`

सङ्घीयता र समावेशिताका सवालमा देखिएका चुनौतीहरु

काठमाडौँ। नेपालको संविधान निर्माण मुख्यतः १२ र १६ बुँदा जगको आधारमा पहिलो र दोस्रो संविधानसभाबाट भएको देखिन्छ ।

सङ्घीयताको पृष्ठभूमि हेर्ने हो भने दशवर्षे माओवादी आन्दोलन, १९ दिने सात राजनीतिक दलको आन्दोलनले राज्यको पुनःसंरचनालाई मुख्य सवाल बनाए भने मधेस आन्दोलनले सङ्घीयतालाई मुख्य विषय बनाएपछि भने अन्तरिम संविधान जारी हुन पुग्यो ।

यसको पहिलो र पाँचौँ संशोधनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अपनाउने प्रस्ताव गरेबमोजिम पछिल्लो संविधानसभाद्वारा जारी भएको नेपालको संविधानले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको परिकल्पना गरयो । यसपछि मात्र संविधानमा ७६१ वटा संसद् र सभा तथा ७६१ वटा सरकारको संवैधानिक व्यवस्था हुन पुग्यो । तर न्यायपालिका भने नितान्त एकात्मक वा जबर्जस्त एकीकृत न्यायपालिका भन्ने गरिन्छ ।

संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ जारी भयो । संविधानसभावाट जारी भएको संविधान जीवन्त हुन जनताको चाहनाअनुसार र समयसमयमा संविधान संशोधन हुनुपर्दछ । संविधान जारी भएको मसी सुक्न नपाउँदै २०७२ फागुन १६ गते संविधानको धारा ४२ मा आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडावर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, किसान, श्रमिक, उत्पिीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रुपले पिन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको अधिकार हुने, धारा ८४ मा भूगोल र जनसङ्ख्या रहेको ठाउँमा जनसङ्ख्याका अधारमा निर्वाचन क्षेत्र कायम गर्ने, धारा २८६ बमोजिम निर्वाचन क्षेत्र कायाम गर्ने, निर्वाचन क्षेत्र कायम गर्दा जनसङ्ख्या पहिलो र दोस्रो भूगोलको आधारलाई संशोधान गरियो । दोस्रो संशोधनमा चुच्चे नक्सालाई समेटिएको देखिन्छ । तर आज संयुक्त सरकार बनेको भनेकै संविधान संशोधन मुख्य आधार थियो तर आजसम्म पनि संशोधन हुन सकेन ।

संविधान आफैँमा संविधानवादमा आधारित, व्यवहारवादी, भविष्यवादी, आजको पुस्ता र भोलिको पुस्ताका अधिकार सुनिश्चित र ग्रहण गर्दै उनीहरुले पालना गर्नसक्ने वा कार्यान्वयन हुनसक्ने संविधान हुनुपर्दछ भन्ने दहो मत अमेरिकन संविधानविद्ध जेफर्सनको छ । त्यसको पूर्ण समर्थन नेहरु र डा भीम राव अम्बडेकरको समेत रहेको थियो ।

नेपालको दोस्रो संविधानसभाले निर्माण गरी जारी गरेको संविधानको स्तरको क्षमता र हैसियत के रहेको छ भन्ने कुरा यसको कार्यान्वयनमा भर पर्दछ । संविधानसभाबाट संविधान जारी गरिएको संविधान यथार्थतामा जनताको मनसाय, इच्छा र आकांक्षा नै हो । यसको अर्थ यो होइन कि जनता नै संविधान हुन् । संविधान राज्यका सबै तहका सरकार, निकाय र अङ्गहरूलाई विधिको शासनमा हिडाउने नागरिकको कर्तव्य अधिकारको सुनिश्चित गर्ने मूल लिखत मानिन्छ । यस्तो संविधान संवैधानिक सर्वोच्चता हुन्छ । सरकार सीमित हुन्छ । स्वेच्छाचारीताको अन्त्य हुन्छ । लोकतान्त्रिक सरकार हुन्छ । तर संवैधानिक सर्वोच्चताविपरीत संसद्का सर्वोच्चता हुन्छ भने सरकार निरीह हुन्छ । संसद् बलियो हुन्छ । संसद्का कार्य न्यायिक पुनरावलोकन हुँदैनन् । जहाँ बेलायतमा भन्ने गरिन्थ्यो कि संसद््ले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन सक्दैन । अरु सबै गर्न सक्छ ।

आधुनिक समयमा संविधानबमोजिम चल्ने सरकार सीमित सरकारको रूपमा लिन थालिएको छ । अमेरिका, फ्रान्स, जर्मनी, क्यानाडा, भारत तथा नेपालको संविधान यसैका परिणति हुन् । २०६३ सालको जनआन्दोलन राजाको प्रत्यक्ष तथा स्वेच्छाचारी शासनको अन्त्य गरी सिमित सरकारका लागि थियो । जनताद्वारा निर्वाचित संविधानसभामार्फत संविधान बनाउने भन्ने अन्तरिम संविधान, २०६३ को उद्घोषसमेत थियो । सोही संविधानबमोजिम २०६४ चैत २८ मा पहिलोपटक दुई वर्षको लागि संविधानसभाको निर्वाचन भएको थियो । तर संविधानसभाको कार्यकाल दुई वर्षसम्म सर्वोच्च अदालतमार्फत बढाइए पनि अन्ततः पहिलो संविधानसभाले संविधान नबनाई विघटन हुन पुग्यो ।

सार्वभौमसत्ता सम्पन्न नेपाली जनतामाः

नेपालको संविधानले सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई पहिलोपटक स्वीकार ग¥यो । अर्कोतर्फ नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा नै निहीत हुने संवैधानिक व्यवस्थाको कुरा ग¥यो । यसको प्रयोग संविधानमा जे व्यवस्था गरिएको छ सोहीबमोजिम हुने भनियो । यसरी जनताको सार्वभौमसत्ता र राजकीय सत्ताको बाँडफाँट राज्यको संरचनामा हुने गरी संवैधानिक चाँजो मिलाइयो । नेपालको शासन व्यवस्थाको मूल संरचना सङ्घ, प्रदेश र स्थानिय तह गरी तिन तहको हुने गरी संवैधानिक परिकल्पना हुन पुग्यो ।

नेपालको राज्यशक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले संविधान र कानुनबमोजिम गर्ने संवैधानिक व्यवस्था राखियो । जातीय, धार्मिक तथा संस्कृतिक अवस्थाका आधारमा प्रदेशहरु निर्माण हुनुपर्छ भन्ने आवाज दरो रुपमा उठे पनि त्यसको सार्थकता हुन सकेन । आखिर प्रदेशहरुको निर्माण जिल्लाको भौगोलिक आधारमा हुन पुग्यो । सामाजिक, सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिने भने पनि स्थानीय तहको संरचना निर्माण गर्दाका समयमा यसलाई बाहिर ल्याउन राज्यको चासोको विषय भने देखिएन ।

सङ्घीयतामा राज्यशक्तिको बाँडफाँटः

नेपालको संविधानले सङ्घीय सरकारको एकल अधिकार अनुसूची ५, प्रदेश सरकारको एकल अधिकार अनुसूची ६ र स्थानिय तहको अधिकार अनुसूची ८ मा राखिने कार्य भयो । सङ्घ र प्रदेशको साझा अधिकार भने अनुसूची ७ मा र अनुसूची ९ मा भने स्थानीय, प्रदेश र सङ्घमा राख्ने कार्य भयो । अवशिष्ट अधिकार भने सङ्घमा राख्ने संवैधानिक व्यवस्था भयो । सोही सरकारका अधिकारबमोजिम सङ्घमा सङ्घीय संसद्, प्रदेशमा प्रदेश संसद् र स्थानीय तहमा स्थानीयसभा भन्ने संवैधानिक व्यवस्था गरियो ।

सङ्घीयता कार्यान्वयनमा आवधिक निर्वाचनः

सर्वोच्च अदालतको आदेशबमोजिम २०७० मंसिर ४ गते संविधानसभाको दोस्रो निर्वाचन हुन पुग्यो । अन्ततः २०७२ असोज ३ मा सविधानसभाले नेपालको संविधान जारी गरी लागु हुन गएको छ । यसै क्रममा मधेशवादी दल, आदिवासी जनजाति तथा थारुहरुसमेतको आन्दोलन तथा भारतीय पक्षबाट भएको नाकाबन्दीको कारण समावेशि समानुपातिक प्रतिनिधित्वको आधारमा राज्यका हरेक निकायमा सहभागी गराउन र निर्वाचन क्षेत्र जनसङ्ख्या र भूगोलको आधारमा हुने गरी संविधान जारी भएको मसी सुक्न नपाउँदै संविधानको पहिलो संशोधन हुन पुग्यो ।

संविधानको कार्यान्वयनमा १० वर्षमा दुई तहको संसद् र स्थानीयसभाको निर्वाचन भयो । पहिलो पटकको निर्वाचन सम्पन्न भएर पाँच वर्षसम्म स्थानिय सरकार, प्रदेश र सङ्घीय संसद््को दोस्रो कार्यकालको लागि निर्वाचन सम्पन्न गरेर आवधिक निर्वाचनको दोस्रो कार्यकालको सुरुआत भएको छ । कानुनी संरचना र भौतिक पूर्वाधार निर्माणमा देश अघि बढिसकेकाले सङ्घीयता रुपी संविधानको कार्यान्वयनले गति लिन थालिसकेको देखिन्छ ।

सरकार गठनका स्वरुपः

यो संविधानले परिकल्पना गरेको बहुमत, संयुक्त तथा अल्पसङ्ख्यकको सरकारको परिकल्पना गरे पनि कामचलाउ र अन्तरिम सरकारको परिकल्पना गरेन । तर सङ्घीय संसद््ले मात्र निर्वाचन गरेको प्रधानमन्त्री कार्यकारी अधिकार प्रयोग गर्दा कुन चाहीँ शासकीय स्वरुप हो त भन्ने संसारको संवैधानिक शास्त्रले शासकिय स्वरुपको सिद्धान्तलाई नचिने पनि केन्द्रीय सरकारका प्रधानमन्त्री सबै सरकारका अभिभावक भएको नाताले अभिभावकत्व दिनुपर्ने हुन्छ । विगतको समयमा पोखरामा सम्पन्न मुख्यमन्त्रीको भेलाले सङ्घीय सरकारका प्रधानमन्त्रीको अभिभावकत्व खोजेको देखिन्छ । धारा ७६(१)को समानुपातिक निर्वाचन प्रणालीले कहिले पनि सरकारको स्थायित्व र संसद््को स्थायित्व हुनसक्ने देखिँदैन । धारा ७६(१) र १६८ (१) बमोजिम २०७९ सालको निर्वाचनले एकमना सरकार कुनै दलको जन्मनै सक्दैन ।

एक तिहाइ महिलाको प्रतिनिधित्वको सवालः

वास्तविक सीमान्कृत वर्गभित्र दलित, महिला, पिछडिएको क्षेत्र, अपाङ्गता भएका व्यक्ति, खस आर्य, आदिवासी जनजाति राजनीतिक दलको प्राथमिकतामा नपर्नु विडम्बना नै मान्नुपर्दछ । यो हुनु बहुदलीय लोकतन्त्रको संवैधानिक व्यवस्थामाथि नै धावा बोलेको देखिन्छ । यसैले समानुपातिक समावेशीता पहिलो हुनेले जित्ने प्रणालीभित्रै राख्न सकेमात्र एकमना सरकार वन्न सक्ने र समावेशीता राजनीतिकि दलहरुको पोल्टामा भन्दा जनताको निर्णयमा केन्द्रित हुन सक्थ्यो । त्यसकारण पनि सङ्घीय संसद््मा रहेको ११० र प्रादेशिक संसद््मा रहेको १२० सिट समेतको ठूलो सङ्ख्याको समानुपातिक सिट सङ्ख्याको अन्त्य गर्दै प्रत्यक्षतर्फ उम्मेदवारलाई निर्वाचन क्षेत्र निर्माण गर्नुपर्ने देखिन्छ । जस्तो महिला, दलित, अपाङ्गता भएका व्यक्ति आदिलाई छुट्टै निर्वाचन क्षेत्र निर्धारण गर्नु अपरिहार्य देखिन्छ ।

संविधानको संशोधनको सवालः

त्यस्तै सङ्घीय संविधानको कार्यान्वयनमा अर्को बाधक भनेको संविधानको संशोधन केन्द्रिय सरकारको रहने तर प्रदेशको हकमा प्रदेशको अनुमति लिने, अनुमति नदिएमा दुई तिहाई बहुमतले संविधान संशोधनको अधिकार केन्द्रलाई मात्र दिंदा सङ्घीयताको झल्कोसम्म पनि देखिदैन । त्यसैले केन्द्रका अधिकार सूचीको संशोधनमा केन्द्रको संसद्बाट उत्पत्ति हुने र केन्द्रको दुई तिहाइ बहुमतले पारित गर्दा प्रदेश संसद्को पनि अनुमति लिइनु पर्ने र प्रदेशको सूचीको हकमा संशोधनको विधेयक प्रदेश संसद्बाट नै उत्पत्ति हुने्, प्रदेश संसद्ले पारित गर्नुभन्दा अघि केन्द्रीय संसद्को अनुमति लिनुपर्ने तर अनुमति नआएको खंडमा समेत प्रदेशको संसद्ले दुई तिहाइ बहुमतले पारित गर्ने प्रावधान राखियो भने सङ्घीयताको अभ्यासमा द्वन्द्व हुने थिएन ।

जेनजी आन्दोलनले ल्याएको परिवर्तनः

जेनजी आन्दोलनको माग प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति, सुशासन र मेरिटको आधारमा संवैधानिक नियुक्तिको मागसहितको एजेण्डामा आन्दोलन सफल भयो । त्यही आन्दोलनको जगमा युवापुस्ताको इच्छा र आकांक्षाअनुसार अन्तरिम सरकार गठन भएको छ । संविधानभित्रबाटै काम चलाउ प्रधानमन्त्रीको सिफारिस र सम्मतिमा तत्कालीन प्रतिनिधिसभामा रहेका दलका नेताहरुसँगको राष्ट्रपतिको परामर्श र सम्मति, संविधानविद्हरुसँगको संवैधानिक रायसल्लाह र राष्ट्रपतिको संविधानको रक्षक र पालकको हैसियतमा अन्तरिम सरकार गठन भएको हो । यसको मूल कार्य २०८२ फागुन २१ गते अर्को प्रतिनिधिसभाको निर्वाचन गर्नु नै हो । यो निर्वाचनमा सबै राजनीतिक दलहरुले सक्रिय सहभागिता जानउनुपर्ने देखिन्छ ।

