`

टी–२० विश्वकप छनोटका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि ३२ खेलाडीलाई क्याम्पमा बोलाएको छ ।

क्यानले रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम सार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रूपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, मोहमद आदिल आलम, पवन सर्राफ, शेर मल्ल, शुभ कंसाकार र अर्जुन घर्तीलाई क्याम्पमा बोलाएको हो ।

यो टोलीबाट छानिएका खेलाडीहरू समावेश भएको अन्तिम टोलीले एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्नेछ ।

श्रीलङ्कामा जुन महिनामा भित्रियो ६३ करोड ५० लाख डलर रेमिट्यान्स

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका श्रीलङ्काका नागरिकले जुन महिनामा ६३ करोड ५७ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन् ।

यो सन् २०२४ को जुनको तुलनामा २२ प्रतिशतले बढी हो । सन् २०२४ मा कुल विप्रेषण छ अर्ब ५७ करोड डलर प्राप्त भएको थियो । सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा विप्रेषण तीन अर्ब ७० करोड डलरभन्दा बढी रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.९ प्रतिशतले बढी हो ।

श्रीलङ्काका लागि विप्रेषण नै वैदेशिक आयको प्रमुख स्रोत हो । श्रीलङ्काबाट सन् २०१९ मा तीन लाख १२ हजार ८३६ जनाले वैदेशिक रोजगारीका लागि विदेशिएका थिए ।

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण सुरु

बेइजिङ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले यस सप्ताहन्तमा चीनको भ्रमण सुरु गरेका छन्।

अल्बानिजले आइतबार साङ्घाई पार्टीका सचिव चेन जिनिङसँग भेट गरे। यो उच्चस्तरीय आदानप्रदानको शङ्खलामा पहिलो भेटवार्ता हो। भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली किआङ र नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्नेछन्।

अल्बानिजले चीनमा ‘एक धेरै ठूलो व्यापारिक प्रतिनिधिमण्डल’ को नेतृत्व गरिरहेका छन्। यसले अस्ट्रेलिया र चीनबीचको आर्थिक सम्बन्धको महत्त्वलाई देखाएको उनले शनिबार साङ्घाई आइपुगेपछि चिनियाँ राज्य प्रसारणकर्ता सिजिटिएनलाई बताए।

एक हप्ता लामो भ्रमणका क्रममा अल्बानिजले साङ्घाई र चेङ्दुमा व्यापार, पर्यटन र खेलकुद प्रतिनिधिहरूसँग भेट गर्ने तालिका छ। यसमा मङ्गलबार बेइजिङमा सिइओ गोलमेच सम्मेलन हुने उनको कार्यालयले जनाएको छ। सन् २०२२ मा उनको मध्य–वामपन्थी लेबर पार्टीको सरकार पहिलो पटक निर्वाचित भएपछि अल्बानिजको यो दोस्रो चीन भ्रमण हो। पार्टी मे महिनामा बढ्दो बहुमतका साथ पुनः निर्वाचित भएको थियो।

बेइजिङलाई अघिल्लो रूढिवादी सरकारअन्तर्गत लागु गरिएका आधिकारिक र अनौपचारिक व्यापार अवरोधहरूको शृङ्खला हटाउन राजी गर्न अल्बानिज सफल भएका छन्। यसले अस्ट्रेलियाका निर्यातकहरूलाई एक वर्षमा २० अर्ब अस्ट्रेलियन डलर (१३ अर्ब डलर) भन्दा बढी घाटा पुर्‍याएको थियो।

कोभिड–१९ को उत्पत्ति र प्रतिक्रियाको स्वतन्त्र अनुसन्धानका लागि अस्ट्रेलियाले गरेको आह्वानसहितका मुद्दाहरूमा बेइजिङले अघिल्लो प्रशासनसँगको सञ्चार विच्छेद गरेको थियो। तर अल्बानिज स्वतन्त्र व्यापार साझेदार चीनमाथि अस्ट्रेलियाको आर्थिक निर्भरता कम गर्न चाहन्छन्।

‘मेरो सरकारले व्यापारलाई विविधीकरण गर्न र भारत, इन्डोनेसिया र आसियान देशहरूलगायत यस क्षेत्रका अन्य देशहरूसँग हाम्रो सम्बन्ध बढाउन धेरै मेहनत गरेको छ,’ अल्बानिजले आफ्नो भ्रमणअघि दक्षिणपूर्व एसियाली राष्ट्रहरूको १० सदस्यीय सङ्घ (आसियान) लाई उल्लेख गर्दै भने, ‘तर चीनसँगको सम्बन्ध महत्त्वपूर्ण छ, दक्षिण कोरिया र जापानको उत्तर एसियाली अर्थतन्त्रसँगको निर्यातको सन्दर्भमा पनि हाम्रो सम्बन्ध महत्त्वपूर्ण छ।’

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले आइतबार एउटा सम्पादकीयमा अस्ट्रेलियासँगको चीनको सम्बन्ध ‘निरन्तर सुधार’ भइरहेको र ‘नयाँ गति’ बाट गुज्रिरहेको बताएको छ।

‘चीन र अस्ट्रेलियाबीच कुनै पनि आधारभूत चासोको द्वन्द्व छैन,’ सम्पादकीयमा भनिएको छ, ‘आपसी सम्मानको माध्यमबाट मतभेदहरू व्यवस्थापन गरेर र साझा हितहरूमा ध्यान केन्द्रित गरेर, दुवै पक्षले साझा समृद्धि र लाभ प्राप्त गर्न सक्छन्।’

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्न इरान तयार

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशविरुद्ध थप आक्रमण नहुने आश्वासन पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्न स्वीकार गर्ने बताएका छन् ।

विदेशमन्त्री अराघचीले तेहरानमा रहेका विदेशी कूटनीतिज्ञहरूलाई दिएको सम्बोधनमा इरान आफ्नो आणविक कार्यक्रमका बारेमा वार्ताका लागि सधैँ तयार रहेको र भविष्यमा पनि तयार रहने बताए । उनले भने, “तर “वार्ता पुनः सुरु भएमा यो प्रवृत्ति युद्धमा नपुग्ने आश्वासन दिनुपर्छ ।”

इरानको आणविक र सैन्य स्थलहरूमा १२ दिनको इजरायली बमबारी र जुन २२ मा अमेरिकाको आक्रमणको सन्दर्भ उल्लेख गर्दै उनले भने, “यदि अमेरिका र अरूले इरानसँग वार्ता पुनः सुरु गर्न चाहन्छन् भने, पहिले त्यस्ता कार्यहरू दोहोरिने छैनन् भन्ने दृढ ग्यारेन्टी हुनुपर्छ । इरानको आणविक सुविधाहरूमा आक्रमणले वार्तामा आधारित समाधान हासिल गर्न अझ कठिन र जटिल बनाएको छ ।”

आक्रमणपछि इरानले संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय (आइएइए) सँगको सहयोग स्थगित गरेको छ । त्यसपछि आइएइएका निरीक्षकहरू फिर्ता भएका छन् ।

अराघचीले कानून अनुसार देशले एजेन्सीको सहयोगको अनुरोधलाई इरानको हितका आधारमा ‘केस बाई केस’ जवाफ दिने बताए ।

एजेन्सीले कुनै पनि निरीक्षण इरानको ‘सुरक्षा’ चिन्ताका साथै निरीक्षकहरूको सुरक्षाको आधारमा गर्नुपर्ने पनि उनले बताए ।

“आक्रमण गरिएका आणविक केन्द्रहरूमा युद्धबाट बाँकी रहेका रेडियोधर्मी तत्वहरूको फैलावट र बारूदको विस्फोटको जोखिम गम्भीर छ”, विदेशमन्त्री अराघचीले भने ।

उनले आफ्नो भूमिमा युरेनियम प्रशोधन जारी राख्नुपर्ने इरानको अडानलाई पनि दोहोर्‍याए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो हुन सक्दैन भनेर जोड दिएका छन् ।

इजरायलले तेहरान आणविक हतियारको पहुँचमा भएकाले आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी गुप्तचर एजेन्सीहरू र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले इरानले अन्तिम पटक सन् २००३ मा एक सङ्गठित आणविक हतियार कार्यक्रम राखेको अनुमान गरेको थियो ।

यद्यपि तेहरानले ६० प्रतिशतसम्म युरेनियम संवर्धन गरिरहेको थियो । यो भनेको हतियार–ग्रेड स्तर ९० प्रतिशतभन्दा छोटो र प्राविधिक कदम मात्र टाढा हो ।

सोमबार प्रकाशित एक अन्तर्वार्तामा इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकी हवाई आक्रमणले उनको देशको आणविक सुविधाहरूलाई यति नराम्ररी क्षति पुर्‍याएको छ कि इरानी अधिकारीहरूले अझै पनि विनाशको सर्वेक्षण गर्न पहुँच गर्न नसकेको बताए ।

मन्त्रीको घुस डिल प्रकरण छानबिन गर्न सरकारसँग माओवादीको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मन्त्रीको घुसका डिल प्रकरण छानबिन गर्न सरकारसँग माग गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद दुर्गा राईले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको घुस डिल गरेको अडियो बाहिरिएकोबारे छानबिन गर्न माग गरेकी हुन् ।

उनले घुस डिल प्रकरण सामान्य प्रशासन मन्त्रीको मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओलीको पनि विषय भएको बताइन् । उनले यस्ता घुसका डिल भएका अडियो सार्वजनिक भइरहँदा प्रधानमन्त्री चुप लागेर बसेको भन्दै आपत्ति जनाइन् ।

उनले भनिन्, ‘मन्त्रीजीहरूका घुसका डिल बाहिरिएपछि सरकारले एक्सन लिन पर्छ कि पर्दैन ? सम्माननीय प्रधानमन्त्रीज्यूले म घुस पनि लिँदिन अरूलाई घूस लिन पनि दिन्न भन्ने टुक्काले पुग्छ कि पुग्दैन ।’ उनले दुई मन्त्रीकोबारेमा प्रधानमन्त्रीले सदनमा जवाफ दिन रुलिङका लागि सभामुखसँग माग गरिन् ।

त्यसैगरी माओवादी केन्द्रकी अर्की सांसद रेखा शर्माले पनि कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सरकारको जवाफ माग गरिन् ।

उनले भनिन्, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ?सम्मानीय प्रधानमन्त्रीज्यूलाई संसद्मा जानकारी गराउन अनुरोध गर्न चाहन्छु ।’

उनले यसको छानबिन गरेर दोषी जोसुकै होस् उसमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताइन् ।

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताएका छन् ।

२१२औँ भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु साहित्य उद्यानद्वारा आइतबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रत्येक भाषाका स्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आआफ्नो मातृभाषामा साहित्य सिर्जना गरि नेपाली समाजलाई विविध भाषा र साहित्यको सुन्दर बँगैचाका रूपमा सिंगार्न सक्नुपर्ने बताए ।

उनले भानु साहित्य उद्यानले अघि सारेको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने अवधारणामा पनि यस्तै साझा सांस्कृतिक परिवेश निर्माण गर्ने चाहना प्रतिबिम्बित गर्न आग्रह गरे ।

उनले भने,‘त्यसमा भानुभक्तलाई केन्द्रमा राखेर नेपाली भाषाका प्रमुख र नेपालका विविध भाषाका स्रष्टालाई एकसाथ जोड्नु पर्दछ र त्यसबाट साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सक्नुपर्छ ।’

राष्ट्रपति पौडेलले भानुको जन्मस्थल चुँदीरम्घालाई विश्वभरि छरिएर रहेका नेपालीहरू र नेपाललाई बुझ्न चाहने विश्वका मानिसहरूले जीवनमा कमसेकम एक पटक भ्रमण गर्नै पर्ने ठाँउका रुपमा विकास गर्न आवश्यक रहेको भन्दै यसबाट पर्यटनको विस्तारमा पनि योगदान पुग्ने स्पष्ट पारे ।

