`

अर्थमन्त्री खनालले गरे ध्वस्त सीजी डिजिटल पार्क अवलोकन

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त सतुंगलस्थित चौधरी ग्रुपको सीजी डिजिटल पार्क अवलोकन गरेका छन् ।

आन्दोलनकारीले गरेको आगजनीका कारण खरानीमा परिणत भएको यस संरचना चौधरी ग्रुपको प्रमुख औद्योगिक एकाइमध्ये एक हो । मन्त्री खनालले शनिबार क्षतिग्रस्त संरचना अवलोकन गर्दै आन्दोलनका कारण अर्बौँ रुपैयाँ बराबरको क्षति व्यहोरेको निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘हालैको विनाशबाट माथि उठ्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता हो,’ उनले भने, ‘निजी क्षेत्रको सक्रियता र लगानी विना यो सम्भव छैन । सरकार निजी क्षेत्रलाई सहयोग र सहजीकरण गर्न तयार छ ।’

जेन–जेड आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यावसायिक प्रतिष्ठान, उद्योग र निजी निवासहरूमा व्यापक तोडफोड तथा आगजनी भएको थियो । सतुंगलस्थित यो पार्कबाट सीजी ब्रान्डका विद्युतीय सामग्री एसेम्बल गरी बजारमा पठाइने गरिएको थियो । साथै, एलजीसहितका अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय उपकरणहरू पनि यही पार्कमा एसेम्बल हुने गरेका थिए ।

आगजनीका कारण सम्पूर्ण संरचना ध्वस्त भएता पनि सीजी र एलजीका विद्युतीय सामग्री आपूर्ति शृंखलामा अवरुद्ध हुन नदिने चौधरी ग्रुपले जनाएको छ । मन्त्री खनालको भ्रमणलाई निजी क्षेत्रको मनोबल उच्च राख्ने प्रयासका रूपमा लिइएको छ ।

‘फिच’ को ऋण रेटिङ वृद्धि इटालीको आर्थिक नीति सफलताको प्रमाण : प्रधानमन्त्री मेलोनी

इटाली । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अन्तर्राष्ट्रिय ऋण मूल्याङ्कन संस्था ‘फिच’ ले देशको ऋण रेटिङ उक्लाएको घटनालाई आफ्नो सरकारको आर्थिक अनुशासन र कडाइयुक्त नीति सफल भएको सङ्केतका रूपमा स्वागत गरेकी छिन् ।

‘फिच’ रेटिङ्स एउटा अन्तर्राष्ट्रिय संस्था हो जसले देश, कम्पनी र वित्तीय निकायहरूको आर्थिक स्थिरता र ऋण तिर्ने क्षमताको मूल्याङ्कन गर्छ । यसले दिने मूल्याङ्कनलाई क्रेडिट रेटिङ भनिन्छ।

विश्वमा फिच रेटिङ्सलाई मूडीज र स्ट्यान्डर्ड एन्ड पूअर्ससँगै सबैभन्दा ठूलो र प्रतिष्ठित क्रेडिट रेटिङ एजेन्सीमध्ये एक मानिन्छ ।
फिचले इटालीको ऋण रेटिङलाई ‘बिबीबी’ बाट ‘बिबीबी प्लस’ मा उकास्दै आगामी दिनका लागि स्थिर रहेको मूल्याङ्कन गरेको छ । संस्थाले यस निर्णयमा इटालीको आर्थिक मार्गप्रतिको विश्वसनीयता र सरकारको प्रतिबद्धतालाई महत्त्वपूर्ण रूपमा लिएको जनाएको छ ।
प्रधानमन्त्री मेलोनीले भनीन्,“फिचबाट प्राप्त यो मान्यता हाम्रो सरकारले अघि सारेको आर्थिक नीति सही दिशामा रहेको पुष्टि हो ।”
यसअघि, इटालीले आफ्नो सार्वजनिक खर्च घाटा ७.२ प्रतिशतबाट घटाएर ३.४ प्रतिशतमा ल्याउन सफल भएको तथ्याङ्कले पनि आर्थिक अनुशासनमा प्रगति देखाएको छ ।
फिचले राजनीतिक स्थिरता र आर्थिक नीतिहरूमा विश्वसनीयता पनि यो सुधारको मुख्य कारण भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री मेलोनीले थप भनीन्, “राजनीतिक स्थिरता, विश्वासिलो नीति र रोजगारी सिर्जना गर्ने क्षेत्रहरूलाई समर्थन गर्दा राम्रो नतिजा आउनु स्वाभाविक हो । यी उपलब्धिहरू हामीले मात्र होइन, अन्तर्राष्ट्रिय बजारले पनि विश्वास गरेको छ ।”
इटालीका अर्थमन्त्री जियानकार्लो जिओर्जेटीले पनि ‘हामीले देशलाई सही बाटोमा डो¥याउन सफल भएका छौं’ भनी आफूहरूको प्रतिबद्धता दोहोर्याएका छन्।

तर, आर्थिक वृद्धिदर सन् २०२३ र २०२४ मा अपेक्षाअनुसार पुगेको छैन र ०.७ प्रतिशतमा सीमित रहेको तथ्याङ्क छ ।
त्यसैगरी, इटालीको ऋण भार उच्च छ, जसले दीर्घकालीन आर्थिक विकासमा चुनौतीहरू कायम राखेको छ । यद्यपि, सरकारले सुधारका लागि निरन्तर प्रयास गरिरहेको छ ।

‘एमपक्स’ ले एक लाख ९० हजार नाघ्यो, एक हजार ९९९ जनाको मृत्यु

सन् २०२४ को सुरुदेखि अफ्रिकामा ‘एमपक्स’ नामक रोगका कुल एक लाख ९० हजारभन्दा बढी घटना रिपोर्ट भएका छन् भने मृत्यु सङ्ख्या लगभग दुई हजार पुगेको छ ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका एमपक्स सम्बन्धी सहायक प्रबन्धक याप बौमले अनलाइन पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार, जनवरी २०२४ देखि २९ वटा अफ्रिकी देशहरूमा जम्मा एक लाख ९१ हजार ५ सय ५९ म्पोक्सका घटना रिपोर्ट भएका छन् । यसमा ५३ हजार १३ पुष्ट घटना र एक हजार ९९९ मृत्यु भएका छन् ।

बौमले रोकथाम प्रयासहरूले सफलता देखाइरहेका र पछिल्ला हप्ताहरूमा शङ्कास्पद दुवै घटनाहरू घट्दै गएको बताएका छन् । मे महिनामा उच्च स्तरमा पुगेका साप्ताहिक पुष्ट घटनाहरू ७० प्रतिशतले घटेर एक हजार ६२० बाट ४९१ मा झरेका छन् ।
त्यसैगरी, अफ्रिका रोग नियन्त्रण केन्द्रले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा समुदायमा आधारित निगरानी प्रणालीलाई अझ सशक्त बनाउन आग्रह गरेको छ, ताकि त्यहाँ फैलिएको इबोला रोगलाई नियन्त्रण गर्न सकियोस् ।

विश्व स्वास्थ्य सङ्गठनले बिहीबार कङ्गोको कासाई प्रान्तमा भएको नयाँ इबोला सङ्क्रमणबाट कम्तीमा ३१ जनाको मृत्यु भइसकेको जनाएको छ । ४८ घटना रिपोर्ट भएका छन्, जसमा ३८ पुष्ट छन् । १५ जना उपचाररत छन् भने दुई जना निको भएर घर फर्केका छन् ।

बौमले सबै शङ्कास्पद घटनाहरू पहिचान गरी उपचार केन्द्रमा सार्नुपर्नेमा जोड दिए । दुई जना बिरामी निको हुनु सकारात्मक खबर भएको बताए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, इबोला एक अत्यन्त सङ्क्रामक रोग हो जसले ज्वरो, वाकवाकी, पखाला, शरीर दुख्ने, कमजोरी लगायतका लक्षण देखाउँछ र धेरैमा आन्तरिक तथा बाह्य रक्तस्राव हुन्छ ।

चुनाव तोकिएकै समयमा हुनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब संविधानलाई ट्रयाकमा फर्काउनको लागि निर्वाचनको विकल्प नभएको बताएका छन् ।

आज (शनिबार) विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतिले संविधानलाई धेरै नचलाई निकास खोजेको टिप्पणी गरेका छन् । उनले भने, ‘यस्तो बेलामा सबै कुरा संविधान सम्मत हुँदैन । असंवैधानिक भए पनि भएको संविधानलाई धेरै नचलाई चुनावको घोषणा गरिएको छ । हामीले चुनाव हुन्छ भन्ने विश्वास लिनुपर्छ । फागुन २१ गतेभित्र चुनाव गर्नको लागि सरकारलाई भन्नु पर्छ ।’

उनले सरकारले संविधानलाई टेकेर नै ६ महिनाभित्र चुनावको घोषणा गरेको बताएका छन् । उनले पार्टी पुनर्गठनबारे केन्द्रीय समिति बैठकले निर्णय गर्ने बताए । हिजोको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले विशेष या नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनुपर्ने प्रस्ताव राखेका थिए ।

त्यसबारे उनले भने, ‘कसले के बोल्नु भयो, कसो बोल्नु भयो सबै थाहा छ तर, केन्द्रीय समितिले निर्णय नगरी अहिले केही बोल्न सक्ने अवस्था छैन । कसले के भन्यो भन्ने कुरा होइन, नेपाली कांग्रेसले के बोल्छ भन्ने मुख्य कुरा हुनुपर्छ।’

रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते

युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

क्षेत्रीय सैनिक प्रशासनका प्रमुख सेर्गी लिसाकले बताएअनुसार, रूसले ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी आवासीय क्षेत्रहरूमा आक्रमण गरेको थियो, जसबाट भवनहरूमा क्षति पुगेको छ र आगलागीसमेत भएको छ ।
युक्रेनभर हवाई आक्रमणको सतर्कता जारी गरिएको छ । राजधानी किभ वरपरका क्षेत्रमा पनि आक्रमण भएको छ ।

