`

दूग्ध उत्पादनमा किसानलाई अनुदान

गलकोट । किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम बागलुङमा प्रभावकारी बनेको छ । सहकारीमार्फत दूध सङ्कलन र बजारीकरण गरेका किसानले प्रतिलिटर दूधमा रु पाँच अनुदान पाएका छन् । आर्थिक वर्ष २०८१/८२ मा बागलुङका आठवटा दुग्ध उत्पादनक सहकारीमा आबद्ध किसानले रु ३७ लाख ३२ हजार रकम अनुदान प्राप्त गरेका छन् । अनुदानबाट झण्डै आठ सय किसान लाभान्वित भएका छन् ।

अनुदान पाउनका लागि दूधको खरिद बिक्री गरेको प्रमाण र एक दिनमा न्यूनतम दुई सय लिटर दूधको कारोबार गर्ने सहकारीमार्फत किसानले अनुदान प्राप्त गर्ने गरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाका अनुसार केन्द्रको सफल तथा प्रभावकारी कार्यक्रममध्ये उत्पादनका आधारमा दूध किसानले पाउने प्रोत्साहन रकम रहेको छ । किसानले उत्पादन गरेको दूध सोझै बजारमा बिक्री गर्नेले भने अनुदान नपाउने सापकोटाको भनाइ छ ।

“उत्पादनका आधारमा अनुदान निकै प्रभावकारी अनुदान कार्यक्रम हो, किसानले जति धेरै उत्पादन गर्छन् उति नै बढी अनुदान पाउँछन्, चालु आवमा समेत दूध किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिन रु ३८ लाख बजेट व्यवस्थापन गरिएको छ”, सापकोटाले भने, “दूध उत्पादन भएर एकमुष्ट बजारीकरण गर्न किसानलाई सहकारीमार्फत अनुदान दिएका छौँ, उक्त अनुदान वार्षिक रूपमा बढ्दै आएको छ ।”

आव २०७८/७९ मा चार लाख २० हजार लिटर दूधमा अनुदान वितरण गरेको केन्द्रले गत आवमा सात लाख ४६ हजार ५५४ लिटर दूधमा रु ३७ लाख ३२ हजार ७६८ अनुदान वितरण गरेको थियो । किसानलाई १० लाख लिटर दूधमा अनुदान दिन सक्ने विज्ञ केन्द्रको भनाइ छ । बागलुङ बजारमा जिल्ला सहकारी सङ्घमा १५ उत्पादन सहकारीले दूधको सङ्कलन गरेर पठाउने भए पनि दैनिक दुई सय लिटर दुधको कारोबार गर्ने सहकारी जम्मा ८ मात्रै हरेकाले मापदण्ड अनुसार आठवटा सहकारीमा दूध सङ्कलन गर्ने किसानले मात्रै उत्पादनका आधारमा प्रतिलिटर रु पाँचका दरले अनुदान प्राप्त गरेका हुन् ।

सवारी धनीलाई यातायात विभागले भन्यो-लुटेर लगेका सामान ओसारपसार नगर्नू-नगराउनू

काठमाडौं । यातायात व्यवस्था विभागले जेनजी प्रदर्शनका क्रममा लुटेका हातहतियारसहितका सामानहरु ओसारपसार नगर्न, नगराउन आग्रह गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै भदौं २३ र २४ गते जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानबाट लुटपाट भएका /गरिएका हातहतियार लगायतका सामाग्रीहरु ओसारपसार नगर्न, नगराउन आग्रह गरेको हो ।

विभागले त्यस्ता सामानहरु सार्वजनिक (यात्रुबाहक तथा मालबाहक) र निजी सवारीका साधनहरुबाट ओसारपसार हुन सक्ने सम्भावना भएकोले सबै यात्रु, सवारी चालक, सवारी परिचालक तथा सवारी धनीहरु सचेत हुन आग्रह गरेको छ ।
त्यस्ता सामाग्रीहरु ओसारपसार नगर्न तथा नगराउनु हुन र त्यस प्रकारको क्रियाकलाप भएको देखिएमा नजिकैको प्रहरी कार्यालयहरुमा जानकारी गराउन समेत अनुरोध गरेको छ । विभागले त्यस्तो कार्य हुने गरेको देखिन आएमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी समेत दिएको छ ।

हेर्नुस् सूचना

खण्डहर बने प्रमुख तीन राजनीतिक दलको मुख्यालय (तस्बिरहरु)

काठमाडौँ । भाद्र २३ र २४ गते काठमाडौंमा भएको जेन जी आन्दोलन र त्यस पछिको तोडफोड र आगजनीबाट देशको विभिन्न इतिहासिक संरचना लगायत भौतिक संरचनामा ठूलो क्षति पुग्यो ।

देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनैतिक दल र नेताहरु प्रतिको वितृष्णाले निम्त्याएको परिणाम थियो जेन जी आन्दोलन । जसको फलस्वरूप आन्दोलनकारीहरुले तीन ठूला राजनीतिक दलका मुख्यालयमा तोडफोड सँगै आगजनी गरेका थिए।

सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय पूर्ण रुपमा ध्वस्त भएको छ । कार्यालयको प्रमुख प्रवेशद्वार देखि हरेक कोठामा आगजनी गरिएको थियो । नेपाली कांग्रेसले आजबाट देशभरी भएको प्रदेश कार्यालय र जिल्ला कार्यालयमा भएको क्षतिको विवरण संकलन गर्न लागेको हो ।

जेन जी आन्दोलन नेकपा एमालेको च्यासलस्थित मुख्यालय पनि खण्डहर बनेको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट मुख्यालयका अधिकांस संरचना खरानी भएका छन् ।

सोमबार एमालेका महासचि शंखर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरु पार्टी मुख्यालयमा पुगी कम्युनिस्ट पार्टीको झण्डा राखेका थिए ।

पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि जेन जी आन्दोलनबाट ध्वस्त भएको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट कार्यालयको अधिकांस संरचना जलेर नष्ट भएका छन् ।

 

बैतडीको सरकारी कार्यालयद्वारा अबरुद्ध सेवा पून: सन्चालनमा

बैतडी । जेनजी प्रदर्शनका कारण बन्द रहेका यहाँका सरकारी कार्यालय, विद्यालयलगायत सङ्घसंस्था पूर्ववत् अवस्थामा फर्किएका छन् । बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालयद्वारा प्रदान गरिँदै आएको सेवा प्रवाह पून: सञ्चालनमा आएको जानकारी दिएका छन् । उनले भने, “जेनजी प्रदर्शनका कारण बन्द रहेका सरकारी कार्यालय सञ्चालनमा आउन थालेका छन् । कार्यालय खुलेसँगै सेवाप्रवाह पनि थालिएको छ ।”

कार्यालय सञ्चालन भए पनि सेवाग्राही भने न्यून सङ्ख्यामा आउने गरेका प्रजिअ पौडेलले बताए । उनले भने, “जिल्ला प्रशासनलगायत सरकारी कार्यालय खुलेका भए पनि सेवाग्राहीको सङ्ख्या भने न्यून छ । माथिल्लो निकायका संरचनामा आगजनी तोडफोड भएर जिल्लामा सेवा पाउन मुस्किल हुनसक्छ भनेर पनि कम आएका हुन सक्छन् ।”

सरकारी कार्यालयमा क्षति भएको विवरण प्राप्त नभएकाले सेवा सञ्चालनमा कुनै बाधा नरहेको प्रजिअ पौडेलले बताए । यहाँका स्थानीय तहबाट प्रदान हुने सेवा पनि नियमित भएका छन् । कार्यालय खुलेसँगै सेवा पनि सञ्चालन भएका दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले जानकारी दिए ।

शिवनाथ गाउँपालिकाका पनि सबै सेवा सञ्चालनमा आएका गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए। उनले भने, “आजदेखि गाउँपालिका कार्यालय खुलेको छ । पालिकाले प्रदान गर्ने सेवा सुरु भएका छन् ।”

जिल्लाको सिगास गाउँपालिकामा प्रदर्शनको असर नपरेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । उनले भने, “जेनजी आन्दोलनले सिगासमा कुनै असर परेन । गाउँपालिका कार्यालय बन्द गर्नुपर्ने अवस्था आएन । नियमित रूपमा सेवा सञ्चालनमा रह्यो ।”

सरकारी कार्यालयसँगै यहाँका सङ्घसंस्था, विद्यालय पनि सञ्चालनमा आएका छन् । प्रदर्शनका कारण बन्द रहेका विद्यालय खुलेका र पठनपाठन थालिएको रौलेश्वर मावि कफलकोटका प्रधानाध्यापक नरेन्द्र भाटले बताए । उनले भने, “बन्द विद्यालय खुलेका छन् । नियमित पठनपाठन कार्य चलिरहेको छ । बालबालिकाको उपस्थिति साविककै अनुसार छ ।”

प्रदर्शनकै कारण प्रभावित बनेको जनजीवन सामान्य बनेको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । जिल्लास्थित सरकारी कार्यालय, सङ्घसंस्था, विद्यालय, बजार खुलेका छन् । उनले भने, “जेनजीको प्रदर्शन र निषेधाज्ञा र कफ्र्यूका कारण असहज बनेको जनजीवन अब भने सामान्य बनेको छ ।”

सुनचाँदीकै मूल्यमा नयाँ ‘कीर्तिमान’, हालसम्मकै महँगोे

काठमाडौं । नेपाली चाड वडादशैं नजिकिँदै गर्दा आज (मंगलबार) सुनचाँदीकै मूल्य बढेर नयाँ कीर्तिमान बनाएको छ । हिजो बढेको सुनको मूल्य आज पनि उकालो लागेको हो । प्रतितोला एक हजार नौसय रुपैयाँ बढेर सुनको मूल्य आज तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो । हिजो सुनको मूल्य तोलाको दुईलाख १५ हजार दुईसय रुपैयाँ थियो । गत साताको शुक्रबार सुनको मूल्य तोलाको दुईलाख १५ हजार आठसय रुपैयाँ पुगेर केही सस्तिएको थियो । आज चाँदीको मूल्य पनि बढेर हालसम्मकै महँगो भएको छ । चाँदीको मूल्य आज तोलाको २० रुपैयाँ बढेर दुई हजार पाँचसय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

