`

मन्त्री पुनलाई जेनजी घाइतेले भने–हामीले देशका लागि रगत बगाएका हौं, माग पूरा हुनुपर्छ

काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई ट्रमा सेन्टरमा पुगेर भेट गरेका छन् ।

मन्त्री पुनले आज (शनिबार) ट्रमा सेन्टरमा पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् । उनले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारको बारेमा गुनासो नगरेको बताए । उनले घाइतेहरुले आफ्ना मागहरु पूरा हुुनपर्नेमा चिन्ता व्यक्त गरेको बताएका छन् ।

आफूहरु देशका लागि लडेको, देशका लागि रगत बगाएको घाइतेहरुले बताएको भन्दै मन्त्री पुनले शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन र भविष्यमा के हुन्छ भन्नै चिन्ता घाइतेहरुमा रहेको पाएको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी अहिलेको स्थितिमा के हुन्छ भन्न नसकिने बताउँदै उनले राजनीतिमा कुनै पनि समयमा फरक स्थिति बनिदिने समेत बताएका छन् ।

उनले भने, ‘बिरामीहरुको माग मुद्दाहरु नै जेन जी आन्दोलनको माग मुद्दा हो । हामी देशको लागि लडेका हौं । हामीले देशका लागि रगत बगाएका हौं । हाम्रो माग पूरा हुनुपर्छ भन्ने किसिमको छ । स्वास्थ्य उपचार राम्रो भएको छ । ठिकै छ । शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन, भविष्यमा के हुन्छ ? भन्ने छ । कुनै बिरामीले पनि उपचार पाएन भनेर कम्प्लेन गरेको पाइँन । प्रत्यक्ष निर्वाचित भनेको अहिलेको स्थितिमा के हुन्छ भन्न सकिँदैन । यो राजनीति हो । अहिलेको आन्दोलन हो । माग सबैलाई थाहा छ । अहिले गर्न सकिँदैन भन्ने कुरा आइरहेको छ । परिस्थिति कुन बेला के हुन्छ, त्यो थाहा छैन ।’

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा ७४ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । घाइतेको देशका विभिन्न खस्पतालमा उपचार जारी रहेको हो । ट्रमा सेन्टरमा उपचाररत जेनजी घाइतेमध्ये १ जना मात्रै आइसीयूमा रहेको र अरु खतरामुक्त रहेको पाएको मन्त्री पुनले बताए ।
तस्वीरहरु

माइतीघरमा राप्रपाका युवाहरूको मौन प्रदर्शन

काठमाडौं । राप्रपाका युवा नेताहरूले काठमाडौंको माइतीघरमा आज (शनिबार) सांकेतिक मौन प्रदर्शन गरेका छन् । जेनजी विद्रोहलाई उपलव्धीविहीन बनाइएको भन्दै उनीहरूले शनिबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले क्रान्तिको भावनाविपरीत नजान र शहीदको बलिदानीलाई नजरअन्दाज नगर्न माग गरेका छन् । आन्दोलनका क्रममा भएको दमन गर्नेहरूलाई तत्काल कानूनी दायरामा ल्याउन ढिलाई भएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीले क्रान्तिको भावनाबिपरित अन्तरिम सरकार अघि बढ्न खोजेकाले ध्यानाकर्षण गराउन सांकेतिक मौन प्रदर्शन गरिएको जानकारी दिएकी छन् । प्रदर्शनमा सहभागीहरूले महंगो र विखण्डनकारी प्रदेश खारेजी कहिले ?, देशलाई दुर्घटनाबाट जोगाउन नविन समझदारी गर, ७५ जनाको बलिदान फेरि यहि संविधान ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

अर्थमन्त्री खनालले गरे आगजनीले ध्वस्त हिल्टन होटल निरीक्षण

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको हिल्टन होटल निरीक्षण गरेका छन् । आज (शनिबार) मन्त्री खनालले नक्सालस्थित होटलमा पुगेर क्षतिबारे निरीक्षण गरेका हुन् ।

आठ अर्ब बढी लगानी गरेर २०८१ साल साउन १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हिल्टन होटलले एक वर्षमै क्षति व्यहोर्नु परेको थियो । आगो लागेपछि धुँवाले होटलको माथिल्लो तलासम्मै कालो भएको छ । झ्यालका सिसाहरु फुटेका छन् । फर्निचरसहित सजावटका सामग्री सबै ध्वस्त भएका छन् । आगोमा जलेका केही फर्निचरहरु अहिले पनि सडकमा थुप्रिएको देखिन्छ ।

हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ । उसले विभिन्न ब्रान्डमा लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको छ । संसारभर ६ हजार २ सयभन्दा बढी होटल तथा रिसोर्ट रहेको यो ग्रुपको ‘हिल्टन’ सबैभन्दा चर्चित प्रिमियम ब्रान्ड हो । हिल्टनलाई काठमाडौंमा शंकर ग्रुपले भित्राएको थियो । यो होटेल नेपाल प्रहरीको केन्द्रीय कार्यालय नजिकै छ ।

दशैंमा यात्रा गर्न बाटो सहज भइसक्यो : सडक विभाग

काठमाडौं । सडक विभागले दशैँमा काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ । मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ । पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग पहिरोका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको थियो ।

यसअघि पहिरोका कारण मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरू ४० घण्टाभन्दा बढी समय ट्राफिक जाममा बस्न बाध्य भएका थिए । विभागका प्रवक्ता प्रभातकुमार झाले अब ठूलो वर्षा नभए समस्या नआउने विश्वास व्यक्त गरे । ‘दशैँका लागि यात्रु बाहिरिने क्रम सुरु हुनासाथ पहिरोका कारण पृथ्वी, अरनिलगायत मुख्य राजमार्ग नै पूर्ण रूपमा अवरुद्ध भए ।

यात्रुहरूले धेरै सास्ती भोग्नुपर्‍यो, तर हामीले २४ घण्टा नै खटिएर पहिरो पन्छाउने काम गर्‍यौँ । हाल बाटो सहज भइसकेको छ’, उनले भने । हाल चार राजमार्ग पूर्ण रूपमा र एक सय ७१ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् । यस बाहेक ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी राजमार्ग अवरुद्ध हुँदा स्याउपार्किङ, रसुवागढीमा यातायात ठप्प छ ।

विभागका अनुसार हाल एक्साभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको छ । गत साउन १४ गते चीनबाट बाढी आएको र नदीले सडक कटान गरेको कारण उक्त राजमार्ग अवरुद्ध भएको हो ।

यसैगरी चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) राजमार्गअन्तर्गत ताप्लेजुङको फक्ताङलुङ वडा नं ५ र ६ जोड्ने रानीपुल बेलीब्रिज पनि पूर्ण रूपमा अवरुद्ध भएको विभागको तथ्यांकमा उल्लेख छ । रेमिट हाइड्रोबाट पुनः बेलीब्रिज निर्माणका लागि पहल भएको विभागले जानकारी दिएको छ ।

करिब पाँच वर्ष पहिले रेमिट हाइड्रोबाट तमोर नदीमा निर्मित रानीपुल बेलीब्रिज गत साउन ६ गतेको बाढीले बगाएको थियो । ठोरी, भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत रसुवाको तातोपानी र टिमुरे पनि पूर्ण रूपमा अवरुद्ध रहेको विभागले जनाएको छ । रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) अन्तर्गत सङ्खुवासभाको अल्फटेमा यातायात अवरुद्ध रहेको छ । रासस

जेनजी आन्दोलनका घाइतेलाई परिचय–पत्र, उपचारका लागि अस्पताल तोकिने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरुलाई परिचय पत्र प्रदान गर्ने भएको छ । घाइतेहरुको पहिचान र उपचारमा सहजीकरण गर्न आइतबारदेखि परिचय पत्र वितरण गरिने गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै घाइतेहरुको उपचारका लागि काठमाडौँ उपत्यका र बाहिर अस्पताल तोक्ने र त्यहाँ जेनजी क्लिनिक सञ्चालन गर्ने समेत मन्त्रालयले बताएको छ । त्यस्तै घाइतेहरुको वर्गीकरणका लागि उपचारका संलग्न चिकित्सको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ । पुनः चेकजाँचका लागि घाइतेहरुलाई एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

हेर्नुस् सूचना

मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द

काठमाडौं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहार जस्ता पर्वमा विशेष गरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ । पर्यटक आगमनका दृष्टिले यो मुख्य याम पनि हो । पर्यटनको ‘सिजन’ सुरु हुने समयमा भएको जेनजी आन्दोलनले यस क्षेत्रले अपूरणीय क्षति बेहोर्नु परेको छ ।

कैयौँ पर्यटकीय संरचनामा अकल्पनीय हानिनोक्सानी भएको छ । परिणामतः पर्यटकीय गन्तव्यमा पर्यटकको आगमन निराशाजनक छ ।विगतका दसैँमा भरिभराउ हुने बन्दीपुरका होटल तथा ‘होमस्टे’ले पर्यटक पर्खिरहेका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार विगतका दसैँ तथा तिहारजस्ता पर्वमा शतप्रतिशत ‘अकुपेन्सी’ हुने बन्दीपुरका होटल तथा होमस्टेमा अहिले मुस्किलले एक सय पर्यटक छन् ।

‘गत भदौमा आन्दोलन दैनिक एक हजारभन्दा बढी पर्यटक बन्दीपुर आइरहेका थिए, तर आन्दोलनपछि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ, यसले बन्दीपुर भ्रमण वर्ष २०२५ प्रभावित हुन्छ कि भन्ने संशय पैदा भएको छ’, उनले भने ।

आन्दोलनको असर बागलुङ कालिका मन्दिरमा पनि परेको छ । विशेष गरी बडादसैँ र चैते दसैँमा मन्दिरमा ठूलो मेला लाग्छ । तर यसपटक भने मन्दिरमा आउने दर्शनार्थीको संख्या करिब ५० प्रतिशतले घटेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ ।

