`

प्रविधिको युगसँग जोडिएर अगाडि बढ्न जेनजी पुस्तालाई क्षितिज थेबेको आग्रह

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका अध्यक्षमा क्षितिज थेबेले जेनजी पुस्तालाई अहिलेको प्रविधिको युगसँग जोडिएर अगाडी बढ्न आग्रह गरेका छन् ।

एमालेको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी पुस्तालाई यस्तो आग्रह गरेका हुन् ।

उनले भने “जेनजीको नाममा षड्यन्त्र भयो यस्को पर्दाफास गर्नूपर्छ, अगाडी बढ्नुहोस् हामी तपाईको सुरक्षा गर्छौ, जेनजी पुस्ता प्रविधिको युगसँग जोडिएर अघि बढ्नुहोस्, अब युवा संघले फिनिक्स अभियान चलाउछ,  फिनिक्स चरा खरानीबाट उठेर उडे जसरी फेरि मुलुक बन्छ ।  राष्ट्रिय युवा संघ फिनिक्स अभियान लिएर आएको छ । यो खरानीबाट फेरि मुलुक बनाउन सुरु गर्ने छौँ । फेरि यो देशलाई समृद्ध नेपाल, सुखि नेपालीको आकांक्षा पुरा गर्न जुरुक्क उठ्ने छौँ ।”

क्षेबेका अनुसार जलेर खरानी भएका संरचनाहरु पुन:निर्माण गर्न देशै भरिका युवाहरु प्रविधिमार्फत श्रमदानमा जोडिएर योगदान पुर्याउन विश्वास व्यक्त गरे । साथै उनले पार्टी र संगठनलाई जुरूक्क उठाउन देश भरबाट लाग्नु पर्ने संकल्प गरे ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नेकपा एमालेको केन्द्रय कार्यालय च्यासलमा आगलागी हुँदा पार्टी कार्यालय खण्डहर बनेको छ । सोही खण्डहर बनेको कार्यालयको प्रांगणमा एमालेका नेता तथा कार्याकर्ता भेला भएर फेरि अगाडी बढ्ने प्रतिद्धता जनाए ।

 

प्रधानमन्त्री कार्की र समकक्षी मोदीबीच आज कुराकानी नहुने, राजदूतले भेट्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज कुराकानी नहुने भएको छ । मोदीका तर्फबाट भारतीय राजदूत कार्कीलाई भेट्न आजै सिंहदरबारमा जाने भएका छन् । भेटघाट दिउँसो ४ बजेका लागि तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्न भारतीय राजदूतले प्रधानमन्त्री कार्यालयमा समय लिएका छन् ।

यसअघि आज सवा ३ बजे प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भिडिओ कन्फरेन्समा कुराकानी गर्ने तय भएको थियो । गृह मन्त्रालय भवनमा रहेको अहिलेको प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट भिडिओ कुराकानी गर्ने तयारी थियो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मोदीसँग बिहीबार कुरा हुने तय भएको छ । कार्कीको शपथ ग्रहणलगत्तै राति नै भारतको विदेश मन्त्रालयले सबभन्दा पहिला बधाई र शुभकामना दिएको थियो । पछि भारतीय प्रधानमन्त्री मोदीले मणिपुरको एक सम्मेलनमा बोल्ने क्रममा नेपालको उदाहरण दिएका थिए ।

इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी

एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मङ्गलबार गाजा सहरमा ‘हमासको सैन्य पूर्वाधार नष्ट गर्न’ व्यापक अपरेसन सुरु भएको घोषणा गर्दै बासिन्दाहरूलाई दक्षिणतर्फ सर्न चेतावनी दिएको छ ।
यो घोषणा सेनाका प्रवक्ता अविचे अद्राईले गरेका हुन्। यसअघि रक्षामन्त्री इजरायल काट्जले ‘गाजा जलिरहेको छ’ भनेका थिए ।
अपरेसनले इजरायल–हमास युद्धलाई थप तीव्र बनाएको छ र हप्तौँको कूटनीतिपछि पनि युद्धविराम सम्भावना अझ टाढिएको छ ।
– बन्धक परिवारको विरोध –
गाजामा अझै बन्धक रहेका परिवारहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवास अगाडि भेला भई अपरेसन रोक्न माग गरेका छन् । कतिपयले पाल हालेर घरबाहिर रातभरै विरोध प्रदर्शन गरे ।
“मेरो एउटै चासो छ–मेरो छोरा मतानलाई बाँकी ४७ बन्धकसँग फर्काइयोस् र हाम्रा सैनिकहरू सुरक्षित घर फर्कून्”, आमा इनाभ जाङ्गाउकरले चिच्याउँदै भने ।
इजरायलको विश्वास अनुसार ४८ बन्धकमध्ये करिब २० जना जीवित छन् । तर हमासले स्थायी युद्धविराम, प्यालेस्टिनी कैदीहरूको रिहाइ र इजरायली फिर्तीसँग मात्र सम्झौता गर्ने अडान लिएको छ ।
गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा सुरु भएको हो । उक्त दिन हमास नेतृत्वको आक्रमणमा करिब एक हजार दुई सय इजरायली मारिए र दुई सय ५१ जना अपहृत भए । कतिपय बन्धकहरू कतार वा अन्य सम्झौतामार्फत आंशिक युद्धविराममा मुक्त भएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ६४ हजार आठ सय ७१ प्यालेस्टिनी मारिएका छन् । मृतकमध्ये महिला र बालबालिका लगभग आधा रहेको बताइएको छ ।
– इजिप्टको कडा चेतावनी –
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले सोमबार कतार शिखर सम्मेलनमा इजरायललाई पहिलो पटक ‘शत्रु’ भन्दै सम्बोधन गरे । सन् १९७९ को शान्ति सम्झौता पछि पहिलोपटक इजिप्टका नेताबाट यस्तो टिप्पणी आएको हो ।
इजिप्ट सरकारका सूचना प्रमुख दिया रस्वानले ‘इजिप्ट खतरामा परेको छ’ भन्दै इजरायलप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
– अमेरिकी चिन्ता –
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियो इजरायल भ्रमण सकेर कतार पुगेका छन् । उनले गाजा अपरेसनलाई सङ्केत गर्दै ‘हामीसँग सम्झौताका लागि अब महिनौँ होइन, दिन वा हप्तामात्र बाँकी छ’ भने ।
रुबियोले युद्ध दीर्घकालीन बन्न नहुने भन्दै ‘हमासलाई अव्यवस्थित पार्न वार्तामार्फत समाधान होस्’ भन्ने अपेक्षा व्यक्त गरे ।
– अपरेसन र क्षति –
इजरायली सेनाले हप्तौँदेखि दिएको चेतावनीपछि काट्जले अपरेसन सुरु भएको पुष्टि गरे। “आतङ्कवादी पूर्वाधारमा फलामको मुठ्ठीले प्रहार भइरहेको छ । हामी मिशन पूरा नभएसम्म न त हार मान्छौँ न फर्किन्छौँ”, उनले भने ।
संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिनामा मात्र दुई लाख २० हजारभन्दा बढी प्यालेस्टिनी गाजाको उत्तरी भागबाट विस्थापित भएका छन् । अपरेसन अघि त्यहाँ करिब १० लाख बासिन्दा बसोबास गरेका थिए ।
मङ्गलबार बिहान गाजामा तीव्र आक्रमण भइरहेका समाचार आएका छन् । सहरको शिफा अस्पतालले कम्तीमा २० शव र ९० घाइतेको विवरण दिएको छ ।
“गाजामा निकै कठिन रात बित्यो, बम विस्फोट क्षणभर पनि रोकिएन”, अस्पताल निर्देशक डा मोहम्मद अबु सेलमियाहले भने ।
इजरायली सेनाले आक्रमणबारे प्रत्यक्ष टिप्पणी नगरे पनि विगतमा हमासले नागरिक क्षेत्रमा पूर्वाधार बनाएको आरोप लगाउँदै आएको छ ।

उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उनले आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिएका हुन् ।
सोही क्रममा गृहमन्त्री अर्याललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा गृहमन्त्री अर्यालले ट्राफिक प्रहरीका भवन निर्माणलगायतमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यही भदौ २३ र २४ गते भएको ‘जेनजी पुस्ता’ को आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक पोसाक र साधन समेत जलेर नष्ट भएका थिए ।

पशुपति आर्यघाटमा जेनजी शहीदहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । जेनजी समूहको प्रदर्शनका क्रममा निधन भएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मंगलबार पशुपति आर्यघाटमा ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।

अन्त्येष्टिअघि महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट शवयात्रा गरिएको थियो । आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामी अर्पण गरेका थिए । आन्दोलनमा ज्यान गुमाएका शहीदमध्ये केहिको पशुपति आर्यघाटमा र केहिको आफ्नो जिल्लामा अन्त्येष्टिका लागि लैजाने तयारी छ ।

