`

थारु समुदायमा ‘सिकलसेल एनिमिया’को ‘स्क्रिनिङ टेस्ट’

दोधारा चाँदनी (कञ्चनपुर) । थारू समुदायमा रहेको वंशाणुगत रोग ‘सिकलसेल एनिमिया’ पहिचानका लागि रगत परीक्षणलाई उच्च प्राथमिता दिइएको छ ।
स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले थारु समुदायको बाहुल्यता रहेका पालिकामा रगत परीक्षण शिविर नै सञ्चालन गरिएको जानकारी दिए।
उनका अनुसार कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा दुई हजार चार सय दुई जनाको रगत परीक्षण गर्दा दुई सय २९ पोजेटिभ पत्ता लागेको जानकारी दिए । उनीहरुको अन्तिम परीक्षण गर्दा दुई सय १३ जना सिकलसेल बाहक १० जनामा थालेसिमिया र ६ जना सिकलसेल रोगी पत्ता लागेका छन्  ।  पूनर्वास नगरपालिकामा ९ सय ७६ जनाको रगत परिक्षण गर्दा ९८ जनामा पोजेटिभ देखिएको थियो । जसको अन्तिम परीक्षण गर्दा ७९ जनामा बाहक(ट्रेट)देखा परेको थियो ।
एक सय ११ जनामा ट्रेटसँगै विटा थालेसिमिया र तीन जनामा विटा थालेसिमिया होमोजाइगोस पत्ता लागेको थियो । त्यसैगरी भीमदत्त नगरपालिकामा आठ सय ६६ जनाको रगत परीक्षण गर्दा ९९ जना पोजेटिभ भेटिएका छन् । जसको अन्तिम परीक्षण गर्दा ७७ जना सिकलसेल ट्रेट, १८ जना सिकलसेल ट्रेटसँगै बिटा थालेसिमिया र चार जनामा सिकलसेल पत्ता लागेको थियो ।
स्वास्थ्य कार्यालयले थारु समुदायमै गएर स्क्रिनिङ टेस्ट गरेको थियो । स्क्रिनिङ टेष्टमा पोजेटिभ देखिएका व्यक्तिको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नमूना लगेर परीक्षण गरिएको थियो ।  थारु समुदायको बाहुल्यता भएको बेलौरी नगरपालिकामा एक हजार तीन सय जनाको रगत परीक्षण गरिएको थियो । जसमा एक सय १४ जना पोजेटिभ देखिएका थिए । अन्तिम परीक्षण गर्दा एक सय ३२ जनामा सिकलसेल बाहक, पाँच जनामा थालेसिमिया र पाँच जना सिकलसेल रोगी पत्ता लागेका थिए । स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार कञ्चनपुरको विभिन्न पालिकामा स्क्रिनिङ टेष्ट गरिएको बताए।
 “बाहक (ट्रेट) देखा परेकाहरुको  रगतको अन्तिम चेक गर्दा धेरैमा सिकलसेल एनिमिया भएको पुष्टि भएको छ ।” भट्टले भने–“हरेक एक सयजनाको परीक्षणमा आठ जना बिरामी देखिएका छन ।”
उनले बाहक(ट्रेट) देखा परेका महिला पुरुषले विवाह गर्दा रगत परीक्षण गरेर मात्रै गर्नुपर्ने बताए । “बाहक(ट्रेट) देखा परेका महिला पुरुषले विवाह गरे उनीहरुबाट जन्मिने व्यक्ति पनि रोगी जन्मन्छ ।” उनले भने–“त्यसैले विवाह गर्नुभन्दा पहिले रगत परीक्षण गरेर मात्रै विवाह गर्नु उपयुक्त हुन्छ ।”
हेमोग्लोबिनसँग सम्बन्धित खराबीको कारणले हुने समस्या विश्वमा ५ प्रतिशत भन्दा बढी भएको तथ्याङ्क छ । तीमध्ये सबै भन्दाबढी देखापरेको समस्या सिकलसेल एनिमिया र थालेसिमिया रहेको उनको भनाइ छ । नेपालमा पनि खासगरी थारु चौधरी समुदायमा यो रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
केही समयअघि नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटरोजाइगस ट्रेट रहेको पाइएको उनले बताए ।
थारु चौधरी समुदायमा यो रोग एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको र समयमै यसको रोकथामका उपाय अवलम्बन गर्न नसकिए अवस्था झन भयावह हुनसक्ने भएकाले कञ्चनपुरका थारु चौधरी समुदायको बसोबास उच्च रहेका पालिकामा यो रोगको पहिचान तथा निदानको लागि स्वास्थ्य कार्यालयले रगत परीक्षण गरेको भट्ट बताउँछन् ।
“सिकल सेल एनिमिया र थालेस्मिया व्यक्तिको जिन सम्बन्धी खराबीको कारणले हुन्छ रोगसँग सम्बन्धित सानो खराबी भएको अवस्थालाई ट्रेट भनिन्छ ।” भट्टले भने–“केटा मान्छेमा ट्रेट छ र उसको विवाह ट्रेट भएको केटी मान्छेसँग भयो भने त्यसबाट जन्मने २५ प्रतिशत बच्चाहरुमा सिकल सेल रोग भएर जन्मने गर्छन ।”
ट्रेट भएको व्यक्तिलाई शारीरिक रुपमा खासै समस्या नदेखिने र समस्या देखिए पनि सामान्य खालको हुने उनले बताए।
सिकलसेल रोग भएमा थकाइ लाग्ने, श्वास प्रश्वासमा समस्या हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्दछन ।

चुच्चे नक्सा हटाएको आरोपबारे प्रधानमन्त्री कार्यालयले दियो स्पष्टीकरण (भिडियो सहित)

 काठमाडौँ ।  केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भएसँगै गठन गरिएको अन्तिरम सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको चुच्चे नक्सा हटाएको भन्ने पोस्टहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले समेत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकक्षमा नेपालको नक्सा अङ्कित झण्डा हटाएको भन्दै प्रश्न गरेकी छन् ।

पूर्वमन्त्री अर्यालले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खुल्ला पत्रमा लेखेकी छन्, ‘यो राष्ट्रलाई पुर्खाले रगत बगाएर, छातीमा गोली थापेर, बच्चा काखमा च्यापेर पानी पनि नखाई लडेर बचाएका हुन् । त्यो माटो आज हाम्रो पहिचान बनेको छ । तर प्रधानमन्त्रीज्यू अचम्म लाग्यो -तपाईँको कार्यकक्षबाट नेपालको संविधानमा अङ्कित अद्यावधिक नक्सा हटाइयो रे ।’

“सन् १८१६ को सुगौली सन्धिले स्पष्ट भनेको छ , नेपालको पश्चिमी सिमा कालीनदी हो , जसको मुहान लिम्पियाधुरा हो । २०१८ सालमा नेपाल सरकारले त्यहाँ जनगणना गरेको तथ्य हाम्रो हातमा छ । त्यहाँका जनताले नेपाल सरकारलाई तिरेका करका रसिद प्रमाण छन् ।”उनले भनेकी छिन् ।

अर्यालले नक्सालाई संविधानको अनुसूचीमा अङ्कित संसद्ले राष्ट्रिय सहमतिमा पास गरेको, नेपाल आमाको छातीमा कोरिएको सार्वभौमिकता दस्ताबेज हो भनेर जिकिर गरेकी छिन् ।

यसबारे जिज्ञासा राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको कार्यकक्षमा नक्सा नै राख्न नभ्याइएको बताएको छ । सचिव गोविन्द कार्कीले अर्यालले लेखेजस्तो नयाँ नक्सा नहटाइएको बताएका छन् ।

‘यो हल्ला फैलाउनका लागि मात्रै हो । यहाँ नयाँ भवनमा सरेकाले नक्सै राख्न भ्याइएको छैन । परिस्थिति यहाँहरूले बुझ्नुभएकै छ,’ कार्कीले भने ।

गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलाइएको थियो । त्यसपछि सिंहदरबारमै गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्कीको पदभार ग्रहण भदौ २९ गते गराइएको थियो ।

कार्यालयका शासकीय मामिला हेर्ने सचिव कार्कीले नयाँ स्थानमा प्रधानमन्त्री कार्यालय सानु परेको र पुरानो कार्यालयमा रहेका कागजात र सामग्री जलेकाले नयाँ कागजात र सामग्री व्यवस्थापन गर्दै जाँदा प्रधानमन्त्रीको कार्यकक्षमा अहिलेसम्म नक्सा राख्न नभ्याइएको जानकारी दिए ।

 

 

 

 

गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार

काठमाडौं । गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान सवा ११ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ५१ वर्षीया सीतादेवी पन्तमाथि खुकुरी प्रहार भएको हो । काभ्रेको चौरीदेउराली गाउँपालिका–८ घर भएकी पन्तलाई खुकुरी प्रहार गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ३७ वर्षीय कर्णबहादुर तामाङ पक्राउ परेका छन् ।

तामाङले मदिरा सेवन गरी पन्तको कोठामा गएर खुकुरी प्रहार गरेको बताइएको छ । खुकुरी प्रहार गर्नुको यकिन कारण खुलिनसकेको प्रहरीले बताएको छ ।

घाइते महिलालाई उपचारका लागि शंकरापुर अस्पताल नारायणटार पठाइएको छ । ती महिलाको टाउको र दाहिने हातमा चोट लागेको छ ।

पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । प्रहरी वृत्त बौद्धको भवन पुरै जलेकाले राख्ने हिरासत नभएकाले परिसर पठाइएको हो ।

 

नयाँ बसपार्कमा आज चाडपर्व लक्षित नागरिक सहायता कक्ष उद्घाटन

काठमाडौँ । काठमाडौँको गोंगबु नयाँ बसपार्कमा आज चाडपर्व लक्षित नागरिक सहायता कक्ष उद्घाटन गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयको आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख दान बहादुर कार्कीले नागरिक सहायता कक्षको नयाँ बसपार्कमा आज चाडपर्व लक्षित नागरिक सहायता कक्ष उद्घाटन गरेका हुन् ।

नयाँ बसपार्क लगायत उपत्यकाको १५ स्थानमा नागरिक सहायक कक्ष सञ्चालन गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव टेकनाथ गौतमले जानकारी दिए । उपत्यकाको विभिन्न स्थानहरु चाबहिल, गौशाला, बल्खु, कलंकी, लगायत बनेपामा पनि नागरिक सहायता आज बाट सञ्चालमा ल्याइए उनले बताए ।

 

 

सहश्राव्दी पदमार्ग ले पदयात्रा पर्यटनमा जगाउँदै आशा

गण्डकी । मध्यपहाडी क्षेत्रको पदमार्ग सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा पर्यटकीय गतिविधि बढाउने उद्देश्यसँगै पछिल्ला वर्षमा पदमार्ग क्षेत्रका स्थानीयले चासो बढाएका छन् ।

तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने यो पदमार्ग २०५६ सालदेखि सञ्चालनमा आएकोमा बीचका केही वर्ष सुस्ताए पनि पछिल्ला वर्षमा मिलेनियम ट्रेक व्यवस्थापन समितिको सक्रियता र स्थानीयवासीको जागरुकतामा पुनः चलायमान हुन थालेको हो ।

पछिल्ला वर्षमा यस पदमार्गमा स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकको आगमन पनि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए ।

पहिलो पटक विसं २०६४र६५ मा नक्शाङ्कन गरिएको यो पदमार्ग समुद्री सतहबाट ४२० मिटरदेखि एक हजार ७१५ मिटर उचाइसम्ममा रहेको छ । पछिल्लो समयमा दोस्रो नक्शाङ्कनसमेत गरी पोखरा महानगरपालिकाका केही भू–भाग पनि यस पदमार्गमा समेटिएको छ ।

उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि समेत उपयुक्त मानिएको यस पदमार्गमा पछिल्ला वर्षमा पर्यटक लक्षित घरवास पनि ठाउँठाउँमा सञ्चालन भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवम् मिलेनियम भैँसेगाँैडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए ।

यस पदमार्गमा पूरै पदयात्रा सम्पन्न गर्न भने एक हप्ता लाग्छ । बीचबीचमा छोटो दुरीमा एक दिने हाइकिङदेखि दुई तीन दिनका छोटो दूरीका पदयात्राका लागि पनि यो आकर्षक गन्तव्य बनिरहेको छ ।

दुलेगौँडादेखि रामबाछासम्म जोडिएको यस पदमार्गको लम्बाई ७२ किलोमिटर रहेको छ ।

महासचिव गुरुङका अनुसार दुलेगौँडाबाट सहश्राव्दी पदमार्गको पदयात्रा सुरु गर्ने पर्यटक यहाँको गाछेपानीस्थित रक गार्डेन हुँदै आफ्नो यात्रा प्रारम्भ गर्दछन् ।

पछिल्ला समयमा धार्मिक रूपमा चासो र चर्चा कमाएको च्यवनधामको दर्शन गर्दै ढोरबाराही मन्दिरबाट अघि बढ्ने यस पदयात्रा मार्गमा पहिलो दिन ऐतिहासिक ढोर मूलकोट दरबार हुँदै रजस्थलसम्म पदयात्रा गरिन्छ । रजस्थलमा स्थानीयवासीले घरवास सञ्चालन गरेका छन् । रजस्थलसहित यस क्षेत्रका लामागाउँमा पनि स्थानीयले घरवास सञ्चालन गरेका छन् ।

दोस्रो दिनमा पदयात्री घरेडी या सादीखोलामा पुगेर बस्छन् । घरेडी र सादीखोलाको बीचमा रहेका ऐतिहासिक महत्वको मिलेनियम गुफा यहाँको अर्को महत्वपूर्ण आकर्षण हो । घरेडी र सादीखोलामा घरवास सञ्चालन गरिएको छ ।

तेस्रो दिन पदयात्री काल्खु, राइपुर हुँदै कोल्मा पुगेर बस्न सक्छन् । यहाँका पोखरीछाप र कोल्मामा घरवास सञ्चालन भएको छ । कोल्मामा सामूदायिक घरवाससँगै व्यक्तिगत रूपमा कोल्मा होमस्टे एण्ड रेष्टुरेन्ट पनि सञ्चालन गरिएको छ ।

चौथो दिन भैँसेगौँडाहुँदै चन्द्रकोटसम्म पुग्न सकिन्छ । पर्यटकलाई लक्षित गरी भैँसेगौँडामा रहेका मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टे तथा चन्द्रकोट होमस्टेले पर्यटकलाई सेवा दिइरहेका छन् । त्यस्तै यस क्षेत्रमा ज्यामिरे र चिरुवामा पनि होमस्टे सञ्चालन गरिएको छ ।

पाँचैदिन चन्द्रकोटबाट पर्यटक गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट हुँदै बुढाकोटसम्म पुग्न सक्छन् । यहाँका केघा देउराली र बुढाकोटमा घरवास सञ्चालन गरिएको छ ।

छैटौदिन बुढाकोटबाट राम्चे, गहते मनकामना हुँदै सुन्तलाबारी पुगेर बस्न सकिन्छ । यहाँका मनकामना र सुन्तलाबारीमा घरवास सञ्चालन गरिएको छ । सुन्तलाबारी बसेका पर्यटक सातौँ दिन त्यहाँबाट रामबाछा हुँदै स्याङ्जा बजार या पोखरा आउन सक्छन् ।

कम उमेरका बालबालिकादेखि ज्येष्ठ नागरिकसमेतले यस क्षेत्रमा पदयात्रा गर्न सक्ने भएको यो पदमार्गमा घरवाससहित अन्य पूर्वाधार पनि थपिँदै गएको उनको भनाइ छ ।

यस पदमार्गको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले विगत केही वर्ष यता लागातार रूपमा सहयोग गरिहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।

पदमार्ग क्षेत्रमा साइनेज पोष्ट राख्नेलगायत पूर्वाधार विकास र प्रवद्र्धनका विभिन्न कार्यक्रममा निरन्तर सहयोग गरिँदै आइएको उनले बताए ।

पदयात्रासँगै यहाँबाट उत्तरतर्फ देखिने लस्करै हिमाल, तलतिर सुरौदी खोला, वरपरको हरियाली पहाड हुँदै पारितर्फ भरतपोखरीको ऐतिहासिक मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोट, बरपाण्डेथुम निर्मल पोखरी, फोक्सिङकोट, कृष्ति आदिका मनोरम भू–भागले जो कोहीलाई लोभ्याउने गरेको छ । यहाँबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्यका साथै पदमार्ग क्षेत्रमा ऐतिहासिक एवम् धार्मिक सम्पदालाई विश्व पर्यटन बजारमा पु¥याउनका लागि आँफूहरू निरन्तर लागिरहेको महासचिव गुरुङको भनाइ छ ।

“यहाँका पर्यटकीय सम्भावना विश्व पर्यटन बजारमा पु¥याउन सकेमा त्यसबाट पदयात्रा पर्यटनमा महत्वपूर्ण फाइदा लिन सकिन्छ”, उनले भने, “यहाँ प्रचुर पर्यटकीय सम्भावनालाई नै उजागर गर्नका लागि हामी स्थानीयमा आशा र विश्वास जगाउँदै पूर्वाधार विकास एवम् प्रवद्र्धनका कार्यक्रमलाई सँगसँगै अघि बढाइरहेका छौँ ।”

पदयात्रासँगै यस क्षेत्रमा अवलोकन गर्न सकिने झन्डै ३०० वर्ष पुरानो ढोर मूलकोट दरबारसहित यहाँका गढी, शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घरलगायत क्षेत्र यहाँका अन्य महत्वपूर्ण आकर्षण हुन् । पदमार्गमा पर्ने भिरकोट कालिका, यहाँस्थित किल्ला, मिलेनियम गुफा, राइपुरस्थित जन्तेढुङ्गा, गहते मनकामना, देउपुजे ढुङ्गादेखि एक हजार ७०९ मिटर उचाइको ऐतिहासिकस्थल बुढाकोट प्रवद्र्धनको पर्खाइमा रहेको उनले बताए ।

खुला आकाश: पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन (भिडियो सहित)

काठमाडौँ । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पुरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् ।

कर्मचारी बस्ने ठाउँ छैन । धेरै कर्मचारीको मुहार अझै खुल्न सकेको छैन । असरल्ल जलेको गाडीकै अगाडि एक छेउमा पाल टाँगिएको छ । पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्को तर्फ कानुन व्यवसायी, अनि बिचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको छ ।

सर्वोच्च अदालतको पूर्ण बैठकले जतिसुकै विषम् परिस्थितिमा पनि इजलास बस्ने निर्णय गरेसँगै आजदेखि सञ्चालन गरिएको हो । आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा एउटा र कुमार रेग्मीको इजलासमा दुई थान बन्दी प्रत्यक्षीकरणका निवेदनमाथि सुनुवाइ भयो ।

गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भइ भौतिक संरचना जलेपछि इजलास राख्ने ठाउँसम्म नहुँदा पालमुनि इजलास सुरु गरिएको हो । “आगजनीले इजलास सञ्चालन गर्ने स्थान छैन,” सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, “सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायिक प्रक्रियालाई अगाडि बढाउन बन्दी प्रत्यक्षीकरणको मुद्दामा सनुवाइ अगाडि बढाउने निर्णयअनुसार आजदेखि पालमुनिबाटै इजलास सुरु गरिएको हो ।”

गत भदौ ३१ गते दुई वटा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरिएको थियो । सो निवेदनमाथि सुनुवाइ प्रारम्भ गरिएको हो । “सूचना प्रविधिको उपकरण, सवारीसाधन ठूलो मात्रामा क्षति भएको छ, क्षतिको तथ्याङक सङ्कलन भइरहेको छ” उनले भने, “सर्वोच्च, विशेष र जिल्ला गरी २३ अदालत भवनमा क्षति भएका छन्, केहीमा पूर्ण र केहीमा आंशिक क्षति भएका छन्, पूर्ण विवरण आउन बाँकी छ ।”

अदालतको भौतिक संरचना जलेर नष्ट भएसँगै मुद्दाका मिसिल पनि जलेर नष्ट भएका छन् । पूर्णरूपमा क्षति भएका अदालतका मुद्दाका मिसिल पनि पूर्णरूपमै नष्ट भएका छन् । आंशिक क्षति भएका अदालतमा केही मुद्दाका मिसिल बाँकी छन् ।

प्रवक्ता कोइरालाले भने, “पूर्णरूपमा नष्ट भएका मिसिलको हकमा सर्वोच्च अदालतको पूर्ण बैठकले निर्देशिका बनाउने निर्णय गरेको छ, त्यो बन्ने क्रममा छ, सोहीअनुसार कुन पक्षबाट मिसिल लिने भनेर निर्णय गर्नेछ ।” सर्वोच्च अदालतमा चालु अवस्थामा करिब २६ हजार मुद्दा थिए ।

प्रधानमन्त्री कार्कीलाई चिनियाँ राजदूतले भने-आवश्यक सहयोग गर्न तत्पर छौं

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । आज (बिहीबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत छनले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन्। काठमाडौंस्थित चिनियाँ राजदूतवासका अनुसार राजदूत छनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएका थिए । त्यस्तै दुई मुलुकबीचको मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउने विषयमा समेत कुराकानी भएको राजदूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार असल छिमेकीका नाताले चीनले नेपालका जनताको चाहनालाई सम्मान गर्ने भन्दै सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन तत्पर रहेको राजदूतले बताएका थिए । ‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं,’ राजदूत सोङले भनेका थिए, ‘आगामी दिनमा पनि सहयोग गर्छौं । सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ ।’ कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चिनियाँ राजदूतले भेटेको यो पहिलो पटक हो ।

राष्ट्रपति समक्ष मधेशी र महिला आयोगको प्रतिवेदन पेस

काठामाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम ती दुई आयोगले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ ।

मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गरेका हुन् ।

जेनजीलाई समेट्न मतदाता नामावली संकलन गर्न अध्यादेश ल्याइने

काठमाडौं । सरकारले अध्यादेशमार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता नामावली संकलन गर्ने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीसँगको छलफलमा आयोगको सहयोग मागेका हुन् ।

गृहमन्त्री अर्यालले जेनजीहरूको विद्रोहबाट नयाँ सरकार र नयाँ निर्वाचनको अवस्था सिर्जना भएको भन्दै उनीहरूलाई बाहिर राखेर निर्वाचन गर्न नसकिने स्पष्ट पारेका हुन् । उनले १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नरहेका जेनजीहरूको माग बमोजिम उनीहरूको मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानून संशोधन आवश्यक रहेको बताएका छन् ।

विद्यमान कानूनले निर्वाचनको मिति घोषणा भएपछि मतदाता थप्न नमिल्ने भएकाले आयोगले कानून संशोधनका लागि प्रस्ताव ल्याउन आग्रह गरे । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अहिले विषम परिस्थितिमा निर्वाचनको अवस्था आएकाले परिवर्तनको माग बमोजिम आवश्यक कानून संशोधन गरेर सबैको अधिकार सुनिश्चित गर्न आयोग बाधक नबन्ने बताएका छन् ।

अस्कर अवार्डमा ‘अञ्जिला’ सिफारिस

काठमाडौँ । ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’मा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्नेभएको छ । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ अन्तर्गत ‘अन्तरराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको छ ।