सङ्घीय संसद्ले नै यस अन्तरिम सरकारले संविधानको पुनरावलोकन गरी संविधानको पुर्नलेखन वा संशोधन गर्न उच्चस्तरीय आयोग गठन गरी उक्त आयोगले दिएको प्रतिवेदनलाई त्यसै अन्तरिम सरकारले संविधान संशोधन विधेयकको रुपमा निर्णय गरी नयाँ आउने प्रतिनिधिसभामा अनुमोदनका लागि पेश गर्नुपर्ने भएकाले सोही प्रतिनिधिसभाको पहिलो बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी मोडेलको संविधानको संशोधन गरिसकेपछि प्रतिनिधिसभा विघटनसम्म हुनसक्ने र अर्को निर्वाचन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको निर्वाचन हुनसक्ने भएकाले सम्पूर्ण राजनीतिक दलहरु यस निर्वाचनमा होमिनुपर्ने अपरिहार्य देखिन्छ । सोही प्रतिनिधिसभाले नै अन्तरिम सरकारले पेस गर्ने संविधान संशोधन वन पुर्नलेखन विधेयकलाई दुई तिहाइ बहुमतले पारित गरेर प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्रीको प्रावधानसहित संविधान संशोधन वा पुर्नलेखन हुनजान्छ र सोही संविधानको भावना र अक्षरलाई टेकेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको निर्वाचन हुने भएकाले जेनजी आन्दोलनको भावना पूरा हुनेछ ।

निष्कर्षः

अतः नेपालको संविधान सङ्घीयता, समावेशिता र संसदीय शासन प्रणालीलाई आत्मसात् गरेको छ । राष्ट्रपतीय पद्धति र प्रधानमन्त्रीय पद्धतिलाई इन्कार गरेको देखिन्छ । सङ्घीय शासन पद्धतिमा केन्द्रीय सरकारबाट प्रान्तीय प्रादेशिक सरकारमा शक्तिको बाँडफाँट संविधानमै स्पष्ट रूपमा लेखिने हुँदा नेपालको संविधानले केही हदसम्म समेट्ने प्रयास गरेको देखिन्छ । अन्य मुलुकमा पनि सरकारको शक्ति संवैधानिक रूपबाट बाँडफाँड गरेपछि अर्धस्वतन्त्र, स्वायत्त, क्षेत्रीय र स्थानीय सरकारको स्थापना हुन्छ । केन्द्रीय, प्रान्तीय, प्रादेशिक, भौगोलिक वा स्थानीय सरकार सङ्घीय शासन पद्धतिका स्वरूपहरू हुन् । केन्द्रीय सरकारले नै क्षेत्रीय सरकारको सिर्जना संवैधानिक व्यवस्थाबमोजिम गर्ने गर्दछ । दुई सरकार, दुई प्रशासन, दुई व्यवस्थापिका भनिए पनि नेपालमा तिन तहको सरकार र प्रशासन, तिन तहको व्यवस्थापिका तथा सभा राखिएको छ । न्यायपालिकाको हकमा साधारण एवं सङ्घीय न्यायप्रणाली सङ्घीय व्यवस्थाका प्रकृति हुन सक्छन् । तर नेपालमा न्यायपालीका केवल एकात्मक भए पनि संवैधानिक इजलास र उच्च अदालतको संरचनाले एकीकृत न्यायपालिकातर्फ उन्मुख रहेको पाइन्छ ।

दक्षिण एसियाको कुरा गर्दा भने शासन प्रणाली खासगरी भारत, पाकिस्तान र नेपालमा सङ्घीय शासन प्रणाली अपनाइएको छ । अन्य मुलुकमा एकात्मक शासन प्रणाली नै पाइन्छ । नेपालमा सङ्घीयता र समावेशिता नेपालको संविधानका मूलभूत विशेषताहरु नै ह्ुन । अब भने दोस्रो संविधानसभाले निर्माण गरेको नेपालको संविधानबमोजिम सङ्घीयता र समावेशिताको कार्यान्वयन गर्दै सङ्घीय शासन र समावेशिताको मूल मर्मबमोजिम सरकार,सरकारका निकाय र जनता समेतले कार्यान्वयनमा लाग्नु आजको आवश्यकता पनि हो । संविधान, सङ्घीयता र समावेशिताको कार्यान्वयनमा संविधानमा स्पष्ट व्यवस्था भइदिएको भए संविधानको उल्लङ्घन नभई संवैधानिक नैतिकता सरकार र दलहरुले देखाउन सक्ने आशा हुन सक्दथ्यो । संविधानको छिद्रलाई खोजेर संविधान उल्लघन हुने काम धेरै भएकाले अबको अहम् सवाल भनेको संविधान संशोधनको लागि उच्चस्तरिय संविधान सुधार सुझाव आयोग गठन गरी संविधान संशोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाई जैविक बनाउनु अपरिहार्य देखिन्छ । यसपटक भएको जेनजी आन्दोलनको भावनाअनुसार संविधानको संशोधन वा पुर्नलेखन भई मुलुक नयाँ ढङ्गबाट अगाडि बढ्दैछ ।

(संवैधानिक कानुनका ज्ञाता लेखक ज्ञवाली सर्वोच्च अदालत वरिष्ठ अधिवक्ता हुन्)

चुनौती देखेर आत्तिनु र हतास हुनु पर्दैन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कार्यालय डढेर खरानी भए पनि आफूहरुको देश बनाउने इच्छाशक्ति नमरेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘यो चुनौती देखेर आत्तिनु र हतास हुनु पर्दैन । यो चुनौती सामना गरेर नेकपा एमाले फेरि अगाडि बढ्छ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘हाम्रो कार्यालय डढेर खरानी भयो । तर हाम्रो इच्छाशक्ति मरेको छैन । हाम्रो इच्छाशक्ति कहिले मर्ने छैन ।’ उनले एउटा दुर्भाग्यपूर्ण घटना मुलुकले व्यहोर्नु परेकोमा दुख व्यक्त गरे ।

एमालेका नेतादेखि कार्यकर्तासम्म कहिले पनि विचलित नहुने उनले जिकिर गरे । ‘हामी यो ठाउँमा शान्त ठाउँमा ढुङ्गा चलाए जसरी आएका होइनौँ । हामीले प्रत्येक कालखण्डमा चुनौतीहरूको सामना गर्‍यौँ । ती चुनौतीहरू कतिपय हाम्रा आफ्नै कमजोरीका कारण थिए भने त्यससँगसँगै बाहिरी विरोधी शत्रु र बैरीहरूले खडा समेत गरेका थिए । ती सबै चुनौतीहरूको सामना गरेर नेकपा एमाले एउटा गौरवशाली रुपमा अगाडि आइपुगेको हो’, पोखरेलले भने ।

यो संविधान कसैले दान गरेको दिएको उपहार नभएर नेपाली जनताले वर्षौँ संघर्षपश्चात पाएको उपलब्धि रहेको समेत उनले बताए । संविधान दिवस मुलुकलाई नयाँ उचाइमा पुर्‍याउन नेपालीले गरेको संकल्पको दिवस रहेको समेत उनको भनाई छ । ‘जस्तोसुकै परिस्थिति आए पनि हामी यो राष्ट्रिय दिवसमा एकता भएर अगाडी बढ्छौँ’, उनले भने ।

 

सुनकोशी मरिनसहित अलपत्र आयोजनाको ठेक्का तोडिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । मन्त्री कुलमान घिसिङले तीन वटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरूको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिएका छन् ।

तीनटै मन्त्रालयहरुको काम कारबाहीको जानकारी लिँदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने प्रष्ट्याए । ‘चालू रहेका ठूला पूर्वाधारका आयोजनाहरू तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति व्यहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्वनापूर्ण अवस्था छ’, अब कसैको अनुहार हेरेर हुँदैन, त्यस्ता आयोजनाको पहिचान र मूल्याङ्कन गरी तत्काल सूची पेश गर्नुहोस्,’ मन्त्रीले निर्देशन दिए ।

‘निर्णय नगरी काम हुँदैन, त्यसैले निर्णय गरी काम गर्छौं, जीर्ण बनेका आयोजनाको ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा जानुपर्छ, आयोजनालाई अलपत्र पारेर राख्न पाइँदैन ।’ सिंचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोशी मरिण बहुउद्देश्यीय, भौतिक पूर्वाधार अन्तर्गत तीन समयभन्दा बढी सडक र एक सयभन्दा पुल निर्माण आयोजना अलपत्र छन् ।

‘संसद भवन पुसभित्रै जसरी पनि सकौं’
भौतिक पूर्वाधार र शहरी विकासमन्त्री समेत रहेका घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन् ।
बिहीबार शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग भवन निर्माणका बारेमा छलफल गरेर पुस आगाडि नै निर्माण सम्पन्न गर्ने गरी बाँकी रहेका काम गर्न निर्देशन दिइसकेका छ्न् ।

‘जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा ठूलो क्षति पुर्‍याइएपछि अहिले संसद भवन नै छैन, त्यसैले संसद भवन निर्माण संवेदनशील आयोजना हो, यो या त्यो वाहानामा अब ढिला गर्नुहुँदैन, यसमा सबै पक्ष गम्भीर भएर पूर्ण रुपमा परिचालित भई समय अगावै सक्नुपर्छ’, उनले भने ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको संसद भवन पाँचौपल्ट म्याद थपि आगामी पुससम्मलाई लम्ब्याइएको छ । आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत छ । राष्ट्रिय र प्रतिनिधिसभा हलमा फल्स सिलिङका लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको मल्टिपरपोज हलमा फल्स सिलिङ लागि थप ट्रसको निर्माण, इलेक्ट्रिकलअन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल, मेन, सम्पूर्ण स्यानेटरी, इलेक्ट्रिकल फायर फाइटिङ, एचभीएसी परीक्षण तथा सञ्चालनलगायतका काम बाँकी छन् ।

अनियमिता फेला परे तत्काल कारबाही
घिसिङले आफ्ना कार्यलयअन्तर्गतका निकायमा हुने अनियमिता रोक्न निर्देशनसहित संलग्नलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिए । उनले भने, ‘विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेण्डानै भ्रष्टाचार नियन्त्रण थियो, भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ त्यसै अनियमिता हुने छिद्रहरुको पहिचान गरी त्यसलाई बन्द गर्नुहोस्, एक रुपैयाँ पनि अनियमिता गरेको फेला परेमा सङ्लग्नलाई छाडिने छैन ।’

राष्ट्रपति, सेनापति र नेताहरूसँग कुरा गरेर संविधान बचाउन सहजीकरण गरें : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने कसरत भएको बताएका छन् । आज (शुक्रबार) संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दिया । मैले संसद् विघटन गर्ने मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने नजिकबाट हेर्ने र नजिकबाट बुझ्ने मौका पाएँ । यसको हुनसक्ने सहजीकरणबारे रातभर बसेर राष्ट्रपति, सेनापति र नेताहरूसँग कुरा गरेर संविधान बचाउन आग्रह गरे ।’

राष्ट्रपति रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको उनको भनाई छ । उनले निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई रक्षा गर्न राष्ट्रपति पौडेल उभिएकाले उनलाई धन्यवाद समेत दिए । प्रधानसेनापतिको भूमिका पनि प्रशंसनीय रहेको भन्दै उनले धन्यवाद दिए ।

उनले जेनजीले उठाएका मागहरू आफूहरूले १० वर्ष अगाडि नै उठाएको बताए । अहिले जेन जी आन्दोलन गर्नु पर्ने र दर्जनौँ युवाहरूले ज्यान गुमाउनु पर्ने परिस्थिति सिर्जना हुनु राम्रो नभएको उनले बताए । अहिले ठूला दल भनेर अहंकार गर्दा देश भयानक परिस्थितिमा आएको समेत उनको तर्क छ ।

‘यति धेरै अहंकार ठूला भन्ने पार्टीहरूले गरे । यो अहंकारले कहीँ न कहीँ भोलि जनताले बढार्छन् भनेर मैले पटक पटक भनेको थिए । यो अहंकारको मूल्य धेरै चर्को पर्नेछ, जनतामा आक्रोश दिनप्रतिदिन बढेको छ यो कुनै बेला विस्फोट हुनसक्छ भनेर स्मरण गराएको थिए’, उनले भने । जेन जी आन्दोलन सही छ भन्ने नै माओवादी पहिलो पार्टी रहेको उनले जिकिर गरे । भदौ २३ गते नै आफूहरूले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा नसुनेका कारण २४ गते अर्को घटना भएको उनले बताए ।

त्यसैगरी, अध्यक्ष प्रचण्डले जुरमुराएर अगाडी बढ्न आग्रह गर्दै उनले अगाडि भने, ‘हामी हीनताबोधका बाच्नु पर्ने कुनै आवश्यकता छैन । हामीले गर्वका साथ भन्न सक्छौँ । हामी सही थियौँ । हामीले महान् ऐतिहासिक विद्रोह गरेर यो देशका सबै वर्गलाई अधिकार दिलाउने महान् काम गरेका थियौँ ।’

लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताएकी छन् । संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडीखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले जेन जी पुस्ताको आन्दोलन, विगतका प्रतिबद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानूनी राज्य, सुशासन लगायतका लोकतान्त्रिक मूल्य, मान्यतामा हामी खरो उत्रिन नसक्नुको परिणाम भएको पनि बताइन् ।

उनले वर्तमान सरकार युवापुस्तासहित सबै नागरिकका आशा र अपेक्षा अनुसार काम गर्न प्रतिबद्ध रहेको पनि बताइन् । उनले भनिन्, ‘अन्तर्राष्ट्रियस्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनको बारेमा जानकार रहेका युवापुस्ताले उठाएको रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता सवालहरु यथार्थमै हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा हुन् । यि एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिबद्ध छ ।’

