`

नयाँपुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔं : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधिलाई अघि बढाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका हुन् ।

मनन गर्नुपर्ने कुरा भन्दै उनले नयाँ पुस्ताको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंशको भने विरोध गर्नुपर्ने बताएका छन् । ‘नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौं । त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गरौं,’ महासचिव पोखरेलले भनेका छन्, ‘नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ । जनतासँगको सम्बन्धलाई जिवन्त र घनिष्ठ बनाऔँ ।’

उनले जनपक्षीय जीवनशैली र आचरणमा जोड दिनुपर्ने पनि बताएका छन् । ‘आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पंक्तिको मनोबल उच्च बनाऔँ । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ,’ महासचिव पोखरेलले भनेका छन्, ‘लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ ।’

नयाँ बसपार्कमा दशैंको टिकट काट्ने यात्रुको घुइँचो

काठमाडौं । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस बिदा भएपछि विद्यार्थी गृह जिल्ला जान थालेका छन् ।

नयाँ बसपार्कमा सञ्चालित लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्न थालेको बताए । यातायात व्यवस्था विभागमा मङ्गलबार बसेको सरोकार भएका निकायको बैठकले यसवर्ष दशैँका लागि अग्रिम टिकट नखोल्ने निर्णय गरेको छ ।

मल्लले यसअघि दैनिक चारदेखि पाँच हजार यात्रु बसपार्कबाट बाहिरिने गरेकामा अहिले सो संख्या बढेर १२ देखि १५ हजार पुगेको जानकारी दिए । उनका अनुसार जेनजी’ का प्रदर्शनका कारण अवरुद्ध बनेको सार्वजनिक यातायाता सञ्चालनमा आएपछि उपत्यका छोडेर गृह जिल्ला जानेको संख्या ६५ हजार भन्दाबढी पुगेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँ बसपार्कमा अहिलेदेखि यात्रुको भीड लाग्न थालेकाले यसवर्ष दसैँमा गृहजिल्ला जाने यात्रुको संख्यामा कमी आउन सक्ने अनुमान गरे । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । सरकारले दशैँको समयमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने उद्देश्यले यही असोज ६ गते (घटस्थापना) देखि असोज २२ गतेसम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको छ । रासस

सहकारीमा काम गर्ने युवतीको शव जंगलमा फेला, बलात्कारपछि हत्याको आशंका

खोटाङ । खोटाङमा एक युवतीको शंकास्पद अवस्थामा शव भेटिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे निवासी रविन परियारकी पत्नी २५ वर्षीया रेश्मीका शिवा परियारको शव स्थानीय जंगलमा शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

रेश्मिका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन् । ‘भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा उनको शव भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले सुनाए, ‘उनको शव पोष्टमार्टमको लागि घोपा क्याम्प धरान पठाइएका छौँ ।’

रेश्मिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका स्थानीयको छ । तर, प्रहरीले भने यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । ‘शंकास्पद अवस्थामा शव फेला परेको छ । थप विवरण पोस्टमार्टम रिपोर्टपछि खुल्छ,’ उनले भने, ‘हामी घटनाको विस्तृत अनुसन्धानकै क्रममा छौँ ।’ इन्सपेक्टर मिश्रले घटनाका सम्बन्धमा धेरैसँग सोधपुछ भए पनि अहिलेसम्म कोही पक्राउ नपरेका बताए ।

रेश्मीका कार्यरत कृषि सहकारीका अध्यक्ष सागर तामाङकाअनुसार रेश्मीका आइतबार दिउँसो ४ बजे कार्यालयबाट बाहिरिएकी थिइन् । राति अबेरसम्म पनि उनी घर नपुगेपछि खोजी गर्ने क्रममा आइतबार राति ८ बजेतिर सडकबाट करिब एकसय ५० मिटर तल बाँसघारीमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार रेश्मीको चप्पल सडकमुनि कुनामा भेटिएको थियो । सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

सडक डिभिजनले बिदा गर्‍यो ‘अनावश्यक’ ज्यालादारी कर्मचारी

काठमाडौं । सडक डिभिजन काठमाडौंले आजदेखि पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारीहरूलाई बिदा दिने निर्णय गरेको छ । सार्वजनिक कार्यालयलाई जनताप्रति जवाफदेही र पारदर्शी बनाउने उद्देश्यले पहुँचका आधारमा राखिएका कर्मचारीहरूलाई बिदा दिने घोषणा गरिएको हो ।

डिभिजन प्रमुख सुबोधकुमार देवकोटाकाअनुसार उनीहरुलाई बिदा गर्दा मासिक १५ लाख रुपैयाँ राज्य कोषमा बचत हुनेछ । ‘हामीले सार्वजनिक कार्यालयलाई जनताको नासोको रूपमा जवाफदेही र पारदर्शी बनाउने निर्णय गरेका छौं,’ उनले भने, ‘आज (असोज १ गते) बाटै लागु हुने गरी पहुँचका आधारमा अनावश्यक रूपमा रहेका ज्यालादारी कर्मचारीहरूलाई बिदा दिइएको छ, जसबाट मासिक १५ लाख राज्य कोषमा बचत हुन्छ ।’

डिभिजनले ‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । आगामी दुई दिनभित्र काठमाडौंभित्रका सडकमा रहेका खाल्डाखुल्डीहरूको यकिन विवरण संकलन गरी तीन सिफ्टमा काम गरेर पुर्ने योजना बनाइएको छ ।

‘हामी खाल्डाखुल्डीरहित काठमाडौं बनाउँदैछौं । यसका लागि अभियान नै सञ्चालन गर्छौं । तत्काल कति खाल्डाखुल्डी छन्, त्यसको यकिन दुई दिनभित्र गर्छौं । बिहान, दिउँसो र राति समेत गरेर व्यवस्थित तरिकाले काम गर्नेछौं,’ देवकोटाले थपे, ‘यसका अतिरिक्त हामीले छुट्टै हेल्पलाइन खडा गरी गुनासो सुन्ने पनि तयारी गरेका छौं । उक्त गुनासो तत्काल सम्बोधन गरी त्यसबारे पनि जानकारी दिइनेछ ।’

सडक डिभिजन काठमाडौंले पूर्वाधारको गुणस्तर सुनिश्चितताका लागि पनि महत्वपूर्ण कदम चालेको छ । डिभिजन मातहत रहेको इन्जिनियरिङ प्रयोगशालालाई अपग्रेड गरी व्यवस्थित गर्ने निर्णय गरिएको छ । आफ्नै प्रयोगशाला उपयोगमा ल्याई गुणस्तर परीक्षण गर्ने र उपलब्ध नभएका परीक्षण प्रणाली पुल्चोक इन्जिनियरिङ क्याम्पसमार्फत् गर्ने तर निजीमा नलैजाने निर्णय भएको छ । सडक सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ । ट्राफिक संकेत चिह्नहरूको मर्मत सम्भार, रोड मार्किङ र जेब्रा क्रसिङका लागि तत्काल बोलपत्र आह्वान गर्ने निर्णय भएको देवकोटाले बताए ।

जेनजी शहीद कुलुङको शव परिवारलाई बुझाइयोे

संखुवासभा । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका संखुवासभा, सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरीर संखुवासभा ल्याइएको छ । नेपाली सेनाको हेलिकप्ट मार्फत् कुलुङको शव आज बिहान ल्याइएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् ।

प्रतिकूल मौसमका कारण कुलुङको शव मङ्गलबार ल्याउन नसकिएपछि विराटनगरमै राखिएको थियो । सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए ।

श्रद्धाञ्जली सभापश्चात् मृतकका आफन्तलाई शव बुझाइएको थियो । सिलिचोङ–३ स्थित लकुवामा कुलुङ जातिको जातीय संस्कारअनुसार कुलुङको अन्त्येष्टि गरिने सिलिचोङ गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । किशोर कुलुङका छोराहरुमध्ये प्रवीन माइला भएको जनाइएको छ । प्रवीनको निधनले सिलिचोङसहित संखुवासभामा शोकमा ढुबेको छ । स्थानीयहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

दुई महिनामा सरकारको बजेट खर्च नौं प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ १५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको हो ।

यस वर्ष कूल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याइएकोमा भदौ मसान्तसम्ममा रु एक खर्ब ८० अर्ब १७ करोड चार लाख खर्च भएको छ । चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा हालसम्म रु एक खर्ब १४ अर्ब १८ करोड ७२ लाख बराबर खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकोमा रु छ अर्ब ३५ करोड ३३ लाख खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख बराबरको वार्षिक विनियोजन रहेकोमा भदौ मसान्तसम्ममा रु ५९ अर्ब ६२ करोड ९९ लाख खर्च भएको छ ।

यही अवधिमा सरकारले वार्षिक लक्ष्यको १० दशमलव ४३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आवका लागि कूल रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा हालसम्म रु एक खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख असुली भएको हो ।

कर राजस्वतर्फ रु १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने वार्षिक लक्ष्य रहेकोमा ११ दशमलव ३५ प्रतिशतअर्थात् रु एक खर्ब ५० अर्ब ४० करोड १३ लाख कर असुली भएको छ । त्यस्तै, गैरकरतर्फ रु एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख असुली गर्ने वार्षिक लक्ष्य रहेकोमा चार दशमलव ६२ प्रतिशतअर्थात् रु सात अर्ब १३ करोड २१ लाख उठेको छ । त्यस्तै, चालु आर्थिक वर्षका लागि रु ५३ अर्ब ४४ करोड ६९ लाख बराबर वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा हालसम्म दुई दशमलव ३८ प्रतिशतअर्थात् रु एक अर्ब २७ करोड ३७ लाख अनुदान उठेको छ ।

