`

सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी

बागमती । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडास्थित सहरी विकास तथा भवन कार्यालयको नवनिर्मित भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।

जेनजी प्रदर्शनका क्रममा मन्त्रालयको भवनसहित आगजनीले क्षति पु¥याएपछि सो भवनबाट सञ्चालन गर्ने तयारी थालिएको हो । “आगजनीबाट मन्त्रालयको केही कोठा बाहेक अधिकांश भाग जलेर ध्वस्त छ, त्यसैले मन्त्रालय सञ्चालनका लागि तत्काल सहरी विकासको नयाँ भवन उपयोग गर्ने तयारीमा छौँ”, मन्त्रालयका सूचना अधिकारी बासुदेव दाहालले भने, “सोहीअनुसार कार्यालय व्यवस्थापनका लागि मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाको नेतृत्वमा टोली परिचालन गरिएको छ, एक/दुई दिनमै कार्यालय व्यवस्थापन गरी सेवाप्रवाह गर्छाैँ ।”

आन्दोलनकारीले नवनिर्मित सो भवनमासमेत तोडफोड गरेकाले मर्मत गरी कार्यालय व्यवस्थापन गरिने जनाइएको छ । आगजनीबाट जोगिएका मन्त्रालयको केही फर्निचर तथा कागजात सार्ने र नयाँ समान ल्याएर कर्मचारीका लागि आवश्यक कक्ष व्यवस्थापन गरिरहेको मन्त्रालयले जनाएको छ ।

हेटाँैडा उपमहानगरपालिका–१ चौकीटोल ओरालोस्थित एउटै भवनमा सञ्चालन भइरहेको बागमती प्रदेश सरकारको भौतिक मन्त्रालयसहित चार वटा मन्त्रालय प्रदर्शनका क्रममा जलेको थियो ।

आगजनीबाट प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालय तथा अन्तर्गतका कार्यालयमा साढे पाँच करोड मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । उहाँका अनुसार प्रदर्शनकारीले मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालय चितवन, सहरी विकास तथा भवन कार्यालय हेटौँडा, पूर्वाधार विकास कार्यालय ललितपुर र प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना कार्यालय हेटौँडामा पनि क्षति पु¥याएका छन् ।

त्यस क्रममा मन्त्रालयका पाँच वटा चार पाङ्ग्र्रे सवारी तथा ३५ वटा मोटरसाइकल गरी ४० वटा सवारी साधन जलाइएका छन् ।

भन्सारमा नौ करोड ७० लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा रु नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो ।

कोरलानाका ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यसम्पादन सोमबारदेखि सुरु गरिएको थियो । चीनतर्फ भन्सार जाँचपास गरी कोरला नाकाबाट हालसम्म १६१ विद्युतीय कारसहित ८५ मालवाहक मझौला कन्टेनर कोरला नाकाको चिनियाँ भन्सारबाट मालवस्तु लोड गरी भन्सार कार्यालय न्हेचुङमा जाँचपासका लागि रोकिएका मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए।

चिनियाँ भन्सारबाट जाँचपास भई मुस्ताङ भन्सारमा जाँचपासका लागि रोकिएका ८५ कन्टेनरमध्ये हालसम्म ४५ कन्टेनरको भन्सार जाँचपास भइसकेको उनले बताए । यहाँबाट जाँचपास भईसकेका ४५ मालवाहक कन्टेनरबाट उल्लेखित भन्सार राजस्व सङ्कलन भएको हो ।

मुस्ताङ भन्सारबाट नेपाली मालवस्तु चीनतर्फ निकासका लागि दुई गाडीको भन्सार जाँचपास भइसकेको भन्सार प्रमुख खड्काले बताए । चीनतर्फ निकासी भएका सामान हस्तकलाका सामग्री हुन् । चीनबाट आयात गरिएका दसैँ लक्षित मालवस्तु लोड गरिएका कन्टेनरमध्ये जाँचपास भइसकेका ४५ कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरिसकेको र जाँचपास हुन बाँकी ४० कन्टेनरको भन्सार जाँचपास हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । यसैगरी चीनबाट आयात गरिएका १६० विद्युतीय गाडीको पनि भन्सार जाँचपास हुन बाँकी रहेको उनले बताए ।

चीनबाट आयात गरी मुस्ताङ भन्सारमा जम्मा भएका कुनै पनि विद्युतीय गाडीको हालसम्म जाँचपास भइनसकेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। भन्सार कार्यालयमा सीमित कर्मचारी हुँदा भन्सार जाँचपासमा ढिलाइ भएको उनको भनाइ छ । बैंक तथा वित्तिय संस्थाले चीनबाट आयात हुने मालवस्तुको मुस्ताङ भन्सारमा जाँचपास तथा आयात वस्तुका लागि प्रतितपत्र (एससी) खोल्न पर्ने व्यवस्था गरिएको छ ।

तेस्रो पटक ‘नेगेटिभ सर्किट’, शेयर कारोबार बन्द

काठमाडौं । लगानीकर्ताहरू आत्तिएपछि शेयर बजारमा आज (बिहीबार) केही मिनेटमै तेस्रो पटक सर्किट ब्रेक लागेको छ । नेप्से एक सय ६० अंक पाँच प्रतिशतले घटेर नेप्से २५११ विन्दुमा आएको छ । बजारमा सात अर्ब २८ करोडको शेयर किनबेच भएको छ । बजारमा जम्मा सात मिनेट मात्रै कारोबार हुन पायो । शेयर बजार खुलेको तीन मिनेट नबित्दै चार प्रतिशतले घटेर सर्किट ब्रेक लागेको थियो ।

२० मिनेट बजार बन्द भएर खुलेको एक मिनेट मै बजार थप एक प्रतिशतले घट्यो । यो अवधिमा कुल पाँच प्रतिशतले घटेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो । बजार पहिलो एक घण्टा चार प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगन हुन्छ । त्यस्तै, दुई घण्टाभित्र ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेटको लागि र तीन घण्टा भित्रमा ६ प्रतिशतले घटबढ भएमा दिनभरको लागि कारोबार स्थगन हुने नियम छ ।

भदौ २३ र २४ गते भएको प्रदर्शनको कारण भएको क्षतिले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा भार पर्न सक्ने आंकलन गरिँदै आएको छ । बुधबारसम्म बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूले पेश गरेको तथ्यांक अनुसार २० अर्ब रूपैयाँ बराबरको दाबी परेको छ ।

अहिले कम्पनीहरूले औसतमा बीमाको ३० देखि ३५ प्रतिशतसम्म मात्रै भार आफूले राख्छन् । बाँकी भार नेपाली पुनर्बीमा (रि इन्सुरेन्स) कम्पनीहरूलाई सार्छन् । अहिले हामीकहाँ नेपाल पुनर्बीमा र हिमालयन रि इन्सुरेन्स गरी दुइटा पुनर्बीमा कम्पनी छन् । यी कम्पनीले पनि दाबीको केही भार आफै लिन्छन्, केही विदेशी पुनर्बीमा कम्पनीमा सारेका हुन्छन् ।

यी कम्पनीहरूले दाबीभार विदेशी बीमा कम्पनीमा सारेको आकलन भए पनि कति सारेका छन् भन्ने जानकारी बीमा प्राधिकरणसँग छैन । तैपनि अहिले विभिन्न पर्ने बीमा दाबी भुक्तानी गर्न कम्पनीहरू सक्षम रहेको प्राधिकरणले जनाएको छ। यही कारण हिमालयन रि इन्सुरेन्सको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । हिमालयन रिको आठ सय ७८ रूपैयाँमा शेयर कारोबार भएको हो । नेपाल रि इन्सुरेन्सको पनि शेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ । कम्पनीको शेयर मूल्य एक हजार चार सय ६८ रूपैयाँका कारोबार भएको छ ।

खोरेत रोग नियन्त्रणमा

बागमती । हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरको विभिन्न स्थानीय तहमा किसानले पालेका पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ ।

पशु सेवा कार्यालय मकवानपुरले प्रभावित स्थानीय तहमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेपछि खोरेत रोग नियन्त्रणमा आएको हो ।

“खोरेत रोगबाट पशु चौपाया मर्न थालेपछि खोरेत रोगविरुद्धको खोप अभियान चलायौँ,” पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा बृजकिशोर ठाकुरले भने, “अहिले रोग नियन्त्रणमा आइसकेको छ ।”

खोरेत रोग प्रभावित पशुलाई लक्षित गरी जिल्लाको १० वटै पालिकामा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको प्रमुख ठाकुरले बताए । उनका अनुसार भदौको पहिलो सातादेखि सुरु गरिएको खोरेत रोगविरुद्धको खोप अभियानका क्रममा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडाका २३ हजार पशुमा खोप लगाइएको छ ।

खोरेत रोगबाट जिल्लाको १० वटा पालिकामा मध्ये नौ वटा पालिकामा फैलिएको खोरेत रोगबाट दुई हजार तीन सय ३९ पशुचौपाया प्रभावित भएकामा एक सय एक पुशचौपायाको मृत्यु भएको पशु सेवा कार्यालय हेटौँडाका पशु चिकित्सक डा विजय पौडेलले बताए । उनका अनुसार सबैभन्दा बढी हेटौँडामा खोरेत रोगबाट ४१ पशु मरेका छन् ।

रोकिराखेको ट्रकमा बस ठोक्किँदा दुईको मृत्यु, २० बढी घाइते

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा रोकिराखेको ट्रकमा बस ठोक्किँदा दुईको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेर अन्दाजी ४० वर्षीय एक जना पुरुष र ४५ वर्षकी महिलाको मृत्यु भएको छ । उनीहरूको जिल्ला अस्पताल इनरुवा र ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान

कञ्चनपुर । वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका–७ मा ५८ स्वचालित (सेन्सरयुक्त) बत्ती जडान गरिएका छन् । बत्ती जडान भएपछि बस्तीमा पसेर क्षति गर्ने जङ्गली जनावर नियन्त्रणमा सहयोग पुगेको छ ।

तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा २९ पोलमा बत्ती जडान गरेको छ । समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार बत्तीको प्रकाशले निकुञ्ज हुँदै बस्तीमा प्रवेश गर्ने जनावर टाढैबाट देख्न सकिन्छ ।

“यो कार्यले बालीनाली जोगाउन मात्र होइन, जनावर भगाउन पनि सहज भएको छ, मानवीय क्षति कम गर्न मद्दत पुगेको छ”, अध्यक्ष विष्टले भने । उनका अनुसार बस्ती क्षेत्रमा हात्ती, बँदेल, नीलगाई, चितललगायतका वन्यजन्तु प्रायः प्रवेश गर्ने गरेका छन् । बत्तीसँगै समितिले करिब तीन किलोमिटर क्षेत्रमा मेसवायर समेत जडान गरेको छ । बत्ती र मेसवायर जडान भएपछि बालीनाली जोगाउन सहज भएको छ ।

शुक्लाफाँटा–७ का वडाध्यक्ष प्रतापसिंह धामीले स्वचालित बत्ती र मेसवायर दुवै उपायले जनावर नियन्त्रण गर्न सहयोग पुगेको बताए । “हात्तीले मेसवायर तोडेर बस्तीमा छिर्ने गथ्र्यो, घर नजिक पुगेपछि मात्रै थाहा पाउँथ्यौँ, अहिले बत्तीको कारण टाढैबाट देख्न सकिने भएको छ”, उनले भने। समितिले चालू आर्थिक वर्षमा थप बत्ती जडान गर्न प्रस्ताव पेस गरेको छ ।

प्रहरीलाई गृहमन्त्रीको आग्रह : म अहिंसावादी हुँ, तपाइँहरू पनि त्यस्तै गरी पेश हुनुस्

काठमाडौं । गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले देशभरका प्रहरी युनिटमा कार्यरत अधिकृतलाई उच्च मनोबलका साथ सेवामा तल्लीन हुन निर्देशन दिएका छन् । जेनजी आन्दोलनपछि क्षतिग्रस्त काठमाडौंका केही प्रहरी कार्यालय निरीक्षणपछि बिहीबार बिहान नक्सालस्थित प्रधान कार्यालय पुगेका मन्त्री अर्यालले नयाँ परिवर्तनलाई आत्मसात् गर्दै प्रहरी कर्मचारीहरू डुयटीमा तैनाथ हुने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘तपाईँहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पालनामा लाग्नु हुनेछ भन्ने विश्वास वर्तमान सरकारले लिएको छ, यो सरकार उच्च मनोबलयुक्त प्रहरी कर्मचारीको पक्षमा छ ।’ उनले आफू शाकाहारी भएको र स्वभावतः अहिंसावादी भएको भन्दै प्रहरीलाई पनि अहिंसावादी शैलीमै पेश हुन निर्देशन दिए । गृहमन्त्रीको ब्रिफिङमा देशभरिका कार्यालय प्रमुखलाई भर्चुअल माध्यमबाट जोडिएको थियो । प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार प्रहरीका क्षतिग्रस्त भवनको निरीक्षणका क्रममा उनी प्रधान कार्यालय पुगेका हुन् ।

 

नागरिक अगुवाले राष्ट्रपतिलाई भेटेर भने–सरकार दलहरुप्रति प्रतिशोध साँध्नतिर नलागोस्

काठमाडौं । नागरिक आन्दोलनका अगुवाहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर लोकतन्त्रको जग हल्लिन नदिन खबरदारी गरेका छन् । उनीहरुले जेनजी आन्दोलनपछिको संक्रमणकालीन समयमा राष्ट्रपतिले देखाएको अभिभावकीय भूमिकाको प्रशंसा गरेका छन् ।

विभिन्न क्षेत्रका १४ जना प्रबुद्ध नागरिकले राष्ट्रपतिलाई भेटेर ज्ञापनपत्र बुझाउँदै सरकार निर्वाचन गराउने दायित्वबाट विमुख हुने खतरातर्फ सचेत गराएको भेटमा सहभागी संविधानविद टीकाराम भट्टराईले बताए । उनीहरुले जेनजी आन्दोलनमा भएको सरकारी दमन, अपराधिक घुसपैठ र भयावह हिंसात्मक घटनाको छानविनको माग गर्दै सुरक्षा निकायको सक्रियता नदेखिएको घटनाप्रति आशंका समेत जाहेर गरेका छन् । उनीहरुले दलहरुविरुद्ध प्रतिशोध साँध्ने, उनीहरुको भूमिका खुम्च्याउन खोज्ने र संवैधानिक संरचनाहरुलाई असंवैधानिक ढंगले चलाउने वा खुम्च्याउने कार्य भएमा अर्को द्वन्द्व हुनसक्ने भन्दै राष्ट्रपतिलाई सचेत गराएका छन् ।

सरकारले अहिले निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई पनि भाग लिन पाउनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्न लागेको भन्दै उनीहरुले त्यसो गर्दा चुनाव समयमा नहुनेतर्फ राष्ट्रपतिलाई सजग गराएका छन् । भेटमा सहभागी नेपाल बारका पूर्व उपाध्यक्ष भट्टराईले भने, ‘विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार दिलाउने कुरा राम्रो हो तर अहिले अध्यादेशबाट त्यो कति सम्भव छ ? यसले गर्दा ६ महिनाभित्र हुने निर्वाचन धकेलिन सक्छ र त्यसपछि झन् ठूलो संवैधानिक संकट आउनसक्छ भनेर हामीले राष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण गराएका छौं ।’

३९ अर्ब १५ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।

“साउनमा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको थियो”, उनले भने, “भदौमा मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व सङ्कलन गरेका छौँ ।”

वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा रु दुई अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते रु एक खर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै भदौ २८ गते रु एक अर्ब ७१ करोड र भदौ ३१ गते भने रु एक अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै जेनजीको प्रदर्शनका दिन भदौ २४ गते रु तीन करोड राजस्व सङ्कलन भएको छ ।

त्यस्तै भदौ २६ गते छ करोड र भदौ २७ गते भने रु ११ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयले साउन महिनामा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन ग¥यो भने भदौ महिनामा भने रु २० अर्ब १२ करोड राजस्व सङ्कलन गरेको छ ।

सर्वोच्चले थाल्यो पाल टाँगेर सुनुवाइ

काठमाडौं । जेनजी आन्दोलन क्रममा आगजनीले क्षतिग्रस्त भएको सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको सुनुवाइ थालेको छ । सर्वोच्च परिसरमा पाल टाँगेर बन्दी प्रत्यक्षीकरणको सुनुवाइ थालिएको हो ।

सपना मल्ल प्रधान र कुमार रेग्मीको अलग-अलग इजलासमा २ वटा निवेदनमाथि सुनुवाइ हुनेछ । यसअघि आइतबारदेखि नै बन्दी प्रत्यक्षीकरणको सुनुवाइ थाल्ने भनिएको भए पनि सुरु हुन सकेको थिएन् ।

राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दल र दलहरूले गरेको योगदान मेट्ने प्रयास भएको बताएका छन् । भदौ २४ गते प्रदर्शनकारीहरूले जलाइदिएको घर बिहीबार अवलोकन गर्दै नेता सिंहले राजनीतिक दलका नेताहरूको घरमा तोडफोड र आगजनी गरिनुले जेनजी आन्दोलनको आडमा दलको योगदान मेट्ने प्रयास भएको बताएका हुन् ।

‘आन्दोलनकै क्रममा विराटनगरमा कोइराला निवास जल्ने, काठमाडौंमा चाक्सीबारी जल्ने, कृष्णप्रसाद भट्टराईजीको आश्रम जल्ने,’ उनले भने, ’यसले के देखाएको छ भने जेन जीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रिब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको छ ।’

उनले आगलागी र तोडफोड भएको घटनामा निष्पक्ष छानबिन गर्नुपर्ने बताए । उनले लोकतन्त्रमा दलहरूको भूमिका महत्वपूर्ण भए पनि त्यसलाई निमोठ्न खोजिएको बताए ।

‘दलहरुलाई मिनिमाइज गर्ने दुष्प्रयास गरिएको छ । यो डेमोक्रेसीमा दलहरुको भुमिका महत्वपूर्ण हुन्छ । समयको माग बमोजिम दलहरु संस्थागत गरेर अघि बढ्नु पर्छ । मिलेरै देश बनाउने हो । राज्यविरुद्ध दुष्प्रयास गरिएको छ। जलाएर केही हुने होइन।शुन्यतामा कसैले केही गर्न सक्दैन,’ उनले भने । नेता सिंहले प्रदर्शनमा घुसपैठ भएको पनि बताए । ‘यसमा राम्रोसँग छानविन गरेर यो अन डेमोक्रेटिक प्रोसेसहरु जसले यहाँ खेल्न प्रयास गरिरहेका छन्, त्यसमा सरकार अलर्ट हुनुपर्छ,’ उनले भने ।

सुशीला कार्की र नरेन्द्र मोदीबीच फोनवार्ता, त्यसपछि निचियाँ राजदूतसँग भेट

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज फोन वार्ताको तयारी भइरहेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आज बिहान साढे ११ बजे फोनवार्ताको तयारी गरिएको हो। मंगलबार नै वार्ता हुने तयारी भएको भए पनि अन्तिम समयमा उनीहरूबीचको फोनवार्ता सरेको थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको प्रदर्शनको बलमा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । कार्की नेतृत्वको सरकार बनेपछि मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिइसकेका छन् ।

