`

श्रीमतीको हत्या गरी शव गाडेपछि जसले दिए बेपत्ता भन्दै प्रहरीमा निवेदन

संखुवासभा । संखुवासभामा श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । मादी नगरपालिका–६ बस्ने ४९ वर्षीय प्रेम दोर्ची शेर्पा पक्राउ परेका हुन् । उनीमाथि आफ्नी ३७ वर्षीया श्रीमती मिना शेर्पाको हत्या गरेको आरोप लागेको हो । मंसिर ९ गते आफ्नी श्रीमती मिना हराएको भनेर प्रेमले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । निवेदनपछि अनुसन्धानबाट प्रेम दोर्ची नै शंकास्पद पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो ।

सोधपुछको क्रममा उनले हत्या गरेको स्वीकारेका हुन् । ‘मंसिर ९ गते राति अन्दाजी साढे १० बजे ओखरेबोटे बजारबाट घर फर्किने क्रममा दुई जनाबीच विवाद भएको र बाटैमा कुटपिट गरी हत्या गरेको खुलेको छ,’ प्रहरी निरीक्षक राजवंशीले भने, ‘हत्या पछि आफ्नै अलैची बारीमा लाशलाई त्रिपालमा बेरेर खाल्डो खनेर गाडेको छु भनेका थिए ।’

त्यसपछि इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमाण्डमा अनुसन्धान टोली खटिएर शव निकालिएको थियो । प्रहरीले शव सडिसकेको अवस्थामा फेला पारेको थियो । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गर्न प्रेम दोर्चीमाथि कर्तव्य ज्यान कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छ : देवराज घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसदलाई बन्देज लगाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । संघीय संसद सचिवालयका दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभाको विघटन गर्ने कामको सान्दर्भिकता नभएको जिकिर समेत गरे । सभामुख घिमिरेले सरकारले संसद सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा र दरबन्दी घटाउने कामप्रति पनि असन्तुष्टि व्यक्त गरे । सरकारले संघीय संसदलाई आफू मातहतको कुनै एउटा शाखाको जस्तो व्यवहार गर्नु उचित नभएको सभामुख घिमिरेको भनाई थियो ।

उनले भने, ‘२७ भदौमा गएर संसदलाई नै विघटन गरिएको छ । यसको सोझो सान्दर्भिकता देखिँदैन र छैन । यो संसदीय व्यवस्थामाथिको प्रहार हो । पछिल्लो समय सरकारले संसद र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रुपमा अदृष्य बन्देज लगाउने प्रयास गरिरहेको छ । म सभामुखको हैसियतले स्पष्ट शब्दमा भन्न चाहन्छु–संसदको सरकारको अधिनमा रहने कुनै एउटा शाखा होइन र हुन सक्दैन । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार संसद आफैमा पूर्ण स्वायत्त निकाय हो ।’

उनले भने, ‘संसदको बजेटमा अर्थ मन्त्रालयले कैंची चलाउनु, कर्मचारीको सेवा, सुविधा र दरबन्दीमा प्रशासनिक बाधा पु¥याउनु भनेको अप्रत्यक्षरुपमा व्यवस्थापिकालाई कार्यकारीले नियन्त्रण गर्ने उल्टो प्रयास हो । संसदको आर्थिक र प्रशासनिक साँचो सरकारको हातमा मात्रै हुने हो भने यो संसदले कसरी सरकारमाथि निष्पक्ष निगरानी र सन्तुलित कामहरु गर्न सक्दछ ? यो अहिले तत्काल छलफल, बहस र तुरुन्त कार्यान्वयनमा सुधार गर्नुपर्ने विषय हो भन्नेकुरा म राख्न चाहन्छु ।’ सभामुख घिमिरेले सरकारले संघीय संसदको सेवा, सुविधा घटाउने निर्णय तत्काल सच्याउनु पर्ने समेत बताए ।

तीन महिनामै उल्टियो एमालेको विधान, अब वरिष्ठ उपाध्यक्ष नरहने

काठमाडौं । विधान महाधिवेशनको तीन महिना नबित्दै नेकपा (एमाले) ले विधान संशोधन गरेको छ । एघारौँ महाधिवेशनको बन्दसत्रअघि आज बिहान बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार विधान संशोधनगरी केन्द्रीय समितिको आकार र पदाधिकारीको संख्या बढाउने निर्णय गरेको हो ।

जसअनुसार अब केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने छ भने पदाधिकारी १९ जना कायम हुनेछ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, विधान संशोधनसहित १९ जना पदाधिकारी बनाउने प्रस्ताव बन्द सत्रको हलमा प्रस्तुत हुनेछ । गत भदौमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ जनाको बनाएको थियो ।

यसअघि दुई दिनअघि मात्रै बसेको सचिवालय बैठकले पनि विधान संशोधन नगर्ने र भदौमै पारित विधान अनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने निर्णय गरेको थियो । तर, अन्तिम समयमा आइतबार बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउँदै विधान संशोधन गरेको हो । जस अनुसार, अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने पदाधिकारी संख्या बन्द सत्रको हलमा प्रस्तुत गर्ने निर्णय भएको हो । त्यस्तै, पोलिटब्युरो सदस्यको एक तिहाइ स्थायी कमिटी बनाइने पनि उनले जानकारी दिए । उनका अनुसार, पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । केन्द्रीय कमिटी भने २ सय ५१ बाट बढाएर ३ सय १ जनाको बनाइएको छ ।

एमाले महाधिवेशनको बन्द सत्र फेरि ३ बजेलाई सारियो

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय कमिटीको बैठकका कारण सरेको बन्दसत्र १२ बजे, १ बजे हुँदै दिउँसो ३ बजेका लागि सरेको हो । एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार खानापछि बन्द सत्र सुरु हुनेछ । काठमाडौंस्थित भृकुटीमण्डपमा हुने बन्दसत्रमा २२६२ महाधिवेशन प्रतिनिधि छन् भने सयौं कार्यकर्ता भृकुटीमण्डपमा भेला भएका छन् ।

केन्द्रीय कमिटीको बैठकले पुरानै विधान कायम गरेर जाने निर्णय गरेको छ । पोलिटब्युरोको एक तिहाइ सङ्ख्याको स्थायी कमिटी, पोलिटब्युरो ९९ सदस्यीय बनाउने निर्णय भएको छ भने केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरिएको छ । बन्द सत्रमा विधान संशोधनका सन्दर्भमा संख्या र संरचना मात्र परिवर्तन हुने र अन्य यथावत् रहने बताइएको छ ।

 

 

ट्रान्सपरेन्सी इन्टरनेशनलले गर्‍यो महान्यायाधिवक्ता भण्डारीलाई निलम्बन

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले महान्याधिवक्ता सबिता भण्डारी बराललाई सदस्यबाट निलम्बन गरेको छ । भण्डारीलाई ट्रान्सपरेन्सी कार्यसमितिले साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको हो । उनी विवादमा जोडिएपछि उक्त निर्णय गरेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका एक सदस्यले जानकारी दिए । ‘सार्वजनिक पदमा बसेको र उहाँमाथि प्रश्न उठ्न थालेपछि निलम्बन गरिएको हो । उहाँको पदलाई तत्काल स्थगनमा राखिएको छ ।’ महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीमा साधारण सदस्य थिइन् ।

‘हाम्रो संस्थाका आफ्नै मूल्य मान्यता र विश्वास छन् । कतिपय अवस्थामा संस्था र त्यसका पदाधिकारीहरुमाथि सार्वजनिक रुपमा नै प्रश्न उठेपछि सम्बोधन हुनुपर्ने ठान्छौं’ कार्यसमितिका एक सदस्यले भने, ‘त्यसैले हामीले अहिलेलाई अस्थायी रुपमा उहाँका बारेमा त्यस्तो निर्णय लिएका हौं ।’ उनका अनुसार विवाद सुरू भएदेखि नै उनलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिएको थियो । तर उनले अस्वीकार गरेकी थिइन् । तर विषयवस्तु स्पष्ट पारेमा निलम्बनबारे विचार हुनसक्ने उनले बताएका छन् ।

उनका अनुसार, सविता भण्डारी बराल एक त सार्वजनिक पदमा पुगेकी थिइन् । अर्कोतर्फ उनले नै गर्नुपर्ने निर्णयका बारेमा समेत सार्वजनिक वृत्तमा प्रश्न उठेपछि निर्णय भएको उनले बताए । विश्वव्यापी रुपमा भ्रष्टाचारको अनुगमन गर्ने र भ्रष्टाचार विरुद्ध वकालत गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरको रुपमा टीआई नेपाल सक्रिय छ । वरिष्ठ अधिवक्ता समेत रहेकी सविता भण्डारी बराल उक्त संस्थामा साधारण सदस्य छन् भने यसअघि पटक पटक कार्यसमितिमा पनि निर्वाचित भएकी थिइन् ।

 

 

आइजीपी कार्कीको गुनासो : प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो गरेका छन् । जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन आज उदघाटन गर्दै कार्कीले यस्तो गुनासो गरेका हुन् ।

उनले भने, ‘नेपाल प्रहरीका थुप्रै संरचनाहरु आन्दोलनको क्रममा यसपाला पनि ध्वस्त भए । यसभन्दा पहिला पहिलाका आन्दोलनमा पनि नेपालको इतिहासमा थुप्रैचोटि भएका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोको रुपमा पर्छ । यसलाई चाहिँ चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो पनि बनाउने, त्यस्तो पनि हुन्छ ।’ विगतका राजनीतिक आन्दोलनमा जस्तै यस वर्ष पनि प्रहरीलाई नै तारो बनाइएको बताएका छन् ।२३ र २४ गतेको जेन जेड प्रदर्शनको क्रममा उक्त भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

हाँस्य कलाकार किरण केसी ‘रातामकै’ को अग्रसरतामा पुनर्निर्माण गरिएको प्रहरी वृत्त सातदोबाटोको नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरिएको थियो । आइतबार बिहान आयोजित समारोहमा प्रहरी महानिरीक्षक कार्की, हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्कीको आतिथ्यतामा कलाकार केसीले समितिका सदस्यहरूको उपस्थितिमा भवन हस्तान्तरण गरेका हुन् ।

कर वक्यौता चुलिँदै : ९४ अर्ब ९५ करोड उठेन

काठमाडौं । पछिल्ला वर्षहरुमा उठ्न बाँकी कर वक्यौता चुलिन थालेको छ । आन्तरिक राजश्व विभागकाअनुसार प्रत्येक वर्षजसो बढिरहेको वक्यौता आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा ब्याज, थप दस्तुर र विलम्व शुल्कसहित उठ्न बाँकी त्यस्तो रकम ९४ अर्ब ९५ करोड पुगेको हो । त्यसो त, पछिल्लो समय कर कार्यालयहरुले निर्धारण गरेको रकम करदाताले चित्त बुझाउन छाडेका छन् भने करदाताले चित्त नबुझाउँदा उठ्न बाँकी कर रकम पनि अर्बौं छ । विभागकाअनुसार कर कार्यालयबाट भएको कर निर्धारणप्रति करदाताले चित्त नबुझाई आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब ८० अर्ब १० करोड रहेको पुुगेको छ ।

अघिल्लो बर्षमा वक्यौता संकलनतर्फ आयकरमा २२ अर्ब ७६ करोड लक्ष्य तोकिएकोमा ८ अर्ब ७१ करोड असुली भएको छ । यो प्रगति लक्ष्यको ३८.२९ प्रतिशत हो भने मू.अ.करतर्फ १६ अर्ब ३३ करोड लक्ष्य रहेकोमा रु. १० अर्ब ३३ करोड असुली गरिएको छ । जुन लक्ष्यको ६३.२८ प्रतिशत हो । वक्यौता समायोजनतर्फ आयकरमा २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड उठेको छ ।

जुन प्रगती लक्ष्यको ७८.१ प्रतिशत हो भने मूल्य अभिवृद्धि करतर्फ भने रु. १८ अर्ब १७ करोड लक्ष्य रहेकोमा २२ अर्ब २९ करोड समायोजन भई १२२.६३ प्रतिशत प्रगति भएको आन्तरीक राजस्व विभागले जनाएको छ । कानूनी कारवाहीमार्फत असुल गर्ने लक्ष्य ४ अर्ब ३९ करोड तोकिएकोमा अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७९ करोड मात्र असुली भएको छ । जुन लक्ष्यको तुलनामा ४०.७७ प्रतिशत प्रगति हो । नेपालमा व्यवसाय, रोजगारी तथा लगानीबाट करयोग्य आय आर्जन गर्ने व्यक्तिले आयकर ऐन, २०५८ को दफा ९६ अनुसार स्वयं घोषणा गरी तोकिएको समयभित्र आय विवरण पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

विवरणअनुसारको कर समयमै दाखिला नभएमा, कर परीक्षण तथा अनुसन्धानबाट कर निर्धारण भएमा वा अन्य कुनै कारणले आन्तरिक राजस्व कार्यालयबाट निर्धारण भएका आयकर, मूल्य अभिवृद्धि कर (मू.अ.कर), अन्तःशुल्क तथा साविकका अन्य कर रकम तोकिएको समयभित्र बुझाउन नसक्दा ती रकम वक्यौता कायम हुने गर्दछ । यसरी कायम भएको वक्यौताको अभिलेख राख्ने, मासिक तथा वार्षिक कार्यालयगत बक्यौता संकलन लक्ष्य निर्धारण गर्ने, वक्यौता संकलन रणनीति तयार गर्ने, प्रगति अनुगमन गर्ने तथा कार्यालयहरूबाट उठेका बक्यौता सम्बन्धी जिज्ञासामा स्पष्टता दिने कार्य आन्तरिक राजश्व विभागको वक्यौता शाखा शाखाले गर्दै आएको छ ।

 

 

पुरानै संरचनामा फर्कियो एमाले, यी नेता उत्रिए विधान संशोधनको विपक्षमा

काठमाडौं । नेकपा एमालेको पार्टी कमिटी पुरानै संरचनामा फर्किने भएको छ । ११ औं महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष ओलीले विधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको हो । सो निर्णयप्रति वरिष्ठ उपाध्यक्ष पोखरेलले विमति जनाउँदै बैठकमा सम्बोधन गरेका छन् । सुरेन्द्र पाण्डेले पनि संशोधन गर्ने नै भए दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाउनुपर्ने बताएका थिए ।

अब बन्द सत्रबाट अध्यक्षसहित, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३, सचिव ७, स्थायी कमिटी ४५, पोलिटब्युरो ९९, समेत ३०१ सदस्यीय केन्द्रीय कमिटी बन्ने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए । भदौ अन्तिम साता गोदावरीमा भएको विधान सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो ।

नेकपा एमालेको विधान संशोधन गर्न नहुने पक्षमा उपाध्यक्ष युवराज ज्ञवाली, अस्टलक्ष्मी शाक्य लगायतका नेताहरू उभिएका छन् । केन्द्रीय कमिटी बैठकमा विधान संशोधन गर्न नहुने पक्षमा उनीहरू देखिएका हुन् । बैठकमा धारणा राख्दै उपाध्यक्षद्वय ज्ञवाली र शाक्य तथा स्थाथी कमिटी सदस्यहरू बिन्दा पाण्डे, कर्ण थापा र काशिनाथ अधिकारीले पनि विधान संशोधन गर्न नहुने धारणा राखेका छन् । शुक्रबार बसेको सचिवालय बैठकमै अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउनेगरि विधान संशोधन गर्ने प्रस्ताव ल्याउने तयारीमा थिए ।

