`

महेश बस्नेत भक्तपुर–२ र गोकुल बास्कोटा काभ्रे–२ बाट एकल सिफारिस

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर–२ र काभ्रे क्षेत्र नम्बर–२ मा उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याएको छ । पार्टीको क्षेत्रीय तहका बैठकहरूले दुवै निर्वाचन क्षेत्रमा एकल नाम सिफारिस गर्ने निर्णय गरेका हुन् ।

भक्तपुर–२ मा पार्टी सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई ‘एकल र सर्वसम्मत’ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । आइतबार राति सम्पन्न क्षेत्रीय समन्वय समितिको बैठकले पार्टीको संगठनात्मक एकता र निर्वाचन जित सुनिश्चित गर्ने लक्ष्यसहित बस्नेतको नाम अघि सारेको हो । यसअघि अनुभवी नेता राजेन्द्र राजथला र युवा नेता अनिल श्रेष्ठले पनि उम्मेदवारी दाबी प्रस्तुत गरेका थिए । तर, पार्टी हितलाई प्राथमिकतामा राख्दै दुवै नेताले आफ्नो दाबी फिर्ता लिएपछि बस्नेतको नाममा सर्वसम्मति जुटेको हो ।

निर्णय सार्वजनिक भएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत दाबी त्याग गर्ने सहकर्मीहरूप्रति आभार व्यक्त गर्दै एकताबद्ध ढंगले निर्वाचनमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले पार्टीभित्रको सहकार्य र विश्वासलाई आगामी प्रतिस्पर्धामा बलियो आधार बनाइने संकेत दिएका छन् । यस्तै, काभ्रे–२ मा एमालेका नेता गोकुल बास्कोटालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । सचिव पदमा पराजित भए पनि बास्कोटा यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निरन्तर प्रतिष्पर्धा गर्दै आएका अनुभवी नेता हुन् । उनले २०७४ र २०७९ का निर्वाचनमा काभ्रे–२ बाट प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका थिए ।

महेश बस्नेत र गोकुल बास्कोटा दुवै २०७० सालदेखि आ–आफ्नो निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रँदै आएका नेता हुन् । बस्नेत २०७४ मा भक्तपुर–२ बाट निर्वाचित भएका थिए । पार्टी नेतृत्वका अनुसार, दुवै क्षेत्रमा एकल नाम सिफारिस हुनु संगठनात्मक एकता, अनुशासन र चुनावी तयारीको संकेत हो । एमालेले अन्य निर्वाचन क्षेत्रहरूमा पनि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ । पार्टी स्रोतका अनुसार, स्थानीय तहदेखि केन्द्रसम्मको समन्वयमा उम्मेदवार चयन गरी जितमुखी रणनीतिका साथ चुनावी अभियान अघि बढाइनेछ ।

 

काठमाडौँ–५ मा यसरी उम्मेदवार सिफारिस भए ईश्वर पोखरेल

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको छ । आइतबार बसेको क्षेत्रीय समन्वय कमिटीको विस्तारित बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पोखरेललाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।

एमालेका लागि काठमाडौँ–५ पोखरेलको नियमित निर्वाचन क्षेत्र मानिन्छ । साबिक क्षेत्र नम्बर ३ रहँदा निर्वाचित भएदेखि उनी यही क्षेत्र वरपरबाट चुनाव लड्दै आएका छन् । यस क्षेत्रबाट उनले अहिलेसम्म दुई पटक जित र तीन पटक हार व्यहोरेका छन् । यही कारण पार्टीभित्र उनलाई ‘परिचित र स्थापित अनुहार’ का रूपमा लिइँदै आएको छ । यस पटक उम्मेदवार सिफारिसको प्रक्रियामा एमाले सचिव राजन भट्टराईको नाम पनि चर्चामा थियो । अघिल्ला निर्वाचनमा काठमाडौँ–४ बाट उम्मेदवार बन्दै आएका भट्टराईले यसपालि क्षेत्र नम्बर–५ बाट उम्मेदवार हुन चाहेका थिए ।

पार्टीभित्र आगामी चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने चर्चा चलिरहेका बेला, क्षेत्र नम्बर–४ मा कांग्रेस नेता गगन थापा उठ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै भट्टराईले क्षेत्र परिवर्तनको प्रयास गरेको बताइन्छ । तर आफ्नै क्षेत्र छाडेर नयाँ क्षेत्रमा आउन खोजेको भन्दै पार्टीभित्रै उनको आलोचना हुन थाल्यो । यसले क्षेत्रीय कमिटीभित्र असन्तुष्टि बढायो र अन्ततः भट्टराईको नाम सिफारिसमा पर्न सकेन ।

राजन भट्टराईको सम्भावित प्रवेशको चर्चाकै कारण सुरुमा उम्मेदवारी आकांक्षा नदेखाएका नेताहरू पनि पछि अघि सरे । नारायण सिलवाल, किरण शाह ठकुरी, दीपक निरौला, दीपेन्द्र श्रेष्ठ र शान्ति अधिकारीको नाम वैकल्पिक रूपमा प्रस्ताव गरियो । तर यी सबै नाम ‘ईश्वर पोखरेल उम्मेदवार नबनेको खण्डमा मात्र’ भन्ने शर्तसहित सिफारिस गरिएको हो । पार्टीका एक नेताका अनुसार, भित्री विवाद र असहमतिका बीच अन्ततः पोखरेलको नाममा सहमति जुटेको हो ।

यद्यपि क्षेत्रीय कमिटीले एकल सिफारिस गरे पनि स्वयं ईश्वर पोखरेलले उम्मेदवार बन्ने विषयमा स्पष्ट जवाफ दिएका छैनन् । क्षेत्रीय र जिल्ला कमिटीका नेताहरूले सिफारिसबारे जानकारी गराउँदा उनले पहिले पार्टीको मुख्य नेतृत्व, विशेषगरी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि मात्र अन्तिम निर्णय लिने बताएका छन् । स्थानीय नेताहरूका अनुसार पोखरेल यस पटक चुनाव लड्न खासै इच्छुक देखिएका छैनन् । यदि उनी उम्मेदवार नबने शान्ति अधिकारी बस्नेत (पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीकी बुहारी), जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, केन्द्रीय सदस्य नारायण सिलवाललगायत नेताहरू बलिया दाबेदारका रूपमा अघि देखिएका छन् ।

काठमाडौँ जिल्ला कमिटीले सबै क्षेत्रीय कमिटीलाई विस्तारित भेलाबाट उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको थियो । क्षेत्रीय कमिटी सदस्यसँगै नगर र वडा कमिटीका पदाधिकारी समेत सहभागी भेलाबाट नाम प्रस्ताव गरिएको हो । अब क्षेत्रीय कमिटीबाट आएका सिफारिसहरू जिल्ला हुँदै प्रदेश कमिटीमा पठाइने जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिएका छन् । काठमाडौँ–५ मा देखिएको यो सिफारिस प्रक्रिया केवल उम्मेदवार चयन मात्र नभई एमालेभित्रको आगामी चुनावी रणनीति र सम्भावित गठबन्धन राजनीतिलाई पनि प्रतिबिम्बित गर्ने घटनाक्रमका रूपमा हेरिएको छ ।

 

रास्वपा समानुपातिक बन्दसूचीबाट बाहिरिए डा. पाँडे, नाम फिर्ता लिनेको संख्या ६ पुग्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिने क्रम जारी रहेको छ । यसै क्रममा डा. अरनिको पाँडेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै डा. पाँडेले बन्दसूचीमा रहिरहनुको औचित्य नदेखिएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो निर्णय सार्वजनिक गरेका हुन् ।

पाँडेका अनुसार, अघिल्लो राति सम्पन्न केन्द्रीय समितिको बैठकमा नै उनले आफ्नो नाम सूचीबाट हटाउन नेतृत्वलाई जानकारी गराइसकेका थिए । ‘पछिल्लो समय विकसित राजनीतिक परिस्थितिमा रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहनुको औचित्य नदेखी मैले बैठकमा साथीहरूलाई नाम हटाउने निर्णय सुनाएँ,’ उनले उल्लेख गरेका छन् ।

डा. पाँडेको यो घोषणासँगै रास्वपाको समानुपातिक सूचीबाट हट्नेहरूको संख्या आधा दर्जन पुगेको छ । यसअघि नै चर्चित अनुहारहरू आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, सञ्चारकर्मी तथा अभिनेता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारीबाट अलग हुने घोषणा गरिसकेका छन् ।

चीनका प्रमुख विमानस्थलहरूमा उडान अवरोध : ४४ उडान रद्द, ५८३ ढिलाइ

चीन । चीनका प्रमुख विमानस्थलहरूमा हजारौं यात्रुहरू ठूलो समस्यामा परेका छन् । जनवरी ५, २०२६ मा विभिन्न एयरलाइन्सले ४४ उडान रद्द र ५८३ उडान ढिलाइ गरेपछि बेइजिङ, सांघाइ, छेङ्दु, कुनमिङलगायत शहरहरूका यात्रुहरू प्रभावित भएका हुन् । बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल (PEK), सांघाइ होङछियाओ अन्तर्राष्ट्रिय विमानस्थल (SHA), छेङ्दु तियानफु अन्तर्राष्ट्रिय विमानस्थल (TFU) लगायतका प्रमुख अन्तर्राष्ट्रिय केन्द्रहरूमा उडान अवरोध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् ।

चीनकै सबैभन्दा ठूलो विमानस्थल बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा १३० उडान ढिलाइ र १० उडान रद्द भएको छ, जसले यसलाई सबैभन्दा बढी प्रभावित विमानस्थल बनाएको छ । सांघाइ होङछियाओमा ९५ ढिलाइ र ५ रद्द, छेङ्दु तियानफुमा ८४ ढिलाइ र २ रद्द उडान भएका छन् । कुनमिङ चाङ्सुई विमानस्थलमा १०१ ढिलाइ र १० रद्द, भने नान्जिङ लुकोउ विमानस्थलमा ४९ ढिलाइ र ६ रद्द उडान रिपोर्ट गरिएको छ ।

साना विमानस्थलहरू पनि यस अव्यवस्थाबाट अछुतो रहेनन् । हाङ्झाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलमा १२० उडान ढिलाइ र ५ रद्द, जबकि शाचे विमानस्थलमा ४ ढिलाइ र ६ रद्द उडान भएका छन् । यी अवरोधले चीनभित्र मात्र नभई अन्तर्राष्ट्रिय यात्रुहरूलाई पनि असर पारेको छ । टोकियो, हङकङ, सोल र सिङ्गापुर जाने उडानहरूमा समेत ढिलाइ र रद्द हुने क्रम देखिएको छ ।

एयरलाइन्सको प्रदर्शन र प्रभावित रुटहरू
चीनका प्रमुख एयरलाइन्सहरू—एयर चाइना, चाइना इस्टर्न र चाइना साउदर्नमा सबैभन्दा बढी ढिलाइ र रद्द देखिएको छ । विशेषगरी एयर चाइना बेइजिङ–सांघाइ, हङकङ र सोल जाने उडानहरूमा ढिलाइको मुख्य कारण बनेको छ । यसका अतिरिक्त सांघाइ एयरलाइन्स, हैनान एयरलाइन्स र स्यामेन एयरलाइन्स का उडानहरू पनि प्रभावित भएका छन् । बेइजिङ, सांघाइ र छेङ्दुबाट अन्तर्राष्ट्रिय गन्तव्यतर्फ जाने धेरै उडानहरू अवरुद्ध हुँदा यात्रुहरू टर्मिनलमै फसेका छन् ।
उडान अवरोधका कारण
बेइजिङ, सांघाइ लगायतका विमानस्थलमा उडान अवरोध हुनुका कारणबारे हाल अनुसन्धान भइरहेको छ । मौसम र प्राविधिक÷सञ्चालनसम्बन्धी समस्याले भूमिका खेलेको हुनसक्ने अनुमान गरिएको छ, तर अधिकारीहरूले हालसम्म ठोस कारण पुष्टि गरेका छैनन् । यसमा थप रूपमा बिदा÷चाडपर्वको सिजनका कारण यात्रुको चाप बढ्नु ले पनि समस्या झनै गम्भीर बनाएको छ । बेइजिङ, सांघाइ र छेङ्दुका विमानस्थलहरूमा अत्यधिक यात्रु चापले तालिका व्यवस्थापन कठिन बनेको छ ।

बेइजिङ क्यापिटल, सांघाइ होङछियाओ र अन्य प्रमुख विमानस्थल हुँदै यात्रा गर्ने यात्रुहरूले दिनभर अवरोध जारी रहने सम्भावना रहेको छ । एयरलाइन्सहरूले यात्रुहरूलाई उडानको ताजा जानकारी लिन, पुनः बुकिङ विकल्पबारे बुझ्न आग्रह गरेका छन् । यात्रुहरूलाई विमानस्थलको आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत जानकारी लिन पनि सुझाव दिइएको छ । विशेष गरी टोकियो र हङकङ जस्ता अन्तर्राष्ट्रिय गन्तव्यतर्फ उड्ने यात्रुहरूले एयर चाइना, चाइना इस्टर्नलगायत एयरलाइन्ससँग सम्पर्कमा रहन भनिएको छ ।

यात्रु क्षतिपूर्ति र पुनः बुकिङ
चिनियाँ नियमअनुसार ३ घण्टाभन्दा बढी ढिलाइ वा उडान रद्द भई अर्को उडानमा सारिएको अवस्थामा यात्रुहरूले क्षतिपूर्ति पाउने अधिकार राख्छन् । क्षतिपूर्ति र पुनः बुकिङ प्रक्रिया एयरलाइन्सहरूले केस–टु–केस आधारमा व्यवस्थापन गरिरहेका छन् ।

पर्यटन र स्थानीय अर्थतन्त्रमा प्रभाव
यी व्यापक उडान अवरोधहरूले चीनको पर्यटन र व्यापार क्षेत्र मा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ । बेइजिङ, सांघाइ र छेङ्दु अन्तर्राष्ट्रिय पर्यटनका प्रमुख केन्द्र हुन्, र ढिलाइका कारण ग्रेट वाल, फर्बिडन सिटी र छेङ्दु पाण्डा अनुसन्धान केन्द्र जस्ता स्थलतर्फ जाने पर्यटकहरूको योजना प्रभावित भएको छ । यातायात र होटल व्यवसायसँग सम्बन्धित स्थानीय व्यवसायहरूले पनि यात्रुहरूको तालिका बिग्रँदा आर्थिक असर भोगिरहेका छन् ।
travelandtourworld.com बाट अनुवाद

‘टकराव’ का बीच आज कांग्रेस कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिँदै गएको महाधिवेशन विवादको निर्णायक मोडका रूपमा आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन (सानेपा) मा दिउँसो १ बजे बस्ने बैठकलाई कांग्रेसको आन्तरिक राजनीति मात्र होइन, आगामी बाटो नै तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र महामन्त्रीद्वय गगनकुमार थापा–विश्वप्रकाश शर्मा नेतृत्वको विशेष महाधिवेशन पक्षधरबीच लामो समयदेखि चलिरहेको रस्साकस्सी यही बैठकमा कसरी अघि बढ्छ भन्नेमा सबैको ध्यान केन्द्रित छ । बैठकको औपचारिक एजेण्डा समसामयिक राजनीति र पार्टीका आन्तरिक विषय भए पनि वास्तविक बहस १५औं महाधिवेशनकै वरिपरि घुम्ने निश्चित छ ।

गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म नियमित १५औं महाधिवेशन गर्ने निर्णय गरेपछि कांग्रेसभित्र असन्तुष्टि थप चर्किएको छ । किनकी पार्टी विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ ।

विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते नै ५४ प्रतिशत अर्थात् २,४८८ प्रतिनिधिले हस्ताक्षर बुझाइसकेको विशेष पक्षधरको दाबी छ । उनीहरूका अनुसार पुस मसान्तसम्म विशेष महाधिवेशन बोलाइनु विधानको बाध्यकारी व्यवस्था हो । यही आधारमा महामन्त्रीद्वयले पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी अघि बढाएका छन् ।

अहिले कांग्रेसभित्र तीन स्पष्ट समूह देखिन्छन् । पहिलो, सभापति देउवाको नेतृत्वमा वैशाखमा नियमित महाधिवेशन गर्ने संस्थापन समूह । दोस्रो, गगन–विश्व समूह, जसले पुसमै विशेष महाधिवेशन हुनुपर्ने अडान लिएको छ । तेस्रो, नेता शेखर कोइरालाको समूह, जो दुवै पक्षबीच मध्यबिन्दु खोज्ने प्रयासमा छ । शेखर कोइराला समूहले पार्टी विभाजनतर्फ जान नदिन विशेष महाधिवेशन पक्षधरको भावना सम्बोधन गर्दै समन्वयको बाटो खोज्नुपर्ने धारणा बनाएको छ । उनीहरूका अनुसार विशेष महाधिवेशन भए वा नभए पनि नीति, विधान र संस्थागत सुधारका विषयमा गम्भीर बहस आवश्यक छ ।

विशेष महाधिवेशन पक्षधर समूहले अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेर महाधिवेशन प्रतिनिधिसँग संवाद बढाइरहेको छ । गगन थापा ‘डकुमेन्ट’ तयारीमा जुटेका छन् भने विश्वप्रकाश शर्माले व्यवस्थापकीय पक्ष सम्हालिरहेका छन् । प्रदेश, क्लस्टर र समूहगत छलफल तीव्र बनाइएको उनीहरूको भनाइ छ । तर, यही समूहभित्र पनि विशेष महाधिवेशनले पार्टीलाई दुर्घटनामा लैजान सक्ने डर देखिन्छ । ‘हामी पार्टी फुट्न दिँदैनौं’, भन्दै गगन थापाले विधान कार्यान्वयन गर्दा विभाजन नहुने दाबी गरे पनि मध्यबिन्दु खोज्नै पर्ने स्वीकारोक्ति समूहका नेताहरूबाट आउन थालेको छ ।

यता संस्थापन पक्ष पनि तनावमै छ । विशेष महाधिवेशनको तयारी तीव्र भएपछि सभापति देउवाले आफ्ना निकट नेताहरूसँग पटक–पटक छलफल गरेका छन् । पूर्व उपसभापति विमलेन्द्र निधिका अनुसार कार्यसम्पादन समितिले विशेष महाधिवेशन स्पष्ट रूपमा रोकेको भन्दै महाधिवेशन प्रतिनिधिलाई काठमाडौं नआउन अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

संस्थापन पक्षका नेताहरू विशेष महाधिवेशनलाई ‘गुटगत भेला’ मात्र ठान्छन् । उनीहरूका अनुसार कार्यसम्पादन समितिले वैशाखको महाधिवेशन तय गरिसकेपछि विशेषको औचित्य सकिएको छ । सहमहामन्त्री महेन्द्र यादवले पार्टी नफुट्ने र एक ढिक्का रहने दाबी गर्दै विशेष पक्षधरको गतिविधिलाई तागत प्रदर्शनको प्रयासका रूपमा चित्रण गरेका छन् ।

आजको कार्यसम्पादन समिति बैठकमा विशेष महाधिवेशन रोक्ने रणनीति, वैशाखको महाधिवेशन कार्यतालिका र सम्भावित मध्यबिन्दुको खोजी मुख्य बहसका विषय बन्ने छन् । क्रियाशील सदस्यता अझै टुंगो नलागेको अवस्थामा वैशाखमा महाधिवेशन सम्भव छ कि छैन भन्ने प्रश्न पनि उत्तिकै गम्भीर छ । विधान, संख्या र राजनीतिक दबाबबीच कांग्रेस अहिले निर्णायक मोडमा उभिएको छ । संस्थापन र विशेष पक्षधर एकअर्कालाई गलाउने रणनीतिमा व्यस्त रहँदा शेखर कोइराला समूहले अघि सारेको मध्यमार्गी विकल्पले पार्टीलाई एकतामा राख्न सक्छ कि सक्दैन-त्यसको संकेत आजको बैठकले दिनेछ ।

रास्वपाको आज वृहत्तर एकता घोषणा सभा

काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र शाह, उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता कार्यकर्ताको व्यवस्थापनपछि आज (सोमबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत्तर एकता घोषणा सभा गर्दैछ ।

रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै आज दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी दिएको थियो । पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो । सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ ।

आइतबार बसेको बैठकले पार्टीमा आएकाहरुको व्यवस्थापनका लागि विभिन्न पदाधिकारी थपसहित केन्द्रीय समितिमा मनोनयन गरेको थियो । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) रास्वपाको वरिष्ठ नेता बनेका छन् । यसअघि स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँको मेयर बनेका उनी अब दलीय राजनीतिमा सहभागी भएका छन् । बालेनलाई केन्द्रीय सदस्यमा मनोनित गरेसँगै केन्द्रीय समितिको बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले बालेनलाई ‘वरिष्ठ नेता’ भन्दै स्वागत गरेका थिए ।

रास्वपा प्रवक्ता झाका अनुसार, केन्द्रीय समिति बैठकले बालेनसँगै २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । रास्वपासँग भएको सहमतिअनुसार, बालेनको समूहबाट केन्द्रीय सदस्य बनेका नेताहरूले महामन्त्री र सहमहामन्त्री पनि पाउने छन् । रास्वपा सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेनबीच पुस १३ गते एकता गर्ने सहमति भएको थियो । त्यही सहमतिका आधारमा आज बसेको रास्वपा केन्द्रीय समितिको बैठकले समायोजन गरेको हो ।

रुपन्देही- २ मा रास्वपाबाट सन्तोष गिरीको चर्चा उच्च

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही निर्वाचन क्षेत्र नं. २ का लागि सन्तोष गिरी सम्भावित उम्मेदवारको रूपमा हेरिएका छन् । 

हाल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको सचिवालयमा सल्लाहकारको रूपमा कार्यरत गिरी यसअघि रुपन्देही निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । गिरीले अर्थशास्त्रमा एमए, एलएलबी तथा व्यवसाय प्रशासनमा स्नातक तहको अध्ययन पूरा गरेका छन् ।

अर्थतन्त्र र व्यवसाय क्षेत्रका विज्ञ मानिने गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतिष्ठित मञ्चहरूमा सक्रिय भूमिका पनि निर्वाह गरेका छन् । नीति निर्माण, आर्थिक सुधार तथा संस्थागत विकासका विषयमा गिरीसँग गहिरो ज्ञान र अनुभव छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि नै रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट डा. लेखजंग थापालाई उम्मेदवारको रूपमा घोषणा गरिसकेको सन्दर्भमा सन्तोष गिरीको उम्मेदवारी रुपन्देही–२ बाट हुने सम्भावना अझ बलियो देखिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच विकसित भएको नयाँ राजनीतिक सहकार्यको सन्दर्भमा रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट सन्तोष गिरी उम्मेदवार बन्ने सम्भावना उच्च देखिएको हो ।

स्वच्छ राजनीति, सुशासन र विकासमुखी दृष्टिकोणका साथ सन्तोष गिरी रुपन्देही–२ मा एक सशक्त, जिम्मेवार र विश्वासयोग्य नेतृत्वका रूपमा अगाडि आएको रुपन्देहीको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

सिरियामा आइएस लक्ष्यमा बेलायत–फ्रान्सको हवाई आक्रमण

बेलायती र फ्रान्सेली लडाकू विमानहरूले मध्य सिरियामा इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित हतियार र विस्फोटक भण्डारण गरिएको आशङ्का गरिएको एक भूमिगत केन्द्रमा हवाई आक्रमण गरेका छन् ।

बेलायती रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो । मन्त्रालयका अनुसार शनिबार साँझ सिरियाको होम्स प्रान्तस्थित ऐतिहासिक सहर पालमिराको उत्तरतर्फ रहेको एक पहाडी संरचनाभित्रको भूमिगत सुविधालाई लक्षित गरी आक्रमण गरिएको थियो । सो स्थानमा आइएसका सदस्यहरूले हतियार तथा विस्फोटक सामग्री भण्डारण गरेको सूचनाका आधारमा कारबाही गरिएको जनाइएको छ । बेलायत र फ्रान्स विगत एक दशकभन्दा बढी समयदेखि आइएसविरुद्ध सङ्घर्ष गर्दै आएको अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनका सदस्य राष्ट्र हुन् । जारी विज्ञप्तिअनुसार बेलायती वायु सेनाले भोयजर रिफ्युलिङ ट्याङ्करको सहयोगमा टाइफुन एफजिआर–४ लडाकू जेट प्रयोग गरेको थियो भने फ्रान्सेली लडाकू विमानहरू पनि संयुक्त आक्रमणमा सहभागी भएका थिए ।

बेलायती वायु सेनाले पेभवे–४ निर्देशित बम प्रयोग गरी उक्त भूमिगत केन्द्रका तलतर्फ रहेका धेरै पहुँच सुरुङहरूलाई लक्षित गरेको जनाएको छ । मन्त्रालयका अनुसार आक्रमणपछिको विस्तृत मूल्याङ्कन प्रक्रिया जारी रहे पनि प्रारम्भिक सङ्केतहरूले ‘लक्ष्य सफलतापूर्वक संलग्न गरिएको’ देखाएको छ । बेलायतका रक्षामन्त्री जोन हेलीले यस कारबाहीले मध्यपूर्व क्षेत्रमा आइएस र यसको ‘हिंसात्मक विचारधारा’ को कुनै पनि पुनरुत्थान रोक्न बेलायत आफ्ना सहयोगी राष्ट्रहरूसँग काँधमा काँध मिलाएर उभिन प्रतिबद्ध रहेको सन्देश दिएको बताए । यस आक्रमणबारे सिरियाली सरकारको तर्फबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

सिरिया गत वर्षको अन्त्यतिर औपचारिक रूपमा आइएसविरोधी अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल भएको थियो । सन् २०१९ मा सिरियामा निर्णायक सैन्य पराजय भोगेपछि पनि आइएसका स्लीपर सेलहरू अझै सक्रिय रहेको मानिन्छ । ती समूहहरूले सिरिया र इराकमा छिटपुट तर घातक आक्रमणहरू गर्दै आएका छन्, जहाँ एक समय उनीहरूले तथाकथित ‘खिलाफत’ घोषणा गरेका थिए । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूका अनुसार आइएससँग अझै पनि सिरिया र इराकका आफ्ना पुराना गढ क्षेत्रमा करिब पाँच हजारदेखि सात हजार सदस्यहरू सक्रिय छन् । गत महिना, पालमिरा नजिकै भएको एक आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषे मारिएपछि त्यसको प्रतिशोधस्वरूप ट्रम्प प्रशासनले सिरियामा आइएस लडाकूहरू र हतियार केन्द्रहरूलाई ‘उन्मूलन’ गर्ने उद्देश्यले अमेरिकी सैन्य आक्रमण सुरु गरेको थियो ।

अहिलेको बेलायत–फ्रान्सको संयुक्त हवाई कारबाही पनि त्यही व्यापक सुरक्षा प्रयासको निरन्तरता मानिएको छ ।

रास्वपाले थप्यो चार पदाधिकारी, महामन्त्रीमा बालेन–कुलमान पक्षको ‘रस्साकस्सी’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संरचना विस्तार गर्दै चार पदाधिकारी थप्ने निर्णय गरेको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता पद थप्ने निर्णय गरेको हो ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल’ सँग एकताको सहमतिपछि पदीय समायोजन आवश्यक परेकाले पदाधिकारी संख्या बढाइएको पार्टीले जनाएको छ । यस निर्णयसँगै रास्वपामा अब पदाधिकारी संख्या कम्तीमा १४ पुगेको छ ।

यसअघि रास्वपामा सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री, एक कोषाध्यक्ष र दुई सहप्रवक्ता गरी १० पदाधिकारी थिए । नयाँ निर्णयअनुसार अब एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सहप्रवक्ता थपिनेछ ।

बैठकपछि कुलमान घिसिङ उपसभापतिमा मनोनीत भइसकेका छन् भने बाँकी पदका लागि आन्तरिक छलफल जारी छ । विशेष गरी महामन्त्री पदलाई लिएर बालेनको टिम र उज्यालो नेपालबीच दाबी देखिएको छ । स्रोतका अनुसार कुलमानसँग एकता हुनुअघि नै बालेनको टिमलाई महामन्त्री दिने अनौपचारिक समझदारी भएको थियो । तर, उज्यालो नेपालले पनि उक्त पदमा दाबी गरेपछि सहमति टुंगिन सकेको छैन ।

पार्टीभित्रको छलफलअनुसार महामन्त्री बालेनकै टिमबाट हुने सम्भावना बलियो देखिएको छ । सभापति रवि लामिछानेले उज्यालो नेपाललाई एक उपसभापति, एक सहमहामन्त्री र एक सहप्रवक्ता दिने प्रस्ताव अघि सारेको बताइन्छ । यदि उज्यालो नेपालको भागमा महामन्त्री परे जितराम लामाको नाम चर्चामा रहेको छ ।

रास्वपामा सभापतिपछिको सबैभन्दा प्रभावशाली पद महामन्त्री मानिन्छ । पार्टी संगठन परिचालन र दैनिक व्यवस्थापनमा महामन्त्रीको भूमिका केन्द्रीय हुने गर्छ । डा. मुकुल ढकाल निष्काशित भएपछि कविन्द्र बुर्लाकोटी एकल महामन्त्रीका रूपमा कार्यरत छन्। अब भने पदाधिकारी विस्तारसँगै उनले आफ्नो जिम्मेवारी र अधिकार अर्को महामन्त्रीसँग बाँड्नु पर्ने अवस्था बनेको छ । पदाधिकारी बाँडफाँटको अन्तिम टुंगो भने आगामी छलफलपछि मात्रै लाग्ने पार्टी स्रोतले जनाएको छ ।

 

 

ओलीलाई बयान दिन जाँचबुझ आयोगको पत्र, के ओलीले बयान देलान् ?