किभ क्षेत्रीय सैनिक प्रशासन प्रमुख मिकोला कालाशनिकले भन्नुभयो,“सत्रु पक्षले आत्मघाती ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी शान्तिपूर्ण बस्तीहरूलाई निशाना बनाएको छ ।”
त्यसैगरी, दक्षिण युक्रेनको सहर माइकोलाइभमा पनि यस्तै प्रकारको हमला भएको भए पनि मानवीय क्षति नभएको जानकारी नगरप्रमुखले दिए।

रुसी अधिकारीहरूले भने, युक्रेनी सेनाले भोल्गोग्राद र रोस्तोभ क्षेत्रमा ‘ठूलो स्तरको हमला’ प्रयास गरेको तर त्यसलाई सफलतापूर्वक रोकिएको दाबी गरेका छन् । साथै, साराटोभ क्षेत्रमा एक जना सामान्य रूपमा घाइते भएको जानकारी दिएका छन् ।

पहिरोले अवरुद्ध सडक ६ घण्टाभित्र खुल्नेगरी काम अघि बढाएका छौं: मन्त्रालय

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरू विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताएका छन् ।

शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेका थिए । सो बैठकमा दसैँ र तिहारका लागि यातायात व्यवस्थापन तथा अवरुद्ध सडक खुलाउने विषयमा छलफल गरिने र त्यसका लागि कार्यदल बनाउने जनाइएको छ ।

हिजो साँझ करिब ६ः३० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्ध भएको थियोे । करिब ७० मिटर माथिबाट निरन्तर ढुङ्गा झरिरहेको र आज बिहान ७ः४० मा पुनः ठूलो पहिरो खसेर सडक अवरुद्ध छ ।

हाल सो स्थानमा तीन वटा ‘लोडर’ र एउटा ‘स्काभेटर’ परिचालन गरी दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । थप पहिरो नखसेमा कम्तीमा चार घण्टापछि सडक सञ्चालन हुने सम्भावना छ ।

 

गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

रुस । रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय सङ्कट अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् असफल भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ । उसले यो असफलताको मुख्य कारण संयुक्त राज्य अमेरिकाले पटक–पटक प्रयोग गर्दै आएको भीटो अधिकार भएको स्पष्ट पारेको छ ।

रुसको परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ,“गाजा क्षेत्रमा जारी युद्ध, रक्तपात र सर्वसाधारण जनताको पीडा अन्त्य गर्न सुरक्षा परिषद्ले अहिलेसम्म कुनै ठोस निर्णय लिन नसक्नु अत्यन्तै दुःखद र निराशाजनक विषय हो ।”

बिहीबार, सुरक्षा परिषद्का केही अस्थायी सदस्य राष्ट्रहरूले गाजामा युद्धविराम कायम गर्न, बन्धकहरूको सुरक्षित रिहाइ र मानवीय सहायता सहज रूपमा प्रवेश गराउन प्रस्ताव पेश गरेका थिए । सबै सदस्य राष्ट्रले सो प्रस्तावको समर्थन गरे तापनि, संयुक्त राज्य अमेरिकाले सातौँ पटक त्यसमा भीटो प्रयोग गरी पारित हुनबाट रोक लगायो ।

रुसले आफ्नो धारणा दोहो¥याउँदै भन्यो कि उसले इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे सधैँ स्पष्ट र सन्तुलित अडान लिएको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा गरिएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै पनि रुसले उल्लेख गर्यो,“उक्त घटना कुनै पनि हालतमा सम्पूर्ण प्यालेस्टिनी जनतालाई सामूहिक रूपमा दण्ड दिने बहाना बन्नु हुँदैन, न त यसलाई प्रयोग गरेर मध्यपूर्वमा झन ठूलो युद्ध फैलाउनु उपयुक्त ठहरिन्छ ।”

रुसले जोड दिँदै स्थायी शान्ति र सुरक्षा हासिल गर्न प्यालेस्टिनी जनताको वैध अधिकार र आकांक्षाहरूको सम्मान अनिवार्य रहेको जनाएको छ । जबसम्म यो प्रश्नको न्यायसङ्गत समाधान गरिंदैन, तबसम्म क्षेत्रीय स्थायित्व सम्भव छैन ।

गाजा सहरमा आक्रमण जारी , महिला र बालबालिका सङ्कटमा

गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान जोगाउन विभिन्न उपायबाट सुरक्षित स्थानतर्फ जाँदै गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (ओछा)का अनुसार, यतिबेला गाजामा भइरहेका स्थल र हवाई आक्रमणका कारण धेरैजसो नागरिक गम्भीर संकटमा परेका छन् । बालबालिका, वृद्ध, महिला लगायत सबैले कठिन परिस्थितिको सामना गरिरहेका छन् ।

ओछाले दिएको जानकारी अनुसार, आक्रमणसँगै गाजाको दक्षिण भागतर्फ विस्थापित हुने नागरिकहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । धेरैजसो मानिसहरू गाडी, टेम्पो, साइकल र पैदल नै यात्रा गर्दै सुरक्षित ठाउँ खोजिरहेका छन् । यस्ता यात्रामा उनीहरूलाई न त पिउने पानी, न त खानपिनको व्यवस्था, न त ओत लाग्ने ठाउँ उपलब्ध छ ।

“हामीका सहकर्मीहरूले रातभरि हिंडेर आइपुगेका थकित, भोकाएका र पीडामा परेका नागरिकहरू देखेका छन्,” ओछाले उल्लेख गरेको छ । “अल–राशिद सडकमा गाडी, टेम्पो र पैदलयात्रीहरूको अत्यधिक चाप छ । सबैजना सम्भावित जोखिमबाट बच्न दक्षिणतर्फ गइरहेका छन् ।”
यद्यपि इजरायली पक्षले सलाह अद–दिन सडक प्रयोग गर्न आग्रह गरेको थियो, सो सडक हाल सवारीसाधनका लागि चलायमान नरहेको जानकारी प्राप्त भएको छ । अल–राशिद सडक नै अहिले खुला मार्गको रूपमा प्रयोग भइरहेको छ ।

खान युनिस क्षेत्रमा ओछा नेतृत्वको टोलीले विस्थापित परिवारहरूको अवस्था बुझ्दा उनीहरूलाई आपत्कालीन आश्रय, पोषणयुक्त खाना, सफा पिउने पानी र औषधोपचारको खाँचो देखिएको छ । गाजामा पुग्ने राहत सामग्री अहिले पनि आवश्यक मात्राभन्दा निकै कम छ ।
संयुक्त राष्ट्र बालकोष (युनिसेफ) ले गम्भीर चिन्ता व्यक्त गर्दै बिहीबार गाजा सहरमा कुपोषित बालबालिकाका लागि ल्याइएको विशेष पोषण सामग्री लुटिएको थियो । ती सामग्रीले झन्डै दुई हजार ७०० बालबालिकालाई उपचारमा सहयोग पुग्थ्यो । युनिसेफले यस्तो दुर्भाग्यपूर्ण घटनाबाट गम्भीर पीडा भएको जनाउँदै, दीर्घकालीन युद्धविराम अत्यावश्यक भएको स्पष्ट पारेको छ ।

ओछाले थप जानकारी दिँदै उत्तरतर्फ पुग्ने एकमात्र मार्ग ‘जिकिम नाका’ बन्द रहेको भनेको छ । गाजा सहरमा इन्धन पु¥याउने प्रयास अनुमति नपाएर रोकिएको थियो भने पछि बाटोमा अत्यधिक भीडका कारण सहयोग पु¥याउने गाडीहरू निर्धारित स्थानमा पुग्न सकेनन् ।

संयुक्त राष्ट्रसङ्घले सबै पक्षलाई आह्वान गर्दैसर्वसाधारण नागरिकहरूलाई सुरक्षित रूपमा विस्थापित हुन दिनुपर्ने भनेको छ र अवस्था सामान्य भएपछि उनीहरूलाई पुनः आफ्ना घर फर्कन पाउने अधिकार सुनिश्चित गर्नुपर्छ ।

कर्णालीमा ४२ ठाउँमा चाडपर्व लक्षित सुपथ पसल

काँक्रेविहार (सुर्खेत) । कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । दसैँ तथा तिहारलाई लक्षित गर्दै गत भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेशिक कार्यालयका प्रमुख केशवराज बुढाले जानकारी दिए ।

सहुलियतमा बिक्रीवितरण हुने चामल, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिइएको छ । तेलमा प्रतिलिटर रु सात छुट दिइएको छ । हाल १८ स्थानबाट सोमबारदेखि नै सहुलियत रुपमा खाद्यान्न बिक्रीवितरणको काम सुरु गरिएको छ । सोमबार डोल्पामा सदरमुकाम दुनै, जुफाल मुड्केचुलाको सर्मी, कालीकोट सदरमुकाम मान्मा, पादमघाट, खल्लागाड, जाजरकोटको सदरमुकाम, नायकवाडा, घोगीमा सुपथ मूल्य पसल सञ्चालन भएको छ ।

त्यस्तै मुगुको सदरमुकाम गमगढी, श्रीकोट र सोरुकोटमा आजैदेखि सञ्चालनमा आएको छ । रुकुमपश्चिमको सदरमुकाम मुसीकोट, हुम्लाको श्रीनगर, सर्केगाडमा सुरु भएको छ । जुम्लाको सदरमुकाम खलङ्गा, दैलेख सदरमुकाम र सुर्खेतको सदरमुकाममा बिक्रीको काम सुरु भएको छ । अठार डिपो तथा शाखाका साथै २४ वटा स्थानीय तहमा बिक्रीको काम सुरु भएको जनाइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल चामल १२ हजार क्विन्टल, चिनी १२४ क्विन्टल, २६ हजार लिटर तेल मौजदात रहेको छ । हाल अरुवा मोटा चामल, अरुवा मोटा एफ आर, अरुवा सोना मन्सुली, अरुवा मन्सुली एफ आर , स्टीम जिरा मसिनो , स्टीम जिरा मसिनो एफ आर, सूर्यमुखी तेल, सोयाविन तेल, तोरी तेल र चिनी बिक्री भइरहेको छ ।

‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’

