`

सरकारको काम ठेक्का रद्द गर्ने होइन, निर्वाचन गराउने हो : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वर्तमान सरकारको मुख्य काम रुग्ण ठेक्का तोड्ने नभई निर्वाचन गराउने भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा उनले नागरिक सरकारको प्रमुख काम फागुन २१ गते निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु रहेको बताएका हुन् । उनले सरकारले रुग्ण ठेक्का रद्द गरेर निर्माण व्यवसायीलाई समाज र देशको ‘भिलेन’ का रूपमा प्रस्तुत गरिएको बताए ।

उनले पूर्वाधारको जिम्मा लिएका मन्त्रीको लहडका कारण सम्पूर्ण निर्माण उद्योगको बदनाम भइरहेको बताए । उनले नागरिक सरकारका मन्त्रीहरू विभिन्न आयोजनास्थलमा पुगेर निर्माण कम्पनीका प्रतिनिधि र सञ्चालकमाथि सार्वजनिक रूपमा आरोप, गालीगलौज तथा अमर्यादित अभिव्यक्ति दिँदै हिँडेको उनको आरोप छ । विगत १५ वर्षदेखि रुग्ण अवस्थामा रहेका ठेक्काहरूको वास्तविक कारण नखोजी एकतर्फी रूपमा ठेक्का अन्त्य गर्ने काम भएको उनले बताए ।

यसले समस्याको समाधान ननिस्किने उनको भनाई छ । उनले पहिले ठेक्का रुग्ण भएको कारण अध्ययन गरेर नियमित हुनसक्ने ठेक्कालाई निरन्तरता दिनुपर्ने र काम हुनै नसक्ने ठेक्का मात्रै अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले ठेक्का तोडिएका ९० प्रतिशत आयोजनाहरु राजनीतिक नेतृत्वले पर्याप्त तयारी बिना ल्याएका, समयमा जग्गा प्राप्ति हुन नसकेका र निर्माणका लागि आवश्यक साइट उपलब्ध नभएका ठेक्काहरु रहेको बताए ।

काठमाडौं उपत्यकाका उदाहरण दिँदै उनले धेरै ठेक्कामा ८० देखि ९० प्रतिशत काम सम्पन्न भइसकेको भए पनि बाँकी कामको लागि साइट नपाएर रुग्ण बनेका ठेक्का हाल तोडिएको जानकारी दिए । निर्माण कम्पनीहरूले पटक–पटक साइट उपलब्ध गराउन वा फरफारक गर्न निवेदन दिए पनि सुनुवाई नगरी बसेको तथा फरफारक हुन्छ भनिएका ठेक्काहरू समेत पछि आएर तोडिएको उनको भनाई छ । उनले साइट नदिएका ठेक्कामा निर्माण कम्पनीसंग माफी माग्नुपर्नेमा उल्टै ‘ठेक्का किन नतोड्ने ?’ भनेर सूचना निकालिएको बताए ।

उनले भने, ‘यो सबैको जस मैले लिएँ, लिनुपर्छ भनेर हाम्रो पूर्वाधारको जिम्मा लिने मन्त्री ज्यूको लहडको कारणले गर्दा आम रुपमा निर्माण उद्योगीहरुलाई समाजको देशको भिलेनको रुपमा प्रस्तुत गर्ने कामहरु भएको छ । विगत १५ वर्षदेखि रुग्ण रहेका ठेक्काहरुलाई निश्चित अवधिको लागी निश्चित जिम्मेवारी लिएर जुन जेनजीको सहादतबाट उत्पन्न भएको सरकार जसको मुल लक्ष्य भनेको सबैभन्दा पहिला निर्वाचित सरकार बनाउन फागुन २१ गते निर्वाचन गराउनु हो ।’

उनले भने, ‘हरेक साइटमा गएर मन्त्रीलाई नचिन्ने प्रोजेक्टले निर्माण कम्पनीको प्रतिनिधि, सञ्चालकलाई विभिन्न आक्षेप, गालीगलौज गर्ने र यो धर्तीमा रहन पनि पाउँदैन भन्ने अभिव्यक्तिहरु दिएर जुन हिसावले आफूलाई प्रचार गरिरहनु भएको छ । त्यो निर्माण उद्योगमा भएको अहिलेको ठेक्का अन्त्य गर्ने परिपाटीले ठेक्का अन्त्य भएर निकास निस्किने कुनै पनि अवस्था सिर्जना हुँदैन । उहाँहरुले १२-१५ वर्षदेखी रुग्ण रहेको ठेक्कालाई अन्त्य गर्दै जाँदा खेरी त्यो ठेक्का किन रुग्ण भयो भन्ने कुराको वास्तविक अध्ययन गरेर जुन ठेक्का नियमित हुन सक्छ, त्यसलाई पूर्ववर्ती निर्माण कम्पनीबाट काम लगाउने र जति ठेक्काहरु सबै प्रयास गरेर पनि सफल भएन भने त्यसपछि चाहीँ त्यो ठेक्का अन्त्य गर्नुपर्छ ।’

सिंहले भने, ‘वास्तविक रुपमा भन्ने हो भने ९० प्रतिशत ठेक्काहरु चाँही राजनीतिक नेतृत्वले अनावश्यक रुपमा लहडमा योजना बनाएको कारणले गर्दा समयमा जग्गा प्राप्ती गर्न नसक्ने, कतिपय ठाउँमा साईडहरु दिन नसकेका कारणले ठेक्का तोडिएको छ । वर्तमान अवस्थामा तोडिएका अधिकांश ठेक्काहरु कस्तो छ भने काठमाडौको म उदाहारण दिन चाहन्छु । काठमाडौको २० देखी ८० लाखका ठेक्काहरु ८-१० वर्ष अगाडि नै रिकरेन्ट, प्याचोक गर्ने ठेक्काहरु तोडिएको छ । कुनै ८० प्रतिशत पुगेको, कुनै ९० प्रतिशत पुगेको र त्यसमा निरन्तर रुपमा उहाँहरुले साईट माग्दाहरु नदिएको ठेक्काहरु । उहाँहरुले त्यो ठेक्कामा कि साईट दिनुपर्‍यो कि फरफारक गर्नुपर्‍यो भनेर निवेदन दिईसकेको र यी ठेक्काहरु फरफारक हुन्छ भनिएको ठेक्का तोडिएको छ । काम गर्ने बेलामा साईट नपाएका ठेक्काहरुमा क्षमायाचनासहित निर्माण कम्पनीलाई यो ठेक्का हामीले निरन्तरता दिन सकेनौँ । हामी अन्त्य गर्छौ भन्नुपर्नेमा यो ठेक्का किन नतोड्ने भनेर सूचना निकालेको अवस्था छ ।’

उनले वर्तमान नागरिक सरकारका मन्त्री कुलमान घिसिङले पार्टी खोलेको र निर्वाचनमा मत तान्नको लागि निर्माण व्यवसायीलाई भिलेन बनाएको पनि आरोप लगाए । मन्त्री घिसिङको अनाश्यक लहडको कारण निर्माण क्षेत्र तहसनहस बन्ने अवस्थामा पुगेको उनको भनाई छ ।

भक्तपुरमा युवकले हाने आफ्नै कञ्चटमा गोली

भक्तपुर । भक्तपुरको ठिमीमा एक युवकले आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुका अनुसार आफ्नै कञ्चटमा गोली हान्ने व्यक्ति सनिप चाम्लिङ राई रहेका छन् । उनी सुरक्षाकर्मी हुन् वा सर्वसाधारण हुन् भन्ने यकिन हुन बाँकी छ । घटनास्थलमा अहिले प्रहरी वृत्त ठीमीको टोली पुगेकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

मध्यपुर ठिमी नगरपालिका–६ राईटोल बस्दै आएका उनी अविवाहित रहेको प्रहरीले बताएको छ । दिउँसो साढे ३ बजेतिर साढे चार तले पक्की घरको चौथो तलामा ४० वर्षीय राईले कोठाको चुकुल लगाएर आफैंले कञ्चटमा गोली हानेको प्रहरीले बताएको छ । जिएस–५ लेखिएको जर्मन बन्दुकले गोली हानेको पाइएको प्रहरीले बताएको छ ।

 

 

विशेष महाधिवेशन विवाद थप चर्किदै : कांग्रेसको पाँच प्रदेशले भन्यो–औचित्य सकियो, पक्षधरको प्रतिवाद

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर मतभेद थप स्पष्ट देखिएको छ । पाँच प्रदेश सभापतिले संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशनको औचित्य समाप्त भएको दाबी गरेका छन् भने त्यसका पक्षधर नेताहरूले विधानविपरीत निर्णय गरिएको भन्दै प्रतिवादलाई निरन्तरता दिएका छन् ।

कोशी प्रदेश सभापति उद्धव थापा, मधेशका कृष्णप्रसाद यादव, बागमतीका इन्द्र बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायरले जारी गरेको संयुक्त वक्तव्यमा अब पार्टीको ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने उल्लेख छ । उनीहरूले वैशाखमा हुने नियमित महाधिवेशन नै वैधानिक प्रक्रिया भएको भन्दै सबै तहका कार्यकर्तालाई चुनावी तयारीमा जुट्न आह्वान गरेका छन् । वक्तव्यमा गण्डकी र लुम्बिनी प्रदेश सभापतिको हस्ताक्षर नभए पनि सुदूरपश्चिम सभापति बलायरले दुवै प्रदेशसँग समन्वय भइरहेको दाबी गरेका छन् ।

यसैबीच, कांग्रेस केन्द्रीय कार्यालयले विशेष महाधिवेशन निष्क्रिय भएको जानकारी दिँदै मातहतका निकायलाई परिपत्र पठाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा पुस १८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार विशेष महाधिवेशनको प्रस्ताव स्वतः रद्द भएको जनाइएको छ । परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबै तहका नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गरिएको छ भने माघ ३ भित्र सदस्यता शुल्कसहित विवरण केन्द्रमा बुझाउन निर्देशन दिइएको छ ।

तर विशेष महाधिवेशन पक्षधर नेताहरूले केन्द्रीय निर्णयप्रति आपत्ति जनाएका छन् । देवराज चालिसे, सुवास पोखरेललगायत प्रतिनिधिहरूले पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्न माग गर्दै पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरूको भनाइमा केन्द्रीय कार्यसम्पादन समितिलाई विशेष महाधिवेशनको औचित्य सकिएको ठहर गर्ने अधिकार छैन र यस्तो निर्णय विधानविपरीत छ ।

ज्ञापनपत्र बुझाएपछि चालिसेले कुनै हालतमा विशेष महाधिवेशन रोकिन नहुने बताएका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशन आह्वानको पक्षमा विज्ञप्ति जारी गरेपछि पार्टीभित्रको बहस थप चर्किएको छ । एकातिर पाँच प्रदेश सभापतिहरू केन्द्रको निर्णयअनुसार अघि बढ्नुपर्ने पक्षमा उभिएका छन् भने अर्कोतिर विशेष महाधिवेशन पक्षधर नेताहरू विधान र आन्तरिक लोकतन्त्रको सवाल उठाउँदै दबाब बढाइरहेका छन् । यसले कांग्रेसभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाबारे थप बहस निम्त्याएको छ ।