आफू कुनै शाशकीय आकांक्षा बोकेर, कुनै पदको लालसा लिएर प्रधानमन्त्री नभएको भन्दै उनले संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको अनुरोधका आधारमा संक्रमणको व्यवस्थापन गर्न प्रधानमन्त्री बनेको प्रष्टीकरण दिइन् । उनले नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाइन् ।

‘मैले कुनै शासकीय आकांक्षा बोकेर, कुनै पदको लालसा लिएर प्रधानमन्त्री भएको होइन । देश संकटमा रहेको बेलामा परिवर्तनकामी युवा पुस्ताको अनुरोधका आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवार हस्तान्तरण गर्नेगरी वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हुँ,’ उनले भनिन् ।

सत्ता छाडेको ११ औं दिनमा सार्वजनिक भए ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता छाडेको ११ दिनपछि आज सार्वजनिक भएका छन् । सैनिक सुरक्षाबाट हिजो निस्किएका ओली भक्तपुरको गुण्डुमा खोजिएको डेरा लिइएको घरमा गएर बसेका थिए ।

जेनजी आन्दोलनबाट सिर्जित विषम परिस्थितिका कारण नेपाली सेनाले शीर्ष नेताहरूलाई आफ्नो सुरक्षामा राखेको थियो । आज बिहान ओली सार्वजनिक भएका हुन् ।

महेश बस्नेतलगायतका नेताहरू अहिले त्यहाँ पुगेका छन् । एमालेले च्यासलमा संविधान दिवसको विशेष कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालयमा पनि आज विहानैदेखि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

च्यासलमा विहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेले आज संविधान दिवस मनाउँदै छ । एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा एक कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउन लागेको हो ।

उक्त कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुँदैछन् । जेनजीको आन्दोलनपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् । त्यसैले उनको सुरक्षालाई ध्यानमा राख्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । एमाले पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ छ ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता आवश्यक : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औंल्याएका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न सबै नेपालीको साझा कर्तव्य भएको बताएका छन् ।

उनले भर्खरैको जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको उल्लेख गर्दै अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायलाई आह्वान गरे ।

यही भदौ २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माओवादीको माग छ ।

‘मलाई विश्वास छ, जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर हो,’ उनले भनेका छन्, ‘त्यति हुँदाहुँदै पनि २३ र २४ भदौका आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिँदैन । भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन थियो ।’

एमालेका निर्णय र गरेका कामको गम्भीर समीक्षा हुनेछ : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले संविधान दिवसको सन्दर्भमा शुभकामना दिँदै विगतमा पार्टीले लिएका निर्णय र गरेका कामको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने बताएका छन् ।

सामाजिक सञ्जल फेसबुकमार्फत् शुभकामना सन्देश जारी गर्दै उनले युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेन्जी आन्दोलनका मुख्य कारण भएको बताएका हुन् ।

‘जेन्जी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न, दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाहरूको यथाशीघ्र पुननिर्माण गर्न सरकारसँग माग गर्छु ।

‘जनताको, विशेष गरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि, आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेन्जी आन्दोलनका मूख्य कारणहरू हुन् । तर आन्दोलनका क्रममा भएको हत्या हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ,’ उनले भनेका छन्, ‘विगतमा नेकपा एमालेले लिएका निर्णय गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भिर समीक्षा हुने नै छ । व्यक्तिगत रूपमा आफ्नो तर्फबाट भएका गल्ती कमजोरी र भूलहरूप्रति क्षमायाचना गर्छु ।’

एमाले सामु जनतासँग, विशेषगरी नयाँ पुस्तासँग एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको पनि बताएका छन् । तदनुरूप पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने विश्वास लिएको पनि उनको भनाइ छ ।

दलहरु आफ्नै पार्टी कार्यालयमा संविधान दिवस मनाउँदै, च्यासलमा सुरक्षा तैनाथ

काठमाडौं । जेनजी आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरुले आ–आफ्ना पार्टी कार्यालयमा संविधान दिवस मनाउँदै छन् । जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएका आ–आफ्नै पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको हो ।

जेनजी युवा आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भए पनि लोकतान्त्रिक गणतन्त्र माथि आक्रमण हुनसक्ने आशंकामा रहेका दलहरुले संविधान रक्षाका लागि खबरदारीसहित दिवस मनाउने बताएका छन् ।

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर संविधान दिवस मनाउन सर्कुलर जारी गरेको थियो । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका अनुसार ‘संयमतापूर्वक, दृढतापूर्वक संविधानको रक्षा गर्ने जिम्मेवारीलाई शीरमा राखेर संविधान दिवस मनाउने निर्णय’ भएको छ ।

यस्तै नेकपा एमालेले काठमाडौंको हकमा जेनजी आन्दोलनको क्रममा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमा संविधान दिवस मनाउने तयारी गरेको छ । पार्टी कार्यालयमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार च्यासलमा जम्मा भएर त्यहीँ कार्यक्रम मनाउने तयारी गरिएको छ ।

कुनै  र्‍ याली गर्ने कार्यक्रम छैन ।कार्यक्रम बिहान ८ बजे आयोजना गरिएको छ । सो कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । जेनजी युवा आन्दोलनपछि सरकार छाड्न बाध्य भएका ओली सैनिक व्यारेकको बसाइँपछि आज पार्टी कार्यालयमा सार्वजनिक हुने तयारी छ ।

महासचिव शंकर पोखरेलले आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्र भइरहेको उल्लेख गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवसको कार्यक्रम आयोजना हुने बताए ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रको हकमा च्यासलस्थित पार्टी कार्यालयमा र राजधानी बाहिर ७७ वटै जिल्लामा संविधान तथा लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि वृहत कार्यक्रम आयोजना गरेर दिवस मनाइने बताए ।

नेकपा माओवादी केन्द्रले पनि बिहान ८ बजे नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संविधान दिवसको कार्यक्रम आयोजना गरेको छ । जेनजी आन्दोलनमा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमा पार्टी अध्यक्ष प्रचण्डको सहभागितामा कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउन लागिएको हो ।

संविधान माथि खतरा पैदा भएको भन्दै माओवादीले हालसम्मको राजनीतिक उपलब्धि रक्षाका लागि खबरदारीसहित संविधान दिवस मनाउने जनाएको छ । नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव गणेशमान पुनले संविधान र व्यवस्थाको रक्षाका लागि आह्वान गर्दै दिवस मनाउने जानकारी दिए । उनले शहीदहरुको सम्झनामा दीप प्रज्वलन लगायतका कार्यक्रम पनि आयोजना गर्ने बताए ।

नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलका अध्यक्ष पुष्प ओलीले बदलिँदो परिस्थिति अनुसार संविधान र व्यवस्थाको रक्षाका लागि खबरदारी गर्दै दिवस मनाउने बताए ।

नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउने तयारीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको थियो । तर ७४ जनाको ज्यान जाने गरी जेनजी युवा आन्दोलनले राजनीतिक उथलउपुथलपछि सामान्य कार्यक्रम गरेर दिवस मनाउने तयारी गरिएको छ ।

‘अघिल्ला वर्ष जस्तै यस वर्ष पनि संविधान दिवसको अवसरमा टुँडिखेलस्थित सैनिक मञ्चमा कार्यक्रम आयोजना हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलको अध्यक्षतामा बिहान साढे आठ बजे आयोजना हुने कार्यक्रमलाई अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् ।
तर सैनिक मञ्चको कार्यक्रममा विगतको जस्तो तामझाम नगरी सामान्य तरिकाले दिवस मनाउने तयारी गरिएको छ ।

विशेष राजनीतिक परिस्थिति सिर्जना भएको भन्दै साँस्कृतिक झाँकीसहितको उत्सवमय तरिकाले दिवस नमनाइने गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन् । यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले पनि आज अपराह्न साढे ३ बजे शीतल निवासमा कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

‘प्रचण्ड जनयुद्धले जन्माएको नेता हुन्, सडकबाट राजीनामा माग्नु जायज होइन’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्धले जन्माएका नेता भएको टिप्पणी गरेका छन् । पार्टीभित्र नेतृत्व छोड्नुपर्ने दबाब बढिरहेका बेला प्रचण्डको बचाउ गर्दै गजुरेलले सडकबाट राजीनामा माग्नु जायज नभएको बताएका छन् ।

बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रचण्ड जनयुद्धले जन्माएका नेता हुन् । उहाँका सीमाहरू देखिएका छन् । तर, मानसिक पीडामा रहेका नेतृत्वसँग सडकबाट तुरुन्त ‘राजीनामा’ माग्नु सही होइन ।’

गजुरेलले यस्तो कदमले इगो जन्माउन सक्ने र विधि–पद्धति तथा मानवीयताको उल्लङ्घन हुने स्पष्ट पारेका छन् । सम्मानपूर्वक भित्री छलफल र सहमतिमार्फत निर्णय लिनु नै नेतृत्वको गरिमा र पार्टीको भविष्य सुरक्षित गर्ने बलियो बाटो भएको उनले जिकिर गरेका छन् ।

 

लाइक्स र भ्यूजको दौडमा मानवता गुमेछ: श्रृंखला खतिवडा

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा आएर आलोचकहरुलाई जवाफ दिएकी छन् । आफूलाई ‘नेपो बेबी’ भन्दै गरिएका दुष्प्रचारहरुको उनले तथ्यपरक र तार्किकरुपमा खण्डन गरिन् ।

निकै भावविव्हल देखिएकी श्रृंखलाले मुलतः आफूले पिताको राजनीतिक हैसियत दुरुपयोग गरेको भन्ने आरोपबारे आफ्नो भनाइ राखेकी थिइन् । आफू एउटा ‘सेल्फ मेड’ व्यक्ति भएको आफ्नै क्षमताबाट यहाँसम्म आइपुगेको उनले बताइन् ।

‘मैले करदाताको पैसा दुरुपयोग गरेको आरोप लगाइएको छ, तर मैले आफूले कमाएको पैसा खर्च गरेर अमेरिकामा पढेको हुँ’, उनले भनिन् ।

श्रृंखलाका अनुसार उनले मिस नेपाल भएपश्चात ब्रान्डहरुबाट मात्रै तीन करोड १२ लाख कमाएकी थिइन् भने हार्वर्डमा पढ्दा एक करोड ४० लाख रुपैयाँ खर्च भएको थियो ।

श्रृंखलाले भनिन्, ‘मिस नेपाल हुनुपूर्व त मेरो जीवनमा कुनै हिसाबको विलासिता (लक्जरी) थिएन । एकदम सामान्य (अर्डिनरी) र साधारण (सिम्पल) जीवन बाँचिरहेकी केटी थिएँ । म पढेका स्कुलहरु, मैले लगाउने लुगाहरु, मेरो लवाइखवाइ सबै हेर्दाखेरि, अहिले पनि इन्स्टाग्राममा खुला छ, कुनै पनि हिसाबको विशेषाधिकार प्राप्त हुर्काइ मेरो थियो जस्तो मलाई लाग्दैन ।’

लाइक र भ्यूजको दौडमा मानवता गुमेको महसुस भएको श्रृंखलाले बताइन् ।

‘आफूभित्रको घृणा र नेपालभरिको फ्रस्टेसनममाथि पोख्नुभयो । कुनै महिलालाई बोक्सीकोउ आरोप लगाएकोभन्दा कम छैन यो’, उनले भनिन्, ‘तपाईंहरुले लगाएका आरोपहरु सबै अनुमानित मात्रै छन्, कुनै पनि प्रुफ छैन । एकपटक आफैंलाई प्रश्न गर्नुस । के लाइक र भ्यूज नै सबैथोक हो ? तपाईहरु लाइक र भ्यूजको दौडमा मानवता गुमाइरहनुभएको छ ।’

वेस्ट इन्डिज सङ सिरिज खेल्न जान लागेको नेपाली क्रीकेट टिमको बिदाइ (तस्बिरहरु)

काठमाडौँ । वेस्ट इन्डिज सङ सिरिज खेल्न जान लागेको नेपाली क्रीकेट टिमको बिदाइ गरेका छन् ।

प्रचण्डले प्रक्रिया मिलाएर पार्टी नेतृत्व हस्तान्तरण गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रक्रिया मिलाएर नेतृत्व हस्तान्तरणका लागि पार्टीभित्र छलफल गरिरहेको बताएका छन् । संविधान दिवसको पूर्व सन्ध्यामा एक भिडिओ सन्देश जारी गर्दै प्रचण्डले आफूलाई सच्याइरहेको बताएका हुन् ।

‘तपाईहरूले देखिरहनु भएको छ, हामीले आफूलाई सच्याइरहेका छौं र अझ सच्याउनेछौं । हामीले निश्चित विधि र प्रक्रियामा नेतृत्व हस्तान्तरणबारे छलफल गरिरहेका छौँ,’ उनले भने, ‘लोकतन्त्रको यो झण्डामा सबैभन्दा धेरै रगत हाम्रै छ । जनतासँग प्रत्यक्ष र सार्थक सम्बन्ध कायम गरेर हामी यो झण्डाको रक्षा गर्नेछौँ ।’

उनले कमजोरी स्वीकार्दै गलत विचार र नीति नलिएको तर व्यवहारमा चुकेको बताएका छन् । ‘संविधान दिवसको अवसरमा म स्वीकार गर्छु, कि हामीबाट पनि कमजोरी भए । हामीले गलत विचार र नीति लिएका होइनौं तर व्यवहारमा हामी कतै न कतै चुक्यौं,’ उनले भने, ‘वर्ग र समुदायसँगको हिजोको हाम्रो जीवन्त सम्बन्ध कतै न कतै फितलो भयो ।’

त्यस्तै प्रचण्डले सहिद, बेपत्ता परिवार, घाइते, अपांग र यातनापीडितको अपेक्षा पूरा गर्न नसकेको पनि स्वीकारेका छन्। उनीहरूको माग पूरा गर्न एक्लै सरकारको नेतृत्व गर्न संख्या नपुगेको पनि भनेका छन् । यस्तोमा गठबन्धन सरकार बनाउँदा समस्या आएको उनको भनाइ छ ।

