`

टस जितेर सुदूरपश्चिमविरुद्ध फिल्डिङमा चितवन

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ ।

सुदूरपश्चिम अपराजित १० अङ्कका साथ शीर्ष स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्ने दाउमा छ । पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफ आशाका लागि आजको खेलमा विजयी हुनैपर्ने बाध्यता छ ।

जेन-जी आन्दोलनमा जलाइएको भाटभटेनी गोदाम तीन महिनामै खुल्यो (तस्बिरहरू)

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण गम्भीर क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि आफ्नो गोदाम पुनः सञ्चालनमा ल्याएको छ। बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।

नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट मानिने भाटभटेनीका १२ स्टोरमा आन्दोलनका क्रममा करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो। आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापन पुनः निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा आएको हो।

व्यवस्थापनका अनुसार ठूलो आर्थिक नोक्सानीका बाबजुद सेवा प्रवाहलाई नियमित बनाउन काम तीव्र गतिमा अघि बढाइएको थियो। आजदेखि गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली पनि क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ।

तस्बिरहरु :- 

 

तयारी छोटो भए पनि उपाधि जित्छौं : एपीएफ

काठमाडौं । सशस्त्र प्रहरी (एपीएफ) की कप्तान अनिता बस्नतेले पहिलोपल्ट हुन लागेको साफ महिला क्लव च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवारदेखि आगामी पुस ५ गतेसम्म क्लव च्याम्पियनसिप हुनेछन् । प्रतियोगिताअगाडि बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा एपीएफका कप्तान अनिताले तयारी पूरो भएको र उपाधि जित्ने विश्वास व्यक्त गरेकी हुन् ।

कप्तान तथा प्रशिक्षकहरूको पत्रकार सम्मेलनमा अनिताले उत्साहका साथ आफूहरु पहिलो साफ वुमेन्स क्लब च्याम्पियनससिप खेल्न उत्साहित रहेको बताइन् । टिम ट्रेनिङ राम्रोसँग गर्न नपाए पनि राम्रो नतिजा ल्याउने विश्वास उनको छ । दक्षिण एशियाली फुटबलको स्तरवृद्धि गर्ने उद्देश्यले शुरु गरिएको पहिलो संस्करणमा नेपालको च्याम्पियन एपीएफ क्लव, भारतको इस्ट बंगाल एफसी, बंगलादेशको नासरिन स्पोटर््स एकेडेमी, भूटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराची सिटी एफसी गरी कुल पाँच टोलीले चुनौती प्रस्तुत गर्दैछन् । यो च्याम्पियनसिपले दक्षिण एशियाली फुटबलमा नयाँ अध्याय थपिँदैछ । अनिताले यो प्रतियोगितालाई लिएर उत्साहित भएको पनि बताइन् ।

‘नेपालमै पहिलोपटक साफ क्लब च्याम्पियनसिप हुँदैछ, हामी एकदमै उत्साहित छौं । राष्ट्रिय टोलीका खेलका कारण क्लबबाट राम्रोसँग ट्रेनिङ गर्न पाएनौं । तर हामी पूर्ण रूपमा तयार छौं । सबै एकजुट भएर खेले हामी राम्रो नतिजा मात्र होइन, उपाधि नै जित्न सक्छौं’, उनले भनिन् । एपीएफका मुख्य प्रशिक्षक जीवेश पाण्डेले पनि राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । प्रशिक्षक पाण्डेले टिम ट्रेनिङ राम्रोसँग गर्न नपाए पनि आफ्नो टोलीले सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गरे । टिममा उपलब्ध खेलाडीहरूको सही सदुपयोग गर्ने उनको भनाई छ ।

‘हामीसँग जुन खेलाडी छन् । तिनैबाट उपाधि जित्छौं । गत वर्ष पनि यही टोलीले घरेलु लिगको उपाधि जितेको हो । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिला फुटबलको झण्डा फहराउने सुनौलो अवसर पाएका छौं र मानसिक रूपमा पनि हामी पूर्ण तयार छाैं,’ उनले भनेका छन् । ट्रान्सपोर्ट युनाइटेडका प्रशिक्षक यशी वाङ्चुक र कप्तान सुनिता राईले घरेलु लिगमा दोस्रो भएको र ९९ प्रतिशत खेलाडी राष्ट्रिय टिममा रहेको उल्लेख गरेको छ । तयारीमा पनि राम्रो भएकाले सुखद् नतिजा ल्याउने ट्रान्सपोर्टको विश्वास छ । पाकिस्तानको कराची सिटी एफसीका प्रशिक्षक अदिल रिज्की र कप्तान मारिया खानले पनि आफ्नो क्लब नयाँ रहे पनि सुखद प्रदर्शन गर्ने उल्लेख गरेका छन् ।

दशरथ रंगशालामा खेल्न निकै उत्साहित पनि रहेको कराचीले बताएको छ । नासरिन स्पोटर््स एकेडेमीका प्रशिक्षक मोनिर हुसेन र कप्तान साजिदा अक्तेरले नेपाली भूमिमा दुईपल्ट महिला टोलीले उपाधि जितेकाले केही दबाब रहेको उल्लेख गरेको छ । साथै टोलीमा अधिकांश युवा खेलाडी रहेकोले क्लबले जनाएको छ । भारतीय क्लब भने फ्लाइट ढिला भएकाले पत्रकार सम्मेलनमा उपस्थित भएन ।

प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ । लिगमा शिर्ष दुई स्थान प्राप्त गर्ने टोलीले उपाधिका लागि खेल्ने उल्लेख छ । पहिलो संस्करणको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् । सहभागी तीन टोलीले दुई हजार अमेरिकी डलर प्राप्त गर्ने एन्फाले उल्लेख गरेको छ । सबै टोली बुधवार नै नेपाल आइपुगेका छन् । उनीहरूले च्यासल रंगशाला र भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा अभ्यास गर्ने तालिका छ । यस प्रतियोगिताको टिकट साधारण प्यारापिटतर्फ तीन सय र भिआइपी पारापिटमा पाँच सय रुपैयाँ तोकिएको छ ।

 

धवलागिरिमा एक सय २९ योजना

म्याग्दी ।  जिल्लाको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने एक सय २९ वटा आयोजना तथा कार्यक्रम छनोट गरेको छ ।

गत असारमा भएको २४औँ गाउँसभाले पुँजीगत शीर्षकमा पूर्वाधारतर्फ रु १० करोड ७५ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ५२ लाख, आर्थिक विकासतर्फ रु ५२ लाख पाँच हजार र सामाजिक विकासतर्फ रु दुई करोड १५ लाख १६ हजार बजेट बिनियोजन गरेको थियो ।

गाउँपालिकाले बजेट विनियोजन गरेका एक सय एक, सङ्घीय र प्रदेश सरकारका हस्तान्तरित, समपूरक र विशेष अनुदानका नौ तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका १९ वटा योजना रहेका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिएका छन् ।

पूर्वाधारतर्फ सडक निर्माण, स्तरोन्नति, पदमार्ग, खानेपानी, नदी तथा पहिरो नियन्त्रण, ढल व्यवस्थापन, भवन, विद्यालय पूर्वाधारलगायत योजना छन् । दुई वटा योजनाको ठेक्का आह्वान र १३ वटा योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताएका छन् । उनका अनुसार रु १० लाखभन्दा कम बजेटका योजना उपभोक्ता समिति र सोभन्दा बढीका ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने नीति पालिकाले लिएको छ ।

यही मङसिरभित्र योजना सम्झौता गरी चैतसम्म अन्तिम भुक्तानी गर्ने लक्ष्य राखिएको शर्माले जानकारी दिएका छन् । उनका अनुसार उपभोक्ता समितिको सहजताका लागि पालिकाको केन्द्र मुनामा रहेको कार्यालयमा आउन अपायक पर्ने मुदी, मराङ, ताकम र मल्कवाङको वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्ने व्यवस्था मिलाएको छ ।

यस वर्ष प्रशासकीय भवन, मुदीको वडा र ताकमको अस्पताल भवन निर्माणलाई पूर्णता, गुर्जा र भेडिखाल्टा बस्तीलाई सडक सञ्जालमा जोड्ने योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताएका छन् ।

जलजलामा पर्यटन महोत्सव, स्थानीय मदिराको ब्राण्डिङ र युवालाई बिनाधितो सहुलियत ब्याजदरमा ऋण दिने कार्यक्रम पनि कार्यान्वयन गरिने गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताएका छन् ।

एनपिएलः भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

काठमाडौँ । काठमाडौँ गोर्खाजका भीम सार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी बनेका छन् । भीमले आज पोखरा एभेन्जर्स विरूद्ध १९ बलमा ५ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे ।

एनपिएलमा यसअघि यति छिटो कुनै पनि नेपाली ब्याटरले अर्धशतक प्रहार गर्न सकेका थिएनन् । जारी सिजनमा सुदूरपश्चिम रोयल्समा आबद्ध विदेशी खेलाडी हर्मित सिंहले काठमाडौँ विरूद्ध १९ बलमा अर्धशतक जोडेका थिए ।

हर्मितको उक्त रेकर्ड आज भीमले बराबरीसमेत गरे । यसअघि गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ । आजको भीमको अर्धशतकसँगै यो संस्करणमा अर्धशतकको सङ्ख्या २९ पुगेको छ । २९ अर्धशतक हिर्काउनेमा २५ खेलाडी सामेल छन् । यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पञ्चालले दुईरदुई अर्धशतक हिर्काएका छन् ।

सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, जिमी निशम, एडम रोसिङटन, चितवनका डेविड मलान र अर्जुन साउद, काठमाडौं गोर्खाजका जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन् ।

कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

अमेरिकामा नवजात हेपाटाइटिस–बी खोप विवादमा

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत खोपप्रति शङ्का राख्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले गठन गरेको नयाँ सल्लाहकार समूहले नवजात शिशुका लागि हेपाटाइटिस–बी खोपको पुनरावलोकन गर्न लागेपछि अमेरिकामा चिकित्सक तथा वैज्ञानिक समुदायबीच तीव्र बहस चर्किएको छ ।

धेरै चिकित्सकको कडा विरोधका बीच एटलान्टास्थित ‘खोप अभ्यास सम्बन्धी सल्लाहकार समिति’ (एसिआइपी) ले बिहीबारदेखि दुईदिने बैठक प्रारम्भ गर्दै खोप ढिलाइ गर्ने कि नगर्ने भन्ने विषयमा औपचारिक छलफल गर्न लागेको हो ।

केनेडीको नेतृत्वमा समितिले दशकौँदेखि सुरक्षित र प्रभावकारी मानिँदै आएको धेरै खोपको व्यापक समीक्षा आरम्भ गरिसकेको छ । खोपविज्ञानका स्थापित प्रमाणतर्फ भने उनी स्वयंप्रति शङ्का रहेको र खोपविरोधी अभिव्यक्तिहरू सार्वजनिक रूपमा गर्दै आएको पृष्ठभूमिले अमेरिकी चिकित्सा तथा वैज्ञानिक वृत्तमा गम्भीर चिन्ता उत्पन्न गरेको छ । खोपको दर घट्ने र दादुरा जस्ता घातक रोगको प्रकोप पुनः बढ्ने जोखिमका बारेमा विज्ञहरूले बारम्बार चेतावनी दिँदै आएका छन् । सन् २०२५ मा दादुरा प्रकोपकै कारण सयौँले ज्यान गुमाउनु परेको तीतो अनुभव अहिले पनि ताजा छ ।

सङ्क्रामक रोग तथा बालरोग विशेषज्ञ सीन ओ’लेरीले समितिको योग्यतामाथि प्रश्न उठाउँदै भने, “एसिआइपीले गर्न खोजिएको परिवर्तन कुनै तथ्य वा वैज्ञानिक प्रमाणमा होइन, विचारधारामा आधारित देखिन्छ ।”

सन् १९९१ देखि अमेरिकी स्वास्थ्य निकायले नवजात शिशु जन्मिएपछि पहिलो २४ घण्टाभित्र हेपाटाइटिस–बी खोप अनिवार्य रूपमा लगाउन सिफारिस गर्दै आएको छ । यो भाइरल कलेजो रोगले सङ्क्रमित व्यक्ति दीर्घकालीन कलेजो क्षति, सिरोसिस र कलेजो क्यान्सरको जोखिममा पार्छ । “हेपाटाइटिस–बी बाट सङ्क्रमित ९० प्रतिशत नवजात बालकमा पुरानो कलेजो रोग देखिन्छ, जसको एक चौथाइले अन्ततः यही रोगका कारण ज्यान गुमाउँछन् । यी सबै मृत्यु पूर्ण रूपमा रोक्न सकिने थिए”, ओ’लेरीले स्मरण गराएका छन् ।

तर खोपविरोधी समूह र राष्ट्रपति ट्रम्प दुवैले यो अभ्यासलाई पछाडि धकेल्दै आएका छन् । ट्रम्पले सेप्टेम्बरमा सार्वजनिक रूपमा दाबी गर्दै ‘हेपाटाइटिस–बी यौन सम्बन्धबाट सर्ने रोग भएकाले बच्चाले १२ वर्षभन्दा अघि खोप आवश्यक छैन’ भन्ने तर्क प्रस्तुत गरेका थिए ।