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेन–जी विद्रोहको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बयानका लागि पत्र काटेको छ ।

पत्रपछि ओलीको सार्वजनिक प्रतिक्रिया आएको छैन । यसअघि उनले सार्वजनिक रूपमै बयान नदिने बताउँदै आएका थिए ।

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिएको पृष्ठभूमिमा ओलीसँग बयानका लागि पत्र काटेको हो ।

हालै आयोगका अध्यक्ष कार्कीले ओलीलाई बयानमा बोलाउने र त्यसका लागि पत्र काट्ने बताएका थिए ।

यहीबीच ओलीसँग राष्ट्रिय मानव अधिकार आयोगले बयान लिएको आयुक्त लिली थापाले जानकारी दिइन् ।

आयोगले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलगायतसँग बयान लिइसकेको छ ।

आयोगलाई विद्रोहको पहिलो दिन २३ भदौमा भएको सरकारी दमन र २४ गते विद्रोहीहरूबाट भएको विध्वंशको सत्यतथ्य छानबिन गर्ने कार्यादेश छ ।

तर, आयोगको अध्यक्ष हुनुभन्दा अघि कार्कीले ओली, लेखकलगायतलाई जेल कोच्‍नुपर्ने भन्दै कडा अभिव्यक्ति दिएको र उनै छानबिन आयोगको अध्यक्ष हुनाले निष्पक्ष छानबिन हुनेमा विश्‍वास नरहेको ओलीले बताउँदै आएका छन् ।

उनले पहिले नै कार्कीले दोषी ठहर्‍याइसकेकाले सिँधै जेल पठाउन चुनौती दिने गरेका छन्

ओलीलाई एउटा आयोगको पत्र, अर्कोले लियो बयान

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन तीव्र बन्दै जाँदा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई फरक निकायको अनुसन्धानको केन्द्रमा परेका छन् । एकातर्फ घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले ओलीलाई औपचारिक बयानका लागि पत्र पठाएको छ भने अर्कोतर्फ राष्ट्रिय मानवअधिकार आयोगले समेत ओलीसँग प्रत्यक्ष बयान लिइसकेको छ ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको थियो । लेखकको बयान सकिएपछि आयोगले अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्राचार गरेको हो । सार्वजनिक रूपमा ‘म बयान दिन जान्नँ, किन जानु ?’ भन्दै आएका ओलीलाई आयोगले औपचारिक प्रक्रियामार्फत उपस्थित हुन आग्रह गरेको हो ।

आयोगले लेखकसहित सुरक्षा निकायका उच्च अधिकारीहरू, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग यसअघि नै बयान लिइसकेको छ । सरकारले असोज ६ गते गठन गरेको उक्त आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । सुरुमा तीन महिनाको समय पाएको आयोगले तोकिएको अवधिमा काम नसकिएपछि एक महिना थप समय पाएको छ ।

यता, राष्ट्रिय मानवअधिकार आयोगले भने भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा पूर्व प्रधानमन्त्री ओलीसँग बयान लिएको छ । आयोगकी सदस्य लिली थापाका अनुसार जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका मानव अधिकारसम्बन्धी विषयमा ओलीसँग बयान लिने प्रक्रिया अघि बढाइएको हो । आयोगले यस घटनासँग सम्बन्धित विभिन्न सरोकारवालासँग बयान लिइरहेको जनाएको छ ।

मानवअधिकार आयोगले यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पनि बयान लिइसकेको थियो । आयोगका अनुसार आन्दोलनका क्रममा राज्य पक्षबाट भएका कदम, सुरक्षा व्यवस्थापन र त्यसले पारेको प्रभावबारे विस्तृत अध्ययन भइरहेको छ । दुई फरक आयोगमार्फत भइरहेको बयान प्रक्रियाले जेनजी आन्दोलन प्रकरणमा राजनीतिक तथा प्रशासनिक तहको जिम्मेवारीबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ । अब जाँचबुझ आयोगले ओलीको बयान कहिले र कुन ढाँचामा लिन्छ भन्ने विषयले थप चासो बढाएको छ ।

प्रधानमन्त्रीका श्रीमानलाई थप उपचारका लागि भारत लगिदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । पिसावको संक्रमण देखिएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनलाई थप उपचारकालागि भारत लैजाने तयारी गरिएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत उनलाई थप उपचारका लागि आजै भारत लान लागिएको हो । उनलाई भारतको दिल्ली लान लागिएको स्रोतले बताएको छ ।

यद्यपि दिल्लीको कुन अस्पतालमा उपचार गराउने भन्नेबारे खुलाइएको छैन । उपचारमा संलग्न चिकित्सकका अनुसार उनमा पिसाबमा संक्रमण, शरीरमा सोडियमको मात्रा कम हुने (हाइपोनेट्रेमिया), रिंगटा लाग्ने लगायतका लक्षणहरू देखिएका छन् । चिकित्सकले अन्य थप स्वास्थ्य जटिलताबारे भने विस्तृत जानकारी दिन चाहेनन् ।

सुवेदीले यसअघि प्रोस्टेटको शल्यक्रिया गराइसकेका छन् । पछिल्लो समय संक्रमण बढेका कारण रिंगटा लाग्ने, कमजोरी देखिने जस्ता समस्या बढेपछि उनी अस्पताल भर्ना भएको बताइएको छ । अहिले उनलाई क्याबिनमा राखेर उपचार भइरहेको छ भने विशेषज्ञ चिकित्सकहरूको टोलीले निगरानी गरिरहेको छ । ‘उहाँ यसअघि पनि बेला बेलामा बिरामी भइरहनु हुन्थ्यो । अस्पताल जाने आउने चलिरहेको हो । पछिल्लो समस्याबारे चिकित्सकसँग सल्लाह भइरहेको छ,’ स्रोतले भन्यो ।

मिर्गौला, पिसाबको थैली, पिसाब नली वा पिसाब बाहिर निस्कने बाटोको जुनसुकै भागमा किटाणुको संक्रमण भएमा त्यसलाई पिसाब नलीको संक्रमण (युरिनरी ट्रयाक्ट इन्फेक्सन वा यूटीआई) भनिन्छ । चिकित्सकहरूका अनुसार यो संक्रमण सरसफाईको कमी वा शरीरको अन्य भागबाट रगतको माध्यमद्वारा किटाणु पिसाब नलीमा पुग्दा हुने गर्छ ।

पिसाबको बाटोमा कुनै अवरोध भएमा वा पिसाब राम्ररी बाहिर ननिस्केमा पनि संक्रमणको जोखिम बढ्छ । पुरुषहरूमा प्रोस्टेट ग्रन्थी बढ्ने, पिसाब नली साँघुरो हुने वा पिसाब थैलीबाट पिसाब माथि फर्किने स्थितिले संक्रमणको जोखिम झनै बढाउँछ । विशेष गरी वृद्ध पुरुषहरूमा प्रोस्टेटको समस्याले पिसाब नली साँघुरो हुँदै जाने भएकाले यो संक्रमण बारम्बार देखिने चिकित्सकहरू बताउँछन् ।

 

 

 

देउवा निवासमा शीर्ष नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आफू निकट पदाधिकारीहरूको बैठक बसेको छ । सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पदाधिकारी र पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्य पनि बैठकमा छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भने बैठकमा बोलाइएको छैन । महामन्त्रीद्वयले वैशाखमा महाधिवेशन गर्ने गरी केन्द्रीय कार्यसम्पादनले पारित गरेको कार्यतालिकामा फरक मत राखेका थिए ।

साथै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले मागेअनुसार विधानको धारा १७ को २ अनुसार पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उनीहरू छन् । सभापति देउवाले आगामी चुनाव र पार्टीभित्रको आन्तरिक विषयका बारेमा आफू निकट नेताहरूसँग राय लिन बैठक राखेको एक पदाधिकारीले जानकारी दिए । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा ०८३ को वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्नेगरी बहुमतले कार्यतालिका पारित भएको थियो ।

त्यतिबेला फरक मत राखेका महामन्त्री द्वय थापा र शर्मा भने पुषभित्र विशेष महाधिवेशन गर्ने पक्षमा छन् । पार्टीको विधानअनुसार उनीहरुले ५४ प्रतिशत महाधिवेशन आयोजक समितिका सदस्यहरुको हस्ताक्षर संकलन गरेर केन्द्रीय समितिको बैठकमा पेश गरेका थिए । संकलित हस्ताक्षरलाई आधार बनाएर विशेष महाधिवेशन गर्ने थापा–शर्मा पक्षको तयारी छ । पार्टी विधानले बहुमत सदस्यहरुको हस्ताक्षरसहित विशेष महाधिवेशन गर्न सकिने भनेको छ । सोही अधिकार प्रयोग गरेर उनीहरु पुषभित्रै विशेष महाधिवेशन गर्ने रणनीतिमा छन् । महामन्त्री द्वय थापा र शर्माले अहिले कानुनी परामर्श गरिरहेको बताइन्छ ।

 

 

लुकेर विदेशीहरूको षड्यन्त्रमा सिंहदरबार जलाउनेलाई सम्मान गर्दैनौँ : मौसम

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’ले जेन–जी विद्रोहपछि राज्यका संरचनामा अपेक्षित परिवर्तन हुन नसकेको बताएका छन् ।

उनले सुशासन र भ्रष्टाचार अन्त्यको मूल एजेन्डा बोकेर भएको विद्रोहपछि गठन भएको जेन–जी समर्थित सुशीला कार्की नेतृत्वको नागरिक सरकारले ती एजेन्डाअनुसार राज्य संयन्त्रलाई पुनर्संरचना गर्न नसकेको आरोप लगाए ।

‘जेन–जी आन्दोलनपछि राज्यका संरचनाहरूमा धेरै ठूलो परिवर्तन हुुनुपर्थ्याे । त्यो हुन सकेन,’ उनले इलाममा आइतबार आयोजित पार्टीको एकता सन्देशसभामा भने, ‘मात्रै अहिले २०८४ को चुनाव २०८२ मा हुने आएको छ ।’

उनले हालै रास्वपा गएका जेन–जी अगुवा दाबी गर्ने सुदन गुरुङ, काठमाडौंका प्रमुख बालेन साह र रास्वपा समेतलाई लक्षित गर्दै ‘सिंहदरबार जलाउनेहरूलाई सम्मान छैन’ भनेका छन् ।

उनले भने, ‘लुकेर विदेशीहरूको षड्यन्त्रमा सिंहदरबार, शीतलनिवास सर्वोच्च अदालतजस्तो सारा नेपालको गौरवको सम्पूर्ण सम्पदा नष्ट गर्ने नयाँ भनाउँदा पार्टीहरूलाई सम्मान गर्नेवाला छैनौँ ।’

उनले आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सिंहदरबार जलाउनेहरूलाई होइन, नेपाली जनताको मुक्तिको विचार बोक्ने नेपाली कम्युनिस्ट पार्टी र त्यसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

भवन निर्माणमा भ्रष्टाचार : पूर्व मेयरसहित १४ जनाविरुद्ध मुद्दा, सवा तीन करोड बिगो

बाजुरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा अनियमितता ठहर गर्दै तत्कालीन नगर प्रमुखसहित १४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगरपालिकाको भवन निर्माण ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै तत्कालीन नगर प्रमुख दीपकविक्रम शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्र नाथलगायत १४ जना विरुद्ध अख्तियारले आरोप–पत्र दायर गरेको हो ।

पूर्व निर्धारित योग्यताको आधारमा अमुक निर्माण व्यवसायीसँग मिली देशमा कतै नभएको योग्यताको आधार लिई, अनावश्यक रूपमा प्रतिस्पर्धा साँगुरो पारी ठेक्का लगाउने काम भएको उजुरी छानबिन गर्दा उनीहरू दोषी देखिएको अख्तियारले जनाएको छ ।
जाग्रिति-एम.के. नेपाल जे.भी., धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप–पत्रमा उल्लेख छ । अख्तियारले तीन करोड २६ लाख ७८ हजार १७१ रुपैयाँ अनियमितता गरेको ठहर गरेको छ ।

रास्वपाबाट ललितपुर–१ मा प्रत्यक्षतर्फ बालेनका सल्लाहकार सुरेन्द्र बजगाईंको चर्चा

ललितपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सम्भावित उम्मेदवारका रूपमा सुरेन्द्र बजगाईंको नाम अगाडि आएको छ। महांकाल गाउँपालिका–४, कालेश्वरका स्थायी बासिन्दा बजगाईं हाल काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’को सल्लाहकार हुन् भने महानगरको सहरी योजना आयोगमा शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत छन् ।

रास्वपा स्रोतका अनुसार बजगाईंको नाम पार्टीको समानुपातिक बन्द सूचीमा समेत प्रस्ताव गरिएको थियो । साथै, बालेन सचिवालय र जेनजी समूहबाट समेत उनको नाम समानुपातिकमा अगाडि सारिएको थियो ।

समानुपातिकमा नाम नराखेर उनलाई ललितपुर–१ बाट प्रत्यक्षतर्फ उठाउने तयारी रहेको बुझिएको छ । ललितपुर १ मा प्रत्यक्ष उम्मेदवारको खोजी हुँदा बालेन निकट सुरेन्द्र नै उपयुक्त व्यक्ति रहेको चर्चापछि उनको नाम समानुपातिक सूचीबाट फिर्ता गरिएको रास्वपाका एक नेताले बताए ।

ललितपुर क्षेत्र नम्बर १ मा २०४८ सालदेखि नै निर्वाचन क्षेत्रभन्दा बाहिरका उम्मेदवारहरूको वर्चस्व रहँदै आएको छ। केशरबहादुर विष्ट, वर्षमान पुन, उदय शमशेर राणा, नवराज सिलवाललगायत नेताहरूले यहाँको स्थानीय भूगोल, समस्या र त्यसका समाधानबारे गहिरो जानकारी नहुँदा–नहुँदै पटक–पटक उम्मेदवारी दिए र निर्वाचन जित्न पनि सफल भए। राजनीतिक दलको शक्ति, केन्द्रको पहुँच र राष्ट्रिय स्तरको पहिचानका कारण उनीहरू विजयी भए तापनि स्थानीय मुद्दा र आवश्यकता भने प्राथमिकतामा पर्न सकेनन्।

चुनाव जितेर काठमाडौँ पुगिसकेपछि ती नेताहरू जनताबाट टाढिँदै गएको गुनासो स्थानीय स्तरमा व्यापक रूपमा सुनिन्छ। आफूले मत हालेर पठाएको प्रतिनिधिको घरमा जाँदा पाँचवटा गेट पार गरेर पनि भित्र छिर्न नसकिने, र छिरे पनि नेताको ‘दर्शन’ पाउन नसकिने अवस्था रहेको स्थानीयहरूको भनाइ छ। यसले जनप्रतिनिधि र जनताको दूरी बढाएको मात्र होइन, लोकतन्त्रप्रतिको भरोसामाथि समेत प्रश्न खडा गरिदिएको छ।

त्यसैले यो पटक स्थानियले स्थानिय युवालाई नै चुनावमा भोट हाल्ने स्थानियहरु बताएका छन् । युवामैत्री एजेन्डा, सञ्चारमा दक्षता र स्थानीयदेखि राष्ट्रिय तहसम्मको अनुभवका कारण सुरेन्द्र बजगाईं ललितपुर–१ मा वैकल्पिक राजनीतिक शक्तिको प्रमुख दाबेदारको रूपमा स्थापित हुन सक्ने विश्लेषण गरिएको छ ।

काठमाडौं महानगरका मेयर बालेनका प्रेस सल्लाहकार रहेर बटुलेको अनुभवका आधारमा बजगाईंलाई वैकल्पिक राजनीतिक धारको युवा प्रतिनिधि मानिन्छ ।

हाल काठमाडौं महानगरपालिकामा उनी मिडिया समन्वय, शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा र स्थानीय सरकार–मिडिया सम्बन्ध सुदृढीकरणमा संलग्न छन् । महानगरको नीतिगत काम, सहरी व्यवस्थापन र सुशासनका विषयलाई जनतासम्म पुर्‍याउने जिम्मेवारीमा रहेका बजगाईंलाई व्यवहारिक र नीतिगत दुवै पक्षको अनुभव भएको व्यक्तिका रूपमा हेरिन्छ ।

काठमाडौं महानगरपालिका भन्दा पहिला उनी नेपालको विभिन्न सञ्चार माध्यममा सक्रिय रहेर काम गरेका थिए । उनले नेपाल लाइभ, नेपालवाच, उकेरा, रुटिन अफ नेपाल बन्द, बाह्रखरी र इकागजजस्ता राष्ट्रिय सञ्चारमाध्यममा पत्रकारका रूपमा काम गर्दै सुशासन, सार्वजनिक नीति र सामाजिक मुद्दा कभर गरेका छन् । पत्रकारितामार्फत राज्य संयन्त्र, राजनीति र प्रशासनको नजिकबाट अध्ययन गर्ने अवसर पाएका बजगाईं पछिल्लो समय संस्थागत सञ्चार र सार्वजनिक सूचनामा केन्द्रित छन् ।