उनले भने, ‘भानु साहित्य उद्यानले अघि सारेको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने अवधारणामा पनि यस्तै साझा सांस्कृतिक परिवेश निर्माण गर्ने चाहना प्रतिबिम्बित गर्न म आग्रह गर्दछु । त्यसमा भानुभक्तलाई केन्द्रमा राखेर नेपाली भाषाका प्रमुख र नेपालका विविध भाषाका स्रष्टालाई एकसाथ जोड्नु पर्दछ र त्यसबाट साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सक्नुपर्छ । त्यो ठाउँ यस्तो ठाउँ बन्दैछ र बनाउनुपर्दछ जहाँ विश्वभरि छरिएर रहेका नेपालीहरू र नेपाललाई बुझ्न चाहने विश्वका मानिसहरूले जीवनमा कमसेकम एक पटक भ्रमण गर्नै परोस् । जसले गर्दा पर्यटनको विस्तारमा पनि योगदान पुगोस् ।’

राष्ट्रपति पौडेलले भानु उद्यानलाई नेपाली संस्कृतिको साझा केन्द्रका रूपमा विकास गर्नुपर्ने भन्दै जसमा नेपालका सातै प्रदेशका प्रमुख सांस्कृतिक केन्द्रलाई प्रतिबिम्बित गरी त्यसलाई सप्तधामका रूपमा अघि बढाउँदै नेपाली राष्ट्रियताको सम्बद्र्धनमा भानुभक्तले दिएको योगदानलाई मूर्त रूप दिन सक्नुपर्ने उल्लेख गरे । उनले सो योजनालाई अघि बढाउन सरकारले लिएको नीति र कार्यक्रमको पनि सराहना गरे ।

राष्ट्रपति पौडेलले भानुभक्तको युग नेपाली राष्ट्रियताको जग बस्दै गरेको र राष्ट्रनिर्माणको अभियानमा नेपाली योद्धाहरू पूर्वमा टिस्टा नदीसम्म र पश्चिममा काँगडासम्म पुगेको भन्दै त्यो समयमा राज्यको नीति लोककल्याणतिर उन्मुख नभएको बताए ।

‘झुट बोल्ने’ खानेपानी मन्त्री यादवलाई कारवाही गर्न शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण र जुम्ला आन्दोलनको विषयमा गम्भीर प्रश्न उठाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा शाहीले भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै यसको छानबिनका लागि संसदीय समिति गठनको माग गरे ।

त्यस्तै, उनले गत वैशाख ७ गते जुम्ला गएका खानेपानीमन्त्री प्रदीप यादवले संघीय खानेपानी तथा ढल निकास कार्यालय जुम्लामै रहने प्रतिवद्धता जनाएको तर अहिले सो कार्यालय खारेज गरिएकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘उहाँकै मिलोमतोमा कार्यालय खारेज गरिएको छ । यहाँ कसको विश्वास गर्ने ? मन्त्रीहरूले पटक–पटक झुट बोल्न थाले जनताका अगाडि । के यस्ता मन्त्रीलाई कारबाही गर्ने कि नगर्ने ?’

शाहीले हालै मन्त्रिपरिषद्ले गरेको निर्णयप्रति पनि आपत्ति जनाउँदै सो निर्णय खारेज गर्न माग गरे । उनले भने, ‘२०८२ साल असार २५ गते मन्त्रिपरिषद्ले गरेको निर्णयको चलानी नं. ६४७ लाई खारेज गरी पाउँ । अहिले जुम्लामा आन्दोलन भैरहेको छ । यसरी जुम्लामा गएर कार्यालयहरू सार्न पाइँदैन । कार्यालयलाई यथावत राखियोस् ।’

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान, थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

 

रसुवा । चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ ।  ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारी तिब्बतर्फ जमेको पानी उपकरणका सहायताले खोल्न सुरु गरेको हो ।

स्थानीय सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुङ्गा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन् ।

यही असार २३ गते केरूङबाट सामान लिइ फर्केका ती कन्टेनर समय अभावका कारण नेपालतर्फ प्रवेश गर्न नपाएपछि तिब्बतर्फ नै थन्किएका ती कन्टेनर सोही दिन राति आएको बाढीका कारण डुकानमा परेका हुन् । स्थानीय केरुङ खोलामाथिको राजमार्गमा लामबद्ध राखिएका कन्टेनरसहित आसपासमा रहेका केही घरसमेत डुबानमा परेको सीमासुरक्षा अधिकारीहरूले जनाएका छन् ।

नेपालतर्फ रसुवा भन्सार कार्यालय हाताभित्र जाँचपास भएका तर चालक अभावका कारण काठमाडौँ लैजान नसकिएका ७० वटा विद्युतीय कार, सिनो कम्पनीको छ वटा ठूला ट्रक र चालु अवस्थामा रहेका २४ वटा नेपाली कन्टेनर बगाएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिए ।

यसैगरी, क्षतिग्रस्त अवस्थामा रहेका केही सवारीसाधनलाई अहिले सुरक्षित स्थानमा सार्न लागेको उनले बताए ।असार २४ गते एक्कासी आएको ल्हेन्दे खोलाको बाढीले छ जना चिनियाँ, तीन जना नेपाल प्रहरी र पाँच नेपाली कामदारलाई बगाएको रसुवागढीस्थित वरिष्ठ चिनियाँ प्राविधिक वाङले जानकारी दिए ।

यसैगरी, रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार एक चिनियाँ कम्पनीमा काम गर्नेसहित छ जना नेपाली सवारी चालकसमेत गरी जम्मा २० जनालाई बाढीले बगाएको छ ।त्यस्तै, बाढीले रसुवागढीस्थित सुक्खा बन्दरगाह निर्माणमा संलग्न तिब्बत फुली कन्स्ट्रक्सको टिफर एक, सिमेन्ट घोल्ने मिक्स्चर एक, स्काभेटर एक, रोलार एक र हाइलक्स जिप एकसमेत बगाएको छ ।

उनले भने, “खोलामा एक्कासी बाढी आए छ, नजिकै रहेका सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ जान भन्दै कराउन थाले, हामी अतालिएर भाग्यौँ, भाग्न नभ्याउने केही साथीलाई बाढीले बगायो, हामी भने उम्केर घट्टेखोलातर्फ पुगी ज्यान जोगाउन सफल भयौँ ।”

यसैगरी गोसाइँकुण्ड गापा–२ का अध्यक्ष कामी छिरिङ तामाङले भने, “बाढी आएको सूचना पाउनासाथ भन्सार यार्डका मानिसको याद आयो । डिलमा बसेर उनीहरूलाई भाग भन्दै सतर्क गरायौँ । त्यसपछि जोखिममा रहेका आफ्ना वडावासीलाई सजक रहन अनुरोध गर्यौँ, त्यै पनि अकल्पनीय बाढीका कारण ठूलो धनजनको क्षति हुनपुग्यो, यहाँ अहिले हामी दुःखको अवस्थमा छौँ ।”

अध्यक्ष तामाङले समग्र क्षतिको यकीन विवरण तयार गरी बाढीपीडितलाई राहत दिन तथा काम विशेषले हाल केरुङमा रहेका नेपाली दाजुभाइलाई सकुशल घर फर्काउने वातावरण तयार गर्न सरकारको ध्यानाकर्षण गराए ।

स्थानीय पुरूषोत्तम पौडेलले ‘मानसरोवर–कैलाश’ दर्शन गरी फर्केका यात्रुलाई रसुवागढीस्थित मितेरी पुल बगाएपछि तातोपानी नाका हुँदै नपालतर्फ आउने व्यवस्था मिलाइएको बताए । यसैगरी मानसरोवर कैलाश यात्रा सम्पन्न गरी नेपालतर्फ प्रवेश गरिसकेका यात्रुलाई भने यही असार २४ र २५ गते हेलिकप्टरमार्फत गन्तव्यस्थानतर्फ पुर्याइएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले नेपाली सेना, नेपाल प्रहरी र  सशस्त्र  प्रहरी बलसम्बद्ध सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा जुटेका र अशक्त एवं असहायको सहयोगमा तैनाथ रहेका छन् ।

बाढीका कारण स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मका अधिकांश सडकखण्ड ध्वस्त भएपछि पूर्ण रुपमा सडक अवरुद्ध भई त्यसक्षेत्रको जनजीवन सुनसान रहेको छ । वडाअध्यक्ष तामाङका अनुसार अहिले रसुवागढी आसपासका क्षेत्रमा बाढीबाट पुगेको क्षतिको विवरण लिने काम सुरु भएको तथा स्थानीय बासिन्दा एवं कर्मचारी भयभित अवस्थामा रहेको अवस्था छ ।

सुमनाको प्रश्नः कसको अकर्मन्यताले गर्दा यस्तो आँट मानव तस्करहरुमा पलाएको हो?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन गरेको ‘घुस डिल’को छानबिन गर्न माग गरेको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले घुस डिल प्रकरण छानबिन गर्न माग गरेकी हुन् । उनले भनिन्, ‘कास्कीको मालपोत कार्यालयमा को पठाउनेभन्नेबारे सेटिङ, भूमि आयोगमा को पठाउने भन्ने सेटिङ,’ उनले भनिन्, ‘अहिले त बुझियो होला नि भूमि विधेयक पास गर्नुको कारण। एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ, यसको छानबिनको हामी माग गर्छौं।’

उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नुपर्ने माग कायमै रहेको भन्दै आन्दोलन जारी रहेको बताइन् ।
सांसद श्रेष्ठले आफूहरूले उठाउँदै आएको भिजिट भिसाको प्रकरणको औचित्य प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रमबाट झन् पुष्टि गएको बताइन् ।

उनले भनिन्, ‘सदनमा आन्दोलन हुँदै बेला पनि बिचौलियाहरूलाई न डर न भय न सङ्कोच । कसको अकर्मन्यताले गर्दा यस्तो आँट मानव तस्करहरुमा पलाएको हो? देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ र कसरी ?’