तर, त्यहाँ सचिवालयका अधिकांश सदस्य विपक्षमा उभिएपछि गत भदौमा भएको दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान अनुसारै नेतृत्व निर्माण गर्ने निर्णय बैठकबाट भएको थियो । तर, ओली पक्षले फेरि केन्द्रीय कमिटीमा विधान संशोधनको प्रस्ताव ल्याएर त्यही पारित गर्न खोजेपछि केही नेताहरू त्यसको विपक्षमा उभिएका हुन् । आफ्नो खेमाका नेताहरुको व्यवस्थापनका लागि सहज होस् भन्दै ओलीले विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउन खोजेका हुन् ।

 

चुनाव नलड्ने अष्टलक्ष्मीको घोषणा : आफू विना पार्टी चल्दैन भन्ने भ्रम त्यागौं

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने घोषणा गरेकी छिन् । भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले भनिन्, ‘म अब चुनाव लड्दिनँ । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’ उनले भनिन्, ‘विधि र विधान सम्मत चलौं, नेताले फराकिलो मन बनानुस्, पार्टीलीई नीति प्रदान बनाऔं, मुख्य कुरा विधि हो । मैले अध्यक्ष कमरेडसँग भएको कुरा स्मरण गर्न चाहन्छु , ७० पुगेपछि मैले काम गर्दिन भनेको थिएँ, उहाँले सँगै बिदा लिऔँला भन्नु भएको थियो ।’

आफू नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । आम जनताको चासो र चाहनालाई ख्याल गर्दै विधान संसोधन तिर लाग्न नहुने उनको भनाइ छ । यसअघि एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पनि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । उनले आफू ७० वर्ष उमेर पुगिसकेकाले एमालेको ११औं महाधिवेशनको बन्द सत्रस्थल भृकुटीमण्डपबाट उनले सक्रिय राजनीति छोड्ने घोषणा गरेका हुन् । २०२६ सालबाट कम्युनिष्ट राजनीतिमा सक्रिय ज्ञवाली पार्टीमा शालिन व्यक्तित्व भएका वैचारिक नेताका रुपमा चिनिन्छन् ।

 

प्रभु साहको आरोप : संसद पुनर्स्थापनाको षड्यन्त्रमा सुशीला सरकार पनि सहयोगी बन्दैछ

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार चुनाव नगराउने र स्वार्थ समूहको चंगुलमा फस्न थालेको आरोप लगाएका छन् । सरकार बनेको तीन महिना बितेपछि पनि मन्त्रिपरिषद् विस्तारको नाटक मञ्चन गरेर प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन नगर्न प्रपञ्च रचेको साहको आरोप छ । वर्तमान सरकार जेन–जीहरुको भावनाविपरित चल्न थालेको र एकपछि अर्को गरेर गलत निर्णय लिन थालेको भन्दै साहले आलोचना गरेका हुन् ।

आज (आइतबार) काठमाडौंमा आजपाले ‘संसद् पुनर्स्थापनाको षड्यन्त्र रोक्न’ भन्दै काठमाडौंको गैरीगाउँमा आयोजना गरेको काठमाडौं क्षेत्र नं. १ र २ को संयुक्त विशेष क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले सरकारलाई सच्चिएर आफू मूल म्याण्डेटतर्फ ध्यान दिन सुझाव दिए । उनले २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गराउने मूल दायित्व नबिर्सिन प्रधानमन्त्री कार्कीको ध्यानाकार्षण गराए । उनले प्रतिनिधिसभा पुनस्र्थापनाको लागि भइरहेको षड्यन्त्रको पर्दाफास गर्न र देशव्यापी रुपमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन दबाब सिर्जना गरिनुपर्ने आवश्यकता औंल्याए ।

एमालेको केपी ओली समूह र कांग्रेसको शेरबहादुर देउवा समूहले प्रतिनिधिसभाको चुनाव नचाहेको र संसद् पुनर्स्थापनाको लागि षड्यन्त्रको तानाबाना बुनेको बेलामा प्रधानमन्त्री कार्की पनि उनीहरुकै सहयोगीको भूमिकामा देखिन थालेको आभाष भएको साहको टिप्पणी छ । ‘जेनजी आन्दोलनमा दमन गरेका केपी ओलीहरुले संसद् पुनर्स्थापनाको षड्यन्त्र गरिरहेका छन्, कांग्रेसमा देउवा ग्याङ् ओलीकै पुच्छर बनेर अदालत धाउन थालेको छ । अनि प्रधानमन्त्री पनि उनीहरुकै डिजाइनमा हिँड्न खोजेको संकेत देखियो, होईन भने कसको स्वार्थमा चार जना मन्त्रीहरु थप्नुभयो, के आधारमा नियुक्त गर्नुभयो ?’, आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘विषयविज्ञता एउटा भएको र नियुक्ती अर्कैमा दिइएको भन्दै अहिलेको पछिल्लो मन्त्रिपरिषद् विस्तारमा पनि प्रधानमन्त्री कार्की स्वार्थसमूहको प्रभावमा परेको देखिन्छ । यस्तै पाराले चुनाव हुन्छ त ? चुनाव गराउने अर्जुनदृष्टि राख्नुहोस, विचौलिया र स्वार्थसमूहको प्रभावमा नपर्नुहोस् ।’

साहले सरकार र जेन–जीहरुबीच भएको पछिल्लो सम्झौता पनि धोकाको दस्तावेज भएको टिप्पणी गरे । उनले वर्तमान सरकारले जेन–जी आन्दोलनको मूल मर्म र भावनामाथि पटक पटक प्रहार गरेकोमा पछिल्लो पटक सम्झौताको नाटक देखाएर अर्को धोका दिएको आरोप लगाए । उनले जेनजीहरुले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना होस भन्ने चाहेको भएपनि सरकारले त्यसअनुसार हस्तक्षेपकारी भूमिका खेल्न नसकेको आक्रोश पोखे ।

उनले सरकारमा बसेर हाली मुहाली गर्ने अनि आफ्नो दुनो सोझ्याउने काममा तल्लिन कुलमान घिसिङलाई तुरुन्तै बर्खास्त गर्न समेत माग गरे । निर्दलीय सरकारमा बसेर दल खोल्ने अनि दलको प्रचारको लागि सरकारी साधन–स्रोतको चरम दुरूपयोग गरेर मन्त्री कुलमानले नेपाली जनतालाई झुक्याउने काम गरेको भन्दै प्रधानमन्त्रीले तत्काल उनलाई बर्खास्त गर्नुपर्ने पनि साहले सुझाव दिए । आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघका अध्यक्ष कालबहादुर विकको अध्यक्षमा भएको सो भेलामा आजपा सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, वरिष्ठ पत्रकार ऋषी धमला, संविधान सभाका अर्का सदस्य योगेन्द्र घिसिङ, सचिवालय सदस्य बालकृष्ण सापकोटा, कबाडव्यवसायीका नेता रामकेवल गुप्ता, सुकुम्बासी संघका महासचिव एमडी सतार लगायतको विशेष सहभागिता रहेको सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

 

पुस १५ भित्र उम्मेदवारको नाम सिफारिस गर्न जसपा नेपालको सर्कुलर

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।

संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले आउँदो पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारको नाम पठाइसक्नुपर्ने तथा पार्टी प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० गतेभित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनासम्म हुनेगरी अनिवार्य रुपले सम्भावित उम्मेदवारको नामावली पठाइसक्न मातहत समितिलाई सर्कुलर जारी गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको सङ्घीय संसदीय बोर्डमा उम्मेदवारको नामावली पठाउन सर्कुलर जारी गरिएको हो ।

समानुपातिकतर्फ प्रत्येक जिल्लाबाट जिल्ला समितिले कम्तीमा तीन जना पुरूष र तीन महिला जातीय कलस्टरअनुसार समावेशी हुनेगरी प्रदेश समितिमा आउँदो पुस १ गतेभित्र पठाउने र प्रदेश समितिले उक्त नामावली माथि छलफल गरी आफ्नो रायसहित उम्मेदवारको नाम सिफारिस गरी पुस ५ गतेभित्र केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा बुझाइसक्नुपर्ने जनाइएको छ ।

कुनै कारणबस तोकिएको निर्धारित समयभित्र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष/समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय कार्यालय वा सङ्घीय संसदीय बोर्डलाई प्राप्त नभएमा वा हुन नसकेमा संसदीय बोर्डले नै उम्मेदवारको मनोनयन गरी कार्यान्वयन गर्नसक्ने सर्कुलर जारी भएको बस्नेतले बताए ।

उनले भने, “पार्टी विधानको धारा–११७ उपधारा (३) बमोजिम योग्यता पूरा गरेका कुनै पनि सङ्गठित पार्टी सदस्यले प्रत्यक्षतर्फ वा समानुपातिकतर्फ उम्मेदवार हुन चाहेमा सोझै केन्द्रीय कार्यालय वा सङ्घीय संसदीय बोर्डमा उम्मेदवार हुन आवेदन दिन सक्नेछ । यसरी आएका आवेदनउपर सङ्घीय संसदीय बोर्डले सम्बन्धित जिल्ला र प्रदेश समितिसँग राय परामर्श गरी आवश्यक निर्णय लिन सक्नेछ ।”

सङ्घीय संसदीय बोर्डमा नाम पठाउँदा निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिले गरेका निर्णय बैठकको निर्णय पुस्तिकाको प्रतिलिपिसमेत संलग्न गरी पठाउनुपर्ने तथा उम्मेदवारको अन्तिम निर्णय सङ्घीय संसदीय बोर्डले नै गर्ने सो पार्टीले जनाएको छ ।

युवाको उपस्थिति अनिवार्य गर्न एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी : सुहाङ नेम्वाङ

काठमाडौं । प्रतिनिधि सभाका निवर्तमान सदस्य सुहाङ नेम्वाङले नेकपा (एमाले) को केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् । उनले नयाँ चुनौतीलाई सामना गर्न पनि पार्टीमा युवाको उपस्थिति अनिवार्य भएको बताएका छन् । ‘प्रविधिमा अभ्यस्त पुस्ताको भावना समेट्ने प्रतिनिधिको आवश्यकता छ,’ उनले भने, ‘यही भावनालाई समेट्ने गरी अग्रजहरूको आशीर्वाद र युवाहरूको साथलाई सार्थकता दिन पनि केन्द्रीय सदस्यको तयारी गरिरहेको छु ।’

उनले सभ्य समाज निर्माणका लागी हाल देखा परेका नयाँ चुनौतीलाई एकताबद्ध भएर सामना गर्नुपर्ने बताए । राजनीतिमा आफ्नो प्रवेश आकस्मिक जस्तो देखिए पनि पारिवारिक पृष्ठभूमिका कारण गहिरो बुझाइ रहेको तर्क गरे । ‘मरो इच्छा अलिक फरक थियो । बुबाबाट अझै १० वर्ष सिक्ने र उहाँले सिकाएको र देखाएको उज्याला बाटोलाई समाएर अग्रज एवं मित्रहरूको साथ र हार्दिकता साथ राजनीतिमा प्रवेश गर्ने इच्छा थियो,’ नेम्वाङले भने, ‘तर, अलिक अगाडि भए पनि इलामवासीले धेरै साथ दिनु भएको छ । म उहाँहरूकै भावना अनुसार अघि बढ्ने हो ।’

अहिलेको अवस्थामा सिङ्गो एमाले मात्रै नभई, मुलुक नै एक ढिक्का भएर समस्याको समाधान गर्नुपर्ने बेलामा युवालाई अघि लगाए हरेक नेतृत्वले समाधान खोज्न सक्ने बताए । त्यस्तै समयको गतिलाई बुझेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘हामी पुरानै कुरामा अल्झिएर होइन कि पुराना कुरालाई आत्मसमीक्षा गरेर सभ्य समाज कसरी बनाउन सकिन्छ भनेर लाग्नुपर्छ,’ उनले भने, ‘पुरानै कुरामा अल्झियौं भने उही घुमिफिरि रुम्जाटार हुन्छ ।’ इलाम निवासी उनी संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङका छोरा हुन् ।

सक्रिय राजनीतिबाट विश्राम लिने युवराज ज्ञवालीको घोषणा

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपबाट उनले सक्रिय राजनीति छोड्ने घोषणा गरेका हुन् । २०२६ सालबाट कम्युनिष्ट राजनीतिमा सक्रिय ज्ञवाली पार्टीमा शालिन व्यक्तित्व भएका वैचारिक नेताका रुपमा चिनिन्छन् ।

अन्तिम वैठकमा सुरेन्द्र पाण्डे प्रस्ताव : ७० वर्षे हद र दुई कार्यकालको सीमा ब्यूँताउँ

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने गरी अघि सारिएको विधान संशोधन प्रस्तावमा ईश्वर पोखरेल समूहले असहमति जनाएको छ । बैठकको सुरूमै पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले १०औँ महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने, आवश्यक परे अझ थपेर जान प्रस्ताव गरेका थिए । उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने संशोधन गर्नैपर्ने भए नेतृत्वमा ७० वर्षे उमेर हद र २ कार्यकालको सीमा पनि ब्यूँताएर जानुपर्ने अडान राखेका छन् ।

विधान ‘उल्ट्याउने’ प्रयासमा ओली, रोक्ने पक्षमा पोखरेल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनबाट पारित निर्णय तीन महिनामै संशोधन गर्ने तयारी गरेपछि पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव ल्याउने सूचना पाएसँगै केन्द्रीय सदस्यहरू पक्ष–विपक्षमा उभिँदै विरोध जनाउन थालेका छन्, यद्यपि प्रस्ताव औपचारिक रूपमा पेस भइसकेको छैन ।

यसअघि शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकमा पनि ओलीले विधान संशोधन गरी पदाधिकारी संख्या बढाउने प्रस्ताव राखेका थिए । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित आफ्नै समूहका नेताहरूको विरोधपछि उनी पछि हट्न बाध्य भएका थिए । त्यसपछि सचिवालयबाट असफल भएको प्रस्ताव ओलीले अब केन्द्रीय कमिटीको बहुमत प्रयोग गरी पास गराउने प्रयास गरेको बुझिएको छ ।

एमालेको दशौं महाधिवेशनबाट एक अध्यक्ष, वरिष्ठसहित सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएका थिए । तर गत भदौ २०–२२ मा ललितपुरमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो । त्यसअनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहने व्यवस्था गरिएको थियो ।

अब ओलीले विधानमा उल्लेखित संरचनालाई उल्ट्याउँदै दुई उपाध्यक्ष र दुई सचिव थप्ने, साथै केन्द्रीय कमिटीको आकार पनि ३०१ सदस्यीय नै कायम राख्ने प्रस्ताव ल्याउन लागेको नेताहरूले बताएका छन् । मौजुदा केन्द्रीय कमिटीमा दुई तिहाइभन्दा बढी सदस्य ओली पक्षका भएकाले बहुमतको बलमा विधान संशोधन गराउने रणनीति उनले लिएको बुझिन्छ ।

तर संस्थापन इतर मात्र होइन, ओली पक्षकै केही नेताहरू पनि यसका विपक्षमा देखिएका छन् । सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेल समूहले विधान संशोधन गर्नै परे ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा पनि यथावत् राख्नुपर्ने शर्त राखेपछि ओली तत्काल पछि हटेका थिए । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले तीन दिनसम्म छलफल गरेर पारित गरिएको विधानलाई तीन महिनामै संशोधन गर्दा पार्टीभित्र गलत सन्देश जाने भन्दै तत्काल संशोधन व्यावहारिक नहुने बताएका थिए ।
यद्यपि जारी महाधिवेशनको सन्दर्भमा ओलीलाई आफ्नै पक्षका नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