चिकित्सकहरूले यस्तो दाबीलाई ‘पूर्ण रूपमा गलत र खतरनाक’ भन्दै कडा खण्डन गरेका छन् । उनीहरूको भनाइमा नवजात शिशुहरू आमा गर्भावस्था वा प्रसवका क्रममा सङ्क्रमित हुन सक्छन् र खोप ढिलाइ गर्दा अमेरिकामा स्वास्थ्य सेवामा रहेको असमान पहुँचका कारण समग्र खोप दर घट्ने र जोखिम अझ बढ्नेछ ।

यसैबीच, मिनेसोटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ४०० भन्दा बढी अध्ययनसमेत समेटिएको ताजा समीक्षामा हेपाटाइटिस–बी खोप ढिलाइ गर्दा कुनै फाइदा नदेखिएको र बरु ‘वर्तमान अमेरिकी दिशानिर्देश परिवर्तन गर्ने गम्भीर खतरा’ मात्र देखिएको निष्कर्ष निकालेका छन् ।

सङ्घीय दिशानिर्देशका आधारमा नै धेरै खोप स्वास्थ्य बीमाबाट कभर हुने–नहुने निर्धारण हुने भएकाले एसिआइपीका सिफारिसहरूले अमेरिकामा व्यापक प्रभाव पार्छन् एकल खोपको लागत सयौँ डलर पर्ने अमेरिकी स्वास्थ्य प्रणालीमा यो निर्णय प्रत्यक्ष रूपमा लाखौँ परिवारसँग सम्बन्धित हुन्छ ।

तर केनेडीको नेतृत्वप्रति अविश्वास बढ्दै जाँदा समितिको प्रभावक्षमता कमजोर हुँदै गएको देखिन्छ । डेमोक्रेटिक नेतृत्वका थुप्रै राज्यले ‘अब एसिआइपीको नयाँ सिफारिस नमान्ने’ घोषणा गरिसकेका छन् ।

बालरोग विशेषज्ञ पल अफिटले भने, “राज्यहरूले आफ्नै सल्लाहकार समिति गठन गर्न थालेका छन्, किनकि उनीहरू रोबर्ट एफ. केनेडी जुनियरजस्तो खोपविरोधी तथा विज्ञान अस्वीकारकर्ता व्यक्तिको नेतृत्वमा भइरहेको प्रक्रियामाथि भरोसा गर्न सक्दैनन् ।”

उनको भनाइमा, “अब समितिले अर्को कुन जोखिमपूर्ण प्रस्ताव अघि सार्ने हो भन्ने भागदौडमा एसिआइपीका बैठकहरू हेर्ने जो कोहीले पनि हतारिँदै सास रोकेर बस्छन् ।”

घोषित मितिमा निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिन तयार छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीब्र विकासको मार्गमा अग्रसर गराउनु पर्ने सरकार प्रमुख दायित्व भएको बताएकी छिन् । ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाडौंमा सम्पन्न २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्णरुपमा तयारीमा जुटेको पनि बताइन् ।

उनले जेन–जी आन्दोलनले उठाएका मागहरु सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि बताइन् । जेन–जी आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उहाँले ती मागहरु पूरा सबै कटिवद्ध हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘भदौ २३ र २४ को जेन–जी आन्दोलनसँगै घटेका घट्नाहरुबाट हामीले एउटा पाठ सिक्न परेको छ । मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, आम जनतालाई रोजगारी, गास, बास, कपासको सुनिश्चितताको माग गरेको छ । ती मागहरुलाई पूरा गर्न सबैले कटिवद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न आवश्यक छ ।’

उनले भनिन्, ‘यसका अतिरिक्त सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीब्र विकासको मार्गमा अग्रसर गराउनु पर्ने हाम्रो दायित्व हो । तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको छ । यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा समेत गर्दछु ।’ उनले संस्कृतिको संरक्षणसँगै पर्यटनसँग जोड्नुपर्ने पनि बताइन् । उनले उपत्यकाका नेवार समुदायलाई योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा शुभकामना समेत व्यक्त गरिन् ।

 

मौलिक पर्व यःमरी पुन्ही मनाईंदै नेवार समुदाय

भादगाउँ ।  नेवार समुदायले मनाईने चाडपर्वहरुमध्ये प्रमुख मौलिक पर्व हो, ‘यःमरी पुन्ही’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमाको अवसरमा बिहीबार धुमधामले मनाइँदैछ । नेपाल सम्बतको दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्ही’ पनि भनिन्छ ।
नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाड पर्वहरु मनाउने गर्दछन् । मौसम अनुसारको खानपान गर्न सिपालु नेवार समुदायले खाने पकवानको नामबाटै चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्ही पर्वको नाम स्वादिष्ट पकवान यःमरीबाट प्रख्यात छ ।

“विशेषगरी चामलको पिठोबाट बनाइने पकवान यःमरी खाने पूर्णिमाको दिन मनाइने भएकाले यसपर्वको नाम यःमरी पुन्ही रहन गएको हो,” संस्कृतिकर्मी हरिशरण राजोपाध्यले भन्नुभयो । कृषि कर्म गर्नेहरुका लागि यो पूर्णिमाठूलो पर्व मानिन्छ । यसदिन पुर्वी पहाडी जिल्लाका किराँत समुदायले उभौली पर्व मनाउँछन भने उपत्यकाका ज्यापु समुदायले ज्यापु दिवसका रूपमा मनाउने गर्दछन् । यस्तै खसआर्य समुदायले यस दिन कुल पूजा, देवाली पुजा गर्ने प्रचलन रहेको छ ।

नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्नीको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ ।

नयाँ धान भित्र्याएको खुशीयालीमा मनाउने यो चाडमा भर्खरै भित्रार्याएको धानको चामलबाटै यःमरी बनाई नयाँ धान राखिएको भकारी एवं भण्डारमा यःमरीसँगै लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी ९मुतुमारी० बनाई पूजा गरी चढाउने गरिन्छ ।

धानका भकारी र अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी प्रसन्न भई घर अन्नले भरिपूर्ण हुनुका साथै धनलाभ हुने जनविश्वास रही आएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा बिहे भएका छोरीचेलीलाई बोलाएर परिवारसँगै बाँडेर खाने चलन रहेको छ ।

यःमरी पुन्हीको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने प्रचलन रहेको छ । यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो, जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ । यःमरी माग्दा गाइने गीत यस प्रकार छ ः

त्य छिं त्य, बक छिं त्य
थाबले यागु सामा वलः, यःमरी छगः ति यः
व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती
न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु, उकि दुने चाकु
व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा

अर्थात चार माना, दुई माना अट्ने भाँडामा देउ, यो सालको बाली भित्रियो यःमरी एउटा देउ, यःमरी दिए तरुनी नदिए चाउरी बुढी, दुईटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी जन्मिन्छ, मानापाथी भरिभरि देउ, यःमरी मीठो, त्यसभित्र चाकु, दिए तरुनी नदिए बुढी ।

उल्लेखित लोकभाका आजका नयाँ पुस्तालाई गाउन त आउँछ, तर उनीहरु त्यो भाका गाउँदै यःमरी माग्न जान छाडेका छन । युवा वर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोकसंस्कृतिबाट विमुख हुँदैं जाँदा यःमरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदैं गएको संस्कृतिकर्मीहरु बताउँछन् ।

यःमरी नयाँ धानको चामलको पिठोलाई शुद्ध घिउ हालेर तातो पानी हाल्दै मुछ्नु पर्दछ । यःमरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ । नरम हुने गरी मुछिएपछि हावाबाट बचाउन सफा कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पीठो कडा हुन्छ । पिठो कडा भएमा यःमरी बनाउन कठिन पर्नेका साथै यःमरी फुट्छ ।

त्यसपछि पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजुर जस्तै चुच्चो पर्दै जान्छ । तल्लो भागमा खोक्रो ठाउँ बन्छ । खोक्रो भागमा तिल र चाकुको मिश्रण राखेर बन्द गरी यःमरी तयार गरिन्छ । पछिल्लो समय यःमरीमा खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राखी पकाउने चलन छ ।

यःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँढमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ । सो हाँसीमा यःमरी राखेर वाफले पकाइन्छ । करिब १० मिनेट जति वफाएपछि यःमरी तयार हुन्छ ।

पानीको वाफबाट पकाइने यो पकवान निक्कै स्वादिलो हुन्छ । धेरैैलाई मन पर्ने रोटी भएकाले नै यसको नाम यःमरी अर्थात मनपर्ने रोटी रहन गएको इतिहास तथा संस्कृतिविद प्राडा पुर्षोत्तम लोचन श्रेष्ठ बताउँछन् । पछिल्लो समय यःमारी मःमः पकाउने भाँडोमा पकाउने चलन छ । नेवार समुदायमा यःमरीको सांस्कृतिक एवं धार्मिक महत्व रहेको छ । धन सम्पत्ति वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमरी पुन्हीका दिन सबैले यःमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गरिन्छ ।

विशेषगरी जन्मदिन लगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवान हो । यःमरी मठमन्दिर, बालबालिकाको दुई र चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको प्रा।डा श्रेष्ठले बताए । “बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म यःमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ,” उनले भने ।

त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केही समयअघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ । त्यसबेला पनि कुनै कुनै समुदायमा एक सय आठवटा यःमरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा, मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर लडुसँगै यःमरी खसाल्ने चलन छ ।

वैज्ञानिक हिसाबले पनि यःमरीको महत्व रहेको पाईन्छ । जाडो महिनामा मनाईने यःमरी पुन्हीमा पकाइने पक्वान यःमरीमा रहेको चाकु र तिलले शरिरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ ।

यस पुर्णिमाका रातलाई सबै भन्दा लामो रातको रुपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेहरुलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने लोककथन पाइन्छ । यस पूर्णिमाको भोलिपल्टदेखि यःमरीको चुच्चो जत्तिकै दिन लम्बिन्दै जान्छ भन्ने जनविश्वास रहेको छ ।

धार्मिक कथन अनुसार तत्कालीन पाँचाल देशमा सुचन्द्र नाम गरेका दानी महाजनको पतिपत्नी दुबैले गरिबहरूप्रति अत्यन्त दया राखी खानेकुरा र लुगाफाटा दान गर्ने गर्दथे । उनीहरुको दयालु स्वभावको सर्वत्र चर्चा थियो । एक दिन कुबेरले यी दुवै पति पत्नीको एक पटक परीक्षा गर्नुप¥यो भन्दै गरिवको भेष धारण गरी सुचन्द्रको घर आँगनमा माग्न गएछन् । गरिब रूप धारण गरेको कुबेरलाई सुचन्द्र दम्पत्तिले साहै्र श्रद्धापूर्वक घरभित्र लगेर नयाँ लुगा लगाउन दिई मीठो मीठो खाने कुरा खुवाएछन् । त्यसपछि गरिवरूपी कुबेरलाई साह्रै लज्जा भएछ र उनले आफ्नो सक्कली रूपमा दर्शन दिएछन् । केहीबेर ज्ञानगुणका कुराहरू गरेछन् । त्यसपछि यःमरी बनाउने विधि सिकाई बफाउने तामाको भाडा समेत दिई अन्तघ्र्यान भएछन् ।

कुबेरले सिकाएबमोजिम सुचन्द दम्पत्तीले नयाँ चामलको पिठोको यःमरी, कुबेर र अन्नपूर्ण देवी बनाइ अन्नको भकारीमा ४ दिनसम्म पूजा गरेछन् । यःमरी आफूले खाई अरूलाई पनि बाँडेछन् । त्यसपछि उनीहरुले अन्नहरू जति दान दिन्छन् त्यत्ति नै भरिने भएछ । श्रीसम्पत्ति पनि अभिवृद्धि भएछ । कुबेरको प्रतीक यःमरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यस बेलादेखि नै यो परम्परा चलेको हो भन्ने जनश्रुति छ ।

यो चाड बौद्धमार्गीहरूले पनि मनाउँदै आएका छन् । बौद्धमार्गीहरूले यःमरीको प्रतीकलाई चैत्यको रूप हो भन्छन् भने हिन्दू मार्गी नेवारहरूले सिन्हम्हुको प्रतीक भनेर अथ्र्याउँदै आएका छन् ।

ओली र पोखरेलबीच तीन घण्टा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आज (बिहीबार) तीन घण्टा लामो भेटवार्ता गरेका छन् । एमाले नेता महेश बस्नेतका अनुसार पोखरेल आफ्नो समूहका नेताहरू लिएर ओलीसँग भेट्न गुन्डु पुगेका हुन् । पोखरेलसँग अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र योगेश भट्टराई पनि सहभागी थिए ।

उपाध्यक्ष पोखरेलले यसअघि नै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरिसकेका छन् । अध्यक्ष ओलीले भने सहमतिमै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । महाधिवेशनको पूर्वसन्ध्या भएको यस भेटवार्तालाई चासोका साथ हेरिएको छ । बैठकमा भएको कुराकानीको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।