उनले यो भिजिट भिसा प्रकरणको छानबिन गर्ने संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग मागेका दोहोर्याइन् ।

अनुशासन समितिको अध्यक्ष पदमा यथावत् बहाली हुन पाउँ भन्दै नवराज सुवेदीले दिए आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अनुशासन समितिबाट हटाइएको भन्दै वरिष्ठ नेता नवराज सुवेदी निर्वाचन आयोग पुगेका छन् । आइतबार आयोग पुगेर सुवेदीले उजुरी दिएका हुन् ।

आयोगमा दिएको निवेदनमा चार वर्षे कार्यकाल बाँकी छँदै आफूलाई पदबाट हटाइनु विधान विपरीत हुने जिकिर गरेका छन् ।

उजुरीमा उनले भनेका छन्, ‘निवेदक पार्टीको अनुशासन समितिको वैधानिक अध्यक्ष रहेको, विधानले तोकेको पदावधि र कार्यकाल बाँकी नै रहेको र म स्वयंले पार्टीको विधान विपरीतको कुनै कार्य नगरी पार्टीको वरिष्ठ नेता एवं केन्द्रीय सदस्यको पदमा यथावत् नै रहेको र केन्द्रीय सदस्यको हैसियतबाटै अनुशासन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त भई विधान अनुसारको पदीय जिम्मेवारी निर्वाह गरी आएको अवस्था हुँदा मलाई अनुशासन समितिको अध्यक्षबाट हटाउने, मेरो स्थानमा अर्को व्यक्तिलाई तोक्ने समेतका काम कारबाही निर्णय पार्टीको विधान विपरीत रहेकोले यस सम्बन्धमा पार्टीका अध्यक्षज्यूबाट तत्काल लिखित प्रतिक्रिया लिई विधान विपरीत हटाउने र पदपूर्ति गर्ने लगायतका काम कारबाही बदर गरी अनुशासन समितिको अध्यक्ष पदमा यथावत् बहाली हुने गरी उपयुक्त निर्णय एवं निर्देशन जारी गरी पाउन सादर अनुरोध गर्दछु ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते सुवेदीलाई हटाएर रोशन कार्कीलाई अध्यक्ष पदमा नियुक्त गरेका थिए । त्यससँगै राप्रपाभित्र विवाद बढेको छ ।

विरोधीको झुटा प्रचारको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल  पार्न केही तत्व लागेको बताएका छन् ।
आइतबार झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्नेगरी केही विरोधीले स्पेनमा मान्छे छाडेर आयो भनेर झुटा प्रचार गरेकामा आपत्ति जनाउँदै यस्ता विषयमा जवाफ दिन आवश्यक नभएको बताए ।

प्रधानमन्त्रीले देशभर विकास निर्माणको नमुना यो सडक पनि रहेकोे जनाउँदै मेची महाकालीसम्म थालेका कामसक्ने अभियानमा सरकार रहेको बताए ।

विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरबाट छानिएका १७ सडकमध्येको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४ दशमलव ८६ किलोमिटर सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ ।

चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली(अन्तरवार्ता)

बेइजिङ । चीन नेपालको एक प्रमुख लगानीको स्रोत मुलुक रहँदै आएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट नेपालमा लगानीका लागि प्रशस्त अवसरहरु रहेका छन् । यसैवर्ष चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव पनि परेको छ ।

चीन नेपालको एक प्रमुख व्यापारिक साझेदार, वैदेशिक लगानी तथा पर्यटनका लागि स्रोत मुलुक पनि भएकाले दुईपक्षीय सम्बन्धलाई अझ फराकिलो बनाउँदै लैजान राजनीतिक उच्च तहबाट मात्र नभई जनस्तरबाट पनि थुप्रै कामहरु भएका छन् ।

प्रस्तुत छ, दुई देशबीचको मैत्री सम्बन्ध, सहयोगका क्षेत्रहरु एवं पछिल्लो समय भएका प्रयासहरुका बारेमा चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओलीसँग चीन भ्रमणका अवसरमा राष्ट्रिय समाचार समिति(रासस)का आलेख प्रमुख कृष्ण अधिकारीले गरेको कुराकानीः

नेपाल–चीनबीचको कूटनीतिक सम्बन्धलाई कसरी हेर्नुभएको छ ?

चीन नेपालको घनिष्ठ एवं असल छिमेकी तथा नेपालको एक महत्वपूर्ण विकास साझेदार मुलुक हो । नेपाल–चीन मित्रताको आधारस्तम्भका रुपमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरु रहेका छन् । चीन नेपालको एक प्रमुख व्यापारिक साझेदार, वैदेशिक लगानी तथा पर्यटनका लागि स्रोत मुलुक पनि हो । चीनले बिआरआइ फ्रेमवर्कअन्तर्गत नेपाललाई ऊर्जा, सडक, रेलजस्ता भौतिक पूर्वाधारका क्षेत्रलगायत नेपालको आर्थिक सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । चीनले गरेको अभूतपूर्व प्रगतिमा नेपालले गर्व गर्दछ र मैत्रीपूर्ण छिमेकी भएको नाताले चीनको आर्थिक समृद्धिको लाभ लिन चाहन्छ । नेपालको प्राथमिकताका क्षेत्रमा रहेका राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू जस्तै अन्तर्देशीय रेलमार्ग, आधुनिक पूर्वाधार, सामजिक र आर्थिक विकास, ‘इकोसिस्टम’ संरक्षण र सुशासनमा सफल सहकार्यको कार्यान्वयनमार्फत दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सकिनेमा म विश्वस्त छु ।

तपाईं राजदूत भएर आइसकेपछिको कूटनीतिक सम्बन्धको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?

नेपाल र चीन सदियौँदेखि भूगोल, संस्कृति एवं परम्पराहरुले घनिष्ठ रुपमा जोडिएका छन् । सन् १९५५ अगस्टमा कूटनीतिक सम्बन्ध कायम भएदेखि यो सम्बन्ध अझ घनिभूत हुँदै गएको छ । हाम्रो सम्बन्धको जग धेरै मजबुत एवं अटल छ । नेपाल–चीन मित्रताको आधारस्तम्भका रुपमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरु रहेका छन् । नेपालले निरन्तर रुपमा एक चीन नीति अवलम्बन गर्दै आएको छ र चीनविरुद्ध कुनै पनि गतिविधिका लागि आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएको छ ।

ताइवान तथा तिब्बत चीनको अभिन्न अङ्ग रहेकामा नेपाल स्पष्ट छ । चीनले पनि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै आएको छ । यस वर्ष चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव हो । यस अवधिमा चीन र नेपालबीचको परम्परागत मित्रता निरन्तर सुदृढ हुँदै आएको छ र मैत्रीपूर्ण सहयोग निरन्तर गहिरो हुँदै आएको छ ।

चिनियाँ राष्ट्रपति महामहिम सी चिनफिङको अक्टोबर २०१९ मा भएको नेपालको राजकीय भ्रमणको अवसरमा द्विपक्षीय सम्बन्धलाई विकास र समृद्धिउन्मुख मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धमा स्तरोन्नति भएको थियो । हालैका केही वर्षमा दुई देशबीच विभिन्नस्तरमा भ्रमणहरुको आदानप्रदान तथा द्विपक्षीय सहयोगमा बढोत्तरी भएको छ भने दुई देशबीच महत्वपूर्ण सम्झौतासमेत सम्पन्न भएका छन् ।

गत वर्ष डिसेम्बरमा सम्पन्न सम्माननीय प्रधानमन्त्रीको भ्रमण र उक्त अवसरमा हस्ताक्षर भएका सम्झौताहरुले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन भूमिका खेलेको छ । ती सम्झौताहरुको कार्यान्वयनको सुरुआत भएको छ र मेरो विचारमा दुवै देशको सम्बन्ध अत्यन्तै सुमधुर र प्रगाढ बनेको छ ।

चीनबाट नेपालमा लगानी भित्र्याउने प्रयासहरूमा तपाईंको भूमिका कस्तो रहेको छ ?

चीन नेपालको एक प्रमुख लगानीको स्रोत मुलुक रहँदै आएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट नेपालमा लगानीका लागि प्रशस्त अवसरहरु रहेका छन् । चीनबाट नेपालका प्राथमिकताका विभिन्न क्षेत्रमा लगानीका लागि म राजदूत भएदेखि प्रयास गरिरहेको छु । यहाँको परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय तथा अन्य सम्बन्धित निकायमा भेट गरी उक्त विषयलाई प्राथमिकताका साथ राखेको छु । विभिन्न समयमा आयोजना हुने प्रदर्शनी तथा मेलाका कार्यक्रममा एवं चिनियाँ लगानीकर्तासँग छुट्टाछुट्टै भेटघाट गरी लगानीका लागि आग्रह गरेको छु । चीनमा रहेका अन्तरराष्ट्रिय व्यापार तथा लगानीसँग सम्बन्धित निकाय चाइना काउन्सिल फर द प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपीआइटी), चाइना ओभससिज डेभलपमेन्ट एशोसिएसन (सिओडिए)लगायतका संस्थासँग समन्वय गरी नेपाली राजदूतावासले नियमित रुपमा लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । लगानीकर्तासँगको सहकार्यमा चिनियाँ कम्पनीहरुलाई नेपालको लगानीसम्बन्धी हालका कानुनी व्यवस्थाहरुका बारेमा जानकारी दिलाउनुका साथै लगानीकर्ताको नेपाल भ्रमण गराउने कार्य भएको छ ।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत नेपालले कुन परियोजनाहरूको कार्यान्वयन कसरी अघि बढ्दैछ ?

सन् २०१७ मा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौतामा हस्ताक्षर भएपछि सन् २०१८ मा ट्रान्स हिमालयन मल्टिडाइमेनसनल कनेक्टिभिटी नेटवर्कअन्तर्गत पूर्वाधार क्षेत्रमा सहकार्यका लागि संयन्त्र तयार गरिएको हो जसअन्तर्गत सिमापार रेल, राजमार्ग, बन्दरगाह, टेलिकम्युनिकेशन तथा हवाई कनेक्टिभिटीहरू पर्दछन् । यस संयन्त्रअन्तर्गत कार्यान्वयनको तहमा सहमति गर्नलाई मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भइसकेको छ र छिट्टै नै कार्यान्वयनको तहमा जानेछ । केरुङ–काठमाडौँ सीमापार रेलवे को सम्भाव्यता अध्ययन सकिनेछ र आशा छ यो परियोजनाले साकार रूप लिने छ ।

उक्त मितिसम्ममा सिजाङको सिगात्सेसम्म चीन सरकारले रेल सञ्जाल पुर्याइसक्ने सम्भावना छ । सोहीअन्तर्गत चीन सरकारको सहयोगमा केरुङ्ग रसुवागढी चिलिमे २२० केभी सीमापार ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययनका लागि कामहरू पनि अगाडि बढेका छन् । त्यस्तै राजमार्ग विस्तार तथा स्तरोन्नतिको कामहरू पनि भई नै रहेका छन् । टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भई सम्भाव्यता अध्ययन गर्ने कार्य सुरु भएको छ ।

विश्व तापक्रमको वृद्धिसँगै हाम्रा हिमालहरु पग्लिनुका साथै जलवायु परिवर्तनको अह्म प्रभाव हामीजस्तो पहाडी मुलुकमा पर्न लागेको छ । उदाहरणका लागि, यही जुलाई ८ को रसुवागढीको प्राकृतिक प्रकोपलाई हेराँै । रसुवागढी मुख्य नाका केरुङ र चीनको स्वशासित क्षेत्र सिजाङ्ग जोड्ने मितेरी पुल र सो का आसपासका सम्पूर्ण संरचनाहरु बाढीले बगाएको छ । त्यो वर्षाका कारणबाट मात्रभन्दा पनि अन्य कारणले भएको हुनसक्छ । उच्च भागमा रहेका हिमतालहरु विस्फोट भएमा तल्लोतटीय भागमा भयङ्कर प्रलयकारी घटना हुन जान्छ ।

तसर्थ, भविष्यमा बन्ने पूर्वाधारहरु अन्तरराष्ट्रिय राजमार्ग र रेल्वे लाइनहरु यस्ता अप्रिय घटनाहरुबाट नबिग्रने आइसोलेटेड खालका बनाउन र सुरुङ प्रविधिको बढी उपयोग गर्नुपर्नेमा मेरो जोड हुनेछ । प्राकृतिक प्रकोपका घटनाहरुबाट विनाश भएका संरचना र पुनर्निर्माणमा नेपालले कूल गार्हस्थ उत्पादनको करिब तीनदेखि पाँच प्रतिशत बर्सेनि खर्च गर्नुपर्दछ । यस्तो किसिमको खर्च बढ्दै गएको अवस्थामा नेपालले धान्न गाह्रो पर्ने हुँदा यसलाई कम गर्न विपद् सूचना प्रणालीको विकासका लागि चीनसँग समन्वय र सहकार्य गर्नुपर्दछ ।

चीनको सहयोगमा निर्माणाधीन प्रमुख पूर्वाधार परियोजनाहरूको कार्यान्वयनमा किन ढिलाइ भएको होला ?