पर्यटकीय गन्तव्य चितवनको सौराहमा पनि यसपटक उल्लासमय वातावरण नभएको क्षेत्रीय होटल सङ्घ सौराहका पूर्वअध्यक्ष दीपक भट्टराईले बताए । उनका अनुसार जेनजीको आन्दोलनपश्चात् सौराह आउने पर्यटक उल्लेख्य रूपमा घटेका छन् । ‘विगतका वर्षमा दसैँ अगाडि होटलमा ८० देखि ९० प्रतिशत बुकिङ हुन्थ्यो, आन्तरिक र विदेशी पर्यटकको ठूलो उपस्थिति हुन्थ्यो, तर अहिले सबै बुकिङ रद्द भएर पाँच प्रतिशतको हाराहारीमा सीमित भएको छ’, उनले भने । उनका अनुसार सौराहमा पर्यटकस्तरीय २०० होटलमा छ हजार कोठा छन् ।

पूर्व अध्यक्ष भट्टराई जेनजी आन्दोलन र बाटो बिग्रिएकाले पनि होटल बुकिङ रद्द हुनेक्रम बढेको बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै विदेशी पर्यटकले बुकिङ रद्द गरेका छन् । ‘दसैँदेखि तिहारसम्मको समयमा विदेशी पर्यटकको बुकिङ थियो, उनीहरूले तिहारपछि सम्मको बुकिङ रद्द गरिसकेको अवस्था छ’, उनले भने ।

क्षेत्रीय सिद्धार्थ होटल संघका अध्यक्ष सिपी श्रेष्ठले पनि जेनजी आन्दोलनपछि लुम्बिनी आउने पर्यटक उल्लेख्य घटेको बताए । ‘अक्टोबरदेखि पर्यटन सिजन हुन्छ, त्यसभन्दा अगाडि बुकिङ निकै राम्रो थियो, आन्दोलनपछि ९० प्रतिशत बुकिङ रद्द भएको छ, यो अवस्था केही समय लम्बिने देखिन्छ’, उनले भने । उनका अनुसार भैरहवा, लुम्बिनी र भारतीय सीमा क्षेत्रमा गरी पर्यटक स्तरीय १४६ होटल छन् । जसमा पाँच हजार बेड संख्या छन् । उनका अनुसार आन्दोलनपछि भारतमा पनि राम्रो सन्देश नगएकाले उनीहरू पनि आउन सकेका छैनन् ।

जेनजी आन्दोलनको असर बर्दियामा पनि परेको छ । क्षेत्रीय होटल संघ बर्दियाका अध्यक्ष मोहन चौधरीले भने, ‘आन्दोलनपछि होटलको बुकिङ रद्द भएको छ, यहाँ आउने भारतीय पर्यटक पनि नआएको अवस्था छ, अहिले होटलमा पाँच प्रतिशत पनि अकुपेन्सी छैन ।’ विशेष गरी बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरूको संख्या घटेसँगै होटल बुकिङ पनि रद्द भएको उनको भनाइ छ । बर्दियामा ४० वटा साना र ठूला होटल तथा होमस्टेमा एक हजारको हाराहारीमा बेड संख्या छ ।

जेनजी आन्दोलनको प्रभाव पर्यटन राजधानी पोखरामा पनि परेको छ । दसैँको समयमा गुल्जार हुने पोखरा बजार यतिबेला सुनसान जस्तै भएको होटल संघ नेपाल (हान) गण्डकी प्रदेशका अध्यक्ष हरिप्रसाद शर्मा गैरेको भनाइ छ ।

‘यस पटक हामी पर्यटकीय सिजनको उत्साहका साथ पर्खाइ र तयारीमा थियौँ, अक्टोबरदेखि डिसेम्बरसम्मको बुकिङ निकै राम्रो थियो, तर आन्दोलनपछि डिसेम्बरसम्मको होटल बुकिङ रद्द भएको अवस्था छ’, उनले भने, ‘यसबाट हामीलाई ठूलो क्षति पुगेको छ ।’ विशेष गरी कोरोना महामारीपछि यस वर्ष नेपालको पर्यटन क्षेत्रले पुनरुत्थानको चरण पार गर्छ भन्ने अवस्थाबाट फेरि शून्य अवस्थामा आइपुगेको उनको बुझाइ छ ।

‘जसरी आन्दोलनका क्रममा पाँचतारे होटलबाट स्वीमिङ गर्दै गरेका पर्यटकलाई उद्धार गर्ने काम भयो र ती भिडियो भाइरल बनाइयो, यसले निकै गलत सन्देश प्रवाह भयो’, उनले भने, ‘त्यसबाहेक आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दीको डर र सडक अवरुद्ध भएका कारणले पनि आन्तरिक पर्यटन चलायमान हुने अवस्था भएन ।’

उनले आन्दोलनका क्रममा गण्डकी प्रदेशमध्ये कास्की सबैभन्दा बढी प्रभावित भए पनि समग्र प्रदेशकै अवस्था राम्रो नभएको बताउँछन् । उनका अनुसार प्रदेशमा १६ हजार होटल र रेष्टुरेन्ट छन् । जसमा यतिबेला बुकिङ पाँच प्रतिशत पनि छैन । विगतका विभिन्न कालखण्डमा पटकपटक भइरहेका आन्दोलन र महामारीलगायतका घटनाक्रमले दक्ष जनशक्ति पलायन भइरहेको उल्लेख गर्दै उनले व्यवसायीको पनि मनोबल घटेको बताए ।

‘रिकभर’ को चरणमा छ पर्यटन

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले जेनजीको आन्दोलनपछि पर्यटक क्षेत्र ‘रिकभर’ को चरणमै रहेको बताउँछन् । ’गत भदौ २३ र २४ गतेको आन्दोलनअघिसम्म विदेशबाट औसतमा दैनिक तीन हजार ३०० पर्यटक आइरहेकामा आन्दोलनको साता यो संख्या एक हजार ६०० मा झरेको थियो, यस साता भने दुई हजार ९०० पर्यटक नेपाल आएका छन्’, जोशीले भने, ‘त्यसैले यो पर्यटन क्षेत्रका लागि रिकभरकै समय हो ।’

सीईओ जोशीले हरेक संकटमा सरकार र निजीक्षेत्र एक भएर पर्यटन पुनरुत्थानमा लागेको, नेपाल सुरक्षित र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुगेको बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले निजी क्षेत्रको सहकार्य बिना पर्यटन विकास सम्भव नभएको र मन्त्रालयले नीति र कानुनी अड्चन फुकाउन सधैँ खुला रहेको बताए ।

उनले भने, ‘गत भदौमा भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा क्षति भए पनि निजी क्षेत्रले उच्च मनोबलका साथ पर्यटन उद्योगलाई उठाउन लागेको देख्दा खुसी लागेको छ । निजी क्षेत्रका समस्याहरू समाधानका लागि सहजीकरण गर्न मन्त्रालय सधैँ तयार छ ।’

त्यसैगरी मन्त्रालयका सहसचिव इन्दु घिमिरेले छोटो अवधिमै पनि पर्यटनले रिकभरी गर्दै गरेको उल्लेख गर्दै सरकार व्यवसायीहरूसँगै उभिएको बताए । उनले भने, ‘पर्यटनको रिकभरी सँगसँगै दिगो रूपान्तरणका लागि सबैसँग हातेमालो गर्न आवश्यक छ, पर्यटन क्षेत्र सरकार एक्लैले वा निजी क्षेत्र एक्लैले मात्र पूर्ण नहुने भएकाले सरकार र निजी क्षेत्र सँगसँगै हिँड्न आवश्यक छ । यसका लागि आवश्यक वातावरण तयार गर्न मन्त्रालय प्रतिबद्ध छ ।’

कहाँ–कहाँ भयो क्षति ?

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा पर्यटकीय पूर्वाधारमाथि आक्रमण भयो । प्रदर्शनकारीले होटलहरूमा तोडफोड, लुटपाट र आगजनी गरे । होटल संघ नेपाल (हान) का अनुसार आन्दोलनका क्रममा होटलमाथि भएको तोडफोड, लुटपाट र आगजनीका कारण रु २५ अर्ब बराबरको क्षति भएको छ ।

आन्दोलनका क्रममा बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा भएको आक्रमणपछि बन्द भएको छ । होटलका अनुसार होटल पुनर्निर्माण भई सञ्चालनमा आउनका लागि करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ । होटलको क्यासिनो, रेष्टुरेन्ट तथा प्रवेशद्वारमा तोडफोड र आगजनी गरिएको छ । साथै केही सवारीसाधनमा आगजनी तथा तोडफोड गरिएको छ ।

काठमाडौंमा रहेको अन्तर्राष्ट्रिय चेन होटल हिल्टनको मात्रै रु आठ अर्ब बराबरको क्षति भएको छ । राजनीतिक व्यक्ति जोडिएको भन्ने हल्ला चलाएर दाङको माला इन, मोरङको नेपालीरिका होटलमाथि आक्रमण भएको सम्बद्ध पक्षले जनाएका छन् । यसैगरी पोखराको सरोवर होटल, बगैँचा रिसोर्ट, गुडबिल होटल, अशुंभरा होटलमा आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको छ ।

त्यसैगरी काठमाडौंको वर्णबास होटल पनि आक्रमणको सिकार भएको छ । आइएमई समूहले निर्माण गरेको चन्द्रागिरि केबलकारको बेसस्टेशनमा लुटपाट र तोडफोड भएको छ । आगजनीका कारण केबलकार बन्द छ । सोही समूहले सञ्चालन गरेको मौलाकालिका केबलकारमा ठूलो क्षति पुगेको छ । चन्द्रागिरिको केबलकार मर्मतपछि तत्कालै सञ्चालनमा आउने सम्भावना भए पनि मौलाकालिकाको सञ्चालन भने अनिश्चित रहेको ढकालको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको आइएमई समूहले सातै प्रदेशमा केबलकार निर्माण गर्ने योजना अगाडि सारेको थियो । सोही क्रममा पूर्वको पाथीभरामा केबलकार निर्माणका लागि स्थापना गरिएको कार्यालयमा आक्रमण र तोडफोड भएको जनाइएको छ । रासस