मोदीले गत शनिबार मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा सुशीला कार्की नेतृत्वको सरकार बन्नु महिला सशक्तिकरणको उदाहरण भएको समेत बताएका थिए । त्यसपछि आजै दुई शक्तिशाली मुलुकका राजदूतले पनि प्रधानमन्त्री कार्कीलाई भेट्ने भएका छन् । मन्त्रिपरिषद् कार्यालयका अनुसार, चिनियाँ राजदूत छन सोङ र अमेरिकी राजदूत डिन आर थम्प्सनले पनि भेटघाटका लागि समय लिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यी सबै कूटनीतिक भेट र वार्ताहरू हुनेछन् । यसैको तयारीका लागि प्रधानमन्त्री कार्की आज बिहानै कार्यालय पुगिसकेकी छन् । यसअघि गत मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई सिंहदरबार पुगेर भेटवार्ता गरेका थिए । प्रधानमन्त्री कार्कीले अहिले परराष्ट्रसहित १५ वटा मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी छन् । बाँकी ६ वटा मन्त्रालय ३ जना मन्त्रीको काँधमा छन् ।

फ्रान्समा हड्ताल, बजेट योजनामा चुनौती

फ्रान्स । बजेट कटौतीको विरोधमा सबै प्रमुख ट्रेड युनियनहरूले आह्वान गरेको हड्ताल र सडक प्रदर्शनहरू बिहीबार फ्रान्सभरि हुने अपेक्षा गरिएको छ ।

नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले ठूलो घाटा र ऋण नियन्त्रणबारे राजनीतिक दलहरूसँग छलफल गरिरहेका बेला यो कदम आएको हो ।

युनियनहरूले लेकोर्नुलाई अघिल्लो सरकारले प्रस्ताव गरेको बजेट मस्यौदा फिर्ता लिन आग्रह गरेका छन् । उक्त योजनामा सामाजिक कल्याण स्थगन र मितव्ययिता उपायहरू समावेश छन्, जसले कम तलब र मध्यमवर्गीय कामदारहरूको क्रयशक्ति घटाउने चेतावनी उनीहरूले दिएका छन् ।

गत हप्ता जारी संयुक्त विज्ञप्तामा युनियनहरूले यी उपायलाई ‘अभूतपूर्व क्रूरता’ भन्दै, कामदार, अस्थायी रोजगारीमा रहेका, सेवानिवृत्त र बिरामीहरूलाई मूल्य चुकाउने बनाएको आरोप लगाएका थिए ।

युनियनहरूले राष्ट्रपति इमानुएल म्याक्रोनको पेन्सन सुधारसमेत अस्वीकार गर्दै आएका छन्, जसअनुसार न्यूनतम सेवानिवृत्ति उमेर ६२ बाट ६४ मा बढाइएको छ ।

पूर्व गृहमन्त्री ब्रुनो रिटेलियोले बिहीबार सडकमा ‘धेरै बलियो परिचालन’ हुने बताएका छन् । उनका अनुसार करिब ८० हजार प्रहरी र जेन्डरमेरी अफिसरहरू देशभर तैनाथ हुनेछन् ।

उनले बिहानै अवरोध, तोडफोड र अति वामपन्थी समूहहरूको सम्भावित हिंसात्मक गतिविधिबारे चेतावनीसमेत दिए । भोलिपल्ट पनि धेरै फ्रान्सेली सहरमा प्रदर्शन हुने उनले बताए ।

सार्वजनिक यातायात, अस्पताल र विद्यालयलगायत धेरै क्षेत्रमा अवरोध हुने अनुमान छ । फ्रान्सेली राष्ट्रिय रेल कम्पनी एसएनसिएफले फ्रान्स र युरोप जाने उच्च गतिको रेलहरूमा ‘केही अवरोध’ हुने अपेक्षा गरे पनि अधिकांश रेल चल्ने जनाएको छ । तर क्षेत्रीय रेल लाइन, पेरिस मेट्रो र यात्रुवाहक रेलहरू बढी प्रभावित हुनेछन् ।

हवाई यातायातमा भने मुख्य नियन्त्रक युनियनले नयाँ मन्त्रिमण्डल नबनेसम्म हड्ताल स्थगित गरेपछि सीमित मात्र अवरोध हुने देखिएको छ ।

गत हप्ताको विरोध प्रदर्शनमा धुवाँ, आगो, अवरोध र अश्रु ग्याँसले सडकमा तनाव चुलिएको थियो । पूर्ण अवरोधको लक्ष्य पुरा नभए पनि ‘ब्लक एभरिथिङ’ अभियानले दैनिक जीवनका धेरै भाग अवरुद्ध पारेको र सयौँ स्थानमा तनाव भड्काएको अधिकारीहरूले बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको पूर्व उपराष्ट्रपति पुनको घर (तस्वीरहरु)

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपराष्ट्रपतिको दहचोकस्थित घर जेन जी आन्दोलनको क्रममा ध्वस्त भएको छ । आन्दोलनकारीहरुले उनको घरमा तोडफोडसहित आगजनी गरेका थिए । तोडफोड र आगजनीबाट पुनको घर, सवारी साधन लगायत अन्य सामानहरु पूर्णरुपमा ध्वस्त भएको छ । उपराष्ट्रपतिको दुई कार्यकाल सकिए पश्चात उनी पार्टीमा पुन सक्रिय भएका थियो ।

जेनजी आन्दोलनका क्रममा मुख्य दलका अधिकांश शीर्ष नेताहरुको घर र कार्यालयमा तोडफोड गरिएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत प्रायः सबजसो नेताहरुको घर र पार्टी कार्यालयमा आगजनी भएको छ ।

सिंहदरबार जलिरहँदा पनि दमकल पठाइएन भन्ने कुरा गलत : काठमाडौँ महानगर प्रहरी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलिरहँदा पनि काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको भन्ने कुरा गलत भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दाबी गरेका छन् । आज (बिहीबार) पत्रकार सम्मेलन गरी उनले आफूहरूले आगो निभाउन सक्दो प्रयास गरेको जिकिर गरेका हुन् ।

‘महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो’, उनले भने । तर आगो लाग्ने बित्तिकै दमकल सिंहदरबार लाने परिस्थिति नभएका कारण केही ढिला भएको उनले जानकारी दिएका छन् । ‘सिंहदरबारमा हामीले पाँच वटा दमकल परिचालन गरेका थियौँ’, उनले भने, ‘सिंहदरबार, अदालत साझा सम्पत्ति हाम्रो प्राथमिकतामा थियो ।’

अर्थ मन्त्रालयमा थालियो रङरोगन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रङरोगनको काम थालिएको छ । भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनबाट देखकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालय लगायत धेरै मन्त्रालय तथा सरकारी कार्यालयमा तोडफोड सहित आगजनी गरिएको थियो । हाल सो मन्त्रालय र विभिन्न कार्यालयहरूमा सरसफाइ लगायत रङरोगन काम सुरु भएको छ ।

 

व्यापारी र कर्मचारी धम्काउने गतिविधिमा रास्वपा संलग्न छैन : प्रवक्ता झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई आफ्नो पार्टीको नाम लिएर डर, त्रास, धम्की देखाई फोन र मेसेज गरिरहेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता मनिष झाले आज एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको प्रस्ट पारेका छन् ।

‘जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ’यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।’

खोटाङकी रेस्मिकाको सामुहिक बलात्कारपछि हत्या, एक जना छिमेकी पक्राउ

खोटाङ । खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका शिवा परियारको सोमबार सामुहिक बलात्कारपछि हत्या भएको खुलेको छ । उनको हत्यामा संलग्न एक जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका आधारमा ५–६ जनाको आपराधिक समूहले सहकारीमा काम सकेर घर फर्किंदै गरेकी रेस्मिकालाई सोमबार साँझ अभियुक्तहरुले बाटोमै नियन्त्रणमा लिएर सामुहिक बलात्कार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न छिमेकी दिपक सार्की पक्राउ परेका छन् । अभियुक्त दिपकले प्रहरीलाई बयान दिँदै घटनामा संलग्न अन्य अभियुक्तहरूको नाम समेत खुलाएका छन् । प्रहरीले बाँकी अभियुक्तलाई खोजी गर्न थप टोली परिचालन गरेको जनाएको छ ।

रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरि बुधबार इटहरीको बुढिखोलामा दाह संस्कार गरिएको छ । डीएसपी बुढाथोकीका अनुसार घटनामा संलग्न सबैलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइनेछ । उनले अपराधीलाई कारबाही नगरेसम्म खोटाङमा प्रहरीको विशेष अपरेशन जारी रहने बताए ।

जेनजी आन्दोलनमा भागेका कर्णालीका ५५ कैदी र ३३ थुनुवा पक्राउ

सुर्खेत । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मौकामा कर्णाली प्रदेशका विभिन्न कारागारबाट भागेका कैदीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेशका जुम्ला र रुकुमपश्चिम जिल्ला कारागारबाट ८४ जना कैदी र ३३ जना थुनुवा फरार भएका थिए । प्रहरीका अनुसार जुम्ला कारागारबाट २९ जना कैदी र १२ जना थुनुवा फरार भएका थिए । फरार भएका मध्ये १६ जना कैदी र ११ जना थुनुवालाई प्रकाउ परेका छन् ।