अहिले दुवै पक्ष टिम बनाउन सक्रिय बनेका छन् । ओलीले अन्तिम समयमा मात्र टिम बनाएर धेरै नेतालाई ‘इङगेज’ गर्ने रणनीति लिएको बताइन्छ । पोखरेलतर्फ अवसरको अपेक्षामा रहेका केही नेता खुलेर साथ नदिँदा दुई समूहका अनुहारहरू प्रष्ट नदेखिएको स्रोतको भनाइ छ । यसअघि एक कार्यक्रममा ओलीले ‘आफूले नाम पढेर सुनाएपछि महाधिवेशन सकिने’ टिप्पणी गरेका थिए । पोखरेलको टिम भने पूर्वराष्ट्रपति विद्या भण्डारीको सपोर्टमा ओलीलाई चुनौती दिने तयारीमा छन् । मंसिर २९ सम्म नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुने महाधिवशेनका लागि एमालेले मंसिर १३ गते देशभरका प्रतिनिधि छानेको थियो । प्रतिनिधि छनोटको काम सकिएसँगै एमाले नेता–कार्यकर्ताहरु आन्तरिक जोड घटाउमा व्यस्त छन् ।

अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का जस्तै भइसकेको छ । ओली पक्षले प्रचार सामग्री (पोस्टर) मा ओलीको तस्बिर राख्दै ‘मेरो होइन माटोको बोली, फेरि एक पटक केपी ओली’ नारा तय गरेको छ भने पोखरेल पक्षले जबज प्रणेता दिवंगत मदन भण्डारीको तस्बिर पृष्ठभूमिमा राख्दै ‘जोगाउन लोकतन्त्र र देशको अस्तित्व, एमालेलाई दृढ र सन्तुलित नेतृत्व’ नारा तय गरेको छ । ओली समूहको प्यानल बनेपछि मात्र आफ्नो प्यानल बनाउने पोखरेल समूहको रणनीति देखिन्छ । त्यसो गर्दा ओली पक्षका असन्तुष्ट नेताहरुलाई आफ्नो पक्षमा तान्न सकिने पोखरेल पक्षको विश्वास छ ।

पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समूह र विगतको नेकपाका १० बुँदे पक्षधर नेताहरुले साथ दिने देखिएको छ । पोखरेल पक्षले सुन्धारास्थित एक होटल र थापागाउँस्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयलाई सम्पर्क स्थल बनाएर निकटका नेता, कार्यकर्ता र प्रतिनिधिहरुसँग भेटघाट र छलफल गरिरहेकव ओलीले भने अस्थायी निवास भक्तपुरको गुण्डुमै अधिकांश भेटघाट गर्ने गरेका छन् । आफू निकट नेताहरुसँगको भेटमा ओलीले छनोट भएका प्रतिनिधिहरुमध्ये ८० देखि ८५ प्रतिशत आफ्नो पक्षमा रहेको सुनाउने गरेका छन् । महाधिवेशनमा करिब २२ सय हाराहारी प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

 

 

साहब आलमको ह्याट्रिकमा पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गोर्खाज प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगिसकेको छ । आजको खेलमा काठमाडौँले पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको हो ।

काठमाडौँले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा अलआउट भयो । पोखराका ऋषि धवनले सर्वाधिक ५४ रन हिर्काए पनि जितका लागि पर्याप्त हुन सकेन । बलिङमा काठमाडौँका शाहब आलमले ह्याट्रिकसहित छ विकेट लिए ।

यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । काठमाडौँका बेन चाल्र्सवर्थ र भीम सार्कीले अर्धशतकीय पारी खेले । बेन ६४ र भीम ५५ रनमा आउट भए ।

पोखराका धनञ्जय लक्षनले चार, कप्तान कुशल भुर्तेलले दुई विकेट हात पारे । यो जितसँगै काठमाडौँ १० अङ्कसहित प्लेअफमा पुग्दा पोखराले छ खेलबाट चार अङ्क जोडेको छ । पोखराले अब एक खेल खेल्न बाँकी छ ।

किरात समुदायले धुमधामसँग मनाए उधौली पर्व (तस्बिरहरु)

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किरात समुदायले प्रकृतिको सम्मानका रूपमा उधौली पर्व मनाएका छन् ।

किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाएका छन् । ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पुर्खारधामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गरेका हुन् ।

लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेकोमा आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली साकेला अर्थात् उधौली पर्व मनाएका हुन् ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउने गर्दछन् ।

सोही अवसरमा ललितपुरको नखिपोटमा सामूहिक रुपमा साकेला नाची उधौली मनाइएको छ ।

एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग हुने, टेण्डर आह्वान

काठमाडौं । नेकपा एमालेको आसन्न एघारौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यस पटक पनि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने जानकारी दिए । एमालेले यसअघि चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेशिन प्रयोग गरेको थियो । ‘हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गर्ने निर्णय गरेका छौँ’ ज्ञवालीले भने, ‘टेन्डर आह्वान भइसकेको छ । चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ ।’

महाधिवेशनले यस पटक एमालेमा १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्नेछ । गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी संख्या घटाएको थियो । एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुनेछन् । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ ।

बजारमा दुई दर्जन इन्टरनेट कम्पनीहरुको हालिमुहाली : कसको वर्चस्व कति ?

काठमाडौं । नेपाली बजारमा इन्टरनेट कम्पनीहरुको बाढी नै छ । करिव दुई दर्जन बढी कम्पनीहरु प्रतिष्पर्धामा छन् । उनीहरुले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भन्दा पनि ग्राहक संख्या बढाउन होडबाजी गरिरहेका हुन्छन् । वर्ल्डलिंक, डिसहोम, नेपाट टेलिकमसहित करिव दुई दर्जन कम्पनीको अहिले बजारमा हालिमुहाली छ । बजारमा प्रतिष्पर्धा गर्नेमध्ये सबैभन्दा बढि बजार हिस्सा वर्ल्डलिंकको रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

प्राधिकरणकाअनुसार असोजसम्ममा बजार हिस्साको हिसावले वर्ल्डलिंकका सबैभन्दा ग्राहक छन् । वर्ल्डलिंकका ग्राहक १० लाख ३६ हजार पुगेका छन् भने इन्टरनेट कम्पनीहरुमा सबैभन्दा बढी बजार हिस्सा कायम गर्न सफल वर्ल्डलिंक पछिको डिस होम हो । डिसहोमका ग्राहक ३ लाख ७७ हजार पुगेका छन् । बजार हिस्साको हिसावले तेस्रो नम्बरमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ । टेलिकमका ग्राहक ३ लाख ६० हजार पुगेका छन् । बजार हिस्साको रुपमा चौथो नम्बरमा भायनेट रहेको छ ।

बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक ३ लाख २५ हजार पुगेका छन् भने पाँचौ नम्बरमा क्लासिक टेक रहेको छ । क्लासिक टेकले असोज मसान्तसम्मा २ लाख ५९ हजार ग्राहक संख्या पुर्‍याएको छ । बजार हिस्साका रुपमा छैटौं नम्बरमा सुबिसु इन्टरनेट देखिएको छ । सुबिसुका ग्राहक २ लाख ५४ हजार पुगेका छन् भने सातौँ नम्बरमा वेभसफर देखिएको छ । अहिले बजारमा वेभसफरका ग्राहक १ लाख ७६ हजार रहेका छन् ।

यस्तै बजार हिस्साको हिसावले आठौँ नम्बरमा टेकमाइन्सले देखिएको छ । टेकमाइन्सका ग्राहक १ लाख १५ हजार रहेका छन् भने नबौँ नम्बरमा वाइफाई नेपाल, दशौँ नम्बरमा सिजि कम्युनिकेशन रहेको छ । इन्टरनेट कम्पनीहरुले यसरी ग्राहक तानातानमा उत्रिएका छन् । अहिले पनि उपभोक्ता भने इन्टरनेट प्रयोगमा सन्तुष्ट देखिँदैनन् । इन्टरनेट प्रदायक कम्पनीहरुले इन्टरनेटमा देखिएका समस्याहरु समाधानमा समयमै समाधान गर्न चासो नदेखाउने गरेको गुनासाहरु गर्ने गरेका छन् ।

 

सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौं : अध्यक्ष कार्की

काठमाडौँ । लामो समय पीपीए रोकिएका बेला सरकारले १० मेगावाटसम्मका आयोजनाको पिपीए खुला गर्ने तयारी थालेको छ । यसका लागि विद्युत् प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेर उर्जामन्त्रालयमार्फत थप निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको छ । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले १० मेगावाट माथिका आयोजनाहरूमा पनि सरकारले पीपीए खोल्दै जानुपर्ने बताए । सरकारले अनुमति दिएको खण्डमा विदेशमा बिजुली निर्यात गर्न आफूहरू तयार रहेको पनि बताए । यसमा निजी क्षेत्रको धारणा र विद्युत् उत्पादनसँगै विक्रीका बारेमा ऊर्जा उत्पादकहरूको संस्था स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश :-

लामोसमय पिपीए रोकिएका बेला सरकारले १० मेगावाटसम्मका आयोजनाको पीपीए गर्ने तयारी गरेको छ, यो ठिक हो ?

–१० मेगावाटसम्मकालाई मात्रै पीपीए खोलेर हामीले खोजेअनुसारको विकास र प्रगति हुन सक्दैन । हामीले जुन खालको १० वर्षमा १० हजार मेगावाट बेच्ने भारतलाई भनेर हामीले सपना देखेका छौँ । बङ्गलादेशसँग अहिले बिजुली बेचिरहेका छौँ र भोलिका दिनमा अरू बढी बेच्ने योजना छ । अहिले भर्खरै पनि तीन वटा ट्रान्समिसन लाइन थप बनाउने भनेर नेपाल सरकार र भारत सरकार बीच सहमति भएको छ । त्यो सहमति नेपालको बिजुली भारतमा लैजानका लागि भएको हो । उनीहरू बिजुली लैजान तयार हुँदै जाने तर हामी पीपीए नगरेर १० मेगावाटसम्म मात्रै भनेर बसेर हुँदैन । यसले बिजुली निर्यात गर्ने हाम्रो सपना साकार हुनलाई सकस पुग्छ । त्यसले गर्दा १० मेगावाट माथिका आयोजनाहरूमा पनि सरकारले पीपीए खोल्दै जानुपर्छ ।

पीपीए गर्न बाँकी आयोजना अहिले कति छन् ?

–विद्युत् प्राधिकरणमै निवेदन दिइसकेका १३ हजार मेगावाट भन्दा बढी छन् । वास्तवमा सरकारले एउटा दीर्घकालीन योजना लिनुपर्छ । किनभने हामी २०३५ सालसम्म २८ हजार ५ सय मेगावाट बनाउने भनेर एउटा सरकारले भनिसकेको अवस्था छ । अब साँच्चै नै हामी त्यो लक्ष्य २०३५ मा कसरी पूरा गर्ने रु त्यसमा सोच्नुपर्छ । अहिले भुटानले २०४० सालमा २५ हजार मेगावाट बिजुली उत्पादन गर्ने भनेर लक्ष्य लिएको छ र त्यही अनुसारले गरेको छ । कम्तीमा हाम्रो लक्ष्यअनुसार हामी कहाँ पुग्ने हो त भन्ने खालको कार्ययोजना लिनुपर्छ । आजको दिनमा भारतले बिजुली किन्यो किनेन, नेपालमा खपत गर्न सक्छौँ, सक्दैनौ भन्नु भन्दा पनि पाँच वर्ष पछि नेपालमा डिमान्ड कति हुन्छ रु भारतले कति किन्छ भनेर योजना बनाएर जानुपर्ने हो । हिजोको दिनमा ५ हजार मेगावाट तुरुन्तै पीपीए गर्ने भनेर प्राधिकरणले सूचना निकालेको थियो । कम्तीमा त्यसैलाई सुरुवात गरेर अघि बढ्न जरुरी छ । किनभने आज पीपीए गर्दै गर्दा ठुलो प्रोजेक्टबाट उत्पादन हुनलाई पाँच वर्षदेखि सात वर्ष लाग्छ । सात वर्षपछि डिमान्ड भनेको आजको अवस्था भन्दा फरक खालका हुन सक्छन्, त्यसैले गर्दा खेरि पिपीए सबैलाई खोल्दै जानुपर्छ र १० मेगावाट सम्मको खोल्ने भनिएको छ । त्यो स्वागतयोग्य नै हो तर त्यो सँगसँगै अन्यलाई पनि खोलेर जानुपर्छ ।

वर्षा याममा विद्युत् बढी हुने र सुख्यायाममा आयात गर्नुपर्ने अहिले पनि अवस्था छ, यसलाई कसरी ब्यालेन्स गरेर जानुपर्छ ?