यहाँलाई जानकारी नै छ, पूर्वाधार परियोजनाहरु निर्माणकार्य विभिन्न सरोकारवाला निकायहरुसँग विभिन्न चरणमा समन्वय गर्नुपर्ने र स्वभावतः समय लाग्ने प्रकृतिका हुन्छन् । यसका साथै जग्गा अधिग्रहण, वनसम्बन्धी विषयहरुले नेपालमा धेरै आयोजना कार्यान्वयनमा लामो समय लाग्ने गरेको छ । यसका बाबजुद नेपाल र चीन दुवै पक्षहरुले कार्यान्वयनको विषयलाई तदारुकताका साथ अगाडि बढाउनुपर्ने देखिन्छ । गत महिना काठमाडौँमा नेपालको परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला मन्त्रालयहरु एवं चिनियाँ राजदूतावासबीच नेपाल–चीन सहयोगअन्तर्गतका आयोजना कार्यान्वयनमा सहजीकरण गर्ने नेपालमा नेपाल–चीन सहयोग कार्यक्रम र परियोजनाको कार्यान्वयनमा सहजीकरणका लागि संयन्त्रको बैठक बसेको थियो । मैले बेइजिङ आएदेखि यसअघि सम्पन्न सम्झौताअनुसार कार्यान्वयन हुन बाँकी रहेका आयोजनाको कार्यान्वयनका लागि पहल गरिरहेको छु ।

दुई देशबीचको व्यापार असन्तुलन घटाउन के उपायहरू अपनाइँदै छन् ?

नेपालको चीनसँगको व्यापार घाटा ठूलो रहेको छ । चीनसँग बढ्दै गएको व्यापार घाटा कम गर्न चीनमा नेपाली वस्तुहरुको व्यापार सहजीकरण, नेपालको उत्पादन क्षमता अभिवृद्धि, रुल अफ ओरिजिन प्रक्रियामा सरलीकरण तथा नेपाली वस्तुहरुलाई भन्सार छुटका लागि चीन सरकारसँग आग्रह गरिँदै आएको छ । चीनले अतिकम विकसित देशहरुले पाउने छुटअन्तर्गत आठ हजारभन्दा बढी नेपाली वस्तुहरुमा छुट दिँदै आएको छ ।

नेपालले हाल निर्यात गरिरहेका परम्परागत वस्तुहरुबाहेक चीनमा निर्यात सम्भावना भएका दुग्धजन्य वस्तुहरु, जुनार, भैँसीको मासु, पराल आदि चीनमा निर्यातका लागि हालैका केही वर्षहरुमा सम्झौताहरु भएका छन् । ती सम्झौता सम्पन्न भएपश्चात् पनि निर्यातका लागि विभिन्न प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ । म यहाँ आएदेखि नै यहाँको भन्सार प्रशासनसँग उक्त प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन निरन्तर पहल गरिहेको छु र यसमा ठोस प्रगति पनि भएको छ । नेपालको कृषि उत्पादकत्व वृद्धिका लागि मल तथा उन्नत बीउबीजन र प्रविधिको सहयोग, निर्यात गरिने वस्तुहरुको परीक्षणका लागि बहुउपयोगी प्रयोगशालाको स्थापनालगायतका लागि चिनियाँ कृषि मन्त्रालयसँग अनुरोध गरिरहेको छु । कृषिसम्बन्धी द्विपक्षीय बैठकका लागि तयारी भैरहेको छ । त्यसैगरी चीनमा आयोजना हुने व्यापार मेलाहरुमा नेपाली व्यापारीहरुको अधिकतम् सहभागिता तथा दुवै देशका व्यवसायी व्यवसायीबीचको सम्बन्ध र सम्पर्क अभिवृद्धिका लागि पहल गरिरहेको छु ।

नेपालमा चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि गर्न नेपाली पक्षबाट केकस्ता पहलहरू गर्नुपर्ने देख्नुहुन्छ ?

चीनबाट हाल करिब एक लाख जति पर्यटकहरुले नेपालको भ्रमण गरेको देखिन्छ । करीब डेढ अर्ब जनसङ्ख्या भएको चीनबाट पर्यटक सङ्ख्या वृद्धिका सम्भावनाहरु छन् । चिनियाँ पर्यटकहरुको लागि आजको समयमा सामाजिक सञ्जाल तथा सूचना प्रविधिको प्रयोग गरी युवालाई आकर्षित गर्न सकिन्छ भने चिनियाँहरुको आम्दानीको स्तर वृद्धिसँगै उनीहरुका लागि आरामदायी एवं उच्चस्तरका होटल एवं सोहीअनुसारका सुविधाहरु दिनसके सङ्ख्या अझ वृद्धि गर्न सकिन्छ । राजदूतावासले सीमित स्रोतसाधनका बाबजुद चीनमा विभिन्न पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरु आयोजना गर्ने, पर्यटन मेलामा भाग लिने कार्य गरिहरेको छ । आगामी आर्थिक वर्षमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्थानीय टेलिभिजन तथा सामाजिक संजालहरुमार्फत नेपालको पर्यटनका बारेमा थप प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ । नेपालमा चिनियाँ पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले नेपालका सात वटै प्रदेशका आधुनिक र परम्परागत खानाका परिकारहरु तयार पारी चिनियाँ मित्रहरुलाई भोजनको स्वाद लिन र पर्यटन प्रवर्द्धनमा भएका प्रयासहरुको जानकारी गराउनुका साथै साहसिक पर्यटनमा विश्वको शिखर सगरमाथा आरोहीहरुको भेला गरी पर्यटन प्रवरद्धनमा टेवा पुर्‍याउने कार्य गरिएको छ ।

नेपाली व्यवसायी र पर्यटकलाई सहज बनाउन तपाईंले के–कस्ता प्रयास गर्नुभएको छ ?

राजदूतावासले नेपाली व्यवसायी चाहे चीनमा बसेर व्यवसाय गरेका अथवा नेपालबाट चीनमा व्यापार गरिरहेका सबैलाई सहजीकरण गरिरहेको छ । उहाँहरुका लागि विभिन्न मेला तथा प्रदर्शनीमा भाग लिन प्रोत्साहन र सहयोग गर्ने तथा व्यापारिक ठगी तथा विवादका विषयलाई समाधान गर्न सहयोग गर्दै आइरहेको छ । केही समययता विशेषगरी चीनबाट नेपालमा आयात गरिने कारोबारमा ठगीका घटनाहरु बढ्दै गएका सन्दर्भमा आफूले कारोबार गर्दा चिनियाँ पक्ष विश्वासिलो भए नभएको विश्वस्त भएरमात्र कारोबार गर्नुहुन म यहाँमार्फत चीनमा व्यापारिक कारोबार गर्नुहुने व्यावसायी मित्रहरुलाई अनुरोध गर्न चाहन्छु । चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई यहाँका विश्वविद्यालयसँग परेका एवं अन्य समस्यामा राजदूतावासले सक्दो सहयोग गर्दै आएको छ । बेलाबखत पर्यटक भिसामा चीन आएर समस्यामा परेका नेपालीलाई राजदूतावासले सहजीकरण गर्दछ । कहिलेकाहीँ चीनलाई ‘ट्रान्जिट’ बनाएर तेस्रो मुलुकमा मानव तस्करीका केही घटनाहरुमा हामीले उद्धार गर्दै आएका छौँ ।

नेपाली विद्यार्थीहरूका लागि चीनमा अध्ययनको अवसर कस्तो छ ? 

हालैका वर्षमा चीन नेपाली विद्यार्थीहरुका लागि एक आकर्षक गन्तव्य बन्दै गएको छ । केही विद्यार्थी चीन सरकारले प्रदान गर्ने छात्रवृत्तिअन्तर्गत अध्ययन गरिरहेका छन् भने केही विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्तिमा र केही आफ्नै खर्चमा अध्ययन गरिरहेका छन् । विश्वभरिका सर्वोत्कृष्ट भनेर चिनिएका केही उच्चकोटीका विश्वविद्यालयहरु चीनमा रहेका छन् । अन्य देशहरुभन्दा कम खर्चमा गुणस्तरीय शिक्षा  प्राप्त हुने भएकाले नेपाली विद्यार्थीहरुको लागि चीनमा राम्रो अवसर रहेको छ ।

नेपाली भाषा, संस्कृति र संस्कार चिनियाँ जनतासँग परिचय गराउन कस्ता गतिविधि भइरहेका छन् ?

नेपाल र चीनबीच ऐतिहासिककालदेखि नै भाषा संस्कृतिको आदानप्रदान भइरहेको छ । नेपाली कलाकार अरनिको नेपाली राजकुमारी भृकुटी अथवा बुद्ध भिक्षुहरुमार्फत दुई देशबीच निकट सांस्कृतिक सम्बन्ध र आदानप्रदान रहेको थियो । गत महिना जुन महिनामा अरनिकाले निर्माण गरेको श्वेत चैत्यमा नेपाली संस्कृति झल्किने प्रदर्शनीको उद्घाटन गरिएको थियो । यसैवर्ष अप्रिल महिनामा राजदूतावासले नेपाली खानाको प्रचार–प्रसारका लागि ‘फुड फेस्टिभल’को आयोजना गरेको थियो जसमा नेपाली मौलिक नृत्यहरुसमेत प्रस्तुत गरियो ।

त्यसैगरी, राजदूतावासले नेपालका विभिन्न चाडपर्वहरुको अवसरमा कार्यक्रमरु आयोजना गर्ने तथा नेपाली वेषभूषा, मौलिक कला संस्कृति झल्किने वस्तुहरुको प्रर्दशनी एवं कलासङ्गीतको प्रस्तुति गर्ने गरेको छ । चिनियाँ सरकारसँग नेपालमा चिनियाँ भाषा प्रवर्द्धनका लागि सहयोग मागी कार्य अगाडि बढेको छ ।

द्विपक्षीय सम्बन्ध सुधारका लागि तपाईंको कार्यकालमा के–कस्ता नवीन पहलहरू भएका छन् ?

नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध अत्यन्तै घनिष्ठ रहेको छ । समय समयमा दुवै पक्षबाट भइरहेका उच्चस्तरीय भ्रमण र उच्च तहका नेताहरुबीच हुने प्रत्यक्ष संवादले आपसी विश्वास र सद्भाव अझ वृद्धि भएको छ । चिनियाँ सहयोगलाई जनस्तरमा प्रभाव पर्ने र निम्नस्तरका जनताको जीवनस्तर माथि उठाउने परियोजनामा लैजान र तिनको प्रभावकारी कार्यान्वयनका लागि प्रयास गरिरहेको छु । अवश्य पनि चीनको समृद्धिबाट नेपालले बढीभन्दा बढी लाभ लिने गरी द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने र हाल कार्यान्वयनको चरणमा रहेका आयोजनालाई समयमै सम्पन्न गर्नका लागि नेपाल र चीन दुवै देशका सरकारसँग निरन्तर पहल गरिरहेको छु ।

साथै, दुवै देशका जनताहरुसँगको आदानप्रदान कार्य गर्न पालिकास्तरका जनप्रतिनिधिहरुको भ्रमण, नेपाली र चिनियाँ युवाहरुबीच भ्रमण आदानप्रदान, नेपाली र चिनियाँ विद्यालयका विद्यार्थीबीच भ्रमणको आदानप्रदानलगायत राष्ट्रिय राजनीतिमा उच्च ओहोदामा पुगी सेवा निवृत्त नागरिकहरुको भ्रमण आदानप्रदान रहेका छन् । यस्ता भ्रमणहरुले एकअर्काका समस्या, चुनौती र अवसरहरु बुझ्ने र सोहीअनुसार कार्य गर्ने बाटो देखाउने अपेक्षा गरिएको छ । दुवै देशमा भएका आर्थिक र सामाजिक विकाससम्बन्धी कुराहरुलाई जनसमक्ष पु¥याउन पत्रकारहरुको आदानप्रदानलाई पनि जोड दिइएको छ । हाम्रा नेपाली उत्पादनहरुको प्रचारप्रसारका लागि विभिन्न चिनियाँ र नेपाली कम्पनीहरुबीच समन्वयमा मेलाको आयोजना गरिएका छन् । उदाहरणका लागि ‘टि टेस्टिङ फेस्टिबल’ को आयोजना गरी नेपालमा उत्पादित विभिन्न खालका चियाको स्वाद चखाउने कार्य गरिएको थियो । आज विश्व जलवायु परिवर्तनको प्रभावको चपेटामा परेको छ । सो प्रभावलाई कम गर्न, जागरुकता जगाउन विभिन्न गोष्ठी, सेमिनार गरी विभिन्न देशका कूटनीतिक नियोग समेतको सहभागितामा विभिन्न कार्यक्रमहरुमा जोड दिइएको छ । यसैगरी द्रुतगतिमा हाम्रा हिमाल पग्लिँदै गएको परिप्रेक्षमा चिनियाँ सङ्घसंस्थासँग समन्वय गरी शोध प्रक्रिया अगाडि बढाइएको छ ।

