Author: nepalone
किन चिसियो बालेन–हर्कको सम्बन्ध ?
काठमाडौं । जेनजी आन्दोलनले राजनीतिमा ल्याएको ‘उलटफेर’ सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच एकाएक सम्बन्ध चिसिएको छ । स्थानीय तहको निर्वाचनदेखि नै एक–अर्कालाई समर्थन, सहयोग, कामको प्रशंसा र काम गर्ने शैलीको तारिफ गर्दै आएका उनीहरुबीच केहि दिनअघिदेखि फाटो मात्र देखिएको छैन, सार्वजनिक रुपमै घोचपेच बढेको छ । जेन–जी युवाहरूले आश गरेका दुई चर्चित अनुहार बालेन र हर्कको झगडा सामाजिक सञ्जाल दिनहुँ बढ्दै गएको छ । उनी विस्तारै आरोपको तहमा उत्रिन थालेका छन् ।
दुई दिनको जेनजी आन्दोलनपछि देशकै प्रधानमन्त्री बन्छु भन्दै काठमाडौँ भित्रिएका मेयर साम्पाङ प्रधानमन्त्री बन्न नपाएपछि रिसाएका छन् । उनी सामाजिक सञ्जाल फेसबुकमा निरन्तर बालेनलक्षित स्टाटसको वर्षा गराइरहेका छन्, त्यो पनि आरोपसहित । १० लाख बढी फलोअर्स रहेको ‘हर्क साम्पाङ अ रिभोलुसन’ नामको पेजबाट साम्पाङले दैनिक दर्जन स्टाटस लेख्ने गरेको देखिन्छ । हर्कको लगातारको सामाजिक सञ्जालको आक्रमणपछि बालेनले पनि उहि शैलीमा जवाफ फर्काउन थालेका छन् ।
जेन–जी प्रदर्शन लगत्तै संसद् विघटनपछि नयाँ बन्ने अन्तरिम सरकारमा साम्पाङ प्रधानमन्त्री बन्ने चाहनासहित काठमाडौं आएका थिए । उनलाई प्रधानमन्त्री बन्छु भन्ने ठुलो आशा थियो । उनले सामाजिक सञ्जालमा व्यक्त गरेका स्टाटसले पनि यसलाई पुष्टि गर्छ । २५ भदौमा काठमाडौं आएका उनी २८ भदौमा धरान फर्किए । अन्तरिम सरकार बनाउन नेपाली सेनाले विभिन्न व्यक्तिसँग छलफल गरेको थियो । त्यसमा उनी पनि सामेल थिए । उनले आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने दाबी गर्दै आइरहेका थिए ।
यो अन्तरिम सरकारमा अर्कैलाई प्रधानमन्त्री बनाउन बालेनले भूमिका खेलेकोप्रति साम्पाङले असन्तुष्टि जनाउँदै आएका थिए । अन्ततः सुशीला कार्की प्रधानमन्त्री बनेपछि उनी आक्रोशित बन्दै बालेनलक्षित टिप्पणी जनाउन थाले । तीन दिनयता साम्पाङले बालेनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गाली गर्दैै सामाजिक सञ्जालमा कैयौँ पोस्ट गरेका छन् । मंगलबार साम्पाङले मेयर बालेनलाई लक्षित गर्दै भनेका छन्, ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन ।’
साम्पाङले सोमबार पनि बालेनलक्षित स्टाटस लेखे, ‘को हो त्यो भित्र बसेर खेल्ने ? बरु बाहिरै आएर भिड्न रेडी बन् !’ उनले आफूले नचाहेको पद दिन खोजेको, तर चाहेको पद दिन नखोजेको पनि बताएका छन् । ‘मलाई पदको लोभी भन्नेलाई के थाहा देश दनदनी जलिरहेका वेला, सबै डराएर घरभित्र लुकेर बसेका वेला पाँच सय किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिनु खोजेको हुँ मैले ! खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालय दिँदा पनि छाडेर नलिएको मान्छे हुँ म,’ साम्पाङले सोमबार फेसबुकमा लेखेका छन्, ‘हिजो सिंहदरबारमा आगो लगाइदिन्छु, जलाइदिन्छु भन्ने, साँच्चै जलाइदिने र अहिलेको गृहमन्त्रीबीचमा कुनै सम्बन्ध छ कि संयोग मात्रै हो ।’
पछिल्लो समय आफूप्रति साम्पाङले सामाजिक सञ्जालमार्फत निरन्तर रिस पोखिरहेका वेला बालेन भने केहि नरम नै छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत साम्पाङलाई विनम्रता व्यक्त गर्दै स्टाटस लेखेका छन् । ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो, युआर माई ट्रु लभ ।’
यसपछि बानेनको खासै अन्य स्टाटस आएका छैनन् । तर साम्पाङका स्टाटसको वर्षा रोकिएको छैन । ‘देश जलाएर खरानीको व्यापार ! विदेशीको कठ्पुतली बनेर रमाइलो गर्दै लभको कुरा ! मुखमा रामराम बगलीमा बाम्फोक ! कठै… मुतको न्यानोमा जूनी बिताउनेहरूको कमी छैन फेरि…’, साम्पाङको आरोपसहितको स्टाटस हो यो ।
उनले बालेनलाई विदेशीको कठ्पुतली भएको आक्षेप लगाएका छन् । तर बालेनले यसमा कुनै प्रतिक्रिया गरेका छैनन् । उनी कम स्टाटस लेख्नेमा पर्छन् । तर धेरै फेसबुक फलोअर्स भएकामा उनी टपमै छन् । हाल बालेनका ३० लाख बढी फलोअर्स छन् । जेन–जीले रुचाइएका पात्रमा यी दुवै पर्छन् । यसअघि उनीहरूको मित्रता समेत देखिएको छ ।
सुदन गुरुङमाथि लखेटी–लखेटी आक्रमण प्रयास
काठमाडौं । ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले आफूलाई लेखेटेको उनले जनाएका छन् । त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्याएको बताइएको छ । ‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे । यता बानेश्वरसम्मै लखेटे । ती को थिए भन्ने चाहिँ चिनिनँ । मार्ने उद्देश्यले नै आएका देखिन्थे,’ उनले भने । आफू कुन स्थानमा छु भन्ने चाहिँ उनले खुलाएनन् ।
‘मलाई अहिले फलो गरिरहेको छ । बाइक थियो । बाइक नम्बर नै थाहा भएन । अर्को एउटा गाडी छ,’ उनले भने । उनले सबै सुरक्षा निकायलाई जानकारी गराइसकेको बताएका छन् । यद्यपि प्रहरीले यसबारे कुनै जानकारी नआएको बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले गुरूङले यसबारे जानकारी नगराएको बताए । ‘उहाँले आक्रमण भयो भनेर सार्वजनिक गर्नु भएको रहेछ । हामीलाई जानकारी गराउनु भएको छैन । हामी बुझ्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।
कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव, ज्यान गुमाउनेको संख्या ७४ पुग्यो
काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा पनि जलेको अवस्थामा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको जानकारी दिए ।
शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन । योसँगै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो । यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा सात वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । ती शवको पनि पहिचान भएको छैन ।
जेनजी प्रदर्शनमा दिनेशको मृत्यु भएपछि विचल्लीमा परिवार
झापा । झापाको अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी जेनजी प्रदर्शनमा शहीद भएपछि परिवारको विचल्ली भएको छ । विर्तामोडमा गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा सहभागी उनी प्रहरीको गोली लागेर घाइते भएका थिए । स्थानीय बिएण्डसी टिचिङ हस्पिटलमा उपचारका क्रममा गत भदौ २७ गते बिहान उनको निधन भयो ।
पौरखी र मिलनसार स्वभावका उनी दुई वर्ष खाडी मुलुक कतारमा बसेर स्वदेश फर्किएका थिए । स्वदेशमा केही उद्यम गर्ने सोचका साथ उनले परिवारको जीविकोपार्जनका लागि मासु पसल सञ्चालन गर्न थालेका थिए । उनकी पत्नी जान्ती राजवंशीले आयआर्जनका लागि दैनिक ज्यालादारी काम गर्छिन् ।
दिनेशको पाँच वर्षीय एक छोरा रिदम र एक वर्षीया छोरी दिपीका अहिले पनि बुबा घर आउनुहोला भनेर बाटो कुरिरहेका छन् । उनकी ३० वर्षीया पत्नी जान्ती र ५५ वर्षीया आमा सपना राजवंशीको आँखाबाट आँशु ओभाएका छैनन् । बुबा मङ्गलु राजवंशीको तीन वर्षअघि निधन भइसकेको छ ।
जेनजी प्रदर्शनमा दिनेशले सहादत प्राप्त गरेपछि उनीमाथि आश्रित परिवार आर्थिक रूपमा कमजोर बन्दै गएपछि परिवारको विचल्ली हुने हो कि भन्ने चिन्ता लागेको राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले बताए । ‘विदेश गएर कमाएको पैसाले घर चल्दै आएको थियो’, उनले भने, ‘देशभित्र रोजगारी नपाएपछि फेरि रोमानिया जाने तयारीमा हुनुहुन्थ्यो उहाँ । साना नानीहरू र परिवारको पालनपोषणको जिम्मेवारी अब कसले लिने ?’