महासचिव र उपमहासचिवलगायत पदाधिकारीमा आकांक्षी धेरै भएपछि सहमति जुटाउन कठिन देखिएको छ । महासचिवमा शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको दाबी छ भने ओली स्वयं शंकर पोखरेलको पक्षमा देखिएका छन्। उपाध्यक्ष र सचिव पदमा पनि दर्जनौँ नेताहरू आकांक्षी बनेका छन् । यही कारण पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाएर यथास्थितिमा राख्दा भागबण्डा मिलाउन सजिलो हुने ठहर ओलीले गरेको नेताहरूको विश्लेषण छ । तर विधान महाधिवेशनको निर्णय छिट्टै उल्ट्याउने प्रयासले पार्टीको विधि, प्रक्रिया र विश्वसनीयतामाथि प्रश्न उठाएको भन्दै केन्द्रीय कमिटी बैठकमै विरोध चर्किदै गएको छ ।

एमालेको बन्द सत्र फेरि सर्‍यो

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र पुनः सारिएको छ । बिहानै सुरु गर्ने तयारी रहेको बन्दसत्र पहिला सवा १२ बजेसम्म र त्यसपछि दिउँसो १ बजेसम्मका लागि सारिएको हो । भक्तपुरको सल्लाघारीमा शनिबार भव्य उद्घाटन भएको महाधिवेशनको बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

बन्द सत्र सारिए पनि प्रतिनिधिहरू बिहानैदेखि भृकुटीमण्डपमा पुगिसकेका छन् । उनीहरूले राजनीतिक दस्तावेजहरूको अध्ययन र प्रचारप्रसारमा व्यस्त रहेका छन् । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी रणनीति र नीतिहरू निर्धारण गर्ने अपेक्षा गरिएको छ । बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा रु दुई हजार २ ०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५८ हजार ८०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८२५ निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५६ हजार ६००निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ९०५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिद–बिक्री भइरहेको छ ।

युवाको ‘स्कर्टिङ’मा भृकुटीमण्डप पुगे ओली तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भृकुटीमण्डप पुगेका छन् । आकस्मिक रूपमा आह्वान गरिएको पार्टी केन्द्रीय कमिटी बैठकका निम्ति उनी त्यहाँ गएका हुन् ।

एमालेको ११औँ महाधिवेशनअन्तर्गत आजै (मंसिर २८)देखि बन्दसत्र सुरु हुँदै छ । केन्द्रीय कमिटी बैठकपश्चात् भृकुटीमण्डपमै बन्दसत्र सुरु हुने नेताहरूले बताएका छन् ।

ओली युवाको ‘स्कर्टिङ’मा भृकुटीमण्डप पुगेका हुन् । उनको अघिपछि एमाले स्वयंसेवकका गाडी थिए । ओली पुगेसँगै बैठक सुरु भएको छ ।

केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी रहेको संस्थापननिकट स्रोतको भनाइ छ ।

केन्द्रीय कमिटीमा अध्यक्ष ओलीले भने–अरूका एजेण्डा बोकेर हिँड्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मआलोचनाका नाममा अरूका एजेण्डा बोकेर हिँडेको भन्दै नेताहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् । भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले केही नेताहरूले अरूका एजेण्डा बोकेको आरोप लगाएका हुन् । ‘आत्मआलोचनाका नाममा अरूका एजेण्डा बोकेर हिँठेका छन्,’ अध्यक्ष ओलीले भने, ‘भदौ २३ र २४ गतेको आन्दोलनपछि कतिपय हाम्रै साथीहरूले तत्कालीन प्रधानमन्त्रीले अध्यक्षबाट पनि राजीनामा दिनुपर्छ भने । यो कुरा विपक्षी दलहरूले भन्न सकेका थिएनन्, मिडियाले पनि भनेको थिएन । अरूका एजेण्डा बोकेर हाम्रै साथीहरू हिँडे ।’

खिमलालले अघि सारे विधान संशोधनको प्रस्ताव
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले विधान संशोधनको प्रस्ताव अघि सारेका छन् । उनले १०औं महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने । आवश्यक परे अझ थपेर जाऔँ भन्दै विधान संशोधनको प्रस्ताव गरेका छन् । उनको प्रस्तावमा समर्थन जनाउँदै अहिले विशाल भट्टराईले आफ्नो कुरा राखिरहेका छन् ।

 

जेन-जी फ्रन्टले झापाबाट जागरण अभियान सुरू गर्ने

काठमाडौं ।  नेपाल जेन-जी फ्रन्टले देशभर “जागरण सभा” सञ्चालन गर्ने अभियान गर्ने भएको छ ।  अभियानअन्तर्गतको पहिलो जागरण सभा आज झापाको दमकमा हुँदैछ ।

आगामी मंसिर २८ गते आइतबार झापाको दमकमा आयोजना गरिने कार्यक्रममा नेपाल जेन-जी फ्रन्ट (झापा) आयोजक र अग्रगामी झापा-५ समूह स्थानीय आयोजकका रूपमा रहनेछन् । कार्यक्रममा स्थानीय रूपमा जेन-जी आन्दोलनमा सक्रिय जेन-जी अगुवादेखि नागरिक समाजका प्रतिनिधि साथै राष्ट्रियस्तरमा जेन-जी आन्दोलनको नेतृत्वमा रहेर सक्रिय भूमिका निर्वाह गरेका युवाहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

नेपाल जेन-जी फ्रन्टका प्रदेश समन्वय समितिका सदस्य आदित्य कर्णका अनुसार नेपाल जेन-जी फ्रन्टका तर्फबाट संयोजक रक्षा बम, सदस्य यतिष ओझा र काउन्सिल अफ जेन-जीका प्रदेश नं. १ संयोजक उपार्जुन चाम्लिङ लगायतका जेन-जी अगुवाहरू उक्त कार्यक्रममा वक्ताका रूपमा रहनेछन् ।

कर्णका अनुसार यस जागरण सभाको उद्देश्य जेन-जी आन्दोलनका माग र मर्मलाई देशव्यापी रूपमा विस्तार गर्ने, नागरिकबीच संवाद गर्ने र सम्झौतापछिको कार्यान्वयनमा जनस्तरको निगरानी सुनिश्चित गर्ने रहेको छ ।

गभर्नर पौडेललाई बर्खास्त गर्न मागसहित जेनजी युनाइटेडले बुझायो ज्ञापन–पत्र

काठमाडौं । जेनजी युनाइटेडले गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ । आज (आइतबार) बिहान अर्थ मन्त्रालयमा जेनजी युनाइटेडका संयोजक जनक परियारले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालीन सरकारले पौडेललाई स्वार्थ समूहको डिजाइनमा गभर्नर नियुक्त गरेको दाबी गरिएको छ ।

त्यस्तै, सरकारले गठन गरेको सिफारिस समितिले अख्तियारीको दुरुपयोग गर्दै पौडेललाई सिफारिस गरेको भन्दै बताउँदै संयोजक परियारले पौडेललाई हटाएर ऐनअनुसार नयाँ गभर्नर नियुक्त गर्न माग गरिएको छ । ‘सरकारले २०५८ (प्रथम संशोधन २०६३) को दफा १५ को उपदफा २ को (क) (ख) र (ग) बमोजिम नेपाल सरकारबाट गठित सिफारिस समितिले उपदफा ३ बमोजिम गभर्नर नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तिय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नामवाली नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ भनिएको छ ।

तर, उक्त व्यवस्थाको विरुद्ध डा. विश्वनाथ पौडेललाई सिफारिस गरियो’ ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक, एग्रिकल्चरमा स्नात्तकोत्तर गरेको र अनुभवको हिसाबले पनि पौडेलको नियुक्ति राष्ट्र बैंक ऐनको विरुद्ध भएको परियारले बताए । अर्थ मन्त्रालयमा विचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूको मनपरी नियन्त्रण गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुले अनाधिकृतरुपमा लिएको ब्याज ऋणीलाई फिर्ता गर्नुपर्ने, नेपाल राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गर्नुपर्ने, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभागलाई जिम्मेवार बनाउनुपर्ने, वैदेशिक ऋणको दुरुपयोग रोक्नुपर्नेलगायतका माग पनि युनाइटेडको छ ।

हेर्नुस् ज्ञापनपत्र

 

 

 

 

मन्त्री घिसिङले गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निरीक्षण, ठेकेदारलाई कारवाहीको चेतावनी

काठमाडौँ । कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन । माघ २०७७ मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको हालसम्म ५१ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ । शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक) मा निर्माण गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गरी निर्माण प्रगतिका बारेमा जानकारी लिएका छन् ।

मन्त्री घिसिङले भवन निर्माण सम्पन्न हुने समय तालिकालगायतका विषयमा महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । अस्पतालजस्तो जनताको प्रत्यक्ष स्वास्थ्य जोडिएको संवेदनशील संरचना निर्माणमा ढिलाइ भएको प्रति आक्रोश व्यक्त गर्दै घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने बताए ।

उनले तत्काल निर्माण सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियामा जाने चेतावनी दिए । उनले एक हप्ताभित्र निर्माणले गति नलिएमा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिए । यसैगरी, प्रतिष्ठानका उपकूलपति भरत खत्रीले भवन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेकाले तत्काल भवन निर्माण गरिनु पर्ने र गर्न नसकेमा ठेक्का तोडी नयाँ प्रक्रियामा जानु पर्ने बताए ।

 

 

३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुष ९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटक–पटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।

 

एमाले महासचिवमा चार जनाको दाबी, कसले मार्ला बाजी ?

काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा महासचिव पद पार्टीभित्र सबैभन्दा पेचिलो र चर्चित विषय बनेको छ । अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुने लगभग निश्चित भएसँगै त्यसको प्रत्यक्ष असर महासचिवको दौडमा देखिएको हो । दुवै समूहबाट आकांक्षीहरू अगाडि सरेपछि महासचिवमा चार नेताको दाबी खुलेरै सतहमा आएको छ ।

ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे महासचिवका सशक्त दाबेदारका रूपमा हेरिएका छन् । यसअघि महासचिवमै पोखरेलसँग पराजित भएका पाण्डे पछिल्लो समय भने उनकै नजिक देखिँदै आएका छन् । अर्थशास्त्रमा गहिरो पकड, वैचारिक प्रस्तुति र ‘डाटा क्यापिटालिज्म’ जस्ता विषयमा सार्वजनिक बहस उठाउँदै आएका पाण्डेलाई पार्टीभित्र बौद्धिक र नीतिगत नेताका रूपमा लिइन्छ । पोखरेल समूहले उनलाई अघि सार्ने तयारी गरिरहेको भए पनि औपचारिक घोषणा भने गरिसकेको छैन । अध्यक्ष ओली पक्षबाट भने वर्तमान महासचिव शंकर पोखरेलसँगै उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्बीसुब्बा गुरुङ महासचिवको दौडमा छन् । यी तीनै जनाले आकांक्षा देखाएपछि ओलीलाई सहमति बनाउने काम झन जटिल बनेको छ । पछिल्लो एक सातायता ओली महासचिवको नाममा निष्कर्षमा पुग्न नसक्दा संस्थापन पक्षभित्रै अन्योल बढेको बताइन्छ ।

शंकर पोखरेल महासचिवमै दोहोरिन चाहन्छन् । उनी लामो समयदेखि जनताको बहुदलीय जनवाद (जबज) का व्याख्याता, माक्र्सवादका अध्येता र वैचारिक विश्लेषकका रूपमा परिचित छन् । सातौँ महाधिवेशनदेखि निरन्तर ओलीको साथमा रहेका पोखरेलले कहिल्यै सार्वजनिक रूपमा ओलीको आलोचना नगरेको र नेतृत्वप्रति निष्ठावान् रहेको चर्चा हुने गरेको छ । तर महासचिव पदमै रहेर गुट निर्माणमा सक्रिय भएको, संगठन परिचालन अपेक्षाअनुसार गर्न नसकेको आरोप भने पार्टीभित्रकै नेताहरूबाट लाग्दै आएको छ । निर्वाचनमा गए यस्तो आरोप पोखरेलका लागि चुनौती बन्न सक्ने विश्लेषण पनि छ ।

प्रदीप ज्ञवाली हाल पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारीमा छन् । विचार निर्माणका हिसाबले महत्वपूर्ण मानिने यो विभागको नेतृत्व गर्दै उनी पछिल्लो डेढ वर्षमा अधिकांश जिल्लामा पुगिसकेका छन् । शालीन, सन्तुलित, लेखक तथा साहित्यकार समेत रहेका ज्ञवालीलाई उद्घाटन सत्र र पछिल्ला गतिविधिले ओलीको रोजाइ नजिक देखिएको संकेतका रूपमा हेरिएको छ । त्यस्तै, पृथ्बीसुब्बा गुरुङ जनजाति समुदायबाट उदाएका प्रभावशाली नेताका रूपमा परिचित छन् । संगठन विस्तार र व्यवस्थापनमा दख्खल राख्ने गुरुङ पछिल्लो समय ओलीको सुख–दुःखमा साथ दिँदै आएका छन् । ओलीले उनलाई संरक्षण गरिरहेको संकेत देखिए पनि गुरुङले आफ्नो महासचिव दाबी छाड्ने संकेत दिएका छैनन् ।

महासचिव पोखरेललाई नै निरन्तरता दिने कि उपमहासचिवमध्येबाट नयाँ अनुहार अघि सार्ने भन्ने विषयमै ओली अहिले पनि दोधारमा छन् । पोखरेल, ज्ञवाली र गुरुङ तीनै जना लामो समयदेखि ओलीको कोर टिममा रहँदै आएका कारण कसैलाई पनि पन्छाउन ओलीलाई सजिलो छैन । अर्कोतर्फ पोखरेल समूहबाट पाण्डे बलियो दाबेदारका रूपमा उभिँदा महासचिव पद सहमतिबाट टुंग्याउने सम्भावना कमजोर हुँदै गएको देखिन्छ । यसरी अध्यक्ष पदको प्रतिष्पर्धाले तातिएको एमालेको महाधिवेशन महासचिव पदमा चार नेताको आकांक्षाले झनै रोचक र जटिल बन्दै गएको छ । सहमतिमा नेतृत्व चयन गर्ने ओलीको चाहना पूरा हुन्छ कि महासचिवमा पनि निर्वाचनको सामना गर्नुपर्छ भन्ने प्रश्नको उत्तर महाधिवेशनको अन्तिम क्षणसम्म खुलै रहने संकेत देखिएको छ ।

 

केन्द्रीय कमिटीबाट विधान संशोधन प्रस्ताव लैजाने ओलीको तयारी, प्रतिवादको तयारीमा ईश्वर पक्ष

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटी दुवैको संख्या बढाउने गरी विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी गरेसँगै पार्टीभित्र विवाद चर्किएको छ । सचिवालय बैठकबाट अस्वीकृत भइसकेको प्रस्तावलाई केन्द्रीय कमिटीमार्फत पारित गराउन खोजिएको भन्दै वरिष्ठ नेताहरूले कडा असन्तुष्टि जनाएका छन् ।