–लोड ब्यालेन्स दुई वटा कुरा छ । एउटा रन अफ रिभरमा हामीले धेरै बिजुली उत्पादन गरियो, जसकारण बर्खामा बिजुली बढी हुने गरेको छ । वर्षामा भारतलाई बेच्यौँ, जसकारण हाम्रो बिजुली खेर जान पाएन । भारतले आजको दिनसम्म १० हजार मेगावाटसम्म किन्दिन्छु भनेकै छ । त्यसैले हामी बिजुली उत्पादनमा जानैपर्छ र अलिकति उत्पादन नबढाउने हो भने हामीले हाम्रो जीवनकाल भरी नै भारतबाट बिजुली आयात गर्नुपर्ने हुन्छ । बिजुलीको उत्पादन बढाउन र खेर जान नदिनका लागि स्टोरेज प्रोजेक्टहरूमा अलिकति लगानी बढाउनुपर्छ । जस्तो अहिले सोलारका कुराहरू आइरहेका छन् । त्यसले पनि केही राहत दिनसक्छ तर राति नदिन सक्छ । ब्याट्री स्टोरेजको कुरा भयो भने ब्याट्री पनि त क्लिन इनर्जी त होइन, त्यसैले गर्दा हामीसँग जे छ त्यसलाई अलिकति बढवा दिनुपर्छ । र यो पिकिङका प्रोजेक्टहरूलाई पनि अलिकति थप्दै जाने र स्टोरेज प्रोजेक्टहरूलाई अलिकति प्राथमिकता दिनैपर्छ ।

कुलमान घिसिङ विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा आएको योजना २८ हजार ५ सयको योजनालाई लक्ष्यमा राखेर त्यसलाई पूरा गर्नेगरी पीपीए गरियो भने प्रभावकारी हुन्छ । हामीलाई पनि अघि बढ्न सहज हुन्छ । होइन भने अन्धकारमा हिँड्ने काम हुन्छ । आजकै दिनसम्ममा ११ हजार ५ सय जति पिपीए भएका छन् । त्यसैलाई मात्रै डेडलाइन भनेर बसियो भने सधैँ हिउँदमा लोडसेडिङमा बस्नुपर्नेछ । कतिपय उद्योगलाई अहिले पनि १२ महिना बिजुली चाहिन्छ । त्यो बिजुली हामी दिन सकेका छैनौँ । आगामी दिनमा पनि हामीले पर्याप्त बिजुली नदिने हो भने त्यस्ता उद्योग नेपालमा आउन आउन सक्दैनन् । अहिले माइनिङ, क्रिप्टो, एआइका कुराहरू आउन थालिसकेका छन् । त्यसले गर्दा हामीले बिजुली उत्पादनमा जोड दिनुपर्छ र पीपीए खोलेर जानुपर्छ । हामीले यसबारे सरकारलाई धेरै पटक भन्यौ । सरकार अझै विश्वस्त छैन ।

पीपीए धेरै खुलाउँदा बिजुली उत्पादन बढ्ने र व्यवस्थापन चुनौतीपूर्ण हुने भएकै कारण सरकारले उत्पादन रोकेको हो त ?

–नेपालका निजी क्षेत्रहरूलाई पनि कम्तीमा सरकारले लाइसेन्स दिने हो भने हामीले उत्पादनसँगै आफ्नो बजार खोज्दै जान्छौँ । नेपालमा खपत नभएको बिजुलीहरू भोलि कहाँ लगेर विक्री गर्ने भन्ने खालको कुरा गर्न थाल्दै त्यतातिर पनि सरकारले सोच्नुपर्छ । अहिले विद्युतमा दुई ओटा समस्या छन्। एउटा उत्पादन अनुमति नपाउनु र अर्को ट्रेडिङको समस्या हो । अहिले विद्युत् प्राधिकरणले मात्रै बिजुली बेच्छ भने निजी क्षेत्रले बिक्रीको लाइसेन्स पाएको छैन । विद्युत् उत्पादनतर्फ प्राधिकरणले अहिले पीपीए गरेको छैन, पहिले लाइसेन्स धेरै बाँडिसकेको छ भने सरकारले हिजोका दिन बाँड्नु नै हुँदैनथ्यो । जहिले जति चाहेको छ त्यति मात्रै लाइसेन्स दिनुपथ्र्यो । अहिले धेरै खर्च भइसकेको छ । यति भइसकेपछि सरकारले निजी क्षेत्रलाई सँगसँगै लिएर हिँड्नुपग्यो । अर्को कुरा विद्युत् ऐन संसद्मा पास हुने संघारमा थियो र त्यसमा नेपालका निजी क्षेत्रहरूलाई पनि लाइसेन्स दिने कुरा थियो । त्यो ऐन संसद भग भएकाले आउने सम्भावना रहेन । यो सरकारले अझै पनि धेरै काम गर्नसक्छ । कस्तो गर्छ हेर्न बाँकी छ ।

यदि सरकारले तपाईंहरुलाई आफैँ उत्पादन गर्नुस्, आफै बेच्नुस् भन्ने हो भने तयार हो ?

–अहिले हामीले विद्युत् उत्पादन गरिरहेका छौँ । सरकारले ट्रान्समिसन लाइन बनाएर बेच्न समेत लाइसेन्स दिनुपर्छ । सरकारले विक्रीको लाइसेन्स दिने हो भने हामीले बङ्गलादेशसहित भारतका निजी क्षत्रहरु जसले विद्युत् ट्रेड गर्छन् । उनीहरूलाई हामी २५–३० वर्षका लागि अहिले नै हामी रेट कमर्फम गरेर बिजुली बेच्न पनि सक्छौँ । हामीले धेरै चरणमा कुराकानी पनि गरिरहेका छौँ । सरकारले लाइसेन्स नदिएकै कारण हाम्रो प्रयास सफल भएको छैन ।

 

 

रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घीय महासभाले युक्रेनी बालबालिकाहरुलाई जबरजस्ती रूसमा नराखी तत्काल बिना शर्त फिर्ता गर्न आह्वान गदै यो सवाल किभ र मस्को बीचको सम्भावित शान्ति सम्झौताको सम्बन्धमा सबै भन्दा संवेदनशील विषय भएको बताएको छ ।

महासभाले जबरजस्ती स्थानान्तरण वा निर्वासन गरिएका सबै युक्रेनी बालबालिकाको तत्काल, सुरक्षित र बिना शर्त फिर्तीको आवश्यकतालाई पुष्टि गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावलाई ९१ देशले समर्थन गरेका छन् भने रूससहित १२ वटा देशले यसको विरुद्धमा मतदान गरेको र ५७ देश अनुपस्थित रहेको जनाइएको छ ।

महासभाले मस्कोलाई निर्दोश बालबालकिको जबरजस्ती स्थानान्तरण, निर्वासन र पारिवार विहिनता रोकी पालन पोषणको माध्यमबाट बालबालिकाको कानुनी स्थिति परिवर्तन नगर्न आह्वान गरेको छ ।

युक्रेनी उप–विदेशमन्त्री मारियाना बेत्साले महासभामा रूसले युद्ध सुरु भए देखि कम्तिमा २० हजार युक्रनी बच्चाहरूलाई अपहरण गरेको बताउदै अहिले सम्म एक हजार ८५० भन्दा बढी बालबालिका युक्रेनमा फर्काइएको उल्लेख गरेका छन् ।

युक्रेनी बालबालिकाहरु तत्काल बिना शर्त घर फर्किए मात्र युक्रेनमा न्यायपूर्ण शान्ति हुने बेत्साले बताएका छन्  ।

यसको प्रतिक्रियामा, रूसी उप–राजदूत मारिया जाबोलोत्स्कायाले प्रस्तावलाई अस्वीकार गरी यो आरोप झुटो भन्दै प्रस्तावको बिरोध गरेका छन् ।

ओली कुटी निर्माणका लागि राधिका शाक्यद्वारा शिलान्यास

काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा नयाँ घर बनाउन थालिएको छ। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको अगुवाइमा गुण्डुमा निर्माण थालिएको ‘ओली कुटी’को बिहीबार शिलान्यास गरिएको हो ।

‘ओली कुटी’नाम दिइएको उक्त भवनको एमाले अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले एक समारोहबीच गरेकी हुन् ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा त्यसबेलाका प्रधानमन्त्री ओलीका सबै घर जलाइएको छ। सीमित मानिसहरूसँग आर्थिक सहयोग लिएर ओलीनिवास बनाउन लागिएको हो। ओली निवास बनाउन बस्नेतले नै अगुवाइ गरिरहेका छन्।

फेरि पनि ओली नै अध्यक्ष हुनुहुन्छ, लेखेर राख्नुस् : विष्णु रिमाल

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको एघारौ महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताएका हुन् । उपमहासचिव रिमालले ओली फेरि पनि एमालेको अध्यक्ष हुने कुरा निश्चित भएको उल्लेख गर्दै सो समाचार लेखेरै राख्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । उपमहासचिव रिमालले पार्टीको महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो पार्टीले तत्काल सम्बोधन गर्ने समेत बताए ।

उनले भने, ‘टीममा एक नम्बर व्यक्तिको बारेमा हामीले फाइनल गरिसकेका छौँ । अध्यक्ष केपी ओली हुनुहुन्छ । यो चाहीँ ठहर नै हो । साथीहरुले लेखेरै राख्नु भए पनि हुन्छ । छाप्नु भए पनि हुन्छ, बजाए पनि हुन्छ । २९ गते महाधिवेशन सम्पन्न भइसकेपछि नेकपा (एमाले) को अध्यक्ष को हुन्छ ? भन्दाखेरी केपी शर्मा ओली । यसमा हाजिरी जवाफमा फेलै खाइन्न । पूरै नम्बर आउँछ । त्यो भन्दामुनिमा टिम कसरी भन्दा त्यो डिस्कसको विषय हुन्छ ।’ उपमहासचिव रिमालले नीतिको प्रश्नमा एमालेमा विवाद नभएकाले नेतृत्व चयन पनि सहमति नै हुने अवस्था रहेको तर्क समेत गरे ।

देउवालाई भेटेर युवाहरूको आग्रह : कांग्रेसले नयाँ अनुहारलाई उम्मेदवार बनाओस्

काठमाडौं । नेपाली कांग्रेसका केही युवाहरूले आज (बिहीबार) सभापति शेरबहादुर देउवालाई भेटेर प्रतिनिधि सभा चुनावमा पार्टीबाट युवाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका छन् । नेविसंघ पूर्व महामन्त्री सरोज थापासहित युवाहरूको एक समूहले सभापति देउवालाई निवास महाराजगञ्ज पुगेर शुक्रबार भेटेका हुन् । ‘फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा स्वच्छ छवि भएका, आर्थिक पारदर्शीता हासिल गरेका युवाहरूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्नुपर्छ भनेर हामीले सभापति ज्यूसँग भन्यौं,’ थापाले सुनाए ।

उनकाअनुसार नियमित महाधिवेशन पक्षधरका तर्फबाट आज सभापति देउवासँग भेटवार्ता भएको हो । त्यसक्रममा सभापति देउवाले केन्द्रीय समितिले ल्याएको कार्यतालिकाअनुसार १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने बताएका थिए । ‘यो महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्छ र निर्वाचनमा पनि एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ,’ सभापति देउवाको भनाइ थियो, ‘नियमित महाधिवेशनतर्फ नै पार्टी अघि बढेका बेला विशेष महाधिवेशनको चर्चा असान्दर्भिक छ ।’ सभापति देउवाले वडादेखि केन्द्रसम्म तोकिएको समयमै अधिवेशन हुनुपर्ने र त्यसका लागि तयारीमा लाग्न पनि युवाहरूलाई आग्रह गरेका थिए । युवाहरूले पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताए । एमालेले यसअघि चितवनमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो ।

“हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेका छौँ” उनले भने, “टेण्डर आव्हान भइसकेको छ । चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ ।”

महाधिवेशनले यसपटक एमालेमा १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ । गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी सङ्ख्या घटाएको थियो । एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन् ।

एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुने जनाइएको छ ।

पुटिन भारतको राजकीय भ्रमणका लागि प्रस्थान

मस्को ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भारत भ्रमणका लागि आज मस्कोबाट प्रस्थान गरेका छन् । उनको यो भ्रमण सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको पहिलो भारत यात्रा हो । पुटिनले यसअघि सन् २०२१ डिसेम्बरमा भारतको अन्तिम आधिकारिक भ्रमण गरेका थिए । यसपटकको भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भइरहेको हो ।

रुसी सञ्चारमाध्यमका अनुसार पुटिनसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक, सांस्कृतिक तथा मानवीय विषयमा सहयोग अभिवृद्धिका लागि विस्तृत छलफल गर्नेछ । साथै वर्तमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू पनि मुख्य एजेन्डामा समेटिनेछन् ।

तास समाचार एजेन्सीका अनुसार भ्रमणका क्रममा १० वटा अन्तरसरकारी दस्तावेज र १५ भन्दा बढी द्विपक्षीय सम्झौता तथा दुई देशका व्यापारिक तथा गैर–व्यावसायिक निकायबीचका ज्ञापनपत्रहरू हस्ताक्षरका लागि तयारी अवस्थामा छन् ।

राष्ट्रपति पुटिन आज साँझ २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्ली आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले उनको सम्मानमा निजी रात्रिभोजको आयोजना गर्ने तयारी गरेका छन् ।

डिसेम्बर ५ अर्थात शुक्रबार राष्ट्रपति पुटिनले राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा त्रिसेवा गार्ड अफ अनर प्राप्त गर्ने छन् । त्यसपछि उनले राजघाट पुगेर महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

दुवै देशका नेता हैदराबाद हाउसमा सीमित स्वरूपमा द्विपक्षीय वार्ता गर्दै त्यसपछि आ–आफ्ना प्रतिनिधिमण्डलसहित व्यापक छलफलमा सहभागी हुने छन् । अपेक्षा गरिएअनुसार व्यापार, अर्थतन्त्र, कृषि तथा शिक्षा क्षेत्रमा सहकार्यका विषयलाई प्राथमिकता दिइनेछ ।

भारतको विदेश मन्त्रालयले पुटिनको भ्रमणले द्विपक्षीय सम्बन्धको प्रगतिमा समग्र समीक्षा गर्ने, ‘विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ सुदृढ पार्ने तथा आपसी हितका क्षेत्रीय–वैश्विक विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने जनाएको छ ।