जेन-जी आन्दोलनको असर : बिना बर्दीमा फर्किए प्रहरी (तस्बिरहरू)

काठमाडौं । भाद्र २३ र २४ गते भएको जेन(जी आन्दोलनमा देशभरिका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट मच्चाइयो ।

जसका कारण उपत्यकाका अधिकांश प्रहरी चौकी खण्डहर बनेका छन् । उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी ३ जना प्रहरीहरूले ज्यान गुमाउनु परेको थियो ।

यस्तो कहाली लाग्दो अवस्थाबाट गुज्रिएको नेपाल प्रहरी उच्च मनोबलसहित अहिले नागरिक सेवामा खटिएका छन् ।

लुटपाट र आगजनीबाट आफ्नो बर्दी समेत गुमाएका प्रहरीहरू अहिले बिना बर्दी नागरिक सेवामा खटिएका छन् ।

उपत्यकाको विभिन्न चोकहरूमा रहेको ट्राफिक आइरल्याण्ड लगायत भौतिक संरचना तोडफोड भएपछि बाँकी रहेको अवशेष माथि उभिएर र बर्दी बिना नै प्रहरीहरू फिल्डमा खटिएका छन् ।

 

असोज महिनामा कुन वाणिज्य बैंकले कति दिंदैछन् ब्याज ?

काठमाडौं । बाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमा नौं वटा वाणिज्य बैंकहरूले भदौको तुलनामा असोजमा थोरै दरले ब्याज घटाउँदा अरु ९ वटा बाणिज्य बैंकले पुरानै दरलाई निरन्तरता दिने निर्णय गरेका छन् । यस्तै बाँकी रहेका २ वटा बाणिज्य बैंकले भने व्याजदर सामान्य बढाएका छन् ।

असोजका लागि सार्वजनिक गरेको ब्याजदरमध्ये माछापुच्छ्र्रे बैंक, ग्लोबल आईएमई, एनएमबी, हिमालयन र एनआईसी एसिया बैंकमा निक्षेप राख्ने बचतकर्ताले सबैभन्दा धेरै ब्याज पाउने छन् । यी बैंकहरुले निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।

यस्तै प्राइम कर्मसिलय बैंक, सिद्धार्थ, नबिल र राष्ट्रिय वाणिज्इ बैंकले ५.५ प्रतिशत दिनेगरी ब्याज कायम गर्दा नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, एभरेष्ट बैंक,सिटिजन्स बैंक र नेपाल बैंकले ५.२५ प्रतिशत ब्याज दिनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

स्टान्डर्ड चार्टड र नेपाल एसबीआईले भने निक्षेपकर्तालाई असोज महिनामा ५.१८ ब्याज दिने भएका छन् । नयाँ ब्याजदरअनुसार बचतकर्ताले बचत बाफत सबैभन्दा थोरै ब्याज भने कुमारी बैंक र कृषि विकास बैंकबाट पाउने छन् । यी बैंकहरुले निक्षेपमा क्रमश ५.०१ प्रतिशत र ५.०५ प्रतिशत मात्रै ब्याज दिने भएको हुन् ।

चितुवाले आक्रमण गर्दा एकजनाको मृत्यु

नेपालगञ्ज । यहाँको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

आइतबारदेखि हराइरहेकी सोही वडाकी ४५ बर्षीया लक्ष्मी थारु जनमुखी सामुदायिक वनको पुरानो पानी ट्याङ्की नजिकै सोमबार मृत फेला परेको डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शङ्कर गुप्ताले जानकारी दिएका छन् ।

गुप्ताका अनुसार थारुको शव आसपासमा चितुवाको पाइला देखिएपछि क्यामेरा जडान गरी हेर्दा एउटा भाले चितुवा हिँडडुल गरेको देखिएको बताए। सो घटनापछि स्थानीय आतङ्कित भएकाले भाले चितुवालाई समाउन आजै प्राविधिक टोली पठाउन लागेको उनले बताए ।

“हामीले त्यहाँ तीन थान क्यामेरा जडान गरेका थियौँ, त्यसबाट चितुवा हिँडेको देखिएको छ, अब प्राविधिक टोली त्यहाँ जाँदैछ”, उनले भने । मृतक थारुको शव पोष्टमार्टम पश्चात वडाको सिफारिसमा परिवारलाई रु १० लाख क्षतिपूर्ति प्रदान गरिने डिभिजन वन प्रमुख गुप्ताले बताए ।

टिचिङ अस्पतालबाट जेनजीको सामुहिक शवयात्रा निकाल्ने तयारी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौँमा ज्यान गुमाएकाहरूको आज सामुहिक शवयात्रा निकालिँदै छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालबाट अहिले सामुहिक शवयात्राको तयारी भइरहेको छ ।
आन्दोलनका क्रममा घाइते भई त्यहाँ उपचारका क्रममा मृत्यु भएका १० जनाको शव यात्रा निकाल्न लागिएको हो ।

१० शवमध्ये ६ वटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र बाँकी चार जनालाई पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिने जनाइएको छ । विमानस्थल पु¥याइने शव उपत्यका बाहिरका भएकाले गृह जिल्ला लगेर अत्येष्टि गरिने भएको छ । शवयात्रा दिउँसो १२ बजे निकाल्ने तयारी भइरहेको छ । भ्रष्टाचारविरुद्ध जेनजीको नेतृत्वमा भदौ २३ र २४ गते भएको विद्रोहमा हालसम्म ७२ जनाको मृत्यु पुष्टि भएको छ ।

 

सुदन किरातीको चेतावनी : पुरानो नेतृत्वले पद छाडेर अभिभावक बन, नत्र विद्रोह हुन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सुदन किरातीले पुरानो राजनीतिक नेतृत्वले पद त्यागी अभिभावकको भूमिकामा जानुपर्ने सुझाव दिएका छन् । अन्यथा नयाँ पुस्ताले विद्रोह गर्न बाध्य हुने चेतावनी समेत उनले दिएका छन् ।

जेनजी आन्दोलनपछि मुलुकभर नेतृत्व पुस्ता परिवर्तनको माग तीव्र भइरहेका बेला किरातीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सन्देश दिँदै अग्रज नेताहरूलाई सम्मानपूर्वक अवकाश लिन आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘इतिहासमा योगदान गर्नु भएका अग्रज नेताहरूले सम्मानित भइराख्न र पार्टीको साख बचाइराख्न जिम्मेवारी परित्याग गरी अभिभावकत्व ग्रहण गर्नु उचित हुनेछ ।’

यस्तै, किरातीले वर्तमान पुस्ताले विद्रोह नगरे जनताले नै उनीहरूलाई बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् । ‘त्यसो नगरे हाम्रो पुस्ताले उहाँहरूविरुद्ध विद्रोह गर्न बाध्य हुनु पर्नेछ । नत्र जनताले हामीलाई बहिष्कार गर्नेछन् । अब के गरौँ ?’ उनले प्रश्न उठाएका छन् । किरातीको भनाइलाई जेनजी आन्दोलनपछिको राजनीतिक संक्रमणकालसँग जोडेर व्याख्या गरिएको छ, जहाँ पुरानो पुस्ताको ठाउँमा नयाँ नेतृत्वको आवश्यकता रहेको बहस चर्किएको छ ।

हेलो सरकारमा फोन : ‘फलानो’ लाई मन्त्री बनाउनु पर्‍यो !

काठमाडौं । जेनजी आन्दोलनपछि ‘हेलो सरकार’ मा धेरैजसोले फोन गरेर सुरक्षा माग गरेको पाइएको छ । कतिपयले भने अन्तरिम सरकारमा विभिन्न व्यक्तिलाई मन्त्री बनाउन पर्‍यो पनि भन्ने गरेका छन् । ‘अधिकांशको सुझाव, गुनासा र मागहरु अहिलेको पछिल्लो घटनाक्रमसँग सम्बन्धित छन्,’ स्रोतले भन्यो, ‘प्रहरी चौकी स्थापना गर्नुपर्‍यो, शान्ति सुरक्षा चाहियो भन्नेदेखि फलानालाई मन्त्री बनाउनु पर्‍यो भन्नेहरु पनि छन् ।’

जेनजी युवा आन्दोलनको क्रममा जनताका गुनासो सुन्ने ‘हेलो सरकार’ पनि प्रभावित भएको छ । सिंहदरबार जल्दा हेलो सरकारको कार्यालय पनि जलेको थियो । कम्प्युटर लगायतका उपकरणहरु जलेकाले हाल हेलो सरकारको सेवा प्रभावित भएको छ । तर आजबाट नयाँ प्रधानमन्त्री कार्यालयबाट सेवा सुरु गर्ने तयारी छ । हेलो सरकारको फोन नम्बर ११११ सेवा आजबाट सुरु गर्ने तयारी रहेको त्यहाँ कार्यरत अधिकृत कुलप्रसाद भट्टराईले जानकारी दिए।

‘हेलो सरकारको सबै काम अनलाइन सिस्टमबाट हुन्थ्यो तर सबै जलेर एउटा मोबाइल मात्र बाँकी छ,’ अधिकृत भट्टराईले भने, ‘आजबाट चारवटा एकको फोन सेवा सुरु गर्ने तयारीमा छौं ।’ हेलो सरकारको मोबाइल आफूले नै बोकेकाले अहिले त्यो मात्र बचेको उनले बताए । त्यो मोबाइल नम्बरमा फोन आउने र ह्वाट्सएपमा म्यासेज आउने क्रम भने जारी छ ।

कारागारबाट भागेका सात कैदी झापाबाट पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ परेका छन् । यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठले बताए ।