आइतबार बिहान ९ बजेका लागि बोलाइएको केन्द्रीय कमिटीको अन्तिम बैठकमा ओलीले पदाधिकारी संख्या १५ बाट बढाएर १९ र केन्द्रीय कमिटी २५१ बाट ३०१ सदस्यीय बनाउने प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका हुन् । पार्टीका एक पदाधिकारीका अनुसार सचिवालयमा प्रस्ताव फेल भएपछि ओलीले आफ्नो पक्षमा बहुमत रहेको केन्द्रीय कमिटीबाट विधान संशोधन पारित गराउने रणनीति अपनाएका हुन् । केन्द्रीय कमिटीमा ओली पक्षधर सदस्यको संख्या दुई तिहाइभन्दा बढी रहेको बताइन्छ ।

यसअघि बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यही प्रस्ताव अघि सारेका थिए । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले कडा प्रतिवाद गरेपछि प्रस्ताव पारित हुन सकेन । उक्त समूहका नेताहरूले विधान संशोधन गर्ने भए ७० वर्षे उमेर हद र अधिकतम दुई कार्यकालको व्यवस्था अनिवार्य गर्नुपर्ने अडान राखेका थिए । ओली पक्षकै केही नेताहरूले पनि समर्थन नगरेपछि सचिवालयबाट प्रस्ताव फेल भएको थियो ।

सचिवालय बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको आकार नबढाउने निर्णय गरिसकेको अवस्थामा अध्यक्षले केन्द्रीय कमिटीबाटै आकार बढाउन खोजेको भन्दै असन्तुष्टि थप चर्किएको छ । एमाले सचिव गोकर्ण विष्टले अध्यक्ष ओलीले यदि केन्द्रीय कमिटी बैठकमा पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने प्रस्ताव ल्याए आफूहरूले प्रतिवाद गर्ने स्पष्ट चेतावनी दिएका छन् । उनका अनुसार महाधिवेशनअघि यसरी विधानमा फेरबदल गर्नु गलत अभ्यास हो र यसले पार्टीभित्र गम्भीर सन्देश जानेछ ।

गत भदौमा सम्पन्न विधान महाधिवेशनले पार्टी संरचना सानो र चुस्त बनाउने निर्णय गरेको स्मरण गराउँदै नेताहरूले अहिले ‘नेताहरू व्यवस्थापन’ को नाममा फेरि संरचना फुलाउन खोजिएको आरोप लगाएका छन् । आकांक्षी नेताहरूको संख्या बढ्दै गएपछि अध्यक्ष ओली पदाधिकारी संख्या विस्तार गर्न बाध्य भएको चर्चा पार्टीभित्र व्यापक छ । महाधिवेशनको बन्द सत्रअघि बोलाइएको केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव पारित गर्छ कि पुनः अस्वीकृत गर्छ भन्ने विषयले एमालेको आन्तरिक शक्ति सन्तुलन र आगामी नेतृत्व संरचनामा गहिरो प्रभाव पार्ने देखिएको छ । बैठक निर्धारित समयमा सुरु नभएकाले छलफल र निर्णय झन् तनावपूर्ण हुने संकेत देखिएको छ ।

 

 

भृकुटीमण्डपमा एमाले प्रतिनिधिको चहलपहल, सुरक्षा कडाइ (तस्वीरहरु)

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनको बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने तयारीसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेतादेखि प्रतिनिधिसम्मको बाक्लो चहलपहल देखिएको छ । भक्तपुरमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आइतबार भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

पूर्व निर्धारित समयभन्दा बन्द सत्र केही ढिलाइ हुने भएको छ । पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केही प्राविधिक तयारी तथा केन्द्रीय कमिटी बैठकका कारण बिहान ८ बजे सुरु हुने भनिएको बन्द सत्र निर्धारित समयभन्दा पछि मात्र सुरु हुनेछ । बन्द सत्रअघि बिहान ९ बजेपछि केन्द्रीय कमिटी बैठक बस्ने तय भएकाले सत्र सवा १२ बजेपछि सुरु हुने जनाइएको छ ।

सुरक्षालाई विशेष प्राथमिकता दिँदै भृकुटीमण्डप क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ । बन्द सत्रस्थलको सुरक्षाका लागि नेपाल प्रहरीले २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । त्यसका अतिरिक्त एमालेले आफ्नै स्वयंसेवक दस्ता समेत खटाएको छ । सुरक्षा कारण भृकुटीमण्डप चौरको चारै दिशाबाट सर्वसाधारणको आवतजावत निषेध गरिएको छ भने महाधिवेशनमा सहभागी बाहेक अन्य व्यक्तिलाई भृकुटीमण्डपभित्र प्रवेशमा कडाइ गरिएको छ ।
महाधिवेशनका कारण सार्वजनिक सडक अवरुद्ध नहुने जनाइएको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार भृकुटीमण्डपमा प्रवेश गर्ने सवारी बाहेक अन्य सडकमा कुनै अवरोध छैन । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका सवारी साधन पार्किङका लागि टुँडिखेलमा व्यवस्था मिलाइएको छ ।

बन्द सत्र सुरु हुनुअघि नै भृकुटीमण्डप परिसरमा प्रतिनिधिहरूको उपस्थिति बाक्लिँदै गएको छ । देशभरबाट आएका प्रतिनिधिहरू बिहानैदेखि भृकुटीमण्डप पुगेका छन् । नेताहरूले प्रतिनिधिहरूलाई आ–आफ्ना राजनीतिक दस्तावेज, प्रचार सामग्री तथा सन्देशहरू वितरण गरिरहेका छन् । बन्द सत्रको समय सरेपछि प्रतिनिधिहरू प्रचारप्रसार र आन्तरिक छलफलमा सक्रिय देखिएका छन् ।

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै एमालेले सोमबार महाधिवेशन समापन गर्ने तयारी गरेको छ । यस पटक अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि दाबी प्रस्तुत गरेका छन् । बन्दसत्रमा नेतृत्व चयन, नीति तथा कार्यक्रम र संगठनात्मक विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ ।

सल्लाघारीबाट एमालेको सन्देश र एमालेलाई अरु दलहरुले दिएको सन्देश

काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा सम्पन्न नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन समारोह केवल आन्तरिक कार्यक्रममा सीमित रहेन, बरु पछिल्लो जेनजी आन्दोलनपछिको नेपाली राजनीतिमा एमाले कहाँ उभिएको छ र अन्य दलहरूले एमाले तथा समग्र राजनीतिको भविष्यलाई कसरी हेरेका छन् भन्ने सन्देश दिने साझा मञ्च बन्यो ।

जेनजी आन्दोलनपछि पहिलो पटक ठूलो राजनीतिक कार्यक्रम आयोजना गरेको एमालेले हजारौं कार्यकर्ता उतारेर आफ्नो जनाधार कमजोर नभएको सन्देश दिन खोज्यो । दुई लाख कार्यकर्ता उतार्ने दाबी गरिए पनि उद्घाटनस्थलमा करिब ४० देखि ५० हजारको सहभागिता रहेको बताइन्छ । यद्यपि, आन्दोलनपछि दलहरू रक्षात्मक अवस्थामा पुगेको भनिएको बेला यति ठूलो उपस्थिति आफैंमा एमालेका लागि मनोवैज्ञानिक उपलब्धि मानियो ।

अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई केन्द्रमा राख्दै त्यसलाई ‘राज्यको मेरुदण्ड भाँच्ने षड्यन्त्र’ को संज्ञा दिए । उद्घाटन समारोहमा देखाइएको भिडिओमार्फत सिंहदरबार, संसद र सर्वोच्च अदालतमा आगजनीका दृश्य प्रस्तुत गर्दै ओलीले लोकतान्त्रिक प्रक्रिया भत्काएर शून्यता सिर्जना गर्ने गम्भीर प्रयास भएको दाबी गरे । उनका अनुसार सरकार परिवर्तन संसद वा निर्वाचनमार्फत सम्भव हुँदाहुँदै पनि अराजक बाटो रोजिनु योजनाबद्ध थियो ।

ओलीको भाषणले एमाले जेनजी आन्दोलनबाट भयभीत नभएको, बरु त्यसलाई राजनीतिक रूपमा ‘चिरेर जाने’ तयारीमा रहेको संकेत दियो । उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरे पनि, पार्टीलाई होच्याउने वा समाप्त पार्ने चाहना बोकेर अघि नआउन चेतावनीपूर्ण अभिव्यक्ति दिए । विगतमा एमालेमाथि वृद्धवृद्धा विरोधी, मधेस विरोधी, क्रान्ति विरोधी जस्ता आरोप लागे पनि ती सबै पार गर्दै आएको स्मरण गराउँदै उनले अहिलेको ‘जेनजी विरोधी’ आरोप पनि चिर्ने दाबी गरे ।

महाधिवेशनले पार्टीभित्रको एकता पनि मुख्य सन्देशका रूपमा अघि सारेको देखियो । ओलीले ‘एघार बन्न दुई वटा एक चाहिन्छ’ भन्ने प्रतीकात्मक उदाहरण दिँदै एमालेभित्र हात मिलाउने र मन जोड्ने आवश्यकता औंल्याए । उल्लेखनीय रूपमा, उनले अन्य दल वा नेतामाथि कटाक्ष नगरी एकताको भाषामा जोड दिए । साथै, एमाले चुनावका लागि तयार रहेको सन्देश पनि महाधिवेशनबाट प्रवाहित भयो । महासचिव शंकर पोखरेलले स्वागत मन्तव्यमा संसद पुनर्स्थापनाको विषय उठाएनन् भने ओलीले निर्वाचनका लागि पार्टी तयार भए पनि तोकिएको मितिमा चुनाव नहुने दाबी गर्दै संसद पुनस्र्थापनाको संकल्पलाई प्राथमिकता दिनुपर्ने बताए। यसले एमाले पुनस्र्थापना र निर्वाचन दुवै विषयलाई सँगसँगै लैजान खोजिरहेको संकेत गर्छ ।

महाधिवेशनमा शुभकामना दिन पुगेका अन्य दलका नेताहरूले पनि आ–आफ्नो दृष्टिकोण राखे । नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्काले कांग्रेस–एमाले सहकार्यको इतिहास स्मरण गर्दै लोकतन्त्रमाथि संकट आउँदा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए । जेनजी आन्दोलनले देखाएको असन्तोषलाई गम्भीरतापूर्वक समीक्षा गर्दै गल्ती नदोहोर्‍याउने संकल्पसहित जनतामा जानुपर्ने उनको जोड थियो । उनले नयाँ दल र जेनजी पुस्तालाई समेत लोकतान्त्रिक प्रक्रियामा समेटेर अघि बढ्ने सन्देश दिए ।

नेकपा माओवादी केन्द्रका तर्फबाट देव गुरुङले कम्युनिस्ट आन्दोलन विघटित अवस्थामा रहेको उल्लेख गर्दै फेरि एकताबद्ध हुनुको विकल्प नरहेको बताए ।संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनता गम्भीर चुनौतीमा रहेको उनको ठम्याइ थियो । यस पृष्ठभूमिमा एमाले एक्लै हिँडेर गन्तव्यमा पुग्न नसक्ने संकेत गर्दै कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र एकताको पहल आवश्यक रहेको सन्देश दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जेनजी आन्दोलन किन भयो भन्ने मूल कारणमा सबै पुराना दलले जिम्मेवारी लिनुपर्ने बताए । उनले संसद पुनस्र्थापनाभन्दा निर्वाचनमा केन्द्रित हुन एमालेको ध्यान जानुपर्ने सुझाव दिए । सुशासन, दलीयकरणको अन्त्य र समयमै निर्वाचनमार्फत लोकतन्त्रलाई ‘लिग’ मा ल्याउन एमालेले सकारात्मक भूमिका खेल्ने अपेक्षा रास्वपाको रहेको उनले स्पष्ट पारे ।

अन्य दलका नेताहरूले पनि सहकार्यका फरक–फरक सम्भावनाहरू औंल्याए । नेत्रविक्रम चन्द ‘विप्लव’ ले सबै वर्ग, समुदाय र नयाँ पुस्ताको चाहना सम्बोधन गर्दै आन्दोलन, राष्ट्रिय स्वाधीनता र नयाँ नेपाल निर्माणमा सहकार्य गर्न तयार रहेको बताए । लोसपाका महासचिव सुरेन्द्र झाले संविधान संशोधन अनिवार्य भइसकेको दाबी गर्दै यसमा एमालेले अगुवाइ गर्न सक्ने र आफूहरूको साथ रहने बताए । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जेनजी आन्दोलनका नाममा गणतन्त्रवादी शक्तिमाथि भएको प्रहारलाई स्मरण गर्दै विगतका कमजोरीहरूको गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखे ।

समग्रमा, सल्लाघारीको महाधिवेशन एमालेका लागि शक्ति प्रदर्शन मात्र रहेन, जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक तरलतामा आफूलाई अझै केन्द्रीय शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास बन्यो । साथसाथै, अन्य दलहरूको सन्देशले पनि वर्तमान संकटबाट बाहिर निस्कन सहकार्य, आत्मसमीक्षा र लोकतान्त्रिक प्रक्रियाप्रतिको प्रतिबद्धता अपरिहार्य रहेको स्पष्ट पारेको छ ।

एनपीएल–२ : कसले के–के जिते पुरस्कार ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले उपाधिसँगै व्यक्तिगत पुरस्कारमा पनि वर्चस्व कायम गरेको छ । शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै च्याम्पियन बनेको लुम्बिनीका खेलाडीहरू प्रतियोगिताका मुख्य आकर्षण बने ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनीका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भए । उपाधि यात्रामा निर्णायक भूमिका खेलेका ट्रम्पलमनले प्रतियोगिताभर १५ विकेट लिनुका साथै उपयोगी ६५ रन समेत बनाए । उनले सर्वोत्कृष्ट खेलाडी बने बापत पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । फाइनल खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका ट्रम्पलमन नै प्लेयर अफ द म्याच घोषित भए ।

लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताका सबैभन्दा सफल खेलाडीमध्ये एक बने । उनले २७६ रन बनाउनुका साथै १० विकेट लिएर टोलीको नेतृत्व गरे । यस प्रदर्शनका आधारमा उनी उत्कृष्ट ब्याटर घोषित भए भने प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडीको उपाधि पनि उनकै नाममा रह्यो । रोहितले ओमोडा कार प्राप्त गरे भने उत्कृष्ट ब्याटरको रूपमा पल्सर बाइक समेत हात पारे ।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर घोषित भए । उनले प्रतियोगितामा १७ विकेट लिए र यस उपलब्धिका लागि पल्सर बाइक प्राप्त गरे। उदीयमान खेलाडीको उपाधि भने लुम्बिनीका शेर मल्लले जिते । उनले पनि १७ विकेट लिँदै भविष्यका सम्भावनाशील खेलाडीका रूपमा आफूलाई स्थापित गरे र पल्सर बाइक पुरस्कार पाए ।

सुदूरपश्चिमका अविनाश बोहरा रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । १७ विकेटसहित उनी संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी समेत बने । यस्तै लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । समग्रमा एनपीएल सिजन–२ लुम्बिनी लायन्सका लागि ऐतिहासिक रह्यो । उपाधिसँगै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उदीयमान खेलाडी र अन्य महत्वपूर्ण पुरस्कारहरू जित्दै लुम्बिनीले नेपाली फ्रेन्चाइज क्रिकेटमा आफ्नो बलियो पहिचान बनाएको छ ।

रोहित पौडेलले जिते एनपीएलमा कार

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् । एनपीएलको फाइलनमा लुम्बिनीलाई उपाधि जिताउँदै उनी सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका हुन् । उनले कार पुरस्कार पाएका छन् । सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा रोहित तीन विकेट लिएका थिए ।