पुटिनको भ्रमणअघि रुसका प्रथम उपप्रधानमन्त्री तथा भारत–रुस अन्तरसरकारी आयोगका सह–अध्यक्ष डेनिस मान्टुरोभले यस यात्रालाई दुई देशबीचको दीर्घकालीन रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने महत्त्वपूर्ण कदमका रूपमा वर्णन गर्दै उच्चस्तरीय वार्षिक शिखर सम्मेलनको परम्परामा पुनरागमन भएको बताएका थिए ।

यसैबीच, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भ्रमणका क्रममा अतिरिक्त एस–४०० लामो दूरीको एन्टी–एयरक्राफ्ट मिसाइल सिस्टमको बिक्रीसम्बन्धी प्रस्ताव एजेन्डामा हुनसक्ने बताएका छन् । उनले भने, “रुसी हतियारहरू भारतीय सेनाको करिब ३६ प्रतिशत हिस्सा छन् र यो सहकार्य अझ विस्तार हुने अपेक्षा गरिएको छ ।”

रुसले भारतलाई पाँचौँ पुस्ताको अत्याधुनिक स्टिल्थ लडाकू विमान एसयु–५७ प्रदान गर्ने सम्भावनाबारे पनि छलफल गर्ने आशा व्यक्त गरेको छ । पेसकोभका शब्दमा, “एसयु–५७ विश्वकै उत्कृष्ट विमानमध्ये एक हो र यसको विषयमा छलफल हुनसक्नेछ ।”

पेसकोभले रणनीतिक क्षेत्रको सहकार्यबारे ब्रह्मोस मिसाइल परियोजनालाई उदाहरण दिँदै हतियार उत्पादन मात्र नभई उच्च प्रविधिको आदानप्रदान नै दुई देशबीचको सहकार्यको आधार भएको बताएका छन् ।

उनका अनुसार भारत–रुसबीच आणविक उर्जा क्षेत्रमा पनि नयाँ सम्झौता हुनसक्नेछ ।

दुवै नेताले अन्तिम पटक यस वर्ष सेप्टेम्बर १ मा चीनको तियानजिनमा आयोजित एससिओ शिखर सम्मेलनको साइडलाइनमा भेट गरेका थिए । यसपटकको भ्रमणले सन् २००० मा स्थापना भएको रणनीतिक साझेदारीको २५औँ वार्षिकोत्सवलाई पनि चिह्नित गर्दछ । सन् २०१० मा पुटिनको भारत भ्रमणकै क्रममा यो साझेदारी ‘विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ का रूपमा उकासिएको थियो ।

हाल दुवै देशले सन् २०३० सम्म द्विपक्षीय व्यापार एक खर्ब डलरसम्म पुर्‍याउने लक्ष्य राखेका छन् । सन् २०२४–२५ मा भारत–रुस व्यापार ६८ अर्ब ७० करोड डलर पुगेको छ ।

पुटिनसँग रक्षामन्त्री आन्द्रे बेलोसोभसहित उच्चस्तरीय प्रतिनिधिमण्डल आएको छ । प्रतिनिधिमण्डलमा सङ्घीय भन्सार सेवा, रोसफिनमोनिटरिङ, सैन्य–प्राविधिक सहयोग सेवा, रोस्कोसमोस, रोसाटम, भिइबीडटआरएफ लगायतका प्रमुख संस्थानका प्रमुखहरूको उपस्थितिसमेत रहनेछ । व्यापारिक समुदायबाट रोजनेफ्ट, सबबैंक, रुसल, भिटिबी बैंक, ट्रान्सम्यासहोल्डिङ तथा अन्य ठूला कम्पनी प्रतिनिधिहरू सहभागी हुनेछन् ।

रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगे सुदन गुरुङ

काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङ नख्खु कारागार पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न उनी कारागार पुगेका हुन् । गुरुङ र लामिछानेबीच करिब एक घण्टा भेटवार्ता हुने जनाइएको छ । वैकल्पिक शक्तिहरू बीच एकताका लागि वार्ता गर्न आफू रवि भेट्न गएको गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

रवि लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार गुरुङले आज २ बजेका लागि सभापति लामिछानेसँग भेट गर्न समय माग गरेका थिए । गुरुङको आग्रह र लामिछानेको सहमति पछि भेट तय भएको आचार्यले बताए । जेनजी अभियन्ता गुरुङले बालेन र कुलमानको एकता पछि अब रवि लामिछानेसँग पनि वैकल्पि

वसन्तपुरमा योमरी पुन्हीको रौनक (तस्बिरहरु)

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात्, आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदैछ ।

मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा र नेवार समुदायले योमरी बनाएर चढाउने परम्परा छ ।

नयाँ धान भित्र्याएको खुसियालीमा उपत्यकालगायत देशभरका नेवार समुदायले योमरी पूर्णिमा पर्वका साथै राष्ट्रिय ज्यापु दिवस हर्षोल्लासका साथ मनाउने गर्छ ।

तस्बिरहरु: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

इयु–रुस युद्ध जोखिममा युरोपेली जनताको बढ्दो चिन्ता

पेरिस ।  फ्रान्सेली अन्तर्राष्ट्रिय मामिला जर्नल ले ग्रान्ड कन्टिनेन्टमा बिहीबार प्रकाशित मतदान समूह क्लस्टर १७ को नयाँ सर्वेक्षणले युरोपेली सङ्घ ९इयु० का नौ देशमा अधिकांश नागरिकले इयु सदस्य राष्ट्रहरू र रुसबीच युद्ध भड्किन सक्ने ‘उच्च जोखिम’ देखिरहेको निष्कर्ष प्रस्तुत गरेको छ ।

सन् २०२२ मा रुसले युक्रेनमा गरेको पूर्ण आक्रमणपछि सुरु भएको युद्धले तीन वर्षभन्दा बढी समय पार गरेको छ र द्वन्द्व अझ फैलिन सक्ने चिन्ता युरोपमा प्रष्ट देखिन थालेको छ । गत महिना फ्रान्सका शीर्ष जनरल फेबियन म्यान्डनले रुसले सन् २०३० सम्ममा नयाँ द्वन्द्वका लागि तयारी गरिरहेको चेतावनी दिएका थिए । त्यसको केही दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘युरोप युद्ध चाहन्छ भने हामी अहिले नै तयार छौँ’ भन्ने कडा टिप्पणी गरेका थिए ।

सर्वेक्षणअनुसार ५१ प्रतिशत उत्तरदाताले रुस आगामी वर्षहरूमा आफ्नो देशसँग प्रत्यक्ष द्वन्द्वमा जान सक्ने ‘उच्च’ वा ‘धेरै उच्च’ जोखिम रहेको विश्वास व्यक्त गरेका छन् । नौ हजार ५५३ व्यक्तिको नमूना समेटिएको यो अध्ययन नोभेम्बरको अन्त्यतिर सम्पन्न गरिएको थियो ।

सर्वेक्षणमा फ्रान्स, जर्मनी, इटाली, स्पेन, पोल्यान्ड, पोर्चुगल, क्रोएसिया, बेल्जियम र नेदरल्यान्ड्सका जनमत समावेश थिए । सर्वेक्षणमा प्रत्येक देशबाट एक हजारभन्दा बढी व्यक्ति सहभागी गरिएको थियो ।

रुससँग खुला युद्धको डर देशअनुसार फरक–फरक देखियो । रुस र बेलारुससँगको सीमा साझा गर्ने पोल्यान्डमा ७७ प्रतिशत नागरिकले जोखिमलाई ‘उच्च’ वा ‘धेरै उच्च’ मानेका छन् । फ्रान्समा यो अनुपात ५४ प्रतिशतमा झरेको छ भने जर्मनीमा ५१ प्रतिशत जनताले यस्तै अभिमत व्यक्त गरेका छन् ।

यस विपरीत, इटालीमा ६५ प्रतिशत उत्तरदाताले जोखिम ‘कम’ वा ‘नभएको जस्तै’ रहेको धारणा राखेका छन् । साथै, ८१ प्रतिशत उत्तरदाताले आउँदो वर्षहरूमा चीनसँग युद्धको सम्भावना निकै न्यून रहेको बताएका छन् ।

युरोपका विभिन्न देशमा सैन्य सेवा पुनःस्थापनाबारे भइरहेको बहसबीच सर्वेक्षणले नागरिकहरूमा आफ्नै सेनाको क्षमताप्रतिको शङ्का व्यापक रहेको देखायो । ६९ प्रतिशत सहभागीले आफ्नो देश रूसी आक्रमण विरुद्ध ‘बिल्कुलै सक्षम छैन’ वा ‘सम्भवतः सक्षम नहोला’ भन्ने धारणा राखे ।

आणविक हतियार भएको एकमात्र सर्वेक्षित देश फ्रान्समा भने अपेक्षाकृत उच्च आत्मविश्वास देखियो । त्यहाँ ४४ प्रतिशत नागरिकले आफ्नो देश ‘पूर्ण रूपमा’ वा ‘सामान्य रूपमा’ आत्मरक्षा गर्न सक्षम रहेको विश्वास व्यक्त गरे ।

अर्कोतिर, बेल्जियम, इटाली र पोर्चुगलका उत्तरदाताहरू अत्यन्तै निराशावादी देखिए—क्रमशः ८७ प्रतिशत, ८५ प्रतिशत र ८५ प्रतिशतले आफ्ना देशहरू युद्धमा टिक्न असमर्थ हुने निष्कर्ष दिएका छन् ।

सर्वेक्षणमा समेटिएका नौ देशमा ‘आतङ्कवाद’ सबैभन्दा तत्काल सुरक्षाग्रस्त खतरा भएको निष्कर्षसमेत आएको छ । ६३ प्रतिशत उत्तरदाताले आतङ्कवादी समूहहरूसँग खुला द्वन्द्वको जोखिम ‘उच्च’ वा ‘धेरै उच्च’ रहेको बताएका छन् ।

सिन्धुली र रामछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै

रामेछाप । सिन्धुली र रामेछापको सीमामा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ । गत वर्षको असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक नजिक खैरेनीघाटको पक्की पुललाई क्षति पुर्‍याएपछि उक्त स्थानमा बेली ब्रिज जडान गर्न लागिएको हो । उक्त स्थानमा ७० मिटर लम्बाइ भएको बेली ब्रिज जडान हुनेछ । सिंगल लेन पुलको भार वहन क्षमता २० टन रहेको छ ।

विपद्बाट क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि नेपाल सरकारको अनुरोधमा भारतले उक्त बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो । भारतले अनुदानमा उपलब्ध गराएका १० वटा बेली ब्रिजमध्ये एउटा खैरेनीघाटमा जडान गर्न लागिएको हो । बेलि ब्रिज खैरेनीघाटसम्म ढुवानी भइसकेको छ । जडानका लागि प्राविधिकहरु भारतबाट निर्माणस्थमाल पुगिसेकका छन् । बाढीले पुलसम्म पुग्ने सडक क्षति पुर्याएको थियो । उक्त स्थलसम्म पुग्ने सडकको ट्रयाक खोलिसकिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीवार खैरेनीघाट क्षेत्रको स्थलगत निरीक्षण गरी बेली ब्रिज जडानका बारेमा जानकारी लिएका छन् । मन्त्री घिसिङले विपद्का कारण पुलमा क्षति पुग्दा रामेछापका सुनापति, खाँडादेवी, दोरम्बा, काभ्रेपलाञ्चोकको चौंरीदेउरालीलगायतका क्षेत्रको तराई र काठमाडौंसँगको सडक सम्पर्क टुटेको र आवातजावतमा कठिनाई भएकाले बेली ब्रिज जडान जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिए । उनले गत असोजमा त्यस क्षेत्रको भ्रमण गरी उक्त स्थानमा बेली ब्रिज जडानका लागि सडक विभागका अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

 

 

प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधि सभाका पाँच दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको सर्वपक्षीय बैठक आह्वान गरेकी छिन् । बैठक शुक्रबार दिउँसो ४ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको हो । निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले विघटित प्रतिनिधि सभाका राष्ट्रिय दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गर्न लागेकी हुन् ।

छलफलमा ती दलका दोस्रो तहका नेताहरूलाई बोलाइएको छ । दलहरूले पनि दोस्रो तहका नेताहरुलाई नै पठाउन लागेका छन् । यसअघिका छलफलमा पनि ती दलबाट दोस्रो तहका नेताहरू नै छलफलमा सहभागी हुने गरेका थिए । त्यस्तै निर्वाचन आयोगका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखहरूको पनि बैठकमा सहभागिता हुनेछ । बैठकमा प्रधानमन्त्रीका अलवा मन्त्रीहरूको पनि उपस्थिति रहने छ ।

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब

नयाँदिल्ली ।  रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या गर्दै आएका छन् । तर युक्रेनमाथि रुसको आक्रमणपछि द्विपक्षीय सम्बन्ध अभूतपूर्व दबाबमा परिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल खरिद रोक्न भारतमाथि जोडदार दबाब दिँदै नयाँदिल्लीबाट आयातित रूसी तेलमा ५० प्रतिशतसम्म कडा कर लगाएका छन् ।

यस्तै संवेदनशील पृष्ठभूमिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार नयाँदिल्ली आइपुगेका छन् । सन् २०२१ डिसेम्बरयता उनको यो पहिलो भारत भ्रमण हो । राष्ट्रपति पुटिनले यसअघि सेप्टेम्बरमा चीनमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका थिए ।