ग्रामीण विकास विषयमा स्नातक अध्ययन गरेका बजगाईं त्रिभुवन विश्वविद्यालय अन्तर्गत समाजशास्त्रमा स्नातकोत्तर गर्दै छन् । सामाजिक न्याय, पारदर्शी शासन, जवाफदेही राजनीति र नागरिक सहभागिता उनको मुख्य चासोका क्षेत्र भएको उनी बताउँछन् ।

राजनीतिक स्थायित्व, स्पष्ट नीति र व्यावहारिक सोचको अभावले मुलुक पछाडि धकेलिँदै गएको छ। यही अवस्थालाई बदल्न अब युवाहरूको नेतृत्व आवश्यक छ। शासकीय सुधार र नयाँ राजनीतिक संस्कृतिको पक्षमा आवाज उठाउँदै आएका उहाँ एक नीति–केन्द्रित र धरातलीय यथार्थमा आधारित उम्मेदवारका रूपमा चिनिएका छन् ।

बजगाईं सञ्चार तथा सार्वजनिक नीतिको क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । उनी उज्ज्वल थापाले स्थापना गरेको विवेकशील नेपाली दलमा आबद्ध थिए । यसका अलावा उनी सामाजिक अभियानमा समेत सक्रिय थिए । सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि बजगाईंले २०७२ सालको नाकाबन्दीको समयमा काठमाडौं–वीरगन्ज–जनकपुर पैदल यात्रा गरेका थिए । हुलाकी राजमार्ग मार्फत भएको उक्त यात्रामा बजगाईंले नाकाबन्दीको स्थानीय कारण र समस्याको बारेमा स्थानीयहरूको आवाज उठाउँदै हिँडेका थिए । यस्तै टिकापुरमा भएको घटना पछि काठमाडौं– लुम्बिनी–टिकापुर साइकल यात्रा गरेका थिए । यी दुवै यात्रामा बजगाईंले स्थानीय मानिसको आवाज सुन्दै त्यसलाई राष्ट्रिय बहसमा ल्याउने प्रयत्न गरेका थिए ।

उनले ‘द आर्ट अफ लिभिङ’ मार्फत ललितपुरका विभिन्न गाउँ–गाउँमा पुगेर राहत सामग्री वितरण गरेका थिए। त्यसैगरी, कालेश्वरस्थित बाघभैरव प्राविधिक विद्यालयमा न्यानो कपडा वितरण गर्नुका साथै, गत वर्ष आएको बाढी–पहिरोका कारण प्रभावित महाङ्काल गाउँपालिकामा राहत सामग्री वितरण गरेका थिए। साथै, खानेपानीको समस्या भएका वडाहरूमा खानेपानीका विभिन्न संघ संस्थाको सहयोगमा पाइपसमेत वितरण गरेका थिए। उनी आफ्नो क्षेत्रमा मात्रै नभएर देशको जुनसुक्कै स्थानमा परेको विपत्ति समयमा राहत र उद्दारको लागि खटिने गरेका छन् ।

यस्तै बजगाईंले पत्रकारिता र सरकारी सञ्चारसँगै समुदाय स्तरको विकास र अनुसन्धानमा पनि सक्रिय रहँदै आएका छन् । उनले ‘बिल्ड नेपाल’ संस्थासँग सहकार्य गर्दै बागलुङको तमानखोला गाउँपालिकाको ‘भिलेज प्रोफाइल’ तयार पार्ने परियोजनामा सहभागी भएर सहभागीमूलक सर्वेक्षण, फोकस ग्रुप छलफल र स्थानीय नेतृत्वसँग समन्वय गरेका थिए ।

त्यसै गरी, ‘रमाइलो शिक्षा’ मार्फत सिन्धुपाल्चोकको माझी गाउँमा प्राविधिक शिक्षाको लागि पहल गरेका थिए । यस्तै उनले बालबालिका र ज्येष्ठ नागरिकका लागि डिजिटल साक्षरता कार्यक्रम समन्वय गरी प्रविधि पहुँच विस्तारमा योगदान पुर्‍याएका छन् ।

उम्मेदवार छनोट गर्न रास्वपाले बनायो स्वर्णिमको नेतृत्वमा उपसमिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारीलाई तीव्र बनाएको छ । यसै क्रममा पार्टीले उम्मेदवार छनोट तथा पार्टी एकता–समायोजनसँग सम्बन्धित दुई महत्वपूर्ण उपसमिति गठन गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार छनोट सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार उक्त उपसमितिलाई आगामी निर्वाचनका लागि योग्य उम्मेदवारको पहिचान गर्ने र उम्मेदवार छनोटको प्रक्रिया तय गरी केन्द्रीय समितिमा सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । उम्मेदवार छनोट उपसमितिमा संयोजकसहित सात जना सदस्य रहने छन् । उपसमितिका अन्य सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय बैठकले गरेको छ । पार्टीले पारदर्शी, मापदण्डमा आधारित र क्षमतावान उम्मेदवार छनोट प्रक्रियालाई संस्थागत गर्न यो समिति गठन गरिएको जनाएको छ ।

त्यसैगरी बैठकले पार्टी एकता तथा समायोजनसम्बन्धी कार्यलाई सहजीकरण गरी निष्कर्षमा पुर्‍याउने उद्देश्यले अर्को उपसमिति पनि गठन गरेको छ । उक्त उपसमितिको संयोजकत्व पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिइएको छ । यो उपसमितिले पार्टीभित्रको एकता, समायोजन र संगठनात्मक व्यवस्थापनका विषयमा आवश्यक पहल गर्नेछ । रास्वपाले यी दुई उपसमिति गठनसँगै निर्वाचन केन्द्रित रणनीति र आन्तरिक संगठन सुदृढीकरणलाई एकसाथ अघि बढाउने संकेत दिएको छ । पार्टी नेतृत्वले यी निर्णयले आगामी निर्वाचनमा पार्टीलाई थप सशक्त र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ ।

 

 

सचिवालय निर्णयमा देखियो रास्वपाभित्रको विवाद : समेटिएनन् कुलमान–बालेन पक्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले विवेकशील साझाबाट एकता प्रक्रियामा आएका नेताहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

सभापति रवि लामिछाने रिहा भएपछि बसेको पहिलो सचिवालय बैठकले कुलमान घिसिङ नेतृत्वको तत्कालीन उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ टिमलाई छुटाएर केन्द्रीय समिति सदस्यहरू मनोनयन गर्ने निर्णय गरेकाे हो ।

मनोनीत केन्द्रीय सदस्यहरू समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्‍जु दर्शना हुन् ।

पार्टीको बृहत्तर एकता सभाको अघिल्लो दिन भएको यस्तो निर्णयले रास्वपाभित्र चुलिँदो मतभेदलाई उजागर गर्छ ।

रास्वपामा खासगरी सभापति लामिछाने र वरिष्ठ उपसभापति कुलमान घिसिङबीच मतभेद छ । मतभेदबीच घिसिङ पक्ष हालै निर्वाचन आयोगमा पुगेको थियो ।

यस्तोमा बसेको रास्वपाको सचिवालय बैठकले विवेकशीलबाट आएकाहरूलाई मात्रै केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

यद्यपि, बैठकमा पार्टी समायोजन र निर्वाचन प्रक्रियाबारे छलफल भइरहेको छ ।

विवेकशील साझाबाट आएका सात जना रास्वपा केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझाबाट आएका सात जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले विवेकशील साझाबाट आएका सात जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो। बैठकले पार्टी समायोजन पछि आज सात जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको रास्वपाले जनाएको छ । मनोनीत हुनेमा समीक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना छन् । केही समय अघि विवेकशील साझा पार्टी रास्वपामा समाहित भएको थियो ।

समायोजन समिति गठन
रास्वपाले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रियालाई टुंगो लगाउन एकता समायोजन समिति गठन गरेको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा शनिबार एकता समायोजन समिति गठन गरिएको एक नेताले जानकारी दिएका छन् । सात सदस्यीय समितिमा बालेनको समूहबाट दुई, उज्यालो नेपालबाट दुई र रास्वपाबाट दुई सदस्य रहने सहमति भएको उनले बताए ।

यसअघि पुस १३ मा रास्वपा सभापति रवि लामिछाने र बालेनबीच एकता गर्ने सहमतिमा हस्ताक्षर भएको थियो। त्यसको भोलिपल्ट रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमतिमा हस्ताक्षर भएको थियो । बालेन समूह र उज्यालो पार्टीबीच सहमति भए पनि समायोजन हुन बाँकी छ । महामन्त्री बुर्लाकोटीको नेतृत्वमा बनेको समितिले समायोजन प्रक्रिया टुंगो लगाउनेछ । आज बस्ने रास्वपा केन्द्रीय समितिको बैठकले एकता समायोजन समितिलाई अनुमोदन गर्ने जनाइएको छ ।

 

 

वनपाले हत्या घटना : झाडीमा भेटियो टाउको, पक्राउ परेका व्यक्तिको कपडामा रगतको दाग

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रमा कार्यरत वन रक्षक (पाले) रामेश्वर (रामईश्वर) महतोको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनास्थल नजिकै महतोको टाउको फेला परेको छ भने पक्राउ परेका व्यक्तिको कपडामा रगतको दाग भेटिएको प्रहरी र प्रशासनले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार बिहान वन क्षेत्रमा रुख काटिएको आवाज सुनेपछि महतो साइकलमा सोतर्फ गएका थिए । अबेरसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । सोही दिन जंगलको झाडीमा टाउको बिनाको शव फेला परेको थियो । त्यसपछि अनुसन्धान तीव्र पार्दै धनुषाको लालगढबाट कुकुरसहित विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो ।

प्रहरी निरीक्षक नितेश कुमार सिंहका अनुसार आइतबार दिउँसो घटनास्थलबाट करिब १०० मिटर उत्तरतर्फको झाडीमा महतोको टाउको फेला परेको हो । शव भने घरदेखि करिब ५०० मिटरको दूरीमा पर्ने परियोजनाको जंगल क्षेत्रमा भेटिएको थियो । हत्याको आशंकामा ईश्वरपुर नगरपालिका–२ राइटरखोरका रामवली महतोलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले पक्राउ परेका व्यक्तिको कपडामा रगत लागेको पाइएको र त्यसले घटनामा संलग्नताको आशंका बलियो बनाएको बताए । प्रहरीले सोधपुछ र थप प्रमाण संकलन गरिरहेको जनाइएको छ ।

स्थानीयका अनुसार कर्तव्यपालनका क्रममा वन तस्करी रोक्न गएका बेला महतोमाथि आक्रमण भएको आशंका गरिएको छ । घटनापछि ईश्वरपुर क्षेत्रमा त्रासको वातावरण बनेको वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताएका छन् । यसैबीच, सागरनाथ वन विकास परियोजनाको व्यवस्थापनले घटनापछि आकस्मिक बैठक बसेर महतोको योगदानको कदर गर्दै उनलाई संरक्षण शहीद घोषणा गर्न पहल गर्ने निर्णय गरेको छ । परियोजना व्यवस्थापक खेमलाल सेन्चुरीका अनुसार अन्तिम दाहसंस्कार र किरिया खर्चका लागि तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराइने, कर्मचारीहरूबाट कम्तीमा एक दिनको तलब बराबरको रकम सहयोगस्वरूप संकलन गरी परिवारलाई दिने, तथा देशभरबाट राहत संकलन गरी हस्तान्तरण गर्ने निर्णय गरिएको छ।

त्यसैगरी आश्रित परिवारका एक सदस्यलाई परियोजनामै महतोको पदमा तत्काल रोजगारी दिने, नेपाल सरकार तथा वन पैदावार विकास समिति केन्द्रीय कार्यालयमार्फत नियमानुसार क्षतिपूर्तिका लागि पहल गर्ने निर्णय पनि गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान द्रूत गतिमा भइरहेको र दोषी पहिचानको अन्तिम चरणतर्फ अघि बढिरहेको जनाएको छ ।

असईलाई कान्छी श्रीमती बनाउने डीएसपी नेपाल कारागार चलान

रुपन्देही । बहुविवाहको अभियोगमा पक्राउ परेका नवलपुरमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन् । बहुविवाहसम्बन्धी उजुरीपछि डिएसपी नेपाल र असई गीता पुरीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरू दुवै मंसिरको तेस्रो हप्ता रुपन्देही प्रहरीसमक्ष पुगेका थिए।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश चाणक्यमणि अर्यालको इजलासबाट नेपाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै उनी कारागार चलान भएका हुन् । तर उनीसँगै पक्राउ परेकी असई गीता पुरीलाई भने अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । डिएसपी नेपालको जेठी पत्नी तारा नेपाल खनालले श्रीमानले बहुविवाह गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि यो मुद्दा अदालतमा गएको हो ।

डीएसपी नेपाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए भने गीता पुरी बुटवलस्थित धागो कारखानास्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा कार्यरत असई हुन् । अदालतमा डीएसपी नेपालले गीता पुरीसँग आफ्नो प्रेम सम्बन्ध रहेको र ‘लिभिङ टुगेदर’ का क्रममा सन्तान जन्मिएको बयान दिएको एक कानुन व्यवसायीले जनाएका छन् । नेपालले पहिलेको श्रीमतीकै सल्लाहमा अर्को बिहे गरेको दाबी अदालतमा गरेका छन् । गीता पुरीतर्फ पनि ५ वर्षको छोरी र २ वर्षको छोरा रहेका छन् । रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले अदालतको आदेशअनुसार मधु नेपाल पुर्पक्षका लागि कारागार गएको र गीता पुरी धरौटीमा रिहा भएको जानकारी दिए ।

रास्वपाको बृहत्तर एकता घोषणा सभा भोलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि (सोमबार) बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ । रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा कार्यक्रम आयोजना गर्ने भएको हो।

उक्त सभामार्फत विभिन्न शक्ति र समूहबीचको एकता प्रक्रियालाई औपचारिक रूपमा टुंग्याइने जनाइएको छ । आजै नागरिक उन्मुक्ति पार्टीबाट सामूहिक राजीनामा दिएका नाउपा रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले पनि भोलि नैरास्वपा प्रवेश गर्दै छन्।

एकता घोषणासभामा पार्टीका शीर्ष नेता, जनप्रतिनिधि तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो । भोलि हुने घोषणासभाबाट सो एकता प्रक्रियाले पूर्णता पाउने र आगामी दिनमा पार्टीको राजनीतिक कार्यदिशा तथा रणनीतिबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ ।

श्रम संस्कृति पार्टीका निलम्बित उपाध्यक्ष देवराज लामाविरुद्ध १२ वर्ष कैद मागदाबी

काठमाडौं– हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका निलम्बित उपाध्यक्ष देवराज लामाविरुद्धको विस्फोटक पदार्थसम्बन्धी मुद्दा अदालतमा दर्ता भएको छ ।

प्रहरीले अनुसन्धान प्रतिवेदनमा दिएको रायको आधारमा जिल्ला सरकारी वकिल कार्यालय पाँचथरले जिल्ला अदालतमा आरोप पत्र दायर गर्दै उनलाई दुई फरक कसुरमा १२ वर्ष कैद सजाय माग दाबी गरेको छ ।

कार्यालयले आइतबार दायर गरेकाे आरोपपत्रमा दुईवटा मुद्दामा गरी एक लाख बीस हजार जरिवानाको पनि मागदाबी गरेको छ ।

विस्फोटक पदार्थ ऐन २०१८ को दफा १० को उपदफा १ को (क) र मुलुकी अपराध संहिता २०७४ को दफा १३९ को उपदफा २ को (क) बमोजिमको कसुर लामाले गरेको अभियोग छ ।

पहिलो कसुरमा उनलाई दुई वर्ष कैद वा बीस हजारसम्म जरिवाना वा दुवै हुने कानुनी व्यवस्था छ । दोस्रो कसुरमा १० वर्ष सजाय वा एक लाख जरिवानाको प्रावधान छ ।

आरोपपत्रमा उनी १२ असार २०६९ मा पाँचथरको लुङ्‍रुपाको भुसपातेस्थित गोठबाट पक्राउ पर्दा त्यसबेला प्रहरीले उनको साथमा विस्फोट पदार्थ गन्धक डेढ किलो र सोडा पदार्थ १४ किलो फेला पारी बरामद गरेको उल्लेख छ ।

यो अभियोग प्रमाण र आरोपी लामाको बयानबाट स्थापित भएको आरोपत्रमा भनिएको छ ।

‘मिति २०६९–०३–१२ गते जिल्ला पाँचथर फिदिम नगरपालिका वडा नं. १३ स्थितमा प्रतिवादी कुमार, विश्वक्रान्ति, देवराज लामा भन्ने राजकुमार तामाङ (लामा) को साथबाट अवैध विष्फोटक पदार्थ गन्धक र सोडा पदार्थसहित फेला परी बरामद भएको देखिँदा निज प्रतिवादी कुमार, विश्‍वकान्ति, देवराज लामा भन्‍ने राजकुमार तामाङ (लामा)ले विष्फोटक पदार्थसम्बन्धी कसुर गरेको वारदात स्थापित हुन आयो,’ आरोपपत्रमा छ ।

उपाध्यक्ष लामा हाल जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले लामालाई यही १ पुसमा काठमाडौंको कपनस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

उनी पाँचथर प्रहरीको फरार सूचीमा थिए । त्यहाँ उनीविरुद्ध १३ वर्ष पुरानो विस्फोटक पदार्थसम्बन्धी मुद्दा थियो । सोही मुद्दामा उनी पक्राउ परेका हुन् ।

लामाको बयानमा के छ ?