कांग्रेसले मंगलबार राष्ट्रियसभा निर्वाचनको उम्मेदवार टुंगो लगाउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका मंगलवार (भोली) उम्मेदवार टुंगो लगाउने भएको छ । सोमवार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउने गरी मंगलवार पुनः बैठक बोलाउने निर्णय गरेको हो । सो निर्वाचनमा अन्य दलहरुसँगको चुनावी तालमेललगायतका विषय र उम्मेदवारको विषय टुंगो लगाउन मंगलवार पुनः ११ बजे बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले आजको बैठकमा चुनावी तालमेलका लागि एमाले, नेकपालगायतका दलहरुसँग पार्टीको शिर्ष तहबाट छलफल भइराखेकाले भोली बैठक बसेर त्यस बारेमा पनि निर्णय लिने निष्कर्षमा पुगिएको बताए । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग छलफल गरिरहेका छन् ।

प्रवक्ता महतले भने, ‘कार्य सम्पादन समितिको बैठक भोलि ११ बजे पनि बस्दैछ । राष्ट्रिय सभामा प्रतिनिधित्वको विषय कसरी गर्ने ? छलफल जारी छ । अन्य राजनीतिक दलहरुसँगको सहकार्यको विषयमा नेतृत्व तहबाट छलफल भइरहेको छ । आज बेलुका, भोलिसम्म एउटा निष्कर्ष आउन सक्छ । कुराकानी हुँदैछ, भोलि फेरि कार्य सम्पादन समितिको बैठक बसेपछि अनि छलफल कसरी अघि बढ्यो, त्यसको आधारमा हामीले के निर्णय गर्ने भन्ने निधो हुन्छ । छलफल सबै दलहरुसँग भईराखेको छ ।’

उनले भने, ‘जसको भोटिङ स्ट्रेन्थ छ । राष्ट्रिय सभा निर्वाचनको लागि जसको निर्वाचित हुन हैसियत राख्ने दलहरु सबैसँग सहकार्यको कुरा भईराखेको छ । राष्ट्रिय सभा निर्वाचनको लागि सबै दलहरु जो राष्ट्रिय सभा निर्वाचनका लागि म्याटर गर्छ । जसको हैसियत छ । सबैसँग कुराकानी भइराखेको छ । कुराकानीको निष्कर्ष के निस्कियो, त्यो भोलि बिहानसम्म थाहा पनि हुन्छ । अनि त्यसको आधारमा भोलि हाम्रो ११ बजे नै केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्छ । भोलि नै हामी यो उम्मेदवारबारे टुंगो लगाउन कोशिस गर्छौं ।’ नेपाली कांग्रेसको राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार छ । सोही मतभारको आधारमा अन्य दलहरुसँग पनि तालमेल गरेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने गरी छलफल भइरहेको प्रवक्ता महतले बताए ।

 

 

‘गगन–विश्वका गतिविधि नेविसंघको झगडा जस्तै, विशेष महाधिवेशन आवश्यक छैन’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पछिल्लो गतिविधि नेविसंघका पदाधिकारीबीचको झगडा जस्तै भएको टिप्पणी गरेका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले कांग्रेसभित्र तत्काल विशेष महाधिवेशनको आवश्यकता नरहेको जिकिर गर्दै कांग्रेस जस्तो लामो इतिहास बोकेको, देश र जनताप्रति जिम्मेवार पार्टीको गरिमा जोगाउने जिम्मेवारी पार्टी महामन्त्रीहरूको भएको बताए ।

उनले पार्टी फुट्ने सम्भावना नरहेको दाबी समेत गरे । सहमहामन्त्री राठौरले गिरिजाप्रसाद कोइरालाको समयदेखि नै कार्यसमितिको कार्यकाल एक वर्षदेखि डेढ वर्ष थप हुँदै आएको स्मरण समेत गराए । उनले विशेष महाधिवेशन केन्द्रिय समितिले नभई महामन्त्रीहरूले अघि सारेको दाबी गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई त्यसमा नआउन आग्रह गरिसकिएको समेत जानकारी दिए ।

उनले भने, ‘महामन्त्रीहरुले गरेको गतिविधि नेविसंघका महामन्त्रीहरुले गरेको जस्तो गतिविधि भयो के । नेपाली कांग्रेस यति लामो इतिहास भएको पार्टी, देश र जनताप्रति जिम्मेवार र उत्तरदायी पार्टीको गरिमा बचाउने जिम्मेवारी उहाँहरुको हो । नेविसंघको अध्यक्ष र महामन्त्रीको झगडा जस्तो भयो । पार्टी महामन्त्री भनेको धेरै ठूलो कुरा हो । त्यसको गरिमा उहाँहरुले बचाएर जानुपर्छ । पार्टी नै फुट्छ जस्तो मलाई लाग्दैन । पार्टी फुटाएर कसैलाई फाइदा पनि हँुदैन बरु बाहिरी शक्ति र अन्य दलहरुलाई फाइदा हुन्छ ।’

उनले भने, ‘अहिले यो विषेश महाधिवेशनको फण्डा ल्याउनुपर्ने जरुरी नै छैन । पार्टीभित्र त्यो परिस्थिति होइन । हाम्रो कार्यकाल चार वर्षको हो । गिरिजाप्रसाद कोइरालादेखि अहिलेसम्म कहिले एक वर्ष त कहिले डेढ वर्ष थप नै गरेको हो । सभापतिले त मंसिरमै महाधिवेशन गर्नु भनेर कार्यवाहक सभापति र महामन्त्रीहरुलाई भन्नु भएको रहेछ । हामीलाई उहाँहरुले त्यही भन्या हो । त्यसकारण अहिले पार्टीभित्र विषेश महाधिवेशन गर्नुपर्ने आवश्यकता पनि छैन । यो अवस्था पनि होइन । यो विषेश महाधिवेशन केन्द्रीय समितिले बोलाएको होइन महामन्त्रीहरुले बोलाएको होला नआउनु होला भनेर महाधिवेशन प्रतिनिधि साथिहरुलाई भनेका छौँ ।’ उनले सभापति शेरबहादुर देउवाले गत मंसिरमै नियमित महाधिवेशन गर्न भनेको भएपनि कार्यवाहक सभापति र महामन्त्रीकै कमजोरीका कारण हुन नसकेको जिकिर गरे ।

थरुहट–थारुवान अभियन्ता र रास्वपाबीचको नौं बुँदै सम्झौतामा के छ (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँग नौं बुँदे सहमति भएको छ । थरुहट थारूवान अभियन्ता र रास्वपाबीच नौं बुँदे सहमति भएर आज रास्वपामा समाहित भएका हुन् । उनीहरुलाई सभापति रवि लामिछाने, उपभापतिद्वय डिपी अर्याल, स्वर्णिम वाग्लेसहित शीर्ष नेताहरूले पार्टीमा स्वागत गरेका छन्।

…अनि, गएनन् बालेन रास्वपाको राजनीतिक समायोजन सभामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत् राजनीतिक समायोजन घोषणसभामा वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ सहभागी भएनन् ।

उनलाई समर्थकहरूले ‘बालेन खोइ ?’ भन्दै खोेजेका थिए । उनी घोषणासभामा अनुपस्थित हुनुलाई कतिपयले शंकाको दृष्टिले पनि हेरेका छन् ।

यस्तोमा बालेनका सचिवालयसँग हामीले सम्पर्क गरेका छौँ र ‘बालेन किन घोषणासभामा गएनन् ?’ भनेर सोध्यौँ ।

जवाफमा बालेनको सचिवालयले भन्यो, ‘अहिले महानगर प्रमुखको जिम्मेवारीमा रहेकाले उहाँले पार्टीको सार्वजनिक कार्यक्रममा तत्काल सहभागी नहुने भन्‍नुभएको छ र सोहीअनुसार उहाँ जानु भएन ।’

घोषणासभामा वरिष्ठ उपसभापति कुलमान घिसिङ पनि अनुपस्थित रहे ।

 

शीतलनिवासमा विश्वकप ट्रफी सार्वजनिक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक भएको बताएका छन् । सोमवार शीतलनिवासमा टी–२० विश्वकपको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरे ।

नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको बताए । क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताए । नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उनले धन्यवाद व्यक्त गरे ।

उनले भने, ‘नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधार समेत सुदृढ बन्दै गएको छ । नेपालको क्रिकेटले अझ उचाई हासिल गरोस्, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्व कपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरे।

कांग्रेस बैठकमा खड्काको ‘ब्रिफिङ’ : राष्ट्रियसभामा एमालेसँग मिल्ने, आठ सीट दावी

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचन एमाले र नेकपासँग मिलेर जानेबारे छलफल भइरहेको ‘ब्रिफिङ’ गरेका छन् । सानेपामा जारी कार्य सम्पादन समिति बैठकमा खड्काले निर्वाचनको तयारीबारे जानकारी गराएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ सुजाता कोइरालाले गठबन्धनमा पार्टीको तर्फबाट आठ सीट मागेको जानकारी गराएको बताइन् । माघ ११ गते राष्ट्रिय सभाका रिक्त १८ सीटमा चुनाव हुँदैछ । चुनावमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धनको गृहकार्य भइरहेको छ ।

‘राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन हुने र कांग्रेसले गठबन्धनमा ८ सीट दाबी गरेको ब्रिफिङ कार्यवाहक सभापतिले गर्नु भएको छ,’ बैठकबाट निस्किँदै गर्दा कोइरालाले भनिन् । यी दलहरूबीच तालमेलको सैद्धान्तिक सहमति भएपनि सीट संख्यामा कुरा मिल्न सकेको छैन । राष्ट्रिय सभाका १८ सीटका लागि आगामी माघ ११ गते चुनाव हुँदैछ।

 

रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभा (तस्वीरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत राजनीतिक समायोजन घोषणा सभा सुरू भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम सुरू भएको हो । आज नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व, थरूहट–थारूवान अभियान्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबीच समायोजन घोषणा हुन लागेको हो । घोषणा सभामा सहभागी हुन नेता कार्यकर्ताहरू उपस्थित भएका छन् ।
हेर्नुस् तस्वीरहरू

रास्वपा र नाउपाबिच एकता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बिच एकता भएको छ। 

सोमबार राष्ट्रिय सभामा भएको समायोजन कार्यक्रमपश्चात् नाउपा रास्वपामा समाहित भएको हो।  समायोजन कार्यक्रमका लागि तयार पारिएको समायोजन सहमति पत्रमा नाउपाको तर्फबाट थरुहट आन्दोलनका नेता लक्ष्मण थारु तथा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने लगायतका व्यक्तिहरुले हस्ताक्षर गरेका छन् ।

समायोजन कार्यक्रममा नाउपाका संस्थापक नेता रेशम चौधरी भने उपस्थित छैनन् । 

 

कुलमान–बालेन देखिएनन् रास्वपाको राजनीतिक समायोजन घाेषणा सभामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत् राजनीतिक समायोजन घोषणासभामा कुलमान घिसिङ र बालेन्द्र साह ‘बालेन’ देखिएका छैनन् ।

घिसिङ पार्टीको वरिष्ठ उपसभापति र बालेन वरिष्ठ नेता हुन् ।

पूर्वनागरिक उन्मुक्ति पार्टी र थरुहट आन्दोलनका केही नेतालाई एकता प्रक्रियामा ल्याउन भएको समायोजन घोषणासभामा घिसिङ र बालेनको अनुपस्थिति अर्थपूर्ण मानिएको छ । कारण, रास्वपामा खासगरी घिसिङ असन्तुष्ट छन् ।