सरकारले भदौ २३ र २४ को जेनजी समूहको आन्दोलनमा मृत्यु भएकालाई राष्ट्रिय झण्डा ओढाइ राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मृतकहरूको अन्त्येष्टि गरिएको हो । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने, उनीहरूको नाममा जेनजी स्मारक पार्क बनाउने, मृतकका परिवारलाई जनही १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ । सयौं घाइतेको विभिन्न अस्पतालमा उपचार जारी छ ।

 

जेन–जीको शवयात्रामा मन्त्रीहरु घिसिङ र अर्याल सहभागी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानूनमन्त्री सहभागी भएका छन् । ऊर्जामन्त्री कुलमान घिसिङ गोपीकृष्ण हलबाट र गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल चाबहिल चोकबाट जेनजीको शवयात्रामा सहभागी भएका हुन् । कुलमानले राष्ट्रिय झण्डा बोकेका छन् भने कानूनमन्त्रीले राष्ट्रिय झण्डा ओढेका छन्।

मृतक परिवारका सदस्य र आफन्तहरूले शवयात्रा सहित अन्त्येष्टि गर्न लागेका हुन् । अहिले मृतकका शवहरू अन्त्येष्टिका लागि शवयात्रा निकालिएको हो । त्रिवि शिक्षण अस्पतालबाट शवहरू चक्रपथ हुँदै पशुपति आर्यघाट लगिने तयारी छ। शवयात्राका लागि पुगेकाहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् ।

कतिपयले ‘निःसन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडाले शरीर छोपेका छन् । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायत निर्णय गरेको थियो ।

त्यसपछि मृतकका परिवार अन्त्येष्टि गर्न तयार भएका हुन् । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो गोली लागेकाहरू छन् । कतिपयका शव आगोमा जलेको अवस्थामा भेटिएका छन् ।

हर्कलाई बालेनले भने– एक तर्फी नै सही, म तिमीलाई माया गर्न छोड्दिनँ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फकाउने प्रयास गरेका छन् ।

सामाजिक सञ्जालबाटै हर्कले आक्रोश पोख्दै बालेन लक्षित टिप्पणी गरेपछि उनले फकाउने प्रयास गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’ You are my true Love”

उनले हर्कले आफूलाई जति गाली गरेपनि माया गर्न नछाड्ने बताएका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण अपस्दत बनेको केपी शर्मा ओली नेतृत्वको सरकारपछि गठ गरिने अन्तरिम सरकारको प्रधानमन्त्री बन्न धरानबाट आफ्ना समर्थकहरु बोकेर मेयर हर्क काठमाडौँ आएका थिए ।

उनले पटक पटक अन्तरिम सरकारको नेतृत्व आफूले लिन्छु भन्दा पनि कसैले नपात्याएपछि आक्रोशित भएका छन् । जस्का कारण उनले आफ्नो सामाजिक सञ्जालमार्फत पटक पटक बालेन लक्षित टिप्पणी गर्दै आएका छन् । यसै बिच मेयर बालेनले उनलाई फकाउने प्रयास सामाजिक सञ्जाल बाटै गरेका हुन् ।

इजरायलमाथि नरसंहारको आरोप लगाउने : विज्ञहरूको समर्थन

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्ले नियुक्त गरेको स्वतन्त्र विज्ञहरूको टोलीले इजरायलले गाजामा नरसंहार गरेको निष्कर्ष निकाल्दै मङ्गलबार प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा अन्तर्राष्ट्रिय समुदायलाई नरसंहार अन्त्य गर्न र जिम्मेवारहरूलाई सजाय दिन कदम चाल्न आह्वान गरिएको छ ।

तीन सदस्यीय टोलीले गरेको निष्कर्ष इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारविरुद्ध उठेको पछिल्लो आरोप हो । अधिकार अधिवक्ताहरूले इजरायल र हमासबीचको युद्धले दशौँ हजार मानिसको ज्यान लिएको भन्दै निरन्तर नरसंहारको आरोप लगाउँदै आएका छन् ।

इजरायलले भने यसलाई ‘विकृत र झुटो’ प्रतिवेदन भन्दै अस्वीकार गरेको छ ।

चार वर्षअघि गठन गरिएको अधिकृत प्यालेस्टिनी क्षेत्र र इजरायलसम्बन्धी अनुसन्धान आयोगले सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वमा भएको आक्रमणपछि गाजामा भएका मानव अधिकार उल्लङ्घनलाई निरन्तर कागजात गर्दै आएको हो ।

आयोग वा ४७ सदस्यीय परिषद्ले प्रत्यक्ष कारबाही गर्न नसके पनि यी निष्कर्षहरू अन्तर्राष्ट्रिय फौजदारी अदालत वा अन्तर्राष्ट्रिय न्याय अदालतमा प्रमाणका रूपमा प्रयोग गर्न सकिने बताइएको छ ।

प्रतिवेदनले पूर्व संयुक्त राष्ट्र मानव अधिकार प्रमुख नवी पिल्लेको नेतृत्वमा रहेको टोलीको अन्तिम निष्कर्षलाई पनि समेटेको छ । उनीहरू तीनै जना सदस्यले जुलाईमा व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको थिए ।

इजरायलले आयोगसँग सहयोग गर्न अस्वीकार गर्दै यसलाई इजरायल विरोधी पक्षपातपूर्ण संस्था भनेको छ । यसैबीच, संयुक्त राज्य अमेरिकालाई परिषद्बाट बाहिर निकाल्ने निर्णय यस वर्षको सुरुमा ट्रम्प प्रशासनले गरेको थियो ।

कानूनी विश्लेषणपछि आयोगले अन्तर्राष्ट्रिय महासन्धि अन्तर्गत परिभाषित पाँच नरसंहारका कार्यमध्ये चारमा इजरायल दोषी देखिएको निष्कर्ष निकालेको छ । आयोगका अध्यक्ष पिल्लेले भने, “गाजामा प्यालेस्टिनी जनतालाई नष्ट गर्ने उद्देश्य स्पष्ट छ, यसले नरसंहार महासन्धिमा तोकिएको मापदण्ड पूरा गर्दछ ।”

पिल्लेले करिब दुई वर्षको युद्धमा इजरायली उच्च अधिकारीहरू नरसंहारको जिम्मेवार रहेको बताए । प्रतिवेदनमा नेतान्याहु, राष्ट्रपति आइज्याक हर्जोग र पूर्व रक्षामन्त्री योव ग्यालेन्टसहित अन्य नेताहरूले नरसंहारलाई उक्साएको उल्लेख गरिएको छ ।

यहुदी नरसंहारपछि स्थापना भएको इजरायलले नरसंहारको आरोपलाई यहुदी विरोधी ‘रगतको अपमान’ भन्दै अस्वीकार गरेको छ । इजरायलको विदेश मन्त्रालयले विज्ञहरूको प्रतिवेदनलाई ‘हमासका प्रोक्सीको झुटो रिपोर्ट’ भनेको छ ।

विज्ञहरूले इजरायली सुरक्षा बलको आचरण, अधिकारीहरूको स्पष्ट बयान, मृत्युको उच्च सङ्ख्या, गाजामा ‘पूर्ण नाकाबन्दी’ गरी भोकमरी निम्त्याउने कार्य, स्वास्थ्य प्रणालीको व्यवस्थित ध्वंस र बालबालिकाहरूमाथिको प्रत्यक्ष आक्रमणलाई नरसंहारका प्रमाणका रूपमा उल्लेख गरेका छन् ।

आयोगले अन्य देशहरूलाई इजरायलमा हतियार हस्तान्तरण रोक्न र नरसंहारमा योगदान पुर्‍याउन सक्ने गतिविधिबाट व्यक्ति वा कम्पनीहरूलाई रोक्न आग्रह गरेको छ ।

पिल्लेले भने, “अन्तर्राष्ट्रिय समुदाय गाजामा सुरु गरिएको नरसंहार अभियानप्रति मौन रहन सक्दैन । स्पष्ट प्रमाणहरू हुँदाहुँदै कारबाही नगर्नु सहभागिता सरह हो ।”

हालका संयुक्त राष्ट्र मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले गाजामा इजरायलको युद्ध आचरणको निन्दा गरेको छ, तर औपचारिक रूपमा नरसंहारको आरोप भने लगाएको छैन । उनका अनुसार, यस्तो औपचारिक निर्धारण अन्तर्राष्ट्रिय न्यायालयले मात्र गर्न सक्छ ।

अन्तर्राष्ट्रिय न्यायालयले यसबेला दक्षिण अफ्रिकाले इजरायलविरुद्ध दायर गरेको नरसंहार मुद्दाको सुनुवाइ गरिरहेको छ ।

निर्वाचन र पुनर्निर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री कार्यदलमा छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अहिलेका बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको बताए । ‘चुनाव र पुनर्निर्माणका लागि केही बजेट चाहिन्छ । त्यसका लागि स्रोत जुटाउन अहिलेकै बजेटभित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ र सम्भावनाका क्षेत्र कुन–कुन छन् भनेर अध्ययन गर्नका लागि कार्यदल बनाइएको हो’, प्रवक्ता पाण्डेयले भने, ‘बजेटका केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने हुनसक्छ । त्यसको प्राथमिकता निर्धारण गर्ने कार्याधिकार कार्यदलले पाएको छ ।’