काठमाडौँ । समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिने एक अध्ययनले देखाएको छ । वीर अस्पतालमा पछिल्लो ५०० जना मिर्गौला बिग्रेर निकालिएका बिरामीहरुमाथि गरिएको अध्ययनले ९० प्रतिशत मिर्गौलाका बिरामीले समयमै उपचार गरेको भए बचाउन सकिने देखिएको हो ।

उक्त अध्ययन सोही अस्पतालले गरेको थियो । अस्पतालका युरोसर्जरी विभाग प्रमुख कन्सल्ट्यान्ट प्राडा रबिनबहादुर बस्नेतले ५०० जनामा ४७० जनाको मिर्गौला समयमा नै उपचार गरेको भएमा बचाउन सकिने अध्ययनमा देखिएको जानकारी दिए ।

तीमध्ये ३० जनाको मात्र मिर्गौला जोगाउन नसकिने अवस्थाको रहेको उनले बताए । ती जोगाउन सकिने मिर्गौला जनचेतनाको कमीले नियमित जाँच नगर्दा जोगाउन नसकिएको उनको भनाइ छ । उनका अनुसार धेरैजसो मिर्गौलाका बिरामी पत्थरीका कारण हुने गरेका छन् । ५०० जनामा गरिएको अध्ययनमा ६५ प्रतिशत बिरामीमा पत्थरीको कारण मिर्गौला बिग्रिएको देखिएको छ । त्यसैगरी १५ प्रतिशत जन्मजात मिर्गौलाका बिरामी, १० प्रतिशतमा मिर्गौलाको क्यान्सर र चार प्रतिशतमा अन्य सङ्क्रमणले मिर्गौला बिग्रने गरेको अध्ययनले पुष्टि गरेको छ ।

पत्थरीले पिसाब आउने बाटो बन्द गरिदिन्छ र पिसाब थैलीमा पिसाब नआए मिर्गौला फुल्लिँदा मिर्गौला बिग्रने गर्दछ । यसरी एउटा मिर्गौला फुल्लिए पनि अर्को मिर्गौलाले काम गर्ने हुँदा बिरामीले मिर्गौला फुल्लिएको थाहा पाउँदैनन, जसले गर्दा अर्को मिर्गौला बिग्रने चिकित्सकहरुको भनाइ छ ।

जन्मजात मिर्गौलाको पिसाब थैलीमा जाने मुख बन्द भए पनि मानिसको २० देखि ३० वर्षको बीचमा मिर्गौला बिग्रने प्राडा बस्नेतले बताए । संसारमा एकदेखि चार प्रतिशत मानिसको एउटा मात्र मिर्गौला हुने गर्दछ ।

पानी कम खानाले, मधुमेहका बिरामी, मद्यपानका कारण मिर्गौला बिग्रने गर्दछ । ‘पेनकिलर’ औषधि (आइबुप्रोफेन, निमेसुलाइड)आफूखुसी खाँदा पनि मिर्गौला बिग्रने गर्दछ ।

वीर अस्पतालमा मिर्गौला बिग्रेका ५०० जनामध्ये २२० जना पहिलोपटक अस्पताल आएको प्रमुख कन्सल्ट्यान्ट प्राडा बस्नेतले जानकारी दिए। अध्ययनअनुसार पुरुषको तुलनामा महिलाको बढी मिर्गौला बिग्रने समस्या देखिएको छ । उनका अनुसार पुरुषको तुलनामा महिलामा डेढ गुणा बढी मिर्गौला बिग्रने गरेको छ ।

उनले मिर्गौला बचाउनका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताए । पानी दिनमा तीन लिटर पिउने, मोटोपन घटाउने, फलफूल प्रशस्त खाने, नियमित मिर्गौलाको जाँच गर्ने गर्नुपर्दछ ।

यस्तो छ नेपालगन्जको अवस्था (तस्बिरहरू)

काठमाडौं। गत भदौ अन्तिम साता भएको जेन-जी आन्दोलनका क्रममा देशका अन्य भागमा जस्तै नेपालगन्जमा पनि सरकारी कार्यालयहरू ध्वस्त बनेका छन् ।

भदौ २४ गते आन्दोलनकारीहरूले सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए ।

सरकारी कार्यालयसँगै पार्टी कार्यालयहरू पनि आन्दोलनकारीको निशानामा परेका थिए ।

लहान मुटु अस्पतालद्वारा सेवा विस्तार

सिरहा । लहान मुटु अस्पतालले सेवा विस्तार गर्दै अत्याधुनिक परीक्षण सेवा सुरु गरेको छ । लहान नगरपालिका–४ स्थित चम्पापुरमा निर्माणाधीन यो अस्पतालले हालै मुटुरोग जाँच सम्बन्धित ‘इकोकार्डियोग्राफी’, ‘ट्रेडमिल टेस्ट’ र ‘होल्टर मोनिटर टेस्ट’ सेवा सञ्चालनमा ल्याएको छ ।

त्यस्तै, शुक्रबारदेखि औपचारिक रूपमा २५ श्ययाको सेवा पनि सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहले जानकारी दिए । छ महिनाअघि सुरु भएको ओपिडी सेवामार्फत हालसम्म तीन हजारभन्दा बढी बिरामीले सेवा लिइसकेका छन् । अत्याधुनिक प्रयोगशालासहित न्यूनतम शुल्कमा सेवा दिइरहेको अस्पताल नाफामुखी नभई सेवा–केन्द्रित मोडेलमा सञ्चालन भइरहेको जनाइएको छ ।

अहिले अस्पतालले लहान नगरपालिकाद्वारा उपलब्ध ११ बिघा सार्वजनिक जग्गामा दुई भवनमार्फत सेवा दिइरहेको छ । डा साहका अनुसार, भविष्यमा ५०० श्ययाको पूर्ण अस्पताल बनाउने योजना रहेको छ, जसको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ ।

अस्पताल प्रशासनले एक वर्षभित्र सघन उपचार कक्ष (आइसियु) र सिटीस्क्यान सेवा सुरु गर्ने तयारी गरिरहेको छ । साथै, अस्पताललाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रकै स्वरुपमा कार्डियो–डायबेटिक सेन्टरका रूपमा विस्तार गरिँदैछ ।

नेपाल हृदय रोग निवारण सङ्घअन्तर्गत सञ्चालनमा आएको यो अस्पताल डा बालकृष्ण ओग्र्यानको पहलमा स्थापना भएको हो । जर्मनीस्थित ‘नेपाल मेड ई भि’ र’ रोटरी क्लब कटबस’ संस्थाबाट करिब रु दुई अर्ब बराबरको सहयोगमा अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको छ ।

गुणस्तरीय सेवा दिइँदै आए पनि प्रचारप्रसार, स्थानीयको साथ, सहयोग र विश्वासले नै अस्पतालको भविष्य उज्ज्वल बनाउने अस्पतालको प्रशासन तथा वित्त शाखा प्रमुख रिना चौधरीले बताए ।

मलेसियामा हुने सुपर वुमेन्स सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं। मलेसियन सुपर वुमेन्स शृंखला र मलेसियाविरुद्धको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलका लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार इन्दु वर्माको कप्तानीमा टोली घोषणा गरेको हो। यही सेप्टेम्बर २४ देखि ३० सम्म मलेसिया क्रिकेट संघको आयोजनामा मलेसियन सुपर वुमेन्स सिरिज हुनेछ।

मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा हुन लागेको सिरिजमा नेपाली खेलाडीले ५ फरकफरक टिमबाट सिरिज खेल्नेछन् ।

राष्ट्रिय महिला क्रिकेट टिमको तयारी स्वरूप खेलाडीले सिरिज खेल्ने क्यानले जनाएको छ । त्यसलगत्तै नेपाली टोलीले मलेसियामै अक्टोबर २-८ मा मलेसियासँग ५ खेलको टी-२०आई सिरिज खेल्नेछ ।

यस्तो छ नेपाली टिम

इन्दु वर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवी पोद्दार, यशोदा विष्ट, सावित्रि धामी र कविता कुँवर

दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको घुइँचो

काठमाडौँ । दसैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेको घुइँचो देखिन थालेको छ ।

कपडा एवं खाद्यान्नका थोक तथा खुद्रा र सुपथ मूल्य पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको हो । राजधानीको मुख्य बजारहरु असन, इन्द्रचोक, महाबौद्ध, न्यूरोड, सुन्धारा, टेकु, त्रिपुरेश्वरमा उपभोक्ताको घुइँचो बढेको छ ।

सहरमा सस्तो सामान पाइन्छ भनी किनमेलका लागि आए पनि विगतमा भन्दा भाउ बढेको पाइएको गोदावरीबाट सामान किनमेलका लागि महाबौद्ध आएकी सजना आचार्यले बताइन्। “तीजअघिभन्दा पनि अहिले भाउ बढेको रहेछ, गत हप्ताको आन्दोलनका कारण व्यवसायीले भाउ बढाएजस्तो लाग्यो, कुनै पनि निकायले अनुगमन गरेजस्तो लागेन,” उनले भनीन्, “सरकारी निकायले जुनसुकै सामान किन्दा बिल लिनु भने पनि बजारमा व्यवसायी बिल दिन अप्ठ्यारो मान्छन्, प्यान र भ्याट बिल त हत्तपत्त दिँदैनन्, दिनै परे पनि सादा बिल दिन्छन् ।”

चीनसँगको नाका तातोपानी र रसुवागढी बन्द भएका कारण कपडा नआएकाले व्यवसायीले भाउ बढाएको जनाएका छन् । सरकारले अनुगमन नगर्ने र दोषीलाई कारबाही गर्ने प्रणालीको विकास नभएका कारण दण्डहीनता मौलाएको थानकोटबाट आउनुभएका मङ्गलबहादुर तामाङको भनाइ छ । तीन तहको सरकार भए पनि अनुगमनमा कसैको रुचि नभएको उनको भनाइ छ ।

बडादसैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत भदौ ३० गतेदेखि नै सहुलियत मूल्य पसल सुरु गरिसकेको छ । यसले उपभोक्तालाई केही राहत दिएको छ । ती सुपथ मूल्य पसलमा रु पाँच, सात र १० छुट दिइएको सूचना अधिकारी माधव मिश्रले जानकारी दिए ।