जेनजी आन्दोलनका शहीद विनोदका घरमा मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङ जेनजी आन्दोलनका क्रममा शहीद भएका विनोद महर्जनको घरमा पुगेका छन् । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय समेत सम्हाले उनी बुधबार ललितपुरको सुन्धारास्थित महर्जनको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले महर्जन परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेका थिए । जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ ।

सिंहदरबारमा जलाइएका गाडीहरु अन्यत्र व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उनले आज निर्देशन दिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

‘कार्यालयलाई थोत्रो देखाएर राख्नु भएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरुप हुन दिनु भएन, यथासक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका सवारीसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरुप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गरौँ’, मन्त्री घिसिङले भनेका छन् ।

उनले विनासबाट हामी उठ्यौँ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन दिए ।

मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने स्पष्ट गरे । सहरी विकास मन्त्रालयले मातहतका संरचनमा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ ।

‘राष्ट्र रोएको बेला पदमा बस्न अनुचित लागेको’ भन्दै बागमतीका सभामुखकाे राजीनामा

मकवानपुर । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । जेनजी आन्दोलन चर्किदै जाँदा उनले भदौ २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका थिए । आज उनले उपसभामुख अप्सरा चापागाईलाई सम्बोधन गर्दै लिखित पत्र ह्वाट्सएपबाट पठाएका हुन् ।

‘गत भाद्र २३ गते जेन जीको भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरेपछि म अत्यन्त भावविह्ल भएँ । राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्मामा लाग्यो र भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरे’ ।

उनले भनेका छन्, ‘तर प्राविधिक कारणले कानुनी प्रक्रिया पुरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदवाट राजीनामा गरेको छु’, पाठकले राजीनामा पत्रमा लेखेका छन् । प्रदेश प्रमुख, मुख्यमन्त्री र बागमती प्रदेशसभा सचिवालयमा पत्रको बोधार्थ दिइएको छ ।

हेर्नुस् पत्र

पार्टी खोल्ने सुरसारमा बालेन, क–कसले देलान् साथ ?

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनले ल्याएको ‘उलटफेर’ सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पनि आफ्नै पार्टी खोल्नु पर्ने दवाव सिर्जना भएको छ । जेनजी आन्दोलनले नेकपा एमाले र कांग्रेस गठबन्धनको सरकार मात्रै ढालेको छैन देश नयाँ दिशामा समेत ढल्किएको छ । पुराना दलका शीर्ष नेताहरू पाखा लाग्दै छन् नयाँ नेतृत्वको जन्म हुने सम्भावना बढेको छ ।

जेनजी आन्दोलनले ओली नेतृत्वको सरकार ढालेपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ । प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते नयाँ निर्वाचन गर्ने घोषणा गरिएको छ । नयाँ सरकार गठनका बेला अनलाइन भोटिङका आधारमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छन् । अन्तरिम सरकार गठन हुँदै गर्दा जेनजी पुस्ताको पहिलो रोजाइमा मेयर बालिन थिए ।

तर, छोटो अवधिको अन्तरिम सरकारको नेतृत्व गर्न जानु भन्दा पाँच वर्ष सरकार चलाउन नेतृत्व लिने गरी तयारी गर्नेमा मेयर बालेन देखिए । जसका कारण अन्तरिम सरकारको प्रधानमन्त्रीको प्रस्तावमा उनी मौन बसे । तर उनीमाथिको युवाको भरोसा र ‘प्रेसर’ घटेको छैन । बालेनले पाँच वर्ष सरकारको नेतृत्व लिनका लागि उनलाई पार्टी आवश्यक हुन्छ । जुन कुरा बुझेका मेयर बालेन यसैको तयारीमा समेत लागिरहेको उनी निकट स्रोत बताउँछन् । उनी आफैले औपचारिक निर्णय नगरिसके पनि दल खोलेर चुनाव लड्ने निश्चितप्रायः रहेको निकट स्रोतहरु बताउँछन् ।

आवधिक निर्वाचनको समय २०८४ सालमा भएकाले बालेन हतारोमा थिएनन् । चुनावभन्दा ६ महिना जति अगाडि पार्टी घोषणा गरेर झ्वाम्मै होमिने उनको योजना थियो । तर, अप्रत्याशित राजनीतिक फेरबदलले यही वर्ष संघीय संसदको चुनाव हुने भएको छ । आउँदो फागुन २१ गते आमनिर्वाचन हुने घोषणा सरकारले गरिसकेको हुँदा बालेनसँग तयारीका लागि धेरै समय छैन ।

बालेनले नयाँ राजनीतिक दल गठन गर्ने कुरामा दुई मत नभए पनि कहिले घोषणा गर्ने भन्नेमा उनको टिमभित्रै एकमत बनिनसकेको स्रोतले बताउँछ । ‘दल खोलेर चुनाव लड्ने विषयमा सबै सहमत छन्, तर अहिल्यै घोषणा गरिहाल्ने कि केही समय पर्खिने भन्ने दुईवटा कोणबाट बहस भइरहेको छ’, स्रोतले भन्यो ।

बालेनलाई दल घोषणा गरिहाल्न चौतर्फी दबाब बढिरहेको छ । तर, उनको कोर टिमका केही व्यक्तिहरु अहिले ठीक माहोल नरहेको बताइरहेका छन् । बालेनका अनन्य सहयोगी कुमार बेन अझै केही समय धैर्य गर्नुपर्ने पक्षमा देखिन्छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूले प्रतिनिधिसभा विघटनको निर्णयप्रति असहमति जनाउँदै राष्ट्रपति समक्ष निर्णय फिर्ता लिन माग गरेका छन् । तर राष्ट्रपति पौडेलले विज्ञप्ति जारी गर्दै देशले कठिन परिस्थिति पार गर्दै शान्तिपूर्ण निकास पाएको भन्दै आगामी फागुन २१ गतेको निर्वाचन सफल बनाउन सबैमा अपिल गरेका छन् ।

निर्वाचन आयोगले पनि तोकिएकै मितिमा निर्वाचन गराउन तयार रहेको जनाएको छ । यही निर्वाचनलाई लक्षित गर्दै काठमाडौं महानगरका मेयर बालेन शाहले नयाँ राजनीतिक दल गठनको भित्रभित्रै तयारी बढाइरहेको स्रोतको भनाइ छ । उनले ‘हाम्रो नेपाली पार्टी’ लाई नै अगाडि बढाउने तयारी गरेको बताइएको छ । यद्यपि पार्टीको नाम केही परिवर्तन गरिने बताइएको छ । यो पार्टी मूलतः ‘लौरो अभियान’ का कार्यकर्ताहरूबाट सुरु गरिएको हो, जसले अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौंमा बालेन र धरानमा हर्क साम्पाङलाई समर्थन गरेका थिए ।

जेन–जी आन्दोलन र बालेनको समर्थन
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई बालेनले सामाजिक सञ्जालमार्फत खुला समर्थन जनाएका थिए । उक्त आन्दोलन भ्रष्टाचार र ओली सरकारले सामाजिक सञ्जलामा लगााएको प्रतिबन्धविरुद्ध थियो । आन्दोलनकारीहरूले २८ वर्षमुनिका युवाहरूलाई मात्र सहभागी बनाउने नीति अपनाएका थिए, जसले गर्दा ३५ वर्षीय बालेन प्रत्यक्ष सहभागी नभए पनि उनी नै नयाँ नेतृत्वको प्रतीकको रूपमा स्थापित भए । आन्दोलनका क्रममा सरकारी दमनमा परेर पहिलो दिनमै १९ जना आन्दोलनकारीको ज्यान गएको थियो ।

अहिले ज्यान गुमाउनेको संख्या ७२ पुगिसकेको छ । सयौं घाइते छन् । जेन–जीहरूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अगाडि सारे । बालेनले पनि आफू नयाँ दल गठनको तयारीमा रहेकाले कुनै विवादमा नपरेकी कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन सुझाव दिएका थिए, जुन सुझावअनुसार नै सरकार गठन भयो ।

हाल कार्की नेतृत्वको सरकारमा मन्त्रीहरूलाई निर्वाचनमा उठ्न नदिने तर पार्टीमा काम गर्नुपर्ने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ । बालेनको नयाँ पार्टीले भ्रष्टाचार उन्मूलन, रोजगारी सिर्जना र युवा सशक्तिकरणलाई मुख्य एजेण्डा बनाउने बताइन्छ । पार्टीमा धरानका मेयर हर्क साम्पाङ, कुलमान घिसिङ तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ रहन सक्ने बताइएको छ । देशभरका स्वतन्त्र र युवा कार्यकर्ताहरूलाई समेट्ने उद्देश्यसहित पार्टीले आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको साझा प्लेटफर्म बन्ने लक्ष्य राखेको छ ।

जेनजीले ‘भुँइको टिप्छु भन्दा पोल्टाको पनि खस्छ’ भनेर सचेत गराए : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुदलीय लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । उनले निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्नेमा जोड दिँदै यसले लोकतन्त्रको खम्बालाई कमजोर हुन नदिने बताएका छन् ।

भट्टराईले तोकिएकै मितिमा निर्वाचन गराउनका लागि राजनीतिक दलहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता पुराना दलहरूको पुनर्संरचना हुनेमा भने आशंका व्यक्त गरे । भट्टराईले भने, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो । लोकतन्त्रको खम्बालाई हामीले कति पनि कमजोर पार्न दिनु हुँदै । निश्चित मितिमै चुनाव गर्नुपर्छ ।’