दिनेशको सानो कच्ची घरमा दाजु र भाउजुसहितको संयुक्त परिवार बसोबास गर्दै आएको छ । उनको निधनपछि छोराछोरी र आमाको पालनपोषण कसरी गर्ने भनेर चिन्ता थपिएको दिनेशकी पत्नी जान्तीले बताइन् । ‘घरमा साना छोराछोरी छन्, तिनीहरूलाई हुर्काउने, पालनपोषण गर्ने र पढाउनका लागि कमाएर ल्याउने जिम्मेवारी मेरो काँधमा आएको छ’, उनले भनिन्, ‘वृद्ध सासुआमा हुनुहुन्छ । घरको कमाएर ल्याउने मान्छे नरहेपछि अब कसरी बाँच्नु ।’
मासु बिक्रीको सानो पसल चलाउँदै आएका दिनेश देशभित्र रोजगारीको अवसर नदेखेर रोमानिया जाने तयारी गर्दै थिए । उनको निधनपछि परिवारको गर्जो कसरी टार्ने भनेर दिनेशको परिवारमा चिन्ता थपिएको छ । एसएलसीसम्म अध्ययन गरेका दिनेश परिवारका आशा र भरोसा थिए । ‘मैले आर्थिक अवस्था कमजोर भएकै कारण धेरै पढ्न नसके पनि आधा गाँस नखाएरै छोराछोरीलाई धेरै पढाउँछु भन्नु हुन्थ्यो’, दिनेशकी पत्नी जान्तीले भनिन्, ‘उहाँको सपना अब अधुरै रह्यो ।’
गत भदौ २४ गते विर्तामोडमा भएको जेनजी प्रदर्शनमा दिनेश घाइते भएको खबर सुन्ने बित्तिकै जान्ती बिएण्डसी हस्पिटल पुगेकी थिइन् । जहाँ दिनेश जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेका थिए । घाइते भएको तीन दिनमा उनको निधन भयो । हाल दिनेशको काजकिरिया उनको दाजु गोवद्र्धन राजवंशीले गरिरहेका छन् । रोजगारीको सिलसिलामा विदेशमा रहेका उनी भाइको निधन भएको खबर सुनेर स्वदेश आएका हुन् । भाइले मुलुकमा परिवर्तनका लागि जीवन दिएकाले छोरा रिदम र छोरी दिपीकालाई उच्च शिक्षासम्मको अध्ययन गर्ने वातावरण सरकारले बनाउनुपर्ने गोवद्र्धनको माग छ । उनले भने, ‘परिवारको निर्वाह र सन्तानको शिक्षादीक्षाको जिम्मा राज्यले लिनुपर्छ ।’
बालुवाटारमा मन्त्री छान्न छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिन छलफल तीब्र बनाएकी छन् । ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी उनले तीन मन्त्री र मुख्यसचिवलाई राखेर बालुवाटारमा छलफल गरेकी हुन् ।
‘प्रधानमन्त्री र मन्त्रीबीच छलफल जारी छ,’ स्रोतले सुनायो, ‘मन्त्रीका लागि विभिन्न नाममा छलफल भइरहेको छ । आजै नभए पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ ।’
छलफलमा प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल छन् । यसअघि प्रधानमन्त्री कार्कीले वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारलाई सहयोग गर्न आग्रह गरेकी थिइन् । तर उनले अहिले आफू सरकारमा जान नसक्ने स्पष्ट पारेका छन् ।
यस्तै कार्कीले संविधानविद्ध भीमार्जुन आचार्यलाई पनि मन्त्रीका लागि प्रस्ताव गरेको खुलेको छ । उनले पनि मन्त्री खानका लागि अस्वीकार गरेका छन् । प्रधानमन्त्री कार्की गैरराजनीतिक व्यक्तिलाई सरकारमा ल्याउने तयारीमा छिन् ।छलफलमा भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनको क्रममा ध्वस्त सरकारी संरचना पुनर्निर्माण गर्नेबारे पनि हुने बुझिएको छ । योबाहेक सरकारको आगामी रणनीति, मन्त्रिपरिषद् विस्तारलगायतका बारेमा छलफल भइरहेको स्रोतले जानकारी दियो ।
निर्वाचितलाई अपदस्थ गरी अनागरिक सरकार गठन गरियो : बादल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जनताबाट निर्वाचित केपी ओली नेतृत्वको सरकार अपदस्थ गरेर अनागरिक सरकार गठन गरिएको टिप्पणी गरेका छन् । जेनजी प्रदर्शनकारीले आगजनी गरेको पार्टी कार्यालय अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘अनागरिक’ को संज्ञा दिएका छन् ।
नेता बादलले भने, ‘अहिले लोकतन्त्रलाई अपदस्थ गरिएको छ । नागरिक सर्वोच्चताको प्रतीक संसद् हो । तर संसद्लाई विघटन गरिएको छ । नागरिकहरूले निर्वाचित गरेको सरकारलाई अपदस्थ गरेको छ । संसद् विघटन गरिएको छ, अनागरिक सरकार असंवैधानिक ढंगले गठन गरिएको छ ।’ उनले पार्टी अब समीक्षा र ध्रुवीकरणको चरणमा रहेको जानकारी दिएका छन् । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएसँग अहिले ठूला राजनीतिक दलका नेताहरु विस्तारै राजनीतिक गतिविधिमा सक्रिय हुन थालेका छन् ।
कालिकाका मेयर रेग्मी भन्छन्–दुई वर्षको छोरो च्यापी धानबारीमा लुकेर बचें
चितवन । जेनजीको प्रदर्शनका क्रममा चितवनका अधिकांश स्थानीय निकायसहित तिनका जनप्रतिनिधि समेत निशानामा परे । स्थानीय जनप्रतिनिधिहरूका अनुसार यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घुसपैठ भई स्थानीय तहका भौतिक संरचनामाथि तोडफोड तथा आगजनी भएको हो । गाउँ टोलमै रही जनताको सेवा गरिरहेका जनप्रतिनिधिहरूमाथि अमानवीय ढङ्गबाट आक्रमण गर्ने प्रयास भएकामा दुःख व्यक्त गरिएको छ ।
कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी विशेष गरी जनप्रतिनिधिहरूको घर–परिवारमाथि समेत आक्रमण गर्नेक्रममा आफूमाथि अमानवीय व्यवहार भएको, आक्रोशित भीडबाट जोगिनका लागि पदबाट राजीनामा समेत दिनुपरेको र परिस्थिति सहज बन्दै गएको अवस्थामा अब क्षतिग्रस्त संरचनाको निर्माणसहित नगरवासीको सेवा गर्न सक्रिय हुनुपरेको बताउँछन् । प्रमुख रेग्मीले भने, ‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भइयो । हामी भागेपछि एक हुल मानिस नाराबाजी गर्दै घर तोडफोडमा उत्रिए । सक्ने जति फोरेर उनीहरू फर्किए ।’
दूधे बालकलाई लिएर धानबारीमा कतिबेर बस्ने ? कहिले जान्छन्, फेरि के हुन्छ भन्ने भएपछि छोरालाई छिमेकीको घरमा छोडेर पुनः आफू धानबारीमा गई बसेको उनले बताएका छन् । पुनः आक्रमणकारी आएर घरमा थप क्षति गरेको उनले बताए । आक्रमणका क्रममा केही साथीहरूले मेरो घर जोगाउन कोशिस गरेको बताउँदै उनले भने, ‘छोरी र श्रीमतीमाथि अपशब्द प्रयोग गर्ने, छोरालाई काट्छु भनेको सुनियो । भिड अराजक र उदण्ड बन्यो । प्रहरी, सेना, सीडीओ, पार्टी कतैतिर पनि सम्पर्क हुन सकेन । आकाश खसेको जस्तो परिस्थिति भयो ।’
घटना विवरण सुनाउँदै प्रमुख रेग्मीले भने, ‘शुरुमा वडा कार्यालयहरू हान्ने, जनप्रतिनिधिलाई मार्ने, काट्ने भन्ने ‘म्यासेज’हरू आए । तँ भाग, यसो गर, उसो गर भन्ने ‘म्यासेज’ आए ।’ सल्लाह र छलफल गर्न सम्पर्क गर्न खोज्दा कसैसँग सम्पर्क हुन नसकेको भन्दै उनले भने, ‘परिस्थितिले च्याप्दै–च्याप्दै ल्यायो । केही समयभित्र घटना हुँदैछ, नगरपालिका हान्दैछन्, वडा कार्यालय हान्दैछन् भन्दाभन्दै हान्न थालिहाले । सोधौँ कसलाई सोधौँ, भेटौँ कसलाई भेटौँ । अत्यन्त अप्ठ्यारो स्थितिको सामना गर्न बाध्य भयौँ ।’
ठूलो संख्यामा मानिसहरू हातमा खुँडा, खुकुरी, भाला बोकी भय र त्रासको वातावरण सिर्जना गर्ने प्रयास भएको नगर प्रमुख रेग्मीले बताएका छन् । उनले भने, ‘एउटा बाढी नै आएको अवस्था भयो । घरमा हेर्दा के कुरा जोगाउने भन्ने भयो । के लिएर जाने, कहाँ जाने ? कसले आश्रय दिन्छ त्यो बेलामा । दुई–चार ठाउँमा फोन गरेँ, जिउज्यानका खतरा भएकाले बाहिर हिँड्ने उपयुक्त समय नभएको सुझाव आयो, विलखबन्दमा परें ।’
उनले कतैतिरबाट कुनै साहारा नपाएपछि आफूले बाध्य भएर पार्टी छोडेको स्टाटस फेसबुकमा लेखेको स्पष्ट पारेका छन् । ‘दुई घण्टाभित्र निर्णय गरिनस् भने तेरो घर जलाउँछौँ तँलाई पनि जलाउँछौँ भनेर धम्की आयो । घर र परिवार जोगाउनका लागि पार्टी परित्याग गरेको एउटा ‘स्टाटस’ लेखेर हुन्छ भने किन नलेख्ने भनेर पार्टी छोडेको ‘स्टाटस लेखेँ’ उनले सुनाए ।
उनले थपे, ‘त्यतिबेला मैले परिवार जोगाउनका लागि घरजग्गा नै नामसारी गर्दे भनेको भए पनि गरिदिनुपर्ने परिस्थिति थियो । मेरो परिवार बच्छ भने, म जे गर्न पनि तयार थिएँ । त्यो तत्कालीन परिस्थितिमा गर्नुपर्ने अवस्था थियो । अहिले त्यो स्टाटस ‘डिलिट’ गरेँ, म पार्टीमै छु ।’ उनले आफ्ना आफन्त कसैले पनि वास दिने अवस्था नभएको पनि सुनाए । ‘जुन कुरा मलाई परेको छ, त्यो मैले व्यक्त गर्न सक्दिन । पीडादायी अवस्था बन्यो’ उनले भने ।
आन्दोलनकारीले उनको घरमा तोडफोड गर्दा झण्डै ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । त्यसो त उनले नेतृत्व गरेको कालिका नगरपालिकाको वडा नं १ देखि ७ सम्मका सबै वडा कार्यालय जलेर नष्ट भएका छन् । वडा नं ८ र ९ मा पनि तोडफोड भएको छ । नगरसभा हल पूर्ण रुपमा जलेर क्षति भएको छ । अहिले भइरहेको भाडाको घरमा तोडफोड र केही सामान कार्यालय बाहिर ल्याएर जलाइएको छ ।
कार्यालय प्रयोजनका लागि बन्दै गरेको नयाँ भवन तोडफोड भएको छ । नयाँ भवन अगाडि रहेको तीन वटा सवारीसाधन र दुई वटा मोटरसाइकल जलेर नष्ट भएका छन् । डोजर, ग्रेडर, टिपर, बोलेरो र जेसिबी तोडफोड गरिएको छ । अहिले नगरपालिका अस्तव्यस्त बनेको छ । यकिन तथ्याङ्क आइनसके पनि झण्डै ८० करोड रुपैयाँ हाराहारी क्षति भएको आकलन गरिएको प्रमुख रेग्मी बताउँछन् । यद्यपि मोटरसाइकलमा सबै वडा पुगेर नगरवासीलाई सेवा दिनबाट नचुक्ने, वाचा र प्रतिबद्धतासहित सबै ठाउँसम्म पुगिरहेको उनको भनाइ छ ।