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।

उनले भने, “चलचित्रको गहन मूल्याङ्कनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर हामीले सो चलचित्रलाई छनोट गरेका हौँ ।”

चलचित्र ‘अञ्जिला’ नेपाली महिला फुटवल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले नै अभिनय गर्नुभएको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेको हो । उक्त चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीको विषयमा बनेको चलचित्रले नेपालमा प्रतिनिधित्व गर्नु गौरवको विषय रहेको बताए ।

“नेपालले खेलमा राम्रो प्रगति गरिरहेको छ, सोही कारण हामीले खेलाडी सुब्बाको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र तयार गरेका हौँ । यसले नेपालको सुन्दरतासँगै महिला खेलाडीको सङ्घर्षपूर्ण यात्रा र सफलताको कथा समेटेको छ । यो अन्यका लागि प्रेरणा पनि बन्ने छ”, निर्माता श्रेष्ठले भने ।

चलचित्र ‘अञ्जिला’मा खेलाडी सुब्बासँगै दयाहाङ राई, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धी तामाङलगायतका कलाकारले अभिनय गरेको छ । निर्माण पक्षका अनुसार गत वर्ष नेपालमा प्रदर्शन भएको सो चलचित्रले रु नौ करोडको हाराहारीमा व्यापार गर्न सफल भएको थियो ।

युरोपेली चेतावनीः ‘स्न्यापब्याक’ रोक्न अझै कदम चालेन

युरोपेली अधिकारीहरूले बुधबार इरानले आफ्नो आणविक कार्यक्रमबारे आवश्यक कदम नचाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू फेरि लागु हुने चेतावनी दिएका छन् ।

जर्मनीको विदेश मन्त्रालय र युरोपेली सङ्घ (इयु)ले दिएको टिप्पणी इरानले फ्रान्स, जर्मनी, बेलायतका प्रतिनिधिहरूसँग र इयुका शीर्ष कूटनीतिज्ञ काजा कल्लाससँग गरेको टेलिफोन वार्तापछि आएको हो ।

“इरानको आणविक मुद्दामा कूटनीतिक समाधान खोज्ने ढोका छिट्टै बन्द हुँदैछ”, कल्लासले विज्ञप्तिमा भने, “इरानले फ्रान्स, बेलायत र जर्मनीका मागहरू सम्बोधन गर्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी(आइएइए) सँग पूर्ण सहयोग गर्नुपर्छ र ढिलाइ नगरी सबै साइटहरूको निरीक्षण गर्न दिनुपर्छ ।”

जर्मन विदेश मन्त्रालयले पनि सामाजिक सञ्जाल एक्समार्फत लेखेको छ, “इरानले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः लागु हुनबाट रोक्न अझै ठोस कदम चाल्न बाँकी छ ।”

यसको केही घण्टापछि इरानी विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः लागु गर्न ‘कुनै कानूनी वा तार्किक औचित्य छैन’ भन्दै प्रतिवाद गरे ।

उनले इजिप्टको मध्यस्थतामा इरान र आइएइएबीच भएको सहमतिको प्रसङ्ग उठाए । उक्त सहमतिअनुसार सबै इरानी आणविक साइटमा पहुँच दिने र सबै सामग्रीको विवरण दिने सम्झौता भएको थियो । तर रिपोर्ट कहिले दिने भन्ने अझै अस्पष्ट छ ।

अराघचीले अन्य विकल्प भने प्रस्तुत गरेका छैनन् । उनले भने, “कूटनीतिमा गम्भीरता र विश्वास देखाउँदै यो अवसर उपयोग गर्ने वा सङ्कटलाई बढ्ने मौका दिने कुरा अब अरू पक्षमा भर पर्छ ।”

गत जुनमा इजरायलले सुरु गरेको १२ दिने युद्धमा अमेरिकी र इजरायली आक्रमणले इरानी आणविक भण्डारणबारे शङ्का बढाएको थियो ।

संयुक्त राष्ट्रसङ्घको ‘स्न्यापब्याक’ भनिने प्रतिबन्ध पुनः लागु गर्ने प्रक्रिया सन् २०१५ को आणविक सम्झौतामा सुनिश्चित गरिएको संयन्त्र हो । यसलाई भिटो–प्रुफ बनाउन डिजाइन गरिएको थियो । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले यसलाई रोक्न सहमत नभएसम्म सेप्टेम्बरको अन्त्यमा यो स्वचालित रूपमा लागू हुनेछ ।

प्रतिबन्ध पुनः लागु भएमा इरानका विदेशस्थित सम्पत्ति फ्रिज हुनेछन्, हतियार सम्झौता रोकिनेछ, ब्यालेस्टिक मिसाइल कार्यक्रममा दण्ड लगाइनेछ र देशको कमजोर अर्थतन्त्रमा थप दबाब पर्न सक्नेछ ।

‘स्न्यापब्याक’ सक्रिय भएपछि इजरायलले गाजामा भूमि आक्रमण सुरु गरेपछि गाजा पट्टीमा इजरायल–हमास युद्धका कारण पहिले नै तनावपूर्ण क्षेत्रीय स्थिति अझ चर्किन सक्ने बताइएको छ ।

विदेशमा रहेका नेपालीलाई मतदान गर्न सकिने बनाउछौँ : गृहमन्त्री अर्याल

काठमाडौं । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउन आफू लाग्ने बताएका छन् ।

निर्वाचन आयोगमा बिहीबार भएको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् । समानुपातिक निर्वाचन प्रणालीमा भए पनि मतदान गर्न पाउनुपर्ने माग बढेको उल्लेख गर्दै उनले यसलाई सम्भव बनाउनुपर्ने बताएका हुन् ।

मतदानको पूर्ण सम्भावना नभएका देशहरूमा राजदूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गराउनुपर्ने गृहमन्त्री अर्यालको भनाइ थियो ।

अस्ट्रेलियाको नयाँ लक्ष्य : उत्सर्जनमा कटौती

अस्ट्रेलिया । अस्ट्रेलियाले सन् २०३५ सम्ममा आफ्नो हरितगृह ग्यास उत्सर्जनलाई सन् २००५ को स्तरभन्दा ६२ प्रतिशतदेखि ७० प्रतिशतसम्म कम गर्ने महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।

यो लक्ष्य सन् २०३० सम्ममा ४३ प्रतिशत कटौती गर्ने र २०५० सम्ममा शुद्ध–शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धतासँग जोडिएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो सरकारको नयाँ योजना आगामी संयुक्त राष्ट्रसङ्घीय महासभामा प्रस्तुत गर्ने बताए। उनले यसलाई ‘विज्ञानद्वारा समर्थित, व्यावहारिक योजनामा आधारित र प्रमाणित प्रविधिमा निर्मित जिम्मेवार लक्ष्य’ भएको बताए। उनका अनुसार यो कदम वातावरण, अर्थतन्त्र, रोजगारी र भावी पुस्ताको हितमा हुनेछ ।

अल्बानिजले लक्ष्य युरोपेली सङ्घ(इयु)सँग अनुरूप रहेको उल्लेख गरे। इयुले सन् १९९० को स्तरभन्दा ६३ प्रतिशतदेखि ७० प्रतिशतसम्म कटौती लक्ष्य विचार गरिरहेको छ । जलवायु परिवर्तन प्राधिकरणका अध्यक्ष म्याट किनले अस्ट्रेलियाको लक्ष्य ‘धेरै उन्नत अर्थतन्त्रहरूभन्दा उच्च महत्त्वाकांक्षा’ भएको बताए ।

तर यसबारे मिश्रित प्रतिक्रिया आएको छ । वातावरणीय समूहहरूले ७० प्रतिशतभन्दा माथिको कटौतीको माग गरेका छन् । यद्यपि व्यापारिक निकायहरूले त्यसले अर्बौं डलरको निर्यात जोखिममा पार्ने चेतावनी दिएका छन् । अस्ट्रेलियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रमुख एन्ड्र्यु म्याककेल्लरले यसलाई ‘महत्त्वाकांक्षी’ भने पनि ऊर्जा लागत, सुरक्षा र किफायतीपन प्रमुख चुनौती हुने बताए ।

कन्जर्भेटिभ विपक्षी लिबरल पार्टीले भने सरकार सन् २०३० को लक्ष्य नै पुरा गर्न असफल हुने भन्दै सन् २०३५ को लक्ष्यलाई ‘काल्पनिक’ भनेको छ । विपक्षी नेता सुसान लेले अस्ट्रेलियालीहरू प्रधानमन्त्रीप्रति निराश भएको दाबी गरे ।

ग्रिन्स नेत्री सिनेटर लारिसा वाटर्सले वास्तविक कटौती ६२ प्रतिशत मात्र हुने भन्दै यसलाई ‘भयावह रूपमा कम’ भने । उनले सरकार कोइला र तरलीकृत ग्यास निर्यातबारे मौन रहेको आरोप लगाए । कोइला र तरलीकृत ग्यास विश्वकै ठूलो जीवाश्म इन्धन आपूर्तिमध्ये एक हो ।

सरकारले भने अस्ट्रेलिया सन् २०३० को लक्ष्य हासिल गर्ने बाटोमै रहेको र सन् २०३५ को लक्ष्य व्यावहारिक रूपमा सम्भव हुने दाबी गरेको छ ।

संविधान दिवसको अवसरमा देशव्यापी कार्यक्रम गर्दै प्रमुख दलहरू

काठमाडौँ । कांग्रेस, एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी संविधानको पक्षमा राजनीतिक गतिविधि सुरु गरेका छन् । उनीहरूले संघदेखि स्थानीय तहसम्म असोज ३ गते संविधान दिवस मनाउने तयारी गरेका छन् ।

उनीहरूले प्रतिनिधिसभा विघटन भएपछि संविधान कमजोर बनाउने प्रयास हुन सक्ने भन्दै संविधानको पक्षमा उभिने निर्णय गरेका हुन् ।

२०७२ असोज ३ मा संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । जेन-जी आन्दोलनको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि दलहरू संविधान बचाएर मात्र अघि जान सकिने निष्कर्षमा पुगेका छन् ।

कांग्रेसले संविधान दिवस मनाउन संगठनहरूलाई निर्देशन दिएको छ । उपसभापति पूर्णबहादुर खड्काले बुधबार केन्द्रीय कार्यालको निरीक्षणका क्रममा देशव्यापी रूपमा शान्त तरिकाले संविधान दिवस मनाउने बताए । कांग्रेसले संविधान दिवसका अवसरमा छलफल, बहस गर्न लागेको हो ।

एमालेले पनि तल्ला कमिटीहरूमा आन्तरिक सर्कुलर पठाउँदै संविधाधन दिवस मनाउन निर्देशन दिएको छ । महासचिव शंकर पोखरेलले संविधानको रक्षा गर्नु अहिलेको आवश्यकता भएकाले सबै संगठनलाई यसमा केन्द्रित हुन निर्देशन दिएका छन् । ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौं र बनाऔं,’ उनले भनेका छन्, ‘लोकतान्त्रिक शक्तिहरूसागको सम्बन्ध र सहकार्यमा जोड दिऔं ।’

एमालेले काठमाडौंमा आगजनीबाट ध्वस्त भएको केन्द्रीय कार्यालय परिसरमा संविधान दिवस मनाउने तयारी गरेको छ । ‘संविधान दिवसको तयारीमा देशभरको संगठन लागेको छ । संविधानको रक्षा गर्ने पार्टीको मुख्य कार्यभार भएको छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