पुराना दलहरूमा अझै पनि पुराना नेताहरूकै ‘उकुस–मुकुस’ रहेको उनको भनाइ छ । उनले आगामी दिनमा एउटा बृहत् खालको राजनीतिक पुनर्संरचनाको खाँचो औंल्याए । डा. भट्टराईका अनुसार, २८ वर्षभन्दा मुनिका युवा पुस्ता (जेन जी) ले दबाब सिर्जना गरिरहे राजनीतिक पुनर्संरचना सम्भव छ । उनले यस सन्दर्भमा ‘भुँइको टिप्छु भन्दा पोल्टाको पनि खस्छ’ भन्ने उखानको प्रयोग गर्दै सचेत गराएका छन् ।

वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । यद्यपि, प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधि सभा विघटन गलत भएको बताउँदै आएका छन् । यस अवस्थामा डा. भट्टराईको निर्वाचन समयमै हुनुपर्ने र राजनीतिक पुनर्संरचनाको आवश्यकतासम्बन्धी धारणालाई महत्वपूर्ण मानिएको छ ।

रिक्त २१ जिल्ला न्यायाधीशका लागि खुल्यो विज्ञापन

काठमाडौं । न्याय सेवा आयोगले रिक्त २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुलाएको छ । आयोगको ३१ भदौको बैठकले सूचना जारी गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले संविधानले तोकेको प्रतिशतअनुसार परीक्षाबाट न्यायाधीश नियुक्तिका लागि विज्ञापन गरेको हो ।

आयोगले आन्तरिक खुला ११, खुला ६, महिला १, आदिवासी-जनजाति २ र मधेशी १ जनाको कोटा खुलाएको छ । विज्ञापन खुलाएको ३० दिनभित्र दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दरखास्तका लागि आन्तरिक खुला र खुलाका लागि दुई हजार र थप समावेशीका लागि पाँच सय रुपैया दस्तुर अलग्गै लाग्ने छ । संविधानको धारा १४९मा जिल्ला न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था छ। उक्त धाराको उपधारा १ मा जिल्ला अदालतका न्यायाधीशको नियुक्ति न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशबाट हुनेछ भनिएको छ ।

उपधारा (२)को ‘क’ मा रिक्त जिल्ला अदालतको पदमध्ये २० प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा गरिने उल्लेख छ । उपधारा (ख) मा रिक्त पदमध्ये चालीस प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने भनिएको छ ।

रिक्त पदमध्ये बाँकी ४० प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ताको रूपमा निरन्तर कम्तीमा आठ वर्ष वकालत गरेका, कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित पदमा कम्तीमा आठ वर्ष काम गरेका वा कानूनको अध्यापन, अन्वेषण वा कानून वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर कम्तीमा आठ वर्ष काम गरेका नेपाली नागरिकमध्येबाट खुल्ला प्रतियोगितात्मक परीक्षाको आधारमा नियुक्ति गरिने भनेको छ ।

उपधारा (३) मा उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिमको योग्यता भएका व्यक्तिहरूमध्येबाट संघीय कानुनबमोजिम न्याय सेवा आयोगले लिखित र मौखिक प्रतियोगितात्मक परीक्षा लिई योग्यताक्रम बमोजिम जिल्ला न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्लाई सिफारिस गर्नेछ भनिएको छ ।

संविधानको यही व्यवस्थाअनुसार नयाँ परीक्षाका लागि आयोगले सूचना जारी गरेको हो । विगतमा यसरी लिइने परीक्षामा न्यून संख्यामा उत्तीर्ण हुने अनि परीक्षामा असफल भएकाहरूलाई नै सिफारिस गरेर न्यायाधीश बनाउने कार्य हुदै आएको छ। तर यस पटक पास हुने प्रतिशत घटाइएको छ ।

न्याय सेवा आयोग ऐन २०७३ को दफा १३ लाई केही नेपाल ऐनलाई संशोधन गरेर कम्तीमा ५० प्रतिशत ल्याउनुपर्ने भएकोमा ४० प्रतिशत कायम गरिएको थियो । ५० प्रतिशत उत्तीर्ण राख्दा १६ साउन २०८० लिएको जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा २११ जना परीक्षार्थी सहभागी भए पनि एक जना मात्रै उत्तीर्ण भएका थिए । ठूलो संख्यामा जिल्ला न्यायाधीश रिक्त भएपछि न्याय परिषद्ले परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाहरूलाई नै समावेश गरेर न्यायाधीशको नियुक्ति दिएपछि आलोचना भएको थियो ।

उत्तीर्ण हुन कम्तीमा ५० अंक ल्याउनुपर्ने व्यवस्थालाई परिमार्जन गरी ४० मा झार्न न्याय परिषद्ले सरकारलाई सुझाव पठाएको थियो । न्याय परिषद्को सुझावकै आधारमा केही नेपाल ऐनमा राखेर संशोधन गरिएको थियो । न्याय परिषद्सँग तत्कालीन समयमा अर्को विकल्प नभएको र संविधानले योग्यता तोकेका व्यक्ति परीक्षामा सहभागी भएकाहरू नै भएपछि यस्तो सिफारिस भएको थियो ।

 

जेनजी आन्दोलन : लुम्बिनी प्रदेशमा कति भयो क्षति ?

लुम्बिनी । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न निकायमा भौतिक क्षति पुगेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बुटवलस्थित प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री निवास र बुटवल सम्पर्क कार्यालय पूर्ण रूपमा क्षति भएका छन् भने मुख्यमन्त्री निवासका तीन वटा सवारी समेत नष्ट भएका छन् ।

प्रदेशका निमित्त प्रमुख सचिव लीलाधर सुवेदीका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत दाङमा सात मोटरसाइकल र एक गाडी नष्ट हुँदा आर्घाखाँचीमा सामान्य तोडफोड भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत रुपन्देहीमा एक मोटरसाइकल जलेको र दाङको लमहीमा मन्त्री क्वार्टरका सामग्री जलाइएको छ ।

बुटवलस्थित लेखा नियन्त्रक कार्यालयमा करिब रु ९६ लाख बराबरको क्षति भएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका रुपन्देही, बाँके, दाङका यातायात कार्यालय, भैरहवाको उद्योग निर्देशनालय, दाङको घरेलु तथा साना उद्योग कार्यालय र बाँकेको पर्यटन सूचना केन्द्र पूर्ण रूपमा क्षति भएका छन् ।

त्यसैगरी, स्वास्थ्यमन्त्री निवासमा क्षति भएको छभने ऊर्जा मन्त्रालयअन्तर्गत दाङमा आठ मोटरसाइकल जलेका छन् । वन निर्देशनालय पनि पूर्ण रूपमा क्षति भएको छ । प्रदेश लोकसेवा आयोगमा भवनमा आगजनी र तोडफोड, स्टोर नष्ट, कर्मचारी तथा जनप्रतिनिधिका सम्पत्ति विवरण नष्ट हुनुका साथै छवटा गाडी पूर्ण रूपमा क्षति भएको छ । प्रदेश सरकारको प्रशासनिक परिसर राप्ती उपत्यका देउखुरीको संरचना भने सुरक्षित रहेको छ ।

संसदीय समितिका सभापतिहरूले फर्काउन थाले गाडी

काठमाडौं । संसदीय विषयगत समितिका सभापतिहरूले गाडी फिर्ता गर्न थालेका छन् । प्रतिनिधि सभा विघटन भएपछि उनीहरूले संसद सचिवालयबाट लिएको गाडी फर्काउन थालेका हुन् । प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समिति छ । दुई वटा संयुक्त समिति छ । संयुक्त समितिमा समेत प्रतिनिधि सभा अन्तर्गतका सांसद नै सभापति थिए । १२ विषयगत समितिका सभापतिमध्ये ६ वटा विष्यागत समितिका सभापतिले गाडी फिर्ता गरेका छन्।

सबैभन्दा पहिले पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले गाडी फिर्ता गरेका थिए । त्यसपछि महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले गाडी फिर्ता गरेका छन्। नेकपा एमालेकी सचेतक सुनिता बरालले पनि गाडी फिर्ता गरिसकेकी छन् । अर्थ समितिका सभापति सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुशुमदेवी थापाले गाडी फिर्ता गरेका छन् ।

बाँकी संसदीय विषयगत समितिका सभापतिले औपचारिक रुपमा गाडी वा गाडीको चाबी फिर्ता गर्न बाँकी रहेको संसद सचिवालयको सवारी शाखाले जनाएको छ । कतिपयको गाडी संसद सचिवालयमै रहेको तर, चाबी मात्रै फिर्ता गर्न बाँकी रहेको सवारी शाखाका प्रमुख प्रदीप नेपालले जानकारी दिए ।

राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति इश्वरीदेवी न्यौपाने, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, संसदीय सुनुवाई समितिका सभापति रामहरि खतिवडाको गाडी संसद सचिवालयमै छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेको गाडी पनि संसद सचिवालयमै छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले पनि गाडी बुझाउन बाँकी छ ।

सभापतिका साथै राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकले समेत गाडील सुविधा पाउँछन् । प्रतिनिधि सभा विघटन भएसँगै सबैले गाडी फिर्ता गर्नुपर्ने हुन्छ । सवारी शाखाका प्रमुख नेपालका अनुसार गाडी फिर्ताका लागि सात दिनको समय दिने गरिएको छ । भदौ २७ गते प्रतिनिधि सभा विघटन भएकाले त्यसको सात दिनभित्र संसदीय विषयगत समितिका सभापति र मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकले गाडी फिर्ता गर्नुपर्ने हुन्छ ।