घिसिङले हालै उनी संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा विलय गराएका थिए ।

तर, पार्टीको सैद्धान्तिक र वैचारिक पक्षसँगै सांगठनिक जिम्मेवारीलाई लिएर असन्तुष्टि जनाउँदै आएका छन् । भनिन्छ, बालेन केन्द्रीय सदस्य मनोनयनप्रति त्यति खुसी छैनन् ।

आइतबार बसेको रास्वपा सचिवालय बैठकले बालेन र विवेकशील साझा पार्टीबाट समायोजन प्रक्रिया आएका नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।

कुलमान पक्षलाई छुटाइएको थियो ।

प्रचण्ड लगतै आरजु पनि उडिन् दिल्ली

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा पछिल्ला दिनहरूमा नेपाली राजनीतिक व्यक्तित्वहरूको आवत–जावतले चर्चा पाएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण सकेर आज स्वदेश फर्कदै छन् भने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार अपराह्न दिल्ली प्रस्थान गरेकी छन् ।

प्रवासी नेपालीहरूसँग संवाद र ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी हुन प्रचण्ड आइतबार दिल्ली पुगेका थिए । उनले आज दिउँसो कार्यक्रमलाई सम्बोधन गरेका छन् । भ्रमणका क्रममा प्रचण्डले आइतबार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलसँग भेटवार्ता गरेका थिए । त्यसपछि सोमबार बिहान पनि भारतीय सुरक्षा अधिकारी तथा राजनीतिक नेतृत्वसँग छलफल भएको जनाइएको छ । तय कार्यक्रम अनुसार प्रचण्ड आज साँझ नेपाल फर्किने छन् ।

यहीबीच, कांग्रेस नेतृ डा. आरजु राणा देउवा सोमबार दिउँसो करिब सवा २ बजे नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गरेकी छन् । सुरक्षा स्रोतले उनको दिल्ली यात्रा पुष्टि गरेको छ । भ्रमणको औपचारिक उद्देश्य सार्वजनिक नगरिए पनि कांग्रेस स्रोतका अनुसार उनी स्वास्थ्य परीक्षणका लागि भारत गएकी हुन् । आरजुले यसअघि पनि दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराउँदै आएको बताइएको छ । यद्यपि, उनको भ्रमणका क्रममा सुरक्षा अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट हुन सक्ने अनुमान समेत गरिएको छ ।

दिल्ली यात्राको शृङ्खला यतिमै सीमित छैन । यसअघि आइतबार प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदी उपचारका लागि दिल्ली गएका थिए । त्यसैगरी, गत साता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि दिल्ली पुगेका थिए, जहाँ उनले भारतीय सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वसँग छलफल गरेका थिए । लगातार भइरहेका यी भ्रमणहरूले नेपाल–भारत राजनीतिक संवाद, स्वास्थ्य उपचार र कूटनीतिक सम्पर्कहरू एकसाथ अघि बढिरहेको संकेत गरेका छन् ।

 

 

ठूला कुरा गरेको भन्दै गणेशकाे कुटेर हत्या, अनि लागेका थिए कमल घरतिर

काठमाडौं– काभ्रेको पाँचखाल नगरपालिका– १ का गणेश विकको हत्या आरोपी कमल तामाङले मातेर ठूला कुरा गरेपछि कुटपिट गरेर हत्या गरेको स्वीकारेका छन् । उनले आफू अदुवा लिई बसपार्कमा पुगेपछि छेउकै दोकानमा माद्यक पदार्थ सेवन गरिरहँदा पहिल्यै मातेका गणेश आएर ठूला ठूला कुरा गर्दै अश्लील गाली गरेको र रिस थाम्‍न नसकेर सडकमा कुटपिट गरेको बयान दिएका छन् ।

उनका अनुसार कुटपिटपछि उनले धकेल्दा गणेश सडकमा लडेका थिए । त्यसपछि आफू घर गएको उनले बयान दिएका छन् । आफन्तले उपचारका लागि गणेशलाई धुलिखेल अस्पताल लगेको र उपचारकै क्रममा उनको गत मंसिरको २६ गते मृत्यु भएको उनको बयान छ । उनै कलमविरुद्ध सरकारी वकिल कार्यालय काभ्रेले सोमबार जिल्ला अदालतमा जन्मकैदको सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो ।

कमलले मुलुकी अपराध संहिता २०७४ को १७८ (१) अनुसारको कसुर गरेको र २ अनुसार जन्मकैदको मागदाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता निकुञ्‍ज श्रीवास्तवले आरोपपत्रमा उल्लेख गरेका छन् । प्रहरीले लासजाँच गर्दा दुवै आँखा वरिपरी निलडाम रहेको र टाउकोको बीच भागदेखि बायाँ कानसम्मै ठूलो घाउ देखिएको आरोपपत्रमा छ । मृतक गणेशका बुबा सूर्यमान कामीका अनुसार गणेश १८ मंसिरमा धान्‍नेपूर्णिमामा गाउँमै लाग्‍ने जात्रा हेर्न गएका थिए ।

जात्रा हेरेर तीनपिप्लेमा सामान किन्‍न जाँदा रातको अन्दाजी ७: ४५ तिर कमलले कुटपिट गरेको सूर्यमानको दाबी छ । उनले मुक्काले गणेशलाई टाउको र शरीरको विभिन्‍न भागमा प्रहार गरेको र कुटपिटबाट टाउकोमा रगत जमेको पनि बताए । गम्भीर घाइते अवस्थामा उद्धार गरी गणेशलाई धुलिखेल अस्पतालमा लगेर भेन्टिलेटरमा राखी उपचार गराउँदा गराउँदै मृत्यु भएको सूर्यमानले जाहेरीमा भनेका छन् । उनले कमललाई कानुनअनुसार कारबाही र सजायको माग गरेका छन् ।

 

२३.१३ अङ्कले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.१३ अङ्कले बढेर २६३३.७६ विन्दुमा पुगेको छ ।

आज बजारमा १ करोड १३ लाख ७५ हजार ४७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कुल १९४ कम्पनीको मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 

नेकपा संयुक्तको चेतावनी : देश दुर्घटनातर्फ जाँदैछ, नयाँ दलबाट पनि भरोसा हरायाे

काठमाडौं । घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले मुलुक तीव्र राजनीतिक अस्थिरता र सम्भावित दुर्घटनातर्फ उन्मुख हुँदै गएको ठहर गरेको छ । पार्टीले वर्तमान अवस्थाबाट मुलुकलाई जोगाउन व्यापक राष्ट्रिय छलफल आवश्यक रहेको भन्दै सबै राजनीतिक शक्ति, बुद्धिजीवी र नागरिक समाजलाई संवादमा आउन आह्वान गरेको छ ।

आइतबार सार्वजनिक गरिएको वक्तव्यमा नेकपा संयुक्तले पुराना राजनीतिक दलहरू नेतृत्व केन्द्रित, बिचौलियाको प्रभावमा परेका र आन्तरिक लोकतन्त्रविहीन बन्दै गएको आरोप लगाएको छ । वक्तव्यमा भनिएको छ, ‘पुराना पार्टीहरू नेताको निजी सम्पत्तिजस्तै बनेका छन् । लोकतन्त्र र सिद्धान्त उनीहरूका लागि नारामा सीमित भएका छन्।’

पार्टीले ‘नयाँ’ भनेर चिनिएका राजनीतिक शक्तिप्रति पनि गम्भीर प्रश्न उठाएको छ । नेकपा संयुक्तका अनुसार ती दलहरूमा स्पष्ट वैचारिक आधार र दीर्घकालीन दृष्टिकोण देखिँदैन । ‘जसरी भए पनि छिटो सत्तामा पुग्ने आकांक्षा बाहेक नयाँ भनिएका दलहरूसँग कुनै ठोस विचार वा सिद्धान्त छैन’, वक्तव्यमा उल्लेख छ । पद र सत्ताको भागबण्डाका लागि देखिएको प्रतिष्पर्धा र राजनीतिक चर्तिकलाले उनीहरू पनि पुरानै राजनीतिक संस्कृतिको निरन्तरता भएको संकेत गर्ने पार्टीको निष्कर्ष छ ।

नेकपा संयुक्तले वर्तमान पुराना र नयाँ दलहरूबीच बनेका गठबन्धनमध्ये निर्वाचनमा जोसुकै विजयी भए पनि देश अझ गहिरो अस्थिरता र द्वन्द्वतर्फ धकेलिन सक्ने खतरा औंल्याएको छ । वक्तव्यमा भदौ २३ र २४ गते जस्ता विगतका घटनाहरूको स्मरण गर्दै त्यस्तै प्रकृतिका दुर्घटनाहरू पुनः दोहोरिन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

पार्टीले नयाँ राजनीतिक शक्तिहरूलाई प्रत्यक्ष प्रश्न गर्दै भनेको छ, ‘तपाईंहरूको कुन विचार, सिद्धान्त र संगठनले राष्ट्रलाई अहिलेको दुर्गतिबाट जोगाउन सक्छ ?’ यी प्रश्नको विश्वसनीय उत्तर नआएसम्म आगामी निर्वाचनको परिणामले मुलुकलाई कुनै ठोस दिशा नदिने नेकपा संयुक्तको ठहर छ । नेकपा संयुक्तले देशको भविष्यसँग जोडिएको गम्भीर बहस सुरु गर्न हार्दिक अपिल गरेको छ । ‘आज नेपालले कस्तो राजनीति, कस्तो राजनीतिक पार्टी र कस्तो नेतृत्व खोजिरहेको छ भन्ने विषयमा खुला र गहिरो सार्वजनिक छलफल गरौँ’, वक्तव्यमा भनिएको छ।

 

कांग्रेस कार्य सम्पादन समितिको बैठक, राखिएन विशेष महाधिवेशनको एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको छ । केहीबेर अघिबाट केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रियसभा निर्वाचन, पार्टीभित्रको आन्तरिक विषयवस्तुलगायत वर्तमान राजनीतिक अवस्थाबारे छलफल हुने जनाइएको छ । कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्न एमाले र नेकपासँग छलफल गरिरहेको छ । त्यसबारे आजको बैठकले निर्णय लिनसक्ने जनाइएको छ ।

यस्तै, यसअघि बसेको बैठकले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकार्श शर्माले यही महिनाभित्रै विशेष महाधिवेशन गर्ने अडान लिइरहेका छन् । महाधिवेशन विवाद चर्किएपछि निकासको लागि आजको बैठकमा छलफल हुने जनाइएको छ ।

सोमबारको बैठकमा विशेष महाधिवेशनको विषय एजेण्डामा नरहेको पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २८ र २९ गतेका लागि विशेष महाधिवेशन बोलाएपछि कांग्रेसमा विवाद चुलिएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनमा नआउन प्रतिनिधिहरूलाई परिपत्र गरेको छ । तल्ला कमिटीलाई महाधिवेशनको नयाँ कार्यतालिका समेत पठाइसकेको छ ।

मन्त्रिपरिषद् बैठक: गुप्तचरमा खड्काकाे बढुवा, ओमान–इजरायल सम्झौता स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी)मा ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ ।

५ असोजदेखि विभागमा अतिरिक्त अनुसन्धान निर्देशक पद रिक्त थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त पदमा खड्कालाई बढुवा गरेको हो ।