दाल, चामल, चिनी, गहुँका सामग्रीमा रु पाँच छुट गरिएको छ । त्यसैगरी तेल, चिउरा, आँटा, पीठो, मैदालगायतमा रु सात छुट दिइएको छ । चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुलगायत सामग्रीमा रु १० छुट गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिए। सहुलियत मूल्य पसल छठ पर्वसम्म सञ्चालन हुने जनाइएको छ ।

यस्ता पसल प्रत्येका वडामा कम्तीमा एउटा खोलिदिए पर्वमा उपभोक्ताले राहत पाउने भक्तपुरको सूर्यविनायकबाट सामान किन्न आएका बलराम कोजुले बताए ।

दुई सय ३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म २३६ परियोजनाका लागि रु ३३ अर्ब नौ करोड २० लाख ५४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको गत साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार लागतका आधारमा कृषिमूलक उद्योग र परियोजना सङ्ख्याका आधारमा सूचना प्रविधिमूलक उद्योगमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । कृषिमूलक उद्योगमा नौवटा परियोजनाका लागि रु २१ अर्ब ५९ करोड ८० लाख बराबरको लगानी प्रतिबद्धता आएको छ ।

त्यस्तै, उत्पादनमूलक उद्योगका १२ वटा परियोजनामा रु एक अर्ब २४ करोड, ऊर्जामूलक उद्योगका एउटा परियोजनामा रु १८ करोड २५ लाख ५० हजार र सेवामूलक उद्योगका १५ परियोजनामा रु दुई अर्ब ८१ करोड ५० लाख बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । त्यसैगरी पर्यटनमूलक क्षेत्रका ७९ परियोजनामा रु छ अर्ब ६९ करोड २० लाख ५० हजार सूचना प्रविधिमूलक उद्योगका १२० परियोजनामा रु ५६ करोड २७ लाख ५४ हजार बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

त्यस्तै, पछिल्लो दुई महिनामा मात्र ४०९ जना लगानीकर्ता तथा ६० जना लगानीकर्ताका प्रतिनिधि र १०७ जना आश्रित(डिपेन्डेन्ट)लाई नेपालका लागि भिसा सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ । उद्योग विभागले हालसम्म कुल सात हजार ४७५ वटा परियोजनाका लागि रु छ खर्ब ८४ अर्ब ५१ करोड ४१ लाख ७१ हजार बराबरको लगानी स्वीकृत गरिसकेको छ ।

नारायणगढ-मुग्लिनमा खसेको पहिराे हटाउन सुरु

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको तुइनख‍ोला पुलमा खसेको पहिरो हटाउन सुरु गरिएको छ । ढुंगा खस्ने क्रम नरोकिएतापनि पहिरो हटाउने कार्य सुरु गरिएको हो ।

हिजो साँझ करिब ६:३० बजे देखि मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्द भएको थियो । आज बिहान पुन: पहिरो खसेपछि समस्या भएको थियो ।

ढुंगा खस्ने क्रम निरन्तर भईरहेको हुँदा पहिरो हटाउनको लागि समस्या भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। हाल ३ वटा लोडर र एउटास्काभेक्टर परिचालन गरि दुवै तर्फबाट पहिरो हटाउने कार्य सुचारू भइरहेको छ ।

झापामा जङ्गली हात्ती मृत फेला

 झापा । मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् ।

मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए । घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ ।

वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए । ‘हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो,” उहाँले भन्नुभयो, “बिहान त एउटा हात्ती मरेको खबर आयो ।’

के कारणले हात्ती म¥यो भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रमुख श्रेष्ठको भनाइ छ ।

पोखराको विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा महोत्सव

गण्डकी ।  पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा यही असोज ६ गते घटस्थापनादेखि १५ गते महानवमीसम्म नवदुर्गा महोत्सव सञ्चालन हुन लागेको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।
उनका अनुुसार महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने छ । यस अवधिमा प्रत्येक दिन बिहान ९ः०० देखि मध्याह्न १२ः०० बजेसम्म महायज्ञ सञ्चालन हुनेछ । त्यस्तै सतचण्डी महानुष्ठान बिहान ६ः०० देखि ९ः००  बजेसम्म हुनेछ भने भजनकीर्तन अपराह्न २ः०० देखि ४ः०० बजेसम्म गरिने समितिले जनाएको छ ।
विजया दशमीको अवधिभर मन्दिरमा नित्य पूजा बिहान ४ः०० देखि प्रारम्भ भई भक्तजनहरूको दर्शनका लागि मन्दिर ५ः०० बजेदेखि खुला गरिनेछ । साथै प्रत्येक साँझ ६ः०० बजे आरती गरिनेछ । महायज्ञका वाचकका रूपमा श्रीकृष्णनुरागी पण्डित पशुपति पौडेल रहने जनाइएको छ ।
विजयादशमीको पावन अवसरमा २०६४ सालदेखि विध्यवासिनी नवदुर्गा महोत्सवको आयोजना गर्दै आइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । महोत्सवका अवसरमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा र श्रीमद्देवी भागवत ज्ञान महायज्ञ गरिँदै आइए पनि यस वर्ष भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्वतयारीमा बाधा पुग्न गएकाले शोभायात्रा भने स्थगित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
अढाई शताब्दीअघि देखि नै पूजाआजा हुँदै आइएको मानिने यस मन्दिरको स्थापना कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा भएको भनाइ छ । मन्दिरको संरक्षण विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०४३ सालमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको गठन गरिएको थियो ।
समितिको गठनपश्चात् यस धार्मिक क्षेत्रमा भौतिक पूर्वाधारहरूको निर्माण, सौन्दर्यकरण, सामाजिक, धार्मिक तथा आध्यात्मिक जागरणसम्बन्धी कार्यहरू हुँदै आएका छन् । समितिले विन्ध्यवासिनी दर्शन गर्न पोखरा आउने श्रद्धालु भक्तजनहरूबाट प्राप्त भेटी तथा दान दातव्यलाई जनहितको कार्यमा प्रयोग गर्दै आएको छ ।
दाताहरूको सहयोगमा समितिबाट विन्ध्यवासिनी मन्दिर परिसरमा शिव मन्दिर, राधाकृष्ण मन्दिर, विन्ध्यवासिनी गुरुकुल भवन, सन्त निवास, विन्ध्यवासिनी बहुद्देश्यीय सभा–भवन, प्रदक्षिणा पथ, विन्ध्यवासिनी मन्दिर परिसरमा ढुङ्गा छपाइ, विन्ध्यवासिनी मन्दिर र गणेश मन्दिरमा पित्तलद्वारा कलात्मक सजावट र पित्तलको द्वार निर्माण आदि गरिएका छन् ।
त्यस्तै भक्तजनहरूको सुविधा र सौन्दर्यकरणका लागि प्रदक्षिणा पथ, शौचालयहरू, कीर्ति स्तम्भ, पानीका लागि बोरिङ तथा खानेपानी भण्डारणका लागि ४० हजार लिटर क्षमताको टङ्की, जलधारा, शुद्ध पिउने पानी, विशाल त्रिशूल र शक्ति ध्वजा र विशाल कमण्डलुका साथै विन्ध्यवासिनी वाटिका निर्माण गरी त्यसमा पानीको फोहोरा र शिवानन्द कुण्डको निर्माणलगायतको धेर काम गरिसकिएको छ ।
मन्दिरमा २०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्याश्रममा कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीय रूपमा अध्यापन हुँदै आएको छ । गुरुकुललाई कक्षा १२ सम्म विस्तार गर्ने योजनाअनुरूप विन्ध्यवासिनी गुठीको हक–भोग स्वामित्वको पोखरा महानगरपालिका–१८ स्थित २६ रोपनी क्षेत्रफल जग्गामा भवन निर्माण गर्ने कार्य झण्डै अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
मन्दिरमा आउने ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिला समेतको सुविधालाई ध्यानमा राखेर मन्दिरमा सहज पहुँचको व्यवस्थाका लागि लिफ्टको स्थापना गरिएको छ ।
समितिले सेवा कार्यलाई प्राथमिकता दिँदै ज्येष्ठ नागरिकहरूका लागि दिवा सेवा उपलब्ध गराउने उद्देश्यले २०७२ सालबाट विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्नाका साथै एम्बुलेन्स सेवा पनि सञ्चालन गरिएको छ ।
त्यस्तै प्राकृतिक चिकित्सा पद्धतिका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याइएको छ । यसको भौतिक पूर्वाधार निर्माण कार्य जारी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
विभिन्न पर्व उत्सवका पूजन धार्मिक आध्यात्मिक जागरण तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विभिन्न पर्वहरूका उपलक्ष्यमा विशेष पूजनोत्सव आयोजना गर्ने गरिएको उनले बताए ।
उनका अनुसार साउनमा शिव पूजनोत्सव, गणेश चौथीमा गणेश पूजनोत्सव, श्रीपञ्चमीमा सरस्वती पूजनोत्सव, श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्ण जनमोत्सव, राम नवमी, हनुमान जयन्ती, शिवरात्रिमा विशेष कार्यक्रमहरू हँुदै आएका छन् ।

शेखर भन्छन्–कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुकिन्छ

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता जनाएका छन् । आज (शनिबार) विराटनगरस्थित कोइराला निवासको जलेको भवनहरूको निरीक्षण र अनुगमन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

नेता कोइरालाले भने, ‘यो एउटा इतिहास जलाइएको छ । यो घटनाको विषयमा बिस्तारै पर्दाफास हुन्छ । लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा कोइराला निवासमा पनि आगजनी गरिएको थियो ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पनि जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका थिए । संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् ।

