`

गृहमन्त्री ‘प्रतिशोध’ का मन्त्री बनेका : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल ‘प्रतिशोध’ को गृहमन्त्री बनेको आरोप लगाएका छन् । उनले वर्तमान सरकारका गृहमन्त्री प्रतिशोध, झूट, भ्रम र बेइमानका सेवक भएको आरोप लगाएका हुन् । गृहमन्त्रीमाथि व्यक्तिगत र संस्थागतस्तरमा दबाब, डर र आतंक सिर्जना गर्ने योजनामा केहि व्यक्तिहरु सीधै संलग्न रहेको दाबी गर्दै बर्तौलाले सोहीका आधारमा गृहमन्त्रीको अभिव्यक्तिहरु आइरहेको बताएका हुन् ।

नेता बर्तौलाले गृहमन्त्री आफैं केही समूह र व्यक्तिलाई प्रयोग गरी सार्वजनिक शान्ति भङ्ग गर्ने, अनधिकृत र अराजक गतिविधि सञ्चालन गराउन उक्साउँदै आएको आरोप लगाए । राज्यका महत्वपूर्ण अंगका पदाधिकारी तथा सुरक्षा निकायका राष्ट्र सेवकहरूलाई धम्क्याउने र तिनको मनोबल तल झार्ने प्रयत्न भइरहेको नेता बर्तौलाको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालत जस्ता स्वतन्त्र संस्थाका नेतृत्व हटाउन दबाब सिर्जना गराउने, मिडिया ट्रायल र प्रायोजित भ्रम फैलाउने सामाजिक सञ्जालमा अभियान सञ्चालन गराउने क्रम चलिरहेको उनको दाबी छ ।

पूर्व प्रधानमन्त्री तथा केही मन्त्रीविरुद्ध झुठो तथा षड्यन्त्रपरक मुद्दा दर्ता गराउने, जेलभित्रका घटनाहरूको छानबिन प्रक्रिया प्रभावित पार्ने लगायतका कृत्यमा समेत गृहमन्त्रीको भूमिका रहेको नेता बर्तौलाको आरोप छ । उनले भनेका छन्, ‘देश र जनताको जिउधनको सुरक्षा जिम्मेवारी लिएर बसेको गृहमन्त्री आफैले भय, त्रास र प्रतिशोधको साम्राज्य खडा गरी शासन चलाउने सोचमा रहेको देखिन्छ ।’ उनले यस्ता क्रियाकलापले देशका लागि दीर्घकालीन नकारात्मक परिणाम ल्याउने चेतावनी समेत दिएका छन् । उनले लोकतान्त्रिक मूल्य र न्याय प्रक्रिया र स्वतन्त्रताको रक्षा गर्न आवश्यक कदम चाल्न सरकारसँग आग्रह समेत गरेका छन् ।

जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छ : सीपी मैनाली

काठमाडौं । नेकपा (माले) का महासचिव सीपी मैनालीले राजसंस्था र प्रजातान्त्रिक शक्तिहरु मिलेर गए मात्रै देश बच्न सक्ने टिप्पणी गरेका छन् । बीपी कांग्रेसले काठमाडौँमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नु पर्छ भन्ने २०३३ सालको बीपीको बुझाइ अहिले पनि ज्वलन्त रहेको बताए । २०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरिए पनि विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै राजसंस्था हटाइएको बताए ।

‘अहिले जुन उहाँले विचार राख्नु भयो, अब बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ, प्रजातान्त्रिक शक्तिहरु मिलेर गएमात्रै देश बच्नसक्छ नत्र बच्न सक्दैन भन्ने बीपीको सोचाई अहिले आएर ज्वलन्त बनेको छ,’ मैनालीले भने, ‘जाज्वल्यमान बनेको छ । बीपीको २०३३ सालका विचारहरु राम्रा छन् । ९० वर्षको राजनीतिक दलको अनुभवले साँचो कुरा के रहेछ भन्ने कुरा देखिएको छ । २०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरियो । तर पछि विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै २०६५ सालको जेठ १५ गते राजसंस्था हटाइयो । देशलाई यो ठाउँमा ल्याउने हामी राजनीतिक दलहरू नै हौं । शान्ति क्षेत्रको प्रश्तावलाई हामी दलहरुले नै हो खारेज गरेको । हामी राजनीतिक दलहरुले नै हो खुकुलो नागरिकताको नीति लिएको ।’

चुनावी वातावरण बनाउन दलहरूसँग संवाद हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरेका छन् ।
निर्वाचन गर्ने सन्दर्भमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीबाट प्रतिबद्धता आइसकेको प्रष्ट्याउँदै निर्वाचनको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका हुने सञ्चार जगतबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

‘यो जेन–जी आन्दोलनको जग, सबै राजनीतिक दल र जनताको चाहनामा बनेको सरकार हो । निर्वाचनमा जाने सबै दल र जनताको चाहना छ । यसै क्रममा निर्वाचन आयोगबाट कार्यतालिका प्रकाशन भइसकेको छ । निर्वाचनको वातावरण बनाउन राससले पनि भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु’, सरकारका प्रवक्ता समेत रहेका खरेलले भने ।

सरकारसँग निर्वाचनका साथै सुशासन कायम, भ्रष्टाचारको अन्त्य र जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमाथिको छानबिन र कारबाही एवं प्राकृतिक विपद्पछिको राहत र पुनःस्थापना पनि ‘म्याण्डेट’ रहेको भन्दै उनले त्यो पूरा गर्न प्रतिबद्ध रहेको बताए । आसन्न निर्वाचनको वातावरण तयार गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनीतिक दलहरुसँग संवाद भइरहेको खरेलको भनाइ छ ।

महेश बस्नेतको प्रश्न : सम्पत्ति शुद्धीकरणको अनुसन्धान रामेश्वर खनाल र कुलमानबाट गर्ने कि नगर्ने ?

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले जेनजीको नाममा अराजकता मच्चाउनेविरुद्ध देशव्यापी अभियान चलाइने बताएका छन् । दशैं सकिएकाले अब एमाले र कांग्रेसका भ्रातृ संगठन हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन् ।

उनले भने, ‘अनेरास्वियू अब नेविसंघलाई साथ लिन्छ । तरुण दललाई साथमा लिएर राष्ट्रिय युवा संघ अगाडि बढ्छ । अब सँगै अगाडि बढ्छ ।’ उनले जेनजी नामको बदनाम भएकाले एमालेले डिजिटल जेनजीको रुपमा देश व्यापी अगाडि बढाउने उल्लेख गरे । बस्नेतले भने, ‘भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिन्छौं । हामीविरुद्ध पनि आशंका छ भने छानबिनमा साथ दिन्छौं । तपाईंहरुको उचालेर र घाइतेको रगतमा होली खेलेर सरकारमा गएकाको पनि छानबिन गर्नुपर्छ ।’

पूर्वमन्त्री बस्नेतले उर्जामन्त्री कुलमान घिसिङको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय समितिमा दर्ता भइसकेकाले उनीमाथि पनि छानबिन गर्नुपर्ने आवाज जेन्जीले पनि उठाउनु पर्ने बताएका छन् । यस्तै अर्थमन्त्री रामेश्वर खनालबाटै सम्पत्ति शुद्धीकरणको अभियान चलाउन सुरुवात गर्नुपर्ने माग गरे । उनले प्रचण्डलाई जेन्जीले केपी शर्मा ओली र शेरबहादुर देउवाविरुद्ध पो आन्दोलन गरेको भनेपछि मख्ख परेको र आन्दोलनमा साथ दिएको उल्लेख गरेका छन् ।

संसद पुनर्स्थापनाको माग लिएर सर्वाेच्च अदालतको ढोका ढकढक्याउँछौँ : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्व मन्त्री महेश बस्नेतले संसद पुनर्स्थापनाको माग राखेर सर्वोच्च जाने बताएका छन् । समसामयिक राजनीतिक विषयबारे जानकारी दिन आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले संसद पुनर्स्थापनाको लागि कानुनी प्रक्रियामा जाने बताएका हुन् ।

उनले भने, ‘संसद पुनर्स्थापनाको माग लिएर हामी सर्वाेच्च अदालतको ढोका ढकढक्याउँछौँ,’ उनले भने, ‘पार्टीले आधिकाररिक हिसावले जाने अथवा कानुन व्यवसायीमार्फत जाने, त्यो कुरामा हामी अन्तिम छलफल गर्दैछौँ ।’ उनले भोलि बस्नै पार्टीको सचिवालय बैठकले पार्टीको आगामी रणनीति तया गर्न र सोहीअनुसार चुनावमा जाने समेत जानकारी दिएका छन् ।

‘बालेनले सुदन गुरुङलाई ‘एम्बुस’ बनाएर पड्काउन खोजिरहेका छन्’
नेकपा (एमाले) का नेता महेश बस्नेतले जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङलाई काठमाडौं महानगरका मेयर बालेन शाहले ‘एम्बुस’ बनाएर पड्काउन खोजिरहेको आरोप लगाएका छन् । नेता बस्नेतले आज एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् ।

‘सुदन गुरुङ जस्ता मानिसहरूलाई एम्बुस बनाएर यहाँ पड्काउन खोजिँदैछ,’ बस्नेतले भने, ‘सुदन गुरुङ जस्ता मान्छेहरू बालेनजीहरूको योजनामा केपी ओली, महेश बस्नेत र महेश बस्नेतलाई गिरफ्तार गर्नुपर्छ भनेर सोसियल मिडियामा ट्रेन्ड चलाउँछन् । अनि डेलिकेसन जान्छन् प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा ।’ उनले मेयर बालेनले गुरुङलाई अगाडि सारेर अदृश्य रुपमा गतिविधि गरेको आरोप समेत लगाएका छन् ।