जुम्लाबाट फरार रहेका १३ कैदी र १ थुनुवा पक्राउ पर्न बाँकी छन् । यस्तै, रुकुमपश्चिम जिल्ला कारागारबाट फरार भएका ५५ जना कैदी मध्ये ३९ जना पक्राउ परेका छन् भने १६ जना कैदीबन्दी अझै फरार छन् । साथै रुकुमपश्चिम जिल्ला कारागारबाट भागेका ३३ थुनुवा मध्ये २२ जना पकाउ गरेका छन् भने ११ थुनुवा अझै फरार रहेका प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनको फाइदा उठाँदै कारागारबाट भागेका केही कैदीबन्दी तथा थुनुवाहरु आफै फर्किएको केहीलाई जिल्लाभित्र र जिल्ला बाहिरका विभिन्न ठाउँबाट लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

आज प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच कुराकानी हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज (बिहीबार) कुराकानी हुने भएको छ । आज प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओ संवाद हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए । भेटमा राजदूत श्रीवास्तवले नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले विकास, पुनः निर्माणमा सघाउने उल्लेख गर्दै भारत नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा रहेको बताए । यसअघि मोदीले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपालको समृद्धिको कामना गरेका थिए भने मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको असामान्य अवस्थामा नागरिक सरकार गठन हुन सकेकामा स्वागत गरेका थिए ।

बनस्थलीमा विहानै बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट आज (बिहीबार) विहानै एक पैदययात्रीको मृत्यु भएको छ। स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज बिहान साढे ५ बजेतिर सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा ६८ वर्षीय पैदलयात्रीको मृत्यु भएको हो ।

मृतक संखुवासभाको खाँदबारी घरभई हाल काठमाडौं बस्दै आएका ६८ वर्षीय जसबहादुर मगर रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बालेन पश्चिमाले खडा गरेका पात्र्, देशलाई संकटमा पार्दैछन् : दुर्गा प्रसाई

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनजी आन्दोलनको क्रममा भएका तोडफोड तथा आगजनीप्रति दुःख व्यक्त गरेका छन् । हिजो साँझ ७ मिनेट ११ सेकेण्डको भिडिओ सन्देशमार्फत सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, व्यक्ति, व्यापारीका घर, भाटभटेनीमा आगजनी र लुटपाट जसले गराएको त्यसले जिम्मा लिनुपर्ने उनले बताएका छन् ।

आन्दोलनमा आउन खोज्दा बालेनले नआउनू भनेकाले आफू र आफ्ना कार्यकर्ता नगएको उनले बताएका छन् । उनले भनेका छन्, ‘म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि । किनभने बालेनजीले नआउनू भनेर स्टाटस नै लेख्नु भएको थियो । यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्छ ।’

प्रसाईले नेपालमा पश्चिमाहरूको प्रभाव देखिन थालेको भन्दै यसको अन्तिम उद्देश्य भनेकै पश्चिमाहरूको डिजाइनमा यो देश कब्जा गर्ने रणनीति भएको दाबी गरेका छन् । उनले आन्दोलनका क्रममा घाइते भएका १५० जनालाई आफ्नो हस्पिटल बीएनसीमा निःशुल्क उपचार गरेर घर पठाउएको र अहिले पनि आईसीयूमा १५ जनाको सिरियस स्थितिमा बिना पैसा उपचार गरिरहेको पनि बताए । भिडिओमा प्रसाईले बुद्धिजीवीहरूका लागि भन्दै २०२८ सालदेखिका राजनीतिक घटनाक्रमबारे बोलेका छन् ।

पौडिँदै टिकटक बनाइरहेका साथी डुबेपछि बचाउन खोज्दा अर्का युवकको पनि मृत्यु

रुपन्देही । रुपन्देहीमा सँगै पौडी खेल्न गएका साथी डुबेपछि उद्दार गर्न गएका अर्का युवकको पनि मृत्यु भएको छ । बुधबार दिउँसो गैडहवा गाउँपालिकास्थित गैडहवा तालमा स्थानीय पाँच युवाहरुको समूह गएको थियो ।

उनीहरुले टिकटक बनाउँदै पौडी खेलिरहेका थिए । पौडी खेल्न गएका सोही गाउँपालिकाको वडा नं १ असिधवाका १८ वर्षीय दिपेश थारु पौडने क्रममा डुबेपछि टिकटक बनाइरहेका उनका साथी १८ वर्षीय अरुण थारु उद्दारको लागि गएका थिए । तर अरुणले न त साथीको ज्यान बचाउन सके न त आफू बाहिर आउन सके ।

तालमा डुबेर दुवै जनाको मृत्यु भएको हो । गैडहवा–१ का वडाध्यक्ष प्रदीपकुमार चौधरीले पाँच जनाको समूहमा गएका युवाहरु टिकटक बनाउँदै पौडिदै गरेको समयमा एक जना डुबेको देखेपछि अर्को उद्दारका लागि गएको र दुवैको डुबेर मृत्यु भएको जानकारी दिए ।

‘उनीहरु गैडहवा तालमा पौडिदै टिकटक बनाउँदै रहेछन्, त्यहाँ गहिरो र तल माटो थियो, सायद तलको हिलोमा उनीहरुको खुट्टा गएको हुनुपर्छ, कि धेरै पौडिन नजानेकोले पनि हुनसक्छ’ उनले भने, ‘यहाँ धेरै पर्यटक आउने ठाउँ हो तर उनीहरु स्थानीय भए पनि यस्तो दुःखद घटना भयो, सिंगो गाउँ शोकाकुल भएको छ ।’

इलाका प्रहरी कार्यालय सूर्यपुराका अनुसार दिउँसो करिब सबा ४ बजेतिर दिपेश थारु तालमा पौडी खेल्ने क्रममा डुबेपछि उनलाई बचाउन अरुण थारु पनि तालमा पसेका थिए । तर पहिले नै पानीमा डुबिसकेका दिपेशलाई उनले तान्न सकेनन् उल्टै अरुण पनि उनीसँगै डुबेका हुन् । मृतकहरूको शव पोस्टमार्टमका लागि भैरहवास्थित भिम अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

ओमप्रकाशले गृहको कमाण्ड सम्हाले लगतै ४८ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले जेनजी आन्दोलन सेलाउन नपाउँदै प्रहरी कर्मचारीको व्यापक सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेको भोलिपल्टै उनीहरुको सरुवा भएको हो ।

बुधबार सार्वजनिक सूचीमा ४८ जना प्रहरी उपरीक्षकहरू (एसपी) को सरुवा गरिएको हो । सरुवासँगै एसपी इन्चार्ज रहने धेरै जिल्लामा नेतृत्व हेरफेर भएका छन् ।

लामो समयदेखि इन्चार्ज नपाएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी बाँके सरुवा भएका छन् । मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेबे, सप्तरीमा गौतमकुमार केसी, दाङमा दीपेन्द्र श्रेष्ठ र पाल्पामा दीपेन्द्र पंजियार थारु सरुवा भएका छन् ।

यस्तै नवीन कार्कीलाई जिल्ला प्रहरी कार्यालय कास्की सरुवा गरिएको छ । नरेन्द्र चन्दलाई कैलाली, महेन्द्र नेपाल डोटी, युवराज खड्का पूर्वी नवलपरासी, सन्तोष आचार्य कपिलवस्तु, पर्सामा सुदीपराज पाठक, भक्तपुरमा सूर्यबहादुर खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई सरुवा गरिएको छ । अन्य विभिन्न कार्यालय अन्तरगतका एसपीहरूलाई पनि सरुवा गरिएको छ ।

हेर्नुस् सूची

एकै पटक नेपाल प्रहरीका ९० डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को एकै पटक सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलन लगतै एसपी र डीएसपीहरूको व्यापक सरुवा गरेका हुन् । एक साथ ४८ जना एसपी पनि सरुवा गरिएको छ ।

सरुवा हुनेहरूमा काठमाडौँ उपत्यकाका बृत्तसहित विभिन्न कार्यालय र जिल्लाहरू छन् । केही जिल्लामा, इलाकामा र वृत्तमा इन्चार्ज हेरफेर भएका छन् ।

हेर्नुस् सरुवा सूची

रुकुम–पूर्व र बागलुङको सीमामा भूकम्पको धक्का

काठमाडौँ । रुकुम–पूर्व र बागलुङ जिल्लाको सीमा नजिकैको पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ भूकम्प गएको छ ।

रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ८ बजेर २५ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सो क्षेत्र र आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। यद्यपि, यसबाट कुनै ठुलो क्षति भएको खबर भने आएको छैन ।

यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।

भैंसेपाटीस्थित मन्त्री निवासमा रहेका २७ भवनमध्ये एउटा मात्रै सुरक्षित

काठमाडौं । जनेजीको आन्दोलनका क्रममा आगजनीमा परेको भैंसेपाटीस्थित मन्त्री निवासमा रहेका २७ भवनमध्ये एउटा मात्रै सुरक्षित रहेको पाइएको छ । रक्षा मन्त्री मानवीर राई बसिरहेको भवनलाई आन्दोलनकारीे छोडिदिएका हुन् ।

एक अर्ब लगानीमा तयार भएको भैंसेपाटीको मन्त्री निवासमा मन्त्रीहरु बस्न थालेको धेरै भएको छैन । यसअघि पुल्चोकमा बस्दै आएका मन्त्रीहरु गत वर्ष साउनबाट भैंसेपाटीमा सरेका हुन् । त्यहाँका भवनहरु आधुनिक र सुविधा सम्पन्न छन् ।

आज नयाँ सरकारका तीनजना मन्त्रीहरु भैंसेपाटीको मन्त्री निवास अवलोकनमा गए । यस क्रममा रक्षामन्त्री बस्ने भवन मात्रै सुरक्षित रहेको पाइएको छ । बाँकी २६ वटा भवनमा आगो लगाइएको थियो । यद्यपि, ती भवनहरु पूर्ण क्षति भने भएका छैनन् । बाहिरी संरचना जले पनि मर्मत सम्भार गरेर चलाउन सकिने खालका रहेको पाइएको छ ।