प्रत्यक्ष निर्वाचित कार्यकारीबारे अहिले सकिँदैन भन्ने कुरा छ : मन्त्री पुन

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले देशवासीको नाममा गरेको सम्बोधन अनुसार सरकारले काम गर्ने बताएका छन् । आज (शनिबार) आन्दोलनका घाइतेलाई भेट्न विभिन्न अस्पताल पुगेका मन्त्री पुनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै जेनजी पुस्ताको माग सम्बोधन गर्ने गरी सरकारले काम गर्ने जानकारी दिए ।

युवाहरूले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाबारे अहिल्यै भन्न सक्ने अवस्था नभएको उनले बताएका छन् । उनले भने, ‘अहिलेको स्थितिमा के हुन्छ भन्न सकिँदैन । आन्दोलनको माग सबैलाई थाहा छ । प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाबारे पनि, अहिले गर्न सकिँदैन भन्ने कुरा आइरहेको छ । परिस्थिति कुन दिनमा कसरी परिवर्तन हुन्छ भन्न सकिँदैन ।’

उनले घाइतेहरूको स्वास्थ्यमा सुधार आइरहेको भन्दै पढाइको चिन्ता नगर्न भन्दै आवश्यक सहयोग सरकारले गर्ने बताए । उनले तत्कालीन सरकारमा संलग्नहरूलाई कारबाही गर्नको लागि आयोग गठन गरिसकेको भन्दै त्यसैको सिफारिस अनुसार प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् ।

ओलीले गुन्डुमै बोलाए सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सचिवालय बैठक बोलाएका छन् । भोलि गुन्डुस्थित आफ्नै निवासमा बस्ने गरी बैठक बोलाएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार बैठक आइतबार दिउँसो १ बजे बस्नेछ । बैठकमा जेनजी आन्दोलपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । जेनजी आन्दोलनपछि एमालेभित्र अध्यक्ष केपी ओलीले नेतृत्व छाड्नु पर्ने आवाज पार्टीभित्रबाटै उठ्न थालेको छ । भोलिको बैठकले पार्टीको आगामी रणनीति तय गर्ने जनाइएको छ ।

अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओली भेटघाट कार्यक्रममा उपस्थित भएका छन् । बडादसैँका अवसरमा आज (शनिबार) भक्तपुरमा राष्ट्रिय युवा संघले आयोजना गरेको खुला भेटघाट कार्यक्रममा उनी सहभागी भएका हुन् । त्यसक्रममा बाक्लो रूपमा प्रहरी परिचालन गरिएको थियो । ओलीको सम्बोधनपछि कार्यक्रम सकिएको थियो ।

सडकका २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि पनि छानबिन हुने

काठमाडौं । सडक र पुल निर्माणका लागि सम्झौता गरिएका तर काम नगरी अलपत्र परेका २३४ वटा रुग्ण ठेक्का तोडिने भएका छन् । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्कामा यो कदम चालिने भएको हो ।

दमक कार्यालयअन्तर्गत ३८, काठमाडौं ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपहाडी लोकमार्ग १७ वटा ठेक्का रुग्ण अवस्थामा छन् । आयोजनातर्फ काम नगरी ठेक्का रुग्ण बनाउन संलग्न तत्कालीन र हालका जिम्मेवार कर्मचारीमाथि छानबिनका लागि समिति गठन गरिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार भौतिक मन्त्रालयका सचिव, सहसचिव, सडक विभागका महानिर्देशक र संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखसँग छलफल गर्दै रुग्ण ठेक्का तोड्ने कदम अपरिहार्य भएको बताएका छन् ।

मन्त्री घिसिङका अनुसार, ‘सडक निर्माणका लागि राज्यले प्रत्येक वर्ष ठूलो रकम खर्च गरिरहेको छ, तर नागरिकले लाभ प्राप्त गर्न सकेका छैनन् । ठेक्का व्यवस्थापन शून्य जस्तो देखिएको छ । कतिपय निर्णय कर्मचारीले समयमै नगर्दा ठेक्का रुग्ण बनेका छन् । यस्ता कर्मचारीमाथि पनि छानबिन गर्नुपर्छ ।’

उनले भने, ‘रुग्ण ठेक्कामा संलग्न निर्माण व्यवसायीलाई कसैले प्रलोभन दिन सक्दैनन्। तपाईंहरूले स्वतन्त्रतापूर्वक ठेक्का तोड्नुहोस । यस कदमले सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । म तपाईंलाई पूर्ण संरक्षण गर्नेछु ।’

निर्माण सम्झौता अनुसार समय थप भए पनि प्रगति कम भएका ठेक्कालाई रुग्ण मानिएको छ । उदाहरणका लागि दुई करोडभन्दा बढी सम्झौता भएको ठेक्कामा ५० प्रतिशतभन्दा कम प्रगति भएमा रुग्ण ठेक्का मानिनेछ । त्यस्तै, २–४ सय प्रतिशत समय म्याद थप भए पनि प्रगति ८०–९५ प्रतिशतभन्दा कम भएको ठेक्कालाई रुग्ण ठेक्का मानिने प्रावधान छ ।

मन्त्री घिसिङले मन्त्रालय र मातहतका कार्यालयमा अनियमितता, ढिलासुस्ती, घूस माग्ने वा सेवाग्राहीलाई दुःख दिने कर्मचारीमाथि तत्काल कारबाही हुने स्पष्ट पारेका छन् । उनले कर्मचारीलाई पनि निर्देश दिएका छन् । कसैले आफ्नो नाम बेचेर अनावश्यक दुःख पुर्‍याएमा तुरुन्त जानकारी गराउन ।

ओलीको दाबी : देशलाई सही बाटोमा फर्काउने एमालेले मात्रै हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई सही बाटोमा फर्काउन एमाले बाहेक अरूले नसक्ने दाबी गरेका छन् । सत्ताच्युत भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेता कार्यकर्तालाई हरेस नखान आग्रह गरे ।

उनले भने, ‘देश बनाउने एमालेले नै हो । त्यसैले तपाईहरूले हरेस नखानुहोस् । सिङ्गो देशवासीलाई आग्रह गर्छु, सबै संयमता अपनाउनुस् । राष्ट्र जोगाउन एकता चाहिएको छ, त्यही अनुसार आग्रह गर्छु ।’ उनले देश निर्माणमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

जेनजीलाई ओलीको प्रश्न : खरानीमाथि बसेर सुखी हुन सक्नु हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगातार आक्रामक बनिरहेका जेनजीहरूलाई आवेगमा नआउन आग्रह गरेका छन् । आज (शनिबार) युवा संघले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

गन २३ र २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटार छाडेका थिए । त्यसयता सार्वजनिक कार्यक्रममा नदेखिएका ओली आजमात्रै बाहिर निस्किएर अभिव्यक्ति दिएका हुन् ।

‘जेनजी घरैपिच्छे छन् । जेनजीका नाममा केही भाइबहिनी संगठित हुनु भएको छ । केहीलाई गुमराहमा राखिएको छ,’ उनले भने, ‘तपाईंहरू भर्खरकै हुनुहुन्छ, धेरै बाँच्नु छ, यसरी नै आगजनी गर्दै जाने हो भने, होटल, ऐतिहासिक सम्पदा ध्वस्त पार्दै जाने हो भने, खरानीमाथि बसेर सुखी हुन सक्नु हुन्छ ?’ उनले आवेगमा नआउन पनि जेनजीहरूलाई आग्रह गरे । ‘तपाईंहरू आवेगमा आउने होइन,’ ओलीको सुझाव छ ।

प्रधानमन्त्रीबाट आफ्नो राजीनामाबारे यस्तो छ ओलीको भनाइ

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना हातमा केही पनि नरहेको थाहा पाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।

आज (शनिबार) भक्तपुरस्थित गुण्डुमा युवा संघले आयोजना गरेको दशैं विषेश शुभकामना कार्यक्रममा उनले २३ र २४ भदौको घटानाबारे जानकारी गराउँदै यस्तो बताएका हुन् । ‘जब मेरो हातमा केही पनि रहेन भन्ने थाहा पाएपछि मैले राजीनामा गरेको हुँ । त्यसपछि तोडफोड, आगजनी अनेक घटनाहरू घटे’, ओलीले भने ।

उनले २३ गते गोली कसरी चल्यो भन्नेमा आफू आश्चार्यमा रहेको बताएका छन् । ‘गोली कसरी चल्यो ? गोली चल्ने तहमा कसरी पुग्यो मैले सोधेको छु’, उनले भने, ‘पछि मैले सुने १४ जनाको निधन भइसक्यो ।’ उनले गोली प्रहरीले खुट्टा मुनी हान्नुपर्ने भए पनि टाउको र छातीमा ताकिताकि हानिएको भन्दै त्यसबाट पनि आफू आश्चार्यमा रहेको बताए ।

‘मैले सुनेको छु टोउकोमा गोली लागेको छ । म सोच्दैछु यस्तो किन भइरहेको छ । कसरी रोक्न सकिन्छ यस कुरालाई मैले भन्दैछु’ उनले अगाडि भने ‘देशमा रक्तपात नहोस् भनेर म सोच्दैछु । जसले त्यो उप्रदो मच्चाउँछ त्यसले केपी ओली दोषी भन्ने। त्यस घटनाप्रति म स्तब्ध भएको हुँ ।’

भोलिपल्ट २४ भदौका दिनपनि अघिल्लो दिन जस्तो घटना नहोस् भन्नेमा सचेत रहेको भए पनि त्यसो हुन नसकेको ओलीको दुःखेसो छ । भोलिपल्ट आफ्नो हातमा केही नरहेको थाहा पाएपछि साढे ११ बजेतिर राजीनामा दिएको उनले बताए ।