वास्तविक जेनजी को हो ? भनेर ठम्याउनुपर्ने बेला भएको समेत उनको भनाइ छ । ‘उनीहरूले तीन वटा कुराहरू उठाएका थिए । सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको कुरा मात्रै थियो । तर पछि उनीहरूले त हरेक ठाउँमा आगो लगाए । मेरो घर पनि जल्यो । मैले के गल्ती गरेको थिएँ ? थाहा छैन,’ उनले भने, ‘चार चोटि जितेँ, मन्त्री पनि भएको छैन । न त भ्रष्टाचार नै गरेको छ । मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो । ८० वर्ष पुरानो कोइराला निवास जल्यो । किन जल्यो ? यो प्रश्नको उत्तर म दिन सक्दिनँ ।’

जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताए । ‘म त अचम्ममा परें । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो । मान्छेहरू मरे । भनिन्छ एक्सपर्टले गोली हानेको छ । टाउको र छातिमा नै गोली हानेको छ । जुन पुलिसले गर्नै सक्दैन,’ कोइरालाले भने, ‘घुसपैठहरू आन्दोलनमा घुसेका छन् । सबैभन्दा पहिले त हामीले यो जेनजी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनु पर्‍यो ।’ संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नु पर्नेमा उनको जोड छ ।

तुइन खोला नजिकै पहिरो जाँदा मुग्लिनमा हजारौँ यात्रु अलपत्र, मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौँ । मुग्लिन–नारायणगढ  सडक खण्डमा पर्ने तुइन खोला नजिकै पहिरो जाँदा शुक्रबार साँझदेखि हजाराैँ यात्रु अलपत्र परेका छन् ।  काठमाडौँ भित्रिने र बाहिरिने सवारी लामो समयसम्म रोकिँदा हजाराैँ यात्रुहरू मर्कामा परेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार हिजो साँझ ६ बजे यता यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू गन्तव्यमा पुन सकेका छैनन् । साथै सडकको दुरावस्था र खाल्डाखुल्डीका  कारण यातायात सञ्चालनमा गम्भीर समस्या देखिएको छ ।

सरकारले चाडपर्वलाई मध्यनजर गरी सडक मर्मत सम्भार नै नगरेको दाबी उनले गरे । जसका कारण अहिले सवारी आवतजावतमा समस्या भएको उनको भनाइ छ ।

साथै यही विषयलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बैठक बोलाएको समेत बताए । सिटौलाले दिएको जानकारीअनुसार हालको गम्भीर अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयमा आज बिहान ११ बजे एक महत्त्वपूर्ण बैठक बोलाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बस्ने यस बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घ र मजदुर लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी हुनेछन् । बैठकमा विशेष गरी चाडपर्वमा यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउने र अवरुद्ध सडकहरू खोल्ने विषयमा छलफल हुनेछ ।

दशै नजिकिएसंगै पोखरा भित्रिए भेडाच्याङ्ग्रा , तस्बिरहरू

काठमाडौँ । दशै नजिकिएसंगै पोखरामा च्याङ्ग्रा भित्रिन थालेका छन् । चाडपर्वका बेला हुने अत्याधिक मागबमोजिम हिमाली जिल्लाहरुबाट व्यापारीहरुले च्याङ्ग्रा पोखरा ल्याएका हुन् ।

पोखरामा हरेक वर्ष दशैंको मुखमा मनाङ, मुस्ताङ तथा म्याग्दीका व्यापारीले भेडा च्यांग्रा ल्याउने गरेका छन् । यसपटक ४६ हजार रुपैयाँमा रोज्जा च्यांग्रा लिन पाइन्छ ।
खसी, बोका, राँगाको तुलनामा महंगो भएपनि चाडपर्वको समयमा च्यांग्रा पोखरेलीको रोजाईमा पर्दै आएको छ ।

आठ हजार ८१६ कैदीबन्दी अझै फरार

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनकाे मौकामा नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै, नौवटा बाल सुधार गृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए ।

यस्तै, एक हजार ४२२ मध्ये ९६४ जना बाल सुधार गृहबाट भागेको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतली, डडेलधुरा र कञ्चनुपुरबाट कैदीबन्दी भागेका उनले बताए ।

यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटी बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका थिए । निर्देशक न्यौपानेका अनुसार अहिलेसम्म कारागारबाट भागेकामध्ये पाँच हजार ४९५ र बालसुधारगृहबाट भागेकामध्ये २४४ कैदीबन्दी फिर्ता आएका छन्।

अझै आठ हजार ८१६ कैदीबन्दी फरार रहेका र खोजी कार्य जारी रहेको विभागले जनाएको छ । नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

गोरखाको अजिरकोटमा पहिलो पटक फल्यो स्याउ (तस्बिरहरू)

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल भएको छ । तीन वर्ष अगाडि स्थानीय सञ्जीव लामाले गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सुरु गरेको मूलखर्क स्याउ फर्ममा पहिलो पटक स्याउ फलेको हो ।

लामाका अनुसार गाउँपालिकाले उपलब्ध गराएको इटालियन तीन प्रजातिको ( गोल्डेन डेलिसियस, गाला र इटालियन फुजी) बेर्ना तीन वर्ष रोप्न सुरु गरिएकोमा यस वर्ष भने उत्पादन दिन थालेको हो । सामुन्द्रिक सतहदेखि २२ सय मिटरमा अवस्थित करिब २० रोपनी क्षेत्रफलमा स्याउको पहिलो पटक परीक्षण उत्पादन सफल भएपछि व्यवसायिक रुपमा उत्पादन गर्ने लामाले बताए ।

अजिरकोट गाउँपालिकाको ‘एक वडा एक कृषि फर्म’ कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा स्याउको पहिलो पटक परीक्षण खेती गरिएको पालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकामा २ नम्बर वडामा तीन वटा स्याउ फर्म सञ्चालन गरिएको र तीन वटै फर्ममा स्याउको सफल परिक्षण उत्पादन भएको बताए ।

पालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन स्थानीय किसानलाई कृषि कार्यक्रम अनुसार ५० देखि ८० प्रतिशत सम्म कृषि अनुदान प्रदान गर्दै आएको उनको भनाइ छ ।

 

बजेट अभावले अलपत्र बन्यो अस्पताल भवन

बागलुङ । चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ । विसं २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो । निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० श्ययाको आधारभूत अस्पताल निर्माणका लागि लागि विसं २०७८ साल माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो ।

आठ करोड २४ लाखमा निर्माण सुरु भएको अस्पताल विसं २०८० पुसमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । हालसम्म ८० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस-एसी जेबी कन्ट्रक्सनका प्रमुख दीपककुमार अदैले जनाकारी दिए । बजेट नआउँदा एक वर्षदेखि काम रोकिएको उनको भनाइ छ ।

पालिकाबाट भुक्तान गर्न बाँकी रहेको एक करोड १० लाखसहित थप रु ६० लाख व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने उनी बताउँछन् । लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको अदैले सुनाए । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्षनै अस्पताल सम्पन्न भई सक्ने उनको भनाइ छ । पोहोर सालनै सकिनुपर्ने अस्पतालको काम बजेट नआएपछि गत असार मसान्तसम्म म्याद थप भएको थियो। बजेट नआएसम्म काम गर्न नसकिने अदै बताउँछन् ।

अदैले भने, ‘यो अस्पतालको काम अब धेरै छैन, रङरोघन, विद्युत् जडान र फिनिसिङको काम बाँकी छ, बजेट हुने हो भने केही समयमै काम सम्पन्न हुने थियो, तर पालिकाले अहिलेसम्म करोड बढीको रकम भुक्तानी गरेको छैन, त्यो बाहेक अझै थप बजेट आवश्यक पर्छ, त्यसको व्यवस्थापन गर्नसके काम अगाडि बढ्थ्यो, बजेट नआउँदा काम गर्न सकिएन ?’

निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले एक करोड ५० लाख सङ्घीय सरकारबाट नआउँदा काम अलपत्र परेको बताए । सङ्घीय सरकारअन्तर्गतको योजना रहेको हुँदा पालिकाले बजेट हाल्न नमिल्ने उनको भनाइ छ । बजेट व्यवस्थापनका लागि स्वास्थ्य र अर्थमन्त्रालयमा पत्र पठाए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको पुनमगरले बताए । अहिले पनि बजेटका लागि पहल भइरहेको उनी बताउँछन् । रासस

आज यी सात सडक छन् अवरुद्ध (सूचीसहित)

काठमाडौँ । आज (शनिबार) देशभरका विभिन्न सात सडक पहिरोका कारण अवरुद्ध बनेका छन् । नेपाल प्रहरीले विभिन्न स्थानमा सडक अवरुद्ध भएको जानकारी दिएको छ । प्रहरीका अनुसार आज सात स्थानमा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ भने सात स्थानमा एकतर्फी रहेको छ ।

प्रहरीका अनुसार संखुवासभामा भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ मा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । यस्तै उदयपुरको कटारी–८ मा सिद्धिचरण राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध बनेको छ भने रसुवाको गोसाइँकुण्ड–२ मा नेपाल–चीन नाका जोड्ने पुल पूर्णरुपमा अवरुद्ध छ ।

यस्तै यस्तै सिन्धुपाल्चोकको दुई स्थान र चितवनको एक स्थानमा समेत क्रमशः अरनिको र नारायणगढ–मुग्लिङ सडक खण्ड पूर्णरुपमा ठप्प रहेको प्रहरीले जनाएको छ ।

हेर्नुस् जानकारी

खसी किन्ने निहुँमा दुई समूहबीच झडप, एकको मृत्यु

बाँके । बाँकेमा खसी किन्ने निहुँमा विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका– ५ का ५२ वर्षीय जाबिद अली बेहनाको मृत्यु भएको हो ।

शुक्रबार बिहान उनले किन्न ठिक्क पारेको एउटा खसी अर्कैले उठाएपछि दुई समूहबीच झडप भएको हो । उनीहरुले आपसमा ढुंगा हानाहान गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार आपसमा ढुंगा लागेर घाइते भएका जाबिदको दिउँसो साढे २ बजेतिर उपचार क्रममा मृत्यु भएको थियो ।

डिएसी पातलीले हत्या घटनामा संलग्न रहेकामध्ये चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको बताए । एक स्थानीयका अनुसार झगडा गर्नेहरु सालो–भेना हुन् । मृतक बेहना सालो वा भेना को हुन् भन्नेबारे सोधपुछ हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक कति बेलासम्ममा खुल्ला ?

