरहेको छ ।

लन्डनस्थित इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका फेबियन हिन्जका अनुसार युक्रेनसँग युद्ध–परीक्षण भएका प्रणाली, कम उत्पादन लागत र तीव्र उत्पादन क्षमताको फाइदा छ ।

– युद्धले तिखार्दै नवप्रवर्तन –

युद्धका कारण नवप्रवर्तनको चक्र छिटो भएको छ । एफआरडिएम कम्पनीको आर–३४ क्वाडकप्टर ड्रोन निरन्तर सैनिकहरूको प्रतिक्रियामा परिमार्जन हुन्छ । संस्थापक भादिम युनिक भन्छन्,“रोबोटहरूले अगाडिको रेखामा मर्नुपर्छ, मानिसहरूले होइन ।”

मानव शक्ति अभावले पनि युक्रेनी कम्पनीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)र रोबोटिक्समा लगानी गर्न प्रेरित गरेको छ । यसका कारण सेनाले अब ड्रोन र स्वायत्त सवारी प्रयोग गरी टाढाबाट निशाना साध्न, आपूर्ति पु¥याउन र घाइते निकाल्न सक्ने क्षमता पाएको छ ।

युक्रेनका अनुसार फ्रन्ट लाइनमा प्रयोग हुने एफपिभी (पहिलो–व्यक्ति दृश्य)ड्रोनहरूले मात्र रूसी जनशक्ति र हतियारमा ७० प्रतिशत क्षति पु¥याएका छन् । अर्कोतर्फ, लामो दूरीका स्ट्राइक ड्रोनहरूले एक हजार किलोमिटरसम्म पुगेर रूसी भित्री भागमा प्रहार गर्न सक्छन् ।

– परम्परागत हतियारमा सुधार –

ड्रोनसँगै युक्रेनी कम्पनीहरूले बख्तरबन्द सवारी साधनहरूमा पनि प्रगति गरेका छन् । युक्रे आर्मोटेकको गुर्जा–१ पैदल सैनिकलाई सुरक्षित राख्न डिजाइन गरिएको छ भने गुर्जा–२ चाँडै उत्पादनमा जाने तयारीमा छ ।

कम्पनीले गत वर्ष पाँच सय सवारी उत्पादन गरेको थियो र क्षमता तीन गुणा बढाउने योजना बनाएको छ । विज्ञ पाभ्लो भर्खनियात्स्की भन्छन्, “हामीलाई थाहा छ रूसले कुन–कुन हतियार प्रयोग गर्छ, त्यसअनुसार कवच विकास गर्छौं ।”

– युरोपेली लगानीमा भर –

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनलाई ‘अभेद्य’ बनाउन ठूलो लगानी गर्ने घोषणा गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले वार्षिक ३० अर्ब डलरको हतियार उत्पादन सम्भव हुने दाबी गरेका छन् ।

युक्रेनले केवल पैसा मात्र नभई पश्चिमी कम्पनीहरूसँग प्रविधि र निर्माण साझेदारी पनि खोजिरहेको छ । खरिद एजेन्सीका प्रमुख आर्सेन झुमादिलोभ भन्छन्, “आधुनिक युद्धका लागि चाँडो अनुकूलन गर्ने क्षमता नै निर्णायक हुन्छ ।”

डेनमार्क हतियार दानभन्दा प्रत्यक्ष लगानी सुरु गर्ने पहिलो देश बनेको छ । डेनमार्क र बेलायतले आफ्ना कारखानामा युक्रेनी मिसाइल र ड्रोनका कम्पोनेन्ट उत्पादन गर्ने योजना अघि बढाइरहेका छन् ।

युक्रेनले डेनमार्क, स्विडेन, क्यानाडा, नर्वे र आइसल्यान्डबाट एक अर्ब ३० करोड युरो(एक अर्ब ५० करोड डलर) प्राप्त गर्ने तयारी गरेको छ । जर्मनीले पनि यस्तै सम्झौता गरेको छ ।

झुमादिलोभ भन्छन्, “जब विदेशी कम्पनीहरूले लगानी गर्छन्, उनीहरूको सरकारले उत्पादन खरिदमा सहयोग गर्छ । यो सबैभन्दा राम्रो मोडेल हो ।”

२७ कारागारबाट भागेका आठ हजार ८१६ कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड गरेरका भागेका मध्ये अझै ८ हजार भन्दा बढी कैदीबन्दीहरू फरार रहेका छन् ।

कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार अझै पनि ८ हजार ३७५ कैदीबन्दीहरू फरार छन् । कारागारतर्फ ७ हजार ७५३ र सुधारगृह तर्फ ६२२ गरी ८ हजार ३५७ कैदीबन्दी अझै फरार रहेको विभागले बताएको छ ।

देशभरका विभिन्न २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट गरी १४ हजार ५५५ कैदीबन्दी भागेका थिए । जसमा कारागारबाट १३ हजार ५९१ र बाल सुधार गृहबाट ९६४ जना भागेका थिए ।

ती मध्ये अहिलेसम्म कारागारतर्फ ५ हजार ८३८ र बाल सुधारगृहतर्फ ३४१ गरी ६ हजार १७९ कैदीबन्दी फिर्ता आएको विभागका निर्देशक चोमेन्द्र न्यौपानले जानकारी दिए ।

२४ गते साँझसम्म देशभरका कारागारमा २९ हजार २१२ र बाल सुधार गृहतर्फ १ हजार ४२२ गरी ३० हजार ६३४ कैदीबन्दी थिए । जसमध्ये कारागारतर्फ १५ हजार १५८ र बाल सुधार गृहतर्फ ३६३ गरी १५ हजार ५२१ कैदीबन्दी भने भागेका थिएनन् ।

भाग्न खोज्नेलाई नेपाली सेनाले नियन्त्रण लिने क्रममा कैदीतर्फ ५ र बाल सुधार गृहतर्फ ५ गरी १ जनाको मृत्यु समेत भएको थियो ।

मृत्यु हुनेमा रामेछाप कारागारका ३ जना र धादिङ कारागारका २ जना थिए । नौबस्ता बाल सुधार गृहका ५ जनाको पनि मृत्यु भएको थियो ।

 

गोप्य सम्झौता, ऊर्जा नाफाबाट हतियार सम्झौताको भुक्तानी

रुस र भियतनामले अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका छन् ।

एसोसिएटेड प्रेसले प्राप्त गरेको आन्तरिक भियतनामी कागजातअनुसार संयुक्त तेल–ग्यास उद्यमको नाफा प्रयोग गरेर ऋण तिर्ने र हतियार खरिद गर्ने व्यवस्था बनेको छ, जसले विश्वव्यापी बैंकिङ प्रणालीलाई बाइपास गर्छ ।

यस योजनाअन्तर्गत भियतनामले मस्कोबाट लडाकू विमान, ट्याङ्क र जहाज ऋणमा लिएको छ र साइबेरियास्थित संयुक्त तेल कम्पनीको नाफाबाट किस्ता बुझाएको छ । लेनदेन नगद बिना तर गोप्य ढङ्गले प्रवाह हुनेगरी डिजाइन गरिएको हो ।

अमेरिकाले दक्षिणपूर्व एसियामा भियतनामसँग सम्बन्ध बलियो बनाउन खोजिरहेको तर ट्रम्प प्रशासनले रुसमाथि कडा प्रतिबन्धको धम्की दिइरहेको बेला यो खुलासा भएको हो । ह्वाइट हाउसले हनोईसँग व्यापारमा २० प्रतिशत भन्सार शुल्क लगाएर वार्ता जारी राखेको छ ।

संयन्त्रको काम गर्ने तरिका

सन् २०२४ मा तयार गरिएको मेमोअनुसार भियतनामको नाफा रूस पठाइन्छ । त्यसपछि रूसी राज्य स्वामित्वको कम्पनी जारुबेझनेफ्ट मार्फत फेरि भियतनामको पेट्रोभियतनाममा फिर्ता हुन्छ ।

यसरी रकम रूस र भियतनामभित्र मात्रै सर्छ र स्विफ्ट प्रणालीबाट जोगिन्छ ।

रणनीतिक सन्देश

विश्लेषकहरूले यसलाई सामान्य व्यापारिक ‘अफसेट’ भन्दा निकै माथिको व्यवस्था भनेका छन् ।

भियतनामले चीनसँगको दक्षिण चीन सागर विवादलाई ध्यानमा राख्दै आफ्नो सेनालाई बलियो बनाउन रुसी हतियारमा निर्भर रहेको देखिन्छ । अमेरिकाले भने यसलाई चीनविरुद्ध साझेदारको रूपमा हेर्छ ।

राजनीतिक संवेदनशीलता

आन्तरिक कागजात चुहाउने भियतनामी अधिकारीले वासिङ्टनसँगको सम्बन्ध जोखिममा पार्ने डर औँल्याएका छन् । अमेरिकाले प्रत्यक्ष प्रतिक्रिया नदिए पनि ‘प्रतिबन्ध यथावत् रहने’ चेतावनी दिएको छ ।

यसबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हनोई भ्रमण(सन् २०२४)मा नयाँ ऊर्जा सम्झौताहरू भएको थियो भने सन् २०२६–२०३० को रक्षा–रणनीतिक साझेदारीमा पनि हस्ताक्षर भएको छ ।

विशेषज्ञहरूका अनुसार युरोप र अमेरिकाबाट दबाब बढेसँगै भियतनामको यो दोहोरो खेल कूटनीतिक चुनौती बन्न सक्छ ।

संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ भन्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं ।  राजावादी समूहले २०७२ को संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ भन्ने नारा सहित संविधान खारेजको माग राख्दै प्रदर्शन गरेका छन् ।

शुक्रबार संविधान दिवसका अवसरमा उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

तस्बिरहरू : 

टिकटकको भाग्य र व्यापार सम्झौतामा प्रगतिको आशा

 अमेरिका ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोन वार्तामा भिडियो साझेदारी एप टिकटकको भाग्यलाई अन्तिम रूप दिने र दुई देशबीचको व्यापार वार्तामा प्रगति गर्ने आशा व्यक्त गरेका छन् ।

“म राष्ट्रपति सीसँग कुरा गर्दैछु, तपाईंलाई थाहा छ, टिकटक र व्यापारबारे”, ट्रम्पले बिहीबार फक्स न्युजसँगको अन्तर्वार्तामा भने, “हामी सम्झौतामा धेरै नजिक छौँ र चीनसँग मेरो सम्बन्ध धेरै राम्रो छ ।”

जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्प र सीबीच यो दोस्रो र वर्षको सुरुदेखि तेस्रो संवाद हो । जुन ५ मा ट्रम्पले सीलाई अमेरिकामा निमन्त्रणा गरेका थिए भने आफूलाई चीन भ्रमणको प्रस्ताव आएको बताएका थिए । हालसम्म भ्रमण तालिका तय नभए पनि विश्लेषकहरूले सीले आफ्नो प्रस्ताव दोहो¥याउने अपेक्षा गरेका छन् ।