बालेनको योजनामा आफूसहित ओली र रमेश लेखकलाई पक्राउ गर्न षड्यन्त्र गरिँदै छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन शाहको योजनामा ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ आफूलाई पक्राउ गराउन हिंडेको आरोप लगाएका छन् । पार्टी कार्यालय च्यासलमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै उनले बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइएको जिकिर गरे ।

उनले भने, ‘हामीलाई पक्राउ गर्नुपर्छ भनेर सोसल मिडियामा ट्रेन्ड चलाउँछन् । प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा डेलिगेसन जान्छन् ।’ सुदनलाई विदेशीलाई एजेन्टको रूपमा प्रयोग गरेर सरकारी उच्च तहको बैठकमा समेत पठाएको उनको दाबी छ । उनले जेनजी आन्दोलनको क्रममा भएको घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनले रवि लामिछानेलाई जेलबाट छुटाउन नख्खु कारागार पुगेका डिपी अर्याल, मनिष झा, ज्वाला संग्रौलालगायतमाथि पनि छानबिन गर्न माग गरेका ।

उनले भदौ २३ को घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र त्यसमा सहयोग रहने बताउँदै अन्य घटनको पनि छानबिन माग गरे। ‘२३ गते मृत्यु भएको सन्दर्भमा जुन छानबिन समिति बनेको छ, त्यसले निष्पक्ष छानबिन गरोस्। निष्पक्ष छानबिन गर्नुहोस्, दोषी जो हुन्छ, त्यसलाई कारबाही गर्नुहोस्। हाम्रो पूर्ण समर्थन रहन्छ,’ बस्नेतले भने, ‘तर, आन्दोलनको नाममा सेनाको ज्याकेट लगाएर सार्फसुटर प्रयोग भएको छ कि छैन? त्यसको पनि छानबिन प्रयोग होस्। रवि लामिछानेलाई कारागारबाट मुक्त गराउने गएकाहरुको पनि छानबिन होस्।’

‘देशमा केही भएन भन्ने भाष्य विश्वप्रकाशले सुरू गरे, प्रचण्डले घ्यू थपे’
एमालेका नेता महेश बस्नेतले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भन्ने भाष्य नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सुरू गरेको आरोप लगाएका छन् । यो भाष्य विश्वप्रकाशले सुरू गरेर माओवादीका अध्यक्ष प्रचण्डले त्यसमा घ्यू थपेको जिकिर गरे ।

उनले भने, ‘पछिल्लो समय रवि लामिछानेहरू ‘नो नट अगेन’ को नारा लिएर आउनु भयो । अरू शक्तिहरू पनि आए, स्वभाविक ढङ्गले मुलुक अघि बढेको भए पनि भ्रमको खेती सिर्जना गरियो ।’ उनले २३ र २४ गतेको जेनजी आन्दोलन हाइज्याक भएको पनि दाबी समेत गरेका छन् ।

 

सातदोबाटोका डीएसपी यादवको खोसियो जिम्मेवारी

काठमाडौं । प्रहरी वृत्त सातदोबाटो ललितपुरका डीएसपी रामकुमार यादवको जिम्मेवारी खोसिएको छ । सामान्यतया एक वर्षभन्दा अघि सरुवा नगर्ने चलन रहे पनि वृत्त प्रमुखको कमाण्ड सम्हालेको ६ महिनामै उनको जिम्मेवारी खोसिएको हो । यादवलाई काठमडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा तानिएको छ । यादवले प्रभावकारी काम गर्न नसकेको आरोप लगाइएको छ । उनको ठाउँमा जिल्ला प्रहरी परिसर काडमाडौंमा कार्यरत डीएसपी पूर्णिमा चन्दलाई पठाइएको छ ।

 

क्षमायाचनासहित अवकाश लिन शीर्ष नेताहरुलाई नागरिक अगुवाहरुको सुझाव

काठमाडौं । देशको वर्तमान राजनीतिक अन्योल, असुरक्षा र नागरिक निराशाबीच ३० जना नागरिक अगुवाले सरकारले सबै पक्षसँग संवाद गरेर विश्वसनीय निर्वाचनको वातावरण तयार गर्नुपर्नेमा जोड दिएका छन् । सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारलाई लक्षित गर्दै उनीहरूले संविधान र लोकतन्त्रको रक्षाका लागि समयमै प्रतिनिधिसभा निर्वाचन गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन् ।

आज (बुधवार) जारी संयुक्त विज्ञप्तिमा, उनीहरूले सरकारलाई राजनीतिक दलहरू तथा जेन–जी आन्दोलनकारी समूहहरूसँग संवाद गरी सबैलाई विश्वासमा लिएर निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउने अपिल गरेका छन् ।

संविधानको रक्षा र समयमै निर्वाचन अनिवार्य
अगुवाहरूले भनेका छन्, ‘संविधानसभामार्फत बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षाका लागि फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन कुनै पनि हालतमा सम्पन्न हुनुपर्छ । यसका लागि सरकारद्वारा अनुकूल र विश्वसनीय वातावरण सिर्जना गर्नु अत्यावश्यक पूर्व शर्त हो ।’

सुरक्षा संकट गम्भीर, सरकारको ध्यानाकर्षण
उनीहरूले हालको सुरक्षा परिस्थितिलाई गम्भीर भनेका छन् । नेपाल प्रहरीका एक १०० बढी हातहतियार लुटिएको, धेरै प्रहरी कार्यालय जलाइएको, सञ्चार उपकरण, पोशाक र सुरक्षा साधन अभाव रहेको र कैदीबन्दी जेलबाट भागेपछि समाजमा भय र आतंकको स्थिति सिर्जना भएको विवरण दिँदै तत्काल शान्ति–सुरक्षा बहाल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राजनीतिक दलहरूलाई आत्मसमीक्षा र नयाँ नेतृत्वको अपिल
विघटित प्रतिनिधिसभामा रहेका प्रमुख दलहरूको नेतृत्वले राजीनामा र स्वेच्छिक अवकाश लिनुपर्ने माग गर्दै उनीहरूले भनेका छन्, ‘यो कुनै दल विशेषको मात्र प्रश्न होइन, यो लोकतन्त्र, दलको उत्तरदायित्व र जनप्रतिनिधित्वको नै भविष्यसँग जोडिएको विषय हो ।’

त्यस्तै, सबै दलहरूले विशेष महाधिवेशन डाकेर नयाँ नेतृत्व चयन गर्ने, जनभावनाअनुसार दलको रूपान्तरण र शुद्धीकरण गर्ने आवश्यकता औंल्याइएको छ । नयाँ नेतृत्वले नवयुवा पुस्ताको भावना, एजेन्डा र प्रतिनिधित्व सुनिश्चित गर्ने खालको नीति अवलम्बन गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

भदौ २३–२४ का घटनामा निष्पक्ष छानबिनको माग

भदौ २३ गते सरकारी दमन र २४ गतेको अराजकता, हिंसा र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै उनीहरूले भनेका छन्, ‘छानबिन आयोगको नाममा ढिलाइ गरेर अपराधीहरूलाई उन्मुक्ति दिने प्रयासले विधिको शासनमाथि गम्भीर प्रश्न उठ्ने छ ।’

निर्वाचनमा सबै दल सहभागी हुन आग्रह
‘यदि’, ‘तर’ भन्ने शब्द प्रयोग नगरी फागुन २१ को निर्वाचनमा सबै दल सहभागी होऊन् भन्ने अपिल उनीहरूले गरेका छन् । संविधानअनुसार ६ महिनाभित्र निर्वाचन नभए गम्भीर संवैधानिक संकट आउनेतर्फ पनि उनीहरूले राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा ३० अगुवाहरू
विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा अर्चना थापा, चरण प्रसाई, मीना पौडेल, इन्द्र अधिकारी, चन्द्रकिशोर, रजनी ढकाल, उद्धव प्याकुरेल, झलक सुवेदी, राजाराम गौतम, उत्तमबाबु श्रेष्ठ, दिनेश त्रिपाठी, लोकराज बराल, कसमस विश्वकर्मा, दीपेश घिमिरे, विद्याधर मल्लिक, कृष्ण खनाल, दोभान राई, विनोद सिंजापति, केदारभक्त माथेमा, तारानाथ दाहाल, संगीता लामा, केशव दाहाल, तुलानारायण शाह, सञ्जीव उप्रेती, खगेन्द्र संग्रौला, भोजराज पोखरेल, श्रवण मुकारुङ, गेजा शर्मा वाग्ले, मुमाराम खनाल र युग पाठक छन् ।

मलेसियालाई हराउँदै नेपालले जित्यो महिला टी–२० श्रृंखला

काठमाडौं । मलेसियाविरुद्ध महिला टी–२० अन्तर्राष्ट्रिय श्रृंखला (सिरिज) नेपालले जितेको छ । पाँचौं तथा निर्णायक खेलमा ५ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको हो । अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् ।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाएकी थिइन् । बलिङमा नेपालकी कविता कुँवर र राजमती ऐरीले ३ विकेट लिए ।

एक दशकमा पनि पूरा भएन १३ किलोमिटर सडक

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक एक दशकमा पनि पूरा नहुँदा यो बाटोको यात्रा कष्टकर बनेको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण निर्धारित समयमा काम पूरा नभएको हो । विसं २०७३ जेठ १३ भित्रमा कालोपत्र गरीसक्ने सम्झौता भएकामा हालसम्म ७० प्रतिशत मात्र काम भएको दैलेखस्थित मध्यपहाडी लोकमार्ग कार्यालयका सूचना अधिकारी नवीन खरालले बताए ।