उपभोक्ताको रुचिमा: कर्णालीको स्याउ
राँझा (बाँके) । हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको रुचिमा परेकोे छ । यतिबेला पश्चिम नेपालका नेपालगञ्ज, कोहलपुर, सुर्खेत, दाङ र बुटवलका चोक–चोकमा सजाएर राखिएको कर्णालीको जुम्ली स्याउले जो कोहीको मन तान्ने गरेको छ ।
नेपालगञ्जमा चार दशकदेखि कर्णालीको स्याउ थोक बिक्री गर्दै आएका प्रेमलाल साहु तेलीले विषादी प्रयोग नहुने र गुणस्तर पनि राम्रो हुन थालेपछि कर्णालीको स्याउको माग विभिन्न सहरमा बढ्दै गएको बताए । “पश्चिम नेपालको फलफूल बजारमा अहिले कर्णालीको स्याउको दबदबा छ, भारतीय स्याउको तुलनामा सस्तो र राम्रो भएकाले उपभोक्ताले कर्णालीको स्याउ मन पराउने गरेका छन्”, थोक व्यापारी साहुले भने, “सुर्खेत नेपालगञ्ज, धनगढी बुटवललगायतका सहरमा हिजोआज जुम्लाको स्याउ खोज्दै ग्राहक आउने गरेका छन् ।”
नेपालगञ्जमा कर्णालीको स्याउ थोक बिक्रेता रहेका प्रेमलालले यहाँबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सहरहरुमा स्याउ बिक्री वितरण गर्ने गरेको छ । कर्णाली प्रदेशका बजारमा भने सुर्खेतबाट वितरण हुने गरेको उनको भनाइ छ । कर्णालीको स्याउ विदेशी स्याउको तुलनमा स्वादिलो र सस्तो भएका कारण पनि आम उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । अहिले ग्रेडिङ भएको स्याउको थोक मूल्य प्रतिकिलो अधिकतम रु १०० रहेको छ । ग्रेडिङ नभएको स्याउ न्यूनतम प्रतिकिलो रु ६० मा नेपालगञ्जबाट बिक्री हुने गरेको थोक विक्रेता प्रेमलालले जानकारी दिए । उनका अनुसार स्याउको आकार र गुणस्तर अनुसाररु ६० देखि सयसम्ममा खुद्रा विक्रेताले खरिद गरेर पश्चिम नेपालका सहरहरुमा बिक्री वितरण गरिरहेका छन् । नेपालगञ्जमा फलफूलको थोक विक्रेता करिब दुई दर्जन रहेका छन् ।
विदेशी स्याउ विस्थापित
अहिले बजारमा कर्णालीको स्याउले विदेशी स्याउलाई विस्थापित गरेको छ । सडक विस्तार भएसँगै आकर्षक, स्वादिलो अर्गानिक जुम्लाको स्याउ बजारमा आएपछि यसको माग बढ्दै गएको हो । कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा उपलब्ध रहेको छ । नेपालगञ्जमा कर्णालीको स्याउको थोक बिक्रेता प्रेमलाल साहुले साउन, भदौ र असोज गरी तीन महिना पश्चिम नेपालका सहरमा कर्णालीको स्याउले विदेशी स्याउलाई विस्थापित गर्ने गरेको बताए।
विगतमा हवाईजहाजमार्फत नेपालगञ्ज ल्याएर कर्णालीको स्याउ बिक्री गरेका साहुले अहिले कर्णालीमा सडक सञ्जाल पुगेपछि स्याउको ढुवानीमा सहज भएका कारण बजार विस्तार हुँदै गएको उल्लेख गरे । “पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगञ्ज ल्याएर बिक्री वितरण गर्नुपथ्र्यो, हवाईजहाजबाट ल्याउँदा स्याउ थिचिने सड्ने जोखिम धेरै हुन्थ्यो”, उनले भने, “अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भएर आउने हुँदा कर्णालीको स्याउ गुणस्तरीय छ, त्यसैले विदेशी स्याउलाई विस्थापित गर्न सकेको छ ।”
विगतका वर्षमा भारतीय स्याउले भरिने फलफूल बजारमा अहिले कर्णालीको अर्गानिक स्याउ छ । नेपालगञ्ज बजारमा अहिले कर्णालीबाहेक अन्यत्रका स्याउ आउनै छाडेको व्यवसायी मोहम्मद नसिम खाँले बताए । नेपालगञ्जमा कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, डोल्पा र मुगुको स्याउ आउने गरेको उनको भनाइ छ । जैविक मानिने भएकाले यो क्षेत्रको स्याउ प्रख्यात छ । नेपालगञ्जका फलफूल व्यापारीहरु अहिले कर्णाली जिल्लाका स्याउ बिक्रीमा व्यस्त छन् । कर्णालीका जिल्लामा मोटरबाटो पुगेकाले अहिले सडक मार्गबाटै स्याउ आउँदा सस्तो पर्ने गरेको छ ।
उपभोक्ता र व्यापारी दुवै लाभान्वित
नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल मण्डीमा कर्णालीको स्याउ आउने गरेको छ । मण्डीबाट खुद्रा विक्रेताहरुले किनेर बजारमा बिक्री गरिरहेका छन् । स्याउका खुद्रा व्यापारी नेपालगञ्जको त्रिवेणीमोडस्थित महाराजा फ्रुटका सञ्चालक कमल सुनारले कर्णालीको स्याउ रसिलो हुने भएकाले यहाँबाट उपभोक्ताले काठमाडौँ पनि लैजाने गरेको बताए।
भारत र चीनबाट भित्रिएको स्याउको मूल्यको तुलनामा नेपाली स्याउको मूल्य पनि कम हुनुका साथै स्वच्छ भएको हुँदा नेपाली स्याउले राम्रो बजार लिन सफल भएको छ । चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले कर्णालीको स्याउ बेच्न पाउँदा खुसी लागेको फलफूल व्यापारी सुनारको भनाइ छ ।
कर्णालीको स्याउले नेपालगञ्जमा राम्रो बजार पाएसँगै त्यहाँका किसानलाई पनि ठूलो फाइदा पुगेको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले विदेशी स्याउ विस्थापित हुनुले कर्णालीको स्याउको बजार विस्तार भएको मात्रै नभई यसले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पु¥याएको बताए । कर्णालीको स्याउ ग्रेडिङ, गुणस्तर कायम र ढुवानीमा सहजताको लागि प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
विगतमा ठेला तथा फलफूल पसलमा खुद्रा व्यवसायीले कर्णालीको स्याउ बिक्री वितरण गर्दै आएकामा केही वर्षयता नेपालगञ्जमा कर्णालीका महिलाले स्याउ बिक्री गर्ने गरेका छन् । नेपालगञ्जका धम्बोझी, कारकाँदोलगायतका चोक चौराहमा लहरै बसेर कर्णालीका महिलाले स्याउ बिक्री वितरण गरिरहेका छन् । नेपालगञ्जमा अस्थायी रुपमा बस्दै आएका महिला र उच्च शिक्षा अध्ययनको लागि आएका विद्यार्थीले यस याममा स्याउ बिक्री गरेर राम्रो आम्दानी गर्ने गरेका छन् ।
नेपालगञ्जको धम्बोझीमा दसैँ, तिहारलाई लक्षित गरेर अहिलेदेखि नै कर्णालीको स्याउ किनबेच गर्नेको भीडभाड हुने गरेको छ । धम्बोझी चोकमा कर्णालीका महिलाहरुले भदौ पहिलो हप्तादेखि नै स्याउको बिक्री–वितरण गर्दै आएका छन् । जुम्लाको सिँजा गाउँपालिकाबाट नेपालगञ्जमा स्याउ बिक्री गर्न आएकी शीतली रोकायले दैनिक २५ देखि ३० किलोसम्म स्याउ बिक्री गर्ने गरेको बताए । अन्य बेलाभन्दा चाडपर्वको बेला स्याउ धेरै बिक्री हुने गरेको छ ।
पहाडबाट प्याकिङ गरेर ल्याएको स्याउ बिक्री गरेर दसैँ तिहार मनाउने रुपैयाँ कमाइ हुने गरेको रोकायले बताउनुभयो । “जुम्लाको स्याउभन्दा बित्तिकै धमाधम बिक्री भइहाल्छ, धेरै जनाले बिक्री गर्ने भएकाले दर रेटमा फरक पर्दैन”, उनले भने , “यो सिजनमा दुई क्विन्टल बिक्री भइसक्यो, यसैबाट दसैँ, तिहार मनाउने र केटाकेटीको पढाइ खर्च जुटाउने आशा छ ।”
कर्णालीको स्याउ चाडबाडमा कोसेली
कर्णालीको जैविक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि चाडवाडमा कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातित भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगञ्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ । नेपालगञ्जको धम्बोझी क्षेत्रमा कर्णालीको स्याउ किनमेल गर्ने उपभोक्ताको बिहानैदेखि साँझसम्म लर्को लाग्ने गरेको छ । यहाँको अस्थायी तरकारी बजारमा पनि बिहानै कर्णालीको स्याउ बिक्री गर्ने महिलाहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।
नेपालगञ्जको धम्बोझीमा कर्णालीको स्याउ किन्दै गरेको नेपालगञ्ज–२१ नयाँवस्तीकी सिर्जना थापाले चाडवाडमा कोसेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको बताए । “सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगञ्जबाट अन्यत्र जाँदा तीज, दसैँ र तिहारमा कोसेलीका रुपमा लैजान सहज भएको छ”, उनले भने, “विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तोसमेत भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ ।”
बिक्री वितरण बढ्दो
नेपालगञ्जमा कर्णालीको स्याउको आयात बढ्दै गएको छ । यातायातको सीधा पहुँच भएसँगै कर्णालीको जुम्लालगायतका जिल्लाबाट सुर्खेत र नेपालगञ्जमा स्याउ आउने गरेको छ । जुम्लाका फलफूल व्यवसायी र किसानमार्फत नेपालगञ्ज र सुर्खेतमा ल्याएर थोक फलफूल व्यापारीले मागअनुसार देशभर कर्णालीको स्याउ बिक्री वितरण गर्ने गरेको नेपालगञ्जका थोक बिक्रेता प्रेमलाल साहुले बताए ।
उनका अनुसार गतवर्ष नेपालगञ्जबाट मात्रै करिब तीन हजार क्विन्टल कर्णालीको स्याउ बिक्री भएको थियो । यो वर्ष पाँच हजार क्विन्टल बिक्री वितरण हुने अनुमान छ । “अहिलेको उत्पादनले नेपाली बजारलाई तीन महिनालाई मात्र धानेको छ, सरकारले प्रोत्साहन गर्ने हो भने अहिलेको दोब्बर क्षेत्रफलमा स्याउ खेती गरी उत्पादन पनि दोब्बर लिन सकिन्छ”, साहुले भने, “उत्पादन बढाएर चिस्यान केन्द्रमा राख्ने हो भने नेपालको कूल स्याउ बजारको छ महिनालाई नेपाली उत्पादनले धान्ने सम्भावना र अवसर छ ।”