धनकुटाको चुनवाङ पुर्ख्याैली घर भएका लामा २०६७ को जेठ तेस्रो साता काठमाडौंको बौद्ध क्षेत्रमा बस्ने लकु शेर्पासँग चन्दा असुली गरेको आरोपमा पक्राउ परे । यो मुद्दामा उनी केन्द्रीय कारागार सुन्धारामा एक वर्ष दुई महिना थुनामा बसे ।

त्यहीबेला पार्टीका कार्यकर्ताहरूले धादिङको विभिन्‍न ६ स्थानमा बम विस्फोट गरेपछि आफूविरुद्ध अर्को मुद्दा थपिएको उनको बयानमा छ ।

फेरि कार्यकर्ताहरूले १७ फागुन २०६७ मा काठमाडौंस्थित राप्रपाको पार्टी कार्यालयमा समेत सकेट र सुतली बम राखेको र सो घटनामा पनि आफूमाथि विष्फोटक पदार्थ मुद्दा दर्ता भएको लामाको बयान छ ।

त्यसपछि आफू घर चुनवाङमा भाइको बिहेका लागि आउँदा काठमाडौंको आयल निगम र जिल्ला अदालत काठमाडौंको बीचमा १५ फागुन २०६८ मा भएको टाइम बम विस्फोट गराएको र घटनामा परी तीनको मृत्यु भएपछि आफू प्रहरीको निसानामा परेको उनको भनाइ छ ।

उनका अनुसार बम विस्फोटक आफ्नै पार्टीका कार्यकर्ताहरूले गरेका थिए । तर, आफूले प्रवक्ताको हैसियतले विज्ञप्ति जारी गरेर घटनाको जिम्मा पार्टीले लिएको भनेका छन् ।

सोही घटनामा उनलाई काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान र कर्तव्य ज्यान उद्योगसम्बन्धी कसुरमा मुद्दा दायर भएको बताए । लगत्तै प्रहरी उनको खोजीमा रहेको जानकारी आएपछि आफू फरार भएको बयानमा भनिएको छ ।

बयानमा छ, ‘झापा हुँदै भागेर पाँचथरको च्याङ्थापु पुगेँ । त्यसपछि बीचबाटो हुँदै लुङ्‍रुपाकाे जरिबुट्टे गएर अर्जुन राईको घरमा बसेँ ।’

तर, प्रहरी टोलीले पछ्याएको सुइँको पाएसँगै भागेर भारतको सिक्किम गएर बसेको लामाले बयानमा खुलाएका छन् । त्यहाँ पनि प्रहरी टोलीले खोजिरहेको थाहा पाएपछि ९ असार २०६९ मा लुङ्‍रुपाकाे भुसपातेमा नन्दलाल राईको गोठमा बसेको र १२ असारमा पक्राउ परेको बताएका छन् ।

त्यसबेला प्रहरीले डेढ किलो गन्धक र १४ किलो सोडासहित पक्राउ गरेको स्वीकारेका छन् ।

उनलाई प्रहरीले १३ असारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर ल्याएको र १४ गते कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अनुसन्धानका लागि काठमाडौं पठाएका थिए ।

कहाँ कति सजाय ?

लामाविरुद्ध काठमाडौं जिल्ला अदालतले बम विस्फोट घटनामा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा १५ वर्ष कैद सजाय फैसला गरेको थियो ।

तर, सात वर्ष ११ महिना कैद भुक्तान गर्दा ७ फागुन २०७७ मा प्रजातन्त्रको दिवसमा उनी कैद छुट पाएर रिहा भए ।

काठमाडौं अदालतमै दर्ता भएको चन्दा असुलीमा एक वर्ष २ महिना कैद भुक्तानी गरे । धादिङको बम विस्फोटसम्बन्धी मुद्दामा उनले सफाइ पाएका थिए । राप्रपा पार्टी कार्यालयमा बम राखेको मुद्दामा पनि उनले उन्मुक्ति पाए ।

यसपछि उनी पछिल्ला दिनमा घर व्यवहारमा थिए । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले श्रम संस्कृति पार्टी दर्ता गर्दा उनी उपाध्यक्ष भए ।

उनी श्रम संस्कृति पार्टीको राजनीतिक दस्तावेज तयार गर्ने मूल नेता हुन् । उनलाई संस्कृति, प्रकृति र प्रविधिको त्रिकोणीय संयोजित विचारधारा ‘हर्कवाद’को व्याख्याता मानिन्छ ।

उनै लामा ४ पुसमा बुटवलमा हुने भनिएको श्रम संस्कृति पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न जान काठमाडौं आएको बेला १ पुसमै पक्राउ परे । उनलाई २ पुसमा पार्टी अध्यक्ष हर्क साम्पाङले फेसबुकमै स्टाटस लेखेर कानुनी प्रक्रियाबाट सफाइ नपाउञ्‍जेसम्‍मका लागि भन्दै निलम्बन गरे ।

देवराज घिमिरेका प्रतिस्पर्धी !

लामा स्वतन्त्रबाट २०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा–२ मा प्रधिस्पर्धी थिए । त्यहाँबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भए ।

अधिवक्ता स्वागत नेपाल निकटतम प्रतिद्वन्द्वी भए । लामाले मत उल्लेख्य पाएनन् ।

उनले भनिएका थिए, ‘मलाई बम विस्फोट गराएको भनेर कतिपयले प्रचार गरे । त्यसलाई चिर्न सकिनँ र मत अपेक्षित पाइनँ ।’

लामा २०६४ को पहिलो संविधान निर्वाचनमा काठमाडौं–३ बाट उम्मेदवार थिए ।

सरकार आफै चुनाव बिथोल्न लागिपरेको छ : रघुवीर महासेठ

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले वर्तमान सरकार निर्वाचन बिथोल्ने योजनामा लागेको गम्भीर आरोप लगाएका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाटमा बोल्दै उनले जेनजी आन्दोलनपछि लुटिएका हतियार र फरार कैदीहरू फिर्ता नभएको अवस्थाले सरकार निर्वाचन गराउन इच्छुक नभएको पुष्टि हुने दाबी गरे ।

उपमहासचिव महासेठका अनुसार २३ र २४ गते लुटिएका हजारौं हतियारमध्ये ५० प्रतिशत पनि फिर्ता भएको छैन भने फरार कैदीहरूको बहुसंख्यक अझै बाहिर छन् । यस्तो अवस्थामा निर्वाचन कसरी सम्भव हुन्छ भन्दै उनले प्रश्न उठाए । ‘बाहिर रहेका कैदी र हतियारहरू कसको विरुद्ध प्रयोग हुन्छन् ? यो सोचनीय विषय हो,’ उनले भने ।

एमाले निर्वाचनबाट भाग्ने पक्षमा नरहेको स्पष्ट पार्दै महासेठले जुनसुकै बेला पनि निर्वाचनमा भाग लिन तयार रहेको बताए । तर, उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले विगतको नजिरअनुसार फैसला गर्नुपर्ने माग राखे । ‘संसद् विघटनपछि अदालतले स्थापित गरेको नजिर फेरि कायम होस्,’ उनले भने । उनले संघीयता, लोकतन्त्र र गणतन्त्रसहितको संविधान रक्षाका लागि एमालेले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । महासेठले सरकारको भूमिकालाई लिएर चर्को आलोचना गर्दै निर्वाचनको तयारीमा गम्भीरता नदेखाएको आरोप लगाए ।

उपमहासचिव महासेठले आगामी प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने बताएका छन् । उपमहासचिव महासेठले संघीयता, लोकतन्त्र, गणतन्त्रसहितको संविधान रक्षाका लागि एमालेले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए ।
आगामी चुनावमा कांग्रेस र एमाले मिलेर जान सक्ने सम्भावनाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उत्तरमा महासेठले भने, ‘देशमा पछिल्लो समय भइरहेको षड्यन्त्र विरुद्धमा गठबन्धनको कुरा राजनीतिमा असम्भव होइन । भोलि कांग्रेस–एमालेसँगै चुनाव लड्न सक्छ ।’

 

सभापतिको जिम्मेवारीमा फर्किएपछि पहिलो पटक सचिवालय बैठकमा रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आइतबार अपराह्न पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । सभापति रवि लामिछानेको सभापतित्वमा बसेको यो बैठक उनले पुनः सभापतिको जिम्मेवारी सम्हालेपछि आयोजना गरिएको पहिलो सचिवालय बैठक हो ।

पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार बैठकमा मुख्यतः पार्टी समायोजन प्रक्रिया र आगामी निर्वाचन प्रक्रिया सम्बन्धी विषयमा छलफल भइरहेको छ । पछिल्लो समय रास्वपाले संगठन विस्तार र आन्तरिक संरचना सुदृढीकरणलाई प्राथमिकतामा राखेकाले बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

यसै बैठकमा नेपाल उज्यालो पार्टीसँग भएको एकता सहमति र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँगको सहकार्यसम्बन्धी विषयमा समेत छलफल हुने जनाइएको छ । यी विषयले पार्टीको आगामी राजनीतिक दिशा र रणनीतिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

सभापति लामिछाने पुस ४ गते उच्च अदालत बुटवलको आदेशअनुसार धरौटीमा रिहा भएका थिए । आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि उनी कारागारबाट छुटेका हुन् । सुरुमा उनलाई रुपन्देही कारागारमा राखिएको भए पनि पछि आफ्नै अनुरोधमा ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिएको थियो। बिगोबापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् । लामिछानेको पुनः सक्रियतासँगै पार्टीभित्र संगठनात्मक निर्णय र राजनीतिक गतिविधि थप गतिशील हुने संकेत देखिएको छ । आजको सचिवालय बैठकलाई त्यसैको प्रारम्भिक कदमका रूपमा लिइएको छ ।

 

प्रधानमन्त्री कार्कीका श्रीमान अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गाप्रसाद सुवेदी स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार भर्ना भएका सुवेदीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनमा पिसाबमा संक्रमण, शरीरमा सोडियमको मात्रा कम हुने (हाइपोनेट्रेमिया), रिंगटा लाग्ने लगायतका लक्षणहरू देखिएका छन् । चिकित्सकले अन्य थप स्वास्थ्य जटिलताबारे भने विस्तृत जानकारी दिन चाहेनन् ।

सुवेदीले यसअघि प्रोस्टेटको शल्यक्रिया गराइसकेका छन् । पछिल्लो समय संक्रमण बढेका कारण रिंगटा लाग्ने, कमजोरी देखिने जस्ता समस्या बढेपछि उनी अस्पताल भर्ना भएको बताइएको छ । अहिले उनलाई क्याबिनमा राखेर उपचार भइरहेको छ भने विशेषज्ञ चिकित्सकहरूको टोलीले निगरानी गरिरहेको छ । ‘उहाँ यसअघि पनि बेला बेलामा बिरामी भइरहनु हुन्थ्यो । अस्पताल जाने आउने चलिरहेको हो । पछिल्लो समस्याबारे चिकित्सकसँग सल्लाह भइरहेको छ,’ स्रोतले भन्यो ।

मिर्गौला, पिसाबको थैली, पिसाब नली वा पिसाब बाहिर निस्कने बाटोको जुनसुकै भागमा किटाणुको संक्रमण भएमा त्यसलाई पिसाब नलीको संक्रमण (युरिनरी ट्रयाक्ट इन्फेक्सन वा यूटीआई) भनिन्छ । चिकित्सकहरूका अनुसार यो संक्रमण सरसफाईको कमी वा शरीरको अन्य भागबाट रगतको माध्यमद्वारा किटाणु पिसाब नलीमा पुग्दा हुने गर्छ ।

पिसाबको बाटोमा कुनै अवरोध भएमा वा पिसाब राम्ररी बाहिर ननिस्केमा पनि संक्रमणको जोखिम बढ्छ । पुरुषहरूमा प्रोस्टेट ग्रन्थी बढ्ने, पिसाब नली साँघुरो हुने वा पिसाब थैलीबाट पिसाब माथि फर्किने स्थितिले संक्रमणको जोखिम झनै बढाउँछ । विशेष गरी वृद्ध पुरुषहरूमा प्रोस्टेटको समस्याले पिसाब नली साँघुरो हुँदै जाने भएकाले यो संक्रमण बारम्बार देखिने चिकित्सकहरू बताउँछन् ।

नाउपा रुपन्देही अध्यक्षसहित ३३ जनाको सामुहिक राजीनामा, रास्वपा प्रवेश गर्दै

रुपन्देही । रञ्जिता श्रेष्ठ (चौधरी) नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित सामुहिक राजीनामा दिएका ३३ जना रास्वपा प्रवेशको तयारीमा लागेका छन् । जिल्ला अध्यक्ष तुल्सी थारुले पार्टीको नेतृत्व तहबाट भएका निर्णयहरु, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भीर असहमति जनाउँदै राजीनामा दिइएको जनाएका छन् ।

कार्यकर्ताको भावना र जनताको चाहना विपरीत पार्टी अघि बढेको महसुस भएकाले यस परिस्थितिमा सोही पार्टीमा बसिरहनु नैतिक रूपमा उपयुक्त नहुने निष्कर्षमा पुगेको र पुस १९ गतेदेखि लागू हुने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीहरूसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको उनले जानकारी दिए ।

सोमबार नै नाउपाका पूर्व पदाधिकारी र थरुहट थारुवान संयुक्त संघर्ष समितिसहित आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने उनको भनाइ छ । राजीनामा दिनेमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायत छन् ।