नियन्त्रणमा लिइएकामध्ये सुन्धारा कारागारबाट भागेका गौरादह नगरपालिका–५ की २८ वर्षीया रुकसार खातुन र वर्ष २८ कै एकसरा खातुन रहेका छन्। सरकारले भागेका कैदीलाई फर्किन सूचना जारी गरेपछि दुवै जना जिल्ला प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आएका थिए ।

कास्की कारागारवाट भागेका कर्तव्य ज्यान मुद्दाका कनकाई नगरपालिका–६ का ३३ वर्षीय दिनेश सोरेनलाई घरबाटै पक्राउ गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । सोरेन घरमा आएर लुकिरहेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।

नेपालबाट भागेर दक्षिणी सीमा हुँदै भारतको किशनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोर नाम भएका एक कैदीलाई भारतीय प्रहरीले पक्राउ गरेर केचनास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइदिएको छ । उनी भारतीय नागरिक भएको बताइएको छ ।

सुनसरीको झुम्का कारागारबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी कनकाई नगरपालिका–४ का ४५ वर्षीय बलबहादुर राईलाई परिवारले नै प्रहरीसमक्ष बुझाइदिएको छ । अरु दुई जना सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ परेका हुन् । रासस

भारतमा गाडी दुर्घटनामा ज्यान गुमाउने चार नेपालीमध्ये तीन जना एकै घरका

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा हिजो भएको गाडी दुर्घटनामा ज्यान गुमाउने चार नेपालीमध्ये तीन जना एकै घरका भएको खुलेको छ । सल्यानको कुमाख गाउँपालिका– ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको सोमबार भएको सवारी दुर्घटनामा मृत्यु भएको माओवादी केन्द्रका नेता रमेश मल्लले जानकारी दिएका छन् ।

हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख– ४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो।दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते छन् । दुर्घटनामा ज्यान गुमाउने लक्ष्मी नवराजकी पत्नी हुन् । नवराज र हिमबहादुर गाडीको डाला पछाडि बसेकाले फाल हानेर जोगिएका छन् । ज्यान गुमाउने लक्ष्मी डिल्लीबहादुरकी माइला दाइकी बुहारी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छोरा हुन् ।

घाइतेको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस सम्बन्धी कुनै पनि जानकारी आफूहरूलाई अहिलेसम्म प्राप्त नभएको जनाएको छ । दुर्घटनामा गाडी चालक भारतीय नागरिक जोगिन्दर सिंहको पनि मृत्यु भएको छ । मृतक सबैको पोष्टमार्टमपछि शव नेपाल ल्याउने तयारी छ । मृतकलाई किरिया खर्चसहित भारतीय पक्षले चार लाख २५ हजारका दरले राहत दिने जानकारी गराएको मल्लले बताएका छन् ।

प्रधानमन्त्री कार्कीको काँधमा १५ मन्त्रालयको जिम्मेवारी

काठमाडौं । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारमा अहिलेसम्म चार सदस्य मात्र छन् । जसमा कार्की प्रधानमन्त्री तथा रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङ मन्त्री छन् । खनाल अर्थमन्त्री बन्दा गृहमन्त्री अर्याल र ऊर्जामन्त्री घिसिङले क्रमशः दुई र तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

अर्यालले गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला तथा घिसिङले ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहकारी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका हुन् । बाँकी १५ मन्त्रालयको जिम्मेवारी भने अझै प्रधानमन्त्री कार्कीकै काँधमा छ ।

हेर्नुस् सूची

सुशीला कार्की (प्रधानमन्त्री)

–उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय

–कृषि तथा पशुपन्छी मन्त्रालय

–खानेपानी मन्त्रालय

–परराष्ट्र मन्त्रालय

–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

–बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

–युवा तथा खेलकुद मन्त्रालय

–रक्षा मन्त्रालय

–वन तथा वातावरण मन्त्रालय

–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

–सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

रामेश्वर प्रसाद खनाल
–अर्थ मन्त्रालय

ओम प्रकाश अर्याल
–गृह मन्त्रालय

–कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

कुलमान घिसिङ
–ऊर्जा, जलस्रोत तथा सिंचाई

–भौतिक पूर्वाधार तथा यातायात

–सहरी विकास

महेश बस्नेतको प्रश्न : चोर्न–लुट्न गएकाले १५ लाख पाउने, प्रहरीले चाँहि के पाउने ?

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने सबैलाई समान दृष्टिले हेर्न आग्रह गरेका छन् । आज (मंगलबार) बिहान सामाजिक सञ्जालमार्फत उनले राज्यले प्रहरीको मनोबल उच्च बनाउन तत्काल कदम चाल्नुपर्ने माग गरेका छन् ।

सरकारले ‘जेनजी स्मृति पार्क’ निर्माण गर्ने निर्णयलाई बस्नेतले सकारात्मक भन्दै ‘जेनजी’ नाम हिंसा, आगजनी र विध्वंशसँग जोडिँदै बदनाम भएको भन्दै यसको सट्टा ‘डीजी स्मृति पार्क’ नामकरण गर्न सुझाव दिएका छन् । बस्नेतले आन्दोलनकै क्रममा ज्यान गुमाएका प्रहरीहरूको सम्मानमा पनि छुट्टै स्मृति पार्क बनाउनु पर्ने बताउँदै भनेका छन्, ‘जेनजी आन्दोलनतर्फ मारिएका व्यक्तिलाई १५ लाख दिइने र ‘शहीद’ घोषणा गरिने निर्णय राम्रो कदम हो । तर, अन्य ५१ जनाको हकमा के हुन्छ ? प्रहरीलाई त्यही निर्णय लागू हुन्छ कि हुँदैन ? एउटै घटनामा ज्यान गुमाएका सबैलाई समान दृष्टिले हेर्नैपर्छ ।’

उनले चेतावनी भनेका, ‘कदाचित चोर्न, लुट्न र मान्छे मार्न गएका आन्दोलनकारीले १५ लाख पाउने तर राष्ट्र र नागरिकको सुरक्षार्थ खटिएका प्रहरीहरूले उचित सम्मान र राहत नपाउने अवस्था आयो भने, यसले भविष्यमा अर्को किसिमको द्वन्द्व निम्त्याउने निश्चित छ ।’ यसैबीच, नेपाल प्रहरीले आफ्नै संगठनभित्रबाट सराहनीय कदम चालेको छ । प्रहरी निरीक्षकदेखि माथिका पदमा रहेका सम्पूर्ण अधिकृतहरूको तलब कटौती गरेर मृत प्रहरीका परिवारलाई १० लाख राहत दिने निर्णय गरिएको छ । बस्नेतले यसलाई उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

भारतमा गाडी दुर्घटनामा चार नेपालीको मृत्यु, दुई घाइते

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा गाडी दुर्घटना परी चार नेपालीको मृत्यु भएको छ ।

सल्यानको कुमाख गाउँपालिका– ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको सवारी दुर्घटनामा मृत्यु भएको माओवादी केन्द्रका नेता रमेश मल्लले जानकारी दिएका छन् ।

हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख–४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो ।

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले भने यससम्बन्धी कुनै पनि जानकारी आफूहरूलाई अहिलेसम्म प्राप्त नभएको जनाएको छ ।

अकबरे बेचेको एक लाख सिंहदरबार बनाउन सहयोग

रुपन्देही । जेन्जी आन्दोलनका क्रममा सिंहदरबारसहित देशभरका धेरै प्रशासनिक भवनहरु आगजनीबाट ध्वस्त भएका छन् । पुनर्निर्माणका लागि अर्बौ रकम लाग्ने देखिएको छ । आन्दोलनका क्रममा राष्ट्रिय सम्पतिमाथि भएको ताडफोड र आगजीप्रति सारा नेपालीले चिन्ता व्यक्त गरेका छन् ।

देश आर्थिक संकटमा गुज्रिरहेका बेला यी क्षतिग्रस्त संरचनामा पुनर्निर्माणका लागि कसरी स्रोत व्यवस्थापन गर्ने भन्ने ठोस योजना सरकारले बनाइसकेको छैन । तर हिजो शपथपछि कार्यभार सम्हाल्दै गर्दा ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जनताकै सहयोगमा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणको काम अघि बढाइने बताए ।

मन्त्री घिसिङले जनसहभागितामै आन्दोलनका क्रममा आगजनी भएका राष्ट्रिय सम्पतिको पुनर्निर्माण गरिने बताउँदै गर्दा अर्घाखाँचीका एक मनकारी किसानले सहयोगको सुरुवात गरेका छन् । सोमबार अर्घाखाँचीको ग्रामीण क्षेत्रमा खेती किसानीमा गरिरहेका एक मनकारीले एक लाख एक सय रकम सिंहदरबार पुनर्निर्माणका लागि सहयोग गरेका छन् ।

गाउँमा टिमुर, अकबरे खुर्सानीसहितका तरकारी खेती गरेर घर चलाइरहेका मनकारी तुल्सीराम अधिकारीले जिल्ला प्रशासन कार्यालय पुगेर सिंहदरबार पुनर्निर्माणका लागि एक लाख एक रुपैंयाँ सहयोग गरेका हुन् ।

‘फेरि यस्तो नहोस्, म बनाउँछु सिंहदरबार, म बनाउँछु मेरो देश’ भन्ने नारासहितको ब्यानर बोकेर प्रशासन कार्यालय पुगेका अधिकारीले रकम हस्तान्तरण गरेका हुन् । अर्घखाँचीको शितगंगा नगरपालिका–२, सीतापुरका तुल्सीराम अधिकारीले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा एक लाख १०० रुपैयाँ जम्मा गरेको भौचर सोमबार प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।