त्यस्तै माओवादीले जेन-जी आन्दोलनमा मारिएका व्यक्तिको स्मरण गर्दै देशव्यापी रूपमा संविधान दिवस मनाउन निर्देशन दिएको छ । हरेक पालिकासम्म जेन-जी आन्दोलनमा मृत्यु हुनेको सम्झना र सम्मानमा दीप प्रज्वलन गरी संविधान दिवस मनाउने माओवादीले जनाएको छ । ‘वडातहसम्म संविधान दिवस मनाउने तयारी गरेका छौँ,’ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘संविधानको जगमा टेकेर नै यसलाई बलियो र समृद्ध बनाउन सकिन्छ ।’

एकीकृत समाजवादीले पनि देशव्यापी रूपमा संविधान दिवस मनाउन निर्देशन दिएको छ । उपाध्यक्ष जगन्नाथ खतिवडाले संविधान रक्षाको विषय प्राथमिकतामा रहेकाले यसको पक्षमा उभिनुपर्ने आवश्यकता भएको बताए ।

 

ट्रम्प–स्टार्मर भेट : साझेदारीदेखि कठिन राजनीतिकमा छलफल

शाही स्वागतपछि अब राजनीति केन्द्रमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायती प्रधानमन्त्री किर स्टार्मरसँग भेट गर्दैछन् । भेटमा प्राविधिक लगानी, इस्पात शुल्क र जटिल कूटनीतिक मुद्दाहरू एजेन्डामा छन् ।

बुधबार विन्डसर क्यासलमा राजा चार्ल्स तृतीय र रानी क्यामिलाले ट्रम्प दम्पतीलाई सुनौलो गाडी, तोप सलामी र भव्य भोजसहित राजकीय सम्मान गरेको थियो । बेलायती अधिकारीहरूले यो भ्रमणलाई ‘अभूतपूर्व’ भन्दै अमेरिकी राष्ट्रपतिको दोस्रो राजकीय भ्रमणका रूपमा विशेष गौरवका साथ मनाए ।

अब ट्रम्पलाई १६औँ शताब्दीको ऐतिहासिक चेकर्स म्यानर हाउसमा स्टार्मरले स्वागत गर्ने छन्। यहाँ पूर्ण औपचारिक गार्ड, स्कटिश परम्परागत ब्यागपाइपर र चर्चिलसँग सम्बन्धित अभिलेख प्रदर्शन गरिनेछ । भोजमा डोभर सोल, लाइम पाई र प्यारासुट टोलीको प्रस्तुति रहनेछ ।

– प्राविधिक साझेदारी सम्झौता –

दुई नेताले ‘प्राविधिक समृद्धि सम्झौता’ मा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । यस अन्तर्गत एआई, क्वान्टम कम्प्युटिङ र आणविक उर्जामा रोजगारी र लगानी बढ्नेछ ।

अमेरिकी कम्पनीहरूले ३१ अर्ब पाउन्ड (४२ अर्ब डलर)को लगानी गर्ने घोषणा गरिसकेका छन्, जसमा माइक्रोसफ्टबाट मात्र ३० अर्ब डलरको सुरक्षा सुपरकम्प्युटर परियोजना छ ।

तर डिजिटल सेवा कर र इन्टरनेट नियमनबारे सम्झौता अझै अस्पष्ट छ । मे महिनामा दुवै नेताले अटो र एयरोस्पेस क्षेत्रमा भन्सार शुल्क कम गर्ने व्यापार सम्झौता गरेको थिए । तर इस्पात–एल्युमिनियममा २५ प्रतिशत भन्सार शुल्क शून्यमा झर्ने वाचा अझै पुरा भएको छैन ।

– राजनीतिक चुनौती –

स्टार्मरका लागि यो भ्रमण घरेलु राजनीतिक सङ्कटबीच आएको हो । उपप्रधानमन्त्री एन्जेला रेनरले कर विवादमा राजीनामा दिएको छ भने सरकार सुस्त अर्थतन्त्रका कारण दबाबमा छ । विश्लेषकहरूले यो भ्रमण ट्रम्पभन्दा स्टार्मरका लागि कठिन हुने बताएका छन् ।

एपस्टिन प्रकरणसम्बन्धी प्रश्न पनि सम्भावित चुनौती मानिएको छ । केही दिनअघि मात्र राजदूत पिटर म्यान्डल्सनलाई एपस्टिनसँगको सम्बन्धका कारण पदबाट हटाइएको थियो ।

– युक्रेन र मध्यपूर्वमा मतभेद –

युक्रेनबारे ट्रम्प र स्टार्मरबीच असहज छलफल हुने देखिन्छ । स्टार्मरले युरोपेली सहयोग बढाउन जोड दिँदा ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई सम्झौता गर्नुपर्ने बताएका छन् र रुसमाथि नयाँ प्रतिबन्ध लगाउन अनिच्छुक देखिएको छ ।

पोल्यान्डमा रूसी ड्रोन आक्रमणलाई उनले ‘गल्ती हुन सक्छ’ भन्दै कम आँक्ने टिप्पणी गरेको थिए।

गाजामा इजरायलको युद्धमा पनि फरक दृष्टिकोण छ । स्टार्मरले बेलायत यस महिनाको अन्त्यसम्म प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेको छ भने ट्रम्पले यसै प्रकारका कदम चालेकाहरूलाई अघिल्लो पटक व्यापारमा दण्डित गर्ने चेतावनी दिएको थिए ।

शाही स्वागतले सुरु भएको यो भ्रमण अन्ततः कठिन वार्ताहरू र संवेदनशील विषयमा नेताहरूको मतभेदले चिह्नित हुने देखिएको छ ।

‘चुनौतीभित्र अवसर पनि छ, सबैभन्दा पहिला कर्मचारीको मनोवल उठाउने काम गर्नुछ’

नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बराल ले कानुन व्यवसायी भएर ४० वर्षभन्दा कामभन्दा बढी काम गरिन्। विसं २०१७ पुस ६ गते राजविराजमा जन्मिनुभएकी वरिष्ठ अधिवक्ता भण्डारीको कानुन व्यवसायमा सक्रिय थिइन्। उनले कानुनमा स्नातक गरेकि छिन् । केही वर्षअघि राष्ट्रिय सूचना आयोगमा सूचना आयुक्त भएर पनि काम गरिन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २९ गते उनलाई नेपाल सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा भण्डारीलाई नियुक्त गरेका थिए ।

यही भदौ २३ र २४ गते भएको ‘जेन जी’ आन्दोलनका क्रममा महान्यायाधिवक्ता कार्यालय र देशभरका सरकारी वकिल कार्यालयमा पनि निकै क्षति भएको छ । प्रस्तुत छ, यस्तो सम्बेदनशील र जटिल अवस्थामा महान्यायाधिवक्ता कार्यालयको संरचना र कर्मचारीको मनोबल कसरी अघि बढाउने भन्ने बारेमा नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारी बरालसँग रासस सम्वाददाता कालिका खड्काले गरेको कुराकानीको सम्पादित अंश :

निकै कठिन परिस्थितिमा नेपालको पहिलो महिला महान्यायाधिवक्ता बन्नुभएको छ । कुन मनोबलका साथ काम अघि बढाउनुभएको छ ?

पहिलोपटक महिला महान्यायाधिवक्ता हुँदा धेरैले शुभकामना दिइरहनुभएको छ । तर अवस्था यस्तो छ कि शुभकामना लिने र खुशी हुने अवस्था पनि छैन। शपथ लिदा पनि सर्वोच्च अदालतमा धुँवाबीचमा लिनुपर्‍यो । अर्कोतिर आन्दोलनमा हाम्रै परिवारभित्रकै बच्चाहरु हुनुहुन्थ्यो । आन्दोलननमा हाम्रै बच्चा बित्नुभएको छ । उनीहरुको अन्त्यष्टि हुने काम भइरहेको छ । अस्पतालमा घाइतेहरुको क्रन्दन त्यतिकै छ । यो कठिन मोडमा जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो । मलाई यो अवसरका लागि सोधियो । जस्तोसुकै मोडमा पनि जिम्मेवारी आयो भने पूरा गर्नुपर्छ भनेर म आएँ । मलाई यस ठाउँका लागि योग्य भएर नै दिएको होला भन्ने लाग्यो । जिम्मेवारी पाएको बेला अठोटका साथ सत्य र निष्ठाका साथ पूरा गर्नुपर्छ भनेर आएको हुँ । आन्दोलनबाट उब्जिएका थुप्रै विषय छन् । भ्रष्टाचारविरोधी अभियान थियो ती बालबालिकाको । त्यसलाई सार्थकता दिन म काम गर्नेछु ।  यसलाई मैले चुनौतीको रूपमा पनि स्वीकार गरेको छु । यो ठाउँलाई जीवन्त राख्ने काम गर्नेछु । ‘जेन जी’ पुस्ताले जुन सोचका साथ मुलुक बनाउन आन्दोलन गरेका थिए, त्यो अनुरुप काम गर्नुपर्छ । सकेसम्म राम्रोसँग जिम्मेवारी पूरा गर्छु ।

सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षाको अवस्थालाई कसरी लयमा ल्याउने तयारी गर्नु भएको छ ?

भर्खरै शपथ लिएर पदभार सम्हालेकी छु । महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी कार्यालयसँग कुराकानी भइरहेको छ । महान्याधिवक्ता कायालयको फैसला, अभियोजन पत्र र महत्वपूर्ण कागजात सुरक्षित छन् । त्यो खुशीको कुरा हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयमा भएका मुद्दाका फाइल सर्वोच्च अदालतलाई पनि दिएर सहयोग गर्नुपर्ने हुनसक्छ भन्नुभएको छ । तर जिल्ला सरकारी वकिल कार्यालयका फाइल चाहीँ जलेको छ । सरकारी वकिल कार्यालयका प्रमुख, कर्मचारी पनि विक्षिप्त अवस्थामा हुनुहुन्छ । भर्खरै पनि सरकारी वकिल कार्यालयका प्रमुखहरुले विस्तृतरूपमा जानकारी गराइरहनुभएको थियो । परिस्थिति दुःखद् खालको छ । महान्यायाधिवक्ता कार्यालयमा प्रवेश गर्ने बित्तिकै धुँवाको गन्ध आउँछ । कति जलेको छ, कति फुटेको छ । फुटेका सिसा यत्रतत्र देखिन्छन् ।  सबै कर्मचारी हतास छन् । बस्ने कुर्सी छैन । कम्प्युटरहरु फुटेका छन्, जलेका छन् । अब कसरी काम गर्ने भन्ने विषयमा योजना बनाइरहेका छौँ । सबैभन्दा पहिला कर्मचारीको मनोवल उठाउने काम गर्नु पर्नेछ । केही समय लाग्ला तर काम गर्छौँ । मुद्दाका फाइल सुरक्षित हुनु पनि महत्वपूर्ण कुरा हो । विशेष अदालतमा पनि धेरै फाइल सुरक्षित छन् भन्ने जानकारी छ । त्यो राम्रो भयो ।

जेन–जी आन्दोलनका क्रममा कति सरकारी वकिल कार्यालयमा क्षति भएको छ ? 

महान्यायाधिवक्ता कायालय पनि जलेको छ तर पूणरूपमा क्षति भएको छैन । झ्यालका सीसा धेरै फुटेका छन् । कागजात धेरै जलेको पनि छ । अहिलेसम्मको जानकारीमा २५ वटा सरकारी वकिल कार्यालय धेरै जलेका छन् भन्ने छ । क्षतिको विवरण आइरहेका छन् । यो विषम परिस्थितिमा राज्यसँग आश गर्ने अवस्था पनि छैन । आफ्नो आन्तरिक स्रोतबाट के के गर्न सकिन्छ गर्दै जाने हो । न्यूनतम् स्रोत साधनमा र आवश्यकतामा भए पनि काम सुरु गर्ने तयारी गरेका छौँ । क्षतिको विवरण आउँदैछ । लयमा आउन केही समय लाग्ला । विस्तारै क्षतिको विवरण आउँदैछ ।

सरकारवादी मुद्दा बढी हार्छन् भन्ने छ । सरकारवादी मुद्दामा बढी सफलता पाउन र छिटोछरितो न्याय दिन कस्तो योजना बनाउनु भएको छ ? 