दुवै देशबीचका सहयोग र तनावका पाँच प्रमुख क्षेत्र निम्नानुसार देखिएका छन् —

– तेल र ऊर्जा –

युक्रेन युद्धपछि भारत रूसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बन्न पुग्यो । सन् २०२४ मा भारतले कूल कच्चा तेल आयातको करिब ३६ प्रतिशत—दैनिक १८ लाख ब्यारेलभन्दा बढी—रूसबाट ल्यायो । यसले भारतलाई अर्बौं डलर बचत गरायो भने मस्कोको युद्ध कोषलाई पनि बलियो बनायो । यही कारणले भारतको पश्चिमी साझेदारीमा तनाब बढ्यो र ट्रम्पले शुल्क वृद्धि गर्ने निर्णय गरेका छन् ।

ट्रम्पले सम्भावित अमेरिकी व्यापार सम्झौताअन्तर्गत मोदीले रूसी तेल आयात कटौती गर्ने सहमति जनाएको दाबी गरे पनि नयाँदिल्लीले यसबारे कुनै पुष्टि गरेको छैन । तथापि, भर्खरका व्यापार तथ्याङ्कले भारतको रूसी तेल खरिद घट्दै गएको सङ्केत दिन्छ ।

– रक्षा –

रुस ऐतिहासिक रूपमा भारतको प्रमुख हतियार आपूर्तिकर्ता बने पनि पछिल्ला वर्षमा नयाँदिल्लीले अमेरिका, फ्रान्स र इजरायलबाट खरिद बढाउँदै निर्भरता कम गर्न थालेको छ । साथै, भारतले घरेलु उत्पादनमा पनि गति बढाएको छ ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआइपिआरआई– सिप्री) का अनुसार सन् २००९–१३ मा ७६ प्रतिशत रहेको भारतको रूसी हतियार आयातको हिस्सा सन् २०१९–२३ मा ३६ प्रतिशतमा झरेको छ ।

यस सन्दर्भमा उन्नत रूसी एस–४०० हवाई रक्षा प्रणालीको सम्भावित थप खरिद तथा रूसको सु–५७ लडाकू विमान भारतसँग सह–उत्पादन गर्ने प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ । भारतसँग तीन एस–४०० युनिट छन्, तर पश्चिमी प्रतिबन्धका कारण बाँकी दुईको डेलिभरी रोकिएको छ ।

– व्यापार –

रुस भारतको चौथो ठूलो व्यापारिक साझेदार बनेको छ । सन् २०२४–२५ मा दुवै देशबीच व्यापार ६८ अर्ब ७० करोड डलर पुगेको थियो । तर भारत–रुस व्यापार अत्यन्त असन्तुलित छ—यसको ९० प्रतिशतभन्दा बढी हिस्सा (६३ अर्ब ८० करोड डलर) रूसबाट भारतमा आयात हुने इन्धन तथा तेल हो ।

भारतले रूसलाई औषधि, मेसिनरी तथा केही आणविक उपकरण निर्यात गर्छ । विश्लेषकका अनुसार १५–२५ प्रतिशतजति व्यापार अवैध वा ‘छाया शिपिङ नेटवर्क’ मार्फत हुने गरेको आकलन छ, जसमा केहीले रणनीतिक इलेक्ट्रोनिक्स तथा दोहोरो प्रयोगका वस्तुहरू पनि पर्ने बताउँछन्, जसले पश्चिमी प्रतिबन्ध छल्न सहयोग गर्न सक्छ ।

– युक्रेन युद्ध –

भारतले युक्रेन युद्धमा रूसको प्रत्यक्ष आलोचना नगर्ने नीति अख्तियार गरेको छ । पश्चिमी राष्ट्रहरूसँग सम्बन्ध मजबुत बनाउँदै रुससँग ऐतिहासिक साझेदारी जोगाउने भारतीय नीति यसमा झल्किन्छ ।

सन् २०२२ मा उज्बेकिस्तानमा भएको मोदी–पुटिन भेटमा प्रधानमन्त्री मोदीले युद्ध ‘छिटोभन्दा छिटो’ अन्त्य हुनुपर्ने चाहना व्यक्त गरेका थिए । साथै, केही भारतीय नागरिकलाई ठगीसमेत गरेर युद्धमा लगिएको आरोपले भारत–रुस सम्बन्धमा थप संवेदनशीलता थपेको छ ।

– ‘गुटनिरपेक्षता’ नीति –

भारतको परम्परागत ‘गुटनिरपेक्षता’ तथा रणनीतिक स्वतन्त्रताको नीति हालको जटिल भू–राजनीतिक परिदृश्यमा पनि केन्द्रविन्दु बनेको छ । विशेषतः चीनसँगको चुनौती व्यवस्थापन गर्न अमेरिका र युरोपसँग सन्धि सुदृढ गर्दै भारतले रूससँग पुरानो साझेदारी जोगाउने प्रयास गरिरहेको छ ।

इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक प्रवीण डोन्टीले भने, “भारतले रुससँगको पुरानो सम्बन्ध कायम राख्न चाहन्छ, किनकि यो केवल चीनसँगको चुनौतीपूर्ण सम्बन्धलाई सन्तुलनमा राख्ने उपाय मात्र होइन, भारतको दीर्घकालीन रणनीतिक स्वायत्तताको आधार पनि हो—त्यही यसको विदेश नीतिको मूल सिद्धान्त हो ।”

काठमाडौंले पोखरालाई दियो १६६ रनको लक्ष्य

काठमाडौँ । काठमाडौंको कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) को पहिलो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६५ रन बनायो । बेन चाल्र्सवर्थ र भीम सार्कीले अर्धशतकीय पारी खेले । काठमाण्डु गुर्खाजका ब्याट्सम्यान भीम सार्कीले १९ बलमै अर्धशतक बनाएका छन् । पोखरा एभेन्जर्सविरुद्धको खेलमा उनले ४ छक्का र ५ चौका प्रहार गर्दै विष्फोटक पारी खेलेका हुन् ।

सार्की एनपीएलमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने नेपाली ब्याट्सम्यान बनेका छन् । यसअघि पहिलो सिजनमा दीपेन्द्रसिंह ऐरीले २२ बलमा अर्धशतक बनाएका थिए । पोखराका धनन्जय लक्षनले चार, कप्तान कुशल भुर्तेलले दुई विकेट हात पारे । पाँच खेलबाट चार अङ्क मात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौंले भने छ खेलबाट आठ अङ्क जोडेको छ । लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौं प्लेअफमा सुरक्षित हुन चाहन्छ । आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

मधेशमा नयाँ सरकार बनाउन सात दल सक्रिय, मुख्यमन्त्री कृष्ण कि सोनल ?

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने संकेत पाएपछि राजीनामा दिएसँगै अन्य दलहरु नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । सर्वोच्च अदालतको परमादेशपछि बुधबार उनले पद छाडेपछि नयाँ सरकार गठनका लागि दलहरूबीच संवाद र गृहकार्य सुरु भएको हो ।

कांग्रेस, जसपा नेपाल, लोसपा र अन्य गरी सात दलबीच सरकार गठनका विषयमा अनौपचारिक संवाद सुरु भइसकेको जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले जनकपुरमा जानकारी दिए । उनका अनुसार दलहरू साना–साना समूहमा बसेर विकल्पको खोजी गरिरहेका छन् र चाँडै नै औपचारिक बैठक बस्ने तयारी छ । जसपा नेपालको अडान छ–संघीयता र लोकतन्त्रलाई बलियो बनाउने नेतृत्व जुन दलले दिन सक्छ, दल त्यहीसँग जानेछ । ‘मुख्यमन्त्रीको पदभन्दा संस्थागत सुधार महत्वपूर्ण हो,’ यादवले भने ।

यसबीच, ठूलो दलको हैसियत राख्ने नेपाली कांग्रेसले नेतृत्व आफ्नो हातमै हुनुपर्ने दाबी अघि सारेको छ । पार्टीले संसदीय दलका नेता तथा प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवलाई सम्भावित मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेको छ । कांग्रेस प्रमुख सचेतक कुँवरकान्त झाले यादवलाई सबै दलसँग वार्ता सञ्चालन गर्ने जिम्मेवारी दिएको जानकारी दिए । तर लोसपाले पनि सरकारको नेतृत्वमा आफ्नो दाबी अघि सारेको छ । लोसपाका सांसद उपेन्द्र महतोका अनुसार अल्पकालीन भए पनि जितेन्द्र सोनल नेतृत्वको सरकार प्रभावकारी भएकाले फेरि सोनलकै नेतृत्वमा सरकार बन्नु उपयुक्त हुने पार्टीको धारणा छ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् । दुई वा दुईभन्दा बढी दलको समर्थनसहित बहुमत जुटाउन सक्ने सदस्यले शुक्रबार साँझ ५ बजेसम्म दाबी पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । यता, एमालेले भने अब बन्ने जुनसुकै सरकारलाई विश्वासको मत दिने घोषणा गरेको छ । कार्यवाहक मुख्यमन्त्री तथा संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार प्रदेशमा लगातार सरकार ढलिरहेको अवस्थाले स्थिरता खलबलिएको भन्दै एमाले बाहिर बसेर स्थिरताका लागि सहयोग गर्ने सोंचमा रहेको जनाएका छन् ।

‘सरकार जेसुकै स्वरूपमा आए पनि स्थिरता आवश्यक छ,’ उनले भने । अब मधेश प्रदेशमा कांग्रेसबाट कृष्णप्रसाद यादव वा लोसपाबाट जितेन्द्र सोनलमध्ये कसले बहुमतको दाबी पेश गर्छन्, त्यसले आगामी राजनीतिक समीकरण निर्धारण गर्नेछ । प्रदेशसभामा अंकगणित जटिल बनेका कारण सात दलको सहमति नै सरकार गठनको मूल कडी बन्ने देखिएको छ ।

गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी

जेरुसेलम ।    इजरायली सेनाले गाजामा बन्दक बनाइएका सबै बन्धकहरुको शव पहिचान गरिसकिएको बिहीबार बताएको छ । सेनाका अनुसार बिहिबार एक जना थाई नागरिकको शव परिवारलाई हस्तान्तरण गर्नको लागि शवको अवशेष पहिचान गरिएको छ ।

हाल इजरायल र हमास बीचमा अमेरिकी मध्यस्थतामा युद्धविराम भएको छ भने दुवै पक्षले एक अर्कालाई युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।

हमासले इजरायलसँगको युद्धविराम सम्झौताको एक सर्तको रूपमा गाजामा राखेका जीवित बन्धकहरूलाई रिहा गरेता पनि मृतक बन्दीहरूको अवशेष फिर्ता गर्ने प्रक्रिया भने अझै चलिरहेको जनाइएको छ ।

“पहिचान प्रक्रिया अन्तरगत आईडीएफका प्रतिनिधिहरूले विदेश मन्त्रालयसँग मिलेर थाई नागरिकको शव पहिचान गरी परिवारलाई अन्तिम सस्कारका लागि फिर्ता गरिएको सेनाले एक विज्ञप्ति मार्फत जनाएको छ । कृषिमा काम गर्ने सुदथिसाक रिन्थालक सन् २०२३ अक्टोबर–७ कै दिनमा मारिएको र शव गाजा पट्टीमा लगेर राखिएको सेनाले जनाएको छ ।

वासिङ्टनले मध्यस्थता गरेको सम्झौताको पहिलो चरण अन्तर्गत प्यालेस्टिनी लडाकुहरूले अन्तिम २० जना जीवित बन्धकहरूलाई हस्तान्तरण गरिसकेको र २८ जना मृतक मध्ये अहिलेसम्म २७ जनाको अवशेष पहिचान गरि बुझाईसकेको जनाइएको छ ।

इजएली सेनाका अनुसार सुम्पिने अन्तिम मृत बन्धक इजरायली नागरिक रहेको पहिचान भएको छ ।

यसको बदलामा, इजरायलले आफ्नो हिरासतमा रहेका लगभग दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ भने सयौं मृत प्यालेस्टिनीहरूको शव फिर्ता गरेको छ ।

 

म्याक्रोन–सी भेटमा शान्ति र व्यापार सन्तुलनमुखी आग्रह

बेइजिङ ।  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको बिहीबारको भेटवार्तामा युक्रेन युद्ध अन्त्यका लागि सक्रिय भूमिका निभाउन र फ्रान्स–चीन व्यापार असन्तुलन समाधान गर्न सहयोग पुर्‍याउन आग्रह गरेका छन् । ग्रेट हल अफ द पिपल्समा आयोजित भव्य समारोहका बीच सम्पन्न उच्चस्तरीय वार्ता उनको चीन भ्रमणको प्रमुख केन्द्रविन्दु बन्यो ।

अफिसमा रहँदै चीनको चौथो भ्रमण गरेका म्याक्रोनका लागि यसपटकको तीनदिने यात्रा दोस्रो विश्वयुद्धपछि युरोपमा देखिएको सबैभन्दा घातक द्वन्द्वका रूपमा रहेको युक्रेन युद्धमा युद्धविरामको व्यावहारिक मार्ग खोज्ने अवसरसमेत बनेको छ । साथै, फ्रान्समा थप चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्य पनि समान रूपमा रहेको बताइएको छ । फ्रान्सको चीनसँगको व्यापार घाटा सन् २०२४ मा बढेर ४६ अर्ब युरो(५४ अर्ब डलर) पुगेको छ, जसले आर्थिक मुद्दालाई यसपटकको भेटवार्तामा झनै महत्त्वपूर्ण बनाएको छ ।