विभागका तत्कालीन प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापा ५ असोजमा अवकासमा गएपछि टेकेन्द्र कार्की मुख्य अनुसन्धान निर्देशक भए ।

त्यसपछि साढे तीन महिनासम्म अतिरिक्त अनुसन्धान निर्देशक पद रिक्त रहेको थियो र सोही पदमा खड्कालाई बढुवा गरिएको सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ । नेपाल यस्तै, सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकबाट भएको छ ।

समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ ।

जेन–जी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्‍चालन गर्न जेन–जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।

पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ । वन ऐन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय सरकारले निर्णय गरेको छ ।

यससँगै नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको मन्त्री खरेले जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषका आठ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले जेनजी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले जेनजी शहीद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र समेत स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश–२०८२, स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले वन तेस्रो संशोधन नियमावली २०८२, स्वीकृत गरेको छ ।

सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फ उपमहालेखापरीक्षकमा घनश्याम पराजुलीलाई बढुवा गरेको छ । यस्तै समस्याग्रस्त सहकारी संस्थाको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने बैठकले निर्णय गरेको छ ।

हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरू :
१) राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ ।
२) समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ ।
३) जेनजी शहीद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।
४) नेपाल सरकार र ओमान सरकार बीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय भएको छ ।
५) नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ ।
६) पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।
७) वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।
८) नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ ।

गुप्तचर एआइजीमा ओम खड्काको बढुवा

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआइजी) मा डीआइजी ओमबहादुर खड्काको बढुवा भएको छ । आज मध्यान्ह १२ बजे बसेको मन्त्रिपरिषद् बैठकले दाङ्गमा कार्यरत खड्कालाई रिक्त अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापा अवकाशमा गएपछि ५ असोजमा एआईजी टेकेन्द्र कार्कीलार्ई मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरिएको थियो । कार्की मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएसँगै एक एआईजीको पद रिक्त थियो । तर साढे तीन माहिनासम्म सरकारले एआईजीमा कसैलाई बढुवा नगरी राखेको थियो । अन्ततः साढे तीन महिनापछि बढुवाको पहिलो दाबेबारमा रहेका खड्का एआईजी बनेका छन् ।

पर्सामा कर्फ्यु, स्थिति सामान्य

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले विरगंजमा निषेधाज्ञा जारी गरेको छ ।  वीरगञ्जमा धार्मिक सद्भाव भड्किन नदिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेकोको जनाएको छ  ।

धनुषामा एक मस्जिद तोडफोडको घटनालाई लिएर बिहानैदेखि हिन्दूवादी संगठनहरूले प्रदर्शन गरेका छन् । मुस्लिम र हिन्दू समुदाय एक-अर्काविरुद्ध प्रदर्शनमा उत्रिने स्थिति बनेपछि नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीले नेपालवन एचडीसँगको कुराकानीमा बताए  ।

‘ मुस्लिम र हिन्दु सम्प्रदाय दुवैतिरका मान्छेहरु प्रदर्शनका लागि आउन थाले । स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस् भनेर हामीले निषेधाज्ञा लगाएका हौँ’, उनले भने,’अहिले स्थिति सामान्य छ। कुनै दङ्गा हुदैन। अर्को सुचना जारी नभएसम्म निषेधाज्ञा जारी रहन्छ। ‘ 

सीडीओ भोला दाहालद्वारा जारी आदेशमा बसपार्क, सिर्सिया पुल, पावर हाउस चौक र शंकराचार्य गेटलाई निषेधित क्षेत्र तोकिएको छ ।

धनुषा जिल्लाको सखुवा मरण क्षेत्रमा रहेको एक मस्जिदमा तोडफोड भएपछि आईतबार विरगंजको  अवस्था तनावपूर्ण बनेको थियो । घटनापछि धनुषा र भारतको रक्सौलसँग सीमा जोडिएको पर्सा जिल्लाको वीरगञ्ज क्षेत्रमा प्रदर्शन, झडप र तोडफोडका घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामाजिक सञ्जालमा कथित रूपमा हिन्दूविरोधी सामग्री फैलिएको दाबीपछि तनाव चर्किएको हो । उक्त सामग्री दुई जना मुस्लिम युवाले टिकटकमार्फत पोस्ट गरेको आरोप लगाइएको छ। यस घटनाले स्थानीय स्तरमा आक्रोश बढाउँदै प्रदर्शनको रूप लिएको थियाे ।

मस्जिद तोडफोडको विरोधमा वीरगञ्जमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए । प्रदर्शनका क्रममा टायर बाल्ने, प्रहरीमाथि ढुंगामुढा गर्ने र एक स्थानीय प्रहरी चौकीमा तोडफोड गरिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो । झडपका क्रममा सात जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।

प्रहरीले टिकटक भिडियो पोस्ट गरेको र तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नागरिकहरूलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । उनले फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत फैलिन सक्ने झुटा हल्ला र घृणात्मक सामग्रीप्रति प्रशासन सतर्क रहेको बताए । प्रशासनले साम्प्रदायिक सद्भाव बिगार्ने, धार्मिक स्थलमा क्षति पुर्‍याउने वा सार्वजनिक शान्ति भंग गर्ने जो–कोहीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

धनुषा र पर्सा दुवै जिल्लाका प्रहरी अधिकारीहरूले सीमावर्ती क्षेत्रलाई विशेष निगरानीमा राखिएको र थप तनाव हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको बताएका छन्।

पार्टी विभाजनको प्रश्‍नले लपेटिए गगन- विश्‍व , होला त कांग्रेसको तेस्रो विभाजन ?

काठमाडौं । नेपाली कांग्रेस स्थापना भएको आठ दशक हुनै लाग्दा तेस्रोपटक विभाजनको डिलमा पुगेको संशय प्रकट भइरहेको छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरे त्यो विभाजनको बलियो जग हुने टिप्पणी भइरहेको छ । यस्तो टिप्पणी गर्नेहरू पार्टी संस्थापन पक्ष हो ।

हुन पनि द्वय महामन्त्री विशेष महाधिवेशनबाट दायाँबायाँ नगर्ने चट्टानी अडानमा छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनालाई कुल्चिएर अघि बढ्न कदापी नसकिने उनीहरूको भनाइ छ ।  यस्तोमा संस्थापन पक्ष पार्टी विभाजनको जोखिम बढ्ने भन्दै उनीहरूलाई रोक्न खोजिरहेका छन् ।

यहीबीच हालै बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ र वैशाखको अन्तिम साता महाधिवेशन गर्ने नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

यद्यपि, पार्टी विभाजन गर्न खोजेको आरोपले द्वय महामन्त्रीलाई लपेटेको छ । उनीहरूले विगत केही दिनयता पार्टी विभाजन हुँदैन र गर्न खोजिएको होइन भन्दै स्पष्टीकरण दिनुपरेको छ ।

सोमबार मात्रै महामन्त्री शर्माले भनेका छन्, ‘पार्टी विभाजन होइन, विधान महाधिवेशनले पार्टी थप मजबुत हुन्छ ।’

कार्यसम्पादन समिति बैठकमा महामन्त्री शर्माले आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरिँदा फरक मत राखेका थिए । फरक मत राख्‍ने अर्का महामन्त्री गनन थापा पनि थिए ।

तर, कार्यसम्पादन समितिको बहुमतले कार्यतालिका संशोधन गरेर महाधिवेशन पर चार महिना पछि धकेलिदियो । महामन्त्रीद्वय भने जसरी पनि विशेष महाधिवेशन गर्ने सुरमा छन् ।

यदि, त्यसो गरे पार्टी विभाजन हुने सभापति शेरबहादुर देउवानिकट नेता कृष्णप्रसाद सिटौलाले बताए । त्यही भएर विशेष महाधिवेशन नहुने र हुन नदिइने उनको भनाइ छ ।
सोमबार पत्रकारहरूसँग काठमाडौंमा भने, ‘विशेष महाधिवेशन हुँदैन । हुन दिँदैनौं । कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौँ ।’

उनले महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन पनि आग्रह गरे । यसअघि महामन्त्रीद्वयले भने विशेष महाधिवेशनका लागि भृकुटीमण्डप बुक गरेको विवरण सार्वजनिक भएको थियो ।

कांग्रेसको त्यो दुई विभाजन

नेपाली कांग्रेस प्रजातन्त्र स्थापनापछिको एकाध वर्षमै विभाजित भयो । पार्टीलाई विभाजनमा धकेलेको मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बन्दा हो । उनी २००८ सालमा प्रधानमन्त्री भए ।

भनिन्छ, उनी प्रधानमन्त्री भएको राजा त्रिभुवन र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको चाहनाअनुसार थियो । खासमा त्यसबेला प्रधानमन्त्री बन्ने बीपीको चाहना थियो । उनी असफल भए ।

त्यसपछि पार्टीमा दाजु मातृका र भाइ बीपीबीच अन्तरसंघर्ष चुलियो । बीपीको अडान थियो– ‘मातृकाले पार्टी सभापति छाडेर प्रधानमन्त्री मात्रै हुुनुपर्छ ।’ मात्रिकाले अस्वीकार गरे ।

यसबीच २००९ को जेठमा भएको पार्टीको पाँचौँ महाधिवेशनबाट सभापति बीपी निर्वाचित भए । साउनको ८ गते पार्टीबाट प्रधानमन्त्री भएका मातृकासहित सबै मन्त्रीलाई फिर्ता बोलायो ।

तर, मातृकाले प्रधानमन्त्रीबाट राजीनामा दिए न त मन्त्रीहरूले नै । यसपछि ११ साउनमा मातृकासहित कांग्रेसबाट मन्त्री भएकाहरूलाई बीपीले तीन वर्षसम्मका लागि क्रियाशील सदस्यता नरहनेगरि निलम्बन गरे ।

त्यसपछि मातृकाले आफ्नो नेतृत्वमा २१ भदौमा ‘नेपाली कांग्रेस तदर्थ समिति’ गठन गरे । यो नै कांग्रेसको पहिलो विभाजन थियो । पहिलाे कांग्रेस विभाजक मातृका बने ।

यसपछि कांग्रेसलाई विभाजन गर्ने शेरबहादुर देउवा भए । उनले २०५९ को असार ५ गते पार्टी विभाजन गरे । त्यसबेला उनी प्रधानमन्त्री थिए भने पार्टी सभापति गिरिजाप्रसाद कोइराला ।

उनीहरूबीच संकटकालको म्याद थपको विषयमा मतभेद देखिएको थियो । जतिबेला देशमा माओवादी युद्ध उत्कर्षमा थियो । देउवा सरकारले त्यस वर्षको ३ जेठमा थप छ महिना संकटकाल लगाउने प्रस्ताव दर्ता गर्‍यो ।

त्यसपछि प्रधानमन्त्री देउवालाई स्पष्टीकरण सोध्‍ने काम भयो । देउवाले स्पष्टीकरण दिए । तर, चित्त नबुझेको भन्दै उनलाई सभापति कोइरालाले १२ जेठमा पार्टीबाट तीन वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरे ।

यसको पृष्ठभूमिमा देउवाले सोही वर्ष नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । यसरी कांग्रेस औपचारिक रूपमा दोस्रोपटक विभाजित भयो ।

ओलीको स्थान हद फुकुवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ । सोमबार भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनलाई तोकेको स्थान हद फुकुवा गरेको हो । यसअघि उनलाई विदेश जान र अनुमति बिना काठमाडौं छाड्न रोक लगाएको थियो ।