यसमा धेरै काम गर्न सक्छु भन्ने अवस्था छैन । कार्यकाल पनि छोटो छ । कार्यालय जेलेको र कर्मचारीको मनोबल खस्किएको परिस्थिति छ । चाडपर्व नजिकै आइरहेको छ । म पनि कानुन व्यवसायीबाट आएको हुँ । सरकारी वकिलहरु सक्षम हुनुहुन्छ । सरकारी वकिलको प्रस्तुती राम्रो छ । भर्खरका वकिलको प्रस्तुती देख्दा आफू त्यो बेला यसरी प्रस्तुत गर्न नसकेको महसुस हुन्छ ।  नवयुवा सरकारी वकिल अझै राम्रो सक्षम र प्रतिस्पर्धी हुनुहुन्छ । सरकारी वकिलका कारणले मुद्दामा ढिलाइ हुँदैन । मुद्दा ढिला र चाँडो गराउन सरकारी वकिलको हात हुँदैन । सरकारी वकिलले मुद्दा रोक्ने गरेको पनि मलाई याद छैन । हाम्रो अदालती प्रक्रिया नै लामो छ । सरकारी वकिल प्रतिरक्षा गर्ने क्षमता छैन भन्ने मलाई लाग्दैन । मुद्दा लम्बिने पनि हुँदैन । मेरो जीवनको अनुभवमा यस्तो त्यस्तो भेटेको पनि छैन ।

महिला महान्यायाधिवक्ता हुँदा सरकारी महिला वकिललाई कस्तो प्रोत्साहन मिल्छ ?  

म पनि नयाँ छु, बुझदै छु । जे छ त्यही कुरालाई अघि बढाउने हो । संयोग मलाई अहिले महान्यायाधिवक्ता हुने अवसर मिल्यो । दक्षिण एसियामा राज्यका प्रमुख अङ्गमा महिला पुगेको अवस्था छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, महान्यायाधिवक्ता सबै महिला भएका छन् । संवैधानिक आयोगमा पनि हुनुहुन्छ । त्यो असाध्यै राम्रो विषय हो ।  सरकारी वकिल महिलाको सम्मेलन यही भदौ २३ र २४ गते भएको थियो । उद्घाटन र केही सत्र चल्यो तर आन्दोलनका कारण समापन हुन पाएको छैन । यही असोज २ गते समापन गर्नेछौँ । त्यो घोषणापत्रमा महिला सरकारी वकिलले के के आवश्यकता थियो । के चाहनुभएको थियो अनभिज्ञ छु । उहाँहरुको समस्या र गर्नुपर्ने विषय अध्ययन गरेर म काम गर्छु ।

अन्त्यमा, भन्नैपर्ने केही छ कि ?

यतिबेला हरेक क्षेत्रमा चुनौती धेरै छन् । चुनौतीभित्र अवसर पनि छ । हिजोको परिस्थिति र अहिलेको परिस्थिति फरक छ । नेताहरुले अराएको काम मात्र गर्नुपर्ने हुन्थ्यो तर अहिले त्यो अवस्था छैन । म बदमासी गर्दिन । घुस खाने कुरा भएन । कठिन मोडमा जुन अवसर मिलेको छ । राष्ट्रका लागि केही गर्छु भनेर नै आएको हुँ । विगतका राम्रा कामलाई निरन्तरता दिन्छु । सुधार गर्नुपर्ने काममा पनि म निरन्तर लाग्नेछु । इमान्दर भएर काम गर्नेछु । जति सक्छु मेरो कार्यकालमा राम्रो गर्ने प्रयास सधैँ रहनेछ ।

राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीको धारणा तय गर्न आज केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

बैठक आज दिउँसो पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।

बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको आगामी कदम र संगठनात्मक विषयमा गहन छलफल हुने बताइएको छ। बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आधिकारिक धारणा र बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।

यस क्रममा अध्यक्ष लिङ्देनले समसामयिक विषयमा पार्टीको दृष्टिकोण प्रष्ट पार्ने र आगामी दिनमा राप्रपाले लिन सक्ने नीतिगत कदमबारे पनि जानकारी दिने प्रवक्ता श्रेष्ठले बताए ।

 

प्रधानमन्त्री कार्कीको शान्ति र स्थिरता पुनर्स्थापना प्रयासमा मोदीको समर्थन

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

त्यसक्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यो जानकारी मोदी आफैंले एक्समार्फत् दिएका हुन् ।

“हालै नेपालमा भएको दुःखद् मृत्युप्रति समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनस्र्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थन रेहको पुनः पुष्टि गरेँ,” भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् ।

प्रधानमन्त्री कार्कीसँग सौहार्दपूर्णरुपमा कुराकानी भएको उनले जनाएका छन् । संविधान जारी गरेको दिन अर्थात् असोज ३ गते नेपालले संविधान दिवस र राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ । मोदीले राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिएको पनि उल्लेख गरेका छन् ।

“मैले भोलि (शुक्रबार) राष्ट्रिय दिवसमा उहाँ (प्रधानमन्त्री) र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरेँ,” मोदीले भनेका छन् ।

सभामुख देवराज घिमिरेद्वारा जलेको संसद् भवनको अवलोकन (तस्बिरहरु)

काठमाडौँ । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेनजी प्रदर्शनमा जलाईएको संसद भवनको अवलोकन गरेका छन् ।

भदौँ २३ र २४ गते भएको जेनजी आन्दोलनमा जलाएर खण्डहर बनेको संसद भवनको अवलोकन गर्न सभामुख देवराज घिमिरे , उपसभामुख इन्दिरा राना, नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौला , नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले त्यहाँ पुगेका हुन् ।

सार्वजनिक सम्पत्ति जलाइएको घटनाप्रति उनीहरुले दुःख प्रकट गरेका छन् ।

हेर्नूहोस् तस्बिरहरु;- 

जेनजीका नाममा घुसपैठ गर्नेहरुले ऐतिहासिक धरोहर जलाए: प्रकाशमान

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनमा घुसपैठ गरि ऐतिहासिक धरोहरमा आगजनी गर्ने काम भएको बताएका छन् ।

बिहीबार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको चाक्सीबारीस्थित निजी निवासको अनुगमन एवं निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गणेशमान सिंहको घरलाई राजनीतिक व्यक्तित्वहरुले राजनीतिक मन्दिरको रुपमा लिने गरे पनि अहिले आगजनी र तोडफोड गरी नष्ट पारिएकोप्रति चिन्ता व्यक्त गरे।

उनले उक्त घटनाको विधि अनुसार छानविन हुनुपर्ने माग गरे । सिंहले देशव्यापी रुपमा नियोजित रुपमा भएको आगजनीको घटनाले राष्ट्रलाई नै ठूलो क्षति पुगेको उनको धारणा छ ।

‘धेरैले गणेशमानजीको घर भएकाले यसलाई राजनीतिक मन्दिरको रुपमा लिने गर्नुहुन्छ, मलाई पनि धेरैले भन्नुभएको छ,’ सिंहले भने, ‘कतैबाट काम नभएपछि बुबा आमको जस्तो गरी आउने ठाउँ यही हो। अहिले पनि अरु ठाउँमा जान्छ जान्छ, अन्तिममा केही नभएपछि आउने ठाउँ यहि हो। जेन जीले इतिहास मेटाउनुपर्छ भनेर गरेको होइन, तर घुसपैठ भयो। २०४६ को जनआन्दोलन सुरु गर्ने ठाउँ यही हो। ०४६ को परिवर्तन ल्याउनमा चाक्सीबारीले खेलेको भूमिकालाई अब अहिलेको मुभमेण्टको समयमा जलाइएको छ।’

‘नेपाली कांग्रेसका इमान्दार नेताहरुलाई सम्मान गर्ने ठाउँ हो, कांग्रेसका इमान्दार नेताहरु बस्ने घरहरु जलाइएको छ। के गर्न खोजेको भन्ने स्पष्ट छ। हामी विधिको शासनका लागि लडेका हौँ। विधिअनुसार आगजनी र तोडफोडको छानबि हुनुपर्छ।’

मुलुकको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नेहरुमाथि नियोजित रुपमा आक्रमण गर्ने दुष्शाहस नगर्न चेतावनी दिदै उनले सवै मिलेर देश निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले अहिलेको समयमा जनताको माग बमोजिम नेताहरुले आफ्नो पार्टीलाई अघि बढाउन जरुरी रहेको उनको भनाइ छ ।

आपसी रक्षा सम्झौता, नयाँ समीकरण

साउदी अरब र आणविकु शक्ति सम्पन्न पाकिस्तानले आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कुनै पनि देशमाथि भएको आक्रमणलाई दुवैमाथि भएको आक्रमण मानिनेछ । यो कदम इजरायलले कतारमाथि गरेको आक्रमणपछि आएको हो ।

साउदी–पाकिस्तानबीच आर्थिक, धार्मिक र सुरक्षा सम्बन्ध लामो समयदेखि घनिष्ठ रहेको छ । पाकिस्तानको आणविक कार्यक्रमलाई रियादले आर्थिक सहयोग गरेको उल्लेख हुँदै आएको छ । विशेषतः इरानको आणविक महत्वाकांक्षाप्रति चासो बढ्दै गर्दा विश्लेषकहरूले वर्षौंदेखि साउदीलाई पाकिस्तानको ‘आणविक छत्रछायाँ’ भित्र राख्ने सम्भावनाबारे चर्चा गर्दै आएका छन् ।

सम्झौताका सन्देश स्पष्ट रूपमा इजरायलतर्फ लक्षित देखिन्छ । इजरायललाई लामो समयदेखि मध्यपूर्वको एक मात्र आणविक शक्ति भएको शङ्का गरिन्छ । सन् २०२३ को अक्टोबर ७ मा हमास आक्रमणपछि इजरायलले इरान, लेबनान, प्यालेस्टिनी क्षेत्र, कतार, सिरिया र यमनतर्फ सैन्य कारबाही विस्तार गरेको थियो ।

सम्झौताबारे इजरायल र अमेरिका दुवैले तुरुन्तै प्रतिक्रिया दिएका छैनन् । यो खाडी अरब मुलुकले कतार आक्रमणपछि लिएको पहिलो कडा सुरक्षा कदम हो । बुधबार रियादमा युवराज मोहम्मद बिन सलमान र पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले हस्ताक्षर गरेका थिए।

साउदी प्रेस एजेन्सी र पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बम वा आणविक हतियार प्रत्यक्ष उल्लेख नभए पनि भनिएको छ, “कुनै पनि देशमाथि आक्रमण भएमा त्यसलाई दुवैमाथिको आक्रमण मानिनेछ ।” सम्झौताले दुई मुलुकबीच रक्षा सहयोग विस्तार गर्ने र संयुक्त प्रतिरोधलाई सुदृढ पार्ने दाबी गरिएको छ ।

– ऐतिहासिक रक्षा सम्बन्ध –

साउदी र पाकिस्तानबीचको सुरक्षा सम्बन्ध दशकौँ पुरानो हो । सन् १९६० को दशकको अन्त्यमा यमन युद्धका कारण पाकिस्तानी सैनिकले साउदी भ्रमण गरेका थिए । सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि ती सम्बन्ध अझ गहिरिएका हुन् ।