मन्त्री क्वाटर नहुँदा हाल सरकारका तीन मन्त्रीहरु आआफ्नै घरमा बसिरहेका छन् ।

यूएईले भिजिट भिसापछि वर्किङ भिसा पनि रोक्यो

यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट तथा कामदार भिसा बन्द गरेको छ। सोमबारदेखि भिजिट भिसा बन्द गरेको यूएईले मंगलबारदेखि कामदार भिसा पनि रोक लगाएपछि धेरै नेपाली अन्यौलमा परेका छन्।

सुरुमा भिजिट भिसा रोक लगाइएको भए पनि त्यसको भोलिपल्टै कामदार भिसा पनि बन्द हुँदा वैदेशिक रोजगार व्यवसायी र विदेश जान तयारी गरिरहेका युवाहरू समस्यामा परेका छन्। कतिपय म्यानपावर व्यवसायीका अनुसार भिसा प्रक्रियाका लागि कम्पनीहरूले निवेदन पेश गरे पनि आवेदन अस्वीकृत भएको छ।

कहिलेसम्मका लागि बन्द भएको भन्नेबारे ठोस जानकारी भएको छैन् । हालको नेपालको अवस्थालाई मध्यनजर गरेर वर्किङ भिसा पनि बन्द भएको हुनसक्ने आकलन गरिएको छ ।

भिजिट भिसाको नाममा फ्रिल्यान्सर र भिजिट भिसा भन्दै ठग्ने बिचौलियाहरूको ठगी धन्दा मौलाएको समेत थियो । अबुधाबीस्थित नेपाली दूतावासले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ।

कामदार भिसा टाइपिङ भए पनि अन्तिम आवेदन दिन नपाएको र भिसाका लागि दिइसकेका आवेदन अस्वीकृत भएको कम्पनीहरूले बताएका छन्। तर यसको कारणबारे कुनै प्रष्ट जानकारी दिइएको छैन।

भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको तथा पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको दुबई र नेपालस्थित विभिन्न कम्पनीहरूले  बताएका छन् ।

वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत रहेको बताइन्छ ।

विधेयक पारित, प्रेस स्वतन्त्रतामा गम्भीर चिन्ता

माल्दिभ्स । माल्दिभ्सको संसद्ले प्रेस स्वतन्त्रतामा ठूलो असर पार्ने आशङ्का बीच पत्रकार र मिडिया संस्थाहरूलाई नियमन गर्ने नयाँ कानून पारित गरेको छ ।

मङ्गलबार राति अनुमोदित मिडिया र प्रसारण नियमन विधेयकलाई स्थानीय तथा अन्तर्राष्ट्रिय अधिकार समूहहरूले स्वतन्त्र प्रेसमाथिको आक्रमणका रूपमा चित्रण गरेका छन् ।

नयाँ कानूनअन्तर्गत अनुसन्धानका क्रममा मिडिया आउटलेट निलम्बन गर्ने, वेबसाइट बन्द गर्ने र सात सदस्यीय नियामक आयोग गठन गर्ने व्यवस्था गरिएको छ । आयोगलाई व्यापक अधिकार दिइनेछ । आयोगका तीन सदस्य संसद्द्वारा र चार मिडिया क्षेत्रबाट चयन हुने भए पनि संसद्ले उनीहरूलाई बर्खास्त गर्न सक्नेछ ।

राष्ट्रपति मोहम्मद मुइजुले अनुमोदन गरेलगत्तै कानून लागू हुनेछ ।

“स्थानीय र अन्तर्राष्ट्रिय २० भन्दा बढी संस्थाको आग्रहलाई बेवास्ता गर्दै विधेयक पारित गरिएको हो”, निजी दैनिक मिहारुले भनेको छ ।

पेरिसस्थित रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)सहितका अधिकार समूहहरूले विधेयकले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई ठूलो खतरा पुर्‍याउने भन्दै तत्काल खारेजीको माग गरेका छन् ।

आरएसएफले विशेषगरी ‘झुटो हुनसक्ने’ जानकारी प्रकाशन गर्न निषेध गर्ने अस्पष्ट प्रावधानलाई सेन्सरसिपको माध्यम बन्नसक्ने चेतावनी दिएको छ ।

नयाँ आयोगले पत्रकारलाई २५ हजार रुफिया (एक हजार छ सय २५ डलर) र मिडिया आउटलेटलाई एक लाख रुफिया (छ हजार पाँच सय डलर)सम्म जरिवाना गर्न सक्नेछ । साथै, मिडिया इजाजतपत्र रद्द गर्ने, सम्पादकीय कार्यालयमाथि कारबाही गर्ने र नियम लागू हुनुभन्दा एक वर्षअघिका सामग्रीलाई समेत पूर्वव्यापी रूपमा स्वीकृत गर्ने अधिकार पाउनेछ ।

विदेश मन्त्रालयले भने यो कानूनको उद्देश्य मिडियामा जनताको विश्वास बढाउने र गलत सूचना तथा सामग्री हेरफेर रोक्ने रहेको स्पष्ट पारेको छ । तर मन्त्रालयका अनुसार यो नियम सामाजिक सञ्जाल खाताहरूमा लागू हुनेछैन ।

आरएसएफको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा माल्दिभ्स १८० मध्ये १०४ औँ स्थानमा छ । यो नजिकका छिमेकी श्रीलङ्का (१३९)र भारत (१५१) भन्दा माथि हो ।

बागमतीमा राप्रपा र हानेपाका १५ सांसदको राजीनामा घोषणा

मकवानपुर । बागमती प्रदेशसभामा रहेका दुई दलका १५ सांसदले राजीनामा दिएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा युवा पुस्ताले ज्यान गुमाउन परेको र यस्तो अवस्थामा पदमा बस्न नहुने भन्दै बागमती प्रदेश सभामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र हाम्रो नेपाली पार्टी (हानेपा) ले राजीनामा दिएको घोषणा गरेको छ ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले प्रतिनिधि सभा र प्रदेश सभामा रहेका सबै सांसदहरुले पदबाट राजीनामा दिइ सांसद पदबाट बाहिरिने निर्णय गरेको भन्दै भदौ २४ गते प्रेस विज्ञप्ति जारी गरेका थिए । प्रवक्ता श्रेष्ठले विज्ञप्ती जारी गरे लगत्तै बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पनि सामाजिक सञ्जालमार्फत राजीनामा दिएको निर्णय गरेका थिए । राप्रपाका महामन्त्री समेत रहेका पाठकले राजीनामा दिएको घोषणा उतिबेला गरे पनि आधिकारिक राजीनामा पत्र आज बुझाएका छन् ।

उपसभामुख अप्सरा चापागाईलाई सम्बोध गर्दै उनले राजीनामा बुझाएको जानकारी गराएका हुन् । केन्द्रको सर्कुलर अनुसार सभमुख पदबाट राजीनामा दिएका पाठकसहित राप्रपाका १३ जना सांसदहरुले सांसद पदबाटै समेत राजीनामा दिएको निर्णय पार्टीले गरेको छ । राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाका अनुसार पार्टी शीर्षतहले सांसदहरुले राजीनामा दिएको घोषणा गरे पनि आफूहरुले प्रदेश सभामा राजीनामा नबुझाएको बताउँछन्।

‘राप्रपा पनि अन्य दलहरु जसरी नै चुनावी प्रतिस्पर्धामा होमिएर चुनाव जितेर सदनमा पुगेको दल हो,’ उनले भने, ‘तर जेनजीको आवाजलाई भित्री मनदेखि सुनेर पार्टीले यस्तो निर्णय गरेको हो । हाम्रो राजीनामा पत्र तयारी अवस्था छ। भोलि पार्टी केन्द्रीय कार्यसम्पादनको बैठक छ । सो पश्चात् सामूहिक राजीनामा बुझाउछौँ ।’

केन्द्रले राजीनामा बुझाउने निर्णय गरेसँगै आफूहरु प्रदेश सभाको सांसदको हैसियतबाट बाहिरिसकेको भन्ने कुरा स्वीकार गर्नुको विकल्प नरहेको नेता थापाले बताएका छन् । बागमती प्रदेश सभामा राप्रपाको १३ सिट रहेकोमा प्रत्यक्ष निर्वाचित ६ छन् भने समानुपातिक निर्वाचित ७ छन् । यता, हाम्रो नेपाली पार्टी (हानेपा) पनि सांसद पदबाट बाहिरिएको निर्णय गरेको छ । हानेपा बागमती संसदीय दलका नेता शैलेन्द्र ब्रजचार्यले पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

काठमाडौँ निर्वाचन क्षेत्र १ (८) बाट प्रत्यक्ष निर्वाचित बज्रचार्यसहित हानेपाको बागमती प्रदेश सभामा २ सिट छ । काठमाडौँबाट सरिता खड्की हानेपाकी समानुपातिक सांसद हुन् । दुई सिट रहेको हानेपाले पनि सामुहिक राजीनामा दिएर संसदबाट बाहिरिने निर्णय गरेको ब्रजनचार्यले जानकारी दिए ।

बज्राचार्यका अनुसार सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरे पनि आधिकारिक राजीनामा पत्र प्रदेश सभामा बुझाउन भने बाँकी छ । राजीनामा पत्र तयारी अवस्थामा रहेको र आज भोलिमै बुझाउने उनले बताए ।
यसरी राप्रपाको १३ र हानेपाको २ सांसदले राजीनामा दिने घोषणा गरेसँगै ११० सदस्यीय बागमती प्रदेश सभामा ९५ सांसद रहने छन् । यी दुई दल बाहिरिएसँगै ५ राजनीतिक दलको मात्रै प्रतिनिधित्व रहने छ ।