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क । एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्न सहमत भएको कम्पनीनिकट लगानीकर्तालाई उदृत गर्दै वाल स्ट्रिट जर्नलले जनाएको छ ।

मोर्गन स्टेनलीले गत महिना घोषणा गरेको एक्सएआईको पाँच अर्ब डलरको ‘इक्विटी फन्ड’ जम्मा गर्ने एक हिस्साका रुपमा यो लगानी गरिएको रिपोर्टमा उल्लेख छ । यो स्पेसएक्सको एक्सएआईमा पहिलो ज्ञात लगानी हो र अर्को कम्पनीमा यसको सबैभन्दा ठूलो लगानी हो।

मस्कले एआई सञ्चालनलाई प्रोत्साहन गर्न आफ्नो व्यापार साम्राज्यलाई बारम्बार परिचालन गरेका छन् । मस्को लगानीको एक्स एआई (एक अग्रणी एआई अनुसन्धान र परिनियोजन कम्पनी च्याटजीपीटी प्लेटफर्म सिर्जना गर्नका लागि प्रसिद्ध) ओपनएआईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

यस वर्षको सुरुमा उनले एआई अनुसन्धान प्रयोगशाला एक्सएआईलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एकीकृत गरी ग्रोकको पहुँच बढाउने प्रयासलाई अघि बढाएका थिए । यो सहकार्यले नयाँ कम्पनीको मूल्य ११३ अर्ब डलर पुगेकोे रिपोर्टमा उल्लेख छ ।

मस्कले ग्रोकलाई ‘विश्वको सबैभन्दा स्मार्ट एआई’ को संज्ञा दिएका छन् । यसले स्पेसएक्सको उपग्रह इन्टरनेट सेवा, स्टारलिङ्कको लागि ग्राहक–समर्थन सुविधाहरूलाई सहयोग गर्छ ।

एआई च्याटबोट ग्रोक ४ को बुधबारको रिलीजको क्रममा, मस्कले टेस्लाको ‘अप्टिमस फ्लीट’ जस्तै ‘ह्युमनोइड रोबोट’हरूमा ‘ग्रोक एम्बेड’ गर्ने आफ्नो सङ्केत प्रकट गरेका छन् । मस्कका प्रतिनिधिले भविष्यमा स्पेसएक्स र एक्सएआईबीच थप व्यावसायिक साझेदारी हुने बताए ।

उत्तर कोरियाली नेता किमद्वारा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन गर्ने वाचा

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँगको वार्ताका क्रममा युक्रेनमा जारी युद्धमा मस्कोलाई पूर्ण समर्थन गर्ने प्रस्ताव राखेका छन् ।
किएभ विरुद्ध रूसको आक्रमणबीच दुवै देशले सैन्य र राजनीतिक सम्बन्धलाई गहिरो बनाउँदै गर्दा लाभरोभको उत्तर कोरिया भ्रमण मस्कोका शीर्ष अधिकारीहरूको उच्च–प्रोफाइल भ्रमणको शृङ्खलामा पछिल्लो थियो ।

प्योङयाङले युक्रेनी सेनालाई हटाउन रुसको कुस्र्क क्षेत्रमा हजारौँ सेना पठाएको थियो र रुसी सेनालाई तोप र क्षेप्यास्त्र प्रदान गरेको थियो ।

किम र लाभरोभले शनिबार ‘न्यानो कमरेडेली विश्वासले भरिएको वातावरण’ मा भेट गरेका आधिकारिक केसिएनए समाचार एजेन्सीले जनाएको छ ।

रुसको विदेश मन्त्रालयले टेलिग्राममा दुई जनाले हात मिलाउँदै र एकअर्कालाई अँगालो हालेर अभिवादन गरेको भिडियो पोस्ट गरेको छ र यो वार्ता देशको पूर्वी तटमा रहेको वोनसानमा भएको बताएको छ । वोनसानमा यस महिनाको सुरुमा एक विशाल रिसोर्ट खोलिएको थियो ।

किमले लाभरोभलाई उत्तर कोरिया ‘युक्रेनी सङ्कटको मूल कारणको सामना गर्ने सन्दर्भमा रूसी नेतृत्वले चालेका सबै उपायलाई बिना शर्त समर्थन र प्रोत्साहन गर्न तयार रहेको केसिएनएले बताएको छ ।

उत्तर कोरियाली नेताले ‘देशको मर्यादा र आधारभूत हितको रक्षा गर्ने पवित्र उद्देश्य पूरा गर्न रूसी सेना र जनताले निश्चित रूपमा विजय हासिल गर्नेछन् भन्ने दृढ विश्वास’ पनि व्यक्त गरे ।

दुई नेताले सन् २०२४ जुनमा भएको ऐतिहासिक उत्तर कोरिया–रुस शिखर वार्तामा भएका सम्झौताहरू विश्वासपूर्वक कार्यान्वयन गर्ने महत्त्वपूर्ण विषयहरूमा छलफल गरेको केसिएनएले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियाको दुर्लभ भ्रमणका क्रममा दुई भारी प्रतिबन्धित मुलुकले गत वर्ष आपसी रक्षा खण्डसहित सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए ।

रूसी राज्य एजेन्सी तासका अनुसार लाभरोभले किमलाई पुटिनले ‘निकट भविष्यमा प्रत्यक्ष सम्पर्क जारी राख्ने आशा’ गरेको बताए । रुस र उत्तर कोरियाका सरकारी मिडियाले लाभरोभ आइतबारसम्म रहने बताएका छन् ।

यसअघि शनिबार लाभरोभले आफ्ना समकक्षी चो सोन हुईसँग भेटवार्ता गरे र रुसलाई सहयोग गर्न तैनाथ गरिएका ‘वीर’ उत्तर कोरियाली सैनिकहरूलाई धन्यवाद दिए ।

‘दुवै पक्षले उत्तरपूर्वी एसिया र सम्पूर्ण एसिया–प्रशान्त क्षेत्रमा तनाव बढाउँदै गैर–क्षेत्रीय खेलाडीहरूको आकांक्षालाई संयुक्त रूपमा सामना गर्ने आफ्नो दृढ सङ्कल्पमा जोड दिए’, रूसको विदेश मन्त्रालयले भन्यो ।

भ्रमणअघि रुसले मस्को र प्योङयाङबीच हप्तामा दुई पटक उडान सुरु गर्ने घोषणा गरेको थियो । लाभरोभले वोनसनलाई ‘एक राम्रो पर्यटकीय आकर्षण’ भनेर प्रशंसा गर्दै भने, ‘हामी आशा गर्छौं कि यो स्थानीय नागरिकहरूमाझ मात्र नभई रूसीहरूमाझ पनि लोकप्रिय हुनेछ ।’

क्यान्सरका बिरामीलाई अब औषधि निःशुल्क दिइने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताएका छन् ।

नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउन अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो चरणको औषधि नेपाल ल्याइएको उनको भनाइ छ ।

यसअघि मन्त्री पौडेलले त्यस्ता औषधि प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेका थिए ।
डाइरेक्ट रिलिफले वन हर्ट वल्र्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आइतबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले औषधि अभावमा विदेश गएर महङ्गो खर्च गनुपर्ने बिरामीको बाध्यता हटाउन लामो मेहनतपछि सफलता प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महङ्गा औषधी नेपालको आवश्यकताअनुसार पाँच वर्षसम्म सहयोग स्वरुप उपलब्ध गराउने मन्त्री पौडेलले जानकारी दिए ।

‘क्यान्सरको औषधि महङ्गो हुँदा विपन्न नागरिकलाई समस्या छ’, मन्त्री पौडेलले भने, ‘राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ।’ हाल ३७ प्रकारका औषधि क्रमैसँग आउने भए पनि अन्य आवश्यक औषधि समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलको भनाइ छ ।

मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधि पठाउने व्यवस्था मिलाइएको समेत बताए । मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसङ्ग निकाल्दै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गरे ।

मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा भीम सापकोटाले पाँच वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधि प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिए । वन हर्ट वल्र्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट मात्र औषधि प्राप्त भएको उल्लेख गर्दै नेपालका लागि ठूलो उपलब्धि भएको बताए ।

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र काठमाडौँस्थित वीर अस्पताललाई हस्तान्तरण गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

नेतृत्वलाई गुमराहमा राखेर सधैभरि मुखिया हुने सोच नराख्दा हुन्छः नेता थापा

काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर थापाले पार्टी महासचिव शंकर पोखरेलले पार्टीलाई गुटबन्दीको थलो बनाएको आरोप लगाएका छन् ।

आइतबार सामाजिक संजालमार्फत नेता थापाले महासचिवलाई सेन्टर मानेर चल्नुपर्छ भन्ने भाव नराख्ने चेतावनी दिएका छन् । उनले नेतृत्वलाई गुमराहमा राखेर सधैभरि मुखिया हुन सकिन्छ भन्ने कसैलाई लागेको त्यसबाट मुक्त हुन समेत उनले आग्रह गरेका छन् ।

थापाले भनेका छन्, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लगतैदेखि पार्टी अध्यक्ष होइन, महासचिवलाई सेन्टर मानेर चल्नुपर्छ भनेर पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाउने र अहिले पनि अध्यक्षको वचनका लागि मात्रै प्रसंसाको झुटो गीत गाउनेहरू नै अध्यक्षको रक्षाकवच हुँ भनेर देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोल्नु पार्टी हित र नीति विरोधी व्यवहार हो । नेतृत्वलाई गुमराहमा राखेर सधैभरि मुखिया हुन सकिन्छ भन्ने कसैलाई लागेको भए, यस्तो चिन्तनबाट छिटो मुक्त हुन अनुरोध गर्दछु । कठिन भन्दा कठिन दिनमा पनि सत्यको पक्षमा उभिएर आएको हो, फेरि पनि सत्यकै पक्षमा उभिइनेछ । सम्पूर्ण एमाले पंक्तिलाई सही कुरा बुझेर मात्रै मत बनाउन आग्रह गर्दै गाली गलौजमा नउत्रन निवेदन गर्दछु ।’

प्राडा सविना श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ विमोचन

काठमाडौँ । वरिष्ठ बाल नेत्ररोग विशेषज्ञ प्रा डा सविना श्रेष्ठद्वारा रचना गरिएका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण गरिएको छ । नेपाली ,अङ्ग्रेजी र नेपाल भाषामा रचना गरिएको अकथ्यको प्रतिध्वनि भित्र १०२ कैदीहरुको आत्मकथालाई जीवन्त रुपमा उतारिएको छ भने ‘आफूलाई भुलाई’ कविता सङ्ग्रहभित्र विभिन्न ३४ कविता समावेश गरिएका छन् ।