पाकिस्तानले भारतको आणविक क्षमताको प्रतिरोधका लागि आफ्नै बम कार्यक्रम विकास गरेको छ । दुई मुलुकबीच पटक–पटक युद्ध भइसकेको छ । यसै वर्ष अप्रिलमा काश्मीरमा आक्रमणपछि भारत–पाक तनाव युद्धस्तरमा पुगेको थियो । भारतको विदेश मन्त्रालयले पनि सम्झौतामा गहिरो चासो व्यक्त गर्दै यसले क्षेत्रीय र वैश्विक स्थिरतामा असर पार्ने चेतावनी दिएको छ ।

पाकिस्तानी लेखक एवं पूर्व ब्रिगेडियर फिरोज हसन खानले आफ्नो पुस्तक ‘इटिङ ग्रासः द मेकिङ अफ द पाकिस्तानी बम’ मा साउदीले ‘उदार आर्थिक सहयोग’ गरेको उल्लेख गरेका छन् ।

विकिलिक्सद्वारा सार्वजनिक सन् २००७ को अमेरिकी कूटनीतिक केबलमा समेत साउदी अधिकारीहरूले पाकिस्तानसँग हतियार कार्यक्रमबारे सोचिरहेको खुलासा भएको थियो ।

तर दुवै देशले सम्झौता इस्लामाबादको आणविक शस्त्रागार विस्तारसँग जोडिएको हो कि होइन भन्नेबारे केही बताएका छैनन् ।

– साउदीको आणविक आकांक्षा –

सन् २०२३ मा हमासको आक्रमणअघि इजरायलसँग सम्भावित सम्बन्ध सामान्यीकरण वार्ताका क्रममा साउदीले अमेरिकी सहयोगमा नागरिक आणविक ऊर्जा कार्यक्रम अघि बढाउने माग गरेको थियो । यसले युरेनियम संवर्धनको अनुमति दिन सक्छ, जसले भविष्यमा हतियार निर्माणको ढोका खोल्ने चिन्ता उठाइएको छ । युवराज मोहम्मदले इरानसँग आणविक हतियार भए साउदीले पनि त्यसको खोजी गर्ने चेतावनी दिएको थियो ।

साउदी अरबसँग घरेलु ब्यालेस्टिक मिसाइल कार्यक्रम भएको विश्वास गरिन्छ तर आणविक अप्रसार सन्धिको सदस्य भएकाले आफ्नै प्रयत्नले बम विकास गरिरहेको प्रमाण सार्वजनिक भएको छैन ।

सम्झौता अघि इरानले वरिष्ठ राजनीतिज्ञ अली लारिजानीलाई रियाद पठाएको थियो । सन् २०२३ मा चीनको मध्यस्थतामा दुवै मुलुकबीच सम्बन्ध सुधारिएको पृष्ठभूमिमा यसले नयाँ क्षेत्रीय समीकरणलाई झल्काएको विश्लेषकहरूको भनाइ छ ।

भवन निरीक्षणपछि सभामुखले भने-संसद विघटन नगरी समाधान खोजेको भए हुन्थ्यो

काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद भवनसहित सार्वजनिक सम्पत्ति जलाइएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज (बिहीबार) आगजनी गरिएको संसद भवन अवलोकनपछि पत्रकारहरू माझ उनले जेनजी आन्दोलनका क्रममा भएको आगजनीलाई दुखद् दुर्घटना भने ।

उनले पछिल्लो क्षति र हानिबाट उठेर अघि बढ्नुपर्नेमा जोड दिए । संसद विघटन नगरी समस्या खोजेको भएर राम्रो हुने धारणा पनि उनले राखे । पत्रकारको प्रश्नहरूको संक्षिप्त जवाफ दिएका उनले राजनीतिक निकासका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

पोर्चुगलमा दशैंमा स्वदेश फर्किन लागेका नेपालीहरूको आवास अनुमति पत्र खारेज

काठमाडौं । नेपालमा भएको दुई दिने जेन–जी आन्दोलनको मौका छोपेर ठूलो संख्यामा कैदी बाहिर निस्केपछि नेपालमाथि विभिन्न देशहरूले रोक लगाउन थालेका छन् । युएईले वर्किङ र पर्यटन दुवै भिसा बन्द गरेको छ । दक्षिण कोरियाले पनि ई–७ भिसा रोकेको छ । यसैबीच पोर्चुगलले समेत आवास अनुमति पत्र लिएर देश बाहिर जान नेपालीलाई रोक लगाएको छ ।

भारतले पनि सीमामा कडाइ गरेको छ । उनीहरुलाई पोर्चुगलले विमानस्थलमै रोकेको हो । देश छोड्न नपाउने भएपछि दशैं मनाउन हिँडेका नेपाली रोकिएका छन् । बुधबार १२ जना आप्रवासीलाई पोर्चुगलको आवास अनुमति पत्र लिएर देश बाहिर जान रोक लगाइएको थियो । यसमा केही नेपाली पनि छन् ।

जैविक खेतीलाई अबलम्बन गर्दै किसान

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी र टिकोटका किसानले जैविक विधिबाट तरकारी खेती गरेका छन् । खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएको रासायनिक विषादी र मलको विकल्पमा घरेलु विधीबाट तरकारी, खाद्यबाली र आलु खेती गरेका हुन् । आलु खेतीको पकेट क्षेत्र टिकोट र घराम्दीका बासिन्दाले बन्दा, काउली, साग, किबी, गोलभेडा, काँक्रो, सिमी लगायत मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् ।

यहाँ ५० जना भन्दा बढी व्यवसायिक किसान छन् । टिकोटका किसान टिका तिलिजा पुनले तरकारीमा रोगकिरा लाग्न नदिन र नियन्त्रण गर्नका लागि गाईभँैसीको मलमूत्र प्रयोग गरेको बताए।

“पलास्टिकको बोतलमा सङ्कलन गरेर राखेको गाईभैँसीको मूत्रलाई आवश्यक पर्दा बिरुवाको जरा, जरामा हाल्छौँ,” उनले भने “टीकोटमा रासायनिक मल पनि अहिलेसम्म भित्रिएको छैन् ।” टिकोट र घराम्दीमा करिब दुई सय ५० घरपरिवारको बसोबास छ । यहाँका किसानको प्रत्येक गोठमा गाईभँैसीको मुत्र सङ्कलन गरेर राखेका छन् । पिसाबमा भएको किटाणुलाई नष्ट गर्ने क्षमता कायमै राख्नका लागि बन्द बोतल प्रयोग गरेका हुन् ।

मल र गहुँतका लागि किसानले घरघरमा गाईभँैसी र गोरु पालेका छन् । जङलबाट स्याउला र सोत्तर कुहाएर मल बनाउने गरेका छन् । गहुँतमा बोझो, केतुकी, खुर्सानी, टिम्मुरको पातको टुक्रा मिसाएर बनाएको जैविक विषादी प्रभावकारी हुने घराम्दीका किसान गमप्रसाद फगामीले बताए ।

“तापक्रम वृद्धि र मौसम परिवर्तनको असरले पछिल्लो समय नयाँ कीरा देखिएका छन,” उनले भने “मैले जानकारी पाएसम्म यो गाउँमा विषादी र रासायनिक मल प्रयोग गरिएको छैन् ।”
“जैविक विधिबाट उत्पादन भएको आलु र तरकारी स्वच्छ हुने भएकाले बजारमा माग उच्च छ,” उनले भने “मूल्य पनि राम्रो पाएको छ ।” बेनी, कुश्मा, बागलुङ र पोखरामा टिकोट र घराम्दीको आलु तथा तरकारी खपत हुन्छ । आलु र बन्दाखेती यहाँका बासिन्दाको प्रमुख आयस्रोत हो ।

यहाँबाट वार्षिक रु दुई करोड भन्दा बढी मूल्यको आलु र एक करोड बराबरको बन्दा बिक्री हुने गरेको अन्नपूर्ण गाउँपालिका–७ का वडा सदस्यसमेत रहेका टिकोटका व्यावसायिक किसान वुद्धिविर पुनले बताए ।

टिकोट र घराम्दी समुन्द्रि सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा रहेको छ । चिसो हावापानीमा जैविक विधिबाट उत्पादन भएको तरकारी स्वस्थकर र स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाईमा परेको छ । अन्नपूर्ण गाउँपालिकाले टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन गरेको कृषि अधिकृत श्याम शरण कुर्मीले बताए । कार्यक्रममार्फत कसानलाई तरकारी खेतीका लागि आवश्यक बीउ, टनेल, सिँचाइ सामग्री उपलब्ध गराएको उनले बताएका छन् ।

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच २० मिनेट फोनवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । झण्डै २० मिनेट लामो वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औं जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गरेकी थिइन् । साथै उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराएकी थिइन् । यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालका नव नियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गरेका थिए ।

वार्ताका क्रममा प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका थिए । छिमेकी दुई देशका सरकार प्रमुखहरूबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

पर्यटकीय याममा होटलमा बुकिङ रद्द

चितवन । यहाँको पर्यटकीय क्षेत्र सौराहाका होटलहरुमा पर्यटकले धमाधम बुकिङ रद्ध गरेका छन् । पर्यटकीय याममा समेत पर्यटकले बुकिङ् रद्द गरेका हुन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरराष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुँदा अधिकांश होटलका बुकिङ रद्द भएको जनाइएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डेले सेप्टेम्बरका लागि बुकिङ भएका होटल शत प्रतिशत रद्द भएको जानकारी दिए । उनका अनुसार आगामी महिनाहरुका लागि भएका बुकिङ पनि रद्द भइरहेको छ ।

“यो महिनामा ६५ देखि ७० प्रतिशत होटलका कोठा बुकिङ् भएका थिए”, उनले भने “अहिले एकरदुई वटा कोठामा मात्र पर्यटक छन् ।”

देशभर आन्दोलन चलिरहँदा पनि सौराहाका होटलहरुमा पर्यटक राम्रै सङ्ख्यामा थिए । तर उनीहरु गएपछि थप पर्यटक आएनन् । क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष दीपक भट्टराईले अन्तरराष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह भएकाले ट्राभल एजेन्सीमार्फत पर्यटकले सुरक्षित हुन नसकिने भन्दै दैनिक एक सय हाराहारीमा इमेल र म्यासेज पठाइरहेको बताए ।

उनका अनुसार अहिले सौराहामा होटलको क्षमताको तुलनामा पाँच प्रतिशत पनि पर्यटक छैनन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि पर्यटक सौराहा आउने गर्दछन् । यो निकुञ्ज जङ्गल सफारीका लागि विश्वमै परिचित छ ।

जनमतका ६ केन्द्रीय नेताले त्यागे पार्टी

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताहरुले पार्टी त्यागेका छन् । पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका ६ नेताले बिहीबार (आज) साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।

उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिं यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले पार्टीबाट राजीनामा दिएका हुन् । पार्टी अध्यक्षलाई राजीनामा दिन अल्टिमेटम दिएपछि राउतले सामाजिक सञ्जालमा पार्टी छोड्न उपयुक्त समय भएको बताएका थिए । राजीनामा दिएका प्रवक्ता डा.शरदसिंह यादवले भने, ‘हामी पार्टी खोल्न भनेर राजीनामा दिएका होइनौं । उहाँलाई सजिलो होस् भनेर पार्टी छोड्यौं ।’

सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी

बागमती । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडास्थित सहरी विकास तथा भवन कार्यालयको नवनिर्मित भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।

जेनजी प्रदर्शनका क्रममा मन्त्रालयको भवनसहित आगजनीले क्षति पु¥याएपछि सो भवनबाट सञ्चालन गर्ने तयारी थालिएको हो । “आगजनीबाट मन्त्रालयको केही कोठा बाहेक अधिकांश भाग जलेर ध्वस्त छ, त्यसैले मन्त्रालय सञ्चालनका लागि तत्काल सहरी विकासको नयाँ भवन उपयोग गर्ने तयारीमा छौँ”, मन्त्रालयका सूचना अधिकारी बासुदेव दाहालले भने, “सोहीअनुसार कार्यालय व्यवस्थापनका लागि मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाको नेतृत्वमा टोली परिचालन गरिएको छ, एक/दुई दिनमै कार्यालय व्यवस्थापन गरी सेवाप्रवाह गर्छाैँ ।”