एमाले यो धर्तीमा छ, बालेनहरूको खेल सफल हुन दिंदैनौं : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै आफ्नो पार्टीले यस्तो काम सफल हुन नदिने दाबी गरेका छन् । आज (शनिबार) भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सावधान, नेकपा एमाले छ, एमाले यो धर्तीमा छ । युवा संघ छ । कांग्रेस छ, लोकतान्त्रिक दलहरू छन् । हामी लोकतन्त्र मार्न दिँदैनौं । हामी संविधान जलाउन दिँदैनौं,’ उनले भने, ‘हामी मुलुक हामी लोकतन्त्र मार्न दिँदैनौं, संसदीय व्यवस्था ध्वस्त बनाउन दिँदैनौं ।’

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को खेल सफल हुन नदिने समेत बताए । ‘हामी नेपालको राष्ट्रियता अपहरण गरेर संयुक्त राष्ट्रसंघका सेनादेखि विदेशीको रणभूमि बन्न दिँदैनौं । हामी जेनजी पुस्तालाई अन्तर्राष्ट्रिय एजेन्ट बनेर उनीहरूको फन्टमा सञ्चालित समूहबाट युवाबाट युवालाई अपराधिक र आतंकवादी बनाउने बालेनहरूको खेललाई सफल हुन दिँदैनौं,’ बस्नेतले भने ।

उनले प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि सिंहदरबार, संसद्, सर्वोच्च अदालत लगायतका भवनहरूमा आगजनी भएको भन्दै देशलाई एम्बुसमा पार्न खोजिएको आरोप लगाएका छन् ।

‘उहाँले जेनजी आन्दोलनको भावना बुझेर २४ गते राजीनामा दिनु भयो । २१ जनाको हत्या भयो । एम्बुलेन्सबाट गोली चलाइएको छ । स्कुल ड्रेस लगाएकाले गोली हानेका छन् । नेपाल प्रहरीसँग मिल्छाजुल्दा हतियार बरामद भएको छ,’ बस्नेतले भने, ‘१४ हजार बढी कैदी भगाइएको छ । हजारौं प्रहरीका हतियार लुटिएका छन् । केपी ओलीले राजीनामा दिनु अघिसम्म सिंहदरबार जलेको थिएन, सर्वोच्च जलेको थिएन, संसद् जलेको थिएन । जब उहाँले राजीनामा दिनुभयो त्यसपछि जलाइयो । नेपाललाई एम्बुसमा पार्न खोजियो ।’

ओलीको प्रश्न : पासपोर्ट रोक्ने रे, यो ‘हाहुँ’ सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नबनेको दाबी गरेका छन् ।सत्ताच्युतपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्की नेतृत्वको सरकार तोडफोड र आगजनीबाट बनेको आरोप लगाएका छन् ।

उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस् । अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस् । हामी कुनै षड्यन्त्र गर्दैनौं । हामी सबै पारदर्शी ढङ्गबाट गर्छौ ।’

उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको जिकिर गरेका छन् । उनले भने, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दैछु । के ठानेको छ । यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेका छौं ? हामीले यो देश बनाउनु पर्नेछ । फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौं ।’

अध्यक्ष ओलीले देशको अर्थतन्त्र असहज अवस्थामा गुज्रिएको बेला एमालेको सरकार बनेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र सबल भएको र विकासका कामले तीब्रता पाएको दाबी गरेका हुन् ।

उनले सुशासन र विकासमा एमालेले ध्यान केन्द्रित गरेको उल्लेख गरे । उनले मनमोहनको पालादेखि २०७४ र अहिले पनि सरकारमा जाँदा धेरै राम्रा काम गरेको बताए । पूर्व प्रधानमन्त्री ओलीले भ्रष्टाचार उन्मूलन नभए पनि आफ्नो पालामा भ्रष्टाचार नियन्त्रण भएको दाबी गरे । उनले जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरामा सदैव जोड दिएको बताए । उनले देशभक्ति र देशको पक्षमा बोल्दा झोले भन्ने ट्रेन चलाइएको भन्दै आपत्ति जनाए । उनले राष्ट्रको हितको पक्षमा उभिदा विरोधीहरु सल्बलाएको धारणा राखे ।

अहिले देशको पक्षमा बोल्यो कि झोलेको ट्रेन्ड चलाइन्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जनताबाट नभएर तोडफोड र आगजनीबाट बनेको टिप्पणी गरेका छन् । जेन–जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक मञ्चमा उभिएका ओलीले यो सरकार असंवैधानिक रहेको टिप्पणी गरे ।

उनले सत्तामा गएदेखि आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको र अरूलाई पनि गर्न नदिएको दाबी गरेका छन् । उनले सरकारमा हुँदा देश र जनताको लागि सकारात्मक काम गरेको उल्लेख गर्दै ती कामलाई प्रचार गर्न अहिलेको सरकारलाई आग्रह गरे ।

उनले आफू सरकारमा हुँदा गरेका सबै कामको रेकर्ड यथावत रहेको पनि बताए । अध्यक्ष ओलीले देशका पक्षमा बोल्नेलाई झोले आरोप लाग्ने गरेको दाबी गरेका छन् ।

भक्तपुरको गुन्डुमा पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको दशैँ भेटघाट कार्यक्रममा उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारका झुट भ्रमहरु फैलाइएको छ । कसैले देशका पक्षमा बोल्यो कि झोले भनेर ट्रेन्ड चलाइ दिने गरिएको छ । कसैले देशको पक्षमा बोल्यो भने झोलेको आरोप लगाइन्छ ।’

 

पूर्व पदाधिकारीले गैरकानुनी सुविधा फिर्ता गरे–नगरेको हेर्दैछौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कानुनले नदिएको सुविधा जबरजस्ती उपभोग गरिरहेका पूर्व पदाधिकारीले सुविधा फिर्ता गरे नगरेको अर्थ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको जानकारी दिएका छन् ।

आज (शनिबार) सामाजिक सञ्जालमा लेख्दै उनले यो कुरा बताएका हुन् । उनले लेखेका छन्, ‘कानुनले नदिएको सुविधा जबरजस्ती उपभोग गरिरहनु भएका पूर्व पदाधिकारीले सुविधा फिर्ता गरे नगरेको अर्थ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको छ ।’

ओलीले राजीनामा नदिँदासम्म देश जोगिएको थियो, दिएपछि ध्वस्त पारियो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनकै लागि मात्रै देशमा ध्वंस मच्याइएको दाबी गरेका छन् ।

भक्तपुरको गुन्डुमा आयोजित युवा संघको कार्यक्रमस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि देश ध्वस्त बनाइएको टिप्पणी गरे । उनले भने, ‘भ्रष्टाचारविरुद्ध भनेर जेनजी भाइबहिनीहरूलाई उचालियो । तर त्यहाँ ठुलो अन्तर्राष्ट्रिय चलखेल र खुपिया एजेन्सीहरूको समेत लगानी भएको कुरा भएको छ । केपी ओलीले राजीनामा नदिँदासम्म देश जोगिएको थियो । उहाँले राजीनामा दिएपछि देश ध्वस्त पारियो ।’

उनले २३ गते २१ जनाको हत्या भएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र भोलिपल्ट ५४ जनाको हत्या भएको विषयमा पनि बेग्लै छानबिन हुनुपर्ने बताए । उनले आजको शान्तिपूर्ण र सामान्य भेटघाट मात्र आयोजना गरिएको जानकारी दिएका छन् । उनले भने, ‘अहिलेको मन्त्रीहरूले आफूलाई सेलिब्रेटी भनेर घोषणा गर्दै हिँडेका छन् । त्यो खालको देखिँदैन । जनता केही दिनमै पछुताउने छन् ।’

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कति भए उत्तीर्ण ?

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको उनले जानकारी दिए । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले गत साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरेको थियो ।

बोर्डले नतिजा हेर्न IVR – SMS – USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।

बोर्ड केन्द्रीय कार्यालयको वेबसाइट www.see.gov.np बाट नतिजा हेर्न परीक्षार्थीको सिम्बोल नम्बर, जन्ममिति राखेर ग्रेडसिट हेर्न र डाउनलोड गर्न सकिने जनाएको छ ।

बोर्डले प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्याेग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउनसक्ने व्यवस्था गरेको छ । यही २०८२ असोज १९ गतेदेखि २९ गते साँझ ५ः०० बजेभित्र परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि बोर्डको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्नसक्ने व्यवस्था गरेको उनले जानकारी दिए ।

अमेरिकाको डिभी भर्न अब अनिवार्य शुल्क

काठमाडौं । अमेरिकाले ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी) का लागि आवेदन दिने व्यक्तिले दर्ता शुल्क वापत अनिवार्यरुपमा एक डलर तिर्नुपर्ने नियम ल्याएको छ ।

चिट्ठामार्फत ग्रीनकार्ड प्रदान गरिने ई–डीभी आवेदन दर्ता गर्दा यसअघि अमेरिकी सरकारले शुल्क लिने गरेको थिएन । अब प्रत्येक आवेदकले एक डलर तिर्नुपर्ने नियम अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको छ ।

दर्ताका समयमा विद्युतीय दर्ता शुल्क संकलन गरिने अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा राखिएको विवरणमा उल्लेख छ । दर्ता शुल्क एक अमेरिकी डलर हुने जनाइएको छ । उक्त शुल्क आधिकारिक सरकारी पोर्टलमार्फत् तिर्नुपर्ने बताइएको छ । आफूले तिरेको शुल्क डीभी चिट्ठा नपर्दा अथवा परेर पनि भिसाका लागि आवेदन दिन नचाहेमा फिर्ता नहुने प्रष्ट पारिएको छ ।

एक डलर तिर्न ठूलो कुरा नभए पनि नेपालजस्ता देशका नागरिकले कुन प्रक्रियाबाट बुझाउने भन्ने अन्यौल भने देखिएको छ । अधिकांश नेपालीसँग डलर कार्ड नहुने भएकोले आवेदकहरूलाई व्यावहारिक कठिनाइ हुनेछ । बैंकमार्फत एक डलर तिरेर आवेदन दिने प्रक्रिया झन्झटिलो हुने देखिन्छ । आवेदन भर्ने विभिन्न कन्सल्टेन्सीहरुले यसवापत थप शुल्क लिने सम्भावना पनि उत्तिकै छ ।