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिन नजिकै तुइन खोला छेउमा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको सडक अहिले बिहानदेखि पन्छाउने काम सुरु भएको छ ।

शनिबार बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिएको सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बताएका छन् । उनका अनुसार निरन्तर काम जारी रहेमा कम्तीमा ४ घण्टाभित्र सडक सुचारु हुने अनुमान गरिएको छ ।

पहिरोका कारण गत रातिदेखि सयौं सवारीसाधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । सुरक्षालाई ध्यानमा राख्दै यथाशीघ्र सडक सञ्चालन गर्ने तयारी भइरहेको उनले बताएका छन् ।

पहिरो हटाउन असम्भव भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यो सडक खण्ड हुँदै आउजाउ गर्ने यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । अहिले पनि डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ । पहिरो झरिरहेकोले डोजर रोकिँदै काम गर्दै गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

 

देउवाको टाउकोमा १२ वटा टाँका, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । सभापति देउवा र पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवा दुवैको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।

कार्यसम्पादन बैठकपछि पत्रकारहरूसँग विश्वकर्माले भने, ‘टाउकोको पछाडि (गर्धनमाथि) गम्भीर चोट लागेको र त्यसमा करिब १२ वटा टाँका लगाइएको छ । त्योभन्दा तल गर्धनमा सामान्य चोट छ ।’

दुवै जनाको स्वास्थ्य सुधारोन्मुख रहेको बताउँदै विश्वकर्माले सुनाए, ‘उहाँ सामान्य बोलचाल गर्ने, हिँडडुल गर्ने र पार्टीका साथीहरूसँग सम्पर्क र संवाद गर्न सक्ने हुनुहुन्छ ।’ सभापति देउवालाई उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा असहज हुने भएकाले चिकित्सकले अझै आराम गर्न भनेको नेता विश्वकर्माले जानकारी दिएका छन् ।

 

नेपालको अवस्थाबारे भारतले आफ्ना नागरिकका लागि जारी गर्‍यो ‘एडभाइजरी’

काठमाडौं । भारतले जेनजी आन्दोलनयता बिग्रिएको नेपालको अवस्था सुधारको क्रममा रहे पनि यात्रा गर्दा अझै सावधानी अपनाउन आफ्ना नागरिकलाई सुझाव दिएको छ । काठमाडौँस्थित भारतीय दूतावासले आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको हो ।

नेपालस्थित भारतीय दूतावासले भनेको छ, ‘नेपालको स्थितिमा केही हप्ताको तुलनामा सुधार आएको छ । सडक यातायात र उडान नियमित रूपमा सञ्चालन भइरहेका छन् ।’ ‘यद्यपि नेपाल यात्रा गर्ने भारतीय नागरिकलाई सावधानी अपनाउन र भारतीय दूतावास वा स्थानीय अधिकारीले जारी गरेका सल्लाह पालना गर्न सल्लाह दिइन्छ ।’ भारतीय दूतावासले आफ्ना नागरिकलाई सहयोग गर्न हेल्पलाइन नम्बर, आपत्कालीन नम्बर र इमेल ठेगाना पनि जारी गरेको छ ।

सञ्चार मन्त्रालयमा सूचीकृत हुन नआएको भन्दै तत्कालीन ओली सरकारले भदौ १९ गते फेसबुक, एक्स, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । यसको ४ दिनपछि अर्थात् भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै जेनजी (२८ वर्षमुनिको पुस्ता) ले काठमाडौँसहित देशका प्रमुख सहरमा प्रदर्शन गरेको थियो ।

दुई दिनको जेनजी आन्दोलनमा परी हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ । कैयौं घाइते अझै अस्पतालमा छन् । सार्वजनिक तथा निजी सम्पत्तिको क्षति ठूलो छ ।

यस क्रममा आन्दोलनकारीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई घरभित्रै पसेर कुटपिट गरे ।

जेनजी आन्दोलनका कारण कांग्रेस–एमालेको गठबन्धन सरकार ढलेपछि मुलुकमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ भने नयाँ सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् (प्रतिनिधि सभा) विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिसकेका छन् ।

पुनःस्थापनाका पर्खाइमा मुक्त हलिया

कञ्चनपुर, ४ असोजः संविधान जारी भएको दशक वित्तिसक्दा पनि हलिया प्रथाबाट मुक्त भएका हजारौँ परिवार अझै पुनःस्थापनाको पर्खाइमा छन् ।

संविधानले सुनिश्चित गरेका अधिकारको प्रत्याभूति हुन नसक्दा दासत्वको स्वरूपमा रहेको हलिया प्रथा अन्त्य भएको १७ वर्ष पुग्न लाग्दा पनि मुक्त हलियाको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको हो । विस २०६५ भदौ १४ गते तत्कालीन सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो ।

तत्कालीन सरकार र हलिया महासङ्घबीच भएको पाँच बुँदे सम्झौताको आधारमा पुनःस्थापनाकार्य अघि बढाइने सहमति भएको थियो तर समय सापेक्ष व्यवस्थापन र योजनाबद्ध कार्यान्वयन नहुँदा अपेक्षित परिणाम हासिल हुन सकेन ।

मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार भन्नुहुन्छ, “सुरुवात राम्रै भए पनि पुनःस्थापनाकार्य अधुरो र अपुरो छ, संविधानले समानता र न्यायको अधिकार सुनिश्चित गरे पनि शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच अझै न्यून छ ।”

“विगतमा बजेट विनियोजन भए पनि प्रभावकारी ढङ्गले कार्यान्वयन नहुँदा पुनःस्थापनाको काम अघि बढ्न सकेको छैन” उहाँले भन्नुभयो, “पहिले पुनःस्थापन समस्या समाधान समितिमार्फत काम अघि बढ्दा केही प्रगति भएको भए पनि पछिल्लो समय सङ्घीयता कार्यान्वयनसँगै जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भएपछि पुनःस्थापनको कार्यले गति लिन सकेको छैन ।”

सरकारी तथ्याङ्कअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा तीन हजार ४०७ मुक्त हलिया परिवार अझै पुनःस्थापन हुन बाँकी छन् । सुदूरपश्चिमका दार्चुला बाहेकका सात जिल्ला र कर्णाली प्रदेशको सुर्खेतमा पुनःस्थापनाको काम सम्पन्न हुन बाँकी छ ।

तथ्याङ्कअनुसार, प्रारम्भमा १९ हजार ५९ घरपरिवारको विवरण सङ्कलन गरिएको थियो । त्यसमध्ये सरकारले पुनःप्रमाणिकरण गरेका १६ हजार ९५३ घरपरिवारमध्ये हालसम्म १३ हजार ५४६ परिवार मात्र पुनःस्थापनाको प्याकेज पाएका छन् । अझै एक हजार १०४ परिवार अन्तिम किस्ताको रकम पाउनबाट बञ्चित रहेका छन ।

कञ्चनपुरमा “क” श्रेणीका मात्रै १०६ जनाले जग्गा खरिद र घर निर्माणको रकम पाउन बाँकी छ भने “ख” श्रेणीका ७२३ जनाले घर निर्माणको दोस्रो किस्ता अझै प्राप्त गरेका छैनन् ।

मुक्त हलियाको पुनःस्थापनामा ढिलाइ हुनुका कारणमा विभिन्न तहबीचको समन्वय अभाव प्रमुख कारण मानिन्छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पछिल्ला वर्ष बजेट नै विनियोजन नगरेपछि समस्या थप गम्भीर बनेको मुक्त हलियाहरूको बुझाइ छ ।

पूर्वसंविधानसभा सदस्य तथा हलिया आन्दोलनका अगुवा हरि श्रीपाइली भन्नुहुन्छ, “तत्कालीन समयमा लगतमा नाम छुटेका हलियाको पहिचान हुन सकेको छैन, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सशक्तिकरणलगायतका मुद्दालाई सरकारले प्राथमिकतामा राखेर प्रभावकारी कार्यान्वयन गर्न नसक्दा सम्मानजनक जीवन पाउन सकिएको छैन ।”

सङ्घीय सरकारले विसं २०७६ मा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका ५८ स्थानीय तहमा एक हजार ५५ परिवारको पुनःस्थापन जिम्मेवारी हस्तान्तरण गरेको थियो । तर स्थानीय तहले त्यसलाई प्राथमिकतामा नराख्दा रकम वर्षेनी फिर्ता हुने अवस्था आएको सरोकारवालाको भनाइ छ ।

मुक्त हलियामध्ये करिब ९७ प्रतिशत दलित समुदायका व्यक्ति रहेका छन । जातीय विभेद र छुवाछूतका कारण उनीहरूलाई स्थानीयस्तरमा होटल, पसल, डेरीजस्ता व्यवसाय सञ्चालनमा कठिनाइ हुने गरेको मुक्त हलिया लक्षी लुहार बताउनुहुन्छ ।

“युवासँग सीप भए पनि पूँजी अभाव छ, सीप नभएका युवाले स्वदेश वा विदेशमा सस्तो श्रम बेच्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो, “परम्परागत व्यवसाय आधुनिक र प्रतिस्पर्धी बन्न नसक्दा रोजगारीको वैकल्पिक अवसर भेटिएको छैन ।”

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका अध्यक्ष ईश्वर सुनारका अनुसार, हाल सुदूरपश्चिम प्रदेश सरकारले विसं २०८० मा “मुक्त हलिया, कमैया, कम्लहरी पुनःस्थापना कार्यविधि” पारित गरी कार्यान्वयन चरणमा ल्याएको छ । चालु आर्थिक वर्षमा मात्र १०० परिवारका लागि आवास निर्माणमा तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उहाँ भन्नुहुन्छ, “नीतिगत उपलब्धी भए पनि देखिने परिणाम आएको छैन, स्थानीय तहले कार्यविधि पारित गरे पनि तथ्याङ्क संकलन, प्रमाणिकरण र परिचयपत्र वितरणमा सुस्त गति देखिएको छ ।” अहिलेको राजनीतिक उथलपुथलले मुक्त हलिया पुनःस्थापनकार्यले गति लिनेमा उहाँ शङ्का व्यक्त गर्नु हुन्छ ।