कर्णालीमा अहिलेसम्म किसान र केही व्यवसायीले आफ्नो हिसाबले स्याउ खेती गरिरहेका छन् । टिपाई, ग्रेडिङ, प्याकिङ लगायतमा ध्यान दिनसके कर्णालीको स्याउ नेपालभर बिक्री वितरण गर्न सकिने व्यवसायी साहुको भनाइ छ । किसान र व्यवसायीको जोडबलमै कर्णालीको स्याउले बजार बनाएको उल्लेख गर्दै उनले सरकारले स्याउ खेतीलाई प्राथमिकतामा राखेर प्रोत्साहनमूलक नीति र कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए ।
पूर्व प्रधानमन्त्री खनाललाई ऊर्जामन्त्री घिसिङको फोन
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग फोन संवाद गरेका छन् । संवादका क्रममा मन्त्री घिसिङले झलनाथकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
जेनजी आन्दोलनका क्रममा डल्लुस्थित घरमा आगजनी हुँदा रविलक्ष्मी जलेर गम्भीर घाइते भएकी छन् । अहिले उनी अस्पतालमा उपचारमा छिन् । उनको अवस्था अझै पनि खतरामुक्त भइनसकेको बताइएको छ ।
आन्दोलनपछि रविलक्ष्मीको निधन भएको हल्ला सामाजिक सञ्जालमा फैलिएको थियो । मन्त्री घिसिङले पनि त्यो हल्ला सुनेका थिए । हिजो मात्रै उनलाई निकटस्थहरुले हल्ला झूटो भएको बताएपछि खुशी भएका घिसिङले आज झलनाथलाई फोन गरेका हुन् ।
झलनाथ पत्नी रविलक्ष्मी कुलमानकी पूर्व शिक्षिका रहेको बताइएको छ । कुलमान अस्कल क्याम्पसमा आइएस्सी पढ्दा रविलक्ष्मीले उनलाई पढाएकी थिइन् । त्यही व्यक्तिगत सम्बन्धका कारण पनि उनले रविलक्ष्मीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका हुन् । झलनाथले फोनमा पत्नीको स्वास्थ्य अवस्था र आफ्नो घरमा भएको आगजनीबारे बताएका थिए ।
नेपाली केरा दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध
काठमाडौँ । केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् ।
नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई अनुरोध गरिएको बताए।
महासङ्घले नेपालभरिकै फलफूल तथा तरकारी थोक व्यावसायी सङ्घलाई सम्बोधन गर्दै केरा आयात नगर्न पत्राचार नै गरेको उनले बताए। महासङ्घले गरेको अनुरोधपत्रमा हाल नेपालमा उत्साहजनक रूपमा केरा उत्पादन भइरहेको र विद्यमान अवस्थामा नेपालको उत्पादनले नै नेपाली केरा बजारको मागले दसैँ, तिहार र छठसम्मै थेग्न सक्ने अवस्था रहँदारहँदै पनि नेपाली बजारमा विदेशी केरा निर्वाध रूपमा आयात भइरहेको उल्लेख गरेको छ ।
यसरी केरा आयात हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा, रोजगारमा प्रत्यक्ष रूपमा असर पार्नुका साथै नेपाली व्यावसायिक केरा उत्पादक किसान विस्थापित हुनसक्नेसम्म खतरा बढ्नुका साथै सबै जिल्लाका किसान आक्रोशित भई आन्दोलनमा जानसक्ने खतरा बढेको अध्यक्ष पन्तले जारी गरेको अनुरोधपत्रमा उल्लेख छ ।
अनुरोधपत्रमा भनिएको छ, “समयमै हामी सबै सङ्घसंस्था र व्यापारीले देशको विषम परिस्थितिलाई समेत मध्यनजर गर्दै यहाँले सम्बन्धित व्यापारीसँग समन्वय तथा छलफल गरी यही असोज ६ गतेभन्दा पछाडि कुनै पनि व्यापारीलाई भारतबाट केरा आयात नगर्न वा नगराउन अनुरोध गर्दछौँ । यदि व्यापारीले बलजफ्ती आयात गरेमा नेपाली किसान वा समर्थकले पुर्याउन सक्ने क्षतिको जवाफदेही पनि यो महासङ्घ नहुने जानकारी तथा अनुरोध गर्दछौँ ।”
उक्त विषयमा केरा उत्पादक किसानका आठवटा समिति तथा प्रतिनिधिले संयुक्त रूपमा सूचना जारी गरेका छन् ।
चितवनस्थित केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतो, कैलालीका अध्यक्ष दीपेन्द्र थारू, कञ्चनपुरका अध्यक्ष सुरेन्द्र चौधरी, बर्दियाका अध्यक्ष टोपलाल थारू, नवलपरासीका अध्यक्ष लक्खु विक, चितवनका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी, कैलालीका उपाध्यक्ष टेकेन्द्र धामी र केरा जोन समन्वय समिति नवलपरासीका संयोजक युवराज मौर्यसहित हस्ताक्षरित विज्ञप्तिमा केरा आयातमा रोक लगाउनसमेत माग गरिएको छ ।
चुनावी तयारीमा लाग्न तल्ला समितिलाई प्रचण्डको निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको तयारीमा लाग्न तल्ला समितिहरुलाई निर्देशन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन २१ मा निर्वाचनको घोषणा गरेपछि माओवादीले चुनावी तयारीमा लाग्न निर्देशन दिएको हो ।
उसले चुनावमा जान औपचारिक निर्णय नगरे पनि अध्यक्ष दाहालले सातै प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्षहरूलाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन् । ‘चुनाव घोषणा भइसकेको अवस्थामा चुनावमा जानुको विकल्प छैन,’ प्रचण्डकोको निर्देशन छ, ‘अब हामी चुनावमा केन्द्रित हुन संगठन परिचालन गर्नुहोला ।’
जेन–जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई आत्मसाथ गदै चुनावी तयारी गर्नुपर्ने उनको भनाइ छ । बदलिँदो परिस्थितिलाई आत्मसात गरी संगठन सुदृढीकरण गर्दै कांग्रेस एमाले गठबन्धन सरकारले निम्त्याएको राजनीतिक संकटको पार लगाउन चुनाव नै विकल्प रहेको माओवादीको भनाइ छ । चुनावलाई सफल बनामएर मात्र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने भन्दै उसले चुनावी तयारीका लागि गृहकार्य सुरु गरेको हो ।
अब बस्ने पार्टी केन्द्रीय पदाधिकारी बैठकले चुनावमा जानेबारे औपचारिक निर्णय गर्ने जनाइएको छ । ‘चुनाव घोषणा भइसकेको अवस्थामा तयारी थाल्ने कुरा भएको छ,’ सचिव देवेन्द्र पौडेलले भने । आठ दलसँग विघटित संसद् पुनःस्थापना हुनुपर्ने माग गरे पनि माओवादीले अब चुनावमा जानुको विकल्प नभएको अनौपचारिक निष्कर्ष निकालेको छ ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, सचिव राम कार्कीले चुनावी सरकारलाई सघाउने बताइसकेका छन् । तर उनीहरूले चुनावमा जाने वातावरण बनाउन अन्तरिम सरकारलाई आग्रह गरेका छन् । माओवादीले मध्यपहाडी राजमार्ग अभियान भइरहेका बेला जेन–जी विद्रोह भएपछि स्थगित गरेको छ । अध्यक्ष प्रचण्डसहित नेताहरू दैनिक राजनीतिक गतिविधिमा फर्किएका छन् ।
नयाँपुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔं : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधिलाई अघि बढाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका हुन् ।
मनन गर्नुपर्ने कुरा भन्दै उनले नयाँ पुस्ताको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंशको भने विरोध गर्नुपर्ने बताएका छन् । ‘नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौं । त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गरौं,’ महासचिव पोखरेलले भनेका छन्, ‘नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ । जनतासँगको सम्बन्धलाई जिवन्त र घनिष्ठ बनाऔँ ।’
उनले जनपक्षीय जीवनशैली र आचरणमा जोड दिनुपर्ने पनि बताएका छन् । ‘आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पंक्तिको मनोबल उच्च बनाऔँ । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ,’ महासचिव पोखरेलले भनेका छन्, ‘लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ ।’
नयाँ बसपार्कमा दशैंको टिकट काट्ने यात्रुको घुइँचो
काठमाडौं । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस बिदा भएपछि विद्यार्थी गृह जिल्ला जान थालेका छन् ।
नयाँ बसपार्कमा सञ्चालित लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्न थालेको बताए । यातायात व्यवस्था विभागमा मङ्गलबार बसेको सरोकार भएका निकायको बैठकले यसवर्ष दशैँका लागि अग्रिम टिकट नखोल्ने निर्णय गरेको छ ।
मल्लले यसअघि दैनिक चारदेखि पाँच हजार यात्रु बसपार्कबाट बाहिरिने गरेकामा अहिले सो संख्या बढेर १२ देखि १५ हजार पुगेको जानकारी दिए । उनका अनुसार जेनजी’ का प्रदर्शनका कारण अवरुद्ध बनेको सार्वजनिक यातायाता सञ्चालनमा आएपछि उपत्यका छोडेर गृह जिल्ला जानेको संख्या ६५ हजार भन्दाबढी पुगेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँ बसपार्कमा अहिलेदेखि यात्रुको भीड लाग्न थालेकाले यसवर्ष दसैँमा गृहजिल्ला जाने यात्रुको संख्यामा कमी आउन सक्ने अनुमान गरे । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । सरकारले दशैँको समयमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने उद्देश्यले यही असोज ६ गते (घटस्थापना) देखि असोज २२ गतेसम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको छ । रासस
सहकारीमा काम गर्ने युवतीको शव जंगलमा फेला, बलात्कारपछि हत्याको आशंका
खोटाङ । खोटाङमा एक युवतीको शंकास्पद अवस्थामा शव भेटिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे निवासी रविन परियारकी पत्नी २५ वर्षीया रेश्मीका शिवा परियारको शव स्थानीय जंगलमा शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