 

 

अन्तरिम सरकार पनि पुरानै राजनीतिक संस्कारमा : अध्यक्ष खनाल

काठमाडौं । समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुरानै राजनीतिक पार्टीहरूको गलत संस्कारलाई पुनर्जीवित गर्ने प्रयास गरेको आरोप लगाएका छन् । सोमवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकार स्वयं र राजनीतिक दलहरुले जेनजी युवा पुस्तालाई विभाजित पार्ने काम गरिरहेको बताए ।

अध्यक्ष खनालले जेनजी विद्रोहले उठाएका मागहरूलाई संस्थागत गर्ने विषयमा सरकार तथा राजनीतिक शक्तिहरुले कुनै चासो नदिएको आरोप पनि लगाए । उनले अगामी निर्वाचनमार्फत नयाँ भनिएका राजनीतिक समूहहरूलाई समेत समेटेर समुन्नत नेपालको यात्रा तय गर्ने आफ्नो प्रयास रहेको पनि बताए । उनले मुलुकमा बाहिरबाट आयात गरिएका राजनीतिक वादहरू आवश्यक नरहेको स्पष्ट पार्दै पुँजीवाद, साम्यवाद वा संविधानमा उल्लेखित समाजवादउन्मुख अवधारणाको व्यावहारिक कार्यान्वयन नदेखिएको टिप्पणी गरे ।

उनले भने, ‘अन्तरिम सरकारले पनि पुरानै राजनीतिक पार्टीहरुको गलत संस्कारलाई पुनर्जीवित गर्ने खालको अवस्था र जेन–जी युवा पुस्तालाई पनि कोही तेरो कोही मेरो भन्ने अवस्था सिर्जना गरियो । जेन–जी विद्रोह र त्यसले उठाएका मागहरुलाई संस्थागत गर्न विषयमा त फेरी कुनै चासो छैन । त्यसकारण अन्तिम समयसम्म पनि मैले नयाँ भनिएकाहरुलाई पनि सँगै लिएर जाउँ र समुन्न नेपालको यात्रा तय गरौँ भन्ने थियो । कुनैपनि बाहिरका वादहरु पनि यहाँ जरुरत भएन ।’

उनले भने, ‘कसैले पुँजीवादको कुरा गर्न लाग्यो, कसैले साम्यवादको कुरा गर्न लाग्यो । संविधानमै समाजवादउन्मुख भनिएको पनि छ । तर यसका बेन्चमार्क चाँही के त ? तर यी सबै सिद्धान्तहरु कार्यान्वयन भएका छन् त ? हामीले खोजेको त क्वालिटी अफ लाइफ होला नि । यी सबै विषयहरु सम्बोधन हुन सकेनन् । त्यसकारण मुलुकमा तिब्र गतिमा विकासका कामहरु अघि बढाएर समुन्नत राष्ट निर्माणका लागि सबैले लाग्नुपर्ने आवश्यकता छ ।’ उनले विकासका कामहरू तीब्र गतिमा अघि बढाएर समुन्नत राष्ट्र निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता रहेको जिकिर गरे ।

 

 

आफू निकट विशेष महाधिवेशन पक्षधरसँग शेखर कोइरालाको छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि मध्यमार्गी विकल्पको खोजीका लागि नेताहरू खटाएका छन् । संस्थापन पक्षले नियमित महाधिवेशनको कार्यतालिका पछि धकेलेपछि महामन्त्रीहरू विशेष महाधिवेशनको तयारीमा जुटेपछि उनले मध्यमार्गी विकल्पको खोजीका लागि आफू नकिट नेताहरूलाई खटाएका हुन् । विधानअनुसार विशेष महाधिवेशन बोलाउनु पर्ने र विशेषको औचित्य समाप्त भइसकेको अडानका कारण कांग्रेसमा विवाद चर्किएको छ ।

नेता कोइरालाले सोमबार बिहान बसुन्धरास्थित निवासमा आफू निकट (विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेकासहित) नेताहरूसँग सम्भावित मध्यमार्गी विकल्पबारे छलफल गरेका छन् । छलफलमा सहमहामत्रीद्वय बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, हस्ताक्षर अभियानको नेतृत्व गर्नेमध्येका देवराज चालिसेलगायतको सहभागिता थियो । ‘के भनेर विशेष महाधिवेशन पक्षधर साथीहरूलाई मनाउन सकिन्छ भनेर बिहान हामीहरूलाई बोलाउनु भएको थियो,’ छलफलमा सहभागी नेता पोखरेलले भने, ‘दाइले बिहानै आफ्नो निटककालाई बोलाएर अब के गरेर जान सकिन्छ भनेर परिचालन गर्नु भएको छ ।’

नेता कोइरालासँगको छलफलपछि चालिसे हस्ताक्षरका लागि अभियान सञ्चालन गरेका नेताहरूसँग परामर्शमा जुटेको पोखरेलले जानकारी दिए । ‘देवराजजी आफ्नो टिमसँग छलफल गर्दै हुनुहुन्छ,’ नेता पोखरेलले भने, ‘शेखर दाइले हामीहरूलाई पनि कसरी मिलाउन सकिन्छ भनेर संवाद गर्न लगाइरहनुभएको छ । एकछिन पछि देवराजजी र हामी फेरि भेट्छौं ।’ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७–२८ का लागि गरेको विशेष महाधिवेशनको आह्वानको विपक्षमा उभिएका नेता कोइरालाले आफू निकट विशेष महाधिवेशन पक्षधरलाई मनाउने प्रयास गरिरहेका छन् । पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले २०८३ वैशाख २८–३१ का लागि नियमित महाधिवेशन तोकेपछि विशेष महाधिवेशन पक्षधर नेतालाई पार्टीको निर्णय बाहिर नजान कोइरालाको सुझाव छ ।

 

 

 

जाँचबुझ आयोगले बालेनलाई बोलायो बयानमा

काठमाडौं । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई बयानका लागि बोलाएको छ । तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतको बयान लिइसकेको आयोगले जेनजी प्रतिनिधि सुदन गुरुङ, पुरुषोत्तम यादव लगायतलाई पनि बोलाएर बयान लिइसकेको छ । मेर शाह मात्रै बाँकी रहेकोमा आयोगले उनलाई बयानमा बोलाएको हो ।

आयोगले बयानमा बोलाएको शाहका स्वकीय सचिव भुपदेव शाहले जनाएका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला उनले अप्रत्यक्षरुपमा सहयोग पुर्‍याएका थिए । भदौ २३ को आन्दोलनमा काठमाडौँ महानगरले पानी वितरण गरेको थियो ।
त्यस्तै २४ गते तत्कालीन प्रधानमन्त्री लगायतले राजीनामा दिइसकेको भन्दै जेनजीलाई आन्दोलनबाट फर्किन फेसबुकमार्फत आह्वान गरेका थिए । त्यस्तै बालेने नयाँ सरकार गठन गर्ने सन्दर्भमा जेनजीहरुलाई सेनासँग वार्ता गर्न र प्रतिनिधि सभा विघटनलाई सर्त राख्न आग्रह गरेका थिए । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गर्नमा पनि उनकै हात रहेको बताइन्छ ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन तीव्र बन्दै जाँदा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि दुई फरक निकायको अनुसन्धानको केन्द्रमा परेका छन् । एकातर्फ घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले ओलीलाई औपचारिक बयानका लागि पत्र पठाएको छ भने अर्कोतर्फ राष्ट्रिय मानवअधिकार आयोगले समेत ओलीसँग प्रत्यक्ष बयान लिइसकेको छ । लेखकको बयान सकिएपछि आयोगले अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्राचार गरेको हो । सार्वजनिक रूपमा ‘म बयान दिन जान्नँ, किन जानु ?’ भन्दै आएका ओलीलाई आयोगले औपचारिक प्रक्रियामार्फत उपस्थित हुन आग्रह गरेको हो ।

आयोगले लेखकसहित सुरक्षा निकायका उच्च अधिकारीहरू, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग यसअघि नै बयान लिइसकेको छ । सरकारले असोज ६ गते गठन गरेको उक्त आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । सुरुमा तीन महिनाको समय पाएको आयोगले तोकिएको अवधिमा काम नसकिएपछि एक महिना थप समय पाएको छ । यता, राष्ट्रिय मानवअधिकार आयोगले भने भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा पूर्व प्रधानमन्त्री ओलीसँग बयान लिएको छ । मानवअधिकार आयोगले यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पनि बयान लिइसकेको थियो । आयोगका अनुसार आन्दोलनका क्रममा राज्य पक्षबाट भएका कदम, सुरक्षा व्यवस्थापन र त्यसले पारेको प्रभावबारे विस्तृत अध्ययन भइरहेको छ ।

 

 

निर्वाचन सुरक्षाका लागि कसले कति बजेट पाए ?

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन आउन अब ५९ दिन बाँकी छ ।  निर्वाचन आयोगले चुनावको तयारी तीब्र पारेको छ ।

मतपत्र छपाई, मतपेटिका तयारीसँगै बन्दाेबस्तीलगायतका काम पनि लगभग सकिएकाे निर्वाचन आयोगले जनाएकाे छ ।

दलहरूले बुझाएको समानुपातिकतर्फको बन्दसूची अध्ययन गर्ने काम गरिरहेको छ । यसबाहेक  नेपाल सरकारले निर्वाचन सुरक्षाका लागि सुरक्षा निकायहरूका लागि बजेट छुट्याएको ‌ छ ।

हेर्नुहाेस् कसले कति  बजेट पाए ?

नेपाल प्रहरी

नेपाल प्रहरीले फागुन २१ को चुनावमा सुरक्षाको शिर्षकमा १ अर्ब ५४ करोड ३३ लाख ९८ हजार ५७० रुपैयाँ बजेट पाएको हो। नेपाल प्रहरीले १२ करोड भन्दा बढी बजेट माग गरेको थियो । जसमा निर्वाचन प्रहरी(म्यादी) को लागी पनि बजेट माग गरिएको थियो । निर्वाचन प्रहरी र नेपाल प्रहरी गरी अर्थले दुई प्रहरीका निकायलाई अर्थले ८ अर्ब ६७ करोड ५९ लाख ८७ हजार ५७० रुपैया बजेट स्वीकृत गरेको हो ।

नेपाल प्रहरीको बजेटका शिर्षकहरु:

पोसाक-  रु. ३७,५०,०००।- 

पानी-  रु. ९३,७५,०००।-

बिजुली-  रु. ३१,२५,०००।-

इन्जीन-  रु‍‍‍‍‍. ११,८७,८७,५००।- 

सवारी मर्मत- रु. ६,२५,००,०००।-

मेसिनरी औजार मर्मत- रु. २१,००,०००।-

मसलन्द- रु. १,५९,३७,५००।-

इन्धन(अन्य)- रु. ८०,५०,०००।-

अनुगमन- रु ५८,१२,५००।-.