‘सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपांग र यातनापीडित साथीहरूका हामीप्रतिका अपेक्षा पूरा गर्न हामी कतै न कतै अलमलियौं । एक्लै सरकारको नेतृत्व गर्न हाम्रो कहिल्यै संख्या पुगेन। गठबन्धनको वाध्यात्मक राजनीतिले हामीलाई पनि कतै न कतै बिटुलो बनायो,’ उनले थप भनेका छन्, ’हामीले देशविरुद्ध कुनै राष्टघाती सम्झौता गरेनौं, कुनै काण्डमा मुछिएनौं, कुनै कलंकको टीका लगाएनौं, भ्रष्टाचारविरुद्ध जुधिरह्यौं तर जनताको हामीप्रतिको अपेक्षाको सापेक्षतामा हामी कमजोर देखियौँ ।’

हेर्नुस् प्रचण्डको सम्बोधन

प्रतिघण्टा स्थिति बिग्रँदै, विस्थापनले नागरिक सुरक्षा सुनिश्चित गर्दैन: राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले गाजाको स्थिति प्रत्येक घण्टा बिग्रँदै गएको चेतावनी दिँदै नागरिकहरूको तत्काल सुरक्षाका लागि आह्वान दोहो¥याएको छ । यसले विस्थापन आदेशले कब्जा गर्ने पक्ष, विशेष गरी इजरायललाई नागरिक सुरक्षा गर्ने जिम्मेवारीबाट मुक्त नगर्ने स्पष्ट पारेको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार, गाजाको अल–रान्तिसी बाल अस्पताल दुई दिनअघि भएको हवाई आक्रमणमा क्षतिग्रस्त भएको छ । यसबाट आधा बिरामी र हेरचाह गर्ने व्यक्तिहरूलाई असहज अवस्थामा पारेको छ ।

मानवीय साझेदारहरूले मार्चमा युद्धविराम समाप्त भएदेखि ८० वटा चिकित्सा सुविधा र प्राथमिक स्वास्थ्य केन्द्र क्षतिग्रस्त भएको पुष्टि गरेका छन् । तीमध्ये ६५ सेवा हाल बन्द छन् । गाजाको दक्षिणी क्षेत्रमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूलाई आश्रय दिने तीन सहायता केन्द्र स्थापना गरिएको छ । यद्यपि, प्यालेस्टिनी टेलिकम कम्पनीले बुधबार राति गाजामा इन्टरनेट पूर्ण रूपमा बन्द भएको रिपोर्ट गरेको छ । इन्टरनेट बन्द हुँदा बासिन्दा र मानवीय कार्यकर्तालाई महत्त्वपूर्ण जानकारी प्राप्त गर्न रोक लगाएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय साझेदारहरूले भारी गोलाबारीले गाजाका मानिस, विशेष गरी बालबालिका, अनाथ र घाइतेहरूमा पीडा बढाइरहेको बताएका छन् ।

वर्तमान व्यवस्था असफल भएको थप पुष्टि भयो : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेनजी आन्दोलनको यति ठूलो बिद्रोह र बलिदानीलाई सरकार परिवर्तनमा मात्रै सीमित गरिएकोमा असन्तुष्टि जनाएको छ । आज (बिहीबार) बसेको राप्रपा कार्य सम्पादन समिति बैठकले फरक सरकार परिवर्तन मात्रै भयो भने बलिदानको घोर अपमान हुने भन्दै यति काम त एमाले कांग्रेस र माओवादी संलग्न सरकारले विगतमै गर्दै आएको निष्कर्ष निकालेको छ ।

बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठले वक्तव्य जारी गर्दै भ्रष्टाचारविरुद्धको जेनजी विद्रोहलाई निर्वाचन प्रणाली, राज्य संरचना, संवैधानिक अंगलगायत नियुक्ति प्रणालीमा प्रहार गरेर मात्र टुंग्याउनुपर्ने प्रष्ट पारेका छन् । राप्रपाले निष्कर्षमा नपुर्याई जेनजी विद्रोहलाई टुंग्याउनु गम्भीर चूक बनेको छ ।

जेनजी विद्रोहपछि कम्तिमा अन्तरिम सरकार, अन्तरिम संविधान, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी जस्ता विषयलाई टुंग्याएर मात्र अघि बढ्नुपर्ने राप्रपाको धारणा रहेको उल्लेख छ । राप्रपाले असफल भएको संविधानबाटै मुलुकाई अघि बढाउने चेष्टा गर्नु असफल बाटोमा धकेल्नु हो भन्ने प्रष्ट धारणा रहेको जनाएको छ । राप्रपाले वर्तमान व्यवस्थाबारे आफ्नो पार्टीले पटक–पटक उठाउँदै आएको प्रश्न थप मजबुत बनेको निष्कर्ष निकालेको छ । वर्तमान नेतृत्व र उसले ल्याएको व्यवस्था असफल भइसकेको उद्घोष आफूहरूले पहिल्यै गरेको र पछिल्लो जेनजीहरूको प्रदर्शनले त्यो विषयलाई थप पुष्टि गरेको राप्रपाले बताएको छ ।

जलवायु परिवर्तनले वैश्विक जल चक्र असन्तुलित पार्दै : राष्ट्रसङ्घ

जलवायु परिवर्तनका कारण विश्वव्यापी बाढी र खडेरीबीचको अनियमित र चरम परिवर्तन हुँदै गएको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले बिहीबार सार्वजनिक गरेको ‘स्टेट अफ ग्लोबल वाटर रिसोर्सेज’ प्रतिवेदनमा सङ्कुचित हिमनदी, खडेरी, असन्तुलित नदी बेसिन र गम्भीर बाढीले विश्वको जल चक्रलाई झन् अप्रत्याशित बनाएको जनाएको छ ।

“विश्वका जलस्रोतहरू बढ्दो दबाबमा छन्, त्यसमाथि पानीसँग सम्बन्धित चरम खतराहरूले जीवन र जीविकामा गहिरो असर पारिरहेका छन्”, डब्लुएमओ प्रमुख सेलेस्टे साउलोले विज्ञप्तिमा भने।

प्रतिवेदनअनुसार गत वर्ष इतिहासकै सबैभन्दा तातो थियो । यसले दक्षिण अमेरिकाको उत्तरी भाग, अमेजन बेसिन र दक्षिणी अफ्रिकामा लामो खडेरी ल्यायो भने मध्य अफ्रिका, युरोप र एसियामा विनाशकारी बाढी र आँधीबेहरीसहित सामान्यभन्दा बढी वर्षा भयो ।

डब्लुएमओले लगातार छैटौँ वर्ष विश्व नदी बेसिनहरूमा स्पष्ट असन्तुलन देखिएको जनाएको छ । “दुई तिहाइ क्षेत्रहरूमा अत्यधिक वा न्यून पानीको अवस्था छ, जसले हाइड्रोलोजिकल चक्रको बढ्दो अनियमितता देखाउँछ”, प्रतिवेदनमा भनिएको छ ।

तातो मौसमका कारण प्रमुख तालहरूको पानी गुणस्तरमा गिरावट आएको र लगातार तेस्रो वर्ष सबै क्षेत्रमा हिमनदीहरू सङ्कुचित भएको प्रतिवेदनले औँल्याएको छ । हिमनदी पग्लिँदा मात्रै गत वर्ष समुद्री सतह एक दशमलव दुई मिलिमिटरले बढेको र तटीय क्षेत्रका लाखौँ मानिस बाढी जोखिममा परेको उल्लेख छ ।

डब्लुएमओले विश्वभर जलस्रोतको अनुगमन र डाटा साझेदारी अझै सशक्त बनाउन आह्वान गरेको छ । खडेरी, बाढी र हिमनदी क्षतिसम्बन्धी जोखिम व्यवस्थापनका लागि जलस्रोत र हाइड्रोलोजिकल चरम बुझ्न र नाप्न अपरिहार्य भएको प्रतिवेदनले जोड दिएको छ ।

लिबिया तटमा डुङ्गा डुब्दा ६१ आप्रवासी बेपत्ता

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले लिबियाको पूर्वी तटमा डुङ्गा पल्टिँदा ६१ जना अनियमित आप्रवासी बेपत्ता भएको जनाएको छ ।

सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा, युएनएचसिआरले यो घटनाबाट गहिरो दुःख व्यक्त गर्दै भनेको छ, “टोब्रुकमा यो दोस्रो दुखद डुङ्गा दुर्घटना हो, जहाँ ७४ जना यात्रु बोकेको जहाज डुब्यो । १३ जना मात्र बाँच्न सके र दर्जनौँ अझै बेपत्ता छन् ।”

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)का अनुसार गत आइतबार टोब्रुकमै अर्को डुङ्गा दुर्घटनामा ५० सुडानी नागरिकको मृत्यु भएको र २४ जना आप्रवासी उद्धार गरिएको थियो ।

लिबियाका तटहरू, विशेषगरी गर्मी महिनामा, अनियमित आप्रवासी बोकेका डुङ्गा डुब्ने घटना बारम्बार हुने गरेका छन् ।

दलाई लामासहित प्रधानमन्त्री कार्कीलाई क–कसले दिए वधाइ ? के दिए सन्देश ?

काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त सुशीला कार्कीलाई अझै वधाइ र शुभकामना आउने क्रम रोकिएको छैन । सुशीला कार्कीले मन्त्रीमण्डल विस्तार गरेपछि आज (बिहीबार) फोनवार्ताका क्रममा पनि भारतीय समकक्षी मोदीले फेरि दोहोर्‍याएर वधाइ दिएका छन् । उनले आज भएको २० मिनेट फोनवार्ताको शुरुवातमै पुनः वधाइ तथा शुभकामना दिएका हुन् । सुशीला कार्की यहि भदौं २७ गते नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । फोन वार्ताका क्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो जानकारी मोदी आफैंले एक्समार्फत् दिएका पनि दिएका छन् । ‘हालै नेपालमा भएको दुःखद् मृत्युप्रति समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थन रेहको पुनः पुष्टि गरेँ’, भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् । प्रधानमन्त्री कार्कीसँग सौहार्दपूर्णरुपमा कुराकानी भएको उनले जनाएका छन् । संविधान जारी गरेको दिन अर्थात् असोज ३ गते नेपालले संविधान दिवस र राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ । मोदीले राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिएको पनि उल्लेख गरेका छन् । ‘मैले भोलि (शुक्रबार) राष्ट्रिय दिवसमा उहाँ (प्रधानमन्त्री) र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दछु’, मोदीले भनेका छन् ।

यसअघि कार्की नेपालको अन्तरिम प्रधानमन्त्री नियुक्त भए लगतै पनि बधाई दिएका थिए । उनले पहिलो पटक सामाजिक सञ्जालबाट (भदौं २८ गते) अंग्रेजी, हिन्दी र नेपाली भाषामा लेख्दै कार्कीलाई शुभकामना दिएका थिए । कार्कीलाई सबै भन्दा पहिला जापानले वधाइ दिएको थियो । काठमाडौंस्थित जापानी राजदूतावासले एक सार्वजनिक पोस्टबाट (भदौं २८ गते) कार्कीलाई शुभकामना र वधाइ दिँदै आफ्नो सहयोग जारी राख्ने बताएको थियो । जेन– जी आन्दोलन हुँदा आन्दोलन पक्षधर मन्तव्य सार्वजनिक गर्ने अमेरिकी नेतृत्वका देशहरूको साझा मन्तव्यमा जापान पनि एक देश थियो ।

जापानले शुभकामनामा भनेको थियो, ‘जापान सरकारले नेपालले सकेसम्म चाँडो शान्तिपूर्ण र लोकतान्त्रिक संक्रमण गर्न सकून् भन्ने प्रबल आशा व्यक्त गर्दछ । आज माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल ज्यूले नेपालकी सम्माननीय सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्नुभएको निर्णयलाई हामी यस्तो संक्रमणतर्फको महत्वपूर्ण कदमको रूपमा स्वागत गर्दछौँ । जापान सरकारले नेपाल र जापानबीचको दीर्घकालीन सौहार्दपूर्ण सम्बन्धलाई अझ सबल बनाउन नेपालको विकास र समृद्धिको लागि आफ्नो सहयोग निरन्तर जारी राख्नेछ ।’

यसअघिका प्रधानमन्त्रीहरुलाई सम्भवतः कहिल्यै वधाई नदिएका तिब्बती धार्मिक गुरु दलाई लामाले (भदौं २८ गते) नै नेपालकी अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बधाई दिएका थिए । लामाको कार्यालयमार्फत सार्वजनिक सन्देशमा भनिएको छ, ‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनता ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धमा बाँधिएका छन् ।’ उनले थपेका छन्, ‘म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइदिएको सुविधाका लागि निकै आभारी छु । वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भएता पनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु ।’

भारतीय समाचार संस्था एएनआईका अनुसार, लामाले कार्कीको कार्यकाल सफल रहने विश्वास व्यक्त गरेका छन् । ‘यी चुनौतीपूर्ण समयहरूमा नेपाली जनताको आशा र आकांक्षाहरू पूरा गर्ने क्रममा तपाईं सफल हुनुहोस् भन्ने कामना गर्दछु । मेरा प्रार्थना र शुभेच्छा तपाईंसँगै छ ।’ यस्तै जेन–जी आन्दोलनपछि नियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाशसत तिब्बती धर्मगुरु दलाई लामाका सभामुखले पनि शुभकामना दिएका थिए । सभामुख खेन्पो सोनाम तेन्फेलले पनि (भदौं ३१ गते) कार्कीलाई शुभकामना दिएका थिए ।

दलाई लामाको निर्वासित प्रशासन केन्द्रीय तिब्बत प्रशासनको आधिकारिक वेबसाइटमा प्रकाशित शुभकामना सन्देशमा १७औं निर्वासित तिब्बती संसद तथा विश्वभरका तिब्बतीको तर्फबाट नेपाली जनताको विश्वास बोकेर आएकी प्रधानमन्त्री भनिएको छ । शुभकामना सन्देशमा नेपाल र तिब्बतबीचको ऐतिहासिक, आध्यात्मिक र सांस्कृतिक सम्बन्धको समेत चर्चा गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले बधाई केहि ढिला गरी वधाई दिएको थियो । चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको सन्देश आफ्नो वेबसाइटमा भदौं २९ गते सार्वजनिक गरेको छ ।

चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन चीन तत्पर रहेको बताएको छ । ‘चीन र नेपालबीच दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । चीनले सधैं नेपाली जनताले स्वेच्छाले रोजेको विकास मार्गको सम्मान गर्दछ’, बधाई सन्देशमा उल्लेख छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालस्थित अमेरिकी दूतावासले पनि (भदौं २८ गते) बधाई दिइसकेको छ । नेपालका लागि अमेरिकी राजदूत डीन आर थमसनले सामाजिक सञ्जाल एक्सको आधिकारिक खाताबाट बधाई दिएका थिए ।

उनले नेपाली र अंग्रेजी दुवै भाषामा कार्कीलाई बधाई दिएका थिए । उनले लेखेका थिए–नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सम्माननीय सुशीला कार्की नियुक्त हुनु भएको छ । गत हप्ताको दुखद घटनाहरूपछिको शान्तिपूर्ण समाधानको हामी स्वागत गर्दछौं । हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौं, यद्यपि यो दुःखद समयमा हामी नेपालसँग शोकमा साथमै छौ । हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं । अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौं । यस्तै संयुक्त राष्ट्रसंघले पनि (भदौं २८ गते) प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिइसकेको छ ।

नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्डीले शान्ति, न्याय, पारदर्शिता, जवाफदेही र प्रगतिको आकांक्षामा नेपाली जनतासँग ऐक्यबद्धता जनाउदै प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएका थिए । प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै संयुक्त राष्ट्रसंघले नेपाल सरकारसँग मिलेर स्थिरता, मानव अधिकार र दिगो विकासमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । राष्ट्रसंघले संकटको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र जेनजी युवाहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरेको छ । प्रधानमन्त्री कार्कीलाई भारतीय राजदूत नविन श्रीवास्तवले हिजो भेटैरै पनि वधाई दिएका थिए । यस्तै आज चीनका राजदूत छन सोङले प्रधानमन्त्री कार्कीलाई भेटेरै वधाई दिएका छन् । उनले नजिकको छिमेकी भएको नाताले नेपाल सरकारलाई चीनले आवश्यक सहयोग जारी राख्ने वचन पनि दिएका छन् ।

सैनिक ब्यारेकबाट फर्किए ओली, भाडाको घरमा बस्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् ।

जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् ।

सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका निम्ति भाडाको घर लिइएको छ । बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीले जलाएकाले ओली गुण्डु सरेका हुन् । ओलीलाई यहाँ ल्याउने पहल एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले गरेका हुन् । बस्नेतले ओलीलाई भव्य कार्यक्रम मार्फत् सार्वजनिक गरिने सार्वजनिक बक्तव्य नै दिएका छन् ।

अवैध लागुऔषध ट्रान्जिट वा उत्पादक देश घोषणा, चीन र पाकिस्तान पनि समावेश

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदनमा पेस गरेको ‘प्रेसिडेन्सियल डिटरमिनेशन’ मा २३ वटा देशलाई प्रमुख लागुऔषध ट्रान्जिट वा अवैध लागुऔषध उत्पादक देशका रूपमा सूचीबद्ध गरेका छन् ।

यी देशहरूमध्ये चीन, अफगानिस्तान, भारत र पाकिस्तान पनि परेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकामा अवैध लागुऔषध व्यापारबाट उत्पन्न खतरालाई परास्त गर्ने दृढता व्यक्त गरेका छन् ।

सूचीमा रहेका अन्य देशहरूमा बहामास, बेलिज, बोलिभिया, म्यान्मा, कोलम्बिया, कोस्टारिका, डोमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, हाइटी, होन्डुरस, जमैका, लाओस, मेक्सिको, निकारागुआ, पनामा, पेरु र भेनेजुएला समावेश छन् ।

राष्ट्रपति निर्णयमा अफगानिस्तान, बोलिभिया, म्यान्मा, कोलम्बिया र भेनेजुएलाले विगत १२ महिनामा अन्तर्राष्ट्रिय मादक पदार्थ विरोधी सम्झौताअन्तर्गतका दायित्व पूरा नगरेको र आवश्यक सुधारात्मक कदम चाल्न असफल भएको प्रष्ट रूपमा उल्लेख गरिएको छ ।

निर्णयमा भनिएको छ, “यस सूचीमा कुनै देशको उपस्थिति अनिवार्य रूपमा त्यस देशको लागुऔषध विरोधी प्रयास वा अमेरिकासँगको सहयोगको स्तरको प्रतिविम्ब होइन । भौगोलिक, व्यावसायिक र आर्थिक कारणहरूले गर्दा लागुऔषध वा पूर्ववर्ती रसायनहरू उत्पादन वा ट्रान्जिट गर्न सहज भएका कारण पनि सूचीमा राखिएको हो, चाहे त्यस देशले कडा लागुऔषध नियन्त्रण र कानूनी कार्यान्वयन गरिरहेको भए पनि ।”

यसअघि, भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले अन्य एजेन्सीसँग मिलेर चार महाद्वीपसम्म फैलिएको लागुऔषध तस्करी सिन्डिकेट ध्वस्त पारेको थियो । यो सिन्डिकेटले एन्क्रिप्टेड डिजिटल प्लेटफर्म, ड्रप शिपिङ मोडेल र क्रिप्टोकरन्सी प्रयोग गरेर औषधि तस्करी गर्दै आएको थियो ।

नयाँदिल्लीको बङ्गाली बजार नजिकै नियमित सवारी चेकिङका क्रममा कार्टेलको पर्दाफास भएको थियो । यसले भारत, अमेरिका, अस्ट्रेलिया र युरोपसम्म फैलिएको आपराधिक सञ्जाल प्रस्ट पारेको थियो । यसले एनसिबीको अन्तर्राष्ट्रिय स्तरमा अवैध फार्मा नेटवर्कविरुद्ध समन्वित कारबाही गर्ने क्षमतालाई पनि देखाएको छ ।

भारतस्थित अमेरिकी दूतावासले यस कारबाहीका लागि एनसिबीलाई धन्यवाद दिंदै भन्यो, “अवैध लागुऔषधबाट अमेरिकीहरूलाई जोगाउन र जीवन बचाउन सहयोग गरेकोमा एनसिबी र भारतीय अधिकारीहरूलाई धन्यवाद । ”

विश्व शक्ति सन्तुलनको नयाँ युग : प्रविधि, राजनीति र रणनीतिक प्रतिस्पर्धाको अन्तर कथा

यो वर्तमान विश्वलाई बुझ्ने एउटा खिड़की हो—जहाँ चीन, अमेरिका, रूस, इरान, इजरायल, भारत, पाकिस्तान जस्ता देशहरू आ–आफ्नो रणनीतिक चालसहित शक्तिको नयाँ सन्तुलन निर्माण गर्दैछन् ।

शक्ति सन्तुलन र भू–राजनीतिक खेल

आजको युगमा शक्ति केवल सैन्य साधनले मात्र निर्धारण हुँदैन । आर्थिक, प्रविधिक, र कूटनीतिक शक्ति पनि उत्तिकै प्रभावकारी छन् । चीनको आक्रामक आर्थिक कूटनीति, अमेरिकाको वैश्विक सैन्य उपस्थिति, र रूसको उर्जा राजनीति—यी सबैले विश्वको भू–राजनीतिक नक्शा पुनः कोरिरहेका छन् । दक्षिण एशियामा पनि यो प्रतिस्पर्धा स्पष्ट देखिन्छ । भारतको मोदी नेतृत्वको प्रभाव, नेपाल जस्तो मुलुकको कूटनीतिक सन्तुलन मिलाउने प्रयास र पाकिस्तान–चीन मिलनको प्रभावले क्षेत्रीय स्थायित्वमा प्रत्यक्ष असर पारिरहेका छन् ।

प्रविधिले बदलिँदै युद्धको स्वरूप
पहिला युद्धमा ट्यांक, बन्दूक र सैनिकको संख्या महत्वपूर्ण हुन्थ्यो । तर आजको युद्ध ‘AI प्रणाली’, साइबर आक्रमण र मिसाइल रक्षा प्रणालीहरूले लडिन्छ । कृत्रिम बुद्धिमत्ता (AI), डेटा विश्लेषण र निगरानी प्रविधिहरू युद्धको सटिकता, गुप्तता र विनाश क्षमतालाई अभूतपूर्व तहमा पुर्‍याइरहेका छन् ।

यो एपिसोडमा विशेषरूपमा चर्चा गरिएको AI प्रणाली, साइबर युद्ध र स्वचालित रक्षा प्रणालीले आधुनिक द्वन्द्व कति जटिल र खतरनाक बन्दैछ भन्ने कुरा देखाउँछ । एकथरी युद्ध ‘ह्याकर’ हरूले जितिरहेका छन् भने, अर्कोथरी देशहरूले आफ्ना कृत्रिम उपग्रह, ड्रोन र निगरानी उपकरणहरू प्रयोग गरेर युद्धअघि नै विपक्षीको चाल पत्ता लगाइरहेका छन् ।

इरान–इजरायल द्वन्द्वको जटिलता
मध्यपूर्वको इरान–इजरायल द्वन्द्व केवल सैन्य होइन, धार्मिक, राजनीतिक र आर्थिक पक्षले पनि यसलाई गहिरो बनाउँछ । यी दुई राष्ट्रबीचको वैरभावले विश्व शक्तिहरूलाई समेत आकर्षित गरेको छ । अमेरिका, चीन, र रूस जस्ता देशहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस द्वन्द्वसँग गाँसिएका छन् । धार्मिक भावनाले राजनीतिक निर्णयहरूलाई प्रभावित गर्नुका साथै कूटनीतिक समाधानको प्रयासमा पनि बाधा सिर्जना गर्छ । यही कारण यो क्षेत्रको द्वन्द्व समाधान गर्न चुनौतीपूर्ण छ ।

दक्षिण एशियाको स्थिति र मोदीको राजनीति
भारतमा प्रधानमन्त्री मोदीको लोकप्रियता घट्दै गएको विश्लेषण यस एपिसोडमा आएको छ । यो परिदृश्यले भारतको आन्तरिक राजनीति मात्र होइन, उसको क्षेत्रीय कूटनीतिमा पनि असर पार्न सक्छ । नेपालको राजनीतिक सन्तुलन, भारत–चीन सीमा तनाव, र बङ्गलादेश–भारत सम्बन्ध जस्ता विषयहरू दक्षिण एशियाको समग्र स्थायित्वसँग गाँसिएका छन् ।

अन्तर्राष्ट्रिय संस्था र सौम्य शक्तिको प्रभाव
सामरिक प्रतिस्पर्धा र प्रविधिमा आधारित द्वन्द्वको सन्दर्भमा अन्तर्राष्ट्रिय संस्था (जस्तैः UN, NATO) र सौम्य शक्तिको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ । दवाव, मध्यस्थता, र आर्थिक सहयोगमार्फत यी संस्थाहरूले तनाव न्यूनीकरण गर्ने प्रयास गरिरहेका छन् । तर प्रविधिको तीव्र गतिले तिनीहरूको प्रभाव पनि चुनौतीमा परेको छ ।

रणनीतिक अन्तर्दृष्टिहरू : युद्धको भविष्य

युद्धको भविष्य अब केवल बन्दूक वा मिसाइलमा सीमित छैन ।
– आणविक हतियारको विस्तारले खतरा बढाएको छ ।
– प्रविधिमा आधारित हतियार दौडले विश्व शक्तिहरूबीच शंकाको वातावरण बनाएको छ ।
– साइबर युद्धले राष्ट्रिय सुरक्षालाई मात्र होइन, नागरिक जीवनलाई समेत असर गर्न थालेको छ ।
– डेटा, गुप्तचर, र निगरानी प्रणाली अब सैन्य रणनीतिको केन्द्र बनेका छन् ।
निष्कर्ष : आजको विश्व सन्तुलन परम्परागत ढाँचाबाट बाहिर निस्केर प्रविधि, रणनीति र धार्मिक–राजनीतिक अन्तरक्रियाहरूको समायोजनमा आधारित हुँदै गएको छ ।
हामीले बुझ्न जरुरी छ कि आधुनिक द्वन्द्व केवल गोली र बारुदको विषय होइन—यो डाटा, सूचना, भावना र अन्तर्राष्ट्रिय चासोको जटिल जालो हो । यो जालो जति गहिरो हुँदै जान्छ, त्यसलाई समाधान गर्न त्यति नै गहिरो सोच, सहकार्य र दीर्घकालीन रणनीति आवश्यक पर्छ ।

जेसन वैद्यले सुशान्त प्रधानको पडकास्टमा राखेको विश्व भूराजनीतिसम्बन्धी विचारको संशोधित अंश । (यसमा एआइको समेत सहयोग लिइएको छ ।)

 

जेनजी आन्दोलनका सहिदहरुप्रति क्रिकेट टोलीको श्रद्धाञ्जली सभा (तस्बिरहरु )

काठमाडौँ । भदौँ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहको सम्झानामा नोपली क्रिकेट टोलीले मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बिहीबार निर्माणाधीन क्रिकेट मैदान कीर्तिपुरमा खेलाडीसहित क्रिकेट सङ्घका पदाधिकारीले सहिदहरुप्रति श्रद्धाञ्जली दिएका हुन् ।

गत हप्ता भएको जेनजी आन्दोलनमा ७४ जनाको ज्यान गएको थियो ।साथै क्रिकेट खेलाडीहरुलाई विदाई समेत गरिएको छ ।

युनिफिकेसन चर्च नेताविरुद्ध गिरफ्तारी वारेन्ट माग

दक्षिण कोरिया । दक्षिण कोरियाली अनुसन्धानकर्ताहरूले बिहीबार युनिफिकेसन चर्चकी नेत्री हाक जा हानविरुद्ध गिरफ्तारी वारेन्टको माग गरेका छन्।

यो कदम जेलमा रहेका पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन ही र एक सांसदलाई घुस दिएको आरोपबारे सोधपुछ भएको भोलिपल्ट आएको हो ।

हान चर्चका संस्थापक सन म्युङ मुनकी ८२ वर्षीया विधवा हुन्। उनले र चर्चले युनकी पत्नी किम र सांसद क्वोन सेओङ–डोङलाई घुस दिएको आरोप अस्वीकार गरेकी छिन् । अदालतले सोमबार सुनुवाइ गरी गिरफ्तारी अनुमोदन गर्ने कि नगर्ने निर्णय गर्नेछ ।