रेश्मिका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन् । ‘भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा उनको शव भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले सुनाए, ‘उनको शव पोष्टमार्टमको लागि घोपा क्याम्प धरान पठाइएका छौँ ।’
रेश्मिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका स्थानीयको छ । तर, प्रहरीले भने यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । ‘शंकास्पद अवस्थामा शव फेला परेको छ । थप विवरण पोस्टमार्टम रिपोर्टपछि खुल्छ,’ उनले भने, ‘हामी घटनाको विस्तृत अनुसन्धानकै क्रममा छौँ ।’ इन्सपेक्टर मिश्रले घटनाका सम्बन्धमा धेरैसँग सोधपुछ भए पनि अहिलेसम्म कोही पक्राउ नपरेका बताए ।
रेश्मीका कार्यरत कृषि सहकारीका अध्यक्ष सागर तामाङकाअनुसार रेश्मीका आइतबार दिउँसो ४ बजे कार्यालयबाट बाहिरिएकी थिइन् । राति अबेरसम्म पनि उनी घर नपुगेपछि खोजी गर्ने क्रममा आइतबार राति ८ बजेतिर सडकबाट करिब एकसय ५० मिटर तल बाँसघारीमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार रेश्मीको चप्पल सडकमुनि कुनामा भेटिएको थियो । सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सडक डिभिजनले बिदा गर्यो ‘अनावश्यक’ ज्यालादारी कर्मचारी
काठमाडौं । सडक डिभिजन काठमाडौंले आजदेखि पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारीहरूलाई बिदा दिने निर्णय गरेको छ । सार्वजनिक कार्यालयलाई जनताप्रति जवाफदेही र पारदर्शी बनाउने उद्देश्यले पहुँचका आधारमा राखिएका कर्मचारीहरूलाई बिदा दिने घोषणा गरिएको हो ।
डिभिजन प्रमुख सुबोधकुमार देवकोटाकाअनुसार उनीहरुलाई बिदा गर्दा मासिक १५ लाख रुपैयाँ राज्य कोषमा बचत हुनेछ । ‘हामीले सार्वजनिक कार्यालयलाई जनताको नासोको रूपमा जवाफदेही र पारदर्शी बनाउने निर्णय गरेका छौं,’ उनले भने, ‘आज (असोज १ गते) बाटै लागु हुने गरी पहुँचका आधारमा अनावश्यक रूपमा रहेका ज्यालादारी कर्मचारीहरूलाई बिदा दिइएको छ, जसबाट मासिक १५ लाख राज्य कोषमा बचत हुन्छ ।’
डिभिजनले ‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । आगामी दुई दिनभित्र काठमाडौंभित्रका सडकमा रहेका खाल्डाखुल्डीहरूको यकिन विवरण संकलन गरी तीन सिफ्टमा काम गरेर पुर्ने योजना बनाइएको छ ।
‘हामी खाल्डाखुल्डीरहित काठमाडौं बनाउँदैछौं । यसका लागि अभियान नै सञ्चालन गर्छौं । तत्काल कति खाल्डाखुल्डी छन्, त्यसको यकिन दुई दिनभित्र गर्छौं । बिहान, दिउँसो र राति समेत गरेर व्यवस्थित तरिकाले काम गर्नेछौं,’ देवकोटाले थपे, ‘यसका अतिरिक्त हामीले छुट्टै हेल्पलाइन खडा गरी गुनासो सुन्ने पनि तयारी गरेका छौं । उक्त गुनासो तत्काल सम्बोधन गरी त्यसबारे पनि जानकारी दिइनेछ ।’
सडक डिभिजन काठमाडौंले पूर्वाधारको गुणस्तर सुनिश्चितताका लागि पनि महत्वपूर्ण कदम चालेको छ । डिभिजन मातहत रहेको इन्जिनियरिङ प्रयोगशालालाई अपग्रेड गरी व्यवस्थित गर्ने निर्णय गरिएको छ । आफ्नै प्रयोगशाला उपयोगमा ल्याई गुणस्तर परीक्षण गर्ने र उपलब्ध नभएका परीक्षण प्रणाली पुल्चोक इन्जिनियरिङ क्याम्पसमार्फत् गर्ने तर निजीमा नलैजाने निर्णय भएको छ । सडक सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ । ट्राफिक संकेत चिह्नहरूको मर्मत सम्भार, रोड मार्किङ र जेब्रा क्रसिङका लागि तत्काल बोलपत्र आह्वान गर्ने निर्णय भएको देवकोटाले बताए ।
जेनजी शहीद कुलुङको शव परिवारलाई बुझाइयोे
संखुवासभा । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका संखुवासभा, सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरीर संखुवासभा ल्याइएको छ । नेपाली सेनाको हेलिकप्ट मार्फत् कुलुङको शव आज बिहान ल्याइएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् ।
प्रतिकूल मौसमका कारण कुलुङको शव मङ्गलबार ल्याउन नसकिएपछि विराटनगरमै राखिएको थियो । सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए ।
श्रद्धाञ्जली सभापश्चात् मृतकका आफन्तलाई शव बुझाइएको थियो । सिलिचोङ–३ स्थित लकुवामा कुलुङ जातिको जातीय संस्कारअनुसार कुलुङको अन्त्येष्टि गरिने सिलिचोङ गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । किशोर कुलुङका छोराहरुमध्ये प्रवीन माइला भएको जनाइएको छ । प्रवीनको निधनले सिलिचोङसहित संखुवासभामा शोकमा ढुबेको छ । स्थानीयहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
दुई महिनामा सरकारको बजेट खर्च नौं प्रतिशत मात्र
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ १५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको हो ।
यस वर्ष कूल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याइएकोमा भदौ मसान्तसम्ममा रु एक खर्ब ८० अर्ब १७ करोड चार लाख खर्च भएको छ । चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा हालसम्म रु एक खर्ब १४ अर्ब १८ करोड ७२ लाख बराबर खर्च भएको छ ।
त्यस्तै, पुँजीगत शीर्षकमा रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकोमा रु छ अर्ब ३५ करोड ३३ लाख खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख बराबरको वार्षिक विनियोजन रहेकोमा भदौ मसान्तसम्ममा रु ५९ अर्ब ६२ करोड ९९ लाख खर्च भएको छ ।
यही अवधिमा सरकारले वार्षिक लक्ष्यको १० दशमलव ४३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आवका लागि कूल रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा हालसम्म रु एक खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख असुली भएको हो ।
कर राजस्वतर्फ रु १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने वार्षिक लक्ष्य रहेकोमा ११ दशमलव ३५ प्रतिशतअर्थात् रु एक खर्ब ५० अर्ब ४० करोड १३ लाख कर असुली भएको छ । त्यस्तै, गैरकरतर्फ रु एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख असुली गर्ने वार्षिक लक्ष्य रहेकोमा चार दशमलव ६२ प्रतिशतअर्थात् रु सात अर्ब १३ करोड २१ लाख उठेको छ । त्यस्तै, चालु आर्थिक वर्षका लागि रु ५३ अर्ब ४४ करोड ६९ लाख बराबर वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा हालसम्म दुई दशमलव ३८ प्रतिशतअर्थात् रु एक अर्ब २७ करोड ३७ लाख अनुदान उठेको छ ।
जेनजी आन्दोलनका शहीद विनोदका घरमा मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङ जेनजी आन्दोलनका क्रममा शहीद भएका विनोद महर्जनको घरमा पुगेका छन् । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय समेत सम्हाले उनी बुधबार ललितपुरको सुन्धारास्थित महर्जनको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले महर्जन परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेका थिए । जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ ।
सिंहदरबारमा जलाइएका गाडीहरु अन्यत्र व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उनले आज निर्देशन दिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।
‘कार्यालयलाई थोत्रो देखाएर राख्नु भएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरुप हुन दिनु भएन, यथासक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका सवारीसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरुप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गरौँ’, मन्त्री घिसिङले भनेका छन् ।
उनले विनासबाट हामी उठ्यौँ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन दिए ।
मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने स्पष्ट गरे । सहरी विकास मन्त्रालयले मातहतका संरचनमा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ ।
‘राष्ट्र रोएको बेला पदमा बस्न अनुचित लागेको’ भन्दै बागमतीका सभामुखकाे राजीनामा
मकवानपुर । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । जेनजी आन्दोलन चर्किदै जाँदा उनले भदौ २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका थिए । आज उनले उपसभामुख अप्सरा चापागाईलाई सम्बोधन गर्दै लिखित पत्र ह्वाट्सएपबाट पठाएका हुन् ।
‘गत भाद्र २३ गते जेन जीको भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरेपछि म अत्यन्त भावविह्ल भएँ । राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्मामा लाग्यो र भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरे’ ।
उनले भनेका छन्, ‘तर प्राविधिक कारणले कानुनी प्रक्रिया पुरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदवाट राजीनामा गरेको छु’, पाठकले राजीनामा पत्रमा लेखेका छन् । प्रदेश प्रमुख, मुख्यमन्त्री र बागमती प्रदेशसभा सचिवालयमा पत्रको बोधार्थ दिइएको छ ।
हेर्नुस् पत्र

पार्टी खोल्ने सुरसारमा बालेन, क–कसले देलान् साथ ?