सोमबार कार्यभार सम्हाल्दै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबाबमा बजेटमा परेका, पूर्वतयारी नसकिएका, टुक्रे योजना तथा कार्यक्रम कटौती गरिने बताएका थिए । सरकारले पूरक बजेट नल्याउने र अहिलेको बजेटमा परेका योजना तथा कार्यक्रम कटौतीबाटै निर्वाचन र पुनर्निर्माणका लागि करिब रु एक खर्ब बराबर स्रोत जुटाउन सकिने अर्थमन्त्री खनालको भनाइ थियो ।

प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । राष्ट्रियसभा अध्यक्ष दाहाल प्रधानमन्त्री कार्कीलाई भेट्न मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा उनले प्रधानमन्त्री कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरूबीच छलफल भएको राष्ट्रियसभा अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद् भवन तथा सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए । भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्न आग्रह गरिन् ।

जेनजी सहिदको शवयात्रा: ६ जनाको शव हेलिप्टरबाट काठमाडौं बाहिर लगिने

काठमाडौँ । भदौ २३ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका जेनजी सहिदको शवयात्रा शिक्षण अस्पतालबाट पशुपति तर्फ सुरु भएको छ। शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ ।

१० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ ।

सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ गर्ने निर्णय गरिसकेको छ ।

 

जेन–जी शहीदहरुको शवयात्रा (तस्वीरहरु)

काठमाडौं । भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ज्यान गुमाएका जेन–जी शहीदको शवयात्रा शिक्षण अस्पतालबाट पशुपतितर्फ निस्किएको छ । शवयात्रा टिचिङ अस्पतालबाट महाराजगञ्ज, चाबहिलहुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ ।

१० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकोप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ । सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । जेनजीको आन्दोलन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैजसो गोली लागेका र केही जलेको अवस्थामा भेटिएकाहरू छन् ।

माधव नेपाल पनि निस्किए बाहिर, कोटेश्वर पुगेर गरे जलेको घर अवलोकन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपाल पनि पार्टी काममा फर्किएका छन् । जेनजी आन्दोलनले उग्ररूप लिएपछि सेनाको सुरक्षामा रहेका अध्यक्ष नेपाल सेनाको सुरक्षाबाट बाहिर आएका हुन् । सेनाको सुरक्षाबाट फर्किएपछि आज कोटेश्वरमा आन्दोलनकारीले जलाएको घर हेर्न पुगेका छन् । प्रदर्शनकारीले भदौ २४ गते नेपालको घरमा समेत आगजनी गरिदिएका थिए ।

अध्यक्ष नेपालसँग उपमहासचिव मेटमणि चौधरी, पोलिटब्युरो सदस्य सुदेश पराजुली, अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठलगायत साथमा थिए । आन्दोलनपछि अवस्था सामान्य बन्न थालेपछि शीर्ष नेताहरु धमाधम बाहिर निस्किन थालेका छन्। आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पार्टी कार्यालय पेरिसडाँडा पुगेर अवलोकन गरेका छन् । उनीले आगजनीबाट कार्यालयमा धेरै क्षति भएको भन्दै अब नयाँ र भव्य कार्यालय बनाइने बताएका छन्।

यसपालि दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने

काठमाडौं । यो वर्ष दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलमा यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय गरेको हो।आन्दोलनपछि लगाएको कफ्‌र्यु हटेपछि तीन अघिदेखि टिकट काटेर सेवा सुरु भइसकेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।

‘विद्यालय स्कुल बन्द भइसकेकाले धेरै मानिसहरु घर जान थालेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने सहमति भएको छ’, उनले भने । यसपालि चाडपर्वमा यातायात सहज हुने उनले बताए । अहिलेसम्म सडकको अवस्था सहज रहेको उनको भनाइ छ ।

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाही ३१ को मृत्यु

इस्लामाबाद । पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१ जना स्थानीय तालिबान लडाकू मारिएको दाबी गरेको छ । हाल ती क्षेत्रमा तालिबानको उपस्थिति बढ्दो क्रममा रहेको अधिकारीहरूले बताएका छन् ।

यो कारबाही शनिबार भएको आक्रमणपछि भएको हो । शनिबार भएको आक्रमणमा पाकिस्तानी तालिबान (टिटिपी)ले दाबी गरेअनुसार छिमेकी जिल्लामा १२ जना सैनिक मारिएका थिए ।

सेनाले सोमबार ढिलो सार्वजनिक गरेको विज्ञप्तिमा सप्ताहन्तमा ३१ जना ‘ख्वारिज’ मारिएको जनाइएको छ । ‘ख्वारिज’ शब्द हाल अधिकारीहरूले टिटिपी लडाकूहरूलाई सम्बोधन गर्न प्रयोग गर्दै आएका छन् ।

विज्ञप्तिमा पाकिस्तानले भारतमाथि आतङ्कवादीहरूलाई सहयोग गरेको आरोप लगाएको छ । दुई आणविक शक्ति भएका छिमेकी मुलुकहरू पाकिस्तान र भारतले लामो समयदेखि एकअर्कालाई आतङ्कवादी समूहहरूलाई समर्थन गरेर अस्थिरता सिर्जना गरेको आरोप लगाउँदै आएका छन् ।

सेनाले उक्त क्षेत्रमा ‘भारतद्वारा प्रायोजित अन्य आतङ्कवादीहरूलाई समाप्त गर्न सफाइ अभियान सञ्चालन भइरहेको’ पनि जनाएको छ ।

सन् २०२१ मा अफगान तालिबान काबुलमा सत्तामा फर्किएपछि अफगान सीमा क्षेत्रमा आतङ्कवादी गतिविधि बढेको हो । सुरक्षा अधिकारीहरूका अनुसार पछिल्ला दुई महिनामा टिटिपी लडाकूहरूको उपस्थिति अझै बढेको छ ।

टिटिपी अफगान तालिबानबाट अलग भए पनि नजिकको सम्बन्ध राख्ने समूह हो । यसले पाकिस्तानभित्रै सुरक्षा बलहरू विरुद्ध आक्रमण गर्दै आएको छ ।

इस्लामाबादले अफगानिस्तानमाथि उसका आतङ्कवादीहरूले पाकिस्तानमा आक्रमण गर्न अफगान भूमिको प्रयोग गरेको आरोप लगाउँछ । तर काबुलका अधिकारीहरूले यस्तो आरोप अस्वीकार गर्दै आएका छन् ।

एएफपीको तथ्याङ्कअनुसार यस वर्ष मात्रै उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणी बलुचिस्तान प्रान्तमा सशस्त्र समूहका आक्रमणमा चार सय ६० भन्दा बढी मानिस मारिएका छन् ।

इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष लगभग एक दशकयताकै सबैभन्दा घातक सावित भएको थियो । त्यस वर्षमा मात्र एक हजार छ सयभन्दा बढी मानिस मारिए । त्यसमा आधाभन्दा धेरै सैनिक र प्रहरी अधिकारीहरू परेका थिए ।

धरान फर्केर ‘धरधरी’ रोए मेयर साम्पाङ : विदेशीले ‘टेकओभर’ गर्न सक्ने औंल्याए खतरा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेनजी आन्दोलनपछि सिर्जित परिस्थिति सम्झिँदै धुरुधुरु रोएका छन् । प्रधानमन्त्री बन्ने उद्देश्यले काठमाडौं आएका उनी मन्त्री पनि नबनि रित्तो हात घर फर्किएका थिए ।
काठमाडौंबाट धरान पुगेपछि पत्रकारहरूको भेटमा विदेशीले देशलाई टेकओभर गर्न सक्ने खतरा रहेको भन्दै उनी भक्कानिएका हुन् । धरानमा केही सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले आफूलाई खानेपानी र श्रम मन्त्री दिइएको भए पनि स्वीकार नगरेको दावी गरेका छन् ।

केही पत्रकारले ‘यतिखेर नरुनुस्’ भनेर समेत सम्झाएका थिए । त्यसपछि सम्हालिँदै हर्कले भने, ‘विदेशीले यतिखेर टेकओभर गर्न सक्ने सम्भावना छ । सबै नेताहरू भागाभाग छन् । कोही रक्ताम्य छन् । कोही बागमतीमा कुटाइ खाँदै गरेको देखिन्छ ।’

हर्कले भने, ‘पार्टीहरूका कार्यालय तहसनहस छन् । अब को शक्ति आउने हो देशमा ? कोही छैन । कसले त्यस्तो ग¥यो, कसरी त्यस्तो भयो भन्ने कसैलाई थाहा नभएको स्थिति छ । अनि मलाई सबै मान्छेले काठमाडौै जानु भने । त्यत्रो मान्छेले भनिसकेपछि मलाई लाग्यो, म त देश बनाउन आएको मान्छे हो ।’