आन्दोलनकारीले नवनिर्मित सो भवनमासमेत तोडफोड गरेकाले मर्मत गरी कार्यालय व्यवस्थापन गरिने जनाइएको छ । आगजनीबाट जोगिएका मन्त्रालयको केही फर्निचर तथा कागजात सार्ने र नयाँ समान ल्याएर कर्मचारीका लागि आवश्यक कक्ष व्यवस्थापन गरिरहेको मन्त्रालयले जनाएको छ ।

हेटाँैडा उपमहानगरपालिका–१ चौकीटोल ओरालोस्थित एउटै भवनमा सञ्चालन भइरहेको बागमती प्रदेश सरकारको भौतिक मन्त्रालयसहित चार वटा मन्त्रालय प्रदर्शनका क्रममा जलेको थियो ।

आगजनीबाट प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालय तथा अन्तर्गतका कार्यालयमा साढे पाँच करोड मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । उहाँका अनुसार प्रदर्शनकारीले मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालय चितवन, सहरी विकास तथा भवन कार्यालय हेटौँडा, पूर्वाधार विकास कार्यालय ललितपुर र प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना कार्यालय हेटौँडामा पनि क्षति पु¥याएका छन् ।

त्यस क्रममा मन्त्रालयका पाँच वटा चार पाङ्ग्र्रे सवारी तथा ३५ वटा मोटरसाइकल गरी ४० वटा सवारी साधन जलाइएका छन् ।

भन्सारमा नौ करोड ७० लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा रु नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो ।

कोरलानाका ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यसम्पादन सोमबारदेखि सुरु गरिएको थियो । चीनतर्फ भन्सार जाँचपास गरी कोरला नाकाबाट हालसम्म १६१ विद्युतीय कारसहित ८५ मालवाहक मझौला कन्टेनर कोरला नाकाको चिनियाँ भन्सारबाट मालवस्तु लोड गरी भन्सार कार्यालय न्हेचुङमा जाँचपासका लागि रोकिएका मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए।

चिनियाँ भन्सारबाट जाँचपास भई मुस्ताङ भन्सारमा जाँचपासका लागि रोकिएका ८५ कन्टेनरमध्ये हालसम्म ४५ कन्टेनरको भन्सार जाँचपास भइसकेको उनले बताए । यहाँबाट जाँचपास भईसकेका ४५ मालवाहक कन्टेनरबाट उल्लेखित भन्सार राजस्व सङ्कलन भएको हो ।

मुस्ताङ भन्सारबाट नेपाली मालवस्तु चीनतर्फ निकासका लागि दुई गाडीको भन्सार जाँचपास भइसकेको भन्सार प्रमुख खड्काले बताए । चीनतर्फ निकासी भएका सामान हस्तकलाका सामग्री हुन् । चीनबाट आयात गरिएका दसैँ लक्षित मालवस्तु लोड गरिएका कन्टेनरमध्ये जाँचपास भइसकेका ४५ कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरिसकेको र जाँचपास हुन बाँकी ४० कन्टेनरको भन्सार जाँचपास हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । यसैगरी चीनबाट आयात गरिएका १६० विद्युतीय गाडीको पनि भन्सार जाँचपास हुन बाँकी रहेको उनले बताए ।

चीनबाट आयात गरी मुस्ताङ भन्सारमा जम्मा भएका कुनै पनि विद्युतीय गाडीको हालसम्म जाँचपास भइनसकेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। भन्सार कार्यालयमा सीमित कर्मचारी हुँदा भन्सार जाँचपासमा ढिलाइ भएको उनको भनाइ छ । बैंक तथा वित्तिय संस्थाले चीनबाट आयात हुने मालवस्तुको मुस्ताङ भन्सारमा जाँचपास तथा आयात वस्तुका लागि प्रतितपत्र (एससी) खोल्न पर्ने व्यवस्था गरिएको छ ।

तेस्रो पटक ‘नेगेटिभ सर्किट’, शेयर कारोबार बन्द

काठमाडौं । लगानीकर्ताहरू आत्तिएपछि शेयर बजारमा आज (बिहीबार) केही मिनेटमै तेस्रो पटक सर्किट ब्रेक लागेको छ । नेप्से एक सय ६० अंक पाँच प्रतिशतले घटेर नेप्से २५११ विन्दुमा आएको छ । बजारमा सात अर्ब २८ करोडको शेयर किनबेच भएको छ । बजारमा जम्मा सात मिनेट मात्रै कारोबार हुन पायो । शेयर बजार खुलेको तीन मिनेट नबित्दै चार प्रतिशतले घटेर सर्किट ब्रेक लागेको थियो ।

२० मिनेट बजार बन्द भएर खुलेको एक मिनेट मै बजार थप एक प्रतिशतले घट्यो । यो अवधिमा कुल पाँच प्रतिशतले घटेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो । बजार पहिलो एक घण्टा चार प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगन हुन्छ । त्यस्तै, दुई घण्टाभित्र ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेटको लागि र तीन घण्टा भित्रमा ६ प्रतिशतले घटबढ भएमा दिनभरको लागि कारोबार स्थगन हुने नियम छ ।

भदौ २३ र २४ गते भएको प्रदर्शनको कारण भएको क्षतिले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा भार पर्न सक्ने आंकलन गरिँदै आएको छ । बुधबारसम्म बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूले पेश गरेको तथ्यांक अनुसार २० अर्ब रूपैयाँ बराबरको दाबी परेको छ ।

अहिले कम्पनीहरूले औसतमा बीमाको ३० देखि ३५ प्रतिशतसम्म मात्रै भार आफूले राख्छन् । बाँकी भार नेपाली पुनर्बीमा (रि इन्सुरेन्स) कम्पनीहरूलाई सार्छन् । अहिले हामीकहाँ नेपाल पुनर्बीमा र हिमालयन रि इन्सुरेन्स गरी दुइटा पुनर्बीमा कम्पनी छन् । यी कम्पनीले पनि दाबीको केही भार आफै लिन्छन्, केही विदेशी पुनर्बीमा कम्पनीमा सारेका हुन्छन् ।

यी कम्पनीहरूले दाबीभार विदेशी बीमा कम्पनीमा सारेको आकलन भए पनि कति सारेका छन् भन्ने जानकारी बीमा प्राधिकरणसँग छैन । तैपनि अहिले विभिन्न पर्ने बीमा दाबी भुक्तानी गर्न कम्पनीहरू सक्षम रहेको प्राधिकरणले जनाएको छ। यही कारण हिमालयन रि इन्सुरेन्सको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । हिमालयन रिको आठ सय ७८ रूपैयाँमा शेयर कारोबार भएको हो । नेपाल रि इन्सुरेन्सको पनि शेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ । कम्पनीको शेयर मूल्य एक हजार चार सय ६८ रूपैयाँका कारोबार भएको छ ।

खोरेत रोग नियन्त्रणमा

बागमती । हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरको विभिन्न स्थानीय तहमा किसानले पालेका पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ ।

पशु सेवा कार्यालय मकवानपुरले प्रभावित स्थानीय तहमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेपछि खोरेत रोग नियन्त्रणमा आएको हो ।

“खोरेत रोगबाट पशु चौपाया मर्न थालेपछि खोरेत रोगविरुद्धको खोप अभियान चलायौँ,” पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा बृजकिशोर ठाकुरले भने, “अहिले रोग नियन्त्रणमा आइसकेको छ ।”

खोरेत रोग प्रभावित पशुलाई लक्षित गरी जिल्लाको १० वटै पालिकामा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको प्रमुख ठाकुरले बताए । उनका अनुसार भदौको पहिलो सातादेखि सुरु गरिएको खोरेत रोगविरुद्धको खोप अभियानका क्रममा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडाका २३ हजार पशुमा खोप लगाइएको छ ।

खोरेत रोगबाट जिल्लाको १० वटा पालिकामा मध्ये नौ वटा पालिकामा फैलिएको खोरेत रोगबाट दुई हजार तीन सय ३९ पशुचौपाया प्रभावित भएकामा एक सय एक पुशचौपायाको मृत्यु भएको पशु सेवा कार्यालय हेटौँडाका पशु चिकित्सक डा विजय पौडेलले बताए । उनका अनुसार सबैभन्दा बढी हेटौँडामा खोरेत रोगबाट ४१ पशु मरेका छन् ।

रोकिराखेको ट्रकमा बस ठोक्किँदा दुईको मृत्यु, २० बढी घाइते

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा रोकिराखेको ट्रकमा बस ठोक्किँदा दुईको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेर अन्दाजी ४० वर्षीय एक जना पुरुष र ४५ वर्षकी महिलाको मृत्यु भएको छ । उनीहरूको जिल्ला अस्पताल इनरुवा र ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान

कञ्चनपुर । वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका–७ मा ५८ स्वचालित (सेन्सरयुक्त) बत्ती जडान गरिएका छन् । बत्ती जडान भएपछि बस्तीमा पसेर क्षति गर्ने जङ्गली जनावर नियन्त्रणमा सहयोग पुगेको छ ।

तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा २९ पोलमा बत्ती जडान गरेको छ । समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार बत्तीको प्रकाशले निकुञ्ज हुँदै बस्तीमा प्रवेश गर्ने जनावर टाढैबाट देख्न सकिन्छ ।

“यो कार्यले बालीनाली जोगाउन मात्र होइन, जनावर भगाउन पनि सहज भएको छ, मानवीय क्षति कम गर्न मद्दत पुगेको छ”, अध्यक्ष विष्टले भने । उनका अनुसार बस्ती क्षेत्रमा हात्ती, बँदेल, नीलगाई, चितललगायतका वन्यजन्तु प्रायः प्रवेश गर्ने गरेका छन् । बत्तीसँगै समितिले करिब तीन किलोमिटर क्षेत्रमा मेसवायर समेत जडान गरेको छ । बत्ती र मेसवायर जडान भएपछि बालीनाली जोगाउन सहज भएको छ ।

शुक्लाफाँटा–७ का वडाध्यक्ष प्रतापसिंह धामीले स्वचालित बत्ती र मेसवायर दुवै उपायले जनावर नियन्त्रण गर्न सहयोग पुगेको बताए । “हात्तीले मेसवायर तोडेर बस्तीमा छिर्ने गथ्र्यो, घर नजिक पुगेपछि मात्रै थाहा पाउँथ्यौँ, अहिले बत्तीको कारण टाढैबाट देख्न सकिने भएको छ”, उनले भने। समितिले चालू आर्थिक वर्षमा थप बत्ती जडान गर्न प्रस्ताव पेस गरेको छ ।

प्रहरीलाई गृहमन्त्रीको आग्रह : म अहिंसावादी हुँ, तपाइँहरू पनि त्यस्तै गरी पेश हुनुस्