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनले ल्याएको ‘उलटफेर’ सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पनि आफ्नै पार्टी खोल्नु पर्ने दवाव सिर्जना भएको छ । जेनजी आन्दोलनले नेकपा एमाले र कांग्रेस गठबन्धनको सरकार मात्रै ढालेको छैन देश नयाँ दिशामा समेत ढल्किएको छ । पुराना दलका शीर्ष नेताहरू पाखा लाग्दै छन् नयाँ नेतृत्वको जन्म हुने सम्भावना बढेको छ ।
जेनजी आन्दोलनले ओली नेतृत्वको सरकार ढालेपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ । प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते नयाँ निर्वाचन गर्ने घोषणा गरिएको छ । नयाँ सरकार गठनका बेला अनलाइन भोटिङका आधारमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छन् । अन्तरिम सरकार गठन हुँदै गर्दा जेनजी पुस्ताको पहिलो रोजाइमा मेयर बालिन थिए ।
तर, छोटो अवधिको अन्तरिम सरकारको नेतृत्व गर्न जानु भन्दा पाँच वर्ष सरकार चलाउन नेतृत्व लिने गरी तयारी गर्नेमा मेयर बालेन देखिए । जसका कारण अन्तरिम सरकारको प्रधानमन्त्रीको प्रस्तावमा उनी मौन बसे । तर उनीमाथिको युवाको भरोसा र ‘प्रेसर’ घटेको छैन । बालेनले पाँच वर्ष सरकारको नेतृत्व लिनका लागि उनलाई पार्टी आवश्यक हुन्छ । जुन कुरा बुझेका मेयर बालेन यसैको तयारीमा समेत लागिरहेको उनी निकट स्रोत बताउँछन् । उनी आफैले औपचारिक निर्णय नगरिसके पनि दल खोलेर चुनाव लड्ने निश्चितप्रायः रहेको निकट स्रोतहरु बताउँछन् ।
आवधिक निर्वाचनको समय २०८४ सालमा भएकाले बालेन हतारोमा थिएनन् । चुनावभन्दा ६ महिना जति अगाडि पार्टी घोषणा गरेर झ्वाम्मै होमिने उनको योजना थियो । तर, अप्रत्याशित राजनीतिक फेरबदलले यही वर्ष संघीय संसदको चुनाव हुने भएको छ । आउँदो फागुन २१ गते आमनिर्वाचन हुने घोषणा सरकारले गरिसकेको हुँदा बालेनसँग तयारीका लागि धेरै समय छैन ।
बालेनले नयाँ राजनीतिक दल गठन गर्ने कुरामा दुई मत नभए पनि कहिले घोषणा गर्ने भन्नेमा उनको टिमभित्रै एकमत बनिनसकेको स्रोतले बताउँछ । ‘दल खोलेर चुनाव लड्ने विषयमा सबै सहमत छन्, तर अहिल्यै घोषणा गरिहाल्ने कि केही समय पर्खिने भन्ने दुईवटा कोणबाट बहस भइरहेको छ’, स्रोतले भन्यो ।
बालेनलाई दल घोषणा गरिहाल्न चौतर्फी दबाब बढिरहेको छ । तर, उनको कोर टिमका केही व्यक्तिहरु अहिले ठीक माहोल नरहेको बताइरहेका छन् । बालेनका अनन्य सहयोगी कुमार बेन अझै केही समय धैर्य गर्नुपर्ने पक्षमा देखिन्छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूले प्रतिनिधिसभा विघटनको निर्णयप्रति असहमति जनाउँदै राष्ट्रपति समक्ष निर्णय फिर्ता लिन माग गरेका छन् । तर राष्ट्रपति पौडेलले विज्ञप्ति जारी गर्दै देशले कठिन परिस्थिति पार गर्दै शान्तिपूर्ण निकास पाएको भन्दै आगामी फागुन २१ गतेको निर्वाचन सफल बनाउन सबैमा अपिल गरेका छन् ।
निर्वाचन आयोगले पनि तोकिएकै मितिमा निर्वाचन गराउन तयार रहेको जनाएको छ । यही निर्वाचनलाई लक्षित गर्दै काठमाडौं महानगरका मेयर बालेन शाहले नयाँ राजनीतिक दल गठनको भित्रभित्रै तयारी बढाइरहेको स्रोतको भनाइ छ । उनले ‘हाम्रो नेपाली पार्टी’ लाई नै अगाडि बढाउने तयारी गरेको बताइएको छ । यद्यपि पार्टीको नाम केही परिवर्तन गरिने बताइएको छ । यो पार्टी मूलतः ‘लौरो अभियान’ का कार्यकर्ताहरूबाट सुरु गरिएको हो, जसले अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौंमा बालेन र धरानमा हर्क साम्पाङलाई समर्थन गरेका थिए ।
जेन–जी आन्दोलन र बालेनको समर्थन
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई बालेनले सामाजिक सञ्जालमार्फत खुला समर्थन जनाएका थिए । उक्त आन्दोलन भ्रष्टाचार र ओली सरकारले सामाजिक सञ्जलामा लगााएको प्रतिबन्धविरुद्ध थियो । आन्दोलनकारीहरूले २८ वर्षमुनिका युवाहरूलाई मात्र सहभागी बनाउने नीति अपनाएका थिए, जसले गर्दा ३५ वर्षीय बालेन प्रत्यक्ष सहभागी नभए पनि उनी नै नयाँ नेतृत्वको प्रतीकको रूपमा स्थापित भए । आन्दोलनका क्रममा सरकारी दमनमा परेर पहिलो दिनमै १९ जना आन्दोलनकारीको ज्यान गएको थियो ।
अहिले ज्यान गुमाउनेको संख्या ७२ पुगिसकेको छ । सयौं घाइते छन् । जेन–जीहरूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अगाडि सारे । बालेनले पनि आफू नयाँ दल गठनको तयारीमा रहेकाले कुनै विवादमा नपरेकी कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन सुझाव दिएका थिए, जुन सुझावअनुसार नै सरकार गठन भयो ।
हाल कार्की नेतृत्वको सरकारमा मन्त्रीहरूलाई निर्वाचनमा उठ्न नदिने तर पार्टीमा काम गर्नुपर्ने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ । बालेनको नयाँ पार्टीले भ्रष्टाचार उन्मूलन, रोजगारी सिर्जना र युवा सशक्तिकरणलाई मुख्य एजेण्डा बनाउने बताइन्छ । पार्टीमा धरानका मेयर हर्क साम्पाङ, कुलमान घिसिङ तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ रहन सक्ने बताइएको छ । देशभरका स्वतन्त्र र युवा कार्यकर्ताहरूलाई समेट्ने उद्देश्यसहित पार्टीले आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको साझा प्लेटफर्म बन्ने लक्ष्य राखेको छ ।
जेनजीले ‘भुँइको टिप्छु भन्दा पोल्टाको पनि खस्छ’ भनेर सचेत गराए : बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुदलीय लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । उनले निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्नेमा जोड दिँदै यसले लोकतन्त्रको खम्बालाई कमजोर हुन नदिने बताएका छन् ।
भट्टराईले तोकिएकै मितिमा निर्वाचन गराउनका लागि राजनीतिक दलहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता पुराना दलहरूको पुनर्संरचना हुनेमा भने आशंका व्यक्त गरे । भट्टराईले भने, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो । लोकतन्त्रको खम्बालाई हामीले कति पनि कमजोर पार्न दिनु हुँदै । निश्चित मितिमै चुनाव गर्नुपर्छ ।’
पुराना दलहरूमा अझै पनि पुराना नेताहरूकै ‘उकुस–मुकुस’ रहेको उनको भनाइ छ । उनले आगामी दिनमा एउटा बृहत् खालको राजनीतिक पुनर्संरचनाको खाँचो औंल्याए । डा. भट्टराईका अनुसार, २८ वर्षभन्दा मुनिका युवा पुस्ता (जेन जी) ले दबाब सिर्जना गरिरहे राजनीतिक पुनर्संरचना सम्भव छ । उनले यस सन्दर्भमा ‘भुँइको टिप्छु भन्दा पोल्टाको पनि खस्छ’ भन्ने उखानको प्रयोग गर्दै सचेत गराएका छन् ।
वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । यद्यपि, प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधि सभा विघटन गलत भएको बताउँदै आएका छन् । यस अवस्थामा डा. भट्टराईको निर्वाचन समयमै हुनुपर्ने र राजनीतिक पुनर्संरचनाको आवश्यकतासम्बन्धी धारणालाई महत्वपूर्ण मानिएको छ ।
रिक्त २१ जिल्ला न्यायाधीशका लागि खुल्यो विज्ञापन
काठमाडौं । न्याय सेवा आयोगले रिक्त २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुलाएको छ । आयोगको ३१ भदौको बैठकले सूचना जारी गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले संविधानले तोकेको प्रतिशतअनुसार परीक्षाबाट न्यायाधीश नियुक्तिका लागि विज्ञापन गरेको हो ।
आयोगले आन्तरिक खुला ११, खुला ६, महिला १, आदिवासी-जनजाति २ र मधेशी १ जनाको कोटा खुलाएको छ । विज्ञापन खुलाएको ३० दिनभित्र दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दरखास्तका लागि आन्तरिक खुला र खुलाका लागि दुई हजार र थप समावेशीका लागि पाँच सय रुपैया दस्तुर अलग्गै लाग्ने छ । संविधानको धारा १४९मा जिल्ला न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था छ। उक्त धाराको उपधारा १ मा जिल्ला अदालतका न्यायाधीशको नियुक्ति न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशबाट हुनेछ भनिएको छ ।
उपधारा (२)को ‘क’ मा रिक्त जिल्ला अदालतको पदमध्ये २० प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा गरिने उल्लेख छ । उपधारा (ख) मा रिक्त पदमध्ये चालीस प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने भनिएको छ ।
रिक्त पदमध्ये बाँकी ४० प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ताको रूपमा निरन्तर कम्तीमा आठ वर्ष वकालत गरेका, कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित पदमा कम्तीमा आठ वर्ष काम गरेका वा कानूनको अध्यापन, अन्वेषण वा कानून वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर कम्तीमा आठ वर्ष काम गरेका नेपाली नागरिकमध्येबाट खुल्ला प्रतियोगितात्मक परीक्षाको आधारमा नियुक्ति गरिने भनेको छ ।
उपधारा (३) मा उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिमको योग्यता भएका व्यक्तिहरूमध्येबाट संघीय कानुनबमोजिम न्याय सेवा आयोगले लिखित र मौखिक प्रतियोगितात्मक परीक्षा लिई योग्यताक्रम बमोजिम जिल्ला न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्लाई सिफारिस गर्नेछ भनिएको छ ।
संविधानको यही व्यवस्थाअनुसार नयाँ परीक्षाका लागि आयोगले सूचना जारी गरेको हो । विगतमा यसरी लिइने परीक्षामा न्यून संख्यामा उत्तीर्ण हुने अनि परीक्षामा असफल भएकाहरूलाई नै सिफारिस गरेर न्यायाधीश बनाउने कार्य हुदै आएको छ। तर यस पटक पास हुने प्रतिशत घटाइएको छ ।
न्याय सेवा आयोग ऐन २०७३ को दफा १३ लाई केही नेपाल ऐनलाई संशोधन गरेर कम्तीमा ५० प्रतिशत ल्याउनुपर्ने भएकोमा ४० प्रतिशत कायम गरिएको थियो । ५० प्रतिशत उत्तीर्ण राख्दा १६ साउन २०८० लिएको जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा २११ जना परीक्षार्थी सहभागी भए पनि एक जना मात्रै उत्तीर्ण भएका थिए । ठूलो संख्यामा जिल्ला न्यायाधीश रिक्त भएपछि न्याय परिषद्ले परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाहरूलाई नै समावेश गरेर न्यायाधीशको नियुक्ति दिएपछि आलोचना भएको थियो ।
उत्तीर्ण हुन कम्तीमा ५० अंक ल्याउनुपर्ने व्यवस्थालाई परिमार्जन गरी ४० मा झार्न न्याय परिषद्ले सरकारलाई सुझाव पठाएको थियो । न्याय परिषद्को सुझावकै आधारमा केही नेपाल ऐनमा राखेर संशोधन गरिएको थियो । न्याय परिषद्सँग तत्कालीन समयमा अर्को विकल्प नभएको र संविधानले योग्यता तोकेका व्यक्ति परीक्षामा सहभागी भएकाहरू नै भएपछि यस्तो सिफारिस भएको थियो ।
जेनजी आन्दोलन : लुम्बिनी प्रदेशमा कति भयो क्षति ?