राष्ट्रपति सी र प्रथम महिला पेङ लियुआनले म्याक्रोन दम्पतीलाई रातो गलैँचासहित सम्मान गार्ड, झण्डा फहराइरहेका बालबालिका र दुवै देशका राष्ट्रगानले सजिएको भव्य स्वागत प्रदान गरेका थिए । हलमा प्रवेश गर्दा दुवै नेता मुस्कुराउँदै अगाडि बढ्े का छन् ।  म्याक्रोनले भीडतर्फ हात हल्लाउँदै अभिवादनसमेत गरेका छन् ।

यद्यपि वातावरण आत्मीय भए पनि वार्ताको मूल सन्देश स्पष्ट थियो—दुवै पक्षले ‘मतभेदहरू पार’ गर्दै स्थिर र दीर्घकालीन साझेदारीतर्फ उन्मुख हुनुपर्ने । म्याक्रोनले सीलाई फ्रान्स र चीनले ‘साथसाथै काम गर्दा मात्रै निर्णायक परिणाम’ सम्भव हुने बताउँदै युक्रेन युद्धले युरोपेली सुरक्षामाथि मात्र नभई अन्तर्राष्ट्रिय विधि–व्यवस्थामाथि पनि गम्भीर चुनौती उत्पन्न गरेको उल्लेख गरेका छन् ।

उनको भनाइलाई प्रतिध्वनित गर्दै राष्ट्रपति सीले चीन वार्ता तथा कूटनीतिक माध्यममार्फत ‘न्यायपूर्ण, स्थायी र सबै पक्षले स्वीकार्य’ शान्ति सम्झौताका लागि प्रतिबद्ध रहेको दोहो¥याएका छन् ।

अर्को वर्ष जी–७ शिखर सम्मेलनको आयोजना गर्ने तयारीमा रहेका म्याक्रोनले बेइजिङलाई ‘अधिक सन्तुलित र निष्पक्ष’ नियम–आधारित आर्थिक प्रणाली बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।

म्याक्रोनको चीन भ्रमण युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हालैको पेरिस भ्रमणपछि भएको हो । जेलेन्स्कीले वासिङ्टनले युद्ध अन्त्यका लागि गरिरहेको दबाबबीच युरोपलाई किएभको साथमा रहिरहन आग्रह गरेका थिए । “युद्धलाई उचित अन्त्यमा पुर्‍याउनुपर्ने हाम्रो साझा धारणा हो”, जेलेन्स्कीले म्याक्रोनसँगको भेटपछि सामाजिक सञ्जालमा लेखेका थिए ।

यसबीच, पश्चिमी राष्ट्रहरूले बेइजिङमाथि रुसको युद्ध प्रयासलाई अप्रत्यक्ष रूपमा आर्थिक तथा प्रविधिक सहयोग पु¥याएको आरोप लगाउँदै आएका छन् । चीनले भने शान्ति वार्ताका लागि निरन्तर आह्वान गर्दै आए पनि सन् २०२२ को आक्रमणबारे रूसविरुद्ध कुनै निन्दा वक्तव्य नदिएको तथ्यलाई आलोचकहरूले पुनः स्मरण गराइरहेका छन् । म्याक्रोनले सीसँगको भेटमा चीनले ‘कुनै पनि तरिकाले’ रुसलाई युद्ध दीर्घकालीन बनाउने सहयोगबाट टाढा रहनुपर्ने सन्देश दिने बताइएको छ ।

व्यापारका विषयमा पनि छलफल तीव्र बनेको छ । युरोपेली सङ्घ (इयु) हाल चीनसँग तीन खर्ब ५७ अर्ब डलर बराबरको भारी व्यापार घाटामा छ । म्याक्रोनका सल्लाहकारले ‘चीनले बढी उपभोग गर्न र निर्यात घटाउन’ तथा ‘युरोपेलीहरूले कम बचत गरेर बढी उत्पादन गर्न’ आवश्यक रहेको टिप्पणी गरेका छन् ।

प्रविधिगत क्षेत्रमा ‘युरोपेली प्राथमिकता’ आवश्यक रहेको भन्दै म्याक्रोन इयुलाई चिनियाँ प्रविधिमा निर्भरता घटाउन बारम्बार आह्वान गर्दै आएका छन् । उनले गत महिना आयोजित युरोपेली टेक शिखर सम्मेलनमा ब्लक ‘अमेरिकी र चिनियाँ कम्पनीहरूका जागीरदार बन्न नचाहने’ बताएका थिए ।

म्याक्रोनले चेङ्दु भ्रमणअघि प्रधानमन्त्री ली किआङसँग भेट्ने कार्यक्रम रहेको छ । चेङ्दुमा फ्रान्सले ऋणमा लिएका दुई विशाल पाण्डा हालै फिर्ता गरिएका थिए । चिनियाँ पक्षले चाँडै नयाँ पाण्डा पठाउने प्रतिबद्धता जनाइसकेको छ ।

राष्ट्रपति सीले फ्रान्स र चीन बीच विशाल पाण्डा संरक्षणसम्बन्धी नयाँ समझदारी भएको बताउँदै भने, “फ्रान्सेली जनताले विशाल पाण्डालाई अत्यन्त प्रेम गर्छन् र अब दुवै पक्षले संरक्षण सहकार्यको नयाँ चरण सुरु गर्नेछन् ।”

म्याक्रोनको अघिल्लो चीन भ्रमणमा दक्षिणी सहर गुआङझाउका विद्यार्थीहरूले उनलाई रक–स्टार झैँ स्वागत गरेका थिए, जसमा सेल्फी, हाई–फाइभ र उत्साहपूर्ण नाराहरूको घुइँचो देखिएको थियो ।

ट्रम्प भन्छन्: पुटिन युद्ध अन्त्य गर्न इच्छुक छन्

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेन शान्ति प्रस्तावका विषयमा मस्कोमा भएको उच्चस्तरीय भेटवार्ताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘युद्ध अन्त्य गर्न इच्छुक’ रहेको धारणा दिएको बताएका छन् ।

बुधबार अमेरिकी विशेष दूत स्टिभ विटकफ तथा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरले मस्कोमा राष्ट्रपति पुटिनसँग पाँच घण्टा लामो विस्तृत वार्ता गरेका थिए । उक्त छलफल सन् २०२२ फेब्रुअरीमा सुरु भएको रुस–युक्रेन द्वन्द्वलाई अन्त्यतिर लैजान केन्द्रित थियो ।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने,”पुटिनले हिजो जारेड कुशनर र स्टिभ विटकफसँग निकै सकारात्मक भेट गरेका छन् । त्यसबाट के निष्कर्ष निस्किन्छ भन्ने अहिले भन्न सकिन्न, किनकि यस्तो प्रक्रियामा दुवै पक्षको बराबर प्रयास आवश्यक हुन्छ । तर हाम्रो प्रतिनिधिमण्डलले उनी युद्धको अन्त्यतिर लागेका छन् भन्ने अनुभूति लिएर फर्किएका छन् ।”

यद्यपि, क्रेमलिनका वरिष्ठ सल्लाहकार युरी उसाकोभले वार्तालाई ‘द्वन्द्व सुरु भएदेखि भएको सबैभन्दा व्यापक आदानप्रदान’ भने पनि मुख्य विषयमा कुनै ठोस सम्झौता नभएको पुष्टि गरेका छन् । उनका अनुसार समाधानका सम्भावित मार्गहरूको विस्तृत समीक्षा भए पनि प्रमुख विवादहरू यथावत् रहे ।

“हामी अहिले पनि युक्रेन सङ्कट समाधानको नजिक पुगेका छैनौँ । अझ धेरै काम गर्न बाँकी छ”, उसाकोभले भनेका छन् । उनका अनुसार चर्चाहरू राति ढिलोसम्म चले पनि ठोस प्रगति देखिएन ।

रुसी पक्षबाट लगानी दूत किरिल दिमित्रिभसहित वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको उक्त वार्तामा अमेरिकाले नयाँ प्रस्तावहरू पेस गरेको पुष्टि गरिएको छ । तर युक्रेनी भूभागसँग सम्बन्धित जटिल मुद्दाहरू प्रमुख अवरोधका रूपमा रहिरहे ।

उसाकोभका अनुसार दुवै पक्षले वार्ताको विवरण गोप्य राख्ने सहमति गरेका छन् । “छलफल गोप्य थियो र यसको सार हामी सार्वजनिक गर्दैनौँ”, उनले भने ।

यद्यपि, उनले कूटनीतिक संवाद निरन्तर हुने उल्लेख गर्दै पुटिनले विटकफमार्फत राष्ट्रपति ट्रम्पलाई ‘महत्त्वपूर्ण राजनीतिक सन्देशहरू’ पठाएको बताएका छन् । ‘अमेरिकी टोलीले आफ्ना निष्कर्षहरू राष्ट्रपति ट्रम्पलाई पेश गर्नेछ र हामीसँग थप सम्पर्क हुनेछ, उनले भने ।

अमेरिकी प्रतिनिधिमण्डलसँग भेटभन्दा केहीअघि पुटिनले युरोपेली संलग्नताप्रति असन्तुष्टि व्यक्त गर्दै युरोपेली सङ्घ (इयु) का सरकारहरूले शान्ति प्रक्रियालाई अवरुद्ध गर्ने उद्देश्यले प्रस्तावहरू अघि सारिरहेको आरोप लगाएका थिए ।

लामो दूरीका सबै गाडीहरु अनिवार्य बसपार्कबाटै छुट्नु पर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नु पर्ने व्यवस्था लागू गरिएको छ ।

लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन (लोकल बस) जस्तै जथाभावी सडकको किनारमै थामेर यात्रु चढाउने–ओराल्ने कार्य बढाएको पाइएकाले यसले विशेष गरी ‘पिक आवर’ मा सडकमा गम्भीर जाम सिर्जना हुँदै आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, ‘राजधानीका सडकमा अत्यधिक भिडभाड तीव्र गतिमा बढिरहेका छन्, लामो दूरीका गाडीहरूले नियमविपरीत सडक रोकेर यात्रु उठाउने–झार्ने कार्यले जामलाई अझै चर्काएको छ, त्यसैले अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो ।’

यस्तै लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्र समेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको प्रवक्ता सुवेदीले बताए । ‘ट्राफिक जामका कारण नागरिकको दैनिकीमा सिधा असर पर्ने भएकाले यसको दीर्घकालीन समाधानका लागि सबै सरोकारवाला निकायको समन्वय अपरिहार्य रहेको छ’, उनले भने ।

ट्राफिक प्रहरीले सडक अनुशासन मजबुत बनाउन विभिन्न कडाइ पनि अघि सार्दै आएको छ । रातो बत्ती उल्लङ्घन गर्ने, लेन क्रस गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा दिन थालिएको कार्यालयले जनाएको छ । चालकमा जिम्मेवार व्यवहार विकास गर्ने उद्देश्यले यी कक्षालाई अझ प्रभावकारी बनाउन पनि योजना बनाइएको जनाइएको छ ।

यस बाहेक सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा ल्याइएको छ । यस सेवाको प्रयोग गर्न मोबाइल एप प्रयोग गर्दै आएका चालक तथा सेवाग्राहीले पहिले ‘इन्स्टल’ गरेको एप्लिकेसनलाई एक पटक ‘अनइन्स्टल’ गरी पुनः इन्स्टल गर्नुपर्ने प्रवक्ता सुवेदीले जानकारी दिए । उनका अनुसार नयाँ प्रणालीमार्फत घरमै बसेर कक्षा लिन सकिने भएकाले यसले सेवाग्राहीलाई थप सहजता दिने अपेक्षा गरिएको छ ।

नयाँ व्यवस्था कार्यान्वयन भएपछि उपत्यकामा देखिँदै आएको अव्यवस्थित पार्किङ, अनावश्यक रोकावट तथा यात्रु व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको प्रवक्ता सुवेदीको भनाइ छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन र नागरिकलाई सहज आवागमन उपलब्ध गराउन ट्राफिक प्रहरी निरन्तर सक्रिय रहेको जनाइएको छ ।

 

कांग्रेसले राष्ट्रियसभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने

काठमाडौं । नेपाली कांग्रेसले कुनै तहका जनप्रतिनिधिलाई पनि आउँदो निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । केन्द्रीय कार्यालयबाट उम्मेदवार सिफारिसको मापदण्डमा थप प्रष्ट पार्दै पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा रहेकाहरूलाई उम्मेदवार सिफारिस नगर्न भनेको हो । ‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन’ परिपत्रमा भनिएको छ, ‘प्रदेश सभामा हाल बहाल रहनु भएका प्रदेश सभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन ।’

यसअघि १० बुँदे मापदण्डसहित पठाएको परिपत्रमा ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने उल्लेख छ । यस्तै, ०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्ति, प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्द सूचीमा समावेश भएका व्यक्तिहरूलाई समेत कांग्रेसले उम्मेदवार बन्न रोकेको छ ।

क्रियाशील सदस्यता टुङ्गो लगाउन दुई दिनभित्र देशभर फाराम पठाउन निर्देशन
यसैबीच कांग्रेसले १५ औं महाधिवेशनको मिति घोषणा भएसँगै नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय चाँडै टुङ्ग्याउने तयारी अगाडि बढाएको छ । महामन्त्री गगन थापाले क्रियाशील व्यवस्थापन समितिको बैठक राखेर १६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन निर्देशन दिएका छन् ।