‘सिंहदरवार जलेपछि मलाई निद्रा लागेन, यो पैसाले सिंहदरवार बनाउन थोरै भए पनि सहयोग पुग्छ । ‘म बनाउँछु मेरो सिंहदरबार भन्ने अठोट सबैले लिनु पर्दछ र साथ दिनु पर्दछ’ किसान अधिकारीले भने, ‘मेरो आस्था जलेको छ, मेरो घर जल्दा फरक पदैनथ्यो होला, बरु यति धेरै पीर पर्दैन थियो, म पनि नेपाली नागरिक भएको नाताले अब यो अभियान चलाउनु पर्दछ भन्ने लाग्यो । कतै प्रचार गर्न विज्ञापन गर्न होइन आत्मशान्ति गर्न हो । भाइरल बन्न होइन । श्रद्धाले दिएको हो । सानो चेतनाको लागि हो ।’

‘मैले आत्म शान्तिका लागि दिएको हो । धेरै कमाएर दिएको होइन, सिंहदरबारको श्रद्धाका लागि हो । कुन प्रक्रियाबाट जाँदा सहयोग गर्न सकिन्छ भनेर जिल्ला प्रशासनमा आएको हुँ । म किसान हुँ, टिमुर, अकबरे खुर्सानी, काँक्रा बेचेर जम्मा गरेको रकम हो ।’

अधिकारीले भने, ‘घाइतेलाई कसरी सहयोग गर्न सकिन्छ, पुनर्निर्माणमा केही गर्न सकिन्छ कि भनेर सोंचे, मलाई यो घटनापछि निद्रै लागेको छैन मलाई मन खुसी बनाउन, शान्त बनाउन यसरी सहयोग गर्ने सोच बनाएको हुँ, ठूलो रकम होइन तर यो सन्देश हो अभियानका लागि गरेको हुँ ।’

खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएको मेयर हर्क साम्पाङको दाबी

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई खानेपानी र श्रम मन्त्रालयको जिम्मेवारी लिन भनेको तर आफूले अस्वीकार गरेको दाबी गरेका छन् ।

प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली गरेका साम्पाङ यसबीच बालुवाटार पुगेर गृृहमन्त्री बनाउन माग गरेको खबर पनि बाहिएको थियो । तर उनले त्यसलाई झुट भनेका छन् । यसैबीच आफूलाई साह्रै खिसीटिउरी गरिएपछि उनले खानेपानी र श्रममन्त्री बन्न भनेको तर आफू नमानेको दाबी गरेका हुन् ।

हेर्नुस्, मेयर साम्पाङको स्टाटस

विप्लवको टिप्पणी : सेवा–सुविधा लिन्नँ भन्ने मन्त्रीले कुनै बेला अकुत कमाएको हुनसक्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ मन्त्रीले सेवा–सुविधा लिन्न भन्नु ‘जनतामा भ्रम छर्ने’ अभिव्यक्ति मात्र भएको टिप्पणी गरेका छन् ।

सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा–सुविधा नलिने घोषणा गरेका छन् । मन्त्रीहरुको सरकारी सुविधा र तलबभत्ता नलिने घोषणाको धेरैले प्रशंसा गरेका छन् । मन्त्रीद्वयको यस निर्णयलाई सबैले प्रशंसा गरिरहेका बेला नेकपा महासचिव विप्लवको भने फरक धारणा आएको हो ।

सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीले शपथ र कार्यभार सम्हाल्दै गर्दा कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘मन्त्रीहरुले आज (सोमबार) भाषण गरेको सुनें– म चाहिँ तलब लिदिनँ भनेर । तलब नलिएर के खान्छ ? माटो खान्छन् ?’ विप्लव यत्तिमै रोकिएनन् । उनले थप व्याख्या गर्दै भने, ‘त्यो भनेको त कतैबाट त्यसले कमाको छ नि त । …यो घमण्ड हो के । यो त जनतामा भ्रम छर्ने कुरा हो ।’

यस्ता अभिव्यक्ति दिने व्यक्तिले कुनै बेला अकुत सम्पत्ति कमाएको हुनसक्ने विप्लवको बुझाइ छ । उनले भने, ‘त्यसले के देखाउँछ भने त्यसले कुनै बेला अकुत सम्पत्ति कमाएको छ भन्ने सावित गर्छ ।’ उनले यस्ता व्यक्तिहरुले जनतालाई भ्रम छर्ने र आफ्नो स्वार्थसिद्ध गर्ने गरेको सुनाए ।

‘हेर्नुस् धेरै कुराहरु छ के । जनतालाई भुलभुलैयामा पार्ने, उचाल्ने, पछार्ने, आफ्नो स्वार्थसिद्ध गर्ने अनि देशलाई तल पार्दिने,’ विप्लवले भने ।
उनले यस्ता खेल नखेलेर जनताको जीवनमा परिवर्तन आउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

‘हाम्रो देशलाई असल बाटोमा हिँडाएर सबै जनताले हाम्रो जीवनमा परिवर्तन आयो, राम्रो भयो भन्ने बनाउनेतिर सोच्नु पर्छ,’ उनले भने । विप्लवले नेताहरु जनतातिर नफर्किएको र कार्यकर्तालाई उत्पादनसँग नजोडेकोमा असन्तुष्टि जनाएका छन् । ‘नेताहरु आफ्नो श्रम गर्नेतिर फर्केनन्, आफ्नो पार्टी र कार्यकर्तालाई उत्पादनतिर लगाएनन्,’ विप्लवले भने, ‘सजिलै पैसा खोज्दै हिँड्दाखेरि विदेशीको एजेन्ट भएका छन् ।’

कार्यक्रममा विप्लवले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरुलाई ‘राम्रो काम’ गर्न शुभकामना दिए । ‘सुशीलाजीलाई हाम्रो यो पनि शुभकामना छ, राम्रो गर्नुस् न । आइहाल्नु भयो तपाईंले गर्नुस् न, अरु मन्त्रीहरुले पनि राम्रो गर्नुस्,’ उनले भने, ‘तर यसको मतलव अर्कोको टाउकोमा दोष थोपरेर आफूलाई सही देखाउने कुरातिर होइन । राम्रो गर्नेतिरबाट सोच्नु पर्छ ।’

विप्लवले सोमबार बेलुका नै एक भिडियो सन्देश सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको सरकारको बनोटप्रति विरोध जनाएका थिए । ‘विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको’ भएको टिप्पणी उनले गरेका थिए ।

 

अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले के कस्ता निर्णय गर्‍यो ?

काठमाडौँ । जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भएपछि सुशिला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको आज (सोमबार) पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो ।

भदौ २३ र २४ गते भएको आन्दोलन पछि गठन भएको कार्की नेतृत्वको अन्तरिम सरकारमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले विभिन्न मन्त्रालय समाल्ने जिम्मेवारी पाएका छन् । तीनै जना मन्त्रीको शपथ र पदभार ग्रहण पनि आज नै भएको थियो ।

कार्की नेतृत्वको सरकारले मन्त्रीमण्डल गठन गरिसकेपछि आजै आफ्नो पहिलो मन्त्रिपरिषद् बैठक बसालेको थियो । जून मन्त्रिपरिषद् बैठकमा विभिन्न निर्णयहरु गरिएका छन् ।

जस्मा सरकारले सबै भन्दा पहिला (पर्सि) १ असोजमा शोक दिवस मनाउने निर्णय गरेको छ, भने त्यसै दिन सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत गरेको छ ।

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ । ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको अर्यालले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्च ५ लाख गरी कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । क्षतिपूर्ति वापतको उक्त रकम अर्थ मन्त्रालय मार्फत गृह वा सम्बन्धित जिल्ला प्रशासनबाट वितरण गरिने उनको भनाइ छ ।

गृहमन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था सरकारले गर्नेछ ।आन्दोलका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका शवलाई सम्बन्धित जिल्ला र पालिकासम्म पुर्‍याउन सरकारले सहजीकरण गर्ने निर्णय गरेको उनले बताए ।

त्यसका लागि हेलिकप्टरसहितका साधन उपलब्ध गराइने भएको छ । साथै दाहासंस्कारमा समेत सरकारले सघाउने उनले बताए ।

सरकारले अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गरेको छ ।

जेनजी प्रदर्शनको बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्तावहरू सम्बन्धित मन्त्रालयमै फिर्ता पठाउने निर्णय गरेको हो । गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।

उनले राजीनामा दिएपछि नेपाली सेनासमेतको सहयोगमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्की नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए ।

२३ र १४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना घाइतेहरू उपचाररत छन् ।

 

जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गरिने

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई जनही १५ लाख दिने भएको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरूलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले यसअघि मृतक परिवारलाई दिँदै आएको १० लाखमा थप ५ लाख थपेर १५ लाख दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताएका छन् ।

ज्यान गुमाएका व्यक्तिहरूका शवलाई सम्बन्धित जिल्ला र पालिकासम्म पुर्‍याउन सरकारले सहजीकरण गर्ने निर्णय गरेको उनले बताए । त्यसका लागि हेलिकप्टरसहितका साधन उपलब्ध गराइने भएको छ ।

मन्त्रिपरिषद् बैठक निर्णय : असोज १ गते शोक दिवस मनाइने

काठमाडौँ । सरकारले आगामी असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालका अनुसार दिवसमा सार्वजनिक बिदा दिएर झण्डा झुकाउने निर्णय गरेको गरिएको छ ।

जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने

काठमाडौँ । सरकारले भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् विस्तार भएसँगै आज बसेको बैठकले जेनजी सहिद घोषणा गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको सरकारका गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए ।

उनले ज्यान गुमाउनेहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने, असोज १ गते शोक मनाउने निर्णय भएको पनि जानकारी दिए।

ज्यान गुमाउनेहरूका परिवारलाई यसअघिदेखि नै दिँदै आएको १० लाख र अन्य खर्चवापत ५ गरी १५ लाख दिने निर्णय भएको उनको भनाइ छ।