लुम्बिनी । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न निकायमा भौतिक क्षति पुगेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बुटवलस्थित प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री निवास र बुटवल सम्पर्क कार्यालय पूर्ण रूपमा क्षति भएका छन् भने मुख्यमन्त्री निवासका तीन वटा सवारी समेत नष्ट भएका छन् ।
प्रदेशका निमित्त प्रमुख सचिव लीलाधर सुवेदीका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत दाङमा सात मोटरसाइकल र एक गाडी नष्ट हुँदा आर्घाखाँचीमा सामान्य तोडफोड भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत रुपन्देहीमा एक मोटरसाइकल जलेको र दाङको लमहीमा मन्त्री क्वार्टरका सामग्री जलाइएको छ ।
बुटवलस्थित लेखा नियन्त्रक कार्यालयमा करिब रु ९६ लाख बराबरको क्षति भएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका रुपन्देही, बाँके, दाङका यातायात कार्यालय, भैरहवाको उद्योग निर्देशनालय, दाङको घरेलु तथा साना उद्योग कार्यालय र बाँकेको पर्यटन सूचना केन्द्र पूर्ण रूपमा क्षति भएका छन् ।
त्यसैगरी, स्वास्थ्यमन्त्री निवासमा क्षति भएको छभने ऊर्जा मन्त्रालयअन्तर्गत दाङमा आठ मोटरसाइकल जलेका छन् । वन निर्देशनालय पनि पूर्ण रूपमा क्षति भएको छ । प्रदेश लोकसेवा आयोगमा भवनमा आगजनी र तोडफोड, स्टोर नष्ट, कर्मचारी तथा जनप्रतिनिधिका सम्पत्ति विवरण नष्ट हुनुका साथै छवटा गाडी पूर्ण रूपमा क्षति भएको छ । प्रदेश सरकारको प्रशासनिक परिसर राप्ती उपत्यका देउखुरीको संरचना भने सुरक्षित रहेको छ ।
संसदीय समितिका सभापतिहरूले फर्काउन थाले गाडी
काठमाडौं । संसदीय विषयगत समितिका सभापतिहरूले गाडी फिर्ता गर्न थालेका छन् । प्रतिनिधि सभा विघटन भएपछि उनीहरूले संसद सचिवालयबाट लिएको गाडी फर्काउन थालेका हुन् । प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समिति छ । दुई वटा संयुक्त समिति छ । संयुक्त समितिमा समेत प्रतिनिधि सभा अन्तर्गतका सांसद नै सभापति थिए । १२ विषयगत समितिका सभापतिमध्ये ६ वटा विष्यागत समितिका सभापतिले गाडी फिर्ता गरेका छन्।
सबैभन्दा पहिले पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले गाडी फिर्ता गरेका थिए । त्यसपछि महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले गाडी फिर्ता गरेका छन्। नेकपा एमालेकी सचेतक सुनिता बरालले पनि गाडी फिर्ता गरिसकेकी छन् । अर्थ समितिका सभापति सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुशुमदेवी थापाले गाडी फिर्ता गरेका छन् ।
बाँकी संसदीय विषयगत समितिका सभापतिले औपचारिक रुपमा गाडी वा गाडीको चाबी फिर्ता गर्न बाँकी रहेको संसद सचिवालयको सवारी शाखाले जनाएको छ । कतिपयको गाडी संसद सचिवालयमै रहेको तर, चाबी मात्रै फिर्ता गर्न बाँकी रहेको सवारी शाखाका प्रमुख प्रदीप नेपालले जानकारी दिए ।
राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति इश्वरीदेवी न्यौपाने, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, संसदीय सुनुवाई समितिका सभापति रामहरि खतिवडाको गाडी संसद सचिवालयमै छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेको गाडी पनि संसद सचिवालयमै छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले पनि गाडी बुझाउन बाँकी छ ।
सभापतिका साथै राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकले समेत गाडील सुविधा पाउँछन् । प्रतिनिधि सभा विघटन भएसँगै सबैले गाडी फिर्ता गर्नुपर्ने हुन्छ । सवारी शाखाका प्रमुख नेपालका अनुसार गाडी फिर्ताका लागि सात दिनको समय दिने गरिएको छ । भदौ २७ गते प्रतिनिधि सभा विघटन भएकाले त्यसको सात दिनभित्र संसदीय विषयगत समितिका सभापति र मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकले गाडी फिर्ता गर्नुपर्ने हुन्छ ।
नक्खु कारागारबाट भागेका कैदी सर्लाहीबाट पक्राउ
काठमाडौं । सर्लाही प्रहरीले ज्यानसम्बन्धी मुद्दाका दुई अभियुक्तलाई पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारागारबाट फरार भएका एक कैदी र हत्या कसुरका अर्का फरार अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा मलंगवा नगरपालिका– ७ का ३० वर्षीय फिरोज मंसुर र सर्लाहीकै हरिपूर्वा नगरपालिका– ६ घर भएका २६ वर्षीय सन्तोष भनिने अभिकुमार यादव छन् ।
मसुर भदौ २५ गते नक्खु कारागारबाट कैदीहरू भाग्दा फरार भएर सर्लाही पुगेका थिए । उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमाण्डमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै यादवले गएको साउन ३० गते हरिपूर्वा–६ निवासी ५० वर्षीय रामपुकार यादवलाई गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि उनी फरार भएका थिए। हत्यापछि भारततर्फ भागेका उनी नेपाल आउँदै गर्दा सर्लाहीकै पर्सा गाउँपालिका–३ नारायणपुरबाट पक्राउ परेका हुन् ।
शेयर कारोबार बिहीबारदेखि हुने
काठमाडौं । जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो ।
अवस्था सहज भएपनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै आएको थियो । बोेर्डले मंगलबार पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो । बोर्डको निर्देशनपछि बजार नियमित सञ्चालन हुन लागेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
मन्त्री बन्ने प्रस्ताव मैले नै अस्वीकार गरेको हुँ : भिमार्जुन आचार्य
काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले मन्त्री बन्नका लागि आएको प्रस्ताव आफूले अस्वीकार गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै आफू मन्त्री पदका लागि इच्छुक नरहेको स्पष्ट पारेका छन् । आचार्यले क्याबिनेटमा सहभागी भएमा आफूले जीवनभरि वकालत गरेको संविधानको मूल्य र मान्यतामा सम्झौता हुने र आफ्नो बाँकी जीवन त्यसैको जवाफ दिँदैमा बित्ने उल्लेख गरेका छन् ।
‘जीवनभरि संविधानको मूल्यको कुरा गरेँ, आन्दोलनबाट निर्मित सरकारको सीमा निश्चित हुँंदैन । यसो हुन गएमा बाँकी जीवन मेरो जवाफ दिँदैमा बित्ने हुन्छ,’ उनले लेखेका छन् । उनले मन्त्री पदभन्दा आफ्नो व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकता दिएको बताएका छन् । ‘फेरि मेरो चियाको, रियाजको, लेखनको– जमिनको जिन्दगीको आनन्द, खुशी र स्वतन्त्रता कसरी गुमाउ म !,’ उनले भनेका छन् ।
आचार्यले देशलाई आवश्यक परेको बेला सहयोग गर्न सधैँ तयार रहेको तर त्यसका लागि मन्त्री पद नै आवश्यक नभएको धारणा राखेका छन् । यसअघि डा. सन्दुक रुइतले पनि मन्त्रीको प्रस्ताव अस्वीकार गरेका छन् । उनलाई प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा सहभागी भएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले आफू बिरामीको उपचारबाट देशको सेवा गर्ने जवाफ दिएका थिए ।
मन्त्री घिसिङ आज संसद भवन अवलोकनमा जाने, शहीदका परिवारलाई भेट्ने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ आज (बुधबार) बानेश्वरस्थित क्षतिग्रस्त संसद भवन अवलोकन तथा जेनजी आन्दोलनका शहीदका घरमा जाने भएका छन् । मन्त्री घिसिङ अहिले बिहान १० बजे वसन्तपुरस्थित कुमारी मन्दिरमा पूजापाठमा सरिक हुने उनको सचिवालयले जनाएको छ । त्यस लगत्तै उनी आन्दोलनका कारण क्षतिग्रस्त संसद् भवन अवलोकनमा जानेछन् ।
त्यसपछि जेनजी विद्रोहमा शहीद बनेकाका परिवारलाई भेटेर समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । सरकारले आन्दोनलमा मारिएकाहरूको पीडामा आजै राष्ट्रिय शोक घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिएको छ । घिसिङलाई ऊर्जासँगै भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले सिंहदरबार र सर्वोच्च अदालतसँगै संसद् भवनमा पनि तोडफोड र आगजनी गरेका थिए ।
भ्रष्टाचारविरुद्ध जेनजीको नेतृत्वमा यही भदौ २३ र २४ गते काठमाडौँसहित देशका विभिन्न सहरमा भएको प्रदर्शनमा ७२ जना मारिए भने सयौँ घाइते भएका छन् । सरकारका अनुसार आन्दोलनमा मारिएका ७२ जनामध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी छन् । आन्दोलनमा मारिएका युवालाई सरकारले शहीद घोषणा गरेको छ भने पीडित परिवारलाई जनही १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
सरकारले ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने
सरकारले जेनजी प्रदर्शनका क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने भएको छ । सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गर्ने सरकारको योजना छ । सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलत निरीक्षण गर्दै मन्त्री कुलमान घिसिङले सो जानकारी दिएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले मङ्गलबार सिंहदरबारको मुख्य भवन र गृह मन्त्रालयको स्थलगत निरीक्षण गरेका थिए । त्यसक्रममा मन्त्री घिसिङले सहरी विकास मन्त्रालयले संरचनामा पुगेको क्षति एकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जानकारी पनि दिए ।