– टिकटक विवाद –

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकी कांग्रेसले चिनियाँ मूल कम्पनी बाइटडान्सलाई आफ्नो अमेरिकी सञ्चालन बेच्न बाध्य पार्ने कानून बनाएपछि टिकटक विवादित बनेको हो । ट्रम्पले भने बारम्बार प्रतिबन्ध स्थगित गर्दै अन्ततः समाधान खोज्ने सङ्केत दिएका छन् ।

“टिकेकमा केही अन्तिम रूप दिने आशा छ”, उनले पत्रकारहरूसँग भने । सम्झौता भए टिकटकको अमेरिकी व्यवसाय अमेरिकी लगानीकर्ताहरू, धनी व्यक्तिहरू र ठूला कम्पनीहरूको स्वामित्वमा रहने उनको भनाइ छ । ट्रम्पले टिकटक एपले युवा मतदातालाई आकर्षित गरेर सन् २०२४ को चुनाव जित्न मद्दत गरेको दाबी समेत गरे ।

वाल स्ट्रिट जर्नलका अनुसार टिकटकलाई नियन्त्रण गर्न सम्भावित कन्सोर्टियममा ओरेकल र अमेरिकी लगानी कोषहरू सिल्भर लेक तथा एन्ड्रिसन होरोविट्ज सहभागी हुनेछन् ।

– व्यापार र भन्सार शुल्क –

यसैबीच, दुवै मुलुकबीच टेलिफोन वार्ता विश्वव्यापी आपूर्ति शृङ्खलामा असर गर्ने स्तरमा पुगेको भन्सार शुल्क विवादबीच भएको हो । यस वर्षको सुरुआतमा कर बढाएर तनाव चुलिएपछि वासिङ्टन र बेइजिङले लेवी घटाउने अस्थायी सम्झौता गरेका थिए । सम्झौता नोभेम्बरमा समाप्त हुँदैछ ।

हाल अमेरिकाले चिनियाँ सामानमा ३० प्रतिशत र चीनले अमेरिकी सामानमा १० प्रतिशत भन्सार शुल्क लगाएका छन् ।

– कूटनीतिक पृष्ठभूमि –

सीले हालै रुस र भारतका नेताहरूसँग शिखर सम्मेलन आयोजना गरेका थिए र उत्तर कोरियाली नेता किम जोङ उनलाई सैन्य परेडमा आमन्त्रित गरेको थियो ।

ट्रम्पले आफ्नो ट्रुथ सोसलमा सीलाई सम्बोधन गर्दै ‘कृपया पुटिन र किमलाई मेरो सम्मान दिनुहोस् किनकि तपाईंहरूले अमेरिकाविरुद्ध षड्यन्त्र गर्नुभयो’ भनेका थिए ।

साथै, उनले भारतलाई रुसी तेल खरिद गरेकामा आलोचना गर्दै दण्डात्मक भन्सार शुल्क लगाएको बताए ।

बेइजिङलाई अमेरिकाले प्रत्यक्ष प्रतिबन्ध नलगाए पनि ट्रम्पले युरोपेली मुलुकहरूलाई चीनमाथि दबाब दिन आह्वान गरे । “यदि चीनमाथि यस्तो दबाब परेको अवस्थामा युक्रेन युद्ध अन्त्य हुनसक्छ”, उनले फक्स न्युजसँग भने।

रूसद्वारा ‘क्रूज मिसाइल’ प्रक्षेपण

रूस । रूसी दुई आणविक पनडुब्बीहरूले ओखोट्स्क सागरमा जारी सैन्य अभ्यासको क्रममा सफलतापूर्वक ‘क्रूज मिसाइल’ प्रक्षेपण गरेका छन् ।
फ्लीटका अनुसार, क्रास्नोयास्र्क र ओम्स्क नामक पनडुब्बीहरूले ‘ओनिक्स’ र ‘ग्रानिट’ क्रूज मिसाइलहरू समुद्री क्षेत्रमा प्रक्षेपण गरेका थिए ।

निगरानी प्रणालीबाट प्राप्त तथ्याङ्क अनुसार, सबै मिसाइलहरूले आफ्नो लक्ष्यलाई सटीक रूपमा प्रहार गरेका थिए । प्रक्षेपणका क्रममा समुद्री सतहमार्फत परिचालित युद्धपोत तथा नौसैनिक विमानहरू प्रयोग गरी सम्पूर्ण क्षेत्रको सुरक्षा सुनिश्चित गरिएको थियो ।

उक्त अभ्यास रूसी सेनाको उत्तरपूर्वी संयुक्त कमान्डद्वारा सेप्टेम्बर १२ देखि सञ्चालनमा रहेको कमाण्ड–स्टाफ अभ्यासअन्तर्गत गरिएको हो । यो अभ्यासको मुख्य उद्देश्य उत्तरी प्रशान्त महासागरमा समुद्री मार्गहरूको सुरक्षा गर्नुका साथै कामचाट्का र चुकोटका तटीय क्षेत्रहरू तथा नजिकका टापुहरूको रक्षा सुनिश्चित गर्नु रहेको जनाइएको छ ।

प्रशान्त फ्लीटका अनुसार, यो अभ्यास रूसी नौसेनाको नियमित तालिम योजना अन्तर्गत सञ्चालित गरिएको हो ।

भाटभटेनीले कर्मचारीलाई जागिरबाट ननिकाल्ने, सबैलाई दशैं बोनस पनि दिने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोटफोड, लुटपाट र आगजनीबाट सबैभन्दा प्रभावित भाटभटेनीले कर्मचारीहरुलाई जागिरबाट ननिकाल्ने भएको छ ।

देशभरका १२ वटा स्टोर पूर्णरुपमा क्षति हुँदा भाटभटेनीलाई १० देखि १५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । तर, भाटभटेनीले भने ती स्टोरमा काम गर्ने कर्मचारीलाई कामबाट ननिकाल्ने भएको छ, भने उल्टै कर्मचारीहरुलाई दशैं बोनस समेत दिने भएको छ ।

भाटभटेकीका सञ्चालक मीनबहादुर गुरुङले ‘आफूसँग आबद्ध भएका भाइ बहिनीहरुको भविष्यका लागि लड्नुपर्ने बताउँदै काम गर्न नपाए पनि उहाँहरुको तलब दिन्छु । भदौको तलब मात्र होइन दशैं बोनस पनि पठाउँछौं ।’ उनले भने ।

आफ्ना कर्मचारीहरुलाई परिवारको सदस्य भन्दै उनले , ‘म चाहीँ दशैं मनाउने पक्षमा छैन । तर, मेरा बच्चाहरु जो मसँग आबद्ध छन् । उनीहरुले त दशैं मान्नुपर्छ नि । दशैंको बोनस पनि पाउँछन् ।’

आफू पैसा कमाउन मात्र व्यापारी नबनेको बताउँदै उनले आफ्नो दौडधुप देशकै लागि भएको बताए । ‘पैसा कमाउँ भन्नेमात्र सोच होइन, रोजगारी सिर्जना होस्, सबै जना सम्पन्न होऔं, देश बनोस् भनेर व्यापार गरेको हुँ,’ उनले थपे ।

गुरुङले ३ महिनाभित्र काठमाडौंका केही स्टोर र १० महिनाभित्रमा सबै स्टोर सञ्चालनमा ल्याउने बताए । उनले क्षतिको यकीन नभए पनि १५ अर्बसम्मको क्षति भएको हुनसक्ने अनुमान गरे ।

सुडानको युद्धलाई विश्वले बेवास्ता गरिरहेको छ : राष्ट्रसङ्घ

सुडान । सुडानमा तेस्रो वर्षमा प्रवेश गरेको गृहयुद्ध झनै क्रूर र जटिल बन्दै गएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ । यस युद्धमा सर्वसाधारणमाथि अत्यधिक प्रभाव परेको छ, जसमा हजारौंको ज्यान गइसकेको छ भने जातीय हिंसा र युद्ध अपराधहरू बढिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले उक्त प्रतिवेदन सार्वजनिक गर्दै भने,“सुडानको द्वन्द्व अहिले विश्वको नजरबाट ओझेलमा परेको छ । आशा छ, यो प्रतिवेदनले उक्त भयावह परिस्थितिमा फेरि ध्यान आकर्षित गर्नेछ, जहाँ युद्ध अपराधसहितका क्रूरताहरू भइरहेका छन् ।”

अप्रिल सन् २०२३ देखि सुडानमा नियमित सेना र अर्धसैनिक बल रेपिड सपोर्ट फोर्स(आरएसएफ) बीच सशस्त्र संघर्ष जारी छ । यो द्वन्द्वले हालसम्म दशौं हजारको ज्यान लिइसकेको छ र लाखौंलाई विस्थापित पारेको छ । संयुक्त राष्ट्रसङ्घले यसलाई विश्वकै सबैभन्दा भयावह मानवीय संकटमध्ये एक भनेको छ ।

हाल युद्धले देशलाई दुई भागमा विभाजित गरिदिएको छ । सरकारी सेनाले उत्तर, पूर्व र मध्य भूभाग नियन्त्रणमा राखेको छ भने आरएसएफले दक्षिण र पश्चिम दार्फुर क्षेत्र कब्जामा लिएको छ । दुबै पक्षबीच युद्धविरामका लागि गरिएका कूटनीतिक प्रयासहरू अहिलेसम्म असफल भएका छन् ।
प्रतिवेदनअनुसार,सन् २०२५ को पहिलो ६ महिनामा मात्र तीन हजार ३८४ जना सर्वसाधारणको मृत्यु भएको छ, जुन सन् २०२४ को कुल मृत्यु सङ्ख्याको ८० प्रतिशत हो । यसले द्वन्द्व झनै क्रूर बन्दै गएको संकेत गर्दछ ।

त्यसैगरी, यौनजन्य हिंसा, अन्धाधुन्ध आक्रमण र जातीय आधारमा प्रतिशोधी हमला भइरहेका घटनाहरू निरन्तर जारी छन् । प्रतिवेदनमा नयाँ प्रवृत्तिका रूपमा ड्रोन आक्रमणसमेत देखिएको उल्लेख छ, जसले उत्तर र पूर्वजस्ता हालसम्म सुरक्षित मानिएका क्षेत्रहरूलाई पनि असर पार्न थालेको छ ।

मानव अधिकार प्रमुख टर्कले चेतावनी दिँदै भने,“जातीय विभाजनमा आधारित द्वन्द्वले देशको दीर्घकालीन स्थिरता र सामाजिक एकतामा गम्भीर संकट ल्याउनेछ ।” साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई तुरुन्त हस्तक्षेप गरी द्वन्द्व अन्त्य गराउन आग्रह गरे।
“यदि तत्काल नागरिकको सुरक्षा र मानवीय सहायता पहुँच सुनिश्चित गरिएन भने, अझ धेरै निर्दोष मानिसले ज्यान गुमाउनेछन्,” टर्कले भने ।

स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी

काठमाडौं। जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनीका बाबजुद स्मार्ट लाइसेन्सको डेटा सुरक्षित रहेको विभागले जनाएको छ।