नक्खु कारागारबाट भागेका कैदी सर्लाहीबाट पक्राउ

काठमाडौं । सर्लाही प्रहरीले ज्यानसम्बन्धी मुद्दाका दुई अभियुक्तलाई पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारागारबाट फरार भएका एक कैदी र हत्या कसुरका अर्का फरार अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा मलंगवा नगरपालिका– ७ का ३० वर्षीय फिरोज मंसुर र सर्लाहीकै हरिपूर्वा नगरपालिका– ६ घर भएका २६ वर्षीय सन्तोष भनिने अभिकुमार यादव छन् ।
मसुर भदौ २५ गते नक्खु कारागारबाट कैदीहरू भाग्दा फरार भएर सर्लाही पुगेका थिए । उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमाण्डमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै यादवले गएको साउन ३० गते हरिपूर्वा–६ निवासी ५० वर्षीय रामपुकार यादवलाई गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि उनी फरार भएका थिए। हत्यापछि भारततर्फ भागेका उनी नेपाल आउँदै गर्दा सर्लाहीकै पर्सा गाउँपालिका–३ नारायणपुरबाट पक्राउ परेका हुन् ।

शेयर कारोबार बिहीबारदेखि हुने

काठमाडौं । जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो ।

अवस्था सहज भएपनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै आएको थियो । बोेर्डले मंगलबार पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो । बोर्डको निर्देशनपछि बजार नियमित सञ्चालन हुन लागेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

मन्त्री बन्ने प्रस्ताव मैले नै अस्वीकार गरेको हुँ : भिमार्जुन आचार्य

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले मन्त्री बन्नका लागि आएको प्रस्ताव आफूले अस्वीकार गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै आफू मन्त्री पदका लागि इच्छुक नरहेको स्पष्ट पारेका छन् । आचार्यले क्याबिनेटमा सहभागी भएमा आफूले जीवनभरि वकालत गरेको संविधानको मूल्य र मान्यतामा सम्झौता हुने र आफ्नो बाँकी जीवन त्यसैको जवाफ दिँदैमा बित्ने उल्लेख गरेका छन् ।

‘जीवनभरि संविधानको मूल्यको कुरा गरेँ, आन्दोलनबाट निर्मित सरकारको सीमा निश्चित हुँंदैन । यसो हुन गएमा बाँकी जीवन मेरो जवाफ दिँदैमा बित्ने हुन्छ,’ उनले लेखेका छन् । उनले मन्त्री पदभन्दा आफ्नो व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकता दिएको बताएका छन् । ‘फेरि मेरो चियाको, रियाजको, लेखनको– जमिनको जिन्दगीको आनन्द, खुशी र स्वतन्त्रता कसरी गुमाउ म !,’ उनले भनेका छन् ।

आचार्यले देशलाई आवश्यक परेको बेला सहयोग गर्न सधैँ तयार रहेको तर त्यसका लागि मन्त्री पद नै आवश्यक नभएको धारणा राखेका छन् । यसअघि डा. सन्दुक रुइतले पनि मन्त्रीको प्रस्ताव अस्वीकार गरेका छन् । उनलाई प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा सहभागी भएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले आफू बिरामीको उपचारबाट देशको सेवा गर्ने जवाफ दिएका थिए ।

मन्त्री घिसिङ आज संसद भवन अवलोकनमा जाने, शहीदका परिवारलाई भेट्ने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ आज (बुधबार) बानेश्वरस्थित क्षतिग्रस्त संसद भवन अवलोकन तथा जेनजी आन्दोलनका शहीदका घरमा जाने भएका छन् । मन्त्री घिसिङ अहिले बिहान १० बजे वसन्तपुरस्थित कुमारी मन्दिरमा पूजापाठमा सरिक हुने उनको सचिवालयले जनाएको छ । त्यस लगत्तै उनी आन्दोलनका कारण क्षतिग्रस्त संसद् भवन अवलोकनमा जानेछन् ।

त्यसपछि जेनजी विद्रोहमा शहीद बनेकाका परिवारलाई भेटेर समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । सरकारले आन्दोनलमा मारिएकाहरूको पीडामा आजै राष्ट्रिय शोक घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिएको छ । घिसिङलाई ऊर्जासँगै भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले सिंहदरबार र सर्वोच्च अदालतसँगै संसद् भवनमा पनि तोडफोड र आगजनी गरेका थिए ।

भ्रष्टाचारविरुद्ध जेनजीको नेतृत्वमा यही भदौ २३ र २४ गते काठमाडौँसहित देशका विभिन्न सहरमा भएको प्रदर्शनमा ७२ जना मारिए भने सयौँ घाइते भएका छन् । सरकारका अनुसार आन्दोलनमा मारिएका ७२ जनामध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी छन् । आन्दोलनमा मारिएका युवालाई सरकारले शहीद घोषणा गरेको छ भने पीडित परिवारलाई जनही १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

सरकारले ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने
सरकारले जेनजी प्रदर्शनका क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने भएको छ । सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गर्ने सरकारको योजना छ । सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलत निरीक्षण गर्दै मन्त्री कुलमान घिसिङले सो जानकारी दिएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले मङ्गलबार सिंहदरबारको मुख्य भवन र गृह मन्त्रालयको स्थलगत निरीक्षण गरेका थिए । त्यसक्रममा मन्त्री घिसिङले सहरी विकास मन्त्रालयले संरचनामा पुगेको क्षति एकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जानकारी पनि दिए ।

मन्त्री घिसिङले विनासबाट ‘हामी उठ्यौं’ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालयको परिसरमा आगलागीबाट क्षति भएका सवारी साधन तुरुन्त हटाउने, क्षतिको मूल्यांकन तत्काल गर्ने र ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने बताए ।

 

प्रहरीले भन्यो–सम्पर्कमा नआएका आफन्तबारे जानकारी दिनू

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले सम्पर्कमा नआएका आफन्तबारे जानकारी दिन आग्रह गरेको छ। आन्दोलनका क्रममा जलेका भवनहरूमा मानव अस्थिपञ्जरहरू भेटिएकाले हराएका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनबारे जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

यही भदौ २३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा विभिन्न भौतिक संरचनाहरूको क्षति, तोडफोड र आगजनी भएको थियो ।काठमाडौँ जिल्लाका विभिन्न स्थानमा रहेका भवनहरूको सरसफाइ तथा उद्धारको क्रममा आगोमा जली पहिचान समेत खुल्न नसकेका मानव अस्थिपञ्जरहरू भेटिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।

प्रहरीले प्रेस विज्ञप्ति प्रकाशित गरी विरोध कार्यक्रमपछि हराई, सम्पर्कमा नरहेका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनका सदस्यहरू कोही भएमा प्रहरी कन्ट्रोल नम्बर १००, यस जिल्ला प्रहरी परिसर, काठमाडौँको सम्पर्क नम्बर ९८५१२८३०१२, mpcd [email protected] मा इमेल वा नजिकको प्रहरी कार्यालयमा सो को जानकारी दिन हुन अनुरोध गरिएको छ । जिल्ला प्रहरी परिसरले अस्थिपञ्जरको पहिचानमा सहयोग गर्न समेत सबैलाई आग्रह गरेको छ ।

हेर्नुस् सूचना

स्थगित कक्षा १२ को मौका परीक्षाको नयाँ तालिका सार्वजनिक

काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को संशोधित नयाँ तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार मौका परीक्षा यही असोज ७ गते र ८ गतेका लागि तोकिएको छ ।

७ गते अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ । तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनु पर्नेछ।

यस्तै ८ गते दुवै विषयमा परीक्षा दने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ। यो दिन अनिवार्य अंग्रेजीको परीक्षा भने हुने छैन । अंग्रेजीको परीक्षा पहिलो दिन अर्थात ७ गते नै तोकिएको छ।

हेर्नुस् नयाँ परीक्षा तालिका

सिंहदरबार प्रवेशका लागि जारी सबै पास खारेज, कर्मचारीको बैठक भत्ता कटौती

काठमाडौं । सिंहदरबारमा बसेको सचिवको बैठकले देशको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न २१ वटा निर्णय गरेको छ ।

मंगलबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिव बैठकले सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता खारेज गरेको छ । सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन कार्यालयले गर्ने सबै कार्यक्रमहरू सरकारी भवन तथा हलमा आयोजना गर्न निर्देशन दिएको छ।

सिंहदरबारमा रहेका मन्त्रालय तथा निकायहरूले अनावश्यक रूपमा यस अघि जारी गरेका प्रवेश पासहरू सबै खारेज गर्ने निर्णय गरिएको छ। आवश्यक परेको खण्डमा नयाँ पासहरू उपलब्ध गराइने जनाइएको छ ।

यी हुन् निर्णहरू 

बीपी राजमार्ग आजदेखि २४सै घण्टा खुला

काठमाडौं । यो वर्षको मनसुन सुरु भएपछि जोखिमका कारण रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बीपी राजमार्ग आजदेखि २४सै घण्टा खुला गरिएको छ ।

मनसुन बाहिरिने क्रममा रहेको र दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजना बमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।

कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो । मनसुनमा बाढी–पहिरोको जोखिमका कारण बीपी राजमार्गअन्तर्गत प्रथान बिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलबाट सिन्धुलीको सीमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो ।

यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो ।

मनसुनको समयमा बीपी राजमार्गमा यात्रा गर्नु उच्च जोखिम देखिएकाले राति निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । गत वर्ष असोजको बाढी–पहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो ।