बर्सेनि विश्वभरिबाट लाखौँ मानिसले डीभी लटरी कार्यक्रमअन्तर्गत आवेदन दिने गरेका पृष्ठभूमिमा त्यसका लागि ठूलो प्रशासकीय खर्च बेहोर्नुपरेको अमेरिकी सरकारको तर्क छ । त्यसका लागि यो रकम उठाउन लागिएको हो ।

डीभी लटरी कार्यक्रमअन्तर्गत बर्सेनि विश्वभरका साढे दुई करोड मानिसहरूले आवेदन दिने गरेका छन् । यो तथ्यांक हेर्ने हो भने एक वर्षमा अब अमेरिकाले एक डलरका दरले पनि कम्तिमा साढे २ करोड डलर संकलन गर्नेछ ।

 

पार्टी वा नेतृत्वको भविष्य एजेण्डामा निर्भर रहन्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य मुख्यतः स्पष्ट एजेण्डामा निर्भर रहने बताएका छन् । जेनजी आन्दोलनपछि एमालेमा नेतृत्व परिवर्तनको बहस चलिरहेको बेलामा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य मुख्यतः स्पष्ट एजेण्डामा निर्भर रहन्छ’, उनले भनेका छन्, ‘विगतमा असोज १८ मा आलोचित र अस्वीकार्य देखिएको नेतृत्व माघ १९ पछि थप सान्दर्भिक बन्यो । किनभने असोज १८ ताका राजनीतिक दलहरू एजेण्डामा विभाजित र अन्योलग्रस्त थिए । तर माघ १९ पछि उनीहरूले आफ्ना एजेण्डा स्पष्ट पार्दै एकताबद्ध भए ।’

राजनीतिक दलहरू एजेण्डामा एकताबद्ध भएको परिणामस्वरूप जनता सार्वभौम बनेको र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको स्मरण गरेका छन् ।

गृह मन्त्रालयले भन्यो–अन्य पक्षलाई उक्साहट हुने गरी कुनै कार्यक्रम नगर्नू

काठमाडौं । सरकारले अहिलेको अवस्थामा सभा सम्मेलन र विरोधका कार्यक्रम सञ्चालन गर्दा शान्तिपूर्ण र अन्य पक्षलाई उक्साहट नहुने गरी गर्न अनुरोध गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शनिवार विज्ञप्ति जारी गर्दै अहिंसात्मक हुने गरी अन्य पक्षलाई असर नपर्ने ढंगले कार्यक्रम गर्न भनेका छन् । एमाले निकट युवा संघले आज गर्न लागेको दशैं भेटघाटको पूर्व सन्ध्यामा गृह मन्त्रालयले यो विज्ञप्ति निकालेको हो । नेकपा एमाले निकट युवा संघले आज दिउँसो १२ बजे भक्तपुरको गुण्डुमा चियापान तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम गर्दैछ ।

जेनजी आन्दोलनपछि पूर्व प्रधानमन्त्री समेत रहेका ओली औपचारिक कार्यक्रममार्फत पहिलो पटक सार्वजनिक हुन लागेका हुन् । भक्तपुरको गुण्डुमा डेरामा बस्दै आएका ओलीले केही दिनदेखि एमालेका नेता–कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका छन् । भक्तपुरमा युवा संघले कार्यक्रम राखेपछि अहिले भक्तपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दशैंका बेला चिनियाँ नाकामै रोकिए कन्टेनर, नेपाली व्यवसायी मारमा

काभ्रेपलाञ्चोक । नेपालीहरूको पर्व दशैंको मुखमा पनि अरु समय भन्दा कम कन्टेनर चिनियाँ पक्षले छाडेका भन्दै व्यापारीहरूले गुनासो गरेका छन् । पहिरोका कारण यो नाका करिब दुई महिनादेखि अवरुद्ध थियो । बल्लतल्ल नाका खुल्दा पनि चिनियाँ पक्षले कम कन्टेनर छाडेपछि दशैंलक्षित सामान ल्याउन समस्या भएको उनीहरूले बताएका छन् ।

दशैंका लागि सामान हालेका व्यवसायीहरूको कन्टेनरहरू चिनियाँ पक्षले पर्याप्त रुपमा नछाड्दा मारमा परेको गोल्डस्टारका सप्लाई हेड संजीव कर्णले जानकारी दिए । दशैँमा बनाएर बेच्नको लागि ल्याइएको ५० करोड बराबरको कच्चा सामान ल्याउन नपाउँदा ३० दिनदेखि कारखाना नै नचलेको बताउँछन् ।

गोल्डस्टारका सप्लाई हेड कर्णले दशैंको लागि लिएर आएको १७ वटा कन्टेनरमध्ये दुईवटा कन्टेनर मात्र नेपाल भित्रिएको जानकारी दिए । दशैंको लागि भनेर गोल्ड स्टार जुत्ताको कच्चा पदार्थ ल्याएको कन्टेनर चिनमै रोकिएपछि ठूलो मारमा परेको जानकारी दिए ।

‘पहिरोको मारमा परेर अड्किएको सामान अहिले चिनियाँ पक्षले रोक्दा दशैंमा माग भए अनुसारको सामान दिन सकिएन । ५० दिन सडक अवरुद्ध भयो । पाँच दिन लगाएर खुल्यो । त्यसपछि सडकमा जम्मा भएको कन्टेनरहरू पास गराउने काम भयो । तर हाम्रो सामान लिएर आउने पहल भएन’, कर्णले भने, ‘दशैं त बिग्रियो बिग्रियो, तिहारसम्ममा जुत्ता बनाउन सकियो भने अलिकति भरथेग हुन्थ्यो कि भन्ने हो तर सरकारको पहल शून्य भो ।’

संरचनाहरू भए पनि तातोपानी भन्सारको कोर्डिनेसन नपुगेको जस्तो देखिएको बताउँदै उनले तातोपानी भन्सारले नसके चोभार सुख्खा बंदरगाहबाट काम गर्न सकिने बताए । ‘मेरो त कच्चा सामग्री मात्रै हो । तर रेडिमेड तयार भएर आएका कपडा जुत्ता लगायत लत्ता कपडा त्यही रोकिँदा व्यापारीहरुलाई बढी समस्या भएको छ । स्याउ, सुन्तला र आँपमा मात्रै ध्यान दिइएको छ । कतिखेर पानी पर्छ र फेरि रोकिन्छ’, उनले भने ।

नेपाली भूभागमा भएको सामानको कुनै समस्या नभए पनि चिनियाँ भूभागमा भएको कन्टेनर नेपाल प्रवेश नहुँदा समस्या भएको ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरुद्र थापाले बताए । थापाका अनुसार अन्य दिनको तुलनामा कन्टेनरहरूको अनुपात कम भएको जानकारी दिए ।

‘अहिले सिजनल समय हो। यो दशैंको बेलामा रेडिमेड कपडा र फलफूलको माग छ । ५० दिन पहिरोले रोकियो । बल्ल खुलेको बेला रोकिएका जति सबै कन्टेनरहरु आउने अपेक्षा थियो। तर के कारणले रोकियो थाहा भएन’, थापाले भने, ‘एभरेजमा दैनिक ४० वटा कन्टेनर आउनुपर्नेमा अहिले मुस्किलले ७–८ कन्टेनरहरू मात्र आइरहेका छन् ।’

अरू बेलाको तुलनामा बिहीबार चीनबाट कम कन्टेनर आएको तातोपानी भन्सार सिन्धुपाल्चोकका सूचना अधिकारी रमेश शाहले बताए । चिनियाँ पक्षले खासमा निर्माण गर्न लागेको निर्माणका क्रममा ट्राफिक समस्या भयो भन्दै दशैं लक्षित सामग्रीहरू खासामै अड्किएको उनको भनाइ छ ।

यसबारेमा चिनियाँ पक्षसँग कुरा भइरहेको पनि उनले जानकारी दिए । चिनको खासाबाटै ट्रकहरु कम आएको छ, खासामा निर्माण भइरहेको छ, उनीहरुले निर्माण र ट्राफिकलाई देखाएर कन्टेनरहरु रोकेका छन् । हामी पारी नै गएर हेर्‍यौं, हामीले दशैं अगाडि नै सामान पुगेन भने व्यवसायीहरू डुब्छन् भनेका छौं उहाँहरुले ट्राफिकलाई दोष दिएर कन्टेनर रोक्नु भएको छ । सायद शनिबारबाट कन्टेनर छाड़छन् कि ।’

गुण्डुमा युवा संघको दशैं कार्यक्रम, सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेकपा एमाले निकट युवा संघले आज दिउँसो १२ बजे भक्तपुरको गुण्डुमा चियापान तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम गर्दैछ ।

जेनजी आन्दोलनपछि पूर्व प्रधानमन्त्री समेत रहेका ओली औपचारिक कार्यक्रममार्फत पहिलो पटक सार्वजनिक हुन लागेका हुन् । भक्तपुरको गुण्डुमा डेरामा बस्दै आएका ओलीले केही दिनदेखि एमालेका नेता–कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका छन् ।

भक्तपुरमा युवा संघले कार्यक्रम राखेपछि अहिले भक्तपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुर जिल्लाका सबै प्रहरीहरु अहिले गुण्डु केन्द्रीत भएका छन् । काठमाडौंबाट पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली गुण्डु केन्द्रीत भएका छन् ।

युलेन्स स्कुल व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाको राजीनामा

काठमाडौ । युलेन्स स्कुल व्यवस्थापन समितिको अध्यक्षबाट निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले राजीनामा दिएकी छिन् । अभिभावक बैठकमा कांग्रेस नेतृ समेत रहेकी राणाले राजीनामा दिएकी हुन् । काठमाडौं र ललितपुरको दुवै स्कूलबाट उनले राजीनामा दिएकी हुन ।

‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट उहाँले राजीनामा दिनु भएको जानकारी गराइएको छ’, एक अभिभावकले सुनाए । गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ । राणा युलेन्स स्कुल व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन् ।

भौतिक संरचना जलेर नष्ट भएकाले नयाँ ढंगले विद्यालय चलाउने योजना युलेन्सले बनाएको छ । अभिभावक स्रोतका अनुसार युलेन्सले अब अभिभावकबाटै ट्रष्टी छान्ने छ । हाल अनलाइनबाट कक्षा सञ्चालन भइरहेको छ । १० देखि १२ कक्षा र आइबीको कक्षा दशैंपछि फेस टु फेस सञ्चालन गर्ने तयारी छ ।

विद्यालले पूर्णरुपमा फेस टु फेस कक्षा ३–४ महिनाभित्र सञ्चालन गर्ने योजना बनाएको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा युलेन्सका ८३ वटा बसहरू जलाइएका थिए । विद्यालयका एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचरहरू लुटिए वा जलाइए । युलेस फाउन्डेसनका अनुसार खुमलटारस्थित युलेन्स विद्यालयका ५ वटा भवनमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो ।

यस्तै बाँसबारीस्थिति विद्यालयका ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टर पनि ध्वस्त पारिएको युलेन्स फाउन्डेसनद्वारा जारी वक्तव्यमा उल्लेख छ । आन्दोलनबाट विद्यालयमा एक अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको फाउन्डेसनले जनाएको छ । युलेन्समा १ हजार ४ सय ६१ जना विद्यार्थीहरू अध्ययनरत छन् भने ५ सयभन्दा बढी शिक्षक कर्मचारी कार्यरत थिए।

‘३० मुनिका ३०’ को व्यवस्था पार्टी विधानमा ल्याउनु पर्छ : विश्वप्रकाश शर्मा

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधान संशोधनमार्फत रुपान्तरणको थालनी गर्नुपर्ने बताएका छन् । बाराको कलैया र पर्साको बीरगन्जमा शुक्रबार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टिभित्र युवाको प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

उनले पार्टीको आगामी महाधिवेशनबाटै ३० वर्षमुनिका युवाहरू केन्द्रीय समितिमा समेटिने गरी विधान संशोधन गर्नुपर्ने बताएका हुन् । यसलाई उनले ‘३० मुनिका ३०’ अवधारणा भनेका छन् । ‘हरेक क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा ३० मुनिको निश्चित संख्या तोकौं । उनीहरू मात्रै मतदाता र उम्मेदवार रहने गरी ‘३० मुनिका ३०’ लाई केन्द्रीय समितिमा निर्वाचित गर्ने व्यवस्था गरौं,’ महामन्त्री शर्माले भने ।

शर्माले विदेशस्थित जनसम्पर्क समितिबाट पनि केन्द्रमा सहभागिता सुनिश्चित गर्न प्रत्येक महादेशबाट एक-एक जना तथा मध्यपूर्वबाट अलग्गै एक जनालाई केन्द्रीय सदस्य निर्वाचित गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे । उनले देश, लोकतन्त्र र पार्टी नै खतरा परेको बताउँदै पार्टीभित्रको गुटबन्दी रोक्नुपर्ने बताए ।

‘देश, लोकतन्त्र र पार्टी खतरामा परेको बेला भोलि कसैले सोध्यो भने ‘गुट जोगाउँदै थिएँ’ भन्ने उत्तर दिनु पर्ने अवस्था आउनु हुँदैन । गुटको उँटबाट ओर्लेर विवेकको सिँढी उक्लिनुस्, रुपान्तरणको सोच र संकल्प ल्याउनुस्, जेनजी आन्दोलनले खोजेको परिवर्तन हामीबाट सुरु गरौं,’ उनले भने । महामन्त्री शर्मा बारा र पर्सा जिल्लामा हालै भएका तोडफोड र आगजनीको अवस्थाको अवलोकनका लागि शुक्रबार बिहान रौतहट हुँदै कलैया र बिरगंज पुगेका थिए ।

शिक्षामन्त्रीले सच्याए शिक्षकको तलवसम्बन्धी सूचना

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले शिक्षकको तलव रोक्कासम्बन्धी सूचना सच्याएका छन् । विद्यालय प्रधानाध्यापकले शिक्षकहरुको तलब रोकेको भन्दै गरिएको कारबाहीको सूचना मन्त्री पुनले सच्याएका हुन् । उनले यसअघि भोलिसम्म शिक्षकहरुलाई तलब निकासा नगरे प्रधानाध्यापकहरूलाई नियमअनुसार कारबाही गर्ने चेतावनी दिएका थिए ।

तर, शिक्षकलाई तलब प्रअले नभइ पालिकाले दिने जानकारी समेत मन्त्रीलाई नभएको भन्दै आलोचना भएपछि उनले यसअघि सामाजिक सञ्जालमा राखेको आफनो स्टाटस सच्याएका हुन् । शिक्षकलाई तलब कसले दिन्छ भन्ने जानकारी समेत मन्त्रीलाई नभएको भन्दै आलोचना भएपछि उनले दोस्रो सूचना जारी गरेका हुन् ।

दोस्रो सूचनामा उनले भोलिसम्म शिक्षकहरूको तलब निकास नगरेमा सम्बन्धित पालिकालाई कारबाही गरिने उनले चेतावनी दिएका छन् । मन्त्रालयबाट पालिकामा तलब निकासा गरिसकेको बताउँदै तलब रोक्ने पालिकाहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

दशैं–तिहारको अवसरमा पालिकाले तलब निकासा गरि दिएन भनेर केहि प्रअ र शिक्षकहरुको गुनासो आएको बताउँदै मन्त्री पुनले फेसबुकमाफर्त चेतावनी दिएका हुन् । उनका अनुसार शिक्षा मन्त्रालयबाट दशैंअघि नै शिक्षकहरूको तलब सम्बन्धित विद्यालयहरूमा पठाइएको छ । तर पनि केही पालिकाले शिक्षकहरूको तलब जानाजान रोकेको भन्दै उनले आपत्ति जनाएका छन् ।

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ, सास्ती भोग्दै यात्रु

पाँचथर । तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।
पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन थालेको लामो समय भइसकेको छ । एक सय १० किलोमिटर सडकमध्ये हालसम्म ५४ किलोमिटर कालोपत्र नै भइसकेको छ । तर यस सडकमा पर्ने साँवा खोला बाहेक अन्यत्र कुनै पनि खोलामा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा वर्षायाममा अचानक आउने बाढीका कारण सवारीका साधन गन्तब्यमा पुग्न नपाइबीचमै रोकिने गरेका छन् ।
तमोर कोरिडोर सडकको मुलघाट गणेशचोक खण्डको सबैभन्दा उत्तरमा पर्ने हेंवा खोलामा पुल निर्माणका लागि डिजाइन मात्रै बनेको छ । हेंवा खोलामा पुल तथा डाइभर्सन नहुँदा फिदिमबाट छोटो दूरीमा जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका विभिन्न वडा तथा यो बाटो हुँदै ताप्लेजुङ जाने यात्रु मर्कामा परेका छन् । यहाँ ४० मिटर लामो पुल निर्माण गर्नुपर्ने डिजाइन बनेको छ ।
बाढीले हेंवा खोलामा कोरिडोरको करिब एक किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ । यहाँ सडकको मार्ग परिवर्तन गर्नुपर्ने भएकाले पुल निर्माणमा ढिलाइ भएको पुल सेक्टर कार्यालय धरानका प्रमुख सिडिई दीपक झाले जानकारी दिए । तमोर कोरिडोरमा पर्ने बघुवा खोला पुलको ठेक्का स्वामीनारायाण आशिर्वाद जेभीले लिएको छ । जसको अवधि आगामी वैशाक २९ मा सकिने भए पनि काम नै सुरु हुन सकेको छैन । जसको लम्बाइ ४० मिटर रहेको छ ।
स्वामीनारायाण आशिर्वाद जेभीले नै ठेक्का लिएको खम्बुवा खोला पुलमा भने ४० प्रतिशत भौतिक प्रगति देखिएको छ । यहाँ ३८ प्रतिशत वित्तीय प्रगति भएको पुल सेक्टर कार्यालय धरानले जनाएको छ । यस पुलको लम्बाइ पनि ४० मिटर नै रहेको छ ।
सोही निर्माण कम्पनीले ठेक्का लिएको रघुवा खोला पुलमा १५ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख झाले जानकारी दिए । उनका अनुसार यस पुल निर्माणको ठेक्काको अवधि पनि आगामी वैशाख २९ गतेसम्म रहेको छ । यस पुलको लम्बाइ १५० मिटर रहेको छ । बघुवा, खम्बुवा र रघुवा खोला पुलको कूल लागत रु २२ करोड ५२ लाख ७५ हजार ७९० रहेको छ ।
यही असोज २७ गते म्याद समाप्त हुन लागेको छरुवा खोला पुल निर्माणमा हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छभने ४७ प्रतिशत वित्तीय प्रगति भएको छ । यस कार्यको ठेक्का लुम्बिनी–रौताहा–खानी जेभीले लिएको छ । छरुवा खोला नाम जस्तै धेरै भङ्गालो फाटिएको खोला हो । जसमा निर्माणाधीन पुलको लम्बाइ १६५ मिटर रहेको छ । जुन यस कोरिडोरमा निर्माण हुने सबैभन्दा लामो पुल भएको झाको भनाइ छ । यस पुल निर्माणको कूल लागत रु १७ करोड २३ लाख ७९ हजार ५४० रहेको छ ।
पानीको मात्रा ठूलो भएका कारण यात्रुहरूलाई सधैँ दुःख दिइरहेको नावा खोलामा पुल निर्माणको हालसम्म भौतिक प्रगति ३० प्रतिशत मात्रै छ । शर्मा सगुन जेभीले ठेक्का लिएको यो पुल निर्माण सम्झौताको म्याद भने ०८३ साल फागुन १२ गतेसम्म छ । नावा खोलामा निर्माणाधीन पुलको लम्बाइ १५० मिटर रहेको छ । यहाँ पुलका पिल्लर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
तर सोही कम्पनीले सोही समयभित्र सम्पन्न गर्ने गरी ठेक्का लिएका लखुवा खोला र लोरिपा खोलामा भने निर्माणको काम नै सुरु हुन सकेको छैन। लखुवा खोला पुलको लम्बाइ १५० मिटर र लोरिपा खोला पुलको लम्बाइ २० मिटर रहेको छ । लखुवा, लोरिपा र हेंवा खोला पुलको कुल लागत रु ३७ करोड २१ लाख ५३ हजार ६४० रहेको पुल सेक्टर कार्यालयका प्रमुख झाले जानकारी दिए ।
बजेट अभावका कारण आफूहरूले निर्माण व्यवसायीलाई दबाबमा राखेर काम लगाउन नसकेको झाको भनाइ छ । उहाँका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मै निर्माण व्यवसायीले पाउनुपर्ने करिब रु चार करोड रकम अझैसम्म निकासा हुन सकेको छैन । ‘गत आवकै केही रकम हामीले निकासा दिन सकेका छैनौँ’, कार्यालय प्रमुख झाले भने, ‘रकमान्तर भएर बजेट थप गर्ने कुरा थियो । तर भनेअनुसार भएन ।’
बजेट कम भएका कारण कार्यालयले ठेक्का परिचालन गर्ने बजेट उपलब्ध गराउन नसक्दा निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेका हुन् । तर यसको मार भने यात्रुले खेप्दै आएका छन् । विशेषत पाँचथर–धनकुटा सीमावती नावा खोलामा चैतदेखि कात्तिकसम्म पानीको बहाव घटबढ हुने गर्दछ । जसकारण सवारीसाधनको नियमित आवागमन प्रभावित हुने गरेको छ ।
तमोर कोरिडोर सडक योजना कार्यालयका सूचना अधिकारी जयराम अधिकारी सडक बाह्रै महिना सवारी सञ्चालनयोग्य भए पनि पुल निर्माण नहुँदा यात्रुहरूले समस्या भोग्नुपरेको बताउँछन् । ‘सडक त बाह्रैमास सञ्चालन गर्न योग्य भएको छ । अब पुल निर्माणमा ढिलाइ हुनु भएन’, अधिकारीले भने ।