पूर्वप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ,साहित्यकार शङ्करप्रसाद कोइराला लगायतले संयुक्त रूपमा ती कृतिको शनिबार विमोचन गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले विमोचित पुस्तकले नेपाली साहित्य क्षेत्रमा नयाँ इँटा थपिएको बताए । नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक एवं वरिष्ठ साहित्यकार डा शैलेशकुमार मिश्रका अनुसार प्रा डा सविना श्रेष्ठद्वारा रचना गरिएका कृतिभित्र जीवन, जगत्, मानिस, माया र सम्बन्धका विभिन्न आयामलाई सुक्ष्म रुपमा सटिक रुपमा चित्रण गरिएका हुन्छन् ।

नेपाल नेत्रज्योति संघको केन्द्रिय सदस्य डा श्रेष्ठको यसअघि ‘जिन्दगी एक प्रश्न चिह्न’ (२०४४), ‘मनको स्पर्श’(२०५८) र नेपाल भाषामा एउटा कविता सङ्ग्रह ‘सविना श्रेष्ठया चिनाखँ’ (२०८०)कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् । यस्तै उनले पूर्वप्रशासक विश्वमान श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘एउटा जीवन छामेर हेर्दा’ (२०८०) प्रकाशित गरेकी छन् । चित्रकला र गायनमा सक्रिय डा श्रेष्ठ बाल नेत्ररोग विशेषज्ञ हुन्।

भानुभक्तको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्व साहित्यको हिस्सा बनाउनुपर्छः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्व साहित्यको हिस्सा बनाउन अठोट लिनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै उनले भानुभक्तको स्मृतिमा श्रद्धाञ्जली मात्र अर्पण नगरी उनको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्वसाहित्यको हिस्सा बनाउने प्रण पनि लिनुपर्ने धारणा राखे ।

उनले भानुजयन्ती केवल जन्मजयन्ती नभई, नेपाली भाषाको गौरव गाउने एउटा महान दिन भएको बताए । सभामुख घिमिरेले भानुजयन्ती भाषासँगको सम्बन्धको, संस्कृति र पहिचानको महान चाड भएको भन्दै यसको महत्वलाई अझ गहिरो रुपमा बुझ्नुपर्ने बताए ।

उनले भने,’भानुजयन्ती केवल जन्मजयन्ती होइन्,नेपाली भाषाको गौरव गाउँने एउटा महान दिन हो । भानुजयन्ती सबैभन्दा ठूलो चाड मानिन्छ किनकी त्यो चाड भाषासँगको सम्बन्धको,संस्कृति र पहिचानको महान चाड हो । त्यसैले यसलाई आजको दिनमा यसको महत्वलाई अझ गहिरो रुपमा लिनुपर्छ ।’

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती मनाइएको छ । पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा वि.सं. १८७१ असार २९ गते आदिकवि भानुभक्तको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गते नेपाली भाषासाहित्य र संस्कृतिप्रेमीद्वारा विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउने गरिन्छ । कार्यक्रममा भानुको सालिकमा माल्यार्पण गरिएको थियो ।

इजरायली आक्रमणमा गाजामा ११० प्यालेस्टिनीको मृत्यु

गाजा सिटी । गाजामा शनिबार भएका इजरायली आक्रमणमा कम्तीमा ११० जना प्यालेस्टिनीको ज्यान गएको छ। तीमध्ये ३४ जना अमेरिका–समर्थित गाजा ह्युमनटेरियन फाउन्डेशनको राहत केन्द्रबाहिर खाना पर्खिरहेका अवस्थामा मारिएका स्थानीय स्वास्थ्य स्रोतले जनाएका छन् ।

यो आक्रमण कतारमा भइरहेका युद्धविराम वार्ता अवरुद्ध भएको अवस्थामा भएको हो । इजरायलको गाजा जनसंख्यालाई जबरजस्ती विस्थापित गर्ने योजनालाई लिएर अन्तर्राष्ट्रिय समुदायको कडा आलोचना बढिरहेको छ ।

दक्षिणी राफाहस्थित अल–शकुश क्षेत्रमा भएको हमलामा प्रत्यक्षदर्शीहरूले इजरायली सेनाले प्रत्यक्ष रुपमा सर्वसाधारणमाथि गोली चलाएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघ र मानव अधिकार संस्थाहरूले ती राहत केन्द्रहरूलाई ‘मानव वधशाला’ र ‘मृत्युको पासो’ को संज्ञा दिएका छन् । घटनाले गाजाको मानवीय संकट झनै भयावह बन्दै गएको पुष्टि गरेको छ भने युद्धविराम सम्भावनामा थप असहजता ल्याएको विश्लेषकहरू बताउँछन्।

बिपी क्यान्सर अस्पतालमा ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री ( आइएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ ।

स्वीस कम्पनी ‘रोश’द्वारा निर्माण गरिएको यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना (टिस्यु) भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

अस्पतालका प्रयोगशाला प्रमुख डा ग्रेता पाण्डेका अनुसार यो मेसिनमार्फत अब नेपालमै क्यान्सरको पहिचान, वर्गीकरण र लक्षित उपचार निर्धारण सहज भएको छ । उनले भनिन्, “बिरामीलाई क्यान्सर त भएको हो तर कुन प्रकारको हो भन्ने थाहा पाउन यो परीक्षण अनिवार्य हुन्छ । अब त्यो परीक्षण सजिलै यहीँ हुनेछ ।”

यसअघि परीक्षण भारत पठाउँदा रिपोर्ट ढिलो आउने, उपचारमा ढिलाइ हुने, खर्च बढ्नेलगायत समस्या थिए । अब भने छिटो, सटिक र वैज्ञानिक आधारमा रिपोर्ट प्राप्त गर्न सकिने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार ‘रोश बेन्चमार्क अल्ट्रा’ एक पूर्ण स्वचालित प्रणाली हो, जसले टिस्युमा रहेका प्रोटिन मार्करहरू पत्ता लगाउँछ । उनले भने, “यसले लक्षित थेरापी र सम्पूर्ण उपचार योजनामा वैज्ञानिकता र विश्वसनीयता थप्नेछ ।” यो सेवा सुरु भएपछि अब नेपालमै ‘टप टेन कमन क्यान्सर’ जस्तै स्तन, पाठेघर, फोक्सो, ओभरी, पेट र आन्द्राका क्यान्सरको सटिक परीक्षण सम्भव भएको छ ।

उनका अनुसार यो मेसिन क्यान्सरको प्रकार पत्ता लगाउन प्रयोग गरिन्छ । विशेषगरी टिस्यु (मासुको नमूना)मा कुन प्रोटिनहरू उपस्थित छन् भन्ने कुरा पत्ता लगाउन यसले सहयोग पुर्याउँछ । यो मेसिनले टिस्यु स्लाइडहरूमा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी)) परीक्षण गर्छ, जसबाट ट्युमरमा कुन प्रोटिन अभिव्यक्त भएको हो भन्ने कुरा थाहा हुन्छ र यसले छिटो, सटिक र भरपर्दो नतिजा दिन्छ ।

क्यान्सरको केवल पुष्टि भएरमात्र पुग्दैन, कस्तो क्यान्सर हो भनेर थाहा पाएपछि मात्र कुन थेरापी दिने भनेर निर्णय गर्न सकिन्छ जस्तैः केमोथेरापी दिने कि रेडिएसन, कुन औषधि प्रयोग गर्ने, रोगको आक्रमकता कति हो भनेर जानकारी हुन्छ । अस्पताल आफैँले मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको डा पौडेलले जानकारी दिए ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालले प्रविधिले बिरामीलाई छिटो उपचार सुरु गर्न सहयोग पुग्ने र बिरामी र आफन्तको मानसिक र आर्थिक बोझ पनि कम हुने बताए । उनले भने, “यस किसिमको प्रविधिको थालनीले अस्पताललाई प्रविधिमैत्री राष्ट्रिय क्यान्सर उपचार केन्द्रका रूपमा सुदृढ बनाउनेछ ।”

अस्पतालले आगामी दिनमा थप यस्ता आधुनिक प्रविधि थप्दै क्यान्सर उपचार तथा अनुसन्धान सेवा अझ प्रभावकारी बनाउने योजना अघि सारेको निर्देशक डा पौडेलले बताए ।

कञ्चनपुरमा छाउगोठमा सुतिरहेकी महिलाको सर्पले टोकेर मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पको टोकाइबाट मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

उनलाई २८ गते राति सर्पले टोकेको थियो । उनलाई बायाँ गालामा सर्पले टोकेकोमा उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिवार साँझ ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले जानकारी दिए ।

सुदूरपश्चिममा महिनावारी हुँदा महिलालाई छाउगोठमा राख्ने चलन छ । जसका कारण सर्पले टोकेर वर्षेनी महिलाको मृत्यु हुने गरेको छ । यसरी वर्षेनी महिलाको मृत्यु हुने गरेपनि छाउपडी जस्तो कुप्रथा अझै हटेको छैन ।

अबको राजनीति वैकल्पिक शक्तिहरूको हातमाः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोछिटो आउने निश्चित रहेको बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत भट्टराईले संसदका दुई ठूला दल मिलेर बनेको सरकारको ठूलो उपलब्धी केही गर्न नसकेको भन्दै अब नयाँ वैकल्पिक शक्तिको विकल्प नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘यो स्थितिमा अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोछिटो आउने निश्चितै छ। उनीहरूले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्नुपर्छ ? आगामी दिनको राजनीतिक विमर्श अव त्यता सोझिनुपर्छ। सबैले आआफ्नो छातीमा हात राखेर ममः भन्ने कि ? अब आँखा खोलौं ।’

उनले पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्मक समस्याहरू समाधान नभएको बताएका छन् ।

भट्टराईले भनेका छन्, ‘संसदका दुइ ठूला दल मिलेर बनेको सरकारको गत एक बर्षको सबभन्दा ठूलो उपलब्धी भनेको अब पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्मक समस्याहरू (संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता, पर्यावरण विनाश आदि) हल हुनैसक्दैनन् भन्ने कुरा आम जनताले बुझ्ने गरी ब्यबहारमै प्रमाणित गरिदिनु हो । तेश्रो ठूलो दलका एकल सुप्रिमोले पटक पटक च्याँखे थापेर सरकारको नेतृत्व गरे पनि यी गम्भीर संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो मार्न नसकेको पहिल्यै देखिसकिएकै हो ।’

कपिलवस्तुमा बस दुर्घटनामा परी २९ जना घाइते

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमिमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । प्रहरीकाअनुसार लु.प्र ०२००१ ख ००४५ नम्बरको बस आइतबार बिहान चार बजेतिर बस दुर्घटनामा परेको हो । घाइतेमध्ये तीन जनको अवस्था गम्भीर रहेको डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

केही घाइतेलाई थप उपचारको लागि बुटवल लगिएको छ भने केहीको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले घुस काण्डमा मुछिएका मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता रसाईलीले मन्त्रीहरु आफैंले नैतिकाको आधारमा राजीनामा नदिने हो भने प्रधानमन्त्रीले उनीहरुलाई बर्खास्त गर्नुपर्ने बताएका हुन् । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस डिल गरेको अडियो रेकर्ड बाहिरिएको विषयमा सरकारले छानबिन गर्नुपर्ने बताए ।

उनले भने, ‘मन्त्रीको भ्वाइस रेकर्ड नै बाहिर आएपछि त्यसमा सरकारको आन्तरिक छलफलको विषय पनि बनाउनुपर्छ । सरकारका मन्त्रीहरुले पनि नैतिकता प्रर्दशन गर्नुपर्छ । मुलधारका मिडियामा सरकारका मन्त्रीहरुको वार्तालाप नै बाहिर आयो । यसले सरकारमाथि चुनौति थपिएको छ । सरकारले यसमा छानविन पनि गर्नुपर्छ । सरकारका मन्त्रीहरुले नैतिकता पनि देखाउनुपर्छ । पहिलो कुरा मन्त्रीहरुले राजीनामा दिनुपर्छ । यदि भएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ ।’