बाढी–पहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा क्षति पु¥याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीको उक्त राजमार्गबाट दैनिक हजारौं सवारीसाधन आवतजावत गर्छन् ।

सचिव बैठकको निर्णय: १० हजार कर्मचारीको दरबन्दी घटाउने

काठमाडौं । निजामती सेवाका सचिवहरूले संघीय तहमा रहेका दरबन्दीहरु २० प्रतिशतले कटौती गर्ने निर्णय गरेका छन् ।

मंगलबार बसेको सचिवहरुको बैठकले मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूमा रहेको दरबन्दी औसतमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो ।

हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेका छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्नेछ ।

यो दरबन्दी मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूबाट घटाइने एक सचिवले जानकारी दिए । यसका लागि आवश्यक प्रस्ताव असोज २० गते भित्र तयार गर्ने निर्णय गरिएको छ ।

मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा सचिवहरूको बैठकले २० असोजभित्र संशोधित दरबन्दी स्विकृतीका लागि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय लिएको छ ।

संघीय तहका कर्मचारीहरुको दरबन्दी कटौती गर्नेजस्तो महत्वपूर्ण नीतिगत विषय मन्त्रिपरिषदबाट हुनुपर्नेमा सचिवस्तरीय बैठकबाट भएको हो । तर संशोधित दरबन्दी स्विकृतीको निर्णय भने मन्त्रिपरिषदबाटै हुनेछ ।

सचिवहरुको बैठकले अनावश्यक देखिएका सरकारी निकाय खारेज गर्ने, गाभ्ने वा हस्तान्तरण गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिवले समन्वय गर्नेछन् ।

राष्ट्रिय किताबखानाको वार्षिक प्रतिवेदन अनुसार, गत आर्थिक वर्षमा संघीय तहमा ५१ हजार ७२६ जना कर्मचारीको दरबन्दी थियो । यदि २० प्रतिशत दरबन्दी कटौती भएमा १० हजार ३ सयको दरबन्दी कटौती हुनेछ । कटौतीको निर्णय कार्यान्वयन भएमा संघीय तहको कर्मचारी दरबन्दी ४० हजारमा सीमित हुनेछ ।

दरबन्दी कटौतीको निर्णय गरेका सचिवहरुले सेवा प्रवाह गर्नुपर्ने कार्यालयमा दरबन्दी रिक्त भए तत्काल पदपूर्ति गर्ने निर्णय समेत गरेका छन् ।

उनीहरुले अहिलेको विषम परिस्थितिमा सार्वजनिक खर्च कटौती गर्न कुनैपनि कर्मचारीले बैठक भत्ता नलिने निर्णय लिएका छन् । अनि राष्ट्रिय स्तरका गोष्ठी, सेमिना र कार्यशालाहरु सरकारी भवन र हलमा गर्ने भनेका छन् । स्थानीय सरकारहरुलाई पनि त्यसै अनुसार व्यवस्था मिलाउन भनेका छन् ।

विश्वकर्मा पूजाका लागि मूर्तिहरू तयार (तस्बिरहरू)

काठमाडौं । भोलि पर्न गइरहेको विश्वकर्मा पूजाका लागि माटोका मूर्ति बनाउने र बेच्ने काम तीव्र रूपमा भइरहेको छ। शिल्पीहरूले मूर्तिहरू तयार पार्दै बजारमा बिक्रीका लागि ल्याएका छन् ।

पूजाको दिन भक्तजनहरूले पूजा र औजारको आराधना गर्छन् । विश्वकर्मा पूजा, हिन्दू परम्परामा देवताका वास्तुकार विश्वकर्मालाई समर्पित पर्व हो, जसमा औजार, कार्यस्थल र मेशिनहरूको पूजा गरेर समृद्धि, सुरक्षा र दक्षता प्राप्त हुने विश्वास गरिन्छ ।

यस पर्वले व्यक्तिहरू र समुदायहरूलाई औजार, मेशिन र दक्ष शिल्पीहरूको महत्त्व स्मरण गराउने अवसर पनि प्रदान गर्दछ ।

पूजा सकिएपछि भक्तजनहरूले मूर्तिहरू विभिन्न खोलामा विसर्जन गर्छन् ।

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरेका हुन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्यको सूचना प्राप्त भएको जानकारी दिए ।

प्रतिनिधिसभा भने यसअघि नै विघटन भइसकेको छ ।

घटस्थापनादेखि २२ असोजसम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला

काठमाडौं । सरकारले दशैंलाई लक्षित गरी घटस्थापनादेखि २२ असोज (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका अनुसार मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ ।

बैठकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णय समेत गरेको विभागले जनाएको छ ।

यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन ६ असोज घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणघाट–काठमाडौैं रुटमा चलाउन नपाउनेगरी निर्णय भएको छ । आयात निर्यातका सवारी साधन भने भन्सार कार्यालय बन्द रहने अवधि बाहेकका दिन यो रुटमा चल्न सक्ने छन् ।

 

 

जेनजी आन्दोलनपछि जनार्दनले फेरि उठाए प्रचण्डको राजीनाको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागेको विषय छलफल हुने भएको छ । प्रचण्डसँग निरन्तर अन्तर संघर्ष गर्दै आएका शर्माले जेनजी आन्दोलनपछि अब पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा गर्नुपर्ने भन्दै १६ बुँदे प्रस्ताव अघि सारेका छन् । शर्माको त्यो पत्रबारे औपचारिक रूपमा पार्टीमा आइनसकेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

माओवादीका उपाध्यक्ष समेत रहेका सापकोटाले नेपाल सुनाए, ‘यो पत्रबारे अहिलेसम्म मलाई थाहा छैन । हो रहेछ भने पनि यो विषयमा संस्थागत रूपमा छलफल हुन्छ । पार्टीको बैठक नबसी मैले व्यक्तिगत रूपमा बोल्न मिल्दैन ।’
शर्माले पार्टीको विशेष महाधिवेशन माग्दै विगत लामो समयदेखि प्रचण्डले नेतृत्व छाड्नु पर्ने कुरा उठाइरहेका छन् । जेनजी आन्दोलनले ल्याएको तरङ्गपछि शर्माले फेरि यो विषय बहसमा ल्याएका हुन् । माओवादीमा प्रचण्डलाई मात्रै होइन कांग्रेसमा सभापति शेरबहादुर देउवा र एमालेमा अध्यक्ष केपी ओलीलाई पनि पछिल्लो समय नेतृत्व छाड्न दबाब बढ्दो छ ।

प्रधानमन्त्रीलाई भारतीय राजदूतले भने–शान्ति र सुशासनका पक्षमा छौं, पुनर्निर्माणमा सघाउँछौं

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ । मंगलबार अपराह्न सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेट गरेका हुन्।भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले नेपालको विकास, पुनः निर्माणमा भारतले सघाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको उनको भनाइ थियो । त्यस्तै बिहीबार प्रधानमन्त्री कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भिडिओ कुराकानीको कार्यक्रम तय भइसकेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए भने अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी हुन् । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरिएको छ ।

कुलमानलाई फेसबुकबाट हितेन्द्रको बधाई

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मन्त्री बनेको दुई दिनपछि कुलमान घिसिङलाई बधाई दिएका छन् । घिसिङ प्राधिकरणकै पूर्व कार्यकारी निर्देशक हुन् । उनले शाक्यलाई अन्यत्रै पदस्थापन गरेर दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्ति पाएका थिए ।

त्यसपछि शाक्य सर्वोच्च अदालत पुगेका थिए । कुलमानलाई पनि निवर्तमान अपदस्थ सरकारले बर्खास्त गरेको थियो । उनी पनि सर्वोच्च पुगेका थिए । तर जेनजी प्रदर्शनसँगै ओली सरकारको बहिर्गमनपछि घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन् । प्राधिकरण ऊर्जा मन्त्रालयको मातहतको निकाय हो । शाक्यलाई नै निर्देशन दिने तहमा घिसिङ पुगे पनि शाक्यले बधाई दिएका थिएनन् । आज बल्ल शाक्यले फेसबुकमा लेखेर बधाई दिएका हुन् ।

‘ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनु भएका श्री कुलमान घिसिङ ज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई छ’, शाक्यले भनेका छन् । सफल कार्यकाल र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना साथै सम्पूर्ण ऊर्जा क्षेत्रको सफलतासहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।’

बडादशैंको टीकाको साइत ११ बजेर ५३ मिनेटमा

काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत रहेको छ। टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनु पर्ने जनाइएको छ ।

२०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ । असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ । असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ ।

कांग्रेसका युवा नेताहरूले मागे सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले आठ निष्कर्षसहित पार्टी सभापति, पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूको राजीनामा मागेका छन् । आज मंगलबार काठमाडौँको नयाँ बानेश्वरमा रञ्जित कर्णको संयोजकत्वमा भएको भेलाले पार्टी केन्द्रीय समिति नै विघटन गर्न भनेको हो ।

यसअघि पार्टीका महामन्त्री गगनकुमार थापाले पार्टी सुधारका लागि नेतृत्वले पद छोड्न तयार भए आफू पनि तयार रहेको बताएका थिए । भदौ २३ र २४ गते भएको जेन्जीको आन्दोलनपछि शीर्ष राजनीतिक नेतृत्व परिवर्तनको कुरा उठिरहेको छ ।