भ्रमण खर्च- रु. ९२,७४,६५,०००।-

विविध खर्च- रु. ९,२७,४६,२५०।-

औषधी खरिद- रु. ६२,५०,०००।-

सवारीसाधन भाडा- रु. २८,७५,००,०००।- 

निर्वाचन प्रहरी

चुनाव केन्द्रीत रहने गरी गठन गरीने प्रहरीको दस्ता निर्वाचन प्रहरीले २१ फागुनको चुनावको लागि ७ अर्ब १३ करोड २५ लाख ८९ हजार बजेट पाएको छ ।  यो चुनावी खर्चको लागि कुनै शिर्षकमा विनियोजन भएको बजेटमध्ये सबैभन्दा धेरै हो । एक लाख ३३ हजार म्यादी प्रहरी भर्नासहित नेपाल प्रहरीबाट खर्च हुने गरी निर्वाचन प्रहरीका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रूपैयाँको बजेट स्वीकृत गरेको हो । यसअघि म्यादी प्रहरी भनिएपनि यसपटकबाट नाम परिवर्तन गरी निर्वाचन प्रहरी बनाइएको हो । 

सशस्त्र प्रहरी

त्यस्तै, सुरक्षा संयत्रको अर्को दस्ता सशस्त्र प्रहरीको नाममा  निर्वाचन सुरक्षाको शिर्षकमा अर्थ मन्त्रालयले ६५ करोड २५ लाख ३४ हजार बजेट विनियोजन गरेको छ । सशस्त्र प्रहरी बलको लागि ४ अर्ब १८ करोड बजेट माग भएको थियो । सशस्त्रले पाएको बजेटका शिर्षकहरु:

पानी तथा बिजुली- रु. ५०,००,०००।-

सञ्चार- रु. १५,००,०००।-

पोसाक- रु. १२,५००,०००।-

इन्धन- रु. ८,०६,४६,०००।-

सवारीसाधन मर्मत- रु. २०,००,०००।-

मसलन्द- रु. ५०,००,०००।-

अनुगमन- रु. २८,८८,०००।-

भ्रमण खर्च- रु. ३१,५०,००,०००।-

औषधी खर्च- रु. ३१,२५,०००।-

सवारी भाडा- रु. १७,८१,२५,०००।-

विविध खर्च- रु. ४,००,००,०००।-

अनुसन्धान विभाग

अनुसन्धान विभागले निर्वाचन सुरक्षाका नाममा ५ करोड ८५ लाख ६५ हजार बजेट पाएको छ । अनुसन्धान विभागले निर्वाचन खर्चका लागि ६ करोडभन्दा बढी बजेटको माग गरेको थियो ।  अनुसन्धान विभागले पाएको बजेटका शिर्षकहरु:

इन्धन- रु. ४९,६९,०००।-

भत्ता- रु. २,२६,३५,०००।-

सवारीसाधन मर्मत- रु. २२,९५,०००।-

अनुगमन- रु. ८,६३,०००।- 

भ्रमण- रु.१,४२,७४,०००।-

सवारी भाडा- रु. १५,४७,०००।-

मसलन्द- रु. २२,५२,०००।- 

सञ्चार- रु.१२,३०,०००।-

विविध- रु. ८५,००,०००।-

 

यता, गृहमन्त्रालयले भने निर्वाचन सुरक्षा शिर्षक अन्तर्गत १६ करोड ७१ लाख ४० हजार बजेटको स्वीकृति पाएको छ।  गृहले प्रदेश र जिल्ला स्तरसम्मै हेर्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग ३१ करोड ५४ लाख बजेट माग गरेको थियो।  तर अर्थले गृहले माग गरेको करीब आधा मात्रै बजेट स्विकृत गरेको छ ।  गृहले पाएको बजेटका शिर्षकहरु:

बैठक भत्ता- रु. ३२,००,०००।-

सञ्चार शुल्क- रु. ९,४०,०००।-

इन्धन- रु. ३०,००,०००।-

अन्य भत्ता- रु. १५,००,००,०००।-

विविध- रु. १,००,००,०००।-

 

निर्वाचन सुरक्षाका लागि देशैभरका जिल्ला प्रशासन कार्यालयहरुले ३ करोड ८ लाख बजेट पाएका छन् । जिल्ला प्रशासन कार्यालयका लागि गृहले नै ३१ करोड भन्दा बढी बजेट माग भएको थियो । तर अर्थ मन्त्रालयले भने ३१ करोडको करीब १० भाग कम ३ करोड ८ लाख बजेट मात्रै स्विकृत गरेको हो । जिल्ला प्रशासन कार्यालयहरुले पाएको बजेटका शिर्षकहरु:

इन्धन- रु. २८,८७,५००।-

अनुगमन- रु. ४८,१२,५००।- 

मसलन्द- रु. ७७,००,०००।-

सवारी मर्मत- रु.  ७७,००,०००।-

विविध- रु. ७७,००,०००।-

गृह मन्त्रालयले समग्र निर्वाचनका लागि अर्थ मन्त्रालयसँग करीब १७ अर्ब भन्दा बढीको बजेट माग गरेको थियो।  तर अर्थले गृहले माग गरेको बजेटको करीब आधा जति बजेट निर्वाचन सुरक्षाका नाममा स्वीकृत गरेको छ । गृहले मागेकोको बजेटमा पाएको बजेट करीब ६० प्रतिशत मात्रै हो। 

यता निर्वाचन आयोगले भने अर्थ मन्त्रालयसँग ७ अर्ब ३१ करोड बजेट माग गरेको थियो।  जसमा निर्वाचन आयोगले  ६ अर्ब ७३ करोड रूपैयाँ स्विकृत गरेको छ।  यो निर्वाचन आयोगले माग गरेको बजेटको करीब ९१ प्रतिशत बजेट हो।  सुरुमा करीब ५ अर्ब बजेट निर्वाचन आयोगलाई दिने भन्ने प्रारम्भिक छलफल गरेको थियो।  तर उक्त बजेटमा निर्वाचन आयोगले चुनाव गराउन नसक्ने बताएपछि अर्थले बजेट बढाएको हो । 

भेनेजुयलामाथि अमेरिकी आक्रमण चीनका लागि सुवर्ण अवसर

ट्रम्प प्रशासनले भेनेजुएलामाथि गरेको आक्रमणले चीनलाई संयुक्त राज्य अमेरिकाभन्दा अन्तर्राष्ट्रिय राजनीतिमा जिम्मेवार शक्तिका रुपमा  देखाउने अर्को अवसर दिएको छ। शनिबार अमेरिकाले काराकासमा आक्रमण गरे लगत्तै चिनियाँ विदेश मन्त्रालयले  चीन ‘गहिरो रूपमा स्तब्ध भएको’ र ‘कडा रूपमा निन्दा गर्दछ’ भनि अमेरिकी कदमको भत्सर्ना गरेको थियो । ‘एक सार्वभौम राष्ट्रविरुद्ध बलको खुला प्रयोग र त्यसका राष्ट्रपतिविरुद्धको कारबाही’लाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्‍घन भएको भनेर टिप्पणी समेत गरेको थियो ।

यो प्रतिक्रिया ट्रम्प प्रशासनले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति प्रकाशित गरेको एक हप्ता पनि नबित्दै बेइजिङले ल्याटिन अमेरिकासँगको सम्बन्धबारे प्रकाशित गरेको श्‍वेतपत्रसँग मेल खान्छ। अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले ल्याटिन अमेरिकामा अमेरिकी प्रभाव सुदृढ गर्ने प्राथमिकता दिएको थियो । यसमा चीनलाई संकेत गर्दै  ‘केही विदेशी पात्रहरू’ को प्रभाव कटौतिको मूल्यमा अमेरिकी प्रभाव सुदृढ गर्ने उल्लेख थियो ।

वास्तवमा, बेइजिङको श्‍वेतपत्रले उक्त क्षेत्रमा विशेषगरि ‘राष्ट्रिय सार्वभौमिकताको संरक्षण’ का लागि र ‘प्रभुत्त्ववाद तथा शक्ति राजनीति’ विरुद्ध लक्षित गरी आफ्नो सम्बन्ध विस्तार गर्ने व्यापक प्रयासहरूलाई रेखांकित गर्‍यो । चीनको यो प्राथमिकतालाई व्यापक रूपमा संयुक्त राज्य अमेरिकातर्फ लक्षित भनाइका रूपमा बुझियो।

बेइजिङले भेनेजुएलासँग र विशेषगरि राष्ट्रपति निकोलास मादुरोसँग ‘सबै मौसममा टिक्ने रणनीतिक साझेदारी’ कायम गर्दै आएको छ । यसको आधार मुख्यतः चीनमा तेलको आवश्यकता र भेनेजुएलामा लगानीको आवश्यकतामा रहेको छ। वास्तवमा, मादुरोले अमेरिकी सेनाद्वारा पक्राउ पर्नुभन्दा केही घण्टाअघि मात्र चीनका विशेष दूतसँग भेट गरेको देखिन्छ।

यसअनुसार, चीन भेनेजुएलामाथि अमेरिकाले गरेको आक्रमणको अन्तर्राष्ट्रिय निन्दामा सहभागी हुनेछ । सम्भवतः संयुक्त राष्ट्रसंघमा हुने कुनै पनि प्रतिक्रियामा अग्रणी भूमिका खेल्नेछ। यसबाट बेइजिङले विकासोन्मुख विश्‍वभरी मात्रै नभएर अमेरिकी सहयोगीहरूमाझ पनि वाशिङ्टनविरुद्ध कूटनीतिक अंक बटुल्ने अवसर उपयोग गर्नेछ।

केही टिप्पणीकारहरूले बेइजिङले भेनेजुएलामाथि आक्रमण गर्न अमेरिकाले प्रस्तुत गरेको तर्क र प्रयोग गरेको साधनलाई प्रयोग गरेर ताइवानमाथि पनि यस्तै आक्रमण गर्न सक्छ भन्‍ने सुझाएका छन्। तर, यो असम्भव छ । किनभने बेइजिङ धेरै प्रचलित टिप्पणीहरूको विपरीत ताइवानमाथि आक्रमण गर्दा आउने अन्तर्राष्ट्रिय लागत र निन्दा निम्त्याउने कुनै बहाना वा अवसर खोजिरहेको छैन ।

(पल हिर लेस्टर क्राउन सेन्टर अन यूएस फरेन पोलिसीका वरिष्ठ गैरआवासीय ‘फेलो’ हुन् ।)

सिंहदरबारमा मन्त्रिपरिषद बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको छ । सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ । चुनाव नजिकिँदै गरेकाले अब आचार संहिता लागू हुने र त्यसमा महत्वपूर्ण निर्णय गर्न सरकारलाई अनुमति हुँदैन् । त्यसकारण आज बस्ने मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गर्न सक्छ । स्रोतका अनुसार बैठकको एजेण्डाबारे खुलाइएको छैन ।

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता सविता भण्डारीले उक्त प्रतिवेदन पेस गरेकी हुन् ।

वार्षिक प्रतिवेदनमा सरकारी वकिल कार्यालयबाट सम्बन्धित तहको अदालतमा दायर रहेका मुद्दा, रिट तथा निवेदनमध्ये ७५ हजार १६५ थान फछ्र्यौट भएकामा सरकारको पक्षमा फछ्र्यौट प्रतिशत ६६.३४ रहेको छ । यस आर्थिक वर्षमा देशैभरका अनुसन्धान निकायमा दर्ता भएका नेपाल सरकार वादी भएका मुद्दासँग सम्बन्धित कसुरको संख्या ५९ हजार ३५५ रहेकामा सरकारी वकिल कार्यालयबाट नेपाल सरकार वादी भई ४२ हजार १०९ थान मुद्दामा ६६ हजार ३८२ जना व्यक्ति उपर मुद्दा चलाउने गरी निर्णय भएको छ ।