लोकमार्ग अन्तर्गतको उक्त खण्ड कालोपत्र गर्न रु ४२ करोड ९९ लाख चार हजारमा सम्झौता भएको हो । पटक–पटक म्याद थपेर सम्झौताअनुसारको काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको उनले बताए ।
‘मध्यपहाडी लोकमार्गमा धेरै सवारी साधान चल्न थालेका छन्, दैनिक सयौँ यात्रु यही मार्गबाट यात्रा गर्छन्, पातिहाल्नेदेखि रुपगासम्म कालोपत्र गर्न सबै तयारी भएको थियो, तर लामो समयदेखि निर्माण कम्पनी नआउँदा बनेका संरचना पनि भत्किएका छन्’, सूचना अधिकारी खरालले भने ।

श्रीमानले गरे श्रीमतीको हत्या

नुवाकोट । घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् ।

सविनाको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन् ।

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज (बुधबार) बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकको प्रस्तावित कार्यसूचीमा चार वटा एजेण्डा समावेश छन् । झाका अनुसार, यो बैठकले बिस्तारित बैठकको एजेण्डा तथा व्यवस्था तय गर्नेछ । त्यस्तै, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे बैठकमा छलफल हुनेछ ।

बैठकमा सद्भाव यात्राको कार्यसूचीसँगै बाँकी विविध विषयमा छलफल गरिने झाले जानकारी दिए । यसअघि ७ असोजमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले बिस्तारित बैठकको विषयमा निर्णय गरेको थियो । साथै, त्यसबेला आगामी २१ फागुनको चुनावको तयारीका लागि वाचा पत्र बनाउने भनेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वाचापत्र लेखन समिति बनाएको छ । प्रवक्ता झाले भनेका छन्, ‘हामी चुनावको तयारीमा लागिसक्यौं । वाचा पत्र बनाउने काम भइराखेको छ ।’ आजको बैठकमा चुनावको तयारीका सम्बन्धमा समेत छलफल हुनेछ ।

एमाले नेता महेश बस्नेतले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । सुदन गुरुङलगायत जेन–जी आन्दोलनकारीले पक्राउका लागि सरकारलाई दबाब दिइरहेका बेला नेकपा एमाले नेता महेश बस्नेतले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । एक महिलाले साइबर ब्युरोमा उनीविरुद्ध दिएको उजुरीमाथि अनुसन्धान अघि बढेका बेला महेश बस्नेतलाई पक्राउ गर्न दबाब दिइएको छ । बस्नेतले ब्युरोमा गएर बयान समेत दिएका छन् ।

जेन–जी आन्दोलनमा आफ्नो घर आगजनी र लुटपाटपछि आक्रोशित बनेका बस्नेतले जेन–जीका नाममा आतंककारी गतिविधि गर्नेहरूको पहिचान गरेर कारबाही गर्ने बताएका थिए । त्यसयता उनको र सुदन गुरुङबीच आरोप–प्रत्यारोप चलिरहेको छ । बस्नेतले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सबै विषय प्रष्ट पार्ने बताएका छन् । उनकै पहलमा एमाले अध्यक्ष केपी शर्मा ओली गुण्डुमा बसिरहेका छन् ।

नयाँ चुनौतीको सामना गर्न निर्णायक राष्ट्रिय शक्ति निर्माण गरौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य बढेर गएको बताएका छन् । आज (बुधबार) बिहान सामाजिक सञ्जालमार्फत उनले थपिएका नयाँ चुनौतीको सामना गर्नको लागि निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको उल्लेख गरेका हुन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन्, तर सामना गर्नुको विकल्प छैन ।’

निजी आवास पुनर्निर्माणको जिम्मा प्रदेश सरकारलाई

काठमाडौँ । हालैको बाढी र पहिरोबाट क्षति पुगेका व्यक्तिगत घरहरूको पुनर्निर्माण अब प्रदेश सरकारमार्फत हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले यसबारे जानकारी दिँदै प्रदेश सरकारले प्रमुख जिम्मेवारी लिने स्पष्ट पारेका छन् ।

पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खरेलले भने, ‘सरकारको निर्णयअनुसार व्यक्तिगत आवासको पुनर्निर्माण प्रदेश सरकार मातहत हुनेछ। संघीय सरकार र स्थानीय तहले आवश्यक सहयोग पुर्‍याउने छन् ।’
पहिलो चरणमा स्थानीय सरकारमार्फत राहत वितरण गर्ने तयारी पनि सरकारले गरिरहेको मन्त्री खरेलले बताएका छन् ।

राजमार्ग पुनः सञ्चालनको पहल
मन्त्री खरेलका अनुसार बाढी पहिरोले अवरुद्ध मेची राजमार्गलाई एक हप्ताभित्र अस्थायी रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । साथै, बीपी राजमार्ग पनि दुई–तीन दिनभित्र सञ्चालन हुने गरी काम अघि बढाइएको छ ।

जनधनको क्षति
मनसुनजन्य विपत्तिबाट हालसम्म ५२ जनाको ज्यान गएको, ५ जना अझै बेपत्ता रहेको र ४८ जना घाइते भएका जानकारी मन्त्री खरेलले दिए । चार हजारभन्दा बढी नागरिकलाई सुरक्षाकर्मीहरूले उद्धार गरिसकेको उनले बताएका छन् ।

आज कहाँ–कहाँ छन् सडक अवरुद्ध ?

काठमाडौं । अबिरल वर्षा र बाढी–पहिरोको कारण आज (बुधबार) पनि देशका विभिन्न राजमार्गको सात ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विभिन्न सडकका पाँच स्थानमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ ।

संखुवासभाको भोटखोला र मकालुमा कोशी राजमार्ग, इलामको इलाम नगरपालिका–९ मा मेची राजमार्ग, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका–११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा र बाँझोखेतमा सडक अवरुद्ध छ ।

त्यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकमा पनि पहिरोले सडक अवरुद्ध अवस्थामा छ । त्यसैगरी आज धनकुटाको पाख्रिवास नगरपालिका–५ मा मध्यपहाडी लोकमार्ग, धनकुटाकै साँघुरीगढी गाउँपालिकामा कोशी लोकमार्गमा एकतर्फी गाडी चलेका छन् ।

त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा खोलास्थित कान्ती लोकपथ, मकवानपुरकै बकैया गाउँपालिका– ११ घट्टेपाखामा पनि सवारी साधन एकतर्फी गुडिरहेका छन् । सिन्धुलीको मरिण गाउँपालिका– २ सिन्दुरेस्थित मदन भण्डारी राजमार्ग पनि आज एकतर्फी बन्द भएको छ । एकतर्फी बन्द भएका सडकमा चापमा गाडी चरिहेका प्रहरीले जनाएको छ ।

हेर्नुस् कुन राजमार्ग छन् अवरुद्ध ?

सडक संरचना पुनर्निर्माणमा १२ अर्ब बढी खर्च लाग्ने अनुमान

काठमाडौँ । असोज १८, १९ र २० गते परेको अबिरल वर्षा र त्यसबाट उत्पन्न बाढी तथा पहिरोले देशभरका विभिन्न राजमार्ग र सडक संरचनामा गम्भीर क्षति पुर्‍याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार क्षति भएका संरचनाको पुनर्निर्माणका लागि अनुमानित लागत करिब १२ अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ ।

सबैभन्दा बढी क्षति मुख्य राजमार्गहरूमा पुगेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । मेची राजमार्ग मात्रै पुनर्निर्माण गर्न डेढ अर्ब रुपैयाँ खर्च लाग्नेछ । कोशी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी सडक, अरनिको राजमार्ग, कान्ति लोकपथ, नारायणघाट–मुग्लिङ मार्ग लगायतका सडकहरू मर्मतका लागि तीन अर्ब ७७ करोड रुपैयाँ लाग्नेछ ।

त्यस्तै, बाढी र पहिरोले क्षति पुर्‍याएका १७ वटा स्थायी पुलहरू पुनर्निर्माण गर्न चार अर्ब ५२ करोड रुपैयाँ, बेलिब्रिजहरूका लागि ८० करोड रुपैयाँ र वैकल्पिक सडक निर्माणमा एक अर्ब ५९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढी–पहिरोबाट अवरुद्ध भएका सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राखिएको र तत्काल मर्मतका लागि उपकरण तथा जनशक्ति परिचालन गरिएको जानकारी दिएका छन् । उनका अनुसार सडक सञ्चालनको काममा सम्बद्ध निकायहरू सक्रिय रूपमा जुटिरहेका छन् भने नियमित अनुगमन पनि भइरहेको छ ।

निर्वाचन घोषणा भइसकेपछि दल दर्ता गर्न वाधा पर्छ कि पर्दैन ?

काठमाडौं । आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन मिति तोकिएको केही दिनमै निर्वाचन आयोगले नयाँ राजनीतिक दलहरूलाई छिटोभन्दा छिटो दर्ता प्रक्रिया पूरा गर्न आह्वान गरेको छ । निर्वाचन मिति घोषणासँगै दल दर्तामा कुनै कानुनी अवरोध नरहेको भए पनि समयाभावका कारण ढिलाइ नगर्न आयोगले स्पष्ट पारेको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार, ‘संविधान र प्रचलित कानुनअनुसार नयाँ दलहरू निर्वाचनको लागि आवश्यक तयारीसहित आयोगमा निवेदन दिन सक्छन् । तर समय कम भएकाले प्रक्रियामा ढिलाइ गर्नु उपयुक्त हुँदैन ।’

हाल आयोगमा १२२ राजनीतिक दल दर्ता छन् । आगामी निर्वाचनमा भाग लिन चाहने नयाँ वा हाल दर्ता दलहरूले आयोगले चाँडै निकाल्ने विशेष सूचनाको आधारमा पुनः दर्ता प्रक्रिया पूरा गर्नु पर्नेछ ।

दल दर्ताको प्रक्रिया के हो ?
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसारः
–कम्तीमा ५ सय मतदाताको समर्थन ।
–दलको विधान, घोषणापत्र, झन्डा र चुनाव चिन्हको नमुना ।
–२१ सदस्यीय केन्द्रीय समिति ।
–सदस्यहरूले अरू कुनै दलमा नरहेको घोषणापत्र ।
– आवश्यक प्रमाणपत्रहरू सहित आयोगमा निवेदन दिनु पर्नेछ ।