रास्वपा बैठकमा सागर ढकालदेखि सुदन गुरुङसम्म, बालेन–कुलमान के गर्लान् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकका लागि सभापति रवि लामिछाने लगायत नेताहरु घण्टी घर वनस्थली पुगिरहेका छन् । सागर ढकाल र सुदन गुरुङ पनि पार्टी कार्यालयमा देखा परेका छन् । बालेन शाह र कुलमान घिसिङको पार्टी समाहित भएपछि रास्वपाको पहिलो बैठक बस्न लागेको हो ।

यसैबीच रास्वपा र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकतालगत्तै उत्पन्न भएको असमझदारी समाधानउन्मुख भएको दावी गरिएको छ । रास्वपा सभापति रवि लामिछाने, उपसभापति कुलमान घिसिङ र वरिष्ठ नेता बालेन्द्र साहबीचको छलफल तथा तीनै पक्षका नेताहरू सम्मिलित अनौपचारिक कार्यदलको बैठकबाट विवाद समाधानको सूत्र पहिल्याइएको हो ।

हतारमा गरिएको एकतापश्चात समानुपातिकको बन्दसूचीदेखि प्रत्यक्ष निर्वाचन र केन्द्रीय कमिटीमा पाउने हिस्सा लगायतका विषयमा कुलमान असन्तुष्ट बनेका थिए । विवाद समाधानका लागि हिजो रवि, बालेन र कुलमानबीच भएको छलफल सकारात्मक भएको बुझिएको छ । रास्वपा र उज्यालो नेपाल दुवैतर्फका स्रोतहरूले यसको पुष्टि गरेका छन् ।

आज रास्वपाको सचिवालय बैठक र त्यसपछि केन्द्रीय समिति बैठकमा कार्यदलले जुटाएको सहमतिबारे छलफल हुनेछ । आजको बैठकमा बालेन र कुलमान भने सहभागी हुने छैनन् । स्रोतले भन्यो, ‘सुरूमा सचिवालय र त्यसपछि केन्द्रीय कमिटी बैठक बसेर समायोजनको मोडालिटीलाई टुंग्याउँछौं । त्यसपछि सम्भव भयो भने आजै बालेन र कुलमानसहितको बैठक बस्ने योजना छ । आज भ्याइएन भने पनि अर्को बैठकमा उहाँहरू दुवै जना बस्नु हुन्छ ।’ एकताको सहमति भइसके पनि बालेन र कुलमानलाई औपचारिक कार्यक्रम गरेर पार्टीमा स्वागत गरिएको छैन । दुवै नेताहरू अहिलेसम्म रास्वपा कार्यालय गएका छैनन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

भेनेजुएलामा सैन्य हस्तक्षेप: संसदको मौनता र ट्रम्पको निरंकुशता

शनिबार बिहान सबेरै, अमेरिकी सेनाहरू भेनेजुएलाको भूभागमा प्रवेश गरे र देशका राष्ट्रप्रमुख निकोलस मादुरोलाई जबरजस्ती हटाए। संयुक्त राज्य अमेरिकाले युद्धको कुनै घोषणा गरेको थिएन। कांग्रेसबाट कुनै स्वीकृति लिइएको थिएन। अपरेशन अघि कुनै आसन्न खतरा सार्वजनिक रूपमा स्पष्ट पारिएको थिएन। बरु, सबै कार्य सम्पन्न भइसकेपछि मात्र अमेरिकी जनतालाई जानकारी दिइयो, त्यो पनि व्याख्या होइन, दाबीझैँ प्रस्तुत गरिएका वक्तव्यहरूमार्फत।

यसपछि ट्रम्प प्रशासनले भेनेजुएलाको स्थिरता, सुरक्षा र राजनीतिक संक्रमण अब संयुक्त राज्य अमेरिकाले व्यवस्थापन गर्ने संकेत दियो- कुनै संवैधानिक वा अन्तर्राष्ट्रिय अधिकारको आधारबिना गरिएको अत्यन्तै असाधारण दाबी। यो मूलतः निकोलस मादुरोको कथा होइन।

भेनेजुएलाका राष्ट्रपतिबारे जे सोचिए पनि र उनीबारे धेरै वैध आलोचनाहरू भए पनि यो घटनाले उठाउने अझ गम्भीर प्रश्न हो: संयुक्त राज्य अमेरिका कहिले युद्धमा जाने निर्णय कसले गर्छ र त्यो निर्णय कुन अधिकारअन्तर्गत गरिन्छ?

यो अपरेशनलाई विशेष रूपमा चिन्ताजनक बनाउने कुरा के गरियो भन्ने मात्र होइन, कसरी गरियो भन्ने हो । झन्डै १५० अमेरिकी विमानहरूको प्रयोग, भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली नष्ट गर्ने आक्रमण र हेलिकप्टरमार्फत काराकासमा उतारिएका सैनिकहरू, यसको प्रयोग अमेरिका औपचारिक रूपमा घोषित युद्धहरूमा मात्रै गर्ने गर्छ।

भेनेजुएलाका अधिकारीहरूले यस अपरेशनमा मानिसहरूको मृत्यु भएको बताएका छन् । यद्यपि विस्तृत विवरण अझै सीमित छन्। तर, कांग्रेसले यस कारबाहीलाई कुनै स्वीकृति दिएको थिएन। न कुनै मतदान भयो, न कुनै बहस, न त युद्ध अधिकारसम्बन्धी प्रस्तावअनुसार कुनै परामर्श नै। बरु, निर्णयहरू भइसकेपछि मात्र कांग्रेसका केही वरिष्ठ सदस्यहरूलाई छनोटका आधारमा जानकारी दिइयो। यहाँ निगरानी थिएन, केवल सूचना मात्र थियो।

प्रश्न मादुरो ‘हटाइनु पर्थ्यो कि पर्दैनथ्यो’ भन्ने होइन। प्रश्न राष्ट्रपति ट्रम्पले अमेरिकी सैन्य बल प्रयोग गरेर अर्को देशको सरकार एकतर्फी रूपमा उल्ट्याउने निर्णय गर्न सक्छन् कि सक्दैनन् भन्ने हो । त्यो निर्णय अब कुनै आपत्तिविनै पारित हुन्छ कि हुँदैन भन्ने हो ।

भेनेजुएलामा गरिएको यो अपरेशनले विदेशमा अमेरिकी शक्ति वैध बनाउन सामान्यतया प्रयोग गरिने न्यायिक प्रक्रिया, अन्तर्राष्ट्रिय स्वीकृति, सामूहिक रक्षा, र कांग्रेसको सहमतिजस्ता हरेक संयन्त्रलाई उल्लंघन गर्‍यो । अमेरिकाले अर्को सार्वभौम राष्ट्रभित्र घातक सैन्य शक्ति प्रयोग गर्दै एक्लै हस्तक्षेप गर्‍यो। यसलाई काउन्टर–नार्कोटिक्स, स्थिरीकरण, वा संक्रमण, जुनसुकै नाम दिइए पनि युद्ध नै हो । र, यस किसिमको एकतर्फी कार्यकारी कदमलाई रोक्न बनाइएका संवैधानिक संयन्त्रहरूबिना गरिएको थियो।

प्रशासन यस तथ्यप्रति बेपरवाह देखिनु सबैका लागि गम्भीर चिन्ताको विषय हुनुपर्छ। संविधान यस विषयमा कुनै अस्पष्टता राख्दैन। युद्ध घोषणा गर्ने शक्ति राष्ट्रपतिको होइन। यो कहिल्यै पनि राष्ट्रपतिको अधिकार थिएन। संविधान निर्माताहरूले प्रक्रिया प्रतिको झन्झटका कारण युद्ध अधिकार यसरी बाँडेका थिएनन्। उनीहरूले युद्धले शक्ति केन्द्रित गर्छ, असहमति दबाउँछ र दुरुपयोगका प्रलोभनहरू सिर्जना गर्छ भनेर यस्तो व्यवस्था गरेका थिए। अमेरिकी सैन्य शक्ति प्रयोग गर्न कांग्रेसको स्वीकृति अनिवार्य बनाउनुको उद्देश्य निर्णय ढिलो गराउनु, औचित्य माग्नु र सैन्य कारबाहीलाई व्यक्तिगत इच्छाभन्दा सामूहिक निर्णयसँग बाँध्नु थियो।

यस सप्ताहन्तमा जे भयो, त्यसले यी सबै सिद्धान्तहरूलाई पूर्ण रूपमा छल गर्‍यो। कांग्रेसलाई छलफल गर्न भनिएन। कांग्रेसलाई गम्भीर निर्णय गर्ने सह–समान शाखा होइन, बरु अप्रासंगिक संस्था जस्तो व्यवहार गरियो।

जब युद्ध अधिकार यसरी प्रयोग गरिन्छ, कांग्रेस केवल आफ्नो कर्तव्यमा असफल हुँदैन; यो सजावटी संस्थामात्र बन्छ। र, सैन्य शक्तिको प्रयोगलाई नियन्त्रण गर्न बनाइएको संवैधानिक प्रणालीले एक व्यक्तिद्वारा दाबी गरिएको निरंकुश अधिकार प्रयोगको अझ खतरनाक अवस्थालाई स्थान दिन्छ। यसरी बल प्रयोग गर्न दिने गणतन्त्रले अरूले पनि त्यही काम गर्दा अचम्म मान्नु हुँदैन।

मादुरोलाई जबरजस्ती हटाउनु आकस्मिक घटना होइन। यो लामो समयदेखि देखिँदै आएको एउटा ढाँचाको निरन्तरता हो, जहाँ प्रशासनले निरन्तर रूपमा सैन्य बल प्रयोगलाई पुनःपरिभाषित गर्दै निगरानीबाट जोगिने प्रयास गरेको छ। घातक सैन्य कारबाहीलाई ‘काउन्टर–नार्कोटिक्स’ भनिन्छ। हवाई आक्रमणहरूलाई नैतिक प्रतिशोधका रूपमा प्रस्तुत गरिन्छ। प्रत्येक पुनःपरिभाषाले बल प्रयोगलाई नियन्त्रण गर्ने सीमा झन् कमजोर बनाउँछ। कांग्रेसको स्वीकृति आवश्यक पर्ने कार्यलाई युद्धभन्दा कम केही भनेर चित्रित गरेर, सरकारले सहमति र उत्तरदायित्वबिनै बल प्रयोगलाई सामान्य बनाएको छ।

भेनेजुएलाको अपरेशनका लागि कांग्रेसको स्वीकृति आवश्यक थिएन किनकि यो ‘कानुन कार्यान्वयन मिशन’ थियो भन्ने प्रशासनको दाबी अत्यन्तै खतरनाक छ। कानुन कार्यान्वयनमा सार्वभौम राष्ट्रभित्र हवाई आक्रमण, विदेशी राष्ट्रप्रमुख जबरजस्ती हटाउनु वा सैन्य बल प्रयोग गरेर अमेरिकी घरेलु आपराधिक दाबी सीमापार लागू गर्नु पर्दैन। ट्रम्प प्रशासनका कार्यहरू र त्यसपछि दिइएका औचित्यहरूले राष्ट्रपतिको शक्तिलाई नियन्त्रण गर्ने सीमालाई नै ध्वस्त पार्छन्।

यदि राष्ट्रपतिले युद्धलाई कानुन कार्यान्वयन भनेर पुनःपरिभाषित गर्न सक्छन् भने कुनै पनि बल प्रयोग केवल आरोपकै आधारमा जायज ठहरिन सक्छ। त्यस अवस्थामा कुनै पनि सीमित सिद्धान्त बाँकी रहँदैन। कांग्रेसको केवल उल्लंघन हुँदैन, यसले अर्थपूर्ण नियन्त्रणको भूमिकै गुमाउँछ।

यो तर्क स्वीकार गरिएपछि यो एउटा घटना वा एउटा देशमै सीमित रहँदैन। यो उदाहरण बन्छ र शक्ति उदाहरणमार्फत फैलिन्छ। एकतर्फी रूपमा विदेशी सरकार उल्ट्याउने अधिकार दाबी गर्ने संयुक्त राज्य अमेरिकाले अरूले त्यसै गर्दा आपत्ति जनाउने नैतिक आधार गुमाउँछ। युक्रेनमाथिको आक्रमणको विरोध कमजोर हुन्छ। दक्षिण चीन सागरमा हुने जबर्जस्तीप्रति आपत्ति खोक्रो सुनिन्छ। सार्वभौमिकता र संयमका अपिलहरू चयनात्मक रूपमा प्रयोग गरिँदा अर्थहीन हुन्छन्। यो केवल दोहोरो मापदण्ड होइन; यो विश्वसनीयताको पतन हो।

नियमहरू तब मात्र अर्थपूर्ण हुन्छन् जब शक्तिशालीहरूले पनि तिनको निरन्तर पालना गर्छन्। अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न मद्दत गरेको देशले ती नियमलाई ऐच्छिक ठान्दा, यसले संसारलाई संकेत दिन्छ कि अब संयम अपेक्षित छैन-केवल प्रभुत्व मात्र। यस क्षणलाई विशेष रूपमा खतरनाक बनाउने कुरा निर्णय मात्र होइन, अमेरिकी जनतालाई त्यस प्रक्रियाबाट हटाइनु हो।

युद्ध सुरु गरियो, एउटा सरकार उल्ट्याइयो र राष्ट्रका निर्वाचित प्रतिनिधिहरू र त्यसैमार्फत अमेरिकी नागरिकहरू पूर्ण रूपमा किनारामा पारिए, निर्णयहरू अपरिवर्तनीय भइसकेपछि मात्र जानकारी दिइयो। आफ्नै नाममा बल प्रयोग हुँदा आवाज नसुन्ने गणतन्त्रले आफूलाई स्वशासित भनी दाबी गर्न सक्दैन।

त्यो मौन नै उद्देश्य हो। जब युद्ध स्वीकृति, व्याख्या र सार्वजनिक सहमतिबिना सुरु गर्न सकिन्छ, त्यस्तो उदाहरण विदेशमै सीमित रहँदैन। जसले विदेशमा निरन्तर बल प्रयोग गर्न सक्ने कुरा सिक्छ, कानुन, आपतकाल र आवश्यकतालाई आफ्नै उद्देश्यअनुसार पुनःपरिभाषित गर्दै उसले घरभित्र पनि त्यही तर्क प्रयोग गर्छ।
युद्धमाथिको आफ्नो आवाज त्याग्ने जनताले त्यो शक्ति आफैंविरूद्ध खनिँदा उसले आफ्नो आवाज सुन्छ भन्ने अपेक्षा गर्नु हुँदैन।

(जोन डफी एक अवकाशप्राप्त नौसैनिक अधिकृत हुन्। उनी नेतृत्व र लोकतन्त्रबारे लेख्छन्।)

भू–राजनीतिक चुनौतीबीच मौलिक पहिचान आवश्यक : खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य खुश्बु ओलीले भेनेजुएलामा भर्खरै घटेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालले आफ्नो राष्ट्रिय हित, मौलिक पहिचान र आन्तरिक शक्ति सुदृढीकरणमा गम्भीर ध्यान दिनुपर्ने बताएकी छन् । ओलीले सार्वजनिक गरेको धारणा अनुसार शनिबार संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजधानी काराकाससहित विभिन्न शहरमा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको घटनाले आजको अन्तर्राष्ट्रिय राजनीतिक यथार्थलाई उजागर गर्छ ।

उनका अनुसार विश्व शक्तिहरूले आफ्नै राष्ट्रिय हितलाई केन्द्रमा राखेर कदम चाल्ने प्रवृत्ति नयाँ नभए पनि यसले साना र भू–राजनीतिक रूपमा कमजोर राष्ट्रहरूलाई गहिरो चुनौती दिएको छ । उनले भेनेजुएलाले इतिहासभरि आफूलाई जोगाउने प्रयास गरे पनि अन्ततः बाह्य दबाब सामना गर्न नसकेको दाबी गर्दै यसलाई ‘आजको वैश्य–युगको यथार्थ’ का रूपमा व्याख्या गरेकी छन् । यही सन्दर्भ जोड्दै उनले नेपाल जस्तो संवेदनशील भू–राजनीतिक अवस्थाको देशले अन्तर्राष्ट्रिय राजनीतिक पौंठेजोरीमा सधैं आफ्नै राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन् ।