सामान्य प्रशासन मन्त्री गुप्ताले घुस डिल गरेको अडियो रेकर्ड बाहिरिएको छ । उक्त अडियोमा भूमिमन्त्री बलराम अधिकारी पनि जोडिएका छन् ।

बागलुङबाट दुई गर्भवतीको हवाई उद्धार

बागलुङ । बागलुङको बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार ढोरपाटन नगरपालिका–८ की ३८ वर्षीयी हुमी विक र सोही नगरपालिका–५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौँ पठाइएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ ।

जुम्लामा भिरबाट लडेर युवकको मृत्यु

जुम्ला । भिरबाट लडेर जुम्लाको तिला गाउँपालिका–६ सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रावतको मृत्यु भएको छ ।
वडाध्यक्ष जङ्गबहादुर रोकायाका अनुसार दाउरा काट्न जङ्गल गएका रावतको शनिबार बिहान लडेर मृत्यु भएको हो ।

अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी गर्दा भिरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी असिम हमालले जानकारी दिए ।

जबजलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) राजनीतिक सिद्धान्त मात्रै नभएर दार्शनिक चिन्तनसमेत भएको बताएकी छन् ।

मदन भण्डारी फाउन्डेसनले शनिबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तनसमेत भएकाले यसलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्ने बताएकी हुन् ।

उनले जबजले कम्युनिष्ट आन्दोलनलाई समय, परिस्थितिअनुसार सही रूपमा बुझ्न र व्यावहारिक रूपमा अवलम्बन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन योगदान गर्नसक्ने बताइन् ।

उनले भनिन्, ‘जबज सम्बन्धी उच्च प्राज्ञिक स्तरमा सन्दर्भ सामग्रीको अभाव रहेको यथार्थतालाई आत्मसाथ गरी यस सिद्धान्तको अध्ययन अनुसन्धानका लागि मदन भण्डारी फाउण्डेशनले विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्दै आएको छ । जबज नेपाली माटोमा हुर्किएको आफ्नो मौलिक सिद्धान्त हो । यसको उच्च शैक्षिक संस्थामा अध्ययन र अनुसन्धान हुनुपर्दछ । त्यस्तै जबजलाई अन्तर्राष्ट्रिय रूपमा पुर्याउने एउटा आधिकारिक माध्यमको लागि प्रयास पनि हो । यसले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रूपमा बुझ्न र व्यावहारिक रूपमा अवलम्बन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन योगदान गर्नसक्छ।’

उनले ’समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा प्राप्त गर्न नेकपा एमाले पनि जबजकै सिद्धान्तअनुसार अगाडि बढेको बताइन् ।

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैनः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा विद्यार्थीहरुलाई नेपालमै बस्न आग्रह गरेका छन् । शनिबार आयोजित राष्ट्रिय युवा महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अपार सम्भावना भएको उल्लेख गर्दै यसको सदुपयोग गर्न आग्रह गरे ।

‘नेपालमा व्यावसायिक रुपमा अपार सम्भावना छन्, नेपालमा जस्तो सम्भावना अन्यत्र छैन, म पनि वैदेशिक रोजगारीका सिलसिलामा जापानमा गएर काम पनि गरेको छु, अनुभवका अधारमा मलाई नेपालका हरेक क्षेत्रमा सम्भावना छन्’, उनले भने ।

उनले सरकारले गर्न खोजेको र समाजको आवश्यकता सम्बोधन हुने खालको काम गर्न सकियो भने सफल हुन समय नलाग्ने उल्लेख गरे । नेपालमै पढ्न र नेपालमै अवसर खोज्नका लागि पनि उनले आग्रह गरे ।

‘मैले सानै उमेरमा अभिभावक गुमाएको व्यक्ति हुँ, सानै उमेरदेखि नै व्यवसायिक क्षेत्रमा केही गरौँ भन्ने सोच थियो, महत्वाकांक्षी नभइ इमान्दार भएर काम गर्ने हो भने सफल भइन्छ भन्ने मेरो अनुभव छ’, उनले भने ।

उनले नेपालमा राम्रा कलेज र विश्वविद्यालय भएको उल्लेख गर्दै पढ्नका लागि विदेश जानुपर्ने अवस्था अहिले नरहेको बताए । आफू विश्वका सबै जसो देशमा पुगेको बताउँदै उनले ढकालले नेपाल जस्तो सम्भावना, अवसर भएको ठाउँ अन्यत्र नभएको बताए ।

कक्षा १२ पूरा गरी उच्च शिक्षाको यात्रा सुरु गर्न नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरूका लागि लक्षित गरी मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), सुनौलो नेपाल, परिवर्तनका लागि युवा (युथ फर चेन्ज), वाइइडी टक्स र इन डेप्थ स्टोरी (आइडिएस)ले महोत्सव आयोजना गरेको हो । युवा तथा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

फिल्म ‘एक्का तीन’ निर्माण हुने

काठमाडौं । निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले ‘एक्का तीन’ नामक नयाँ फिल्म घोषणा गरेका हुन् ।

सुमन गजमेरको लेखन रहने यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माण पक्षले गरेको छ । फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ ।

जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो । फिल्मको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ ।

थीम पोस्टरमा तीन जना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । फिल्मको मुख्य भूमिकामा नायिका पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ । तर, अन्य मुख्य पात्रहरुको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन ।

बजेटको त्रुटि सच्याउन माग गर्दै मधेस प्रदेशसभा बैठक अवरुद्ध

जनकपुर । मधेस प्रदेशसभाको शनिबारको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र)का नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन बनाएको कार्यदल गठनमा असहमति जनाउँदै विरोध गरे । मुख्यमन्त्री सतीशकुमार सिंहले प्रतिबद्धता दिएअनुसार कार्यदल गठन नभएको उनको भनाइ छ ।

छानबिन कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको नाम राखेपछि प्रतिपक्षी दलले विरोध जनाएका छन् । कार्यदलबाट मन्त्रीको नाम नहटाएसम्म अवरोध जारी राख्ने प्रतिपक्षी दलको अडान छ ।

सभामुख रामचन्द्र मण्डलले कार्यदलमा मन्त्रीको नाम आएको अभ्यास नयाँ भएको र सरकारलाई अल्पमतमा राखेर कार्यदल गठन हुने अभ्यास पनि नयाँ रहेको बताए ।

सभामुख मण्डलले आर्थिक विधेयक पूरा हुन दिन र विनियोजन विधेयकमा असहमति भए विरोध जनाउन आग्रह गर्दै अर्थमन्त्री सुनिलकुमार यादवलाई जवाफ दिन समय दिए । प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गरेपछि उनले बैठक १० मिनेटको लागि स्थगित भएको घोषणा गरे ।

कार्यदलका सदस्यहरुमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव, माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहा, नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक कनिष पटेल, नेकपा (एमाले)का संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव र नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण यादव छन् ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

काठमाडौं । वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिरोको जोखिममा परेका छन् । यस वर्षको वर्षामा चन्द्रागिरि–१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हुन् ।

यसअघि पहिरोको समस्या नदेखिएका कतिपय स्थानमा यसपटक पहिरो गई जनधनको क्षति हुने देखिएको नगरपालिकाको व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले बताइन् । उच्च जोखिम मानिएका तीन वटा वडामध्ये वडा नं २ बढी उच्च जोखिममा छ । गत वर्ष सोही स्थानमा पहिराका कारण घरहरू पुरिनुका साथै दुई जनाको मृत्युसमेत भएको थियो ।

‘नगरका दुई सय स्थानमा पहिरो रोकथामका लागि प्लाष्टिक पठाइएको छ’, अर्यालले भनिन्। वडा नं १ का वडाध्यक्ष हरि मगरले वडाको खहरे, भट्टेडाँडा र गणेश मन्दिर वरिपरिको क्षेत्र उच्च जोखिममा रहेको जानकारी दिए । खास गरी विकास निर्माणका क्रममा डोजर लागेका स्थानमा पहिरो जाने, भू–क्षयलगायतको समस्या देखिएको उनले बताए ।

आफ्नो घर पहिरोले लड्न लागेकाले बचाइदिन आग्रह गर्दै नगरपालिका आएकी वडा नम्बर २ की अम्बिका सञ्जेलले विकास गर्ने भन्दै जमिनमा जथाभावी डोजर चलाउने र वर्षा अगाडि निर्माण नगरिदिँदा पहिरो जाने गरेको बताइन् ।

वडा नं ५ स्थित राधाकृष्ण टोलमा झण्डै १०० मिटर बाटोको भाग खोलामा खसेको छ । नजिकै कर्बड हल बनाउँदा माटो खोस्रिएका कारण त्यहाँ पहिरो गएको स्थानीयले बताएका छन् ।

वडा नं ९ स्थित शान्ति स्तूपाका कारण कीर्तिपुर नगरपालिकातर्फ गएको पहिरोको हालसम्म पनि व्यवस्थापन भएको छैन । जोखिम न्यूनीकरणका प्रारम्भिक काम भए पनि दीर्घकालीन समाधानका लागि बायो इञ्जिनियर गर्नुपर्ने भएकाले केही समय लाग्ने अर्यालले जानकारी दिइन् । वडा नं ८ का केही भाग पनि पहिराको उच्च जोखिममा रहेका उनले बताइन् ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले यस वर्ष आकस्मिक विपद् व्यवस्थापनका लागि तीन करोड बजेटमा व्यवस्था गरिएको जानकारी दिए । दीर्घकालीन समाधानका लागि भिरालो जमिनमा वृक्षरोपण र जोखिमयुक्त स्थानमा बायो इञ्जिनिरिङ गर्न खोजिएको उनले बताए ।

‘जथाभावी डोजर चलाउँदा पहिरोको जोखिम बढेकाले आगामी दिनमा प्राविधिक जाँचका आधारमा मात्र अनुमति दिइनेछ’, उनले भने ।

नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने

ह्युस्टन । अमेरिकी अन्तरिक्ष संस्था नासाले ‘अक्सियम मिसन–४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ ।

नासाको सहकार्यमा सञ्चालित ‘अक्सियम मिसन–४’ एक निजी अन्तरिक्ष अभियान हो, जसमा चार अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बसेर वैज्ञानिक अनुसन्धान गरेका थिए ।

यो मिशन सन् २०२५ जुन २५ मा स्पेस एक्सको रकेटमार्फत सुरु भएको थियो । टोलीमा अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सन, पोल्याण्डका स्लावोस उजनान्स्की, हंगेरीका टिबोर कपु र भारतका समूह कप्तान शुभांशु शुक्ला सहभागी थिए । शुक्ला अन्तरिक्षमा पुग्ने पहिलो भारतीय वायुसेना पाइलट हुन् ।

मिसनका क्रममा करिब ६० भन्दा बढी अनुसन्धान सम्पन्न गरिएको थियो । अब टोली स्पेस एक्सको ड्रागन यानमार्फत पृथ्वी फर्किंदैछ र यसको प्रत्यक्ष प्रसारण नासाले जुलाई १४ मा गर्नेछ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बिताएका चार सदस्यीय टोलीको नेतृत्व अनुभवी अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सनले गरे ।

प्रस्थानको प्रत्यक्ष प्रसारण नासाको वेबसाइटमा हेर्न सकिनेछ । शुभांशु शुक्लाको यो सफल यात्रा भारतका लागि ऐतिहासिक उपलब्धि हो, जसले भविष्यमा अन्तरिक्ष क्षेत्रमा भारतीय सहभागिता अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैंकक । म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा परी कम्तीमा २२ सर्वसाधारणको ज्यान गएको छ, जसमा तीन बालबालिका पनि रहेका छन् ।