यस्तो छ भेलाको आठ निष्कर्ष
जेनजी युवाहरूको साहसले प्रारम्भ भएको भदौ २३ र २४ गतेको आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाएका वीर नेपाली युवाहरू प्रति पुनः भावपूर्ण श्रध्दाञ्जलि व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं र हाम्रा कलिला युवाहरूमाथि गोली प्रहार गरी ज्यान लिनेहरूमाथि छानबिन गरी संलग्न जो कोहीलाई पनि तत्कालै कारवाहीको माग गर्दछौं ।

पार्टी सभापति शेरबहादुर देउवा र परिवारमाथि भएको भौतिक आक्रमण, लौह पुरूष गणेशमान सिंह निवास, कोइराला निवास, सन्त नेता किसुनजीको आश्रमलगायत देशभर नेपाली कांग्रेसका पार्टी कार्यलयहरू, देशका सार्वजनिक सम्पत्ति र व्यक्तिगत सम्पत्ति माथि तोडफोड, आगजनी र लुटपाटजस्ता कार्यको निन्दा गर्दै यसमा संलग्न जो कोहीलाई पनि तत्कालै कारबाहीको माग गर्दछौं ।
कांग्रेसले अबिलम्ब गर्नुपर्ने प्रमुख सुधारका कार्यहरू

१. नेतृत्वमा नयाँ सोच :

– वर्तमान सभापति, पदाधिकारी र सबै केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिनुपर्ने ।
– वैचारिक रूपमा योग्य, इमानदार र दूरदर्शी व्यक्तिलाई तदर्थ समितिको सभापति बनाउने, पार्टीको विधानअनुसार समयमै महाधिवेशन सुनिश्चित गर्नुपर्ने र आत्माआलोचना गर्दै जनताको घरदैलोमा गई विश्वास दिलाउने ।

२. युवाको सहभागिता :

– ४० वर्ष मुनिका युवायुवतीहरूको कम्तीमा ५१ प्रतिशत सहभागिता सुनिश्चित गर्दै पार्टी केन्द्रीय समितिमा उनीहरूको प्रतिनिधित्व बढाउने ।

३. भ्रष्टाचार नियन्त्रणः
– पार्टीभित्रै भ्रष्टाचार निवारण आयोग गठन गर्ने ,सरकारी निकायसँग सहकार्य गर्ने र २०४६ देखि यताका उच्च पदस्थ नेता र कर्मचारीहरूको भ्रष्टाचार छानबिन गरी राज्यको अधिनमा ल्याउने ।

४. सदस्यता प्रणालीमा पारदर्शिता र प्रविधिको प्रयोगः
– सक्रिय सदस्यता वितरणका लागि स्वतन्त्र र निष्पक्ष समिति गठन गर्ने ।
– सबै तहका अधिवेशनलाई डिजिटल प्रणालीमार्फत पारदर्शी बनाउने ।

५. उम्मेदवारी सम्बन्धमा

८ स्थानीय र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू क्रियाशील सदस्यहरूबाट छनोट गर्ने व्यवस्था लागू गर्ने। एक पटक चुनावमा पराजित भएका व्यक्तिलाई सोही पदमा पुनः उम्मेदवार हुन नपाउने व्यवस्था मिलाउने ।

६. शक्ति विकेन्द्रीकरण र एक व्यक्ति एक पदः
– पार्टी सभापतिको एकछत्र अधिकारलाई विकेन्द्रीकरण गर्दै निर्णय प्रक्रियामा सामूहिक नेतृत्वको अभ्यास गर्ने । एउटै व्यक्तिले पार्टी सभापति र संसदीय दलको नेता दुवै पद धारण गर्न नपाउने व्यवस्था गर्ने ।

७. भातृ–संस्थाको समय सीमाः
– निश्चित समयसीमा भित्र भातृ–संस्थाहरूको अधिवेशन सम्पन्न गर्नु अनिवार्य गराउने र पार्टीले अनावश्यक हस्तक्षेप नगर्ने ।

८. राजनीतिक नियुक्तिमा सुधारः
–राजनीतिक नियुक्तिलाई न्यूनतम बनाउँदै कर्मचारीतन्त्रलाई स्वतन्त्र, पेशागत बनाउने र विज्ञहरू लाई प्राथमिकता दिने साथै विज्ञहरूसहित दीर्घकालीन विकास अवधारणा र योजनाहरू बनाउने ।

सानेपा राखियो कांग्रेसका अग्रज नेताको तस्बिर
नेपाली कांग्रेसका नेताहरुले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त पार्टी कार्यालयको निरीक्षण गरेका छन् ।

मंगलबार सानेपामा रहेको कांग्रेसको केन्द्रीय कार्यालयमा पुगेर युवा नेताहरुले पार्टी कार्यालयको निरीक्षण गरेका हुन् । पार्टी कार्यालयमा नेता–कार्यकताले पार्टीको झण्डाका साथै अग्रज नेताहरुको तस्वीर राखेका छन् । कांग्रेस नेता मीन विश्वकर्माले तोडफोड र आगजनीका कारण पार्टी कार्यालयमा निकै क्षति भएको जानकारी दिए ।

आन्दोलनका क्रममा आफ्नो नेतामाथि भएको आक्रमण भएको सो दिनलाई कांग्रेसले कालो दिनका रुपमा स्मरण गर्ने उनले बताए । उनले छिटै भौतिक रुपमा पार्टीको केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको जानकारी दिए । प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट दलका महत्वपूर्ण दस्तावेजहरू नष्ट हुनुका साथै ठूलो क्षति पुगेको कांग्रेसले जनाएको छ ।

एमालेले काठमाडौंमा १० हजार मानिस उतार्ने, महेश बस्नेतले दिए च्यासलबाट सात सन्देश

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एक-दुई दिनभित्र काठमाडौंमा १० हजार युवाको जुलुस उतार्ने बताएका छन् । उनले एमाले पुरानै अवस्थाका फर्किएको पनि उद्घोष गरेका छन् ।
जेनजी आन्दोलनपछि जलेको पार्टी कार्यालयमा मंगलबार युवा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले दुई दिनभित्र राजधानीमा १० हजार युवाको जुलुस गर्न लागेको बताएका हुन् । ‘भोलि या पर्सीमा हामी काठमाडौंमा १० हजार युवाको जुलुस गर्छौं, के हो एमाले देखाउँछौं,’ बस्नेतले भने ।

एमालेले भन्दै आएको ‘मिसन ०८४’ दुई वर्ष अगाडि सरेको र अब चुनावको तयारीमा लाग्ने उनले बताए । ‘हामी अब पुरानो अवस्थामा फर्कियौं, मिसन ०८४ भनेका थियौं । अब ०८२ मा लाग्यौं,’ बस्नेतले भने, ‘अब हामीले बहुमत ल्याउँछौं । नयाँ सरकार बनाउँछौं ।’ एमाले नेता बस्नेतले जेनजीको आन्दोलन आँधीहुरीको रुपमा दुई दिन आएर गइसकेको बताए । जेनजीको आन्दोलनको आवरणमा अराजक तत्वहरुले पार्टी कार्यालयमा आगजनी गराएको भन्दै ध्वस्त पार्टी कार्यालय अगाडिबाट नेकपा एमाले देशभर सक्रिय भइसकेको बताए । उनले नेता–कार्यकर्तालाई सम्वोधन गर्ने क्रममा सात सन्देश समेत दिएका छन् ।

कार्यक्रममा युवा संघका अध्यक्ष क्षितिज थेबेले जेनजीको नाममा विध्वंस गर्नेलाई कारबाही गर्न माग गरेका छन् । ‘जेनजीको नाममा गरिएका षडयन्त्रको पर्दाफास गर्नुपर्छ,’ उनले भने, ‘अहिले चुनावी अन्तरिम सरकार बनेको छ । समयमै चुनाव हुनुपर्छ । संविधानलाई अपव्याख्या गरेर देशलाई राजनीतिक अस्थिरतामा लैजाने कामको खबरदारी गर्नेछौं ।’ कार्यक्रममा केन्द्रीय सदस्य राजीव पहारीले नेकपा एमालेको कार्यालयलाई जलाएर ध्वस्त पारिए पनि एमालेको आस्था र विचार कसैले जलाउन नसक्ने दावी गरे । नेकपा एमालेका नेता–कार्याकर्ताहरु आज जेनजी आन्दोलनको एक सातापछि केन्द्रिय पार्टी कार्यालय च्यासल पुगेर कार्यक्रम आयोजना गरेका हुन् ।

के भने महेश बस्नेतले ?
१. भोलि वा पर्सी राजधानीमा भव्य कार्यक्रम आयोजना गरी १० हजार बढी मान्छे उतार्ने ।

२. अर्थमन्त्री रामेश्वर खनालले सचिवको सेवा सुविधा अझै लिएकाले मन्त्रीको सेवा सुविधा नलिने स्टन्ट देखाएको आरोप ।

३. प्रधानमन्त्री सुशीला कार्कीले पूर्व प्रधानन्यायाधीशको सेवा सुविधा अझै लिएको आरोप ।

४. कुलमान घिसिङले विद्युत् प्राधिकरणमा हुँदा आफ्नो भाइहरूसँग मिलेर करोडौँ चलखेल गरेको आरोप ।

५. गाईको मासु निर्यात गर्न पाउनु पर्छ भन्दै रिट दर्ता गर्ने ओमप्रकाश अर्याल गृहमन्त्री बनेको आरोप ।

६. शहीदको परिवारबाट एक जनालाई मन्त्री बनाउन चुनौती ।

७. प्रदर्शनमा मृत्यु हुने बाहेक चोर्न जाँदा जलेर मर्नेहरूलाई शहीद घोषणा नगर्न र बरु क्षतिपूर्ति दिन चेतावनी ।

 

 