जसमा हाल ३७ सिट रहेको नेपाली कांग्रेस नेतृत्वको सरकारमा २७ सिट रहेको नेकपा एमाले पनि सहभागी छ । २१ सिट रहेको नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ भने ७ सिट रहेको नेकपा एकीकृत समाजवादी र ३ सिट रहेको नेपाल मजदुर किसान पार्टी प्रतिपक्षी दलको भूमिकामा छ ।

आक्रमणअघि अमूल्य पुरातात्त्विक सम्पदाको उद्धार

नौ घण्टासम्मको उग्र वार्ता, इन्धन अभावबीच ट्रक खोज्ने अन्तिम क्षणको प्रयास र खुला फ्ल्याटबेड ट्रकमा छ घण्टासम्मको उन्मत्त प्याकिङपछि सहायता कार्यकर्ताहरूले इजरायली आक्रमणअघि गाजाको गोदामबाट हजारौँ अमूल्य कलाकृतिहरू उद्धार गरेका थिए ।

उक्त गोदाममा २५ वर्षभन्दा बढी उत्खननबाट सङ्कलित वस्तुहरू थिए । यसमा युनेस्कोद्वारा विश्व सम्पदा घोषित चौथौ शताब्दीको बाइजान्टिन मठका वस्तुहरू र गाजामा इसाई धर्मको सबैभन्दा पुरानो प्रमाणहरू पनि समावेश थिए ।

इजरायली सेनाले भवनमा हमासको गुप्तचर प्रतिष्ठान रहेको भन्दै यसलाई ध्वस्त गर्ने तयारी गरेको थियो ।

“यो प्यालेस्टिनी वा इसाई सम्पदाको मात्र नभई युनेस्कोद्वारा संरक्षित विश्व सम्पदाका लागि पनि महत्त्वपूर्ण छ”, गाजामा सन् २००९ देखि काम गर्दै आएका प्रिमियर उर्जेन्स इन्टरनेसनल (पियुआई) का आपत्कालीन संयोजक केभिन चारबेलले भनेका छन्।

– घडीसँगको दौड –

गत बुधबार बिहान इजरायली रक्षा निकाय कोगाटले ध्वंस योजनाको सूचना दिँदा चारबेलले सेनासँग नौ घण्टा लामो वार्ता गरी कामदारलाई कलाकृतिहरू सुरक्षित स्थानमा सार्ने अनुमति लिए ।

तर यति छोटो समयमै ट्रक पाउन निकै कठिन भयो । अन्तिम क्षणमा मात्र सहयोगी संस्थाले यातायात उपलब्ध गराएपछि पाँच ट्रकमा हजारौँ वस्तुहरू गाजा सहरको सुरक्षित स्थानमा सारियो ।

फ्रान्सेली बाइबलीय र पुरातात्विक विद्यालयले ८० वर्गमिटर क्षेत्रफलमा यी वस्तुहरूको भण्डारण गरिरहेको थियो । पियुआईले त्यहाँ सुरक्षा दिइरहेको थियो ।

युनेस्कोका अनुसार उद्धार गरिएका वस्तुहरूमा सिरेमिक जग, मोजाइक, सिक्का, चित्रित प्लास्टरवर्क, मानव–जनावरका अवशेष र सेन्ट हिलेरियन मठका सामग्रीहरू समावेश छन् । यो जुन मध्यपूर्वको सबैभन्दा पुरानो इसाई मठवासी समुदायमध्ये एक हो ।

– हतारिएको उद्धार –

सामान्यतया यस्ता कलाकृतिहरू सुरक्षित ढुवानीका लागि लामो तयारी चाहिन्छ, तर यस पटक कार्डबोर्ड बक्समा तुरुन्त प्याक गरी फ्ल्याटबेड ट्रकमा राख्नुप¥यो ।

बन्द कन्टेनर प्रयोग गर्न अनुमति नदिएकाले बाटोमै धेरै वस्तु क्षतिग्रस्त भए, केही भने छोड्नुपर्‍यो । इजरायलले आइतबार भवन ध्वस्त गरिसकेको छ ।

सन् २०२३ अक्टोबरमा युद्ध सुरु भएदेखि इजरायलले गाजामा कम्तीमा एक सय १० सांस्कृतिक स्थल क्षतिग्रस्त गरिसकेको छ । यसमा १३ धार्मिक स्थल, ७७ ऐतिहासिक भवन, एक सङ्ग्रहालय र सात पुरातात्विक साइट छन् ।

– अस्तित्व र इतिहासबीचको प्रश्न –

चारबेलले भने, “हामीले यसका लागि मूल्यवान समय, इन्धन र स्रोत खर्च गर्‍यौँ । कहिलेकाहीँ लाग्छ, जब मानिसहरूलाई पानी, खाना र औषधि चाहिएको छ, यस्ता निर्जीव वस्तुका लागि यति धेरै जोखिम उठाउनु ठीक हो कि होइन”

तर उन भने, “तर यो विश्व इतिहास र प्यालेस्टिनी पहिचानसँग सम्बन्धित सम्पदा हो । यसलाई नष्ट हुन दिन सक्दैनौँ ।”

अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौं : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अब पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको बताए । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।
‘अब हामीले अलि नयाँ ढंगले जाने संकल्प गरेका छौं । पर्सी परेको संविधान दिवसलाई नेकपा एमालेले संविधानको स्मरण र मृतकप्रति सहानुभूतिको रुपमा देशभर मनाउने छौं,’ भट्टराईले भने, ‘साथै लोकतान्त्रिक प्रक्रियालाई फेरि लयमा फर्काउने र शान्तिपूर्ण ढंगले निर्वाचन गराउने संकल्प गर्ने दिन पनि हो असोज ३ गते त्यहीअनुसार अघि बढ्छौं।’

जेन–जी पुस्ताको आन्दोलनको क्रममा देशभर भएको क्षतिको विवरण संकलनको कार्य भइरहेको जानकारी गराए । मुलुक राजनीतिक संकटको अवस्थामा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्था राजनीतक दलहरुबीच सहानुभूति र सहकार्यको आवश्यकता रहेको पनि बताए ।

‘जुन ढंगले संरचनाहरू क्षति भएका छन् । देशभरको क्षतिको विवरण हामी लिँदैछौं । त्यही क्रममा हाम्रो पार्टी कार्यालयमा पनि क्षति भएको छ । संरचना, कागजात र गाडीहरू पनि जलेका छन् । अरु दलहरुका कार्यालयको अवस्था पनि त्यस्तै भएको छ। हिजो हामीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेका थियौं,’ उनले भने, ‘आज कांग्रेसका उपसभापति लगायत नेताहरू आएर हाम्रो पार्टी कार्यालयहरूको अनुगमन गर्नुभएको छ । यो बेलामा पार्टीहरूबीच सहानुभुति र सहकार्य गर्ने र कसरी अगाडि बढ्ने बेला पनि हो । देशभरी जहाँपनि संरचनाहरू जलेका छन् । त्यसका लागि दुःख र सहानुभुति व्यक्त गर्दर्छौं ।’ बुधवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस नेताहरुले एमालेको क्षतिग्रस्त केन्द्रिय कार्यालयका संरचनाहरूको अवलोकन गरेका छन् ।

 

अमेरिकी कर नीतिका कारण जापानी निर्यातमा १४५ गिरावट

अमेरीका । अगस्ट महिनामा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ कर नीतिले ठूलो असर पारेको तथ्याङ्क बुधबार सार्वजनिक भएको छ । तथ्याङ्कअनुसार अटो ढुवानी एक चौथाइभन्दा बढी घटेको छ ।

अमेरिकी राष्ट्रपतिले बजार र विश्वव्यापी व्यापारमा हलचल ल्याउने गरी विभिन्न देशहरूमा कर लगाउने घोषणा गरेपछि यो पछिल्लो ठूलो गिरावट देखिएको हो । ब्लुमबर्गका अनुसार अमेरिकातर्फको जापानी सामानको मूल्य १३ दशमलव आठ प्रतिशतले घटेको यो चार वर्षकै सबैभन्दा ठूलो कमी हो ।

जापानको वित्त मन्त्रालयअनुसार अटो निर्यात २८ दशमलव चार प्रतिशत र अटो पाट्र्स सात दशमलव एक प्रतिशतले घटेका छन् । वर्षको सुरुदेखि नै ट्रम्पको व्यापार युद्धका कारण कार तथा सवारी साधनहरूको ढुवानीमा निरन्तर गिरावट आएको छ ।

अमेरिकातर्फ हुने जापानी निर्यातको झन्डै एक तिहाइ हिस्सा ओगट्ने अटो उद्योग २७ दशमलव पाँच प्रतिशत लेवीको मारमा परेको छ । यद्यपि मङ्गलबार लागू भएको नयाँ व्यापार सम्झौतापछि जापानी अटोहरूमा केही कम अमेरिकी शुल्क लागू भएको छ । अब कारलगायतका सवारी साधनहरूले अन्य धेरै वस्तु सरह १५ प्रतिशत टोल भुक्तान गर्नुपर्नेछ ।

सम्झौताको कार्यान्वयनलाई जापानका उद्योगका लागि अस्थायी जित मानिएको छ । तर लेवीहरूको दबाबका कारण जापानी व्यापारिक लबीहरूले टोकियोले थप वार्ता अघि बढाउने अपेक्षा राखेका छन् ।