ट्रम्पले नरोकेको भए भारतसँग विनाशकारी युद्ध हुन्थ्यो : पाकिस्तानी प्रधानमन्त्री

न्यूयोर्क । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग युद्ध रोक्न निर्णायक भूमिका खेलेको बताएका छन् । संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै भारत–पाकिस्तानबीच युद्ध रोक्ने श्रेय ट्रम्पलाई जाने बताए ।

ट्रम्पलाई जस दिन भारतले इन्कार गरिरहेका बेला पाकिस्तानका प्रधानमन्त्री राष्ट्रसंघीय महासभामै यो कुरा उठाएर उनलाई नोबेल पुरस्कार दिनुपर्ने बताएका हुन् । ‘यदि अमेरिकी राष्ट्रपति ट्रम्पले भारत–पाकिस्तान तनावमा दखल दिएका नभए युद्धको परिणाम विनाशकारी हुन सक्थ्यो’, शरीफले भने, ‘त्यसैले भारत–पाकिस्तानबीच युद्ध रोक्न ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि योग्य छन् ।’

भारतले पहलगाम घटनालाई राजनीतिक रूपमा प्रयोग गरेको आरोप लगाउँदै शरीफले पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको दृष्टिकोणअनुसार सबै विषय वार्ता र संवादमार्फत समाधान गर्न इच्छुक रहेको बताए । भारतले भने भारत–पाकिस्तान संघर्ष रोक्न कुनै तेस्रो पक्षको भूमिका थियो भन्ने कुरालाई लगातार अस्वीकार गर्दै आएको छ ।

भर्खरै एक अन्तरवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकरले भनेका थिए, ‘धेरै वर्षदेखि यो राष्ट्रिय सहमति छ कि पाकिस्तानसँगका सबै विषयहरू आपसी अर्थात् द्विपक्षीय रूपमा मात्रै समाधान हुन्छन ।’ त्यस्तै भारतले पहलगाम हमलापछि भारतीय सेनाले ‘अपरेशन सिंदूर’ अन्तर्गत पाकिस्तानस्थित नौवटा आतंकवादी शिविर नष्ट गरेको र १०० भन्दा बढी आतंकवादी मारिएको दाबी गरेको छ ।

नेपाल प्रहरीका एसपीहरुको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका केही एसएसपीको सरुवा गरेको छ । जेनजी आन्दोलनमा उपत्यका तीन जिल्लामध्ये काठमाडौं र भक्तपुरका प्रहरी प्रमुख हटाइएपछि ललितपुर प्रहरी प्रमुख पनि फेर्ने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीलाई प्रहरी प्रधान कार्यालय पठाएर ललितपुरमा सीआईबीको आर्थिक अपराध अनुसन्धान महाशाखा प्रमुख होविन्द्र बोगटीलाई पठाइने भएको छ ।

सीआईबीमा कर्णाली प्रदेश प्रहरीबाट शिवकुमार श्रेष्ठ खटाइँदै छन् । जिम्मेवारी हेरफेरको खबर प्राप्त भइसकेको र आफू जिम्मेवारी हस्तान्तरण गर्ने तयारीमा रहेको ललितपुरका एसएसपी अधिकारीले जनाएका छन् ।

पृथ्वी राजमार्गका पेट्रोल पम्पमा पेट्रोलियम अभाव छैन : आयल निगम

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध हुँदा केही दिनयता पृथ्वी राजमार्गअन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले जारी गरेको विज्ञप्तिमा राजमार्गमा रहेका सबै पेट्रोल पम्पहरूमा इन्धन आपूर्ति सहज रहेको र पेट्रोलियम पदार्थको अभाव नरहेको उल्लेख छ । निगमले उपभोक्ताहरूलाई अनावश्यक त्रास नलिन आग्रह गर्दै आपूर्ति प्रणाली नियमित भएको स्पष्ट पारेको छ ।

‘मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारणले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको र अब सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको व्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराउन चाहन्छु’, उनले भने ।

बेपत्ता बालिका मृत भेटिइन्

धनगढी । धनगढीमा बेपत्ता अवस्थामा रहेकी एक बालिका मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको जानकारी दिएका छन् । निर्वस्त्र अवस्थामा भेटिएको शव भन्दा करिब दुई सय मिटरको दूरीमा उनका कपडा भेटिएका छन् ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । परिवारले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

 

स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिंदा दुई युवकको मृत्यु

सर्लाही । सर्लाहीमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही ब्रहम्पुरी गाउँपालिका–२ ब्रहम्पुरी बस्ने वर्ष २३ का अंकित चौधरी र मोटरसाइकलको बीचमा सवार वर्ष २५ का रोहित सहनी छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार शुक्रबार राति ८ बजेको समयमा ब्रहम्पुरी गाउँपालिका–५ स्थित हुलाकी सडक खण्डमा पर्साबाट भेल्ही तर्फ जाँदै गरेको एम.एच ०४ डी.जे. १२९७ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्र.३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भीर र एक जना केहि सामान्य घाइते भएका थिए । स्कारपियो नियन्त्रणमा लिएको र फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तलब रोक्ने विद्यालयका प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले शिक्षकहरुको तलव निकासा नगर्ने प्रधानाध्यापकहरुलाई कारवाहीको चेतावनी दिएका छन् । उनले भोलिसम्ममा पनि शिक्षकहरुको तलब निकासा नगरे नियमअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले तलब निकासा गर्न भोलिसम्मको अल्टिमेटम दिएका छन् ।

मन्त्रालयबाट तलब निकासा गरिसकेको जानकारी गराउँदै तलब रोक्ने प्रअहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । दशैं–तिहारमा पनि कतिपय विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूले शिक्षकहरूको तलब समयमा नदिएको गुनासो बढेको बताउँदै मन्त्री पुनले फेसबुकमाफर्त चेतावनी दिएका हुन् ।

उनका अनुसार शिक्षा मन्त्रालयबाट दशैंअघि नै शिक्षकहरूको तलब सम्बन्धित विद्यालयहरूमा पठाइएको हो । तर पनि केही विद्यालयले शिक्षकहरूको तलब जानाजान रोकेको भन्दै उनले आपत्ति जनाएका छन् ।

‘भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएका शिक्षकहरूको तलब नदिएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति सदस्यहरूलाई नियमअनुसार कारवाही गरिनेछ’, पुनले भनेका छन् । दसैँ तिहार जस्तो ठूलो चाडपर्वमा शिक्षकहरूलाई तलब नदिएर मानसिक तनावमा पार्नु दुःखद भएको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘तलव नखुवाउने प्रअहरुलाई सूचना – दशैं तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर धेरै गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरुमा पठाईसकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलव नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारवाही गरिनेछ ।

मेयर साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा, कुलमानको विरोध

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आज (शनिबार) विहानै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् ।

सामाजिक सञ्जालमा पुनः सक्रिय भएका उनले कार्कीको राजीनामा मागसँगै उर्जामन्त्री कुलमान घिसिङको विरोध समेत गरेका छन् । मोबाइल हराएका कारण केही समय निष्क्रिय रहेका उनले अर्को डिभाइसबाट सामाजिक सञ्जालमा पुनः सक्रियता देखाउँदै एकपछि अर्को स्ट्याटस लेखेका छन् ।

यसबीचमा उनले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागदेखि ऊर्जा मन्त्री कुलमान घिसिङको निर्णयको विरोध गरेका छन् । जेन–जीका माग पूरा गर्न नसकेको भन्दै मेयर साम्पाङले प्रधानमन्त्री कार्कीको राजीनामा मागेका हुन् ।