निर्वाचन अवधि कहिलेदेखि ?
निर्वाचन आयोग ऐन, २०७३ अनुसार, मतदान मितिभन्दा १२० दिन अगाडिदेखि अन्तिम नतिजा सार्वजनिक नभएसम्मको समयलाई निर्वाचन अवधि भनिन्छ । त्यसअनुसार, यो पटक २० कात्तिकदेखि निर्वाचन अवधि सुरु हुनेछ ।

जेन–जी आन्दोलन र नयाँ दलहरूको सम्भावना
२३–२४ भदौमा भएको जेनजी आन्दोलनले युवाहरूमा नयाँ राजनीतिक चेतना सिर्जना गरेको छ । यसै सन्दर्भमा नयाँ दल दर्ताको चाप बढ्न सक्ने आंकलन आयोगले गरेको छ । आन्दोलनमा सक्रिय युवाहरूलाई लक्षित गर्दै सरकारले मतदाता नामावली संकलनमा रहेको कानुनी अड्चन अध्यादेशमार्फत हटाइसकेको छ । अब कात्तिक मसान्तसम्म नयाँ मतदाता नामावली अद्यावधिक हुनेछ ।

निर्वाचन मिति घोषणा भइसकेको भए पनि दल दर्ता गर्न कुनै रोक छैन । तर आयोगले भनेको जस्तै, समय सीमाभित्र आवश्यक कागजात र मापदण्डहरू पूरा गरेर दर्ता प्रक्रिया छिटो सक्न आवश्यक छ । नयाँ दलहरूका लागि यो समय निर्णायक सावित हुन सक्छ ।

आज कुवेतसँग भिड्दै नेपाल

काठमाडौं । आइसीसी मेन्स टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटका लागि आज (बुधबार) नेपाल कुवेतसँग भिड्दैछ । ओमानमा बुधबारदेखि सुरू हुने खेलमा नेपालले राति ८ः४५ बजे कुवेतसँग खेल्नेछ ।

एसिया र एसिया प्यासेफिक क्षेत्रका नौ टोलीलाई तीन समूहमा विभाजन गरी खेलाइँदै छ । यो छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् । नेपाल समूह २ मा छ । नेपालको समूहमा कुवेत र जापान छन् । समूहको अन्तिम खेल नेपालले शुक्रबार जापानसँग खेल्नेछ । यो समूहको शीर्ष दुईमा परे नेपाल सुपर–६ मा पुग्नेछ ।

सुपर–६ मा पुगेपछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नु पर्नेछ । एसिया छनोटको अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन् । तीन समूहका शीर्ष २–२ टोली गरी सुपर–६ मा पुग्ने कुल ६ टोलीले एकअर्काविरूद्ध खेल्ने छन् ।

यद्यपी आफ्नो समूहबाट आएको टोलीसँग भने सुपर–६ मा प्रतिस्पर्धा हुने छैन । त्यसैले समूह चरणको जित पनि सुपर–६ मा महत्वपूर्ण हुनेछ । किनकी सुपर–६ मा पुग्ने आफ्नो समूहको टोलीविरूद्धको अंक पनि सुपर–६ मा गनिनेछ ।

शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० कपमा छनोट हुनेछ । भर्खर्रै युएईको शारजाहमा वेस्ट इन्डिजविरूद्धको टी–२० सिरिज २–१ ले जितेर इतिहास रचेको नेपाली टोली फेरि अर्को इतिहास बनाउने लक्ष्यमा छ । १७ टोलीले विश्वकप छनोटमा स्थान पक्का गरिसकेको अवस्थामा यो छनोटसँगै आगामी वर्ष टी–२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्नेछ ।

समूह १ – युएई, मलेसिया, कतार

समूह २ – नेपाल, कुवेत, जापान

समूह ३ – ओमान, पिएनजी, सामोआ

नेपालका खेल

नेपाल भर्सेस कुवेत : असार २२, बुधबार, राति ८ः४५ बजे

नेपाल भर्सेस जापान : असार २४, शुक्रबार, दिउँस ४ः१४ बजे

नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी ।

सशस्त्र प्रहरी अस्पतालकी डाक्टर सिटौलालाई हटाउने तयारी

काठमाडौं । सशस्त्र प्रहरीकी प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी गरिएको छ । बिदा स्वीकृत नगराई लामो समयदेखि सिटौला कार्यालयमा उनुपस्थित रहेका कारण उनलाई सेवाबाट हटाउने तयारी गृह मन्त्रालयले गरेको हो ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत सिटौला गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको जनाएको छ ।

‘बिदा स्वीकृत नगराई बिना सूचना लामो समयसम्म अनुपस्थित रही सम्पर्क स्थापित गर्न नसकिएको र तपाईले पदीय जिम्मेवारी एवं आचरण विपरीतको कार्य गरेको देखिएको हुँदा तपाईलाई सशस्त्र प्रहरीको नियमावली अनुसारको कसुरमा विभागीय कारबाही गर्न लागिएको व्यहोरा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ, ‘तपाईँउपर विभागीय सजाय गर्नु नपर्ने कुनै मनासिव कारण भए बाटोको म्याद बाहेक यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कारणसहित सफाई पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।’

हेर्नुस् सूचना


नेपाल प्रहरीका १८ जनालाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले सूचना जारी गर्दै १८ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।

गैरहाजिर हुनेमा दुई प्रहरी सहायक हबलदार, दुई जना प्राविधिक प्रहरी जवान, एक प्रहरी कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन् । लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना

बालेन र सुदनविरुद्ध जाहेरी बुझाएपछि अखिल नेता : दण्डहिनतालाई टुलुटुलु हेरेर बस्दैनौं

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुले काठमाडौंका मेयर बालेन्द्र शाह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध दिएको किटानी जाहेरी प्रहरीले बुझेको छ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नता रहेको भन्दै एमाले अखिलले मेयर बालेन्द्र र हामी नेपालका संस्थापक सुदनविरुद्ध काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दिएको हो ।

प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरेर दर्ता गर्ने नगर्ने २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको अखिलका महासचिव दीपक धामीले बताएका छन् । मंगलबार अखिलका नेताहरू बालेन र सुदनलाई पक्राउ गर्नुपर्ने मागसहित किटानी जाहेरी लिएर काठमाडौं जिल्ला प्रहरी परिसर पुगेका हुन् ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत राज्यका महत्वपूर्ण निकाय जलाउनमा बालेन र सुदनको हात रहेको उनीहरूको आरोप छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुदनको समूह प्रहरी परिसर पुगेको थियो भने सामाजिक सञ्जालमार्फत ओली र लेखकलाई पक्राउ गर्नुपर्ने दबाब दिइरहेको छ । त्यसैको प्रतिक्रिया स्वरुप एमाले अखिल प्रहरी कार्यालय पुगेको हो ।

‘दण्डहिनतालाई टुलुटुलु हेरेर बस्दैनौं’
अनेरास्ववियुले दिएको किटानी जाहेरीलाई प्रहरीले एक दिन समय मागेको पूर्व अध्यक्ष समिक बडालले जानकारी दिएका छन् । ‘हामीले जाहेरी दिएका छौं । सरकारी वकिलसँग सल्लाह गरेर २४ घण्टामा यसको निर्णय दिन्छौं भन्नु भएको छ । सरकारी वकिलको कार्यालयको निर्णयपछि मात्रै हामी थप निर्णय गर्नेछौं,’ उनले भने ।

बडालले थप न्यायिक निरुपणका लागि आफूहरू सम्बन्धित ठाउँमा जान तयार रहेको बताए । ‘हामी कानुनी राज्यको पक्षधर भएको संगठन हौं। हामीले मुलुकको विधिको शासनको वकालत गर्दै यहाँसम्म आएका छौं । दण्डहिनतालाई प्रश्रय दिनु हुँदैन भनेर हामी यहाँ उपस्थित भएका छौं,’ उनले भने ।

उनले राष्ट्रिय सम्पदाहरू तोडफोड र आगजनी गर्नेहरूलाई अनुसन्धान गरेर दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले त्यसका लागि आवश्यक प्रमाणहरू पनि बुझाएको बताए । ‘जेनजीका नाममा बालबालिकाको हत्या भएको छ । सिंहदरवार, अड्डा अदालत जलेका छन् । राष्ट्रिय सुरक्षामा खतरा महसुस भएको छ । हामी दण्डहिनतालाई टुलुटुलु हेरेर बस्दैनौं,’ उनले भने ।

त्यस्तै अखिलका महासचिव दीपक धामीले जेनजी आन्दोलनपछि देश आतंकित बनेको बताए । उनले यस्तो बेला राज्यका सबै नियकाहरू परिचालित हुनुपर्नेमा कोही व्यक्तिहरूले सरकारी कार्यालयहरूमा हुकुमी शासन चलाइरहेको आरोप लगाए ।

‘प्रहरीलाई कुटीकुटी मारिएको छ । विद्यार्थीलाई गोली हानिएको छ । शान्तिको प्रतीकको रूपमा रहेको देशमा विध्वंश मच्चाइएको छ । त्यो हुनु हुँदैन । हामी पनि त्यही समूहका युवाहरू हौं । अनधिकृत मान्छेहरू सिंहदरवार छिरेर हुकुमी शासन लाद्नु हुँदैन,’ उनले भने ।

हर्क साम्पाङको कटाक्ष : वैधता बिनाको सरकारलाई प्रहरीले पनि नटेर्ने रहेछ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वैधता बिनाको सरकारलाई प्रहरीले पनि नटेर्ने रहेछ भन्दै कटाक्ष गरेका छन्। सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनका घाइते परिवारबाट आएको जाहेरी प्रहरीले दर्ता गरेर अनुसन्धान अघि नबढाइ पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगलाई पठाएपछि मेयर साम्पाङको यस्तो भनाई बाहिर आएको हो । मेयर साम्पाङले लगातार सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधता र चरित्रका विषयमा प्रश्न उठाउँदै आइरहेका छन् ।