मुक्त हलियाका लागि छुट्टै नीति नहुँदा संविधान, श्रम ऐन, स्थानीय सरकार सञ्चालन ऐनलगायतका कानुनमा उल्लेखित अधिकार कार्यान्वयनको तहमा कमजोर भएको सरोकारवालाको ठहर छ ।

संविधानले प्रत्येक नागरिकलाई समानता, शिक्षा, स्वास्थ्य, रोजगारी, आवासजस्ता मौलिक हक सुनिश्चित गरेको छ तर दासत्वबाट मुक्त भएको डेढ दशकभन्दा बढी समय बित्दा पनि हजारौँ हलिया परिवार अझै सम्मानजनक जीवन व्यतित गर्न नसक्नु गम्भीर प्रश्न बनेको छ ।

“परिचयपत्र पाएका तर अन्तिम किस्ताको रकम नपाएका परिवारलाई प्राथमिकतामा राखी प्याकेज दिनुपर्छ, पुनःस्थापन हुनबाट छुटेका परिवारलाई पुनःस्थापन गरिनु पर्छ” हलिया अधिकारको क्षेत्रमा कार्यरत हरि सिंह बोहरा भन्नुहुन्छ, संविधानले दिएको अधिकार कार्यान्वयन नभएसम्म मुक्त हलियाले वास्तविक अर्थमा स्वतन्त्रता र सम्मानित जीवन पाउँदैनन् ।”

प्रदेश सरकार र स्थानीय तहले हलिया परिवारका लागि खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उहाँको माग छ । साथै परम्परागत व्यवसायलाई आधुनिकीकरण गरी सीपमूलक तालिम, रोजगारी र उद्यमशीलताको अवसर उपलब्ध गराउनुपर्नेमा उहाँको जोड रहेको छ ।

काठमाडौंको यी क्षेत्रमा आज विद्युत अवरुद्ध हुने

काठमाडौं । काठमाडौँको सुन्धारा, त्रिपुरेश्वर, क्षेत्रपाटीलगायतका क्षेत्रमा आज (शनिबार) दुई घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण दरबारमार्गका अनुसार आज बिहान ८ बजेदेखि १० बजेसम्म सुन्धारा, सिभिल मल, सेन्ट्रल जेल, चाइना टाउन हुँदै त्रिपुरेश्वर चोक र चोकको आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ।

यस्तै दिउँसो १२ बजेदेखि २ बजेसम्म पुष्पलाल पार्क, ढल्को, क्षेत्रपाटी चोक, पकनाजोल, धोबिचौर, ठहिटी, ज्याठा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । भूमिगत केबल सम्बन्धि कार्य गर्न लागिएकाले विद्युत आपूर्ति बन्द गर्न लागेको सूचनामा उल्लेख छ । निर्धारित समय अगाडि नै काम सम्पन्न भए विद्युत सेवा शुरू हुने पनि प्राधिकरणले जनाएको छ ।

दसैंमा घर सिङ्गार्न आइपुग्छु भनेका कमल जेननी आन्दोलनमा आफै अस्ताए

पाँचथर । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताइ गत वैशाखमा झापा आएका पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरका कमल भण्डारी बाबु–आमा भेट्न गाउँ आइपुगेकै थिएनन् । श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले उनी झापामै बसेर विर्तामोड नगरपालिका–१० बिराटपोखरमा घर बनाइरहेका थिए ।

गत भदौ तेस्रो साता मोवाइलमा कुराकानी हुँदा कमलले बुबा गणेशप्रसाद भण्डारीलाई दसैंसम्ममा घरको भुईं तलाको काम सक्ने बताएका थिए। ‘दसैँमा यहाँको घर सिङ्गार्न आइपुग्छु भन्थ्यो’, गणेशले भने, ‘तर भदौ २५ गते कान्छो छोराले दाजुलाई गोली लाग्यो भनेर सुनायो ।’

गणेशलाई देशका मुख्य शहरमा जेनजीको आन्दोलन भइरहेको र आन्दोलनमा आफ्नो छोरो समेत सहभागी भएको थाहा नै थिएन । घर निर्माण गरिरहेका कमल ‘जेनजी’ आन्दोलन चर्किएको समयमा भदौ २४ गते साँझ आन्दोलनमा सहभागी हुन झापाको विर्तामोड गएका थिए । कमलका भाइ पवनका अनुसार श्रीमती सीतालाई ‘धेरै समय बस्दिन । एकैछिन आन्दोलनमा गएर आउँछु’ भनेर कमल गाउँका अन्य साथीसँग विर्तामोड लागेका थिए ।

रात पर्दै गए पनि कमलको फोन उठेन । श्रीमती सीता, बहिनी मायालगायतले रातैभरी मोवाइलमा फोन गरे । फोन लाग्ने तर कुनै प्रतिक्रिया नआउँदा सबैको मनमा आशंका पसिसकेको थियो । बहिनी मायाका अनुसार गत भदौ २५ गते विहान १० बजे कमलको फोन बिएण्डसी अस्पतालका सुरक्षाकर्मीले उठाए ।

सुरक्षागार्डले ‘तपाईंको बिरामी यहाँ हुनुहुन्छ । आएर लिएर जानु’ भने । ‘हामीलाई केही थाहा नै भएन । हाम्रो दाइ घाइते भएर अस्पतालमा हुनुहुन्छ भनेर हामीलाई कसैले जानकारी पनि गराएननु’, मायाले भनिन्, ‘दाजुसँगै आन्दोलनमा आएका अरु कसैले पनि हामीलाई जानकारी गराएनन् । हामीले त चिन्ने कुरै भएन । त्यो समूहमा गएकामा दाजुलाई मात्रै गोली लागेछ ।’

जेनजी आन्दोलन उत्कर्षमा पुगेका बेला भदौ २४ गते साँझको खाना खाएर कमल आन्दोलनमा सहभागी हुन विर्तामोड आएका थिए । आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय विर्तामोड छेउमा भएको झडपमा कमलको कन्चटमा गोली लागेको थियो । घाइते कमललाई सुरक्षाकर्मी र आन्दोलनकारीले उद्धार गरेर बिएण्डसी अस्पताल पुर्‍याएका थिए ।

कमलका परिवारजनले भोलिपल्ट मात्रै उनी ‘भेण्टिलेटर’ मा भएको जानकारी पाए । ‘दाजु कस्तो अवस्थामा हुनुहुन्थ्यो भनेर हामीलाई हेर्न नै दिइएन । भाउजू बेहोस् अवस्थामा हुनुहुन्थ्यो’, बहिनी मायाले भनिन्, ‘चिकित्सकले गोली निकाल्न सकेनौँ । आफन्त पनि आउनु भएन भन्नु भयो। हामीले थाहा नै पाएनौँ भोलिपल्टसम्म । तर त्यतिञ्जेलसम्म धेरै ढिलो भइसकेको रहेछ ।’

कमलको शवलाई भदौ २८ गते अमरपुर ल्याई दाहसंस्कार गरेपश्चात काका शान्तिराम भण्डारी र श्रीमती सीता काजक्रियामा बसेका छन् ।उनका बाबु गणेश आफै बिरामले थलिएका छन् । बिरामी आमा खगमायाले राम्रोसँग कान नसुन्ने कमलका भाइ पवनको भनाइ छ ।

बिरामी बाबु गणेशका गला अवरुद्ध छन् । गर्भवती श्रीमती सीता अझैँसम्म ‘अर्धचेत’ छिन् । सिकुवामा ‘हार्दिक श्रद्धाञ्जलि’ लेखेर ३० वर्षका छोराको तस्वीर राखिएको छ । आफन्त र छरछिमेकी घरभरि छन् । तर गणेशलाई न निन्द्रा लागेको छ न भोकप्यास ।

झापामा घर निर्माण सकेर बाबु–आमालाई पनि लैजाने कुरा कमलले परिवारसँग गर्दै आएका थिए । परिवारको मियो नै ढलेपछि न झापाको घर निर्माण सम्पन्न भयो न त बाबुआमालाई झापा लैजाने कुरा नै । ‘हामीलाई पनि घर बनाइ सकेर झापा नै लैजाने भन्दै थियो । तर खोइ आज के आइलाग्यो ?’, भक्कानिदै बाबु गणेशले भने । भुइ तला ढलान सकिएको घर फिनिसिङ गर्न बाँकी छ ।

कमल दसैँमा घर सिङ्गार्न आइपुगेनन् नै दसैँको मुखका परिवार र सिङ्गो गाउँ शोकमा डुबेको छ । ३० वर्षीय कमलको आठ वर्ष खाडीमै वितिसकेको थियो । खाडीमा गरेको परिश्रमले झापामा जग्गा खरीद गरेर घर बनाउने क्रममा निधन भएपछि भण्डारी परिवारमाथि बज्रपात परेको छ ।

कमलका पाँच वर्षका छोराले अब कहिल्यै बाबु भेट्ने छैनन्, गर्भमा रहेको सन्तानले बाबु देख्न पनि पाउने छैन । अर्धचेत श्रीमती सीताले सहयात्राको सात वर्षमै श्रीमान् गुमाउनु परेको छ । ‘यिनीहरुको भविष्य के होला भन्ने हामीलाई ठूलो चिन्ता छ’, काका शान्तिरामले भने ।
सहिद परिवारलाई भेट्न जनप्रतिनिधि, राजनीतिक दलका नेता र आन्दोलनका अगुवा आइपुगेका छैनन् ।

‘हामीलाई भेट्न वडाध्यक्ष समेत आउनु भएको छैन्’, सहिद कमलकी बहिनी मायाले भनिन्, ‘देशमा परिवर्तन होला भनेर आन्दोलनमा गएको दाइ वित्दा कसैले वास्ता पनि गर्नु भएन ।’ जेनजी आन्दोलनका सहादत प्राप्त गरेकाका परिवारलाई दिइने भनेको राहतवारे पनि भण्डारी परिवार जानकार छैन । रासस