२३–२४ भदौमा भएको आन्दोलनका क्रममा आगजनीबाट इम्बोस्ड नम्बरका डेटा, स्मार्ट लाइसेन्स छाप्ने मेसिन, र छापिसकिएको १२ लाख थान लाइसेन्समध्ये करिब ६ लाख थान जलेर नष्ट भए। बाँकी ६ लाख थान छापिसकिएको लाइसेन्स भने सुरक्षित रहेको पाइएको छ।

शुक्रबार यातायात व्यवस्था विभागको सरसफाइ कार्यक्रममा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई कर्मचारीहरूले डेटा रिकभर गरेर सेवा सुरु गर्न सकिने जानकारी दिएका थिए। मन्त्री घिसिङले आवश्यक लाइसेन्स छाप्नका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरिने बताए।

उनले भने, “राष्ट्रिय परिचयपत्र छाप्ने मेसिनबाट पनि स्मार्ट लाइसेन्स छाप्न मिल्छ। विदेश जानेहरूले अत्यावश्यक लाइसेन्स चाहिँदा सो व्यवस्था मार्फत सेवा दिइनेछ।”

यातायात व्यवस्था विभागका अनुसार हाल २५ लाख थान स्मार्ट लाइसेन्स छापिन बाँकी छ। आवश्यक सामग्री जुटाउन तत्काल टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ।

शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट, लगाइयाे १२ वटा टाँका

काठमाडौँ । गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा निजी निवास बूढानीलकण्ठमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडिको भागमा १२ टाँका लगाएर सिलाउनुपरेको खुलेको छ।

हाल सैनिक अस्पतालमा उपचाररत देउवालाई निवासभित्र छिरेका आन्दोलनकारीले लछारपछार पार्दै आक्रमण गरेका थिए । आक्रमणका क्रममा देउवालाई पछाडिबा धारिलो हतियारले हानिएको खुलेको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार सानेपामा बसेको बैठकपछि पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यसबारे जानकारी दिएका हुन् ।

‘हामी सुरुमा अतालिएका थियौँ। उहाँहरू (देउवा र आरजु देउवा)को अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ,’ शुक्रबार पार्टी बैठकको निर्णय सुनाउने क्रममा उनले भने, ‘उहाँ (देउवा)को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ। त्यहाँ १२ वटा टाँका लगाइएको छ।निको हुँदै गएको छ।’

‘गर्धनमुनि पनि चोट लागेको छ । उपचार जारी छ । सभापति देउवा अहिले हिँडडुल गर्ने, फोन गर्ने गर्दै हुनुहुन्छ । पार्टीसँग सम्पर्कमै हुनुहुन्छ’, उनले भने, ‘तर डाक्टरको परामर्शले उहाँलाई अस्पतालमै राखिएको छ। उठ्दा चक्कर लाग्ने समस्या छ । बोल्दा गाह्रो भएको छ। डाक्टरले अझै केही दिन राखौँ भन्नु भएको छ।’

उनका अनुसार चिकित्सकले धारिलो हतियार प्रहारबाट उक्त चोट लागेको भनेको र कसले के हतियारले प्रहार गर्‍यो भन्ने अहिलेसम्म नखुलेको पनि बताए।

भदौ २४ गते भएको जेनजीको हिंसात्मक आन्दोलनमा सहभागी आन्दोलनकारीले देउवाको निवासमा आगजनी गरेका थिए। आगजनी र तोडफोड हुँदा घरमै रहेका देउवा दम्पत्तीमाथि आक्रमण भएको थियो।

आन्दोलनकारीले देउवा दम्पत्तीमाथि हातपात गरेका थिए। कुटपिटबाट देउवा दम्पत्तीको शरीर रगताम्ये भएको थियो।

सिंहदरबार परिसरबाट जलेका सवारीसाधन हटाइँदै (तस्बिरहरु)

काठमाडौँ ।  ‘जेनजी’ प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्न थालिएको छ ।

मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समन्वयमा जेनजी प्रदर्शनका क्रममा सिंहदरबारभित्र आगजनीबाट क्षति पुगेका सवारीसाधन हटाउन थालेको जानकारी दिए।

“जलेका सवारीसाधनलाई संसद् भवनमा लगेर व्यवस्थापन गर्ने र सिंहदरबारमा रङरोगन गर्न थालेका छौँ”, उनले भने, “तोडफोड भएका सवारीसाधन मर्मत भइरहेका छन् ।” ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जलेका सवारीसाधनका कारण कुरूप देखिएको भन्दै त्यसलाई हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिए ।

तस्बिर:-

चलचित्र ‘बलिदान’को ‘ट्रेलर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । चलचित्र ‘बलिदान’ को ‘ट्रेलर’ आज सार्वजनिक गरिएको छ ।

यसअघि उक्त चलचित्रको पोस्टर, प्रि–टिजर, टिजर र गीत सार्वजनिक भइसकेको छ । ट्रेलरको अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा देख्न सकिन्छ । देशभक्तिभाव झल्काउन खोजिएको उक्त चलचित्रको ट्रेलरमा कलाकार अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिने भएका छन् । मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गरेका छन् भने समीर र सौगातबीचको द्वन्द्व दृश्य विशेष रूपमा प्रस्तुत गरिएको छ ।

यसअघि सार्वजनिक गरिएको टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको संवाद र ऋचा शर्माको भावनात्मक प्रश्न समेटिएको छ । निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रका रूपमा देखिएका दृश्यले टिजरलाई थप रोचक बनाएको छ ।

चलचित्र ‘बलिदान’लाई बहुप्रतीक्षित नेपाली चलचित्रका रूपमा हेरिएको छ । निर्देशक सेनले यसअघि बलिदानलाई चलचित्र मात्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताएका थिए । यसबीचमा, चलचित्रको शीर्ष गीत ‘यो ज्यान बलिदान’ ले चर्चा बटुलिसकेको छ । सुजन चापागाईंको स्वर र सङ्गीत, हर्क साउदको शब्दमा तयार गीतले जनमानसमा चर्चा पाइरहेको छ ।

आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको छ । निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् । चलचित्र बडादसैँको फूलपातीको दिन (असोज १३ गते) प्रदर्शनमा आउने जनाइएको छ ।

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट, ६ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार भएको बम विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
विस्फोट चमन जिल्लास्थित एक ट्याक्सी स्ट्यान्डमा भएको हो, जुन पाकिस्तान–अफगानिस्तान सीमामा पर्ने क्षेत्र हो । विस्फोटपछि घाइते र मृतकलाई तत्कालै जिल्ला मुख्यालय अस्पताल लगिएको थियो ।

चमनस्थित मेडिकल इमर्जेन्सी रेस्पोन्स सेन्टर (एमइआरसी) का प्रमुख गफूर उर रहमानले शिन्ह्वालाई जानकारी दिँदै भने,“घाइतेको अवस्था अत्यन्तै गम्भीर छ ।”
विस्फोटको कारणबारे अहिलेसम्म यकिन विवरण प्राप्त नभए पनि सुरक्षा बलहरूले घटनास्थललाई घेराबन्दी गरी अनुसन्धान सुरु गरिसकेका छन् । हालसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन ।

यस घटनापछि मुलुकका शीर्ष नेताहरूले दुख प्रकट गरेका छन् । प्रधानमन्त्री शहबाज शरिफले विस्फोटको कडा निन्दा गर्दै घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, उनले दोषीहरूलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
प्रधानमन्त्री शरिफले भने,“बलुचिस्तानलाई अस्थिर पार्ने प्रयासहरू कहिल्यै सफल हुन दिने छैनौं । दोषीहरूलाई कानुनी कठघरामा उभ्याइनेछ ।”

सिंहदरबार मन्त्रालयहरुमा सरसफाई र रङरोगन गरिँदै (तस्बिरहरु)

काठमाडौँ । भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा देशकै प्रमुख प्रशासनले केन्द्र सिंहदरबार भित्रको विभिन्न मन्त्रालय र कार्यालयमा आगजनी गरियो । मन्त्रालय मात्र नभएर सयौ सवारीसाधन र भौतिक संरचनामा तोडफोड र आगजनी गरेर ध्वस्त पारिएको छ ।

आन्दोलनको एक साता पनि अहिले सिंहदरबार क्षेत्रमा आगजनी गरिएका सवारी साधन र क्षति पुगेका मन्त्रालयहरू मर्मत र रङरोगन गर्ने काम धमाधम सुरु गरिएको छ ।

तस्बिर:-

कांग्रेसले कसैलाई कार्यवाहक नदिने, देउवालाई पर्खिने

काठमाडौं । नेपाली कांग्रेसले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसमिति बैठकले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने निर्णय गरेको हो । बैठकले कार्यवाहक नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिएका छन् ।

‘आजको बैठकले अहिले कसैलाई कार्यवाहक सभापति नदिने र विशेष महाधिवेशन नबोलाउने निर्णय आजको बैठक गरेको छ’ उनले सुनाए । आजको बैठक पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो । भदौ २४ मा भएको जेनजीको आन्दोलनपछि सत्ताबाहिर पुगेको कांग्रेसको आज बसेको बैठकले कार्यवाहक र विशेष महाधिवेशनको विषयमा सभापति शेरबहादुर देउवा स्वस्थ भएर फर्किएपछि मात्रै छलफल हुने निर्णय गरेको हो ।

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका देउवा अहिले उपचाररत छन् । जेनजी आन्दोलनकारीको आक्रमणमा बूढानीलण्ठस्थित देउवाको घर पूर्णरुपमा जलेको छ भने उनी र उनकी श्रीमती आरजु राणा देउवा पनि घाइते छिन् । जेनजी आन्दोलनकारीले कांग्रेस केन्द्रीय कार्यालय पनि तोडफोड र आगजनी गरेका थिए । आजको बैठक उक्त आगजनी र तोडफोड भएकै कार्यालयमा बसेको हो ।

सङ्घीयताताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर

भोजपुर । गणतन्त्र स्थापनापछि जारी भएको संविधान २०७२ ले देशलाई सङ्घीयता संरचनामा लैजाँदा भोजपुरको विकासमा उल्लेखनीय गति आएको छ । सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार सञ्चालनमा आएपछि जनताको हक र अधिकार सुनिश्चितासँगै जिल्लामा नमूनायोग्य विकासको थालनी भएको छ ।

संविधानले अवलम्बन गरेको सङ्घीय ढाँचाअनुसार भोजपुरमा हाल दुई नगरपालिका र सात गाउँपालिका गरी नौवटा स्थानीय सरकार सञ्चालनमा छन् । यी तहहरूको आपसी साझेदारी र समन्वयमा जिल्लाका ग्रामिण बस्तीहरूसम्म सडक सञ्जाल विस्तार हुनाका साथै योजनाबद्ध पूर्वाधार विकासले तीव्रता पाएको देखिन्छ ।