हाम्रो नाममा आपराधिक गतिविधिहरु भड्काइँदै छ : सुदन गुरुङ

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफ्नो नाम प्रयोग गरेर आपराधिक हिंसा भड्काउन खोजिएको टिप्पणी गरेका छन् ।उनले त्यस्तो कार्य गर्नेले कानुन बमोजिम कारबाही भोग्नुपर्ने चेतावनी समेत दिएका छन् ।  उनले कुनै पनि हिंसात्मक कार्यमा संलग्न नहुन र हुन पनि नदिन आग्रह पनि गरेका छन् ।

‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भडकाइँदै छ । त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नु पर्नेछ । हाम्रो आन्दोलन सधैँ शान्तिपूर्ण नै थियो र रहनेछ । त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौँ । हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन ।’ उनले लेखेका छन्, ‘अब जनता जागिसकेका छन् । हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्।’

बालेन र सुदनविरूद्ध जाहेरी लिएर प्रहरीमा पुग्यो अखिलको टोली

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध ‘काउन्टर’ जाहेरी दिन काठमाडौं प्रहरी परिसर पुगेका छन् ।

अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालको नेतृत्वमा अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर पुगेका हुन् । उनीहरूले सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा बालेन र सुदनलाई आरोप लगाएका छन् ।

यता आजै ‘हामी नेपाल’ का संस्थापक गुरुङ लगायतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिए लगत्तै अनेरास्ववियुले काउन्टर दिएको हो ।

ओली र लेखकविरूद्ध आएको जाहेरी प्रहरीले बुझेर जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगमा पठाएको छ । जाहेरी लिएर पुगेकामध्ये तीन जनालाई छलफलका लागि प्रहरीले भित्र बोलाएको छ । २४ भदौमा जेनजी आन्दोलनको क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।

जाँचबुझ आयोगले भन्यो–फौजदारी कसुरमा कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन

काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ । आयोगका सदस्य विज्ञानराज शर्माले एक विज्ञप्ति जारी गर्दै यस्तो स्पष्ट पारेका हुन् ।

विज्ञप्तीमा भनिएको छ, ‘आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने समेतका कार्यादेश रहेको हुँदा आयोगबाट सो कार्यादेश बमोजिम राय सहितका प्रतिवेदन प्राप्त भए पश्चात् नेपाल सरकारले कानून बमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट मिति २०८२/०६/०९ गते जारी विज्ञप्ती प्रति आयोगको ध्यानाकर्षण भएको छ ।’

फौजदारी कसूरमा संलग्न जोकोहीलाई सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने उल्लेख छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गरेर ९ असोज, २०८२ को गृहमन्त्रालयको विज्ञप्तिमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

त्यो दिन गृह मन्त्रालयले जाँचबुझ आयोगले काम अघि बढाइसकेकाले भदौ २३ र २४ को घटनावारे तत्काल अनुसन्धान अघि नबढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो । तर जाँचबुझ आयोगले नियमित फौजदारी अनुसन्धान र कारवाहीका लागि आयोगको प्रतिवेदन नपर्खन सुझाव दिएको हो ।

हेर्नुस् विज्ञप्ती

बालेन र सुदनविरुद्ध जाहेरी लिएर प्रहरीमा जाँदै अखिल

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिने प्रयाससँगै सो पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले काउन्टर दिने तयारी गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध काउन्टर जाहेरी दिन अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर जाने तयारीमा छन् ।

अखिलका नेताहरूको बैठकले जाहेरी दिन जाने निर्णय लिएको स्रोतले जनाएको छ । सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरुको हत्या गरिएकोमा बालेन र सुदनलाई आरोपित गर्दै जाहेरी दिने तयारी गरिएको हो ।

अनेरास्ववियुका महासचिव दीपक धामीले अहिले ५ बजेभित्र किटानी जाहेरी दर्ता गराउने गरीको तयारीमा रहेको जनाएका छन् । हिजो सुदन गुरुङको समूहले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिने प्रयास गरेको थियो । तर, प्रहरीले जाहेरी दिन मानेन ।

यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित सुरक्षा निकायका प्रमुखलाई बोलाएर राति अबेरसम्म छलफल गरेकी थिइन् । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जाहेरी दर्ताका लागि प्रधानमन्त्रीबाटै लिखित पत्र आउनु पर्ने सुझाव दिएको बताइएको छ ।

सिंहदरबारभित्रका जलेका सवारी हटाइँदै

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारीसाधन जलेपछि आजदेखि भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन प्रारम्भ भएको छ ।

आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधन सडक विभागका चार वटा भारी उपकरण प्रयोग गरेर ती हटाउन थालिएको विभागले जनाएको छ । हालसम्म २०० वटा चारपाङ्ग्रे र ४०० दुईपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गरिएको छ ।

जलेका सवारीसाधनको व्यवस्थापन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा गरिएको छ । सिंहदरबारभित्र जलेका सवारीको व्यवस्थापन पूरा भएपछि अन्य स्थानका जलेका सवारी उठाइने विभागका कर्मचारी विष्णुकुमार महर्जनले जानकारी दिए ।

फागुन २१ को निर्वाचनबारे दलहरुसँग आयोगको छलफल कहिले ?

काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा चुनावको विषयमा निर्वाचन आयोगले राजनीतिक दलसँग छलफलको तयारी थालेको छ । राजनीतिक दलहरूसँग संवाद बिनै चुनावी तालिका सार्वजनिक गरिएको भन्दै आलोचना भइरहेका बेला आयोग छलफलको तयारीमा जुटेको हो ।

यसअघि गत भदौ २३ गते दलसँग आयोगले छलफल गर्ने तयारी गरेकोमा जेन–जीको आन्दोलनले प्रभावित भएपछि केही ढिला भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनले आयोगले अब जतिसक्दो चाँडै राजनीतिक दलसँग छलफल गर्ने तयारी गरिएको बताए ।

आयोग उच्च स्रोतका अनुसार भने आयोगले यही असोज ३० गते दिउँसो साढे ११ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो । गत निर्वाचनमा प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा कम्तीमा एक सीट ल्याएका सबै दलसँग छलफल गर्न लागिएको एक पदाधिकारीले जानकारी दिए । त्यस्ता दलको संख्या २८ वटा रहेको छ ।

ती दलका प्रमुख तथा प्रतिनिधिलाई छलफलमा बोलाउनका लागि पत्राचार गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । तालिकामा मनोनयन दर्ता मिति उल्लेख नगरेकोमा पनि दलहरूले आलोचना गरिरहेका छन् । प्रवक्ता भट्टराईले अहिले निर्वाचन कार्यतालिका मात्रै सार्वजनिक भएको भन्दै निर्वाचन कार्यक्रममा मनोनयन दर्ताको समय तोकिने बताए ।

जानकी मन्दिरमा १०१ कोसेली अर्पण

धनुषा । कोजाग्रत पूर्णिमाका अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा १०१ कोसेली (भार) ल्याइएको छ । महोत्तरीको रतौली गाउँबाट जानकी मन्दिरमा परम्परागत रूपमा ल्याइने १०१ कोसेली यस वर्ष पनि अर्पण गरिएको हो । सयौँ वर्षदेखि निरन्तर चलिआएको यस धार्मिक परम्पराअनुसार, आज पनि रतौलीवासीले विविध पूजा सामग्रीसहितको भार मन्दिर ल्याइएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामारोशन दास वैष्णवले बताए ।
कोजाग्रत पूर्णिमा हिन्दू धर्ममा विशेष महत्व राख्ने रात हो । धार्मिक विश्वासअनुसार, आज राति देवी लक्ष्मीले जाग्राम बसेका भक्तजनलाई धन र समृद्धिको वर्षा गर्छिन् । त्यसैले यो रातलाई ‘अमृत वर्षा’ रातका रूपमा लिने गरिन्छ । रतौलीबाट ल्याइएको भार जानकी मन्दिरको विशेष पूजामा समर्पित गरिन्छ । जुन जानकी र रामप्रति भक्तिको प्रतीकका रुपमा लिइन्छ । यस परम्पराले मिथिला क्षेत्रको सांस्कृतिक र धार्मिक ऐक्यबद्धतालाई मजबुत बनाउँदै आएको पण्डित कुशेश्वर उपाध्यायले बताए ।
रतौलीका स्व. महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको भारबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा छ । भारमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान् राम र माता जानकीको कपडा ल्याइन्छ । सो परम्परा सयौँ सालदेखि चल्दै आएको छ ।
भारमा पान, मखन, फलफूल, दही, मिठाइ, सौँफ, मुमफली अनिवार्य हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा लग्नुपर्ने हुन्छ । बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । अर्थात् चुमाओन गरिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले आशीर्वाद दिने गर्छन् । यस दिन बेहुलालाई मिथिलाको पाग लगाइ ससुरालीबाट आउने कपडा पहिराउने गरिन्छ ।
बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ । बेहुलाको टाउकोदेखि खुट्टासम्म पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक किसिमको आशीर्वाद दिनु हो । चुमाओन विधि सकिएपछि सामूहिक रूपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठूलो भोजकै आयोजना गर्छन् । यस अवसरमा मिठाइ, मखन, पान बाँड्नैपर्ने हुन्छ ।
खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ । आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौँसट्ठी बेहुला र बेहुलीका दाजु वा भाइबीच खेलिन्छ । बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामान दिने चलन छ । आभूषण, औँठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ । यसदिन छोरीको विवाह गर्दा प्रतिबद्धता गरेअनुसार बाँकी दाइजो दिने चलन छ ।
यस दिन बेहुली पक्षबाट कम्तीमा पाँच देखि ११ वा १५ जनासम्म भार लिएर आउने गर्छन् । क्षमता हुनेले सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनु पर्ने हुन्छ । छोरीको विवाह भएर बिदाइ गर्ने बेलामा दिइने कोसेलीझैँ कोजगरा पर्वमा कोसेली दिने गरिन्छ । मिथिला संस्कृतिअनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पुर्‍याउनुपर्ने हुन्छ ।
जानकी मन्दिरमा महोत्सव
कोजाग्रत पूर्णिमाका दिन जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा विशेष महोत्सवको आयोजना गरिएको छ । कोजाग्रत पूर्णिमालाई भव्य बनाउन जानकी मन्दिरमा भजन कीर्तनको आयोजना गरिन्छ । प्रत्येक वर्ष उत्सवका बेला हाँस्यपरिहास आयोजना हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए ।
महोत्सवलाई आकर्षक बनाउन मन्दिरमा भजन कीर्तन आयोजना गरिन्छ । महन्थ वैष्णवकाअनुसार मिथिलानीले आफ्नो ज्वाइँका लागि पनि भार पठाउने गर्छन् । यो परम्परा विगत ११५ वर्षदेखि चल्दै आएको बताइन्छ । रासस