आगजनीबाट कोशीमा पाँच सय बढी भवनमा क्षति, प्रहरीका ५७ कार्यालय जलाइयो

मोरङ । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शननका क्रममा सरकारी र निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको विवरण संकलन थालिएको छ । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशको मोरङ, सुनसरी झापा, इलाम, उदयपुर लगायतका जिल्लामा बढी तोडफोड र आगजनी भएको थियो ।

प्रदर्शनकारीले गरेको आक्रमणका कारण अधिकांश प्रहरी कार्यालय समेत विस्थापित भएकाले पुनस्र्थापना गरी क्षतिको विवरण संकलन सुरु भएको छ । प्रदर्शन भएको एक साता बित्दा समेत सरकारी निकायहरू विवरण संकलनमै छन् ।आन्दोलनका क्रममा प्रदेशका ५७ वटा प्रहरीका भवनमा आगजनी र तोडफोड भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये २४ वटा भवन आन्दोलनका क्रममा पूर्ण क्षति भएको प्रदेश प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दीपक पोख्रेलले जानकारी दिए ।

उनका अनुसार ३३ वटा प्रहरीका भवनहरूमा आंशिक क्षति पुगेको छ । त्यहाँभित्रका फर्निचर, ल्यापटप तथा कागजपत्रहरुको बारेमा अझै विवरण संकलन भइसकेको छैन । आन्दोलनका क्रममा अराजक समूहले उत्पात मच्चाउँदा ८४ वटा प्रहरीका सवारी साधनमा पूर्णरूपले क्षति पुगेको छ । तीमध्ये ८ वटा हेभी सवारी साधन छन् ।यस्तै प्रहरीले चढ्दै आएको २२ वटा लाइट भ्यान आन्दोलनका पूर्ण रूपमा क्षति पुगेको छ । बाँकी मोटरसाइकल रहेको प्रहरीले जनाएको छ ।प्रदर्शनका क्रममा अराजक समूहको ढुङ्गा मुढा प्रहारबाट कोशी प्रदेशमा ११४ जना प्रहरी घाइते भएका छन् । घाइते भएका मध्ये ६ जनाको अहिले पनि उपचार भइरहेको छ । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक पोख्रेलले भने, ‘घाइतेमध्ये एक जनाको आइसियुमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्ते छ ।’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय भन्दा मुनिका प्रहरीका कार्यालयहरू विस्थापित भएका थिए । प्रदर्शनकारीले आगजनी, तोडफोड र आक्रमण जारी राखेपछि प्रहरीहरू समेत भागेका थिए ।उनले पुनस्र्थापना भई नसके पनि प्रहरीले सबै युनिटबाट सेवा दिन थालेको बताए । उनले भने, ‘विस्थापित भएका सबै प्रहरीहरू सम्पर्कमा आएका छन् । उनीहरूले तत् तत् स्थान र अवस्थाबाट सेवा दिन थालेका छन् । ’

कति सरकारी भवनमा आगाजनी ?
जेनजी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड र आगजनी गर्दा कोशी प्रदेशमा प्रदर्शनका क्रममा ५ सय भन्दा बढी सरकारी भवनमा क्षति पुगेको छ । प्रदेशका विभिन्न जिल्लाहरूमा सरकारी निजी र पाटी कार्यालय गरेर ५ सय भन्दा बढी सरकारी कार्यालयमा क्षति भएको हो ।

झापा मोरङ, सुनसरी, उदयपुर र इलाममा मात्रै ४ सय ३८ वटा सरकारी भवनमा क्षति पुगेको छ । ती मध्ये आधा जसो पूर्ण र आधा आंशिक क्षति भएका हुन् । पहाडी जिल्लामा भएको क्षतिको भने विवरण आई नसकेको प्रहरीले जनाएको छ। प्रदर्शनका क्रममा झापामा मात्रै १०६ वटा भवनहरूमा आगजनी गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार आगजनीबाट १२ वटा स्थानीय तहको भवनमा क्षति पुगेको छ । ती भवनहरूमा आगो लगाइको छ ।

ती भवन भित्र रहेका सामाग्रीमा पुगेको क्षतिको विवरण अहिले सम्म सङ्कलन भइसकेको छैन । प्रदर्शनका क्रममा झापामा मात्रै ५५ वटा वडा कार्यालयमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले सङ्घीय सरकार मातहतमा रहेका १० वटा, प्रदेश सरकार मातहत रहेका ३ वटा भवनमा क्षति पुगेको छ । ती भवनहरूमा आगो लगाइएको छ ।

यस्तै तीन वटा दलको कार्यालयमा समेत आगो लगाइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । आन्दोलनका क्रममा सवारी साधनमा पुगेको क्षतिको बारेमा अझै विवरण संकलन भइसकेको छैन । यसै गरी इलाममा भने २८ वटा भवनमा तोडफोड र आगजनी भएको छ । तोडफोडमा बाट २ वटा स्थानीय तहको भवनमा क्षति पुगेको छ । आगजनी र तोडफोडबाट ९ वटा वडा कार्यालयमा क्षति पुगेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । उनका अनुसार इलाममा तीन वटा पाटी कार्यालय २ वटा सङ्घ संस्थाका भवनमा क्षति पुगेको छ ।

मोरङमा १५५ वटामा क्षति

मोरङमा भने १५५ वटा सरकारी भवनमा क्षति पुगेको छ । कुन अवस्थाको क्षति भएको भने खुलिसकेको छैन । सरकारी कार्यालयमा भएको क्षतिको विवरण सङ्कलनका लागि सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा समिति गठन भएको थियो सो समितिले मोरङमा क्षति भएका सरकारी भवनहरूको विवरण सार्वजनिक भएको हो ।

कोइरालाले मोरङमा सबै भन्दा बढी वडा कार्यालय भवनमा क्षति पुगेको बताए । उनका अनुसार मोरङमा रहेको विभिन्न ५८ वटा वडा कार्यालय,२१ वटा संघीय सरकार अन्तरगतका भवनमा तोडफोड भएको छ ।

प्रदेश सरकार अन्तरगतका १४ वटा १० वटा पालिका भवन, १५ वटा निजी घरमा तोडफोड र आगजनी भएको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । उनका अनुसार ८ वटा पाटी कार्यालय, ४ वटा सङ्घ संस्थाका भवन, ३ वटा व्यापारिक कम्प्लेक्स, १७ वटा सशस्त्र जनपद प्रहरीको भवन र ४ वटा सशस्त्र प्रहरीको भवनमा क्षति पुगेको छ ।

प्रदर्शनका क्रममा सुनसरीमा २४ वटा सरकारी भवनमा पूर्ण रूपमा क्षति भएको छ । १२ वटा व्यक्तिको निजी भवनमा क्षति भएको छ । विभिन्न राजनीतिक दलका ८ वटा भवनमा आगो लगाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ११ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

संसद् पुनर्स्थापना हुने अवस्था छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अब संसद पुनर्स्थापना हुने सम्भावना नरहेको बताएकी छन् । बीबीसी नेपाली सेवासँग एक अन्तर्वार्ताका क्रममा उनले संसद् ‘डिमोरलाइज्ड’ भइसकेको भन्दै अब पुनः स्थापनाको सम्भावना नरहेको बताएकी हुन् । सर्वोच्चले संसद् पुनः स्थापना गर्न पनि सक्छ भन्ने प्रश्नमा उनले भनेकी छ, ‘सर्वोच्च वा कुनै अदालतले बोलेपछि त्यो त माान्नु पर्‍यो । ठिक छ भन्ने नै हो । जबजसम्म काम गर्न पाउँछौँ त्योसम्म हामी गर्छौ । जहाँसम्म मलाई लाग्छ अब संसद् एक्टिभ हुने अवस्था छैन । डिमोरलाइज्ड अवस्थामा छ । दलहरू डिमोरलाइज्छ अवस्थामा छन् । अब निर्वाचन नै प्रमुख कुरा हो ।’

अन्तर्वाताका क्रममा उनले आफ्नो मन्त्रिपरिषद् ११ सदस्यीयसम्म हुने उनले बताएकी छन् । बरु एक व्यक्तिलाई दुई मन्त्रालयको जिम्मेवारी दिएर कम मन्त्रिमण्डल बनाउने तयारी रहेको उनको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यक्तिलाई पनि मन्त्रीपरिषद्मा राख्न सुझाव दिएकोमा आफूले त्यसलाई इन्कार गरेको र गैरराजनीतिक व्यक्तिलाई मात्र मन्त्री बनाउने कार्कीले बताइन् । उनले बरु महिला, आदिवासी, जनजाति, दलित, पिछडिएकोलगायत कलस्टरबाट समावेश गर्ने गरी तयारी भएको समेत बताइन् । उनले ६ महिनामा सकभर निर्वाचन गराइछाड्ने प्रतिवद्धता व्यक्त गरिन् ।

‘६ महिनामा निर्वाचन भएन भने अर्को एक-दुई महिना जाला । हामी सकेसम्म निर्वाचन मिति थप्ने पक्षमा छैनौँ’, उनले भनिन् । युवाहरूको मागअनुसार सुशासन कायम गर्न सरकारले काम गर्ने उनको भनाइ छ । अहिले मानवीय र भौतिक क्षति भएको र उच्चस्तरीय न्यायीक जाँचबुझ समितिको प्रतिवेदनअनुसार सबैलाई कारबाहीको दायरामा ल्याइने पनि कार्कीले बताइन् । उनले मित्र राष्ट्र चीन र भारतसँग सम्बन्ध नबिग्रिएको भन्दै यस अन्तरिम सरकारले पनि मित्रवत सम्बन्ध होस् भन्ने सोचेको बताइन् ।