उनले भने, ‘मलाई हिम्मत हारेको मान्छे भन्नुहुन्छ तपाईँहरू… म जतिको हिम्मतिलो मान्छे यो देशमा कोही पनि छैन ।’ आफूलाई शुभचिन्तकहरूले काठमाडौंमा गोली लाग्न सक्छ भन्दा पनि ‘लाग्छ भने लागोस्’ भनेर गएको बताए । नेता भनाउँदाहरूले सबै लुकिरहेको वेलामा यो देश बचाउनलाई आफूले आगोमा हामफाल्ने निर्णय गरेको समेत सुनाए । यही कारण धरानबाट पाँच सय किलोमिटर टाढा काठमाडौं पुगेको बताए ।

आफूलाई प्रधानमन्त्री बनाउने विषयमा काठमाडौंमा धेरै छलफल भए पनि निकास ननिस्किएको बताए । ‘यो अटेरी छ, हाम्रो लाइनमा आउँदैन भन्ने कुरा भएछ । मिनिस्टर हुनलाई सहमति गर्नुपर्ने रे । त्यस्तो खालको मान्छे होइन म । अरूलाई ढोगेर पद पाउँ भन्ने खालको मान्छे होइन म । धरानको मेयर टीका लगाएर होइन, १० वर्षसम्म एक्लै चप्पल पड्काएर अभियान चलाएर पाएको हो’, उनले ।

उनले यो सरकार गठनमा एक गेमर भएको अपुष्ट आरोप पनि लगाएका छन् । त्यही गेमर व्यक्तिले सम्पूर्ण क्षति र हत्याको जिम्मा लिनुपर्ने उनको भनाइ छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि मेयर हर्क प्रधानमन्त्री बन्न काठमाडौं आएका थिए । प्रधानमन्त्री बन्न नसकेपछि मन्त्री बन्नलाई शीतलनिवासमा पुगेको समाचार पनि बाहिरिएको थियो । धरान उपमहानगरकै गाडीमा काठमाडौं आएका उनी अहिले धरान फर्किएर त्यहाँ पत्रकारहरूसँग भेटघाट गरेका हुन् ।

बङ्गलादेशः युनुसको नेतृत्वमा निर्वाचनअघि बढेका चुनौतीहरू

विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षे निरङ्कुश शासन अन्त्य हुँदै निर्वासनमा भाग्न बाध्य भएपछि बङ्गलादेश राजनीतिक उथलपुथलमा छ ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले आगामी फेब्रुअरीमा निर्वाचन गर्ने वाचा गरेको छ । तर १७ करोड जनसङ्ख्या भएको मुस्लिम बहुल मुलुकमा राजनीतिक विभाजन र हिंसा बढ्दै जाँदा शङ्का गहिरिँदै गएको छ ।

चुनाव अझ पाँच महिना टाढा भए पनि हसिनाको पतनपछिका गठबन्धनहरू विखण्डन हुँदै गएका छन् ।

– मुख्य दलहरू को हुन् –

हसिनाको अवामी लिग प्रतिबन्धित भएपछि प्रमुख राजनीतिक खेलाडी बङ्गलादेश नेसनालिस्ट पार्टी(बिएनपी) र इस्लामवादी जमात–ए–इस्लामी रहेका छन् ।

यससँगै विद्रोहको नेतृत्व गर्ने विद्यार्थी नेताहरूले बनाएको राष्ट्रिय नागरिक पार्टी (एनसिपी) पनि प्रमुख शक्ति बनेको छ । प्रतिद्वन्द्वी दलहरूले सडक हिंसाको आशङ्का व्यक्त गरिरहेका छन् भने युनुसले प्रक्रियामा विश्वास पुनःस्थापित गर्न सङ्घर्ष गरिरहेका छन् ।

– युनुस कहाँ उभिएका छन् –

पचासी वर्षीय युनुसले चुनावपछि पदत्याग गर्ने घोषणा गर्दै ‘चुनावको विकल्प छैन’ भन्नेमा जोड दिएका छन् । तर उनको दैनिक राजनीतिबाट दूरी, साथै सेनाको संलग्नता वा समर्थनबारे उठेका प्रश्नहरूले अनिश्चितता बढाएका छन् ।

सेना प्रमुख जनरल वाकर–उज–जमान र शीर्ष अधिकारीबीच हालै भएका बैठकहरूले अनुमानलाई थप उकासेको छ । विद्रोहको लामो इतिहास बोकेको मुलुकमा सेनाले सदैव निर्णायक भूमिका खेलेको छ ।

– समूहहरू किन विभाजित छन् –

मुख्य विवाद ‘जुलाई नेसनल चार्टर’ लाई लिएर छ । यस सुधार दस्तावेजले प्रधानमन्त्रीका लागि दुई कार्यकालको सीमा र राष्ट्रपतिलाई थप अधिकार दिने प्रस्ताव गर्छ । चौरासी वटा सुधार बुँदामा सहमति भए पनि त्यसलाई कानूनी रूपमा कसरी लागू गर्ने भन्ने विषयमा दलहरू विभाजित छन् ।

बिएनपीले सुधार चार्टरलाई निर्वाचनपछिको संसद्मार्फत मात्र अनुमोदन गर्न सकिने दाबी गर्छ भने अन्य दलहरूले चुनावअघि नै यसलाई कानूनी रूप दिनुपर्ने तर्क गर्छन् ।

जमातका नेता सैयद अब्दुल्लाह मोहम्मद ताहेरले सुधारहरूमा जनताको राय आवश्यक भएकाले जनमतसङ्ग्रह गर्नुपर्ने बताए ।

एनसिपीका नेता सालेह उद्दीन सिफतले भने ‘विद्रोहमा ज्यान गुमाउनेहरूप्रति विश्वासघात हुने’ भन्दै माग पूरा नभएसम्म चुनावमा सहभागी नहुने चेतावनी दिएका छन् ।

– दलबीचको अन्य बहस –

अवामी लिगलाई कार्यकारी आदेशमार्फत प्रतिबन्ध लगाइएको थियो । जमातले हसिनासँग सम्बन्ध भएका थप १३ समूहलाई समेत प्रतिबन्धित गर्नुपर्ने माग गरेको छ । तर बिएनपीले अदालतको प्रक्रिया विना कुनै दल प्रतिबन्धित हुन नसक्ने भन्दै आपत्ति जनाएको छ ।

यसबीच, युनुसले लन्डनमा बिएनपी नेता तारिक रहमानसँग भेट गरेपछि पक्षपातको आरोप खेपिरहेको छ । यसले जमात र एनसिपीलाई असन्तुष्ट बनाएको छ ।

– अगाडि के–के चुनौती छन् –

अन्तरिम सरकार बढ्दो कानून–व्यवस्था समस्यामा फसिरहेको छ । विश्व बैंकका पूर्व वरिष्ठ अर्थशास्त्री जाहिद हुसेनले सरकारलाई ‘सौहार्दपूर्ण र साहसी तर असहाय र हतप्रभ’ भनेका छन् ।

अधिकार समूह ऐन ओ सालिस केन्द्रका अनुसार यस वर्ष मात्रै एक सय २४ वटा भिडन्तका घटना दर्ता भएका छन् । प्रहरी तथ्याङ्कले हत्या, बलात्कार र डकैती बढेको देखाएको छ ।

विश्लेषकहरूका अनुसार युनुसले विश्वसनीय निर्वाचन गराउन पूर्ण सैन्य समर्थन आवश्यक छ । ढाका विश्वविद्यालयका राजनीति विज्ञान प्राध्यापक मामुन अल मुस्तफाले समयमै चुनाव सम्पन्न गर्न ‘सेनाको बिना शर्त र निरन्तर समर्थन’ अपरिहार्य हुने टिप्पणी गरेका छन् ।

मौलाकाली केबलकार फेरि चाँडै सेवामा फर्किने

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरिएको नवलपरासीको मौलाकाली केबलकारले चाँडै सेवामा फर्किने जनाएको छ । कम्पनीले हजारौं स्थानीय शेयर धनीहरुको संयुक्त लगानी र मिहिनेतको जगमा बनेको भन्दै फेरि सेवा सुचारु गर्ने घोषणा गरेको हो । कम्पनीले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

‘दुर्भाग्यवश, प्रदर्शनका क्रममा भएका घटनामा परि सार्वजनिक कम्पनीका रूपमा सञ्चालनमा रहेको यस मौलाकाली केबलकारमा समेत आगजनी र तोडफोड भई ठुलो क्षति हुन पुगेको छ’, कम्पनीले भनेको छ, ‘गैँडाकोट र नवलपुरको पहिचान, पवित्र भूमि देवघाटको शिर, नेपालको पर्यटन प्रवद्र्धन, राजस्व वृद्धि र स्थानीय विकासमा महत्वपूर्ण योगदान दिँदै आएको यो मौलाकाली केबलकार गण्डकी क्षेत्रकै साझा गौरव र राष्ट्रिय सम्पत्तिको प्रतीक हो ।’