सङ्घीयता कार्यान्वयन हुनुअघि सम्म भोजपुरमा जम्मा चारवटा मात्र पक्की पुल थिए भने २०७५ सालमा पूर्वाधार विकास कार्यालय स्थापना भइसकेपछि १३ वटा पक्की पुल निर्माण भई सञ्चालनमा आएका छन् । थप दुईवटा पक्की पुल र एकवटा सडक निर्माण तयारी रहेका छन् । पूर्वाधार विकास कार्यालयका अनुसार जिल्लामा झन्डै १०५ किलोमिटर कालोपत्र सडक निर्माणाधीन छभने दर्जनौँ सडक स्तरोन्नति भइसकेका छन् । सङ्घीयताता लागू भएपछि विशेषगरी सडक र पुल निर्माणका कामहरू तीव्र गतिमा अघि बढेका छन् ।

गत आर्थिक वर्षमा मात्रै पाँचवटा पुलमध्ये चारवटा पक्की र एकवटा झोलुङ्गे पुल निर्माणसम्पन्न भएका छन् । कोशी प्रदेश सरकारको लगानीमा अरुण नदीको लम्सुवाघाटमा तीनपाङ्ग्रे सवारीसाधन गुड्न सक्ने पुल निर्माणसम्पन्न भइसकेको छ । हालसम्म भोजपुरमा १७ वटा झोलुङ्गे पुल सञ्चालनमा आइसकेका छन् । प्रदेश सरकार मातहतका मुख्य बहुवर्षीय आयोजनाहरुमा भोजपुर–टक्सार–मानेभञ्ज्याङ–बासिखोरा–बालाङ्खा रानीटार २० किलोमिटर दुई प्याकेज सडक, षडानन्द १२–तुर्के पुल, झ्याउपोखरी, साम्पाङ फाली दोबाटो २० किलोमिटर सडक, भोजपुर दिंला भोजपुर तीनतले खण्ड १७ दशमलव पाँच किलोमिटर सडक, भोजपुर दिङ्ला तीनतले दिङ्ला १६ किलोमिटर सडक र ५२ दशमलव ६ मिटर लम्बाइको तामुटार मोटरेबल पुल ठूला निर्माणाधीन हुन् ।

अरबौ लगानीमा निर्माण भइरहेका यी योजनासम्पन्न भएपछि भोजपुरको विकासले फड्को मार्नेछ । भोजपुर–टक्सार–मानेभञ्ज्याङ–बासिखोरा–बालाङ्खा रानीटार सडक पहिलो प्याकेजको काम रु २८ करोड ७० लाख ४८ हजार ८१४ र यही सडकको दोस्रो खण्डको काम रु २५ करोड ६९ लाख ३० हजारमा कालोपत्र गर्नेगरी निर्माण भइरहेका छन् ।

त्यस्तै भोजपुर दिंला तीनतले पहिलो खण्ड रु ५८ करोड ४० लाख १५ हजार ५६१ र दोस्रो खण्ड भोजपुर दिङ्ला तीनतले दिङ्ला सडक रु ६३ करोड ९२ लाख ६२ हजार ७६१ लागतमा निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए । तामुटार मोटरेबल पुल रु ६३ करोड ३५ लाख दुई हजार ५२६ र षडानन्द १२–तुर्के पुल, झ्याउपोखरी, साम्पाङ फाली दोबाटो सडक रु ५१ करोड ६२ लाख लागतमा निर्माण भइरहेको छ ।

प्रदेश सरकारको लगानीमा भोजपुर सदरमुकाम–टक्सार विमानस्थलसम्मको करिब साढे चार किलोमिटर कालोपत्र रु १६ करोड ९२ लाख लागतमा निर्माणसम्पन्न भएर सञ्चालनमा आएको छ । यो कोशी प्रदेश सरकार सञ्चालनमा भएपछि आस्फाल्ड प्रविधिमा निर्माण गरिएको पहिलो सडक पनि हो । देशमा नयाँ संविधान जारी भएर अधिकारहरु पत्यायोजन गरिएपछि जनताले महसुस गर्ने खालको विकास भइरहेको यशोधरा माध्यमिक विद्यालय टक्सारका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताए । जनताको दैनिक जनजीवनसँगै जिल्लाको विकासले गति लिएको उनको भनाइ छ । स्थानीय तहमा जनशक्ति व्यवस्थापनमा भने राज्यले ध्यान दिनुपर्ने रेग्मीले बताए । स्थानीय तहलाई शिक्षासम्बन्धी अधिकार रहेकोले शैक्षिक क्षेत्रको सुधारमा सहजता भएको उनको भनाइ छ ।

संविधानको मर्मअनुसार देश सङ्घीयता संरचनामा गएपछि भोजपुरमा विकासले गति लिएको छ । सडक विस्तारसँगै आवश्यक पूर्वाधारका संरचना निर्माण भएपछि ग्रामीण क्षेत्रमा आर्थिक उन्नतिको पाटोसमेत मजबुत बनेको स्थानीयवासी बताउँछन् । जनताले विकासको अनुभूति गर्न पाएका छन् । सानो कामका लागि काठमाडौँ जानुपर्ने अवस्थाबाट मुक्त भएर घरदैलोको सरकारबाट सेवा लिने अवस्था रहेकामा उनीहरु खुसी देखिन्छन् ।

भोजपुरमा खानेपानीको समस्या समाधानका लागि विभिन्न ठूला खानेपानी आयोजना सञ्चालन भइरहेका छन् । यहाँ साना ठूला तथा नयाँ पुराना गरी करिब १२९ ओटा खानेपानीको योजना सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताए । भोजपुर नगरपालिका–७ कोदारमा रहेको अन्तरराष्ट्रियस्तरको भोजपुर रङ्गशाला निर्माण गरिएको छ । यो रङ्गशाला कोशी प्रदेश सरकारको करिब रु १४ करोड पाँच लाख लागतमा निर्माण गरिएको हो । रङ्गशालामा करिब पाँच हजार दर्शक क्षमताको छ ।

भोजपुरमा २०६५ सालमा कच्ची सडक विस्तारपछि हेलिकप्टरबाट जिप ल्याएर सवारीसाधनको सञ्चालन गरिएको अवस्थामा गणतन्त्र स्थापनापश्चात् भोजपुरको विकासले गति लिएको समाजसेवी गणेश श्रेष्ठले बताए । देश सङ्घीयता संचरनामा गएपछि भोजपुरमा विकासले गतिलिएको उनको भनाइ छ । स्थानीय सरकार सञ्चालनपछि धेरै दूरगामी महत्व बोकेका योजनाहरु सञ्चालन भइरहेको श्रेष्ठले बताए । जिल्लामा अहिले सडक, पुल, खानेपानी, कृषि पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रमा स्थानीयवासीले महसुस गर्ने खालको विकास भएको उनको भनाइ छ ।

संविधान जारी भएसँगै नयाँ संरचना बनेपछि यहाँ नमूनायोग्य विकास भएका छ । ठूला कालोपत्र सडक, पुलसँगै भौतिक संरचनाहरु निर्माण भइरहेका छन् । यसले नागरिकको जनजीवनमा प्रत्यक्ष लाभ पुगेको छ । विकासले गति लिए पनि सङ्घीयताताको महत्व र आवश्यकताको विषयमा भने जनतालाई बुझाउन आवश्यकता छ । स्थानीय सरकार सञ्चालनमा आएपछि सबै ८१ वटै वडामा कच्ची नै भए पनि सडक विस्तार भएको छ । विस्तार भएका सडकलाई क्रमागत रुपमा स्तरोउन्नति गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ ।

स्थानीय सरकारले पनि भोजपुरमा सडक पूर्वाधारसँगै पर्यटकीय क्षेत्रमा समेत नमूनायोग्य कामहरु गरिरहेका छन् । सीमित स्रोतको अधिकतम् सदुयोग गर्दै स्थानीय तहहरुले प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा दीर्घकालीन महत्वका योजनाहरुको थालनी गरेको अवस्था छ । यहाँको पौवादुङमा गाउँपालिकाले आफ्नो स्रोत, प्रदेश तथा सङ्घ सरकारसँगको सहकार्यमा तिवारीभञ्याङ–अधेँरीघाट ३६ किलोमिटर सडक कालोपत्र थालेको छ । यो सडक कालोपत्रको काम बर्सेनि भइरहेको छ ।

सुक्खा क्षेत्रका रुपमा परिचित यो गाउँपालिकाले कृषि क्षेत्रमा गरेको लगानीले अकबरे खुर्सानीबाट मात्र वार्षिक रु १८ करोडसम्म भित्रने गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । कृषकलाई दुग्ध उत्पादनसँग जोड्न गत आर्थिक वर्षमा करिब २०० वटा उन्नत जातका गाईका बाछी वितरणको कार्यक्रम अघि सारेको उनको भनाइ छ ।

स्थानीय तहहरुले आफ्नो ठाउँका पर्यटकीय क्षेत्रको पहिचान गरेर संरक्षण तथा विकासका लागि काम गरिरहेका छन् । नेपाल सरकारको सय घुम्नै पर्ने पर्यटकीय गन्तव्यमा पर्न सफल मुन्दुम पदमार्गको विकासमा टेम्केमैयुङ गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको छ । भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्लाका स्थानीय तहहरुलाई छोएको यो पदमार्गको विकासमा प्रदेश सरकार, केन्द्र सरकार, स्विस सरकार र भोजपुरका स्थानीय तहसँगै अन्य जिल्लाका स्थानीय तहहरुले पनि आवश्यक भूमिका खेलिरहेका छन् । यो पदमार्गलाई पूर्वको स्थापित पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ विकास तथा विस्तारमा योजनाबद्ध रुपमा काम भइरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

यहाँको रामप्रसाद राई गाउँपालिकाले डाग्बुङ (गुराँस) पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रुपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ(गुराँस) पदमार्ग निर्माण गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । हतुवागढी गाउँपालिकाले पनि जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएको हो । विभिन्न आर्थिक वर्षमा यो पदमार्ग निर्माणका लागि प्रदेश सरकारसँगको सहकार्यमा करिब रु तीन करोड हाराहारी लगानी भइसकेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । क्रमागत रुपमा यो पदमार्गको विकास तथा विस्तारको काम भइरहेको उनको भनाइ छ ।

संविधान जारी भएको दस वर्षको अवधिमा भोजपुरको विकासमा नयाँ आयाम थपिएको भोजपुर बहुमुखी क्याम्पसका उप–प्राध्यापक तथा अधिवक्ता उत्तमसिंह राईले बताए । यो पछिल्लो अवधिमा भोजपुरले चमत्कारिक उपलब्धि हासिल गरेको उनको भनाइ छ । विद्युतीकरणमा पनि जिल्लाले गति लिएको उनको भनाइ छ । स्थानीय तहमा प्रशासनिक भवनसँगै वडास्तरमा समेत आवश्यक संरचना निर्माण भएको उनले बताए । गाउँका दूरदराजसम्म देखिने र महसुस गर्न सक्ने विकास रहेको उनको भनाइ छ । सङ्घीयता लागू भएपछि स्थानीय तहको स्थापनासँगै जनताले आफ्नै घरदैलोबाट सेवा पाउन थालेका छन् । सङ्घीयताले जनतामा सुशासनसँगै सहज र सरल अभ्यासको थालनी भएको महसुस हुन थालेको छ ।