त्यस्तै, चार हजार ५४७ थान मुद्दामा चार हजार ८४१ जना व्यक्तिउपर मुद्दा नचलाउने निर्णय भएको प्रतिवेदनमा छ । त्यसैगरी महान्यायाधिवक्ताको कार्यालय तथा मातहत कार्यालयबाट कुल तीन हजार ७५ प्रतिवादी रहेको दुई हजार ६१२ थान मुद्दामा मिलापत्रको आदेश भएको छ । यस आवमा महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयहरूसँग ५२ वटा विषयमा कानुनी राय माग भएकामा ४७ वटा विषयमा राय प्रदान गरिएको छ । महान्यायाधिवक्ताको कार्यालय र मातहत कार्यालयबाट अदालतमा बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको जम्मा संख्या एक लाख २७ हजार ४०९ रहेको छ ।

नेपाल सरकार वादी भएका मुद्दाको संख्या एक लाख पाँच हजार ३६, नेपाल सरकारउपर दायर भएका रिटको संख्या १६ हजार ५१४ र अन्य निवेदनको संख्या पाँच हजार ८५९ रहेको छ । संख्या गत आर्थिक वर्षको भन्दा ३.९० प्रतिशतले कमी हो । नेपालको संविधानको धारा १५९ को उपधारा (१) मा महान्यायाधिवक्ताले प्रत्येक वर्ष संविधान र संघीय कानुनबमोजिम आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था रहेको छ ।

 

विशेष महाधिवेशन हुँदैन, हुन दिँदैनौं : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता नेता कृष्णप्रसाद सिटौलाले दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारीमा रहेको बताएका छन् । आज (सोमबार) पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै भएको बताएका हुन् ।

‘राष्ट्रिय सभामा रणनितीक तालमेल हुन्छ । प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन हो,’ उनले भने । राष्ट्रियसभा संसदीय दलका नेता समेत रहेका सिटौलाले पत्रकार सम्मेलन गरेर आजको कार्यसम्पादन समिति बैठकले टुंगो लगाउने बताए ।उनले भने, ‘कुन–कुन पार्टीसँग गठबन्धन हुने, क्लष्टर के हुने भन्नेमा आज टुंगो लाग्छ । आजको कार्यसम्पादन समितिमा छलफल हुन्छ । एक्लै लड्दा परिणाम नआउने भएकाले राष्ट्रियसभामा गठबन्धन गर्ने कुरा भएको हो ।

राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग साझा सहकार्य गर्न उपयुक्त हुन्छ । सबै दलहरूबीच तालमेल हुनु उपयुक्त हुन्छ भन्ने हो ।’कांग्रेसले एमाले, नेकपासँगै मधेशी मोर्चासँग पनि तालमेलका लागि छलफल गरिरहेको छ । उनले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा पनि गरे । ‘विशेष महाधिवेशन हुँदैन । हुन दिँदैनौं । कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं,’ उनले भने, ‘कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला । हामी त्यो हुन दिदैनौं ।’ विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन पनि सिटौलाले आग्रह गरेका छन् । ‘हस्ताक्षर गर्नेलाई काठमाडौ नआउन आग्रह गर्दछु । चुनावको तयारीमा लाग्न आग्रह गर्दछु’ उनले भने ।

 

रेशम चौधरीको आममाफीविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको कैद सजाय मिनहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीश डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यो मुद्दाको पेसी तोकिएको छ । गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १९ जनाको बाँकी कैद सजाय मिनहा गरेका थिए । सोही निर्णयअनुसार चौधरी १५ जेठ २०८० मा जेलमुक्त भएका थिए ।

टीकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहराकी श्रीमती शारदा कडायतले चौधरीको आममाफीविरुद्ध जेठ १६ गते सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । यसअघि जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीलाई आममाफी दिनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको थियो ।

त्यसयता पटक–पटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । सोही मुद्दामा तीन तहका अदालतले चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

 

फिलिपिन्समा पक्राउ परेका पाठकलाई नेपाल ल्याइँदै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरीका अधिकृतहरू फिलिपिन्स जाने भएका छन् । काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले १९ पुसमा फिलिपिन्सको मालोलोस शहरबाट पक्राउ गरेको थियो ।

स्रोतका अनुसार उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकलाई लिन प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना इन्स्पेक्टर जाने निर्णय भएको छ । भारत, इन्डोनेशिया हुँदै फिलिपिन्स पुगेका पाठकले सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर हाइप्रोफाइललाई धम्क्याउँदै आएका थिए ।

पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए । मंसिर १७ मा उपत्यका प्रहरी कार्यालयले धम्की दिइएका व्यक्तिहरूको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरेको थियो । प्रकाश पाठकसँग ‘कनेक्सन’ मा देखिएका धादिङ घर भएका शरणजंग शाही, सर्लाही घर भएका तोरण थापा मगर र बर्दिया घर भएका धीरेन्द्र सुनारलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो ।

 

 

म्यानमारको ७८ औं स्वतन्त्रतामा याङ्गुनमा बजार महोत्सव

काठमाडौं । म्यानमारको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा याङ्गुनमा सङ्गीत प्रदर्शनका साथै लघु, साना तथा मझौला उद्यम बजार महोत्सव आयोजना गरिएको छ । उद्घाटन समारोहमा बोल्दै याङ्गुन क्षेत्रका आर्थिक मामिला मन्त्री यु म्यो म्यिन्ट आङले सन् २०२२ देखि २०२५ सम्म याङ्गुनमा औद्योगिक र लघु, साना तथा मझौला उद्यमका उत्पादन प्रदर्शनीहरू १७ पटक आयोजना भइसकेको बताए ।

उनले यस्ता कार्यक्रमहरूले राज्य र क्षेत्रहरू बीचको सहयोग र व्यावसायिक सम्बन्धलाई सुदृढ बनाएको उल्लेख गरे । कार्यक्रमले उत्पादक र बिक्रेताहरूलाई निर्यातका लागि उपयुक्त गुणस्तरीय उत्पादनहरू विकास गर्न प्रोत्साहन गर्नुका साथै स्वदेशी लघु, साना तथा मझौला उद्यम व्यवसायहरूको वृद्धिलाई बढावा दिने रिपोर्टमा थपिएको छ ।

नयाँ शक्तिको दबाव : पुराना दल राष्ट्रिय सभादेखि प्रतिनिधिसभासम्म गठबन्धनको कसरतमा

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली राजनीतिमा पुराना दलहरूबीच पुनः सहकार्यको बहस तीव्र बनेको छ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने स्पष्ट संकेत गरेको छ भने प्रतिनिधिसभा निर्वाचनमा भने एक्लै मैदानमा उत्रिने रणनीति सार्वजनिक गरेको छ । उता, वैकल्पिक राजनीतिक शक्तिहरूको एकीकरणले दशकौंदेखि सत्ता केन्द्रमा रहेका दलहरूलाई थप दबाबमा पारेको देखिन्छ ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा निर्वाचनमा पार्टीले गठबन्धन गरेर अघि बढ्ने बताएका छन् । आइतबार काठमाडौंको जमलस्थित एक होटलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सभापति शेरबहादुर देउवाको निवासमा यसबारे छलफल भइसकेको र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट ठोस निर्णय आउने जानकारी दिए । उनका अनुसार कुन–कुन दलसँग तालमेल गर्ने भन्ने विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले संवाद गरिरहेका छन् ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस एक्लै जित्ने अवस्था नरहेकाले तालमेल आवश्यक भएको सिटौलाको भनाइ छ । तालमेलपछि कुन प्रदेश र कुन सिटमा कांग्रेसका उम्मेदवार हुने भन्ने विषय पनि तय गरिने उनले बताए । तर, फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने स्पष्ट पारे ।

राजनीतिक वृत्तमा भने यो घोषणालाई व्यापक सन्दर्भमा हेरिएको छ । गत भदौमा देखिएको ‘जेनजी’ आन्दोलनपछि बदलिएको राजनीतिक समीकरणले पुराना दलहरूलाई पुनः एक ठाउँमा उभिन बाध्य बनाएको विश्लेषण भइरहेको छ । वैकल्पिक शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरका मेयर बालेन साह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ समाहित भएपछि नयाँ शक्तिको मोर्चा थप सशक्त बनेको छ ।

यसको प्रत्यक्ष असर कांग्रेस, एमाले र माओवादी–एकीकृत समाजवादी जस्ता दलहरूमा परेको छ । एक्ला–एक्लै चुनावमा उत्रिँदा नयाँ शक्तिसँग प्रतिष्पर्धा गर्न कठिन हुने निष्कर्षसहित यी दलहरूभित्र ‘अघोषित महागठबन्धन’ को गृहकार्य भइरहेको बताइन्छ । विशेष गरी राष्ट्रिय सभा निर्वाचनलाई उनीहरूले आगामी आम निर्वाचनको ‘लिटमस टेष्ट’ का रूपमा लिएका छन् ।

रिक्त १८ सिटका लागि हुने राष्ट्रिय सभा निर्वाचनमा तीन ठूला दलबीच सहमति बने सातै प्रदेशमा उनीहरूको जित सहज हुने आँकलन छ । त्यसैले मनोनयन दर्ताको मिति नजिकिँदै गर्दा दोस्रो तहका नेताहरू साझा उम्मेदवार तय गर्न सक्रिय छन् । कांग्रेसका पूर्णबहादुर खड्का र रमेश लेखक, एमालेका शंकर पोखरेल तथा नेकपाका वर्षमान पुनबीच निरन्तर छलफल भइरहेको स्रोतहरू बताउँछन् । यसैबीच, अन्तरिम सरकारप्रति असन्तुष्टि पनि सतहमा आएको छ ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको गोप्य भेटमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निष्पक्ष चुनावी वातावरण बनाउन नसकेको निष्कर्ष निकालिएको बताइन्छ । सुरक्षा चुनौती बढिरहेका बेला नेताहरूको सुरक्षाकर्मी कटौती गरिएको र सरकार पक्षधर देखिएको विषयमा दुवै नेताबीच गम्भीर छलफल भएको जनाइएको छ । राजनीतिक सरगर्मीबीच प्रचण्ड आइतबार साँझ भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । सचिवालयले यसलाई पूर्व निर्धारित कार्यक्रम भने पनि चुनावको मुखमा भएको भ्रमणलाई चासोका साथ हेरिएको छ । तीन ठूला दलबीच सहकार्यको प्रयास, नयाँ शक्तिको उदय र सरकारप्रतिको असन्तुष्टिले आगामी निर्वाचनलाई थप रोचक र निर्णायक बनाउने संकेत देखिएको छ ।

 

 

सेनाको गाडी दुर्घटना, अमलदारको मृत्यु

सुर्खेत । मुगुमा नेपाली सेनाको बोलेरो जीप दुर्घटनामा चालकको मृत्यु भएको छ । छाँयानाथ रारा नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आलादुना खोलाको मोडमा ना. १ झ १०३९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भइ हनुमान ध्वज गुल्ममा अमलदार चालकका रुपमा कार्यरत हरिसिंह ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ । हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सेनाको सामान पुर्‍याउन गएको जीप फर्किने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी रबिराज थपलियाले जानकारी दिए ।