यस्ता रकम अर्थमन्त्रालयमार्फत निकासा गर्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण हुनेछ। ज्यान गुमाउनेहरू दुर्गम जिल्लाका भए यातायात र हवाई खर्च सरकारले बेहोर्ने निर्णय पनि आजको बैठकले गरेको अर्यालले जानकारी दिए।

घाइतेहरूको नि शूल्क उपचार जारी राख्ने निर्णय पनि भएको छ। त्यस्तै जेनजी आन्दोलनमा दमन भएको भनिएको र त्यसबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।

 

 

 

साउनमा भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा १ खर्ब ७७ खर्ब ४१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो गत आव पहिलो महिनाको तुलनामा २९.९ प्रतिशतले धेरै हो ।

गत आव साउनमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । त्यसबेला रेमिट्यान्स आप्रवाह वृद्धिदर १७.७ प्रतिशत थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५/० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४८ अर्ब ८ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सब्ख्या २३ हजार ६४४ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो।

 

कार्यालयमा एमालेले राख्यो कम्युनिष्ट पार्टीको झण्डा

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडपछि खण्डहर बनेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा कम्युनिष्ट पार्टीको झण्डा राखिएको छ ।

सोमबार च्यासलस्थित केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू पुगेका थिए ।

सो क्रममा पार्टी कार्यालयको एक भाग ढाक्नेगरी कम्युनिष्ट पार्टीको झण्डा राखिएको हो ।

आगजनी र तोडफोडले ध्वस्त भएको पार्टी कार्यालय अनुमगनपछि महासचिव शंकर पोखरेलले आफूहरू पुनस् उठ्ने बताए । उनले आफ्नो पार्टी युवाहरूकै पक्षमा रहेको पनि बताएका थिए ।

 

 

 

मनाङ प्रदेश सभाको उपचुनाव तोकिएकै मितिमा, रुपन्देहीको रद्द

काठमाडौं । रूपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा तोकिएको उपनिर्वाचन रद्द भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी कात्तिक १७ गते सोमबार उपनिर्वाचन गर्ने निर्णय भएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने मिति तोकेपछि उपनिर्वाचनका बाँकी सम्पूर्ण कार्यक्रम रद्द गरिएको आयोगले जनाएको हो ।

निर्वाचन आयोग सोमबार बसेको बैठकले उक्त निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । मनाङको निर्वाचनको विषयमा अहिले कुनै निर्णय नभएको निर्वाचन आयोगले जानकारी दिएको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटनको निर्णय भए पनि प्रदेश सभाबारे कुनै निर्णय नभएका कारण अहिलेसम्म मनाङको निर्वाचन मिति कायमै रहेको आयोगका सचिव महादेव पन्थले बताएका छन् । यद्यपी उक्त निर्वाचनको विषयमा सरकारसँग छलफल गरेर आयोगले निर्णय गर्ने उनको भनाइ छ ।

 

 

ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु नै प्रमुख राष्ट्रिय एजेन्डा भएको बताएका छन् ।

आज सिंहदरबारमा ऊर्जा मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उनले सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनःनिर्माणलाई तत्काल अघि बढाउने बताए । उनले पुनःनिर्माणका लागि सरकारी कोष खडा गर्ने जानकारी दिँदै देशभित्र र बाहिर रहेका सबै नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

त्यसैगरी चालु अवस्थाका ठूला आयोजनालाई तीव्रता दिइने जानकारी दिँदै मन्त्री घिसिङले रणनीतिक महत्व र रुपान्तरणकारी केही ठूला आयोजनाहरु तत्काल अघि बढाउने बताए । उनले भ्रष्टाचार न्यूनीकरण र सुशासनमा सरकारको प्राथमिकता रहने उल्लेख गरेका छन् ।

“आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्त जिम्मेवारीबाट हटाइनेछ । असल नियत राखी ढुक्क भएर काम गर्नुहोस् । देशको अवस्था हेरेर अहिले १८ घण्टा खटिएर काम गर्नुहोस्”, मन्त्री घिसिङले भनेका छन् ।

उनले आफूले प्राप्त गर्ने तलब भत्ता र सुविधाहरु जेनजी प्रदर्शनका क्रममा मृत्युवरण गरेका सहिदहरुका परिवारलाई उपलब्ध गराउने बताएको छन् । आफना सुरक्षाका हिसाबले आवश्यक सुरक्षाकर्मी मात्र लिने उनले बताए ।

दसैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरु)

काठमाडौँ । सरकारले आजबाट चाडपर्व लक्षित दसैँ तिहार सहुलियत पसल सुरु गरेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयबाट सहुलियत पसल सुरु भएको हो ।

भाद्र २३, २४ गते भएको जेनजी आन्दोलन र त्यसको प्रभावका यस वर्ष भने कम्पनीले तामझाम बिना नै बिक्री वितरण सुरु गरेको हो ।

अहिले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट ५१ प्रकारको खाद्यान्न बिक्रीमा राखिएको प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन् । यस वर्ष मसलाजन्य वस्तुहरू समेत बिक्रीमा राखिएको उनले जानकारी दिइन् ।

चामल, गहुँ, दाल र केराउमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिएको उनले जानकारी दिइन् ।


चिउरा, आटा, पिठो, धनियाँ, मसलहरुमा प्रतिकेजी ७ र तेल पनि ७ रुपैयाँ सम्म छुट दिएको छ । सिमी, फापर, चिनो, कागुनो, उवा, मार्सी र बासमतिमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ ।

यस कार्यालय अन्तर्गत रहेर रामशाह पथ, नख्खु, र दक्षिणकाली बिक्री कक्ष बिक्री सुरु गरिएको प्रमुख राजवंशीले बताइन् ।

युवाहरूले धैर्य गरेको भए एमालेले नै उनीहरूको आकांक्षा पूरा गर्थ्याे : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले युवाहरूले धैर्य गरेको भए उनीहरूका आकांक्षा नेकपा (एमाले) ले नै पूरा गर्ने बताएका छन् । गत भदौ २४ गते जेन–जी प्रदर्शनका च्यासलस्थित पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीबाट भएको क्षति अवलोकनका लागि गएका महासचिव पोखरेलले युवाहरूमा हुर्कंदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई संवोधन गर्न पार्टीले रोडम्याप समेत बनाइ सकेको बताएका हुन् ।

‘यहाँहरूलाई थाहा छ हामीले भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गरेर युवाहरूमा हुर्कंदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा लामो छलफल गरिकन निर्णायक शक्ति निर्माणको २१ बुँदे कार्ययोजना हामीले तयार पारेका थियौं । युवाहरूले धैर्यता गर्नु भएको भए, नेकपा एमालेले नै उहाँहरूका उहाँहरूका चाहना, आकांक्षा पूरा गर्ने पार्टीका रूपमा एमाले अगाडि आउँदै थियो । हामीले त्यस प्रकारका योजनाहरू, संकल्पहरू तयार गरेका थियौं,’ उनले भने ।

तर विडम्बना एमालेले ती योजनाहरू व्यवहारमा लागु गर्न नपाउँदै मुलुकमा दुःखद् घटना घटेको उनले बताए । महासचिव पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्धारित मितिमै चुनाव गराउने दिशामा अघि बढ्नु पर्ने बताएका छन् ।

‘यो सरकार अन्तरिम भएकाले उसको कर्तव्य चुनाव गराउने हो । शान्ति सुरक्षाको वातावरण तयार गरिकन समयमा निर्वाचन गराउने कुरामा यो सरकार ध्यान जानेछ । नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताको अभिमत प्राप्त गर्ने कुरामा प्रवेश गर्नुपर्छ,’ उनले भने ।

सधैंभरि सडक जनमत प्राप्त गर्ने माध्यम हुन नसक्ने उनले बताए । ‘सडक जनमत प्राप्त गर्ने माध्यम हुनु पनि हुँदैन । एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाएनौं भने मुलुक कहिले पनि समृद्धि र विकासको यात्रामा अघि बढ्न सक्दैन । समाधान सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास सम्भव हुँदैन,’ उनले भने ।

कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने बताएको छ । महासचिव पोखरेलले भदौ २४ गतेको प्रदर्शन उग्र बन्दै नेकपा (एमाले) को पार्टी कार्यालयसहित नेता–कार्यकर्ताहरूको भौतिक सम्पत्तिमा क्षति पुर्‍याइएको बताए । उनले विध्वंशात्मक प्रदर्शनले खरानी बनाएको संरचनामाथि नै उभिएर एमालेले संविधान दिवस मनाउने पनि जानकारी दिए ।

खाद्य कम्पनीको चाडपर्वलक्षित सुपथ पसल सुरु

काठमाडौँ । बडादसैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सहुलियत पसल सुरु गरेको छ ।

लिमिटेडले आजदेखि सुरु गरेको सहुलियत पसलमा प्रतिकेजी रु पाँच, सात र १० छुट दिइएको सूचना अधिकारी माधव मिश्रले जानकारी दिए । दाल, चामल, चिनी, गहुँका सामग्रीमा प्रतिकेजी रु पाँच छुट गरिएको छ । यसैगरी तेल, चिउरा, आँटा, पीठो, मैदालगायत सामग्रीमा प्रतिलिटर र प्रतिकेजी रु सात छुट दिइएको छ ।

चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुलगायत सामग्रीमा प्रतिकेजी रु १० छुट गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिए । सहुलियत पसल छठसम्म सञ्चालन हुने जनाइएको छ ।

अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदबारमा केही समयअघिदेखि बैठक सुरु भएको हो।

जेनजी आन्दोलनको जगमा अपदस्थ भएको केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो।

शंकर ग्रुपको प्रष्टिकरण : सुदन गुरुङको संस्था र राजनीतिसँग आबद्ध छैनौं

काठमाडौं । जेनजी आन्दोलननका अगुवा सुदन गुरुङ र उनको संस्थासँग जोडेर आएका समाचारहरुको शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सले खण्डन गरेको छ । शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सले एक विज्ञप्ती जारी गर्दै सुदन गुरुङको संस्था र उनीहरुको राजनीतिसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