संसद् पुनर्स्थापना प्रमुख मुद्दा बनाउनु पर्छ : कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले संसद् पुनर्स्थापनाको मागलाई प्रमुख मुद्दा बनाएर जानुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकमा नेता सिटौलाले संसद् विघटन असंवैधानिक रहेकाले त्यसलाई प्रमुख मुद्दा बनाउनु पर्ने धारणा राखेका हुन् ।

सिटौलाले पार्टी बैठकमा राखेको धारणा उदृत गर्दै सहभागी एक नेताले भने, ‘संसद् विघटन संविधान अनुसार छैन । संसद् विघटनलाई पार्टीले असंवैधानिक भनिसकेपछि ससद् पुनर्स्थापना हाम्रो प्रमुख माग हुनुपर्छ ।’ उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले पछिल्लो घटनाक्रमबारे अन्य दलसँग पनि संवाद गर्ने निर्णय गरेको छ । बैठकमा केन्द्रीय समिति बैठक छिट्टै बोलाउनेबारे पनि छलफल भएको छ ।

युवा पुस्ताको सीप र ज्ञान सदुपयोग गरी समृद्धिको यात्रामा लाग्न पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवयुवा र युवाहरुमा रहेको जाँगर, ऊर्जा, सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा जोड दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताएकी छिन् ।

संविधान दिवसको अवसरमा आज शुभकामना दिदैँ पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदान फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरुप संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको उल्लेख छ ।

यस अवसरमा पूर्वराष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलिसमेत अर्पण गरेकी छिन् । साथै गत भदौ २३ गते नयाँ पुस्ताका युवा विद्यार्थीहरुले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाको माग रोखर गरेको प्रदर्शनका क्रममा अमूल्य जीवन गुमाउने युवाहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् ।

“अब देश हाँक्ने जिम्मेवारी नवयुवा र युवा पुस्तासँग रहेको छ । युवाहरुमा रहेको जाँगर, ऊर्जा, सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा लगाउनु अहिलेको आवश्यकता हो । युवाहरुको माग, दबाव र स्वाभाविक आक्रोशलाई सकारात्मक रुपमा ग्रहण गरी स्वयं युवा, देश र जनताको हितमा सदुपयोग गर्न सक्नु सबैको दायित्व हो”, पूर्वराष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख छ ।

मुलुकलाई राजनीतिक अस्थिरता र अन्यौलतातर्फ धकेलिन नदिनका लागि मिहेनत गर्नुपर्ने उत्तिकै जिम्मेवारी राजनीतिक दलहरुको पनि रहेको उल्लेख गर्दै उनले देशको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता अटल राख्न सबै जिम्मेवार पक्षहरुको परिस्थितिको सूक्ष्म विश्लेषण पक्षपोषक र राष्ट्रियता प्रवद्र्धक भएकाले जस्तोसुकै कठिन परिस्थितिमा पनि सही निर्णय लिन चुक्नु हुँदैन भनेकी छिन् ।

वर्तमान परिस्थितिमा दलहरु बीचको आपसी प्रतिस्पर्धालाई थाती राख्दै, मनोमालिन्यता र तीक्ततालाई हटाएर संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक ढिक्का बन्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीले जोड दिएकी छिन् ।

जापानको मुख्य उपभोक्ता मूल्य २.७ प्रतिशतले बढ्यो

जापान । जापानको उपभोक्ता मूल्य सूचकाङ्क (मूल्य वृद्धिको दर)अगस्ट महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.७ प्रतिशतले वृद्धि भएको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।

यो वृद्धिदर लगातार तेस्रो महिना घट्दो क्रममा रहेको देखिन्छ । यसअघि अगस्त महिनामा मूल्यवृद्धि ३.१ प्रतिशत थियो । उर्जा लागतमा आएको कमीका कारण मूल्य वृद्धिको गति केही सुस्तिएको हो ।

यो वृद्धिदर जापानको केन्द्रीय बैङ्कले तोकेको दुई प्रतिशतको लक्ष्यभन्दा माथि भए पनि पछिल्ला नौ महिनामध्ये सबैभन्दा कम हो ।

ताजा खाद्यान्न र इन्धन दुबैलाई हटाएर गरिएको गणनामा मूल्य ३ दशमलव ३ प्रतिशतले बढेको देखिएको छ, जुन अघिल्लो महिनाको ३ दशमलव ४ प्रतिशतभन्दा केही कम हो ।

ताजा वस्तुहरूबाहेक खाद्यान्नको मूल्य ८.० प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको ८.३ प्रतिशतभन्दा थोरै कम हो । उता, इन्धनको मूल्य भने ३.३ प्रतिशतले घटेको छ, जुन अगस्त महिनामा देखिएको ०.३ प्रतिशतको गिरावटभन्दा बढी हो ।

बोली फेर्दै मुख्यमन्त्रीले भने–संविधान र संघीयता बचाउन राजीनामा दिन्नँ

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान र संघीयता बचाउन आफूले राजीनामा नदिने अडान लिएका छन् । संविधान दिवसको अवसरमा मधेस सरकारले आयोजना गरेको कार्यक्रममा संचारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान बचाउन वर्तमान राष्ट्रपतिसँग भइरहेको बहस जस्तै भविष्यमा आफ्नो मूल्याङ्कन पनि हुने बताए ।

मुख्यमन्त्री सिंहले भने कि उनले संघीयता र संविधानको रक्षाका लागि राजीनामा नदिएको र प्रदेश सभामा गएर बहुमत साबित गर्ने योजना रहेको छ । सिंहले वर्तमान अवस्थामा सरकार फेरबदलको औचित्य नभएको बताउँदै सबै दल एक भएर संघीयता जोगाउनुपर्ने आवश्यकता रहेको पनि औँल्याए । उनले केही व्यक्तिको दबाबमा आएर पार्टीले आफूलाई स्पष्टीकरण सोध्ने र निष्कासनसम्मको प्रक्रिया अघि बढाएको प्रष्ट पारे ।

मुख्यमन्त्री सिंहले अन्य दलहरूले युवा पुस्ताको आन्दोलन सुरु भएपछि सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिन सक्ने बताएका भए पनि, अहिलेको समयमा राजीनामा दिए संविधानमाथि नकारात्मक प्रभाव पर्न सक्ने र जनतामा गलत सन्देश जाने भएकाले उनले राजीनामा दिनबाट पछि हटेको बताएका छन् ।

हेर्नु मुख्यमन्त्री सिंहको भनाइ
यो संविधन निर्माणको क्रममा निरन्तर लागिरहने नेपालका राजनीतिक दलहरू योगदानलाई समेत सम्मान व्यक्त गर्न चाहन्छु । लामो संघर्ष र प्रयासबाट निर्माण गरिएको नेपाली जनताको साझा दस्तावेजको रुपमा रहेको नेपालको संविधानलाई मानिएको छ । संविधानमा केन्द्रिकृत शासन व्यवस्थाको अन्त्य गरी तीन तहको शासन व्यवस्थाको परिकल्पना गरेको छ । यसले प्राकृतिक स्रोतसाधन, कृषि, वन लगायतको अधिकतम् सदुपयोग गरी उत्पादनमुखी जनशक्ति निर्माण गर्नुपर्ने बाटोमा स्थिति रहेको छ। संविधानमा गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी लाई समेत नागरिकको मौलिक हकको रुपमा उल्लेख गरिएको छ ।

यो संविधन निर्माणको क्रममा निरन्तर लागिरहने नेपालका राजनीतिक दलहरू योगदानलाई समेत सम्मान व्यक्त गर्न चाहन्छु । लामो संघर्ष र प्रयासबाट निर्माण गरिएको नेपाली जनताको साझा दस्तावेजको रुपमा रहेको नेपालको संविधानलाई मानिएको छ । संविधानमा केन्द्रिकृत शासन व्यवस्थाको अन्त्य गरी तीन तहको शासन व्यवस्थाको परिकल्पना गरेको छ । यसले प्राकृतिक स्रोतसाधन, कृषि, वन लगायतको अधिकतम् सदुपयोग गरी उत्पादनमुखी जनशक्ति निर्माण गर्नुपर्ने बाटोमा स्थिति रहेको छ ।

संविधानमा गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी लाई समेत नागरिकको मौलिक हकको रुपमा उल्लेख गरिएको छ । एकपटक संविधान निर्माण भएपछि संशोधनमार्फत त्यसलाई परिमार्जन गर्ने काम गरिन्छ। र आज देशमा संविधान नै उल्ट्याउने र देशलाई संकटको भुमरिमा धकेल्ने प्रवृत्ति सक्रिय भएको छ। मुलुकमा सिर्जित परिस्थितिको विद्यमान संविधानकै अधिन रहेर निकास दिनुपर्छ।

 

कांग्रेस कार्य सम्पादन समिति वैठकको निष्कर्ष : संसद विघटन असंवैधानिक

काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको वैठकले संसद विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ । साथै केन्द्रीय समिति बैठक दशैं अघि नै बोलाउने निर्णय समेत गरेको छ । २३ र २४ भदौमा भएको जेनजीको आन्दोलनपछि पहिलो पटक औपचारिक बैठक बसिरहेको हो ।

प्रदर्शनकारीले आगजनी गरेका कारण कांग्रेस केन्द्रीय कार्यालय क्षतिग्रस्त बनेको छ । क्षतिग्रस्त कार्यालयमा पहिलोपटक आज उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसेको हो । आन्दोलनपछि कार्यसम्पादन समितिको बैठक एकपटक भर्चुअल बसेको थियो । सभापति शेरबहादुर देउवा दम्पतीमाथि आन्दोलनका क्रममा कुटपिट भएको थियो । देउवा दम्पती अहिले उपचारमा छन् । आन्दोलनका क्रममा कांग्रेसका अधिकांश शीर्ष नेताहरूको घरमा समेत क्षति पु¥याइएको छ ।

शेयर बजारमा नकारात्मक ‘सर्किट’, अर्थमन्त्रीले बनाए अध्ययन कार्यदल

काठमाडौं । जेन–जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजार बिहीबार तीन पटकसम्म लगातार नकारात्मक सर्किट लाग्यो । बिहीबार नेगेटिभ सर्किट लाग्दै शेयर बजार स्थगित भएसँगै अर्थमन्त्री रामेश्वर खनाल ‘एक्सन’ मा उत्रिएका छन् । नेपाल धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा शेयर बजारका समस्या अध्ययन गर्न कार्यदल गठन गरिएको हो ।

जसको सदस्यहरूमा नेपाल राष्ट्र बैंकको निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फूँयाल र सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् । यस कार्यदलले पुँजी बजारमा विकसित तथा समस्याको अध्ययन गरी आम तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको लागि सुझाव र ठोस कार्यान्वयन कार्य योजना पेश गर्नेछ । यस्तो सुझाव तथा योजना पाँच दिनभित्र प्रस्तुत गर्न समेत अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।