समितिका सदस्य प्रकाश रसाइली स्नेहीले भने, ‘हामीले अब दुई दिनभित्र नयाँ सदस्यताको फर्म देशभर पुर्‍याउँछौं । जनसंख्या र क्लस्टर संरचनालाई समेत मापदण्डका रूपमा प्रयोग गरेर सदस्यताको विषय तोकिएको सयमै हामीले सम्पन्न गराउँछौँ ।’ सदस्यता नवीकरणका लागि सबै जिल्लाले अब सक्रियतापूर्वक काम गर्ने बताए । भातृ संस्थाबारे पनि पदाधिकारी बैठक बसेर चाँडै टुङ्ग्याउने तयारी भइरहेको जानकारी दिए । महामन्त्री थापा संयोजक रहेको समितिमा स्नेहीसहित योगेन्द्र चौधरी र सीता गुरुङ सदस्य छन् ।

एमाले महाधिवेशन उदघाटन सत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने

काठमाडौँ । नेकपा (एमाले) को आसन्न ११औं राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् । एमालेको ११औं महाधिवेशनको उद्घाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको छ । पार्टीको महाधिवेशनका लागि गठित स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटनको खुल्ला सत्रमा उल्लेख्य जनसहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

संयोजक ढकालका अनुसार महाधिवेशनको बन्द सत्रमा करिब ५०० स्वयंसेवक हुनेछन् । ती स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट माग गरिएको उनले बताए । एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) ले पनि स्वयंसेवाको समन्वय गर्नेछ। यस्तै सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त चौरमा एमालेका उपमहासचिव एवं महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीसहितको टोलीले बुधबार अवलोकन गरेको छ । उनका साथै एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, जिल्ला सचिव विष्णु तामाङलगायत सहभागी थिए ।

उक्त चौरमा करिब दुई लाख जनसहभागिताको क्षमता गरिएको संयोजक ढकालले उल्लेख गरे । उनका अनुसार त्यहाँ मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक खटिसकेका छन् । उद्घाटनका दिन पूर्वबाट आउने सवरीसाधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा व्यवस्थापन गरिने उनले जानकारी दिए । महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार ४०० प्रतिनिधि रहने छन् । महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म हुनेछ ।

यसरी मनाइँदैछ धान्यपूर्णिमा, योमरी पुन्ही र राष्ट्रिय ज्यापु दिवस {तस्वीरहरु}

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदैछ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा र नेवार समुदायले योमरी बनाएर चढाउने परम्परा छ ।

नयाँ धान भित्र्याएको खुशीयालीमा उपत्यका लगायत देशभरका नेवार समुदायले योःमरि पूर्णिमा पर्वका साथै राष्ट्रिय ज्यापु दिवस हर्षोल्लासका साथ मनाएका छन् । यस वर्षको योःमरि पूर्णिमा एबं राष्ट्रिय ज्यापु दिवसको र्याली काठमाडौं ५ हाँडीगाउँबाट निकालिएको छ ।  र्‍याली हाँडिगाउँ बाट सुरु हुदै टंगाल गणेश, नक्साल भगवती मन्दिर, प्यगंःथा, नाग पोखरी, नारायण हिटी, कशर महल, ठँबही त्रिदेवी चोक, ज्याठा, त्यःर, असं,बालकुमारी,केलत्वाः , वंघः, मरुत्वा, कालभैरव, हनुमान ध्वाका हुदै बसन्तपुरमा समाप्त हुने आयोजकले जानकारी दिएको छ ।

योःमरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । काठमाडौं उपत्यकाका नेवार समुदाय अन्तर्गतका ज्यापुहरुले एक साथ योमरी पुन्ही र राष्ट्रिय ज्यापु दिवस मनाएका छन् । नेवार समुदायको प्रमुख र मौलिक पर्व ‘यःमरी पुन्हि’ आज मनाइँदैछ । विशेषगरी काठमाडौं उपत्यकाका रैथाने नेवार समुदायले मनाउने यो पर्वको आफ्नै महत्व र विशेषता छ । नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन् ।मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो । यो पर्वमा विशेष प्रकारको रोटीको भोग गर्ने गरिन्छ, जसलाई ‘यःमरी’ भनिन्छ । नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरीलाई पञ्चतत्वका रुपमा पनि लिइन्छ ।

यःमरीमा धरतीको रुपमा चामलको मिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ । नयाँ धान भित्र्याएको खुशीयालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाट यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवम् भण्डारमा यःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो स–साना पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाइन्छ । यःमरीलाई भकारीलगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्नलाभ हुने नेवार समुदायमा विश्वास रहिआएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादका रुपमा परिवारका सबै सदस्यले बाँडेर खाने चलन छ ।

साँझपख टोलटोलमा केटाकेटी, युवा–युवती जम्मा भई यःमरी माग्ने प्रचलन पनि रहेको छ । यो एक प्रकारको देउसी, भैलो जस्तो हो । यसरी यःमरी माग्ने प्रचलन आजको दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो, जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ । वैज्ञानिक हिसाबले पनि यःमरीको महत्व रहेको पाइन्छ । जाडो महिनामा मनाइने यःमरी पुन्हिमा पकाइने यःमरीमा हालिने चाकु र तिलले शरीरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

भारत आउँदै छन् रुसी राष्ट्रपति पुटिन, आजै मोदीसँग भेट्ने

रुसी राष्ट्रपति भ्लादमिर पुटिन दुई दिने राजकीय भ्रमणका लागि आज भारत आउँदैछन् । सन् २०२२मा युक्रेन युद्ध सुरु भएपछि उनी पहिलो पटक भारत आउन लागेका हुन् । यसअघि सन् २०२१मा उनी भारत आएका थिए ।

पुटिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत आउन लागेका हुन् । अपरान्ह ४ बजे भारत आइपुगेपछि उनी प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् ।

भारत भ्रमणका क्रममा उनी शुक्रबार रुस-भारत शिखर सम्मेलनमा सहभागी हुनेछन् । यो सम्मेलनमा व्यापार, श्रम र पर्यटनसँग सम्बन्धित विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । दुई देशबीच रुसी तेलको खरिदको विषयमा पनि छलफल हुनेछ ।

युक्रेन युद्धपछि युरोपेली देशहरूले रुसी खनिज इन्धन खरिद गर्न छोडेपछि भारत एक प्रमुख खरिदकर्ता मुलुक बनेको छ ।

शिखर सम्मेलनअघि दुई देशका रक्षामन्त्रीहरूबीच औपचारिक वार्ता हुनेछ । वार्तामा रुसी लडाकु विमान खरिद लगायतका विषयमा छलफल हुने बताइएको छ ।

भारत भ्रमणका क्रममा पुटिनले महात्मा गान्धीको समाधीस्थलमा गएर श्रद्धान्जली प्रकट गर्नेछन् भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले रात्रीभोज आयोजना गर्नेछिन् ।

यी सबै कार्यक्रमपछि शुक्रबार साँझ उनी रूस फर्किनेछन् ।

 

 

कांग्रेस महाधिवेशन : प्यानलसहित सभापतिमा उठ्ने कल्याण गुरुङको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै जाँदा सभापति पदका आकांक्षीहरू खुलेर मैदानमा उत्रिन थालेका छन् । महामन्त्री गगन थापा र डा. शेखर कोइराला पहिले नै उम्मेदवारी संकेत गरिसकेका छन् । अघिल्लो महाधिवेशनमा पाँचौं स्थानमा पुगेका कल्याण गुरुङले पनि यस पटक प्यानलसहित सभापतिमा दावेदारी गर्ने घोषणा गरेका छन् ।

गुरुङले आफूले गत महाधिवेशनमा प्यानल नबनाउनु ठूलो कमजोरी भएको बताएका छन् । त्यसैले यस पटक टीम नै बनाएर प्रतिस्पर्धामा उत्रिने उनको भनाइ छ । उनले भने, ‘केही दिनभित्रै प्यानल सार्वजनिक गरेर औपचारिक घोषणा गर्छु ।’ कांग्रेसको संस्थापन–इतर धार तथा सात पूर्व पदाधिकारीहरूको समूह अहिले साझा उम्मेदवार खोज्ने प्रयासमा छ ।

विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महतबीच पटक–पटक छलफल भए पनि साझा नाममा सहमति जुटेको छैन । यीमध्ये गच्छदार र महतबाहेक पाँच जनाले सभापतिमा दाबी गरिरहेका छन् । यसैबीच गुरुङले भने आफूले अन्य आकांक्षीलाई समर्थन गरेर पछि हट्ने अवस्था नभएको प्रस्ट पारे । उनले भने, ‘उहाँहरूले मलाई साथ दिन चाहनु हुन्छ भने सहकार्य सम्भव छ, तर म अरूलाई समर्थन गर्न सक्दिनँ ।’ १४औं महाधिवेशनमा गुरुङले २२ मत प्राप्त गर्दै पाँचौँ स्थानमा सीमित भएका थिए । दोस्रो चरणको मतदानमा उनले शेरबहादुर देउवालाई समर्थन गरेका थिए । यस पटक भने मतदाताको बुझाइ, संगठनमा आफ्नो उपस्थिति र नयाँ प्यानलले आफ्नो दावेदारीलाई मजबुत बनाउने उनको दाबी छ ।

 

ओलीको टिमबाट शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने

काठमाडौं । नेकपा एमालेको आसन्न ११औं महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तामाङ अहिले स्थायी कमिटी सदस्य छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै उनले उपमहासचिवमा दाबी गरेका हुन् । महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने देखिएपछि आफूले अध्यक्ष ओलीको प्यानलबाट उपमहासचिवमा दाबी गरेको बताए । उनले सुनाए, ‘मलाई अहिले उपमहासचिव पद उपयुक्त लागेकाले मैले दाबी गरेको हुँ । अध्यक्षसँग पनि कुरा गरिसकेको छु ।’

उनले पार्टीभित्र यो वा त्यो समूह भन्दै प्रचार भइरहेकाले अध्यक्षले पनि प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्न ढोका खुला गरिसकेको जिकिर गरेका छन् । तपाईको उम्मेदवारी उपमहासचिवमा नै रहन्छ कि दाबी मात्रै हो भन्ने जिज्ञासामा उनले थपे, ‘मैले अहिले उपमहासचिव नै भनेको छु, अब हेरौं महाधिवेशनसम्म के हुन्छ ।’ सिन्धुपाल्चोक घर भएका तामाङ मन्त्री समेत भइसकेका छन् ।

‘इम्बोस्ड नम्बर प्लेट’ सम्झौताको म्याद थप्नु राष्ट्र र जनतामाथि घात : भीम रावल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विदेशी कम्पनीसँगको सम्झौता पुनः नवीकरण गर्ने तयारीप्रति आपत्ति जनाएका छन् । आज (बिहीबार) सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सम्झौताले राष्ट्रियता, गोपनीयता र जनहित सबैमा आघात पु¥याउँछ भन्दै अन्तरिम सरकारलाई गम्भीर चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अमेरिका–बंगलादेश संयुक्त कम्पनी ‘डेकाटोर’सँगको म्याद सकिएको सम्झौतामा फेरि म्याद थप्ने तयारी भएको समाचारप्रति रावलले गम्भीर ध्यानाकर्षण भएको बताए ।

रावलले भने, ‘म्याद सकिँदा फेरि सम्झौता थप्ने निर्णय गरियो भने त्यो नेपालको राष्ट्रियता र नेपाली जनतामाथिको घात हुनेछ ।’ रावलका अनुसार इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने सूचना प्रणाली र उपकरणमार्फत नेपालीहरुको व्यक्तिगत डेटा विदेशी कम्पनीले नियन्त्रण गर्ने सम्भावना रहन्छ, जुन राष्ट्रिय सुरक्षाका दृष्टिले समेत जोखिमपूर्ण छ ।

नेपाली भाषा र देवनागरी लिपिलाई सरकारी कामकाजको भाषा बनाएको संविधान विपरीत इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर प्रयोग गरिएको प्रति रावलले कडा आपत्ति जनाएका छन् । रावलले इम्बोस्ड नम्बर प्लेटलाई ‘महँगो र अन्यायपूर्ण शुल्क असुली गर्ने संयन्त्र’ को रूपमा चित्रित गर्दै जनतालाई आर्थिक रूपमा ठगिएको आरोप लगाए ।

विगतमा समेत यो सम्झौता संसद, सडक र सरोकारवाला सबैतर्फबाट व्यापक विरोध झेलेको रावलले स्मरण गराए। जनविरोधी, असंवैधानिक र राष्ट्रिय हितविपरीतका निर्णयलाई निरन्तरता दिनु स्वीकार्य हुन नसक्ने उनले बताए । सम्झौता नवीकरणको सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै डा. रावलले अन्तरिम सरकारलाई यो प्रक्रिया रोक्न आग्रह गर्दै भनेका छन्, ‘जनताको आवाज, राष्ट्रिय हित र गोपनीयताको सुरक्षा नै पहिलो प्राथमिकता हुनुपर्छ ।’

एनपिएल: पोखरा टस जितेर काठमाडौँविरुद्ध बलिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराले टस जितेर बलिङ रोजेको छ । पाँच खेलबाट चार अङ्क मात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ ।

काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ । लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौँ प्लेअफमा सुरक्षित हुन चाहन्छ । आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।