उनको एनपीएलमा नौ विकेट भएको छ । उनी फाइनल खेलमा १६ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले १० खेलमा दुई सय ७६ रन बनाए । उनी सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् । उनी सर्वाधिक रन बनाउने नेपाली ब्याटर पनि हुन् । उनले मोटरसाइकल पनि पुरस्कार पाएका छन् ।

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, सुदूरपश्चिम उपविजेतामा सीमित

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । आज (शनिबार) भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि जितेको हो । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो ।

फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै च्याम्पियन बनेको हो । लुम्बिनीले च्याम्पियन बन्ने क्रममा पछिल्लो ६ खेलमा लगातार जित हात पारेको छ । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि लगातार तीन खेलमा पराजित हुँदा कुनै समयमा लिग चरणबाटै बाहिरिने खतरामा पुगेको लुम्बिनीले त्यसपछि सानदार पुनरागमन गर्दै एनपीएलकै उपाधि जितेको हो । लुम्बिनीका ओपनार दिनेश अधिकारीले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पहिलो ओभरमै ४ छक्का प्रहार रगेपछि लुम्बिनीले २७ रन जोडेको थियो । दिनेशले विष्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रन बनाए ।

पहिलो विकेटका लागि दिनेशले डार्शी सर्टसँग ४ ओभरमै ५८ रनको साझेदारी गरेका थिए । तर हेम्नत धामीले पाँचौ ओभरमा सर्ट र दिनेश दुवैलाई आउट गर्दै साझेदारी तोडेका थिए । सर्ट १४ बलमा १३ रन बनाएर पाँचौ ओभरको पहिलो बलमा बोल्ड भए । यस्तै हेमन्तले दिनेशलाई सोही ओभरको तेस्रो बलमा स्कट कुगेलेइनबाट क्याचआउट गराए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोएल्सले १९.१ ओभरमा ८५ रनमै अलआउट भएको थियो । सुदूरपश्चिमले बनाएको ८५ रन एनपीएलको संयुक्त रुपमा चौथो कम स्कोर हो भने एनपीएल फाइनलको कम योगफल हो ।

लुम्बिनी कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यानले धारिलो बलिङ गरेपछि सुदूरपश्चिमको इनिङुस ध्वस्त बनेको थियो । सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले एक छेउबाट विकेट जाँदा अर्को छेउ सम्हाल्दै इनिङ्स बिल्ड गरेका थिए । ५१ लब खेलेका उनले १ चौका रहार गरे । चौथो विकेटका लागि कप्तान दीपेन्द्र र इशानको २५ रनको साझेदारी गरे । कप्तान दीपेन्द्रले २० बलमा १ छक्का प्रहार गर्दै १३ रन बनाए । हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन जोडे ।

सुदूरपश्चिमको इनिङ्स धराशयी बनाउने क्रममा लुम्बिनीका कप्तान रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले सानदार बलिङ गर्दै ३–३ विकेट लिए । रोहितले ११औं ओभरमा लगातार ३ विकेट लिँदै ह्याट्रिक नै पूरा गरे । रोहितले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी, दिपक बोहरार पुनित मेहरालाई लगातार आउट गरेका थिए । उनले ४ ओभर स्पेलमा जम्मा १२ रन खर्चिए । रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै शेरले ४ ओचरमा १८ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।

 

कांग्रेसमा वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु म हुँ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् । उनले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’ मा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नु पर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताए ।

आफूले कोभिड महामारीको समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि उनले गरे । आज प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग भएको भेटमा देशको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीले पुर्‍याएको योगदानको सधैँ कदर हुने नेता कोइरालाले बताए । ‘सयौं योद्धा र युवाको योगदानले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ’, उनले भने, ‘पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ ।’

चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत श्रीवास्तव अचानक बिरामी, सेनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं । काठमाडौं नजिकैको चम्पादेवी डाँडामा हाइकिङमा गएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार अचानक अस्वस्थ भएका छन् । हाइकिङकै क्रममा एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनको हवाई उद्धार गरिएको हो । उच्च स्रोतका अनुसार राजदूत श्रीवास्तव हाइकिङका दौरान अचेत भएपछि तत्काल उद्धारको प्रक्रिया अघि बढाइएको थियो । परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई सुरक्षित रूपमा काठमाडौं ल्याइएको हो ।

नेपाली सेनाले राजदूत श्रीवास्तवसहितको टोलीलाई चम्पादेवी क्षेत्रबाट उद्धार गरी अस्पतालसम्म पुर्‍याएको जनाएको छ । उद्धारपछि उनलाई थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल लगिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । भारतीय दूतावास स्रोतले भने राजदूत श्रीवास्तवलाई सामान्य स्वास्थ्य समस्या देखिएको र हाल उनको अवस्था स्थिर रहेको बताएको छ । दूतावासका अनुसार उनी व्यक्तिगत रूपमा हाइकिङका लागि चम्पादेवी पुगेका थिए । चम्पादेवी क्षेत्र काठमाडौं उपत्यकाको लोकप्रिय हाइकिङ गन्तव्य मानिन्छ। यद्यपि उचाइ र मौसमका कारण कहिलेकाहीँ हाइकिङका क्रममा स्वास्थ्य समस्या देखिने गरेको छ । घटनापछि राजदूतको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको सम्बन्धित निकायले जनाएको छ ।

 

 

 

उपाधि उचाल्न सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी फाइनलमा उपाधि उचाल्नका लागि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको सहज लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको सुदूरपश्चिमले १९ ओभरमा पहिलो बलमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको हो ।

पहिलो ओभरको अन्तिम बलमा ओपनर बिनोद भण्डारी आउट भएपछि सुदूरपश्चिमको ब्याटिङ दबाबमा गएको थियो । उनी २ बल सामना गरेर रनको खाता नखोली रुबेन ट्रम्पेलम्यानको बलिङमा दिनेश अधिकारीमार्फत् आउट भए ।

सुरुवातमै विकेट गएपछि दबाबमा गएको यो टोलीको ब्याटिङले लय समात्न सकेन ।

एमालेलाई झलनाथ खनालको आग्रह : एउटै पार्टी बनाएर अघि बढौं

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशका सबै कम्युनिष्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन् । सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेषतः नेकपा एमालेका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै एउटै कम्युनिष्ट पार्टी निर्माण गरेर अघि बढ्न आग्रह गरेका हुन् ।

वीरेन्द्रनगरमा शनिबार आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै खनालले मुलुकलाई समाजवादतर्फ लैजान कम्युनिष्टहरूबीचको एकता अपरिहार्य रहेको बताए । उनका अनुसार वर्गीय हित, श्रमिक र सर्वहारा वर्गको मुक्तिका लागि एउटै देशमा अनेकौं कम्युनिष्ट पार्टी रहनु उपयुक्त हुँदैन । ‘एमालेका साथीहरूका लागि पनि यही बाटो हो, अर्को विकल्प छैन’, उनले भने, ‘हामी सबै एक भएर एउटै बलियो कम्युनिस्ट पार्टी निर्माण गरौँ ।’

खनालले विगतमा विभिन्न विचार र धारहरू अपनाइए पनि अबको स्पष्ट मार्गदर्शन मार्क्सवाद–लेनिनवाद नै भएको उल्लेख गरे । उनले नेपाली विशेषताको समाजवाद नै पार्टीको मुख्य विशेषता भएको बताउँदै त्यसकै आधारमा अगाडि बढ्नुपर्ने धारणा राखे। एमालेको महाधिवेशनतर्फ संकेत गर्दै उनले त्यहाँ सहभागी नेता–कार्यकर्तालाई पनि मूल कम्युनिस्ट धारमा फर्किन आग्रह गरे ।

उनका अनुसार कम्युनिस्ट पार्टीहरू एक भएर राष्ट्रिय स्तरमै अपराजित शक्तिका रूपमा विकास हुन आवश्यक छ । टुटफुट र विभाजनको राजनीतिले लक्ष्य प्राप्त नहुने भन्दै उनले निश्चित नीति, कार्यदिशा र मापदण्डका आधारमा एकता कायम गर्नुपर्नेमा जोड दिए । सम्बोधनका क्रममा खनालले मुलुकमा विदेशी हस्तक्षेप बढ्दै गएको र यसले राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाएको टिप्पणी पनि गरे । जनताको आधारभूत आवश्यकता—गाँस, बास र कपाससँगै शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने राज्य निर्माणका लागि समाजवाद अनिवार्य रहेको उनको भनाइ थियो। समाजवादी व्यवस्थाबाट मात्रै समतामूलक र आत्मनिर्भर नेपाल निर्माण सम्भव हुने दाबी गर्दै उनले कम्युनिष्टहरूलाई साझा लक्ष्यसहित अघि बढ्न पुनः आह्वान गरे ।

 

 

रोहित पौडेलले लिए ह्याट्रिक विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी फाइनल खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ऐतिहासिक प्रदर्शन गर्दै खेलको धार नै मोडिदिएका छन् । निर्णायक फाइनलमा सुदूरपश्चिम रोयल्स लगातार विकेट गुमाउँदै गहिरो दबाबमा परेको छ । ११ औं ओभरसम्म आइपुग्दा सुदूरपश्चिमले ६ विकेट गुमाइसकेको छ । यही ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलले लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीसहित दीपक बोहरा र पुनित मेहरालाई शून्यमा आउट गर्दै दर्शकलाई रोमाञ्चित बनाएका हुन्।

ह्याट्रिक विकेटमध्ये सबैभन्दा महत्वपूर्ण विकेट कप्तान ऐरीको थियो । ऐरीले १ छक्का प्रहार गर्दै २० बलमा १३ रन बनाएका थिए र पारी सम्हाल्ने प्रयास गरिरहेका थिए । तर रोहितको सटीक बलिङ अगाडि उनी टिक्न सकेनन्। दीपक बोहरा र पुनित मेहराले भने खाता नै खोल्न नपाई पवेलियन फर्किनुपर्‍यो ।

रोहित पौडेलले आफ्नो ४ ओभरको स्पेलमा मात्र १२ रन खर्चिँदै तीन महत्वपूर्ण विकेट लिएका छन् । उनको कसीलो बलिङले सुदूरपश्चिमको ब्याटिङ लाइनअप पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । यसअघि नै सुदूरपश्चिमले विनोद भण्डारी, शेल्डन ज्याक्सन र आरिफ शेखलाई क्रमशः ०, १ र ६ रनमा गुमाइसकेको थियो । लगातार विकेट पतनका कारण टोली दबाबमा परेको स्पष्ट देखिएको छ । रोहित बाहेक लुम्बिनी लायन्सका बलरहरू पनि प्रभावशाली देखिएका छन् । रुबेन ट्रम्पलम्यानले दुई विकेट लिँदा शेर मल्लले एक विकेट आफ्नो नाममा लेखाएका छन् । फाइनल खेलमा लुम्बिनी लायन्सका बलरहरूको आक्रामक प्रदर्शनले उपाधि दौड झनै रोचक बनेको छ । अब सुदूरपश्चिम रोयल्सका लागि बाँकी खेलाडीले कसरी सम्हाल्छन् भन्ने सबैको चासोको विषय बनेको छ ।

 

 

अवैध सरकारलाई समर्थन छैन, राष्ट्रिय स्वाधीनतामा अडान लिंदा एमालेले हमला भोग्दैछ : विप्लव

काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारलाई अवैध र कठपुतलीको संज्ञा दिएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले) को ११औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको र भविष्यमा पनि नहुने स्पष्ट पारे ।

उनले देशमा न त आन्दोलनकारी सहभागी भएको सरकार रहेको न त संविधान र कानुनअनुसार चलेको सरकार नै देखिएको टिप्पणी गरे । उनका अनुसार अहिलेको सत्ता संरचना अस्वाभाविक र अवैधानिक अवस्थामा छ । यस्तो परिस्थितिमा सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्रै देशलाई निर्वाचनतर्फ लैजान सकिने विकल्प रहेको उनको भनाइ थियो । महासचिव विप्लवले नेकपा एमालेमाथि भइरहेको चौतर्फी आक्रमणको कारण राष्ट्रिय स्वाधीनतामा लिएको अडान नै भएको दाबी गरे।

उनले भने, एमालेभित्र कमजोरीहरू हुन सक्लान् तर अहिले भइरहेको हमला ती कमजोरीका कारण होइन, बरु साम्राज्यवादी योजनाअन्तर्गत भएको हो भन्ने कुरा सबैले बुझ्न आवश्यक छ । यो समस्या एमालेको मात्रै नभई सम्पूर्ण कम्युनिस्ट आन्दोलन र देशकै स्वाधीनतासँग जोडिएको विषय भएको उनले बताए । महाधिवेशनमा देखिएको विशाल जनसहभागितालाई उल्लेख गर्दै विप्लवले यसले धेरै प्रश्नहरूको जवाफ दिएको बताए । उनले एमाले कहाँ छ, कस्तो अवस्थामा छ भन्ने जिज्ञासाको जवाफ आजको सभाले दिएको भन्दै यसले नेपाली जनता मात्र होइन, नेपालमाथि गिद्धे दृष्टि राख्ने शक्तिहरूलाई पनि सशक्त सन्देश दिएको बताए ।

कम्युनिष्टहरू सकिए, दलहरूले अब देशको नेतृत्व गर्न सक्दैनन् भन्ने प्रचारलाई यस सहभागिताले गलत सावित गरिदिएको उनको भनाइ थियो । विदेशी दलाल र नेपालमा विवाद भड्काएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने शक्तिहरूले कम्युनिस्ट आन्दोलनको अन्त्य भएको ठानिरहेको भए आजको महाधिवेशनको दृश्यले उनीहरूलाई गम्भीर पुनर्विचार गर्न बाध्य बनाएको उनले उल्लेख गरे । एमालेको संगठनात्मक क्षमता र जनआधारको खुलेर प्रशंसा गर्दै उनले यसलाई स्वदेशी मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा समेत ठूलो सन्देशका रूपमा चित्रण गरे ।

विप्लवले जेनजी आन्दोलनपछिको अवस्थाको चर्चा गर्दै देश राज्य नै छ कि छैन भन्ने अन्योलको अवस्थामा पुगेको बताए । यस्तो संकटपूर्ण घडीमा कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए । उनले कम्युनिष्ट, देशभक्त र राजनीतिक शक्तिले भोगेको दुःख स्मरण गर्दै नेपाली जनताका अपेक्षा अझै पूरा नभएको, सहिदका सपना अधूरै रहेको र देशको स्वाधीनता पूर्णरूपमा स्थापित हुन बाँकी रहेको बताए । उनले जिम्मेवार राजनीतिक दलहरूलाई उपेक्षा गर्ने खेल चलिरहेको आरोप लगाउँदै त्यसले देशलाई झनै अस्थिरतातर्फ धकेलिरहेको बताए । एमालेसँग आन्दोलनमा सहकार्य गर्न र राष्ट्रिय स्वाधीनताका पक्षमा साथ दिन आफूहरू तयार रहेको संकेत गर्दै उनले यो महाधिवेशनले कम्युनिष्ट आन्दोलनको एकताको प्रस्ताव अघि सारोस् र २००६ सालको जस्तै बलियो कम्युनिष्ट पार्टी निर्माण गर्ने संकल्प गरोस् भन्ने शुभकामना व्यक्त गरे ।

 

टुँडिखेलमा किरात समुदायले मनाउने उधौली (तस्बिरहरु)