एक वर्षमै थिलथिलियो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक । संघीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडक मार्ग हो बिपी राजमार्ग ।
गत वर्षको बाढी, पहिरोबाट क्षत्विक्षत बनेको राजमार्ग अस्थायी ढङ्गबाट निर्माण गरी यातायात सञ्चालन हुँदै आएकामा यही असोज १८ र १९ गतेको बाढी पहिरोले पुनः थिलथिलो बनेको छ । राजमार्गको मध्यक्षेत्र अर्थात् काभ्रेपलाञ्चोकतर्फको सडक खण्ड भत्किएर क्षत्विक्षत भएपछि हाल यस राजमार्गको सडक सम्पर्कविच्छेद भएको छ ।
वर्षा याममा केही भागमा क्षति पुर्‍याए पनि अघिल्लो साताको अविरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाएको हो । यस वर्ष पनि असोजमै राजमार्गको विभिन्न सडक खण्डमा सडकको नामोनिसानै मेटिनेगरी, पैदल समेत हिँड्न नसक्ने गरी बाढी पहिरोले तहसनहस बनाइ दियो ।
गत साल असोजमा क्षत्विक्षत राजमार्गमा अस्थायी सडक एवं डाइभर्सन बनाई सञ्चालन गरिए पनि स्थायी बनाउने प्रक्रियामै रहेकाबेला राजमार्ग पुनः थिलथिलो बनेको छ । डिभिजन सडक कार्यालय भक्तपुरको प्रारम्भिक अनुगमन निरीक्षणअनुसार बाढीले करिब चार किलोमिटर सडक बगाएको छ ।
पुनःअस्थायी डाइभर्सन बनाउन काम थालिएको कार्यालयको इञ्जिनियर विन्दु अधिकारीले जानकारी दिइन् । उनका अनुसार अहिलेको बाढीले गत सालको बाढी पहिरोपछि बनाइएको डाइभर्सन पूर्ण रुपमा कटान गरेको छ । विसं २०७२ को विनाशकारी भूकम्पले केही सडक खण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडक खण्ड जोखिमकै अवस्थामा रहेका थिए । राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर लामो राजमार्ग बनेको हो ।
विसं २०७२ असार १८ गते औपचारिक रुपमा यो राजमार्ग जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । करिब २६ अर्ब जापानी येन बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग छोटो र सिधा जोड्को छ । यस राजमार्गको निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौं घुम्नुपर्ने झन्झट अन्त्य भएको थियो ।
गत वर्षको असोज १०, ११ र १२ गते परेको अबिरल वर्षाका कारण रोशी खोला बढीले बर्दिबासदेखि धुलिखेलसम्म १० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो । त्यसलाई अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको वर्ष दिन नपुग्दै यही असोज १७ र १८ मा वर्षाले पुनःक्षति गराएको हो।
संघीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ । तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई २०८१ र २०८२ सालको बाढी पहिरोले थप क्षतिग्रस्त बनाएको हो । राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन् । वर्षा भएकाबेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो सडक बन्द हुने अवस्था निम्तिएको छ ।
गत सालको वर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले क्षति पु¥याएको थियो । विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेंसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ । त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो ।
गत साल राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक तर्फको नार्के बजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडकखण्ड पूर्ण रुपमा बगाएका थियो । गत सालको बर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत बैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको थियो ।
यही असोज १७ गते रातिदेखि निरन्तर परेको वर्षाले उक्त राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डमा धेरै क्षति पु¥याएको कार्यालयले जनाएको छ । इञ्जिनियर अधिकारीका अनुसार बिपी राजमार्गअन्तर्गत यस सडक खण्डको १७ स्थानमा रोशी खोलाले क्षति पुर्‍याएको छ भने राजमागको चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेंसी, घुमाउनेलगायतका स्थानमा निकै नै जोखिम रहेको छ ।
यी स्थानमा अब शून्यबाटै फेरि मर्मत सुरु गर्नुपर्ने अधिकारीको भनाइ छ । अस्थायी रुपमा मर्मतगरी सकेसम्म छिट्टै यातायात सञ्चालन गर्ने तयारी भइरहेको पनि उनले बताइन् । हिजो सोमबारदेखि नै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमा क्षेत्र चौकीडाँडाबाट मर्मत कार्यको थालनी गरिएको छ ।
कार्यालयका अनुसार रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरी ट्र्याक बनाउन सुरु गरिएको हो । नेपालथोकदेखि सिन्धुलीतर्फ बर्खेखोलासम्म करिब ६०० मिटर रोशी खोलाले बगाएको छ । ट्रयाक खुलेपछि काभ्रेपलाञ्चोकको माम्तीसम्म यातायात सञ्चालन हुनेछ । कार्यालयका अनुसार हाल ११० किलोमिटर सडकमा यातायात सञ्चालन रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको छ ।
कार्यालयले गत साल असोजको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी यस वर्ष प्रक्रिया अघि बढाइएको थियो । त्यतिबेला बाढीपहिरोले आठ किलोमिटर सडक पुरै बगाएको थियो ।
क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार हाललाई अस्थायी सडक बनाएर सञ्चालनमा ल्याउने योजना अघि बढाइएको हो । ‘स्थायी पुनर्निर्माणबारे त्यसपछि के गर्ने भन्ने विषयमा मन्त्रालय र विभागको निर्णयअनुसार अघि बढिनेछ’, योगशेले भने ।
यस राजमार्ग दुई वर्षमा पुनर्निर्माणका लागि हाल काभ्रेपलाञ्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको थियो । स्थायी निर्माणको काम भने मनसुन बाहिरिएपछि मात्र सुरु हुने जनाइएको थियो । क्षतिग्रस्त राजमार्गको पाँच किमी सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काम गर्नेछ ।
जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३ दशमलव २ किमी सडक निर्माण गर्नेछ । त्यसका लागि फाइनल सर्भेको काम सकिएको र ठेक्का सम्झौताको चरणमा रहेको योगेशले बताए । बाँकी सिन्धुलीतर्फको एक सडकखण्ड र काभ्रेपलाञ्चोकतर्फको दुई सडकखण्डमा ठेक्का सम्झौताको तयारी भइरहेको उनको भनाइ छ ।
यस्तै, क्षतिग्रस्त राजमार्ग स्थायी पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहज रुपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्र भएको र अर्को रोशी खोलामा बाढी आउँदा बाढीले खोल्न सक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ । कार्यालयले पहिलो चरणमा भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ ।
यस राजमार्गमा जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा यही असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको थियो । त्यसअघि राजमार्गमा साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म १२ घण्टा राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउँदै आइएको थियो । पुनः मनसुन सक्रिय रहने भएपछि असोज १६ गतेदेखि रातको समयमा १२ घण्डा रोक लगाइए पनि असोज १८ र १९ गतेको बाढी पहिरोले यस राजमार्गको सडक सम्पर्कबिच्छेद पारिदिएको छ ।
दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने यस राजमार्गमा चाडबाडका बखत तेब्बर सवारीसाधन ओहोरदोहोर गर्छन् । यस राजमार्ग हाल इन्टरमिडियट लेनको छ भने अब दुई लेनको निर्माण हुने भएको हो । सरकारले क्षतिग्रस्त बिपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि सडक डिभिजन भक्तपुरलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको खुर्कोट सडक खण्डलाई रु एक अर्ब उपलब्ध गराएको थियो।
त्यसो त जाइकाको प्राविधिक अध्ययनले बिपी राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारीसाधन सञ्चालन गर्दै आइरहेका छन् । बिपी राजमार्गमा टिपरले २५ टनसम्म गिटीबालुवा लिएर निर्वाध रुपमा सञ्चालन हुने गरे पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकका रुपमा यस सडकमा सञ्चालन हुने टिपर पनि रहेका छन् । दैनिक यस सडकमा छ सयभन्दा बढी टिपर क्षमताभन्दा बढी लोड लिएर सञ्चालन भइरहेका छन् । सङ्गठित रुपमा टिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बिपी राजमार्गको संरचनालाई जोखिममा पार्दै आए छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना ठूला गरी दैनिक तीन हजार बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकांश साना सवारीसाधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन् । यस सडकमा टिपर, मिनीबस, टाटासुमो र माइक्रोबस बढी सञ्चालन हुने गरेका छन् ।
–राजकुमार पराजुली /रासस

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि युनाइटेड मिसन नेसन्स मिसन इन साउथ सुडानमा (अनमिस) मा सहभागी श्रीनाथ गण शान्तिसेना १४औं डफ्फा बदली भएको छ ।