आइतबार साँझ करिब ७ बजेको समयमा जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेको खबर पाउने बित्तिकै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । बोलेरो सडकदेखि २ सय मिटर तल खसेको प्रहरीको भनाइ छ । ऐडीलाई उद्धार गरेर उपचारका लागि राति १० बजे नै मुगु अस्पताल लगिएको थियो । उनलाई उपचारको क्रममा सोमबार बिहान १ बजेर ३० मिनेटमा डाक्टरले मृत घोषणा गरेका हुन् । मृतक ऐडीको शव पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ । डीएसपी थपलियाले दुर्घटनाको कारण नखुलेको बताए । उनले सडकको भित्ता साइटबाट चलाइरहेको गाडी डिलतिर कसरी पुगेर दुर्घटनमा पुग्यो भन्ने विषयामा अनुसन्धान भइरहेको जानकारी दिए ।

 

भेनेजुएलाविरुद्धको अमेरिकी आक्रमणको चौतर्फी निन्दा र विरोध

काठमाडौं । ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा शनिबार नाटकीय रूपमा अमेरिकी हस्तक्षेप भएको छ । एक विशेष सैन्य अभियान सञ्चालन गर्दै अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई राजधानी काराकासबाटै नियन्त्रणमा लिएको छ ।

एक सार्वभौम राष्ट्रका राष्ट्रप्रमुखलाई नै नियन्त्रणमा लिने अमेरिकी कदमको विश्वभरबाट तीव्र निन्दा र चिन्ता व्यक्त गरिएको छ । घटना लगत्तै विभिन्न देशका नागरिकहरू अमेरिकी हस्तक्षेपको विरोधमा सडकमा उत्रिएका छन् । विश्लेषकहरूले यस घटनालाई ल्याटिन अमेरिकामा आफ्नो पूर्ण बर्चस्व कायम गर्ने अमेरिकी रणनीतिको उत्कर्षका रूपमा व्याख्या गरेका छन् ।

अमेरिकाले यो कारबाहीलाई ‘लागुऔषध ओसारपसार विरुद्धको अभियान’ दाबी गरे पनि यसको अन्तर्निहित उद्देश्य भने भेनेजुएलाको विशाल प्राकृतिक स्रोतमाथिको कब्जा नै रहेको देखिन्छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अभिव्यक्तिले पनि यसलाई पुष्टि गरेको छ, जहाँ उनले भेनेजुएलाको खनिज सम्पत्ति दोहन गर्ने मनसाय व्यक्त गरेका थिए ।

ह्युगो चाभेजको पालादेखि नै चिसिएको अमेरिका–भेनेजुएला सम्बन्ध यो घटनासँगै थप जटिल मोडमा पुगेको छ । अमेरिकाले लामो समयदेखि भेनेजुएलाको समाजवादी सरकारलाई ‘अधिनायकवादी’ को संज्ञा दिँदै कडा आर्थिक नाकाबन्दी लगाउँदै आएको थियो भने भेनेजुएलाले यसलाई ‘शासन सत्ता परिवर्तन गर्ने साम्राज्यवादी षड्यन्त्र’ भन्दै प्रतिवाद गर्दै आएको थियो । तेल र खनिज स्रोतमाथिको लुछाचुँडी नै यो द्वन्द्वको मुख्य जड रहेको भू–राजनीतिक जानकारहरूको मत छ ।

 

चार हजार ६०० रूपैयाँ बढ्यो सुनको भाउ

काठमाण्डाैँ । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य  चार हजार ६ सय रूपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। 

आइतबार तोलामा चार हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार ६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। 

‘संख्यामा मात्र होइन, भावनामा विस्तार हुँदै नेपालको पर्यटन’

काठमाडौं । नेपाल पर्यटन बोर्डले हालै आफ्नो २७ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा सार्वजनिक तथ्यांकहरूले सन् २०२५ मा नेपाल भित्रिने पर्यटकको संख्या र उनीहरूको बसाइ अवधि दुवैमा वृद्धि भएको देखाएको छ । तर यो उत्साहजनक तथ्यांकको पछाडि अंकगणित मात्र छैन, नेपालको पर्यटन क्षेत्रलाई समावेशी र दिगो बनाउन थालिएको एक ‘मौन क्रान्ति’ पनि लुकेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित ‘दिगो पर्यटन परियोजना’ ले परम्परागत पर्यटनको परिभाषा बदल्दै समावेशीताको नयाँ बाटो कोर्न सफल भएको हो ।

गन्तव्यको विकेन्द्रीकरण : सगरमाथा भन्दा पर
विगत लामो समयदेखि नेपालको पर्यटन सगरमाथा (एभरेस्ट बेस क्याम्प) र अन्नपूर्ण सर्किटजस्ता स्थापित गन्तव्यहरूमा मात्र केन्द्रित रहँदै आएको थियो । तर दिगो पर्यटन परियोजनाले अब पर्यटनलाई विकेन्द्रित गर्ने रणनीति लिएको छ । परियोजना प्रमुख धर्म दवाडीका अनुसार अब चल्तीका पदमार्गमा मात्र निर्भर नभई ओझेलमा परेका तर उच्च सम्भावना बोकेका गन्तव्यहरूको विकासमा जोड दिइएको छ । ‘हामीले अपि, मनास्लु र कञ्चनजङ्घा जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर तिनका पदमार्ग र सेवा सुविधाको स्तरोन्नति गरिरहेका छौँ ।’ दवाडी भन्छन्, ‘राष्ट्रिय स्तरका पदमार्गहरूको दायरा फराकिलो बनाउनु आजको आवश्यकता हो ।’

५० करोडको ‘अदृश्य बजार’ र बहिरा गाइड
परियोजनाले विश्व पर्यटन बजारमा रहेको ठूलो ‘ग्याप’ र सम्भावनालाई पहिचान गरेको छ । तथ्यांकअनुसार विश्वमा करिब ५० करोड मानिसहरू बहिरा वा सुस्त श्रवण शक्ति भएका छन् । भाषा र संवादको कठिनाइले खुम्चिएर बसेको यो विशाल जनसंख्यालाई आकर्षित गर्न नेपालले दक्षिण एसियामै उदाहरणीय पहल गरेको छ ।

परियोजनाले नेपालमै पहिलो पटक ‘बहिरा ट्रेकिङ गाइड’ उत्पादन गरेको छ । ‘संसारका ५० करोड बहिरा जनसंख्यामध्ये केही अंश मात्रै नेपाल भित्र्याउन सकियो भने पनि हाम्रो वार्षिक लक्ष्यमा २ देखि ४ लाख पर्यटक थप्न सकिन्छ।’ परियोजना प्रमुख दवाडी बताउँछन् । काठमाडौं र पोखरामा केन्द्रित रहेर बहिरा युवाहरूलाई ट्रेकिङ गाइड मात्र नभई बरिस्टा (कफी बनाउने) र हस्तकलाको तालिम दिएर आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ । यसले एकातिर रोजगारी सिर्जना गरेको छ भने अर्कोतिर विश्व समुदायमा नेपाललाई ‘बहिरा–मैत्री’  गन्तव्यका रूपमा चिनाउँदै छ ।

ह्विलचियरमा कला र इन्द्रेणी पर्यटन
समावेशीताको यो अभियानमा शारीरिक रूपमा फरक क्षमता भएका र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पनि पर्यटनको मूलधारमा ल्याइएको छ । ह्विलचियर प्रयोगकर्ताहरूलाई ‘कन्टेम्पररी आर्ट’ (समकालीन कला) को तालिम दिइएको छ, जसले गर्दा उनीहरू पर्यटकीय गन्तव्यमै बसेर लाइभ आर्ट सिर्जना गरी आम्दानी गर्न सक्ने भएका छन् । ‘हाम्रा पर्यटकीय गन्तव्यहरूमा उनीहरू बसेर आर्टमार्फत स्वरोजगार बन्न सक्छन् भन्ने विचारले यो कार्यक्रम ल्याइएको हो र यसको नतिजा असाध्यै सुखद देखिएको छ’ दवाडीले भने । त्यस्तै, सीमान्तकृत मानिने लैंगिक अल्पसंख्यक समुदायलाई पनि पर्यटनमा सम्मानजनक स्थान दिने प्रयास परियोजनाले गरेको छ ।

दक्ष जनशक्ति र एकीकृत विकास
युवा जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा परियोजनाले नेपालमै अवसर सिर्जना गर्न र्‍याफ्टिङ गाइडहरूको क्षमता अभिवृद्धि र लाइसेन्सिङमा सहजीकरण गरेको छ । साथै, राष्ट्रिय निकुञ्जका नेचर गाइडहरूलाई ‘वाइल्डलाइफ फोटोग्राफी’ को तालिम दिएर पर्यटकको बसाइ लम्ब्याउने रणनीति लिइएको छ ।

पर्यटनलाई तल्लो तहदेखि नै बुझाउन देशका १ सय ५० भन्दा बढी स्कुल र कलेजमा ‘दिगो पर्यटन क्लब’ गठन गरिएका छन् । अपि हिमालजस्ता दुर्गम क्षेत्रमा केवल बाटो बनाएर मात्र नभई, स्थानीयलाई उद्यमशीलता, उद्धार र प्राथमिक उपचारको तालिम दिएर ‘एकीकृत प्याकेज’ मा काम भइरहेको छ । यसले गन्तव्यलाई सुरक्षित र भरपर्दो बनाउन मद्दत पुर्‍याएको छ । पर्यटन बोर्ड र यूएनडीपीको यो सहकार्यले पर्यटन केवल घुमघाम मात्र नभई सामाजिक न्याय र आर्थिक रूपान्तरणको माध्यम हो भन्ने पुष्टि गरेको छ । अपाङ्गता भएका, सीमान्तकृत र स्थानीय समुदायको मुस्कानमा नै अबको ‘समृद्ध नेपाल’ को तस्बिर कोरिएको छ ।

उपत्यकाका तीन मालपोत प्रमुख हटाइए

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका मुख्य तीन मालपोत कार्यालयका प्रमुखहरूलाई सरकारले जिम्मेवारीबाट हटाएको छ । सेवाग्राहीको अत्यधिक चाप हुने ललितपुर, भक्तपुर र काठमाडौंको चाबहिल मालपोत कार्यालयका प्रमुखहरूलाई एकसाथ सामान्य प्रशासन मन्त्रालयमा तानिएको हो ।

भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले केही दिनअघि ती कार्यालयहरूमा गरेको छड्के अनुगमनपछि यो ‘एक्सन’ लिइएको बुझिएको छ । मन्त्रालय स्रोतका अनुसार, अनुगमनका क्रममा कार्यालय प्रमुखहरूले बिचौलियासँग साँठगाँठ गरी सेवा प्रवाहमा ढिलासुस्ती गरेको र अनियमिततालाई प्रश्रय दिएको पाइएपछि उनीहरूको सरुवा गरिएको हो ।

जिम्मेवारी खोसिएर मन्त्रालय तानिनेहरूमा ललितपुर मालपोतका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र चाबहिल मालपोतका दीपेन्द्र खत्री रहेका छन् । उनीहरू केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री बलराम अधिकारीको कार्यकालमा ती कार्यालयमा नियुक्त भएका थिए । मालपोत कार्यालयहरूमा बिचौलियाको बिगबिगी रहेको र त्यसमा कर्मचारी संयन्त्रकै मिलेमतो हुने गरेको जनगुनासो लामो समयदेखि आउने गरेको थियो ।