काठमाडौँ । काठमाडौंको टुँडिखेलमा किरात समुदायले परम्परागत नृत्य, वेशभूषा र सांस्कृतिक कार्यक्रमसहित साकेला उधौली पर्व मनाएका छन्।

प्रकृति, भूमिपूजा र पुर्खाप्रति कृतज्ञता व्यक्त गर्ने यो पर्व सामूहिक नाचगानमार्फत उत्साहपूर्वक मनाइन्छ। साकेला उधौली मुख्यतः किरात राई, लिम्बु, सुनुवार र याख्खा समुदायले मनाउने पर्व हो।

यो पर्व बाली भित्र्याएपछि, प्रकृतिप्रति धन्यवाद दिन, भूमिपूजा गर्न र पुर्खाको सम्मानस्वरूप मनाइन्छ। उधौलीले जाडो मौसम सुरु भई मानिसहरू तलतिर बसाइँ सर्ने समयलाई पनि संकेत गर्छ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

संविधान मरेको जस्तै अवस्थामा छ, नयाँ राष्ट्रिय सहमति अपरिहार्य : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संविधान व्यवहारिक रूपमा निष्क्रिय भइसकेको दाबी गर्दै देशलाई थप दुर्घटनातर्फ धकेल्ने गरी जबरजस्ती ब्युँताउने प्रयास नगर्न चेतावनी दिएका छन् । राजनीतिक, सामाजिक र पुस्तागत रूपमा मुलुक गम्भीर सङ्कटमा रहेको उल्लेख गर्दै उनले अब नयाँ राष्ट्रिय सहमतिको खाँचो रहेको बताए ।

काठमाडौंमा आयोजित नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले संविधानलाई लिएर समाजमा गहिरो मतभेद रहेको बताए । उनका अनुसार कसैले यही संविधानबिना देश चल्दैन भन्ने धारणा राखिरहेका छन् भने कसैले यसलाई अपूर्ण र असफल ठानिरहेका छन् । संविधानलाई धर्मग्रन्थजस्तो अपरिवर्तनीय ठान्नु गलत भएको उल्लेख गर्दै उनले समयअनुसार परिवर्तन आवश्यक हुने तर्क गरे ।

‘हामीले सधैँ भनिरहेका छौँ, संविधान गीता, बाइबल वा पुराण होइन। यसलाई आवश्यक परे परिवर्तन गर्नुपर्छ’, लिङ्देनले भने, ‘आजको अवस्थामा संविधान जिवित छैन, मरेको जस्तै भइसकेको छ । यस्तो अवस्थामा जबरजस्ती ब्युँताएर देशलाई थप दुर्घटनामा लैजानुभन्दा नयाँ समझदारी गर्नु बुद्धिमानी हुन्छ ।’ उनले अब देशको भविष्य जोगाउन राजा, राजनीतिक दलहरू र नयाँ पुस्ता अर्थात् जेन–जीबीच नयाँ सहकार्य र समझदारी आवश्यक रहेको धारणा राखे। परम्परागत शक्ति, राजनीतिक नेतृत्व र नवयुवालाई एकै ठाउँमा उभ्याएर राष्ट्रिय एकताको आधार तयार गर्न नसके मुलुक झन् जटिल संकटमा फस्ने उनको चेतावनी थियो ।

लिङ्देनले विगतका राजनीतिक परिवर्तनबाट प्राप्त तीन महत्वपूर्ण उपलब्धिलाई जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था र २०६२÷०६३ को आन्दोलनबाट स्थापित समावेशीता र समानुपातिकताको उपलब्धिलाई राष्ट्रिय सम्पत्तिको रूपमा संरक्षण गर्नुपर्ने बताए । ‘यी उपलब्धि बचाएर मात्र अब नयाँ राष्ट्रिय सहमति सम्भव छ’, उनले स्पष्ट पारे । देश बचाउने र देश बनाउने अभियानमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने समय आएको उल्लेख गर्दै उनले दलगत स्वार्थभन्दा माथि उठेर सोच्न आग्रह गरे । कार्यक्रममा उनले एमालेको महाधिवेशन उद्घाटन समारोह भव्य र व्यवस्थित रहेको भन्दै प्रशंसा पनि व्यक्त गरे । लिङ्देनको अभिव्यक्तिले वर्तमान राजनीतिक संरचना र संविधानबारे पुनर्विचारको बहसलाई थप चर्काउने संकेत गरेको विश्लेषण गरिएको छ ।

पुस्तान्तरण र निर्वाचनमार्फत संकट समाधान अनिवार्य : कविन्द्र बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले वर्तमान राजनीतिक अवस्थामा नेतृत्व पुस्तान्तरण अपरिहार्य भइसकेको बताएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले) को ११औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले पुराना दलहरूले समयको माग बुझेर नेतृत्व हस्तान्तरणतर्फ अघि बढ्नुपर्ने धारणा राखे ।

उनले नेतृत्व पुस्तान्तरण अब विकल्प नभई अनिवार्य आवश्यकता बनेको उल्लेख गर्दै एमालेले पनि यो यथार्थलाई बुझेको आफूले महसुस गरेको बताए । जेन–जी आन्दोलनपछि सिर्जित राजनीतिक र सामाजिक अवस्थाले पुराना दलहरूलाई आत्मसमीक्षा र केही त्याग गर्न बाध्य बनाएको उनको भनाइ थियो । उनले एमालेसहित स्थापित दलहरूले नयाँ दलहरूबाट पनि सिक्ने मनस्थिति बनाउनुपर्ने विश्वास व्यक्त गर्दै देशको हितका लागि उदारता देखाउन आग्रह गरे ।

महामन्त्री बुर्लाकोटीले रास्वपा सभापति रवि लामिछानेविरुद्ध दायर मुद्दाप्रति पनि ध्यानाकर्षण गराए । उनले प्रमाणविनै लामिछानेलाई जेलमा राखिएको आरोप लगाउँदै यस विषयमा निष्पक्ष ढंगले सोच्न एमाले नेतृत्वलाई आग्रह गरे । सहकारी प्रकरणमा आफ्नो पार्टी सभापतिलाई प्रतिशोधका आधारमा थुनिएको दाबी गर्दै अन्य दलका नेताहरू ठूला आर्थिक आरोपका बाबजुद खुलेआम हिँडिरहेको अवस्थाप्रति प्रश्न उठाए ।

त्यसैगरी उनले आगामी निर्वाचन समयमै गरिनु नै वर्तमान राजनीतिक संकटको समाधानको मुख्य आधार भएको बताए । लामो समयदेखि निर्वाचन प्रक्रियामा सहभागी हुँदै आएको अनुभवी दल एमालेले घोषित मितिमै निर्वाचनमा भाग लिएर लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन भूमिका खेल्नुपर्ने उनको धारणा थियो । निर्वाचनमार्फत नयाँ नेतृत्वको विकल्प खोज्नु नै संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउने उपाय भएको उनले बताए ।

जेन–जी आन्दोलनका क्रममा भएको भौतिक तथा सामाजिक क्षतिका विषयमा बोल्दै बुर्लाकोटीले विगत साढे तीन दशकदेखि सरकार सञ्चालनमा रहेका सबै दलहरूले जिम्मेवारी लिनुपर्ने बताए । आफूहरूको पार्टी पनि केही समय सरकारमा रहेकाले दोषको प्रतिशतका आधारमा जिम्मेवारी लिन तयार रहेको उनको भनाइ थियो । उनले असन्तुष्टि र विद्रोहको पृष्ठभूमिमा केही उक्साहट पनि देखिएको उल्लेख गर्दै त्यसको निष्पक्ष मूल्यांकन आवश्यक रहेको बताए । महामन्त्री बुर्लाकोटीले लोकतान्त्रिक मुलुकमा दलहरूको आन्तरिक लोकतन्त्र सुदृढ हुनु अनिवार्य रहेको उल्लेख गरे । साथै विदेशमा रहेका नेपाली नागरिकलाई उनीहरू बसेकै देशबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन र देशभित्र पनि स्थायी ठेगानाबाहिर रहेका नागरिकलाई सहज रूपमा मतदान गर्न सक्ने प्रणाली विकास गर्न आग्रह गरे ।

शिक्षा क्षेत्रमा देखिएको राजनीतिक संरक्षण र हस्तक्षेप हटाउन सबै दलहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले सुधार बिना जनताको विश्वास पुनःस्थापना हुन नसक्ने धारणा व्यक्त गरे । उनले समग्रमा राजनीतिक दलहरूले आत्मालोचना, सहकार्य र सुधारको बाटो समाउन सके मात्र देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न सकिने निष्कर्ष प्रस्तुत गरे ।

सल्लाघारीबाट ओलीको आह्वान : १ होइन ११ बनौं (पूर्णपाठ)

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनको उद्घाटन समारोहमा पार्टीभित्र एकताको सन्देश दिँदै ‘एक’ होइन, ‘एघार’ बन्न आह्वान गरेका छन् । ‘सुरक्षित नेपालको पहिलो शर्त के हो ? हामी–हामीबीचको एकता,’ भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन समारोहमा ओलीले भने, ‘एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु ।’ उनले भने, ‘हामी एघारौं महाधिवेशनमा छौं । यसको अंक ‘एघार’ लाई एकछिन ध्यान दिएर हेरौं–एघारमा दुई वटा ‘एक’ हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका ‘एक’ होइनन् । एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका ‘एक’ हुन् ।’

‘हामी प्रत्येक एक— एमालेले अर्को एक— एमालेसँग हात मिलाउँदा, छुट्टाछुट्टै एक रहँदैनौं, एउटै ‘एघार’ बन्छौं, बलियो शक्ति बन्छौं । एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एकअर्कामाथि घात–प्रतिघात गरे हामी साधारण ‘एक–एक, एक’ मात्र रहनेछौं,’ उनले भने ।
उनले यो पनि भने, ‘एउटाले अर्कोको हात समायो, मन मिलायो भने हामी ‘एक–एक एघार’ बन्छौं । हामी एघार बन्दै अघि बढ्यौं भने यो एघारौं राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुनेछ ।’ उनले भने, ‘हामी–हामीबीचको एकता— एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु । हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक एघारलाई एकछिन् ध्यान दिएर हेरौँ, एघारमा दुई वटा एक हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका एक होइनन् । एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका एक हुन् ।’
अध्यक्ष ओलीको एघारौं महाधिवेशनको उद्घाटन समारोहमा दिएको मन्तव्य :—

तपाईंहरूलाई सुन्दर नगरी भक्तपुरमा हार्दिक स्वागत गर्दछु । भक्तपुर– गौरवपूर्ण इतिहास र संस्कृति बोकेको विश्व सम्पदा, हरेक लोकतान्त्रिक आन्दोलनमा बलिदानको कीर्तिमान राखेको देशभक्त नागरिकहरूको बासस्थान, परिश्रमी र इमान्दार किसानहरूका पसिनाले सिँचित उर्वर भूमि, यस ऐतिहासिक नगरीमा तपाईँहरूको यो भव्य उपस्थिति देखेर म गौरवान्वित भएको छु । सम्झिरहेको छु, ३ महिना अगाडिका ती कहालीलाग्दा दिनहरू– जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो, जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलहरूमाथि भीषण हमला गरिएको थियो, र एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो– पुराना पार्टीहरू सकिए, नेताहरूका दिन गए। एमालेको सान्दर्भिकता समाप्त भयो ।

धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ । मंसिरको चिसो सिरेटो पञ्छाउँदै यहाँ आउनु हुने तपाईँहरू सबैलाई फेरि पनि हार्दिक स्वागत छ । नेपालका प्रत्येक वडा–वडा, टोल–टोल, हिमाल–पहाड–तराई र प्रवाससम्म छरिएको एमालेको महासागरका अगाडि यो सभामा जम्मा भएका हामी केही थोपा मात्रै हौं। तर, यिनै थोपा भित्रको साहस, भरोसा, माया, अनुशासन र उत्साहसहित उभिएको यो उपस्थिति गर्वको विषय हो ।

दाजुभाइ दिदीबहिनीहरू,

आजबाट हामी हाम्रो पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन सुरू गर्दैछौं। नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएयता हामीले ७७ वर्ष व्यतीत गरेका छौँ । ती ७७ वर्षहरू, जसमा हामीले प्रत्येक दिन देशका निम्ति खर्चेका छौँ। जनताका निम्ति सुम्पेका छौँ । देशको सार्वभौमसत्ता, राष्ट्रियता, राष्ट्रहित र स्वाभिमानका लागि हरपल अर्पेका छौँ। जनताका अधिकार, न्याय र सुख एवं समृद्धिका लागि समर्पित गरेका छौँ । नेकपा एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका छौं । र, यो एघारौँ महाधिवेशन यस महान् अभियानरूपी यात्रामा एउटा नयाँ मोडको रूपमा भव्यताका साथ आयोजना गरिरहेका छौं। हाम्रा नीतिहरू स्पष्ट छन् । यी नीतिहरू कार्यान्वयन गर्ने सुदृढ, व्यापक र दृढ संकल्पित लोकप्रिय पार्टी र संगठन हामीसँग छ ।

म हाम्रो पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी लगायत ती सबै अग्रजहरू, शहीदहरू, योद्धाहरू र आन्दोलनमा वर्णन नै गर्न नसकिने कष्ट सहनु हुने न्यायप्रेमी जनसमुदायप्रति हार्दिक श्रद्धा अर्पण गर्न चाहन्छु, जसको बलिदान बिना हामी यहाँ आइपुग्नै सक्दैनथ्यौँ । तपाईहरूलाई साक्षी राखेर सङ्कल्प गर्छु– हामी उहाँहरूको आदर्श र बलिदानलाई कहिल्यै बिर्सने छैनौँ ।

यति लामो यात्रामा हामीले कहिल्यै गल्ती गरेनौँ या हामीबाट कमजोरी रहेन भन्ने होइन, तर हाम्रो निष्ठा, समर्पण र इमानप्रति हामीलाई गौरव छ। कम्युनिष्ट पार्टीको यही बलिदानी सङ्घर्षका बलमा आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको छ । सात सालको क्रान्तिमा कम्युनिष्ट पार्टी भर्खरै स्थापना भएको थियो । यसको नेतृत्वदायी भूमिका नहुँदा क्रान्ति अधुरो रह्यो । २०४६ सालमा कम्युनिष्ट पार्टी सबल र संयुक्त नेतृत्व गर्ने ठाउँमा विकसित भएको थियो, आन्दोलनले राजाको निरङ्कुशता र पञ्चायती तानाशाहीलाई अन्त्य ग¥यो ।

२०६२÷०६३ मा कम्युनिष्ट पार्टी नेतृत्वदायी भूमिकामा रह्यो, तसर्थ राजतन्त्र अन्त्य भयो, गणतन्त्र स्थापना भयो र जनताको हातले संविधान लेखियो । त्यतिबेला अरू पार्टीहरूका भूमिका तपाईँहरूको सम्झनामा ताजै छन् । त्यसैले भन्न सक्छौँ– कम्युनिष्ट पार्टी जति जति बलियो हुन्छ, त्यति त्यति लोकतन्त्रले पूर्णता पाउँछ । राष्ट्रिय स्वाभिमान सुदृढ हुन्छ । समृद्धिको यात्रा अगाडि बढ्छ । आज हामी पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा सुदृढ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य हासिल गर्न अगाडि बढ्न चाहन्छौँ ।
कमरेडहरू, दाजुभाइ दिदीबहिनीहरू,