देशकै पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि सगसगै स्थानीय रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजार विकासमा यसले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । त्यसैले यहाँ भएको तोडफोड र आगजनीले केवल हाम्रा स साना लगानीकर्ताहरू मात्र होइन, गैँडाकोट तथा चितवनका स्थानीय बासिहरु, कर्मचारी, उहाँहरूको परिवार तथा सम्पूर्ण पर्यटन क्षेत्रलाई नै गहिरो पीडा दिएको कम्पनीले उल्लेख गरेको छ । तोडफोडबाट क्षति कम गर्न, आगजनी नियन्त्रण गर्ने क्रममा सहयोगको हात बढाएर सक्रिय भूमिका निर्वाह गरेका सुरक्षाकर्मी, स्थानीय समुदाय तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरिएको छ ।

‘यति ठूलो क्षति भए पनि हाम्रो सपना र अठोट भाँचिएका छैनन् । हामी सबैले हातेमालो गरी छिट्टै सेवा सुचारु गर्नेछौँ र अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने संकल्प गर्दछौँ’, कम्पनीले उल्लेख गरेको छ, ‘हाम्रो यो संकल्पलाई पहिले जस्तै अघि बढाउन स्थानीय समुदायको निरन्तर सहयोग रहने अपेक्षासहित र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह गर्दछौँ ।’

 

पहिरोले महकाली राजमार्ग अवरुद्ध

बैतडी । वर्षासँगै पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत यहाँको दोगडाकेदार–५ सलसेनास्थित साजाधारमा आज बिहान पहिरो खसेको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए ।

उनले भने, “वर्षापछि सडक माथिबाट ठूलो पहिरो खसेको छ । सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध छ ।” राजमार्ग अवरुद्ध हुँदा महेन्द्रनगर, धनगढी, काठमाडौँका साथै सदरमुकामसँगको सडक सम्बन्ध टुटेको छ । यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।

यसैबीच अवरुद्ध जयपृथ्वी राजमार्ग भने सञ्चालनमा आएको छ । खोड्पे–बझाङ सडकखण्डको मुस्याखानमा पहिरो खस्दा अवरुद्ध राजमार्ग सञ्चालन आएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीको मन्त्री बन्न ‘अफर’, सरकारमा नजाने सन्दुक रुइतको जवाफ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतलाई आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेकी हुन् । प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नु परेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् ।

जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर, सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका छन् । छलफलपछि डा. रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए । सञ्चारकर्मीले क्याविनेटमा आउने हो भनेर सोधेको प्रश्नमा उनले भने, ‘यहाँ छोडेर आउने ? यत्रो छ काम यहाँ छोडेर आउने ? बिरामीलाई छाडेर आउँदैन ।’ जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेसामार्फत नागरिकको सेवामा तल्लिन हुने बताउँदै आएका छन् ।

गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

चितवन । चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् ।

भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन् । जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन् । कारागारमा जम्मा ७४४ जना कैदीबन्दी थिए । तीमध्ये दुई जनाबाहेक अरू सबै भागेका थिए । कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार सबैलाई फर्कन टेलिफोन गरिएको छ । जसमध्ये ६० जना सम्पर्कमा छैनन् ।

गैँडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ । सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भागेकाहरुको सूची बनाएर सो क्षेत्रमा निगरानी बढाइएको छ । गैँडा तस्करीमा लागेकाहरु पटके समेत भएकाले निकुञ्जले सुरक्षा चुनौतीका रुपमा लिएको छ ।

यूएईले एकाएक रोक्यो नेपालीलाई भिजिट भिसा दिन

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिजिट भिसा नदिने भएको छ । यसअघि यूएईले अनलाइन मार्फत भिजिट भिसा दिने गरेको थियो । अब भने रोक लगाएको छ ।

यूएईले सोमबारदेखि नै भिजिट रहेको हो । अब कुनै नेपाली भिजिटका लागि यूएई जान लागेका भिसा आवेदन अस्वीकृत हुनेछ । यो एकाएक भने भएको होइन । केही समययता दुबई इमिरेट्सले भिसामा कडाइ भने गरिरहेको थियो ।

नेपालीहरुले यूएईमा भिजिनका लागि जाँदा शारजाहले १ हजार ३० दिह्राम डिपोजिट राखेर एक महिनाका लागि ५५० र दुई महिनाका लागि ६५० दिह्राममा भिसा दिने गरेको थियो । आबुधाबीले भने यसअघि नै बन्द गरिसकेको थियो ।

यूएईमा भिजिट भिसा अनुमति प्राप्त ट्राभल्स एजेन्सीले गर्दै आएका थिए । नेपालीहरु भिजिट भिसामा धेरै नै यूएई जाने गरेका थिए ।

आन्तरिक राजस्व कार्यालयद्वारा करदाता सेवा सुरु

देवदह (रुपन्देही) । रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो पार्किङस्थलबाट सेवा प्रवाह सुरुआत गरेको छ । भदौ २४ गते भएको तोडफोड र आगजनीबाट कार्यालयमा क्षति पुगेको थियो ।

प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले कार्यालयबाट प्रवाह गरिने सेवा कार्यालयकोे पार्किङमा टेन्ट राखेर आइतबारदेखि थालनी गरिएको जानकारी दिए। उनले भने, “हामीले अत्यावश्यक सेवा सुरु गरेका छौँ, धेरै सेवा अनलाइन माध्यमबाट प्रदान गरिरहेका छौँ, पार्किङमा ल्यापटप र प्रिन्टर राखेर हाम्रा करदातालाई दिनुपर्ने सेवा दिन सुरु गरेका छौँ ।”
इन्टरनेट र बिजुली व्यवस्थापन गरेर न्यूनतम साधनस्रोत र उपलब्ध कर्मचारीबाट सेवा प्रवाह भइरहेको उनले बताए । सम्पूर्ण सेवा सञ्चालन गर्न सम्भव नभएकाले केही अत्यावश्यक सेवामात्र प्रदान गरिएको उनको भनाइ छ ।

उनका अनुसार आगजनी र तोडफोडबाट कार्यालयको मुख्य भवनमा क्षति पुगेको छ । सातवटा कोठा पूर्ण रूपमा जलेर नष्ट भएको उनले जानकारी दिए । त्यस्तै कोठाभित्र रहेका इलेक्ट्रोनिक सामान, कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेबल, कुर्सी, ¥याक, सोफा, दराजलगायत थुप्रै सामान जलेरका प्रमुख कर अधिकृत पोख्रेलले बताए । “केही करदाताका फाइल पनि त्यसमा परेका छन्”, उनले भने । कार्यालयमा रहेका केही सवारीसाधन र गार्डरुम पनि जलेको उनले जानकारी दिए।

सेवाग्राही सरोज साहले भवन क्षतिग्रस्त हुँदा पनि आन्तरिक राजस्व कार्यालयले सेवा प्रदान गरिरहेको भन्दै खुसी व्यक्त गरे । उनले कार्यालयले प्रदान गरिरहेको सेवाबाट सेवाग्राही सन्तुष्ट नै रहेको बताए ।

रुपन्देहीमा भदौ २३ गतेदेखि जारी भएको निषेधाज्ञा र कफ्र्यू पनि हटाइएको छ । यही भदौ २८ गते शनिबारदेखि निषेधाज्ञा र कफ्र्यू हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले जानकारी दिए । जिल्लाको समग्र शान्ति सुरक्षाको विश्लेषण गर्दा सामान्य रहेको र जनजीवन पनि सामान्यीकरणतर्फ उन्मुख भएको उनले बताए।

जिल्ला प्रशासन कार्यालयले पारस्परिक सद्भाव कायम गर्न, सार्वजनिक सेवा प्रवाह गर्न, शिक्षण संस्था सञ्चालन गर्न, आवागमन सञ्चालन गर्न, पूर्ववत क्रियाकलाप नियमित गर्न र बजार व्यवस्थालाई चलायमान बनाउन सरोकारवाला सबै पक्षसँग आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरेको छ ।

जेनजी आन्दोलनपछि पेरिसडाँडा पुगेका प्रचण्डले भने–नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ

काठमाडौं । काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ । जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने बताएको हो ।

जेनजी आन्दोलनपछि आज पहिलो पटक पार्टी केन्द्रीय कार्यालय अनुगमन गरेपछि प्रचण्डले भने, ‘देशभरका कार्यकर्ताहरुको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’ पार्टी कार्यालय कहाँ बन्छ भनेर उनले खुलाएनन् ।
अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको बताएका छन् । ती जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्ताहरुलाई समेत धन्यवाद दिएका छन् ।

मुगुमा चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन

मुगु । आसन्न दसैँतिहारजस्ता ठूला चाडपर्वलाई ख्यालगर्दै सोमबारदेखि यहाँ सहुलियत मूल्य पसल सञ्चालन गरिइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयद्वारा सञ्चालन गरिएको पसलमा सहुलियत दरमा दैनिक उपभोग्य सामग्री राखिएका छन् ।