नेपालको वर्तमान अवस्थातर्फ संकेत गर्दै ओलीले देशले आफ्नै राष्ट्रिय आधार बलियो बनाउनुको साटो माक्र्सवाद, लेनिनवाद, माओवाद, धर्मनिरपेक्षता र संघीयता जस्ता आयातित विचारधाराको संरक्षणमा बढी समय खर्चिएको आरोप लगाइन् । उनका अनुसार यी विचारधाराहरू न त नेपालको माटोबाट जन्मिएका हुन्, न त नेपाली सभ्यता र ऐतिहासिक अनुभवबाट विकसित र तिनले अहिलेसम्म नेपालको दीर्घकालीन राष्ट्रिय हित सुरक्षित गर्न सकेको प्रश्न गम्भीर रूपमा उठाउनुपर्ने अवस्था आएको छ । राप्रपाले दशकौँदेखि वैचारिक परनिर्भरताको विरोध गर्दै आएको उल्लेख गर्दै ओलीले पार्टीको धारणा स्पष्ट रहेको बताइन्–नेपालको राष्ट्रिय हित आयातित विचारबाट होइन, देशको मौलिकता, सभ्यतागत पहिचान र ऐतिहासिक निरन्तरताबाट मात्र सुरक्षित हुन सक्छ ।

उनले अब समय आएको भन्दै हिन्दू राष्ट्रको अवधारणा, राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्था, तथा केन्द्र–स्थानीय तहमा आधारित संरचनामार्फत आर्थिक विकासका विषयमा खुला, साहसी र निर्णायक राष्ट्रिय बहस आवश्यक रहेको बताइन् । शक्तिमा आधारित र व्यवहारिक राष्ट्रिय हितद्वारा निर्देशित वर्तमान विश्व व्यवस्थामा नेपालले ‘वैचारिक भ्रमको विलास’ गर्न नसक्ने उनको निष्कर्ष छ । ओलीको भनाइ अनुसार अब नेपालले बाहिरमुखी सोचभन्दा भित्रतिर फर्किएर आफ्नै पहिचान, शक्ति र आर्थिक सबलतामा आधारित राष्ट्र निर्माणतर्फ अघि बढ्नुपर्ने आवश्यकता छ । उनले अन्त्यमा राष्ट्रवादप्रति प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय हित केन्द्रमा राखिएको बहस र निर्णयको आह्वान गरेकी छन् ।

 

शंकर पोखरेल एमाले दाङ–२ मा एकल सिफारिस

दाङ । आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले दाङ–२ बाट महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ । आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए ।

यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो । २०७९ मा पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएका थिए । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेल २६ हजार ६८१ मतमा रोकिएका थिए ।

 

देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन् । सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरुलाई बोलाएका हुन् । देउवा निकट एक पूर्व पदाधिकारी अनुसार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल हुनेछ ।

शुक्रबार कार्यसम्पादन समिति बैठकले आगामी वैशाख देखि महाधिवेशन गर्ने निर्णय गरेपछि देखिएको विवाद समाधानका लागि आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाइएको हो । पुस २६ देखि २८ गतेसम्म तोकिएको पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार काम नभएपछि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले महाधिवेशनको मिति सारेर वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय बहुमतले गरेको थियो ।

उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असन्तुष्टि राखेका छन् । उनीहरुले पुस मसान्तभित्रै पार्टीको विशेष महाधिवेशन गरेरै छोड्ने अडान लिएका छन् । कांग्रेसका २,४८८ महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको ३ महिनामा विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ । त्यसै अनुरुप विशेष महाधिवेशन बोलाउनु पर्ने महामन्त्रीद्वयको भनाइ छ ।

‘टिकटक विवाद’ ले वीरगञ्जमा तनाव, मधेसभर सुरक्षा व्यवस्था कडा

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा धर्म र संस्कृतिलाई लक्षित गर्दै गरिएको अभद्र टिप्पणीले मधेस प्रदेशमा तनाव सिर्जना भएको छ । धनुषाबाट सुरु भएको विवादको असर सीमावर्ती सहर वीरगञ्जसम्म फैलिँदा आज बिहानदेखि त्यहाँ प्रदर्शन समेत भइरहेको छ । बढ्दो संवेदनशील अवस्थालाई ध्यानमा राख्दै नेपाल प्रहरीले मधेसका आठै वटा जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

केही दिनअघि जनकपुरधाममा हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवाले टिकटकमा धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोप्रति स्थानीयस्तरमा चर्को विरोध भएपछि स्थानीय अगुवाहरूले दुवै युवालाई प्रहरीको जिम्मा लगाएका थिए । इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल चलिरहेका बेला ती युवालाई पक्राउ गरिएको विषयलाई लिएर केही समूह आक्रोशित बनेका थिए । सोही क्रममा जनकपुरधाममा एक मस्जिदमाथि आक्रमण समेत भएको थियो । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको धनुषा प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिएका छन् ।

धनुषाको घटनापछि त्यसको असर पर्सा जिल्लाको वीरगञ्जमा देखिएको छ । आज बिहानैदेखि त्यहाँ विभिन्न समूहले प्रदर्शन थालेपछि स्थिति थप संवेदनशील बनेको छ । कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरीले व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ । मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाले पछिल्लो अवस्थाको निरन्तर विश्लेषण गर्दै प्रदेशभर सुरक्षा सतर्कता बढाइएको बताएका छन् । ‘कानुन विपरीत गतिविधिमा संलग्न जो कोहीलाई नियन्त्रणमा लिएर कारबाही गरिन्छ। सबै जिल्लामा निगरानी र सुरक्षा व्यवस्था कडा पारिएको छ’, उनले बताए ।

प्रहरी प्रशासनले सामाजिक सञ्जालमा भड्किलो र आपत्तिजनक सामग्री नफैलाउन सबैलाई संयम अपनाउन आग्रह गरेको छ । साथै, शान्ति सुरक्षामा खलल पु¥याउने कुनै पनि गतिविधि सहन नहुने चेतावनी दिँदै प्रदेशभर शान्ति कायम राख्न स्थानीय समुदायसँग सहकार्य गरिरहेको जनाएको छ ।

च्यासलमा ओली–प्रचण्डबीच एक्ला–एक्लै गोप्य संवाद

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार एक्लाएक्लै भेटवार्ता भएको छ । ललितपुरको च्यासलस्थित एक निजी घरमा भएको भेट करिब २५ मिनेट चलेको बताइएको छ ।

प्रचण्ड आइतबार साँझ भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका बेला उक्त भेट भएको हो । प्रचण्डका प्रेस संयोजक तथा प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार दुई नेताबीच समसामयिक राजनीतिक अवस्था, चुनावी वातावरण र दलहरूबीचको सम्भावित सहकार्यका विषयमा कुराकानी भएको थियो । उनले भने, ‘चुनावको वातावरण कसरी बनाउने भन्ने विषयमा छलफल केन्द्रित थियो ।’ दुई नेताबीच शनिबार बिहानै भेट गर्ने कार्यक्रम तय भए पनि प्रचण्ड पूर्वी नेपालको संखुवासभाबाट काठमाडौं फर्कने क्रममा विमान ढिलाइ भएपछि भेट आइतबारका लागि सरेको थियो । राष्ट्रिय सभा निर्वाचन नजिकिँदै गर्दा दलहरूबीच राजनीतिक संवाद र तालमेलको प्रयास तीव्र भइरहेको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भेटवार्तामा राष्ट्रिय सभा निर्वाचनसँगै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दलहरूबीच सहकार्यको सम्भावना, साथै सरकारले चुनावको अनुकूल वातावरण बनाउन नसकेको विषयमा समीक्षा भएको स्रोतले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा पालिकाका प्रमुख–उपप्रमुख मतदाता हुने भएकाले दलगत तालमेलबिना जित हासिल गर्न कठिन हुने विश्लेषण भइरहेका बेला ओली–प्रचण्ड भेटलाई चासोका साथ हेरिएको छ । यद्यपि, भेटवार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर, आगामी निर्वाचन र राजनीतिक समीकरणको सन्दर्भमा दुई शीर्ष नेताबीच भएको यो संवादलाई भावी राजनीतिक दिशाका संकेतका रूपमा हेरिएको छ ।

 

भेनेजुएलामा अमेरिकी आक्रमणबारे नेपाल सरकारकाे अर्थपूर्ण मौनता, वामपन्थीको आक्रोश

काठमाडौं । भेनेजुएलामा ठूलो सैन्य आक्रमणपछि राष्ट्रपति निकोलस मदुरो दम्पतिलाई नियन्त्रणमा लिएर अमेरिका पुर्‍याएको घटनापछि नेपालका वामपन्थी शक्तिहरूले अमेरिकी कदमको कडा निन्दा गरेका छन् ।

एउटा सार्वभौम देशमाथि ‘नाङ्‍गाे’ हस्तक्षेप गरेर राष्ट्रप्रमुखलाई देशबाहिर लाने र मुद्दा लगाएर फसाउने ट्रम्प प्रशासनको नीति साम्राज्यवादको उत्कर्ष भएको टिप्पणी गरेका छन् ।

उनीहरूको दाबीमा भेनेजुएलामा अमेरिकाको दादागिरी मात्रै नभएर राज्य आतंकको प्रष्ट तस्बिर देखियो ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेता झलनाथ खनालले भेनेजुएलामाथि हिंस्रक सैन्य आक्रमण गरेको र त्यो भेनेजुएलाको सार्वभौमसत्तामाथिको ठाडो उल्लङ्‍घन भन्दै अन्तर्राष्ट्रिय कानुनको अपमान र घोर अपराध भएको भन्दै अमेरिकाको आलोचना गरेका छन् ।

उनले आइतबार बिहान विज्ञप्ति जारी गर्दै भने, ‘यो अमेरिकी प्रभुत्ववादी दादागिरी मात्र होइन, राज्य आतंकवाद पनि हो ।’

अमेरिकाले भेनेजुएलामा रहेको विश्‍वकै ठूलो तेल भण्डार कब्जा गर्न लामो समयदेखि ‘गिद्धे दृष्टि’ लगाएको र त्यसकै लागि शनिबार बिहानै त्यहाँ घोर अपराध गरेको आरोप लगाए । उनले राष्ट्रपति मदुरो र उनकी पत्नीको सकुशल रिहाइको मागसमेत गरेका छन् ।

संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई यस्ता हिंसात्मक आक्रमणविरुद्ध कडा कानुनी कदम चाल्न र साना तथा कमजोर देशहरूको सार्वभौमसत्ता रक्षाका लागि उनले अपिल गरे ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भेनेजुएलामा अमेरिकाले गरेको आक्रमण र राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएको घटना संयुक्त राष्ट्रसंघको बडापत्रको ठाडो उल्लङ्‍घन भएको अथ्‍यार्ए ।

कुनै एउटा देशका जननिर्वाचित राष्ट्रप्रमुखलाई अर्काे देशको राष्ट्रप्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्‍घन भएको बताए ।

यस्तो अमेरिकी कदम स्‍वीकार्न नसकिने उनको भनाइ छ । ‘यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान लेखे ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि विज्ञप्ति जारी गरेर अमेरिकी आक्रमणको विरोध गरेका छन् ।

अमेरिकी आक्रमणमा परेको भेनेजुएला संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र हो । भेनेजुएयलामाथिको आक्रमणलाई रुस, चीन, कोलम्बियालगायत देशरूले निन्दा गर्दै गरेका छन् ।

नेपाल सरकारकाे अर्थपूर्ण मौनता

भेनेजुएलामा अमेरिकी आक्रमणलाई लिएर नेपाल सरकारको औपचारिक प्रतिक्रिया आएको छैन ।

यसअघि कुनै शक्ति राष्ट्रले अर्को राष्ट्रमाथि आक्रमण गर्दा नेपालले शान्ति बहालीका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गथ्र्यो ।

विश्‍वमञ्‍चहरूमा नेपालले शान्तिको पक्षमा वकालत गर्थ्याे । भलै युक्रेन युद्धमा तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाल युक्रेनको पक्षमा रहेको भनेर मतदान गरे, जुन नेपालको परराष्ट्रनीतिको खिलापमा भयो भन्दै नेपालमै आलोचना भयो । यसबाहेक नेपाल जहिल्यै शान्तिको प्रवक्ताको भूमिकामा रह्याे ।

तर, जसरी भेनेजुएलामाथि अमेरिकी सैन्य आक्रमण भयो, त्यहाँका राष्ट्रपति मदुरो दम्पतिलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याइयो र कम्तिमा ४० जना भेनेजुएली नागरिक मारिए, यसबारे नेपाल सरकार मौन रहनु अर्थपूर्ण मानिएको छ ।

कतिपय कूटनीतिज्ञहरूले यसलाई अमेरिकी कदमको मौन समर्थनको रूपमा विश्लेषण गरेका छन् ।

नयाँ दलले बुझुन्: ‘तरमारा’लाई होइन समानुपातिक

नेपाल जस्तो विविधता र बहुपक्षीय असमानता भएको देशमा समानुपातिक निर्वाचन प्रणाली निकै सुन्दर, महत्वपूर्ण र अपहरिहार्य व्यवस्था हो । राज्यको हरेक संयन्त्रमा खासगरी जनसंख्याको अनुपात बराबर सबै समुदायको प्रतिनिधित्व हुनु पर्ने आवश्यकताका कारण नै यो व्यवस्था अपनाइएको हो। समानुपातिक निर्वाचन प्रणालीले देशको मुलधारबाट पछाडि पारेका समुदाय, लिंग, क्षेत्रका समुदायलाइ राज्यको पहूँचमा, नीति निर्माणमा सहभागी गराउन र मूलधारमा ल्यानको लागि संवैधानिक औजार हो ।

विश्वमा समानुपातिक निर्वाचन प्रणाली १९ औं शताब्दी देखि नै प्रचलनमा आए पनि नेपालमा भने ६२-६३ को अन्तरिम संविधानले व्यवस्था गरेको हो । यसलाई संविधान सभाबाट जारी भएको नयाँ संविधानमा पनि निरन्तरता दिइयो ।

समानुपातिक निर्वाचन प्रणालीमा देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने प्रणाली बमोजिम हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि राजनीतिक दलहरुले जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम पिछडिएको वर्ग समेतलाइ बन्द सूचिका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था हो ।

समानुपातिक निर्वाचन प्रणालीलाई ‘घरानीया’, ‘टाठाबाठा’ र ‘तरमारा’ वर्गले कब्जा गर्दै गएको छ । यसमा ‘नातावाद’ र ‘कृपावाद’ पनि उत्तिकै हावी भएको छ ।

नेपालमा निर्वाचन भन्ने बित्तिकै हुनेखाने सम्भ्रान्त वर्ग र धनीमानीहरुको लागि हो भन्ने बुझाइ छ । तर, समानुपातिक निर्वाचनले निम्न वर्गका मानिसहरूको प्रतिनिधित्वको बाटो खोल्ने अपेक्षा गरिएको थियो । बहिष्करणमा परेका समुदाय, लिंग, क्षेत्रका व्यक्तिहरुलाई समेट्छ र राज्यको मुलधारमा ल्याउने बाटो खोल्छ भन्ने थियो । तर, राजनीतिक दलहरुको गलत अभ्यासका कारण यो प्रणाली पनि  सम्भ्रान्त र सम्मुनत वर्गकै लागि हो भन्ने देखिन थालेको छ ।