आठ दशकको यस गौरवशाली यात्रामा हामीले केही बिरासतहरू, केही मानकहरू, केही पहिचानहरू बनाएका छौँ। नेकपा एमाले अर्थात् राष्ट्रियताको पहरेदार, देशभक्तिपूर्ण आन्दोलनको नायक । नेकपा एमाले अर्थात् लोकतान्त्रिक आन्दोलनको अग्रपङ्क्तिको योद्धा, यसको अभेद्य किल्ला । नेकपा एमाले अर्थात् सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायनियर’, जसका कारण आज ३८ लाख नागरिकहरूले जीवनमा एउटा सहारा पाउनु भएको छ ।

नेकपा एमाले अर्थात् सामाजिक सद्भाव र राष्ट्रिय एकताको संबाहक, जसले विभिन्न बहानामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको छ । नेकपा एमाले अर्थात् समावेशिताको अगुवा, जसले राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाइ महिला सहभागिता सहित दलित, अल्पसङ्ख्यक र पछाडि पारिएका समुदाय, क्षेत्र र वर्गलाई मूलधारमा ल्याउन अग्रणी भूमिका खेलेको छ । नेकपा एमाले अर्थात् नेपाली विशेषता सहितको समाजवाद निर्माणको अभियन्ता, जनताको बहुदलीय जनवाद जस्तो नवीनतम सोचको संवाहक र परिपूर्ण लोकतन्त्रको भाष्यकार । नेकपा एमाले अर्थात् गाउँमुखी र जनसहभागितामूलक विकासको अग्रणी, ठूला पूर्वाधार निर्माणको पहलकर्ता, भूकम्पपछिको पुनर्निर्माणको सफल अभियन्ता । नेकपा एमाले अर्थात् मानवतावाद, न्याय, संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलको सिद्धान्त र हामी पक्ष भएका अन्य अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको पालना र विश्व शान्तिमा आधारित विदेश नीति रहेको पार्टी ।

नेकपा एमाले अर्थात् असल, विश्वसनीय छिमेक सम्बन्ध र पारस्परिक हित र सम्मानका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने पार्टी । नेकपा एमाले अर्थात् समृद्धिको स्वप्नद्रष्टा र परिकल्पनाकार, जसले भन्छ– प्रकृतिको यति सुन्दर बरदान पाएको र संस्कृतिको धनी नेपाल गरिब रहनै सक्दैन, हामी आफ्नै पौरख र बलमा समृद्ध बनाइ छाड्छौँ । आजको अन्तरनिर्भरताको समयमा पनि हामी सकेसम्म आत्मनिर्भर अर्थतन्त्रको पक्षमा छौं। यसका निम्ति कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण, अर्थतन्त्रको औधोगिकरण र आधुनिकीकरण, आर्थिक उन्नतिका लागि पूर्वाधारको विकास, विकासका लागि प्रविधिको नवीन प्रयोग– हाम्रा नीति हुन् ।

हामी सपना मात्रै देख्दैनौँ, सपना मात्रै बाँड्दैनौँ– प्रत्येक दिन यस यात्रामा एक पाइला अघि बढ्छौँ। हामीले नेतृत्व गर्दा मुलुकले हासिल गरेको आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तरोन्नतिका निम्ति भएका कामले स्पष्ट पार्छन् ।
बिरासतको यो सूची लामो बनाउन सकिन्छ, तर मलाई विश्वास छ– एमालेको पहिचानको त्यो सूची तपाईँहरूको मनभित्रै कुँदिएको छ, तब त सबै वाधा छिचोलेर तपाईँहरू यहाँ आउनु भएको छ । यिनै बिरासतले गर्दा आज पनि यो पार्टी जनताको मन मनमा छ, मुटु मुटुमा छ । हामी राजनीतिलाई एक्लै र लोकतन्त्रलाई राजनीतिको घेराभित्र मात्रै सीमित राख्दैनौं। त्यसैकारण हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौं । राजनीति, सिंगो नेपाल र सबै नेपाली जनताको सुरक्षा, सम्मान र उन्नतिका लागि हुनु पर्दछ । राजनीति, मानव र मानव संशाधनको विकास र खुशहालीसँग सम्बन्धित हुनु पर्दछ । हाम्रो राजनीति हाम्रा लागि मात्रै होइन, विश्व शान्ति, विश्व वातावरण र विश्वव्यापी रूपमा सामाजिक न्याय, समानता र मानव अधिकारको पक्षमा हुनु पर्दछ–‘बसुधैव कुटम्बकम् ।’ तर हामी माथिका प्रहार पनि कम्ती छैनन् ।

हामी भन्छौँ– देशहरू भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ता बराबर हो । कतिलाई लाग्छ, सानो देशले हामीसँग बराबरी गर्न खोज्ने? प्रहार हुन्छ। हामी जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबरी हुन् र आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन भन्छौँ । हामी हिंसा या युद्ध समाज परिवर्तनको साधन हुन सक्दैन भन्छौँ, जनताको मन जितेर शान्तिपूर्ण ढङ्गले पनि समाज बदल्न सकिन्छ भन्छौँ । हामीमाथि प्रहार हुन्छ । हामी विविधता र बहुलता हाम्रो सम्पदा हो, दूरी बढाउने विषय होइन भन्छौँ । हामीमाथि प्रहार हुन्छ । हामी सार्वभौम मुलुकका रूपमा संविधान बनाउने अधिकार हाम्रो हो। विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ । कतिलाई मन पर्दैन । अनि हामीमाथि प्रहार हुन्छ ।

हामी रात जतिसुकै लामो भए पनि उज्यालो हुन्छ भन्ने विश्वास गर्छौँ। सशस्त्र द्वन्द्व, सङ्क्रमणकाल र भूकम्प जस्ता चुनौतीका बीचमा पनि मुलुकले गरिरहेको प्रगतिलाई देख्छौँ। कमजोरीलाई पनि महसुस गर्छौँ । मुलुक बन्छ र बन्दैछ भन्ने भरोसा राख्छौँ । निराशा र नकारात्मकताका अभियन्ताहरूलाई यो मन पर्दैन । अनि फेरि हामीमाथि प्रहार हुन्छ ।

हामी कमजोर भयौँ भनेमात्र नेपालको राष्ट्रिय स्वाधीनता कमजोर हुन्छ भनेर कसैले गणित मिलाइरहेका छन् । हामी नढलुन्जेल, हाम्रो शिर नझुकेसम्म नेपालको स्वाभिमान सीधै रहन्छ । त्यसैले हामीमाथि आक्रमण भइरहेको छ । हामीविरूद्धका शक्तिहरू विभिन्न रङ्गमा अगाडि आउँछन्— कहिले असन्तुष्टि पोख्दै, कहिले परिवर्तनको नारा बोकेर। कलर÷कलरमा– कलर रेभोलुशन भन्दै देखा पर्छन् । तर तिनको भित्री लक्ष्य एउटै छ— हामीलाई विभाजन गर्ने, कमजोर बनाउने, अलमल्याउने र दिशाहीन बनाउने ।

एकपटक सम्झनुस् त ! हामीले संविधान जारी ग¥यौं, त्यसपछिको तीब्र प्रतिक्रियाले भन्छ– हामीले लिएको अडान कतिलाई मन परेको थिएन । भूपरिवेष्ठित मुलुकहरूलाई भू–जडित बनाउन गरिएको यातायात–पारवहन सम्झौता पनि धेरैलाई पचेको थिएन । उत्तर– दक्षिण जोड्ने कनेक्टिभिटी खुलोस्, नेपाल आफैँ हिँड्न सक्ने बनोस् भन्ने हाम्रो चाहना धेरैलाई मन परेको थिएन। सीमाको रक्षा र आफ्नै भू–भागमाथिको सार्वभौमसत्ताको दाबी स्पष्ट गर्दा पनि कतिलाई सहज लागेकै थिएन ।

यही कारणले, बारम्बार हाम्रो पार्टी प्रहारको निशानामा परेको छ । आखिर खयरको बोटमा कसले ढुङ्गा हान्छ र ? ढुङ्गाको चोट खाने त बाटो छेउको आँपको बोटले त हो नि । दाजुभाइ दिदीबहिनीहरू, यति धेरै प्रहार सहेपछि पनि यो पार्टी सतिसालझैँ ठिङ्ग कसरी उभिरहन्छ? यति धेरै शक्ति कहाँबाट आउँछ? यस प्रश्नको उत्तर म यही मैदानमै खोज्न चाहन्छु । एकछिन्— आफ्नै गाउँ÷ ठाँउमा, सहरका टोल÷ टोलमा, टारीको छेउमा, ओडारको चिसोमा बसेर संगठन जोगाइरहेका आफ्नै साथीहरू सम्झनुस् त ! त्यसपछि आफैँ महसुस गर्नुहुनेछ— संकटको बेलामा ढल्ने होइन, अड्ने साहस यस पार्टीले यत्तिका वर्ष कहाँबाट बटुलेको रहेछ ? भदौ २३-२४ को घटनालाई सम्झौँ न। भदौ २४ को त्यो उन्माद के असन्तुष्ट समूहको प्रदर्शन मात्रै थियो ? कि त्यसको आडमा अर्को ठूलो खेल चलिरहेको थियो? त्यस उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्रै थियो ? कि त्यसभित्र राज्यको मेरूदण्ड नै भाँच्ने योजना पनि लुकेको थियो ?

भ्रममा पर्नै हुन्न– स्थिरताको बाहक बनिरहेको, संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नै पर्थेन । संसदबाटै त्यो काम गर्न सकिन्थ्यो, या अर्को निर्वाचन कुर्न सकिन्थ्यो। तर यो त संविधान, संवैधानिक प्रक्रिया र ७ दशक लामो कठिन संघर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्यविहीनताको अवस्थामा पुर्‍याउने दीर्घ तयारीसहितको गम्भीर षडयन्त्र थियो । तर यसो भनिरहँदा एउटा कुरा स्पष्ट पारौँ— सामाजिक सञ्जाल खुल्ला होस्, भ्रष्टाचार नियन्त्रण होस्, राज्यमा सुशासन कायम होस् —जेनेरेशन–जेड या नवयुवाहरूले उठाएका यी मागप्रति कसैको पनि असहमति थिएन । यी त हामी स्वयंले वर्षौँदेखि उठाउँदै र कार्यान्वयन गर्दै आएका एजेन्डा थिए । सामाजिक सञ्जाल बन्द गर्ने होइन— कानुनी दायराभित्र, देश र नागरिकको सुरक्षाको हिसाबले नियमन गर्ने मात्रै हाम्रो चाहना थियो । नव–युवाहरूले प्रशासनलाई संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने बचन दिएका थिए। प्रशासनले अनुमति पनि दिएकै थियो ।

तर दुःखको कुरा— त्यो कार्यक्रममा घुसपैठ भयो। विभिन्न स्वार्थ समूह प्रवेश गरे। अनि, हिंसा र तोडफोड त के, फूलको हाँगा पनि भाँच्दैनौँ र निषेधित क्षेत्र तोड्दैनौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीहरूलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद भवनमा आगजनी र तोडफोड गर्न दुरूत्साहन गर्ने र त्यसैका आडमा आफ्नो निहित स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा—विद्यार्थीहरूको ज्यान जाने दुःखद् एवम् अकल्पनीय परिस्थिति सिर्जना भयो ।

भदौ २३ गते गोली लागेर ज्यान गुमाएका युवा, भदौ २४ गते अराजक भीडको आक्रमणमा परी मारिएका सुरक्षाकर्मी र नागरिक—सबैप्रति म यस विशाल सभाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइते युवाहरू, परिवारका सदस्यहरू, पीडित बुबाआमा, दिदीबहिनी, दाजुभाइ, सबैप्रति गहिरो समवेदना व्यक्त गर्दछु— शरीर र मन दुवैको चोट चाँडै निको होस् भन्ने कामना गर्दछु ।

साथीहरू, भदौ २३ गते शान्तिपूर्ण भनिएको प्रदर्शन हिंसात्मक हुँदा सिर्जित दुःखद् परिणामप्रति गम्भीर हुँदै, तत्कालीन गृहमन्त्रीले राजीनामा गरिसक्नुभएको थियो । त्यसै दिनको मन्त्रिपरिषद्को बैठकबाट घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्ने निर्णय पनि भइसकेको थियो । असामान्य परिस्थितिप्रति सरकार गम्भीर र संवेदनशील थियो। तर राज्यविरूद्ध आक्रमणको योजना बनाएका तत्वहरूलाई यी कदम पर्याप्त भएनन् । उनीहरूलाई त देश दहन गर्ने अगुल्टो चाहिएको थियो। परिणामतः भदौ २४ को भयानक दिन देशले भोग्नुप¥यो ।
कार्यपालिकाका वडा कार्यालयदेखि केन्द्रीय प्रशासनिक भवनसम्म, व्यवस्थापिकाका पालिकादेखि संघीय संसद भवनसम्म, र न्यायपालिकाका जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म— राज्यका तीनवटै अंगमाथि एकैसाथ आक्रमण गरियो। दलीय व्यवस्थाका आधारस्तम्भ पार्टीका कार्यालयहरू ध्वस्त पारिए। होटल, व्यापारिक प्रतिष्ठान र व्यवसायिक व्यक्तिहरूका निजी सम्पत्ति ध्वस्त पार्दै अर्थतन्त्रको मेरूदण्ड भाँचियो ।

शान्ति–सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि भयानक प्रहार भयो— कुटपिट मात्रै होइन, निर्ममतापूर्वक हत्या समेत गरियो । १२ सयभन्दा बढी हतियार खोसिए, झन्डै एक लाख गोलीगठ्ठा र विविध सामग्री लुटिए । सुरक्षाकर्मीका पोशाक मात्र लुटिएनन्, तिनको अपमान र दुरूपयोग समेत गरियो । जेलको ढोका फोरेर १४ हजारभन्दा बढी कैदीबन्दी भगाइए । नेता÷कार्यकर्ताहरूका निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चाइयो । यसरी, राष्ट्रपति भवनदेखि सिंहदरबार जस्ता राष्ट्रिय सम्पदाहरू– शहीदका सालिक, लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनका स्मारक, आश्रम र स्मृति भवन समेत १६ सयभन्दा बढी संरचना एकैपटक आगो, ढुंगा र लुटपाटको निशाना बने ।

यी सबै घटनाहरू प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि भए । त्यसैले ती घटना केवल सरकार परिवर्तनका लागि गरिएका दबाब थिएनन । ती त मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, नेपाली संस्कार र एकतालाई खल्बल्याउने र गम्भीर रूपमा घाइते पार्ने योजनाबद्ध कदमहरू थिए। जतिबेला, राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथि आगो झोस्ने कामलाई नै ’आन्दोलन’, ’बिद्रोह’ र ’क्रान्ति’का रूपमा महिमामण्डित गरिँदै थियो, त्यही भिडको फुटेज देखाएर— कोही सत्ता, कोही सौदा, र कोही सहानुभूति बटुल्दै थिए ।

त्यतिबेला एमाले मात्रै यस्तो पार्टी रह्यो जसले सुरूदेखि नै स्पष्ट भन्यो— यो हाम्रो व्यवस्थामाथिको आक्रमण हो, यो देशमाथिको प्रहार हो । साथीहरू, राज्यको सिंगो प्रणाली तहसनहस पार्न खोजिएको त्यस घडीमा केही समय हामी पनि सुरक्षित स्थानमा रही समीक्षारत रह्यौं । नेताहरू, समाजका अगुवाहरू मारियून्, समाप्त होउन् भन्ने चाहना गर्ने कोही–कोहीले आज व्यंग्य गरेको सुनिन्छ— ’हेलिकप्टर चढेर भागे’ । महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर आगो लगाइयो, पाण्डवले सुरूङ खनेर बच्नुपर्‍यो ।

इतिहासले दोष कसलाई दियो— आगो बाल्ने दुर्योधन–शकुनीलाई कि आगोबाट बच्न खोज्ने पाण्डवलाई?