नक्कली शैक्षिक प्रमाणपत्र कसुरमा पक्राउ परेका रास्वपा नेता कँडेल जेल चलान

रुपन्देही । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पुर्पक्षका लागि जेल चलान भएका छन्।

कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । रुपन्देही अदालतले यसको पुष्टि गरेको छ । न्यायधीश डिल्लीराम अर्यालकोको इजलासमा कंडेल थुनामा गएका हुन् ।

चितवनको कालिका नगरपालिका ५ पदमपुरका हरिप्रसाद कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक रहेका थिए । कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको थियो ।

उनी पक्राउ परेसँगै रास्वपाले पार्टीबाट निलम्बन गरेका थियो । भदौ ४ गते पक्राउ परेका कंडेल ५ गते नै पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निलम्बनमा परेका हुन् ।

रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गर्दा उनको साथमा नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीसमेत फेला परेको थियो । यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गरेर रुपन्देही ल्याएसँगै प्रहरीले अनुसन्धान गरेर उनको मुद्दा अघि बढाएको थियो । रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले रुपन्देही अदालतले उनलाई पुपक्र्षको लागि थुनामा पठाएको जनाए ।

केही दिनअघि यो आदेश आएपनि जिल्ला अदालतमा जेनजी आन्दोलनका क्रममा धेरै सामग्री जलेका कारण यो बाहिर आएको छैन ।

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक रातभर नखुल्ने

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा ठूलो पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्डमा दुई तर्फी आवागमन अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिकाको तुइन खोला भन्ने स्थानमा माथिबाट ठूलो पहिरो खसेको हो ।

दिउँसो देखिनै लगातार हल्का वर्षा भएको त्यस क्षेत्रमा साँझ भीर नै सडकमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । शुक्रबार साँझ सवा ७ बजेतिर तुइनखोलामा पहिरो खसेपछि राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

रातिमा काम थाल्दा माथिबाट खसेको ढुङ्गा सहितको पहिरो नदेखिने हुनाले बिहानपख मात्रै पहिरो पन्छाउने काम थाल्ने प्रहरीले बताए । पहिरो पन्छाउन आएका जेसीबीसहितका मेसिन राति छिप्पिन थालेसँगै फर्किएका छन् ।

उनका अनुसार शनिबार बिहान ४ बजेपछि मात्रै पहिरो पन्छाउने कार्य थालिनेछ ।

अहिले राजमार्गमा प्रहरीले माइकिङ गरेर यथास्थानमा सुरक्षित बस्न सवारी चालक र यात्रुहरूलाई आग्रह गरिरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढतिरबाट मुग्लिनतिर आउन लागेका र काठमाडौं तथा पोखरातिरबाट नारायणगढतर्फ जान लागेका सवारी साधनलाई सुरक्षित स्थानमा रोकिन आग्रह गरेको छ ।

पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ।

जेन-जी आन्दोलनमा जलाइए देशभर २ हजार ७९ वटा आवासीय तथा व्यापारिक भवन

काठमाडौं। जेन–जी आन्दोलनका क्रममा भएको आगजनीका कारण देशभर २ हजार ७९ वटा सरकारी, आवासीय तथा व्यापारिक भवन जलाइएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार ५ सय १९ वटा भवन पूर्ण रूपमा जलेर ध्वस्त बनेका छन् । १ हजार ५ सय ६० वटा भवनमा भने आंशिक क्षति पुगेको छ ।

प्रहरी मातहतका १ सय ९७ वटा कार्यालय पूर्ण र २ सय ५८ मा आंशिक क्षति पुगेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले बताएका छन् ।

‘२ सय १० वटा सरकारी भवन पूर्ण रूपमा जलेका छन् भने ८ सय ३६ वटामा आंशिक क्षति पुगेको छ । यस्तै ४५ वटा पाटी कार्यालय पूर्ण र १ सय ७४ वटामा आंशिक क्षति पुगेको छ ।

यस्तै ९७ वटा आवासीय तथा व्यापारिक भवनमा पूर्ण क्षति भएको छ भने २ सय ९२ वटा आंशिक रूपमा क्षतिग्रस्त छन्,’ उनले बताए ।

जलाइएका सामग्रीको विवरण संकलन गर्न समिति गठन

काठमाडौँ । गत भदौ २३ र २४ गते जेन जेडको प्रदर्शनका क्रममा सिंहदरवारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका जलाइएका सामग्रीको विवरण संकलन गर्न समिति गठन गरिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. जानुका पण्डितको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा प्रशासन, लेखालगायत शाखाका कर्मचारीलाई सदस्य राखिएको छ । गत आइतबारको सचिव स्तरीय निर्णयअनुसार समिति गठन गरिएको प्रवक्ता पण्डितले जानकारी दिए ।

गत भदौ २३ गते र भदौ २४ गते कर्मचारीका सवारीसाधन मन्त्रालय परिसरमै थिए । त्यस दिन सिंहदरवारको मूलढोकाबाट सरकारी नम्बर प्लेटका गाडी निकाल्न दिइएको थिएन ।

मन्त्रालयअन्तर्गत रहेको बालाजुस्थित मत्स्य विकास केन्द्रमा रहेका सरकारी सवारीसाधन पनि जलाइएका र त्यसको विवरण तयार पारेर प्रतिवेदन बुझाइने प्रवक्ता पण्डितले बताए ।

मन्त्रालयको ४१ गाडीमा आगजनीबाट क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका २९ मोटरसाइकल जलाइएका छन् ।

मन्त्रालय परिसरमा पार्किङ गरिराखिएका नौ मोटरसाइकल हराए तथा १० स्कुटर जलाइएका सवारी हेर्ने शाखाका कर्मचारी लोमश आचार्यले जानकारी दिए।

आन्दोलनको क्रममा घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगिन् विद्या (तस्बिरहरु)

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले जेनजी आन्दोलनको क्रममा घाइते भएका प्रहरी र युवाहरुलाई भेटेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल पुगेर घाइतेहरु लाई भेटेकी हुन् ।

उनले घाइतेहरुको स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा घाइतेभइ उपचार गराइरहेका प्रहरीहरुको स्वास्थ्य अवस्था चासो देखाइन् । उनले घाइते भएका अन्य सर्वसाधरणलाई पनि भेटेकी थिइन् ।

यसअघि बुधबार घाइते प्रहरीहरुलाई भेट्न गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ पनि पुगेका थिए । आन्दोलनमा ३ जना प्रहरीको मृत्यु भएको थियो भने केही प्रहरीहरु गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार जारी छ । सामान्य घाइते भएका प्रहरीहरु उपचारपश्चात सेवा फर्किसकेका छन् ।

 

संसदबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय भएनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद् विघटन गरिएको बताएका छन्।

संविधान दिवसको अवसरमा राष्ट्रपतिको सरकारी निवास सितल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

मुलुक फेरि नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको उल्लेख गर्दै उनले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको अगामी बाटो तय गर्ने विश्वास व्यक्त गरे।

पौडेलले अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए। जेनजी आन्दोलनको क्रममा राष्ट्रले भोगेको क्षतिको पुर्ननिर्माण अहिलेको मुख्य कार्यभार रहेको उनको भनाइ छ।

अबको ६ महिनाभित्रमा निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्नसमेत उनले आग्रह गरे। राजनीतिक दल, मुलुकको शासन तथा व्यवस्थापनमा आबद्ध निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व नभई पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यका साथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन उनको आह्वान छ।

 

सहिद विजय चौधरीको परिवारलाई नगरद्वारा खाद्यान्न प्रदान

सिरहा । ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौँमा प्रहरीको गोली लागेर सहिद भएका लहान–१५ सिमलटोकीका विजय चौधरीको परिवारलाई लहान नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार घरमै पुगेर खाद्यान्न सामग्री प्रदान गरेका छन् ।

नगरप्रमुख चौधरीले लहान नगरपालिकाको तर्फबाट तत्काल राहतस्वरूप एक क्विन्टल चामल, पाँच किलो दाल, पाँच लिटर तेल र पाँच किलो नुन हस्तान्तरण गरेका हुन् । यसअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख चौधरीले सहिद विजयको परिवारलाई रु एक लाख नगद राहत उपलब्ध गराउने घोषणा गरेको थिए।

साथै, सहिद चौधरीकी चार वर्षीया छोरीको कक्षा १२ सम्मको शिक्षाको पूर्ण व्यवस्था गर्ने र श्रीमतीलाई योग्यताअनुसारको रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै लहान–१५ मै सहिद विजयको स्मृतिमा सहिद पार्क बनाउन पहल गरिने पनि उनले जानकारी दिए। सो अवसरमा, पीडितपरिवारप्रति सहानुभूति प्रकट गर्दै सामाजिक संस्था ‘होप फाउन्डेसन’ की अभियन्ता पार्वती सुब्बाले पनि पीडित परिवारलाई घरमै पुगेर रु १० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् ।

गत भदौ २३ गते काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि २७ वर्षीय विजय चौधरीको निधन भएको थियो । नौ दिनपछि यही मङ्गलबार उनको गाउँमा अन्तिम संस्कार गरिएको थियो । उनका आमाबुबा, एक दाजु र एक दिदी पनि छन् ।

यसअघि सरकारले आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गरिसकेको छ । साथै मृतकका परिवारलाई प्रतिव्यक्ति रु १५ लाख राहत उपलब्ध गराउने निर्णयसमेत गरिएको छ ।

गृह मन्त्रालययद्वारा सहायता कक्ष स्थापना

काठमाडौँ । गृह मन्त्रालयले ‘जेनजी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू सहजीकरण गर्नका लागि सहायता कक्षा स्थापना गरेको छ ।

आज मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रवीन्द्र आचार्यले ‘जेनजी’ युवाहरूको आन्दोलनपछिको अवस्थामा जनताको समस्या र सुझाव सुन्नका लागि मन्त्रालयले उक्त सहायता कक्षा स्थापना गरेको जानकारी दिए।

“जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाइल नम्बर ९८५१३६०६०३ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाइवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ”, मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।