मन्त्री घिसिङले विनासबाट ‘हामी उठ्यौं’ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालयको परिसरमा आगलागीबाट क्षति भएका सवारी साधन तुरुन्त हटाउने, क्षतिको मूल्यांकन तत्काल गर्ने र ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने बताए ।
प्रहरीले भन्यो–सम्पर्कमा नआएका आफन्तबारे जानकारी दिनू
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले सम्पर्कमा नआएका आफन्तबारे जानकारी दिन आग्रह गरेको छ। आन्दोलनका क्रममा जलेका भवनहरूमा मानव अस्थिपञ्जरहरू भेटिएकाले हराएका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनबारे जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।
यही भदौ २३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा विभिन्न भौतिक संरचनाहरूको क्षति, तोडफोड र आगजनी भएको थियो ।काठमाडौँ जिल्लाका विभिन्न स्थानमा रहेका भवनहरूको सरसफाइ तथा उद्धारको क्रममा आगोमा जली पहिचान समेत खुल्न नसकेका मानव अस्थिपञ्जरहरू भेटिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।
प्रहरीले प्रेस विज्ञप्ति प्रकाशित गरी विरोध कार्यक्रमपछि हराई, सम्पर्कमा नरहेका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनका सदस्यहरू कोही भएमा प्रहरी कन्ट्रोल नम्बर १००, यस जिल्ला प्रहरी परिसर, काठमाडौँको सम्पर्क नम्बर ९८५१२८३०१२, mpcd [email protected] मा इमेल वा नजिकको प्रहरी कार्यालयमा सो को जानकारी दिन हुन अनुरोध गरिएको छ । जिल्ला प्रहरी परिसरले अस्थिपञ्जरको पहिचानमा सहयोग गर्न समेत सबैलाई आग्रह गरेको छ ।
हेर्नुस् सूचना

स्थगित कक्षा १२ को मौका परीक्षाको नयाँ तालिका सार्वजनिक
काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को संशोधित नयाँ तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार मौका परीक्षा यही असोज ७ गते र ८ गतेका लागि तोकिएको छ ।
७ गते अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ । तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनु पर्नेछ।
यस्तै ८ गते दुवै विषयमा परीक्षा दने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ। यो दिन अनिवार्य अंग्रेजीको परीक्षा भने हुने छैन । अंग्रेजीको परीक्षा पहिलो दिन अर्थात ७ गते नै तोकिएको छ।
हेर्नुस् नयाँ परीक्षा तालिका

सिंहदरबार प्रवेशका लागि जारी सबै पास खारेज, कर्मचारीको बैठक भत्ता कटौती
काठमाडौं । सिंहदरबारमा बसेको सचिवको बैठकले देशको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न २१ वटा निर्णय गरेको छ ।
मंगलबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिव बैठकले सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता खारेज गरेको छ । सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन कार्यालयले गर्ने सबै कार्यक्रमहरू सरकारी भवन तथा हलमा आयोजना गर्न निर्देशन दिएको छ।
सिंहदरबारमा रहेका मन्त्रालय तथा निकायहरूले अनावश्यक रूपमा यस अघि जारी गरेका प्रवेश पासहरू सबै खारेज गर्ने निर्णय गरिएको छ। आवश्यक परेको खण्डमा नयाँ पासहरू उपलब्ध गराइने जनाइएको छ ।
यी हुन् निर्णहरू



बीपी राजमार्ग आजदेखि २४सै घण्टा खुला
काठमाडौं । यो वर्षको मनसुन सुरु भएपछि जोखिमका कारण रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बीपी राजमार्ग आजदेखि २४सै घण्टा खुला गरिएको छ ।
मनसुन बाहिरिने क्रममा रहेको र दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजना बमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।
कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो । मनसुनमा बाढी–पहिरोको जोखिमका कारण बीपी राजमार्गअन्तर्गत प्रथान बिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलबाट सिन्धुलीको सीमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो ।
मनसुनको समयमा बीपी राजमार्गमा यात्रा गर्नु उच्च जोखिम देखिएकाले राति निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । गत वर्ष असोजको बाढी–पहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो ।
बाढी–पहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा क्षति पु¥याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीको उक्त राजमार्गबाट दैनिक हजारौं सवारीसाधन आवतजावत गर्छन् ।
सचिव बैठकको निर्णय: १० हजार कर्मचारीको दरबन्दी घटाउने
काठमाडौं । निजामती सेवाका सचिवहरूले संघीय तहमा रहेका दरबन्दीहरु २० प्रतिशतले कटौती गर्ने निर्णय गरेका छन् ।
मंगलबार बसेको सचिवहरुको बैठकले मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूमा रहेको दरबन्दी औसतमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो ।
विश्वकर्मा पूजाका लागि मूर्तिहरू तयार (तस्बिरहरू)
काठमाडौं । भोलि पर्न गइरहेको विश्वकर्मा पूजाका लागि माटोका मूर्ति बनाउने र बेच्ने काम तीव्र रूपमा भइरहेको छ। शिल्पीहरूले मूर्तिहरू तयार पार्दै बजारमा बिक्रीका लागि ल्याएका छन् ।
पूजाको दिन भक्तजनहरूले पूजा र औजारको आराधना गर्छन् । विश्वकर्मा पूजा, हिन्दू परम्परामा देवताका वास्तुकार विश्वकर्मालाई समर्पित पर्व हो, जसमा औजार, कार्यस्थल र मेशिनहरूको पूजा गरेर समृद्धि, सुरक्षा र दक्षता प्राप्त हुने विश्वास गरिन्छ ।
यस पर्वले व्यक्तिहरू र समुदायहरूलाई औजार, मेशिन र दक्ष शिल्पीहरूको महत्त्व स्मरण गराउने अवसर पनि प्रदान गर्दछ ।
पूजा सकिएपछि भक्तजनहरूले मूर्तिहरू विभिन्न खोलामा विसर्जन गर्छन् ।












राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
काठमाडौं । राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरेका हुन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्यको सूचना प्राप्त भएको जानकारी दिए ।
प्रतिनिधिसभा भने यसअघि नै विघटन भइसकेको छ ।

घटस्थापनादेखि २२ असोजसम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला
काठमाडौं । सरकारले दशैंलाई लक्षित गरी घटस्थापनादेखि २२ असोज (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका अनुसार मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ ।
बैठकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णय समेत गरेको विभागले जनाएको छ ।
यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन ६ असोज घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणघाट–काठमाडौैं रुटमा चलाउन नपाउनेगरी निर्णय भएको छ । आयात निर्यातका सवारी साधन भने भन्सार कार्यालय बन्द रहने अवधि बाहेकका दिन यो रुटमा चल्न सक्ने छन् ।
जेनजी आन्दोलनपछि जनार्दनले फेरि उठाए प्रचण्डको राजीनाको माग
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागेको विषय छलफल हुने भएको छ । प्रचण्डसँग निरन्तर अन्तर संघर्ष गर्दै आएका शर्माले जेनजी आन्दोलनपछि अब पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा गर्नुपर्ने भन्दै १६ बुँदे प्रस्ताव अघि सारेका छन् । शर्माको त्यो पत्रबारे औपचारिक रूपमा पार्टीमा आइनसकेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।
माओवादीका उपाध्यक्ष समेत रहेका सापकोटाले नेपाल सुनाए, ‘यो पत्रबारे अहिलेसम्म मलाई थाहा छैन । हो रहेछ भने पनि यो विषयमा संस्थागत रूपमा छलफल हुन्छ । पार्टीको बैठक नबसी मैले व्यक्तिगत रूपमा बोल्न मिल्दैन ।’
शर्माले पार्टीको विशेष महाधिवेशन माग्दै विगत लामो समयदेखि प्रचण्डले नेतृत्व छाड्नु पर्ने कुरा उठाइरहेका छन् । जेनजी आन्दोलनले ल्याएको तरङ्गपछि शर्माले फेरि यो विषय बहसमा ल्याएका हुन् । माओवादीमा प्रचण्डलाई मात्रै होइन कांग्रेसमा सभापति शेरबहादुर देउवा र एमालेमा अध्यक्ष केपी ओलीलाई पनि पछिल्लो समय नेतृत्व छाड्न दबाब बढ्दो छ ।
प्रधानमन्त्रीलाई भारतीय राजदूतले भने–शान्ति र सुशासनका पक्षमा छौं, पुनर्निर्माणमा सघाउँछौं
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ । मंगलबार अपराह्न सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेट गरेका हुन्।भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले नेपालको विकास, पुनः निर्माणमा भारतले सघाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको उनको भनाइ थियो । त्यस्तै बिहीबार प्रधानमन्त्री कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भिडिओ कुराकानीको कार्यक्रम तय भइसकेको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए भने अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी हुन् । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरिएको छ ।