किमलाई गत महिना घुसखोरी, स्टक हेरफेर र उम्मेद्वार चयनमा हस्तक्षेप गरेको अभियोगमा पक्राउ गरिएको थियो । उनका वकिलहरूले आरोप अस्वीकार गरेका छन् । सांसद क्वोन पनि यसै हप्ता पक्राउ परेका थिए । उनीमाथि पार्टीको सन् २०२३ को नेतृत्व दौड अघि चर्चबाट समर्थन र पैसा लिएको शङ्का गरिएको छ ।

यो अनुसन्धान सियोलको नयाँ उदार सरकारले सुरु गरेको तीन विशेष अभियोजक जाँचहरूमध्ये एक हो । अन्य जाँचहरूमा युनको मार्सल लको योजना र सन् २०२३ को बाढी उद्धार अभियानमा मृतकको ढाकछोपसम्बन्धी आरोप समावेश छन् । युनले अल्पकालीन रूपमा मार्सल ल लागू गरेपछि उनको महाभियोग भयो र गत अप्रिलमा पदच्युत गरियो ।

चर्चले हानको गिरफ्तारी प्रयासको आलोचना गर्दै उनी उडान जोखिम नभएको, प्रमाण नष्ट गर्ने खतरा नरहेको र मुटु उपचारपछि पनि अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “स्पष्ट प्रमाण बिना अन्तर्राष्ट्रिय रूपमा सम्मानित धार्मिक नेत्रीविरुद्ध वारेन्ट माग गर्नु अत्यधिक कदम हो, जसले धार्मिक नेतालाई दिइने आधारभूत सम्मानलाई बेवास्ता गर्दछ ।”

अनुसन्धानकर्ताहरूको दाबीअनुसार किमले कम्बोडियामा चर्चको विकास परियोजनासम्बन्धी विलासी उपहारहरू स्वीकार गरेकी थिईन् । त्यस्तै, एक चर्च अधिकारीमार्फत सांसद क्वोनलाई १० करोड वोन (करिब ७२ हजार चार सय डलर) घुस दिएको आरोप छ ।

हानलाई बुधबार करिब १० घण्टा सोधपुछ गरिएको थियो । उनी र चर्चको अधिकारीहरूले अधिकारको दुरुपयोग गरेको बताएका छन् ।

हान चर्चको शीर्ष नेत्री हुन् । आधिकारिक रूपमा ‘विश्व शान्ति र एकीकरणका लागि परिवार महासङ्घ’ भनेर चिनिने यो चर्च सन म्युङ मुनले सन् १९५४ मा स्थापना गरेको थियो । आफूलाई मसीहा घोषणा गर्ने मुनले लाखौँ अनुयायी, विशाल व्यापारिक चासो र सामूहिक विवाहका लागि चर्चलाई विश्वभर परिचित बनाएको थियो ।

जेन–जी आन्दोलन अधूरो क्रान्तिको निरन्तरता हो : प्रचण्ड (भिडियोसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले १० वर्ष पूरा गरेको महत्वपूर्ण मोडमा राष्ट्र संकटको संघारमा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधान दिवसको पूर्व सन्ध्यामा हजारौं शहीदको बलिदान, लाखौं नागरिकको त्याग र जनयुद्ध–जनआन्दोलनको ‘फ्युजन’ बाट जन्मिएको संविधानलाई जनताले आफैंले लेखेको ऐतिहासिक दस्तावेजको रूपमा स्मरण गरेका छन् । तर भर्खरैको जेन–जी आन्दोलन र त्यसपछिका घटना क्रमहरूले देखाएको असन्तुष्टि संविधानको निरन्तरता र परिमार्जनको माग भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले भदौ २३ गतेको जघन्य नरसंहारमा ७० भन्दा बढी युवाहरु मारिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आन्दोलनमाथि भएको दमनको कडा भत्र्सना गरे । उनले भने, ‘२३ गतेको आन्दोलन जेन–जीको वास्तविक आवाज थियो, तर २४ गतेका तोडफोड, आगजनी, र लुटपाटमा जेन–जीको अनुहार थिएन । त्यो प्रतिगमनकारी र आपराधिक तत्वको खेल हो ।’ उनले देशको गौरवका प्रतीक सिंहदरबार, संसद, सर्वोच्च अदालतमा भएको आक्रमणलाई लोकतान्त्रिक आन्दोलनमा अस्वीकार्य भन्दै, सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठनको माग पनि गरे ।

‘हिजो हामीले भनेकै एजेण्डा आजको आन्दोलनले उठायो’
पूर्व प्रधानमन्त्रीले जेन–जी आन्दोलनका मागहरूमाथि बोल्दै आन्दोलनले उठाएका धेरै एजेण्डाहरू माओवादी जनयुद्ध र संविधानसभा बहसका बेला उठाइएका असहमतिहरूसँग मिल्ने बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, र शक्तिको विकेन्द्रीकरण जस्ता मुद्दाहरूलाई त्यतिबेलै स्वीकार गरिएको भए, आजको विद्रोह हुनुपर्ने थिएन भन्ने धारणा व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले परम्परागत दलहरूमाथि जनताको आवाज नसुनिएको आरोप लगाउँदै भने, ‘श्रीलंका र बङ्गलादेश जस्ता संकट संसदको संख्याको नभएर जनताको भावनालाई नबुझेको कारणबाट उत्पन्न भएको थियो ।’
नले आफ्नो पार्टीका कमजोरीहरू पनि खुलेर स्वीकार गरेका छन् । उनले भने, ‘ हामी गलत विचार लिएनौं, तर व्यवहारमा कतै चुक्यौं । शहीद परिवार, अपांग योद्धा, पीडित समुदायसँगको सम्बन्ध कमजोर भयो ।’ गठबन्धनको बाध्यात्मक राजनीतिले पार्टीलाई असर पारेको स्वीकार गर्दै उनले नेतृत्व हस्तान्तरणबारे छलफल भइरहेको पनि जानकारी दिए ।

अन्तरिम सरकारलाई सफल बनाउने र संविधान संशोधनको माग

उनले वर्तमान अन्तरिम सरकारलाई असफल बनाउन सक्ने षड्यन्त्रहरूप्रति सचेत रहनु पर्ने बताए । उनले जेन–जी आन्दोलनको बलमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीसहितको संविधान संशोधन गर्न सकिने सुवर्ण अवसर भएको बताए। अहिले त्यो आन्दोलनको उपलब्धि केवल ‘अन्तरिम सरकार र चुनाव घोषणामा सीमित’ भएकोमा दुःख व्यक्त गरे ।

संविधान, लोकतन्त्र र राष्ट्र स्वाधिनताको संरक्षणमा आह्वान
उनले भने, ‘संविधानको विकल्प अर्को संविधान हो, लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो । इतिहासको चिहानबाट फर्कन खोज्नेहरू युवा पुस्ताको क्रान्तिलाई प्रयोग गरेर उपलब्धि उल्ट्याउने षड्यन्त्रमा छन् ।’ उनले सम्पूर्ण देशभक्त, लोकतन्त्रवादी, गणतन्त्र पक्षधर शक्ति र आम जनसमुदायलाई राष्ट्रिय एकताको आन्दोलन सिर्जना गर्न आह्वान गर्दै संविधान दिवसको दिन राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्ने संकल्प गर्न आग्रह गरे ।

बालविवाह अन्त्य गर्ने कानून पारित

बोलिभिया । बोलिभियाको संसद्ले नाबालिगसँग विवाह र नागरिक सङ्घमा प्रतिबन्ध लगाउने कानून पारित गरेको छ । उक्त कानूनले बोलिभियालाई पहिले नै बालविवाह गैरकानूनी भएका १३ ल्याटिन अमेरिकी राष्ट्रसँग जोडेको छ ।

सन् २०१४ को कानूनले वयस्कहरूमा मात्र विवाह अनुमति दिइरहेको थियो, तर १६ र १७ वर्षका नाबालिगहरूलाई अभिभावकको अनुमति भए विवाह गर्न सक्ने अपवाद थियो । ओम्बुड्सम्यान अफिसका अनुसार सन् २०१४–२०२३ बीच चार हजार आठ सयभन्दा बढी कम उमेरका युनियन दर्ता भएका थिए ।

बुधबार चेम्बर अफ डेपुटिसले यो खाली ठाउँ बन्द गर्दै संशोधन पारित गरेको छ । विधेयक अप्रिलमा सिनेटले स्वीकृत गरेको थियो र अब राष्ट्रपतिलाई अनुमोदनका लागि पठाइनेछ ।

सत्ताढ पार्टीकी सिनेटर एवं विधेयक लेखक भर्जिनिया भेलास्कोले भने, “यो केवल कानून होइन, हाम्रो किशोरी केटीहरूलाई अब विवाह गर्न, विद्यालय छोड्न वा जिम्मेवारी लिन बाध्य पार्ने प्रथा रोक्ने प्रतिज्ञा हो ।”

नाबालिगसँग विवाह दर्ता गर्ने अधिकारीलाई मुद्दा चलाई चार वर्षसम्म जेल सजाय हुन सक्छ । एडभोकेसी समूह सेभ द चिल्ड्रेनले सन् २०१४ मा बोलिभियामा ३२ हजार तीन सय केटीहरू १५ वर्षअघि नै विवाह भएको तथ्याङ्क प्रकाशित गरेको थियो ।

ल्याटिन अमेरिका र क्यारिबियनका लागि आर्थिक आयोगका अनुसार कोलम्बिया, पेरु, इक्वेडर र एल साल्भाडोरसहित १३ देशमा बालविवाह निषेध छ ।

न्यायाधीशदेखि सीडीओसम्म जेनजीको सिफारिसमा नियुक्त गर्न माग

काठमाडौँ । जेनजी पुस्ताका युवाहरूको एक समूहले अदालतको प्रमुख पद (न्यायाधीश)देखि प्रमुख जिल्ला अधिकारीसम्म आफ्नोको सिफारिसमा नियुक्त गर्न माग गरेको छ।

बिहीबार गृहमन्त्री ओमप्रकाश अर्याललाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै उनीहरूले यस्तो माग गरेका हुन्।

ज्ञापन पत्रमा सरकारमा जेनजीको ५० प्रतिशत र नागरिक समाजबाट पाँच प्रतिशत प्रतिनिधित्व हुनुपर्ने, मन्त्रालय र सरकार सञ्चालनमा जेनजीको नेतृत्व हुनुपर्ने, संवैधानिक आयोग, राजदूत नियुक्ति ५० प्रतिशत जेनजीको प्रतिनिधित्व हुनुपर्ने र नेपाल सरकारको मुख्य सचिव र अन्य सचिवको सचिवालयमा जेनजीको प्रतिनिधित्व हुनुपर्ने लगायत माग राखिएको छ।

युवा समूहको तर्फबाट गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै जस्मिन ओझाले युवाहरूको माग चाँडो नभए अर्को आन्दोलनमा उत्रनुपर्ने अवस्था आउने चेतावनी दिइन्।

सात बुँदे मागसहितको पत्र यस्तो छ

 

अमिबाको सङ्क्रमण बढेपछि : स्वास्थ्य चेतावनी

भारत । दक्षिणी राज्य केरलामा दुर्लभ पानीजन्य ‘मस्तिष्क खाने’ (ब्रेन इटिङ) अमिबाको सङ्क्रमण र मृत्यु गत वर्षको तुलनामा दोब्बर बढेपछि भारतले स्वास्थ्य चेतावनी जारी गरेको छ ।

सरकारी टास्क फोर्सका चिकित्सक अल्ताफ अलीले कि अधिकारीहरूले राज्यभरि केस पत्ता लगाउन र उपचार गर्न ठूलो मात्रामा परीक्षण गरिरहेको बताए ।

यस वर्ष नेग्लेरिया फोलेरी अमिबाबाट १९ जनाको मृत्यु र ७२ सङ्क्रमण रिपोर्ट भएको छ । जसमा सेप्टेम्बरमा मात्रै नौ जनाको मृत्यु र २४ सङ्क्रमित छन् । गत वर्ष ३६ घटनामा नौ जनाको मृत्यु भएको थियो ।

युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले यसलाई ‘मस्तिष्क खाने अमिबा’ भन्छ । किनकि यसले मस्तिष्कलाई सङ्क्रमित गरी तन्तु नष्ट गर्न सक्छ । मस्तिष्कमा पुगेमा ९५ प्रतिशतभन्दा बढी ज्यान जाने जोखिम हुन्छ ।

सङ्क्रमण अत्यन्त दुर्लभ भए पनि प्रायः घातक हुन्छ । अमिबा तातो ताल र नदीहरूमा बस्छ र नाकमार्फत प्रवेश गरेर सङ्क्रमण फैलाउँछ । यो व्यक्तिबाट व्यक्तिमा सिधा सर्दैन ।

विश्व स्वास्थ्य सङ्गठनले लक्षणमा टाउको दुखाइ, ज्वरो, बान्ता, मानसिक परिवर्तन, मतिभ्रम र कोमा हुने उल्लेख गरेको छ ।

चिकित्सक अलीले भने्, “विगतमा सीमित क्षेत्रहरूमा मात्र देखिन्थे, यस वर्ष राज्यभर नयाँ घटनाहरू देखा परेका छन्, यो चिन्ताको विषय हो ।”

सन् १९६२ देखि संयुक्त राज्य अमेरिका, भारत, पाकिस्तान र अस्ट्रेलियामा विश्वभर लगभग पाँच सय घटना रिपोर्ट भइसकेका छन् ।

घरसँगै जलेकी झलनाथ पत्नी रविलक्ष्मीले गुमाइन् एउटा हात

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा घरमा आगजनी हुँदा जलेर घाइते भएकी नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारले एउटा हात गुमाएकी छन् । भदौ २४ गतेको जेनजी आन्दोलनकारीले घरमा आगो लगाएका थिए । घरसँगै जलेकी उनको अहिले काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

उपचारकै क्रममा संक्रमण फैलिन थालेपछि उनको देब्रे हात काटिएको खनालले जानकारी दिए । ‘हिजो बुधबार एउटा अप्रेसन भयो । संक्रमण बढ्न थाल्यो भनेर चिकित्सकले अप्रेसन गर्नुपर्छ भन्नुभयो । हामीले अप्रेसन गर्ने अनुमति दियौँ,’ उनले भने, ‘डाक्टरले मेडमको देब्र ेहात काटे । देब्रे हात चाहिँ कुहिनोदेखि तल फाल्यो । उनी पहिलो पटक अपांग भइन् ।’