अमेरिकी उत्पादन बढाउन र विशाल व्यापार घाटा कम गर्न ट्रम्पले विश्वभरका देशहरूमा उच्च आयात भन्सार शुल्क लगाएको छ । जापानको अटोमोबाइल उद्योगले—टोयोटा र होन्डा जस्ता ठूला कम्पनीहरूसहित—देशको कुल रोजगारीको करिब आठ प्रतिशत हिस्सा ओगट्छ ।

ट्रम्पले लामो समयदेखि आलोचना गर्दै आएको अमेरिकासँगको जापानी व्यापार अधिशेष अगस्टमा ५० प्रतिशतले घटेर तीन खर्ब २४ अर्ब येन(दुई अर्ब २१ करोड डलर) मा सीमित भएको छ ।

सीके राउतलाई नेतृत्व छोड्न जनमतका नेताहरुको २४ घण्टे ‘अल्टिमेटम’

काठमाडौं । जनमत पार्टीका पदाधिकारीसहितका नेताहरूले अध्यक्ष सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका छन् । वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवलगायतका ६ जना नेताले सामुहिक हस्ताक्षर गरी नेतृत्वले मार्ग प्रशस्त गरिएमा पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्थामा रूपान्तरण गर्न एकजुट भएर लाग्ने उल्लेख गरिएको छ ।

संगठन विभागका प्रमुख समेत रहेका सीके राउतका सहोदर दाजु जयकान्त राउतलाई पद छाड्न भनिएको छ । जेनजी ले सञ्चालन गरेको आन्दोलनले नेपालको राजनीतिमा ऐतिहासिक मोड ल्याएको साथै आन्दोलनले सत्तारूढ गठबन्धन सरकार, प्रधानमन्त्री, गठबन्धनका शीर्ष नेता तथा प्रमुख प्रतिपक्षी दलका नेताहरूको अकर्मण्यता र अनियमितताविरुद्ध गम्भीर प्रश्न उठाएको उनीहरूले उल्लेख गरेका छन् ।

अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका बेला जनमत पार्टीले समेत आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ ।’ जनताको भरोसा र समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिए पनि पछिल्लो शीर्ष नेतृत्वबाट कमजोर कार्यशैली, निर्णय प्रक्रियामा अपारदर्शीता तथा जनभावनासँग विमुख गतिविधि देखिएको उनीहरूले जनाएका छन् ।

श्रीलङ्कामा पर्यावरण संरक्षणका लागी माछामा प्रतिबन्धित

श्रीलङ्का । श्रीलङ्काले आफ्ना नदी र तालमा हुने असर रोक्न चार प्रकारका विदेशी माछामा प्रतिबन्ध लगाउने भएको छ ।

मत्स्यमन्त्री रामलिङ्गम चन्द्रशेखरले बुधबार भने,“हामी हाम्रो जलाशयहरूलाई विदेशी प्रजातिबाट जोगाउन चाहन्छौं । यो निर्णय स्थानीय माछा मार्ने समुदायको जीविकोपार्जन जोगाउनका लागि पनि हो ।”
शनिबारदेखि रेडलाइन स्नेकहेड, नाइफ फिश, एलीगेटर गार र पिरान्हा माछाको आयात, बिक्री र यातायातमा पूर्ण प्रतिबन्ध लाग्ने छ । यी माछा मुख्य रूपमा दक्षिणपूर्वी एसियाबाट ल्याइएका हुन् ।

स्नेकहेड माछा उत्तरपश्चिमी श्रीलङ्काको डेदुरु ओया तालमा देखिएको छ, जहाँ यसले स्थानीय जैविक सन्तुलनमा असर पु¥याएको छ । ती माछा पाल्न नसकेका व्यक्तिहरूले तालमा छाडेका हुन सक्ने आशङ्का गरिन्छ ।

सरकारले शनिबार स्नेकहेड माछा समात्ने प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ ।
स्थानीय मानिसहरू यस्ता माछा साना माछा र अन्य जलचरहरू खाएर वातावरणमा असन्तुलन ल्याइरहेका बताएका छन् ।

सरकारले यस्ता माछा घरमा पालिरहेका व्यक्तिहरूलाई सम्बन्धित निकायमा जानकारी गराई ती माछा सरकारी एक्वेरियममा बुझाउन अनुरोध गरेको छ ।

रामेश्वर, कुलमान र ओमप्रकाशले गरे क्षतिग्रस्त संसद भवन अवलोकन (तस्वीरहरू)

काठमाडौं । मन्त्रीत्रय रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आगजनीबाट क्षतिग्रस्त संघीय संसद्को भवन अवलोकन गरेका छन् । गत २४ भदौमा जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो ।

आगजनीबाट संसद् भवन ध्वस्त भएको थियो । उक्त क्षतिग्रस्त भवनको अवलोकनमा मन्त्रीत्रय खनाल, घिसिङ र अर्याल पुगेका हुन् । खनाल अर्थमन्त्री हुन् भने अर्याल गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुन् । घिसिङ सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका छन् ।

धनगढीको एक प्रमुख सडकलाई ‘जेन्जी मार्ग’ नामाकरण गर्ने मेयर हमालको घोषणा

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले धनगढीको एक प्रमुख सडकलाई ‘जेन्जी मार्ग’ नामाकरण गर्ने घोषणा गरेका छन्।

मेयर हमालले जेनजी आन्दोलनमा जीवन गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै धनगढीको एक सडकलाई जेनजी मार्ग नामकरण गर्ने प्रस्ताव कार्यपालिका बैठकमा लैजाने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

जेनजी आन्दोलनमा शहीद हुनु भएका सम्पूर्ण वीर आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । तपाईँहरूको बलिदान केवल इतिहासको पानामा मात्र सीमित नभई यो देशका प्रत्येक युवाको मुटुमा दीप बनेर जलिरहनेछ । उनले न्याय, अधिकार र परिवर्तनका लागि जीवन समर्पण गर्नेहरूको साहस सबैका लागि प्रेरणाको ज्योति बनेर चम्किरहने उल्लेख गरेका छन्।

मेयर हमालले भनेका छन् “जेन्जी आन्दोलनमा शहीद भएका वीर आत्माहरूको सम्मानमा यो महत्वपूर्ण कदम चालिएको हो। उनका अनुसार धनगढी–१ स्थित जोशी मेडिकल चोकदेखि पार्क मोड, कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोड छुने सडकखण्ड जुन क्षेत्रमा उपमहानगरपालिकाद्वारा सञ्चालित महिला उद्यम बजार समेत छ , सो सडकलाई ‘जेन्जी मार्ग’ नाम दिन लागिएको हो।

उनले उक्त सडक क्षेत्रलाई जेनजी मार्ग भनेर सम्बोधन गर्न सम्पूर्ण नगरवासीमा अपिलसमेत गरेका छन् । धनगढी उपमहानगरपालिकाले यो निर्णय कार्यपालिका बैठकबाट पारित गरेपछि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।

 

जुवा प्रतिबन्धपछि भारतीय खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

भारत । भारतमा अनलाइन जुवामा गरिएको प्रतिबन्धले सयौँ करोड प्रयोगकर्ताहरूलाई सेवा दिने अर्बौं डलरको उद्योग बन्द गराएको छ र राष्ट्रिय क्रिकेट टोलीको प्रायोजनसमेत प्रभावित पारेको छ ।

तर खेलाडीहरूको भनाइमा शर्त लगाउन अडिग मानिसहरूले विदेशी र अनियमित वेबसाइटतर्फ जाने बाटो फेला पारिरहेका छन् । यद्यपि नगदका लागि नभई पुरस्कारका लागि काल्पनिक खेल अनुप्रयोगका प्रशंसकहरू अझै पनि खेलिरहेका छन् ।

काल्पनिक खेल खेल्ने विज्ञापन व्यवसायी आदर्श शर्माले भारतीय जुवाडेहरूले वैकल्पिक बाटो खोज्दा अपतटीय साइटहरूमा ‘अचानक उछाल आउने’ दाबी गरे । “एक पटक बनेको बानी सजिलै छोडिँदैन”, उनले भने, “यो लत हो र मानिसहरूले जुवाको बाटो फेला पार्छन् ।”

गत महिना भारतीय संसद्ले अनलाइन जुवामा प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो । सरकारी तथ्याङ्कअनुसार कम्पनीहरूले ४५ करोड मिलियन मानिसबाट वार्षिक दुई अर्ब ३० करोड डलर उठाइरहेका थिए ।

अधिकारीहरूका अनुसार प्लेटफर्मको तीव्र विस्तारले आर्थिक सङ्कट, लत, आत्महत्या, धोखाधडी, मनी लन्ड्रिङ र आतङ्कवादलाई वित्तपोषणसम्म निम्त्याएको छ । कानूनलाई शीर्ष अनलाइन कार्ड गेम प्लेटफर्मले अदालतमा चुनौती दिएको छ ।

नयाँ कानुनअनुसार कार्ड गेम र काल्पनिक खेल वेबसाइट तथा एपहरू—भारतमा लोकप्रिय काल्पनिक क्रिकेटसहित—प्रतिबन्धित छन् । अपराधीलाई पाँच वर्षसम्म जेल सजाय हुने प्रावधान छ ।

जुवाडेहरूले अब भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन)र प्रोक्सी क्रेडिट कार्डमार्फत विदेशी साइटमा पुग्नुपर्नेछ । यो सामान्य प्रयोगकर्ताका लागि कठिन भए पनि खेलाडीहरू यसबारे जानकार छन् । एक प्रशंसकले नाम नखुलाउने सर्तमा भने, “हामीले यो पहिले पनि गरेका थियौँ, फेरि गर्नेछौंँ पुराना तरिकामा फर्किन्छौँ ।”