बस र ट्रक एकआपसमा ठोक्किँदा ९ जनाको मृत्यु, १६ जना घाइते

तन्जानिया । तन्जानियाको मध्य भागस्थित डोडोमा क्षेत्रमा बिहीबार बिहान भएको एक सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने सो दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये चार जना विद्यार्थी रहेको पुष्टि भएको छ ।

डोडोमा क्षेत्रीय प्रहरी कमाण्डर गालुस ह्येराका अनुसार दुर्घटना चेम्बा जिल्लाको न्यासा क्याम्प क्षेत्रमा स्थानीय समय अनुसार बिहान ६ः४० बजे भएको हो ।

“प्रारम्भिक अनुसन्धान अनुसार ट्रक चालकले आफ्नो लेन छोडेर बसतर्फ सिधै ठोक्किएको देखिन्छ,” ह्येराले बताए ।
“दुर्घटनामा बसको अगाडिदेखि पछाडिसम्मको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।”

बस चालकको घटनास्थलमै ज्यान गएको थियो भने ट्रक चालक घाइते अवस्थामा डोडोमा क्षेत्रीय रेफरल अस्पतालमा भर्ना गरिएको छ ।

डोडोमा क्षेत्रीय आयुक्त रोस्मेरी सेन्यामुलेले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै जनाइन् कि पाँच जनाको मृत्यु घटनास्थलमै भएको थियो भने बाँकी चार जनाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गुमाएका हुन् ।

बलिदान गरेर आएका दलहरुलाई निषेध गर्ने कुरा स्वीकार्य हुन सक्दैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरुलाई निषेध गर्ने कुरा स्वीकार्य हुन नसक्ने बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (शुक्रवार) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा राजनीतिक दलहरुलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न नसकिने बताएका हुन् ।

‘लोकतन्त्रमा राजनीतिक दलहरुलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न सक्दैन। कुनै राजनीतिक दलका नीतिहरु मन परेनन् भने नयाँ राजनीतिक दलहरु खोल्न मिल्दछ । तर जनताका लागि आफ्ना नीति र योजना, कार्यक्रम अघि बढाइरहेका र बलिदानीपूर्ण गरेका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुन सक्दैन,’ उनले भने ।

उनले संविधानले नेतृत्वमा रहेका राजनीतिक दलहरूले मात्रै एकाधिकार प्राप्त गर्दछन् भन्ने कुरा परिकल्पना नगरेको पनि बताए । ‘नीतिमा प्रतिष्पर्धा लोकतन्त्रको विशेषता हो । त्यस अर्थमा नेकपा एमालेले अघि सारेको भन्दा राम्रो नीति कसैले ल्याउन सक्छ भने ल्याउनका लागि संविधानले बाटो छेकेको छैन । नेपाली काँग्रेसले अघि सारेको नीति भन्दा राम्रो नीति ल्याउने सामथ्र्य कसैको छ भने संविधानले त्यो अधिकार कसैलाई रोकेको छैन,’ उनले भने ।
महासचिव पोखरेलले नव युवाहरुको आन्दोलनका नाममा मिसाउन खोजिएको षड्यन्त्र लोकतन्त्रलाई कमजोर पार्ने काम भएको बताए ।

सिङ्गापुर विश्वकै सुरक्षित देश

‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ सन् २०२४ मा सिङ्गापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको छ । सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२ पटक प्राप्त गरिसकेको हो ।

सर्वेक्षण अनुसार, सन् २०२४ मा ९८ प्रतिशत सिङ्गापुरवासीहरूले राति एक्लै हिँड्दा आफूलाई सुरक्षित महसुस हुने बताँएका छन् । यो दर ग्यालपले विश्वभर सङ्कलन गरेका तथ्यांकहरूमध्ये उच्चतममा पर्दछ ।

पुरुष र महिलाबीच पनि सुरक्षा अनुभूतिको स्तर झन्डै बराबर देखिएको छ । साथै, ९८ प्रतिशत पुरुष र ९७ प्रतिशत महिलाले राति एक्लै हिँड्दा आँफू सुरक्षित महसुस भएको बताएका छन् ।

प्रतिवेदनमा सिङ्गापुरको यो सफलताको कारणको रूपमा न्यून अपराध दर, प्रभावकारी कानुन कार्यान्वयन र कडाइका साथ पालन गरिने सार्वजनिक अनुशासनलाई उल्लेख गरिएको छ ।

तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै

दोधारा चाँदनी(कञ्चनपुर) । बाढीका कारण दोधारा–चाँदनीको कुतियाकवरको डेढ बिघा खेतीयोग्य जग्गा कटान भएको छ । दोधारा–चाँदनी नगरपालिका–१० स्थित पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर जोगबुढा नदी र महाकाली नदीको चपेटामा पर्दै आएको छ ।

दक्षिणमा भारतसँग सीमाना जोडिएको यो बस्तीमा महाकाली नदीको लगातारको कटानले ठूलो क्षति गरेको दोधारा–चाँदनी–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार महाकाली नदीले अहिले पनि कुतियाकवरको खेतीयोग्य जग्गामा कटान भइरहेकोे छ ।

“महाकाली नदी र जोगबुढा नदी दुवैले कुतियाकवरको डेढ बिघा जग्गा कटान गरिसकेको छ”, वडाध्यक्ष सिंहले भने, “उक्त स्थानमा ७०० मिटर तटबन्ध बनाउन बहुवर्षीय ठेक्का लागे पनि नदीमा पानी बढेका कारण तटबन्ध निर्माण हुन सकेन ।” स्थानीयका अनुसार नदीको निरन्तरको कटानले कुतियाकवरमा आठ परिवारको जग्गा कटान भएको छ ।

“बाढीले दैनिक जमिन नदीमा समाहित भइरहेको छ”, स्थानीय खडक बुढाले भने, “बाढी आउनेबित्तिक्कै कटान सुरु हुन्छ ।” उनका अनुसार महाकाली नदी घरसम्म पुग्न अब ५० मिटर मात्रै बाँकी छ । स्थानीय नैनसिंह सुनारको घर जोखिममा परेको छ । आठ परिवारको खेतीयोग्य जग्गासमेत बगरमा परिणत भएको उनले बताए। जोगबुढा र महाकाली नदी दुवैको कटानले बस्ती साँघुरिँदै गएको छ ।

स्थानीयले बस्ती जोगाउन सरकारसँग पटकपटक आग्रह गरे पनि कटान रोक्न तटबन्ध निर्माण हुन नसकेको स्थानीय टेकबहादुर सुनार बताँउछन् । डुबान र कटानकै कारण यहाँबाट धेरै परिवार बसाइँ सरेर अन्यत्र गइसकेका छन् । “बाढीले कटान गरेपछि महाकाली नदी बस्ती छेउमा पुगिसकको छ सरकारले यहाँ तटबन्ध निर्माण गर्न नसक्दा बस्ती साँघुरिँदै गएको छ”, उनले भने, “नदीले बर्सेनी खेतीयोग्य जमिन कटान गर्दै आएको छ, बस्ती नै नदीमा समाहित हुने चिन्ता छ ।”

विसं २०२२ देखि बसोबास रहेको यो बस्तीमा १५० परिवारको बसोबास थियो । महाकाली र जोगबुढा नदीको बाढी बस्ती पस्न थालेपछि यहाँबाट १०० घरपरिवार विस्थापित भएका छन् । बाढीबाट कुतियाकवर बस्ती जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माणको काम सुरु गरेको थियो । तर ढिलोगरी ठेक्का सुरु भएको र नदीमा पानीको मात्रा बढेपछि निर्माण व्यवसायीले काम गर्न नसक्दा निर्माण कार्यले पूर्णता पाउन सकेन । तटबन्ध निर्माणका लागि कार्यालयले २०८१ चैत २५ गते रु पाँच करोड १६ लाखमा शङ्कर कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध २०८२ चैत २५ भित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

के क्याप्टेन विजय लामा मन्त्री बन्न लागेका हुन् ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरराजनीतिक दलहरुबाट मन्त्री नियुक्त गर्ने बताइसकेकी छन् । उनले अहिलेसम्म तीन मन्त्री नियुक्त गरिसकेकी छन् । ११ सदस्यीय मन्मिण्डल बनाउने बताउँदै आएकी प्रधानमन्त्री कार्कीको मन्मिण्डलमा अब को–को मन्त्री बन्लान् भन्ने चासोको विषय बनेको छ ।

गैर राजनीतिकबाट डा. सन्दुक रुइत र संविधानविद भीमार्जुन आचार्यले मन्त्री बन्न अस्वीकार गरेका छन् । यसैबीच अहिले क्याप्टेन विजय लामाको नाम पनि मन्त्रीमा चर्चा भइरहेको छ । नेपाल वायुसेवा निगमका क्याप्टेन लामाको नाम सम्भावित पर्यटनमन्त्रीका रूपमा चर्चा भइरहेको छ ।

लामा निकट स्रोतले पनि पर्यटनमन्त्री बन्न अफर आएको जनाएको छ । तर उनले निर्णय लिइनसकेको स्रोतको भनाइ छ । ‘प्रस्ताव आएको हो, उहाँ आन्तरिक छलफल गर्दै हुनुहुन्छ । निष्कर्षमा पुगिसक्नु भएको छैन,’ स्रोतले सुनायो ।सरकार निकट स्रोतले भने लामालाई मन्त्री बन्न अफर गरिएको विषयमा अनभिज्ञता प्रकट गरेको छ । ‘अहिले धेरै व्यक्तिहरू मन्त्री बन्नका लागि संवादमा हुनुहुन्छ । प्रधानमन्त्री र मन्त्रीहरूलाई सयौँ नामहरू आइरहेका छन् । उहाँको पनि नाम आएको हुन सक्छ ।’

लामा आउँदो आमनिर्वाचनमा उम्मेदवारी दिन समेत इच्छुक छन् । उनी ८४ सालको चुनावमा रास्वपाबाट उम्मेदवारी दिने योजनामा रहेको बताइन्छ । तर, यसै वर्ष मध्यावधि चुनाव हुने भएपछि त्यसको तयारीमा अहिल्यैबाट जुट्नुपर्ने भएको छ । मन्त्री बन्न जाँदा आफ्नो चुनावी योजनामा धक्का पुग्ने हो कि भन्ने चिन्ता उनलाई रहेको स्रोतले बताउँछ । नेपाल वायुसेवा निगममा लामाको कार्यविधि अब धेरै बाँकी छैनन् । त्यसैले उनी अब राजनीतिमा हाम्फाल्न चाहन्छन् । केही समयदेखि रास्वपासँग अनौपचारिक संवादमा रहेका थिए । अहिले पनि उनको पहिलो प्राथमिकतामा रास्वपा रहेको स्रोतको भनाइ छ ।

‘देश परिवर्तन भएको हेर्न चाहन्छौँ’