नयाँ गोरख गण शान्ति सेना १५औं डफ्फाका १७५ जना शान्ति सैनिकको टोली आज कार्यक्षेत्र दक्षिण सुडान प्रस्थान गरेको छ । श्रीनाथ गणका १७६ जना सोमबार फिर्ता भएका सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ ।

दक्षिण सुडानमा राष्ट्रसंघीय शान्ति मिसनमा विभिन्न देशका सेनासँग नेपाली सेनाका एक हजार ७५७ जनाले समन्वय र सहकार्यका साथ शान्ति स्थापनामा क्रियाशील छन् ।

नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण : जेनजी आन्दोलनको असर

काठमाडौं । विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । आज (मंगलबार) सार्वजनिक गरिएको प्रक्षेपण अनुसार सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित रहनेछ ।

विश्व बैंकले यसअघि सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.९ प्रतिशत हुने अनुमान गरेको थियो । तर नयाँ तथ्यांकअनुसार, प्रक्षेपण ०.८ प्रतिशत विन्दुले घटेर २.१ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ । २०२५ मा वृद्धिदर ४.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । सन् २०२७ मा भने आर्थिक वृद्धि फेरि उक्लिएर ४.७ प्रतिशत हुने अपेक्षा गरिएको छ ।

दक्षिण एशियाका अन्य मुलुकहरूसँग तुलना गर्दा नेपालको स्थिति कमजोर देखिएको छ । सन् २०२६ मा भारतको आर्थिक वृद्धिदर ६.५ प्रतिशत, भुटानको ७.३ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत, श्रीलंकाको ३.५ प्रतिशत र माल्दिभ्सको ३.९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

विश्लेषकहरूका अनुसार, कमजोर निजी लगानी, राजस्व संकलनको कमजोरी, तथा राजनीतिक अनिश्चितताले नेपालमा दीर्घकालीन विकास लक्ष्य प्रभावित हुनसक्ने देखिन्छ । जेनजी आन्दोलनपछि उद्योग व्यवसायमा ठूलो क्षति पुगेकाले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको हो ।

२८ राजनीतिकर्मीको चेतावनी : दलहरूको पुनर्गठन ढिलो गर्नु आत्मघाती हुनेछ

काठमाडौं । नेपालका मुख्य राजनीतिक दलभित्र सक्रिय २८ जना युवापुस्ताका नेताहरूले ‘जेनजी आन्दोलन’ लाई केवल सडक आन्दोलन नभई, सत्ता संरचना रूपान्तरणको चेतावनीको रूपमा बुझ्न आग्रह गरेका छन् । उनीहरूले पुराना नेताहरूको निरन्तरताले देशलाई दुर्घटनातर्फ लैजाने भन्दै ‘नेतृत्वको पुस्तान्तरण र दलहरूको पुनर्गठन’ को आह्वान गरेका छन् ।

नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलमा आबद्ध युवा नेताहरूले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै जेनजी आन्दोलनको आत्मा बुझ्न नसक्नेहरू इतिहासबाट फ्याँकिने चेतावनी दिएका छन् ।

‘दलहरू चलाउने होइन, कब्जा गर्ने सोचले मुलुक असफल भयो’
वक्तव्यमा भनिएको छ, ‘राजनीतिक दलहरूलाई नेतृत्व स्थानान्तरण गर्न युवापुस्ताले पटक–पटक आग्रह गर्दै आएका थिए । तर, सत्ताको वरिपरि घुमिरहन चाहने पुराना पुस्ताले त्यो आवाज नसुन्दा अन्ततः सडक आन्दोलनको रूप लिएको हो ।’

उनीहरूको आरोप छ—केही व्यक्तिहरू पालैपालो दल र सत्ता कब्जा गरेर राजनीतिक व्यवस्था नै अपांग बनाइरहेका छन् । ‘अब पनि नसुने, नबुझे देश झन ठूलो दुर्घटनातर्फ जान सक्छ’, उनीहरूले भनेका छन् ।

‘जेनजी आन्दोलन हामीसँगको संघर्ष हो, हामीविरुद्ध होइन’
नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सेना, अरबिन्द सिंह, अशेष घिमिरे, करूणा पराजुली, विराज थापा लगायत विभिन्न दलका युवा नेताहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘जेनजी आन्दोलनले हामीलाई गम्भीर आत्ममूल्यांकन गर्न बाध्य पारेको छ । यो आन्दोलनले सन्देश दिएको छ, ‘अब ‘राजनीतिक अवसरवादिता’ को दिन सकियो ।’

उनीहरूले आन्दोलनमा भएका केही तोडफोडजन्य गतिविधिहरूको भर्त्सना गर्दै जेनजी प्रतिनिधिहरूले मागेको निष्पक्ष छानबिन आयोगको समर्थन समेत गरेका छन् ।

‘अर्को चुनाव पुरानै अनुहारहरूसँग भयो भने विश्वासको संकट झन गहिरिन्छ’
उनीहरूका अनुसार, नयाँ निर्वाचनमा युवाहरूको प्रतिनिधित्व सुनिश्चित नहुने हो भने त्यो लोकतान्त्रिक प्रक्रियाको कमजोर पक्ष बन्ने छ । ‘युवापुस्ताले अब आफूलाई नेतृत्वमा उभ्याउनु पर्ने बेला आएको छ । यसका लागि हामी नयाँ पुस्ताको राजनीतिक हस्तक्षेपलाई संस्थागत बनाउनेतर्फ लाग्नु पर्छ’, उनीहरूद्वारा भनिएको छ ।

‘दलहरूको पुनर्गठन अब ढिलो गर्नु आत्मघाती हुन्छ’
वक्तव्यमा भनिएको छ, ‘राजनीतिक अस्थिरता बढाउने शक्तिहरू सक्रिय भइरहेका बेला दलहरू अझै पनि पुरानै नेतामै अडिग हुनु आत्मघाती हुनेछ । दलभित्रको दोस्रो र तेस्रो तहका नेताहरूले अब बोल्नु पर्छ, उठ्नु पर्छ र नेतृत्वको जिम्मेवारी लिनुपर्छ ।’

बसाईसराईले १५ हजार हेक्टर जमिन बाँझै

बागलुङ । बागलुङका धेरैसजो ग्रामीण क्षेत्र बसाइँसराइका कारण सुनसान बन्दै गएका छन् । बसाइँसराइले गाउँ मात्रै सुनसान भएका छैनन् धान, गहुँ र मकै फल्न खेतीयोग्य जमिन पनि बाँझिने क्रम बढेको छ । कतै सिउँडी पलाएका छन्, त कतै बनमाराले ढाकिएका छन् । घर पनि रुग्ण बनेका छन् ।

काठेखोला गाउँपालिका तथा जैमिनी र गलकोट नगरपालिकामा बसाइँसराइ गरे सहर बजार झर्नेको संख्या अत्यधिक छ । गाउँमा बूढापाका र बालबालिका मात्रै छन् । युवा शक्ति विदेश पलायन भइरहेको छ । यही कारणले बर्सेनी जमिन बाँझोमा परिणत हुँदैछ ।

यसले उत्पादनमा असर परेको छ । बागलुङमा कूल एक लाख ७८ हजार ४०६ हेक्टर जमिन रहेको छ । त्यसमध्ये ४६ हजार १४८ हेक्टर जमिनमा खेती गर्न सकिन्छ । हाल ३० हजार ५०३ हेक्टर जमिनमा मात्रै खेती भइरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिए ।

कूल जमिनको २५ प्रतिशत मात्रै खेतीयोग्य जमिन रहेकामा अहिले १७ प्रतिशत जमिनमा मात्र खेती हुने गरेको छ । बागलुङमा १५ हजार ६४५ हेक्टर जमिन बाँझो रहेको र आगामी वर्ष अझै घट्ने देखिएको अधिकारीले बताए । ‘जिल्लामा १४ हजार ६२५ हेक्टर जमिन बाँझो छ, एक हजार २० हेक्टर जमिनमा खती नगरी अन्य प्रयोगका लागि प्रयोग भएको छ’, उनले भने ।

जैमिनी–४ की देवी शर्माले काम गर्ने व्यक्तिको अभावले आफ्नो ८० प्रतिशत बारी झाडीमा परिणत भएको बताइन् । पहिला २० मुरी धान, २२ मुरी मकै र कोदो उत्पादन गरेको सम्झिँदै उनले भनिन्, ‘पैसा दिएर पनि खनजोत गर्ने खेताला पाइन छाडे ।’ काठेखोला–८ लेखानीका मेघराज कँडेलले पछिल्लो १० वर्षमा गाउँको आधाभन्दा बढी खेतीयोग्य जमिन बाँझो बनेको बताए । गाउँमा बूढाबूढी मात्रै रहेकाले काम गर्न नसक्दा खेतीयोग्य जमिन बाँझो बनेको उनको भनाइ छ ।

प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै अदालत जाने तयारीमा एमाले, कांग्रेससँग छलफलमा

काठमाडौं । प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा भएपछि नेपाली कांग्रेस र एमाले सर्वोच्च अदालतमा जाने भएका छन् ।प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते शुक्रबारबाट प्रतिनिधि सभा विघटन गरिएकाले बदरको माग गर्दै सर्वोच्च अदालतमा जानका लागि नेकपा एमाले र कांग्रेस आन्तरिक छलफलमा जुटेका हुन् ।

आउँदो निर्वाचन २०८२ साल फागुन २१ गते गर्ने गरी सोमबार निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । तर, नेकपा एमालेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतम प्रतिनिधिसभाको विघटन असंवैधानिक भएकाले संविधान र लोकतन्त्र रक्षाका लागि दलहरुबीच छलफल हुनु स्वभाविक भएको बताउँछन् । गौतमले असंवैधानिक तबरले प्रतिनिधि सभा विघटन भएकाले त्यसविरुद्ध अदालत जान छलफल चल्नु स्वभाविक भएको बताए ।