उनले काम गर्न सक्दिन जस्तो नलागेको बताएकी छन् । ‘वातावरण पाए भने काम गर्न सक्दिनँ भन्ने लाग्दैन । २७ गते राति मेरो सपथ भएको थियो । २८ गते शनिबार थियो । त्यस दिन पनि मैले दिनभर काम गरें । म दिनदिनै काम गर्न सक्छु । अहिले पनि सक्रिय छु । शरीरले गर्न नसक्ने बनाएको छैन’, उनले भनिन्, ‘अर्को कुरा के छ भने मैले राम्राराम्रा व्यक्तिलाई चुनेको छु । ती सबै सहयोगी छन् । उनीहरू पनि म जत्तिकै आफ्नो इज्जत राख्नेमा छन् । रामेश्वरजी, कुलमान, ओम सबै । म आफूलाई भन्दिनँ यिनीहरू त हिरा नै हुन् । यस्ता व्यक्तिको सहयोग छ । तर म सबै कुराको जिम्मा लिन्न नि । उहाँहरू सबैलाई बाँडिदिएको छ । अहिले पनि म खटिरहेको छु । यति खटेपछि भगवानले मलाई बदनाम गराउलान जस्तो लागेको छैन । काम गर्न सक्छु भन्नेमा छु ।’ कार्कीले अबको आउने निर्वाचनमा आफू उम्मेदवार नहुने पनि बनाइन् । निर्वाचन गराएपछि आफू खुला संसारमा पुगेको महसुस गर्ने उनको भनाइ छ ।

 

एमालेका नेताहरु पार्टी कार्यालय च्यासलमा, भने हामी उठ्ने छौँ (भिडियो सहित)

अर्थमन्त्री खनालले गरे आगजनीले ध्वस्त भाटभटेनीको निरीक्षण, मीनबहादुरलाई दिए सान्त्वना

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कोटेश्वरस्थित भाटभटेनीको भवनको अवलोकन गरेका छन् । अर्थ सचिवलाई लिएर उनी खण्डहर बनाइएको भवन अवलोकनका लागि पुगेका थिए । अवलोकनका क्रममा अर्थमन्त्री खनालले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई भेटेर सान्त्वना समेत दिएका छन् ।

अर्थमन्त्री खनालको उपस्थितिले संस्थालाई दृढता र हौसला मिलेको उनले बताएका थिए । ‘उहाँको उपस्थितिले हामीलाई दृढता र हौसला मिलेको छ, जसले हामीलाई अझ सबल भएर अघि बढ्न प्रेरित गरेको छ’, भाटभटेनीले सामाजिक सञ्जालमार्फत् भनेको छ, ‘भौतिक संरचना भत्किन सक्छ, तर भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन । हामी अझ सबल भएर पुनर्निर्माण गर्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं ।’

कम्पनीले विपत्तिका बीच पनि अझ सबल भएर पुनर्निर्माण गर्ने र जनताको सेवामा निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता जनाएको छ । जेनजी आन्दोलनकाक्रममा देशभर रहेका विभिन्न भाटभटेनीमा तोडफोड, लुटपाट तथा आगजनी गरिएको थियो । आगजनीबाट जोगिएका शाखाहरू पुनः सञ्चालनमा आइसकेका छन् । भाटभटेनी केवल पसल मात्र नभएर परिवार समेत रहेकोले अब पुनः उही विश्वास, माया र प्रतिबद्धतासहित सेवा दिन तयार रहेको जनाएको छ ।

न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा हाल्ने ट्रम्पको घोषणा

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको ‘मानहानि र बदनामी मुद्दा’ दायर गर्ने घोषणा गरेका छन् ।

“न्युयोर्क टाइम्सलाई स्वतन्त्र रूपमा झूट बोल्न, धब्बा लगाउन र मलाई धेरै लामो समयसम्म बदनाम गर्न अनुमति दिइएको छ, तर अब त्यो रोकिन्छ १” उनले सोमबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेखेका थिए । मुद्दा फ्लोरिडामा दायर गरिएको जनाइएको छ ।

एएफपीले टिप्पणीका लागि न्युयोर्क टाइम्सलाई सम्पर्क गरेको छ ।

ट्रम्पले उक्त समाचारपत्रलाई ‘रेडिकल लेफ्ट डेमोक्रेट पार्टीको भर्चुअल मुखपत्र’ भन्दै निन्दा गरेका छन् । उनले यसले आफ्नो परिवार, व्यवसाय, ‘अमेरिका फस्र्ट’ आन्दोलन, मेगा अभियान र समग्रमा राष्ट्रबारे झूट बोल्दै आएको आरोप लगाए, तर कुनै प्रमाण भने प्रस्तुत गरेका छैनन्।

गत हप्ता एक समाचार माध्यमले ट्रम्पले यौन अपराधी जेफ्री एपस्टेनलाई दिइएको अश्लील जन्मदिन नोटसम्बन्धी लेखका विषयमा कानूनी कारबाही गर्ने चेतावनी दिएको रिपोर्ट प्रकाशित गरेको थियो । ट्रम्पले भने उक्त नोट लेखेको अस्वीकार गरेका छन् ।

ह्वाइट हाउस फर्किएपछि ट्रम्पले आफ्नो प्रशासनको आलोचना गर्ने पत्रकारलाई बारम्बार गाली गर्ने, पहुँच रोक्ने र मुद्दा दायर गर्ने क्रममा परम्परागत मिडियामाथि आक्रमण तीव्र पारेका छन् ।

एपस्टेनसँगको मित्रताको बारेमा लेख प्रकाशित गरेपछि उनले गत जुलाईमा मिडिया म्यागनेट रुपर्ट मर्डोक र ‘द वाल स्ट्रिट जर्नल’ विरुद्ध कम्तीमा १० अर्ब डलरको मुद्दा दायर गरेका थिए ।

सोही महिना, प्यारामाउन्टले सिबिएस न्युजको ‘६० मिनेट’ कार्यक्रममा चुनावी कभरेजसम्बन्धी ट्रम्पको मुद्दा एक करोड ६० लाख डलरमा सुल्झाएको थियो । ट्रम्पले कार्यक्रमले आफ्नो सन् २०२४ को चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिससँगको अन्तर्वार्तालाई उनको विपक्षमा भ्रामक तरिकाले सम्पादन गरेको आरोप लगाएका थिए ।

युवा संघले अब ‘फिनिक्स’ अभियान चलाउने

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघका अध्यक्ष क्षितिज थेबेले आफ्नो संगठनले अब ‘फिनिक्स’ अभियान चलाउने बताएका छन् । अध्यक्ष थेबेले जेनजीको नाममा तोडफोड र आगजनीको जुन षड्यन्त्रहरु भए तिनको पर्दाफास गरिने बताएका छन् ।

उनले ‘फिनिक्स’ चरा खरानीबाट उडेको उदाहरण दिंदै अब नेकपा एमाले पनि देशभर खरानीबाट उभिएर अगाडि बढ्ने प्रतिवद्धता जनाए । अब देशभरका नवयुवा, डिजिटल युवा एक भएर एमालेलाई बनाउन जुट्ने समेत उनले बताए । एमालेका युवा एमाले मात्र नभएर सिङ्गो देश निर्माणका लागि एकजुट भएर लाग्ने पनि अध्यक्ष थेबेले बताएका छन् ।

जेनजीको आन्दोलन आँधीहुरी जस्तो आयो, गइसक्यो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजीको आन्दोलन आँधीहुरीको रुपमा आएर गइसकेको बताएका छन् । नेकपा एमालेको मुख्यालय च्यासलमा आज आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेता बस्नेले नेकपा एमाले देशभर सक्रिय भइसकेको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताए । युवा संघले आयोजना गरेको यस कार्यक्रमको उद्देश्य दुई वटा रहेको समेत नेता बस्नेतले बताए । उनले आजको यस कार्यक्रमले नेकपा एमालेको पार्टी कार्यालय सरसफाइ र पुनर्निर्माण र देशभर नेकपा एमाले सक्रिय भइसकेको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताए ।

नेता बस्नेतले अहिले भौतिक असुरक्षाको कुनै अवस्था नभएको बताएका छन् । उनले पार्टीको गतिविधिहरु निर्वाध रुपमा सञ्जाल गर्न आश्वान गरिसकेको समेत बताए । आन्दोलनपछि मनोवैज्ञानिक असरहरु छन् कि जस्तो लागे पनि भौतिक रुपमा कुनै असुरक्षाको वातापरण नरहेको नेता बस्नेतले बताएका छन् । जेनजीको आन्दोलन आँधीहुरी जस्तो दुई दिन आएर गइसकेको बताए ।

 

एमालेको कार्यालय जलाए पनि आस्था र विश्वास जलाउन सकिंदैन : राजीव पहारी

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले जेनजीको नाममा केहि अराजक तत्वहरुले एमालेको पार्टी कार्यालयमा आगजनी गरेको बताएका छन् । एमालेको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेको केन्द्रीय कार्यालयसहित देशभरका कार्यालयहरु जलाए पनि नेकपा एमालेप्रतिको आस्था र विश्वास जलाउन नसक्ने बताएका छन् ।

उनले अब एमालेले देशभर जलेका, ढलेका कार्यालय बनाउने मात्र नभई अबको निर्वाचनमा वहुमत ल्याएर सरकार बनाउने समेत दावी गरे । आज देशभरी एमालेलगायत विभिन्न राजनीतिक दलका नेताको घर, सरकारका सम्पति जलाउने काम जेनजीको आवरणमा गरिएको उनले बताए ।