भक्तपुर । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते गोली लागेर मृत्यु भएका भक्तपुर निवासी सहिदका परिवारको आँखा अझै ओभाएका छैनन् ।
छोरा सहिद भएको ११ दिन बित्दा पनि सहिद परिवारमा शोकको कुनै मूल्य नभएको बताउँदै सहिद परिवार भन्छन्, “उनीहरुको सपनाअनुसार देश परिवर्तन भएको हेर्न चाहन्छौँ ।” चाँगुनारायण नगरपालिका–२ दुवाकोट सोमथली निवासी २१ वर्षीय अभिषेक चौलागाई २४ गते आन्दोलनकै क्रममा संसद् भवन परिसरमा गोली लागेर मृत्यु भएको थियो ।
दोलखा जिल्ला सैलुङ गाउँपालिका स्थायी घर भई भक्तपुर–दुवाकोटमा सानो घर बनाएर बस्दै आएका अभिषेकका पिता भने नेपाल प्रहरीमा कार्यरत छन् । गत भदौ २३ र २४ गते अभिषेकका बुबा दिनेश भने भक्तपुरस्थित सल्लाघारीमा प्रहरीको ‘ड्यिुटी’मै थिए।
गत भदौ २४ गते सादा पोसाकमा ‘ड्यिुटी’मा खटिनुभएका दिनेशले छोरालाई आन्दोलनमा नजान भनेका थिए। उनी भन्छन्, “११ः१५ बजेसम्म म घरमै छु भन्थ्यो, अघिल्लो दिन आन्दोलनमा गए पनि २४ गते नजान भनेको थिएँ, देश भ्रष्टाचारले डुब्यो, परिवर्तन गर्नु छ भन्थ्यो, कतिखेर बानेश्वर पुगेछ, संसद् भवनमै छातीमा गोली लागेर करिब बेलुका ६ः३० बजेतिर मृत्यु भइसकेछ ।”
“रातभरि छोरा घरमा आएन, फोन लाग्दैन । आमाबुबालाई निकै सास्ती भयो । भदौ २५ गते अपराह्न अस्पतालमा शव भएको खबर आउँदा परिवारमा कसैको होस रहेन । बूढेसकालको एक मात्र साहारा, परिवारको आडभरोसा । २१ वर्षको एक मात्र छोरा गुमाउँदाको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ”, उनी भन्छन् ।
त्रिचन्द्र क्याम्पसमा होटल म्यानेजमेन्टमा स्नातक पढ्दै गरेका अभिषेकले परिवारको मञ्जुरीबिना नै आन्दोलनमा सहभागी हुँदा फोनमा भनेको कुरा भक्कानिँदै आमा रीता भन्छीन्, “देशका लागि केही गर्नेबेला आएको छ, देश परिवर्तनका लागि मर्नु परे पनि मर्छु, म आन्दोलनमा छुँ, चिन्ता नलिनु, आमा । अरू बेलामा पनि म विदेश जान्न, देशमै केही गर्छु भन्थ्यो, देशकै लागि जन्मेको रैछ, देशकै लागि गयो ।”
कक्षा १० पढ्दै गरेकी १५ वर्षीय एलिशालाई पनि दाजु गुमाउँदाको पीडाले छाडेको छैन । प्रहरीमा कार्यरत दिनेश भन्नुहुन्छ, “ऊ देशका लागि सहिद भयो, देश परिवर्तन भएको हेर्न चाहन्थ्यो, भ्रष्टाचार निर्मूल भएको हेर्न चाहन्थ्यो, यति भए उनीहरुले न्याय पाउँथे ।” भतिजको किरिया कर्ममा रहेका केशर भ्रष्टाचारमुक्त देश तथा कार्यकारी प्रधानमन्त्रीको सपना उनीहरू भएकाले त्यसैअनुसार हुनपर्ने बताउनुहुन्छ ।
त्यस्तै दोलखाको बिगु गाउँपालिका–३ स्थायी घर भई दुवाकोटस्थित किरिया घरमा छोराको शोकमा रहेका केशव बुढाथोकी दम्पतीको पीडा पनि उस्तै छ । भदौ २४ गतेको आन्दोलनका क्रममा कोटेश्वरमा गोली लागेर सहिद भएका २२ वर्षीय महेश बुढाथोकीका बुबा केशव र आमा दिलकुमारीको साहारा खोसिएको छ । एक वर्षअघि देखि क्यान्सर रोगले थलिएकी आमाको स्याहारसुसार, औषधि र अस्पतालको व्यवस्थापन गर्दै आएको छोरा सधैँका लागि अस्ताएपछि परिवार बेसहारा बनेका छ ।
ग्यास कम्पनीमा मजदुरी गर्दै आएका केशव भन्नुहुन्छ, “म सुकेधाराको ग्यास कम्पनीमा काम गर्छु, क्यान्सर रोगी आमाको सबै अभिभारा बोकेको थियो, वैदेशिक रोजगारीका लागि माल्टा जाने तयारी पनि गर्दै थियो, म्यानपावरलाई रु ५० हजार बुझाइसकेको थियो, गरिब परिवारको सबै सपना थाती राखेर सधैँका लागि अस्तायो ।” युवापुस्ताले खोजेजस्तो देशले परिवर्तन पाए सहिदको बलिदानले न्याय पाउने बताँउछन्, भतिजको किरिया कर्ममा बसेका महेशका माइलाबुवा यज्ञबहादुर बुढाथोकी पनि ।
चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा बस्दै आएका अर्का युवा रोशन ९योगेन्द्र० न्यौपाने पनि यही आन्दोलनमा आस्ताए । चाँगुनारायण माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनरत न्यौपानेको परिवार भने किरियाका लागि दुवाकोटको घरबाट पैतृक थलो सिन्धुली पुगेको छ । सहिद न्यौपानेको परिवार तथा आफन्तीजनका तर्फबाट पनि देश परिवर्तनका लागि भएको जेन्जी प्रदर्शनका क्रममा शहादत प्राप्त गर्ने सहिदका सपना साकार पार्न सरकारका साथ सम्बद्ध सबैसँग माग गरिएको छ ।

कुलमानको उपस्थितिमा यातायात व्यवस्था विभाग सफाइ (तस्बिरहरु)

काठमाडौँ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्तिथिमा “हाम्रो ठाँउ हामी बनाऔं” भन्ने नाराका साथ पुर्ननिर्माण अभियानले संविधान दिवसको अवसरमा जेनजी आन्दोलनमा जलेको यातायात व्यवस्थापन विभाग सफाइ गरेका छन । २५-३० जना युवाको समुहले विभाग सफा गरेका हुन ।

अब नयाँ पुस्तासँग एकाकार भएको पार्टी स्थापित गर्ने जिम्मेवारी आयो : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले विगतमा आफ्ना तर्फबाट भएका गल्ती, कमजोरी र भूलप्रति क्षमायाचना गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार सन्देश जारी गर्दै उनले जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारणहरू भएको स्वीकार गरेका छन् ।

तर आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय भएको उनको भनाइ छ । ’जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारणहरू हुन्,’ सन्देशमा उनले भनेका छन्, ’तर आन्दोलनका क्रममा भएको हत्या– हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ । विगतमा नेकपा (एमालेले लिएका निर्णय गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ । व्यक्तिगत रूपमा आफ्नो तर्फबाट भएका गल्ती, कमजोरी र भूलहरूप्रति क्षमायाचना गर्दछु ।’

अब भने पार्टीलाई नयाँ पुस्तासँग एकाकार गर्दै युवाको निर्णायक योगदानसहित गतिशील र परिवर्तनकारी शक्तिको रूपमा स्थापित गर्ने जिम्मेवारी आएको उनले स्पष्ट पारेका छन् । ‘अब हाम्रो सामु जनतासँग, विशेषगरी नयाँ पुस्तासँग एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको छ । तदनुरूप पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने विश्वास व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

पौडेलले हालैको जेनजी आन्दोलनमा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकसंतप्त परिवारमा समवेदना प्रकट गरेका छन् । घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न सरकारसँग माग गरे ।

साथै क्षतिग्रस्त संरचनाहरूको यथाशीघ्र पुनर्निर्माणको आवश्यकता उनले औंल्याएका छन् । ’जेनजी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न, दोषीहरूलाई कानून बमोजिम कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाहरूको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गर्दछु,’ सन्देशमा भनिएको छ । संविधान दिवसको अवसरमा उनले संविधानको रक्षा, प्रयोग र विकासका लागि सबै नेपालीको योगदान जरुरी रहेको भन्दै आपसी सद्भाव, एकता र सामाजिक न्यायसहित समृद्धिको बाटोमा अघि बढ्न उनले आह्वान गरे ।

 

कालीगण्डकी लोकमार्ग भाँसियो

पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भाँसिएको छ । लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भाँसिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ ।

कालोपत्र भइसकेको स्थानमा भासिने, उप्किने र खाल्डाखुल्डी पर्ने समस्याले सडक जीर्ण बन्दै गएको छ । कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने झण्डै ७० किलोमिटरमध्ये कालोपत्र भइसकेको सेतीवेणी–फलेबास खण्डमा बिग्रिएको सडक मर्मत हुन नसक्दा यातायातका साधन सञ्चालन गर्न समस्या भएको छ ।

करिडोरको पाङ्राङ खण्डको सडक अविरल वर्षात्का कारण भासिएको हो । लोकमार्ग निर्माणको काम सम्पन्न भएको स्थानमा सडक भासिने तथा भत्कने क्रम वर्षात्का क्रममा रोकिएको छैन । सडक भासिएपछि यातायातका साधन सञ्चालन गर्न समस्या भएको छ । अहिले एकतर्फी रुपमा सवारीसाधन सञ्चालन भइरहेका कालीगण्डकी करिडोर आयोजना कार्यालय, पाल्पाका इञ्जिनियर पिपुल गौतमले जानकारी दिए।

सडक नियमित रुपमा मर्मतको काम नभएको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन् । सडकखण्डको सेतीवेणीदेखि कुर्घासम्मको सडक निर्माण कार्य अधिकांश सम्पन्न भए पनि केही भागको काम भने अझै अलपत्र छ । कुर्घादेखि पाङ्राङ जोड्ने स्थानमा सडक जीर्ण अवस्थामा छ ।

काम सम्पन्न भए जिम्मा लिने निकाय नहुँदा मर्मत तथा रेखदेखमा समस्या आएको इञ्जिनियर गौतमले बताए । राष्ट्रिय सडक सञ्जालमा सूचीकरण हुन नसक्दा सडक विभागले मर्मतलगायतको काम गर्न नपाएको उनको भनाइ छ । पर्वत खण्डको २९ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भएको दुई वर्ष बितिसकेको छ । कुन निकायले रेखदेख गर्ने भन्ने स्पष्ट नहुँदा सडक मर्मत तथा रेखदेखमा समस्या भएको इञ्जिनियर गौतमले बताए ।