प्रश्न त्यत्ति न हो!

त्यो महाविनाश— न हामीले विर्सेका छौँ, न विर्सनेछौँ। दोह¥याएरै भन्छु–– नर्बिसौं !!!

अहिलेलाई यत्ति मात्र— त्यस दिनको महाविनाशको छानबिन होस्, दोषी पहिचान होस्, अपराधीले सजाय पाउँन् !

साथीहरू, त्यो असामान्य परिस्थितिमा थप क्षति नहोस् भनेर मैले राजीनामा दिएँ । देश अन्योलमा थियो । त्यो अन्योल चिर्न संवैधानिक बाटोबाट निकास दिन हामीले विकल्पहरू स्पष्ट राख्यौँ। यदि संसदभन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए, दलहरूबीच सहमति हुनुपर्छ— संसदमार्फत संविधान संशोधन गर्नुपर्छ । प्रतिनिधिसभा विघटन हुनुहुँदैन ! यही हाम्रो दृढ अडान थियो । कामचलाऊ प्रधानमन्त्रीको नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ । तर देशलाई उल्टो दिशामा लगियो— संविधानको बाटो छाडेर बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गरियो ।

त्यसैले हामी भन्छौँ— अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक छ, गलत छ । जनताले चुनेका प्रतिनिधि घर फर्काउनु भनेको जनतालाई नै राजनीति बाहिर धकेल्नु हो। यस्तो कामले लोकतन्त्र बलियो हुँदैन । त्यसैले— प्रतिनिधिसभा विघटन मान्य छैन । हाम्रो माग स्पष्ट छ— प्रतिनिधिसभा तुरून्त पुनस्र्थापना होस्, देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस् ।

सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ । चुनावको मिति तोकिएको छ, तर के तयारी कतै छ? अहँ देखिँदैन ! चुनाव चाहने सरकार के गथ्र्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सभा–जुलुस खुला गथ्र्यो। दलका गतिविधि प्रोत्साहित गथ्र्यो। चुनावको अनिवार्य शर्तका रूपमा रहेको निर्भयताको वातावरण निर्माण गथ्र्यो। तर अहिले के भइरहेको छ? संवादको सट्टा निषेध, बहसको सट्टा मुद्दा, प्रतिस्पर्धाको सट्टा धम्की, नेताको राहदानी रद्द र स्थान– हद ।।। निषेधाज्ञा ! यसरी चुनावको वातावरण बन्छ कि डरको ?

मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतङ्क बढ्छ ? जनताले चाहेको कुरा स्पष्ट छ— साँचो प्रतिस्पर्धा, स्वतन्त्र चुनाव र निष्पक्ष वातावरण ! हाम्रो पनि भनाइ यही हो— डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ?

तर अहिले कहाँ चुनाव हुँदैछ र ?! चुनावको कुरा मात्र भइरहेको छ ! त्यसैले हाम्रो अडान छ– प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ। म उपस्थित सबै दलका नेता गणलाई पनि लोकतन्त्रमाथिको यो प्रहार, संविधानमाथिको यो आघात र राष्ट्रमाथिकै यस सङ्कटलाई बोध गरेर, यसबाट रत्तिभर विचलित नभई सहकार्यका साथ अगाडि बढ्न आह्वान गर्छु । प्रिय युवा साथीहरू, अहिले केही व्यक्तिहरू नेकपा एमाले र प्रतिष्ठित राजनीतिक दलहरूलाई ‘जेनजी विरोधी’ आरोपित गर्दै तपाईँहरू र हामीलाई भिन्न धारमा उभ्याउन कोशिस गरिरहेका छन् ।

उनीहरूको यस्तो प्रयास नौलो होइन। ३० वर्ष अगाडिसम्म हामीलाई बृद्धबृद्धा विरोधी पार्टी भनेर आरोपित गरिन्थ्यो । हामीले व्यवहारबाटै खण्डित ग¥यौँ । सशस्त्र हिंसा सुरू भएपछि हामीलाई क्रान्ति विरोधी भनेर आरोपित गरियो। हामीले त्यस आरोपको मिथ्यापनलाई पनि तथ्यहरूबाटै पुष्टि गर्‍यौँ। एक अवस्था आयो– हामीलाई पहिचान विरोधी, मधेस विरोधी, जनजाति विरोधी बिल्ला भिराउने कोशिस भयो । हामीले व्यवहारबाट त्यस भाष्यलाई चि¥यौँ, आज नेकपा एमाले मधेस प्रदेशसभामा सबैभन्दा ठूलो दलका रूपमा स्थापित छ । हाम्रो पार्टी साम्प्रदायिक विद्वेषमा होइन, विविधताबीच राष्ट्रिय एकताको पक्षमा छ ।

सबै हतियारमा खिया लागेपछि हामीलाई आज जेनजी विरोधी भनेर भ्रमित गर्ने कोशिस गरिरहेको छ। तर यो भ्रम निराधार छ। जुन पार्टीले आफ्ना सबै पार्टी संरचनामा नयाँ युवालाई स्थापित गर्न विशेष व्यवस्था नै गरेको छ, त्यो पार्टी कसरी नयाँ पुस्ता विरोधी हुन सक्छ ? जसले सरकारमा हुँदा उद्यमशीलता सिकेर केही गर्न चाहने युवाको आँखाका आशालाई हेरेर सीप विकास कार्यक्रम विस्तार ग¥यो, उत्पादन र बजार जोड्ने व्यवस्था मिलायो, स्टार्टअप कार्यक्रम अघि बढायो। त्यो कसरी जेनजी भन्दा टाढा हुन सक्छ ? जसले सरकारमा हुँदा डिजिटल नेपाल फ्रेमवर्क र एआई नीतिलाई प्राथमिकतामा राख्यो– कसरी तपाईंहरू भन्दा फरक हुन सक्छ ?

हामी चाहन्छौं – नेपाली युवाले प्रविधि हातमा लिएर यहीँ बसेरै विश्वसँग प्रतिस्पर्धा गर्न सकोस्। नयाँ रोजगारी सिर्जना होस्, नवप्रवर्तन जन्मियोस्, नयाँ अवसरको ढोका खुलोस्। त्यसैले जेनजीका नाममा स्वार्थको रोटी सेकिरहेका तत्वहरूले फिंजाएको भ्रमबाट मुक्त हुन म साथीहरूलाई आग्रह गर्दछु। म हाम्रा युवाहरूलाई यो पनि स्मरण गराउन चाहन्छु — प्रविधि जति अगाडि बढे पनि, तपाईंहरूको सुरक्षित भोलि लोकतन्त्र, संविधान, शान्ति र राजनीतिक स्थायित्वमाथि नै निर्भर छ । यसका लागि दलहरू अनिवार्य पक्षहरू हुन्। कुनै दल मन नपर्न सक्छ, अर्कोमा जोडिन सकिन्छ। या आफँै दल खोल्न पनि सकिन्छ। तर विचारका आधारमा स्थापना भएका, लामो इतिहास भएका र आन्दोलनको अग्निपरीक्षामा खारिएका दलहरूलाई कमजोर गरेर देश बन्दैन । विचार बिनाका दल र उत्तरदायित्व बिनाका पात्रहरूले अन्ततोगत्वा मुलुकलाई सङ्कटको भुँवरीमा होम्छन् ।

प्रिय कमरेडहरू, साथीहरू, हाम्रो महाधिवेशन लोकतान्त्रिक अभ्यास, वैचारिक गन्तव्यप्रतिको स्पष्टता र एकताको एउटा उदाहरणको रूपमा आयोजना भइरहेको छ । यस्तो परिस्थितिमा हामी हरेकले गहिरो जिम्मेवारी बोधका साथ पार्टीलाई कुनै प्रकारको क्षति हुन नदिनु र उन्नत एकता कायम गर्नु जरूरी छ । यसमा सबैको ध्यान जानेछ भन्ने मैले विश्वास लिएको छु । अर्को कुरा, हामी कसैको कुनै पनि कार्यक्रम बिथोल्ने, बाधा व्यवधान पु¥याउने काम गर्दैनौं। कसैले पनि अरूका कार्यक्रममा व्यवधान उत्पन्न गर्नु सभ्य र लोकतान्त्रिक आचरण होइन। मैले विश्वास लिएको छु,–एमालेका कार्यक्रमहरू बिथोल्न कसैले पनि प्रयास गर्ने छैन । म नेपालका सम्पूर्ण राजनीतिक दलहरू, अन्य संघसंस्थाहरू, नागरिक समाज, मिडिया र आम जनसमुदायलाई आजको असहज परिस्थितिको मिलेर समाधान गर्न यस मञ्चबाट आग्रह गर्दछु ।

साथीहरूलाई स्पष्ट हुन म आग्रह गर्छु। आजको हाम्रो सङ्घर्ष– जेनजी पुस्ता र पाको पुस्ता बीचको हुँदै होइन। पुराना दल र नयाँ पुस्ता बीचको पनि हुँदै होइन। संघर्षको केन्द्रबिन्दु त देश बनाउने र देश जलाउने बीचको हो। मलाई विश्वास छ, आजको नयाँ पुस्ता सधैंभरि देश बनाउने कित्तामा उभिने छ । निश्चय नै, तपाईँहरूको अपेक्षा र राज्यको डेलिभरी क्षमता बीचमा ग्याप छ । तपाईँहरू प्रविधिमा अभ्यस्त हुनुहुन्छ र चाहनुहुन्छ– एक क्लिकमा काम होस्, सेवा दिनका लागि लम्बेतानको लाइन, फाइलहरूको भीड र कर्मचारीहरूको ढिलासुस्तीबाट मुक्त हुन पाइयोस् । अवसरहरू सबैका लागि बराबर होउन्। आफन्तवाद र भ्रष्टाचारको जालो चुँडाउन सकियोस्। योग्यताका आधारमा छनोट होस्। तपाईंहरूका अपेक्षा बिल्कुल जायज छन् ।

यस दिशामा केही उपलव्धि पनि भएका छन् । तर थुप्रै काम गर्न बाँकी छ । तर ती बाँकी काम देखेर या अन्याय देखेर आक्रोशित हुनु स्वाभाविकै हो । तर त्यो आक्रोश रचनात्मक ढङ्गले प्रयोग हुनुपर्छ, जसरी पहाडबाट बगिरहेको खोला बाँधमा बाँधिएर, पेनस्ट्रक पाइपमा छिरेर, टर्बाइनमा पुग्दा ऊर्जाको उज्यालोमा रूपान्तरित हुन्छ । नत्र त त्यसले बाढी बनेर बस्ती बगाउँछ, विपत्ति सिर्जना गर्छ । तपाईंको जायज गुनासोलाई हिंसा र विध्वंशको इन्धन बनाउन खोज्नेहरूबाट जोगिनुहोस्। तपाईंहरूका जायज आवाजको आडमा देशको विरूद्ध हिंसा र सत्ता–स्वार्थको रोटी सेक्नेलाई चिन्नुहोस्। देशका संरचना जलाई खरानी बेच्नेहरूको जालबाट जोगिनुहोस् ।

म युवा पुस्तालाई भन्न चाहन्छु — असहमति राख्नुस्, आलोचना गर्नुस्, जवाफ माग्नुस्। तर एउटा कुरा नबिर्सनुस्— आफ्नो संस्कृतिमा र सभ्यतामा गर्व गर्ने, सही सिद्धान्त र देश बदल्ने सपना बोकेका दलबिना लोकतन्त्र सम्भव छैन । यसै मञ्चबाट म सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गर्छु— जहाँ सकिन्छ त्यहाँ, युवालाई अगाडि सारौँव उनीहरूको कुरा ध्यान दिएर सुनौँव
उनीहरूको जायज एजेन्डालाई उचित स्थान दिऔँ । युवा पुस्तासँगको हाम्रो सहकार्य भावनात्मक मात्र होइन— यसको आधार छ— सिद्धान्तमा दृढ, अनुशासन र आपसी एकता भएको पार्टी ।

साथीहरू, आज हामी सबैभन्दा बढी के कुराको अभाव महसुस गरिरहेका छौँ? उत्तर हो— सुरक्षा ।

सुरक्षा – राज्यले प्रत्येक नागरिकलाई दिनै पर्ने प्रशासनिक सुरक्षा त हुँदै हो, त्यसका अतिरिक्त– युवालाई– रोजगारीको सुरक्षा, आमाबाबुलाई– छोराछोरी विदेशिन नपर्ने भविष्यको सुरक्षा, श्रमजीवी जनतालाई– पारिश्रमिकको सुरक्षा, किसानलाई– पसिनाको मूल्यको सुरक्षा, उद्योगी-व्यापारीलाई– नीति, स्थिरता र लगानीको सुरक्षा, विद्यार्थीलाई– सपनाको सुरक्षा, आम नागरिकलाई– न्यायको सुरक्षा। भाषा, पहिरन, धर्म, आस्था, जात–जातिको गौरव— सबैको पहिचानको सुरक्षा। संविधान, लोकतन्त्र, अदालत, संसद, संस्थाहरू— सबको अस्तित्वको सुरक्षा ।

त्यसैले हामी भन्छौँ— हाम्रो राजनीति केवल सत्ता बदल्ने राजनीति होइन— जीवनमा सुरक्षाको अनुभूति दिने राजनीति हो। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्यको सुरक्षा हो। अर्को शब्दमा– सुरक्षा, समृद्धि र सुखको सुनिश्चितता हो । जहाँ नागरिकको ज्यान, अधिकार, सम्मान, देशको अस्तित्व र भविष्य सुरक्षित होस्।

प्रिय कमरेडहरू, साथीहरू, यस जटिल परिस्थितिमा अनेक चुनौतीहरूको सामना गर्दै आफ्नो गन्तव्यतर्फ दृढता र सक्रियताका साथ अगाडि बढौं। अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा अगाडि बढौं। वर्तमान असंवैधानिक सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको छ । त्यसका लागि एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने ‘सरकार–जेनजी सम्झौता’जस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण सिर्जना गर्ने अनेक प्रपञ्चहरूको जालो पनि बुनिरहेको छ । यस स्थितिलाई तोडेर संविधानलाई पुनः लिकमा फर्काउनु छ, जहाँ नेपाल सुरक्षित होओस् ।

साथीहरू, सुरक्षित नेपालको पहिलो सर्त के हो? हामी–हामीबीचको एकता— एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु । हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक ’एघार’लाई एकछिन् ध्यान दिएर हेरौँ— एघारमा दुई वटा ’एक’ हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका ’एक’ होइनन्। एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका ’एक’ हुन् ।

त्यसैले, हामी प्रत्येक एक— एमालेले अर्को एक— एमालेसँग हात मिलाउँदा, छुट्टाछुट्टै एक रहँदैनौँ, एउटै ’एघार’ बन्छौँ, बलियो शक्ति बन्छौँ। एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एक–अर्कामाथि घात– प्रतिघात गरे— हामी साधारण ’एक–एक, एक’ मात्र रहनेछौँ । तर एउटाले अर्कोको हात समायो, मन मिलायो— हामी ’एक–एक एघार’ बन्छौँ। हामी एघार बन्दै अघि बढ्यौँ भने— यो एघारौँ राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुनेछ ।

सबैलाई शुभकामना ! धन्यवाद !