सशस्त्र द्वन्द्वका कारण घरबार गुमाएका सर्वसाधारणले उक्त गुम्बालाई सुरक्षित आश्रयस्थल ठानी बसोबास गरिरहेका थिए । तर शुक्रबार बिहान १ बजे गुम्बाको मुख्य हलमा हवाई आक्रमण भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार, विस्फोट गुम्बामाथि खस्दा त्यहाँ रहेका धेरै नागरिकहरूको ज्यान गएको हो । ‘गुम्बा शान्त र सुरक्षित हुने विश्वासमा बसेका मानिसहरू अचानक हवाई आक्रमणको शिकार बन्न पुगे ।’

एक स्थानीय बासिन्दाका अनुसार, गुम्बा पूर्ण रूपमा ध्वस्त भएको छ र धेरै शवका शरीरका भाग छुट्टिएको अवस्थामा भेटिएका छन् ।

सन् २०२१ मा सैनिकले निर्वाचित सरकारलाई हटाएर सत्ताकब्जा गरेपछि म्यान्मा गृहयुद्धमा फसेको हो । सागाइङ विद्रोहीको बलियो प्रभाव क्षेत्र भएकाले सेना बारम्बार त्यहाँ आक्रमण गर्दै आएको छ ।

यो क्षेत्र केही महिनाअघि ७.७ रेक्टर स्केलको भूकम्पबाट पनि प्रभावित भएको थियो, जसले करिब तीन हजार ८०० जनाको ज्यान लिएको थियो ।

युद्धविरामको घोषणा भए पनि सेनाले हवाई आक्रमण जारी राखेको छ । यसअघि, मे महिनामा भएको एक आक्रमणमा विद्यालयका २० विद्यार्थी र दुई शिक्षकको ज्यान गएको थियो ।

सरकारी प्रवक्ता जाव मिन टुनले घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यो घटनाले म्यान्मामा नागरिक अझै पनि हिंसा र असुरक्षाको चपेटामा रहेका छन् भन्ने कुरा फेरि पुष्टि गरेको छ ।

एन्फामाथि फिफाको ‘कन्ट्रोल फन्डिङ सिस्टम’ हट्यो

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको छ । आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा)माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो ।

बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जएसीसी) को बैठकले नेपालमाथि लगाइएको बन्देज हटाएको एन्फाले जानकारी दिएको छ ।

एन्फाको विज्ञप्तिमा भनिएको छ, ‘फिफाको (Governance, Audit and Compliance Committee(GACC) को १० जुलाई २०२५ को निर्णय अनुसार फिफाबाट कायम रहेको कन्ट्रोल फण्डिङ्ग हटाईएको फिफाको पत्राचारबाट जानकारी प्राप्त भएको छ । साथै समग्र विकास आर्थिक पारदर्शीता, सुशासन र फुटबल खेल प्रवर्दनमा उत्कृष्ट योगदान गरेवापत AFC Member Association Of The Year (Gold) Award २०२४ बाट पनि सन् २०२४ अक्टोबर २९ तारिखका दिन एएफसीबाट पुरस्कृत भएको थियो । उल्लेखित दुबै निर्णयहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्णरुपमा आर्थिक सुशासन, पारदर्शिता र भ्रष्टचार मुक्त संघमा रुपान्तरण हुनुले अध्यक्षज्यू नेतृत्वको कार्यसमितिले गरेको प्रतिवद्धता पुरा भएको पुष्टि गर्दछ ।’

पूर्वराष्ट्रपतिले वामपन्थी एकताका लागि प्रयास गर्नुपर्छः खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा फर्किनुलाई सकारात्मकरुपमा लिनुपर्ने बताएका छन् ।

शनिबार चीन भ्रमणबाट फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा खनालले पूर्वराष्ट्रपति राजनीतिमा फर्किनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन् ।

नेकपा एमालेले एकताबद्ध गर्न नचाहेकाले वामपन्थी आन्दोलन विभाजित भएको भन्दै उनले पूर्वराष्ट्रपतिले एकताका लागि प्रयास गर्नुपर्ने बताए ।

फरक प्रसंगमा पूर्वप्रधानमन्त्री खनालले रास्वपाका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताए । उनले भने, ‘मलाई पनि के लाग्छ भने रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैन भनेर म पुष्टि गर्न त सक्दिन । तर लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको छ भन्ने मलाई महसुस भएको छ ।’

प्रधानमन्त्री ओलीद्वारा झापाको भागीरथा अस्पताल उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन् । बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा ६ करोड ५० लाख रुपैयाँको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो ।

नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उनका छोराछोरीले प्रदान गरेको जग्गामा अस्पताल निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज प्रसाईंले बताए ।

स्व. भागीरथा न्यौपाने तत्कालीन बुधबारे गाउँ पञ्चायतको प्रधानपञ्च थिए । उनकै स्मृतिमा अस्पतालको नामकरण गरिएको हो । अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित छ जना चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छन् । जसमध्ये पालिकाले आफ्नै स्रोतबाट तीन जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ ।

बहिरङ्ग र अन्तरङ्ग चिकित्सकीय सेवाअन्तर्गत अस्पतालमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसूति उपचार, शिशु तथा बाल स्वास्थ्य उपचार, सामान्य दन्त सेवा, प्राथमिक आँखा उपचार, प्रयोगशाला सुविधा, फार्मेसी सुविधा, एक्स रे सुविधा र मुटुको इको सेवा सञ्चालन भइरहेको छ ।

आगामी साउन १ गतेदेखि अस्पतालमा २४ घण्टै उपचार र बर्थिङ सेवा प्रदान गरिने अध्यक्ष प्रसाईंले बताए । पालिकाले गत जेठ २६ गते भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८२ लाई बुद्धशान्ति राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए ।

कार्यविधिअनुसार पालिकाका अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको पदेन अध्यक्ष रहने व्यवस्था छ । अस्पताल सञ्चालनका लागि कार्यविधिले छुट्टै कोषको समेत व्यवस्था गरेको छ ।

इलाम जिल्लासँग सीमा जोडिएको बुद्धशान्ति गाउँपालिकाको एक मात्र सरकारी अस्पतालको रुपमा रहेको यस भागीरथा अस्पतालले बुद्धशान्तिको ५३ हजार जनसङ्ख्यालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्नेछ भने दक्षिणी इलामबाट आउने सेवाग्राहीले उपचार पाउनेछन् ।

देशमा केही भएन भन्ने गलत भाष्य बनाउन खोजियोः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरेका छन् । नेपाली कांग्रेस नागार्जुन नगरपालिका वडा नम्बर २ ले शनिबार आयोजना गरेको एसइई सम्मान कार्यक्रममा उपप्रधानमन्त्री सिंहले देशमा केही हुँदैन भनेर युवा पुस्तालाई भ्रमित गर्ने प्रयास नगर्न आग्रह गरे ।

’देशमा केही भएन, हुँदैन भनेर गलत भाष्य बनाउन खोजिएको छ । जसले जे भन्यो त्यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन । युवा विद्यार्थीले सत्यतथ्य के हो ? विवेकको प्रयोग गरेर बुझ्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले लहै लहैमा नलागौं । केही भएन भन्ने सत्य होइन । विगतमा के थियो र अहिले के परिवर्तन भएको छ युवा विद्यार्थीहरूले आफ्नै अग्रज र अभिभावकहरूसँग सोध्नुभयो भने थाहा हुन्छ । धेरै कुरा भएको छ, अझै गर्न बाँकी धेरै छ ।’

उनले अहिले नेपालमा शिक्षा क्षेत्रमा विगतमा भन्दा धेरै प्रगति भएको बताए । आफूहरू विद्यार्थी हुँदा अध्ययनका लागि विषय छनौटको सीमितता रहेको भन्दै उनले अहिले नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरको शिक्षा प्राप्त गर्न सकिने अवस्था बनेको बताए ।

खेरसोनमा युक्रेनी हवाई आक्रमणपछि आवासीय भवन भत्किँदा दर्जनौं व्यक्ति भग्नावशेषमा फसेको आशंका

मस्को । युक्रेनी सेनाद्वारा खेरसोन क्षेत्रको आलेश्की शहरमा गरिएको हवाई आक्रमणका कारण एक आवासीय भवन पूर्ण रूपमा भत्किएको छ । जसमा दर्जनौं मानिस भग्नावशेषमा फसेका छन् । उक्त जानकारी खेरसोनका गभर्नर भ्लादिमिर साल्दोले टेलिग्राममार्फत दिएका हुन् ।

उनका अनुसार, मस्को समयअनुसार शुक्रबार अपरान्ह ४ बजे तिर भवनमा दुई वटा हवाई बम प्रहार गरिएको थियो, जसका कारण भवन भत्किँदै ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। यद्यपि, हालसम्म हताहतहरूको यकिन सङ्ख्या खुल्न बाँकी छ ।

घटनास्थलमाथि युक्रेनी ड्रोन निरन्तर गस्ती गरिरहेकाले उद्धारकर्मी तथा स्थानीय निकायका कर्मचारीहरूले सुरक्षित रूपमा भग्नावशेष हटाउने काम सुरु गर्न नसकेको साल्दोले जानकारी दिए । उक्त क्षेत्रको सुरक्षास्थितिका कारण उद्धार कार्यमा गम्भीर चुनौती आएको जनाइएको छ ।

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर । भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । शनिबार सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।

स्वास्थ्यमन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरे । यसअघि जिल्लाको चारवटै स्थानीय तह पूर्ण खोप सूनिश्चित घोषणा गरिएको थियो । उनले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन घरदैलोमै अब नसर्ने रोगको पहिचानका लागि स्वास्थ्यकर्मीसहितको स्वयंसेविकाको टोली परिचालन गरिने बताए ।

मन्त्री थापाले भने, “मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम सोचेअनुसार प्रभावकारी हुन सकेन, त्यसैले नसर्ने रोगको निवारणका लागि रोग पहिचान गर्ने उद्देश्यले स्वास्थ्यकर्मीसहित स्वयंसेवक परिचालन गरेर घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्नेछौँ । त्यसबापत स्वयंसेविकाहरुलाई पारिश्रमिकको व्यवस्था र एक हजार सञ्चारखर्चको व्यवस्था गरेका छौँ ।”

उनले भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई टेलिमेडिसिन हब बनाएर २४सै घण्टा सेवा सञ्चालन गर्नेगरी प्रदेश स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको बताउँदै प्रदेशस्तरीय अस्पतालको स्तरोन्नति, जनशक्ति थप र उपकरणहरुको वितरणलाई मन्त्रालयले प्रभावकारी रुपमा अगाडि बनाएको उल्लेख गरे ।

प्रदेश सरकारले पनि एमडी र एमबीबीएसको पढाइ सुरु गरेको भन्दै उनले भक्तपुर अस्पताललगायत प्रदेश अस्पताल भवन, अधुरो स्वास्थ्य चौकीका भवनलाई पूर्णता दिनगरी बजेटको व्यवस्थापन गरेको बताए ।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले खोप सुनिश्चिततालाई दिगोपन बनाउन चुनौती रहेको भन्दै कोही पनि खोपबाट छुट्न नहुने बताइन् । खोप प्रभावकारी हुँदा बालमृत्युदर हरेक वर्ष कम हुँदै गएको भन्दै उनले नियमित खोप कार्यक्रमको प्रभावकारीले ८० प्रतिशत बाल मृत्युदर घटेको बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आएका छन् । दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् ।

आज बिहान ११ बजे उनलाई चन्द्रगढी विमानस्थलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कोशी प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने नेकपा एमाले जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले आजै बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुका साथै कन्काई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जा वितरण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले आजै इलाम जिल्लाको माई नगरपालिकाका अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाको धनीपुर्जा वितरण गर्ने र माई नगरपालिकामा रहेको नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले बताए ।

असार २९ गते दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वतर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन र बिर्तामोडको सिटीसेन्टरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किने कार्यक्रम रहेको गिरीले जानकारी दिए ।