सत्तामा हामीले सिमान्तकृत समुदाय, गरिब वर्गहरुको सहभागिता उपस्थितिको तथ्यांक हेर्न हो भने सिमान्तकृत समुदाय, लिंग, क्षेत्रको पनि सम्भ्रान्त वर्ग र सम्मुनत वर्गको नै हालीमुहाली छ । समानुपातिक निर्वाचन प्रणालीलाई ‘घरानीया’, ‘टाठाबाठा’ र ‘तरमारा’ वर्गले कब्जा गर्दै गएको छ । यसमा ‘नातावाद’ र ‘कृपावाद’ पनि उत्तिकै हावी भएको छ ।

परम्परागत दलहरूले दोस्रो संविधान सभाको निर्वाचनबाट नै यसलाई विकृत बनाउन थालेका थिए । विगतमा दुई संसदीय निर्वाचनमा यसको उत्कर्ष देखिएको थियो । नेपोबेबी र नेपोकिड्सविरूद्ध आवाज उठाएको जेनजी आन्दोलनको स्वामित्व लिन्छौं भन्ने नयाँ दलले यसलाई सुधार गर्ने अपेक्षा गरिएको थियो । तर, नयाँ शक्ति भनेर उदय भएका राजनीतिक दलहरुले पनि परम्परागत प्रवृत्ति पछ्याएको बन्दसुचीको नामावली हेर्दा थाहा हुन्छ । पुराना राजनीतिक दलहरुले सम्भ्रान्त र सम्मुनत वर्गका पाका र नयाँ राजनीतिक दलहरुले सम्भ्रान्त वर्गका युवालाई ठाउँ दिएको देखिन्छ ।

यसले नयाँ दलहरूले चुनाव अगाडि नै जनताको विश्वास गुमाउने खतरा देखिएको छ । जेन–जी आन्दोलन पछि पुराना राजनीतिक दलहरु सुध्रिन्छन् र नयाँ दलहरुले पनि फरक तरिकाले वैकल्पिक शक्तिको रुपमा उदय हुन्छ भन्ने आशा जनतामा थियो । तर,  नयाँ दलको गतिविधि हेर्दा दल परम्परागत दलकै बाटो पछ्याउने संकेत दिएका छन् । यद्यपी, सार्वजनिक रूपमा प्रश्न उठेपछि यसमा सुधार गर्ने उनीहरूको प्रतिबद्धता भने सकारात्मक छ ।

नेपालमा समानुपातिक सहभागिताको विषयलाई लिएर थुप्रै सकरात्मक र नकरात्मक बहस छलफलहरु भइराखेका हुन्छन् । यो एउटा संवेदनशील विषय हो र यस माथि हरेक पटक प्रश्न उठ्दै आएको छ । यो प्रश्न उठेको यो प्रणालीको कमजोरीका कारण होइन, यसलाई अभ्यास गर्ने दलहरूको खराबीका कारण हो । विगतदेखि नै राजनीतिक दलहरुले यसको गलत फाइदा उठाउँदै आए र यसलाई विकृत बनाए ।

संविधानले व्यवस्था गरेका ‘क्लस्टर’ भित्रका सम्भ्रान्त तरमारा वर्गलाई मात्र दलहरूले समानुपातिक प्रणालीमा समेट्दा नयाँ राजनीतिक दलहरुले सामाजिक संजालमा हुने फलोअर्स र सार्वजनिक चर्चालाई पनि आधार बनाए । तर, उसले कुन वर्ग र समुदायको आवाज बोक्छ भन्ने हेरिएन । ती व्यक्तिको प्रतिनिधित्व वास्तवमै पछाडि परेको वा पारिएको समुदाय र वर्गको पक्षमा हुन्छ कि हुँदैन भन्ने हेरिएन । नयाँ राजनीतिक दलहरुले यस्तो गर्दा पुरानालाई सुधारको दबाव भन्दा पुरानै बाटोमा हिड्न प्रोहत्सान मिलेको छ ।

समानुपातिकको अभ्यास यसैगरी हुने हो भने सुदुरपश्चिम, कर्णाली, मधेशका महिला, दलित, दलित महिला,अपाङ्ग, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय भित्रको पिँधमा रहेका मानिसहरु राज्यको संयन्त्रमा मुलधारमा कसरी आउँछन् ? उनीहरूको आवाज कसरी नीति निर्माण तहमा पुग्छ? उनीहरुमाथि हुने विभेद र अन्यायबारे कसले बोल्ने?

हुने खाने वर्ग र समुदायका मानिसहरू प्रत्यक्ष चुनाव जितेर पनि राज्यको संयन्त्रमा आउन सक्छन् । तर, गरिब, सिमान्तकृत समुदाय, पिँधमा रहेको वर्गको लागि समानुपातिक सिट उनीहरूले नै खोस्नु अन्यायपूर्ण छ । नयाँ दलले बुझाएको बन्दसुचीको नामावलीले देशमा भिन्नै तरङ्ग ल्याएको छ यसले कतै सिमान्तकृत समुदाय, दलित महिला, गरिब वर्गको मुद्धालाई झन् विस्थापित गर्ने हो कि भनेर डराउनु पर्ने अवस्था सिर्जना भएको छ ।

जेनजी आन्दोलनपछि पनि पुराना दलहरुले सुध्रिने छाँट ल्याएनन् ।  तर, नयाँ दलहरुमाथि जनताले गरेको अपेक्षा खेर नजाओस् । आजसम्म पनि निर्वाचन प्रणाली माथि प्रश्न उठ्दै आएको छ, यसलाई नयाँ राजनीतिक दलले सुधार गर्ने छन् भन्ने आशा र अपेक्षा नेपाली जनताले गरेका छन् । पुराना राजनीतिक दलहरुलाई जस्तै यति छिटै प्रश्न गर्न बाध्य नयाँ दलले जनतालाई नबनाउन् ।

अमेरिकी आक्रमणमा भेनेजुएलामा कम्तीमा ४० जनाको मृत्यु

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पक्राउ गर्ने उद्देश्यले गरिएको अमेरिकी सैन्य आक्रमणका क्रममा कम्तीमा ४० जनाको ज्यान गएको छ । तर, ह्वाइट हाउस वा पेन्टागनले हालसम्म मृतकको संख्या वा सैन्य कारबाहीको पूर्ण विवरणबारे औपचारिक पुष्टि नगरेको न्यूयोर्क टाइम्सले जनाएको छ । मृतकमध्ये सर्वसाधारण नागरिक र सैनिक दुवै रहेको उल्लेख गरिएको छ । नाम नखुलाउने शर्तमा एक वरिष्ठ भेनेजुएलाली अधिकारीलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टमा भनिएको छ, ‘आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाको ज्यान गएको छ ।’

अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणअघि भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पार्न व्यापक हवाई कारबाही गरिएको थियो । त्यसपछि स्थलसेनालाई परिचालन गरिएको थियो । रिपोर्टमा अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै भनिएको छ, ‘हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पार्न १५० भन्दा बढी अमेरिकी विमान परिचालन गरिएका थिए, ताकि सैनिक हेलिकप्टरमार्फत मादुरो रहेको स्थानमा हमला गर्न सकियोस् ।’

अमेरिकी सेनाले शनिबार बिहानै राष्ट्रपति मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर भेनेजुएलाबाट बाहिर लगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण सुनिश्चित नभएसम्म त्यहाँको प्रशासन सञ्चालन गर्ने बताएका छन् ।

यसैबीच, न्युयोर्कको साउदर्न डिस्ट्रिक्टस्थित संघीय अभियोजक कार्यालयले शनिबार बिहानै अभियोगपत्र सार्वजनिक गर्दै मादुरो र फ्लोरेसलाई ‘टनौं कोकिन’ अमेरिकामा तस्करी गरेको लगायतका विभिन्न अपराधमा संलग्न भएको आरोप लगाएको छ । आक्रमणका आलोचकहरूले यसले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको, अमेरिकी संसद्लाई बाइपास गरिएको तथा भेनेजुएला र आसपासको क्षेत्र थप अस्थिर बन्ने जोखिम बढाएको चेतावनी दिएका छन् ।

विष्णु पौडेल रुपन्देही–२ बाट एकल सिफारिस

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट एकल उम्मेदवार सिफारिस भएका छन् । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि पौडेल रुपन्देही–२ बाट एकल उम्मेदवार सिफारिस भएका हुन् ।क्षेत्रीय कमिटीको विस्तारित बैठकबाट पौडेलको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको जिल्ला अध्यक्ष यज्ञ गैरेले जानकारी दिए ।

पौडेल यो क्षेत्रबाट २०५६ सालदेखि निरन्तर उम्मेदार रहेका छन् भने २०६४ देखि निरन्तर जित्दै आएका छन् । पटक पटक मन्त्री, अर्थमन्त्री तथा उपप्रधानमन्त्री भइसकेकाले यो क्षेत्रको विकासका लागि एकल रुपमा पठाउने बैठकमा सहभागी सबैको चाहना भएपछि सर्वसम्मत निर्णय भएको उनले जनाएका छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारीले देशमा अर्को ‘जंगबहादुर’ जन्माउँछ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले मुलुकलाई अस्थिरता र तानाशाहीको दलदलमा फसाउने दाबी गरेका छन् । धनकुटामा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारीको बहसलाई ‘व्यर्थको कसरत’ भन्दै यसले मुलुकमा अर्को ‘जंगबहादुर’ जन्माउने खतरा औंल्याएका हुन् ।

नेपालको ऐतिहासिक र राजनीतिक पृष्ठभूमिमा निरंकुशताको छायाँ अझै बाँकी रहेको उल्लेख गर्दै नेता नेपालले भने, ‘जंगबहादुरको देशमा फेरि अर्को जंगबहादुरकै कल्पना गर्नु भनेको लोकतन्त्रलाई धरापमा पार्नु हो । प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा उठाउनु भनेको तानाशाही प्रवृत्तिलाई मलजल गर्नु मात्रै हो ।’

उनले यस सन्दर्भमा श्रीलंका र विभिन्न अफ्रिकी मुलुकहरूको उदाहरण दिँदै शक्ति केन्द्रित हुँदा लोकतन्त्र समाप्त हुने तर्क गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विगतको कार्यकाललाई स्मरण गर्दै उनले दुई–तिहाइ बहुमत प्राप्त गर्दा त ओलीमा स्वेच्छाचारी प्रवृत्ति देखिएको भन्दै प्रत्यक्ष कार्यकारी हुँदा स्थिति झन् भयावह हुने बताए । ‘अहिले त प्रत्यक्ष निर्वाचित मेयर वा वडाध्यक्षले कसैको कुरा सुन्दैनन् भने देशकै कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित भए उसले कसलाई टेर्ला ?’ नेपालले प्रश्न गरे ।

आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा नेता नेपालले ठूला दलहरूसँग सहकार्यको ढोका खुल्ला रहेको संकेत गरे । उनले नेपाली कांग्रेस र एमालेसँग चुनावी तालमेलका लागि आफ्नो पार्टी छलफल गर्न तयार रहेको बताए । यद्यपि, तालमेलको पहलकदमी ठूला दलहरूबाटै हुनुपर्ने उनको अडान छ । ‘हामी वार्ता र संवादका लागि सकारात्मक छौं, तर ताली एक हातले मात्र बज्दैन,’ उनले थपे, ‘कांग्रेस र एमाले ठूला दल हुन्, उनीहरूले औपचारिक प्रस्ताव ल्याएमा हामी सहकार्य गर्न तयार छौं । निर्णायक भूमिका उनीहरूकै हातमा छ ।’

पछिल्लो समय चर्चामा रहेको ‘जेनजी’ आन्दोलनका सन्दर्भमा बोल्दै नेता नेपालले यो आन्दोलन कसको उक्साहटमा भइरहेको छ भन्नेबारे आफू जानकार रहेको दाबी गरे । उनले उचित समय आएपछि यसको भित्री रहस्य र पर्दा पछाडिका शक्तिहरूबारे खुलासा गर्ने बताए । मुलुकको वर्तमान राजनीतिक अन्योल चिर्न दलहरूबीच न्यूनतम सहमति र सहकार्य आवश्यक रहेको उनको भनाई छ ।

प्रचण्ड दिल्ली उड्नु अघि ओलीलाई भेट्दै

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका दुई शीर्ष नेताबीच पुनः संवाद हुने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (आइतबार) भेटवार्ता तय भएको छ । भेट एमालेको केन्द्रीय कार्यालय, च्यासलमा हुने तयारी छ ।

एमालेका एक नेताका अनुसार यसअघि शनिबार नै भेट गर्ने योजना रहे पनि प्रचण्ड तुम्लिङटारबाट काठमाडौं फर्किन ढिलाइ भएपछि भेट हुन सकेन । कार्यालय सचिव डा. भीष्म अधिकारीले समेत भेटका लागि व्यवस्थापन मिलाउन तयारी गरेका थिए । नेकपा नेता वर्षमान पुनले पनि भेटवार्ता हुने कुराको पुष्टि गरेका छन् । यसबीच संयोजक प्रचण्ड आइतबार साँझ नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेकाले त्यसअघि नै ओलीसँग भेट्ने सहमति बनेको हो । प्रचण्ड संखुवासभाबाट फर्किसकेपछि आजै पार्टी केन्द्रीय कार्यालयमा भेट गर्ने तय भएको ती नेताले जानकारी दिए ।

भेटको केन्द्रमा राष्ट्रियसभा निर्वाचन रहने संकेत देखिएको छ । एमाले स्रोतका अनुसार राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य गर्ने अनौपचारिक सहमति यसअघि नै भइसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष ओलीबीच देउवा निवासमा भएको भेटमा यसबारे छलफल टुंगिएको दाबी गरिएको छ । तर सो सहकार्यमा नेपाली कम्युनिष्ट पार्टीलाई पनि समेट्ने कि नसमेट्ने भन्ने विषयले अन्तिम निर्णयमा ढिलाइ भएको बताइएको छ । ‘राष्ट्रियसभामा कांग्रेस–एमाले मिल्ने विषय लगभग निश्चित छ । तर नेकपालाई पनि सँगै लैजाने प्रस्ताव आएपछि अन्तिम टुंगो लाग्न सकेको छैन’, एमालेका ती नेताले भने ।

राष्ट्रियसभा निर्वाचनका लागि आगामी बुधबार उम्मेदवारी दर्ताको कार्यतालिका छ । माघ ११ गते हुने निर्वाचनमा रिक्त १९ सिटमध्ये १८ सिटका लागि प्रत्यक्ष निर्वाचन हुनेछ भने एक सिट मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ । यता, एमालेका एक पदाधिकारी तहका नेताका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पनि प्रमुख तीन दल—नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच तालमेलको सम्भावनाबारे गहिरो छलफल भइरहेको छ ।

यद्यपि अध्यक्ष ओली यस विषयमा पूर्णतः सकारात्मक नभए पनि पार्टीभित्रबाट संविधान पक्षधर शक्तिहरू एकजुट भएर जानुपर्ने दबाब बढ्दै गएको बताइएको छ । यसै सन्दर्भमा शनिबार लम्जुङमा आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच क्रमशः ७०, ७० र २५ सिटको तालमेल गरेर निर्वाचन लड्न सकिने धारणा सार्वजनिक गरेका थिए । आजको ओली–प्रचण्ड भेटलाई राष्ट्रियसभा निर्वाचनसँगै आगामी प्रतिनिधिसभा निर्वाचनको राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण संवादका रूपमा हेरिएको छ ।