उनले आज फेरि निमोनियाको संक्रमण पनि देखिएको जानकारी पाएको बताएका छन् । ‘आज निमोनिया देखा पर्‍यो रे । यसले के गर्ने हो ? यसलाई केही गर्न सकिने हो कि होइन रनभुल्ल परिरहेको छु’ उनले थप भने । ७० वर्षकी चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको भनेर चिकित्सकले भनेको खनाल बताउँछन् । ‘भन्न त १७ प्रतिशत जलेको भनेको छ । के–के हुने हो ख्वै !’ खनालले भने, ‘उनी बोल्न सक्ने अवस्थामा छैनन् । बोल्न खोजेझैं लाग्छ, आवाज आएझैं लाग्छ तर बोली बुझिँदैन ।’

हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न रोक

बङ्गलादेश । बङ्गलादेश निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिना र उनका परिवारका सदस्यहरूलाई आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय चुनावमा मतदान गर्न नपाउने घोषणा गरेको छ ।

“आगामी संसदीय चुनावले देशभित्र र विदेशमा दुवै मतदानको सुविधा दिनेछ । विदेशमा रहेका बङ्गलादेशीहरूले अनलाइन दर्ता गर्नुपर्नेछ, जसका लागि हाल नयाँ प्रणाली विकास भइरहेको छ”, निर्वाचन आयोग (इसी) का वरिष्ठ सचिव अख्तर अहमदले बुधबार भने ।

उनका अनुसार प्रवासीहरूले पासपोर्ट नभई, आफ्नो एनआइडी प्रयोग गरेर मात्र अनलाइन दर्ता गर्न सक्नेछन् । जसको एनआइडी ब्लक गरिएको छ, उनीहरूले अनलाइन दर्ता गर्न पाउने छैनन् र दर्ता गर्न सक्नेहरूलाई मात्र मतदान गर्ने अधिकार हुनेछ ।

दैनिक युगान्तोरका अनुसार निर्वाचन आयोगले गत फेब्रुअरी १६ मा शेख हसिनासहित उनका १० जना परिवारका सदस्यको एनआइडी अवरुद्ध गरेको थियो । ब्लकमा परेका मध्ये उहाँका छोरा सजीब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना, भतिजीहरू ट्युलिप रेजवाना सिद्दीकी र अजमिना सिद्दीकी, साथै भतिजा रादवान मुजीब सिद्दीकी पनि रहेका छन् ।

शेख हसिना विदेशबाट मतदान गर्न पाउने हो कि भन्ने प्रश्नमा सचिव अहमदले भने, “उनको एनआइडी अवरुद्ध छ । त्यसैले उनले मतदान गर्न सक्नेछन् ।”

पूर्वप्रधानमन्त्री हसिना गत वर्ष अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोहपछि देश छोडेर भारतमा शरण लिन पुगेकी थिईन् । त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको हो । युनुसले फेब्रुअरीमा राष्ट्रिय चुनाव हुने घोषणा गरिसकेका छन् ।

गत अगस्टमा प्रमुख सल्लाहकारको कार्यालयले निर्वाचन आयोगलाई सन् २०२६ फेब्रुअरीमा रमजान सुरु हुनु अघि चुनाव सम्पन्न गर्न सबै तयारी पूरा गर्न निर्देशन दिएको थियो ।

मुख्य सल्लाहकारका प्रमुख सचिव एम सिराज उद्दीन मियाले मुख्य निर्वाचन आयुक्तलाई पठाएको पत्रमा निर्धारित समयमा स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र उत्सवपूर्ण निर्वाचन सम्पन्न गर्न आवश्यक सबै कदम चाल्न आग्रह गरेका थिए।

थारु समुदायमा ‘सिकलसेल एनिमिया’को ‘स्क्रिनिङ टेस्ट’

दोधारा चाँदनी (कञ्चनपुर) । थारू समुदायमा रहेको वंशाणुगत रोग ‘सिकलसेल एनिमिया’ पहिचानका लागि रगत परीक्षणलाई उच्च प्राथमिता दिइएको छ ।
स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले थारु समुदायको बाहुल्यता रहेका पालिकामा रगत परीक्षण शिविर नै सञ्चालन गरिएको जानकारी दिए।
उनका अनुसार कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा दुई हजार चार सय दुई जनाको रगत परीक्षण गर्दा दुई सय २९ पोजेटिभ पत्ता लागेको जानकारी दिए । उनीहरुको अन्तिम परीक्षण गर्दा दुई सय १३ जना सिकलसेल बाहक १० जनामा थालेसिमिया र ६ जना सिकलसेल रोगी पत्ता लागेका छन्  ।  पूनर्वास नगरपालिकामा ९ सय ७६ जनाको रगत परिक्षण गर्दा ९८ जनामा पोजेटिभ देखिएको थियो । जसको अन्तिम परीक्षण गर्दा ७९ जनामा बाहक(ट्रेट)देखा परेको थियो ।
एक सय ११ जनामा ट्रेटसँगै विटा थालेसिमिया र तीन जनामा विटा थालेसिमिया होमोजाइगोस पत्ता लागेको थियो । त्यसैगरी भीमदत्त नगरपालिकामा आठ सय ६६ जनाको रगत परीक्षण गर्दा ९९ जना पोजेटिभ भेटिएका छन् । जसको अन्तिम परीक्षण गर्दा ७७ जना सिकलसेल ट्रेट, १८ जना सिकलसेल ट्रेटसँगै बिटा थालेसिमिया र चार जनामा सिकलसेल पत्ता लागेको थियो ।
स्वास्थ्य कार्यालयले थारु समुदायमै गएर स्क्रिनिङ टेस्ट गरेको थियो । स्क्रिनिङ टेष्टमा पोजेटिभ देखिएका व्यक्तिको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नमूना लगेर परीक्षण गरिएको थियो ।  थारु समुदायको बाहुल्यता भएको बेलौरी नगरपालिकामा एक हजार तीन सय जनाको रगत परीक्षण गरिएको थियो । जसमा एक सय १४ जना पोजेटिभ देखिएका थिए । अन्तिम परीक्षण गर्दा एक सय ३२ जनामा सिकलसेल बाहक, पाँच जनामा थालेसिमिया र पाँच जना सिकलसेल रोगी पत्ता लागेका थिए । स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार कञ्चनपुरको विभिन्न पालिकामा स्क्रिनिङ टेष्ट गरिएको बताए।
 “बाहक (ट्रेट) देखा परेकाहरुको  रगतको अन्तिम चेक गर्दा धेरैमा सिकलसेल एनिमिया भएको पुष्टि भएको छ ।” भट्टले भने–“हरेक एक सयजनाको परीक्षणमा आठ जना बिरामी देखिएका छन ।”
उनले बाहक(ट्रेट) देखा परेका महिला पुरुषले विवाह गर्दा रगत परीक्षण गरेर मात्रै गर्नुपर्ने बताए । “बाहक(ट्रेट) देखा परेका महिला पुरुषले विवाह गरे उनीहरुबाट जन्मिने व्यक्ति पनि रोगी जन्मन्छ ।” उनले भने–“त्यसैले विवाह गर्नुभन्दा पहिले रगत परीक्षण गरेर मात्रै विवाह गर्नु उपयुक्त हुन्छ ।”
हेमोग्लोबिनसँग सम्बन्धित खराबीको कारणले हुने समस्या विश्वमा ५ प्रतिशत भन्दा बढी भएको तथ्याङ्क छ । तीमध्ये सबै भन्दाबढी देखापरेको समस्या सिकलसेल एनिमिया र थालेसिमिया रहेको उनको भनाइ छ । नेपालमा पनि खासगरी थारु चौधरी समुदायमा यो रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
केही समयअघि नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटरोजाइगस ट्रेट रहेको पाइएको उनले बताए ।
थारु चौधरी समुदायमा यो रोग एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको र समयमै यसको रोकथामका उपाय अवलम्बन गर्न नसकिए अवस्था झन भयावह हुनसक्ने भएकाले कञ्चनपुरका थारु चौधरी समुदायको बसोबास उच्च रहेका पालिकामा यो रोगको पहिचान तथा निदानको लागि स्वास्थ्य कार्यालयले रगत परीक्षण गरेको भट्ट बताउँछन् ।
“सिकल सेल एनिमिया र थालेस्मिया व्यक्तिको जिन सम्बन्धी खराबीको कारणले हुन्छ रोगसँग सम्बन्धित सानो खराबी भएको अवस्थालाई ट्रेट भनिन्छ ।” भट्टले भने–“केटा मान्छेमा ट्रेट छ र उसको विवाह ट्रेट भएको केटी मान्छेसँग भयो भने त्यसबाट जन्मने २५ प्रतिशत बच्चाहरुमा सिकल सेल रोग भएर जन्मने गर्छन ।”
ट्रेट भएको व्यक्तिलाई शारीरिक रुपमा खासै समस्या नदेखिने र समस्या देखिए पनि सामान्य खालको हुने उनले बताए।
सिकलसेल रोग भएमा थकाइ लाग्ने, श्वास प्रश्वासमा समस्या हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्दछन ।

चुच्चे नक्सा हटाएको आरोपबारे प्रधानमन्त्री कार्यालयले दियो स्पष्टीकरण (भिडियो सहित)

 काठमाडौँ ।  केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भएसँगै गठन गरिएको अन्तिरम सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको चुच्चे नक्सा हटाएको भन्ने पोस्टहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले समेत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकक्षमा नेपालको नक्सा अङ्कित झण्डा हटाएको भन्दै प्रश्न गरेकी छन् ।

पूर्वमन्त्री अर्यालले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खुल्ला पत्रमा लेखेकी छन्, ‘यो राष्ट्रलाई पुर्खाले रगत बगाएर, छातीमा गोली थापेर, बच्चा काखमा च्यापेर पानी पनि नखाई लडेर बचाएका हुन् । त्यो माटो आज हाम्रो पहिचान बनेको छ । तर प्रधानमन्त्रीज्यू अचम्म लाग्यो -तपाईँको कार्यकक्षबाट नेपालको संविधानमा अङ्कित अद्यावधिक नक्सा हटाइयो रे ।’

“सन् १८१६ को सुगौली सन्धिले स्पष्ट भनेको छ , नेपालको पश्चिमी सिमा कालीनदी हो , जसको मुहान लिम्पियाधुरा हो । २०१८ सालमा नेपाल सरकारले त्यहाँ जनगणना गरेको तथ्य हाम्रो हातमा छ । त्यहाँका जनताले नेपाल सरकारलाई तिरेका करका रसिद प्रमाण छन् ।”उनले भनेकी छिन् ।

अर्यालले नक्सालाई संविधानको अनुसूचीमा अङ्कित संसद्ले राष्ट्रिय सहमतिमा पास गरेको, नेपाल आमाको छातीमा कोरिएको सार्वभौमिकता दस्ताबेज हो भनेर जिकिर गरेकी छिन् ।

यसबारे जिज्ञासा राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको कार्यकक्षमा नक्सा नै राख्न नभ्याइएको बताएको छ । सचिव गोविन्द कार्कीले अर्यालले लेखेजस्तो नयाँ नक्सा नहटाइएको बताएका छन् ।

‘यो हल्ला फैलाउनका लागि मात्रै हो । यहाँ नयाँ भवनमा सरेकाले नक्सै राख्न भ्याइएको छैन । परिस्थिति यहाँहरूले बुझ्नुभएकै छ,’ कार्कीले भने ।

गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलाइएको थियो । त्यसपछि सिंहदरबारमै गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्कीको पदभार ग्रहण भदौ २९ गते गराइएको थियो ।

कार्यालयका शासकीय मामिला हेर्ने सचिव कार्कीले नयाँ स्थानमा प्रधानमन्त्री कार्यालय सानु परेको र पुरानो कार्यालयमा रहेका कागजात र सामग्री जलेकाले नयाँ कागजात र सामग्री व्यवस्थापन गर्दै जाँदा प्रधानमन्त्रीको कार्यकक्षमा अहिलेसम्म नक्सा राख्न नभ्याइएको जानकारी दिए ।

 

 

 

 

गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार

काठमाडौं । गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान सवा ११ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ५१ वर्षीया सीतादेवी पन्तमाथि खुकुरी प्रहार भएको हो । काभ्रेको चौरीदेउराली गाउँपालिका–८ घर भएकी पन्तलाई खुकुरी प्रहार गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ३७ वर्षीय कर्णबहादुर तामाङ पक्राउ परेका छन् ।

तामाङले मदिरा सेवन गरी पन्तको कोठामा गएर खुकुरी प्रहार गरेको बताइएको छ । खुकुरी प्रहार गर्नुको यकिन कारण खुलिनसकेको प्रहरीले बताएको छ ।

घाइते महिलालाई उपचारका लागि शंकरापुर अस्पताल नारायणटार पठाइएको छ । ती महिलाको टाउको र दाहिने हातमा चोट लागेको छ ।

पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । प्रहरी वृत्त बौद्धको भवन पुरै जलेकाले राख्ने हिरासत नभएकाले परिसर पठाइएको हो ।

 

नयाँ बसपार्कमा आज चाडपर्व लक्षित नागरिक सहायता कक्ष उद्घाटन

काठमाडौँ । काठमाडौँको गोंगबु नयाँ बसपार्कमा आज चाडपर्व लक्षित नागरिक सहायता कक्ष उद्घाटन गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयको आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख दान बहादुर कार्कीले नागरिक सहायता कक्षको नयाँ बसपार्कमा आज चाडपर्व लक्षित नागरिक सहायता कक्ष उद्घाटन गरेका हुन् ।

नयाँ बसपार्क लगायत उपत्यकाको १५ स्थानमा नागरिक सहायक कक्ष सञ्चालन गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव टेकनाथ गौतमले जानकारी दिए । उपत्यकाको विभिन्न स्थानहरु चाबहिल, गौशाला, बल्खु, कलंकी, लगायत बनेपामा पनि नागरिक सहायता आज बाट सञ्चालमा ल्याइए उनले बताए ।