पसलमा उपभोक्ताले चामल, तेल, चिनीलगायत प्रमुख खाद्य सामग्री छुट मूल्यमा खरिद गर्न सक्नेछन् । बजारमा सामान्यतया महँगो मानिने रिम्स जिरा चामलदेखि अरुवा सोना चामल, मध्यम तथा मोटा चामलसम्म सस्तो मूल्यमा पाइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै सूर्यमुखी, तोरी र सोयाबिन तेल तथा चिनी पनि छुटमा बिक्री गर्ने तयारी गरिएको छ ।

सहुलियत पसलबाट कृत्रिम मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । हरेक चाडपर्वमा बजारमा अचानक मूल्य बढ्ने, उपभोक्तालाई ठगिने तथा व्यापारीले कृत्रिम अभाव सृजना गर्नेजस्ता समस्या देखिने भएकाले यसपालि समयमै सहुलियत पसल सञ्चालन गरिएको शाखा प्रमुख केशव गिरीले जानकारी दिए ।

स्थानीय उपभोक्ताले भने सहुलियत पसलले आफूहरूलाई प्रत्यक्ष राहत पुगेको बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार सहुलियत पसल नियमित रूपमा सञ्चालन हुने र आवश्यकताअनुसार थप सामग्री उपलब्ध गराउने तयारी गरिएको छ ।

खण्डहर बनेको पार्टी कार्यालय हेर्न पेरिसडाँडा पुगे प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट ध्वस्त भएको पार्टी कार्यालय अवलोकनका लागि पेरिसडाँडा पुगेका छन्।  उनी मंगलबार मध्याह्न पार्टी कार्यालय पुगेका हुन् । जेन जी आन्दोलनले उग्ररूप लिएपछि प्रचण्ड २४ गतेदेखि सेनाको सुरक्षामा थिए। नयाँ अन्तरिम सरकार गठन भएपछि प्रचण्ड पार्टीको काममा फर्किएका हुन्।

जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ आज पहिलोपल्ट सार्वजनिक भएका हुन् । जेनजी युवा आन्दोलनको क्रममा माओवादी केन्द्रीय कार्यालयमा आगजनी भएको थियो । हिजो नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि पार्टी कार्यालय अवलोकन गरेका थिए । अहिले माओवादी कार्यकर्ताहरुले पार्टी कार्यालय सरसफाइ गरेका थिए । आन्दोलनका क्रममा प्रदर्शनकारीले अध्यक्ष प्रचण्डको ललितपुरको खुमलटार र चितवनस्थित घरमा पनि आगजनी गरेका थिए ।

अन्तरिम सरकार गठनसँगै सुरक्षा स्थिति सहज हुँदै गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अरू सबै नेता शिवपुरीको सैनिक तालिम केन्द्रबाट फर्किएका छन् । जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते प्रदर्शनकारीहरूले नेताहरूका घर तोडफोड गर्न थालेपछि ओली लगायत तत्कालीन मन्त्री र शीर्ष नेताहरूलाई सुरक्षा निम्ति शिवपुरी लगेर राखिएको थियो ।

हामीले ओली सरकारको मन्त्रिपरिषदमा रहेका केही मन्त्रीसँग उनीहरूको अवस्था बुझ्न सोमबार राति फोन गर्दा उनीहरूले शिवपुरीमा ओली मात्र बाँकी रहेको बताए । बाँकी सबै पूर्वमन्त्री र शीर्ष नेताहरू फर्किसकेको उनीहरूले जानकारी दिए । शिवपुरीबाट फर्के पनि कतिपय उनीहरू घर जान पाएका छैनन् । सबैजसो पूर्वमन्त्री र शीर्ष नेताका घरमा आगजनी र तोडफोड गरिएकाले बस्न सक्ने अवस्था छैन ।

त्यसैले उनीहरू शिवपुरीबाट फर्केर आफ्ना आफन्त वा साथीभाइका घरमा आश्रय लिएर बसेको पाइएको छ । भदौ २४ को घटनापछि निवर्तमान प्रधानमन्त्री ओलीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत पूर्वमन्त्रीहरूलाई शिवपुरी सैनिक तालिम केन्द्रमा राखिएको थियो । विस्तारै नेताहरु सार्वजनिक हुँदै आगजनी गरिएको पार्टी कार्यालय र घरहरुको अवलोकनमा लागेका छन् ।

जेनजी सहिदको शवयात्रा तयारी (तस्बिरहरु)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौँमा ज्यान गुमाएकाहरूको आज सामुहिक शवयात्रा निकालिँदै छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालबाट अहिले सामुहिक शवयात्राको तयारी भइरहेको छ ।

आन्दोलनका क्रममा घाइते भई त्यहाँ उपचारका क्रममा मृत्यु भएका १० जनाको शव यात्रा निकाल्न लागिएको हो ।

दूग्ध उत्पादनमा किसानलाई अनुदान

गलकोट । किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम बागलुङमा प्रभावकारी बनेको छ । सहकारीमार्फत दूध सङ्कलन र बजारीकरण गरेका किसानले प्रतिलिटर दूधमा रु पाँच अनुदान पाएका छन् । आर्थिक वर्ष २०८१/८२ मा बागलुङका आठवटा दुग्ध उत्पादनक सहकारीमा आबद्ध किसानले रु ३७ लाख ३२ हजार रकम अनुदान प्राप्त गरेका छन् । अनुदानबाट झण्डै आठ सय किसान लाभान्वित भएका छन् ।

अनुदान पाउनका लागि दूधको खरिद बिक्री गरेको प्रमाण र एक दिनमा न्यूनतम दुई सय लिटर दूधको कारोबार गर्ने सहकारीमार्फत किसानले अनुदान प्राप्त गर्ने गरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाका अनुसार केन्द्रको सफल तथा प्रभावकारी कार्यक्रममध्ये उत्पादनका आधारमा दूध किसानले पाउने प्रोत्साहन रकम रहेको छ । किसानले उत्पादन गरेको दूध सोझै बजारमा बिक्री गर्नेले भने अनुदान नपाउने सापकोटाको भनाइ छ ।

“उत्पादनका आधारमा अनुदान निकै प्रभावकारी अनुदान कार्यक्रम हो, किसानले जति धेरै उत्पादन गर्छन् उति नै बढी अनुदान पाउँछन्, चालु आवमा समेत दूध किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिन रु ३८ लाख बजेट व्यवस्थापन गरिएको छ”, सापकोटाले भने, “दूध उत्पादन भएर एकमुष्ट बजारीकरण गर्न किसानलाई सहकारीमार्फत अनुदान दिएका छौँ, उक्त अनुदान वार्षिक रूपमा बढ्दै आएको छ ।”

आव २०७८/७९ मा चार लाख २० हजार लिटर दूधमा अनुदान वितरण गरेको केन्द्रले गत आवमा सात लाख ४६ हजार ५५४ लिटर दूधमा रु ३७ लाख ३२ हजार ७६८ अनुदान वितरण गरेको थियो । किसानलाई १० लाख लिटर दूधमा अनुदान दिन सक्ने विज्ञ केन्द्रको भनाइ छ । बागलुङ बजारमा जिल्ला सहकारी सङ्घमा १५ उत्पादन सहकारीले दूधको सङ्कलन गरेर पठाउने भए पनि दैनिक दुई सय लिटर दुधको कारोबार गर्ने सहकारी जम्मा ८ मात्रै हरेकाले मापदण्ड अनुसार आठवटा सहकारीमा दूध सङ्कलन गर्ने किसानले मात्रै उत्पादनका आधारमा प्रतिलिटर रु पाँचका दरले अनुदान प्राप्त गरेका हुन् ।

सवारी धनीलाई यातायात विभागले भन्यो-लुटेर लगेका सामान ओसारपसार नगर्नू-नगराउनू

काठमाडौं । यातायात व्यवस्था विभागले जेनजी प्रदर्शनका क्रममा लुटेका हातहतियारसहितका सामानहरु ओसारपसार नगर्न, नगराउन आग्रह गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै भदौं २३ र २४ गते जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानबाट लुटपाट भएका /गरिएका हातहतियार लगायतका सामाग्रीहरु ओसारपसार नगर्न, नगराउन आग्रह गरेको हो ।

विभागले त्यस्ता सामानहरु सार्वजनिक (यात्रुबाहक तथा मालबाहक) र निजी सवारीका साधनहरुबाट ओसारपसार हुन सक्ने सम्भावना भएकोले सबै यात्रु, सवारी चालक, सवारी परिचालक तथा सवारी धनीहरु सचेत हुन आग्रह गरेको छ ।
त्यस्ता सामाग्रीहरु ओसारपसार नगर्न तथा नगराउनु हुन र त्यस प्रकारको क्रियाकलाप भएको देखिएमा नजिकैको प्रहरी कार्यालयहरुमा जानकारी गराउन समेत अनुरोध गरेको छ । विभागले त्यस्तो कार्य हुने गरेको देखिन आएमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी समेत दिएको छ ।

हेर्नुस् सूचना

खण्डहर बने प्रमुख तीन राजनीतिक दलको मुख्यालय (तस्बिरहरु)

काठमाडौँ । भाद्र २३ र २४ गते काठमाडौंमा भएको जेन जी आन्दोलन र त्यस पछिको तोडफोड र आगजनीबाट देशको विभिन्न इतिहासिक संरचना लगायत भौतिक संरचनामा ठूलो क्षति पुग्यो ।

देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनैतिक दल र नेताहरु प्रतिको वितृष्णाले निम्त्याएको परिणाम थियो जेन जी आन्दोलन । जसको फलस्वरूप आन्दोलनकारीहरुले तीन ठूला राजनीतिक दलका मुख्यालयमा तोडफोड सँगै आगजनी गरेका थिए।

सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय पूर्ण रुपमा ध्वस्त भएको छ । कार्यालयको प्रमुख प्रवेशद्वार देखि हरेक कोठामा आगजनी गरिएको थियो । नेपाली कांग्रेसले आजबाट देशभरी भएको प्रदेश कार्यालय र जिल्ला कार्यालयमा भएको क्षतिको विवरण संकलन गर्न लागेको हो ।

जेन जी आन्दोलन नेकपा एमालेको च्यासलस्थित मुख्यालय पनि खण्डहर बनेको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट मुख्यालयका अधिकांस संरचना खरानी भएका छन् ।

सोमबार एमालेका महासचि शंखर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरु पार्टी मुख्यालयमा पुगी कम्युनिस्ट पार्टीको झण्डा राखेका थिए ।

पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि जेन जी आन्दोलनबाट ध्वस्त भएको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट कार्यालयको अधिकांस संरचना जलेर नष्ट भएका छन् ।

 

बैतडीको सरकारी कार्यालयद्वारा अबरुद्ध सेवा पून: सन्चालनमा

बैतडी । जेनजी प्रदर्शनका कारण बन्द रहेका यहाँका सरकारी कार्यालय, विद्यालयलगायत सङ्घसंस्था पूर्ववत् अवस्थामा फर्किएका छन् । बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालयद्वारा प्रदान गरिँदै आएको सेवा प्रवाह पून: सञ्चालनमा आएको जानकारी दिएका छन् । उनले भने, “जेनजी प्रदर्शनका कारण बन्द रहेका सरकारी कार्यालय सञ्चालनमा आउन थालेका छन् । कार्यालय खुलेसँगै सेवाप्रवाह पनि थालिएको छ ।”

कार्यालय सञ्चालन भए पनि सेवाग्राही भने न्यून सङ्ख्यामा आउने गरेका प्रजिअ पौडेलले बताए । उनले भने, “जिल्ला प्रशासनलगायत सरकारी कार्यालय खुलेका भए पनि सेवाग्राहीको सङ्ख्या भने न्यून छ । माथिल्लो निकायका संरचनामा आगजनी तोडफोड भएर जिल्लामा सेवा पाउन मुस्किल हुनसक्छ भनेर पनि कम आएका हुन सक्छन् ।”

सरकारी कार्यालयमा क्षति भएको विवरण प्राप्त नभएकाले सेवा सञ्चालनमा कुनै बाधा नरहेको प्रजिअ पौडेलले बताए । यहाँका स्थानीय तहबाट प्रदान हुने सेवा पनि नियमित भएका छन् । कार्यालय खुलेसँगै सेवा पनि सञ्चालन भएका दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले जानकारी दिए ।

शिवनाथ गाउँपालिकाका पनि सबै सेवा सञ्चालनमा आएका गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए। उनले भने, “आजदेखि गाउँपालिका कार्यालय खुलेको छ । पालिकाले प्रदान गर्ने सेवा सुरु भएका छन् ।”

जिल्लाको सिगास गाउँपालिकामा प्रदर्शनको असर नपरेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । उनले भने, “जेनजी आन्दोलनले सिगासमा कुनै असर परेन । गाउँपालिका कार्यालय बन्द गर्नुपर्ने अवस्था आएन । नियमित रूपमा सेवा सञ्चालनमा रह्यो ।”

सरकारी कार्यालयसँगै यहाँका सङ्घसंस्था, विद्यालय पनि सञ्चालनमा आएका छन् । प्रदर्शनका कारण बन्द रहेका विद्यालय खुलेका र पठनपाठन थालिएको रौलेश्वर मावि कफलकोटका प्रधानाध्यापक नरेन्द्र भाटले बताए । उनले भने, “बन्द विद्यालय खुलेका छन् । नियमित पठनपाठन कार्य चलिरहेको छ । बालबालिकाको उपस्थिति साविककै अनुसार छ ।”

प्रदर्शनकै कारण प्रभावित बनेको जनजीवन सामान्य बनेको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । जिल्लास्थित सरकारी कार्यालय, सङ्घसंस्था, विद्यालय, बजार खुलेका छन् । उनले भने, “जेनजीको प्रदर्शन र निषेधाज्ञा र कफ्र्यूका कारण असहज बनेको जनजीवन अब भने सामान्य बनेको छ ।”

सुनचाँदीकै मूल्यमा नयाँ ‘कीर्तिमान’, हालसम्मकै महँगोे

काठमाडौं । नेपाली चाड वडादशैं नजिकिँदै गर्दा आज (मंगलबार) सुनचाँदीकै मूल्य बढेर नयाँ कीर्तिमान बनाएको छ । हिजो बढेको सुनको मूल्य आज पनि उकालो लागेको हो । प्रतितोला एक हजार नौसय रुपैयाँ बढेर सुनको मूल्य आज तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो । हिजो सुनको मूल्य तोलाको दुईलाख १५ हजार दुईसय रुपैयाँ थियो । गत साताको शुक्रबार सुनको मूल्य तोलाको दुईलाख १५ हजार आठसय रुपैयाँ पुगेर केही सस्तिएको थियो । आज चाँदीको मूल्य पनि बढेर हालसम्मकै महँगो भएको छ । चाँदीको मूल्य आज तोलाको २० रुपैयाँ बढेर दुई हजार पाँचसय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

जेन-जी आन्दोलनको असर : बिना बर्दीमा फर्किए प्रहरी (तस्बिरहरू)

काठमाडौं । भाद्र २३ र २४ गते भएको जेन(जी आन्दोलनमा देशभरिका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट मच्चाइयो ।

जसका कारण उपत्यकाका अधिकांश प्रहरी चौकी खण्डहर बनेका छन् । उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी ३ जना प्रहरीहरूले ज्यान गुमाउनु परेको थियो ।

यस्तो कहाली लाग्दो अवस्थाबाट गुज्रिएको नेपाल प्रहरी उच्च मनोबलसहित अहिले नागरिक सेवामा खटिएका छन् ।

लुटपाट र आगजनीबाट आफ्नो बर्दी समेत गुमाएका प्रहरीहरू अहिले बिना बर्दी नागरिक सेवामा खटिएका छन् ।

उपत्यकाको विभिन्न चोकहरूमा रहेको ट्राफिक आइरल्याण्ड लगायत भौतिक संरचना तोडफोड भएपछि बाँकी रहेको अवशेष माथि उभिएर र बर्दी बिना नै प्रहरीहरू फिल्डमा खटिएका छन् ।

 

असोज महिनामा कुन वाणिज्य बैंकले कति दिंदैछन् ब्याज ?

काठमाडौं । बाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमा नौं वटा वाणिज्य बैंकहरूले भदौको तुलनामा असोजमा थोरै दरले ब्याज घटाउँदा अरु ९ वटा बाणिज्य बैंकले पुरानै दरलाई निरन्तरता दिने निर्णय गरेका छन् । यस्तै बाँकी रहेका २ वटा बाणिज्य बैंकले भने व्याजदर सामान्य बढाएका छन् ।

असोजका लागि सार्वजनिक गरेको ब्याजदरमध्ये माछापुच्छ्र्रे बैंक, ग्लोबल आईएमई, एनएमबी, हिमालयन र एनआईसी एसिया बैंकमा निक्षेप राख्ने बचतकर्ताले सबैभन्दा धेरै ब्याज पाउने छन् । यी बैंकहरुले निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।

यस्तै प्राइम कर्मसिलय बैंक, सिद्धार्थ, नबिल र राष्ट्रिय वाणिज्इ बैंकले ५.५ प्रतिशत दिनेगरी ब्याज कायम गर्दा नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, एभरेष्ट बैंक,सिटिजन्स बैंक र नेपाल बैंकले ५.२५ प्रतिशत ब्याज दिनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

स्टान्डर्ड चार्टड र नेपाल एसबीआईले भने निक्षेपकर्तालाई असोज महिनामा ५.१८ ब्याज दिने भएका छन् । नयाँ ब्याजदरअनुसार बचतकर्ताले बचत बाफत सबैभन्दा थोरै ब्याज भने कुमारी बैंक र कृषि विकास बैंकबाट पाउने छन् । यी बैंकहरुले निक्षेपमा क्रमश ५.०१ प्रतिशत र ५.०५ प्रतिशत मात्रै ब्याज दिने भएको हुन् ।

चितुवाले आक्रमण गर्दा एकजनाको मृत्यु

नेपालगञ्ज । यहाँको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

आइतबारदेखि हराइरहेकी सोही वडाकी ४५ बर्षीया लक्ष्मी थारु जनमुखी सामुदायिक वनको पुरानो पानी ट्याङ्की नजिकै सोमबार मृत फेला परेको डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शङ्कर गुप्ताले जानकारी दिएका छन् ।