‘कांग्रेस र एमालेबीच सर्वोच्च अदालतमा जानका लागि छलफल भइरहेको छ । यो स्वभाविक पनि हो । दुई दलबीच छलफल गरेर सहमतिका आधारमा दलहरुलाई साथमा अगाडि बढ्छौं । कानुन व्यवसायीसँग पनि परामर्श गर्छौं’, गौतमले भने, ‘संविधान पक्षधर दलहरूसँग अन्य दलसँग पनि कुरा भइरहेको छ ।’

गौतमले दलहरुबीच सहमति भएर निष्कर्ष निकालेपछि कुन दिने अदालत जाने भन्ने विषय टुंगिने बताएका छन् । उनका अनुसार अदालत जाने मोडेलको विषय भने टुंगिन बाँकी छ । गौतमले भने, ‘अहिले हामी छलफलको चरणमा नै छौं । कसरी जाने, कहिले जाने भन्ने निष्कर्ष निकालेपछि बाँकी काम अगाडि बढ्छ ।’

जेनजी आन्दोलन र त्यसपछिको प्रदर्शनमा भएको तोडफोड तथा आगजनीका कारण सर्वोच्च अदालत, विशेष अदालत र जिल्ला अदालतहरूमा क्षति पुगेको छ। हाल सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण सुनुवाइ मात्र सुरु गरेको छ । सर्वोच्च अदालतले सर्भरको समस्याले गर्दा नियमित पेशीको काम कारबाही गर्न अझै समय लाग्ने जनाएको छ ।

यस अगाडि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित ८ दलले वर्तमान प्रतिनिधि सभा विघटनबारे राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण र असहमति रहेको जनाएका थिए । उनीहरुले प्रतिनिधि सभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न उनीहरूको माग थियो ।

गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री निवासमा भएको आगजनी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।आगजनीको आरोपमा रुपन्देही घर भई हाल पोखरामा बसोबास गर्दै आएका २२ वर्षीय संजोक थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गत भदौ २४ गते जेनजी समूहको आन्दोलनका क्रममा मुख्यमन्त्री निवासमा आगजनी भएको थियो । त्यसपछि असोज १२ गते पुनः दोस्रो पटक आगजनी भएको घटनामा थापा संलग्न रहेको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको काम भइरहेको छ ।

थापाले राष्ट्र बैंकको कम्पाउण्ड सडक छेउमा रहेको एनआइएमबी बैंकको एटिएम मेशिन ढुङ्गाले प्रहार गरी तोडफोड समेत गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

बाढी–पहिरोबाट घर गुमाएकालाई सरकारले तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने

काठमाडौं । सरकारले केहि दिनअघिको बाढी–पहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो जानकारी गराएको हो । सरकारले बाढी–पहिरो प्रभावितलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने भएको छ ।

बाढी–पहिरोबाट कसैको घरभत्केको पाइएमा सरकारले तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको हो । अस्थायी आवासका लागि विपद् प्राधिकरणबाट ५० हजार रुपैयाँ उपलब्ध गराइने छ । सो रकममध्ये २५ हजार रुपैयाँ तत्काल र २५ हजार रुपैयाँ एक लेबल घरको संरचना बनेपछि मापदण्ड अनुसार उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

दिल्लीमा प्रहरीको गोलीबाट ढले नेपालका ‘भीम जोरा’

नयाँदिल्ली । भारतीय भूमिमा आतंकको पर्याय बनेका नेपाली नागरिक भीम जोराको जीवन सोमबार राति दिल्लीको आस्थाकुञ्ज पार्कमा प्रहरीको गोलीसँगै समाप्त भएको छ । हत्या, डकैती र संगठित चोरी जस्ता गम्भीर आपराधिक मुद्दामा संलग्न जोरा भारतभर कुख्यात नाम बनिसकेका थिए ।

दिल्ली र गुडगाउँ प्रहरीको संयुक्त कारबाहीमा मारिएका जोरा विरुद्ध एक लाख भारु पुरस्कार घोषणा गरिएको थियो, जुन आफैंमा उनको अपराधको गम्भीरताका लागि पर्याप्त संकेत हो ।

धेरै अनुहार, एक अपराधी
भीम जोरा नेपालका नागरिक भए पनि भारतका सूरत, कर्नाटक, दिल्ली, गाजियाबाद लगायत शहरहरूमा शक्तिशाली गिरोहको नेतृत्व गर्दै आएका थिए । नक्कली कागजपत्रको प्रयोग गरेर घरेलु कामदार बनेर घरभित्र छिर्ने, मालिकहरूलाई नशालु पदार्थ दिएर बेहोस बनाउने, लुटपाट गरेर नेपाल फर्किने रणनीति उनका प्रमुख थिए ।

उनको गिरोह डकैतीअघि घरको विस्तृत जानकारी संकलन गर्न आफ्नो मान्छेहरूलाई नै कामदारका रूपमा पठाउने गथ्र्यो । यस्तो गिरोह सञ्चालनका कारण भारतभर नेपाली श्रमिकहरूकै छवि बदनाम हुने खतरा समेत देखिएको छ ।

डा. योगेशचन्द्र पौलको हत्यामा जोरा
भीम जोराविरुद्धको सबैभन्दा गम्भीर अभियोग भने मे २०२४ मा दिल्लीको जांगपुरामा डाक्टर योगेशचन्द्र पौलको हत्या हो । घरेलु कामदार बसन्तीमार्फत लिएको सूचनाको आधारमा डाक्टरलाई भान्सामै घाँटी अँठ्याएर हत्या गरिएको थियो । त्यसपछि उनी आफ्नी कथित श्रीमती वर्षासँग फरार भएका थिए । यस घटनापछि भारतीय प्रहरीको ‘वाञ्छित अपराधी’ सूचीमा उनको नाम शीर्षमा पुगेको थियो ।

इन्काउन्टरको अन्त्य

सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीको संयुक्त टोलीले आस्थाकुञ्ज पार्क क्षेत्रमा जोरा लुकेको सूचना पाएपछि घेराबन्दी ग¥यो । प्रहरीले दाबी गरेअनुसार, जोराले पहिलो गोली चलाए । जवाफमा प्रहरीको गोली लागेर उनी गम्भीर घाइते भए । उनलाई तत्काल एम्स ट्रमा सेन्टर पु¥याइए पनि मृत्यु भएको घोषणा गरियो । उनका एक सहयोगी भने अन्धकारको आडमा भाग्न सफल भएका छन् ।

महिला टी–२० : इन्दु बनिन् एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । उनले आज (मंगलबार) को मलेसियाविरुद्धको खेलमा अविजित ४८ रन बनाउँदै एक हजार रन पूरा गरेकी हुन् ।

इन्दुले ७७ खेलको ७० इनिङ्सबाट १०३३ रन बनाएकी छन् । सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा सीता रानामगर र तेस्रो स्थानमा रुविना क्षेत्री छिन् । सीताले ६३ खेलबाट ९६५ र रुविनाले ७८ खेलबाट ९३६ रन बनाएकी छन् ।

जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन् : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र चलिरहेको विशेष महाधिवेशनसम्बन्धी बहसमा खुला धारणा सार्वजनिक गर्दै हस्ताक्षर अभियानलाई समर्थन गरेका छन् । उनले २६ असोजको केन्द्रीय कार्य समिति बैठक अगावै २४ असोजभित्र हस्ताक्षर गर्न सक्नेहरूलाई हस्ताक्षर गर्न आह्वान गरेका छन् ।

उनले एक भिडियो सन्देशमार्फत पार्टी कार्यकर्तामा देखिएको अन्योल हटाउँदै भने, ‘साइत केका लागि हेर्नु हुन्छ ? चाहने हो भने २४ गतेभित्रै हस्ताक्षर गर्नुहोस् ।’

‘विधान अनुसारको प्रक्रिया पार्टीलाई कमजोर होइन’
उनले विशेष महाधिवेशनलाई पार्टीको कमजोरी नभई संविधान प्रदत्त अधिकारको प्रयोगका रूपमा चित्रण गर्दै भनेका छन्, ‘जब विधानमै व्यवस्था छ भने त्यसको प्रयोगले पार्टीलाई कमजोर बनाउँदैन । सफल अपरेसनले शरीर तन्दुरुस्त बनाउँछ, पार्टी पनि त्यस्तै हो ।’

शर्माले पार्टीको नियमित महाधिवेशन नै दीर्घकालीन समाधान भएको धारणा पनि राखेका छन् । तर त्यो सम्भव नभएमा भनेका छन्, ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले माग गरे बमोजिम विशेष महाधिवेशनमा जानु नै वैधानिक बाटो हो ।’

सात बुँदामा शर्माका धारणा :
१) हस्ताक्षर गर्न चाहनेहरू २४ असोजभित्र गर्नुहोस् ।
२) विशेष महाधिवेशन पार्टीलाई कमजोर बनाउँदैन, यो विधानसंगत प्रक्रिया हो ।
३) २६ गतेको बैठक पर्खनुभन्दा अघि नै हस्ताक्षर गर्नु प्रभावकारी हुन्छ ।
४) केन्द्रीय समितिले चाह्यो भने आफै विशेष महाधिवेशन बोलाउन सक्छ ।
५) तर नबोलेमा, प्रतिनिधिहरुको हस्ताक्षरमार्फत प्रक्रिया अघि बढाउन सकिन्छ ।
६) सर्वोत्तम विकल्प भनेको नियमित महाधिवेशन हो, मंसिर मसान्तसम्म गर्नु उपयुक्त ।
७) छोटो समयमै महाधिवेशन सम्भव छ–युवा आन्दोलनले सत्ता उल्टाई दिन्छ भने पार्टी महाधिवेशन गर्न किन नसक्ने ?