पर्वत खण्डको सेतीबेनीदेखि फलेबास ढिकसम्मको सबै खण्ड कालोपत्र भइसकेको छ । कालोपत्र भइसकेको खण्डलाई राष्ट्रिय राजमार्गमा सूचीकरण नगर्दा कुन निकायले मर्मत र रेखदेख गर्ने भन्ने समस्या भएको उनले बताए । सम्पन्न भइसकेको खण्डमा वर्षायाममा खसेको पहिरोसमेत पन्छाउन समस्या भएको कार्यालयले जनाएको छ ।

लोकमार्गअन्तर्गत पर्वतको सेतीवेणीदेखि अर्मादीसम्म ४३ किलोमिटर सडकको काम धमाधम भइरहेको छ । त्यसैगरी फलेबास–अर्मादी सडकखण्डको १४ किलोमिटर भने निर्माण कम्पनीको लापरबाही कारण समयसमा काम नहुँदा कालोपत्रको काम अगाडि बढाउन सकिएको छैन । उक्त खण्डमा समयमा काम नहुँदा कालोपत्रको कामको टेन्डर आह्वानसमेत हुन नसकेको र चालु आर्थिक वर्षमा बजेटसमेत सुनिश्चितता नभएको कार्यालयले जनाएको छ । स्याङ्जाको मिर्मीदेखि पर्वतको सेतीबेनीसम्मको १० किलोमिटर सडक पनि कालोपत्र हुँदै छ भने पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको १३ किलोमिटर सडकसमेत चालु आर्थिक वर्षभित्रै कालोपत्र गरिसक्ने लक्ष्य छ ।

युद्धविराम प्रस्तावमा अमेरिकाको भिटो, इजरायललाई समर्थन

जरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमण बढाइरहेको बेला संयुक्त राज्य अमेरिकाले बिहीबार गाजामा तत्काल र स्थायी युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई भिटो गरेको छ ।

परिषद्का १० निर्वाचित सदस्यहरूले पेस गरेको मस्यौदामा १५ मध्ये १४ सदस्यले समर्थन जनाए । प्रस्तावमा ‘गाजामा सबै पक्षले सम्मान गर्ने तत्काल, बिना शर्त र स्थायी युद्धविराम’, हमास र अन्य समूहहरूद्वारा राखिएका सबै बन्धकहरूको रिहाइ र मानवीय सहायतामा लगाइएका प्रतिबन्ध हटाउन आह्वान गरिएको थियो ।

अमेरिकी भिटोको बचाउ गर्दै मध्यपूर्वका लागि उप विशेष दूत मोर्गन ओर्टागसले भने, “यस प्रस्तावको अमेरिकी विरोध कुनै आश्चर्य होइन । यसले हमासको निन्दा गर्दैन, न इजरायलको आत्मरक्षाको अधिकारलाई मान्यता दिन्छ । बरु यसले हमासलाई फाइदा पुग्ने झूटा कथालाई वैधानिकता दिन्छ ।”

अमेरिकी कदमको प्यालेस्टिनी र अरब प्रतिनिधिहरूले तीव्र आलोचना गरे । प्यालेस्टिनी दूत रियाद मन्सुरले भने, “परिषद्को मौनता यसको विश्वसनीयता र अधिकारका लागि ठूलो मूल्यमा आउँछ । अत्याचार अपराधहरू भइरहेका बेला भिटो शक्तिको प्रयोग हुनु हुँदैन ।”

अल्जेरियाका राष्ट्रसङ्घीय राजदूत अमर बेन्दजामाले भने, “प्यालेस्टिनी दाजुभाइ दिदीबहिनीहरू, हामीलाई क्षमा गर्नुहोस् । संसारले अधिकारको कुरा गर्छ तर तपाईंहरूलाई अस्वीकार गर्दछ । हाम्रो निष्कपट प्रयास पनि अस्वीकारको पर्खालसँग ठोक्कियो ।”

इजरायली राजदूत ड्यानी डेननले ‘गाजामा हाम्रो युद्धलाई कुनै औचित्य आवश्यक छैन’ भन्दै अमेरिकाले दिएको भिटो समर्थनप्रति आभार व्यक्त गरे ।

यो मतदान संयुक्त राष्ट्रसङ्घको स्थापनाको ८०औँ वार्षिकोत्सवकै दिन भयो । अल जजिराका कूटनीतिक सम्पादक जेम्स बेजले यसलाई ‘उदास’ क्षणका रूपमा वर्णन गर्दै भने, “अमेरिकाको दृष्टिकोणले ‘अमेरिका–पहिलो’ सोचलाई प्रतिबिम्बित गर्छ, जबकि धेरै देशहरूले बहुपक्षीय कूटनीतिको समर्थन गरिरहेका छन् ।”

पार्टीप्रति प्रश्न उठ्न थालेको स्थितिलाई हामीले आत्मसात गर्नुपर्छ : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी रिफर्मेसनको प्रस्ताव राखेकी छन् । पछिल्लो समय विभिन्न कारणले पार्टीप्रति प्रश्न उठ्न थालेको भन्दै रिफर्मेसन प्रस्ताव राखेकी हुन् ।

प्रस्तावमा भनिएको छ, ‘लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै सुशासनको जगमा उभिएको नैतिक र जनउत्तरदायी सरकार निर्माण गर्ने लक्षका साथ स्थापित हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई आम जनताले निकै ठुलो आशा र भरोसापूर्वक हेरिरहेका छन् । तर पछिल्लो समय विभिन्न कारणले हाम्रो पार्टीप्रति केही प्रश्नहरू उठ्न थालेको स्थितिलाई हामीले आत्मसाथ गर्नैपर्छ ।’

अझै यो वर्तमान संवेदनशील परिस्थितिमा पार्टीले खेल्ने भूमिकाले नयाँ नेपाल निर्माण गर्ने यात्रामा जनताबाट सुशासनको म्यान्डेट सहित अघि बढ्न मुख्य शक्तिको रूपमा पार्टीलाई विकास गर्नुपर्ने उल्लेख छ ।

यस्ता छन् तोसिमाका चार प्रस्ताव

धरान उपमहानगरपालीकाले बजेट ल्याउन बोलायो नगरसभा

विराटनगर । विवादका कारण तोकिएको समयमा बजेट आउन नकसकेको धरान उप महानगरपालिकामा बजेट आउने टुंगो लागेको छ ।

कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट पास गरेसँगै बजेट आउने टुंगो लागेको हो ।

कार्यपालिकाबाट बजेट पास भएसँगै शनिबार नगर सभा बोलाइएको हो ।, यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भएको थियो तर आन्दोलनका कारण भदौ २३ र २४ गते भनिएको बैठक स्थगित गरिएको थियो

संविधान अनुसार असार १० गतेभित्र नगरसभा गरेर बजेट पारित गरिसक्नुपर्ने भएपनि धरानले भने समयमा बजेट ल्याउन सकेको छैन । त्यसकारण धरानमा बजेट होलिडे छ ।

 

प्रचण्ड ‘क्रमभङ्ग’ का लागि तयार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला भनिने दलहरूको अहंकारले देश भयानक परिस्थतिमा आइपुगेको टिप्पणी गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालीन अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन नचाहने र अहिले आफूलाई ठूला दल भन्नेहरूको अहंकारले नै देश परिस्थतिमा आइपुगेको बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो पार्टी फरक धातुले बनेका मान्छेहरूको पार्टी भएको दाबी गरे । माओवादी केन्द्रले विगतमा थुप्रै कमी कमजोरी गरे पनि आत्मसमीक्षा गर्दै सुधारको बाटो लिएको पनि प्रचण्डले बताएका छन् ।

‘कम्तीमा पनि इतिहास र वर्तमानको समीक्षा गरेर हेर्दा माओवादी केन्द्रले बीचमा कमजोरीहरू गरेको स्वीकार्छ तर हामी फरक छौँ, अरू जस्तै होइनौँ’, उनले भने, ‘साम्राज्यवादी र प्रतिक्रियावादीहरूले अरू जस्तै हो भन्ने भाष्य बनाउन खोजे पनि त्यो सत्य होइन ।’ अहिलेको जनभावना कसरी सम्बोधन गर्ने भन्नेबारे नेतृत्व सजग रहेको खुलाउँदै प्रचण्डले आवश्यक परे जस्तोसुकै क्रमभंग गर्न तयार रहने स्पष्ट पारे ।

‘के गरी जनभावना सम्बोधन गर्ने भन्ने कुरा नेतृत्व, तपाईं हामीलाई थाहा छ। निरन्तरतामा क्रमभंगता भन्ने गरिएको छ । फेरि पनि जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहन्छ,’ प्रचण्डले भने । प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा माओवादीले निरन्तर वकालत गरेको उल्लेख गर्दै त्यसको ऐतिहासिकता आज जेनजी विद्रोहले फेरि एकचोटि पुष्टि गरेको उल्लेख गरे ।

१० वर्षपछि फेरि एकचोटि पुनर्लेखन गरेर या संशोधन गरेर, मुख्यतः संविधान संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको उनले बताए । प्रचण्डले हीनताबोधमा बाँच्नुपर्ने कुनै आवश्यकता नरहेको भन्दै देशका सबै उत्पीडित वर्ग, समुदायलाई अधिकार दिलाउने महान् काम गरेकोमा गर्व गर्नुपर्ने धारणा राखे ।

त्यस्तै प्रचण्डले संविधानसभाको नेतृत्व, सुशासनको नेतृत्व, भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्वलाई भ्रष्टाचारी हो भनेर तुलना गर्न खोज्नु इतिहासप्रति, जनताप्रति गहिरो र ठूलो विश्वासघात हुन जाने तर्क गरे । उनले भाद्र २४ गते जेनजीको आन्दोलनमा घुसपैठ वा भयानक डिजाइनमा विध्वंसहरू मच्चाइएको आरोप लगाए । प्रचण्डले अन्तरिम सरकार गठनको प्रक्रियामा गएर भएपनि संविधान बचाउने काममा राष्ट्रपतिको भूमिका प्रसंशनीय रहेको बताए । त्यस्तै प्रधानसेनापतिको भूमिका पनि निकै सकारात्मक देखिएको उनले बताए । प्रचण्डले घोषित मितिमा नै निर्वाचन गरि जेनजी आन्दोलनको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो फेरि संवैधानिक ढङ्गले नै खुलोस् भन्ने चाहना रहेको उल्लेख गरे ।

 

एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन (तस्बिरहरु)

पाटन (ललितपुर) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले कांग्रेस पार्टी कार्यालयको अवलोकन गरेका छन् ।

आज बिहान ‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएको कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर आवश्यक जानकारी लिएको हो ।

उपाध्यक्षद्वय गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरालगायत नेताहरू अवलोकनमा गएका थिए ।

उनीहरूलाई कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुली द्धारा क्षतिबारे जानकारी गराएका थिए । “एउटै समूहले योजनाबद्ध रूपमा क्षति पु¥याएको हो । पहिलो, दोस्रो र तेस्रो पटकसम्म उनीहरू आएर सामग्री लुटेर लगे, चौथोपटक आएर आगो लगाइदिए”, श्रेष्ठले बताए ।