दुवै संस्थाले संयुक्त बिज्ञप्ति जारी गर्दै गुरुङले नेतृत्व गर्ने ‘हामी नेपाल’ संस्था र उसको राजनीतिसँग आफ्नो कुनै संलग्नता र सरोकार नरहेको जनाएका हुन् । केही दिनयता जेनजी अगुवा सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालका विषयमा विभिन्न अनलाइन, छापा एवं सामाजिक सञ्जालमा आएका भ्रामक र काल्पनिक समाचार सामग्रीप्रति इन्फिनिटी होल्डिङ्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका बेला इन्फिनिटी होल्डिङ्सले व्यावसायिक धर्मबाट माथि उठेर मानव सेवामा पुण्यकर्म गर्नु पर्दछ भन्ने उद्देश्यले सुदन गुरुङ संलग्न संस्था ‘हामी नेपाल’ नामक संस्थासँग हातेमालो गरेको तर त्यसपछि कुनै सम्बन्ध र सहकार्य नरहेको उसले स्पष्ट पारेको छ ।

त्यसबेला उक्त सहयोग पारदर्शी रूपमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरिएको र त्यतिबेलै सार्वजनिक प्रेस विज्ञप्तिमार्फत् जानकारी गराइएको इन्फिनिटीले जनाएको छ । उक्त संस्थाले आफ्नो वेबसाइटमा पनि इन्फिनिटीले गरेको सहयोगलाई पारदर्शी रूपमै उल्लेख गरेर इन्फिनिटीको लोगो प्रयोग गरेको थियो ।

त्यसयता सुदन गुरुङ र उनको संस्थासँग कुनै पनि सहकार्य नगरिएको र उनी र उनको समूहको राजनीति र संस्थागत गतिविधिसँग कुनै सरोकार र सम्बन्ध नरहेको इन्फिनिटीको भनाइ छ । तथापि, पछिल्लो समयमा केही सञ्चारमाध्यमले शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्स तथा यसका सञ्चालकहरूसँग सुदन गुरुङका अहिलेका गतिविधिलाई जोड्ने र भ्रामक खबरहरू प्रकाशन गरिनु दुःखद रहेको भन्दै इन्फिनिटी होल्डिङ्सले यस सन्दर्भमा कुनै पनि सञ्चारमाध्यमले आफूहरूसँग सोधखोज नगरेको एवं सत्यतथ्य नखोजी अनुमानका भरमा समाचार प्रकाशन र प्रसारण गरेको गुनासो गरेको छ ।

जेनजी समूहको अगुवाइमा २३ भदौमा सुरु भएको विध्वंसकारी प्रदर्शनको भोलिपल्ट काठमाडौं नक्सालस्थित प्रमुख पाँचतारे होटल हिल्टन प्रदर्शनकारीको निसानामा परेको थियो । प्रदर्शनकारीले हिल्टनमा तोडफोड गरेपछि आगजनी गरेका थिए । आगजनीबाट होटल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगजनीबाट हिल्टनको भवन समेत काम नलाग्ने गरी क्षति भएको छ ।

प्रदर्शन क्रममा क्रममा थुप्रै व्यावसायिक संस्थाहरूमा समेत आगजनी, तोडफोड तथा लुटपाट भएको छ । यसैको चपेटामा आफूले सञ्चालन गरेको होटल हिल्टन पनि परेको होटल सञ्चालक कम्पनी इन्फिनिटी होल्डिङ्सले जनाएको छ ।
प्रत्यक्ष रूपमा इन्फिनिटी होल्डिङ्स होटल हिल्टनको लगानीकर्ता भए पनि यसमा आमनेपाल र नेपालीको गौरव जोडिएको महसुस गरेको उनीहरूको भनाइ छ ।

हेर्नुस् विज्ञप्ति 

प्रेस वक्तव्य

जन–जेड समूहको अगुवाइमा भाद्र २३ र २४ गते भएको आन्दोलनले देशमा नयाँ परिवर्तन ल्याएको छ । यस आन्दोलनका क्रममा दर्जनौं नेपाली नागरिकहरूले शहादत प्राप्त गर्नुभयो, उहाँहरू सबैमा हाम्रो श्रद्धा सुमनसहित भावफूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै, आन्दोलनका त्रममा घाइते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

यस परिवर्तनपछि केही दिनयता जेन जेडका अगुवा सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दिपक भट्ट र शंकर ग्रुपका संचालक साहिल अग्रवालका विषयमा विभिन्न अनलाइन, छापा एवं सामाजिक सञ्जालमा आएका भ्रामक र काल्पनिक समाचार सामग्रीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीको समयमा हामीले व्यावसायिक धर्मबाट माथि उठेर मानव सेवामा पुण्य कर्म गर्नु पर्दछ भन्ने उद्देश्यले ‘हामी नेपाल’ नामक संस्थासँग हातेमालो गरेका थियौं ।

त्यस क्रममा हजारौं विपत्तिमा पर्नुभएका आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरूको उपचार र पुनस्र्थापनामा सहयोगी हात बढाएका थियौं, जसका कारण हजारौंको ज्यान जोगिन पुग्यो र त्यसमा हामीलाई गर्व पनि छ । उक्त महामारीका समयमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता सुदन गुरुङसँग चिनजान भएको थियो । त्यही क्रममा हामीले कोरोना प्रभावित नेपालीहरुलाई सहयोग गर्न उहाँहरुलाई परिचालन पार्टनर छनौट गरेका थियौं । त्यसयता उक्त संस्थासँग हाम्रो कुनै सहकार्य नभएको समेत स्पष्ट पार्न चाहन्छौं ।

हामीले उक्त सहयोग पारदर्शीरुपमा सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तरगत गरेका थियौं र त्यतिबेलै हामीले सार्वजनिकरुपमा प्रेस बक्तब्यमार्फत् जानकारी गराएका थियौं । उक्त संस्थाले आफ्नो वेबसाइटमा पनि हामीले गरेको सहयोगलाई पारदर्शीरुपमै उल्लेख गरेर हाम्रो संस्थाका लोगोहरु प्रयोग गरेको रहेछ ।

त्यसयता निज सुदन गुरुङ र उनको संस्थासँग हामीले कुनै पनि सहकार्य गरेका छैनौं । उनी र उनको समूहको राजनीति र संस्थागत गतिविधिसँग हाम्रो कुनै सरोकार र सम्बन्ध छैन । तथापि, पछिल्लो समयमा केही सञ्चारमाध्यमले शंकर ग्रुप र इन्फिनिटी होल्डिङ तथा यसका सञ्चालकहरुसँग सुदन गुरुङका अहिलेका गतिविधिलाई जोडने र भ्रामक खवरहरु प्रकाशन गरेको देख्दा हामीलाई दुःख लागेको छ । यस सन्दर्भमा कुनै पनि सञ्चारमाध्यमले हामीसँग सोधखोज गरेका छैनन्, सत्यतथ्य नखोजी अनुमानका भरमा समाचार प्रकाशन÷प्रसारण गरेको देखिएको छ ।

यस आन्दोलनका क्रममा थुप्रै व्यावसायिक संस्थाहरूमा समेत आगजनी, तोडफोड तथा लुटपाट भएको छ । यसैको चपेटमा हामीद्वारा प्रर्बद्धित भर्खरै सञ्चालनमा आएको होटल हिल्टन समेत परेको छ । विभिन्न बाधा व्यवधानका बाबजुद हाम्रो अथक मिहिनेत र परिश्रमपछि जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको यो अन्तर्राष्ट्रिय चेन होटल खरानीमा परिणत भएको छ ।

यसबाट भौतिक क्षति मात्र भएको छैन, नेपालको व्यापारिक क्षेत्र, पर्यटन क्षेत्र र आर्थिक क्षेत्र समेतमा गम्भीर असर परेको छ । यतिबेला हामी गहिरो शोकमा छौं । नेपालमा यति ठूलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो ? हाम्रो सारा मिहिनेत र सपनाहरूसँगै यस विशाल धरोहर खरानी भएबाट हामी विक्षिप्त भएका छौं ।

प्रत्यक्ष रूपमा हामी लगानीकर्ता भए पनि यसमा आम नेपाल र नेपालीजनको गौरव जोडिएको हामीले महसुस गरेका थियौं । यसको स्थापनादेखि नै केही कुत्सित मनसाय भएकाहरूले यस होटलको विषयमा अत्यन्त घृणित र भ्रामक समाचार जसरी फैलाए, त्यसैको शिकार अहिले यो होटल हुन पुग्यो । जुन बर्बरतापूर्ण घटना (आगो लगाउने कार्य) बाट विदेशी पर्यटक मात्र होइन सारा संसारलाई नेपालको दारुण चित्र प्रस्तुत गरेको छ ।

तर, हामी विचलित पनि भएका छैनौं, हामीले होश गुमाएका छैनौं । किनकि हामीले थुप्रै राम्रा अवसरहरूलाई तिलाञ्जलि दिएर देशमै केही गरौं भनेर आफ्नो उद्यमशीलता शुरू गरेका थियौं । यस संकटको घडीमा हामी फेरि आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट शुरु गर्नेछौं र नेपाल र नेपालीको लागि केही न केही योगदान गर्न सक्छौं भन्ने दृढ विश्वास समेत राखेका छौं । साथै, सामाजिक सञ्जाल र विभिन्न अनलाइन छापाहरूमा आएका भ्रामक र गलत कपोलकल्पित समाचारको पछाडि नलाग्न समेत हामी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा, बुबामा हार्दिक अपिल गर्दछौं ।

दीपक भट्ट

अध्यक्ष

इन्फिनीटि होल्डिङ्स

साहिल अग्रवाल

सञ्चालक

शंकर ग्रुप

बङ्गलादेश सुधार चार्टरमा सहमति, कार्यान्वयनमा मतभेद

बङ्गलादेश । बङ्गलादेशको अन्तरिम सरकारले सोमबार राजनीतिक दलहरू व्यापक सुधार चार्टरमा सैद्धान्तिक रूपमा सहमत भएको तर कार्यान्वयन प्रक्रियामा मतभेद देखिएको बताएको छ ।

सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहबाट प्रधानमन्त्री शेख हसिना अपदस्थ भएपछि १७ करोड जनसङ्ख्या भएको देश गम्भीर राजनीतिक उथलपुथलमा परेको थियो ।

अन्तरिम नेता मुहम्मद युनुसले सोही विद्रोहपछि तयार गरिएको २८ पृष्ठको ‘जुलाई चार्टर’ लाई समर्थन गरेका छन् । यसमा प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्ने र राष्ट्रपतिको अधिकार विस्तार गर्ने प्रस्ताव समावेश छन् ।

सहमति आयोगका उपाध्यक्ष अली रियाजले करिब ३० दलसँग वार्ता गरेका छन् । आइतबार सम्पन्न दोस्रो चरणको वार्तापछि उनले भने, “राजनीतिक दलहरू ८४ वटा सुधार प्रस्तावमा सहमत छन् । केही असहमति मात्र छन् । अहिले विवादको मुख्य विन्दु तिनीहरूलाई कार्यान्वयन गर्ने तरिका हो ।”

मुख्य विवाद चार्टरको कानूनी आधारलाई लिएर हो । आलोचकहरूले फेब्रुअरीमा हुने चुनाव नभएसम्म यसले संविधानलाई ओभरराइड गर्न नसक्ने बताएका छन् । उनीहरूका अनुसार नयाँ संसद्ले मात्र यसलाई अनुमोदन गर्न सक्छ ।

शक्तिशाली बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले संसद्ले आफ्नो भाग्यको बारेमा निर्णय गर्न जोड दिन्छ भने इस्लामवादी पार्टी जमात–ए–इस्लामी र अन्यले यसलाई तुरुन्तै अनुमोदन गर्न चाहन्छन् ।

जमात–ए–इस्लामीले चार्टर पारित गर्न दबाब दिने उद्देश्यले सेप्टेम्बर १८ मा ढाकामा र सेप्टेम्बर २६ मा देशव्यापी र्‍याली गर्ने तयारी गरेको छ ।

रियाजले भने्, “कागजात मूलतः तयार भइसकेको छ । हामीले दलहरूलाई हस्ताक्षरका लागि प्रतिनिधि नामाङ्कन गर्न आग्रह गरेका छौँ ।”

यसैबीच, अन्तरिम नेता युनुसले एकताको महत्त्व औँल्याउँदै भनेका छन्, “हामी असहमतिमा अन्त्य गर्न सक्दैनौँ । चुनाव सफल हुन सहमति अपरिहार्य छ ।”

पाकिस्तानबाट फर्किएका शरणार्थी सङ्कटमा, सहयोगको अपिल

पाकिस्तानबाट हालै आफ्नै देश फर्कन बाध्य पारिएका अफगान शरणार्थीहरूले गम्भीर कठिनाइ भोगिरहेको बताएका छन् । उनीहरूले आवास, खाद्यान्न तथा आधारभूत सेवाको अभावमा जीवन अत्यन्त कठिन बनेको गुनासो गरेका छन् ।

शरणार्थी बीबी शम्सले टोलो न्यूजसँग आफ्ना भावना बाँड्दै भने,“हामीलाई घर बनाउने जमिन आवश्यक छ । मेरा बच्चाहरू भोकले पीडित छन् । जाडो नजिकिँदै छ, हामीलाई सहयोग चाहिएको छ । हामी आफन्त र समाजको साथ खोजिरहेका छौं ।”
त्यस्तै, अर्की महिला शरणार्थी दुयाले पनि सहायता अपुग भएको भन्दै चिन्ता व्यक्त गरे।

“कहिलेकाहीँ थोरै राहत सामग्री आउँछ, तर त्यो सबैका लागि पर्याप्त हुँदैन । यिनीहरूको आवश्यकताप्रति ध्यान दिनु आजको आवश्यकता हो,”उनले भने ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी संस्था ९यूएनएचसीआर० का अफगानिस्तान प्रमुख अराफत जमालका अनुसार, सेप्टेम्बरको पहिलो सातामै करिब एक लाख अफगान शरणार्थी पाकिस्तानबाट अफगानिस्तान फर्किएका छन् ।

“यस्तो सङ्कटकालीन अवस्थामा हामी सबैको साझा सहयोग आवश्यक छ । अहिले हामी हाम्रो क्षमताको सीमामा पुगेका छौँ,” जमालले भने ।
अफगान शरणार्थी आयोगका अनुसार, यसै साता मात्र पाकिस्तान र इरानबाट १० हजार २८८ जना अफगानी नागरिकहरू फिर्ता पठाइएको छ ।
इस्लामिक अमिरात अफगानिस्तानका उपप्रवक्ता हम्दुल्लाह फिटरातले सामाजिक सञ्जालमा लेख्दै, फर्काइएका नागरिकहरूलाई सक्दो सहयोग गरिन लागेको बताएका छन् ।

यद्यपि, महिला कर्मचारीहरूमाथि तालिबान सरकारले लगाएको प्रतिबन्धका कारण संयुक्त राष्ट्रसङ्घले केही सहायता केन्द्रहरू बन्द गर्नुपरेको समाचारमा जनाइएको छ ।
यूएनएचसीआरका प्रमुख जमालले भने,“हामीलाई यो निर्णय गर्नुपर्दा निकै दुःख लागेको छ । महिला सहभागिता बिना हाम्रो कार्य सम्पूर्ण बन्न सक्दैन ।”
उनका अनुसार, ती केन्द्रहरू शरणार्थीलाई प्रारम्भिक नगद सहायता वितरण, नामदर्ता, सुरक्षासम्बन्धी जाँच र आवश्यक अन्तर्वार्ता लिने अत्यन्त महत्त्वपूर्ण स्थान हुन् ।

विराटनगरको भाटभटेनीमा पनि भेटियो शव

मोरङ । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक शव फेला परेको छ । सफाइ गर्ने क्रममा दोस्रो तल्लामा पूर्णरूपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रमम विराटनगरस्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड भएको थियो । सो क्रममा लुटपाट गर्न जानेमध्ये कसैको मृत्यु भएको हुन सक्ने प्रहीले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपीला चुडालले घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारेको जानकारी दिइन् । उनले भनिन्, ‘शव पूर्णरुपमा जलेको अवस्थामा छ, पहिचान गर्न कठिन छ । हामीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएका छौं र घटनाको थप अनुसन्धान गरिरहेका छौं ।’ जेनजी आन्दोलन र प्रदर्शनका क्रममा देशैभरिका भाटभटेनी स्टोरमा आगजनी भएका थियो । आगजनीमा परी धरानमा ४ जनाको मृत्यु भएको थियो ।

क्लस्टर बम विस्फोट, १२ सयभन्दा बढी हताहत

रुस । रुसको पूर्ण आक्रमण सुरु भएदेखि युक्रेनमा क्लस्टर बम आक्रमणले एक हजार दुई सयभन्दा बढी सर्वसाधारणको मृत्यु वा घाइते भएको समाचार छ । हतियार उन्मूलन गर्ने विश्वव्यापी प्रयासलाई अवरुद्ध गर्ने ‘चिन्ताजनक बाधा’ को निन्दा गर्दै एक निगरानी समूहले सोमबार यो तथ्य सार्वजनिक गरेको हो ।

क्लस्टर मुनिसन कोएलिशन (सिएमसी) ले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण विस्तार गरेपछि युक्रेन विश्वमै सबैभन्दा बढी वार्षिक क्लस्टर बम हताहत हुने देश बनेको छ ।

रुसले युद्धको पहिलो दिनदेखि व्यापक रूपमा प्रतिबन्धित हतियार प्रयोग गरेको, साथै युक्रेनले पनि प्रयोग गरेको र रुसभत्र तैनाथ गरेको आरोप लाग्दै आएको प्रतिवेदनले जनाएको छ ।

सन् २०२४ मा मात्र विश्वव्यापी तीन सय १४ हताहतमध्ये एक सय ९३ घटना युक्रेनमै दर्ता भएका थिए । युद्ध सुरु भएदेखि युक्रेनमा एक हजार दुई सयभन्दा बढी यस्ता घटना दर्ता भएका छन्, जसको अधिकांश सन् २०२२ मा भएका थिए । प्रतिवेदनले यो सङ्ख्या वास्तविकताभन्दा निकै कम आँकलन भएको बताउँदै गत वर्ष मात्र युक्रेनले ४० भन्दा बढी आक्रमण सहनुपरेको तर हताहत विवरण उपलब्ध नभएको उल्लेख गरेको छ ।

क्लस्टर बमहरू हावाबाट खसालिन सक्छन् वा तोपखानाबाट प्रहार गरिन्छन् । ती आकाशमै विस्फोट भई साना बमहरू फराकिलो क्षेत्रमा छर्छन् । धेरै बम तत्काल नफुट्दा वर्षौंसम्म ल्यान्डमाइनझैँ खतरनाक रहन्छन् ।

– विनाशकारी प्रभाव –

सन् २००८ मा क्लस्टर बमको प्रयोग, उत्पादन, भण्डारण र हस्तान्तरण निषेध गर्ने महासन्धि भएको थियो, तर एक सय १२ सदस्य राष्ट्रमध्ये उक्त महासन्धिमा रुस र युक्रेन दुवै सामेल भएका छैनन् ।

गत वर्ष क्लस्टर बम आक्रमण दर्ता भएका अन्य दुई देश म्यान्मा र सिरिया पनि सो सन्धिमा छैनन् ।

सन्धि पक्ष नभएको संयुक्त राज्य अमेरिकाले सन् २०२३ मा युक्रेनलाई क्लस्टर बम आपूर्ति गर्ने निर्णय गर्दा आलोचना खेपेको थियो । सिएमसीका अनुसार अमेरिकाले कम्तीमा सात पटक यस्ता हतियार ढुवानी गरेको छ ।