उनले लेखेका छन्, ‘सुशीलाजी, तपाईंले जेन–जीको मर्मअनुसार काम गर्न सक्नु भएन । राजीनामा दिनुस् । म गर्छु उनीहरूको माग एक–एक गरेर पूरा !’ आफू नेतृत्व लिन र जेन–जीका माग पूरा गर्न सक्षम भएको उनको दाबी छ । उनले अर्को स्ट्याटस लेखेका छन्, ‘अहिलेको सरकारले भ्रष्टाचार छानबिन गर्छ भने सबैभन्दा पहिले प्रधानमन्त्री र मन्त्रीहरू आफैंबाट सुरु गर्नुपर्छ । बिना स्रोतको सम्पत्ति राखेको पाइए पुष्टि भए आफैंलाई हतकडी लगाउने हिम्मत गर्नुपर्छ अनि मात्र अरूतिर लम्कँदा राम्रो होला ।’

त्यस्तै, ऊर्जा मन्त्रीले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन निर्देशक हितेन्द्र शाक्यलाई हटाएको कुराको पनि उनले विरोध गरेका छन् । उनले लेखेका छन्, ‘हितेन्द्रलाई निकाल्नु भन्दा पनि देश र जनताको लागि कजाउनु पर्ने थियो । यस्तो प्रतिशोधको भावनाले निको गर्दैन । हामी बदला होइन बदलावको पक्षमा उभिनु पर्छ । गलत चाल कुलमानजी ।’ अर्को प्रसङ्गमा उनले मेरो मोबाइल खोल्ने बित्तिकै चोर्ने व्यक्ति पक्राउ पर्ने चेतावनी दिँदै तत्काल फिर्ता गर्न अनुरोध पनि गरेका छन् ।

दुई पटकको विश्वकप विजेता वेस्ट इण्डिजसँग खेल्दै नेपाल

काठमाडौं । नेपाल आज (शनिबार) आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक टेस्ट राष्ट्र वेस्ट इण्डिजविरुद्ध खेल्दैछ । नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल्न लागेको हो ।

संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिलो पटक दुई पटकको विश्वकप विजेता टोली वेस्ट इण्डिजसँग ऐतिहासिक खेल खेल्न लागेको हो ।

त्यस्तै नेपालले आफ्नो दोस्रो खेल यही असोज १३ गते खेल्ने छ भने तेस्रो खेल १४ गते खेल्नेछ । यस सिरिज खेलेर नेपाली टोली आइसिसी टी ट्वान्टी विश्वकपको एसिया तथा इष्ट एसिया पेसिफिक छनोट खेल्न ओमान जाने तालिका रहेको छ । उक्त प्रतियोगिताको तयारी स्वरूप नै नेपालले वेस्ट इण्डिजसँग खेल्न लागेको हो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ सेख छन् । त्यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन् ।

यता अकिल होसेनको कप्तानीमा रहेको वेष्ट इन्डिज टोलीमा भने फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकिम अगस्ट, नभिन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे र जेसन होल्डर छन् । त्यस्तै अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर जस्ता खेलाडी रहेका छन् ।

अन्तरिम सरकारका अर्थमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले आफ्नो पहिलो विदेश भ्रमण अमेरिकाको गर्ने भएका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन मन्त्री त्यता जान लागेको स्रोतले जनाएको छ । हिजो बसेको क्याविनेटले उक्त भ्रमण स्वीकृत गरिसकेको छ । मन्त्री खनालको भ्रमण मितिबारे भने खुलाइएको छैन । उनीसँगै अर्थ सचिव घनश्याम उपाध्याय पनि अमेरिका जाने बताइएको छ ।

सोमबार बसेको क्याविनेटले राष्ट्र र सरकार प्रमुखको हकमा दश अनि मन्त्री तथा अन्य उच्च पदस्थ व्यक्तिको हकमा तीन जनाको प्रतिनिधिमण्डल मात्रै विदेश भ्रमणमा जान पाउने कार्यविधि बनाएको थियो । अर्थमन्त्री खनालको अमेरिका भ्रमणमा सचिव उपाध्याय र एक सुरक्षाकर्मी सहभागी हुने बताइएको छ । त्यस्तै बिहीबारको क्याविनेट बैठकले संयुक्त राष्ट्रय संघको खाद्य तथा कृषि संगठनमार्फत प्राप्त हुने २२ लाख ४२ हजार अमेरिकी डलर र संयुक्त राष्ट्रसंघकै पुँजी विकास कोषबाट प्राप्त हुने ४१ लाख ९० हजार बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रचण्डले भने–अब म माओवादीको अध्यक्ष रहिनँँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न भएको दावी गरेका छन् । बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न गरेका छौं । अब म अध्यक्ष रहिनँ, महाधिवेशन आयोजक कमिटीको संयोजक भएँ ।’

माओवादीले आज केन्द्रीय कमिटी भङ्ग गरेर महाधिवेशन घोषणा गरेको छ । महाधिवेशन मंसिरको अन्तिमसम्म गर्ने गरी अध्यक्षलाई संयोजक तोकिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

हेर्नुस् माओवादी केन्द्रको सातौं पूर्ण बैठकका निर्णय

–केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने ।
–पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने ।
–नेपोटिज्म (नातावाद, आफन्तवाद) बारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने। संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने ।
–जेनजीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।
–आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने ।
–अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई त्यसमै समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।
–विभिन्न विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने ।

प्रचण्डको प्रस्ताव पारित, नारायणकाजी र जनार्दनको फरक मतबारे के भयो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा पेस गरेको प्रस्ताव पारित गरेको छ । आज (शुक्रबार) सकिएको केन्द्रीय कमिटी बैठकले प्रचण्डको प्रस्ताव पारित हो । बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्तावलाई पनि समेट्ने र महाधिवेशनसम्म छलफल गर्दै जाने निर्णय गरेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले जानकारी दिए ।

श्रेष्ठले अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न भन्दै आफूलाई कार्यवाहक दिन माग गरेका थिए भने शर्माले प्रचण्डसहित सबै पदाधिकारी आगामी महाधिवेशनबाट नेतृत्वमा नआउने गरी सामुहिक राजीनामा दिनुपर्ने प्रस्ताव अघि सारेका थिए ।

सबै नेताको सम्पति छानबिन गरी सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनु पर्ने आवश्यकता औँल्याएका छन् । ‘अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नु पर्छ,’ प्रचण्डले भने ।

संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो । बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन दिएका छन् ।

‘आगामी केन्द्रीय कमिटीमा जेनजीको अधिकतम प्रतिनिधित्व हुन्छ’
अध्यक्ष ‘प्रचण्ड’ ले आगामी केन्द्रीय कमिटीमा जेनजी उमेर समूहको अधिकतम प्रतिनिधित्व गराउने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि शुक्रबारदेखि बसेको माओवादी केन्द्रीय कमिटी बैठकमा युवाहरूलाई निर्णायक तहमा ल्याउनु पर्नेमा नेताहरूले जोड दिएका थिए । ‘जेनजीलाई आगामी केन्द्रीय समितिमा अधिकतम प्रतिनिधित्व गर्न अहिलेदेखि तयारी गरिनेछ’ प्रचण्डले भने, ‘सक्रिय र क्षमतावान जेनजीहरू केन्द्रीय कमिटीमा आउने छन् ।’

छायाँमा परेका ‘जेनजी’ अभियन्ता मिराज ढुङ्गानाले भेटे प्रधानमन्त्री

काठमाडौं । ‘जेनजी’ आन्दोलन ‘हाइज्याक’ भएको टिकाटिप्पणी चलिरहेका बेला सुरुताका अभियानमा सक्रिय मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् । उनले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका हुन् । सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनको गृहकार्य हुँदैगर्दा मिराज केन्द्रमा देखिएका थिए । तर, आन्दोलनको अघिल्लो दिन दुर्गा प्रसाईंलाई उनकै निवासमा गएर भेटेपछि उनी विवादित बने । उनले आफू प्रसाईंलाई आन्दोलनमा नआउनु भनेर सम्झाउन गएको प्रष्टिकरण दिएका थिए ।

जेनजी आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुमति लिनेहरुमध्येमा मिराज पनि एक थिए । तर, आन्दोलन र सरकार निर्माणमा उनी नदेखिएपछि उनको खोजी शुरु भएको थियो । ढुङ्गाना जेनजी आन्दोलनमा भने सहभागी नै भएनन् । आफू २३ र २४ भदौमा सडकमा ननिस्किएको उनले एक अन्तरवार्तामा बताएका छन् । केही युवाहरुले आफू आएमा विरोध गर्ने भनेर ‘थ्रेट’ दिएकाले नगएको उनको भनाइ छ ।

अन्तर्वार्ताका क्रममा उनले त्यस दिन उनी आफ्नै व्यवसायमा व्यस्त रहेको बताएका छन् । उनको फुलको व्यवसाय गर्छन् । आन्दोलनपछि एकाएक सुधन गुरुङ जेनजी लिडर बनेर बाहिरिएका थिए । सैनिक हेड क्वार्टरदेखि शीतल निवाससम्म गुरुङकै चहलपहल चल्यो र सरकार निर्माणमा पनि उनकै हात रह्यो । अहिले पनि बालुवाटारदेखि शीतलनिवाससम्म उनको पहुँच छ । तर ढुङ्गाना भने ओझेलमा परेका थिए । सुधनले जेनजी आन्दोलन हाइज्याक गरेको आरोप लाग्दै आएको छ । ढुङ्गाना आन्दोलनमा नदेखिएपछि उनको खोजी भयो । उनले आफूलाई धाकधम्की आएको प्रष्टीकरण दिए । अहिले भने उनी फेरि बाहिर देखिन थालेका छन् । यही सिलसिलामा उनले प्रधानमन्त्री कार्कीसँग भेटेका हुन् ।