काठमाडौं । गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले देशभरका प्रहरी युनिटमा कार्यरत अधिकृतलाई उच्च मनोबलका साथ सेवामा तल्लीन हुन निर्देशन दिएका छन् । जेनजी आन्दोलनपछि क्षतिग्रस्त काठमाडौंका केही प्रहरी कार्यालय निरीक्षणपछि बिहीबार बिहान नक्सालस्थित प्रधान कार्यालय पुगेका मन्त्री अर्यालले नयाँ परिवर्तनलाई आत्मसात् गर्दै प्रहरी कर्मचारीहरू डुयटीमा तैनाथ हुने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘तपाईँहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पालनामा लाग्नु हुनेछ भन्ने विश्वास वर्तमान सरकारले लिएको छ, यो सरकार उच्च मनोबलयुक्त प्रहरी कर्मचारीको पक्षमा छ ।’ उनले आफू शाकाहारी भएको र स्वभावतः अहिंसावादी भएको भन्दै प्रहरीलाई पनि अहिंसावादी शैलीमै पेश हुन निर्देशन दिए । गृहमन्त्रीको ब्रिफिङमा देशभरिका कार्यालय प्रमुखलाई भर्चुअल माध्यमबाट जोडिएको थियो । प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार प्रहरीका क्षतिग्रस्त भवनको निरीक्षणका क्रममा उनी प्रधान कार्यालय पुगेका हुन् ।

 

नागरिक अगुवाले राष्ट्रपतिलाई भेटेर भने–सरकार दलहरुप्रति प्रतिशोध साँध्नतिर नलागोस्

काठमाडौं । नागरिक आन्दोलनका अगुवाहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर लोकतन्त्रको जग हल्लिन नदिन खबरदारी गरेका छन् । उनीहरुले जेनजी आन्दोलनपछिको संक्रमणकालीन समयमा राष्ट्रपतिले देखाएको अभिभावकीय भूमिकाको प्रशंसा गरेका छन् ।

विभिन्न क्षेत्रका १४ जना प्रबुद्ध नागरिकले राष्ट्रपतिलाई भेटेर ज्ञापनपत्र बुझाउँदै सरकार निर्वाचन गराउने दायित्वबाट विमुख हुने खतरातर्फ सचेत गराएको भेटमा सहभागी संविधानविद टीकाराम भट्टराईले बताए । उनीहरुले जेनजी आन्दोलनमा भएको सरकारी दमन, अपराधिक घुसपैठ र भयावह हिंसात्मक घटनाको छानविनको माग गर्दै सुरक्षा निकायको सक्रियता नदेखिएको घटनाप्रति आशंका समेत जाहेर गरेका छन् । उनीहरुले दलहरुविरुद्ध प्रतिशोध साँध्ने, उनीहरुको भूमिका खुम्च्याउन खोज्ने र संवैधानिक संरचनाहरुलाई असंवैधानिक ढंगले चलाउने वा खुम्च्याउने कार्य भएमा अर्को द्वन्द्व हुनसक्ने भन्दै राष्ट्रपतिलाई सचेत गराएका छन् ।

सरकारले अहिले निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई पनि भाग लिन पाउनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्न लागेको भन्दै उनीहरुले त्यसो गर्दा चुनाव समयमा नहुनेतर्फ राष्ट्रपतिलाई सजग गराएका छन् । भेटमा सहभागी नेपाल बारका पूर्व उपाध्यक्ष भट्टराईले भने, ‘विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार दिलाउने कुरा राम्रो हो तर अहिले अध्यादेशबाट त्यो कति सम्भव छ ? यसले गर्दा ६ महिनाभित्र हुने निर्वाचन धकेलिन सक्छ र त्यसपछि झन् ठूलो संवैधानिक संकट आउनसक्छ भनेर हामीले राष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण गराएका छौं ।’

३९ अर्ब १५ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।

“साउनमा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको थियो”, उनले भने, “भदौमा मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व सङ्कलन गरेका छौँ ।”

वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा रु दुई अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते रु एक खर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै भदौ २८ गते रु एक अर्ब ७१ करोड र भदौ ३१ गते भने रु एक अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै जेनजीको प्रदर्शनका दिन भदौ २४ गते रु तीन करोड राजस्व सङ्कलन भएको छ ।

त्यस्तै भदौ २६ गते छ करोड र भदौ २७ गते भने रु ११ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयले साउन महिनामा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन ग¥यो भने भदौ महिनामा भने रु २० अर्ब १२ करोड राजस्व सङ्कलन गरेको छ ।

सर्वोच्चले थाल्यो पाल टाँगेर सुनुवाइ

काठमाडौं । जेनजी आन्दोलन क्रममा आगजनीले क्षतिग्रस्त भएको सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको सुनुवाइ थालेको छ । सर्वोच्च परिसरमा पाल टाँगेर बन्दी प्रत्यक्षीकरणको सुनुवाइ थालिएको हो ।

सपना मल्ल प्रधान र कुमार रेग्मीको अलग-अलग इजलासमा २ वटा निवेदनमाथि सुनुवाइ हुनेछ । यसअघि आइतबारदेखि नै बन्दी प्रत्यक्षीकरणको सुनुवाइ थाल्ने भनिएको भए पनि सुरु हुन सकेको थिएन् ।

राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दल र दलहरूले गरेको योगदान मेट्ने प्रयास भएको बताएका छन् । भदौ २४ गते प्रदर्शनकारीहरूले जलाइदिएको घर बिहीबार अवलोकन गर्दै नेता सिंहले राजनीतिक दलका नेताहरूको घरमा तोडफोड र आगजनी गरिनुले जेनजी आन्दोलनको आडमा दलको योगदान मेट्ने प्रयास भएको बताएका हुन् ।

‘आन्दोलनकै क्रममा विराटनगरमा कोइराला निवास जल्ने, काठमाडौंमा चाक्सीबारी जल्ने, कृष्णप्रसाद भट्टराईजीको आश्रम जल्ने,’ उनले भने, ’यसले के देखाएको छ भने जेन जीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रिब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको छ ।’

उनले आगलागी र तोडफोड भएको घटनामा निष्पक्ष छानबिन गर्नुपर्ने बताए । उनले लोकतन्त्रमा दलहरूको भूमिका महत्वपूर्ण भए पनि त्यसलाई निमोठ्न खोजिएको बताए ।

‘दलहरुलाई मिनिमाइज गर्ने दुष्प्रयास गरिएको छ । यो डेमोक्रेसीमा दलहरुको भुमिका महत्वपूर्ण हुन्छ । समयको माग बमोजिम दलहरु संस्थागत गरेर अघि बढ्नु पर्छ । मिलेरै देश बनाउने हो । राज्यविरुद्ध दुष्प्रयास गरिएको छ। जलाएर केही हुने होइन।शुन्यतामा कसैले केही गर्न सक्दैन,’ उनले भने । नेता सिंहले प्रदर्शनमा घुसपैठ भएको पनि बताए । ‘यसमा राम्रोसँग छानविन गरेर यो अन डेमोक्रेटिक प्रोसेसहरु जसले यहाँ खेल्न प्रयास गरिरहेका छन्, त्यसमा सरकार अलर्ट हुनुपर्छ,’ उनले भने ।

सुशीला कार्की र नरेन्द्र मोदीबीच फोनवार्ता, त्यसपछि निचियाँ राजदूतसँग भेट

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज फोन वार्ताको तयारी भइरहेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आज बिहान साढे ११ बजे फोनवार्ताको तयारी गरिएको हो। मंगलबार नै वार्ता हुने तयारी भएको भए पनि अन्तिम समयमा उनीहरूबीचको फोनवार्ता सरेको थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको प्रदर्शनको बलमा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । कार्की नेतृत्वको सरकार बनेपछि मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिइसकेका छन् ।

मोदीले गत शनिबार मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा सुशीला कार्की नेतृत्वको सरकार बन्नु महिला सशक्तिकरणको उदाहरण भएको समेत बताएका थिए । त्यसपछि आजै दुई शक्तिशाली मुलुकका राजदूतले पनि प्रधानमन्त्री कार्कीलाई भेट्ने भएका छन् । मन्त्रिपरिषद् कार्यालयका अनुसार, चिनियाँ राजदूत छन सोङ र अमेरिकी राजदूत डिन आर थम्प्सनले पनि भेटघाटका लागि समय लिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यी सबै कूटनीतिक भेट र वार्ताहरू हुनेछन् । यसैको तयारीका लागि प्रधानमन्त्री कार्की आज बिहानै कार्यालय पुगिसकेकी छन् । यसअघि गत मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई सिंहदरबार पुगेर भेटवार्ता गरेका थिए । प्रधानमन्त्री कार्कीले अहिले परराष्ट्रसहित १५ वटा मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी छन् । बाँकी ६ वटा मन्त्रालय ३ जना मन्त्रीको काँधमा छन् ।

फ्रान्समा हड्ताल, बजेट योजनामा चुनौती

फ्रान्स । बजेट कटौतीको विरोधमा सबै प्रमुख ट्रेड युनियनहरूले आह्वान गरेको हड्ताल र सडक प्रदर्शनहरू बिहीबार फ्रान्सभरि हुने अपेक्षा गरिएको छ ।

नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले ठूलो घाटा र ऋण नियन्त्रणबारे राजनीतिक दलहरूसँग छलफल गरिरहेका बेला यो कदम आएको हो ।

युनियनहरूले लेकोर्नुलाई अघिल्लो सरकारले प्रस्ताव गरेको बजेट मस्यौदा फिर्ता लिन आग्रह गरेका छन् । उक्त योजनामा सामाजिक कल्याण स्थगन र मितव्ययिता उपायहरू समावेश छन्, जसले कम तलब र मध्यमवर्गीय कामदारहरूको क्रयशक्ति घटाउने चेतावनी उनीहरूले दिएका छन् ।

गत हप्ता जारी संयुक्त विज्ञप्तामा युनियनहरूले यी उपायलाई ‘अभूतपूर्व क्रूरता’ भन्दै, कामदार, अस्थायी रोजगारीमा रहेका, सेवानिवृत्त र बिरामीहरूलाई मूल्य चुकाउने बनाएको आरोप लगाएका थिए ।

युनियनहरूले राष्ट्रपति इमानुएल म्याक्रोनको पेन्सन सुधारसमेत अस्वीकार गर्दै आएका छन्, जसअनुसार न्यूनतम सेवानिवृत्ति उमेर ६२ बाट ६४ मा बढाइएको छ ।

पूर्व गृहमन्त्री ब्रुनो रिटेलियोले बिहीबार सडकमा ‘धेरै बलियो परिचालन’ हुने बताएका छन् । उनका अनुसार करिब ८० हजार प्रहरी र जेन्डरमेरी अफिसरहरू देशभर तैनाथ हुनेछन् ।

उनले बिहानै अवरोध, तोडफोड र अति वामपन्थी समूहहरूको सम्भावित हिंसात्मक गतिविधिबारे चेतावनीसमेत दिए । भोलिपल्ट पनि धेरै फ्रान्सेली सहरमा प्रदर्शन हुने उनले बताए ।

सार्वजनिक यातायात, अस्पताल र विद्यालयलगायत धेरै क्षेत्रमा अवरोध हुने अनुमान छ । फ्रान्सेली राष्ट्रिय रेल कम्पनी एसएनसिएफले फ्रान्स र युरोप जाने उच्च गतिको रेलहरूमा ‘केही अवरोध’ हुने अपेक्षा गरे पनि अधिकांश रेल चल्ने जनाएको छ । तर क्षेत्रीय रेल लाइन, पेरिस मेट्रो र यात्रुवाहक रेलहरू बढी प्रभावित हुनेछन् ।

हवाई यातायातमा भने मुख्य नियन्त्रक युनियनले नयाँ मन्त्रिमण्डल नबनेसम्म हड्ताल स्थगित गरेपछि सीमित मात्र अवरोध हुने देखिएको छ ।

गत हप्ताको विरोध प्रदर्शनमा धुवाँ, आगो, अवरोध र अश्रु ग्याँसले सडकमा तनाव चुलिएको थियो । पूर्ण अवरोधको लक्ष्य पुरा नभए पनि ‘ब्लक एभरिथिङ’ अभियानले दैनिक जीवनका धेरै भाग अवरुद्ध पारेको र सयौँ स्थानमा तनाव भड्काएको अधिकारीहरूले बताएका छन् ।