 

 

सहश्राव्दी पदमार्ग ले पदयात्रा पर्यटनमा जगाउँदै आशा

गण्डकी । मध्यपहाडी क्षेत्रको पदमार्ग सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा पर्यटकीय गतिविधि बढाउने उद्देश्यसँगै पछिल्ला वर्षमा पदमार्ग क्षेत्रका स्थानीयले चासो बढाएका छन् ।

तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने यो पदमार्ग २०५६ सालदेखि सञ्चालनमा आएकोमा बीचका केही वर्ष सुस्ताए पनि पछिल्ला वर्षमा मिलेनियम ट्रेक व्यवस्थापन समितिको सक्रियता र स्थानीयवासीको जागरुकतामा पुनः चलायमान हुन थालेको हो ।

पछिल्ला वर्षमा यस पदमार्गमा स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकको आगमन पनि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए ।

पहिलो पटक विसं २०६४र६५ मा नक्शाङ्कन गरिएको यो पदमार्ग समुद्री सतहबाट ४२० मिटरदेखि एक हजार ७१५ मिटर उचाइसम्ममा रहेको छ । पछिल्लो समयमा दोस्रो नक्शाङ्कनसमेत गरी पोखरा महानगरपालिकाका केही भू–भाग पनि यस पदमार्गमा समेटिएको छ ।

उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि समेत उपयुक्त मानिएको यस पदमार्गमा पछिल्ला वर्षमा पर्यटक लक्षित घरवास पनि ठाउँठाउँमा सञ्चालन भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवम् मिलेनियम भैँसेगाँैडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए ।

यस पदमार्गमा पूरै पदयात्रा सम्पन्न गर्न भने एक हप्ता लाग्छ । बीचबीचमा छोटो दुरीमा एक दिने हाइकिङदेखि दुई तीन दिनका छोटो दूरीका पदयात्राका लागि पनि यो आकर्षक गन्तव्य बनिरहेको छ ।

दुलेगौँडादेखि रामबाछासम्म जोडिएको यस पदमार्गको लम्बाई ७२ किलोमिटर रहेको छ ।

महासचिव गुरुङका अनुसार दुलेगौँडाबाट सहश्राव्दी पदमार्गको पदयात्रा सुरु गर्ने पर्यटक यहाँको गाछेपानीस्थित रक गार्डेन हुँदै आफ्नो यात्रा प्रारम्भ गर्दछन् ।

पछिल्ला समयमा धार्मिक रूपमा चासो र चर्चा कमाएको च्यवनधामको दर्शन गर्दै ढोरबाराही मन्दिरबाट अघि बढ्ने यस पदयात्रा मार्गमा पहिलो दिन ऐतिहासिक ढोर मूलकोट दरबार हुँदै रजस्थलसम्म पदयात्रा गरिन्छ । रजस्थलमा स्थानीयवासीले घरवास सञ्चालन गरेका छन् । रजस्थलसहित यस क्षेत्रका लामागाउँमा पनि स्थानीयले घरवास सञ्चालन गरेका छन् ।

दोस्रो दिनमा पदयात्री घरेडी या सादीखोलामा पुगेर बस्छन् । घरेडी र सादीखोलाको बीचमा रहेका ऐतिहासिक महत्वको मिलेनियम गुफा यहाँको अर्को महत्वपूर्ण आकर्षण हो । घरेडी र सादीखोलामा घरवास सञ्चालन गरिएको छ ।

तेस्रो दिन पदयात्री काल्खु, राइपुर हुँदै कोल्मा पुगेर बस्न सक्छन् । यहाँका पोखरीछाप र कोल्मामा घरवास सञ्चालन भएको छ । कोल्मामा सामूदायिक घरवाससँगै व्यक्तिगत रूपमा कोल्मा होमस्टे एण्ड रेष्टुरेन्ट पनि सञ्चालन गरिएको छ ।

चौथो दिन भैँसेगौँडाहुँदै चन्द्रकोटसम्म पुग्न सकिन्छ । पर्यटकलाई लक्षित गरी भैँसेगौँडामा रहेका मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टे तथा चन्द्रकोट होमस्टेले पर्यटकलाई सेवा दिइरहेका छन् । त्यस्तै यस क्षेत्रमा ज्यामिरे र चिरुवामा पनि होमस्टे सञ्चालन गरिएको छ ।

पाँचैदिन चन्द्रकोटबाट पर्यटक गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट हुँदै बुढाकोटसम्म पुग्न सक्छन् । यहाँका केघा देउराली र बुढाकोटमा घरवास सञ्चालन गरिएको छ ।

छैटौदिन बुढाकोटबाट राम्चे, गहते मनकामना हुँदै सुन्तलाबारी पुगेर बस्न सकिन्छ । यहाँका मनकामना र सुन्तलाबारीमा घरवास सञ्चालन गरिएको छ । सुन्तलाबारी बसेका पर्यटक सातौँ दिन त्यहाँबाट रामबाछा हुँदै स्याङ्जा बजार या पोखरा आउन सक्छन् ।

कम उमेरका बालबालिकादेखि ज्येष्ठ नागरिकसमेतले यस क्षेत्रमा पदयात्रा गर्न सक्ने भएको यो पदमार्गमा घरवाससहित अन्य पूर्वाधार पनि थपिँदै गएको उनको भनाइ छ ।

यस पदमार्गको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले विगत केही वर्ष यता लागातार रूपमा सहयोग गरिहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।

पदमार्ग क्षेत्रमा साइनेज पोष्ट राख्नेलगायत पूर्वाधार विकास र प्रवद्र्धनका विभिन्न कार्यक्रममा निरन्तर सहयोग गरिँदै आइएको उनले बताए ।

पदयात्रासँगै यहाँबाट उत्तरतर्फ देखिने लस्करै हिमाल, तलतिर सुरौदी खोला, वरपरको हरियाली पहाड हुँदै पारितर्फ भरतपोखरीको ऐतिहासिक मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोट, बरपाण्डेथुम निर्मल पोखरी, फोक्सिङकोट, कृष्ति आदिका मनोरम भू–भागले जो कोहीलाई लोभ्याउने गरेको छ । यहाँबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्यका साथै पदमार्ग क्षेत्रमा ऐतिहासिक एवम् धार्मिक सम्पदालाई विश्व पर्यटन बजारमा पु¥याउनका लागि आँफूहरू निरन्तर लागिरहेको महासचिव गुरुङको भनाइ छ ।

“यहाँका पर्यटकीय सम्भावना विश्व पर्यटन बजारमा पु¥याउन सकेमा त्यसबाट पदयात्रा पर्यटनमा महत्वपूर्ण फाइदा लिन सकिन्छ”, उनले भने, “यहाँ प्रचुर पर्यटकीय सम्भावनालाई नै उजागर गर्नका लागि हामी स्थानीयमा आशा र विश्वास जगाउँदै पूर्वाधार विकास एवम् प्रवद्र्धनका कार्यक्रमलाई सँगसँगै अघि बढाइरहेका छौँ ।”

पदयात्रासँगै यस क्षेत्रमा अवलोकन गर्न सकिने झन्डै ३०० वर्ष पुरानो ढोर मूलकोट दरबारसहित यहाँका गढी, शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घरलगायत क्षेत्र यहाँका अन्य महत्वपूर्ण आकर्षण हुन् । पदमार्गमा पर्ने भिरकोट कालिका, यहाँस्थित किल्ला, मिलेनियम गुफा, राइपुरस्थित जन्तेढुङ्गा, गहते मनकामना, देउपुजे ढुङ्गादेखि एक हजार ७०९ मिटर उचाइको ऐतिहासिकस्थल बुढाकोट प्रवद्र्धनको पर्खाइमा रहेको उनले बताए ।

खुला आकाश: पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन (भिडियो सहित)

काठमाडौँ । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पुरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् ।

कर्मचारी बस्ने ठाउँ छैन । धेरै कर्मचारीको मुहार अझै खुल्न सकेको छैन । असरल्ल जलेको गाडीकै अगाडि एक छेउमा पाल टाँगिएको छ । पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्को तर्फ कानुन व्यवसायी, अनि बिचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको छ ।

सर्वोच्च अदालतको पूर्ण बैठकले जतिसुकै विषम् परिस्थितिमा पनि इजलास बस्ने निर्णय गरेसँगै आजदेखि सञ्चालन गरिएको हो । आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा एउटा र कुमार रेग्मीको इजलासमा दुई थान बन्दी प्रत्यक्षीकरणका निवेदनमाथि सुनुवाइ भयो ।

गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भइ भौतिक संरचना जलेपछि इजलास राख्ने ठाउँसम्म नहुँदा पालमुनि इजलास सुरु गरिएको हो । “आगजनीले इजलास सञ्चालन गर्ने स्थान छैन,” सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, “सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायिक प्रक्रियालाई अगाडि बढाउन बन्दी प्रत्यक्षीकरणको मुद्दामा सनुवाइ अगाडि बढाउने निर्णयअनुसार आजदेखि पालमुनिबाटै इजलास सुरु गरिएको हो ।”

गत भदौ ३१ गते दुई वटा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरिएको थियो । सो निवेदनमाथि सुनुवाइ प्रारम्भ गरिएको हो । “सूचना प्रविधिको उपकरण, सवारीसाधन ठूलो मात्रामा क्षति भएको छ, क्षतिको तथ्याङक सङ्कलन भइरहेको छ” उनले भने, “सर्वोच्च, विशेष र जिल्ला गरी २३ अदालत भवनमा क्षति भएका छन्, केहीमा पूर्ण र केहीमा आंशिक क्षति भएका छन्, पूर्ण विवरण आउन बाँकी छ ।”

अदालतको भौतिक संरचना जलेर नष्ट भएसँगै मुद्दाका मिसिल पनि जलेर नष्ट भएका छन् । पूर्णरूपमा क्षति भएका अदालतका मुद्दाका मिसिल पनि पूर्णरूपमै नष्ट भएका छन् । आंशिक क्षति भएका अदालतमा केही मुद्दाका मिसिल बाँकी छन् ।

प्रवक्ता कोइरालाले भने, “पूर्णरूपमा नष्ट भएका मिसिलको हकमा सर्वोच्च अदालतको पूर्ण बैठकले निर्देशिका बनाउने निर्णय गरेको छ, त्यो बन्ने क्रममा छ, सोहीअनुसार कुन पक्षबाट मिसिल लिने भनेर निर्णय गर्नेछ ।” सर्वोच्च अदालतमा चालु अवस्थामा करिब २६ हजार मुद्दा थिए ।

प्रधानमन्त्री कार्कीलाई चिनियाँ राजदूतले भने-आवश्यक सहयोग गर्न तत्पर छौं

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । आज (बिहीबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत छनले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन्। काठमाडौंस्थित चिनियाँ राजदूतवासका अनुसार राजदूत छनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएका थिए । त्यस्तै दुई मुलुकबीचको मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउने विषयमा समेत कुराकानी भएको राजदूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार असल छिमेकीका नाताले चीनले नेपालका जनताको चाहनालाई सम्मान गर्ने भन्दै सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन तत्पर रहेको राजदूतले बताएका थिए । ‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं,’ राजदूत सोङले भनेका थिए, ‘आगामी दिनमा पनि सहयोग गर्छौं । सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ ।’ कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चिनियाँ राजदूतले भेटेको यो पहिलो पटक हो ।

राष्ट्रपति समक्ष मधेशी र महिला आयोगको प्रतिवेदन पेस

काठामाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम ती दुई आयोगले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ ।

मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गरेका हुन् ।

जेनजीलाई समेट्न मतदाता नामावली संकलन गर्न अध्यादेश ल्याइने

काठमाडौं । सरकारले अध्यादेशमार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता नामावली संकलन गर्ने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीसँगको छलफलमा आयोगको सहयोग मागेका हुन् ।

गृहमन्त्री अर्यालले जेनजीहरूको विद्रोहबाट नयाँ सरकार र नयाँ निर्वाचनको अवस्था सिर्जना भएको भन्दै उनीहरूलाई बाहिर राखेर निर्वाचन गर्न नसकिने स्पष्ट पारेका हुन् । उनले १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नरहेका जेनजीहरूको माग बमोजिम उनीहरूको मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानून संशोधन आवश्यक रहेको बताएका छन् ।

विद्यमान कानूनले निर्वाचनको मिति घोषणा भएपछि मतदाता थप्न नमिल्ने भएकाले आयोगले कानून संशोधनका लागि प्रस्ताव ल्याउन आग्रह गरे । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अहिले विषम परिस्थितिमा निर्वाचनको अवस्था आएकाले परिवर्तनको माग बमोजिम आवश्यक कानून संशोधन गरेर सबैको अधिकार सुनिश्चित गर्न आयोग बाधक नबन्ने बताएका छन् ।

अस्कर अवार्डमा ‘अञ्जिला’ सिफारिस

काठमाडौँ । ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’मा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्नेभएको छ । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ अन्तर्गत ‘अन्तरराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको छ ।

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।

उनले भने, “चलचित्रको गहन मूल्याङ्कनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर हामीले सो चलचित्रलाई छनोट गरेका हौँ ।”

चलचित्र ‘अञ्जिला’ नेपाली महिला फुटवल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले नै अभिनय गर्नुभएको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेको हो । उक्त चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीको विषयमा बनेको चलचित्रले नेपालमा प्रतिनिधित्व गर्नु गौरवको विषय रहेको बताए ।

“नेपालले खेलमा राम्रो प्रगति गरिरहेको छ, सोही कारण हामीले खेलाडी सुब्बाको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र तयार गरेका हौँ । यसले नेपालको सुन्दरतासँगै महिला खेलाडीको सङ्घर्षपूर्ण यात्रा र सफलताको कथा समेटेको छ । यो अन्यका लागि प्रेरणा पनि बन्ने छ”, निर्माता श्रेष्ठले भने ।

चलचित्र ‘अञ्जिला’मा खेलाडी सुब्बासँगै दयाहाङ राई, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धी तामाङलगायतका कलाकारले अभिनय गरेको छ । निर्माण पक्षका अनुसार गत वर्ष नेपालमा प्रदर्शन भएको सो चलचित्रले रु नौ करोडको हाराहारीमा व्यापार गर्न सफल भएको थियो ।