गुप्ताका अनुसार थारुको शव आसपासमा चितुवाको पाइला देखिएपछि क्यामेरा जडान गरी हेर्दा एउटा भाले चितुवा हिँडडुल गरेको देखिएको बताए। सो घटनापछि स्थानीय आतङ्कित भएकाले भाले चितुवालाई समाउन आजै प्राविधिक टोली पठाउन लागेको उनले बताए ।

“हामीले त्यहाँ तीन थान क्यामेरा जडान गरेका थियौँ, त्यसबाट चितुवा हिँडेको देखिएको छ, अब प्राविधिक टोली त्यहाँ जाँदैछ”, उनले भने । मृतक थारुको शव पोष्टमार्टम पश्चात वडाको सिफारिसमा परिवारलाई रु १० लाख क्षतिपूर्ति प्रदान गरिने डिभिजन वन प्रमुख गुप्ताले बताए ।

टिचिङ अस्पतालबाट जेनजीको सामुहिक शवयात्रा निकाल्ने तयारी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौँमा ज्यान गुमाएकाहरूको आज सामुहिक शवयात्रा निकालिँदै छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालबाट अहिले सामुहिक शवयात्राको तयारी भइरहेको छ ।
आन्दोलनका क्रममा घाइते भई त्यहाँ उपचारका क्रममा मृत्यु भएका १० जनाको शव यात्रा निकाल्न लागिएको हो ।

१० शवमध्ये ६ वटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र बाँकी चार जनालाई पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिने जनाइएको छ । विमानस्थल पु¥याइने शव उपत्यका बाहिरका भएकाले गृह जिल्ला लगेर अत्येष्टि गरिने भएको छ । शवयात्रा दिउँसो १२ बजे निकाल्ने तयारी भइरहेको छ । भ्रष्टाचारविरुद्ध जेनजीको नेतृत्वमा भदौ २३ र २४ गते भएको विद्रोहमा हालसम्म ७२ जनाको मृत्यु पुष्टि भएको छ ।

 

सुदन किरातीको चेतावनी : पुरानो नेतृत्वले पद छाडेर अभिभावक बन, नत्र विद्रोह हुन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सुदन किरातीले पुरानो राजनीतिक नेतृत्वले पद त्यागी अभिभावकको भूमिकामा जानुपर्ने सुझाव दिएका छन् । अन्यथा नयाँ पुस्ताले विद्रोह गर्न बाध्य हुने चेतावनी समेत उनले दिएका छन् ।

जेनजी आन्दोलनपछि मुलुकभर नेतृत्व पुस्ता परिवर्तनको माग तीव्र भइरहेका बेला किरातीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सन्देश दिँदै अग्रज नेताहरूलाई सम्मानपूर्वक अवकाश लिन आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘इतिहासमा योगदान गर्नु भएका अग्रज नेताहरूले सम्मानित भइराख्न र पार्टीको साख बचाइराख्न जिम्मेवारी परित्याग गरी अभिभावकत्व ग्रहण गर्नु उचित हुनेछ ।’

यस्तै, किरातीले वर्तमान पुस्ताले विद्रोह नगरे जनताले नै उनीहरूलाई बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् । ‘त्यसो नगरे हाम्रो पुस्ताले उहाँहरूविरुद्ध विद्रोह गर्न बाध्य हुनु पर्नेछ । नत्र जनताले हामीलाई बहिष्कार गर्नेछन् । अब के गरौँ ?’ उनले प्रश्न उठाएका छन् । किरातीको भनाइलाई जेनजी आन्दोलनपछिको राजनीतिक संक्रमणकालसँग जोडेर व्याख्या गरिएको छ, जहाँ पुरानो पुस्ताको ठाउँमा नयाँ नेतृत्वको आवश्यकता रहेको बहस चर्किएको छ ।

हेलो सरकारमा फोन : ‘फलानो’ लाई मन्त्री बनाउनु पर्‍यो !

काठमाडौं । जेनजी आन्दोलनपछि ‘हेलो सरकार’ मा धेरैजसोले फोन गरेर सुरक्षा माग गरेको पाइएको छ । कतिपयले भने अन्तरिम सरकारमा विभिन्न व्यक्तिलाई मन्त्री बनाउन पर्‍यो पनि भन्ने गरेका छन् । ‘अधिकांशको सुझाव, गुनासा र मागहरु अहिलेको पछिल्लो घटनाक्रमसँग सम्बन्धित छन्,’ स्रोतले भन्यो, ‘प्रहरी चौकी स्थापना गर्नुपर्‍यो, शान्ति सुरक्षा चाहियो भन्नेदेखि फलानालाई मन्त्री बनाउनु पर्‍यो भन्नेहरु पनि छन् ।’

जेनजी युवा आन्दोलनको क्रममा जनताका गुनासो सुन्ने ‘हेलो सरकार’ पनि प्रभावित भएको छ । सिंहदरबार जल्दा हेलो सरकारको कार्यालय पनि जलेको थियो । कम्प्युटर लगायतका उपकरणहरु जलेकाले हाल हेलो सरकारको सेवा प्रभावित भएको छ । तर आजबाट नयाँ प्रधानमन्त्री कार्यालयबाट सेवा सुरु गर्ने तयारी छ । हेलो सरकारको फोन नम्बर ११११ सेवा आजबाट सुरु गर्ने तयारी रहेको त्यहाँ कार्यरत अधिकृत कुलप्रसाद भट्टराईले जानकारी दिए।

‘हेलो सरकारको सबै काम अनलाइन सिस्टमबाट हुन्थ्यो तर सबै जलेर एउटा मोबाइल मात्र बाँकी छ,’ अधिकृत भट्टराईले भने, ‘आजबाट चारवटा एकको फोन सेवा सुरु गर्ने तयारीमा छौं ।’ हेलो सरकारको मोबाइल आफूले नै बोकेकाले अहिले त्यो मात्र बचेको उनले बताए । त्यो मोबाइल नम्बरमा फोन आउने र ह्वाट्सएपमा म्यासेज आउने क्रम भने जारी छ ।

कारागारबाट भागेका सात कैदी झापाबाट पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ परेका छन् । यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठले बताए ।

नियन्त्रणमा लिइएकामध्ये सुन्धारा कारागारबाट भागेका गौरादह नगरपालिका–५ की २८ वर्षीया रुकसार खातुन र वर्ष २८ कै एकसरा खातुन रहेका छन्। सरकारले भागेका कैदीलाई फर्किन सूचना जारी गरेपछि दुवै जना जिल्ला प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आएका थिए ।

कास्की कारागारवाट भागेका कर्तव्य ज्यान मुद्दाका कनकाई नगरपालिका–६ का ३३ वर्षीय दिनेश सोरेनलाई घरबाटै पक्राउ गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । सोरेन घरमा आएर लुकिरहेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।

नेपालबाट भागेर दक्षिणी सीमा हुँदै भारतको किशनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोर नाम भएका एक कैदीलाई भारतीय प्रहरीले पक्राउ गरेर केचनास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइदिएको छ । उनी भारतीय नागरिक भएको बताइएको छ ।

सुनसरीको झुम्का कारागारबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी कनकाई नगरपालिका–४ का ४५ वर्षीय बलबहादुर राईलाई परिवारले नै प्रहरीसमक्ष बुझाइदिएको छ । अरु दुई जना सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ परेका हुन् । रासस

भारतमा गाडी दुर्घटनामा ज्यान गुमाउने चार नेपालीमध्ये तीन जना एकै घरका

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा हिजो भएको गाडी दुर्घटनामा ज्यान गुमाउने चार नेपालीमध्ये तीन जना एकै घरका भएको खुलेको छ । सल्यानको कुमाख गाउँपालिका– ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको सोमबार भएको सवारी दुर्घटनामा मृत्यु भएको माओवादी केन्द्रका नेता रमेश मल्लले जानकारी दिएका छन् ।

हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख– ४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो।दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते छन् । दुर्घटनामा ज्यान गुमाउने लक्ष्मी नवराजकी पत्नी हुन् । नवराज र हिमबहादुर गाडीको डाला पछाडि बसेकाले फाल हानेर जोगिएका छन् । ज्यान गुमाउने लक्ष्मी डिल्लीबहादुरकी माइला दाइकी बुहारी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छोरा हुन् ।

घाइतेको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस सम्बन्धी कुनै पनि जानकारी आफूहरूलाई अहिलेसम्म प्राप्त नभएको जनाएको छ । दुर्घटनामा गाडी चालक भारतीय नागरिक जोगिन्दर सिंहको पनि मृत्यु भएको छ । मृतक सबैको पोष्टमार्टमपछि शव नेपाल ल्याउने तयारी छ । मृतकलाई किरिया खर्चसहित भारतीय पक्षले चार लाख २५ हजारका दरले राहत दिने जानकारी गराएको मल्लले बताएका छन् ।