– क्रिकेटको प्रेम –

प्रविधिमन्त्री अश्विनी वैष्णवका अनुसार, नयाँ कानूनले कानूनी इस्पोर्ट्सलाई सुरक्षित राख्दै प्रयोगकर्तालाई झुटो नाफाको वाचा गरेर शोषण गर्ने सट्टेबाजी, जुवा र काल्पनिक नगद खेलहरूलाई मात्र लक्षित गरेको हो ।

विश्वकै सबैभन्दा ठूलो काल्पनिक खेल प्लेटफर्म ‘ड्रिम ११८’ (२६ करोड प्रयोगकर्ता)ले ‘नगद खेल बन्द गरिएको’ घोषणा गर्दै अब कार, फोन, फ्रिज जस्ता पुरस्कार दिने बताएको छ । यसले भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) सँगको चार करोड ३० लाख डलरको सम्झौता पनि तोडेको छ, जसले भारतीय खेलाडीहरूको जर्सीबाट यसको लोगो हटाएको छ ।

दिल्लीका कसाई जमशेद नूरले आफूले पाएको ठूलो जित श्रमिकको दैनिक ज्याला छ सय रुपैयाँ (करिब सात७ डलर) भएको बताए। “हामी क्रिकेटको प्रेमका लागि खेल्छौँ”, उनले भने, “पैसा आकर्षण थियो, तर अब नगद नभए पनि म खेलिरहन्छु ।”

यस प्रतिबन्धले इन्डियन प्रिमियर लिग(आइपिएल) जस्ता आकर्षक प्रतियोगितासहित समग्र खेल उद्योगलाई झट्का दिने देखिन्छ ।

एलारा क्यापिटलका करण तौरानीका अनुसार फ्यान्टसी प्लेटफर्महरू आइपिएल र विश्व क्रिकेटका सबैभन्दा आक्रामक विज्ञापनदातामध्ये पर्छन्, अब उनीहरूले विदेशी बजारतर्फ मोडिन सक्छन् ।

डि एन्ड पी एडभाइजरीका सन्तोष एनले यस वर्ष आइपिएल प्रसारण विज्ञापन आम्दानीको ४० प्रतिशतसम्म फ्यान्टसी स्पोट्र्स र क्रिप्टो प्लेटफर्मले ओगटेको अनुमान गरे । उनका अनुसार प्रतिबन्धपछि उनीहरूको व्यापार मोडेल जोखिममा परेको वा नष्ट भएको छ, जसले विज्ञापन खर्च कटौती गराउनेछ ।

यसले प्रत्यक्ष रूपमा प्रसारणकर्ताहरूको आम्दानी घटाउनेछ । “सन् २०२७ मा जब बिसिसिआईले मिडिया अधिकार नवीकरण गर्छ, प्रसारणकर्ताले पहिले जस्तो ठूलो रकम तिर्न नसक्ने भएकाले नवीकरण प्रिमियम कम हुनेछ”, सन्तोषले चेतावनी दिए ।

संसद भवनको वाणिज्य बैंकबाट १८ किलो सुनसहित ३८ करोड लुटपाट

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट १८ किलो सुनसहित ३८ करोड बराबर लुटपाट भएको खुलेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले एक अन्तरवार्ताका क्रममा उक्त शाखाबाट कुल ३७-३८ करोड बराबरको लुटपाट भएको बताएका हुन् ।

उनका अनुसार प्रदर्शनका बेला बैंकको लकर तोडफोड गरी नगद र सुन चोरिएको हो । गभर्नरले हालसम्म लुटपाटमा संलग्न कोही पक्राउ नपरेको र अनुसन्धान जारी रहेको जानकारी दिएका छन् । अन्य शाखामा भने ठूलो क्षति नभएको राष्ट्र बैंकले जनाएको छ । प्रदर्शनका क्रममा राष्ट्र बैंकमा क्षति नभए पनि बैंकका शाखाहरुमा भने गम्भीर क्षति भएको देखिएको हो । प्रदर्शन साम्य भएपछि गभर्नर पौडेलले २६ गते संसद् भवनमा रहेको उक्त शाखाको अनुगमन गरेका थिए ।

सुरुवाती अनुसन्धानबाट संसद भवनको वाणिज्य बैंकको शाखा कार्यालयका लकरसहित तोडफोड र लुटपाट हुँदा करोडौँको क्षति पुगेको गभर्नर स्वयंले खुलासा गरेका हुन् । हालसम्म औपचारिक रुपमा उक्त शाखाबाट कति लुटपाट भयो भन्ने विवरण नआए पनि गभर्नर डा. पौडेलले ३८ करोड लुटिएको अनुमानित तथ्यांकबारे जानकारी दिएका छन् । बैंकर्स एशोसिएसन र नेपाल राष्ट्र बैंककै अनुसन्धानबाट नेपालभर ६८ वटा बैंकका शाखा र ६९ एटीएममा क्षति पुगेको विवरण सार्वजनिक भइसकेको छ । गभर्नर पौडेलले प्रदर्शनकारीको उद्देश्य बैंकहरु नभए पनि लोकेसनका कारण पनि शाखा कार्यालयहरुमा क्षति पुगेको बताए ।

 

युरोपमा यस गर्मी १६ हजार ५ सय मृत्यु जलवायु परिवर्तनसँग जोडिएको

युरोप । मानव–सिर्जित जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यो गर्मीमा युरोपेली सहरहरूमा करिब १६ हजार पाँच सय मानिसको मृत्यु भएको वैज्ञानिकहरूले बुधबार अनुमान गरेका छन् । यो निष्कर्ष आधिकारिक तथ्याङ्क आउनुअघि मोडलिङमार्फत निकालिएको हो ।

जलवायु र स्वास्थ्य अनुसन्धानकर्ताहरूले छिटो तयार पारेको अध्ययनले ग्लोबल वार्मिङसँग मृत्यु दर जोड्ने प्रयास गरेको हो । अनुमानित मृत्युहरू प्रत्यक्ष अस्पताल रेकर्डमा नभई विगतका सहकर्मी–समीक्षा अध्ययनमा प्रयोग गरिएका मोडलिङ विधिमा आधारित थिए ।

गर्मीको लहरका बेला मृत्यु प्रायः कम लेखिन्छ किनकि अस्पतालमा मुटु, सास फेर्न गाह्रो हुने वा अन्य रोगलाई नै कारण देखाइन्छ । यस्ता समस्या वृद्धमा झन् प्रबल हुन्छन् ।

यो गर्मीको स्थिति बुझ्न बेलायतका वैज्ञानिकहरूले जुनदेखि अगस्टसम्म आठ सय ५४ युरोपेली सहरमा तापक्रम औसत २।२ डिग्री सेल्सियस बढेको अनुमान गरे । ऐतिहासिक तथ्याङ्कसँग तुलना गर्दा सो अवधिमा करिब २४ हजार चार सय अतिरिक्त मृत्यु भएको प्रक्षेपण गरियो ।

त्यसमध्ये करिब ७० प्रतिशत अर्थात १६ हजार पाँच सय मृत्यु प्रत्यक्ष ग्लोबल वार्मिङकै कारण भएको द्रुत एट्रिब्युसन अध्ययनले देखायो । यसको अर्थ जलवायु परिवर्तनले गर्मीसम्बन्धी मृत्यु दर तीन गुणा बनाएको हुनसक्छ । यो अध्ययन इम्पेरियल कलेज लन्डन र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका विज्ञहरूले संयुक्त रूपमा गरेका हुन् ।

यसअघि पनि एउटै गर्मीको लहरका लागि यस्तै नतिजा देखाइएको थियो । तर अधिकांश देशहरूले वास्तविक तथ्याङ्क ढिलो प्रकाशित गर्ने भएकाले अहिलेसम्म प्रत्यक्ष तुलना सम्भव छैन । अध्ययनका सह–लेखक फ्रेडेरिक ओटोले भने, “अहिले वास्तविक–समय तथ्याङ्क पाइँदैन, तर हाम्रो अनुमान यथार्थ नजिक छ ।”

अघिल्ला अनुसन्धानहरूसँग पनि यो अध्ययन मिल्दोजुल्दो छ । जस्तै नेचर मेडिसिनमा प्रकाशित अध्ययनले सन् २०२३ को गर्मीमा युरोपमा ४७ हजारभन्दा बढी मृत्यु भएको ठहर गरेको थियो ।

बेलायतको युनिभर्सिटी अफ रिडिङका वायुमण्डलीय विज्ञ अक्षय देवरासका अनुसार यी विधि वैज्ञानिक रूपमा बलिया भए पनि रूढीवादी छन्, वास्तविक मृत्यु अझ बढी हुनसक्छ ।

यस अध्ययनअनुसार सबैभन्दा धेरै मृत्यु रोममा आठ सय ३५, एथेन्समा छ सय ३० र पेरिसमा चार सय नौ भएको छ । करिब ८५ प्रतिशत मृत्यु ६५ वर्षभन्दा माथिका व्यक्तिमा देखिएको हो ।

शोधकर्ताहरूले केही क्षेत्र, जस्तै बाल्कन, समावेश नभएकाले यो अध्ययनले सम्पूर्ण युरोपलाई प्रतिनिधित्व नगर्ने स्पष्ट पारेका छन् ।

सह–लेखक ग्यारिफलोस कोन्स्टान्टिनोउडिसका शब्दमा, “२–४ डिग्री तापमान बढ्दा हजारौँ मानिसको जीवन र मृत्युबीचको फरक पर्न सक्छ, त्यसैले तातो लहरलाई मौन हत्यारा भनिन्छ ।”

यो वर्ष युरोपको रेकर्डमा चौथो सबैभन्दा तातो गर्मी भएको छ ।