यसैबीच, यस वर्ष युक्रेनी नियन्त्रित क्षेत्रमा कोरियाली भाषाका चिह्न भएका गोला–बारुद भेटिएका छन् । प्रतिवेदनका अनुसार ती उत्तर कोरियाली सेनाले प्रयोग गरेका हुन् वा रुसले उत्तर कोरियाबाट पाएको हो भन्ने स्पष्ट छैन ।

सिएमसीले विश्वव्यापी रूपमा क्लस्टर बमलाई निषेध गर्ने प्रयासलाई चुनौती दिने ‘समस्याग्रस्त अवरोध’ को चेतावनी पनि दिएको छ ।

यसै वर्ष मार्चमा लिथुआनिया सो सन्धिबाट बाहिरिने घोषणा गर्ने पहिलो देश बन्यो । त्यसपछि पोल्यान्ड, लाटभिया, इस्टोनिया र फिनल्यान्डले पनि रुसको आक्रामकताप्रति चिन्ता जनाउँदै माइन प्रतिबन्ध सन्धिबाट बाहिरिने सङ्केत गरेका छन् ।

सिएमसी प्रमुख तामार ग्याबेलनिकले लिथुआनियाको निर्णयलाई ‘नागरिक सुरक्षा गर्ने अन्तर्राष्ट्रिय कानूनका लागि विनाशकारी’ भन्दै चेतावनी दिए ।
“यस कदमले माइन प्रतिबन्ध सन्धिमा देखिएको जस्तो डोमिनो प्रभाव ल्याउन सक्छ, जसप्रति सबै राज्यहरू अत्यन्तै सचेत रहनुपर्छ”, उनले भने।

मलाई माननीय नभनिदिनु होला, मन्त्री ज्यू भने भइहाल्छ : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभनिदिन आग्रह गरेका छन् । चुनौतीपूर्ण घडीमा देशका लागि काम गर्न आएको बताउँदै उनले मन्त्री ज्यू मात्रै भने पुग्ने बताएका हुन् ।

‘देशको सेवा कसरी गर्न सकिन्छ, चुनौतीपूर्ण घडीमा आएका छौँ । देशलाई समृद्धि, राजनीतिक स्थिरतातिर कसरी अगाडि बढाउने ठूलो चुनौती लिएर आएका छौं । यो चुनौतीबाट भाग्नु हुन्न स्वीकार्नु पर्छ भनेर आएका छौँ’, उनले भने, ‘हामी माननीय होइनौँ, सेवा गर्न आएका हौं । कसैले नभनिदिनु होला । मन्त्री ज्यू भने भइहाल्छ ।’ तीन वटा मन्त्रालयको जिम्मेवारी रहेको बताउँदै उनले एक जिम्मेवार नागरिकको हैसियतले आएको बताए ।

 

मेड्रिडमा अमेरिका–चीन व्यापार वार्ता सुरु

चीन र संयुक्त राज्य अमेरिकाले सोमबार मेड्रिडमा व्यापार वार्ता पुनः सुरु गरेका छन् । दुवै देशबीच व्यापार र प्रविधिमा चर्किएको विवाद कम गर्नु वार्ताको उद्देश्य रहेको छ । विवादले दुई ठूला अर्थतन्त्रका सम्बन्धलाई तनावपूर्ण बनाएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा प्रतिनिधिमण्डलले वार्ताको नयाँ चरण सुरु गरेको हो । छलफल आइतबार प्रारम्भ भएको थियो र स्पेनको विदेश मन्त्रालयमा सोमबार पुनः आरम्भ भयो । बैठकहरू बुधबारसम्म चल्ने अपेक्षा गरिएको छ ।
घटनास्थलमा रहेका एएफपी पत्रकारका अनुसार सोमबार बिहानै दुवै पक्षका अधिकारीहरू मन्त्रालयको मुख्यालयमा प्रवेश गरेका देखिएका थिए ।
वार्ताको एजेन्डामा दुई कडा विषय प्रमुख छन्—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा थप भन्सार शुल्क लगाउने धम्की र वासिङ्टनले टिकटकलाई सेप्टेम्बर १७ सम्म गैर–चिनियाँ मालिकलाई बेच्नुपर्ने वा अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने माग ।
यस वर्षको सुरुतिर व्यापार तनाव तीव्र बनेको थियो । दुवै देशले एक–अर्कालाई तोकिएका सामानमा शतप्रतिशत नजिक पुग्ने गरी भन्सार शुल्क लगाएपछि आपूर्ति शृङ्खला अवरुद्ध गरेको थियो ।
तर पछि दुवै सरकारले अमेरिकी सामानमा ३० प्रतिशत र चिनियाँ निर्यातमा १० प्रतिशत भन्सार शुल्क फिर्ता लिन सहमति जनाए । यद्यपि, यो अस्थायी युद्धविराम नोभेम्बरसम्म मात्र रहनेछ ।
गत हप्ता बेइजिङले वासिङ्टनलाई ‘आपसी सम्मान र समान परामर्श’ का आधारमा विवाद समाधान गर्न आग्रह गरेको थियो ।
तर सप्ताहन्तमै चीनले अमेरिकी सेमिकन्डक्टर उद्योगमाथि अनुसन्धान सुरु गरेपछि मेड्रिड वार्ता भए पनि सम्बन्ध अझै तनावपूर्ण रहेको सङ्केत दिएको छ ।
यी छलफलहरूले वर्षको अन्त्यतिर अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने सम्भावित शिखर सम्मेलनको आधार तयार गर्न सक्छन् ।
त्यसअघिसम्म, वार्ताकारहरूले प्रविधि पहुँच, भन्सार शुल्क र दुर्लभ खनिज तत्व निर्यातसम्बन्धी विवाद समाधान गर्दै अस्थायी युद्धविरामलाई स्थिर राख्ने कठिन चुनौती सामना गर्नेछन् ।

टुक्रे आयोजना कटौतीबाट एक खर्ब स्रोत जुटाउन सकिन्छ : अर्थमन्त्री खनाल

काठमाडौं । नव नियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौतीबाट एक खर्ब स्रोत जुटाउन सकिने बताएका छन् । आज मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उनले ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनर्निर्माणलगायतका कामका लागि बजेटमा परेका आयोजना फिल्टर तथा कार्यक्रम कटौती गरी स्रोत जुटाइने जानकारी दिए ।

उनले आजै बजेटमा भएका कार्यक्रम कटौतीका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गरेका छन् । उक्त कार्यदलले बजेटका आयोजनालाई फिल्टर गरी प्राथमिकीकरण गर्नेछ । उनले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गरिने बताए ।

‘कालो लागेको भित्ता रंगरोगन गरौं । हामी विनासबाट उठ्यौं है भनेर अर्थ मन्त्रालयबाटै सन्देश दिन जरुरी छ, धेरै सार्वजनिक सम्पत्तिको बिमा भएको छैन’, उनले भने, ‘निजी सवारीमा भएको क्षतिको दायित्व बिमाबाट पूर्ती हुनेछ, यो कामचलाउ सरकार हो, नयाँ सवारी साधन खरिद नगरौँ, कवाडी भएको बिक्री गरौँ, पुनर्निर्माण तत्कालै सुरु गरी हामी केही महिनाभित्रै उठ्यौ भन्ने सन्देश दिन जरुरी छ ।’

युवाले आफ्नो ज्यानको आहुती दिएर मुलुकको प्रमुख समस्यालाई निमिट्यान्न पारेको उल्लेख गर्दै उनले भने, ‘यो जिम्मेवारी युवा आफैले पनि लिन सक्थे, तर उहाँहरुले हामीलाई विश्वासका साथ जिम्मेवारी दिनुभएको छ, गल्ती गर्ने कुनै पनि गुञ्जायस नराखी काम गर्नेछौँ ।’ उनले विगतमा के गरेका थियौँ भन्ने बिर्सिन पनि कर्मचारीलाई आग्रह गरे । ‘विगतमा गल्ती गरेको भए सजाय हुन्छ, स्रोतको दुरुपयोग नगर्नुहोला, सार्वजनिक सम्पत्ति व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्न म निर्देशन दिन्छु’, उनले भने ।

उनले निजी क्षेत्रमाथि आक्रमण भएको स्मरण गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न आवश्यक भएको बताए । ‘हाम्रो सम्पर्क निजी क्षेत्रसँग छ, निजी क्षेत्रबाट पनि सुझाव लिनुपर्छ, राजस्व प्राप्तिका लागि निजी क्षेत्रलाई खुसी बनाउनुपर्ने आवश्यकता छ, राजस्व असुलीमा धेरै क्रुर र दबाब दिने अवस्था बनाउन हुँदैन । सेवामा सुधार गर्दै जाने हो भने राजस्व आफै बढ्छ’, अर्थमन्त्री खनालले भने । अर्थमन्त्री खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव र सिफारिस कार्यान्वयन गरिने पनि बताए । आफूले सार्वजनिक खर्च व्यवस्थापनका लागि प्राथमिकता राख्ने बताए ।

बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन (बागलुङ) । भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको हो ।

आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो । रातिदेखि अवरुद्ध लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिएका छन् । लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन कालापैरामा ठप्प भएका छन् ।

बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा यातायातका साधन कानाबगरमा रोकिएको अध्यक्ष पौडेलको भनाइ छ । लोकमार्गसँग सहकार्य गरेर सडक खुलाउने प्रयास गरिरहेको उनको भनाइ छ । निरन्तर वर्षाका कारण लोकमार्गका विभिन्न ठाउँमा पहिरो जाने र रूख ढल्ने गर्दा ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको अध्यक्ष पौडेल बताँउछन् । वर्षा हुँदा बित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात सञ्चालन हुन नसक्ने पौडेलले बताए ।